ठगी प्रकरणमा बैंकर पक्राउ गरेकोमा निजी क्षेत्रको विरोध

काठमाडौं, १८ फागुन । देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई धितो मूल्यांकनको दोब्बर ऋण दिने बैंकरहरु पक्राउ परेको घटनामा निजी क्षेत्रका तीन प्रतिनिधिमूलक संस्थाहरुले विरोध जनाएका छन् ।

जनता र बैंकको करिब ७ अर्ब अपचलन गर्ने चौलागाईंलाई मिलेमतो गरी कमसल धितोमा ऋण प्रवाह गरेको आरोपमा प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने, सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतमलगायत १० जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा निजी क्षेत्र उत्रिएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरुलाई पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेकै आधारमा पक्राउ गरेको दाबी गरेका छन् ।

विद्यमान कानुनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका बैंकरलाई निजहरुले असल नियतबाट गरेको कामलाई बेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने भन्ने मनसायबाट अभिप्रेरित भई दुःख दिन खोजिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

घटनामा प्रत्यक्ष संलग्न नभएकालाई पक्राउ गर्दा बैंकरहरुको कार्यदक्षतामा आँच आउने, निर्णय गर्न नसक्ने एवम् मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्न सक्ने उनीहरुले बताएका छन् । अनुसन्धान गर्दा दोषी देखिए कारबाही गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ ।

‘बैंकिङ क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा भइरहेको पछिल्ला गतिविधिले सकारात्मक परिणाम दिने भन्दा नकारात्मक असर बढी पार्नसक्नेतर्फ सचेत हुन सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

बैक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन एवम् नेपाल राष्ट्र बैंकले समय समयमा जारी गरी आएका नियामकीय निर्देशनभित्र रहेर बैंकिङ कारोबार गर्दै आइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि लगानी सम्बन्धी निर्णय गर्दा सबै कर्मचारी तथा सञ्चालक समितिले तोकिएको सिद्धान्त, विधि एवम् नियमकै पालना गरी असल नियतबाट कार्य गर्ने गरेको बुझाइ रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘व्यवसाय बिग्रिएको अवस्थामा कर्जाको जोखिम बढ्ने सामान्य कुरा हुने र त्यस्तो अवस्थालाई दृष्टिगत गरी बैंक वित्तीय संस्थाहरुले नियामकीय निर्देशानुसार नै जोखिम व्यवस्थापन वापत रकम छुट्याउँदै आएका छन् । सो संसारभरिकै सर्वमान्य बैंकिङ सिद्धान्त तथा कार्यविधि रही आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको नियमनमा रहेको र बैंक वित्तीय संस्थाले प्रवाह गरेका कर्जाको मूल्यांकन सोही अनुसार नै हुनुपर्ने ती संस्थाहरूको माग छ ।

‘राष्ट्र बैंकले समय समयमा बैंक तथा वित्तीय संस्थाहरुको स्थगगत तथा गैरस्थलगत निरीक्षण गर्ने लगायत वित्तीय विवरण प्रकाशित गर्न छुट्टै स्वीकृति दिने कार्यविधिसमेत बनाई कम्पनीहरुको वित्तीय अवस्थालाई नियमन गर्दै आएको छ । नियामक संस्थाले आफ्नो जिम्मेवारी उचित तरिकाले निर्वाह गरी बैंक तथा वित्तीय संस्थाहरुलाई उचित मार्गदर्शनसमेत दिइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यद्यपि, मानवीय त्रुटि वा कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सो कार्यमा संलग्न पदाधिकारीलाई प्रचलित कानुन बमोजिम कारवाही हुनुपर्छ भन्नेमा निजी क्षेत्र स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ ।

देउराली सहकारीका अध्यक्ष चौलागाईं र उनका कम्पनीलाई ऋण दिँदा बैंकिङ कसुर गरेको आरोपमा १५ फागुनमा नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरोले १० जना बैंकरलाई पक्राउ गरेको थियो । त्यसअघि १८ असोजमा देउरालीका अध्यक्ष चौलागाईंलाई पक्राउ गरिएको थियो । सहकारी ठगीको अनुसन्धान गर्दै जाँदा बैंकहरुले समेत मिलेमतोमा चौलागाईंलाई धितो मूल्यांकनभन्दा अत्यधिक धेरै कर्जा प्रवाह गरेको देखिएकाले बैंकरहरु पक्राउ गरेको प्रहरीको दाबी छ ।

