आज अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५२ पैसा र बिक्रीदर १४२ रुपियाँ १२ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५२ पैसा र बिक्रीदर १४२ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७५ पैसा र बिक्रीदर १६४ रुपियाँ ४५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ७५ पैसा र बिक्रीदर १८६ रुपियाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ८ पैसा र बिक्रीदर १७७ रुपियाँ ८३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ४७ पैसा र बिक्रीदर ९२ रुपियाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ९७ पैसा र बिक्रीदर १०१ रुपियाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ५६ पैसा र बिक्रीदर १०९ रुपियाँ २ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १४ पैसा र बिक्रीदर नौ रुपियाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८८ पैसा र बिक्रीदर १९ रुपियाँ ९७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७४ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८३  पैसा र बिक्रीदर ३८ रुपियाँ ९९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३६ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५३ पैसा र बिक्रीदर ३८ रुपियाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ २१ पैसा र बिक्रीदर ३४ रुपियाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९९ पैसा र बिक्रीदर १५ रुपियाँ ५ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९३ पैसा र बिक्रीदर २२ रुपियाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २१ पैसा र बिक्रीदर १८ रुपियाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ७१ पैसा र बिक्रीदर ४६२ रुपियाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ३६ पैसा र बिक्रीदर ३७६ रुपियाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३६९ रुपियाँ १४  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

बागलुङमा कागतीका बोट मर्न थालेपछि किसान चिन्तित

बागलुङ । जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । तीन महिला अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुन थालेको छ । सुरुमा बोट पहेँलो हुने र एक महिनामा सबै सुक्ने समस्या रहेको छ ।  कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले किसानको गुनासो आएपछि बारीमै पुगेर अध्ययन गर्दा जरा सुक्ने रोगले कागती मरिरहेको बताए । अहिले बोटमा लटरम्म फल रहेको हुँदा उपचार गर्न नसकिने भन्दै फल टिपेर सकेपछि जरा खनेर उपचार गरिने उनको भनाइ छ । फल नदिएका बोटको भने उपचार हुने अधिकारीले बताए । उनले भने, “कागतीका बोट सुक्न थालेपछि धेरै ठाउँका किसानले हामीलाई फोन गरेर गुनासो गरे, उहाँहरूको गुनासो आएपछि बारीमै पुगेर अध्ययन गर्दा जरा सुक्ने रोगले यो समस्या आएको पत्ता लगायौँ, यसका उपचारका विधि छन्, फल भएको बोटमा अहिले उपचार गर्न मिल्दैन, फल टिपेर सकेपछि जराको माटो खनेर उपचार गर्नुपर्छ, यो रोगले धेरै क्षति पुर्‍याएको छ ।” निसीखोला गाउँपालिका–४ का किसान चक्रबहादुर रोकाले बारीमा लगाएका अधिकांश बोट मर्न थालेको बताए । टिप्ने बेलाको कागतीका दाना खस्नाका साथै बोट नै मरेको उनको भनाइ छ । अघिल्लो वर्ष लगाएका बिरुवासमेत मर्न थालेको रोकाले बताउनुभयो । गाउँको पाखो जमिनलाई सदुपयोग गरी व्यावसायिक रूपमा कागतीखेती सुरु गरेका मगरलाई बोट मर्दा लाखौँको क्षति हुने चिन्ता छ । “बारीमा भएका कागतीका कुनै पनि बोट बाँकी छैनन्, सबै सुकेर मर्न लागेका छन्, कोहीका हाँगा सुकेका छन्, कोहीको पूरै बोट नै सुकेको छ, कृषि प्राविधिकलाई समस्याका बारेमा जानकारी त गराएका छौँ तर समाधान भएको छैन, बारीमा पुराना कागतीका रूख थिए, सुरुमा ती रूखका हाँगा मर्न थाले र पछि साना बोटमा पनि यो समस्या देखियो”, उनले भने स्थानीय तमबहादुर खत्रीले १२० बोटमध्ये ९० भन्दा बढी बोटमा रोग देखिएको बताए । आफूले सुक्न थालेका सबै बोटका हाँगा काट्न सुरु गरेको उनको भनाइ छ । अघिल्लो वर्ष पनि धुलोको प्रकोपले धेरै बोट कागती मरेको खत्रीले बताए । गाउँका सबै किसानको कागती बगानमा यो रोग देखिएको छ । जिल्लामा हाल ७९७ हेक्टर क्षेत्रफलमा कागतीजन्य फलफूलखेती हुँदै आएको छ । पछिल्लो समय कागतीखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी गर्दै कञ्चनपुरका शिवचरण राना

