कामदार विवादकाे लागि मलेसियालाई कूटनीतिक नोट पठाइयो

काठमाडौं । परराष्ट्र मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट मलेसियाको परराष्ट्र मन्त्रालयलाई कूटनीतिक नोट पठाइसकेको जनाएको छ ।

श्रम मन्त्रालयले मलेसिया सरकारले नेपालसहितका देशमा रहेका वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्ड तत्काल कार्यान्वयन गर्न नसकिने उल्लेख गर्दै परराष्ट्र मन्त्रालयमार्फत सो नोट पठाएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार श्रम मन्त्रालयबाट आएको कूटनीतिक नोट बुधबार मलेसियाको परराष्ट्र मन्त्रालयमा पठाइएको हो ।

श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले मङ्गलबार पठाइएको पत्रमा मलेसियाले तोकेका सर्त जटिल भएकाले तत्काल लागू गर्न कठिन रहेको र दुई पक्षीय वार्तामार्फत समस्या समाधान गर्न सकिने उल्लेख गरिएको बताए । उनका अनुसार, “सर्त अप्ठ्यारो भएकाले तत्काल कार्यान्वयन सम्भव नभएपछि परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारसँग पत्राचार गरिएको हो ।”

द्विपक्षीय वार्ताबाट समाधान निकाल्न सहजीकरण गर्न श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आग्रहसमेत गरेको छ ।
मलेसिया सरकारले केही दिनअघि नेपालसहित पाँच श्रमिक पठाउने मुलुकका लागि नयाँ नीति लागू गर्दै, १० मापदण्ड पूरा गरेका कम्पनीमार्फत मात्रै श्रमिक लैजाने निर्णय गरेको थियो । ती देशहरूमा नेपालका साथै बङ्गलादेश, भारत, पाकिस्तान र म्यान्मार रहेका छन् ।

मलेसियाले तोकेका मापदण्डअनुसार कम्पनी सिफारिस गर्न स्रोत देशलाई कात्तिक २९ गतेसम्मको समयसीमा दिएको छ ।
तर, ती मापदण्ड पूरा गर्ने कम्पनीको सङ्ख्या निकै कम रहेको र सो व्यवस्था केही सीमित व्यवसायीलाई मात्र फाइदा पुग्ने गरी ल्याइएको आरोप वैदेशिक रोजगार व्यवसायीहरूले लगाएका छन् । उनीहरूका अनुसार, नयाँ मापदण्डले श्रमिकमाथि थप आर्थिक भार पर्नेछ र श्रम कूटनीतिक सम्बन्धमा असन्तुलन ल्याउने जोखिम पनि छ ।
 

बाँकेमा धानखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो

बाँके । बाँके जिल्लामा धानखेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा उत्पादनमा भने वृद्धि भएको छ ।  यस वर्ष ३४ हजार ७११ हेक्टरमा धानखेती गरिएकोमा प्रति हेक्टर ४.६ मेट्रिक टन उत्पादन भई कुल एक लाख ६० हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत खडक बस्नेतले बताए । उनका अनुसार, गत वर्ष ३४ हजार ५०२ हेक्टरमा धान खेती गरिएकोमा प्रति हेक्टर ४.२ मेट्रिक टनका दरले एक लाख ४५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष सुरुदेखिनै अनुकूल मौसमले समयमा रोपाइँ हुनुका साथै वर्षामा क्षति पनि नभएकाले यस वर्ष गत वर्षभन्दा १५ हजार मेट्रिक टन बढी धान उत्पादन हुने भएको छ ।  यसैबिच खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानबाट धान खरिदका लागि मूल्य निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा मङ्लबार बसेको प्राथमिक खरिद समितिको बैठकले मोटा धान प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धानप्रति क्विन्टल  तीन हजार ६२८ रुपियाँ ३३ पैसामा खरिद गर्ने गरी मूल्य निर्धारण गरेको हो ।  मूल्य निर्धारणको काम गरिए पनि आन्तरिक तयारी गरी आइतबारदेखि मात्रै किसानबाट धान खरिद सुरु गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका प्रमुख रामशरण लामिछानेले जानकारी दिए।  उनका अनुसार जिल्लामा यस वर्ष मोटा धान १५ हजार क्विन्टल र मध्यम धान पाँच हजार क्विन्टल किसानबाट खरिद गर्ने निर्णय भएको छ । गोदाम व्यवस्थापनलगायतका अन्य प्राविधिक काम सकेर आइतबारदेखि किसानबाट धान खरिद गर्ने तयारी भएको छ ।  

