यस्ता छन् नवनियुक्त मन्त्रीहरूका पहिलो निर्णय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले बुधबार पदबहाली परेका छन् । राष्ट्रपति निवासमा शपथ ग्रहण गरे लगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनीहरुले पहिलो निर्णय गरेका हुन् । 

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा देखिएका समस्या र सडकसम्बन्धी पूर्वाधार निर्माणमा भएको ढिलाइबारे अध्ययन गर्न सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका छन् । १५ दिनभित्र सुुझावसहितको प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिइएको छ ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीले नारायणकाजी श्रेष्ठले नेपाल र डोमेनिकन रिपब्लिकबीच द्विपक्षीय परामर्श संयन्त्र गठन गर्ने पहिलो निर्णय गरेका छन् । 

अर्थमन्त्री वर्षमान पुनले हरित जलवायु कोष (जिसिएफ)को ‘कन्ट्री प्रोग्राम’अन्तर्गत पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने, हरित जलवायु कोषमार्फत सञ्चालन हुने आयोजनालाई दिगो र पूर्वाधारयुक्त बनाउन सम्बन्धित विषयगत मन्त्रालय र दातृ निकायलाई मार्गनिर्देश गर्ने, जलवायु कोषहरूबाट प्राप्त हुने स्रोत (अनुदान तथा सहुलियतपूर्ण सहायता) लाई मिलाई गरी सरकारी तथा निजी क्षेत्रलाई समेत परिचालन गर्ने निर्णय गरेका छन् । ‘अर्थतन्त्रमा संकट नै होइन । चलायमान कम भएको हो, खास–खास क्षेत्रमा । चुनौती छन् । प्रधानमन्त्रीजीले मुख्य कामका रूपमा खासगरी आर्थिक समृद्धि, सुशासन, सामाजिक न्याय कायम गर्ने प्राथमिकता निर्धारण गर्नुभएको छ । नयाँ सहकार्यले त्यसैलाई नै आत्मसात् गरेको छ’, पुनले भने ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले मन्त्रालयको जनरल नेटवर्क एक्सेस फ्रेमवर्कको अधीनमा रहेर विस्तृत रूपमा जनरल नेटवर्क एसेससम्बन्धी निर्देशिका तयार गर्ने निर्णय गरेका छन् ।

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले क्षमता विकाससँग सम्बन्धित तालिमका लागि सेनाका अधिकृतलाई जर्मनी पठाउने पहिलो निर्णय गरेका छन् ।

सञ्चारमन्त्री रेखा शर्माले नेपालमा ब्यान्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे)को सम्भावना अध्ययनका लागि समिति गठन गर्ने निर्णय गरेकी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सुर्खेतको कालिका माविका लागि ६ रोपनी वनको जग्गाको भोगाधिकार र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनका लागी राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय गरेका छन् ।

कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरेकी छन् । मन्त्रालयले गत आवदेखि सञ्चालन गरेको यो परियोजनाको कार्यान्वयनबाट पहाडी तथा हिमाली क्षेत्रमा १० हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती विस्तार गर्ने योजना बनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले एकद्वार प्रणालीबाट श्रमिकको समस्या सुन्न प्रभावकारी कल सेन्टर स्थापना गर्ने । र, मलेसियासँगको श्रम सम्झौता नवीकरणका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हवाई नीति–२०६३ संशोधन गर्न सुझाव दिनका लागि सम्बन्धित महाशाखा प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयअन्तर्गतका सातवटा महाशाखा र विभिन्न निकायमा रहेका कर्मचारीको दरबन्दी नबढ्ने गरी समायोजन गर्न सुझावसहितको अध्ययन गरी प्रतिवेदन तयार गर्ने पहिलो निर्णय गरेका छन् ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलाडीहरूलाई खेल मैदानसँग जोडिरहन, मनोबल बढाउन र खेलमार्फत राष्ट्रको गरिमा उच्च राख्न, राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितालाई व्यावसायिक बनाउन तालिका क्यालेन्डरसहितको कार्ययोजना बनाई समन्वयात्मक रूपमा कार्यान्वयन गर्न खेलकुद विकास ऐन २०७७ को दफा ५१ बमोजिम राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिने निर्णय गरेका छन् ।

