शनिश्चरे तालमा विभिन्न प्रजातिका १६ हजार माछाका भुरा हालियो
नवलपुर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जिल्लाको देवचुली–१ मा रहेको शनिश्चरे तालमा विभिन्न प्रजातिका १६ हजार माछाका भुरा हालेको छ। विश्व मत्स्य दिवसका अवसरमा कार्यालयले राहु, नैनी र कमनलगायतका प्रजातिका माछाका भुरा तालमा हालेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा शर्मिला कुमालले जलीय जैविक विविधताको प्रव्रद्धन, खाद्य तथा पोषण सुरक्षाको संवद्र्धन भन्ने नारासहित माछाका भुरा हालिएको जानकारी दिइन् । प्राकृतिक हिसाबले स्थानीय प्रजातिका माछाका भुरा यहाँको वातावरणमा बढ्न र हुर्कन मद्दत पुग्ने भएकाले राहु, नैनी र कमन प्रजातिका माछाका भुरा हालिएको कुमालले बताइन् । यो ठाउँ पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण भएकाले पर्यटनसँगै संरक्षणलाई जोड दिने उनीहरूको प्रयास रहेको डा कुमालले बताइन् ।
मत्स्यविकास केन्द्र भण्डारा चितवनमा हुर्काइएको माछाका भुरा ल्याएर प्राकृतिक तालमा हालिएको उनले जानकारी दिइन् । विगतका वर्षमा नारायणी नदीमा माछाका भुरा हाल्ने गरिएको भए पनि यसपटक तालमा हाल्नुको मुख्य उद्देश्य भनेको संरक्षण र पर्यटनलाई जोड्नु नै भएको उनले बताइन् ।
नेपालमा हरेक वर्ष एक जनाका लागि साढे २० किलो माछा आवश्यकपर्ने भए पनि नेपाली उत्पादन भने तीन किलोभन्दा बढी हुन नसकेको उनले बताइन् ।
किसानले भने नेपालका सबै ठाउँमा सबै सिजनमा माछा उत्पादन गर्न कठिन भएको र उत्पादन हुने समयमा बजार अभाव हुने गरेको बताउँछन् । नवलपुरका मत्स्य व्यवसायी इन्द्रमणि भुसालले सरकारले माछापालक किसानका लागि गरेको सहयोग पर्याप्त नभएको बताए ।
सरकारले माछाको भुरामा अनुदान, दाना बनाउने मेसिन, माछालाई चाहिने अक्सिजन, पोखरी खन्न अनुदान दिँदै आएको भए पनि पर्याप्त नभएको किसानको भनाइ छ ।
रुकुम पूर्वका एमाले नेता मल्ल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश, संयोजक प्रचण्डद्वारा पार्टीमा स्वागत
ललितपुर । रुकुम पूर्वका पूर्व उप–बिजेता तथा नेकपा (एमाले) का संघीय उम्मेदवार रहेका कैलाश कुमार मल्ल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । उहाँलाई पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीमा स्वागत गर्नुभयो । पार्टी प्रवेशका क्रममा मल्लले विस्तृत राजनीतिक पृष्ठभूमि र आफ्नो निर्णयका आधारबारे स्पष्ट धारणा सार्वजनिक गर्नुभएको छ। जनताको मुक्तिका लागि चलेको जनयुद्धका कठिन दिनहरू स्मरण गर्दै उहाँले सेनाद्वारा गिरफ्तारी, शिवपुरीमा सहनुपरेको यातना र त्यसपछिका राजनीतिक यात्राबारे धारणा राख्नुभएको छ । एमालेभित्र पारित भएका ७० वर्ष उमेर सीमा र दुई कार्यकाल सीमित गर्ने प्रावधान उल्ट्याइएकै दिनदेखि आफू निराश बन्दै गएको बताउँदै उहाँले पार्टीभित्र गुटगत स्वार्थ, भेदभाव र जनवादी केन्द्रीयताको हनन चरम सीमामा पुगेको आरोप लगाउनुभएको छ। उहाँले माओवादी पृष्ठभूमिबाट आएका कार्यकर्ताप्रति एमाले नेतृत्वमा देखिएको नकारात्मक व्यवहार, ‘आतङ्ककारी’ ट्याग लगाउने प्रवृत्ति तथा फरक विचार राख्नेहरूलाई बहिष्कार गर्ने चरित्रले आफू पीडित भएको उल्लेख गर्नुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता रोकिएको निर्णयलाई उहाँले ‘अहंकारी र अराजकतन्त्रतर्फ उन्मुख नेतृत्वको पराकाष्ठा’ भन्नुभयो। एमाले नेतृत्वबाट भ्रष्टाचार, सहिद परिवारप्रति बेवास्ता र रुकुम–रोल्पाजस्ता राता भूगोलप्रति नकारात्मक दृष्टिकोण