जेनजी आन्दाेलनमा गाउँपालिकाकाे भवन जलेपछि अस्पतालकै भवनबाट सेवा

सिरहा । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता ल्याउने प्रयास भइरहेको छ । कार्यालय सञ्चालनका लागि अर्को विकल्प नहुँदा गाउँपालिकाले अस्पतालको माथिल्लो तला प्रयोग गरेर सेवा प्रवाह भइरहेको गाउँपालिका अध्यक्ष शिवजी यादवले बताए । उनका अनुसार नयाँ भवन निर्माणाधीन रहेकाले तत्कालका लागि अस्पतालमा नै कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता आएको हो ।  अध्यक्ष यादवले भने, “पुरानो भवन कामै नलाग्ने गरी ध्वस्त भयो । हाल अर्को विकल्प नहुँदा अस्पतालसँग सहकार्य गरेर काम गरिरहेको छौँ । गत वर्षदेखि निर्माण सुरु गरिएको नयाँ प्रशासकीय भवन यसै आर्थिक वर्षभित्र सम्पन्न गर्न दूर्ततगतिमा काम गर्न लगाएका छौँ ।” उनका अनुसार रु सात करोड ९४ लाख १८ हजार ८९० लागतमा नयाँ भवन निर्माणको काम भइरहेको छ । अस्पताल र गाउँपालिका एउटै भवनमा सञ्चालन हुन थालेपछि बिरामीले पाउनुपर्ने स्वास्थ्य सेवामा समस्या भइरहेको छ भने अर्कातर्फ गाउँपालिका कार्यालयका कर्मचारीलाई पर्याप्त स्थान अभावका कारण प्रशासनिक काम गर्न कठिनाइ भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवशरण यादवले बताए । हाल अस्पतालको माथिल्लो तलामा गाउँपालिकाको प्रमुख प्रशासकीय कक्षसहित शिक्षा र स्वास्थ्य शाखा सञ्चालनमा छन् । कोठा अभावका कारण अस्पतालकै माथिल्लो तलामा रहेको न्यायिक समितिको हलमै अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष व्यवस्थापन गरिएको छ । कृषि, राजस्व र पशु शाखा भने कृषि तथा पशुपन्छी सेवा केन्द्रको छुट्टै भवनबाट सञ्चालन भइरहेको छ । अस्पताल प्रमुख उपेन्द्र यादवले गाउँपालिकाको प्रशासनिक कामकाज सञ्चालन हुन थालेपछि अस्पतालका नियमित सेवाहरू प्रभावित भएको बताए । उनले भने, “गाउँपालिकाका सेवाग्राहीको भीडभाडले गर्दा बिरामीलाई स्वास्थ्य सेवा दिन असहज भइरहेको छ । कोठा अभावमा बहिरङ्ग सेवा, प्रसूति सेवा र अस्पतालको प्रशासनिक कामकाज प्रभावित भएकाले नियमित स्वास्थ्य सेवा दिन समस्या देखिएको छ ।” पन्ध्र शय्या क्षमताको अस्पतालमा हाल पाँच शय्या मात्रै सञ्चालनमा छन् । दैनिक एक सय हाराहारी बिरामी उपचारका लागि आउने गरेकाले भीडभाडका कारण स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्न थप चुनौती देखिएको अस्पताल प्रशासनले जनाएको छ ।

युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्न अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्न अन्तरराष्ट्रिय दिवस आज विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।  संयुक्त राष्ट्रसङ्घको आह्वानमा युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने असरप्रति चेतना फैलाउने उद्देश्यले सन् २००१ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।  संयुक्त राष्ट्रसङ्घले दिगो शान्ति स्थापना र द्वन्द्वको रोकथामका रणनीतिहरूमा वातावरणीय सुरक्षालाई महत्वपूर्ण अङ्गका रूपमा समावेश गरेको छ । यो विश्व संस्थाले जीविकाको आधार प्राकृतिक स्रोतसाधन र पारिस्थितिकीय प्रणालीको संरक्षणबाट नै दिगो शान्ति सम्भव हुनेमा जोड दिँदै आएको छ ।  युद्धका क्रममा पानीका मुहान प्रदूषित हुने, बाली डढाइने, वन फँडानी हुने, माटो विषाक्त बन्ने र जनावरको हत्या हुने भएकाले यस्ता गतिविधिले वातावरणमा गम्भीर असर पर्ने गरेको छ ।  युएनइपीका अनुसार बितेका ६० वर्षमा भएका सबै आन्तरिक द्वन्द्वमा काठ, हीरा, सुन, तेलजस्ता बहुमूल्य स्रोतदेखि उर्वर भूमि जमिन र पानीका स्रोतको कम्तीमा ४० प्रतिशत दुरुपयोग भएका छन् ।  यसै अवसरमा दिएको सन्देशमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गुटेरेसले दिगो शान्ति स्थापनाका लागि वातावरणीय सुरक्षा अनिवार्य रहेको भन्दै विश्वका सबै देशलाई जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको दुरुपयोग विरुद्ध एकजुट हुन आग्रह गरे ।  “हामीले पृथ्वीको रक्षा नगरेसम्म मानव सभ्यता सुरक्षित रहन सक्दैन । युद्ध र वातावरणीय विनाशविरुद्ध लड्नु नै दिगो शान्ति र विकासको मार्ग हो”, महासचिव गुटेरेसले भने । 

माैसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।  आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।  

सुनसरीका एक पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

सुनसरी । करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आएका छन् । उनले विसं २०७४ मा स्थापना गरेको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक रु ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएको बताए । घलेले एक बिघा क्षेत्रफलमा खेती गरिरहेका छन्  गुरुङका अनुसार करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एक बिरुवाबाट खेती सुरु गरिएको थियो । सुरुमा फलको बजार मूल्य तथा स्वास्थ्य उपयोगबारे स्पष्ट जानकारी नभए पनि माग र मूल्य वृद्धिसँगै खेती बिस्तार गर्दै लगिएको र हाल यही मुख्य आम्दानीको स्रोत बनेको उनले जानकारी दिए। व्यवसायी गुरुङले भने, “फार्ममा हाल करिब २५० बोट ड्रागन फ्रुट लगाएको छु । अन्य फलफूलले वर्षमा एकपटक मात्र फल दिने भए पनि ड्रागनले वर्षमा नौ पटकसम्म उत्पादन दिन सक्छ । त्यही भएकाले आय स्थिर हुन्छ ।” उत्पादनसँगै बिरुवा बिक्रीबाट पनि आम्दानी हुँदै आएको छ । वार्षिक रूपमा रु चार लाखभन्दा बढीको बिरुवा बिक्री हुने गरेको गुरुङले बताए । पहिले प्रतिबोट रु २०० देखि रु ४०० सम्ममा बिक्री हुने बिरुवा हाल मागअनुसार रु ५० देखि रु ७० मा बिक्री हुने गरेको उनले बताए । ड्रागन फ्रुट भने खुद्रा मूल्य प्रतिकिलो रु ४०० र होलसेलमा रु ३५० मा बिक्री हुने गरेको छ ।  फार्ममा मासिक रु १५ हजार तलबमा दुई जना स्थायी कर्मचारी र दैनिक रु ७०० सय ज्यालादरमा दर्जनभन्दा बढी कामदारले काम पाइरहेका छन् । फल टिप्ने तथा मल हाल्ने याममा कामदार सङ्ख्या अझ बढी हुने गरेको छ । गुरुङले भने, “ फार्म सञ्चालन, मलखाद्य, औजार तथा श्रमिक लागतबापत वार्षिक करिब रु आठ लाख खर्च हुने गरेको छ । गत वर्ष २२ मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष २७ मेट्रिकटनभन्दा बढी उत्पादन भएको छ । उत्पादित फल धरान, इटहरी, इनरुवा, विराटनगर र धेरैजसो काठमाडौँ, पोखरा र हेटौँडासम्म बिक्रीका लागि पठाउने गरेको छु ।” आम्दानी राम्रो भएकाले पछिल्लो समय यस खेतीतर्फ अन्य युवाको पनि आकर्षण बढ्दै गएको छ । अवकाशपछि कृषि उद्यममा लागेका घलेका अनुसार देशमै बसेर कृषि व्यवसायमार्फत राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारी पनि सिर्जना गर्न सकिने सम्भावना छ । हाल सुनसरीको रामधुनी नगरपालिका–७ मा मात्र १० घरधुरीभन्दा बढीले ड्रागन खेती गर्दै आएका छन् । विदेशबाट फर्केका युवाहरू पनि ड्रागन खेतीमा लागिरहेका छन् । रासस

