आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४५ पैसा र बिक्रीदर १४२ रुपियाँ ५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७६ पैसा र बिक्रीदर १६४ रुपियाँ ४६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ५८ पैसा र बिक्रीदर १८६ रुपियाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपियाँ ४३ पैसा र बिक्रीदर १७७ रुपियाँ ७१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ७४ पैसा र बिक्रीदर ९२ रुपियाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ९९ पैसा र बिक्रीदर १०१ रुपियाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ४५ पैसा र बिक्रीदर १०८ रुपियाँ ९१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ६ पैसा र बिक्रीदर नौ रुपियाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८९ पैसा र बिक्रीदर १९ रुपियाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७२ पैसा र बिक्रीदर ३७ रुपियाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८१  पैसा र बिक्रीदर ३८ रुपियाँ ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३६ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५१ पैसा र बिक्रीदर ३८ रुपियाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ८ पैसा र बिक्रीदर ३४ रुपियाँ २३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६४ पैसा र बिक्रीदर नौ रुपियाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९० पैसा र बिक्रीदर १४ रुपियाँ ९६ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९३ पैसा र बिक्रीदर २२ रुपियाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ १६ पैसा र बिक्रीदर १८ रुपियाँ २४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ३३ पैसा र बिक्रीदर ४६२ रुपियाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ १९ पैसा र बिक्रीदर ३७६ रुपियाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ४० पैसा, बिक्रिदर ३६८ रुपियाँ ९६  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।  आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । भोलि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । 