देखिँदै गएपछि आफूले गम्भीर राजनीतिक मूल्यांकन गर्न बाध्य भएको मल्लको भनाइ छ। मल्लले जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्ड, झापा विद्रोहका नेता झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, राष्ट्रवादी छवि भएका भीम रावल, जनयुद्धका अग्रणी कमाण्डर तेजबहादुर ओली ‘प्रतिक’, कमला रोका, गणेशमान पुनलगायत नेताहरूको भूमिकाले आफूलाई पुनः मूल कम्युनिस्ट धारतर्फ फर्किन प्रेरित गरेको बताउनुभयो। रुकुमपूर्वको शिक्षा, स्वास्थ्य, पूर्वाधार र समग्र जीवनस्तर सुधारका लागि ‘फुटेर होइन, जुटेर’ मात्र लक्ष्य पूरा हुनसक्ने विश्वास व्यक्त गर्दै उहाँले एमालेमा बसेर उद्देश्यपूर्ण राजनीतिक योगदान असम्भव भएको स्पष्ट पार्नुभयो। मल्लले आजदेखि औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको घोषणा गर्दै पार्टी इनचार्ज तेजबहादुर ओली, पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष केशव रावल, भूमे गाउँपालिका अध्यक्ष हिमाल पुनलगायतले दिएको निरन्तर सहयोग तथा मार्गदर्शनप्रति आभार व्यक्त गर्नुभयो। रुकुमपूर्वको समृद्धि र उत्पीडित जनताको न्यायका लागि पूर्ण समर्पणसहित काम गर्ने प्रतिवद्धता मल्लले व्यक्त गर्नुभएको छ ।
प्रचण्डको प्रमुख आतिथ्यमा आज पेरिसडाँडामा ‘जेनजीसँग नेकपा’ कार्यक्रम हुँदै
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी निकट युवा संगठन वाइसीएल नेपालको आयोजनामा आज शनिबार ‘जेनजीसँग नेकपा’ कार्यक्रम काठमाडौँको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा हुँदैछ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रम दिउँसो १२ बजे सुरु हुने आयोजकले जनाएको छ। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्डले जेनजी युवाहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको वाइसिएलका अध्यक्ष पुष्प ओलीले एभरेष्ट दैनिकलाई जानकारी दिए । कार्यक्रममा युवाहरूलाई पार्टीसँग जोड्ने, समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तथा आगामी रणनीति बारे जानकारी दिने मुख्य उद्देश्य रहेको बताइएको छ।
बंगलादेशमा ५.७ म्याग्निच्युडको भूकम्प : १० को मृत्यु, ४५० भन्दा बढी घाइते
एजेन्सी — बंगलादेशमा शुक्रबार बिहान गएको ५.७ म्याग्निच्युडको भूकम्पबाट मृत्यु हुनेको संख्या १० पुगेको छ भने ४५० भन्दा बढी व्यक्ति घाइते भएका छन्। बीबीसी बंगला र बंगलादेशको विपद् व्यवस्थापन विभागका अनुसार स्थानीय समय बिहान करिब १०:३० बजे ढाकाबाट करिब ३० किलोमिटर टाढा नरसिंदी जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। भूकम्पबाट सबैभन्दा बढी प्रभावित नरसिंदीमा ४ जनाको मृत्यु भएको छ भने ढाकामा ४ जना र नारायणगन्जमा १ जनाको ज्यान गएको छ। घाइतेहरूको संख्या ४५० नाघेको विपद् व्यवस्थापन विभागका निताई चन्द्र दे सरकारले बताएका छन्। भूकम्पका कारण नरसिंदीमा १०० भन्दा बढी भवनमा क्षति पुगेको छ भने ढाकामा मात्र १४ वटा भवनमा चर्किएको वा क्षति भएको जनाइएको छ। भूकम्पपछि उद्धार तथा राहत कार्य जारी रहेको र थप क्षतिको विवरण संकलन भइरहेको अधिकारीहरूले बताएका छन्।
चितवनको माडीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, बस खेतमा खस्दा दुई घाइते
