सिन्धुलीमा कम्युनिष्ट पार्टीप्रतिको युवा आकर्षण बढ्दै : राप्रपाबाट दर्जनौं युवा प्रवेश
सिन्धुली – राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घका जिल्ला अध्यक्ष दीपक कार्की लगायत दर्जनौं युवाहरूले नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । यो घटनाले सिन्धुली जिल्लामा कम्युनिष्ट विचारधाराप्रतिको युवा आकर्षणलाई थप प्रमाणित गरेको छ।
नवप्रवेशीहरूलाईअका युवा नेता राजन दाहालले औपचारिक स्वागत गरेका थिए। स्वागत कार्यक्रममा बोल्दै दाहालले भने, "युवाहरूको यो एकताबद्ध प्रवेशले पार्टीको आधारलाई मजबुत बनाउने छ। नेपाली कम्युनिष्ट पार्टीले युवा शक्तिलाई नेतृत्व विकासको अवसर प्रदान गर्नेछ।" कार्यक्रममा प्रवेश गर्ने युवाहरूले आफ्नो पूर्व संगठन छोडेर कम्युनिष्ट आन्दोलनमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
सिन्धुलीका विभिन्न स्थानीय तहहरूमा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने युवाहरूको लहर नै चलेको छ। जिल्लाका प्रमुख बस्तीहरू जस्तै कमलामाई, दुधौली र अन्य गाउँपालिकाहरूमा युवाहरूको यो प्रवाहले स्थानीय राजनीतिमा नयाँ गतिशीलता थपेको छ।
मकवानपुरमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरासाइकल झण्डै ४०/५० मिटर तल बुङदल खेलामा खसेर दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार घटनास्थलमै मृत्यु भएका दुबै जनाको पहिचान खुल्न बाँकी रहेको छ । उनका अनुसार घटना शनिबार राति भएको हो । आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेको र दुर्घटनाको विस्तृत विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज छ हजार नौ सयले घट्यो सुनको मूल्य
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा आएको उतार–चढावको प्रभाव नेपालकाे सुनचाँदी बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुन–चाँदी दुवैको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ८ सय रुपैयाँमा निर्धारण भएको छ । शुक्रबार एक तोला सुन २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज प्रतितोला १५० रुपैयाँले घटेको छ । आज एक तोला चाँदी ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ भने शुक्रबार सोही परिमाणको चाँदी ३ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
व्यवसायिक रुपमा सञ्चालन आएनन् दुई अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुँदा वैकल्पिक अवतरणका लागि बनाइएका भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अझै प्रभावकारी रूपमा प्रयोगमा आउन सकेका छैनन् । काठमाडौँमा अवतरण नसक्ने अवस्थालाई ध्यानमा राखेर आधा घण्टाको दूरीमै वैकल्पिक अवतरण सम्भव हुँदाहुँदै पनि जहाजहरू एक घण्टा ४५ मिनेट उडेर भारतजस्ता विदेशी विमानस्थलमा डाइभर्ट भइरहेका छन् । गौतम बुद्ध विमानस्थललाई सहज र सस्तो विकल्प मानिएको भए पनि त्यहाँ नियमित अन्तर्राष्ट्रिय उडान न्यून छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भैरहवामा हप्तामा तीन अन्तर्राष्ट्रिय उडान मात्र छन् र डाइभर्टसमेत विदेशमै हुन्छन् । