रैथाने खान्कीकाे स्वाद फर्किदै

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे, अथवा ढिँडो खाएको कुरा खुलेआम भन्न रुचाउँदैनथे । गाउँघरमा समेत यस्तै अवस्था थियो । किनभने ढिँडो गरिबको खान्की हो भन्ने मानसिकता थियो । 

त्यो समयमा चामलको भात धनी अर्थात् सम्पन्नहरूले र कोदो गरिबले खान्छन् भन्ने थियो । यस कारण गाउँघरमा कतैकतै त घरभित्र ढिँडो खाने र बाहिर कुकुरलाई चाहिँ एकगाँस दूधभात दिने गरेको तथ्यहरू पनि सुन्न पाइन्थ्यो । 

अहिले जमाना बदलिएको, छ, समय फेरिएको छ । मानिस गाउँघरको त के कुरा सहर बजारका ठुलै होटलमा पनि ढिँडो खोज्दै जान थालेका छन् । ढिँडो अब लुकेर र लुकाएर खाने खान्की नभएर मन पर्ने खाना मात्र नभएर रोजाइको खानामा पर्न थालेको छ । त्यसैले मानिसले अहिले ढिँडो खाँदा गर्व गर्छन् र सामाजिक सञ्जालमा आज ढिँडो खाइयो भनेर तस्बिर पोस्ट गर्ने गर्छन् ।

पहिले दुर्लभ मानिएको भात अहिले विकल्पको खाना भएको छ । घरमा होस् या होटलमा, मानिसहरुले सकेसम्म भात खाँदैनन् । रोटी, च्याख्ला या ढिँडो नै रोजाइमा पर्न थालेको छ ।  पहिलेको धनीमानी तथा सानको खाना भातलाई अहिले मानिस रोगको घरका रूपमा लिन्छन् । किनभने चिकित्सकहरु नै धेरै भात नखान सुझाउँछन् । सकेसम्म अर्ग्यानिक खाना, रैथाने उत्पादनको खान्की र सकेसम्म भात थोरै खानुपर्ने चिकित्सकहरूको सल्लाह छ ।

पहिलेको तुलनामा अहिले मानिसमा आफ्नो स्वास्थ्यसम्बन्धी चेतनामा वृद्धि भएको देखिन्छ । त्यसैले मानिस विषादी प्रयोग नभएको, रैथाने उत्पादन तथा कार्बोहाइड्रेट धेरै नभएका खानेकुरा रोज्न थालेका छन् ।    

खाद्य, पोषण तथा जनस्वास्थ्यविद् डा अरुणा उप्रेती पछिल्लो समय पहिलेका रैथाने अन्न जस्तै कोदो, फापर, गुद्रुक, मकै तथा च्याख्ला र दाल भात धेरैको रोजाइमा पर्न थालेको बताउँछिन् । रक्तचाप, मधुमेहलगायत रोगबाट जोगिनका लागि पनि बजारका र आधुनिक खानेकुराभन्दा रैथाने खाना नै खानुपर्छ भन्ने चेतना मानिसमा बढ्दै गएको उनको अनुभव छ । 

“पहिला रैथाने खाना खाँदा अपहेलित हुने अवस्था पनि थियो  । तर अहिले त्यस्तो छैन, सञ्चारमाध्यमले गर्दा रैथाने खानातर्फ मानिस आकर्षित भएका छन् । पहिला मैले कोदो खाएँ भन्दा मान्छेलाई अपमान महसुस पनि हुने गरेको थियो । अहिले भने पाँचतारे होटलमै पनि कोदो, फापरको रोटी ढिँडो पाउन सकिन्छ । मेन्युमा नै पनि यस्ता परिकार लेख्न थालिएको देखिन्छ”, उनी भन्छिन् । 

मानिसमा शारीरिक व्यायाम आदि कम हुँदै गएको र बजारका खानेकुराको मात्रा बढ्दै गएकाले अर्ग्यानिक तरिकाबाट उत्पादन गरिएका यस्ता स्थानीय, रैथाने खानाले स्वास्थ्यलाई राम्रो गर्ने उनको सुझाव छ । केही वर्ष पहिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापास्थित आफ्नो घरमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएको विषयले चर्चा पायो । 

प्रसाईंले दुई पूर्वप्रधानमन्त्रीसँगै बसेर मार्सी चामलको भात खाएको फोटो सार्वजनिक भएसँगै बजारमा मार्सी चामलको चर्चा चुलियो । मार्सी चामलको ‘ब्राण्डिङ’ गरेर अहिले ललितपुरको झम्सिखेलमा ‘मार्सी थकाली’ सञ्चालनमा आएको छ । 

मार्सी धान विशेषतः चिसो हावापानीमा उत्पादन हुने धान हो । चिसो हावापानीमा उत्पादन हुने भएकाले मार्सी चामलको खाना स्वादिलो हुने गरेको छ । मार्सी थकालीका सञ्चालक मधुसुदन ढकाल हिमाली क्षेत्रमा उत्पादित हुने धानलाई आफ्नो रेष्टुरेन्टले ‘ब्राण्ड’ बनाएर अगाडि बढाएको बताउँछन् । मार्सी थकालीमा मार्सी खानासहित स्थानीयस्तरमा उत्पादित गुन्द्रुक, कालिज, बँधिया कुखुरा, बट्टाई, च्याङ्ग्राको सुकुटी, गँगटा, घुँगी, लोकल कुखुरालगायत रैथाने स्वाद लिन पाइन्छ । 

काठमाडौँको लाजिम्पाटस्थित बुकी बुटिक होटलका व्यवस्थापक मनिष श्रेष्ठ केही वर्षअघिसम्म मानिस होटलमा विशेष गरी भात खान नै आउने गरेकामा अहिले उनीहरूको खानपिनमा निकै परिवर्तन आएको आफूले पाएको अनुभव सुनाउँछन् । 

माानिस बढी त लोकल अथवा रैथाने उत्पादनमा नै बढी आकर्षित हुने गरेको बताउँदै श्रेष्ठ भात नै खोजे पनि मानिसले मार्सी चामल या अरू नै त्यस्तै रैथाने चामलको भात खोज्ने नत्र ढिँडोलगायत अरू खानेकुरा मन पराउने गरेको बताउँछन् ।  

त्यसैले आफूले स्थानीय उत्पादन, मार्सी चामलको थाली, लोकल कुखुरा तथा गाउँघरबाटै रैथाने गेडागुडी, कालो मासको दाल र लोकल सागहरु मगाउने गरेको उनको भनाइ छ । यही कारणले अहिले सो होटल परिसरमा हरेक शनिबार बिहान स्थानीय एवं रैथाने उत्पादन जस्तै जुम्लाको सिमी, मुस्ताङको आलु, जुम्ली मार्सी चामल, फापर एवं काठमाडौँकै पनि काँठतिरका सागसब्जी र गेडागुडीका अर्ग्यानिक उत्पादनको बजार लाग्ने गरेको श्रेष्ठ बताउँछन् । 

सेफ्स एशोसियसन नेपालका पूर्वअध्यक्ष एवं काठमाडौँको नागार्जुनस्थित नागार्जुन रिसोर्टका सल्लाहकार सेफ गोविन्दनरसिंह केसी रैथाने खाना खानेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको बताउँछन् । 

“पहिले त होटलमा गएर खाने भनेको ठूलाबडाले मात्र हो भन्ने थियो, किनभने मानिससँग पैसा नै हुँदैनथ्यो । कहिलेकाहीँ होटल जानेहरुले पनि रैथानेभन्दा पनि होटलको आधुनिक परिकार नै खोज्थे । तर अहिले त्यस्तो छैन । मानिस ठुलै होटलमा गएर पनि अर्ग्यानिक तथा रैथाने खाना खोज्ने गरेका छन् । यो चाहिँ स्वास्थ्यसम्बन्धी एक प्रकारको चेतना पनि हो”, उनी भन्छन् । 

विगतमा सोल्टी होटलको सेफसमेत रहने केसी पहिले अहिलेजस्तो तरकारी आदिमा विषादी प्रयोग गर्ने चलन नरहेकाले होटलको खाना पनि त्यति अस्वस्थ हुँदैनथ्यो उनी भन्छन् । केसीको अनुभवमा अहिले उत्पादन बढाउन अनेकथरि औषधि, मलको प्रयोगले गर्ने र यस्ता समाचारले मानिसमा चेतना बढेको बताउँदै काठमाडौँका मानिस रैथाने खाना तथा स्थानीय उत्पादन खोज्दै अहिले नागार्जुन रिसोर्ट जस्तै काँठ क्षेत्रका होटलमा पुग्ने गरेका छन् ।            

काठमाडौँको डाँडागाउँस्थित रोयल भिल्ला रिसोर्टका सञ्चालक पुष्कल मल्लको अनुभव पनि त्यस्तै छ । काठमाडौँको भिडभाडबाट केही पर जङ्गल नजिक रहेको आफ्नो रिसोर्टमा पनि स्थानीय एवं नेपाली स्वादका खानामा ‘इञ्जोय’ गर्न मानिस आउने गरेको बताउँछन् । 

“पछिल्लो समय नेपाली खानाप्रति मानिसको रुचि बढेको देख्छु । हामीकहाँ पनि धेरै गेष्ट काठमाडौँबाटै आउनुहुन्छ र नेपाली मात्र नभएर रैथाने र अर्ग्यानिक खाना नै खोज्नुहुन्छ, ढिँडो, गुद्रुक, सिस्नु फापर, मार्सी चामलको भात, लोकल कुखुराको झोल आदि खाने प्रचलन अहिले धेरै बढेको छ । धेरैको रोजाइ टिपिकल खाना पर्ने गर्दछ”, मल्ल भन्छन् । 

केही वर्षयता राजधानी काठमाडौँ सहर भित्रभन्दा पनि काँठ क्षेत्रमा  बढी नै मात्रामा होटल रेष्टुरेन्टहरु खुलेका छन् । ती होटलमा सहरका तुलनामा धेरै नै पाहुना जाने गरेको सञ्चालकहरूको अनुभव छ । 

राजधानी काठमाडौँबाहेक नेपालको प्रमुख पर्यटकीय नगरी पोखराको विमानस्थल नजिक रहेको एयरपोर्ट’ थकाली, चिप्लेढुङ्गाको मन्त्र थकाली, फेवाताल ड्यामसाइडस्थित मोनालिसा थकाली, पोखराको नौडाँडामा रहेको भण्डारी भान्सा घर, चितवनको भरतपुरस्थित पाते ढिँडो थकाली, भरतपुरमै रहेको बाजेको माछा महललगायत थुप्रै होटल तथा रेष्टुरेन्टहरुले पारखीहरुलाई स्थानीय रैथाने खानाको स्वाद चखाइरहेका छन् । 

