अछाममा जीप दुर्घटना : एकजनाको मृत्यु, १४ जना घाइते

अछाम । अछाममा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चौरपाटी गाउँपालिका–५, लुंग्रास्थित आमरुख नजिक आज बिहान जीप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

से१ज ४२९ नंको जीप लुग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते डोटीको पूर्वीचौकी गाउँपालिका–४ का राजेन्द्र खड्काका डेढ वर्षका छोरा इशान खड्काको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले  जानकारी दिए । घाइते १४ जनाको सोही अस्पतालमा  उपचारको भइरहेको प्रहरीले जनाएको छ । रासस

सितापाइलामा श्रीमती र दुई बालिकाको हत्यापछि आत्महत्या गरेकाे खुलासा !

काठमाडौं । काठमाडौंको सीतापाइलामा एक व्यक्तिले श्रीमती र दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको खुलासा भएको छ । सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई बालिकाको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । श्रीमती, छोरी र एक नातिनीहो हत्यापछि उनले आफ्नै ससुरा र सासुलाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्महत्या गर्न लागेको बताएको प्रहरीको भनाइ छ ।  प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी पूर्णिमा कुमारी चन्दले  श्रीमती र दुई बालिकाको हत्यापछि ह्वाइट गुम्बा नजिकै रहेको जंगलमा झुन्डिएको अवस्थामा राजुलाई फेला परेको जानकारी दिइन् । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार घटान बिहान साढे ७ बजे घटेको हो ।

नामिबियाविरूद्ध नेपाल १६८ रनमा अलआउट

काठमाडौं, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाल १६८ रनमा अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ३७।१ ओभरमा अलआउट भयो।  नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे पनि अरु ब्याटर चल्न सकेनन् । कप्तान रोहित पौडेल सहित चार ब्याटरले खाता खोल्न सकेनन् भने ६ ब्याटरले दोहोरो अंकमा रन बनाएनन्।  ६४ बलमा ८ चौका र १ छक्का प्रहार गरेका आसिफले ५८ रन जोडे। आसिफको यो १२औं एकदिवसीय अर्धशतक हो। उनले एकदिवसीय खेलमा एक शतक पनि प्रहार गरेका छ्न। जारी सिरिजमा उनले नेदरल्यान्ड्सविरूद्धको अघिल्लो खेलमा पनि अर्धशतक प्रहार गर्ने क्रममा नटआउट ५४ रन जोडेका थिए। अर्का ओपनर कुशल भुर्तेलले १८ रन जोडे। उनले आसिफसँग ३८ रनको ओपनिङ साझेदारी गरे। उनी सातौं ओभरमा बर्नाल्ड स्कोल्जको एलबिडब्लूको धरापमा परेका थिए। सोहि ओभरमा अनिल साह र अर्को ओभरमा देव खनाल शून्यमा आउट भएपछि नेपाल सुरुमै दबाबमा परेको थियो। नेपालले आठ ओभरमा महत्वपूर्ण तीन विकेट गुमाउँदा ४३ रन जोडेको थियो। खेलमा कप्तान रोहित पौडेल २४ ओभरमा ९ बल खेल्दा शून्यमा आउट भए। त्यसपछि कुशल मल्लले  २६ रन जोड्दा  नेपालको रन केही बढेको थियो। दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी ३४औं ओभरको चार बलको अन्तरमा आउट भए। दीपेन्द्र सो ओभरको दोस्रो बलमा ६ रनमा आउट हुँदा सोमपाल पाँचौ बलमा आउट भए। ३५औं ‌ओभरमा भीम सार्की स्कोल्जबाट बोल्ड भए। यस्तै करण केसीले अन्तिम विकेटको रुपमा आउट हुनुअघि १२ रन जोडे।  बलिङमा स्कोल्जले ४ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ३२ रन खर्चिए। जान निकोलले पनि ४ विकेट लिए। उनले ६.१ ओभरमा ३४ रन खर्चिए। यसअघि पहिलो खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो। अब नेपालले फागुन १३ गते पुनः नेदरल्यान्डसँग खेलेपछि सिरिज सकिनेछ।