घट्दो आम्दानीकाे चर्को कर मारमा टेलिकम कम्पनी

काठमाडौँ । पछिल्ला सात वर्षमा टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई टेलिकम सेवा प्रदायकको आम्दानी आर्थिक वर्ष २०७४/७५ मा रु ९८ अर्ब ७१ करोड आम्दानी गरेकामा गत आवमा यो रु ७१ अर्ब २१ करोडमा सीमित भएको छ । यो निरन्तर ओरालो लागिरहेको छ । टेलिकमको घट्दो आम्दानीको असर नाफामा देखिएको छ भने नाफा खुम्चिँदा कम्पनीहरूले गर्ने लगानीमा पनि त्यसको असर परेको छ । टेलिकम क्षेत्रका जानकारहरू पछिल्ला वर्षमा आम्दानीको स्रोत बढाउन नसक्दा टेलिकम क्षेत्र सङ्कटोन्मुख भएको दाबी गर्छन् । तत्काल नीतिगत सुधार नगर्ने हो भने यो क्षेत्र समस्यामा पर्ने जानकारहरूको बुझाइ छ । आम्दानी र नाफामा देखिएको सङ्कुचनका कारण ‘फाइभजी’लगायतका पूर्वाधारमा आवश्यक लगानी हुन नसकेको कतिपयको तर्क छ ।  नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेलले दूरसञ्चार सेवालाई अत्यावश्यक सेवाका रूपमा लिनुपर्ने अवस्था रहे पनि नेपालमा भने विलासितापूर्ण वस्तुमा जस्तै कर लगाइएको बताउँछन् । उनका अनुसार हाल दूरसञ्चार कम्पनीमाथि विभिन्न शीर्षकमा कर लगाइएको छ । हाल टेलिकम कम्पनीले कर्पोरेट कर ३० प्रतिशत बुझाउनुपर्छ, जबकि अन्य क्षेत्रलाई यस्तो कर २५ प्रतिशत मात्रै छ । त्यसैले दूरसञ्चार क्षेत्रमा लगाइएको करमा पुनरावलोकन गर्न आवश्यक भएको कँडेलको बुझाइ छ । नेपाल टेलिकमका अनुसार कम्पनीको आम्दानी लगातार ओरालो लाग्नुमा नीतिगत समस्या, ‘ओटिटी’को प्रयोग र चर्को नवीकरण शुल्क हो । त्यसबाहेक पनि नाफा कम हुनाका कारण भने चर्को कर पनि भएको टेलिकमको भनाइ छ ।  टेलिकमका अनुसार कम्पनीले आव २०८१/८२ मा रु ३८ अर्ब ७३ करोडमध्ये नाफा जम्मा रु दुई अर्ब ६६ करोड गरेको छ । अघिल्लो आवमा कम्पनीले रु ६ अर्ब २३ करोड नाफा आर्जन गरेको थियो । कम्पनीको नाफा सङ्कुचन हुनुमा आम्दानीको ठुलो हिस्सा ‘जिएसएम’ अनुमतिपत्र नवीकरणका लागि खर्च भएको थियो । कम्पनीले गत आवमा रु २० अर्ब नवीकरणमा खर्च गरेको थियो भने त्यसबाहेक विभिन्न शीर्षकका करमा बुझाउनु पर्दा नाफामा उल्लेख्य कमी आएको हो ।  टेलिकम सेवा प्रदायक एनसेलका अनुसार टेलिकम क्षेत्र अधिक कर तिर्नेमा पर्छ । केही समयअघि एनसेलका पूर्वप्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले टेलिकम कम्पनीले ठुलो हिस्सा कर र शुल्कका नाममा सरकारलाई बुझाउनु पर्दा नाफामा असर परेको बताएका थिए । उनका अनुसार नेपालका टेलिकम सेवाप्रदायकले औसतमा आम्दानीको ५० देखि ६० प्रतिशतसम्म सरकारलाई कर र शुल्कका रूपमा तिरिरहेका छन् । करको यो अनुपात तुलनात्मक रूपमा अन्य देशको तुलनामा उच्च हो । त्यति मात्रै होइन, नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा टेलिकम क्षेत्रको योगदान पनि घट्दै गएको छ । हाल जिडिपीमा टेलिकम क्षेत्रको हिस्सा एक दशमलव दुई प्रतिशत मात्र छ । यो कुल राजस्वको तीन दशमलव चार प्रतिशत हिस्सा हो । एनसेलका अनुसार टेलिकम कम्पनीले हाल सुर्ती र मदिरा उद्योगको तुलनामा तीन गुणा राजस्वमा योगदान गरिरहेका छन् । यस्तै, एनसेलले आव २०८१/८२ मा रु ३२ अर्ब ४८ करोड आम्दानी गरेको थियो, जसमध्ये कर तथा विभिन्न १३ शीर्षकमा रु १६ अर्ब ९८ करोड सरकारलाई बुझाएको छ । यो शुल्क आम्दानीको ५२ प्रतिशत बराबर हो ।  एनसेलले आफ्ना विवरणमा उल्लेख गरेको छ, “घट्दो आम्दानी र चर्को शुल्कका कारण हामीले अपेक्षाकृत रूपमा थप लगानी गर्न नपाएको अवस्था छ । हामीले नयाँ बन्न लागेको दूरसञ्चार ऐनको मस्यौदामा पनि करका शीर्षक र दर पुनरावलोकनका लागि सुझाव दिएका छौँ, टेलिकम क्षेत्रमा लगाइएको करको दर नघटाउने हो भने टिक्न गाह्रो हुने अवस्था छ ।”  एनसेलले गत आवमा मात्रै जिएसएम लाइसेन्स, आइएसपी लाइसेन्स, टिएससी, ओटी, नेट भ्याट पेमेन्ट अन सेल्स, भन्सार शुल्क, टिडिएस, एड्भान्स कर, रोयल्टी, आरटिडिएफ, फ्रिक्वेन्सी शुल्क, समाजसेवा तथा अन्य शीर्षकमा करिब रु १७ अर्ब बुझाइसकेको जनाएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आव २०८०/८१ मा टेलिकम कम्पनीहरूले रु ६८ दशमलव पाँच अर्ब आम्दानी गरेका थिए भने रु ३७ दशमलव सात अर्ब कर र शुल्कका रूपमा सरकारलाई बुझाएका थिए ।  हाल टेलिकम कम्पनीहरूले आम्दानीबाट १३ प्रतिशत मूल्य अभिवृद्धि करसँगै १० प्रतिशत टेलिकम सेवा शुल्क, चार प्रतिशत रोयल्टी, दुई प्रतिशत ग्रामीण टेलिकम विकास कोष, दुई प्रतिशत स्वामित्व कर (सिम कार्ड तथा ल्यान्डलाइनमा) र विभिन्न शुल्क तथा अग्रिम कर तिर्दै आएका छन् ।  अन्तर्राष्ट्रिय अभ्यास हेर्दा एसिया–प्यासिफिकका १० देशहरूको तुलनामा नेपालले सबैभन्दा उच्च कर दर अपनाएको जानकारहरू बताउँछन् । चीनमा टेलिकम कम्पनीले छ प्रतिशत भ्याट र २५ प्रतिशत कम्पनी कर बुझाउनुपर्छ भने भारतमा १८ प्रतिशत जिएसटी र २५ प्रतिशत कम्पनी कर, थाइल्यान्डमा सात प्रतिशत भ्याट र २० प्रतिशत कम्पनी करको प्रावधान छ ।   जिएसएमए मोबाइल कनेक्सन इन्डेक्स, २०२३ अनुसार नेपाल ११९औँ स्थानमा छ । रिपोर्ट’मा भनिएको छ, “जहाँ टेलिकम कम्पनीलाई कम कर तिर्नुपर्छ, त्यहाँ लगानी, नेटवर्क बिस्तार र सेवा गुणस्तर उच्च हुन्छ ।”  विश्व बैङ्क र अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घका अध्ययनमा पनि ब्रडब्यान्ड पहुँचमा हरेक १० प्रतिशत वृद्धि हुँदा देशको आर्थिक वृद्धिदर एक दशमलव तीन प्रतिशतले बढ्ने उल्लेख छ ।  हाल टेलिकम कम्पनीबाट लिइँदै आएको १० प्रतिशत टेलिकम सेवा शुल्क, दुई प्रतिशत स्वामित्व कर, चार प्रतिशत रोयल्टी र दुई प्रतिशत ग्रामीण टेलिकम विकास कोष जस्ता क्षेत्र–विशेष करहरू पूर्ण रूपमा हटाउन आवश्यक भएको सम्बद्ध पक्षको भनाइ छ । यस्तै, हाल ३० प्रतिशत रहेको कर्पोरेट कर दर घटाएर २५ प्रतिशतमा झार्न र पाँच वर्षका लागि रु २० अर्ब रहेको लाइसेन्स शुल्कलाई कम्पनीको वार्षिक आम्दानीको आठ प्रतिशतमा सीमित गर्नका लागि नेपाल टेलिकमले दूरसञ्चारको ऐनको मस्यौदामा सुझावसमेत दिएका जनाइएको छ ।

