नेपाली कम्युनिष्ट पार्टीले छिट्टै जनवर्गीय सङ्गठन तथा विभाग समायोजन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले पार्टी निकट जनवर्गीय सङ्गठन तथा विभाग छिट्टै व्यवस्थापन गर्ने भएको छ ।

विभिन्न वामपन्थी दल तथा समूह एकीकृत भएर बनेको पार्टीले सबै दलको समन्वयमा भ्रातृ सङ्गठन पुनर्गठन, समायोजन गरिने नेता प्रकाश ज्वालाले जानकारी दिए ।

जनवर्गीय सङ्गठन पुनर्गठन तथा समायोजन गर्नका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबिच छलफल भएको बताउँदै उनले सबै पक्षलाई समेटेर विगतका नेताहरुको कार्य क्षमता मूल्याङ्कन गरी जिम्मेवारी दिइने समझदारी भएको जानकारी दिए ।

विभागीय इन्चार्जका साथै जनवर्गीय सङ्गठनको नेतृत्व व्यवस्थापनपछि निर्वाचनको तयारी गरिने ज्वालाले बताए ।
पार्टीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा (माओवादी समाजवादी), गोपाल किरातीको नेतृत्वमा रहेको देशभक्त समाजवादी मोर्चालगायत वाम समूह समावेश छन् ।

पार्टीले यही महिनाभित्र सबै प्रदेश तथा केही जिल्लामा एकतासभा गर्ने कार्यसूची सार्वजनिक गरिसकेकाे छ ।

सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक श्रव्यदृश्यका माध्यमबाट बुधबार सम्पन्न भएकाे छ। बैठकको उद्घाटन गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव तथा कार्यक्रम समितिका अध्यक्ष किरण शाक्यले सार्क यस क्षेत्रको प्रमुख क्षेत्रीय सङ्गठनका रूपमा सदस्य राष्ट्रहरूबीच संवाद, सहकार्य र सामूहिक कदम चाल्नका लागि महत्वपूर्ण मञ्च भएको बताए । सार्क सचिवालयका अनुसार त्यस अवसरमा सार्कका महासचिव मोहम्मद गोलाम सरवरले सदस्य राष्ट्रहरूबाट निरन्तर प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समितिको भूमिकाको महत्वको चर्चा गरे । साथै उनले दक्षिण एसियाली मुलुकहरूको उन्नयनको साझा उद्देश्यका खातिर सार्क स्थापना भएको बताउँदै सामूहिक रूपमा सार्कले धेरै उपलब्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गरे । बैठकले आगामी वर्षका लागि सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रहरूको बजेट तथा गतिविधिका वार्षिक तालिकाहरूको समीक्षाका साथै त्यसलाई अन्तिम रूप दियो । नेपालको अध्यक्षतामा भएको समितिको बैठकमा बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका परराष्ट्र मन्त्रालयका सहसचिव सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रका प्रमुखका साथै सचिवालयका उच्च अधिकारीहरूको सहभागिता थियो ।

आज देशभरकाे माैसम कस्तो रहला ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

काठमाडौँ ।  विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ ।  पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई काठ र डोरीले प्रतिस्थापित गरिने जानकारी दिए ।  पुरातत्त्व विभागले पनि कोषलाई फलामका बार र फलामबाट बनाइएको आकाशे पुल हटाउन भनेको थियो । विभागका प्रमुख पुरातत्त्व अधिकृत सन्दीप खनालले विश्वसम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि हटाउन पत्राचार गरिएको जानकारी दिए ।

पर्यटकको रोजाइमा सुनसरीकाे ‘बोराबाध’