राजस्व कार्यालय तुलसीपुर दाङद्वारा ७२ करोडभन्दा बढी राजस्व सङ्कलन

दाङ। आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार महिनामा रु ७२ करोड १६ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा रु ८९ करोड ९१ लाख ६१ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ७२ करोड १६ लाख ३७ हजार सङ्कलन गरेको हो ।  कार्यालयका कर अधिकृत उपेन्द्र पुन मगरका अनुसार राजस्व सङ्कलन लक्ष्यको तुलनामा ८० दशमलव २५ प्रतिशत सङ्कलन भएको हो । गत वर्षको सोही अवधिमा कार्यालयले रु ७० करोड ३८ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो ।  यस वर्षको चार महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्नुमा आयकरतर्फ उल्लेख्य सङ्ख्यामा करदाताबाट विवरण पेस गर्न बाँकी हुनु, जेनजी आन्दोलनका कारण कार्यालयमा क्षति भएपछि सेवा प्रभावित हुनु, मालपोत कार्यालयमा पनि क्षति भई पुँजीगत लाभकरमा उल्लेख्य कमी आउनुलगायत कारण रहेका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिए ।  उनका अनुसार पुँजीगत खर्चमा आएको न्यूनतम, ब्याजदर घट्न गई ब्याज कर घट्नु, आन्दोलनबाट यस कार्यालयमा क्षति पुगेपछि सेवाको पुनः स्थापना तथा कार्यालय व्यवस्थापनमा केन्द्रित हुनुपरेकाले राजस्व सङ्कलनसम्बन्धी प्रवर्द्धनात्मक तथा निरोधात्मक क्रियाकलापमा तीव्रता दिन नसकिनुलगायत कारण रहेका छन् ।  गत आव २०८१/८२ मा रु तीन अर्ब १४ करोड ८६ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु दुई अर्ब ९४ करोड २४ लाख सङ्कलन भएको कार्यालयले जनाएको छ । यो आव २०८०/८१ को तुलनामा रु ५४ करोड ६० लाख बढी हो ।  चालु आवको बाँकी अवधिमा सरोकार भएका निकायसँग समन्वय गरी प्रभावकारी करदाता शिक्षामार्फत स्वैच्छिक कर सहभागिता अभिवृद्धि, आर्थिक ऐन, २०८२ ले प्रदान गरेका छुट सुविधाको प्रचारप्रसार, राजस्व चुहावट तथा कर छलीको नियन्त्रण, बक्यौता कर असुलीलगायत क्रियाकलापलाई जोड दिँदै कार्यालयको वार्षिक राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको प्रमुख कर अधिकृत टण्डनले जानकारी दिए ।  त्यस्तै आर्थिक ऐन, २०८२ ले गत चैत मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण तथा कर बुझाउन बाँकी करदाता, अन्तःशुल्क विवरण तथा अन्तःशुल्क बुझाउन बाँकी करदाता, संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका सामुदायिक अस्पताल वा स्वास्थ्य संस्था वा यातायात सम्बद्ध सङ्घसंस्थालाई कर कार्यालयबाट गत जेठ १५ गतेभन्दा अघि कर निर्धारण भई बक्यौता रहेका करदाता, आय विवरण पेस नगरेको अवस्थामा कर कार्यालयबाट कर निर्धारण गरिएका करदातालगायतलाई लक्षित गरी विभिन्न छुट सुविधा घोषणा गरेको उनले बताए । उनका अनुसार सोसम्बन्धी सूचना कार्यालयले विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार गरिरहेको छ । उक्त छुट सुविधा उपलब्ध हुने अवधि आगामी पुस मसान्तसम्म मात्र भएकाले उल्लिखित मापदण्डभित्र पर्ने करदाताले यथाशीघ्र उक्त सुविधा लिनुहुन कार्यालयका प्रमुख प्रमुख कर अधिकृत टण्डनले अनुरोध गरे । उक्त छुट सुविधाका सम्बन्धमा आफ्ना सदस्यलाई जानकारी गराइदिनुहुन जिल्लामा क्रियाशील उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्सलगायत सरोकार भएका निकायलाई आग्रह गर्दै उनले आवश्यक प्रचारप्रसार गरिदिएर समन्वय गर्न सञ्चारमाध्यम तथा सञ्चारकर्मीमा अनुरोध गरे । यहाँबाट प्रदान गरिने सेवालाई सरल, सहज, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन कार्यालय क्रियाशील रहेको टण्डनले बताए । कर भुक्तानी, कर विवरण दाखिला, करचुक्ता प्रमाणपत्र, विवरण अद्यावधिकलगायत सेवाहरू अनलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने व्यवस्था कार्यान्वयनमा रहेको उनले जानकारी दिए  प्रमुख कर अधिकृत टण्डनका अनुसार सेवा लिन आउने सेवाग्राहीलाई सहजीकरण तथा न्यूनतम शुल्कमा फाराम भरिदिने व्यवस्थाका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घबाट कार्यालयसँगको सहकार्यमा करदाता सहायता कक्ष सञ्चालन गरिएको छ ।  “राजस्व बुझ्नका लागि कार्यालयमा ग्लोबल आइएमइ बैंकको बैंक काउण्टर सञ्चालनमा छ । कार्यालय तथा कार्यालयको सेवा प्रवाहका सम्बन्धमा जानकारी दिन सूचना अधिकारी तथा यथोचित गुनासो सम्बोधनका लागि गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको छ”, उनले भने । लुम्बिनी प्रदेशअन्तर्गत दाङ, पूर्वी रुकुम, रोल्पा, प्युठानमा व्यावसायिक स्थायी लेखा नम्बर लिएका ४३ हजार ३९, व्यक्तिगत लेखा नम्बर लिएका एक लाख २४ हजार ६९८ र संस्थागत स्थायी नम्बर लिएका ७६६ करदाता रहेका कर अधिकृत पुनले जानकारी दिए ।  जेनजी आन्दोलनका कारण कार्यालयका तीनवटै भवन, सवारीसाधन जलेर नष्ट भएपछि केही दिन सेवा अवरुद्ध भएको थियो । केही दिनपछि तुलसीपुर उद्योग वाणिज्य सङ्घको कार्यकक्षबाट सेवा सञ्चालन गिरिएकामा हाल श्री त्रिसिद्देश्वरी मन्दिर तुलसीपुरको धर्मशाला भाडा लिएर त्यहाँबाट सेवा प्रवाह भइरहेको छ ।