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हरेक उडानले दुई वैकल्पिक विमानस्थल उल्लेख गर्ने प्रावधान छ । तर इन्धन, खाना, प्राविधिक सहयोग, ग्राउन्ड ह्यान्डलिङ र आपतकालीन उपकरण जस्ता सेवाका कारण वायुसेवाले नेपालभन्दा भारतका विमानस्थललाई प्राथमिकता दिँदै आएका छन् । गत कात्तिक २२ गते काठमाडौँको आकाशमा होल्ड गर्न नसकेर दर्जनौँ उडान विदेशतिर डाइभर्ट भए । सोही दिन १० मिनेट होल्ड गर्न नसकेर नेपाल वायुसेवा निगमको जहाजसमेत दिल्ली पुगेको थियो । यसले अन्तर्राष्ट्रिय वायुसेवा मात्र होइन, राष्ट्रिय ध्वजावाहकले पनि देशभित्रका विमानस्थललाई विकल्प मान्न सकेको छैन भन्ने देखिन्छ । सरकारले भैरहवा विमानस्थललाई चलायमान बनाउन यात्रु सेवा शुल्क, पार्किङ, ल्यान्डिङ, न्याभिगेसन र ग्राउन्ड ह्यान्डलिङमा छुट दिएको छ । तर प्रविधियुक्त अवतरण प्रणाली नहुँदा, २४ घण्टे सेवाहरू नचल्दा र हवाई कम्पनी विश्वस्त नहुँदा काठमाडौँ मौसम खराब हुँदा पनि जहाज विदेशी विमानस्थलमै गइरहेका छन् ।
आज कुन विदेशी मुद्राकाे विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७० पैसा र बिक्रीदर १४२ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ५३ पैसा र बिक्रीदर १६५ रुपियाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ १३ पैसा र बिक्रीदर १८६ रुपियाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपियाँ ९१ पैसा र बिक्रीदर १७९ रुपियाँ ६७ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ २३ पैसा र बिक्रीदर ९२ रुपियाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ९४ पैसा र बिक्रीदर १०१ रुपियाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ७९ पैसा र बिक्रीदर १०९ रुपियाँ २५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १६ पैसा र बिक्रीदर नौ रुपियाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ९६ पैसा र बिक्रीदर २० रुपियाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७९ पैसा र बिक्रीदर ३७ रुपियाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८८ पैसा र बिक्रीदर ३९ रुपियाँ ०४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३७ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५८ पैसा र बिक्रीदर ३८ रुपियाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ २९ पैसा र बिक्रीदर ३४ रुपियाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७१ पैसा र बिक्रीदर नौ रुपियाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९६ पैसा र बिक्रीदर १५ रुपियाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०३ पैसा र बिक्रीदर २२ रुपियाँ १२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २३ पैसा र बिक्रीदर १८ रुपियाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ९५ पैसा र बिक्रीदर ४६३ रुपियाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपियाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३६९ रुपियाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो
काठमाडौँ । लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ मा गत वर्षको तुलनामा खाद्य तथा बालीले ढाकेको क्षेत्रफल एक दशमलव ४२ प्रतिशतले घटेर सात लाख ६८ हजार ९६८ हेक्टर कायम भएको छ । समीक्षा वर्षमा यस प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादन गत वर्षको तुलनामा तीन दशमलव ४३ प्रतिशतले वृद्धि भई ३३ लाख ८० हजार ३२७ मेट्रिक टन भएको छ । समीक्षा वर्षमा दूध, मासु, अण्डा र माछाको उत्पादन गत वर्षको तुलनामा क्रमशः दुई दशमलव ८८ प्रतिशत, तीन दशमलव शून्य तीन प्रतिशत, तीन दशमलव ११ प्रतिशत र १३ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा वनजन्य उत्पादन तर्पm काठ उत्पादन गत वर्षको तुलनामा दुई दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैङ्कका अनुसार कृषि क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव ४६ प्रतिशतले घटेको छ भने कुल प्रवाहित कृषि कर्जामा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ४३ दशमलव ८० प्रतिशत र रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम शून्य दशमलव ४० प्रतिशत मात्र रहेको छ । लुम्बिनी प्रदेशका उद्योगको औसत क्षमता उपयोग ५० दशमलव ६० प्रतिशत रहेको छ । नमुना छनोटमा परेका उद्योगमध्ये रोजिन उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ८८ दशमलव ६९ प्रतिशत र सबैभन्दा कम ड्राइ सिरप उत्पादन गर्ने उद्योगले आठ दशमलव ६४ प्रतिशत क्षमता उपयोग गरेका छन् । त्यस्तै, समीक्षा वर्षमा औद्योगिक उत्पादन तर्पm सबैभन्दा बढी सिन्थेटिक कपडाको उत्पादन एक सय ७० दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ६ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ । औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगहरूमा ४३ दशमलव ६३ प्रतिशत र सबैभन्दा कम विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा एक प्रतिशत मात्र रहेको छ । सेवा क्षेत्रअन्तर्गत नमुना छनोटमा परेका पर्यटकस्तरीय होटलमध्ये १० वटाबाट प्राप्त तथ्याङ्कबमोजिम होटल शय्या सङ्ख्या ३४ दशमलव २० प्रतिशत, शय्या बिक्री सङ्ख्या ४५ दशमलव ७४ प्रतिशत र पर्यटक आगमन सङ्ख्यामा ६१ दशमलव ७८ ले घटेको छ । यस्तै, घरजग्गा रजिस्ट्रेसन सङ्ख्यामा ४२ दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ । घरजग्गा रजिष्ट्रेशनबापतको राजस्व रकम गत वर्षको तुलनामा पाँच दशमलव ४५ प्रतिशतले ह्रास भएको छ । केन्द्रीय बैङ्कका अनुसार २०८२ असार मसान्तसम्ममा सो प्रदेशका बैङ्क तथा वित्तीय संस्थाले गरेको निक्षेप परिचालन २०८१ असार मसान्तको तुलनामा १५ दशमलव ४३ प्रतिशत र कुल कर्जा प्रवाह दुई दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा छनोटमा परेका बचत तथा ऋण सहकारी संस्थाको कुल पुँजी दुई दशमलव ४४ प्रतिशतले ह्रास भएको छ भने बचत परिचालन ६ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । उक्त संस्थाबाट गरिएको कर्जा प्रवाह दुई दशमलव ५० प्रतिशतले वृद्धि भएको छ ।
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा
मुस्ताङ । घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ । विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन, एक सडक’ योजनाअन्तर्गत मुस्ताङ सदरमुकामदेखि ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ हुँदै जोमसोम जोड्ने गरी पूर्वाधार विकास कार्यालयले कार्यान्वयनमा ल्याएको थियो । घरपझोङस्थित कालीगण्डकी नदी पारि पूर्वमा रहेका ग्रामीण बस्तीमा सडकको पहुँच स्थापित गर्नेगरी जोमसोम–ढुम्बा पाँच किलोमिटर सडक कालोपत्रे र ढुम्बादेखि छैरो–चिमाङ हुँदै मार्फा मुख्य राजमार्ग जोडिने गरी पाँच दशमलव पाँच किमी ग्राभेल सडकको काम अघि बढाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर घनश्याम रोकामगरले जानकारी दिए । निर्माण कम्पनी बन्दना भगवती निर्माण सेवाको चरम ढिलासुस्ती र बेवास्ताका कारण यहाँको थाक पाँचगाउँ जोड्ने घरपझोङ चक्रपथ सडक सम्पन्नमा विलम्ब भइरहेको थियो । सुरुआती ठेक्का सम्झौताअनुसार २०७७ माघमा सकिनुपर्ने भए पनि निर्माण कम्पनीले कोरना महामारी, प्रतिकूल मौसम र हिमपातलगायत कारण देखाउँदै सातौँ पटकसम्म म्याद थप गरेको थियो । यहाँको घरपझोङ–४, ५, १ र २ जोड्ने चक्रपथको लागत रु २४ करोड ४५ लाख ७४ हजार रहेको सूचना अधिकारी रोकामगरले जानकारी दिए । घरपझोङस्थित थाक पाँच गाउँ जोड्ने सडक अन्तिम चरणमा पुगेको र चालु आवभित्रमा सडक कार्यालयलाई हस्तान्तरण गरिने उनले बताए। सडकको पछिल्लो भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ८८ प्रतिशत रहेको छ । चक्रपथको ६ किलोमिटर नाली निर्माणसहित ढुम्बातालसम्मको पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ । त्यसैगरी ढुम्बातालदेखि छैरो–चिमाङसम्मको दूरीमा चट्टान काटेर नयाँ सडक ट्रयाक खोलेर नालीसहित पाँच मिटर चौडा ग्राभेल सडक विस्तार भइसकेको सूचना अधिकारी रोकामगरको भनाइ छ । चक्रपथमा ट्राफिक सङ्केतका पोल गाड्ने, नाली सफा गर्ने र सडकको जोखिमयुक्त स्थानमा सवारी दुर्घटना रोक्न बार लगाउने काम भइरहेको छ । त्यसैगरी चक्रपथ सडकले ठिनी, ढुम्बा, छैरो र चिमाङलगायतका गाउँ सडक सञ्जालले जोडिएकाले त्यहाँका किसानले उत्पादन गरेका स्याउलगायत अन्नबाली, फलफूल र तरकारी यातायातका साधनमार्फत ढुवानी गर्न सजिलो भएको छ ।
हुलाकी सडक पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै
बाँके । बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ । हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका–६ कुण्डाचोकदेखि अगैयासम्म जोड्ने हुलाकी सडकमा सवारीसाधनको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । विशेषगरी नेपालगन्जबाट दाङतर्फ आवतजावत गर्ने यात्रुले अहिले यसै मार्गलाई प्राथमिकता दिन थालेका छन् । नेपालगन्जबाट कोहलपुर हुँदै पूर्वपश्चिम राजमार्गमा अगैया पुग्ने भन्दा हुलाकी सडकको दूरी छोटो पर्ने भएकाले यात्रुले यो सडक प्रयोग गर्ने क्रम बढेको भेरी बस व्यवसायी सङ्घका नेपालगन्जका अध्यक्ष जुनबहादुर थापाले बताए । उनका अनुसार कोहलपुरबाट अगैया पुग्न बाँके राष्ट्रिय निकुञ्जको टाइम कार्ड पालना गर्नुपर्ने भएकाले पनि हुलाकी राजमार्गमा सवारी आवागमनको चाप बढ्दै गएको हो । हुलाकी सडक निर्माण भएपछि बाँकेको राप्तीपारिका बिनौना र बैजापुरवासीलाई आवागमनमा सहज भएको छ । हुलाकी सडकअन्तर्गत बाँकेको फत्तेपुरदेखि बैजापुरसम्मको सडक कालोपत्र भएपछि राप्तीसोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगन्ज आवतजावत सहज भएको राप्तीसोनारी–५ बिनौनास्थित भुवरभवानी माविका प्रधानाध्यापक चेतबहादुर विष्टले बताए । यो सडक निर्माण भएपछि राप्तीसोनारी–१, २, ३, ४, ५ र ६ का बासिन्दालाई नेपालगन्ज पुग्न सहज भएको उनको भनाइ छ । फत्तेपुर, बिनौना र बैजापुरवासीलाई गाउँपालिकाको केन्द्र अगैया पुग्न पनि सहज भएको छ । सडक कालोपत्रसँगै बीचमा पुल र कल्भर्ट निर्माणसमेत भएको छ । सडक निर्माण भएपछि गाउँपालिका कार्यालय आवातजावत गर्न धेरै सहज भएको राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले बताए । हुलाकी सडक बनेसँगै अहिले पूर्वपश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा सर्वसाधारणले यो सडक प्रयोग गर्न थालेका छन् । अगैयाबाट बैजापुर, बिनौना, फत्तेपुर हुँदै सोझै नेपालगन्ज आउन सकिने भएकाले यो सडक छोटो पर्ने वडाध्यक्ष थारूको भनाइ छ । हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माण हुँदैछ । पुल निर्माणसँगै नदीले कटान तथा डुबान गरेको सडकलाई व्यवस्थित गरेपछि सवारी आवागमनमा थप सहज हुने भएको छ । साँघुरो पुल भएका कारण हाल सवारीसाधन पालो कुरेर नदी पार गर्नुपर्ने बाध्यता छ । निर्माणाधीन पुल ११ मिटर चौडाइको भएकाले पुलमा सवारीसाधन सहजै वारपार गर्न सकिने छ । सिधनियाघाटमा पक्की पुल निर्माण कार्य धमाधम भइरहेको छ । पुल निर्माणमा ५० प्रतिशतभन्दा बढी प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । हुलाकी सडक पछिल्लो समय नेपालगन्जबाट दाङ हुँदै पूर्वतर्फ जानका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेकाले फराकिलो पुल बनेपछि थप सहज हुने उनको भनाइ छ ।
भाेजपुरकाे खकुवाखोलामा झोलुङ्गे पुल निर्माण
भोजपुर । ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका भोजपुरका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहजता भएको छ । षडानन्द नगरपालिका–७ र ११ लाई जोडने यो खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो । बर्खाको समयमा खोला ठूलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताइन् । विगतमा खेत आउँदा उर्लिँदो भेल तरेर जानुपर्ने समस्या रहेको उनको भनाइ छ । अब भने जोखिम मोलेर काठको फड्केबाट खोला तर्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताइन् “खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि हाम्रो पुस्तौँदेखिको समस्या अन्त्य भएको छ”, उनले भनिन्, “दैनिकजसो खेतीमा आउँदा यो खोला तर्नुपथ्र्यो । खोलापारि जान काठको फड्के थियो । त्यो फड्के पनि ठूलो खोला हुँदा बगाउथ्यो, पुल बनेपछि सहज छ ।” यो खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयको दैनिकी सहज बनेको स्थानीयवासी दीपबहादुर मगरले बताए । मुख्य रूपमा बर्खाको समयमा आवतजावतमा धेरै समस्या हुने गरेको उनको भनाइ छ । “पुल बनेपछि हामीलाई सहज भएको छ”, उनले भने, “यो पुलले दुईवटा वडाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।” यहाँ रु ४८ लाख १२ हजार ८२५ लागतमा पुल निर्माण सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले बताए । स्थानीयको समस्यालाई ध्यानमा राखेर खकुवाखोलामा झोलुङ्गे पुल निर्माण गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । नगरपालिका क्षेत्रमा आवश्यक पर्ने अन्य झोलुङ्गे पुलको तथ्याङ्क लिएर निर्माणको कामलाई योजनाबद्ध रूपमा अघि बढाएको उनले जानकारी दिए ।
कुखुरापालनबाट मासिक एक लाख आम्दानी