सुनसरी। यहाँको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । नदी किनारको मनोरम दृश्य, सूर्यास्तको आकर्षक झल्को तथा ‘क्याम्प फायर’, रिसोर्ट, ‘कफी सप’ र खाजा पसल थपिँदै गएपछि यहाँ दैनिक चहलपहलसमेत बढ्दै गएको छ । व्यवसायी बिकुल श्रेष्ठले केही वर्षअगाडिसम्म सुनसान रहने यो ठाउँमा हाल पर्यटकको चहलपहल बढ्दै गएको बताए । उनले यही मङ्सिर १ देखि  क्याम्प फायरमा सञ्चालनमा ल्याएको र जसमा १० जना कामदार रहेका बताए । स्थानीय परिकार, लोकल कुखुराको मासु, सेकुवा, सुकुटी तथा कोशीको ताजा माछा मुख्य रोजाइमा पर्न गरेका श्रेष्ठले बताए । चार वर्ष विदेश बसेर स्वदेश फर्किएका श्रेष्ठले यसअघि दूध डेरी, सफारी सञ्चालन र ग्यारेज व्यवसाय सञ्चालन गरेका थिए, हाल सबै छोडेर पर्यटन प्रवर्द्धनका लागि क्याम्प फायर सुरु गरेको बताए । उनले भने, “यहाँ पर्यटकको सङ्ख्या बढेकाले हाल व्यवसाय निकै राम्रो छ । राति बस्न चाहनेका लागि पनि व्यवस्था मिलाएका छौँ । प्रतिव्यक्ति रु एक हजारमा टेन्ट र सिरक–डस्नासहित सुविधा उपलब्ध छ ।” ‘बोराबाध’ विशेषगरी सप्तकोशी नदीको वार्षिक कटान रोक्न बोरामा सिमेन्ट भरेर बनाइएको छ । यही बाँधका कारण यस स्थानलाई ‘बोराबाध’ नामले चिनिन थालिएको स्थानीय बताउँछन् । पहिले दुई–तीनवटा रूख मात्र रहेको, गर्मीमा फाटफुट मानिस आउने यस क्षेत्रमा हाल दैनिक धेरै मानिस आउन थालेका छन् । केही समयअघि यहाँ एउटा चटपटे पसल मात्र थियो, हाल रिसोर्ट, क्याम्प फायर, खाजा पसल र कफी सप गरी आधा दर्जनभन्दा बढी व्यवसाय सञ्चालनमा छन् । स्थानीय भीषण राईका अनुसार दिउँसो र बिहानभन्दा सूर्य अस्ताउँदा यहाँ पर्यटकको अत्यधिक भीड लाग्छ । दैनिक दुई हजारदेखि दुई हजार ५०० पर्यटक यहाँ आउने गरेका छन् भने त्यो सङ्ख्या शनिबार पाँच हजारभन्दा बढी पुग्ने गरको छ । “पहिले सूर्य उदाउँदो हेर्न मानिसहरू इलामको श्रीअन्तु पुग्छन् भने भन्ने सुनेका थियौँ, हाल सूर्यास्त हेर्न ‘बोराबाध’ आउने गर्छन् । सूर्य अस्ताउँदा कोशीमा उज्यालो पर्ने भएकाले तस्बिर  र भिडियो खिच्नकै लागि भए पनि यहाँ पर्यटकको भीड लाग्ने गरेको छ”, उनले भने ।  हाल सुनसरीका इटहरी, धरान, इनरुवा साथै मोरङ, झापा र विराटनगरका विभिन्न ठाउँबाट दैनिक रूपमा धेरैजसो पर्यटक आउने गरेका छन् । इटहरीबाट साथीहरूसहित घुम्न आएकी सरिता श्रेष्ठ भन्छिन्, “पहिले हामी बराहक्षेत्र घुम्न आउँदा चतरापुल र मन्दिरसम्म पुग्थ्यौँ, हाल बोराबाध मुख्य आकर्षण बनेको छ । साँझपख दिनभरिको भन्दा धेरै रमाइलो हुन्छ । सूर्यास्तमा कोशीमा फोकस पर्छ । फोटो खिच्नकै लागि भए पनि हप्तामा दुई–तीनपटक आउँछौँ ।” प्राकृतिक सौन्दर्य, सूर्यास्तको मनमोहक दृश्य, कोशी किनारको खुला भू–दृश्य, क्याम्प फायरको आकर्षण र स्थानीय खानाका कारण बोराबाध’ पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । यसले स्थानीयस्तरमा रोजगार, व्यवसाय वृद्धि र आयमा सकारात्मक प्रभाव पारिरहेकाले थप पूर्वाधार विकास गरी लाभ लिनुपर्ने स्थानीयको माग छ । 

सर्लाहीका चुरे भेगका किसान व्यावसायिक तरकारीखेतीमा रमाउँदै

सर्लाही । सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौँ, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख सहरहरूसम्म पुग्छन् । उत्पादनले सजिलै बजार पाएपछि व्यावसायिक तरकारीखेती गर्ने किसानहरूसमेत बढिरहेका छन् ।  जिल्लाको लालबन्दी, हरिवन, बाग्मती, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा ठुलो क्षेत्रफलमा, आलु, गोलभेँडा, बोडी, भिन्डी, भान्टा, काउली, बन्दा, खोर्सानी, परबरलगायत तरकारी उत्पादन हुँदै आएको छ । यसले किसानहरूको आयआर्जनमा समेत ठुलो टेवा पुगेको छ ।  लालबन्दी नगरपालिका–१०, हिरापुरका तरकारी किसान सीयाशरण महतो व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्ने अवस्था रहेको बताउँछन् । उमेरले ३५ लागेका महतोले २० वर्षको उमेरदेखि नै व्यावसायिक तरकारीखेतीमा लागेदेखि कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको बताए । बुबा हजुरबुबाबाट तरकारीखेती गर्न सिकेका महतोले आधुनिक खेती प्रणाली भने आफैँले छ महिने कृषि ‘जेटिए’ कोर्ष गरेपछि सिकेका हुन् । उनले मौसमीभन्दा बढी बेमौसमी तरकारीखेती गर्दै आएको र यसले मौसमी खेतीभन्दा १० गुणासम्म बढी आम्दानी हुने गरेको बताए । “हाल चार बिगाहा खेतमा तरकारी गरिरहेको छु । त्यसमध्ये २५ कट्ठामा गोलभेँडा, सात कट्ठामा हरियो सिमी र आठ कट्ठामा भिन्डी लगाएको छु । यस सिजनको अन्तिममा निस्कने गरी १४ कट्ठा खेतमा कविता जातको टमाटर रोप्ने योजनासहित बेर्ना उत्पादन गरिरहेको  छु”, महतोले भने।  सुरुमा पढाइपछिको फुर्सदको समयमा बुबाआमालाई खेतीमा सघाउने गर्दागर्दै तरकारीखेती गर्न सिकेको उनले सुनाए । “पहिला बाउबाजेले गरेको देखेरै सिकेको हो,” उनले भने, “पढाइबाट फुर्सद हुने बित्तिकै आमाबुबाले खेतमा काम लगाउनु हुन्थ्यो । पछि बुबाले एउटा छोराले कम्तीमा जेटिए पढे हुन्थ्यो भन्ने धारणा राख्नुभयो । आफूलाई पनि खेतीपातीतर्फ लगाव बढ्यो यतै लागियो । परिवारसँगै बसेर तरकारी बेचेर विदेशको भन्दा राम्रो आम्दानी भइरहेको छ ।” महतोले तरकारीखेतीबाट भएको आम्दानीबाट दुई वर्ष पहिला मात्र पाँच कट्ठा खेत जोडेको सुनाए । “तरकारीखेती मेरो एक मात्र आय आर्जनको माध्यम हो । यसैबाट मैले पाँच कट्ठा खेत जोडेको छु । तरकारी बेचेर महिनाको रु दुई लाखसम्म आम्दानी गरेको अनुभव छ”, उनले भने, “गत वर्ष ‘अफ सिजन’मा सिमी निकाले दुईदेखि तीन हप्तामा रु ६०/७० हजारसम्म भयो । सबै तरकारी बेच्दा महिनाको रु दुई लाखसम्म आम्दानी भयो ।”  तरकारी खेतीबाट आफूले वर्षभरिमा मलखाद, बीउबिजन, औषधि, मजदुरी, ढुवानी खर्च सबै कटाएर रु १० लाखसम्म बचत गर्ने गरेको महतोका भनाइ छ । यसमा श्रीमतीले राम्रो सहयोग गरिरहेको उनको भनाइ छ । मौसम र मूल्य सधैँ एकनास नरहने भएकाले आम्दानी तलमाथि भइरहने बताउने महतोले यसै कमाईबाट एक छोरा र एक छोरीलाई राम्रो शिक्षा दिनुका साथै परिवारको लालनपालन भइरहेको बताए ।  राष्ट्रिय कृषि गणना २०७८ अनुसार सर्लाहीमा १७ हजार ६६२ परिवारले तीन हजार ८४२ दशमलव सात हेक्टर क्षेत्रफलमा विभिन्न तरकारी खेती गर्दै आएका छन् । यहाँ उत्पादन भएका तरकारी जिल्लाको लालबन्दीस्थित थोक तरकारी तथा कृषिउपज सङ्कलन केन्द्रमा जम्मा गरेर देशका अन्य सहरमा निर्यात हुँदै आएको छ ।