सहकारीको घोटाला छानबिन गर्दै जाँदा वाणिज्य बैंकका सीईओहरु नै पक्राउ परेको घटना नेपालमा पहिलो हो ।

हाल प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी बैंकले रविन्द्र चौलागाईं, उनका आफन्त र कम्पनीलाई १ अर्ब १४ करोड मूल्यको धितोमा २ अर्ब ११ करोड कर्जा प्रवाह गरेको सीआईबीले जनाएको छ । यो धितो मूल्यांकनभन्दा ९७ करोड बढी हो ।

राष्ट्र बैंकको नियमअनुसार कर्जा प्रवाह गरेको भए करिब ४५ करोडमात्रै कर्जा प्रवाह हुनसक्ने अवस्था देखिन्छ । यसरी सेञ्चुरी बैंकले धितोअनुसार कर्जा दिनसक्ने सीमाभन्दा करिब ५ गुण बढी ऋण दिएको देखिएको र यसरी अनियमित रुपमा कमसल धितोमा कर्जा प्रवाह बैंकका सीईओ तथा कर्मचारीहरुको मिलेमतो स्पष्ट रुपमा देखिएकाले उनीहरुलाई पक्राउ गरेको सीआईबीको दाबी छ ।

३ वटा सवारी ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते

विराटनगर, १८ फागुन । मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । शुक्रबार बिहान पूर्व –पश्चिम लोकमार्गको बेलबारी नगरपालिका १ र ३ को सिमानामा टिपर, बस र बोलेरो जीप ठोक्किएर दुर्घटना हुँदा बोलेरोमा सवार दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो । बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरोलाई पनि ठक्कर दिएको प्रहरीको भनाई छ । दुर्घटनामा बोलेरोमा सवार झापाको कमल गाउँपालिका २ का ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरोमा सवार झापाको कमल गाउँपालिका(२ ५५ वर्षीय हरि खनाल, ५० वर्षीया गायत्री भट्टराई र पहिचान नखुलेका अन्दाजी ४० वर्षीया पुरुष गम्भीर घाइते छन् । न्युरो अस्पताल विराटनगरमा उनीहरुको उपचार भइरहेको छ । घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर पठाएकोमा २ जनाको बाटो मै  मृत्यु भएको हो । दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ । टिपरको अगाडिको भागमा  क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति भएको प्रहरीले बताएको छ । प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका(७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैंचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।

नेपालसामु नामिबियालाई हराउनै पर्ने दबाब

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने आवश्यकता छ । आजको खेलमा पराजित भए नेपाल औपचारिक रुपमै फाइनल प्रतिस्पर्धाबाट बाहिरिनेछ । नेदरल्यान्ड्सले नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै शीर्षस्थानमा छ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो ।  नेपाललाई पहिलो खेलमा हराउन नामिबियाका जान निकोल लोफ्टी एटनले ३६ बलमा ८ छक्का र ११ चौकासहित  १०१ रनको शतकीय इनिङ खेलेका थिए । बिहीबार माइकल लेभिटले १३५ रनको शतकीय इनिङ खेलेपछि नेदरल्यान्ड्सले नामिवियाविरुद्ध २४७ रन बनाएको थियो । रुबेन ट्रम्पलम्यान नामिवियाका प्रमुख बलर हुन् । पावर प्लेमा उनको बलमा बच्न सके नेपालले राम्रो योगफल बनाउन सक्छ । नेपालका भरपर्दा ब्याट्समेन कुशल भुर्तेल दुवै खेलमा शून्यमा आउट भएका छन् । नेपाल दुवै खेलमा फिनिसिङमा कमजोर देखिएको छ । नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । नेपाल फाइनलमा पुग्न दुवै खेलमा जित आवश्यक छ ।