बाँकेमा कालानमक धानको जात लोप हुँदै

बाँके । बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ ।  यहाँका किसान लगानीअनुसारको प्रतिफल नपाइएको भन्दै व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि यो जातको धान लोप हुँदै गएको हो । सिँचाइ र स्याहारसुसार बढी गर्नुपर्ने, रोग र कीराको प्रकोप बढी देखिने भएकाले कृषकहरू यसको साटो ‘हाइब्रिड’ धानतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार उच्च तहका व्यक्तिदेखि पर्यटकहरूको रोजाइ भए पनि लागतअनुसार कम उत्पादन हुने भएकाले कृषकहरू कालानमक धानको साटो अन्य धान लगाउन थालेका हुन् । मसिनो र बास्नादार मानिने यो धान कालो भएकाले यसलाई कालानमक भनिएको हो । यो करिब १४० दिनमा तयार हुन्छ । “विगतमा बाँके र बर्दिया जिल्लामा यसको खेती हुन्थ्यो, तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागेँ”, सूचना अधिकारी पाठकले भने, “कालानमकको खेती शून्य प्रायः भएपछि हाल यसको प्रवर्द्धन र प्रचारमा लागेका छौँ ।” बाँकेमा यस वर्ष ३४ हजार १९० हेक्टर जमिनमा धानखेती हुँदा कालानमकलगायत परम्परागत जातको धानखेती क्षेत्र गणनामा नै छैन । परम्परागत कालानमक संरक्षणका लागि कृषि ज्ञान केन्द्रले कृषक स्तरमा प्रचारप्रसारको थालनी गरेको छ । कृषि अनुसन्धान परिषद् खजुराबाट प्राप्त गरेको बीउलाई बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिहिरियामा प्रयोग गरेर यसको प्रचार गरिएको छ ।  पहिलाको कालानमक धानको बीउ धेरै अग्लो हुने र खेतमा ढल्ने समस्या भएकाले हाल होचो बीउ प्रयोगमा ल्याइएको परिषद्ले जनाएको छ । किसानले रासायनिक मल धेरै हाल्ने भएकाले ढल्ने समस्या देखिएको हुँदा युरिया, डिएपी र पोटासको सन्तुलित प्रयोग गर्न किसानलाई सल्लाह दिने गरिएको वरिष्ठ बागवानी विकास अधिकृत पाठकले बताए ।  कृषि ज्ञान केन्द्रको सहयोग र समन्वयमा हाल बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका किसान गङ्गानारायण चौधरीले एक हेक्टर क्षेत्रफलमा कालानमक धानको खेती गरिरहेका छन् । धान पाकिसकेकाले केही दिनमा भित्र्याउने तयारी गरिएको उनले जानकारी दिए।  पाँच वर्षदेखि कालानमक र कुइनुर बासमती धानको खेती गर्दै आएका चौधरीले एक हेक्टर क्षेत्रफलमा करिब ३० क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ । अन्य धान स्याहारी सकेकाले यति बेला कालानमक धानमा चरा, मुसा र कीराको सङ्क्रमण बढेको उनको भनाइ छ ।  कालानमक चामल बिक्रीमा भने समस्या छैन । अन्य धानको मूल्य करिब रु तीन हजार ५०० क्विन्टल हुँदा कालानमक भने प्रतिक्विन्टल रु १० हजारमा बिक्री हुने गरेको छ । बजार माग पनि राम्रै रहेको चौधरीले बताए। यसको उत्पादनमा नै बढी खर्च लाग्ने भएकाले मूल्य महँगो परेको जनाइएको छ । यो धान असारमा रोपेपछि मङ्सिरको पहिलो साता मात्रै काट्न तयार हुन्छ । सिँचाइ पनि पर्याप्त चाहिन्छ । करिब छ महिनामा तयार हुने भएकाले यसमा रोग सङ्क्रमणको जोखिम हुन्छ । अन्य धान असोज–कात्तिकमा भित्र्याउँदा त्यहाँका पतेरा किरा कालानमकमा जाने र समस्या हुने गरेको कृषक चौधरीले बताए। बाँकेमा किसानले रामधान, राधा—४, एमपी ६०, गोरखनाथलगायत ‘हाइब्रिड’ धान रोप्दै आएका छन् । मसिनो चामललाई प्रवर्द्धन गर्न खोजे पनि किसानले रुचि नदेखाएको कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि अर्थ विज्ञ विनोद घिमिरेको भनाइ छ ।  त्यसैले उत्पादन बढाउन प्रवर्द्धनात्मक कार्यक्रम लागू गरिएको छ । मसिना तथा बास्नादार धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई बीउ र कृषि प्रविधिमा अनुदान दिने गरिएको घिमिरेले बताए । 