कञ्चनपुर । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् ।  कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बनेका छन् । मजदुरी छोडेर मालिक बन्न रानाले धेरै मेहनत र सङ्घर्ष गर्नुपर्‍यो । विसं २०६८ देखि साइकलमा दूध सङ्कलन गरेर बिक्री गर्न सुरु गरेका उनले अहिले डेरी मालिक बन्न सफल भएका छन् ।  रानाले दुई लिटर दूधबाट व्यवसाय सुरु गरेका हुन् । अहिले उनी दैनिक एक हजार ५०० लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् ।  “भारतमा मजदुरी गर्दा अनेक दुःख पाइयो, गाउँ फर्किएर साइकलमा दूध बिक्री गर्न थालेँ,” रानाले भने, “यसैबाट कमाएको रकम बचत गरेपछि अहिले आफ्नै डेरी व्यवसायसमेत सञ्चालन गरेको छु ।”  सुरुआतमा साइकलमा दूध सङ्कलन गर्दै हिँड्ने रानाले आफूलाई स्थापित गर्न धेरै सङ्घर्ष गरे । त्यही लगन र परिश्रमले उनलाई राम्रो आम्दानीसँगै सफल व्यवसायी समेत बनायो । गाउँगाउँबाट दूध सङ्कलन गरेर रानाले स्थानीय झलारी बजार, अत्तरिया र कैलालीमा बिक्री गर्दै आएका छन् । दूध बोक्न ६ जनालाई मासिक रु २० हजारदेखि रु २६ हजारसम्म तलब दिएर उनले कामदार राखेका छन् ।  “दुई लिटर दूधबाट सुरु गरेको थिएँ, बिस्तारै दूध बढी सङ्कलन हुन थाल्यो,” उनले भने, “अहिले एक हजार ५०० लिटर दूध सङ्कलन हुन्छ ।”   यसै व्यवसायबाट रानाले करिब रु ९० लाख बराबरको सम्पत्तिसमेत जोडेका छन् छ । “दूध बिक्रीबाट अहिले सबै खर्च कटाएर वार्षिक रु १३ लाखसम्म आम्दानी हुने गरेको छ,” रानाले भने, “यसबाट म एकदमै खुसी छु, अहिले छोरालाई पनि यसै व्यवसायमा लगाएको छु ।”   पछिल्लो समय स्वदेशमा रोजगारी नभएको भन्दै थुप्रै युवा विदेश पलायन भइरहेका छन् । तर विदेशमा गरिने दुःखभन्दा आफ्नै भूमिमा केही गर्नुपर्छ भन्दै फर्किनेहरू पनि थुप्रै छन् । विदेशको जागिर छोडेर आफ्नै गाउँघरमा कडा परिश्रम गरेका रानाको सफलता लोभलाग्दो छ । उनी अहिले समाजमा उदाहरणीय व्यक्ति बनेका छन् । 

आजकाे माैसम: हिमाली क्षेत्रमा आंशिक बदली, बाँकी भूभागमा सफा रहने

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

बैतडीमा नयाँ मतदातामा निर्वचानकाे उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रहेको पाइएको छ ।  गत असोज ९ गतेदेखि नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएकामा हालसम्म ६ सय बढीको नाम दर्ता भइसकेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर रतन चन्दले जानकारी दिए। उनका अनुसार हालसम्म ६ सय १८ जनाको नामावलीमा नाम दर्ता भएको छ । जसमा २०१ महिला र ४१७ पुरुष रहेका छन् ।  यस्तै बाहिरी जिल्लाका दुई महिला र सात पुरुषको पनि नाम दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले  बताए । यसअघि यहाँ एक लाख ६१ हजार ३१२ जनाको नामावलीमा नाम दर्ता भएको तथ्याङ्क छ । जसमा ८२ हजार १२६ पुरुष, ७९ हजार १८४ महिला र दुई तेस्रो लिङ्गी रहेका छन् ।  निर्वाचन आयोगको वेबसाइटमा गएर अनलाइनमार्फत आफ्नो विवरण आफैँ भर्न सक्ने व्यवस्था छ । अनलाइन विवरण भरिसकेपछि आवेदन फारम प्रिन्ट ल्याएर निर्वाचन कार्यालयमा फोटो र फिङ्गर प्रिन्ट लिनुपर्छ । त्यसपछि नामावलीमा नाम दर्ता हुने गर्दछ । नामावलीमा यसअघि नाम दर्ता गराउन छुटेका सम्पूर्णलाई नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ । सोह्र वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । 