आज भरतमोहन अधिकारीको पाँचौं स्मृति दिवस मनाइँदै

काठमाडौं, १८ फागुन । आज वामपन्थी नेता दिबंगत भरतमोहन अधिकारीको पाचौं स्मृति दिवस मनाइँदैछ । ‘भरतमोहन अधिकारी स्मृति फाउण्डेशन’ ले आज काठमाडौंको चन्द्रागिरिमा एक कार्यक्रम आयोजना गरेको छ । अधिकारी पुत्री एवं फाउण्डेशनकी सदस्य लीमा अधिकारीका अनुसार स्मृति दिवसको अवसर पारेर चन्द्रागिरि नगरपालिका १३ स्थित कंकाली माविका छात्रछात्रालाई सिपमूलक प्राविधिक तालिम आयोजना गरिएको छ । विद्यालयका कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी विषय विज्ञहरुबाट अंग्रेजी भाषा सिकाईका साथै आत्मनिर्भर बनाउन इलेक्ट्रिक, इलेक्ट्रोनिक, प्लम्बिङ, कम्प्युटर र डिजिटल मार्केटिङसम्बन्धी एक महिने तालिम दिन लागिएको लीमाले बताइन् । नेपालको शिक्षा कामसँग नजोडिएका कारण शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो जस्तो बनेकाले विद्यालय उमेरमै सिप सिकाउन सकिए युवा पलायन रोक्न सकिने विश्वास आफूहरुले लिएको उनको भनाइ छ। स्मृति दिवसमा नेता आउने, बुबाको योगदानको र व्यक्तित्वको चर्चा गर्ने र गए पछि बिर्सने जस्तो नहोओस् भन्ने आफूहरुको चाहना रहेको अधिकारीले उल्लेख गरिन् । कार्यक्रमको पहिलो दिन रास्वपा नेता रमेश प्रसाईंले ‘नेपालमै सम्भव छ’ शीर्षकमा विद्यार्थीहरूलाई मोटिभेसनल तालिम दिने पनि प्रतिष्ठानले जनाएको छ । विक्रम सम्वत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा जन्मिएका भरतमोहनको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते काठमाडौंमा निधन भएको थियो । अधिकारीले वामपन्थी आन्दोलनमार्फत नेपालको राजनीतिक परिवर्तन, राजनीतिक अर्थशास्त्र तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका छन् । अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातकसम्मको अध्ययन गरेका अधिकारी पञ्चायतकालीन समयमा चर्चित अधिवक्ता थिए । २०४७ सालको संविधान मस्यौदा समितिमा रहेर उनले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अर्थमन्त्री थिए । उनले नै ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रममार्फत हरेक स्थानीय तहमा सीधै रकम पठाउने कामको सुरुआत गरेका थिए । तत्कालीन अर्थमन्त्रीका रुपमा बजेटमार्फत अधिकारीले मासिक एक सय रुपैयाँ वृद्धभत्ता र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुआत गरेका थिए ।

सशस्त्रका विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा दरखास्त खुलाएको छ । रिक्त रहेका पदपूर्तिका लागि सशस्त्र प्रहरी बलले आवेदन माग गरेको हो।  रिक्त रहेका प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्म (स्वास्थ्य) तर्फका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरिएको हो।  दरखास्त चैत १८ गते सम्म दिन सकिनेछ। अनलाइनमार्फत तोकिएको समयभित्र दरखास्त दिन सकिनेछ। 

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १२ः ९ बजे बस्नेछ ।  प्रतिनिधिसभाको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहको छ । परराष्ट्र मन्त्रीले ‘विमस्टेक वडापत्र’ प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची रहेको छ ।  त्यसैगरी आजको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ‘२२६क’ बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले “निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्यांकनको प्रतिवेदन, २०८०” पेस गर्नेलगायत सम्भावित कार्यसूची रहेको छ । 

नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव, मौसम मुख्यत सफा रहने

काठमाडौं । नेपालको मौसमा हाल  पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  

शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, १७ फागुन । आफूलाई सामाजिक अभियान्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको हो ।  शर्मिला सहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडा (म्याकुरी) ले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो । घरायसी विवादमा शर्मिलाले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए । पक्राउ परेपछि आफूले कुटपिट नगरेको वाइबाले दाबी गरेकी छन् । उनीविरुद्ध अन्य केही अन्य व्यक्तिले पनि मौखिक रुपमा थप उजुरी दिएको एक अधिकृतले बताए । जाहेरी परे उनी विरुद्ध ठगी सम्बन्धी कसुरमा पनि अनुसन्धान हुनसक्ने ती अधिकृतको भनाई छ । 