‘जीवन गुजाराको आधार सडकपेटी’

महोत्तरी । “आफ्नो त केही पनि छैन, मकै पोलेर बेच्ने यही सडकपेटी छ । घर पनि रातु नदी उकासको पर्तिमा छ, न लालपुर्जा न त कुनै कागजको चिर्कटो”, मिथिला–१० लालगढको सुन्दर बस्तीकी ४० वर्षीया सरिता दासले भनिन् । उनले महोत्तरीको बर्दिबास–१ स्थित बर्दिबास जलेश्वर सडकपेटीमा मकै पोलेर गुजारा चलाइरहेही उनि भन्छिन्, “हातगोडा चलुञ्जेल त धानौला, थला परेपछि के गति हुने हो ? खै ! ”  हरेक दिन दासको दैनिकी मकैको घोगाबाट सुरु हुन्छ । बिहान ओछ्यानबाट उठ्नासाथ छोरीको खानेकुरा ठिक पारेपछि उनलाई विद्यालय जान भनेर आफू हरिया मकैका घोगा किन्न बजार दौडिन्छिन् । कहिलेकाहीँ नजिककै बर्दिबास, बडहरी र ढल्केबर बजारमा मकै पाइए पनि प्रायजसो सर्लाहीको नवलपुर, हरिऔन र लालबन्दी बजार पुग्नु परेको दासले बताइन् ।   करिब ३०/३५ किलोमिटर धाएर ल्याएको मकै सडकपेटीमै पसारेर हातमुख जोड्ने बन्दोबस्त गर्ने दासलाई त्यसरी आर्जेको एक गाँस खान पनि निकै हतार हुन्छ । “मकै लिन जाँदै एउटा थैलामा खानेकुरा बोकेर हिँड्छु, यहाँ बर्दिबासको सडकपेटीमा मकै बिसाउनासाथ ग्राहक झुम्मिन्छन्, आफूm खानेकुरा खानु कि ग्राहक हेर्नु हुन्छ”, दास भन्छिन्, “सधैँको राख्ने ठाउँबाट तावा र कोइला निकाल्छु, हतारहतार दुई गाँस खाएर मकै पोल्न थाल्छु ।” उनको दैनिकी दसौँ वर्षदेखि चलिरहेको छ । “लाउँलाउँ खाउँखाउँकै उमेरमा पतिको मृत्यु भएपछि मेरा अगाडि कुनै सहारा थिएन, छोरी भर्खर एक वर्ष टेक्दै थिइन्, त्यसैबेला बज्रपात पर्‍यो”, दासले पीडा सुनाइन्, “छोरीतिर हेरेँ, अनि म सम्हालिन पर्छ भन्ने लाग्यो । यसलाई लेखपढ गराउँछु भन्ने त्यतिखेरै सोचेँ । केही गर्छु भन्ने मनमा आए पनि आफूmसँग पुँजी नभएपछि केही दिन छरछिमेकमा ज्यालामजदुरी गरेर जीवन धान्न थालेँ ।” अर्काको अधीनको कामले आफू र छोरी पालिन धौधौ परेपछि आफ्नै केही पेसा गर्नुपर्छ भन्ने हुटहुटीले मकै पोल्न थालेको उनी बताउँछिन्। “कोइला (दाउराको अँगार) आफ्नै बस्तीका आरनेकाकासँग उधारोमा पाएँ, एउटा ठूलो तावा र मकै चाहियो, त्यसका लागि टोलका तीन/चार जनासँग मागेर दुई हजार पुर्‍याएँ”, करिब १० वर्षअघिको कुरा सम्झँदै उनले भनिन्, “बस्, भोलिपल्टदेखि नै बर्दिबासको सडकपेटीमा मकै पोल्न थालेँ । यो काम थालेयता दुई/चार पैसा थैलीमा हुन थालेको छ । छोरी सपनालाई पढाउन पाएको कुरामा सन्तुष्ट छु । सपना (छोरी) राम्रो पढेकी छ भन्छन्, उनका माड्साबले, यस्तो सुन्दा दङ्ग पर्छु । आफूmले अक्षर चिनिन, छोरीले राम्रो पढेकी छे भन्ने सुन्दा आफ्नो मन  बुझाउने ठाउँ पाएकी छु ।”  सुरुमा एक सय घोगा मकैबाट सुरु गरेको व्यापार हाल दिनहुँ तीन सय घोगासम्म बेच्ने गरेको दास बताउँछिन् । हाल पेसा गरिरहेको सडकबाट हटाउन बेलाबेला दबाब आए पनि उपयुक्त नयाँ ठाउँ नपाएकाले ठाउँ सर्न नसकेको उनको भनाइ छ । “कति ठाउँमा फुटपाथ पसलेका सामान कर्मचारीले फ्याँके भन्ने सुनेकी छु, डर लाग्छ, तर मलाईचाहिँ त्यस्तो गरिएको छैन । टेक्ने समाउने अरू ठाउँ नहुँदा यही पेटीलाई सहारा बनाएकी छु । कसैगरी छोरीले राम्रो पढी भने जीवन अलि सहज हुने आसमा यही पेसामा रमाइरहेकी छु”, उहाँ भन्छिन्।  