मकवानपुरमा जेनजी आन्दोलनमा आगजनीमा संलग्न गर्ने पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले जेनजीको प्रदर्शनीको क्रममा हेटौँडाको विभिन्न स्थानमा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोडलगायतका घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा हेटौँडा उपमहानगरपालिका–११ स्थित नवलपुरका सुशील पौडेलको घरमा आगजनी तथा तोडफोडमा संलग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय, मकवानपुरले पक्राउ गरेको हो ।   जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार पक्राउ पर्नेमा हेटौँडा ११ का वर्ष ३६ का सुजन अधिकारी र वर्ष ३५ का सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिएको जानकारी दिए । दुवै जनालाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट आपराधिक उपद्र तथा लुटपाटको अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको छ । यस्तै भदौ २४ गतेकै दिन भएको आन्दोलनका क्रममा हेटौँडा १० स्थित बागमती प्रदेश सभा सचिवालयको भवन र हेटौँडा ११ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरको भवनमा तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न रहेका तीन जनालाई प्रहरी पक्राउ गरेको छ ।  प्रहरीले पुनम ठाकुर, प्रमोद महतो र सागर घताने भन्ने रोमबहादुर घतानेलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।  

वर्षा सकिएपछि पुन: मुग्लिन–मलेखु सडकको काम सुरु

चितवन । वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको कामले तीव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम सुस्त भएको थियो । पानी पर्न छाडेर चाडपर्वसमेत सकिएपछि कामलाई तिव्रता दिन थालिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार कामलाई तीव्रता दिन थालिएको छ । पुलको पहुँच सडकको काम सुरु गरिएको छ । चार वटा पुलको पहुँच सडकको काम गर्न लागिएको हो । पुल र अन्य भागमा बेरियर राख्ने काम थालिएको छ र ड्रेनको काम पनि सुरु गरिएको छ । उनका अनुसार दुई/तीन दिनमा कालोपत्रको काम थाल्ने तयारी गरिएको छ । सो खण्डको ३८ दशमलव ८६ किलोमिटरमध्ये आठ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । थप पाँच किलोमिटर सडक कालोपत्रका लागि अन्तिम तयारी गरिएको छ ।  दरैका अनुसार अन्तिम तयारीमा पुगेको ठाउँमा कालोपत्र गर्न लागिएको हो । यससँगै अन्य ठाउँमा कालोपत्रका लागि तयारीको काम गरिने छ । उक्त सडक खण्डमा पर्ने अन्य दुई पुलमध्ये चरौदी खोलको पुलको एउटा फाउण्डेसन हालिएको छ । अर्कोतर्फको गरिँदै छ भने हुग्दी खोलाको पुलको दुवै फाउण्डेसन तयार भइसकेको छ । दरैका अनुसार हालसम्म सडक स्तरोन्नति ३५ प्रतिशत सम्पन्न भएको छ । यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । सात दशमलव दुई किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताउनुभयो । उहाँका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ । वि.सं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्गत पर्दछ । आगामी पुस १५ मा म्याद यसको सकिँदै छ । म्याद थपका लागि प्रक्रिया अघि बढेको दरैले बताए । डिजाइन परिमार्जनलगायतका कारण केही महिना निर्माण कम्पनीले म्याद थप पाउने उनको भनाइ छ । शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ । यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । सडकमा सवारीसाधनको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।

विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालका

ललितपुर । विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरू समावेश भएका छन् । नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष्ठान (नाष्ट)का सचिव रवीन्द्र ढकालले दिएको जानकारी अनुसार एल्सेभियरसँगको सहकार्यमा अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले तयार पारेको वार्षिक ‘ग्लोबल –याङ्किङ’मा ३१ जना नेपाली वैज्ञानिकहरू समावेश भएका हुन् । “स्ट्यानफोर्ड युनिभर्सिटीले हरेक वर्ष यस्तो सुची तयार गर्छ, अध्ययन अनुसन्धानका आधारमा उहाँहरुले प्रकाशन गर्नुभएको पुस्तक र ‘साइटेशन’ का आधारमा यो तयार गर्छ, सन् २०२५ मा विश्वका सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष वैज्ञानिकहरूको सूचीमा उहाँहरु पर्नुभएको हो,” सचिव ढकालले भने । उनकाअनुसार नेपाली अनुसन्धानकर्ताहरूले अनुसन्धान, आविष्कार र दिगोपनको माध्यमबाट विश्वव्यापी प्रभाव पारेका छन् ।स्ट्यानफोर्ड युनिभर्सिटीले सार्वजनिक गरेको सूची अनुसार त्रिभुवन विश्वविद्यालयका सात जना तथा नेपाल हेल्थ रिसर्च काउन्सिल, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का दुई/दुई जना वैज्ञानिकहरू समावेश छन् ।  जसमा त्रिभुवन विश्वविलालयका अजय भट्टराई, रमेशप्रसाद अधिकारी, भीष्म कार्की, नीरञ्जन पराजुली,  रामप्रसाद शर्मा,  गोविन्दप्रसाद ढुङ्गाना र त्रिवि शिक्षण अस्पतालका रञ्जितकुमार शाह छन् । त्यसैगरी बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्जीवकुमार शर्मा र सुमन रिजाल तथा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अरूणभक्त श्रेष्ठ र फिलिप वेस्टर शीर्ष वैज्ञानिकहरूको सूचीमा समावेश छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिक डा नीरञ्जन कोइराला पनि सूचीमा छन् ।  काठमाडौँं इन्स्टिच्युट अफ कम्प्लेक्स फ्लोजका शिवप्रसाद पुडासैनी, नेपाल हेल्थ रिसर्च काउन्सिलका मेघनाथ धिमाल, ग्लोबल सेन्टर फर रिसर्च एण्ड डेभलपमेन्टका छविलाल रानाभाटको नाम सो सूचीमा उल्लेख छ । ट्रान्स कल्चरल साइकोसोसल अर्गनाइजेशन नेपालका मार्क जेडी जोर्डन्स, इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्ट्च्युटका सन्तोष नेपाल, गण्डकी युनिभर्सिटीका राजकुमार थापा त्रिविका हरि (थर उल्लेख नभएको) छन् । सिईएमवाइटी पिटर आर हब्स, ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजका सुरेन्द्र केसी, काठमाडौँ विश्वविद्यालयका सुदनकुमार झाको नाम पनि समावेश छ । त्यसैगरी ग्रेड एकेडेमी प्रालिका रन्दिप रकुवाल,  काठमाडौंँ क्यान्सर सेन्टरका सुनिलकुमार श्रेष्ठ, ग्रेट एकेडेमी प्रालिका गणेशकुमार अग्रवाल छन् । बायो टेक्नोलोजी सोसाइटी अफ नेपालका विकास बराल, लुम्बिनी मेडिकल कलेजका आलोक आत्रेय, एनएनआरसिका उत्तम पौडेल, सिलिकन स्क्रिप्ट साइन्स प्रालिका पुकार खनाल, ग्लोबल हेल्थ रिसर्च एण्ड मेडिकल इन्टरभेन्सन फर डेभलपमेन्टका सुरज भट्टराई र कलेज अफ मेडिकल साइन्सेज नेपालका विपिन चौरसिया छन् । सो सूचीमा नेपालका वैज्ञानिकहरू समावेश हुनुले अन्तरराष्ट्रियस्तरमा नेपालका वैज्ञानिकहरूको क्षमताको उत्कृष्ट मूल्याङ्कन भएको नाष्टका सचिव ढकालले बताए ।

