राष्ट्रियसभा बैठक जारी (प्रत्यक्ष प्रशारण)

काठमाडौं । राष्ट्रियसभाको बिहीबारको बैठक संसद भवन नयाँ वानेश्वरमा जारी छ । बैठकमा मा ६ वर्षे पदावधि पूरा गरी बिदाइ हुन लागेका सांसदले आफ्नो अनुभव राखिरहेका छन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आउँदा दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै सांसदलाई समय उपलब्ध गराएका छन् ।

आफ्नो कार्यकाल पूरा गर्न लागेका सदस्यले ६ वर्षको कार्यअवधिमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोल्न समय माग गरेकाले समय उपलब्ध गराएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार ६ वर्षे पदावधि पूरा गरी राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद यही फागुन २० गतेदेखि बिदा हुन लागेका छन्। 

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासहित सांसद अनिता देवकोटा, इन्दु कडरिया, कुमार दसौदी, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नन्दा चपाईं, नरपति लुहार, प्रकाश पन्थ, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ, महेशकुमार महरा, रमेशजंग रायमाझी, रामचन्द्र राई, बिना पोखरेल, डा. विमला राई पौड्याल, सिंगबहादुर विश्वकर्मा र हरिराम चौधरी पदावधि पुरा गरी बिदा हुन लागेका हुन् ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । यसैगरी, आगामी आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।

काठमाडौंको गोंगबु क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने

काठमाडौं । काठमाडौंको गोंगबु क्षेत्रमा आज विुद्य्त सेवा अवरुद्ध हुने भएको छ । गोंगबु र सामाखुसी फिडरबाट विद्युत सेवा वितरण भएका क्षेत्रमा आज बिजुली उपलब्ध नहुने भएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार गोंगबु, सामाखुसी र टाउनप्लानिङ क्षेत्रमा आज बिजुली जानेछ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । हिजो (फागुन १६ गते) देखि यही फागुन २२ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।  प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् लाइन अवरुद्ध गर्नु परेको हो । 

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

समाचार हुबहु सार्नेलाई चोरीअन्तर्गत कारबाही

काठमाडौं ।बिनाअनुमति समाचार हुबहु सार्ने विभिन्न १ सय ८३  अनलाइन मिडियालाई प्रेस काउन्सिल नेपालले समाचार चोरीअन्तर्गत कारबाही गरेको छ ।   काउन्सिलले आज एक विज्ञप्ति मार्फत गत आव यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एन्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यम तथा वेब पोर्टललाई कारबाही गरिएको जानकारी दिएको छ ।  कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ ।  काउन्सिलका सह प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ  ‘स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो । मिडियाका रूपमा दर्ता सूचीकरण नभएका २९ वेव पोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ ।’  बुधवार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो । बैठकले समाचार हुबहु सार्ने प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । काउन्सिल बैठकले ८९ वटा मिडियालाई सचेत गराउने निर्णय समेत गरेको छ ।  काउन्सिलले मूल स्रोतको अनुमति बिना स्रोत उद्धृत नगरी सामग्री हुबहु सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मीलाई आग्रह गरेको छ । यस्तो छ काउन्सिलद्धारा जारी विज्ञप्ति 