माधव नेपालले भने-जेनजी साथीहरु आउनुहोस्, हातेमालो गरौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्तालाई पार्टीसँग हातेमालो गरेर अघि बढ्न आह्वान गरेका छन् । बुधबार कम्युनिस्ट पार्टी एकता घोषणा सभामा बोल्दै उनले भने, “आजमात्रै जेनजी पुस्ताका वार्तामा रहेकाहरूमध्ये केही युवा साथीहरूलाई पार्टीमा स्वागत गर्यौं । अरु जेनजी साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु, आउनुहोस्, हामीसँग हातेमालो गर्दै अघि बढ्नुस् ।” उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र समाजवादको मार्गमा हातमा हात मिलाएर अघि बढ्न जोड दिएका छन् । “सुशासनको पक्षमा होस् वा भ्रष्टाचार नियन्त्रणको हुरा होस्, समाजवादको दिशामा अघि बढ्ने कुरा होस्, वा समाजमा रहेका विकृति र विसंगतिका विरुद्धमा लड्ने कुरा होस्, यी सबैमा हामी तपाईंहरूसँग हातेमालो गर्न चाहन्छौं,” नेपालले भने ।  पार्टी एकता र सहकार्यको सन्देशलाई बल दिँदै यो अपिल सबै जेनजीहरूका लागि साझा कदमको संकेत बनेको छ । नेपालले भारत र चीनमा कम्युनिस्ट पार्टीको नाम नियाल्दै आफूहरूले नवगठित पार्टीको नाम घोषणा गरेको सुनाएका छन् । बुधबार कम्युनिस्ट पार्टी एकता घोषणा सभामा सम्बोधन गर्ने क्रममा नेपालले पार्टीको नाम राख्न वृहत छलफल भएको बताए । ‘यो नेपाली कम्युनिस्ट पार्टी, हामीले सोचेका थियौं, पार्टीको नाम के राख्ने ? नेकपा समाजवादी राख्ने कि हाम्रो राजु कार्की कमरेडको । सबै समाजवादी कुन समाजवादी कुन समाजवादी ? अनि नेपाली कम्युनिस्ट राख्ने कि ?,’ नेपालले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टी भन्छन्, भारतीय कम्युनिस्ट पार्टी भन्छन् । भनेपछि हामीले नेपाली कम्युनिस्ट पार्टी किन नभन्ने ?’ अनि चम्किलो तारालाई चुनाव चिन्ह राखिएको बताए । ‘तारा चम्किलो चिन्ह किन नलिने । वृहत छलफलपछि हामी यो दुईवटा निष्कर्षमा पुगेका हौं,’ उनले भने ।  