एआईबाट निर्माण गरिएका संगितकाे र मानव संगित छुट्याउन अस्भव: सर्वेक्षण

पेरिस । हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज गरिएको सङ्गीतबिचको भिन्नता छुट्याउन झण्डै असम्भव भइसकेको देखाएको छ । फ्रान्सस्थित सङ्गीत स्ट्रिमिङ प्लेटफर्म डिजरका लागि पोलिङ फर्म इप्सोसले गरेको अध्ययनमा करिब नौ हजार सहभागीलाई एआईले पूर्णरूपमा उत्पन्न गरेको दुई वटा सङ्गीत क्लिप र मानवद्वारा सिर्जना गरिएको एउटा क्लिप सुन्न आग्रह गरिएको थियो । नतिजा अनुसार, “सर्वेक्षणमा सहभागी ९७ प्रतिशत व्यक्तिले एआई-निर्मित र मानव-निर्मित सङ्गीतबिचको स्पष्ट भिन्नता छुट्याउन सकेनन्”, डिजरले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ । सर्वेक्षण अक्टोबर ६ देखि १० सम्म ब्राजिल, बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, जापान, नेदरल्यान्ड्स र संयुक्त राज्य अमेरिकामा सञ्चालन गरिएको थियो । डिजरका अनुसार आधाभन्दा बढी सहभागीले फरक छुट्याउन नसक्दा आफूलाई ‘असहज’महसुस गरेको बताएका थिए । अध्ययनका क्रममा एआई प्रविधिको व्यापक प्रभावबारे पनि प्रश्न सोधिएको थियो । करिब ५१ प्रतिशत उत्तरदाताले एआईका कारण स्ट्रिमिङ प्लेटफर्ममा ‘कम गुणस्तरको सङ्गीत’ बढ्ने विश्वास व्यक्त गरे भने झण्डै दुई तिहाइले यसले ‘सङ्गीतमा मौलिक रचनात्मकता घटाउने जोखिम’ रहेको धारणा राखे । डिजरका प्रमुख कार्यकारी अधिकृत एलेक्सिस ल्यान्टर्नियरले विज्ञप्तिमा भने, “यो सर्वेक्षणले श्रोता समुदायले सङ्गीतप्रति गहिरो चासो राख्छन् भन्ने स्पष्ट रूपमा देखाउँछ । उनीहरू एआईले बनाएको वा मानिसले सिर्जना गरेको ट्र्याक सुन्दै छन् भनेर थाहा पाउन चाहन्छन् ।” कम्पनीका अनुसार पछिल्ला महिनामा यसको प्लेटफर्ममा एआई-निर्मित सामग्रीको अपलोड दर तीव्र गतिमा बढिरहेको छ र यस्ता गीतले ठुलो सङ्ख्यामा श्रोता पनि पाएका छन् । सन् २०२५ को जनवरीमा प्रत्येक दिन स्ट्रिम गरिएका १० मध्ये केवल एउटा ट्र्याक एआई-निर्मित थियो, तर दश महिनापछि त्यो अनुपात बढेर तीनमध्ये एक अर्थात् दैनिक झण्डै ४० हजार एआई गीतसम्म पुगेको छ । सर्वेक्षणमा सहभागी ८० प्रतिशत उत्तरदाताले एआई-निर्मित सङ्गीतलाई स्पष्टरूपमा चिह्न लगाएर प्रस्तुत गर्नुपर्ने माग गरेका छन् । डिजर हालसम्मको एक मात्र प्रमुख स्ट्रिमिङ प्लेटफर्म हो जसले आफ्ना प्रयोगकर्ताका लागि पूर्णरूपमा एआई-निर्मित सामग्रीलाई व्यवस्थितरूपमा लेबल गर्दै आएको छ । यस वर्षको जुन महिनामा द भेलभेट सनडाउन नामक एउटा ब्यान्डको गीत स्पोटिफाइमा भाइरल भएपछि यो विषयले थप चर्चा पाएको थियो ।  पछि मात्र त्यो गीत वास्तवमा एआई-निर्मित भएको पुष्टि भएको थियो । सो ब्यान्डको सबैभन्दा चर्चित गीत ३० लाखभन्दा बढी पटक स्ट्रिम गरिएको छ । यस घटनापछि स्पोटिफाइले कलाकार र प्रकाशकलाई सङ्गीत निर्माणमा एआई प्रयोगबारे स्पष्ट खुलासा गर्न प्रोत्साहित गर्ने ‘स्वैच्छिक उद्योग आचारसंहिता’ मा हस्ताक्षर गर्न आग्रह गर्ने घोषणा गरेको छ । 

निर्वाचन आयाेगद्वारा चुनावी तयारीको ६० प्रतिशत काम सम्पन्न

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीमध्ये करिब ६० प्रतिशत काम सकिएको निर्वाचन आयोगले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्की र आयोगका पदाधिकारीबीच बुधबार भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले तोकिएको मितिमा निर्वाचन गर्न सक्ने विश्वास व्यक्त गरे । उनका अनुसार आयोगमा दर्ता दलहरू निर्वाचनमा भाग लिन तयार छन् भने विगतमा बहिष्कार गर्ने समूह पनि अहिले सहभागिताका लागि उत्साहित देखिएका छन् । आयोगले मतदाता नामावली अद्यावधिक कार्यलाई तीव्र पारेको छ । अहिले १ करोड ८३ लाखभन्दा बढी मतदाता दर्ता भइसकेका छन् भने पछिल्लो समय २ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणका लागि दर्ता भइसकेका आयोगले जनाएको छ । आचारसंहिताको मस्यौदा दलहरूलाई पठाइसकिएको र छिट्टै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको आयोगले जानकारी दिएको छ ।