उपप्रधानमन्त्री श्रेष्ठ र लेबनानका राजदूतबीच शिष्टाचार भेट

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि लेबनानका राजदुत भेरोनिक लोरेन्जोबीच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेट भएको छ।  भारत र नेपाल समेतका लागि लेबनानका राजदूत लोरेन्जोले यो आफ्नो कार्यकालको चौथो नेपाल भ्रमण रहेको र हरेक पटकको भ्रमणले आफू निकै उत्साहित भएको बताएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।   गृहमन्त्रीको सचिवालका अनुसार नेपाल र लेबनानबीच सन् १९६३ मा दौत्य सम्बन्ध कायम रहेको र हालसम्म यो सुमधुर रहेकोमा उनले खुशी व्यक्त गरे। विभिन्‍न अन्तराष्ट्रिय मामिलामा नेपाल र लेबनान एकै स्थानमा उभिएको दृष्तान्त समेत उनले दिए।   नेपालका सेनाले लेबनानमा शान्ति कायम गर्न पुर्‍याएको योगदानप्रति उनले आभार व्यक्त गरे। उनले नेपालीले लेबनानमा लगानी गर्नसक्ने सुविधा रहेको समेत जानकारी गराए। नेपालको सुरक्षा संयन्त्र अब्बल रहेको र नेपालीको प्रवृत्ति शान्त रहेकोमा उनले प्रशंसा गरे। भेटमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले लेबनानले आवश्यक ठाने थप शान्ति सेनाको प्रबन्ध गर्न सकिने जानकारी दिए। लेबनानको जस्तै नेपालको उद्देश्य पनि आर्थिक र समन्यायिक सामाजिक रुपान्तरण रहेको र त्यसका लागि लेबनानबाट आउने वैदेशिक लगानीलाई प्रोत्साहन गरिने जानकारी उनले गराए।  उपप्रधानमन्त्री श्रेष्ठले ६० वर्षभन्दा लामो आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्ने बताउँदै लेबनान र लेबनानी जनताको शान्ति तथा समृद्धिको लागि विशेष शुभकामना दिए।

मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षमा पुग्न बाँकि

काठमाडौं । लगातार तीन दिनसम्म वार्ता जारी रहेपनि मिटरब्याज पीडित र सरकारबीचको वार्ता टुंग्गोमा पुग्न सकेको छैन् । बुधबार गृह मन्त्रालयमा भएको मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता सकारात्मक भएपनि समस्या समाधानका लागि ठोस निष्कर्षमा पुग्न नसकेको हो । वार्ता पछि सञ्चारकर्मीहरूमाझ मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिएको, वार्ता सकारात्मक भएको भए पनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको जानकारी दिए ।  उनले वार्तासँगसगै आफूहरूको आन्दोलन जारी रहने पनि बताए ।उनीहरुले फर्जी लिखत्, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत माग राखेर आन्दोलन गरिरहेका छन् ।  साथै, साहुहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने पनि उनीहरुको रहेको  छ ।

२ हजार अंकमा रोकियो सेयर बजार

काठमाडौं, १६ फागुन  ।  बुधबार सेयर बजार २ हजार अंकमा रोकिएको छ । अघिल्लो दिन २००१ मा रहेको बजार बुधबार ०.८७ अंकले घटेको हो । १२ः२० बजे बजार १९९२ अंकसम्म झरेको थियो भने २ः३५ बजे २००९ अंकसम्म पुगेको थियो । बुधबार कुल २ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन १ अर्ब ८६ करोडको कारोबार भएको थियो । कुल ७१ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो । ब्यापार र उत्पादन समूह उच्च दरमा बढे । ब्यापार ५.५१ र उत्पादन समूह ४.९६ प्रतिशत बढे । विकास बैंक समूह सबैभन्दा धेरै १.१ प्रतिशत घट्यो । बैंकिङ ७, विकास बैंक ४३, फाइनान्स १७, हाइड्रोपावर २१, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा ३७ अंक घटे । ब्यापार १५०, अन्य २, उत्पादन ३१७ र होटल तथा पर्यटन समूह २ अंक बढे । विशाल बजार कम्पनी, बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, बीपीडब्लू लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । चिरख्वा हाइड्रोपावरको ९.६, नेस्डो लघुवित्तको ६.८, युनिलिभरको ५ प्रतिशत मूल्य बढ्यो । सामलिङ पावरको ६.६, गुराँस लघुवित्तको ५.९, मिडसोलु हाइड्रोपावरको ५.२, जाल्पा सामुदायिक लघुवित्तको ३.७ र सामुदायिक लघुवित्तको मूल्य ३.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बोटलर्स नेपाल तराई, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