काठमाडौंको सीतापाइलामा तीनजनाको शव फेला, हत्याको आशंका

काठमाडौं । काठमाडौंको सीतापाइलामा तीनजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं प्रहरीका अनुसार एकजना महिलासहित दुई बालबालिको शव फेला परेको हो । काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनीहरु तीनजनाकै शव एक घरको कोठाभित्र फेला परेको हा। उनीहरुको हत्याको आशंका गरिएको छ । घटनाको अनुसन्धान गर्न काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको छ ।   

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

दाङ ९ फागुन । दाङको घोराही –तुलसीपुर सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रा ५ प ५४५३ नम्बरको मोटरसाइकल आज बिहान करिब ६ बजे घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकमा दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनक मल्लले जानकारी दिए । प्रत्यक्षदर्शीका अनुसार साइकल चालकलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको थियो । दुर्घटनास्थलमा साइकल भेटिए पनि साइकल चालक पत्ता लागेका छैनन् ।

१३ बुँदे घोषणापत्र जारी गर्दै चलचित्र पत्रकारहरुको राष्ट्रिय भेला सम्पन्न (घोषणापत्र सहित)

हेटौँडा। चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको चलचित्र पत्रकारहरुको पहिलो राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला औपचारिक रूपमा सम्पन्न भएको छ । भेलाले १३ बुँदे घोषणापत्रसमेत जारी गरेको छ । चलचित्र पत्रकारिताका क्षेत्रका विभिन्न पक्षका व्यक्ति तथा संस्थाहरूलाई एक साथ ल्याउन सफल भएको यो भेलामा भेलामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्रकर्मीहरु नरेन्द्र महर्जन, आकाश अधिकारी, दिनेश डिसी, निश्चल बस्नेत, स्वस्तिमा खड्का, केकी अधिकारी,रबिन्द्र सिंह बानियाँ,दयाराम दाहाल,दिनेश डिसी आदि चलचित्रकर्मी तथा देशभरका १५० भन्दा बढी चलचित्र पत्रकारहरुको उपस्थिति रहेको थियो । सहभागी वक्ताहरूले नेपाली चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत परिवर्तन, कानुनी सुधार र सहकार्यको आवश्यकतामा जोड दिएका थिए ।राष्ट्रिय भेला समापन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चलचित्र क्षेत्रको विकासमा काम गर्ने रणनीति निर्माण गरिरहेको बताए । उनले चलचित्रले समाजको विद्यमान अवस्था झल्काउने भन्दै गरिखाने वर्गको पक्षमा चलचित्रले भूमिका खेलेको देखिने धारणा व्यक्त गरे । मुख्यमन्त्री जम्कट्टेलले विगतमा चलचित्र विकास बोर्डको तत्कालिन अध्यक्षसँग दोलखाको डाङ्डुङे डाँडालाई फिल्म सिटी बनाउन पहल सहित बजेट विनियोजन गरेको बताए। तर, विविध कारणले हुन नसकेको उनको भनाई छ । अहिले दोलखाको डाङ्डुङे डाँडा, मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर र धादिङको रुविभ्याली गाउँपालिकालाई फिल्म सिटी बनाउन प्रयास भइरहेको छ । चलचित्र ऐन बनाउन सरकारले ड्राफ्ट निर्माणको चरणमा रहेको समेत मुख्यमन्त्रीले बताए । आगामी प्रदेशसभाको हिउँदे अधिवेशनले उक्त विधेयक पारित गरी ऐनका रुपमा जारी गर्ने सरकारको तयारी रहेको उनको भनाई छ । मिडिया क्षेत्रसँग सम्बन्धित प्रस्ताव राष्ट्रिय समन्वयन परिषदको बैठकमा पेश गरिएको र पत्रकारहरुको सामाजिक सुरक्षा कोषमा सहभागि गराउने प्रक्रिया अघि बढाइएको पनि मुख्यमन्त्रीले जानकारी दिएका छन् । कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको व्यवस्थापनका लागि कानुन निर्माण कार्य अघि बढाएको बताए । उनले लघु चलचित्र निर्माणका लागि कार्यविधि बनाएर कार्यान्वयनको चरणमा रहेको र चलचित्र लेखनका लागि पटकथा लेखन तालिम संचालन गरी सहयोग गरिने बताए । विधागत पत्रकारितालाई प्रोत्साहन गर्न एक महिनाभित्र हाते पुस्तकसहित एप्रिसेशन कार्यशाला सञ्चालन गर्ने सरकारको तयारी रहेको समेत रजिष्ट्रार सापकोटाले बताए । भेलामा चलचित्र ऐन, पत्रकार आचारसंहिता, पर्यटन प्रवर्द्धन लगायतका विषयमा छलफल भएका थिए । चलचित्र