जेनजी आन्दोलनमा ७६ अर्ब क्षति, निजी क्षेत्रको ३६ अर्ब

काठमाडौं । भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका कारण देशभर करिब ७६ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले ५५ जिल्लामा परेको क्षतिको विवरण सार्वजनिक गरेका छन् खनालका अनुसार कुल क्षतिको मध्ये ३६ अर्ब रुपैयाँ निजी क्षेत्रको हो। प्रारम्भमा दुई खर्ब क्षतिको अनुमान गरिए पनि हालको मूल्याङ्कनले ७६ अर्ब देखाएको उनले बताए । कुल एक हजार ९५७ एकाइमध्ये ४१९ निजी क्षेत्रका संरचना क्षतिग्रस्त भएको र बाँकी सरकारी संरचना रहेको सरकारको तथ्यांकमा उल्लेख छ। निजी क्षेत्रको क्षति भर्न बीमा कम्पनीहरूले ५० प्रतिशत अग्रिम भुक्तानी दिने व्यवस्था गरिएको र करिब १८ अर्बको क्षति मूल्याङ्कन भइसकेको खनालले जानकारी दिए । उनका अनुसार सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण बनाउनु प्राथमिकता हो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानीमैत्री वातावरण, सुरक्षाको प्रत्याभूति, कर संरचना सुधार, भन्सारदर २५ प्रतिशतमा सीमित गर्ने, मूल्य अभिवृद्धि करलाई दुई दरमा ल्याउने, र सहकारी क्षेत्रमा देखिएको सङ्कट समाधान गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्नुपर्ने सुझाव प्रस्तुत गरे ।

रेमिट्यान्स बढ्दा डलर सञ्चिति २१ अर्ब २१ करोड डलर

काठमाडौं । रेमिट्यान्स र निर्यात बढेपछि मुलुकको विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षका तीन महिनामा (साउन–असोज) विदेशी मुद्रा सञ्चिति २१ अर्ब २१ करोड डलर (२९ खर्ब ७९ अर्ब रुपैयाँ) पुगेको छ।  यो गत वर्षको सोही अवधिभन्दा ८.७ प्रतिशतले धेरै हो। विदेशी मुद्रमध्ये २४ प्रतिशत हिस्सा भारतीय रुपैयाँको छ। राष्ट्र बैंकसँग मात्र २६ खर्ब ६७ अर्ब बराबरको विदेशी मुद्रा छ भने ३ खर्ब १२ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा छ। हालको सञ्चितिले १६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सकिने अवस्था रहेको बैंकको विश्लेषण छ। तीन महिनामा रेमिट्यान्स ३५.४ प्रतिशतले बढेर ५ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष यस अवधिमा वृद्धि ११.९ प्रतिशत मात्र थियो। वैदेशिक रोजगारीमा पनि वृद्धि देखिएको छ – तीन महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख २३ हजार पुगेको छ। बढ्दो रेमिट्यान्स र निर्यातका कारण चालु खाता २ खर्ब ३७ अर्ब रुपैयाँले बचतमा छ। शोधनान्तर स्थितिमा पनि २ खर्ब ६४ अर्ब बचत देखिन्छ। यता असोजमा मूल्यवृद्धि १.४७ प्रतिशत मात्र रहेको छ, अघिल्लो वर्ष यो ४.८२ प्रतिशत थियो। गैरखाद्य समूहको मूल्य बढे पनि खाद्य तथा पेय पदार्थको मूल्य घटेकाले समग्र महंगी न्यून भएको बैंकले उल्लेख गरेको छ। बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह भने सुस्त छ । समीक्षा अवधिमा कर्जा १.५ प्रतिशत मात्र बढेको छ। कर्जा बढ्न नसक्दा तरलता प्रशस्त भई ब्याजदर घट्दो छ। हालसम्म कुल कर्जा ५५ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। निक्षेप भने तीन प्रतिशतले बढेर ७४ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ।

अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७० पैसा र बिक्रीदर १४२ रुपियाँ ३० पैसा निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७० पैसा र बिक्रीदर १४२ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ६७ पैसा र बिक्रीदर १६५ रुपियाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपियाँ ६५ पैसा र बिक्रीदर १८७ रुपियाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपियाँ ४७ पैसा र बिक्रीदर १७९ रुपियाँ २३ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९३ रुपियाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ०४ पैसा र बिक्रीदर १०१ रुपियाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ १४ पैसा र बिक्रीदर १०९ रुपियाँ ६० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १७ पैसा र बिक्रीदर नौ रुपियाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ९६ पैसा र बिक्रीदर २० रुपियाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७८ पैसा र बिक्रीदर ३७ रुपियाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८८  पैसा र बिक्रीदर ३९ रुपियाँ ०४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३७ पैसा र बिक्रीदर चार रुपियाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५८ पैसा र बिक्रीदर ३८ रुपियाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ २९ पैसा र बिक्रीदर ३४ रुपियाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७८ पैसा र बिक्रीदर नौ रुपियाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ र बिक्रीदर १५ रुपियाँ ०६ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०५ पैसा र बिक्रीदर २२ रुपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २३ पैसा र बिक्रीदर १८ रुपियाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ७४ पैसा र बिक्रीदर ४६३ रुपियाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपियाँ ४३ पैसा , ओमनी रियाल एकको खरिददर ३६८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३६९ रुपियाँ ६१  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आजबाट दोस्रो एनपिएल सुरु हुँदै, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्दै

काठमाडौं । विश्वभर फ्रेन्चाइज क्रिकेट लिग लोकप्रिय बन्दै गएको छ। भारतको आइपिएलदेखि अस्ट्रेलियाको बिग ब्यास, वेस्ट इन्डिजको सिपिएल, इंग्ल्यान्डको दी हन्ड्रेड, बंगलादेशको बिपिएल, पाकिस्तानको पिएसएल र श्रीलंकोको एलपिएलसम्मका टी–२० लिगले विश्व क्रिकेटमा नयाँ आयाम थपिरहेका छन्।  यिनैबीच नेपालले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सोमबारदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । पहिलो संस्करण अत्यधिक सफल भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) समक्ष यस वर्षको एनपिएल अझ उत्कृष्ट रूपमा आयोजना गर्ने चुनौती छ। क्यानका सचिव तथा प्रतियोगिता संयोजक पारस खड्काले सबै पक्षको सहयोगमा प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरेका छन् ।  दोस्रो एनपिएल सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायरमार्फत मंसिर २७ गते उपाधिका लागि फाइनल खेलिनेछ। कुल ३२ खेल हुने यस प्रतियोगितामा विगतकै आठ टिम प्रतिस्पर्धामा छन्—च्याम्पियन जनकपुर बोल्ट्स, उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स । हरेक टिमले कम्तीमा ४ देखि अधिकतम ६ जना विदेशी खेलाडी राख्न पाउनेछन्। यस पटक फाफ डुप्लेसिस, जेसन रोय, वायने पार्नेल, क्रिस लिन, इमरान ताहिर जस्ता चर्चित विदेशी खेलाडी एनपिएलमा देखिनेछन्। यसपटक ४० भन्दा बढी विदेशी खेलाडी तथा पाँच विदेशी प्रशिक्षक पनि सहभागी छन्। पहिलो संस्करणमा करिब एक अर्ब रुपैयाँको कारोबार भएको एनपिएलको दोस्रो संस्करणको ब्रान्ड भ्यालु दुई अर्ब रुपैयाँभन्दा माथि पुर्याउने लक्ष्य क्यानले राखेको छ। मार्की नेपाली खेलाडीले जनही २० लाख रुपैयाँसम्म पाएका छन् भने अन्य खेलाडीले १५ लाखदेखि २ लाख रुपैयाँसम्म पारिश्रमिक प्राप्त गरेका छन्। टिमहरूले प्रचारप्रसारमा समेत ठूलो लगानी गरेका छन्। दोस्रो एनपिएलको मुख्य आकर्षण भनेकै त्रिवि क्रिकेट मैदानमा पहिलो पटक कृत्रिम प्रकाश (फ्लड लाइट) मा हुने खेल हो। ९ खेल दिउँसो र २३ खेल राति हुनेछन्। सरकारले क्यानसँग सहकार्य गर्दै मैदानमा फ्लड लाइट जडान गरेपछि नेपाली क्रिकेटले नयाँ युगमा प्रवेश गरेको छ। आज साँझ ४ बजे जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच उद्घाटन खेल हुनेछ। गत वर्ष जनकपुरले काठमाडौँलाई जितेको थियो र यो खेल पनि रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको आगमनमा वृद्धि

गण्डकी । गण्डकी प्रदेशका पाँच जिल्लामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला वर्षमा विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ ।  कोभिड–१९ महामारीका कारण सन् २०२१ मा पर्यटक सङ्ख्या घटे पनि त्यसयता बर्सेनि पर्यटक आगमनमा सुधार आएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २०२२ मा एक लाख २९ हजार ७१८, सन् २०२३ मा एक लाख ९१ हजार ६६६ र सन् २०२४ मा दुई लाख ४४ हजार २५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् । सन् २०२५ को १० महिनामै गत वर्षको भन्दा बढी पर्यटक आएको ‘एक्याप’ को तथ्याङ्कले देखाएको छ । गत जनवरीदेखि अक्टोबरसम्ममा दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक यहाँ भित्रिएका छन् । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका एक लाख ४६ हजार ९६८ र अन्य मुलुकका ९९ हजार ६०७ पर्यटक आएको ‘एक्याप’ का प्रमुख डा रविन कडरियाले जानकारी दिए । सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार ७६३ पर्यटक आएकामा जनवरीमा सबैभन्दा कम  नौ हजार ३५९ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् ।   ‘जेनजी’ आन्दोलनलगायत कारणले गत सेप्टेम्बरमा अघिल्लो वर्षको तुलनामा केही कम पर्यटक आए पनि अक्टोबरमा भने यस वर्ष एक हजार ५५७ पर्यटक बढी आएका ‘एक्याप’ले जनाएको छ । नोभेम्बरपछि पर्यटक आगमन बिस्तारै घट्ने र मार्चपछि पुनः पर्यटक बढ्ने प्रमुख डा कडरियाले बताए ।  पदयात्रा पर्यटनका लागि विश्वमाझ चिनिएको अन्नपूर्ण क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मेसम्ममा विदेशी पर्यटकको आगमन वृद्धि हुने गरेको छ । सडक मार्ग भएर यस क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्यस्थलको भ्रमण गर्ने पर्यटकको सङ्ख्या सोही याममा बढी हुने गर्छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् ।  ‘एक्याप’ले अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर मुस्ताङ, मुस्ताङलगायतका गन्तव्यमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको प्रमुख डा कडरियाले बताए । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्दै आएको उनको भनाइ छ । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भन्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।  अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् ।  हिमश्रङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ । 