चितवन — माडी नगरपालिका–१ गर्दीमा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने बस अनियन्त्रित भई खेतमा खस्दा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदल हिँडिरहेका माडी–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोलाई ठक्कर दिएको थियो। ठक्करबाट महतोको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए। पैदलयात्रीलाई ठक्कर दिएपछि बस अनियन्त्रित भई सडकबाट खेतमा खसेको थियो। सो क्रममा बसमा सवार दुई जना यात्रु घाइते भएका छन्। उनीहरूको भरतपुरको बघौडा अस्पतालमा उपचार भइरहेको र दुवैको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक फरार भएका छन्। चालकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
कान्तिलोकपथ अवरुद्ध : भीमफेदीमा औषधि बोकेको ट्रक पल्टियो
मकवानपुर — हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक मार्ग कान्तिलोकपथ आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। वीरगञ्जबाट काठमाडौँतर्फ औषधि बोकेर जाँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सडकमा ब्रेक फेल भई अनियन्त्रित भएर सडकमै पल्टिएपछि यातायात सेवा ठप्प भएको हो। दुर्घटनाका कारण दुवैतर्फका सयौं सवारीसाधन बाटोमै अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार ट्रकलाई सडकबाट हटाएर यथाशीघ्र बाटो सुचारु गर्ने प्रयास भइरहेको छ। हालसम्म दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
नवलपरासी पूर्वमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई गम्भीर घाइते
मध्यविन्दु — पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती–१६ डण्डा बजारमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार राति करिब १० बजे डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको अज्ञात सवारीसाधनले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक कावासोती–१६ गैडाचोकका ४२ वर्षीय हीराबहादुर परियारको उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। मोटरसाइकलमा पछाडि सवार कावासोती–३ की ३२ वर्षीया सुनिता जोहार्जा र कावासोती–१४ की २४ वर्षीया मीना मगर गम्भीर घाइते भएकी छन्। उनीहरूको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। ठक्कर दिने सवारीसाधनको पहिचान हुन नसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
एनपिएलमा आज पहिलो खेलमा ११:१५ मा लुम्बिनी र कर्णाली तथा ३:३० मा विराटनगर र काठमाडौँ भिड्ने
काठमाण्डौ — सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज ‘सुपर स्याटर्डे’ अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा दुई खेल हुँदैछन्। पहिलो खेल : कर्णाली याक्स विरुद्ध लुम्बिनी लायन्स कर्णाली पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई नै हराएर विजयी सुरुवात गरेको थियो। पहिलो जितको खोजीमा रहेको कर्णालीमाथि लगातार दोस्रो जितको दबाब लुम्बिनीमा छ। गत संस्करणमा कर्णालीले लुम्बिनीमाथि ५ रनको जित निकालेको थियो। दोस्रो खेल : काठमाण्डु गोर्खाज विरुद्ध विराटनगर किङ्स काठमाण्डुले दुई खेलबाट एक जित (जनकपुर बोल्ट्सविरुद्ध) र एक हार (सुदूरपश्चिम रोयल्सविरुद्ध) बेहोरेको छ। विराटनगरको यो दोस्रो खेल हो, जसले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको थियो। गत संस्करणमा काठमाण्डुले विराटनगरलाई १ विकेटको रोमाञ्चक जित दिएको थियो। हालको अंक तालिका स्थिति: सुदूरपश्चिम रोयल्स २ खेलबाट २ जितसहित ४ अंक जोडेर शीर्ष स्थानमा छ। समान १–१ जित भएका विराटनगर, लुम्बिनी, चितवन र काठमाण्डु क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा रहेका छन्।
आजका लागि विदेशी मुद्राको विनियमदर : कुन घट्यो, कुन बढ्यो ?