संवाद, अन्तरक्रिया, कार्यशाला लगायतका कार्यक्रम पनि भएका थिए । भेलाका आयोजक चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले चलचित्र क्षेत्रको विकास नभए चलचित्रकर्मी र पत्रकार दुवैको अस्तित्वमा खतरा पर्ने बताएका थिए । त्यसकारण सबैले मिलेर यस क्षेत्रको विकासमा लाग्नु पर्नेमा उनको जोड थियो । चलचित्र पत्रकारिता क्षेत्रको विकासका लागि नीति, कानुन र कार्यक्रमका बारेमा छलफल भएको छ । चलचित्र पत्रकार संघको यो भेलाले चलचित्र क्षेत्रको विकासका लागि एक महत्वपूर्ण कदम चालेको छ । अध्यक्ष बलाीमले चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालाले हेटौंडा उपमहानगरपालिका–२, हेटौंडा, मकवानपुर घोषणा पत्र-२०८० जारी गरेको जनाएका छन् । यस्तो छ घोषणापत्र-२०८० १. भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माण गरी हेटौँडासहित समग्र मकवानपुरलाई फिल्म हवको रुपमा विकास गर्न चलचित्र पत्रकार संघ नेपाल सम्बन्धीत सरोकारवाला निकायसँग माग गर्दछ । २. केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले स्थानीय पर्यटकीय ठाउँको पर्यटन प्रवद्र्धनका लागि सिनेमा पर्यटनलाई जोड दिँदै विभिन्न कार्यक्रमहरु तय गर्न तीनै तहको सरकारसँग यो भेला माग गर्दछ । ३. हेटौँडाको विभिन्न आसपासका क्षेत्र र मकवनपुरको चित्लाङ, कुलेखानी, दामन, थाहा, मकवानपुरगढीलगायतका ठाउँमा सिनेमा पर्यटनलाई जोड दिई आवश्यक पुर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहका दुबै सरकारसँग यो भेला माग गर्दछ । ४. नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्न र नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ती तथा सस्थाहरुसँग सहकार्य समन्वय गरी प्रोत्साहन र प्रवद्र्धन गर्न यो भेला सम्बन्धित पक्षसँग माग गर्दछ । ५. विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाउन सम्बन्धित निकायसँग यो भेला माग गर्दछ । ६. अनलाईन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो भेला माग गर्दछ । ७. स्वायत्त चलचित्र उद्योगका लागि समयानुकुल र नेपाली चलचित्रको विकासका लागि प्रभावकारी रुपमा चलचित्र ऐन यथाशक्य संशोधन गर्न यो भेला माग गर्दछ । ८.नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रमहरु तय गर्न यो भेला तीनै तहका सरकार र सम्बन्धीत निकायसँग जोडदार माग गर्दछ । ९. कला, संस्कृती र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरुमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन तथा प्रवद्र्धन प्रचार प्रसार गर्न यो भेला सम्बन्धीत निकायसँग माग गर्दछ । १०. श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि यो भेला माग गर्दछ । ११. सरकारले पत्रकार सम्बद्ध संघ संस्थालाई दिइँदै आएको सहुलियत अनुदान रकम निकै न्यून छ । चलचित्र पत्रकार संघ नेपालले सो अनुदान समेत प्राप्त गर्न सकेको छैन । चलचित्र पत्रकार संघ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकम उपलब्ध गराउन केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारलाई यो भेला माग गर्दछ । १२. हेटौँडाको मकवानपुरगढी, शहिद स्मारक, कुष्माण्ड सरोवर त्रिवेणी धाम, वनस्खण्डी, भुटनदेवी मन्दिर, पाथिभरा, पुष्पलाल पार्क, चिप्लेटी गाउँ, हर्नामाडी मुर्तिपार्क लगायतका ठाउँहरुलाई प्रवद्र्धनका लागि सिनेमामार्फत प्रस्तुत गर्न र त्यसको लागि स्थानीय सरकारले समन्वय र सहुलियतको व्यवस्था गर्न यो भेला माग गर्दछ । १३. संघको प्रथम राष्ट्रिय भेला सम्पन्न गर्न सहयोग गर्नुहुने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सञ्चार रजिष्ट्रार कार्यालय, बागमती प्रदेश सरकारको संस्कृती तथा पर्यटन मन्त्रालय, चलचित्र विकास बोर्ड, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिभिजन, चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखा लगायत सम्पूर्ण संघ संस्था र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरको ७ दिने म्याद