तनहुँ। व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले कुखुरापालन गरेर मासिक रु एक लाख आम्दानी गर्दै आएका छन् । सत्र वर्षसम्म दुबईमा रोजगारी गरेका बस्नेत स्वदेश फर्किएर व्यावसायिक रूपमा कुखुरापालनमा लागेका हुन् । विदेशमा रहँदा कोरोनाको समयमा बुबाको निधन भएको नौ महिनापछि घर फर्किएका बस्नेत त्यसपछि विदेश नगई स्वदेशमै केही गरौँ भन्दै पाँच वर्षदेखि कुखुरापालन गर्दै आएका हुन् । विदेशमा गरेको आम्दानीभन्दा स्वदेशमा बसेर दोब्बर कमाई गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न बस्नेत सफल भएका छन् । उनले सञ्चालन गर्दै आएको ‘बस्नेत ब्रोइलर पोल्ट्री एण्ड एग फार्म’मा हाल दुई हजार कुखुरा छन् । सुरुआतमा रु ३० लाख लगानीमा छ रोपनी क्षेत्रफलमा दुई आधुनिक ट्रष्ट निर्माण गरी व्यावसायिक रूपमा कुखुरापालन व्यवसाय सुरु गरेका बस्नेतले मनग्य आम्दानी गर्दै आएका छन् । दैनिक एक हजार आठ सय अण्डा उत्पादन हुने यो फार्मबाट महिनामा रु पाँच लाख बढीको कारोबार हुने गरेको छ । दाना, औषधि तथा श्रम खर्च कटाएर रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको बस्नेतले बताए । उनले भने, “दुबईमा महिनामा रु ६० हजार आउँथ्यो, अहिले गाउँमै परिवारका साथमा बसेर विदेशको भन्दा दोब्बर फाइदा भइरहेको छ ।” कुखुरा व्यवसायबाट उत्पादन हुने ठूला दाना (क्रेड) स्थानीय बजारमा प्रतिथान रु पाँच सयमा बिक्री हुँदै आएको छ । जोखिमयुक्त मानिने कुखुरापालनमा किसानलाई टिकाइराख्न सरकारले दाना उत्पादनमा अनुदान दिनुपर्ने बस्नेत बताउँछन् । “पूर्वाधारमा मात्र अनुदान दिएर हुँदैन । दाना खरिद गर्न सहयोग भयो भने किसान यो व्यवसायमा टिकाउँछन्, राज्यको लगानी पनि सुरक्षित हुन्छ”, उनको तर्क छ । बस्नेतका अनुसार कुखुरापालन सुरु गरेपछि वर्षौँदेखि बाँझो रहेको जमिनको सदुपयोग मात्र नभई खेतीपातीमै पनि उल्लेख्य सुधार आएको छ । श्रीमती मधुमायाको निरन्तर साथमा फार्म चलाएका बस्नेत भन्छन्, “कुखुराको मल प्रयोग गरेदेखि तोरी राम्रो फलेको छ, तेल किन्नुपरेको छैन, तरकारी पनि बजारबाट ल्याउनुपरेको छैन ।” व्यास नगरपालिकाले इनार निर्माणका लागि रु २५ हजार र कुखुरा खरिदका लागि रु ५० हजार सहयोग गरेको व्यास–१ का वडा सदस्य मणिजङ्ग बस्नेतले बताए । चितवनबाट चल्ला ल्याएर सुरु गरिएको यो व्यवसाय अहिले गाउँमै रोजगारी, आम्दानी र आत्मनिर्भरता अभिवृद्धिको उदाहरण बनेको छ । दुबईबाट फर्किएर ‘सामान्य किसान’का रूपमा थालेको यात्रा आज बस्नेतलाई सफल व्यावसायिक किसानका रूपमा उभ्याइरहेको स्थानीय सूर्य कार्की क्षत्रीले बताए ।
सिमकोटमा टिकट विवाद समाधान: बिरामी, कर्मचारी र स्थानीयका लागि कोटा निर्धारण
हुम्ला । सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ । सदरमुकाम सिमकोट गाउँपालिका–५ का युवाले हवाई टिकट वितरणमा पारदर्शी नगरी मिलोमतोमा वितरण गर्ने तथा पछिल्लो समय चिट्ठाका आधारमा गर्दा टिकट वितरण गर्दा झन् समस्या आएको भन्दै आपत्ति व्यक्त गर्दै आएका थिए । यही विषयलाई लिएर उनीहरुले तीन निजी एयरलाइन्सका कार्यालयमा ताला लगाएका थिए । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकको निर्णयपश्चात् शनिबार नै ताला खोलिएको छ । जिल्लामा उपलब्ध राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसहित जनप्रतिनिधिको उपस्थितिमा सम्पन्न उक्त बैठकले प्रत्येक उडानमा दुई हवाई टिकट अनिवार्य बिरामीलाई वितरण गर्ने, तीन सरकारी कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिस गर्ने तथा तीन टिकट एयरलाइन्सले अग्रिम सूचना जारी गरी अनलाइन माध्यमबाट वितरण गर्ने सम्झौता भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । त्यसैगरी, सिमकोट गाउँपालिका–५ र ६ का स्थानीयका लागि वडा कार्यालयको सिफारिसमा एक–एक टिकट वितरण गर्ने