कर्णाली प्रदेशका अस्पतालमा अझै चिकित्सक पाउनै कठिन

कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना र जनशक्ति व्यवस्थापनबारे कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा आइतबार छलफल भएको छ ।  सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सरकारसहित सरोकारवालासँग छलफल भएको हो । गत कात्तिक २२ गते समितिको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णय गरे बमोजिम बैठक बसेको थियो । सो बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अस्पतालका लागि विशेषज्ञ चिकित्सक पाउन मुस्किल भएको बताए । सरकारले चाहेर मात्रै पनि सुविधालाई बढवा दिन नसकिएको भन्दै मन्त्री भण्डारीले कर्णालीको भूगोल र वास्तविकतालाई आकलन गर्दा विशेषज्ञ चिकित्सक कर्णाली आउन नमान्ने अवस्था विद्यमान रहेको जनाए । उनले भने, “सरकारले गाउँगाउँमै चिकित्सक पठाउने गरी छात्रवृत्ति दिने र करारकालाई स्थानीय तहसम्म परिचालन गरे पनि मेडिकल अधिकृतभन्दा माथिल्लो तहको चिकित्सक पाउन जटिल छ ।”  उनका अनुसार स्वास्थ्य क्षेत्र अहिले प्राथमिकतामा पर्न सकेको छैन । कोभिड पछिका दिनमा बजेट स्रोत घटिरहेको छ ।  अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले जनशक्ति अभाव र व्यवस्थापनमै कमजोरी भएको स्वीकारे । प्रदेश सरकारद्वारा स्वीकृत १५० शय्या भए पनि हाल ३०० शैय्या बराबरको सुविधा उपलब्ध गराउनु परेको र विशेषज्ञ सेवा करिब ९१ जनाले प्रदान गरेतापनि जनशक्ति व्यवस्थापनका लागि बजेट पर्याप्त नभएको उनको भनाइ थियो ।  प्रदेश अस्पतालका निर्देशक डा गणेश थापाले विशेषज्ञ चिकित्सकको अभावले ३७ जना आवश्यक जनशक्तिमा हाल १९ जनाबाट मात्र सेवा प्रवाह भइरहेको जानकारी दिए । उनले चार/पाँच हजार केभिए विद्युत् आवश्यक हुँदा पनि एक हजार केभिए क्षमताको लोड प्राप्त भएको आवश्यकताअनुसार विद्युत् आपूर्ति हुन नसकेको गुनासो गरे ।  समितिका सभापति पूर्णबहादुर खत्रीले बैठकमा प्रदेश अस्पतालमा कार्यरत जनशक्तिको पदपूर्तिको अवस्था, कार्यदक्षता, सेवा प्रवाहमा हुने ढिलासुस्तीका कारण, सुधारका विषयका सम्बन्धमा छलफल भएको जानकारी दिए । 

सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

झापा । पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यति बेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर्यटकको आगमन ह्वात्तै बढेको छ ।  इलामको रोङ गाउँपालिका–६ सलकपुरको ९० हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । जहाँ लटरम्म पाकेका सुन्तलाका दाना बोटबाटै टिपेर खान मात्र होइन, फोटो र भिडियो खिचेर टिकटक बनाउन आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्छ । सलकपुरका करिब ३० घरमा घरवास (होमस्टे) सञ्चालन छ । प्रत्येक हप्ताको शुक्रवार र शनिवार यहाँका सबै घरवासमा पर्यटक भरिभराउ हुने वडाध्यक्ष सत्यम राईले बताए । उनका अनुसार सो क्षेत्रमा दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक सुन्तला पछ्याउँदै आउने गरेका छन् ।  उनले सलकपुरको स्वादिलो सुन्तला बोटमै टिपेर खानका लागि इलाम, झापा, मोरङ, सुनसरीदेखिका आन्तरिक पर्यटक घरवासमा बास बस्न आउने गरेको जानकारी दिए । यहाँ छिमेकी मुलुक भारतको सिलगढी, दार्जिलिङ र कोलकातातिरका पर्यटकसमेत आउन थालेको उनले बताए ।  सिङ्गो वडा नै सुन्तला खेतीका लागि प्रसिद्ध छ । यहाँको सलकपुर, कुवापानी र जौबारीलगायतको क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ । विगत लामो समयदेखि सुन्तलाको व्यावसायिक खेती गर्दै आएका मदन विमलीले बोटबाटै प्रतिकेजी रु १३० मा सुन्तला बिक्री गरिरहेको बताए ।  उनको बारीमा यस वर्ष तीन वर्ष यताकै राम्रो सुन्तला फलेको छ । आठ रोपनीमा लगाएको सुन्तला खेतीबाट राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ । उनले यहाँ उत्पादित सुन्तलाको बजार झापा नै रहेको बताए । “विगतमा सुन्तला बगानमै व्यापारीलाई गोलमोटोल मूल्य राखेर दिन्थ्यौँ,” उनले भने, “यसपालि आफैँ बिक्री गरिरहेका छौँ । व्यापारीलाई दियो भने आफूले टिप्नै मिल्दैन । यहाँ आउने पर्यटकले पनि टिपेर खान्छन्, पैसा पनि तिर्छन् ।” उनले हालसम्ममा एक क्विन्टल सुन्तला बिक्री गरिसकेको र अझै बारीमा त्यति नै टिप्न बाँकी रहेको बताए । उनले यहाँ आएका पर्यटकलाई सुन्तला बारीमा पस्नका लागि नियम बनाइएको बताए । पर्यटकले फोटो, भिडियो खिच्न र टिकटक बनाउन सुन्तला बगान खुल्ला रहे तापनि जथाभाबी टिप्न नपाइने उनको भनाइ छ । सलकपुरकै देवेन खड्काले १० रोपनी जमिनमा सुन्तलाको खेती गरेका छन् । उनले यहाँ सुन्तलाबारीमा रमाउन र सूर्योदयको अवलोकन गर्न पर्यटक आउने गरेको बताए । सलकपुरमै रहेको गुर्धुम डाँडाबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिने हुँदा पनि यो स्थान पर्यटकको रोजाइमा परेको उनको भनाइ छ ।  विसं २००४ मा दार्जिलिङबाट आएर बसोबास गरेका गौरीलाल लामाले यहाँ सुन्तला खेती सुरु गरेका थिए । सुरुमा दार्जिलिङबाट बिरुवा ल्याएर खेती सुरु गरे तापनि हाल पाल्पाबाट उन्नत जातका सुन्तलाको बिरुवा ल्याएर व्यावसायिक खेती भइरहेको उनले बताए । “झापादेखिका व्यापारीले सुन्तला बोटमै खरिद गर्छन्,” उनले भने, “उत्पादनमा मात्र ध्यान दिए पुग्छ, बजारको समस्या छैन ।”  सुन्तला, अलैँची, अकबरे, अम्लिसो, महलगायतका कृषिजन्य सामग्री उत्पादनले प्रसिद्ध सलकपुरमा नेपालका विभिन्न ठाउँबाट त्यसैको अध्ययनका लागि पनि पर्यटक आउने गरेको वडाध्यक्ष राईको भनाइ छ । यहाँ उत्पादित सुन्तला भारतको कोलकातामा हुने सुन्तला महोत्सवसमेतमा प्रत्येक वर्ष प्रदर्शन र बिक्रीका लागि लैजाने गरिएको छ ।

कञ्चनपुरका नौ वटै स्थानीय तह ‘कृषि पकेट क्षेत्र’

कञ्चनपुर । कञ्चनपुरका नौ वटै स्थानीय तहलाई कृषि पकेट क्षेत्र निर्धारण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा स्थानीय तह विशेष पकेट क्षेत्र निर्धारण गरेर बाली र पशुपन्छी विशेष कार्यक्रम सञ्चालन गरेको हो । यहाँ स्थानीय तहहरूलाई उत्पादनका दृष्टिले भौगोलिक विभाजनका आधारमा विशेष उत्पादन क्षेत्र निर्धारण गरिएको छ ।  कृषि ज्ञान केन्द्र महेन्द्रनगरका सूचना अधिकारी धर्म साउँले चालु आर्थिक वर्षमा कञ्चनपुरमा स्थानीय तह विशेष पकेट क्षेत्रअनुसार प्रत्येक स्थानीय तहका लागि रु ४० लाख बजेट विनियोजन गरिएको जानकारी दिए । उनका अनुसार भीमदत्त नगरपालिकालाई केरा पकेट क्षेत्र निर्धारण गरिएको छ ।  त्यसैगरी बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पूर्नवास नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई आलु पकेट क्षेत्र निर्धारण गरिएको छ । कृष्णपुर नगरपालिकालाई तरकारी पकेट क्षेत्र निर्धारण गरिएको छ । लालझाँडी गाउँपालिका दलन पकेट क्षेत्र, बेलौरी नगरपालिका तोरी पकेट क्षेत्र र बेल्डाँडी गाउँपालिकालाई आलु पकेट क्षेत्र निर्धारण गरिएको छ ।  “तीन वर्षे कार्यक्रम अन्तर्गत स्थानीय तह विशेष पकेट क्षेत्रका लागि प्रत्येक पालिकामा रु ४० लाख बजेट आएको छ”, उनले भने, “किसानलाई व्यावसायिक रूपले अघि बढाउन यो कार्यक्रम सञ्चालन गरिएको हो ।” उनका अनुसार आलु पकेट क्षेत्रका किसानका लागि ‘कोल्डस्टोर’को समेत व्यवस्था गरिएको छ । उहाँका अनुसार आलु पकेट क्षेत्र रहेको पुनर्वासमा दुई वटा कोल्डस्टोर छन् । त्यसैगरी बेदकोट नगरपालिका, दोधारा चाँदनी नगरपालिका र बेल्डाँडी गाउँपालिकामा कोल्डस्टोर सञ्चालनमा छन् । त्यसैगरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कञ्चनपुरबाट चालु आर्थिक वर्षमा पालिका विशेष उत्पादन कार्यक्रमका लागि पकेट क्षेत्र निर्धारण गरिएको छ । वरिष्ठ पशु विकास अधिकृत श्याम सिंह खड्काका अनुसार यहाँका सात वटा पालिकालाई भैँसीपालन र दुई वटा पालिकालाई बाख्रापालन विशेष कार्यक्रम रहेको जानकारी दिए ।  उनका अनुसार यहाँको कृष्णपुर, शुक्लाफाँटा, बेल्डाँडी, दोधारा चाँदनी, भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकालाई भैँसीपालन पकेट क्षेत्र निर्धारण गरिएको छ । लालझाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा बाख्रा पकेट क्षेत्रका लागि बजेट विनियोजन भएको छ ।  “पुनर्वास र भीमदत्त नगरपालिकामा क्रमशः रु ६० र ५० लाख बजेट आएको छ”, उनले भने, “अन्य पालिकाका लागि रु ४० लाख बजेट छ ।” उहाँले सम्भावना देखिएका पशुपन्छीको उत्पादनका क्षेत्रहरूलाई विशेष क्षेत्रका रूपमा निर्धारण गरी व्यावसायिक कृषिको विकास गर्ने लक्ष्यअनुसार यो कार्यक्रम सञ्चालन गरिएको बताए ।  