काठमाडौं, ९ फागुन । काठमाडौं महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रबाट हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना निकालेर ७ दिनको अवधिमा ललिता निवास क्षेत्र खाली गरिदिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको हो । बालुवाटारमा रहेको ललित निवासको सरकारी जग्गा व्यक्तिको नाममा किनबेच तथा नामसारी भएको मुद्दामा विशेष अदालतले उक्त जग्गा सरकारको हुने फैसला यही फागुन ३ गते गरेको थियो । ‘विशेष अदालत, काठमाडौंबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको “सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको” मुद्दामा २०८० फागुन ३ गते भएको फैसलाबाट काठमाडौँ महानगरपालिका वडा नं. ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको छ,’ महानगरपालिकाले सूचना प्रकाशन गर्नुपर्ने कारण जनाउँदै भनेको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद– १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत संभार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको छ । विशेष अदालत, काठमाडौँको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाडौँ महानगरपालिका वडा नं. ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ ।’ सार्वजनिक स्थान छोड्ने सम्बन्धमा सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरु सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ ।’ सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने महानगरपालिकाले जनाएको छ । पञ्चायती व्यवस्थामै सरकारले ललिता निवासको करिब २०० रोपनी जग्गा अधिग्रहण गरेको थियो । तर २०४६ सालको जनआन्दोलनपछि नयाँ सरकार बनेपछि राजनीतिक कारणले जफत भएको जग्गा फिर्ता हुने निर्णय गरेको थियो । त्यसक्रममा सुवर्णशम्शेरको परिवार, भूमाफिया र कर्मचारी मिलेर ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीले सफाइ पाएका छन् । यो प्रकरणमा पूर्व सचिवहरू दीप बस्न्यात र छविराज पन्तसहित ८० जनाभन्दा बढीलाई विशेष अदालतले दोषी ठहर गरेको छ । भूमाफिया किटान गरिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई दुई वर्षको कैद सजाय सुनाइएको छ ।

प्रधानमन्त्रीसँग बेलायती विकासमन्त्रीको भेट, प्रचण्डले राखे गोर्खा सैनिकका माग

काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायतका विकासमन्त्री एन्ड्रयू मिचेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो तथा विकासका विविध आयामबारे छलफल भएको थियो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले आगामी वैशाखमा नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा लगानीकर्तालाई नेपालमा पठाउन सहयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले द्विपक्षीय संयन्त्रको वार्ताबाट बेलायती गोर्खा सैनिकको माग सम्बोधन हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यसले सकारात्मक नतिजा दिने बताए । आजै नेपाल र बेलायतबीच ‘ग्रिन ग्रोथ नेपाल’ र ‘नेपाल इन बिजनेस’ सम्बन्धी सम्झौता भएको छ । यसै क्रममा बेलायतका विकासमन्त्री मिचेलले नेपालको सामाजिक–आर्थिक विकासका लागि बेलायतले थप सहयोग गर्ने र जलवायु परिवर्तनका मुद्दामा  सघन सहकार्य गर्न बताए । भेटमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। रूपक सापकोटा, नेपालका लागि बेलायती राजदूत रोव फिन, परराष्ट्र मन्त्रालयलगायत दुवै देशका उच्च अधिकारीको सहभागिता थियो । रासस