शिक्षामन्त्री सुमना श्रेष्ठले नेपाली युवालाई नेपालमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न त्रिभुवन विश्वविद्यालयलगायत संघीय कानुनअन्तर्गत स्थापना तथा सञ्चालनमा रहेका मौजुदा तेह्रवटा विश्वविद्यालयमध्ये एघारवटा विश्वविद्यालयमा रहेको कुलपति तथा सहकुलपतिको व्यवस्थालाई समसामयिक रूपमा परिमार्जन गरी विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्याक्तित्वबाट हुने गरी कानुनी प्रवन्ध गर्न आवश्यक भएकाले मौजुदा विश्वविद्यालयसम्बन्धी ऐन तथा उच्च शिक्षासम्बन्धी कानुनमा सोही बमोजिमको सुधार गर्न आवश्यक व्यवस्थाका लागि प्रारम्भिक काम कारवाही अगाडि बढाउने निर्णय गरेकी छन् ।

पर्यटन मन्त्री हितबहादुर तामाङद्धारा पदभार ग्रहण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पदभार ग्रहण गरेका छन् । सिंहदरवारस्थित मन्त्रालयमा पुगेर मन्त्री तामाङले पदभार ग्रहण गरेका छन् ।  पदभार ग्रहण गर्ने क्रममा उनले हवाई नीति २०६३ संशोधन गर्न सुझाव दिनका लागि सम्बन्धित महाशाखा प्रमुख एवम् सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

शेयर लगानीकर्ताको हित रक्षा गर्ने अर्थमन्त्री पुनको प्रतिबद्धता

काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर लगानीकर्ताहरुको हित रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् ।आज शपथ ग्रहण पश्चात सिंदरबारमा पदभार ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् । शेयर बजारमा ६० लाख भन्दा बढि जनताको लगानी रहेको उल्लेख गर्दै यस क्षेत्रको अन्योलता चिरेर काम गर्ने बताए । मन्त्री पुनले शेयर बजारमा ६० लाख जनताको लगानी रहेको शेयर बजारमा चलखेल हुन नदिने बताउँदै शेयर बजारमा तलमाथि गर्ने जस्तो प्रवृत्तिहरु निरुत्साहित गरिने उनले बताए । मन्त्री पुनले लगानीकर्ताको मनोबल उच्च बनाएर काम गर्ने वातावरण बनाउने समेत बताए ।   

सञ्चार तथा सूचना प्रविधिमन्त्रीद्वारा पदभार ग्रहण

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शपथ लगत्तै सिंदरबारमा पुगेर पदभार ग्रहण गरेकी छिन् ।  राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनी सिंहदरबारस्थित सञ्चार मन्त्रालय पुगेकी हुन् । सञ्चार मन्त्रालयमा सचिव तथा उच्च अधिकारीले स्वागत गरेपछि सञ्चारमन्त्री शर्माले पदभार ग्रहण गरिन। निवर्तमान सञ्चारमन्त्री शर्मा बुधबार दिउँसोमात्र मन्त्रालयमा बिदाइ कार्यक्रम गरेर बाहिरिएकी थिइन् । बिदाइ कार्यक्रम हुँदै गर्दा उनलाई पुनः सञ्चारमन्त्रीकै रुपमा शपथका लागि निम्तो पुगेको थियो । 