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । कालोपत्रको काम धमाधम भइरहेको सडक खण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि मंसिर १ गतेदेखि २० गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो ।  सवारी साधन आवतजावत गर्दा कालोपत्र गर्ने कार्य प्रभावित भएपछि बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोको अनुरोधमा एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक बाहेकका सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले अनुरोध गरेका छन् ।  कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिका ८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको बेनी जोड्ने १३ किमी दुरीमा दुई लेनको सडक स्तरोन्नति भइरहेको छ । उक्त सडक बन्दको समयमा मालढुंगा, बागलुङबाट रत्नेचौर हुँदै बेनीको सडक प्रयोग गर्न सकिन्छ ।  ठेकेदारको ढिलासुस्ती र आयोजना पक्ष निरिह हुँदा विसं २०७७ साल चैत्र महिनामा रु ५२ करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको ठेक्का अहिलेसम्म पूरा हुन सकेको छैन । विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो ।  म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ ।

हात्तीको बथान झापा प्रवेश गरेपछि सुरक्षित रहन आग्रह

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ । गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन आग्रह गरिएको कार्यालयले जनाएको छ । मोरङबाट २५ देखि ३० को सङ्ख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा प्रवेश गरेकाले स्थानीयवासीलाई सोबारे जानकारी दिँदै सचेतना अपनाउन माइकिङ गरेर आग्रह गरिएको डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए । ‘डेढ वर्षअघि बाहुनडाँगीको प्रसाद गौँडा हुँदै ५०–६० हात्तीको बथान नेपाल प्रवेश गरेका थिए । सोमध्ये करिब एक वर्षअघि ३० वटा हात्ती भारततर्फ फर्किएको र बाँकी मोरङ र सुनसरीका वन क्षेत्रमा रहेका थिए । तिनै हात्ती भारततर्फ फर्कने क्रममा झापा आइपुगेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका हौँ’, उनले भने । उनका अनुसार स्थानीयलाई सुरक्षित रहनका लागि कार्यालयले गस्ती र माइकिङ गरिरहेको छ । उक्त हात्तीको बथान आज शिवसताक्षीधामस्थित रतुवामाई वृक्षारोपण वन क्षेत्रमा रहेका वन कार्यालयका प्रमुख श्रेष्ठले बताए । उनले भने- ‘जनधनको क्षति नहोस् भन्ने उद्देश्यले हात्ती रहेका पालिकामा रात्रिकालीन गस्ती र माइकिङ गरिरहेका छौँ ।’ उनले हात्ती कुन क्षेत्रतर्फ गइरहेका छन् भनेर वन कार्यालयले रेखाङ्कन गर्दै सोही क्षेत्रमा गस्ती गरिरहेको जानकारी दिए । प्रमुख श्रेष्ठका अनुसार हात्ती दिनभर सामुदायिक वन क्षेत्रमा बस्ने र राति मात्र हिँड्ने गर्दछन् । आज र भोलिसम्ममा बाहुनडाँगीको प्रसाद गौँडा हुँदै उक्त बथान भारततर्फ फर्कने आँकलन गरिएको उनले जानकारी दिए ।

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव ४२ हेक्टर क्षेत्रफल अतिक्रमण भएको हो । साथै नेपाल–भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा करिब १३९ दशमलव ८९ हेक्टर निकुञ्ज क्षेत्र अतिक्रमणमा परेको निकुञ्ज कार्यालयले जनाएको छ । अतिक्रमित क्षेत्रमा तत्कालीन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापितहरू बसिरहेका छन् । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले ढक्कामा ६०४, तारापुरमा १५५ र लल्लेरीमा १३ परिवारले अतिक्रमण गरेर बसिरहेको जानकारी दिए । उनका अनुसार नेपाल–भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा भारतीय नागरिकले करिब १३९ दशमलव ८९ हेक्टर निकुञ्जको क्षेत्र अतिक्रमण गरेर खेती गर्दै आएका छन् । सूचना अधिकारी वाग्लेले निकुञ्जको मध्यवर्ती क्षेत्र (कोर एरिया) मा मानवबस्ती बसेकाले वन्यजन्तुको बासस्थानमा असर पुग्ने बताए । ‘कोर एरियामा निकुञ्जबाट विस्थापित भएकाहरू बस्दै आएका छन्, यसले वन्यजन्तुको बासस्थानमा समस्या हुन्छ’, उनले भने, ‘यहाँ बस्नेहरूले पनि न्यूनतम सेवासुवधा पाउन सक्दैनन् । सोहीकारणले कोर एरियामा बस्ती हुँदा दुवै पक्षलाई असर परेको छ ।’  निकुञ्जबाट विस्थापितको समस्या समाधान हुन नसक्दा निकुञ्जको कोर एरिया अतिक्रमणमा परेको वाग्लेको भनाइ छ । हालसम्म ३३ वटा आयोग बने पनि आरक्ष विस्थापितको समस्या समाधान हुन नसकेको उनले बताए । नेपाल–भारत सिमानाको पिल्लर नं २८ र २७ बीचको निकुञ्ज क्षेत्रमासमेत अतिक्रमण भएको छ । सिमानामा मुख्य पिल्लरको बीचमा सबपिल्लर नभएकाले उक्त क्षेत्र विवादित बनेको सूचना अधिकारी वाग्लेले उल्लेख गरे । ‘उक्त क्षेत्रमा भारतीय नागरिकले खेतीपाती गर्दै आएका छन्, त्यो क्षेत्रमा हाम्रो पनि दाबी छ’, उनले भने- ‘गत जेठमा पिल्लर नं २८ नजिक नेपाली सेना र निकुञ्ज कार्यालयले संयुक्त रूपमा पोष्ट स्थापना गरेका छौँ ।’ भारतीय पक्षले अतिक्रमण गरेर खेतीपाती गरिरहेका क्षेत्रमा सेनाले पोष्ट स्थापना गरेर गस्ती सुरु गरेको उनले जानकारी दिए । सूचना अधिकारी वाग्लेका अनुसार अहिले निकुञ्जको सुरक्षामा राष्ट्रिय निकुञ्जका विभिन्न स्थानमा नेपाली सेना र राष्ट्रिय निकुञ्ज कार्यालयका १५ वटा संयुक्त सुरक्षा पोष्ट छन् भने सेनाका छुट्टै तीन वटा पोष्टबाट सेना खटिएका छन् । विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) को पूर्वी क्षेत्र विस्तार गर्ने क्रममा विस्थापित भएकाहरू निकुञ्जको विभिन्न स्थानमा अतिक्रमण गरेर बसेकाले मानव–वन्यजन्तु द्वन्द्वसमेत बढ्दै गएको छ ।  यहाँ एक दशकमा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र १४ पुरुष गरी १७ जनाको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ । 

राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका अनुसार पुस २३ गते उम्मेदवारी दर्ता गर्ने प्रक्रिया सुरु हुने छ भने माघ १ गते निर्वाचन सम्पन्न हुनेछ । स्वीकृत कार्यक्रमअनुसार पुस १९ गते बिहान १०ः०० बजेदेखि ११ः०० बजे सम्म मतदाता नामावली प्रकाशन हुनेछ। मतदाता नामावलीमा दाबी/विरोध तथा उजुरीको छानबिन गरी पुस २२ गते १५ः०० देखि १६ः०० बजे सम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। पुस २३ गते बिहान १०ः०० बजेदेखि दिउँसो १५ः०० बजे सम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । पुस २४ गते बिहान १०ः०० बजेदेखि दिउँसो १६ः०० बजे सम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ । पुस २७ गते बिहान १०ः०० बजेदेखि १३ः०० बजे सम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। त्यस्तै दिउँसो १३ः०० बजेदेखि १४ः०० बजे सम्म अन्तिम उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । पुस २८ गते बिहान १०ः०० बजेदेखि दिउँसो १३ः०० बजे सम्म उम्मेदवारलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिनेछ । मतदान माघ ११ गते बिहान ९ः०० बजेदेखि दिउँसो १५ः०० बजे सम्म सम्बन्धित मतदान केन्द्रमा हुने छ । आयोगले निर्वाचनको सम्पूर्ण प्रक्रिया निष्पक्ष, पारदर्शी र समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनकाे सुरक्षाकाे लागि एक लाख ३० हजार म्यादी प्रहरी गरिने