काठमाडौं — नेपाल राष्ट्र बैंकले शनिबार (मंसिर ६, २०८२ / नोभेम्बर २२, २०२५) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार प्रमुख मुद्राहरूको खरिद तथा बिक्री दर यस प्रकार रहेको छ: अमेरिकी डलर (USD): खरिद १४२.८८, बिक्री १४३.४८ युरोपियन युरो (EUR): खरिद १६४.६१, बिक्री १६५.३० बेलायती पाउन्ड स्टर्लिङ (GBP): खरिद १८६.६१, बिक्री १८७.३९ अस्ट्रेलियन डलर (AUD): खरिद ९१.९९, बिक्री ९२.३८ क्यानेडियन डलर (CAD): खरिद १०१.४०, बिक्री १०१.८२ जापानी येन १० (JPY): खरिद ९.११, बिक्री ९.१५ चिनियाँ युआन (CNY): खरिद २०.०९, बिक्री २०.१८ साउदी रियाल (SAR): खरिद ३८.१०, बिक्री ३८.२६ कतारी रियाल (QAR): खरिद ३९.२०, बिक्री ३९.३६ युएई दिराम (AED): खरिद ३८.९०, बिक्री ३९.०६ कुवेती दिनार (KWD): खरिद ४६५.०१, बिक्री ४६६.९७ बहराइन दिनार (BHD): खरिद ३७८.९९, बिक्री ३८०.५८ भारतीय रुपैयाँ (ICR) १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ रुपैयाँ कायम गरिएको छ। राष्ट्र बैंकले यो दरलाई आवश्यकता अनुसार जुनसुकै बेला संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले आफैंले थोरै फरक दर कायम गर्न सक्ने जनाएको छ।
देशभर मौसम मुख्यतया सफा, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले अहिले देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भएको छ भने तराई तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने छ भने बाँकी स्थानमा मौसम सफा रहने अनुमान छ। कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने छ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ।
गौतमबुद्ध क्रिकेट रंगशाला : धुर्मुसलाई भुक्तानी दिन भरतपुर महानगरलाई कानुनी अड्चन
चितवन। धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण सुरु गरी बीचैमा अलपत्र छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको बाँकी भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा देखिएको छ। संघीय सरकारले रु १५ करोड बजेट विनियोजन गरे पनि सार्वजनिक खरिद ऐन र भ्याटसम्बन्धी प्रावधानका कारण रकम भुक्तानी गर्न नसकिएको महानगरले जनाएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार संघीय सरकारले “सिर्जित सम्पत्ति खरिद” शीर्षकमा बजेट छुट्याएको छ। सार्वजनिक खरिद ऐनबमोजिम मात्र यस्तो शीर्षकको रकम खर्च गर्न सकिने भएकाले समस्या उत्पन्न भएको हो। फाउन्डेसन भ्याट दर्तामा नरहेको र रंगशाला निर्माण पनि सार्वजनिक खरिद प्रक्रियाबाट नभएकोले भुक्तानी प्रक्रिया जटिल बनेको उनले बताए। “पहिले महानगरको आफ्नै स्रोतबाट अनुदान दिएका छौं, त्यतिबेला हामीले आफैं कार्यविधि बनाएर भुक्तानी गरेका थियौं,” पौडेलले भने, “अहिले संघीय बजेट हो, संघीय ऐन–कानुन र कार्यविधिभित्र रहेर मात्र खर्च गर्नुपर्छ।” यसअघि महानगरले अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा पत्राचार गर्दा दुवै मन्त्रालयले “थप राय आवश्यक नरहेको” जवाफ पठाएका छन्। महानगर प्रमुख रेनु दाहालले अर्थमन्त्री, सचिव र कानुनी विज्ञहरूसँग परामर्श गर्दा पनि सोझै भुक्तानी गर्न नमिल्ने सुझाव पाएको बताइन्। “हामी जतिसक्दो चाँडो भुक्तानी गर्न चाहन्छौं, तर कानुनी प्रक्रिया नमिलेसम्म सम्भव छैन,” उनले भनिन्। उपप्रमुख चित्रसेन अधिकारीले पनि महानगर भुक्तानी दिने पक्षमा रहे पनि ऐन–कानुनले बाधा पुर्याएको बताए। फाउन्डेसनले २०७५ माघ १६ मा रंगशाला निर्माण घोषणा गरेको थियो। आर्थिक व्यवस्थापन गर्न नसकेपछि २०८० कात्तिकमा महानगर र बागमती प्रदेश सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्यो। त्यसलगत्तै संघीय सरकारले यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्यो। फाउन्डेसनले रु ५७ करोड १२ लाख