दिनहुँ मध्याह्नपछि थालिने मकै पोल्ने र बेच्ने कामले रु सात/आठ सयसम्म कारोबार हुने गरेको र यसले आमाछोरीको गुजारा र छोरीको पढाइ धानिरहेको दासले बताइन् । उनकै छिमेकी अघनियाँ महराले पनि उनीबाट प्रभावित भएर मकै पोल्ने पेसा अँगालेकी छन् । बर्दिबासचोककै सडकपेटीमा मकै पोलेर बेच्ने ५५ वर्षीया महराको जीवन पनि दासको जस्तै छ । पति रौदी महराको २० वर्षअघि मृत्यु हुँदा दुई छोरी र छोरा सबै १० वर्षमुनिका थिए । बस्ती वरपर बनिबुतो (मजदुरी) गरेर जहानको गुजारा चलाएका पतिको मृत्युपछि कतिपय दिन भोकभोकै सुत्नु परेको महराको सम्झनामै छ । “कतिले दयामाया गरेर एकमुठी खानेकुरा दिन्थे, ससाना लालाबालालाई अब भोलि खाउँला भनेर थुमथुम्याउँदै सुताउँथे”, अप्ठ्यारा दिनहरू सम्झँदै उनी भन्छिन्, “सरिताले मकै पोल्न थालेकी थिइन्, उनैको सल्लाहले बनिबुतोको पैसा जम्मा गरेर मैले पनि थालेँ । यसले जीवन धानिएको छ ।”  महराले मकै पोलेर बेचेको पैसाले नै दुई छोरीको विवाह गरिन्। छोराको पनि बिहे भयो । नाति काखमा छ । छोराबुहारी दुवै सहयोगी हुँदा व्यापारमा साथ पाएको उनी बताउँछिन् । “अब छोरा विदेश जाने भन्दै छ, त्यसका लागि रकम जम्मा गर्दैछौँ, ऊ गएपछि सासूबुहारी मिलेर यहाँको काम चलाउँछौँ,” भविष्यको मीठो सपना सँगालेकी उनी भन्छिन्, “छोराले दुःख बुझेको छ । पक्कै हाम्रा दिन फेरिएलान् नि !”  दास र महराजस्तै बर्दिबास–२ बारनचौडीकी ६० वर्षीया जयकलादेवी मुखिया पनि बर्दिबासको भोलावसन्तचोक छेउकै सडकपेटीमा मकै पोलेरै जीवन निर्वाह गरी रहेकी छिन् । पारिवारिक अवस्था भने मुखियाको दास र महराभन्दा निकै कहालीलाग्दो छ । पति सत्यनारायण मुखिया रक्सीको कुलतले ३० वर्षअघि बिते । चार छोरामध्ये हुर्केका दुई छोरा रक्सीकै कुलतले मरे । साइँलो छोरो हराएको २५ वर्ष भयो । घरमा अब कान्छो छोरा, बुहारी र आफूसहित तीन जनाको गुजारा मकै पोलेरै गर्नुपरेको मुखियाले बताइन् । उनले मकै पोलेर गुजारा चलाउन थालेको २० वर्ष भइसकेको छ ।  “पति हुँदा पनि सहारा त थिएनन्, दिनभरि भट्टीतिरै हुन्थे, गुजाराका लागि आफैँ बनीबुतो गर्नुपर्थ्यो । पछि केही पैसा जम्मा गरेर मकै पोल्न थालेकी हुँ, यसले धानेको छ । हाल दिनमा चार सय घोगासम्म मकै बेचेर दैनिक रु एक हजार जति कारोबार हुने गरेको छ”, मुखिया भन्छिन्, “कामले थोरै सन्तोष दिए पनि छोरो र विगत सम्झँदा विरक्त लाग्छ । पति रक्सीले नै मरे, छोराहरूको पनि त्यही कुलतले ज्यान गयो । एउटा मरे बाँचेको अत्तोपत्तो छैन ।” यसरी बर्दिबासमा सडकपेटीमा ससाना व्यवसाय गर्ने धेरै छन् । यिनलाई प्रोत्साहन गर्दै निर्धक्क पेसा गर्ने वातावरण बनाउन आवश्यक रहेको सामाजिक अभियन्ता महिला बर्दिबास–२ की नगिना महतो बताउँछिन् ।

म किसान–मजदुरको छोरा र जनताको सेवक हुँ , प्रधानमन्त्री बन्ने रुचि छैन :  संयोजक प्रचण्ड