चिडियाखानामा अब कालो रङको चितुवा हेर्न पाइने

काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।  पूर्वी नेपालको इलामबाट उद्धार गरी गत भदौ १७ चिडियाखानामा ल्याई पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उक्त कालो चितुवा हाल सामान्य अवस्थामा आएपश्चात अवलोकन गर्न सक्ने गरी राखिएको हो । यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन् उत्पन्न भई काला धब्बाहरू बन्ने भएकाले पूर्ण रूपमा कालो देखिन्छ । यस प्रकारका चितुवाहरू विरलै मात्रामा भेटिने गर्छन् ।

एमालेप्रति प्रचण्डको व्यङ्ग्य: दम्भ र अहङ्कारले भत्किएको र डढेको घरमा फर्किनु अर्थहीन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) ले सञ्चालन गरेको ‘घर फर्क अभियान’ लाई लक्षित गर्दै तीक्ष्ण व्यङ्ग्य गर्नुभएकाे छ । उहाँले एमालेको नेतृत्वमाथि अहङ्कार र दम्भको आरोप लगाउँदै भत्किएको र डढेको घरमा फर्किनु अर्थहीन भएको टिप्पणी गर्नुभएकाे छ । बुधबार राष्ट्रिय सभा गृहमा आयोजित नेपाली कम्युनिस्ट पार्टी को एकता–समायोजन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले एमालेमा फर्किएका नेताहरू रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई परोक्ष रूपमा उद्दृत गर्दै भन्नुभयाे, “अस्ति यही ठाउँमा घर फर्क कार्यक्रम राखिएको थियो । वास्तवमा डढेको र भत्किएको घरमा के फर्किनु ? त्यो दम्भ र अहङ्कारले ध्वस्त भएको घरमा फर्किने पनि उस्तै–उस्तै मान्छेहरू नै हुन् जस्तो लाग्छ,” उनले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयाे । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही घर फर्क अभियान का क्रममा नेपाली कम्युनिस्ट पार्टीलाई ‘वृद्धाश्रम’ भनेर उल्लेख गरेको प्रसङ्गलाई समेत कडाइका साथ खण्डन गर्नुभयाे ।  “ओलीजीले यहाँ रहेका नेताहरूलाई वृद्धाश्रम भन्नुभयो । आफ्ना अभिभावकलाई वृद्धाश्रम भनेर गाली गर्नु भनेको राजनीतिक संस्कारको अपमान हो । आफ्नै पार्टीका पुराना साथी, अग्रज र अभिभावकप्रति यस्तो व्यवहार गर्नु अत्यन्तै निन्दनीय छ,” प्रचण्डले टिप्पणी गर्नुभयाे । उहाँले थप्नुभयाे, “जेनजीका युवाहरूले जब भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा शान्तिपूर्ण आन्दोलन गरे, त्यही सरकारका तर्फबाट निर्मम दमन र हत्या भए । ती युवाहरूको आवाज दबाउनेहरूले अहिले हामीलाई वृद्धाश्रम भन्छन्, तर वास्तविकता के हो भने ती जेनजी युवाहरू नै अब हाम्रो आन्दोलनमा प्रवेश गरिरहेका छन् ।” कार्यक्रममा प्रचण्डले नयाँ पुस्ता र पुरानो पुस्ताबीचको एकता आवश्यक रहेको बताउँदै भन्नुभयाे, “हामीले जुन पुस्ताबाट विद्रोह सिक्यौं, त्यहीबाट अब नयाँ पुस्ता पनि प्रेरित हुँदैछ । सुशासन, समृद्धि र जनताको अधिकारका लागि लड्ने भावना जेनजी युवाहरूमा जागृत भएको छ । यही हाम्रो भविष्य हो ।” उहाँको सम्बोधनभर नेतृत्वप्रति व्यङ्ग्य, आत्मविश्वास र नयाँ पुस्ताप्रतिको आशावाद झल्किएको देखिन्थ्यो ।