एकता घाेषणा समाराेहबाट नेपाली कम्युनिस्ट पार्टीका ९ प्रस्ताव पारित

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले एकता सम्बन्धी ९ वटा प्रस्ताव पारित गरेको छ । बुधबार भृकुटीमण्डपमा आयोजित संयुक्त सम्मेलनबाट निर्णय भएको ९ वटा प्रस्ताव नेता वर्षमान पुनले पढेर सुनाएका हुन् । संयुक्त राष्ट्रिय सम्मेलनले घोषणापत्र र अन्तरिम विधान २०८२ पनि अनुमोदन गरेको छ । प्रस्तावहरू : १. एकता प्रक्रियामा सहभागीहरूले नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको छ । २. निर्वाचन चिन्ह पाँच कुने तारा राखिने निर्णय गरिएको छ । ३. एकतामा सहभागी सबै पार्टीका सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य निर्णय गरेको छ । ४. एकतामा सामेल सबै पार्टी नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र सङ्गठनात्मक समायोजनकाे काम गर्ने, यस अगाडी सबै घटकका केन्द्रीय समिति समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरेको छ । ५. केन्द्रीय समितिलाई पूर्णता दिने र संरचनागत समायोजनसम्बन्धी अख्तियारी संयोजक र सहसंयोजक निर्वाचित भएपछि संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ । ६. विगतमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि हुनेछ । ७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल, अचल, बैङ्क सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिस्ट पार्टीको हुनेछ । ८. नेपाली कम्युनिस्ट पार्टीको अन्तरिम विधान र घोषणा पत्र प्राप्त सुझावका आधारमा समेटेर सर्वसम्मति अनुसार पारित गरिएको छ । ९. नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट अन्तरिम विधान पारित गरिएको छ ।