मिटरब्याज पीडितद्वारा काठमाडौंमा सिट्ठी जुलुस

काठमाडौं, १७ फागुन । मिटरब्याज पीडितहरूले बिहीबार राजधानीमा सिट्ठी जुलुस प्रदर्शन गरेका छन् । पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी बजाउँदै जुलुस निकालेका हुन् । ‘मिटरब्याज विरुद्ध न्याय मार्च’ गर्दै हिँडेरै काठमाडौँ आइपुगेका पीडितहरुले विभिन्न ६ बुँदे माग अघि सारेका छन् ।  उनीहरूको माग सम्बोधनको प्रयास स्वरुप सरकारसँग वार्ता भएपनि सहमति जुट्न सकेको छैन।  माग पूरा नभए पछि पीडितहरूले आन्दोलन जारी राखेका छन् । मिटरब्याज पीडितले भृकुटीमण्डपलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् । 

काठमाडौंमा तीन दिने ल्होछार मेला हुने

काठमाडौं, १७ फागुन । राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको आयोजनामा तीन दिने बृहत ल्होछार मेला तथा विविध सांस्कृतिक कार्यक्रमको हुने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत आगामी फागुन २४, २५ र २६ गते हायत होटलको प्राङ्गनमा कार्यक्रम हुने जानकारी गराइएको हो ।  राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दाबा फिन्जोले ल्होसारलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । सबै पर्वहरुलाई उत्तिकै सम्मान गर्न आवश्यक रहेको उनले बताए ।  ल्होछार समारोहको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गर्ने बताइएको छ । कार्यक्रमको दोस्रो दिन प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ र खेलकुद मन्त्री कार्यक्रममा सहभागी हुने उनले बताए ।  अन्तिम दिन बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन कार्यक्रमा उपस्थित हुने उनको भनाइ छ । बागमती प्रदेशभित्रका जिल्लाहरुमा रहेको कला र संस्कृतिको उत्थानका लागि ल्होसार मेला आयोजना गरिएको उनले बताए ।  कार्यक्रममा स्थानीय उत्पादनको इस्ट्रलसमेत राखिने बताइएको छ । रसुवाको मार्सी चामलदेखि नुवाकोटको स्टेवरी, ककनीको ट्राउट माछा लगायतका स्ट्रल रहने बताइएको छ ।  राष्ट्रिय संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यवहाक अध्यक्ष प्रकाश कटुवाल र नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले ल्होछार महोत्सव सफलताको शुभकामना ब्यक्त गरे ।  कार्यक्रममा युथ क्रियसन नेपालका संस्थापक अध्यक्ष कलाकार रवि लामा तामाङ, सगुन इभेन्ट म्यानेजमेन्ट, राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका महासचिव दिनेश तामाङ, महासचिव अमृत खाती लगायतको उपस्थिति रहेको थियो । 