बराबरको काम गरेको दाबी गरेको छ, जसमध्ये रु १८ करोड ४३ लाख उधारो छ। महानगरले २०८१ असारदेखि निर्माण सुचारु गरेको छ, हालसम्म ४५ प्रतिशत काम सम्पन्न। महानगरले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ– “निजी संस्थाले निजी रूपमा सिर्जना गरेको दायित्व सरकारी कोषबाट भुक्तानी दिनु अत्यन्त संवेदनशील र कानुनी रूपले जटिल विषय हो।” विज्ञप्तिमा सार्वजनिक प्रशासन भावनाबाट होइन, वैज्ञानिक विधिबाट सञ्चालित हुनुपर्नेमा जोड दिँदै अनावश्यक नकारात्मक टिप्पणी नगर्न सबैमा आग्रह गरिएको छ।
ज्यान मार्ने उद्योगका कसुरदार श्रेष्ठ एमालेको भोलेन्टियर फोर्सका कमान्डर
काठमाडौँ – नेकपा एमालेले शुक्रबार घोषणा गरेको ‘नेसनल भोलेन्टियर्स फोर्स’को इन्चार्जमा सिन्धुलीका पुष्पराज श्रेष्ठलाई नियुक्त गरेको छ। ४३ वर्षीय श्रेष्ठले २०६३ देखि २०७५ सम्म ज्यान मार्ने उद्योग (४ वटा), अपहरण, लुटपाट, अभद्र व्यवहार र धाकधम्की गरी ७ वटा आपराधिक मुद्दा खेपेका छन्। प्रहरी अभिलेखअनुसार श्रेष्ठमाथि गगन सिंह, विजय मुनाल, अविनास रिजाल, राजन घिसिङ, जीवन श्रेष्ठ, गणेश कुँवर र रामबहादुर कट्वालमाथि कुटपिट, गोली हान्ने, अपहरण, बन्धक बनाउने र लुटपाटका आरोप छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले यो फोर्सलाई “हिंसा र अराजकताविरुद्ध” खडा गरिएको बताए पनि यसको कमान्डरमा आपराधिक पृष्ठभूमिका व्यक्ति नियुक्त भएको विषयले व्यापक आलोचना भइरहेको छ।
विस्तृत शान्ति सम्झौताको पूर्ण कार्यान्वयनबाट नै युवाहरूको आकाङ्क्षाको सम्बोधन हुन सक्छ : प्रचण्ड
काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वृहत् शान्ति सम्झौताको शान्ति सम्झौता दुई दशक पुगेको स्मरण गर्दै विज्ञप्ति जारी गर्नुभएको छ। प्रचण्डले विज्ञप्तिमा भन्नुभयो, “नेपाली समाजमा युगौँदेखि विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, क्षेत्रीयलगायत सबै प्रकारका उत्पीडनको अन्त्य गर्ने उद्देश्यले अघि बढाइएको महान जनयुद्धलाई संस्थागत गर्ने क्रममा तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड र नेपाल सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच वृहत् शान्ति सम्झौता भएको आज १९ वर्ष पुगेको छ।” उहाँले न्याय, समानता र स्वतन्त्रताका पक्षमा बलिदानीपूर्ण योगदान गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो। साथै बेपत्ता योद्धा, घाइते, अपाङ्ग तथा उहाँहरूका परिवारप्रति उच्च सम्मान व्यक्त गर्नुभयो। प्रचण्डले शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्तामध्ये एक आदरणीय गिरिजाप्रसाद कोइरालालाई विशेष स्मरण र सम्मान व्यक्त गर्नुभएको छ। प्रचण्डले भन्नुभयो, “नेपालमा सामन्तवादको अन्त्य गर्दै सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा शान्ति सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो।” जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव नहुने उहाँको भनाइ छ। शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता आफैँ भएको उल्लेख गर्दै प्रचण्डले यो प्रक्रियामा विभिन्न रूपमा योगदान पु¥याउनुहुने सबै व्यक्तित्वलाई सम्मान व्यक्त गर्नुभयो। उहाँले थप्नुभयो, “आज नयाँ एकीकरण र ध्रुवीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी वहन गर्दै बाँकी कार्यभार पूरा गर्न कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्दछु।” शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना रहेको उल्लेख गर्दै प्रचण्डले अहिले ‘जेन–जी’ युवा पुस्ताले समेत यही मूल्य, भावना र स्पिरिटका साथ आवाज उठाइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “शान्ति सम्झौताको आत्मा अनुरूप शासकीय प्रणाली, शासन सञ्चालन तथा संविधानको आवश्यक परिमार्जन गर्न सके मात्र युवाहरूको आकाङ्क्षाको सम्बोधन हुन सक्छ भन्ने दृढ विश्वास छ।” यस ऐतिहासिक दिनमा विगतको गम्भीर समीक्षा गर्दै वर्तमान नेपाली समाजमा देखा परेका समस्याहरू समाधान गर्न सबै पक्षको एकताबद्ध प्रयासका लागि प्रचण्डले विशेष अपील गर्नुभएको छ।