आजको एकता कम्युनिस्ट आन्दोलनको समग्र एकीकरण र पुनर्गठनको प्रस्थानविन्दु हुनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले आजको पार्टी एकता घोषणा कम्युनिस्ट आन्दोलनको समग्र एकीकरण र पुनर्गठनको प्रस्थानविन्दु बन्नुपर्छ बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सभामा बोल्दै उनले भने, “यो पार्टी एकता नेपाली कम्युनिस्ट आन्दोलनको समग्र एकीकरण र पुनर्गठनको प्रस्थानविन्दु बन्नुपर्छ । आजको एकता घोषणामा पार्टीभित्रका कतिपय साथीहरू अझै बाहिर हुनुहुन्छ, उनीहरूलाई पनि यसमा ल्याउनुपर्छ ।” श्रेष्ठले सच्चा लोकतन्त्रवादीहरूसँग संयुक्त एकताको पहल गर्नुपर्ने पनि जोड दिए । उनले भने, “हामीले अहिलेको संविधान, लोकतन्त्र र राष्ट्रियताको अवस्थालाई ध्यानमा राख्दै सच्चा लोकतन्त्रवादीहरूसँग संयुक्त एकताको पहल गर्नुपर्छ। वैचारिक र सांस्कृतिक मतभेदहरूलाई पनि समाधान गर्नुपर्नेछ ।”

क्रान्ति नयाँ पुस्तामा सुम्पिनु अघि प्रचण्डको नेतृत्व महत्वपूर्ण : प्रेमबहादुर सिंह

काठमाडौं । एकतामा सामेल भएका नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले मुलुकको क्रान्तिकारी कार्यभार नयाँ पुस्तालाई हस्तान्तरण गर्नु अघि पुष्प कमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वमा सबै क्रान्तिकारी कम्युनिष्ट तथा प्रगतिशील देशभक्तहरूलाई एकठाउँमा ल्याउनु महत्वपूर्ण रहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सिंहले भने, “हाम्रो पुस्ताले लामो संघर्ष सम्पन्न गरिसकेको छ। अब बाँकी क्रान्तिकारी कार्यभार पूरा गर्न नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु अघि प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा ऐतिहासिक क्षणमा उभिएका छौं ।” उनले वर्तमानमा मुलुकमा दलाल पुँजीवाद र अन्य बाधाहरू अझै प्रभावकारी रहेको उल्लेख गर्दै, सबै क्रान्तिकारी शक्तिहरूलाई जोडेर समाजवादको लक्ष्यतर्फ अगाडि बढ्नु पर्ने बताए ।

प्रहरी आन्तरिक प्रतिवेदन: जेनजी प्रदर्शनपछि ९८ हजार भन्दा बढी गोली हराएको पुष्टि

काठमाडौं । भदौ २३–२४ मा काठमाडौं उपत्यका र उपत्यका बाहिर भएको जेनजी प्रदर्शनपछि प्रहरीले ठूलो मात्रामा गोली र हतियार हराएको आन्तरिक छानबिनमा पुष्टि भएको छ ।  प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समिति द्वारा तयार गरिएको प्रतिवेदन आईजीपी चन्द्रकुवेर खापुङलाई बुझाइएको छ । छानबिन अनुसार, जेनजी प्रदर्शनपछि करिब ९८ हजार धातुको राउण्ड (जङ्ग्री राउण्ड) रेकर्डमा नभेटिएको देखिएको छ। काठमाडौं उपत्यकाबाट मात्र करिब ६ सय राउण्ड गोली हराएको प्रतिवेदनमा उल्लेख छ । प्रदर्शनकारीले डमी राउण्ड समेत लुटेको पाइएको छ। करिब २ हजार २०० डमी राउण्ड रेकर्डमा छैन । त्यस्तै, जेनजी आन्दोलनपछि फायर गरिएको बाहेक १३ सय रबर बुलेट, २ हजार ८ सय अश्रुग्याँस सेल, र १७ सय म्याग्जिन (गोली राख्ने भाँडो) हराएको विवरण प्रतिवेदनमा संकलन गरिएको छ । प्रहरीले प्रदर्शन नियन्त्रणका लागि करिब ६५ सय राउण्ड गोली, २५ सयभन्दा बढी रबर बुलेट, २५ सय भन्दा बढी ब्ल्याङ्क राउन्ड, र ८ हजार अश्रुग्याँस सेल प्रहार गरेको छ । काठमाडौं उपत्यकामा मात्र ४ हजार अश्रुग्याँस सेल प्रहार भएको थियो । प्रदर्शनपछि करिब ३५ सय राउण्ड गोली र २ सय अश्रुग्याँस सेल बरामद भएको छ । आन्तरिक प्रतिवेदन अनुसार करिब १२ सय हतियार हराएकोमा ७४७ थान भेटिएको छ । तर, प्रहरीका अनुसार अझै ४५३ हतियार बाहिर रहेका छन् । एकजना उच्च प्रहरी अधिकृतका अनुसार, बानेश्वरसहित देशभर प्रदर्शनकारी भगाउन प्रयोग भएका सामग्रीहरूमा ठूलो मात्रा हराइरहेको अवस्था छ ।