केपी शर्मा ओलीको व्यक्तिगत स्वार्थविरुद्ध सामूहिक कम्युनिस्ट एकता: भीम रावल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले केपी शर्मा ओलीको अहंकार, सत्ता स्वार्थ र प्रतिक्रियावादी शक्तिसँगको साँठगाँठका कारण नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर क्षतिमा पुगेको आरोप लगाएका छन् । बुधबार राष्ट्रिय सभागृहमा आयोजित एकता–समायोजन कार्यक्रममा बोल्दै रावलले तत्कालीन नेकपा (एमाले र माओवादी केन्द्रको एकता) ओलीकै कारण विघटन भएको बताए । उनले भने, ‘त्यतिबेला नेकपाको दोस्रो केन्द्रीय समितिको बैठक यही हलमा भएको थियो । एक जनाको अहंकार, सत्ताको लिप्सा र विरोधी शक्तिसँगको साँठगाँठका कारण नेकपा ध्वस्त भएको दुःखद क्षण आज पनि सम्झन्छु ।’ रावलले दुई तिहाइको सरकारले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि नै प्रहार गरेको स्मरण गर्दै ओलीमाथि तीव्र प्रहार गरे । उनले भने, ‘दुई तिहाइका प्रधानमन्त्रीले अँध्यारो कोठामा विदेशी गुप्तचरसँग कुराकानी गरेर देशको सार्वभौमसत्तामाथि खेलबाड गरे । सर्वोच्च अदालतले संविधान विपरीत भन्यो, तर उनले फेरि प्रतिनिधिसभा विघटन गरे । यो नेपालको कम्युनिस्ट आन्दोलनमाथिको सबैभन्दा ठूलो गद्दारी हो ।’ ओलीको व्यवहारलाई प्रतीकात्मक रूपमा चित्रण गर्दै रावलले भने, ‘ओली र प्रचण्डले नेकपाको जम्बु जेटलाई उडाउने भनेका थिए । तर क्याप्टेन ओलीले नै त्यो जहाज सेतीको खोँचमा फाले । प्रचण्डले यात्रुहरू बचाउने प्रयास गरे, तर ओलीको अहंकारले जहाज डुबायो । हामी जस्ता सहयात्रीहरूले अन्तिम क्षणसम्म चिच्याएर चेतावनी दिएका थियौँ ।’ त्यतिबेला प्रधानमन्त्रीको कार्यालयमा एकलौटी रूपमा पार्टी बैठक राखेर ९ सय जनाको केन्द्रीय समिति घोषणा गरेको प्रसङ्ग उठाउँदै उनले व्यङ्ग्य गरे, ‘माधव, झलनाथ, वामदेव र म लगायत कसैलाई पनि नबोलाई ओलीले मनपरी ढंगले समिति विस्तार गरे । वाह, कम्युनिस्ट पार्टीका नेता भनाउँदा !’ कार्यक्रमकै क्रममा नेता रावलले राष्ट्रिय सुरक्षाको संवेदनशील विषयमा पनि सरकारको मौनतामाथि प्रश्न उठाए । उनले भने, ‘तीन दिनअघि शक्तिशाली देशको सेनाको ठूलो जहाज सयौँ टन सामान लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो, तर सरकारले किन आयो भन्ने जवाफ दिन सकेको छैन । पारदर्शिताको कुरा गर्ने सरकारले यो विषयमा किन मौनता अपनायो ?’ रावलले यो घटना राष्ट्रिय स्वाधीनता र सुरक्षामाथिको गम्भीर चुनौती भएको बताए । उनले चेतावनी दिँदै भने, ‘राष्ट्रिय सुरक्षाको बेवास्ता गर्दा भदौ २३ र २४ को जस्तो विनाश दोहोरिन सक्छ । अहिलेको नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बेला यही हो ।’ रावलका अनुसार, नेपाली कम्युनिस्ट पार्टीले अब राष्ट्रिय स्वाधीनता, सुरक्षा र जनताको हितका लागि स्पष्ट वैचारिक र राजनीतिक अभियान सञ्चालन गर्ने तयारी गरेको छ । डा. रावलका अभिव्यक्तिहरूले प्रष्ट संकेत गरेका छन्- नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने व्यक्तिवादी प्रवृत्तिको अन्त्य गरेर देशभक्त, जनमुखी र सिद्धान्तनिष्ठ नेतृत्व आवश्यक छ । रावलले ओलीको अहंकारमाथि प्रहार गर्दै नेपाली कम्युनिस्ट पार्टीको एकीकृत र वैचारिक रूपमा दृढ दिशालाई समर्थन गरेका छन् ।

रावलसँगै नेकपा श्रमजीवी समूह पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित

काठमाडौं । नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी (श्रमजिवी) का महासचिव प्रमोद नारायण यादव औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनीहरूलाई पार्टीमा स्वागत गर्दै समायोजनको घोषणा गरिएको हो । यसअघि रावलले नेपाली कम्युनिस्ट पार्टीसँग सात बुँदे सहमति गरेका थिए । उक्त सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका तर्फबाट भीम रावलले हस्ताक्षर गरेका छन् । सहमति हस्ताक्षर पश्चात् राष्ट्रिय सभा गृहमै आयोजित विशेष कार्यक्रममा एकता घोषणा गरिएको हो ।  