नेदरल्याण्डस् सँग नेपाल २ रनले पराजित

काठमाडौं, १६ फागुन । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराएको छ ।  टीयु क्रिकेट मैदानमा भएको खेलमा निर्धारित २० ओभरमा नेदरल्याण्डस्ले चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । नेपाल भने २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८२ रनमा समेटियो ।  रोमाञ्चक खेलमा नेपालले अन्तिममा खेल गुमाउन पुगेको हो । नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भएका थिए । त्यसपछि क्रिजमा रहेका दिपेन्द्रसिंह ऐरी र करण केसीले जित तर्फ अग्रसर गराएका थिए । तर अन्तिम ओभरमा दुबै जना आउट भएसँगै नेपाल एक सय ८२ रनमा सीमित भयो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पारी सम्हाल्दै ३४ बलमा ६३ रन ल्याएपनि पर्याप्त भएन । उनलाई साथ दिइरहेका करण केसी पनि ११ रन बनाउँदै रनआउट भएका थिए । त्यसअघि सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भए । रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए । कुशल मल्ल ११ र आशिफ शेख ३४ रनमा आउट भए कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका थिए । त्यसअघि नेदरल्याण्डस्का लागि मिचेल लेभिटले ५४, स्याब्रान्ड एंगेलब्रेक्टले ४९, स्कट इडवार्डस्ले ३३, तेजा निडामानिरुले ३१ र म्याक्स ओडोउडले चार रनको योगदान गरे । नेपालका करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए भने अन्य दुई खेलाडी रन आउट भएका थिए ।  पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब थियो । अब अन्तिम दुई जितसँगै नेटरनरेटमा भर पर्नुपर्ने भएको छ ।

४५ किलो चरेस र ३८ किलो गाँजासहित छ जना पक्राउ

काठमाडौं, १६ फागुन । मकवानपुरको भिमफेदी गाउँपालिका २ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित ३ जना पक्राउ परेका छन्। थाहा नगरपालिका –८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका–१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका(१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ चरेर ओसारपसारमा संलग्न रहेको प्रहरीले जनाएको छ। त्यसैगरी, ३२ किलो गाँजा बोकेर बिक्री गर्न हिँडिरहेका बारा, सिम्रौनगढ नगरपालिका –४ गंगानगरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका–३ बस्ने ५० वर्षीय रामानन्द साह समेत ३ जना पनि प्रहरी नियन्त्रणमा परेका छन्। यस्तै, धादिङको गल्छी गाउँपालिका –७ सिमबजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जना पनि पक्राउ परेका छन्। सोलामोदिन शेक र राम्जन आली पक्राउ परेका हुन्। यसैगरी, सर्लाहीको लालबन्दी नगरपालिका१ लखनदेही पुलस्थित सडकबाट ७ किलो बोकेर हिँडिरहेका भारतका छोटु पासवान पनि प्रहरीको नियन्त्रणमा परेका छन्।

खाता नखोल्दै भुर्तेल आउट

काठमाडौं, १६ फागुन । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाल सामु दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । टीयु क्रिकेट मैदानमा जारी खेलमा नेपालका भरपर्दा ब्याट्स्म्यान कुशल भुर्तेल नेपालले खाता नै नखोल्दै आउट भए । लगातार दोस्रो खेलमा कुशल भुर्तेल डक आउट भएका हुन् । उनी पहिलो खेलमा नामिवियाविरुद्ध पहिलो बलमै एलबीडब्लू आउट भएका थिए । नेदरल्यान्ड्सका तीव्र गतिका बलर किंग्माको एन्थ बलमा एज लागेर विकेटकिपर स्कर्टबाट भुर्तेल सहज क्याच आउट भए ।  क्रिजमा आशिफ सेख र कप्तान रोहित पौडेलले रनका लागि संघर्ष गरिरहेका छन् ।  यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेदरल्याण्डस्ले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । नेदरल्याण्डस्का लागि मिचेल लेभिटले ५४, स्याब्रान्ड एंगेलब्रेक्टले ४९, स्कट इडवार्डस्ले ३३, तेजा निडामानिरुले ३१ र म्याक्स ओडोउडले चार रनको योगदान गरे । नेपालका करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए भने अन्य दुई खेलाडी रन आउट भएका थिए ।  पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ ।