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएको छ । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस निर्णय गरेको हो भने गृह मन्त्रालयका उच्च अधिकारीले जानकारी दिएका छन् । बैठकमा एकीकृत निर्वाचन सुरक्षा योजना पनि स्वीकृत भएको छ । गृह मन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकमा आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र सैनिक प्रतिनिधि सहभागी थिए । बैठकले निर्वाचनअघि, निर्वाचन अवधिभर र निर्वाचनपछि पनि सुरक्षा चुनौती कायम रहने निष्कर्ष गर्दै सतर्कता अपनाउने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले बताए । निर्वाचनमा सुरक्षा परिचालनका लागि तीनवटा घेरा बनाउने निर्णय गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना परिचालन हुनेछन् । सैनिक परिचालनको लागि राष्ट्रपतिसम्म सिफारिस पठाउने व्यवस्था रहनेछ । सुरक्षाकर्मीलाई तीनवटा घेरामा परिचालन गरिए पनि आवश्यक परेमा फ्रन्टलाइनमा खटिन विशेष आदेश आवश्यक नहुने बैठकमा सहभागी एक उच्च अधिकारीले बताए । केन्द्रीय सुरक्षा समितिले वर्तमान सुरक्षा अवस्था र निर्वाचनमा उत्पन्न हुनसक्ने चुनौतीहरूको विश्लेषण गरेको छ । निर्वाचनमा भाग नलिने समूह र ब्यारेक बाहिर रहेका हतियार प्रमुख चुनौतीको रूपमा चिनिएका छन् । यसअघि गृह मन्त्रालयका सहसचिव काफ्ले नेतृत्वको कार्यदलले एकीकृत सुरक्षा योजनाको मस्यौदा तयार पारेको थियो ।  कार्यदलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू समावेश थिए । निर्वाचन सुरक्षा व्यवस्थापन कार्यविधि-२०७८ अन्तर्गत तयार पारिएको मस्यौदा केन्द्रीय सुरक्षा समितिबाट पारित गरिएको हो । समितिले सुरक्षा संवेदनशीलता र आवश्यक जनशक्तिको आधारमा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेको छ । आगामी मंसिर ९ देखि लुम्बिनी प्रदेशबाट प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु हुने तयारी छ ।

अब मलाई महाधिवेशनपछि अध्यक्षका रुपमा सम्बोधन गर्न पाउनु हुने छैन : संयोजक प्रचण्ड