तथा बाँकी टिकट एयरलायन्सले प्राथमिकता र सहजताका आधारमा वितरण गर्ने निर्णय भएको प्रजिअ रेग्मीले बताए । सिमकोट गाउँपालिका–५ र ६ ले पहिलोपटक आरक्षण सिट पाउने भएको छ । पन्ध्र सिट भएको जहाजमा यसअघि भनसुनका आधारमा टिकट वितरण हुँदै आएको थियो । यो तालिका सिमकोट विमानस्थलमा उडान भर्ने सीता, समिट, तारा र नेपाल एयरलाइन्सका सम्पूर्ण उडानमा लागू हुने बताइएको छ । सिमकोटका युवाले हवाई टिकट वितरणमा अनियमितता भएको भन्दै शनिबार बिहान सबै एयरलाइन्सका कार्यालयमा ताला लगाएका थिए । ताला लगाएको जानकारी पाए लगत्तै स्थानीय प्रशासनले तालाबन्दी गर्ने युवा, सुरक्षा निकाय, राजनीतिक दल र एयरलाइन्सका प्रतिनिधि राखेर बैठक राखेको थियो । बैठकको निर्णय भए लगत्तै ताला खोलिएको थियो
चालु आर्थिक वर्षको चौमासिक अवधिसम्म २५ स्थानीय तह बजेटविहीन
काठमाडौं । चालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकारले र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गर्नुपर्दछ । चालु आवको एक चौमासिक बित्दासमेत मधेस प्रदेशका कुल एक सय ३६ स्थानीय तहमध्ये एक सय १२ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २४ स्थानीय तहले प्रस्तुत गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, सप्तरीको राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका ,बलान बिहुन गाउँपालिका, कल्याणपुर नगरपालिकाले बजेट प्रस्तुत गरेका छैनन् । यस्तै, सिराहाको धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको क्षिरेश्वर नगरपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गर्न सकेका छैनन् । त्यस्तै, धनुषाको धनौजी गाउँपालिका,महोत्तरीको सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका र चन्द्रनगर गाउँपालिका तथा रामनगर गाउँपालिका, रौतहटको कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाइ गाउँपालिका, बाराको महागढीमाई नगरपालिका, विश्रामपुर गाउँपालिका र पर्साको पकाहा मैनपुर गाउँपालिकाले चालु आवको बजेट हालसम्म प्रस्तुत नगरेको पाइएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिकाले हालसम्म चालु आवको बजेट प्रस्तुत गरेको छैन ।
आजकाे माैसम: पहाडी भूभागमा बदली, बाँकी भूभागमा मुख्यतया सफा
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
फ्रान्समा एक करोड २० लाख डलर बराबरको गहना चोरी
फ्रान्स । उत्तरी फ्रान्समा एक गहनापसलमा भएको सशस्त्र डकैटीमा करिब १२ लाख अमेरिकी डलर बराबरका गहना चोरी भएको छ । प्रहरीका अनुसार बुधबार लिली नजिकैकाे रूबैक्सस्थित उक्त पसलमा चोरहरूको समूहले तोडफोड गरी बहुमूल्य गहना लुटेको हो । उनीहरूले पसलका जौहरी र उनकी श्रीमतीलाई केही समय बन्धक बनाएर भागेका थिए । चोरी भएका गहनाको मूल्य करिब पाँच लाखदेखि १० लाख युरो (५८० हजारदेखि १२ लाख अमेरिकी डलर) को आसपास पर्ने अनुमान गरिएको छ । घटनामा संलग्न भएको शङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अपहरण, सङ्गठित अपराध र सशस्त्र चन्दा असुली सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ । यसै दिन अर्को छुट्टै घटनामा केही व्यक्तिले रूबैक्सको मुख्य हुलाक कार्यालयमा रहेको नगद स्थानान्तरण धुकुटी तोडफोड गरी एउटा झोला लिएर भागेका थिए । तर उक्त झोलामा खाली झोलाबाहेक केही नभएको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न तीन जनालाई सोही साँझ पक्राउ गरिएको थियो । यस्तै, गत महिना पेरिसस्थित लुभ्र संग्रहालयमा एक गिरोहले दिनदहाडै छापा मार्दै करिब १० करोड २० लाख अमेरिकी डलर बराबरका ऐतिहासिक र बहुमूल्य गहना चोरी गरेका थिए ।
