सशस्त्र प्रहरी बलका डीएसपी मृत भेटिए

विराटनगर । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । धनपालथान गाउँपालिका ३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् ।

बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख पनि हुन् । कार्यालय परिसरमा रहेको क्वाटरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए ।

‘बाहिर झ्यालबाट हेर्दा झुण्डिएको देखिन्छ, तर कोठा भित्र प्रहरी टोली प्रवेश गरेको छैन’, उनले भने, ‘परिवारका सदस्यलाई बोलाएका छौं, उहाँहरु आएपछि मात्रै भित्र पस्छौं ।’

बस्यालको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएको खबर पाएको थियो ।

सत्ता गठबन्धन फेरिएसँगै सेयर बजारमा सर्किट ब्रेक

काठमाडौं, २१ फागुन । सत्ता गठबन्धन फेरिए सँगै सेयर बजारमा सर्किट ब्रेक लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । कारोबार सुरु भएको केही मिनेटमा नै सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

बालुवाटारमा ४ दलको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा ४ दलको बैठक बस्ने भएको छ ।  सोमबार बिहान १०ः३० मा बालुवाटारमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको बैठक बस्न लागेको हो ।  बैठक नयाँ सत्ता समीकरण बनाउने विषयमा केन्द्रीत हुनेछ ।नयाँ समिकरणको तयारी गरेका ४ दलले आ-आफ्नो दलको सचिवालय बैठक सम्पन्न गरी बैठक बस्न लागेका हुन् ।

सुखानी सहिदका परिवारसँग भेट, कम्युनिष्ट एकताको पहल थालेका छौं  : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुखानी सहिदका परिवारसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्रीले सहिद सप्ताहका अवसरमा उनीहरुलाई भेट गरेका हुन् । तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो । आजको भेटमा ती सहिद परिवारका सदस्यहरु विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए । कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउन सुरु गरिएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।’ फागुन २१ गते अर्थात् आज सुखानी हत्याकाण्ड भएको दिन हो । सुखानीको जङ्गलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा एक साता सहिद सप्ताह मनाइएको छ ।

माओवादी केन्द्रको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ । समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच भइरहेको छलफल र नयाँ राजनीतिक घटनाक्रमका विषयमा नेताहरुलाई जानकारी गराउने छन् ।  

जाँडरक्सी खानेलाई भव्य कार्यक्रम गरी सम्मान

तानसेन । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाले बिहीबार सुन्दै अचम्म लाग्ने कार्यक्रमको आयोजना गरेको छ । पालिकाले कुलतका कारण सामाजिक रुपमा तिरस्कार हुने गरेकाहरूलाई एकै ठाउँ जम्मा पारेर भव्य कार्यक्रम गरी सम्मान गरेको हो ।  आफ्नो क्षेत्रमा रहेर जाँडरक्सीलगायत कुलतमा फसेका पुरुष तथा महिलाहरुको लगत संकलन गरी उनीहरुलाई एकै ठाउँमा भेला गरेर सम्मान गर्नुका साथै उनीहरुको भविश्य सुधार्ने योजना समेत बनाएको पालिकाले जनाएको छ । रिब्दीकोट गाउँपालिकाले बिहीबार पालिकाको सभाहलमा जम्मा गरेर नियमित जाँडरक्सी खाने सात महिला र ३३ पुरुषलाई सम्मान गरेको हो । पालिकाभरका ६५ जना कुलतमा फसेका व्यक्तिहरुको नामावली तयारी गरेर खबर गरेको भएपनि ४० जना मात्रै उपस्थित भएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए । कार्यक्रममा सहभागीलाई न्यानो र बलियो खालको एकएक जोर ट्रयाकसुट लगाईदिएर माला र खादा पहि¥याएर सम्मान गर्नुका साथै स्वास्थ्य बिमा, उपचार र प्रशिक्षितसमेत गरिएको थियो । विपन्न श्रमिक वर्गको धेरै ठूलो लगानी कुलतमा गएको, कमाएको रकम संरक्षण नहुने मात्रै होइन स्वास्थ्यमा समेत गम्भीर असर परेको, अकालमा धेरैको ज्यान गुमेको कारण जाँडरक्सी खानेलाई होइन जाँडरक्सीलाई तिरस्कार गर्ने उदेश्यले समाजमा परिवर्तन ल्याउन यस्तो कार्यक्रमको थालनी गरेको अध्यक्षले जानकारी दिए । जाँडरक्सी खानेलाई सम्मान गरिएको हो तर जाँडरक्सी खाएको कारणले नगरिएको पालिका अध्यक्षले जानकारी दिए ।  उनका अनुसार  जाँडरक्सीको कुलतबाट बाहिर निकाल्न, स्वास्थ्य चेतना दिन, परिवार र समाजप्रतिको दायित्व बोध गराउन व्यङ्ग्यात्मक रूपमा यो कार्यक्रम गरिएको हो । अब वडागत तहमै परिवारलाई जुटाएर यसलाई निरन्तरता दिने गाउँपालिका अध्यक्षले बताए । सम्मानित हुने ४० जना सबै श्रमिक हुन् । कार्यक्रममा सहभागी धेरैले जाँडरक्सी छाड्ने प्रतिविद्धतासमेत व्यक्त गरेका छन् ।