जेनजी आन्दोलनले नेपाली समाज र राजनीतिमा उथलपुथल ल्याएको छ। युवा पुस्ताले राजनीतिको अग्रभागमा आउने प्रयास गरिरहेको छ। पुराना दलमा पुनर्गठनको तीव्र दबाब छ, नयाँ-नयाँ दल जन्मिइरहेका छन्। जेनजी आन्दोलनका बेला भएका कतिपय घटनाक्रम अहिले पनि रहस्यमै छन्। कतिपय छानबिनको क्रममा छन्। यसैसन्दर्भमा हिमालय टिभीको ‘यक्ष प्रश्न’ टक शोका लागि प्रस्तोता निमेष बन्जाडेले नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको कुराकानी गरेका छन् । यो कुराकानीमा सरकारको गठन प्रक्रियामा भएका रोचक घटनाक्रम, नेपाली सेनाको भूमिका, भूराजनीतिक दबाब, पुरानो पुस्ताको बिदाईदेखि चुनावको तयारीसम्मका विषय कोट्याउने प्रयास गरिएको छ । भदौ २३ र २४ गते राजनीतिक उथलपुथल भयो, २३ गते तपाईं कहाँ हुनुहुन्थ्यो, के गरिरहनुभएको थियो? म २३ गते मध्य पहाडी लोकमार्ग अभियान चलिरहेको थियो। म लमजुङबाट गोरखा हुँदै अगाडि बढ्दै थिएँ। यहाँ २३ गतेको आन्दोलनमा दमन भइसकेपछि र केही युवाहरूको मृत्यु भइसकेपछि हामीले त्यो अभियान रोकेर २३ गते राति नै काठमाडौँ आएर हामीले आकस्मिक ढंगले त्यतिबेलाको हाम्रो पदाधिकारीको बैठक बसेर दमनको भर्त्सना गरियो। अनि केपी ओलीको सरकारले तुरुन्तै राजीनामा दिनुपर्छ पनि भनियो। र ती २३ गते मारिएका सबैलाई सहिद घोषणा गर्ने निर्णय पनि गरियो र दोषीलाई कारबाही गर्न अविलम्ब अगाडि जान अपिल पनि गरियो। यो निर्णय हामीले राति १० बजे गोरखाबाट आएर गरेका थियौँ। त्यसै दिन फेरि हामीले त्यतिबेलाको प्रतिपक्षहरूको पनि राय मिलाउनुपर्छ भनेर त्यतिबेला म प्रमुख प्रतिपक्षी दलको नेता हुनुको नाताले मैले राति नै सबैलाई खबर गरेर २४ गते बिहान साढे ८ बजे सिंहदरबारमा बोलाएको छु। २३ गतेकै कुरा गरौं । काठमाडौँमा यस्तो बबन्डर हुँदैछ भन्ने थाहा पाएर तपाईं काठमाडौँ बाहिर जानुभएको हो ? बिल्कुलै होइन। म सायद २१ गते गएको थिएँ । पोखरामा एउटा विशेष कार्यक्रम थियो व्यवसायीहरूको, उद्योग व्यापार महासंघको कार्यक्रम थियो। त्यसअघि कास्कीमा ल्याएर रोकिएको मध्यपहाडी अभियानलाई २२ गतेबाट फेरि निरन्तरता दिने हिसाबले लमजुङबाट त्यो सुरु गरिएको थियो। त्यसकारण २३ गते के हुन्छ भन्ने कुराको अनुमान हामीलाई सबै थिएन, यस्तै हुन्छ भन्ने अनुमान थिएन। तर युवाहरूमा असन्तुष्टि छ, देशभरि जनतामा आक्रोश छ, सरकारले राम्रो गरिरहेको छैन, सुशासन भएन, भ्रष्टाचार भयो भन्ने कुरा त हामीले तराईमा हुँदाखेरि पनि झापादेखि कन्चनपुरसम्म त्यो अभियान चलाएकै थियौँ। त्यसले असाध्य सकारात्मक तरङ्ग ल्याएको थियो, भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा, आर्थिक समृद्धिका पक्षमा। त्यसैमा हामी थियौँ। जब मैले युवाहरू, खासगरी जेनजी पुस्ताका युवाहरू केही मागहरू लिएर, सोसल मिडियामाथि लगाइएको प्रतिबन्धका विरुद्ध, भ्रष्टाचारका पनि विरुद्ध उनीहरूले माग राखेर आन्दोलन गर्दै छन् भन्ने थाहा पाएपछि सबभन्दा पहिला मैले नै वक्तव्य दिएर एउटा स्टाटस लेखेर यो आन्दोलनका माग सही छन् युवाहरूका, त्यहाँ बल प्रयोग नगरियोस् भनेर सरकारलाई खबरदारी पहिलो चोटी मैले गरेँ। उनीहरूले त्यो ‘डिस्कर्ड’मा छलफल गरिरहेका छन् भन्ने पनि थाहा थियो तपाईंलाई ? थाहा थियो। अलिअलि। अपडेट हुनुहुन्थ्यो? थाहा थियो मलाई। त्यसको बारेमा थाहा थियो। ‘नेपोटिजम’, ‘नेपो बेबी’, ‘नेपो किड्स’ आइराखेको छ । त्यो म हेरिरहेको थिएँ, साथीहरूले मलाई रिपोर्ट गरिरहनुभएको थियो। तपाईंले संसदको रोस्टममा उभिएर “यस्तै निराशा जनतामा बढ्ने हो भने, कांग्रेस एमालेले यसै गरेर तपाईंहरू मात्रै मिलेर सबै लाद्न खोज्ने हो भने पार लाग्ने वाला छैन, मुलुक जनता एकदमै रिसाएका छन्। यो विस्फोट हुने स्थिति छ। बंगलादेश र श्रीलंकाको स्थिति नेपालमा पनि हुन सक्छ” भनेको एक वर्ष नपुग्दै त्यस्तै भयो नि यहाँ ? त्यो त मेरो परिस्थितिको विश्लेषण, राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भ कसरी गइराखेको छ, ट्रेनहरू, प्रवृत्तिहरू कता गएको छ भन्ने कुरा थियो । त्यसले गर्दा यसको डिजाइनर प्रचण्ड पनि हो भने नि ? बिल्कुल होइन। यसको डिजाइनर प्रचण्ड भन्ने कुरा अर्थ लाग्दैन। तर प्रचण्डले समयमा नै सरकारलाई सतर्क गराएको थियो। जनतामा आक्रोश धेरै बढिसक्या छ, युवाहरूमा आक्रोश बढिरहेको छ। बंगलादेश, श्रीलंका लगायत विभिन्न देशमा यस खालका घटनाक्रम भइराख्या छन्। त्यसकारण दुई तिहाइको घमण्ड गरेर सरकार बस्यो भने कुनै पनि बेला नेपालमा विस्फोट हुन सक्छ भन्ने कुरा मैले एक वर्ष अगाडि भनेको थिएँ। जतिबेला यो आन्दोलन २३ गते यस्तो होला भन्ने कुराको कल्पना गर्ने ठाउँ नै थिएन। मैले त देशको समग्र परिस्थितिको हिसाब गरेर, जनताको मनोविज्ञान र मनोभावनालाई बुझेर र सरकारले गरिरहेको गलत क्रियाकलाप, कुशासनतिर जो सरकार प्रवृत्त भयो र दुई तिहाइको घमण्ड गर्‍यो। मैले त्यतिबेला भनेको थिएँ, “बंगलादेशमा त दुई तिहाइभन्दा बढी थियो शेख हसिनासँग, दुई तिहाइले काम गर्दैन। यो संख्याले गर्ने कुरा होइन। यो सुशासनतिर गएन भने कुनै पनि बेला जनता आउन सक्छन् ।” मैले यसो भन्नुको मेरो तात्पर्य, मैले कुनै डिजाइन गरेको भन्ने होइन, मैले त सरकारलाई खबरदारी, यसो नगर भनेको हो । राजनीतिमा दूरदर्शिताको निकै ठूलो अर्थ र महत्व हुन्छ। अहिले म फर्केर हेर्छु, मैले कति सही बोल्या रहेछु भन्ने मलाई आफैँलाई गर्व भएको छ। मैले एक वर्ष अगाडि परिस्थितिको विश्लेषण गरेर सरकारलाई जानेर खबरदारी गरेको थिएँ र चुनौती दिएको थिएँ, “तिमीहरूले गलत गर्‍यौ भने राम्रो हुँदैन” भनेर। अहिले त्यो फर्केर ती सबै रेकर्डहरू हेर्दा बिल्कुल परिस्थितिको वस्तुवादी विश्लेषण र दूरदर्शिता प्रदर्शन भएको रहेछ भनेर मलाई साँच्चै गर्वको महसुस भएको छ। अहिले त सबैले त्यो कुरा मानि पनि सके। तपाईं डिजाइनर नभए पनि त्यो आन्दोलनमा कति माओवादी कार्यकर्ताहरू परिचालित हुनुहुन्थ्यो ? मलाई कस्तो लाग्छ भने, हामीले एक वर्षसम्म जसरी सरकारको भण्डाफोर गरिनै रह्यौँ, सरकारले गरेका गलत क्रियाकलापको आलोचना हामीले गरिनै रह्यौँ, र हामीले जनतालाई र युवाहरूलाई पनि अपिल गरिनै रह्यौँ, ‘यसको विरोध गर्नुपर्ने हुन्छ, गलत भइरहेको छ’ भन्ने कुरा हामीले भनिनै रह्यौँ। हामीले त्यो भनेको हुनाले र तपाईंले पहिलो प्रश्नमा जसरी सोध्नुभयो नि, २३ गते कहाँ हुनुहुन्थ्यो भनेर? त्यतिबेला गोरखामा पनि मैले यही भाषण गर्दै थिएँ, “सरकार गलत गरिरहेको छ, चाहिँ यसको विरोध गर्नुपर्छ” भनेको हुनाले युवाहरू वा हाम्रा पनि तलका कार्यकर्ताहरू “सरकार विरोधी आन्दोलन शान्तिपूर्ण रूपले हुन्छ” भनेपछि स्वतः जाने वातावरण बन्यो। यो कुरा म स्वीकार गर्न चाहन्छु। जाने वातावरण हामीले एक वर्षदेखि हामीले प्रशिक्षित गरिरहेका थियौँ नि त मानिसहरूलाई, युवाहरूलाई, ‘केही बेठिक भइरहेको छ देशमा । ठिक गर्नको लागि सडकमा आउनुपर्छ मानिसहरू भन्ने कुरा भनिराखेको हुनाले माओवादी मात्रै होइन, अन्य युवाहरू पनि मेरो अभियानबाट अथवा हाम्रो त्यतिबेलाको पार्टीको अभियानबाट उत्प्रेरित भएनन् भनेर म भन्न सक्दिनँ, प्रेरित भए। तर केही कार्यकर्ताहरू त तोडफोडमा लागे नि ? अलिकति भन्न दिनुस् है। तर साँचो कुरा फेरि अर्को के हो भने, हामीले पार्टीबाट निर्णय गरेर २३ गतेको आन्दोलनमा सहभागी हुनु भनेर कुनै निर्देशन, कुनै अपिल, कुनै जारी गरेका थिएनौँ। हामीले यति भनेका थियौँ: “२३ गते जेनजी युवाहरूले उठाएका माग सही छन्। सरकारले बल प्रयोग नगरोस् । बरु माग पूरा गर्नतिर लागोस्” भनेर हामीले भनेको हुनाले २३ गतेको दिन हुनसक्छ, ठूलो संख्यामा माओवादी कार्यकर्ताहरू पनि तलका गए होलान्। गएको छन् भन्ने पछि मैले थाहा पनि पाएँ। हुँदाहुँदा त हाम्रो पार्टीका कयौँ लिडरका छोराछोरी, नातिनातिना पनि गएका रहेछन् भन्ने पनि थाहा भयो। तर त्यतिबेला हामीले समर्थन गरेको, त्यो आन्दोलनलाई, मैले नै स्ट्याटस लेखेर समर्थन गरेको कारणले पनि त्यतिबेलाको माओवादी केन्द्र नजिकका युवाहरू पक्कै उत्प्रेरित भए। “हाम्रो आफ्नै अध्यक्षले पनि समर्थन गर्‍यो” भनेपछि त जाने भए। तर कुरा के छ त यहाँ भने, त्यतिबेला त जेनजी पुस्ताका युवा प्रतिनिधिहरूले सिडिओ कार्यालयमा गएर “शान्तिपूर्ण हुन्छ हाम्रो आन्दोलन” भनेर स्वीकृति लिएको जुलुसको लागि, र शान्तिपूर्ण हुन्छ भन्ने विश्वासले नै गए ती मानिसहरू। २४ गतेको कुरामा भने त्यस्तो होइन जस्तो २३ गते थियो। २३ र २४ एउटै होइन, धेरै फरक छ २३ र २४ मा। २४ गते केही मानिसहरू धेरै तोडफोड नहोस् भनेर गएको भनेर रेकर्डहरू आइराख छ अहिले। तर माओवादीको कार्यकर्ताहरू आम रूपमा चाहिँ २४ गते छैनन्। तर केही तस्बिरहरू सार्वजनिक भएन? तोडफोड, आगजनीमा संलग्न भएको। त्यसमा के भन्नुहुन्छ ? हामीले पहिले नै एउटा वक्तव्य दिएर स्थिति हामीले स्पष्ट गरेका छौँ। जो साथीहरू देखियो नि भिडियोमा या टिभीमा या जसको फोटो देखिएको छ, उनीहरू जसले स्पष्टीकरण दिएका छन् कि “हामी त रोक्न गएको हो” भनेर प्रुफ हुन्छ भने त तिनलाई एक ढंगले हेर्ने। होइन, तोडफोडमा संलग्न, यो विध्वंसको कार्यमा संलग्न जो कोहीलाई पनि हामी कारबाही गर्छौँ भनिएको छ र हामीले अहिले कारबाहीको प्रक्रिया अगाडि बढाएका छौं । जसको प्रमाणित भएको छ तोडफोडमै लागेको देखिएकालाई कारबाही प्रक्रिया अगाडि बढिसक्या छ। म बडो स्पष्ट शब्दमा भन्न चाहन्छु। पार्टी भित्रबाट या राज्यले कारबाही गर्छ भने पनि पार्टीको अब्जेक्सन छैन ? राज्यले कारबाही गर्छ भने पनि हाम्रो सहयोग हुन्छ। मैले त्यो पनि बोलिसकेको छु । त्यस्तो सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन जलाउने या राष्ट्रपति भवन जलाउने काममा यदि कुनै कार्यकर्ता संलग्न छ भने राज्यले पनि दृढताको साथ कारबाहीको प्रक्रिया अगाडि बढाओस्, हाम्रो साथ हुन्छ। पार्टीबाट त हामीले निकाल्न सुरु गरिनै सकेका छौँ त्यस्ता केही देखिएका मान्छेहरूको पत्ता लगाएर र अरू पनि प्रमाण आउँदै गयो भने हामी पार्टीबाट निकाल्छौँ र राज्यलाई कारबाहीको लागि हामी राज्यलाई सहयोग पनि गर्छौँ। २४ गतेको विध्वंसमा संलग्न भएकाहरूलाई कारबाही गर्नको लागि छानबिन आयोगकै प्रतिवेदन कुरिरहनु परेन। राज्यले आफ्नो एक्सन लिन्छ भने लियोस्, माओवादी सहयोग गर्न तयार छ ? माओवादी सहयोग गर्न तयार छ। २३ गते रातितिर यो सरकार ढल्ने स्थिति आयो, साँच्चै अब जनताको विरोधको सामना गर्न केपी ओली नेतृत्वको सरकारले सक्दैन। त्यसकारणले कांग्रेससँग मिलेर फेरि अर्को नयाँ सरकार बनाउनुपर्छ भन्ने छलफलमा तपाईं हुनुहुन्थ्यो तर त्यो गठबन्धन मात्र सक्ने स्थिति आएन अर्को दिन त संसद नै सकिने स्थिति आयो भन्छन् नि ? यो कुरा सत्य होइन। २३ गते बेलुका या २४ गते पनि मेरो नेपाली कांग्रेससँग या नेकपा एमाले कसैसँग पनि केही पनि कुरा भएको । कोही नेतासँग कुरा भ’छैन? कसैसँग कुरा भएको छैन । महामन्त्री तहको नेताहरूसँग पनि कुरा भएको छैन ? भएको छैन। २३ र २४ मा कुरा केही पनि भएको छैन। अब त्यहाँ जब स्थिति अलि बिकराल जस्तो देखा पर्‍यो २४ गते बेलुकासम्म पुग्दासम्म, बरु मेरो त्यसपछि भने २४ गते बेलुका भइसकेपछि र २५ गते बिहानबाट मैले संवाद सुरु गरेको छु। राजनीतिक दलहरूसँग पनि, राष्ट्रपतिजीसँग पनि, प्रधान सेनापतिसँग पनि र कूटनीतिक नियोगका पनि सम्भव हुने जतिसँग स्थितिलाई सहजीकरण गर्नको लागि मैले २५ गते बिहानबाट सम्पर्क सुरु गरेको छु। २३ र २४ मा छैन। २४ गते तपाईंले सम्पादकहरूसँगको छलफलमा भन्नुभयो नि, “पाएको भए त हामीलाई पनि किचिमिचि पारिदिन सक्थे। अब सेनाले पनि जोगायो, त्यो पनि ठिकै हो। तर कताकता भूराजनीतिक चलखेल र भूराजनीतिले पनि नेताहरूलाई जोगाउने काम गर्‍यो कि” भनेर भन्नुभएको थियो। त्यसको केही संकेत पाउनुभएको थियो? यो भू-राजनीति यहाँ कति मिसियो ? यो अलि धेरै संवेदनशील र महत्त्वपूर्ण प्रश्न हो। यसमा अहिलेको भूराजनीति मात्रै होइन, विगतदेखि नै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता या नेपाली जनताको आत्मसम्मान अगाडि बढाउने क्रममा धेरै वीर विरङ्गनाहरूले बलिदान पनि गरेका छन्, ठुलठुला संघर्ष भएका