प्रचण्डको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टी गठन हुँदै; ९ दल एकीकरणमा सहभागी

काठमाडौं – नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ राजनीतिक दल तथा समूहबीच आज एकीकरण घोषणा हुँदैछ। यस एकताबाट गठित नयाँ पार्टीको नाम 'नेपाली कम्युनिष्ट पार्टी' राखिने र निर्वाचन चिह्न 'तारा' प्रस्ताव गरिएको छ।

एकतामा सहभागी दलहरूले आज दिउँसो १ बजे भृकुटीमण्डपमा विशेष सभा आयोजना गरी एकीकरण औपचारिक रूपमा घोषणा गर्ने कार्यक्रम छ। यो सभालाई एकतामा सामेल सबै दलहरूको संयुक्त बैठकको रूपमा लिइएको छ।

एकीकरणमा सहभागी प्रमुख दलहरूमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव समूहबाट अलग भएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादी छन्। यसबाहेक, गोपाल किराँती नेतृत्वको समूह पनि माओवादी केन्द्रसँग विलय भई एकतामा सामेल भएको छ।

यो एकीकरण पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा हुन लागेको हो। राजनीतिक विश्लेषकहरूका अनुसार, यसले वामपन्थी शक्तिहरूको एकीकरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। एकतापछि नयाँ पार्टीको संगठनात्मक संरचना र नेतृत्व चयनबारे थप छलफल हुने बताइएको छ।

एकतापछिको पार्टीको नेतृत्व प्रचण्डले गर्ने सहमति भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यस पार्टीका सहसंयोजक बन्नेछन् । 

बाजुरा पाँडीका किसानलाई सिमी भित्र्याउने चटारो

बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको पाँडीका किसान सिमी भित्र्याउने चटारोमा परेका छन्। वैशाख–जेठ महिनामा पाखो जमिनमा लगाइएको सिमी पाकेपछि वर्षाको पानीले भिजाउँछ कि भन्ने डरले उनीहरूलाई समयमै भित्र्याउने हतारो लागेको हो । पछिल्लो समय पाँडीका किसानहरू प्रायः सिमी खेतीमै आकर्षित भएका छन् । दालका रूपमा प्रयोग हुने यो सिमी स्वास्थ्यका लागि निकै उपयोगी भएकाले यसको माग पनि बढ्दै गएको छ । स्थानीय जुना रोकायाका अनुसार माग बढेपछि किसानले सिमी खेतीको क्षेत्र विस्तार गर्न थालेका छन् । “कोदोसँगै सिमी पनि पाकेको छ,” उनले भनिन्, “कात्तिकमा पानी पर्ने सम्भावना भएकाले अहिले सबै किसान सिमी भित्र्याउन व्यस्त छन् ।” उनका अनुसार पाँडीमा उत्पादन हुने सिमी अर्गानिक हुन्छ । भेडा–बाख्राको पिसाब र गोठको मल प्रयोग गरेर सिमी उत्पादन गरिने भएकाले यसको स्वाद र गुणस्तर दुवै राम्रो हुने स्थानीयको विश्वास छ । यसै कारण पछिल्ला वर्षहरूमा गाउँमै व्यापारीहरू सिमी किन्न आउने गरेका छन् । पाखो जमिनमा राम्रो फल्ने भएकाले किसानले प्रायः कोदोसँगै सिमी खेती गर्छन् । पहिला यो सिमी फाट्टफुट्ट रूपमा मात्रै जिल्लाको मार्तडी बजारसम्म पुग्थ्यो र मुख्यतः कर्मचारीहरूले किन्थे । तर अहिले सडक विस्तारसँगै सिमी जिल्लाबाहिरका बजारसम्म पुग्न थालेको छ । पहिला आत्म–उपभोगका लागि मात्रै सिमी लगाउने किसान अहिले बजारमुखी उत्पादनतर्फ उन्मुख भएका छन् । अहिले एक परिवारले औसतमा दुई क्विन्टलभन्दा बढी सिमी उत्पादन गर्न थालेका छन् । बाजुरामा सिमीलाई मुख्य दालका रूपमा प्रयोग गरिन्छ र यसको उत्पादन पनि उल्लेखनीय छ । हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लका अनुसार सिमी खेतीले स्थानीयको आयआर्जनमा टेवा पुग्ने सम्भावना बढेको छ, त्यसैले गाउँपालिकाले किसानलाई यस खेतीमा उत्प्रेरित गर्दै आएको छ । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर र बुढीनन्दा लगायतका स्थानमा सिमी राम्रो उत्पादन हुन्छ, तर हालसम्म कति क्षेत्रफलमा सिमी खेती भइरहेको छ भन्ने यकिन तथ्यांक उपलब्ध छैन ।