प्रचण्डको अपिल: फागुन २१ को निर्वाचनका लागि कात्तिक ३० भित्र मतदाता नामावलीमा नाम दर्ता गराउनुहोस्

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन सबै नागरिकलाई अपिल गर्नुभएको छ। बुधबार बिहान जारी भिडियो सन्देशमार्फत उहाँले नाम दर्ताका लागि पाँच बुँदे तरिका पनि स्पष्ट पार्नुभयो :   प्रमाणपत्रसहित स्थलमा उपस्थित हुनु : जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थलमा नेपाली नागरिकता प्रमाणपत्र लिएर जानुपर्छ। नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक स्थानमा बसोबा‍स गरेको अवस्थामा थप प्रमाणहरू पेस गर्नुपर्छ— (क) बसाइँ सरी आएको प्रमाणपत्र, वा (ख) विवाह गरी आएको हकमा विवाह दर्ता प्रमाणपत्र। यदि जन्म, उमेर वा बासस्थान नागरिकताबाट स्पष्ट नभएमा नाम दर्ता अधिकारीले जग्गाधनी प्रमाणपुर्जा, शैक्षिक योग्यताको प्रमाणपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र माग्न सक्छन्। यी नभएमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडा सिफारिस लिनुपर्छ। फाराम भर्नु : आयोगले तोकेको मतदाता नामावली संकलन फाराम पूर्ण रूपमा भर्नुपर्छ। फोटो खिचाउनु : तोकिएअनुसार फोटो खिचाउनुपर्छ। यसका लागि कुनै शुल्क लाग्दैन। औँला छाप दिनु : औँलाहरूको रेखात्मक छाप दिनुपर्छ। यो विद्युतीय माध्यमबाट संकलन गरिन्छ। अर्धकट्टी सुरक्षित राख्नु : दर्ता सम्पन्न भएपछि कर्मचारीबाट प्राप्त अर्धकट्टीलाई नाम दर्ताको प्रमाणस्वरूप सुरक्षित राख्नुपर्छ। फागुन २१ को निर्वाचनका लागि देशव्यापी रूपमा मतदाता नामावली संकलन भइरहेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कात्तिक ३० गतेसम्म मात्र नाम दर्ता गरिनेछ। नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताले मात्र मतदान गर्न पाउनेछन्। आयोगले कात्तिक ३० भित्रै नाम दर्ता गराउन १८ वर्ष पूरा हुने र नागरिकता प्राप्त सबै नेपाली नागरिकलाई अनुरोध गरेको छ।

नेपाली कम्युनिष्ट पार्टीमा भीम रावल आज समाहित हुने, घोषणा कार्यक्रमलाई तीन नेताले सम्बोधन गर्ने

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी  र भीम रावल नेतृत्वको 'मातृभूमि जागरण अभियान, नेपाल' बीच आज हुन लागेको एकता घोषणा सभामा प्रचण्डसहित तीन नेताले सम्बोधन गर्ने भएका छन्। प्रचण्डको सचिवालयका अनुसार, नेकपासँग मातृभूमि जागरण अभियान समाहित हुने बृहत् पार्टी समायोजन कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह–संयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले सम्बोधन गर्नेछन्। राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा बुधबार दिउँसो २ बजेदेखि कार्यक्रम सुरु हुने नेकपाका नेता गणेशमान पुनले जानकारी दिए। सो अवसरमा रावललाई पार्टीमा नारायणकाजी श्रेष्ठपछिको वरीयता दिने सहमति भएको छ। रावलसँगै पूर्व सांसद प्रकाशबहादुर शाह पनि नेकपामा समाहित हुँदै छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका १० वटा वामघटकबीच यही कात्तिक १९ गते भएको एकतापछि बनेको नेकपाको वरीयताक्रम यसप्रकार छ : पहिलो संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', दोस्रो माधवकुमार नेपाल, तेस्रो झलनाथ खनाल, चौथो वामदेव गौतम, पाँचौँ नारायणकाजी श्रेष्ठ र छैटौँ भीम रावल। नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भई बनेको तत्कालीन नेकपाको ९ जना सचिवालय सदस्यमध्ये अहिले ५ जना नेकपामै छन्— प्रचण्ड, नेपाल, खनाल, गौतम र श्रेष्ठ। त्यतिबेला रावल सचिवालय सदस्य थिएनन्।