किर्तिमानी खेलमा नेदरल्यान्ड्ससँग नामिबिया पराजित

काठमाडौं, १७ फागुन । छक्का र चौकाको वर्षा भएको त्रिकोणात्मक टी २० आई सिरिजमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हराएको छ । पहिलो खेलमा नेपाललाई २ रनले हराएको नेदरल्यान्ड्सले माइकल लेभिटको शतकमा लगातार दोस्रो जितका साथ फाइनल सम्भावना बलियो बनाएको छ । त्रिवि क्रिकेट मैदानमा जितको लागि २४८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो । नामिबियाका जान फ्रेलिंकले २७ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । विकेटकिपर जेन ग्रीनले २० बलमा ४ चौका र ३ छक्कासहित ४२ रनको अविजित इनिङ खेल्दै हारको अन्तर घटाए । जेपी कोट्जी १५ बलमा ३ चौका र २ छक्कासहित २६, कप्तान जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले १९–१९ रन बनाए । नेदरल्यान्ड्सका भान डर गुग्टेनले २, भिभियन किंग्मा, फर्द क्लासेन, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट र रोलेफ भान डर मर्वे १–१ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको थियो । यो नेदरल्यान्ड्सको टी(२० आईको उच्च योगफल हो । नेदरल्यान्ड्सको यसअघि टी–२० आईमा उच्च योगफल २०२१ मा नेपालविरुद्ध २०९ रन थियो । नेदरल्यान्ड्सको जितमा ओपनर माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १३५ रनको शतकीय इनिङ खेले । नेपालविरुद्ध डेब्यू गरेका लेभिटले आफ्नो दोस्रो खेलमै नेदरल्यान्ड्सबाट टी(२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाए । २०२१ मा म्याक्स ओडाउडले मलेसियाविरुद्ध टीयूमा नै १३३ रनको शतकीय इनिङ खेलेका थिए । साइब्रान्ड एंगेलब्रेक्ट ४० बलमा ७ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए । दोस्रो विकेटका लागि लेभिट र एंगेलब्रेक्टले १९३ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए । यो टी–२० आईमा दोस्रो विकेटका लागि भएको उच्च साझेदारी हो । स्कटल्यान्डका हरिस र ब्रेन्डन म्याकुलेनले २०२३ मा इटालीविरुद्ध दोस्रो विकेटका लागि गरेको १८३ रनको साझेदारी तोडेका थिए । तेजा निणामानिरु ३ बलमा ३ छक्कासहित १८ रनमा नट आउट रहे । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । बेन सिकोंगो र जान फ्रेलिंकले १–१ विकेट लिए । दुवै इनिङ्ग्समा गरी कुल ४३५ रन बनेको खेलमा कुल ३० छक्का प्रहार भएका थिए। जसमा नेदरल्यान्ड्सले १८ छक्का हिर्काएको थियो। यस्तै खेलमा ३३ चौका समेत प्रहार भयो। जसमा नेदरल्यान्ड्सले मात्र २० चौका प्रहार गरेको थियो। खेलमा चौका र छक्काबाट मात्र कुल ३१२ रन बन्यो। नामिबियाले नेपाललाई २० रनले हराएको थियो । नेदरल्यान्ड्सले नेपाललाई २ रनले हराएको थियो । नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल्न नेपाललाई दुबै खेल जित्नुपर्ने दबाब छ ।

निजामती विधेयक संसदमा लैजाने तयारीमा छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती कर्मचारी विधेयक संसदमा लैजाने तयारी भइरहेको बताएका छन् । बिहीबार नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले निजामती कर्मचारी विधेयकलाई अन्तिम रूप दिएर सदनमा लैजाने तयारी भैरहेको बताएका हुन् ।  प्रधानमन्त्री प्रचण्डले भने संघ, प्रदेश र स्थानीय तहको अधिकार र कार्यक्षेत्रमा रहेको द्विविधा र अस्पष्टतालाई सम्बोधन गर्ने गरी कार्यविस्तृतिकरण परिमार्जनलाई टुंगो लगाउन निर्देशन दिएका छन् । उनले अगाडि भने, ‘यो बैठकपछि नै हामी संघीय निजामती ऐनलाई अन्तिम रूप दिएर सदनमा लैजाने तयारीमा छौँ ।’