धादिङ  — नेपाली कम्युनिस्ट पार्टीका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको उल्लेख गर्दै जनताको सेवकको रूपमा सधै काम गर्ने बताउँनुभएको छ । उहाँले बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्थानीय विकास, राष्ट्रिय राजनीति र वर्तमान परिस्थिति र नेपाली कम्युनिष्ट पार्टीकाबारेमा विस्तृत धारणा राख्नुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले गरेको काम र जनताप्रतिको सेवा भावबाट आफु प्रभावित भएको बताउँदै प्रचण्डले भन्नुभयो , “सम्बोधनको क्रममा उहाँले आफ्नो भावना व्यक्त गर्नुभयो । म भगवान होइन। तपाईहरुको सेवाको निम्ति धेरै वर्षदेखि समर्पित जनताको सेवक हु। तै पनि कृष्ण थपलिया जीले मलाई जुन रुपमा प्रस्तुत गर्नुभयो उहाँको भावना र स्पिरिटलाई म कदर गर्छु र उहाँलाई धन्यवाद भन्न चाहन्छु।” थपलियाले व्यक्त गरेको सम्मान र भावना प्रति कदर व्यक्त गर्दै उहाँले धन्यवाद दिनुभयो। समारोहमा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएपछि संयोजक प्रचण्डले भन्नुभयो “मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने त लागेको छैन। प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि र त्यसको निम्ति चाहिँ मरिहत्ते इच्छा पनि छैन। तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो प्रकृति होइन।”उहाँले पाण्डेले व्यक्त गरेको भरोसाप्रति आभार व्यक्त गर्दै जनताले चाहने र देशले आवश्यक ठानेमा जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने बताउनुभयो । सम्बोधनको क्रममा संयोजक प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा आफुले प्रधानमन्त्रीका रुपमा गरेको प्रयास र लगानी जुटाउने कोशिसको स्मरण गर्नुभयो। उहाँले प्रधानमन्त्री भए पनि नभए पनि परियोजनाप्रति आफ्नो जिम्मेवारी कायमै रहने बताउँदै भन्नुभयो, “म जुनसुकै जिम्मेवारीमा रहे पनि यो परियोजना अघि बढाउन म निरन्तर लागि पर्छु।”प्रधानमन्त्री भएका समयमा सिंहदरबारमा परियोजनाका मोडालिटी र आर्थिक संयोजनबारे तीन पटकभन्दा बढी उच्चस्तरीय बैठक भए पनि इच्छाअनुसार गति दिन नसकिएको उहाँले बताउनुभयो । गाउँपालिकालाई देशकै एक नम्बरमा स्थान दिलाउन अध्यक्ष थपलियाको नेतृत्व र जनताको साहस प्रशंसनीय रहेको भन्दै प्रचण्डले प्रसंसा गर्नुभयो ।  ‘बेनिघाट रोराङ देशभरि ‘बेरुजु–विहीन’ र उच्च कार्यक्षमता भएको पालिका भनेर चिनिएको छ, र यसले अन्य स्थानीय तहलाई प्रेरणा दिएको छ।’ उहाँले भन्नुभयो ।आफु देशका विभिन्न स्थानमा जाँदा पनि बेनिघाट रोराङलाई उदाहरणका रूपमा प्रस्तुत गर्ने गरेको स्मरण समेत उहाँले गर्नुभयो । प्रचण्डले गणतन्त्र स्थापनापछि देशले ऊर्जा, भौतिक पूर्वाधार, स्वास्थ्य र जीवन प्रत्याशामा अभूतपूर्व प्रगति गरेको बताउनुभयो । ९० प्रतिशत घरधुरी विद्युत पुग्नु, लाखौँ किलोमिटर सडक विस्तार र सरदर आयु ७१–७२ वर्ष पुग्नु जनताको त्याग र राजनीतिक संघर्षको परिणाम भएको उहाँको धारणा थियो । तर पछिल्ला वर्षमा भ्रष्टाचार मौलाउँदै गएको, राज्यको ध्यान रोजगारी सिर्जनाभन्दा वैदेशिक श्रममा मोडिएको कारण केही शक्तिहरूले प्राप्त उपलब्धिहरूलाई कमजोर बनाउने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।देशमा २३ र २४ गते भएको घट्नालाई स्मरण गर्दै संयोजक प्रचण्डले युवा आन्दोलन र त्यसपछिका घटनामा राज्यको लापरबाहीले ‘राज्यविहीनता’ जस्तै अवस्था सिर्जना भएकोप्रति व्यक्त गर्नुभयो ।शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग रोक्न पहिलो वक्तव्य आफूले नै निकालेको याद दिलाउँदै सुरक्षा व्यवस्थापन, राज्यले गर्ने बल प्रयोगमा कमजोरी हुँदा ठूलो क्षति भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । संयोजक प्रचण्डले संविधान खारेज गर्न खोज्ने, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारूले प्राप्त गरेको अधिकार कमजोर पार्न खोज्ने शक्तिहरू सक्रिय रहेकोले त्यसका विरुद्ध बामपन्थी र लोकतान्त्रिक शक्तिहरुसँग मिलेर प्रतिवाद गर्ने जानकारी दिनुभयो । त्यसका लागि वामपन्थी मात्र होइन, सबै लोकतान्त्रिक शक्तिहरू मिलेर ‘सशक्त मोर्चा’ निर्माण गरिने उहाँले बताउनुभयो । अहिले देश वर्तमान अप्ठ्यारो परिस्थिति र अराजकतामा रहेको उल्लेख गर्दै यो अवस्थाबाट देशलाई पार लगाउन “निर्वाचन नै उत्तम विकल्प” भएको उहाँले विचार व्यक्त गर्नुभयो । सुशीला कार्की नेतृत्वको सरकार सर्वदलीय सहमतिबाट गठन भएको स्मरण गर्दै संविधानलाई सही ट्रयाकमा फर्काउने उपाय निर्वाचनमा सरकार केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले तत्कालिन सरकारका प्रमुख एमाले अध्यक्ष केपी शर्मा ओली कै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री भएको बताउँदै ढाट झुट र छलछाम गर्ने तिर नलागि संविधानलाई ट्रयाकमा ल्याउन देशमा निर्वाचनको वातावरण बनाउने तर्फ लाग्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभयो । नयाँ प्रशासकीय भवनलाई ‘मौलिक र विशेष’ भन्दै उहाँले स्थानीय तहबाट अझ प्रभावकारी सेवा प्रवाहको अपेक्षा व्यक्त गर्नुभयो।बेनीघाट गाउँपालिका र धादिङबासीलाई गाउँमै सिंहदरबार आएकोमा बधाई दिँदै राष्ट्रिय सहमति, स्थिरता र जनमैत्री शासनका लागि एकजुट हुन अपिल गर्नुभयो ।