प्रधानमन्त्री र ११० दलहरूबीच छलफल : नेपाली कम्युनिष्ट पार्टीले राख्यो यस्तो धारणा

काठमाडौं । प्रधानमन्त्रीले आयोजना गरेको निर्वाचन आयोगमा दर्ता भएका ११० वटा राजनीतिक दलहरूसँगको छलफलमा नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन तयारीबारे आफ्नो धारणा राखेको छ । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सहभागी नेता वर्षमान पुन ‘अनन्त’ र राजेन्द्र पाण्डेले आफ्नो पार्टी निर्वाचनको पूर्ण तयारीमा जुटेको बताएका छन् । बैठकमा उनीहरूले निर्वाचनको अनुकूल वातावरण बनाउन सरकारले थप पहल गर्नुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता वर्षमान पुन ‘अनन्त’ले भन्नुभयो, “प्रधानमन्त्रीज्यूको कुरा सुनेपछि हामीले हाम्रो पार्टीले निर्वाचनका लागि पूर्ण तयारी गरेको जानकारी गरायौं । हामीले यसअघि नै मंसिर १ गते दल दर्ता गरिसकेका छौं । सरकारले शान्ति-सुरक्षा लगायतका विषयमा थप वातावरण बनाओस् भन्ने हाम्रो आग्रह छ । सबै दलहरूलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउन जरुरी छ । पहिलेको तुलनामा अहिले निर्वाचनको वातावरण बनाउन केही पहल भएको छ, तर अझै धेरै मेहनत गर्नुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हो ।” नेपाली कम्युनिष्ट पार्टीले मंसिर १ गते नै निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेको छ । निर्वाचन तयारी तथा पार्टी एकताको सन्देश दिने उद्देश्यले पार्टीले सबै प्रदेशमा सन्देशसभा आयोजना गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीबीच एकता वार्ता सकरात्मक, भोलि निर्णायक वार्ता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीचको पार्टी एकीकरण वार्ता सकारात्मक दिशामा अघि बढेको छ । दुवै दलका नेताहरूबीच बिहीबार नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्णायक वार्ता हुने  नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् । बुधबार भएको वार्ता निकै सकारात्मक रहेको र छिटोभन्दा छिटो निष्कर्षमा पु¥याउने सहमति भएको उनले बताए । बुधबारको छलफलमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट देव गुरुङ, बेदुराम भुसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल तथा जसपाका तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङ्वा र पर्शुराम बस्नेत सहभागी थिए ।