जनयुद्दकालीन डायरीहरुले सम्झायो युद्धका दिनहरु

नेपालगञ्ज । पत्रकार मनऋषि धितालले लेखेका सात वटा पुस्तकको बारेमा नेपालगञ्जमा संबाद कार्यक्रम भएको छ । धितालले लेखेका जनयुद्धकालिन डायरीहरुको संगालो सात वटा पुस्तकमाथि नेपालगञ्जमा संबाद कार्यक्रम बुधबार सम्पन्न भएको हो । सो क्रममा फेरि पनि जनयुद्धका दिनहरुको स्मरण भएको छ । प्रेस सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा भएको सम्बाद कार्यक्रममा पत्रकार धिताललाई सम्मान पनि गरिएको छ ।  कार्यक्रममा सात वटा पुस्तक माथि फरक फरक बत्ताहरुले समिक्षा गरेका छन् ।  धितालले लेखेको डायरी जेल यात्रा पुस्तकको बारेमा पत्रकार तुला अधिकारीले समिक्षा गरेका छन् । यस्तै, अर्को पुस्तक बेनी यात्राका विषयमा साहित्यकार महानन्द ढकालले, आधार यात्रा पुस्तकको बारेमा पत्रकार शंकर खनालले, राजमार्ग यात्राको बारेमा साहित्यकार लेक प्याकुरेलले समिक्षा गरेका छन् ।  यसैगरी, पिली यात्राको बारेमा राजनीतिककर्मी दुर्गा बहादुर थारुले, गण्डक यात्राको बारेमा बरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले र गुफाप्रेसका चिठ्ठीमाथि साहित्यकार शशिराम कार्कीले समिक्षा गरेका छन् ।  नेपालगञ्जको सुनाखरी रेस्टुरेन्ट बिपि चौकमा भएको कार्यक्रममा समिक्षकहरुले पत्रकार धितालले लेखेका पुस्तकले जनयुद्धको दस्तावेजको काम गरेको बताएका थिए । उनीहरुले यो डायरीहरुबाट सत्यकथामा आधारित उपन्यास बनाउन पनि सकिने बताए । समिक्षकहरुले कृति यथार्थपरक रहेको पनि बताए ।उनीहरुले एकैपटक यति धेरै डायरीहरु प्रकाशन गर्नु ऐतिहासिक काम भएको समेत बताए ।  समिक्षकहरुले जनयुद्धमा भएका वास्तविक घटनाक्रमहरुलाई जस्ताको तस्तै उतार्न पुस्तक सफल भएको टिप्पणी पनि गरे । पत्रकार धितालले जनयुद्धको समयमा भएका घटनाक्रमहरुलाई टिपोट गर्ने गरेको र अहिले त्यसलाई पुस्तकको रुपमा प्रकाशन गरिएको जानकारी दिए । पत्रकार धितालका सात पुस्तक गएको फागुन १ गते जनयुद्ध दिवशको अवसरमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका थिए । बरिष्ठ पत्रकार धिताल जनयुद्धकालका मोर्चाहरुमा समेत प्रत्यक्ष रुपमा पत्रकारितामा संलग्न रहेका थिए । 

सत्ता गठबन्धनबाट आएको प्रस्तावमा सकारात्मक :  एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जान सकारात्म देखिएको छ । आफूहरूका सर्तहरू मान्न तयार भए एकीकृत समाजवादी सरकारमा सहभागी हुन तयार रहेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार पार्टीको आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री र सत्ता गठबन्धनबाट आएको प्रस्तावमा सकारात्मक भएको निष्कर्ष निकालेको छ । पार्टीका माग राख्न पार्टी अध्यक्ष माधव नेपाल‚ महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल गठबन्धनका नेताहरूसँग छलफल गर्न गएका छन् ।

रास्वपाका ४ मन्त्री यी हुन् मन्त्रालय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चार मन्त्रालय लिने भएको छ । बुधबार दिउँसो टुंगिएको भागबन्डाअनुसार रास्वपाले गृह, खेलकुद, शिक्षा र श्रम मन्त्रालय लिने भएको हो ।  बुधबार दिउँसो टुंगिएको भागबन्डाअनुसार पार्टीबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् । पार्टी रविकै नेतृत्वमा सरकार जाने भएको हो ।  पार्टीका एक नेताले दिएको जानकारीअनुसार डीपी अर्याल श्रममन्त्री बन्ने भएका छन् । यस्तै, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री बन्दा सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने पक्का भएका हुन् ।