नेदरल्याण्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौं, १६ फागुन । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाल सामु एक सय ८५ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा जारी खेलमा निर्धारित २० ओभरमा नेदरल्याण्डस्ले चार विकेट गुमाएर एक सय ८४ रन बनाउन सक्यो ।  नेदरल्याण्डस्का लागि मिचेल लेभिटले ५४, स्याब्रान्ड एंगेलब्रेक्टले ४९, स्कट इडवार्डस्ले ३३, तेजा निडामानिरुले ३१ र म्याक्स ओडोउडले चार रनको योगदान गरे । नेपालका करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए भने अन्य दुई खेलाडी रन आउट भएका थिए ।  पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ ।

आगामी निर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने

काठमाडौं, १६ फागुन । नेकपा माओवादी केन्द्रले आउँदो निर्वाचनमा एक्लै चुनाव लड्ने भएको छ।  बुधबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा माओवादीले अब आउने निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।  नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको विषय पनि स्थायी कमिटी बैठकमा छलफल भएको थियो।  त्यसबारे उनले अब आउने निर्वाचनमा एक्लै लड्ने तयारी भइरहेको बताएका हुन्। ‘अब आउने चुनावमा पार्टीले स्वतन्त्र रूपमा एक्लै प्रतिस्पर्धा गर्ने भनेर भनेका छौं,’ उनले भने, ‘यो विषय कार्यनीतिक विषय हो, रणनीतिक होइन। तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ भनेर भनिएको छ।’  यस्तै बैठकले राष्ट्रिय सभा अध्यक्षमा पार्टीबाट उम्मेदवारी दिने निर्णय पनि भएको छ ।   

प्रधानमन्त्री संसदीय समितिको छलफलमा सहभागी हुने

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संसदीय सिमितिको छलफलमा सहभागी हुने भएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा प्रधानमन्त्री सहभागी हुने भएका हुन् ।  बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयहरूको हालसम्मको अवस्थाकाबारेमा जानकारी लिने कार्यसूची छ । यसका साथै समितिको निरन्तर छलफलबाट पहिचान गरिएका सवालहरूका सम्बन्धमा छलफल गरिने समितिको सचिवालयले जनाएको छ ।