छन्। एउटा त हाम्रो राष्ट्रिय भावना, नेपाली जनताको देशभक्तिपूर्ण भावना र ठुलठुला शक्तिहरूसँग युद्धमा प्रदर्शन गरेको वीरता र शौर्य, बलिदानका ठुलठुला कीर्तिमानहरूले काम गरेको छ भने अर्कोतिर कहिँ न कहिँ अन्तर्राष्ट्रिय भूराजनीतिक स्थितिले पनि हामीलाई मद्दत गरेको छ। हामीलाई चुनौती पनि त्यही छ र हाम्रो सम्भावना पनि त्यसैभित्र छ। पश्चिमा शक्ति भनिन्छ हैन, भारत पनि अहिले एउटा संसारकै एउटा शक्ति केन्द्रको रूपमा उदाइराखेको छ, चीन त अब प्रथम शक्ति हुनेतिर नै अगाडि बढेको छ। यो पश्चिमको शक्ति, दक्षिण, उत्तर, यी शक्तिहरूको आपसमा कहिले कन्टेन्सन अथवा झडप जस्तो स्थिति, अलि तनावको स्थितिमा जान्छन्, कहिले फेरिअलिकति सहजीकरणको स्थितिमा जान्छन्, त्यसैसँग नेपालको राजनीति पनि, नेपालको घटनाक्रमहरू पनि कहिँ कतै न कहिँ प्रभावित हुने नै गरेको छ, विगतदेखि नै। अहिले पनि मैले कहिलेकाहीँ साथीहरूको बिचमा, बुद्धिजीवीहरूसँग कुरा गर्दा पनि भनेको छु: “हामी बाँचियो कसरी? २४ गते नेताहरू बाँचे कसरी? कल्ले बचायो? किन बचायो?” म त सिंहदरबारमा थिएँ, २४ गते बिहान। प्रतिपक्ष दलहरूको बैठक चलिरहेको थियो। त्यो अलिकति लम्बियो। लम्बिनै जाँदा अरू साथीहरू अब सकिएपछि हिँड्नुभयो। मलाई सेक्युरिटीले बाहिर जानुभन्दा त यही सुरक्षित हुन्छ, सिंहदरबारमै भन्ने सुझाव दिए। म त फेरि खाना खान खुमलटारै जाने हिसाबले गएको थिएँ त्यो प्रतिपक्षको बैठकमा । खाना बनाइराख्नु खान आइपुग्छु भनेर खुमलटारमै फर्किने उद्देश्यले गएको थिएँ। तर सेक्युरिटी, चारैतिर जुलुस जस्तो देखिसक्यो, सिंहदरबारको दक्षिण गेटको पुलिस बिट जलाइसक्यो। त्यसकारण “अध्यक्षजी, यसरी अहिले यहाँ बाहिर जानुभन्दा त यही बस्नु सुरक्षित छ है अहिले भने । कति जति बजेको थियो? त्यही बिहान ११ बजेतिर। त्यसपछि सिंहदरबार भित्रकै सेक्युरिटीले आएर “यहाँ पनि सुरक्षित छैन” भने। मलाई विचित्र लाग्छ, “यहाँ पनि सुरक्षित छैन” भने त “जाऊँ बाहिर अब जे जे हुन्छ” भनेको थिएँ मैले। “जाऊँ बाहिर अब यसो अलिकति कतापट्टि अलि सहज छ, त्यहाँ सहजतिरबाट बाहिर निक्लिने” भन्दाखेरि सेक्युरिटीले नै भने, “अहिले त्यो बाहिर निक्लिने जस्तो पनि स्थिति बनेको छैन। दिउँसो बनेपछि निक्लौला। अहिले सुरक्षित हुने ठाउँ त सेनाकोमा हुन्छ” भनेर सुझाव दिए त्यहाँ प्रहरीले मलाई। त्यतिकै त जाने कुरा भएन। मैले मेरी छोरी गंगालाई मैले सम्पर्क गर्न लगाए सेनापतिसँग “हामी तपाईं कहाँ आउनुपर्ने भयो” भनेर। मलाई कसैले लगेको पनि होइन। अरूको भन्दा मेरो अलि फरक छ त्यो दिन। जस्तो प्रधानमन्त्रीजीलाई हेलिकप्टरमा कुदाएर दौडादौड गरेर स्थिति । अरू मन्त्रीहरूलाई पनि त्यसरी नै । अरू कतिपय पूर्व प्रधानमन्त्रीहरूलाई पनि सेक्युरिटीले समातेरै तानेर लगेर गाडीमा हालेर अन्त सुरक्षित राख्न लगेको स्थिति हो भने मेरो त्यो सबै भन्दा बिल्कुल फरक। त्यसपछि सेक्युरिटीले मलाई अहिले बाहिर जान उचित छैन भनेपछि त्यही बस्न खोजेको थिएँ । गंगाले सेनापतिसँग कुरा गरेपछि “भइहाल्छ नि” भनेर अनि हामी त्यही सिंहदरबार भित्र गइयो। आफैं जानुभयो? आफैँ गइयो। कस्तो रेस्पोन्स भयो त्यहाँ? राम्रो। म यो कुरा पनि इमानदारिता साथ म भन्न चाहन्छु। त्यहाँ गएपछि मलाई राम्रै सम्मानसहित लगियो र म जहाँ बस्ने भनिएको थियो, त्यो पनि राम्रो थियो र म बडो सहज ढंगले त्यहाँ बसेँ। माधव नेपालजी पनि सँगै हुनुहुन्थ्यो? माधव नेपालजी सँगै त हुनुहुन्थ्यो बैठकमा, तर आउने बेलामा माधवजीको स्थिति फेरि मेरो भन्दा अलि फरक भएछ। मैले सहज ढंगले गंगाले प्रधानसेनापतिसँग कुरा गरेर सहमतिका साथ गएँ म । माधवजी हतार भएर दौडेर जानुभएछ, आफैँ जानुभएछ । त्यो अलि अर्को भवनमा। र उहाँ त्यही एउटै भवन रहेनछ। अलि अर्को भवनमा उहाँ बस्नुभएको रहेछ । भोलिपल्ट थाहा भयो मलाई। कति दिन बस्नुभयो सिंहदरबारमा? सिंहदरबारमा हामी २४, २५ र २६ गते राति, तीन रात बसियो। तपाईंहरूको पनि मोबाइल उहाँहरूले राखिदिनुभयो? त्यस्तो भएन। मैले मजाले मोबाइलबाट सबैतिर सम्पर्क गरिनै राखेँ। मलाई त्यस्तो केही समस्या भएन । कोसँग कुरा गर्नुभयो त्यो बिचमा टप लिडरहरू…? सबैसँग नै कुरा गरेँ मैले। शेरबहादुरजी त त्यस्तो अवस्थामा हुनुहुन्थ्यो… शेरबहादुरजीसँग कुरा गर्न सम्भव हुने स्थिति थिएन। तर पनि कांग्रेसका केही नेताहरूसँग मेरो कुरा भइनै राख्यो । केपी ओलीजीसँग ? त्यो दिन केपी ओलीजीसँग भएन मेरो। अनि २६ गते राति पहिला प्रधान सेनापतिले मलाई फोन गर्नुभयो। पहिला उताबाट फोन आ’को? उताबाट फोन आ’को। २६ गते राति। म खाना खान बसेको थिएँ। खाना खाने तयारी हुँदै थियो। ९ बजेतिर हो बेलुका। सेनापतिजीको फोन आयो। त्यसपछि उहाँले फोन राष्ट्रपतिलाई दिनुभयो। अनि राष्ट्रपतिजीले भन्नुभयो कि “यहाँ आउन पर्‍यो, तपाईं यहाँ आउन पर्‍यो र अलि सल्लाह गर्न पर्‍यो” भनेर भन्नुभयो ।देशको परिस्थिति यति जटिल छ, खाना त बरु एक दुई दिन नखाए नि केही हुन्न भनेर मैले पस्केको खाना पनि म आएर खान्छु अहिले राख भनेर अनि म गएँ। कसरी जानुभयो? सेनाले जस्तो व्यवस्था गरेको थियो, त्यसरी नै गएँ म, सेनाकै सुरक्षामा गएँ। उहाँहरू कहाँ हुनुहुन्थ्यो? को ? राष्ट्रपति, प्रधान सेनापति? शीतल निवास। शीतल निवासमै हो, राष्ट्रपति भवनमै हो, राष्ट्रपतिको निवासमै हो। राष्ट्रपति शीतल निवासबाट एक दुई दिन बाहिर बस्ने स्थिति आयो कि आएन ? आयो भन्ने छ। मैले यो कुरा यसरी राष्ट्रपतिजीलाई सोधेको छैन। तर मैले जतिबेला भेटेँ, उहाँ शीतल निवासमा, आफ्नै निवासमा हुनुहुन्थ्यो। त्यहीँबाट उहाँले फोन गर्नुभएको थियो। म पनि फेरि सेनाको सुरक्षासहित त्यहीँ गएको थिएँ। पछि हामी, राष्ट्रपतिजी, म, सेनापतिजी र वर्षमान पुन पनि हुनुहुन्थ्यो। पहिला राष्ट्रपतिजी, सेनापतिजी र हाम्रो बीचमा एकछिन अलि अनौपचारिक ढंगले परिस्थितिको थोरै समीक्षा भयो। २६ गते राति? २६ गते राति। १०-साढे १० तिर होला। त्यसपछि एकछिन पछि माधव नेपाल आइपुग्नु भयो। तपाईंलाई थाहा थियो आउँदै हुनुहुन्छ भने? मलाई थाहा थियो। ‘माधवलाई नै बोलाएको छु’ भन्नुभएको थियो राष्ट्रपतिजीले। त्यसकारण मलाई थाहा थियो। तर म गएको २०-२५ मिनेट पछि उहाँ आइपुग्नुभयो। त्यतिबेलासम्म हामीहरू कुरा गरिरहेका थियौँ। त्यसपछि नेपाली कांग्रेसको नेताहरूलाई पनि बोलाउनुभएको थियो नै, त्यो कुरा त थाहा थियो मलाई पहिले पनि। तर कांग्रेसको नेताहरू आउनुभएन। त्यसपछि मैले नै नेपाली कांग्रेसको नेताहरू, खासगरी अहिले कार्यवाहक हुनुहुन्छ पूर्णबहादुरजीलाई मैले फोन गरेँ र “आउनुस् न, हामी त आइपुगेका छौँ” पनि भनेँ। उहाँहरूले सभापतिजीसँग एकचोटी सल्लाह गर्ने भन्नुभयो। सल्लाह गर्दागर्दै ढिलो भयो र अन्तिममा रमेश लेखकसमेतका अरू साथीहरू , ती तीन जना नेपाली कांग्रेसका नेताहरू पनि त्यहाँ आइपुग्नु भयो। अर्को कोठामा अहिले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीजी र अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालजी हुनुहुन्छ भन्ने हामीले थाहा पाइराखेका थियौँ। राष्ट्रपतिजी र प्रधान सेनापतिले उता गएर कुरा गर्ने, त्यहाँ कस्तो-कस्तो हुन्छ त्यो यता रिले गर्ने, यता हामीले दिएको सुझावहरू फेरि उता रिले गर्ने गरेर रातभरि जस्तै चलिरहेको थियो। त्यो छलफलको मेन एजेन्डा के थियो? मेन एजेन्डा अन्तरिम सरकार बनाउने कुरा नै थियो। स्थिति असहज छ, त यसलाई सहज गर्नको निम्ति जेनजी युवाहरूले ‘डिस्कर्ड’मा जो भोटिङ इत्यादि गरेर सुशीला कार्कीलाई अगाडि सारिरहेका थिए।त्यसमा के गर्ने भन्ने विषय एउटा थियो। अनि यसो गर्नको लागि केही वैधानिकता पनि पूरा गर्नुपर्थ्यो। संविधानको मर्म र भावनालाई नै हेर्नुपर्थ्यो। हामी राजनीतिक दलहरू र त्यतिबेलासम्म संसद त विघटन भइसकेको थिएन। म प्रमुख प्रतिपक्ष दलको नेतै थिएँ। केपी ओली राजीनामा दिए पनि कामचलाउ प्रधानमन्त्रीको रूपमैहुनुहुन्थ्यो। त्यो स्थितिमा नेपाली कांग्रेसको पनि नेताहरू आखिर सरकारमा त हुनुहुन्थ्यो। त्यतिबेलाको परिस्थिति संवैधानिक र कानुनी रूपले एउटा विशिष्ट परिस्थिति थियो र अन्तिममा सुशीला कार्कीजीको नेतृत्वमा अन्तरिम सरकार बनाउने कुरामा सहमति भयो। सुशीला कार्कीबाहेक अरू नामको पनि कुरा भएको थियो त्यहाँ प्रधानमन्त्री बनाउने विषयमा? उहाँ मात्रै हो? भएन । उहाँ मात्रैको कुरा भयो। किनकि आन्दोलन त युवाहरूले, जेनजीवालाहरूले गरेका थिए। त्यसकारण जेनजीको भनाइलाई महत्त्व दिनु अनिवार्य थियो। जरुरी थियो। नत्र वातावरण… । आन्दोलनको माग त्यहाँ केन्द्रित थियो, त्यहाँ उहाँहरूले अगाडि सारेको र हामीलाई पनि आपत्ति नभएको। किन सुशीला कार्कीजी हुँदा हामीलाई फेरि आपत्ति हुने कुरो थिएन। तर यो वैधानिकता र संवैधानिकता मिलाउने कसरी भन्ने जटिलता अलि बढी छलफल हाम्रो त्यहाँ थियो। कानुनविद्हरूसँग लामै छलफल भयो ! कानुनविद्हरू पनि त्यहाँ हुनुहुन्थ्यो, लामो के गर्ने इत्यादि-इत्यादि। त्यो धारामा टेक्ने स्थिति कसरी बन्यो ? संविधान, राष्ट्रपतिको जिम्मेवारी भनौँ न, एउटा संरक्षकको रूपमा, अभिभावकको रूपमा राष्ट्रपतिले खेल्ने भूमिकाबारे संविधानको धारा ६१ मा छ । त्यसलाई प्रयोग गर्ने भन्नेमा हामी सर्वसम्मत भयौँ। भनिन्छ नि आवश्यकताको सिद्धान्त, त्यसमा टेकेर राष्ट्रपति संरक्षक हुनुको नाताले उहाँले गर्न सक्नुहुन्छ भन्नेमा पुगियो। अर्को कुरो त्यसमा अलिकति वैधानिकता बचाउन कहाँ खोजियो भने, अन्तरिम सरकार बनाउने, सुशीला कार्कीजीलाई प्रधानमन्त्री बनाउने कुरा केपी ओलीको सिफारिस अनिवार्य हुन्छ। कमसेकम संविधानको मर्मअनुसार त प्रधानमन्त्रीले सिफारिस गर्ने, राष्ट्रपतिले नियुक्ति गर्ने भन्नेमा गइयो हामी । र सिफारिस राष्ट्रपतिजीले पहिले नै भनिसक्नु भएको रहेछ । सिफारिस पनि हामी त्यहाँ बस्दाबस्दै आइ पनि हाल्यो। राष्ट्रपति नै भेट्न जानुभएको थियो केपी ओलीलाई? राष्ट्रपति नै भेट्न जानुभयो र त्यहाँबाट सहमति लिएर आउनुभयो, अनि कागज पछि आएको छ । राष्ट्रपतिजी केपी ओलीजीलाई भेट्न कहाँ जानुभएको रहेछ ? त्यो कुरा मैले सोधिनँ है। तपाईंलाई थाहा छैन? थाहा त छ अहिले त। पछि मेरो केपीजीसँग नै कुरा भएपछि थाहा पाएको हो मैले। उहाँ मकवानपुरको सुपारी टारमा हुनुहुन्थ्यो, ब्यारेकमा । जे होस्, सिफारिस आयो र त्यसमा अब राष्ट्रपतिजीले केपीजीसँग अथवा कुरा गर्दा नामको पनि सहमति भएको रहेछ । हो, यही सोध्दै थिएँ मैले। सुशीला कार्कीमा ओलीजीको पनि समर्थन हो? हो। होइन भन्नुहुन्छ त ? त्यही त। केपीजी अलि यस्तै बठ्याइँ गर्नुहुन्छ र बिग्रिन्छ के ! देशले पनि दुःख पायो, उहाँले नि दुःख पाउनुहुन्छ। भएको के भने, राष्ट्रपतिजीले हामीलाई भनेको- उहाँले केपीजीसँग भेटेर सहमति लिइसक्नु भएको छ सुशीला कार्कीको बारेमा। नामै, सुशीला कार्कीकै बारेमा उहाँले ल हुन्छ भनेर उहाँले भन्नु भएको भनेर हामीलाई ब्रिफिङ गर्नुभयो। राष्ट्रपतिजीले ब्रिफिङ गर्नुभयो? राष्ट्रपतिजीले। त्यो गरेको एकछिन पछि सिफारिस पत्र पनि आइपुग्यो। सिफारिसमा नाम लेख्नुभएको छैन उहाँले। तर राष्ट्रपतिजीले यो त औपचारिकताको लागि यसरी लेखेको हो, उहाँले मलाई सहमति दिसक्नु भएको छ सुशीला कार्की भनेर भनेपछि गो अहेड भएको त्यसरी हो। तर ओलीजीले त अहिले पनि यो सरकार मानेनौँ, संविधान बाहिरबाट बनेको सरकार हो, यसको अर्थ छैन, औचित्य छैन, संसद पुन:स्थापना हुनुपर्छ, सर्वपक्षीय सरकार गठन गरौं भन्नुभएको छ ? त्यसो भन्ने राजनीतिक पनि र नैतिक पनि हैसियत केपीजीसँग छैन अहिले । त्यो जबर्जस्ती भन्ने त जसले जे भने नि भयो। उहाँकै सिफारिसमा राष्ट्रपतिजीले भेटेर सुशीलाको नाममा सहमति लिएर आएपछि बनेको सरकार। उहाँले ब्ल्याङ्क चेक किन दिनुभयो त ? यदि उहाँले भनेको छैन भन्नुहुन्छ भने त्यो ब्ल्याङ्क चेक दिनुहुन्छ त राष्ट्रपतिलाई ? जसलाई बनाए नि हुन्छ भनेर दिने भनेको पनि त राष्ट्रपतिलाई त्यो त सिफारिस भयो। राष्ट्रपतिजीले त विवेक प्रयोग गर्ने ठाउँ त भयो नि। त्यसो भएपछि मैले भनेको होइन, मैले बनाएको होइन यो हा-हुमा भएको सरकार भन्न केपी ओलीले मिल्दै मिल्दैन। अरूले भन्न सक्छन्। (हिमालय टिभी र अनलाइन खबरबाट साभार)  