माओवादीका ५ मन्त्री जसले नेतृत्व गर्दैछन् यी मन्त्रालय

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट जाने मन्त्रीको मन्त्रालय टुंगिएको छ । सत्तागठबन्धनमा भागबन्डा टुंगाएपछि माओवादीले पार्टीबाट सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएको हो । माओवादीले यसअघि उपप्रधान तथा गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्ति बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयमा पठाइने भएको छ । माओवादीले सुदन किरातीबाहेक सबै दोहोरिने मौका पाएका छन् उपमहासचिवसमेत रहेका पुनलाई नयाँ ल्याइएको छ । आज बसेको गठबन्धनको बैठकमा नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ।

धादिङ बस दुर्घटना :  सातमध्ये २ मृतकको सनाखत, नदीमा अझै केही बेपत्ता भएको आशंका

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने सातजनामध्ये अहिलेसम्म दुई जनाको मात्रै सनाखत भएको छ।  दुर्घटनामा मृत्यु भएका सातमध्ये दुई जनाको मात्रै सनाखत भएको छ ।बाँकि ५ जनाको सनाखत हुन सकेको छैन । सनाखत हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका २ की ३२ वर्षीया रुबी श्रेष्ठ र काठमाडौँको चन्द्रागिरि नगरपालिका १० का ५५ वर्षीय देखा कटुवार रहेका रहेका छन् । अझै त्रिशूली नदीमा केही मानिस बेपत्ता भएको आशंकामा खोजी कार्य पनि जारी छ ।   

माओवादीद्धारा लुम्बिनी प्रदेश सरकारको समर्थन फिर्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  पार्टी संसदीय दलका नेता जोखबहादुर महरा र प्रमुख सचेतक इन्द्रजीत थारुले विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जानकारी दिएका छन् ।  लुम्बिनीमा नेपाली कांग्रेस नेतृत्वमा सरकार छ ।

माओवादीद्धारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पनि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। धनगढीमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद ओम विक्रम भाटले जानकारी दिए। केन्द्रमा बनेको नयाँ समीकरणको असर सुदूरपश्चिममा पनि देखिएको हो। सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्। उनले हिजो नै माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेका थिए। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेपछि माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। ओवादीले समर्थन फिर्ता लिए पनि एकीकृत समाजवादीले साथ दिए कांग्रेस नेतृत्वको सरकार सुरक्षित छ। ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस, एकीकृत, समाजवादी, र नागरिक उन्मुक्तिका सांसद मिले २९ सांसदको समर्थन जुट्नेछ। अब मुख्यमन्त्रीको भविश्य एकीकृत समाजवादीको निर्णयमा भर पर्नेछ।

गण्डकीमा माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकीमा माओवादी केन्द्रले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको हो ।  आज बसेको पार्टी संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।  यसअघि मंगलबार मुख्यमन्त्री पाण्डेले माओवादीबाट सरकारमा सहभागी दुई मन्त्रीलाई हटाएका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै ३० दिनभित्र मुख्यमन्त्रीले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिनुपर्ने हुन्छ ।

त्रिशूली दुर्घटनामा घाइते भएका ३९ यात्रु, कस्को अवस्था कस्तो ? (विवरणसहित)