बालकोटमा एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक जारी छ ।  बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो । बैठकमा टीआरसी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षा

काठमाडौं । देशका विभिन्न ठाउँमा बिहानैबाट वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षा भइरहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै बाँकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ ।  देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।  

गृह मन्त्रालयका १८ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं ।सरकारले गृह मन्त्रालयका १८ उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले आइतबार विभिन्न जिल्लामा कार्यरत १८जना उपसचिवको सरुवा गरेको हो। सरुवा हुनेमा सातजना सहायक प्रमुख जिल्ला अधिकारी, दुईजना जेलर, दुईजना वरिष्ठ अध्यागमन अधिकृत, ६ जना उपसचिव र एक अध्यागमन विभागका निर्देशक छन्। 

शालीनको पोस्टमार्टम : बलात्कार नभई झुन्डिएका कारण मृत्यु भएको पुष्टि

काठमाडौँ ।चितवनको रत्नगर नगरपालिका-१० स्थित शिशु निकेतन माविको छात्राबासमा १४ वर्षीया शालीन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।  त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोस्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरूले आइतबार तयार गरेका छन् । त्यसमा उनको झुन्डिएका कारण मृत्यु भएको स्रोतले जनाएको छ ।  स्रोतका अनुसार बलात्कारको आशंका गरेकाले चिकित्सहरुले शालीनको संवेदनशील अंगको पनि जाँच गरेको तर, पोस्टमार्टम जाँचमा शंकास्पद विषय नदेखिएको बताइएको छ । स्काउटको डोरीमा होस्टेलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो । 

अस्पतालअगाडि प्रदर्शन गर्न खोज्ने पुण्य गौतम र युवराज सफल प्रहरी नियन्त्रणमा

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम र युवराज सफललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअगाडि प्रदर्शन गर्न खोजेपछि आइतबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोरखाकी १३ वर्षीया बालिका सालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै उनीहरू आन्दोलित बनेका थिए । झुन्डिएको अवस्थामा पोखरेलको मृत्यु भएको रिपोर्ट अस्पतालले प्रहरी कार्यालयमा पठाएपछि उनीहरुले विरोध गरेका थिए ।  पक्राउ गरेर गौतम र सफललाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जानकारी गराएको छ । यही फागुन १२ गते चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलभित्र झुन्डिएको अवस्थामा बालिका पोखरेलको शव फेला परेको थियो । बलात्कारपछि उनको हत्या गरिएको परिवारको आरोप छ ।