आजकाे माैसम: आज यी चार प्रदेशमा वर्षासहित हिमपात

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।  आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपात तथा बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपात तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेसनल लाइफ इन्स्योरेन्सको एक करोड सहयोग

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपियाँ सहयोग गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा पुगेको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि कम्पनीले उक्त सहयोग उपलब्ध गराएको हो । एक करोड रुपियाँ बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले मङ्गलबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् । कम्पनीका अनुसार यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको हो । नियामक निकायको निर्देशनअनुसार कम्पनीले प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन तथा वातावरण संरक्षणलगायत क्षेत्रमा पनि सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे । उनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

सहर छाडेर डाँडामा भेडापालनमा रमाउँदै आस्मन

म्याग्दी । धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन पुर्जा मगर प्रायः भेडीगोठमै भेटिन्छन्। हिउँदमा बेँसी र बर्खामा बुकीका खर्कमा घुम्ती गोठमा भेडाबाख्रा गोठालो गर्नु उनको दैनिकी हो। केही वर्षअघिसम्म रोजगारीको खोजीमा सहरमा भौँतारिएका पुर्जा अहिले भेडापालनमै आफ्नो भविष्य खोजिरहेका छन्। कक्षा ९ सम्म मात्रै पढेका आस्मनले पोखरा, नयाँपुल र बेनीमा रेष्टुरेन्टमा काम गरे। ती सबै काम छाडेर उनी गाउँमै भेडापालन गर्न फर्किएका हुन्। पुर्जाले भने, ‘आफ्नै माटोमा सम्भावना छन् भन्ने लागेर भेडापालन सुरु गरेको हुँ। मेरो स्वदेशमै आत्मनिर्भर बन्ने सपनालाई आर्थिक लगानीको जरुरी थियो, त्यही बेला कोरियामा रहनुभएका साथी अनिल पाइजाले साथ दिनुभयो र यो सम्भव भएको हो।’ किसानी मावि बिममा पढ्दाका सहपाठी अनिलले भेडापालनका लागि सुरुआती लगानी गरिदिएपछि उनको भेडापालन गर्ने सपना पूरा भएको हो। भेडापालनमा करिब रु १३ लाख लगानी गरेका पुर्जालाई साथी अनिलले मात्रै करिब रु ६ लाख सापटी दिएका छन् भने बाँकी रकम उनले आफैँले जुटाएका छन्। उनको गोठमा हाल करिब १०० भेडा छन् र यो सङ्ख्या थपिने क्रममा छ। यही याममा मात्र उनका करिब २५ भेडा ब्याउने तयारीमा छन्। निकट भविष्यमा भेडाको सङ्ख्या बढाएर भेडीगोठलाई आम्दानीको मुख्य स्रोत बनाउने पुर्जाको योजना छ। जेठदेखि असोजसम्म जिरबाङ पिक, बुकी र मूलखर्कका हरियालीमा राखिने भेडीगोठलाई हिउँद लागेपछि सिङकोस गाउँ वरपर झारिन्छ। स्थानीय बासिन्दाले देवीदेवताको भाकल पूरा गर्न 'साँढ' (पारा) ले पूजा गर्ने चलन भएकाले भेडीगोठमा उत्पादन भएका साँढका लागि बजारको अभाव छैन। खसी भने मासुका लागि गाउँलेहरूले गोठमै पुगेर खरिद गर्छन्। ‘बुबाले पनि घुम्तीगोठमा भैँसीपालन गर्नुभएको हो, सानोमा पनि म दाइहरूसँग गोठमा बसेको थिएँ, आफ्नै पुर्खाको माटोमा पसिना बगाउन पाइरहेको छु,’ उनले भने। पुर्जाको यो भेडापालनले युवाहरूले विदेशमा गएर मात्र सम्भावना खोज्नु पर्दैन, आफ्नै गाउँमा पनि अवसरहरू छन् भन्ने सन्देश दिएको स्थानीयवासी बताउँछन्। उनको परिवारमा बुबा मनलाल (७१ वर्षीय) ले अझै चोयाको डोको, डालो बुन्छन् भने दुई छोराले बाख्रापालन, एक छोराले गोठमा भैँसीपालन र अन्य दुई छोराले गाउँमा च्याउ, टुसालगायत बिक्री गरेर जीविकोपार्जन गरिरहेका छन्।