आमाको जन्मदिनमा भावुक बाबुराम

काठमाडौं । आफ्नी आमाको जन्मदिनमा भावुक हुँदै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । आफ्नी आमा धर्मकुमारी भट्टराईको जन्मदिनको अवसरमा पूर्व माओवादी नेता समेत रहेका भट्टराईले आफ्नी आमाको तस्वीर सहित राखेको स्टाटसमा साढे चार सय बढि कमेण्ट आएका छन् । दिवंगत भैसकेकी आमाको सम्झनामा भट्टराईले भाबुक हुँदै संस्कृत श्लोक सहित स्टाटस राखेका छन् । उनको स्टाटसमा भनिएको छ ‘“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी!” ( आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्!) आमा हामीबाट सदाकालागि विदा हुनुभएको आज ( फागुन १६ गते) १८ बर्ष पूरा भएछ! तपाईंको स्मृति सदासर्वदा हामीसंग रहिरहनेछ, आमा! सादर नमन !! ( फोटोः पहिलो, २०३० सालतिर म चण्डीगढमा पढ्दैगर्दा; दोश्रोः २०५२ सालमा जनयुद्धको शुरूवातनिम्ति भूमिगत हुन परिवारबाट विदा लिंदा! भूमिगतकालमै आमा २०६२ फागुन १६ गते वित्नुभएछ; हामी २०६३ असार २ गते वालुवाटारमा खुला भयौं! आमाको अन्तिम वाक्य “ बाबुरामलाई भेट्न पाइनॅ” थियो भन्ने सुन्दा अहिले पनि आॅसु थाम्न गाह्रो हुन्छ!)’  आफुलाई जन्मदिने आमाप्रति समर्पित भट्टराईको स्टाटसमा प्रतिक्रिया दिनेले भने अनौठो अनौठो टिप्पणी गरेका छन् । स्टाटसमा धेरै जसो कमेण्टहरु श्रद्वाञ्जलीका देखिएपनि केहि कमेण्टहरुमा पश्चाताप गर्न र केहि कमेण्टहरुमा माओवादीमा एकाकार हुन सुझाब छन् ।  केशब दुवाडीले लेखेका छन् ‘आमाको नियमित श्राद्ध गर्नु होला, पुत्रस्य परमोधर्म पित्र्युत्धार समोनहि’ यस्तै, प्रकाश न्यौपाने किरणले सुझाब दिएका छन् –‘विचार र आस्था राखेकै कारण धेरै नेपालीले ज्यान गुमानुपर्ने , जेल हिरासत र अंगभङ् हुनुपर्ने संगिन घडी स्मरण गराउनु भो , माओवादी आन्दोलनले राजनितिक परिवर्तन गरायो अन्य सामाजिक , आर्थिक , सांस्कृतिक आदी परिवर्तन खसै हुन सकेन , आवश्यकताको प्रतिबद्धनामा पुन एकपटक जोखीम उठाउनेहरु एक भएर अगाडि बढ्नुपर्ने अनिवार्य आवश्यकता बनेको छ , आसा र अपेक्षाको आँसु बगाउँदै ज्यान गुमाउने आमाप्रति भावपुर्ण श्रद्धान्जली ।’  निरज भट्टले भने यस्तो भनेका छन् –‘नालायक छोरा भएपछि यस्तै हो, आमा प्रती हाम्रो सम्मान छ’ । कमेण्टमा पूर्ण रानाभाटले टिप्पणी गरेका छन् –‘हो क्यारे तर वाहीरी देशको एजेण्ट वनेर देस त वर्वादी वनाइहाल्नु भो’ । यस्तै, एष्ट्रो हरिसरणले कमेण्ट गरेका छन् –‘आमाको त्याग र तपाईँको त्यागको परिणाम सकारात्मक होस्, तपाईँ जति क्षमतावान व्यक्ति हो, जति तपाईँमा शक्ति छ त्यसको दुरुपयोग भईरहेको जस्तो लाग्छ, व्यक्तिगत स्वार्थबाट माथी उठेर काम गर्नुहोस् तपाईँका दिन अझै सक्किएका छैनन्। तपाईँ विद्वानको पंक्तिमा हुनुहुन्छ तर तपाईँका अभिव्यक्ति हेर्दा मूर्ख जस्तो लाग्छ। जे कुरा छ तपाईँ भित्र निस्वार्थ त्यस्तै देखिने प्रयास गर्नुहोस्।’  विज्ञान मान सिंह ठकुरीले प्रशंसा गर्दै लेखेका छन् –‘आमालाई उच्च सम्मान, छोरो जन्मिनु तपाई जस्तो पो त ! बाबुरामलाई घरपरिवार पाल्नकै निम्ति जागिरको लागि प्रमाणपत्रको लोभै नमानी एउटा लयमा ल्याउन नसकेको देशको अवस्थाका लागि लडाइँ लड्ने आट गर्नु महान विचारक हो । नयाँ थेउरी तपाईबाट आसा गर्न सकिन्छ ।’  राजेन्द्र पन्तले सुझाब दिएका छन् –‘सबैको आमाले त्यसै भन्नुभएको थियो होला,,स्कुलबाट फर्कदा म आमालाइ आज तलब बुझेर मिठा खानेकुरा र नयाँ कपडा ल्याइदिन्छु भनेर ,,,,,तर अपहरणमा परेर छोराको बीभत्स हत्या भयो रे भनेको सुन्दा बिचरा ती बुढी आमाले कसरी सहेर बस्नुभयो होला,,,,त्यो सम्झनुहोला’ जनकजङ शाहीले कमेण्ट गरेका छन् –‘हार्दिक श्रद्धाञ्जली आमा तपाई जस्तै महान सोच भएको आमाहरुको कारण आज हामी स्वतन्त्र छौ ’  क्रान्तिलाई धोका दिएको भन्दै रानी शाह भन्छिन् –‘आमा प्रति हार्दिक श्रर्दासुमन, आमाले सम्म भेट्न पाउनु भएन, देशको लागि जनयुद्द लड्नु भो तर त्यसलाइ निस्कर्स मा पुर्याउन सक्नु भएन , बिचैमा साथ छोड्नु भो, क्रान्तिलाइ धोका दिनु भो, धोकेवाज हो तपाइ, हामि तपाइ सङ्ग सन्तुस्ट छैनौ ।’ बढि सामाजिक सञ्जालको प्रयोग गर्ने नेताहरुमा डाक्टर बाबुराम भट्टराई पनि पर्दछन् । स्रोतका अनुसार उनले आफुले राखेको स्टाटसमा आएका कमेण्टहरु पनि पुरै पढ्छन् । तर त्यसका सुझाब मान्ने वा नमान्ने भन्नेमा दोहोरो जवाफ दिएको पाइदैन । 