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए सपथ

काठमाडौं, ८ फागुन । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भुपेन्द्र भण्डारीले पद तथा गोपनीयताको सपथ लिएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नवनियुक्त अध्यक्ष भण्डारीलाई आज (मंगलवार) सपथ गराए । नेपाल सरकार, मन्त्रिपरिषद्को फागुन ६ गतेको बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।  सो अवसरमा मन्त्री शर्माले राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्न अध्यक्ष भण्डारीलाई आग्रह गरे । अत्यन्त संवेदनशील क्षेत्रको रुपमा रहेको दूरसञ्चार क्षेत्रलाई गुणस्तरीय, सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिंदै उनले त्यसका लागि योजनाबद्ध पहल आवश्यक रहेको बताए। मुलुकको आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य रहेको र त्यसका लागि दूरसञ्चार आधारभूत डिजिटल पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री शर्माले चाँडोभन्दा चाँडो देशका सबै भूभागमा दूरसञ्चार सेवा पुर्याउने गरी काम गर्न सुझाव दिए ।  उनले  सुशासनलाई ध्यान दिन पनि आग्रह गरे । सूचना प्रविधि नयाँ क्षेत्र भएको र यसमा प्रयोग हुने उपकरण तथा प्रणालीको खरिद र जडान प्रक्रियामा अन्य क्षेत्रबाट बढी अनियमिताको गुनासो आउने गरेकाले आगामी दिनमा त्यस्तो स्थिति आउन नदिन प्राधिकरणले विशेष ध्यान दिनुपर्ने उनले स्पष्ट गरे । दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले नेपालको समग्र दूरसञ्चार र सूचना प्रविधि क्षेत्रको गुणात्मक रुपान्तरणमा ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए ।  नवनियुक्त अध्यक्ष भण्डारीले राष्ट्रहित र नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दूरसञ्चार क्षेत्रको बदलिंदो आयाम र आफ्नो दुई दशक लामो सूचना प्रविधि क्षेत्रको अनुभवका आधारमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा योगदान दिने उनले बताए । कार्यक्रमको सहजीकरण मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले गरेका थिए । भण्डारी खुला प्रतिष्पर्धाबाट पाँच वर्षका लागि अध्यक्षमा नियुक्त भएका हुन् । निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि अध्यक्ष पदमा खुला प्रतिष्पर्धाका लागि आव्हान गरिएको थियो । प्रतिष्पर्धाका लागि २५ जनाले आवेदन दिएकोमा सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित सिफारिस समितिले भण्डारी, शैलेन्द्र गिरी र नवीन जिसीको नाम मन्त्रिपरषदमा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले पहिलो नम्बर रहेका भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