सप्तरीमा ९७८ किलो गाँजासहित ट्रक चालक पक्राउ
सप्तरी । सप्तरी प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजासहित एक ट्रक चालकलाई नियन्त्रणमा लिएको छ। जिल्लाको कञ्चनरुप नगरपालिका वडा नं. २ बरमझियाबाट बिहीबार राति सुनसरीको धरान नगरपालिका वडा १३ का २५ वर्षीय संजय श्रेष्ठलाई ९७८ किलो गाँजासहित पक्राउ गरिएको हो । प्रहरीका अनुसार, बिहीबार राति १०ः३० बजे पूर्व–पश्चिम महेन्द्र राजमार्गमा फत्तेपुरबाट भारदह तर्फ जाँदै गरेको ना ५ ख ५३५ नम्बरको ट्रकलाई रोक्दै चेकजाँच गर्दा ट्रकमा फल्सबटम बनाएर २८ वटा सेतो बोरामा प्लाष्टिकले प्याक गरिएको अवस्थामा गाँजा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरी र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक काफ्लेको कमाण्डमा खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा उक्त ट्रक, चालक र गाँजा नियन्त्रणमा लिएको जनाएको छ ।
विस्तृत शान्ति सम्झौताको दुई दशक : उपलब्धि उल्लेख्य, अधुरा काममा सरकारको निरन्तर उदासीनता
काठमाडौँ, मंसिर ५ (२०८२) – आज नेपालले ऐतिहासिक विस्तृत शान्ति सम्झौता भएको पूरै दुई दशक पूरा गरेको छ। विसं २०६३ मंसिर ५ गते (नोभेम्बर २१, २००६) तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले हस्ताक्षर गरेको यो सम्झौताले दशक लामो सशस्त्र द्वन्द्वलाई औपचारिक रूपमा अन्त्य गरेको थियो। यो सम्झौताले नेपालको राजनीतिक इतिहासमा नयाँ युगको सुरुवात गरेको थियो, जसले राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना र संघीय लोकतान्त्रिक संविधानको जग बसालेको थियो। तर, दुई दशकपछि पनि संक्रमणकालीन न्याय र पूर्ण रूपान्तरणका केही महत्वपूर्ण पक्ष अधुरै छन्। सम्झौताको पृष्ठभूमि र मुख्य प्रावधानहरू २०५२ फागुन १ गते नेकपा (माओवादी) ले सुरु गरेको 'जनयुद्ध' ले नेपाल र नेपालीका लागि आमूल परिवर्तन गर्यो । जनयुद्धका क्रममा करिब १७ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो, हजारौँ बेपत्ता भएका थिए। 'जनयुद्ध' ले राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य गरेपछि सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे समझदारी भयो, जसको जगमा विस्तृत शान्ति सम्झौता हस्ताक्षर भएको थियो। सम्झौताका मुख्य प्रावधानहरू : 'जनयुद्ध' को अन्त्य र स्थायी शान्तिको घोषणा। जनमुक्ति सेनालाई शिविरमा राख्ने र हतियार व्यवस्थापन (संयुक्त राष्ट्रसंघको निगरानीमा)। नेपाली सेनालाई व्यारेकमा सीमित राख्ने। संविधानसभा निर्वाचनमार्फत नयाँ संविधान निर्माण। मानवअधिकार उल्लंघनका घटनाहरूको सत्य अन्वेषण, मेलमिलाप र पीडितलाई न्याय। राज्यको पुनर्संरचना, समावेशी लोकतन्त्र र सामाजिक-आर्थिक रूपान्तरण। दुई दशकका प्रमुख उपलब्धिहरू विस्तृत शान्ति सम्झौताले नेपाललाई शान्ति र परिवर्तनतर्फ डोर्याएको छ। राजनीतिक परिवर्तन : राजतन्त्रको अन्त्य, नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा (२०६५ जेठ १५)। २०७२ मा संविधानसभामार्फत नयाँ संविधान जारी, जसले संघीयता, समावेशिता र धर्मनिरपेक्षता संस्थागत गर्यो। जनमुक्ति सेना तथा हतियार व्यवस्थापन : करिब १९ हजार माओवादी जनमुक्ति सेनालाई शिविरमा राखियो, जसमध्ये केही नेपाली सेनामा समायोजन भए, अधिकांशलाई स्वैच्छिक अवकाश दिइयो। यो प्रक्रिया संयुक्त राष्ट्रसंघीय मिसन (UNMIN) को निगरानीमा सफल भयो। संविधान र निर्वाचन : दुईवटा संविधानसभा निर्वाचन, तीन