राष्ट्रिय युवा परिषद्ले प्रकाशित गरेकाे ‘युवा तस्वीर दर्पण’ सार्वजनिक
काठमाडौं । नेपाल सरकारअन्तर्गत राष्ट्रिय युवा परिषद्ले प्रकाशित गरेकाे ‘युवा तस्वीर दर्पण’ सार्वजनिक भएको छ । सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री सुशिला कार्कीले सो पुस्तक सार्वजनिक गरेकी हुन् । पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीले युवाका चाहना र भावना बुझ्न तस्वीरयुक्त किताब सजिलो र प्रभावकारी हुने बताइन् । कार्कीले परिषद्को वार्षिक प्रतिवेदन र ‘युवा तस्वीर दर्पण’ हेर्दा युवाका लागि परिषद्ले सकारात्मक प्रयास गरेको आफूले अनुभव गरेको बताइन् । तस्वीरले भरिएको सो पुस्तकमा परिषद्ले पछिल्ला चार वर्षमा गरेका युवाकेन्द्रित क्रियाकलापहरूको सचित्र विवरण समेटिएको छ । ‘युवा तस्वीर दर्पण’ मा २०७८ पौषदेखि २०८२ भदौसम्मका मुख्य क्रियाकलापहरू समावेश छन् । २२४ पृष्ठको पुस्तकमा ‘युथ भिजन २०२५’ ले निर्दिष्ट गरेका पाँच आधारस्तम्भअनुसारका तस्वीरहरू संग्रहित छन् । पुस्तकमा युवा नेतृत्व विकासअन्तर्गत अन्तर्राष्ट्रिय युवा दिवस, नमूना युवा संसद्, नमूना संयुक्त राष्ट्रसभाको अभ्यास, स्वयंसेवक विकास तथा परिचालन, युवा मार्गदर्शन, युवा नीति बहस, कला–साहित्य, सहकार्य र अन्तर्राष्ट्रिय आयामसँग सम्बन्धित तस्वीरहरू प्रकाशित छन् । त्यसैगरी, युवा उद्यमशीलता र सीप विकासअन्तर्गत प्रादेशिक युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन, सङ्घीय युवा उद्यमशीलता सम्मेलन, युवा वैज्ञानिक सम्मेलन, इन्क्युवेसन, उद्यमशीलता तथा वित्तीय साक्षरता, रोजगारमूलक सीप विकाससँग सम्बन्धित तस्वीरहरू समावेश छन् । पुस्तकबारे परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, ‘‘युवा तस्वीर दर्पणले परिषद्को विगत र वर्तमानलाई अभिव्यक्त मात्र गर्ने छैन, भविष्यलाई समेत दिशानिर्देश गर्ने विश्वास लिएका छौं ।’’ फोटो पुस्तकले परिषद्का सकारात्मक कामलाई स्थापित गर्ने र कमि–कमजोरी औंल्याउन मद्दत गर्ने उनले बताए ।
प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जसपाबीच एकता वार्ता सकारात्मक
काठमाडौं । पुष्पकमल दाहाल 'प्रचण्ड' संयोजकत्वको नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीच एकता वार्ता भएको छ । आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा दुई पार्टीबीच एकता वार्ता भएको हो । वार्ता एकताका लागि सकारात्मकतर्फ उन्मुख भएको नेकपाका नेता देव गुरुङले जानकारी दिए । बैठकमा प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा छलफल भएको नेताहरूले बताएका छन् । गुरुङले भने, ‘जसपासँगको एकता वार्ता सकारात्मकतर्फ उन्मुख छ । प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा आज छलफल भयो । छलफललाई निरन्तरता दिएर निष्कर्षमा पुग्ने सहमति भएको छ।’ एकता वार्तालाई नेकपाका तर्फबाट देव गुरुङ र जसपाका तर्फबाट राजेन्द्र श्रेष्ठले नेतृत्व गरेका थिए । स्रोतका अनुसार दुवै पार्टी एकताका लागि धेरै विषयमा सहमति भइसकेको छ ।