गैरआवासीय नेपाली नागरिकताको फाईदा र चुनौति विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं ।  ऐन, कानुन र कार्यविधि समयमा संशोधन नहुँदा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा समस्या रहेको सरोकारवालाहरुले बताएका छन् । एनआरएनए स्कटल्याण्ड राज्य परिषदले आइतवार आयोजना गरेको एनआरएन नागरिकताका फाइदा र चुनौति विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त विचार व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष डा. हेमराज शर्माले विदेशमा ८ प्रकारका नेपालीहरु रहेको बताउँदै विद्यमान नागरिकता सम्बन्धी संवैधानिक प्रावधानले सबै नेपालीलाई नसमेटेको स्पष्ट पारे । उनले गैरआवासीय नेपाली नागरिकता वितरण भए पनि आवश्यक ऐन कानुन संशोधन हुन नसक्दा नागरिकताको बारेमा दुविधा देखिएको जनाए । उनले गैरआवासीय नेपाली ऐन, संशोधन भएपछि मात्र एनआरएन नागरिकताको अधिकार र कर्तव्यका बारेमा कानुनी व्यवस्था हुने जानकारी गराए । मुलुकी देवानी संहिता, संविधानको धारा २९१, राहादनी सम्बन्धी ऐन, मतदानको व्यवस्था, राष्ट्रिय परिचयपत्र लगायतका विषयसँग जोडिएका ऐन कानून सांशोधन नभएसम्म गैरआवासीय नेपाली नागरिकता पूर्ण रुपमा लागू नहुने उनको भनाइ थियो ।  उनले गैरआवासीय नेपालीहरुको सम्पतिको सुरक्षाको लागि एनआरएन सम्बन्धी ऐनमा विशेष व्यवस्था गरिएको जानकारी दिए । डा.शर्माले भने, ‘प्रस्तावित संशोधित ऐनमा विदेशी नागरिकता लिएपछि पनि नेपाली नागरिकताको प्रयोग गरेर जोडेको सम्पति दुई वर्षभित्र स्वघोषणा गरेपछि कानुनी हुने गरी व्यवस्था गर्न लागिएको छ ।’ कार्यक्रममा नेपाली दुतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनालले नेपालको संविधान अनुरुप एनआरएन नागरिकता वितरण सुरु भएता पूर्णरुपमा कानुनी व्यवस्था नहुँदा कार्यान्वयनमा अप्ठ्यारो रहेको बताए । उनले आवश्यक कार्यविधिहरु बनेर आइनसेकाले नेपाली दुतावासले नागरिकताको लागि सिफारिश दिन नसकेको जानकारी गराए ।  उनले सरकारको तर्फबाट प्रष्ट निर्देशन आएपछि दुतावासमार्फत एनआरएन नागरिकताको आवश्यक सहजिकरण गर्ने प्रतिबद्धता जनाए ।   उनले नेपालका केही ऐन, कार्यविधि, नियमावली संशोधनको प्रकृयामा रहेको बारे जानकारी दिए । उनले सबै कानुनी प्रकृया पुरा भएपछि एनआरएन नागरिकता प्राप्त गरेकाहरुले पनि भिसा लिएर जानुपर्ने बाध्यता स्वतः अन्त्य हुने  बताए । एनआरएनए उपाध्यक्ष रामशरण सिमखडाले एनआरएन नागरिकताले आर्थिक, सांस्कृत र सामाजिक अधिकारसहितको नागरिकता प्राप्त गर्ने बताए। उनले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नको लागि आवश्यक प्रकृयाको बारेमा जानकारी गराए । गैरआवासीय नेपाली नागरिकताको लागि संघका सम्पर्क व्यक्ति सरोज दाहालले गैरआवासीय नेपालीको नागरिकताको बारेमा जनचासो बढेको बताए । उनले गैरआवासीय नेपालीहरुको नागरिकता लगायतका मुद्दामा नेपालका राजनीतिक दलहरुको साझा धारणा रहेको बताए ।  कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष हितकाजी गुरुङ, गैरआवासीय नेपाली संघको भूपूगोर्खा सम्बन्धी कार्यदलका संयोजक चन्द्र गुरुङ, काउन्सलर जीत रानाभाट, एनआरएनए यूकेका निवर्तमान उपाध्यक्ष मोहन कार्की लगायतले गैरआवासीय नेपाली नागरिकताको बारेमा जिज्ञासा राखेका थिए ।  गैरआवासीय नेपाली संघ स्कटल्याण्डका अध्यक्ष दिवाकर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनिष खत्रीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम रामप्रसाद कंडेलले सञ्चालन गरेका थिए ।  