मुस्ताङमा पहिलोपटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण

मुस्ताङ । यहाँको माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलोपटक पर्वतारोहण भएको छ ।  दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नाभेम्बर २ तारिखमा ६२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ । यहाँको माथिल्लो मुस्ताङ स्थित ‘छुआमा’ हिमाल लोमान्थाङ गाउँपालिका–४ स्थित नाम्डो गाउँबाट माथिको ५४८० मिटर उचाइको छुआमा आधार शिविर हुँदै चढ्नुपर्ने हुन्छ । दक्षिण कोरियाली पर्यटक डोङजिन, नाम्योङ र ह्निचुलसहित पाँच जना नेपाली पर्यटक गाइडहरूले छुआमा आधार शिविर हुँदै ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । पहिलोपटक उपल्लो मुस्ताङमा अवस्थित तीन वटा छुआमा शिखरमध्ये छुआमा तेस्रो शिखरको आरोहण गरी कोरियाली टोली त्यहाँबाट लोमान्थाङ फर्किएको एक्याप लोमान्थाङ प्रमुख पौडेलको भनाइ छ । नोभेम्बर २ तारिखको बिहान २ः०० बजे ‘छुआमा’ आधार शिविरबाट प्रस्थान गरेको पर्वतारोहण टोली १० घण्टापछि छुआमा शिखरमा पुगेको थियो । यहाँको उपल्लो मुस्ताङबाट पहिलो पटक विदेशी नागरिकले ‘छुआमा’ हिमालको पर्वतारोहण गरेको एक्याप लोमान्थाङले जनाएको छ । यसअघि ‘छुआमा’ हिमाल पर्वतारोहणका लागि अक्टोबर १८ तारिखमा ट्रेकिङ क्याम्प नेपालको टोलीले स्थलगत निरीक्षण गरेको थियो । पहिलो पटक यहाँको छुआमा हिमालको सफलतापूर्वक पर्वतारोहण गरी फर्किएका तीन जना कोरियाली नागरिकसहितको टोलीलाई एक्याप लोमान्थाङले खादा लगाएर सम्मान गरेको छ । पहिलोपटक यहाँ अवस्थित छुआमा हिमालको पर्वतारोहणसँगै माथिल्लो मुस्ताङको पर्यटन प्रवर्द्धन तथा माथिल्लो मुस्ताङको हिमाल पर्वतारोहण प्रवर्द्धनमा ठुलो सहयोग पुर्‍याउने विश्वास गरिएको एक्याप प्रमुख पौडेलले बताए ।

काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

काठमाडौं । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशील, महत्त्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो ।  मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता  विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो । मन्त्रालयका अनुसार अब काठमाडौंको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित सञ्चालनमा वाइफाइ सेवा उपलब्ध हुनेछ ।  साथै काठमाडौंको ठूलोभर्‍याङ यातयात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ । भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा नयाँस्थापनाको क्रममा रहेको मन्त्रालयको भनाइ छ । निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाले सेवा प्रदायक कम्पनीसँग सम्झौता भइसकेको छ । नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट स्थापनाका लागि सहकार्य गरेका छन् । सञ्चारमन्त्री खरेलको विशेष सक्रियतमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरेको हो । प्राधिकरणका अनुसार यसअघि वीर अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल, त्रिवि  शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा १० एमबिपिएस ब्याण्डविथलाई बढाएर १५० एमबिपिएस बनाइएको छ । ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ ।  त्यसैगरी नेपाल टेलिकमले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलसहित ३५ विमानस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने कार्य योजना बनाएको छ । भक्तपुर क्यान्सर अस्पतालमा छ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा पाँच वटा एक्सेस प्वाइन्टसहित नयाँ वाइफाइ सेवा उपलब्ध गराइएको छ ।   गत असोज ६ गते सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त भएपछि मन्त्री खरेलले मन्त्रालयमा पदभार ग्रहणका क्रममा आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्‍याउने निर्णय गर्नुभएको थियो । मन्त्रालयका अनुसार उपत्यका बाहिरका महत्त्वपूर्ण दस वटा सहरमा पनि निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच पुर्‍याउने काम अघि बढेको छ । निःशुल्क वाइफाइ इन्टरनेट सेवा सञ्चालनको अनुगमनका लागि सञ्चारमन्त्री खरेलसहितको टोली आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ ।

देशभर आगलागीका घटनामा वृद्धि

काठमाडौँ । सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन् । प्राधिकरणका अनुसार झापा, मोरङ, महोत्तरी, सर्लाही, रौतहट, बारा, गोरखा, पर्वत र कैलालीमा आगलागीका घटना भएका छन् । देशभर कूल १८ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार कूल रु ११ लाख ० हजार एक सय बराबरको क्षति भएको छ । यस्तै, रसुवामा हावाहुरीका कारण क्षति पुगेको छ । गोसाईंकुण्ड गापा–४ लाङटाङस्थित हावाहुरी र माथिबाट खसेको हिमपहिरोका कारण स्थानीय होटलमा क्षति पुगेको छ । भोजपुर, खोटाङ र ललितपुरमा पहिरोका घटना भएका छन् । दोलखाको गौरीशङ्कर गापा–९ स्थित येलुङ रि हिमाल आरोहणका लागि गएका नेपाली पथप्रदर्शक तथा विदेशी नागरिक समेत गरी १२ जना गएकामा हिमाल आरोहण गर्ने क्रममा हिउँ पहिरोमा परी चार जना विदेशी नागरिक बेपत्ता भएका छन् । दुई नेपाली र एक विदेशी गरी तीन जनाको मृत्यु र पाँच नेपाली घाइते भएका छन् । गोरखाको चुननुब्रीमा हिमपातका कारण प्रभावित भएकालाई उद्धार गरिएको छ । सिरहा, तनहुँ र कैलालीमा भने सर्पदंशकारण तीन जना घाइते भइ उपचारका क्रममा छन् ।

माओवादी केन्द्रकाे राष्ट्रिय महाधिवेशन आयोजक समितिकाे बैठक (फाेटाे)

काठमाडौं । पार्टी एकतालाई अनुमाेदन गर्न नेकपा माओवादी केन्द्रकाे राष्ट्रिय महाधिवेशन आयोजक समितिको सुरु भएकाे छ । कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएकाे छ ।  नेकपा (एकीकृत समाजवादी) सहित नौ दलबीच भएको एकता सहमतिको अनुमोदनका लागि बोलाइएको हाे । पार्टीका अनुसार पछिल्लो सचिवालय बैठकका निर्णयहरू र नौ दलीय सहमतिको अनुमोदनपछि बैठक समापन हुनेछ ।