संवैधानिक नियुक्ति सम्बन्धी रिटको सुनुवाइ आज

काठमाडौं, १६ फागुन । अध्यादेश मार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न माग सहित दर्ता गरिएको रिटको बुधबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ । बुधबारको संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाइका लागि साप्ताहिक पेसी तोकिएको हो ।  बुधबारको संवैधानिक फाँटको पहिलो सूचीमा संवैधानिक नियुक्तिसम्बन्धी रिट माथिको सुनुवाइ रहेकाले बुधबारबाट उक्त रिटमा निरन्तर सुनुवाइ हुन सक्ने रिट निवेदक मध्येका ओमप्रकाश अर्यालले जानकारी दिए । २०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइका लागि बुधबार साप्ताहिक पेसी तोकिएको हो । यसअघि लगातार तीन पटक उक्त मुद्दा हेर्न नभ्याउनेमा परेको थियो ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेश मार्फत संशोधन गरी विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेका ५२ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्ति बदरको माग गर्दै रिट परेको थियो । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठी, समृत खरेल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतले दायर गरेको रिटमा यसअघि २०७८ चैत ९ गते कारण देखाऊ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो । त्यसैगरी २०७९ साउन ११ गतेको पेसीमा म्याद बुझाउन नसकिएका पदाधिकारीलाई म्याद बुझाउने आदेश भएको थियो भने २०७९ फागुन ३ गते उक्त रिट हेर्न नभ्याउनेमा परेको थियो । त्यसपछि २०८० भदौ २७ र मङ्सिर २० गतेको पेसीमा पनि ती रिटहरू हेर्न नभ्याउनेमा परेको थियो ।  रिटमा संवैधानिक नियुक्ति लिएका ५२ जना, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संवैधानिक परिषद्का सदस्य आदिलाई विपक्षी बनाइएको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासमेतलाई विपक्षी बनाई दायर रिटमा प्रधानन्यायाधीशले नै हेर्न मिल्ने कि नमिल्ने भन्ने विषयमा समेत रिट परेपछि सो मुद्दा पछाडि धकेलिएको थियो  । संवैधानिक इजलासले अध्यादेशमा संशोधन गरी गरिएको नियुक्ति संविधानसम्मत नभएको ठहर गरेमा नियुक्ति लिएका सबै पदमुक्त भई नयाँ प्रक्रियाको थालनी हुनेछ ।