आउँदो आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब रुपैयाँ

काठमाडौं । आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको छ । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफल गरेर बजेटको सिलिङ तोकेको उनले जानकारी दिए ।


अर्थमन्त्री महतले अर्धवार्षिक समीक्षामार्फत चालू आर्थिक वर्षको बजेटमा संशोधन गरिएको भन्दै यसलाई बजेट कटौती गरेको भन्न नमिल्ने जिकिर गरे । यसअघि अर्थमन्त्री महतले बजेटको मध्यावधि मूल्याङ्कन गर्दै मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटको लक्ष्य घटाएका थिए ।

उनले राजस्व र बजेट कार्यान्वयन प्रगतिको समीक्षा गरिएको बताउँदै अघिल्लो वर्षको तुलनामा १० प्रतिशत राजस्व वृद्धि भएको दाबी गरे ।


उनले सरकारमाथि अस्वाभिवक दायित्व वृद्धिका कारण स्रोत व्यवस्थापनमा समस्या भएको बताए । अर्थमन्त्री महतले प्रधानमन्त्रीसँग कुनै विवाद नभएको र अर्थमन्त्रालयले प्रधानमन्त्रीसँगको छलफल र निर्देशनअनुसार काम गरिरहेको जिकिर गरे ।

एमाले नेता ऐन महरले दिए केन्द्रीय सदस्यबाट राजीनामा

काठमाडौं । नेकपा (एमाले)का नेता ऐन महरले केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् । उनले केन्द्रीय सदस्यबाट दिएको राजीनामा आज बसेको सचिवालय बैठकले स्वीकृत गरेको हो । उनीसहित अर्का केन्द्रीय सदस्य सिराज अहमद फारूकीको राजीनामा पनि स्वीकृत भएको छ । गएको मंसिरमा महरको भनिएको ‘यौनसम्बन्धी विवाद’को एक अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर, महरले अडियो आफ्नो नभएको दाबी गर्दै आएका छन् ।

यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराइका थोरै स्थानमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  विभागले राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो । खाना पकाउन प्रयोग हुने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्यसूची अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजेलको मूल्य १५७.५० रुपैयाँ कायम भएको छ । त्यस्दै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ निर्धारण गरिएको छ । काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य १६० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले फाल्गुन ८ गतेदेखि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा राजनीतिक स्थिति समीक्षा गर्नुका साथै संगठनात्मक कामका बारेमा छलफल हुने महासचिव शंकर पोखरेलले जानकारी दिए ।  सचिवालय बैठकले केन्द्रीय कमिटीको एजेण्डा तयार गरेको उनले बताए । मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान लगायतका विषयमा पनि केन्द्रीय कमिटीमा छलफल हुने महासचिव पोखरेलले जानकारी दिए । बैठकले केही विभागहरूमा मनोनयन गर्ने निर्णय गरेको छ ।

माओवादी अध्यक्ष प्रचण्डबाट संश्लेषित विधान प्रस्तुत

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गर्नुभएको विधान मस्यौंदामाथि २० समूहहरुबाट सुझाव सङ्कलन गरिएको थियो ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड लगायत उच्च पदस्थद्वारा वसन्त श्रवण (फोटो फिचर)

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वसन्त पञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन् । राष्ट्रपति लगायत उच्च पदस्थले सरस्वती पूजाको अवसरमा सो स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्ड लगायतले पूजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरे। वसन्तश्रवण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायतको उपस्थिति थियो । वसन्तपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ ।        

नेपाल प्रहरीका ७४ जना उपरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ । ७४ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ०८० फागुनदेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको बताइएको छ ।

आज वसन्त पञ्चमी : विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । बुधबार वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ। आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ। काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ।

पाँचबुँदे प्रतिबद्धतासहित सरकारलाई टिकटकको पत्र : फुकुवाका लागि आग्रह

काठमाडौं । टिकटकले प्रतिबन्ध फुकुवाका लागि पाँचबुँदे प्रतिबद्धतासहित नेपाल सरकारलाई पत्राचार गरेको छ । टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध हेर्ने प्रमुखले प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई लेखेको पत्र आइतबार दर्ता भएको छ । पत्र सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सम्बोधन गरेर पत्र लेखिएको छ । नेपालीले टिकटकलाई देशभित्र र बाहिर अत्यधिक रुचाएको पनि उल्लेख गर्दै टिकटकले प्रतिबन्ध फुकुवाको आग्रह गरेको हो । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यस्ता छन् टिकटकका प्रतिबद्धता नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्धता जनाउँछौँ सामग्रीको विषयमा व्यक्त चिन्ताहरूलाई सम्बोधन गर्न डेडिकेटेड फोकलप्वाइट प्रदान गर्ने, जसमा ती सामग्रीका बारेमा सीधै रिपोर्ट गर्न सकिनेछ सामग्रीको ‘फिल्टरिङ’ र ‘मोडरेसन’अभिवृद्धिका लागि थप नेपालीभाषी स्रोत उपयोग गर्ने देशव्यापी रूपमा इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउनेछौँ हाई स्कुल र कलेज विद्यार्थीको प्राज्ञिक अवस्था सुधारका लागि शैक्षिक सामग्रीको डिजिटाइजेसनलाई जोड दिनेछौँ

