राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित, हेर्नुहोस् तालिका

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित गरिएको छ । आइतबार संघीय संसद् सचिवालयले फागुन २९ गतेका लागि तय गरिएको निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार भोलि (सोमबार) ११ बजे देखि १ बजे सम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ । यस्तै, साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ ।

मंगलबार बिहान ११ः९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइनेछ ।

हेर्नुहोस् तालिका

null

राप्रपा केन्द्रीय कार्यालयमै कुटिए नेता मोहन श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयमा कुटाकुट भएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेताहरु बैठकबाट बहिरिदै गर्दा कुटाकुट भएको भिडियो सार्वजनिक भएको छ । राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको हो ।पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो । लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएका थिए । भागेर निस्किन खोजेका उनलाई ढोकामै कुटपिट भएको हो। कुटाकुटपछि अध्यक्षल गायतका नेताहरुबिच पार्टी कार्यालयमा छलफल सुरु भएको छ । राप्रपाको केन्द्रीय कार्यासम्पादन समितिको बैठक बसेको थियो ।

राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता सोमबार, निर्वाचन मंगलबार

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबार हुने भएको छ । आइतबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार मनोनयन दर्ता गर्ने गरी निर्वाचनको मिति तय गरेको हो । संसद सचिवालयका अनुसार ‘पूर्वनिर्धारित समयमै चुनाव गर्ने निर्णयसहित कार्यसूची तय भएको छ ।’ यसअघि राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र २९ गते निर्वाचन गर्ने उल्लेख छ । सोही अनुसार आइतबार दिउँसो १ बजेर ९ मिनेटमा बस्ने बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको मिति तोक्ने कार्यसूची फाइनल गर्नेछ । यसअघि राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएर बिदा भएकाले अधयक्षको निर्वाचन हुन लागेको हो ।

वर्षाले रोकिएको नेपाल र हङकङबीचको खेल पुनः सुचारु

काठमाडौं । वर्षाका कारण रोकिएको त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल पुनः सुरु भएको छ । हङकङस्थित मिसन रोड मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । खेल रोकिएको करिब आधा घण्टापछि पुनः सुचारु भएको हो ।  खेलको ६ ओभर सकिँदा हङकङले एक विकेट गुमाएर ४५ रन बनाएको छ । जारी खेलमा नेपालका करण केसीले इनिङको पहिलो बलमै विकेट लिए । 

पहिलो बलमै करणले लिए विकेट

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिल फिल्डिङ गरिरहेको छ । मोङ कोकमा जारी खेलमा घरेलु टोली हङकङको विरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।  टस जितेर फिल्डिङ रोजेको नेपालका लागि पहिलो बलमा नै करण केसीले विकेट लिन सफल भएका हुन् ।  उनले मार्टिन कोर्टजको विकेट गुल्सन झा मार्फत क्याच गराएका हुन् । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ । फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज भने आज आइतबार सुरु भएको हो ।

नेपालले हङकङविरुद्ध फिल्डिङ गर्ने

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिल फिल्डिङ गर्ने भएको छ । मोङ कोकमा हुने खेलमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ । फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज भने आज आइतबार सुरु हुन लागेको हो ।

सुनको मुल्यमा फेरि रेकर्ड, आइतबार १ हजार बढ्यो

काठमाडौं । सुनको मुल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । विगत ५ दिन देखि सुनले दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा १ हजार रुपैयाँले सुन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा आइतबार १ लाख २६ हजार रुपैयाँ पुगेको छ । हालसम्मकै उच्च मुल्यको रेकर्ड कायम फेरि भएको हो । गत मंगलबार तोलाको १ लाख २३ हजार रुपैयाँ मूल्य कायम भई अघिल्ला सबै रेकर्ड तोडिएको थियो । बुधबार १ लाख २३ हजार ५ सय, बिहीबार र शुक्रबार १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख २६ हजार कायम भएको हो । अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । सो आधारमा नेपालमा पनि  मूल्य समायोजन हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिका वावजुत माग बढ्दै जाँदा मूल्यमा असर परेको हो । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ४७० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