काठमाडौं ।धादिङको गजुरी गाउँपालिका ५ घाटबेँसीस्थित त्रिशूली नदीमा बुधबार बिहान बस खस्दा घाइते भएकाहरूको सनाखत भएको छ। तर मृत्यु भएका ७ जनाको भने पहिचान हुन बाँकी छ।  दुर्घटनामा घाइते ३९ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो। कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै  गरेको लु २ ख २१२१ नम्बरको बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान करिब ४ बजे त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा एक महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  यस्तो छ घाइतेको विवरण  भारत उत्तर प्रदेश सिदार्थ नगर करोन्दा मयिनाथ मा बस्ने वर्ष ३० को टिकुरी चौधरी (टाउकोमा चोट, अवस्था मध्यम), क्यानडा बस्ने विदेशी नागरिक महिला (अवस्था मध्यम), काभ्रे पाँचखाल नगरपालिका बस्ने ३४ वर्षका सुरेश सुनार (खुट्टामा चोट,अवस्था सामान्य), सोही स्थानका २१ वर्षीय रविप्रसाद राजपुत (अवस्था मध्यम), रुपन्देहीकी ५६ वर्षीया शान्ति पौडेल (टाउको र हातमा चोट, अवस्था मध्यम) को काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी।  यस्तै रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका ६ बस्ने वर्ष ३५ को सैयाद आमद अलि (मुख हातमा चोट अवस्था सामान्य), पोल्यान्डका ४१ वर्षीय टावेल (टाउकोमा चोट,अवस्था मध्यम), काठमाडौँ गोकर्णेश्वर नगरपालिका ८ बस्ने वर्ष ५४ को जनक बन्जारा (ढाँड काँधमा चोट, अवस्था मध्यम),  रुपन्देही मधुवनी गाउँपालिका १ बस्ने वर्ष २५ को महमद आशिफ (अवस्था मध्यम), काठमाडौँ चन्द्रागिरि नगरपालिका १० बस्ने वर्ष ५१ को ध्रुव महर्जन (टाउको खुट्टा र ढाडमा चोट, अवस्था सामान्य)। यस्तै रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका १२ बस्ने वर्ष १८ का रामनिवास लोद (टाउकोमा चोट, अवस्था सामान्य(, सोही स्थानका वर्ष २२ का केदारनाथ लोद (टाउकोमा चोट, अवस्था मध्यम), वर्ष २२ का अशोक यादव (मुखमा चोट, अवस्था सामान्य) र भारत सिद्धार्थ नगर बस्ने वर्ष २७ को राकेश लोद (हातखुट्टामा चोट, अवस्था मध्यम) को पनि काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी।  यस्तै रुपन्देही गैडहवा ५ बस्ने वर्ष २८ को दिलीपकुमार चमार (बाँया हात दाहिने खुट्टामा चोट, अवस्था सामान्य),  सोही स्थानका ५७ वर्षीय बाबुराम हजैम (बाँया हात दाहिने खुट्मा चोट, अवस्था सामान्य), काभ्रे नमोबुद्ध ८ बस्ने वर्ष २० को उत्तम तामाङ, रुपन्देहीका ६ वर्षीय विवश राज श्रेष्ठ (टाउकोमा चोट, अवस्था मध्यमण, उनका बुवा वीरेन्द्रराज श्रेष्ठ (टाउकोमा चोट, अवस्था मध्यम) को धादिङको गजुरी अस्पताल प्रालिमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।  सोही अस्पतालमा उपचारत घाइतेहरूमा स्याङजा गल्याङ नगरपालिका २ घर भई हाल काठमाडौँ उपत्यका ट्राफिक कार्यालय रामशाह पथमा कार्यरत प्रहरी जवान वर्ष २६ का शिशिर न्यौपाने, सोही स्थानकी २८ वर्षीया कुसुम ढुङ्गाना, स्याङजा वालिङ नगरपालिका ९ बस्ने वर्ष ४७ को भविश्वर गैरे, प्युठान जिम्रुक ६ बस्ने वर्ष २१ को सञ्जय भुसाल, सिन्धुपाल्चोक तातोपानी गाउँपालिका ९ बस्ने वर्ष २६ का सोनाम डोल्मा शेर्पा छन्। यस्तै रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका बस्ने १८ वर्षका बलिराम लोद, सोही स्थानका ७ वर्षीय मुक्तिनारायण नाँउ, ४० वर्षीय रमेश नेपाली, वर्ष ५ की काव्य नेपाली, रुपन्देही काराहीमाई गाउँपालिकाकी ३५ वर्षीया निर्मला नाँउ, रुपन्देही संस्कृति नगरपालिका ४ का ३१ वर्षीय अबदुल्ला मुसलमान, भारत उत्तर प्रदेश बगनाउ पत्थरावा बस्ने ३८ का अक्लेशकुमार बानियाँ, काभ्रे नमोबुद्ध ८ बस्ने वर्ष २९ का विराज लामा, सिन्धुपाल्चोक तातोपानी ९ बस्ने वर्ष ४७ का गगन लावाङ सेन्दुक शेर्पा, रुपन्देही गैडहवा ५ बस्ने वर्ष १८ रमेश चमार पनि घाइते छन्। यस्तै दुर्घटनामा सामान्य घाइते भएकाहरू प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारत रहेको प्रहरीले जनाएको छ। जसमा रुपन्देहीको सिमारी २ बस्ने वर्ष ४० का ओमप्रकाश यादव, नवलपरासी सुनवल नगरपालिका ४ का वर्ष २३ को राजु नेपाली, रुपन्देही संस्कृति नगरपालिका ६ का वर्ष ३० का अबिबुल्ला मुरुल, बुटवलका २३ वर्षका दया बानियाँ र पाल्पा रम्बादेवीका १८ वर्षीय नविन अर्याल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