संसद पुनःस्थापनाको माग नउठाउन राजनीतिक दलहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले संसद् पुनःस्थापनाको माग नउठाउन सबै राजनीतिक दलहरूलाई कडा चेतावनी दिएकी छिन्। सिंहदरबारमा बुधबार निर्वाचन आयोगमा दर्ता भएका सबै दलका प्रतिनिधिसँगको बैठकमा उनले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नै राष्ट्रको एकमात्र संवैधानिक निकास भएको दोहोर्‍याइन्। संसद् पुनःस्थापनाको अडानले देशलाई फेरि राजनीतिक दुर्घटनातर्फ धकेल्ने उनको भनाइ छ। प्रधानमन्त्री कार्कीले युवाहरूको आक्रोश र कुशासनविरुद्धको आन्दोलनको जगमा बनेको वर्तमान सरकारले निर्वाचन प्रक्रियामा कुनै अन्योल स्वीकार नगर्ने स्पष्ट पारिन्। उनले मंसिर १० भित्र सबै दलले अनिवार्य दल दर्ता गर्नुपर्ने र निर्वाचन बहिष्कार गर्ने वा भाग्ने दललाई अराजकताको पक्षधर ठहरिने चेतावनी दिइन्। बैठकमा उनले यस्ता मुख्य प्रतिबद्धता जनाइन्: हेट स्पीच तथा द्वेषपूर्ण अभिव्यक्तिमा कडा कारबाही गर्न निर्वाचन आयोगलाई पूर्ण सहयोग। प्रचार–प्रसार अवधि २१ दिनमा सीमित गरी अत्यधिक खर्च र स्रोत दुरुपयोग रोक्ने। आयोगलाई संस्थागत र वित्तीय रूपमा बलियो बनाउने। फागुन २१ को निर्वाचन शान्तिपूर्ण तथा भयरहित बनाउन सुरक्षा संयन्त्र सुदृढ, संवेदनशील जिल्लामा ‘हट–स्पट’ व्यवस्था र गुप्तचर परिचालन। अध्यादेशमार्फत निर्वाचन कानुन सुधार गरी युवाहरूको सहभागिता अभूतपूर्व रूपमा बढाउने। अन्तमा प्रधानमन्त्री कार्कीले सडकको विद्रोहलाई नीति निर्माणको टेबलमा ल्याउनुपर्ने बताउँदै दलाल राजनीति, माफियाकरण र सुशासनको कमजोरी अन्त्य गर्न आफ्नो सरकार दृढ रहेको दोहोर्‍याइन्। उनले सबै दललाई फागुन २१ को निर्वाचन सफल बनाउन एकजुट हुन आह्वान गरिन्।

नेपाली कम्युनिष्ट पार्टीसँग यहीँ हप्ता पार्टी एकता गर्ने राई नेतृत्वको जसपाको तयारी

काठमाडौं । पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकहप्ता भित्रै पार्टी एकता हुने भएको छ ।  जसपा पार्टीका वरिष्ठ नेता एवं वार्ता टोलीका संयोजक राजेन्द्र श्रेष्ठ नेतृत्वको वार्ता टोलीले तत्काल पार्टी एकता गर्ने सहमति गर्न लागेको श्रेष्ठले बताए । पार्टी एकताका लागि केन्द्रीय समितिको बहुमतबाट निर्णय भइसकेको छ ।  एकताका लागि असन्तुष्टि जनाएका महासचिव इस्तियाक राइलगायत नेताहरुलाई मनाउनका लागि समय लिइएको नेपाली कम्युनिष्ट पार्टीका नेताहरुले बताएका छन् ।    २०८१ वैशाखमा अशोक राईको नेतृत्वमा जसपा नेपालबाट अलग भएर जसपा गठन भएको थियो ।   

आजकाे लागि यस्ताे छ, विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४८ पैसा र बिक्रीदर १४२ रुपियाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ८६ पैसा र बिक्रीदर १६४ रुपियाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ९५ पैसा र बिक्रीदर १८६ रुपियाँ ७४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ४७ पैसा र बिक्रीदर १७८ रुपियाँ २२ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ९९ पैसा र बिक्रीदर ९२ रुपियाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ८३ पैसा र बिक्रीदर १०१ रुपियाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ६१ पैसा र बिक्रीदर १०९ रुपियाँ ०७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १० पैसा र बिक्रीदर नौ रुपियाँ १४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८९ पैसा र बिक्रीदर १९ रुपियाँ ९८ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७२ पैसा र बिक्रीदर ३७ रुपियाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८१  पैसा र बिक्रीदर ३८ रुपियाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३६ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५२ पैसा र बिक्रीदर ३८ रुपियाँ ६८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ९८ पैसा र बिक्रीदर ३४ रुपियाँ १२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६६ पैसा र बिक्रीदर नौ रुपियाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९० पैसा र बिक्रीदर १४ रुपियाँ ९६ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९४ पैसा र बिक्रीदर २२ रुपियाँ ०३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ १७ पैसा र बिक्रीदर १८ रुपियाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ७४ पैसा र बिक्रीदर ४६२ रुपियाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ २६ पैसा र बिक्रीदर ३७६ रुपियाँ ८६ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ४७ पैसा र बिक्रीदर ३६९ रुपियाँ ०२  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आज केही पहाडी क्षेत्रमा बदली, देशका अधिकाँश भूभागमा मौसम सफा