मूल्यमा गिरावट आएपछि अदुवा किसान मारमा

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ । यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने हो। तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खनेका छैनन् । गतवर्ष यही याममा  ५५ देखि ६० रुपैयाँ प्रतिकिलो अदुवा बेच्नुभएका खड्कालाई अहिले बजार भाउले निकै खिन्न बनाएको छ । बजार भाउ रु ३० देखि ३५ रहेका कारण अदुवा खन्ने जाँगर नलागेको उनले बताए । अन्य कृषि बाली छोडेर अदुवा रोपेका उनी यो वर्ष भाउ नपाउँदा निराश छन्। खड्काले भने, ‘यो वर्ष अदुवा बिक्रीबाट लगानी पनि नउठ्ने अवस्था छ, बजार भाउ नपाउँदा यो वर्ष अझै खनेको छैन।’ बेमौसमी वर्षाले पनि अदुवामा केही क्षति गरेको उनी बताउँछन् । उनले गत वर्ष रु दुई लाखको अदुवा बिक्री गरेको थियो। छिल्लीकोटकै पलबहादुर खड्काले पनि गत वर्ष अदुवाले भाउ पाएको देखेर रु ५० हजारको बीउ किनेर अदुवा लगाए । तर अहिले अदुवाको भाउ सुनेर उनी पनि निराश छन् । बीउ किन्दाखेरिकै ५० हजारको सावाँब्याज अहिले ६५ हजार पुगेको छ । अदुवाको बीउ किन्दा लिएको ऋणको साँवाब्याज कसरी तिर्ने भन्ने पिरलो उनलाई छ । बजारमा व्यापारीले सस्तोमा भारतबाट अदुवा भित्र्याउँदा स्थानीयले उत्पादन गरेको अदुवा बिक्री नहुने अवस्था भएको छ। उनले भने, ‘बीउको ऋण तिर्न समस्या छ । अहिलेको अवस्थामा रहेको मूल्यमा अदुवा बिक्री गर्दा ऋण तिर्न पनि पुग्दैन।’ पहाडी क्षेत्रमा जङ्गली जनावरले क्षति नगर्ने र राम्रो आम्दानी हुने भएपछि अधिकांश किसानले अदुवा रोप्ने गरेका छन् । तर मूल्य नपाउँदा किसान मर्कामा परेको स्थानीय पूर्णबहादुर पुन बताउँछन् । उनका अनुसार यहाँका स्थानीय ३०/३५ घरले अदुवाखेती गर्ने गरेका छन् । छिल्लीकोट क्षेत्रबाट मात्रै वार्षिक ६०० क्विन्टल बढी अदुवा बिक्री हुने गरेको छ। अदुवाको बजारीकरणमा स्थानीय सरकारले सहयोग गरेमा सहज हुने उनीहरुको आशा छ।

भदौ २४ को आगजनी घटनामा सर्वोच्च र काठमाडौं जिल्ला अदालतको जाहेरी

काठमाडौं । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले गत भदौ २४ गते भएको आगजनी घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन् । अदालतहरूले दिएको जाहेरीमा कसैको नाम किटान गरिएको छैन । जाहेरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । जिल्ला अदालत काठमाडौंले भवन तथा अन्य सामग्रीमा भएको क्षति करिब ६२ करोड रुपैयाँको रूपमा अनुमान गरी जाहेरी दर्ता गरेको जनाएको छ । उक्त घटनामा सातवटा उच्च अदालतमा आगजनी र तोडफोड भएको थियो । सर्वोच्च अदालतको पत्राचारअनुसार ती अदालतहरूले पनि क्षतिको विवरण संकलन गरी जाहेरी दिने तयारी गरिरहेका छन् ।