नेपाली कम्युष्ट पार्टी लुम्बिनीको संसदीय दलको नेतामा महरा चयन

दाङ । १२ दल एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी लुम्बिनीको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् । एकीकृत पार्टीको पहिलो संयुक्त बैठकले प्रदेशसभाका लागि दलका नेता, प्रमुख सचेतक र सचेतक तोकेको हो । दलका प्रमुख सचेतक इन्द्रजीत थारुका अनुसार संसदीय दलको नेतामा महरा, प्रमुख सचेतकमा थारु स्वयं र सचेतकमा एकीकृत समाजवादीकी भगवती अधिकारीलाई जिम्मेवारी दिइएको छ । लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका ११ र समाजवादीका एक गरी १२ सांसद रहेकाले एकीकृत नेपाली कम्युनिष्ट पार्टी तेस्रो ठूलो शक्ति बनेको छ । जम्मा ८७ सदस्यीय प्रदेशसभा एक सांसदको निधनपछि ८६ मा झरेको छ ।  एमाले २८ सांसदसहित पहिलो, नेपाली कांग्रेस २७ सांसदसहित दोस्रो, राप्रपा–नाउपा मिलेर चौथो, जनमत, लोसपा, जसपा तथा अन्य साना दल पछिल्ला स्थानमा छन् ।

ब्याजदर घट्ने हल्लाले सुनको मूल्य बढ्याे

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य उक्लिएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको संघले जनाएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य बढेर ४ हजार १४६ अमेरिकी डलरमा पुगेको छ । यसअघि असोज ३१ गते सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो । त्यसपछि क्रमशः घटेर २ लाख ३६ हजार रुपैयाँसम्म झरेको मूल्य फेरि वृद्धि हुँदै २ लाख ५० हजार नजिक पुगेको हो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यका अनुसार अमेरिकी फेडरल रिजर्भले डिसेम्बरमा ०.२५ प्रतिशत ब्याजदर घटाउन सक्ने हल्लाले सुनतर्फ लगानी बढ़्दै मूल्य उक्लिएको हो । यस्तै फ्रान्सले युक्रेनलाई युद्ध सामग्री दिन सहमति गरेको समाचारले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढाएको उनले बताए । हाल केही सातादेखि अन्तर्राष्ट्रिय बजार अस्थिर भएका र आर्थिक गतिविधि सुस्त हुँदा लगानीकर्ताहरू सुरक्षित माध्यमका रूपमा सुनतर्फ आकर्षित भएको शाक्यको भनाइ छ । मंसिर विवाह सिजन भए पनि बजारमा माग न्यून रहेको शाक्यले बताए । उनका अनुसार उपभोक्ताको क्रयशक्ति कमजोर भएकाले मूल्य बढे पनि कारोबार विस्तार हुन सकेको छैन । विगतका वर्षमा मंसिरमा दैनिक ४०–४५ किलो सुन बिक्री हुने गरेकोमा अहिले बिक्री घट्दै दैनिक १०–१५ किलोमा झरेको व्यवसायीहरुको भनाइ छ । माग कम रहेकाले बैंकहरूले निर्धारण गरिएको दैनिक २५ केजी आयात कोटा पूरै भर्न पनि सकेका छैनन् । यसैबीच, मंगलबार चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँ बढेर ३ हजार २ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।

ताप्लेजुङमा भालुको आक्रमणबाट महिला घाइते

फुङलिङ । ताप्लेजुङमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुकी ३५ वर्षीया उर्मिला खरेल जङ्गली भालुको आक्रमणबाट घाइते भएकी हुन् ।  सामुदायिक वन उपभोक्ता महासङ्घका पालिका अध्यक्ष शिव अधिकारीका अनुसार मङ्गलबार दिउँसो करिब १ बजे खरेललाई भालुले घरमै आक्रमण गरेको हो । आक्रमणबाट घाइते हुनु भएका खरेलको दाहिने खुट्टा, दाहिने हात र अनुहारमा चोट लागेको  छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । घर नजिकै जङ्गल रहेको र सोही जङ्गलबाट घरमा आएर आक्रमण गरेको स्थानीयको भनाइ छ । भालुलाई नियन्त्रणमा लिनका लागि डिभिजन वन कार्यालय ताप्लेजुङको टीम समेत आइनपुगेको अधिकारीले जानकारी दिए । भालु केही आहारा नपाएर घर पालुवा जनावर चौपाया खान बस्तीमा आएको अनुमान स्थानीयको छ । भालु बस्तीमै भएकाले  गाउँभरी त्रास फैलिएको छ । बस्तीका अन्य नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको अधिकारीको भनाइ छ ।