विशेष अपानि जारी गर्नेसहित यी हुन् नेपाली कम्युनिष्ट पार्टीको बैठकका निर्णय

काठमाडौँ  – नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताबारे विशेष अन्तरपार्टी निर्देशन अपिल जारी गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको अनौपचारिक बैठकले यो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिएका छन्। बैठकमा पूर्व पदाधिकारीहरू तथा प्रदेशका उपलब्ध नेताहरूको सहभागिता रहेको थियो। खनालले भने, "विशेष अपिल जारी गरेर पार्टीलाई एकढिक्का बनाउने कुराकानी भएको छ। विभिन्न प्रदेश, जिल्ला तथा स्थानीय तहमा एकताको सन्देश सभा आयोजना गर्ने योजना छ।" उनले देशव्यापी एकताको सन्देश प्रवाह गर्न थप अपिल प्रकाशित गर्ने निर्णय भएको पनि बताए। सन्देश सभाहरूको स्थान, समय र ढाँचाबारे थप छलफल गरी तयारी गर्ने भन्दै खनालले पार्टीले नेपाली विशेषताको समाजवादको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। प्रदेश स्तरीय एकता सन्देश सभा  १. सुदूरपश्चिम प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर ९ गते  २. कर्णाली प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर १० गते  ३.लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर ११ गते  ४. गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर १२ गते  ५. मधेस प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर १३ गते  ६. कोशी प्रदेश स्तरीय एकता  सन्देश सभा – मंसिर १४ गते  ७ बागमती प्रदेश स्तरीय एकता  सन्देश सभा – पछि मिति तय गरे अनुसार जिल्ला स्तरीय एकता तथा सन्देश सभा  १. बागमती प्रदेशको सबै जिल्लाको एकैदिन  – मंसिर १३ गते  २. सुदूरपश्चिम प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १५ गते  ३. कर्णाली प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १६ गते  ४. लुम्बिनी प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १७ गते  ५. गण्डकी प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १८ गते  ६. मधेस प्रदेशको सबै जिल्लाको एकैदिन– मंसिर १९ गते  ७. कोशी प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर २० गते पालिका स्तरीय एकता सन्देश सभा  १. देशैभरीको पालिकामा एकैदिन – मंसिर २७ गते "नेपाली विशेषताको समाजवाद स्थापना गर्ने हाम्रो एकमात्र अर्जुनदृष्टि हुनेछ," खनालले भने, "अशोक राई र उपेन्द्र यादवका पार्टीहरूसँग कुराकानी भइरहेको छ। केही दिनमै उहाँहरूको पार्टीसँग एकता हुनेछ।" खनालले नेता घनश्याम भुसालसँग पनि निरन्तर छलफल भइरहेको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियालाई तीव्रता दिने बताए। यो विकासले नेकपाको पुनर्संयोजन प्रक्रियालाई थप गति दिने अपेक्षा गरिएको छ। पार्टी स्रोतका अनुसार, विशेष अपिल चाँडै सार्वजनिक गरिनेछ।