दाउन्ने खण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ । नारायणघाट–बुटवल सडक विस्तारका क्रममा उक्त खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एकतर्फी सञ्चालन गर्न लागिएको हो । सडक विभागअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजना निर्देशनालयले सोमबार जारी गरेको सूचनाअनुसार कल्भर्ट निर्माण सम्पन्न नहुञ्जेलसम्म एकतर्फी सडक सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार कल्भर्ट निर्माण तीव्र गतिमा भइरहेको छ। दुईतर्फी सवारी सञ्चालन गर्दा निर्माण कार्य प्रभावित हुने भएकाले एकतर्फी मात्र सञ्चालन गर्न लागिएको हो । आयोजनाका अनुसार आगामी पुस १५ गतेसम्म दाउन्ने खण्ड एकतर्फी रूपमा सञ्चालन हुनेछ । दाउन्नेमा विगत केही दिनदेखि यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । केही दिनअघिको झरीले सडक चिप्लो र हिलो बन्दा उकालोमा सवारी उक्लिन नसकेर यातायात प्रभावित भएको प्रहरी उपरीक्षक खड्काले बताए । अझै पनि सहज यातायात सञ्चालनमा समस्या कायम छ । पानी पर्नेबित्तिकै समस्या सिर्जना हुने अवस्था रहेकाले कल्भर्ट निर्माण अवधिभर एकतर्फी सडक सञ्चालन गर्ने निर्णय भएको उनले बताए । प्रहरी उपरीक्षक खड्काले दाउन्ने खण्ड प्रयोग गर्ने यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेका छन् ।अवरोध भए वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिए । एकतर्फी सञ्चालनले सवारी जाम थप बढ्ने भन्दै यात्रुहरूले यथाशीघ्र काम सम्पन्न गरी सडक सहज बनाउनुपर्ने सुझाव दिएका छन् । सडक अवरोध भएमा सवारीसाधनले नारायणगढ–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल वा गैंडाकोट कालीगण्डकी चोक–रामपुर–पीपलडाँडा–पाल्पा–बुटवल मार्ग प्रयोग गर्न सकिने छ । मोटरसाइकल तथा साना चारपांग्रे सवारीले दुम्किबास–डाँडाजोर–डमार हुँदै भुताहाको मार्ग अपनाउन सक्नेछन् । नारायणघाट–बुटवल सडक विस्तार सुरु भएदेखि दाउन्ने खण्डको यात्रा कष्टकर बन्दै गएको छ । अन्य क्षेत्रमा विस्तार कार्यमा प्रगति भए पनि दाउन्नेमा पहाड काट्ने, नाला तथा कल्भर्ट निर्माणमा ढिलाइ हुँदा आवागमनमा समस्या र यात्रुले सास्ती खेप्दै आएका छन् ।

आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण, अन्यकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै,युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०९ रुपैयाँ २१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८९  पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४ रुपैयाँ ९८ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८६ पैसा र बिक्रीदर २१ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ५१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५९ पैसा , ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ७२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

मन्त्रालयद्वारा मलेसियाका श्रम मापदण्डबारे म्यानपावरको धारणा माग

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर) छनोटका लागि मलेसिया सरकारले तोकेका नयाँ १० मापदण्डबारे व्यवसायीहरूको आधिकारिक धारणा माग गरेको छ । मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी सङ्घलाई पत्र पठाएर ती मापदण्डसम्बन्धी एकीकृत धारणा पेश गर्न अनुरोध गरेको हो । मलेसिया सरकारले नेपालसहित श्रमिक पठाउने स्रोत देशहरू  बङ्गलादेश, भारत, पाकिस्तान लगायतका म्यानपावर कम्पनीका लागि समान मापदण्ड तोकेर ती मापदण्ड पूरा गरेका कम्पनीबाट मात्रै श्रमिक लैजाने जानकारी दिएको छ । मलेसिया सरकारको पत्र अनुसार नेपालले ती मापदण्ड पूरा गरेका म्यानपावर कम्पनीहरूको सूची तयार गरी कात्तिक २९ गते (नोभेम्बर १५) भित्र मलेसियाको मानव संसाधन मन्त्रालयमा पेस गर्नुपर्नेछ । व्यवसायीहरूले भने मलेसियाले ल्याएका नयाँ मापदण्ड केही म्यानपावर कम्पनीहरूको प्रभावमा परेर सिन्डिकेट गर्न ल्याइएको आरोप लगाएका छन् । उनीहरूको भनाइमा, १० मापदण्ड पूरा गर्न सक्ने म्यानपावरको सङ्ख्या निकै कम भएकाले यसले सीमित कम्पनीलाई मात्रै लाभ दिने र श्रमिकमाथि थप आर्थिक भार पर्ने जोखिम छ । व्यवसायीबीच फरक फरक अभिव्यक्ति सार्वजनिक हुन थालेपछि मन्त्रालयले सङ्घमार्फत आधिकारिक धारणा माग गरेको जनाएको छ । मन्त्रालयले जारी गरेको सूचनामा संविधान, श्रम तथा रोजगारसम्बन्धी नीति, वैदेशिक रोजगार ऐन र नियमावली, द्विपक्षीय सन्धि–सम्झौता तथा अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रही सरोकारवालासँग छलफल गरेर मात्र निर्णय गरिने उल्लेख छ । त्यससँगै मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने निश्चित म्यानपावरलाई मात्र फाइदा पुग्ने गरी सिन्डिकेट गर्न खोजिएको भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका अनुसार, नेपाल र मलेसिया सरकारबीच २०१८ नोभेम्बर २९ मा भएको श्रम समझदारी अहिले नवीकरणको चरणमा छ । मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार गत बिहीबार मलेसियाको परराष्ट्र मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयमा नयाँ १० मापदण्डबारे पत्र पठाएको छ । यसबीच, प्रगतिशील वैदेशिक रोजगार व्यवसाय मञ्च नेपालले मलेसिया सरकारले ल्याएका मापदण्ड सिन्डिकेट प्रवृत्तिका रूपमा आएको भन्दै विरोध जनाएको छ । मञ्चले सोमबार पत्रकार सम्मेलन गरेर नेपाल सरकारले उक्त मापदण्ड खारेज गराउन तत्काल पहल गर्नुपर्ने माग गरेको हो । सङ्घका अध्यक्ष जनक रावलका अनुसार, नेपालमा दर्ता भएका १ हजार १५० वैदेशिक रोजगार व्यवसायीमध्ये अधिकांशले मलेसिया पठाउने काम गर्दै आएका छन् ।

भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की  पुल १५ वर्षदेखि अलपत्र

भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब रु चार करोड खर्चिएपछि अलपत्र बनेको छ । विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो । पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् । भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको छ । छवटा पिलरको आधार (बेस) राखेपछि यहाँको पुल निर्माण अलपत्र रहेको हो । “लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ”, उनले भने, “राज्यको रु चार करोड खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ । हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौँ ।” यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी भक्तराज विश्वकर्माले बताए । पक्की पुल नहुँदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ । “राज्यले यहाँ पुल निर्माणमा बेवास्ता गरेको छ”, उनले भने, “पुल निर्माणको काम १५ वर्षदेखि अलपत्र छ । हामी यही अलपत्र पुल हेरेर बस्न बाध्य छौँ । यस्ता विषयमा राज्यले ध्यान दिन आवश्यक छ । सरकार यो पुल निर्माणमा गम्भीर बनेन ।” २०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो । पुल निर्माणको काम किन ढिलाइ भएको भन्ने विषयमा स्थानीय अन्योलमा परेका छन् । 

क्वारेन्टिन कार्यालय काँकरभिट्टा : तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात

झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची रु एक अर्ब ५१ करोड ८१ लाख, चिया रु ७५ करोड ६६ लाख, प्लाइउड रु २७ करोड ७४ लाख, भेनियर रु २७ करोड २८ लाख, अम्लिसो रु १९ करोड ५९ लाख मूल्यबराबरको निर्यात भएको छ । त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु ११ करोड ९० लाख, ताजा तरकारी रु नौ करोड ४७ लाख, जडीबुटी रु एक करोड २४ लाख, मसुरो दाल रु सात करोड ४१ लाख मूल्यबराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वीनाकाबाट रु एक अर्ब ४५ करोड १३ लाख ६५ हजार मूल्यबराबरको कृषिजन्य मालवस्तु आयात भएको छ ।  आयात हुने मुख्य कृषिजन्य वस्तुहरूमा आलु, कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, मकै, पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु छ करोड २० लाख, चामल चार करोड ९६ लाख, तरकारी रु तीन करोड छ लाख मूल्यबराबरको आयात भएको छ । त्यसैगरी, ताजा फलफूल रु २३ करोड ६७ लाख, लसुन रु १७ करोड ९९ लाख, आलु रु ३० करोड ७७ लाख मूल्यबराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।