अनलाइन हिंसा रोक्न साइबर सचेतना व्यापक बनाउनुपर्छ :  मन्त्री शर्मा

काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन हिंसाका घटना रोक्न साइबर सचेतनालाई व्यापक बनाउनुपर्ने बताएकी छिन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘अनलाइनमा महिला सुरक्षा’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले अनलाइन माध्यमबाट हुने सबै खाले हिंसा रोक्न व्यापक साइबर सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताइन् । ‘हामीले भौतिक दुनियाँमा जसरी मानवीय मर्यादा र सामाजिक सौहार्दता कायम गरेर समाजलाई व्यवस्थित गरेका छौं, भर्जुचल दुनियाँमा पनि त्यसरी नै मानवीय मर्यादा र सामाजिक सौहार्दता कायम गर्नतिर जोड दिनुपर्छ’– मन्त्री शर्माले भनिन्– ‘त्यसका लागि जनस्तरसम्म व्यापक मात्रामा साइबर सचेतना र सुरक्षाका कार्यक्रम बढाएर लैजानुपर्छ ।’ तिनै तहका सरकार,  विद्यालयहरु सहित सबै सार्वजनिक क्षेत्र र आम सचेत नागरिक साइबर सुरक्षाको क्षेत्रमा गम्भीर रुपमा लाग्नुपर्ने जोड दिंदै उहाँले कक्षा आरम्भ गरेदेखि नै हरेक विद्यार्थीलाई साइबर सचेतनाको शिक्षा दिने गरी पाठ्यक्रममा व्यवस्था गर्नुपर्ने बताइन् । त्यसो गर्दा अनलाइन हिंसाका घटना कम गर्न र महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत सबैको अनलाइन सुरक्षा कायम गर्न सकिने उहाँको विश्वास छ ।  पछिल्ला वर्षहरुमा साइबर अपराधका घटना बढ्दै गएको र त्यसमा बढी महिला पीडित हुने गरेको औल्याउँदै उनले सयौं वर्षदेखि सामाजिक सोंच र संरचनामा रहेको लैंगिक विभेदको प्रभाव अनलाइनको माध्यमबाट अझ बढी विस्तार भइरहेको बताइन् ।  ‘महिला हिंसाका स्वरुप फेरिएका छन्, अब यसको न्यूनीकरणका लागि सचेतनाका स्वरुप पनि बदल्नुपर्छ’– मन्त्री शर्माले भनिन्– ‘सूचना प्रविधिको दुरुपयोग रोक्न तद्अनुरुप कानुनी र संरचनात्मक व्यवस्था पनि आवश्यक छ । यसका लागि सरकार गम्भीरतापूर्वक लागेको छ ।’ सरकारले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेर साइबर स्पेसलाई सुरक्षित गर्न खोजेको जानकारी दिंदै उनले यो नीतिले महिला, बालबालिका वा लैंगिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन कार्यलाई निषेध गर्ने र साइबर सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालनमा जोड दिएको बताइन् । यो नीतिको आधारमा आवश्यक कानुन निर्माण र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको प्रक्रिया सुरु भइसकेको जानकारी दिंदै उनले सामाजिक सञ्जाल प्रयोगसम्बन्धी विधेयक चाँडै मन्त्रिपरिषद्मा लैजाने बताइन् । ‘यही वर्ष मात्रै सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका जारी गरेर सरकारले कार्यान्वयनमा ल्याइसकेको छ । नेपालमा सामाजिक सञ्जालको प्रयोग बढिरहेको छ, यसको प्रयोगलाई सचेतना, स्वनियमन र नियमनको प्रक्रियाबाट सुरक्षित गराउन सकिने सरकारको विश्वास छ’– मन्त्री शर्माले भने– ‘यसमा सबैभन्दा मुख्य सवाल त सचेतना नै हो । यसमा पीडक र पीडित दुबै सामाजिक सञ्जालका प्रयोगकर्ता भएकाले प्रयोगकर्ताहरु सचेत भएको सन्दर्भमा अनलाइन हिंसाका घटना हुने अवस्था रहदैन ।’

बुटवलमा दुग्ध उत्पादक किसानको चक्काजाम

बुटवल, १७ फागुन । विभिन्न माग राख्दै दुग्ध उत्पादक किसानले बुटवलमा एक घण्टा चक्काजाम गरेका छन्। बुटवलको राजमार्ग चौराहमा जम्मा भएका दुग्ध उत्पादक किसानहरूले दुग्ध उत्पादन बिक्री वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रूपमा भित्रिरहेको दूध तथा दुग्धजन्य पर्दाथमा रोक लगाउनुपर्ने माग राख्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गमा एक घण्टा चक्काजाम गरेका हुन् । किसानले चक्काजाम गरेपछि नेपाल प्रहरी, शशस्त्र प्रहरीले जाम खुलाउन केही समय बल प्रयोग गरेको छ । चक्काजाममा उत्रेका किसानहरूमाथि बल प्रयोग भएपछि केहीबेर प्रहरी र आन्दोलनरत किसानबीच धकेलाधकेल समेत भएको थियो। किसानहरूले माग पूरा नहुन्जेल आफ्नो आन्दोलन जारी राख्ने बताएका छन्। खुला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीको आयोजनामा भएको विरोध कार्यक्रममा किसानहरूले  ‘बिक्री भएको दूधको तुरुन्त भुक्तानी गर’, ‘अघोषित मिल्क होलिडे बन्द गर’, ‘भारतीय दूध प्रतिबन्ध गर’, ‘कृषिमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए। दूध बिक्री गरेको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबार देखि आन्दोलन शुरू गरेका हुन् । केन्द्रीय सर्कलुर अनुसार बिहीबार किसानहरूले ठाउँ–ठाउँमा एक घण्टा चक्काजाम गरेका छन । जिल्ला दूध उत्पादन सहकारी सङ्घ रुपन्देहीका उपाध्यक्ष खिमलाल पाण्डेले किसान आन्दोलनलाई थप सशक्त बनाउने बताए । दुग्ध विकास संस्थानको गत भदौदेखिको करिब ५८ करोड दूधको रकम भुक्तान गर्न बाँकी छ।  रुपन्देहीका सहकारी संस्थाहरूले दुग्ध विकास संस्थान लुम्बिनी, दुग्ध वितरण आयोजना र अन्य निजी डेरीहरूमा गरी दुई करोडभन्दा बढीको भुक्तानी लिन बाँकी रहेको पाण्डेयले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने किसानलाई दुधको मुल्य भूक्तानी गर्न निर्देशन दिइसकेका छन् । 