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ । आज बिहान ५ः३० बजे यहाँको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा क्रमशः चिसो बढ्दै गएको छ ।

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर जले

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित साँवाको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । मङ्गलबार मध्यराति भएको आगलागीबाट तेम्बा बजारका चार घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् । मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार तेम्बा बजारमा मङ्गलबार राति करिव ११ बजेतिर आगलागी भएको हो । आगलागीबाट तेम्बा बजारका इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवा लिम्बूको घर जलेर पूर्णरुपमा नष्ट भएको उपाध्यक्ष शेर्पाले जानकारी दिए ।  उक्त सबै घरमा होटल तथा अन्य पसल रहेका थिए । खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, पसलका सामानलगायत घरभित्र रहेको सम्पूर्ण सामग्री र नगदसमेत जलेर नष्ट भएको फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष स्थानीय विजय साँवाले जानकारी दिए । साँवाका अनुसार मध्यराति आगलागी भएकाले घरमा रहेको कुनैपनि सागम्री झिक्न नपाइएको हो । यता मध्यराति आगलागी भए पनि मानवीय क्षति भने नपाएको गाउँपालिका उपाध्यक्ष शेर्पाले बताए । आगलागीका कारण भने नखुलेको उनले जानकारी दिए । उनकाअनुसार बुधबार बिहानदेखि आगलागी घटनाबारे अनुसन्धान र क्षतिको विवरण सङ्कलनको कार्य हुने छ ।

लेबनानको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, १३ को मृत्यु

काठमाडौं । दक्षिणी लेबनानस्थित ऐन-अल-हिलवे शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।  गत वर्षको इजरायल–हिज्बुल्लाह युद्धपछि लागू भएको युद्धविरामपछिको लेबनानमाथि भएको यो सबैभन्दा घातक हमला मानिएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार सिदोन बाहिरी क्षेत्रमा रहेको एक मस्जिदको पार्किङमा पार्क गरिएको कारलाई इजरायली ड्रोनले निशाना बनाइएको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयले ११ जनाको मृत्यु पुष्टि गरेको भए पनि स्थानीय पत्रकारहरू घटनास्थलमा पुग्न खोज्दा लडाकुहरूले रोकिरहेको बताइएको छ । इजरायली सेनाले भने हमासद्वारा प्रयोग हुने “ट्रेनिङ कम्पाउन्ड” मा प्रहार गरिएको दाबी गरेको छ, जहाँबाट इजरायलमाथि आक्रमणको तयारी भइरहेको आरोप लगाएको छ । तर लेबनानी पक्षले यो दाबी अस्वीकार गर्दै आक्रमण खेलमैदानमा भएको बताएको छ र यसलाई “जघन्य अपराध” भन्दै कडा निन्दा गरेको छ ।