अटिजम भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अटिजम भएका विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्न विषेश विद्यालय स्थापना गरिएको बताएकी छिन् । प्रजातन्त्र दिवस २०८० को अवसरमा मंगलबार भरतपुरमा रहेको अटिजम विषेश विद्यालय भरतपुर १० मा भएको शैक्षिक तथा खेलकुद सामाग्री हस्तारण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले अन्य सामान्य बच्चाको भन्दा बढी स्याहार गर्नुपर्ने भएकाले महानगरले पनि अभिभावकत्व गर्न प्रयत्न गरेको उल्लेख गरिन् ।  नेपाल सरकारको मन्यता प्राप्त पहिलो अटिजम विषेश विद्यालय भरतपुर महानगरले स्थापना गरेपनि स्तरोन्ति भने प्रयाप्त रुपमा नभएको प्रमुख दाहालले बताइन्।विगत र अहिले केही परिवर्तन भएपनि गजब्बको परिवर्तन नभएकाले आगामी दिनमा महानगरपालिकाले प्राथामिकतामा राखेर काम गर्ने बताइन्। महानगरपालिकाले महानगरका सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन बालकुमारी सुस्त मनस्थिति विद्यालय, वौद्धिक अपङ्गता भएकालाई नारायणी मावि विषेश कक्षा, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत कक्षा, आमा बुवा नभएकालाई पिटुसिटु र अनाथ विद्यार्थीलाई एसओएसमा अध्ययन गराउन मिलाउने सुविधा मिलाइएको बताइन्। कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले अटिजम भएकालाई राम्रो व्यवहार र विषेश स्याहार गर्नुपर्ने उल्लेख गरे ।अटिजम भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सामाग्रीहरु हस्तान्तरण गरे । विषेश विद्यालयका ४० र बालकुमारीका १३ जना गरी ५३ जनालाई सामाग्री हस्तान्तरण गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए ।

सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम कति ?

काठमाडौं । सेयर बजारको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।  नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा झरेको छ। सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन।  आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेको थियो।  सो दिन ३ अर्ब ७७ करोड  मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँमा खरिदबिक्री भए। आज सामान्य अंकले घटेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले वृद्धि भएको हो। ३१ करोड ७३ लाख ७० हजार ९९८ रुपैयाँको कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। यसैगरी साना किसान विकास वित्तीय संस्थाले १२ करोड,जोशी हाइड्रोपावरले ८ करोड,नगदी ग्रुपले ६ करोड मूल्य बराबरको सेयर कारोबार गरे। १३ उपसमूहमध्ये पाँच उपसमूहको मात्रै सूचक बढ्यो।डेभलपमेन्ट बैंक,फाइनान्स,इन्भेस्टमेन्ट , मनु एण्ड प्रो र अदर्श उपसमूहबाहेक अन्य उपसमूहको सूचक नकारात्मक देखिएका हुन्। कारोबारमा आएका कम्पनीमध्ये ९० वटाको मूल्य बढ्दा १५० को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

केन्द्रीय सदस्यलाई ओलीले भने-'अलिकति बैठकमा अनुशासन राखौँ न हो'

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक जारी छ । आजदेखि च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सोही क्रममा बैठकमा सहभागी सदस्यको मोबाइल बजेपछि अध्यक्ष ओलीले अनुशासनको पालना गर्न निर्देशन दिएका छन् ।  बैठकमा मोबाइल स्वीचअफ गर्न आफूले भनेको भन्दै उनले यसलाई बेवास्ता नगर्न र अनुशासनको पालना गर्न भनेका हुन् । ‘मैले साथीहरुलाई मोबाइल स्वीचअफमा राख्न आग्रह गरेको छु । किन, एकछिन मोबाइल नहुँदा केही हुन्छ र ? मसँग मोबाइल छैन त भएको छ त, चलेको छ त,’ ओलीले कडा स्वरमा भने, ‘कराउन दिने हो, मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि । अलिकति बैठकमा अनुशासन राखौँ न हो ।’  

कपिलवस्तुका तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ८ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट सहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष ०७४/७५ मा गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिमा ठेकेदार समेतले नापजाँच मूल्यांकन परिमाण भन्दा कम काठ उत्पादन संकलन भएको देखाइ वन पैदावार हिनामिना गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको हो । तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक एवम् वन अधिकृत महेन्द्रराज वाग्ले लगायत विरुद्ध मुद्दा दायर भएको छ ।