सर्लाहीमा ४ राउण्ड गोलीसहित दुईजना पक्राउ

काठमाडौं । सर्लाही प्रहरीले ४ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । सर्लाही वाग्मती नगरपालिका १० सोल्टी नहर अस्थाई प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीवाट खटिएको साझा पोसाका प्रहरी समेतको  चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा ४ राउण्ड गोली सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीका अनुसार शंकरपुरबाट सोल्टीतर्फ आउँदै गरेको बिआर ३० डव्लु ५८८३ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार एक जना व्यक्तिसँग ४ राउण्ड अबैध गोली फेला परेको बताए । पक्राउ पर्नेमा सर्लाही मंलगवा नगरपालिका १ बस्ने वर्ष २१ को पोसन महरा राम र वाग्मती नगरपालिका  ८ बस्ने वर्ष २४ को रंजित राम रहेका छन् ।  

मन्त्री चौधरीको अमेरिका भ्रमण रद्व, सचिवको टोली प्रस्थान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको अमेरिका भ्रमण रद्व भएको छ । भ्रमणका लागि यही फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति दिए पनि मन्त्री चौधरीको भ्रमण  स्थगित भएको हो । सोमबार र मंगलबार संयुक्त राष्ट्र संघको आयोजनामा न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमनको ६८ ओैं सत्रमा भाग लिन मन्त्री चौधरी जाने कार्यक्रम तय भएको थियो । संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुने बारे अघिल्लो सरकारको मन्त्रालयबाट नै तय भएको थियो । प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने तयारी गरेकोले पनि उनको भ्रमण रोकिएको बताइएको छ । मन्त्रि चौधरीले मन्त्रालयको कामका बारेमा अध्ययन गर्नका लागि पनि भ्रमणमा नजान खोजेको स्रोतले बताएको छ । मन्त्री नजाने भएपछि उक्त कार्यक्रमका लागि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरेको छ ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भक्तपुर। भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुल नजिक भएको दुर्घटनामा मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ का मणिराज घिमिरे रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२(०३२ प ३३१३ नम्बरको मोटरसाइकल शनिबार राति १२ः४३ बजे सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको थियो । मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका(४ घर भई काभ्रेपलान्चोक जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसपाका मन्त्रीहरूले आज शपथ लिदै

काठमाडौंं । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेपछि उनीहरुको सपथ आज हुने भएको हो ।  अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् । साह वन तथा वातावरण मन्त्री बन्ने भएका छन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् । जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै वर्तमान गठबन्धनको बहुमत सुनिश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारीमा जुटेका छन् । 

राष्ट्रियसभा अध्यक्षको उम्मेदवारबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपराह्न ५ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिए ।  पदाधिकारी बैठकले आगामी मंगलबार हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि उम्मेदवार छान्ने छ । नयाँ बनेको गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउने सहमति अनुसार माओवादीले उम्मेदवार छान्न लागेको हो । माओवादीमा राष्ट्रियसभा अध्यक्षका लागि हाल उपाध्यक्ष रहेकी उर्मिला अर्याल, नारायण दाहाल र झक्कुप्रसाद सुवेदी आकांक्षी रहेका छन् ।कस्लाई उम्मेदवार बनाउने भन्ने निर्णय पदाधिकारी बैठकले लिने हिजो बसेको संसदीय दल बैठकमा सहमति बनेको थियो । सोही अनुसार आज बैठक बोलाइएको हो । यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ । तर कसलाई उम्मेदवार बनाउने भन्ने केही खुलाएको छैन । नयाँ सत्ता समीकरण बन्नु अघि नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बन्ने चर्चा रहेको थियो । तर समीकरण परिवर्तन भएपछि कांग्रेसले कुनै निर्णय गरेको छैन । राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता र मंगलबार मतदानको तयारी रहेको छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन बैठक आज पनि बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेका विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको रहेको छ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ । यस्तै, अध्यक्षले राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि दिन तोक्नुका साथै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्नेछन् । बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ ।

आज पहाडी भूभागमा आंशिक बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित देशका पहाडी आंशिक भूभागमा बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर १८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १० मिनेटमा हुनेछ ।

जसपाका मन्त्रीले आज ११ बजे शपथ लिने

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले आइतबार जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मन्त्री बन्नेहरूको शपथ गराएर मन्त्रीपरिषद् विस्तार गरिने जानकारी दिएका हुन् ।  जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् ।साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार शपथ बिहान ११ बजे राष्ट्रपति कार्यालय सितल निवासमा हुनेछ ।भाेलि थपिने मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराउनेछन् ।