अन्तर्राष्ट्रिय श्रवण दिवसः बहिरोपना रोकथामका लागि यस्ता छन् विशेषज्ञका १० सुझाव

काठमाडौं, २० फागुन । अन्तर्राष्ट्रिय श्रवण दिवसको अवसरमा सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालले बहिरोपना रोकथामका लागि १० सुझावहरु दिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी श्रवण सम्बन्धी रोग र यसको रोकथामको उपाय जानकारी गराएको हो ।  सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालका महासचिव डा. योगेश न्यौपानेले आफूहरुको उद्देश्य श्रवण सम्बन्धि तथ्यहरु समाजमा पुर्याउने र त्यस सम्बन्धमा योगदान दिने रहेको बताए । उनले अन्धोपनाले मान्छेलाई संसारबाट छुट्याउने र बहिरोपनले भने मान्छेलाई मान्छेबाट नै छुट्याउने बताए । कानमा प्रयोग गरिने एयरफोन श्रवण शक्तिका लागि धेरै घातक रहेको उनको भनाइ छ ।  सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालका अनुुसार धेरैजसो बहिरोपना रोक्न सकिने प्रकृतिका हुन्छन् । नेपालमा बहिरोपनबाट बच्न र बचाउनका लागि सरकारीस्तरबाट देशव्यापी रुपमा सर्वेक्षण हुन आवश्यक रहेको सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालको सुझाव छ ।  सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालले बहिरोपन रोकथाम गर्नको लागि निम्न कुरामा ध्यान दिनुपर्ने सुझाएको छः  १.संक्रमणबाट कानलाई बचाउनुपर्छ । कान पाकिहाले नजिकैको चिकित्सकसँग सल्लाह लिनुपर्दछ । रुघाखोकी लागेमा मध्यकान र नाकको पछाडि भाग जोडने नली बन्द हुन जान्छ । यो नली लामो समयसम्म बन्द भइरहेमा मध्य कानमा असर पर्छ । यो समस्या बच्चाहरुमा बढी देखा पर्ने भएकोले बच्चाहरुलाई रुघाखोकी लाग्नबाट बचाउनका लागि आमाको दुध खुवाउने, दुध खुवाउँदा बसालेर खुवाउने, घर वरिपरि पाइने ताजा खानेकुरा खुवाउने र जङ्क फुड नखुवाउने गर्नुपर्छ । रुघा लागेमा तातो, तातो झोल पदार्थ खुवाउनुपर्छ । निको नभएमा नजिकैको स्वास्थ्यचौकी वा अस्पतालमा लैजानु पर्छ । २.कानलाई चोटपटकबाट बचाउनुपर्छ । कान कोट्याउँदा कानको जालीमा असर पर्छ र जाली फुटने सम्भावना हुन्छ । त्यसैले कान कोट्याउनु हँुदैन भन्ने कुरा जनमानसमा सिकाउनुपर्छ ।  ३. बच्चाको सुनाइ सम्बन्धि शंका लागेमा नजिकैको चिकित्सकको सल्लाह लिनु पर्छ ।  ४.कानमा तेल अथवा अरु कुनै पनि झोल पदार्थ हाल्नु हुँदैन । ५.गर्भवती भएको पहिलो तीन महिनासम्म आफुखुसी औषधिको सेवन गर्नु हुँदैन, गर्नै परेमा चिकित्सकको सल्लाह लिनुपर्छ । गर्भवती आमाले जाँडरक्सी र चुरोट सेवन गर्न हुँदैन । ६.आफ्नो बच्चाले नसुन्ने शंका लागेमा सम्बन्धित चिकित्सकलाई जचाई सल्लाह लिनु पर्छ ।  ७.सर्वसाधारणको जमघट हुने स्थानमा चर्को ध्वनी उत्पन्न हुने उपकरणको प्रयोग गर्नु हुँदैन । वाजाहरु पनि धेरै चर्को रुपमा बजाउनु हुँदैन । गाडीको हर्न निषेध गरिएको ठाउँमा चर्को हर्न बजाउनु हुँदैन । ८. मोवाइल वा हेड फोन धेरै समयसम्म प्रयोग गर्नु हुँदैन । गर्नै परे चर्को सुन्नु हुँदैन ।  ९. कलकारखानामा काम गर्ने व्यक्तिहरुले इएर प्लगको प्रयोग गरी कानलाई चर्को ध्वनीबाट बचाउन पर्छ । यस्ता ठाउँमा कम्तिमा वर्षको एकपटक श्रवण परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ ।   १०. श्रवण शक्तिलाई कसरी बचाउन सकिन्छ, श्रवण शक्तिको ह्रास भइहालेमा के कस्ता विधिहरु अपनाएर रोकथाम र्गा सकिन्छ र छिटोभन्दा छिटो बच्चामा श्रवण शक्तिको परिक्षण कसरी गर्न सकिन्छ भन्नेबारे सर्वसाधारणलाई विभिन्न माध्यमबाट शिक्षा दिनुपर्छ ।  

धनकुटामा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, ७ घाइते

हिले । धनकुटाको चुङमाङ्गमा पिकअप भ्यान दुर्घटना हुँदा एक वालकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।  मृतकको नाम खुलेको छैन । हिलेबाट चुङमाङ्ग जाँदैगरेको को २ च १६१९ नम्बरको पिकअप गाडि पाख्रिवास नगरपालिका –१० चुङमाङ्गमास्थित भारती माबि छेउमा दुर्घटना भएको हो । गाडिमा १७ जना सवार रहेको बताइएको छ । घाइतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । गाडीको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी सडकवाट करिब ५० मिटर तल खसेको प्रहरीचौकी हिलेका असई अर्जुन कार्कीले जानकारी दिए ।

भूतपूर्व गोरखा सैनिकका जायज माग बेलायती सरकारले सम्बोधन गर्नुपर्छ  : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भूतपूर्व गोरखा सैनिकका जायज माग बेलायती सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेपाल र बेलायत सरकारबीच गएको फेब्रुअरी २१ मा प्राविधिक समितिको बैठकमा गोरखा सैनिकका माग सम्बोधन गर्न केही प्रगति भएको उनले उल्लेख गरे । तर, समान पेन्सनलगायत मुख्य माग सम्बोधन हुन बाँकी रहेको उनको भनाई थियो । मन्त्री साउदले गत सातामात्र विदेशमन्त्रलय अन्तर्गतका विकास राज्यमन्त्री एन्ड्रयु मिचेलको नेपाल भ्रमणमा आफू र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत भूतपूर्व गोरखाको विषय उठाएको बताए।