आरती साहको परिवारलाई न्याय दिलाउन पहल गछौं:  प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानममन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायका लागि पहल गर्ने बताएका छन् ।आज बिहान आरती साहको परिवारसँगको भेटमा उनले सो कुरा बताएका हुन् । आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा साहको परिवार बुधबार बालुवाटार पुगेका थिए । भेटमा परिवारले आफूहरूले न्यायका लागि गर्नु परेको संघर्षबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।  जनकपुरकी आरतीको हत्या भएको परिवारको दाबी छ । परिवारले निरन्तर धर्ना दिएपछि मुद्दा दर्ता भएर उनका श्रीमान् पुर्पक्षका लागि थुनामा समेत गरेका छन् । तर उनको माइती परिवारले पूर्ण न्याय माग गर्दै धर्नामा छन् ।

निर्देशक नवल खड्काद्वारा ‘काँडेतार’ लाई एकल प्रदर्शनको माग

काठमाडौं, ८ फागुन । अभिनेता तथा निर्देशक नवल खड्काले आफ्नो फिल्म ‘काँडेतार’को एकल प्रदर्शनको माग गर्दै चलचित्र विकास बोर्डमा पत्र बुझाएका छन्। चलचित्र विकास बोर्डको नियम अनुसार नै फिल्म प्रदर्शन गर्न लागेको हुँदा अन्य फिल्म प्रदर्शन नगराइदिन उनको माग छ। उनको पत्रमा गत वैशाख ११ गते ‘काँडेतार’ले प्रदर्शन स्वीकृति लिएको र सोही समयमा फागुन २५ गतेलाई रिलिज मिति तोकिएको उल्लेख छ। चलचित्र विकास बोर्डबाट फिल्म ‘काँडेतार’को कथा पहिलो पटक कथा लेखन प्रतिस्पर्धामा चुनिएर पुरस्कृत भएको विषय समेत खड्काले बोर्डलाई लेखेको पत्रमा स्मरण गराएका छन्। बोर्डलाई चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ स्मरण गराउँदै उनले कानुन पालना गराउन सम्बन्धित निकायलाई निर्देशन दिन समेत माग गरेका छन्। उनको पत्रमा भनिनएको छ, ‘चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ बमोजिम चलचित्र विकास बोर्डले चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रमा सोही नियमावलीको नियम ३ को खण्ड ग बमोजिम अनुसुचि ७ बमोजिम इजाजत दिने र उक्त इजाजतपत्रको प्रकरण नं. (च४) प्रदर्शकले स्वदेशी वा विदेशी चलचित्र प्रदर्शन गर्दा चलचित्र जाँच समितिबाट जाँचपास भएको मितिलाई आधार मानि सबैभन्दा पहिले जाँचपास भएको तत् तत् चलचित्रलाई प्रदर्शनको मौका दिनुपर्ने तर कुनै चलचित्रको प्रकृति विशेष किसिमको भई त्यस्तो चलचित्र तत्काल प्रदर्शन गर्न उचित छ भन्ने लागेमा बोर्डले त्यस्तो चलचित्र अगाडिनै प्रदर्शन गर्न स्वीकृत दिन सक्नेछ र सोही इजाजतको प्रकरण नं. (च५) प्रदर्शकले एक दिनमा स्वदेशी र विदेशी चलचित्र प्रदर्शन गर्न नपाउने स्पष्ट ब्यवस्था गरि इजाजत दिएको हुन्छ।’ यहि फागुन २५ गते अभिनेत्री तथा निर्मात्री रेखा थापाको फिल्म ‘उपहार’ र दयाहाङ राई अभिनित ‘रंगेली’ पनि प्रदर्शनमा आउँदैछन्। यो फिल्मको प्रदर्शन रोक्नका लागि नवलले बोर्डलाई पत्र लेखेका हुन्। खड्काले नियम अनुसार अघि बढेको हुनाले आफ्नो फिल्म एकल प्रदर्शनमा आउनुपर्ने जिकिर गरे । ‘देशभक्तिपूर्ण फिल्म काँडेतार आउने भएकाले फागनु २५ गते एक जुगमा एक दिन एक चोटी आउँछ भनेजस्तै हो,’ उनले भने, ‘देशप्रेमीहरू फिल्म हेर्न सलबलाइरहेका छन्। देशविरोधी तत्वहरू चाहिँ सलबलाएर यो फिल्म निस्तेज पार्न, कमजोर पार्न लागि परेका छन्।’