काेशीबाट छुर्पी निर्यात बढेपछि डिडिसीलाई राहत

विराटनगर । कोशी प्रदेशबाट छुर्पी निर्यात बढ्दै जाँदा बजार अभावले दबाबमा परेको दुग्ध विकास संस्थान (डिडिसी) लाई राहत पुगेको छ । निजी क्षेत्रका प्रमुख निर्यातकर्ता मनराम हिमालयन ह्यान्डीक्राफ्ट प्रालिले डिडिसीबाट मासिक २५ हजार किलो छेना खरीद गर्न थालेपछि दुवै पक्ष लाभान्वित भएका छन् । डिडिसी विराटनगर आयोजनाका निमित्त प्रमुख हिरबहादुर मगरका अनुसार दुध नबिक्दा पाउडर बनाउनु पर्ने बाध्यता हटेको छ। “छेना उत्पादन गरेर सिधै बिक्री गर्न थालेपछि लागत घटेको छ,” उनले भने ।  मनराम हिमालयनका सञ्चालक राजेन्द्रकुमार श्रेष्ठका अनुसार डिडिसीबाट तयारी छेना पाउँदा दुध सङ्कलन तथा प्रोसेसिङ खर्च बचत भएको छ । झापास्थित उक्त कम्पनीले कोशी प्रदेशमै उत्पादन हुने छुर्पीलाई कुकुरको आहारका रूपमा अमेरिका निर्यात गर्दै आएको छ । सन् २००७ मा ४ किलोबाट सुरु भएको निर्यात आज प्रदेशकै प्रमुख निर्यात व्यवसायमध्ये पुगेको छ । उद्योगको दैनिक ६० हजार लिटर प्रशोधन क्षमता भए पनि अहिले करिब २० हजार लिटर दुधबाट छुर्पी उत्पादन भइरहेको छ । झापामा सञ्चालन भएको फार्ममा १६० उन्नत गाई राखिएको छ, जसबाट दैनिक करिब १,००० लिटर दूध उत्पादन हुन्छ । छुर्पी निर्यात बढेपछि पूर्वी नेपालमा देखिने मिल्क होलिडे समस्या समाप्तप्रायः भएको व्यवसायीहरूको दाबी छ । ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पुगेको र किसानले दुधको उचित मूल्य पाउन थालेको उद्योगका सञ्चालक श्रेष्ठले बताए । पाँच अर्ब रुपैयाँभन्दा बढी कृषिजन्य वस्तु निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न योगदान गरेको भन्दै सरकारले मनराम हिमालयन ह्यान्डीक्राफ्टलाई ‘सिआइपी’ सम्मान प्रदान गरेको थियो ।

दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा नेपाल उपविजेता

काठमाडौं । पहिलो पटक आयोजित दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा नेपाल उपविजेता बनेर ऐतिहासिक सफलता हात पारेको छ । यद्यपि कप्तान गीता पौडेल उपाधि नजित्न पाउँदाको अफसोस लुकाउन सक्दिनन् । कोलम्बोस्थित पी. साराभानमुटु क्रिकेट रंगशालामा भारतसँग फाइनलमा पराजित भएपछि नेपाल उपविजेतामा सीमित भयो । उपविजेता बनेको टिमलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले सम्मान गर्दै नेपाल दृष्टिविहीन क्रिकेट सङ्घलाई १० लाख रुपैयाँ प्रदान गरेको छ । अस्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिकासहितको सहभागितामा भारत अपराजित रहँदै च्याम्पियन बनेको थियो । नेपालले भने प्रतियोगिता भरि भारतसँग मात्र हार बेहोर्‍यो, समूहचरणमा अस्ट्रेलिया, पाकिस्तान र श्रीलङ्कालाई हराएको थियो र सेमिफाइनलमा पाकिस्तानलाई पुनः पराजित गरेको थियो । कप्तान गीताका अनुसार स्रोतसाधन र तयारीको अभावले निर्णायक क्षणमा प्रभाव पारेको हो । “अवसर राम्रो थियो, तर आवश्यक तयारी नहुँदा इतिहास बनाउन चुक्यौँ,” उनले भनिन् । दुई वर्षअघि मूलपानीमा नेपालले भारतलाई ४–१ ले हराएको स्मरण गर्दै उनले विश्वकप उपाधि जित्ने आत्मविश्वास त्यतिबेलादेखि नै रहेको बताइन् । दृष्टिविहीन महिला टिमले अभ्यासका लागि समेत मैदान अभाव झेल्नुपर्यो । काठमाडौँमा ठाँउ नपाएपछि पोखरासम्म पुगेर सानो एकेडेमीमा अभ्यास गर्नुपरेको कप्तानको भनाइ छ । खेलाडीहरूले आफ्नै खर्चमा अभ्यास जर्सीसम्म व्यवस्थापन गर्नुपरेको थियो । अध्यक्ष पवन घिमिरेले “नदेख्नेले पनि संसारलाई देखाउन सक्छ” भन्ने सन्देश नेपाली टिमले दिएको बताए । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष दृष्टिविहीन क्रिकेटबारे धारणा राख्न पाएको र प्रधानमन्त्रीले सहयोगको प्रतिबद्धता जनाएपछि टिम उत्साहित भएको बताए ।