नेपाली कम्युनिस्ट पार्टीकाे एकता घोषणा सभा (फाेटाे)

काठमाडाैं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ राजनीतिक दल तथा समूहबीच एकता घोषणा कार्यक्रम जारी छ । यस एकताबाट गठित नयाँ पार्टीको नाम 'नेपाली कम्युनिष्ट पार्टी' राखिने र निर्वाचन चिह्न 'तारा' अनुमाेदन हुनेछ ।  एकीकरणमा सहभागी प्रमुख दलहरूमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव समूहबाट अलग भएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी,  नेकपा साम्यवादी, गोपाल किराँती नेतृत्वको समूह (माओवादी केन्द्रसँग विलय) छन् । 

कम्युनिस्ट आन्दोलन नयाँ मोडमा, हामी नयाँ ठाउँमा उभियौँ: वर्षमान पुन

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कम्युनिस्ट आन्दोलन अब नयाँ मोडमा पुगेको बताएका छन्   बुधबार काठमाडौंको भृकुटीमण्डपमा विभिन्न कम्युनिस्ट समूहबीच हुन लागेको एकता घोषणा सभामा उनले यस्तो बताए । उनले लोकतन्त्रको नाममा कुनै तानाशाही, व्यक्तिवादी वा निरंकुश शासन स्वीकार्य नहुने र त्यसको विकल्प नभएको पनि बताए ।

नेपाली कम्युनिस्ट पार्टीकाे घोषणा कार्यक्रममा झलनाथ खनाल पनि उपस्थित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि नेकपा माओवादी केन्द्रसहितको एकता घोषणा सभामा सहभागी भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा केहीबेरअघि विभिन्न कम्युनिष्ट घटकबीच एकताको प्रक्रिया सुरु भएको थियो । यसै कार्यक्रममा खनाल पनि उपस्थित भएका हुन् । खानालले पार्टीले माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकबीच गर्ने भनिएको एकताको निर्णयप्रति पहिले आपत्ति जनाएका थिए । उनले नयाँ दल दर्ता गर्ने संकेतसमेत दिएका थिए । तर अन्ततः उनले प्रचण्ड–माधवसहितको एकतामा सहभागी हुने निर्णय गरेका छन् । साथै, यसअघि हिजो मात्र खनाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पनि पुगेका थिए ।    

भृकुटीमण्डपमा पार्टी एकता कार्यक्रम सुरु, प्रचण्डको संयोजकत्वमा बन्नेछ नेपाली कम्युनिष्ट पार्टीको कार्यसमिति

काठमाडौं – नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ राजनीतिक दल तथा समूहबीच एकता घोषणा कार्यक्रम सुरु भएको छ। यस एकताबाट गठित नयाँ पार्टीको नाम 'नेपाली कम्युनिष्ट पार्टी' राखिने र निर्वाचन चिह्न 'तारा' प्रस्ताव गरिएको छ। एकतामा सहभागी दलहरूले भृकुटीमण्डपमा विशेष सभा आयोजना गरी एकीकरण औपचारिक रूपमा घोषणा गर्ने कार्यक्रम सुरु भएको हो। यो सभालाई एकतामा सामेल सबै दलहरूको संयुक्त बैठकको रूपमा लिइएको छ। एकीकरणमा सहभागी प्रमुख दलहरू नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी जनसमाजवादी पार्टी नेपाल समाजवादी पार्टी विप्लव समूहबाट अलग भएको नेकपा नेकपा समाजवादी नेकपा माओवादी समाजवादी नेकपा साम्यवादी गोपाल किराँती नेतृत्वको समूह (माओवादी केन्द्रसँग विलय) यो एकीकरण पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा हुन लागेको हो। राजनीतिक विश्लेषकहरूका अनुसार, यसले वामपन्थी शक्तिहरूको एकीकरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। एकतापछि नयाँ पार्टीको संगठनात्मक संरचना र नेतृत्व चयनबारे थप छलफल हुने बताइएको छ। एकतापछिको पार्टीको नेतृत्व प्रचण्डले गर्ने सहमति भएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यस पार्टीका सहसंयोजक बन्नेछन्।