खेतमै पराल जलाउँदा देशभर प्रदूषण बढ्दै

काठमाडौं । देशभर चिसो बढेसँगै हुस्सु–कुहिरोसँग मिसिएको प्रदूषणयुक्त तुवाँलो बढ्न थालेको छ । बर्खेधान कटानीपछि किसानले खेतमै रहेका पराल र धानका ठुटा बाल्न थालेकाले वायु प्रदूषण थपिएको मौसमविद्हरू बताउँछन् । भारतीय भूभागमा पराल जलाउने व्यापक चलनका कारण त्यहाँबाट उठेका धुवाँ–कण पश्चिमी हावासँगै नेपालमा पनि प्रवेश गरिरहेका छन् । वर्षाविहीन अवस्थाले हावा सुक्खा बनेको र रातभर माथिल्लो वायुमण्डलतिर उडेका कण बिहान हुन्दे हुस्सु–कुहिरोसँग मिसिँदा तुवाँलो घने बन्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् विभूति पोखरेलका अनुसार पराल र झारपात जलाउँदा निस्कने कणले सूर्यको प्रकाश रोक्छ र वातावरण झनै धमिलो बनाउँछ। भारतीय किसानको सिको गर्दै नेपाली किसानले पनि पराल बढी जलाउन थालेपछि आन्तरिक प्रदूषण जोखिम बढेको कृषि मौसमविद् रामेश्वर रिमालले चेतावनी दिए ।  पहिले त्यही पराल पशुमा खुवाइन्थ्यो वा गोबरसँग मिसाएर मल बनाइन्थ्यो तर पशुपालन घटेपछि र रासायनिक मलको प्रयोग बढेपछि किसानले जलाउन सजिलो ठानेका कारण समस्या जटिल बन्दै गएको छ । खेतमै पराल डढाउँदा किसानकै परिवारको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने र काठमाडौँजस्ता उपत्यकामा कण अड्किएर दीर्घकालीन प्रदूषण बढाउने जोखिम रहेको विशेषज्ञहरूको भनाइ छ । रिमालका अनुसार मधेश तथा तराईमा पराल जलाउने क्रम अत्यधिक बढ्दो छ । कृषि अनुसन्धान परिषद् (नार्क) लगायत निकायले पराल नजलाउन आग्रह गरे पनि जानकारी किसानसम्म प्रभावकारी रूपमा नपुगेको देखिन्छ । सरकारका सम्बन्धित निकायलेै निरन्तर सचेतना र विकल्पको प्रशिक्षण दिनुपर्ने उनीहरूको सुझाव छ ।

एन्टिबायोटिक जथाभावी प्रयोग हानिकारक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले चिकित्सकले सिफारिस (प्रेस्क्रिप्सन) गरेको एन्टिबायोटिक औषधि मात्र सेवन गर्न आग्रह गरेकी छिन् ।  एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा मन्त्री शर्माले एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने बताइन । उनका अनुसार एन्टिबायोटिकको गलत वा अपूर्ण प्रयोगले शरीरमा प्रतिजैविक प्रतिरोध विकसित भई भविष्यमा सामान्य रोगमा पनि औषधि नलाग्ने स्थिति आउन सक्छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य उपचारका लागि बढ्दो चुनौती बन्दै गएको उल्लेख गर्दै समयमै नियन्त्रण नगर्ने हो भने स्वास्थ्य प्रणालीमै गम्भीर असर पर्न सक्ने बताए । यस वर्ष ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ नारासहित देशभरि सचेतना कार्यक्रम मनाइँदै छ ।  

मनास्लु क्षेत्रमा आठ हजारबढी पर्यटककाे भ्रमण

गोरखा । चालु आर्थिक वर्षको साउन यता आठ हजार ५४४ पर्यटकले गोरखाको मनास्लु क्षेत्र भ्रमण गरेका छन् । मनास्लु क्षेत्रमा कात्तिकमा मात्र चार हजार २४७ पर्यटक भित्रिएका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ ।  एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार असोजमा तीन हजार ४४२, भदौमा ७७९ र साउनमा ७६ जना पर्यटक मनास्लु क्षेत्र भ्रमण गर्न आएका हुन् । “साउनदेखि कात्तिकसम्ममा आठ हजार ५४४ जना आएकामा त्यसमा एक सय ४२ जना नेपाली पर्यटक छन् । बाँकी सबै विदेशी पर्यटक हुन्”, उनले भने । यसअघि विदेशी पर्यटकको मात्र विवरण सङ्कलन गर्ने गरिएकोमा चालु आर्थिक वर्षदेखि नेपाली पर्यटकको विवरणसमेत राख्न सुरु गरेको उनले जानकारी दिए । गत आर्थिक वर्ष २०८१/८२ मा यहाँ १२ हजार ५१२ जना पर्यटक भित्रिएकामा यो वर्ष त्यसभन्दा बढी पर्यटक आउने अपेक्षा गरिएको छ । “चार महिनामै आठ हजार बढी पर्यटक आइसकेका छन्, यो आवमा १५ हजारभन्दा बढी पर्यटक भित्रिने हाम्रो अनुमान छ”, एमक्याप प्रमुख शेरचनले भने, “स्रोतसाधनको प्रयोग गरेर पर्यटकको राम्रो व्यवस्थापन गर्ने हो भने केही वर्षमा मनास्लु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्तव्य बन्नसक्छ । यहाँ हरेक वर्ष पर्यटक सङ्ख्या बढ्दै गएको छ ।” एमक्यापको तथ्याङ्कअनुसार आव २०८०/०८१ मा नौ हजार ७८२, २०७९/०८० मा सात हजार ७०५ र आव  ०७८/०७९ मा दुई हजार २८४ जनाले उक्त क्षेत्र भ्रमण गरेका थिए । मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था छ । पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित ‘काउन्टर’मा प्रवेश दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यी दुवै ठाउँमा शुल्क नबुझाएका पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित ‘चेकपोष्ट’मा दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ । नेपाली पर्यटकको हकमा भने प्रतिव्यक्ति रु १०० प्रवेश शुल्क तोकिएको छ ।  निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ । विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक हप्ताको अनुमति दिने गर्दछ । उक्त अवधिभर चुमभ्यालीका लागि ‘सिजन’ मा पर्यटकले प्रतिव्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने अन्य समयमा २५ डलर मात्र बुझाउनुपर्ने हुन्छ ।  यस्तै, नुव्री भ्यालीका लागि ‘सिजन’मा प्रतिव्यक्ति ७० डलर र ‘बेसिजन’ मा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ । एक हप्ताबाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउने व्यवस्था छ । मनास्लु क्षेत्रअन्तर्गत चुमनुब्री गाउँपालिकाका सात वटा वडा पर्छन् । साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ । 