गण्डकीमा बढेन हिमाल आरोहणको आकर्षण बढ्दै

गण्डकी । गण्डकी प्रदेश आफैँमा पर्वतीय पर्यटनको दृष्टिले विश्वकै उत्कृष्ट गन्तव्य मध्येमा पर्छ । विश्वकै हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथम यही प्रदेशमा नै पर्दछ । हिमाल आरोहणका दृष्टिबाट विश्वमा नै इतिहास रच्न सफल अन्नपूर्ण प्रथम रहेको यो प्रदेशअन्तर्गतका हिमालहरूमा आरोहणको अवस्था अत्यन्त नगण्य मात्रामा पाइन्छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै विश्वमा नै हिमाल आरोहणको विषयले चप चासो र चर्चा पाएको हो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि मात्रै सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै नेपाल पदयात्रा पर्यटनका लागि पनि विश्वको आकर्षक गन्तव्यका रुपमा विकास भएको थियो । आरोहणको इतिहासमा विश्व कीर्तिमानी कायम गरेको यस प्रदेशमा त्यसयता आरोहणका क्रमले भने अपेक्षित गति लिन नसकेको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङले बताए । पर्वतीय पर्यटनसँगै हिमाल आरोहण यहाँको प्रचुर सम्भावना रहे पनि त्यसको राम्रोसँग उजागर हुन नसकेको उनले बताए । विश्वमा आठ हजार मिटर उचाइमाथिका १४ हिमालमध्ये आठ हिमाल नेपालमा पर्दछन् । जसमध्ये तीनवटा हिमाल गण्डकी प्रदेशभित्रै रहेका छन् । गण्डकी प्रदेशमा आठ हजार १६७ मिटर उचाइको धौलागिरि प्रथम, आठ हजार १६३ मिटर उचाइको मनास्लु र आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम आठ हजार मिटरभन्दा बढी उचाइका हिमाल हुन् । गण्डकी प्रदेशअन्तर्गतका जिल्लामा रहेका कुल १२१ हिमाललाई आरोहणका लागि खुला गरिएको छ । गण्डकी प्रदेशअन्तर्गत थप विभिन्न १५ हिमाल आरोहणका लागि प्रस्ताव गरिएका छन् भने छ हजार ९९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल आरोहणका लागि प्रतिबन्धित छ । विशेषतः गुरुङ समुदायको धार्मिक आस्था र विश्वासको माछापुच्छ्रे हिमालको फेदमा रहेको पूजनीयम बराहको धार्मिक महत्वसँगै प्राचीनकालदेखि नै यो हिमालको आरोहण नभएको पाइन्छ । कास्कीको घान्द्रुकबाट माछापुच्छ्रे आधार शिविर तथा अन्नपूर्ण आधार शिविर जाने मार्गमा पर्ने यो बराह मन्दिरको अलौकिक शक्ति रहेको यहाँका स्थानीयवासी बताउँछन् । गण्डकी प्रदेशभित्र रहेको ६ हजार ५०० मिटरभन्दा बढी उचाइका ७१ हिमाल आरोहणका लागि अनुमति प्राप्त भएकामा विगत पाँच वर्षयता २२ हिमालको आरोहणका लागि मात्रै पर्यटन विभागमा अनुमति लिएको पाइएको छ । सन् २०२० देखि २०२४ भित्र सबैभन्दा बढी सन् २०२२ मा ८०४ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ । त्यस्तै प्रदेशभित्र ६ हजार ५०० मिटरभन्दा कम उचाइका आरोहणका लागि खुला गरिएका ५० हिमालमध्ये सन् २०२० देखि २०२४ सम्ममा जम्मा पाँच हिमालका लागि ९०७ जनाले आरहेणको अनुमति लिएको पाइएको छ । गण्डकी प्रदेशभित्र हिमाल आरोहणका लागि सबैभन्दा बढी आकर्षण मनास्लु हिमालमा रहेको नेपाल पर्वतारोण सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष शेषकान्त शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा पर्वतारोहणका लागि पर्यटक पथ प्रदर्शकको पनि कमी रहेको बताउँदै उहाँले पछिल्लो समयमा गोरखाको लाप्राकमा पर्यटक पथप्रदर्शकहरू थपिएको जानकारी दिए । पर्वतारोहणको सबै अनुमति पर्यटन विभागबाट हुने गरे पनि ६ हजार ५०० माथि र त्यहाँभन्दा तल उचाइ आदिका कारण अनुमतिको कही प्रावधान भने फरक रहेको उनले बताए । पछिल्ला समयमा गण्डकी प्रदेशमा आरोहणको आकर्षण बढाउन प्रयासहरू भने भइरहेको बताउँदै उहाँले नेपाल पर्वतारोहण सङ्घमार्फत पर्यटक गाइडका लागि तालिममा पनि जोड दिइएको बताए । सङ्घकै आयोजनामा यसअघि ६ हजार १२ मिटर उचाइको धम्पुस पिक र छ हजार १४४ मिटर उचाइको थोाराङ पिकको प्रवर्द्धनात्मक आरोहणसमेत गरिएको थियो । “यस क्षेत्रमा आकर्षण बढाउनका लागि सबैको साथ र सहयोग आवश्यक छ”, उनले भने, “पर्यटक पथप्रदर्शक तयार गर्नका लागि राज्यका तर्फबाट विभिन्न किसिमका तालिम सञ्चालन गरिनु अपरिहार्य छ ।” धेरै सम्भावना भएर पनि पर्वतारोहण पर्यटनको गण्डकी प्रदेशमा आकर्षण बढ्न नसकेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले बताए । हिमाल आरोहणमा आकर्षण बढाउन सकेमा त्यसले गण्डकीको पर्यटनमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ । गण्डकी प्रदेशमा ठूलासाना गरी धेरै हिमाल रहेका कारण यहाँ पर्वतारोहण पर्यटनको धेरै सभ्मावना रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।  “यहाँका हिमाल तथा चुचुरालाई पर्यटन जोड्नका लागि पर्वतारोहण शिक्षा दिने शिक्षालय आवश्यक छ”, उनले भने, “सामान्य हिमाल आरोहणका लागि पनि पर्यटक पथप्रदर्शक काठमाडौँबाट ल्याउनुपर्ने अवस्था अन्त्य गर्न आहरोणबारे सिकाउनका लागि शिक्षालय अपरिहार्य छ ।” आरोहणका लागि आवश्यक दक्ष जनशक्ति यही तयार भएमा गण्डकी प्रदेशमा यसतर्फको आकर्षण बढाउन सकिने उनले बताए ।

आजकाे माैसम: देशभर मौसम सफा रहने

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन

काठमाडौँ ।  सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ । मङ्सिर ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले नेपाल प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, आव २०८२/०८३ मा वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमका लागि अधिकृतस्तरको ३७ अस्थायी दरबन्दी स्वीकृत समेत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।