तहका निर्वाचनहरू सम्पन्न। महिला, दलित, जनजाति, मधेसीलगायत पिछडिएका समुदायको प्रतिनिधित्व बढ्यो। संघीयता कार्यान्वयन : ७ प्रदेश र ७५३ स्थानीय तह गठन, अधिकार विकेन्द्रीकरण। यसले स्थानीय स्तरमा विकास र सेवा प्रवाहमा सुधार ल्याएको छ। आर्थिक-सामाजिक प्रगति : द्वन्द्वपछि आर्थिक वृद्धि, गरिबी न्यूनीकरण, पूर्वाधार विकास। नेपालले अल्पविकसित देशबाट विकासशील राष्ट्रको दर्जा प्राप्त गर्यो। यी उपलब्धिले नेपालको शान्ति प्रक्रियालाई विश्वमै उदाहरणीय बनाएको छ। शान्ति सम्झौताका एकमात्र जीवित पात्र तथा जनयुद्धका नायक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पटक-पटक यो प्रक्रियालाई 'विश्वकै सफल नमूना' भनेका छन्। अधुरा चुनौतीहरू र आलोचना दुई दशक बितिसक्दा पनि सम्झौताका केही महत्वपूर्ण पक्ष अधुरै छन्, जसले शान्ति प्रक्रियालाई पूर्ण बनाउन बाँकी राखेको छ : संक्रमणकालीन न्याय : सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन भए पनि पीडितहरूले न्याय पाएका छैनन्। हजारौँ उजुरीहरू अलपत्र छन्। पीडकहरूलाई कारबाही नहुँदा पीडितहरूले 'न्यायको प्रतिक्षा' गरिरहेका छन्। समावेशी रूपान्तरण : जातीय, क्षेत्रीय र लैंगिक असमानता अझै कायम। संघीयताको पूर्ण कार्यान्वयनमा समस्या, भ्रष्टाचार र राजनीतिक अस्थिरता। आर्थिक-सामाजिक न्याय : द्वन्द्वपीडितहरूको पुनर्स्थापना र राहत अपुरो। युवा पुस्तामा असन्तुष्टि बढ्दो छ, जसले भविष्यमा अस्थिरता निम्त्याउन सक्छ। राजनीतिक अस्थिरता : बारम्बार सरकार परिवर्तन, आम जनताको अपेक्षा पूरा हुन सकेन।
आज अमेरिकी डलर एकको खरिद बिक्री दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६४ पैसा र बिक्रीदर १४२ रुपियाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ १५ पैसा र बिक्रीदर १६३ रुपियाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ०७ पैसा र बिक्रीदर १८५ रुपियाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपियाँ ५० पैसा र बिक्रीदर १७६ रुपियाँ २५ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ७६ पैसा र बिक्रीदर ९२ रुपियाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७४ पैसा र बिक्रीदर १०१ रुपियाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ३४ पैसा र बिक्रीदर १०८ रुपियाँ ८० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ र बिक्रीदर नौ रुपियाँ ०३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ९१ पैसा र बिक्रीदर १९ रुपियाँ ९९ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७७ पैसा र बिक्रीदर ३७ रुपियाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८६ पैसा र बिक्रीदर ३९ रुपियाँ ०२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३७ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५६ पैसा र बिक्रीदर ३८ रुपियाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ०८ पैसा र बिक्रीदर ३४ रुपियाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६४ पैसा र बिक्रीदर नौ रुपियाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८४ पैसा र बिक्रीदर १४ रुपियाँ ९० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८४ पैसा र बिक्रीदर २१ रुपियाँ ९४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ १९ पैसा र बिक्रीदर १८ रुपियाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ८३ पैसा र बिक्रीदर ४६२ रुपियाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ७० पैसा र बिक्रीदर ३७७ रुपियाँ २९ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ९० पैसा र बिक्रीदर ३६९ रुपियाँ ४५ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