लहान नगरपालिकामा अझै चार हजार घरपरिवार शौचालयविहीन

सिरहा । जिल्लाको लहान नगरपालिकाले दिगो सरसफाइ प्रवर्द्धनका लागि ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२’ सुरु गर्दै नगरभित्र अझै ठुलो सङ्ख्यामा शौचालयविहीन घरपरिवार रहेको तथ्य सार्वजनिक गरेको छ ।  नगरपालिकाको पछिल्लो सर्वेक्षणअनुसार २४ हजार सात सय घरपरिवारमध्ये झन्डै १७ प्रतिशत अर्थात् चार हजार दुई सय घरमा आजसम्म पनि शौचालय छैन । नगर प्रमुख महेशप्रसाद चौधरीले मंगलबार पत्रकार सम्मेलनमार्फत तथ्याङ्क सार्वजनिक गर्दै स्वच्छता चुनौती गम्भीर बन्दै गएको उल्लेख गरे ।  उनले भने, “२०१७ मै खुला दिसामुक्त घोषणा भइसकेको नगरमा आज पनि यति धेरै घरपरिवार शौचालयविहीन हुनु चिन्ताजनक अवस्था हो । अब घर–घर पुगेर वास्तविक अवस्था परिवर्तन गर्ने बेला आएको छ ।” दलित, भूमिहीन, गरिब तथा बाढी–जोखिमयुक्त बस्तीमा समस्या बढी देखिएको छ । दिसाजन्य लेदो प्रशोधन केन्द्रको अभाव, सुरक्षित पानीको कमी तथा मर्मत–सम्भार कमजोरीले स्वच्छता स्तर कमजोर बनेको नगरपालिकाको प्रारम्भिक विश्लेषणले देखाउँछ । नगरप्रमुख चौधरीले भूमिहीन सुकुम्वासीका लागि उपयुक्त स्थान पहिचान गरी स्थानान्तरण प्रक्रिया अघि बढाइने पनि बताए ।  नगरपालिकाले जनप्रतिनिधि, सामाजिक परिचालक, समुदायका संस्था, विद्यालय तथा युवा समूहको सहकार्यमा तीन महिनासम्म घर–घरमै पुगेर प्रत्यक्ष अनुगमन गर्ने तयारी गरेको छ ।  नगरप्रमुख चौधरीले सबै नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गर्दै भन्नुभयो,“शौचालय हुनु केवल सुविधा मात्र होइन, स्वास्थ्य र सम्मान दुवै हो । स्वच्छता सुधार नगरवासीकै सक्रिय सहभागिताबाट सम्भव हुन्छ ।”