केयूको फार्मेसी विभागले 'दिर्घायू' नामक वार्षिक कार्यक्रम आयोजना गर्दै

काठमाडौं । काठमाडौं विश्वविद्यालयको फार्मेसी विभागले 'दिर्घायू' नामक वार्षिक कार्यक्रम आयोजना गर्दै छ।अहिले गर्न लागेको यो 'दिर्घायू' को दोस्रो संस्करण हो।कार्यक्रम दूई चरणमा हुने छ। पहिलो चरणमा खेलकुद र विभिन्न विधामा प्रतिस्पर्धात्मक कार्यक्रम हुने छ भने मुख्य चरणमा फार्मेसी पेसा अन्तर्गत विभिन्न विषयमा विज्ञहरुबीच छलफल हुने छ। कार्यक्रममा काठमाडौं विश्वविद्यालयका फार्मेसी विद्यार्थीका साथसाथै नेपालका विभिन्न फार्मेसी कलेजका विद्यार्थीहरु,फार्मेसी काउन्सिलका प्रतिनिधि, औषधि विभागका प्रतिनिधिको उपस्थित हुने छ। मुख्य चरणको कार्यक्रम वैशाख ३ र ४ गते काठमाडौं विश्वविद्यालयको प्राङ्गणमा हुने आयोजकले जनाएको छ । नेपालमा रहेका विभिन्न फार्मेसी कलेजबीच विभिन्न विधामा स्वस्थ प्रतिस्पर्धा, अनुभव साटासाट, व्यक्तित्व विकास बारे कार्यक्रम,व्यवसायिक प्रशिक्षण,फार्मेसी पेसामा रहेका विभिन्न समस्या र समाधानबारे विज्ञहरुबीच छलफल गराइ,छलफलको निचोडलाई कार्यनयन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

दोश्रो कर्णाली चलचित्र कार्यशाला बुधबारबाट

काठमाडौं । दोश्रो कर्णाली चलचित्र कार्यशाला कर्णालीको सुर्खेतमा आयोजना हुने हुने भएको छ । सप्ताहव्यापी यो कार्यशाला यही २३ फागुनबाट २९ फागुनसम्म आयोजना हुन लागेको हो । कार्यशालाको तयारी तिब्र गतिमा भईरहेको आयोजक संस्था केवी इन्टरटेनमेन्ट प्रा।लि।का अध्यक्ष भुपेन्द्र कुमार खड्काले जानकारी गराएका छन् । आईतबार बिहान सुर्खेतमा पत्रकार भेटघाट आयोजना गरी खड्काले कार्यशालाको बिषयमा जानकारी गराए । उनका अनुसार कर्णालीमा दोश्रो पटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागिएको हो । ‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसावले निकै सुन्दर छ । सांस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं ।’ अध्यक्ष खड्काले भने । यस अघि २०७९ असारको दोश्रो साता पहिलो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो । पहिलो कार्यशालामा चलचित्र सम्बन्धि वेशिक कोर्स सिकाईएको थियो । उनीहरु सहित अन्य नयाँ विधार्थीहरुलाई यसपटक चलचित्रबारे एडभान्स कोर्षको प्रशिक्षण दिन लागेको आयोजक संस्थाका अध्यक्ष खड्काले बताएका छन् । यो कार्यशलामा यसपटक चलचित्र विकाश बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । यस्तै चलचित्र लेखक निर्देशक दयाराम दाहालले पनि चलचित्र निर्देशनबारे विशेष क्लास लिने भएका छन् । चलचित्र लेखक÷निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्कृप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मक सहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धि प्रशिक्षण दिने छिन । कार्यशालामा छायाँकन र सम्पादन सम्बन्धि पनि प्रयोगात्मक कक्षा हुने छ । गायिका समेत रहेकी सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले यसपटक कार्यशालामा फिल्ममा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिने छिन् । उनले बिगत सात वर्षदेखि फिल्म मेकअप तथा स्पेशल इफेक्टको क्लास लिँदै आएकी छिन् । यो कार्यशालामा सहभागी विधार्थीहरुले तीन वटा बृत्तचित्र र तीन वटा लघू चलचित्र निर्माण गर्ने पनि अध्यक्ष भूपेन्द्र कुमार खड्काले जानकारी गराएक छन् । कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विधार्थीहरुले यो कार्यशालामा भाग दिने भएका छन् । चलचित्र विकाश बोर्ड सह आयोजक रहेको यो कार्यशालामा विधार्थीहरुले स्थानीय कलामा आधारित लघु चलचित्र निर्माण गर्नेछन् । यो कार्यशालाको सहयोगी संस्थामा युवा परिषद तथा सह प्रयोजकमा नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण र नेपाल पर्यटन बोर्ड रहेको पनि अध्यक्ष खड्काले जानकारी गराए ।