लागूऔषध सहित १५ जना पक्राउ

काठमाडौं, १७ फागुन । अबैध लागूऔषध सहित १५ जना पक्राउ परेका छन् । प्रहरीले विभिन्न प्रकारका लागू औषध ओसारपसारमा संलग्न रहेको अभियोग सहित छुट्टाछुट्टै स्थानबाट १५ जनालाई पक्राउ गरेको हो ।  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५ थलिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६८ मिलिग्रामसहित बुढानिलकण्ठ नगरपालिका १० कपन बस्ने ४४ वर्षीय प्रदिप कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कैलालीको धनगढी उपमहानगरपालिका –३ भन्सारबाट अवैध लागूऔषध ब्राउनसुगर ४० मिलिग्रामसहित सोही उपमहानगरपालिका १ शिवनगर बस्ने २२ वर्षीय भरत राज जोशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  यस्तै, झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्टाफ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित भद्रपुर नगरपालिका(५ घर भई अर्जुनधारा नगरपालिका(११ बस्ने २५ वर्षीय सुरज बिश्चकर्मालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी झापा, अर्जुनधारा नगरपालिका ११ गिरी बन्दु टिस्टेट चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय बिनम उराउ र ३० वर्षीय कुमार सुब्बा रहेका छन् । अस्थायी प्रहरी पोष्ट बर्सपार्कबाट खटिएको प्रहरीले सुब्बालाई १ ग्राम १ सय ९० मिलिग्राम र उराउलाई ४ सय मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचिनगर नगरपालिका ६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्रामसहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका १० कालिस्थान घर भई मेचिनगर नगरपालिका ६ सुनगाभा टोल डेरा गरी बस्ने २६ वर्षीय प्रकाश पौडेल, काठमाडौं महानगरपालिका १६ ढुङगे अड्डा बस्ने ३० वर्षीय ईश्वर अधिकारी र झापा अर्जुनधारा नगरपालिका १० कालिस्थान बस्ने २२ वर्षीय पुजन तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका २ नारायणी पुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोही नगरपालिका २ बस्ने २१ वर्षीय अभिशेक गुरूङ समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कर्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  विराटनगर महानगरपालिका १७ स्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४ मिलिग्रामसहित सोही महानगरपालिका १२ बस्ने ४० वर्षीय प्रभात कटुवाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.५ प ३७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित चालक कटुवाललाई पक्राउ गरेको हो ।  लमजुङको सुन्दरबजार नगरपालिका ६ खत्रीठाटीबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका(१६ बस्ने ५१ वर्षीय प्रेम पराजुली र सोही महानगरपालिका(१९ बस्ने ४० वर्षीय जिवन पौडेल रहेका छन् । ईलाका प्रहरी कार्यालय सुन्दरबजारबाट खटिएको प्रहरीले ग ११ प ९४४० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  बाँके, खजुरा गाउँपालिका ६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश बहादुर धामी र १९ वर्षीय बिजय घिमिरे रहेका छन् । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

संसद् भवन परिसर छिरेर पक्राउ परेका लघुवित्त ऋणीहरू रिहा

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसर छिरेर पक्राउ परेका सबै लघुवित्त ऋणीहरू रिहा भएका छन् । पक्राउ परेका ४९ लघुवित्त ऋणीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । गत शुक्रबार संसद बैठक चलिरहेका बेला लघुवित्त ऋणीहरूले प्रहरीलाई धकेल्दै संसद भवनभित्र प्रवेश गर्न खोजेका कारण सुरक्षार्थ ४९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । यही प्रकरणमा सुरक्षामा लापरवाही गरेको भन्दै संसद भवनको सुरक्षार्थ खटिएका प्रहरीहरुलाई त्यहाँबाट अन्यत्र सारिएको हो ।