अपडेटः घाटबेसी दुर्घटनाका मृतकको सङ्ख्या ७ पुग्यो, ३० बढी घाइते

धादिङ । धादिङको गजुरी गाउँपालिका –५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा एक जना महिला सहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको अझै पनि सनाखत भैसकेको छैन । केसीले दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका बताए । प्रहरी उपरीक्षक केसीका अनुसार घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्दार र उपचारको काम व्यवस्थित र प्रभावकारी तुल्याउन प्रशासन संयन्त्रलाई निर्देशन दिएका छन् ।

मेयर रेनु दाहाल लन्डनमा, ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ ले सम्मानित हुँदै

काठमाडौं । चितवन जिल्ला भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल मंगलबार बिहान लन्डन पुगकी छिन् । उनी ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ ग्रहण गर्ने सिलसिलामा लण्डन पुगेकी हुन् । मेयर दाहालले पाउन लागेको ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ वितरण समारोह बिहीबार साँझ लन्डनस्थित बेलायती संसद भवनमा हुँदै छ । मेयर दाहाललाई विमानस्थलमा लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए युके अध्यक्ष हित काजी गुरुङले स्वागत गरेका थिए ।  यसैगरी नेकपा माओवादी केन्द्रीय सदस्य एवम् गेसो अध्यक्ष कृष्णकुमार राई, जनप्रगतिशील मञ्च युके अध्यक्ष विमला लिम्बू, काउन्सिलर एवम् पर्यटन बोर्डका प्रवर्द्धक धन सार्की, माओवादीनिकट आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य एवम् किराया बेलायत अध्यक्ष मेजर योगेश राईलगायत अन्य विभिन्न व्यक्तिहरु पनि विमानस्थलमा उपस्थित थिए । लण्डनमा रहँदा मेयर दाहालले अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी हुने छिन् । शुक्रबार साँझ दाहालले लण्डनको रोयल ग्रीनवीच बरोमा र  आइतबार नेकपा माओवादीनिकट जनप्रगतिशील मञ्च युकेसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ  ।

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा जानेबारे निर्णय लिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी सचिव जीवनराम श्रेष्ठ जानकारी दिएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष माधव नेपाललाई  उनकै निवासमा पुगेर सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । जवाफमा नेपालले सल्लाह गर्ने बताएका थिए ।  प्रचण्ड ओलीको प्रस्तावमा सकारात्मक रहेका नेपालले आजको बैठक मार्फत सरकारमा सहभागी हुनेबारे निर्णय लिनेछन् ।