विश्व म्याराथनका कीर्तिमानी खेलाडी किप्टमको सडक दुर्घटनामा मृत्यु

न्युयोर्क । विश्व म्याराथन रेकर्ड होल्डर केल्भिन किप्टमको सडक दुर्घटनामा मृत्यु भएको छ । २४ वर्षीय केल्भिन किप्टम र उनका प्रशिक्षक गेर्भाइस हकिजिमानाको कार दुर्घटनामा मृत्यु भएको हो । कार दुर्घटनामा केल्भिन किप्टम र प्रशिक्षक गेर्भाइस हाकिजिमानाको मृत्युको खबरले खेलकुद जगतमा शोकको लहर ल्याएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । किष्टमले गत वर्ष लण्डनमा भएको विश्व म्याराथन २ घण्टा २५ मिनेटमा पूरा गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए । किप्टम र उनका प्रशिक्षक गेर्भाइस टोयोटा कारमा कतै जाँदै थिए। त्यतिबेला केल्भिनले किप्टमको कार चलाइरहेका थिए। जहाँ अचानक उनले कारको नियन्त्रण गुमाए र कार सिधै सडकबाट झरेर रुखमा ठोक्किन पुगेको थियो । किप्टम र गेर्भाइस बाहेक त्यस समयमा कारमा सवार महिला यात्रु शेरोन कोसगेई भने गम्भीर घाइते भएकी छिन् । उनको उपचार भइरहेको छ । शिकागोमा भएको विश्व म्याराथनमा केल्भिन किप्टमले नयाँ विश्व किर्तिमान बनाएका थिए । उनले २ घण्टा २५ म्याराथन पूरा गरेर सो विश्व कीर्तिमान बनाएका हुन् ।

जग्गा प्राप्तिका लागि निवेदन दिन सुकुम्बासीलाई आग्रह (सूचनासहित)

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह गरेको छ । निवेदन ३५ दिनभित्र दिनुपर्नेछ । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रयोजनका लागि निवेदन दिन आह्वान गरेको हो । आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी आजदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत् पेस गर्नु पर्नेछ ।

‘जनयुद्ध दिवस’को बिदा कायम छैन : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले यसअघि सरकारले फागुन १ गते निर्धारण गरेको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । गृहले सोमबार विज्ञप्ति जारी गर्दै फागुन १ गतेको बिदा कटौती भएको स्पष्ट पारेको हो । “सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८० माघ २५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५, मिति २०७९ चैत २) मा प्रकाशित संवत् २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा उल्लेख छ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’का रूपमा मनाउँदै आएको छ । सोही क्रममा गत वर्ष माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । सर्वोच्चले फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज गरिदिएको थियो । त्यसपछि गृहले विज्ञप्ति जारी गर्दै उक्त दिन सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको हो । प्रधानमन्त्री प्रचण्डले देशका जनता र परिर्वतन चाहने जनतालाई जनयुद्ध विस मनाउन कसैले नरोक्ने बताएका छन् । सोही अनुसार विभिन्न स्थानीय सरकार, माओवादी केन्द्र र माओवादी केन्द्रका विभिन्न संगठनले आफ्नै तरिकाले जनयुद्ध दिवस मनाउने भएका छन् ।

अरुण चौधरीबारे आदेश दिने न्यायाधीशलाई मुगु सरुवा

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा च्याम्पिएन फुटवेरका नाममा सारी गैरकानुनी लाभ लिएको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीको म्याद थपका विषयमा उनले दिनभर बहस गराएर दुई दिनमा अनुसन्धान नसके स्वतः रिहा हुने आदेश दिएका थिए । म्याद थपका निम्ति अदालतमा उपस्थित गराइएका चौधरीका विषयमा अन्तरिमजस्तै आदेश दिइएको थियो । त्यसपछि न्यायाधीश आचार्यबारे प्रश्न उठाइएको थियो । न्याय प्रशासनको नेतृत्वकर्ता प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार ९हिजो० उनलाई मुगु काज सरुवा गरिदिएका स्रोतले जानकारी दियो ।

केन्द्रीय समिति अध्यावधिक गर्न रेशम चौधरीको निवेदन, अध्ययन गर्दै आयोग

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिइएको छ । महाधिवेशनबाट सर्वसम्मत निर्वाचित अध्यक्ष रेशम चौधरीसहितको विवरण अध्यावधिकका लागि निवेदन दिएको हो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ मा पार्टीले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा गरिएको परिवर्तन वा संशोधन, पदाधिकारीको हेरफेर र तोकिएबमोजिमका अरू विषयको जानकारी ३० दिनभित्र आयोगलाई दिनुपर्ने व्यवस्था रहेको छ । सोहीअनुसार नागरिक उन्मुक्तिले विवरण पेस गरेको हो । गएको पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका थिए । टीकापुर घटनाका निम्ति जन्मकैद सजाय तोकिएर आममाफी पाएका चौधरी अध्यक्ष चयन भएपछि वैधानिकतामाथि प्रश्न उठाइएको छ । त्यसअघि, पार्टी अध्यक्ष रेशमपत्नी रञ्जीता श्रेष्ठ थिइन् । राजनीतिक दलसम्बधी ऐन, २०७३ को दफा १४ ले चौधरी पार्टीको सदस्य बन्न नै अयोग्य हुने कानुनविद् बताउँछन् । ऐनको दफा १४ को उपदफा (१)मा सदस्यतासम्बन्धी व्यवस्था छ । नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति सदस्य बन्न नपाउने कानुनी व्यवस्था छ । त्यसकै उपदफा २ (ख) मा उल्लेख छ, “भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारप्रसार, लागुऔषध बिक्री–वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय नपाएको ।” जिल्ला हुँदै सर्वोच्च अदालतले समेत चौधरीलाई दोषी ठहर गरेको थियो । अध्यावधिकका निम्ति प्राप्त निवेदन अध्ययनका क्रममा रहेको आयोग स्रोतले जानकारी दियो । चौधरीका विषयमा थप स्पष्ट भएर मात्र निर्णय लिने आयोगको तयारी छ ।  

अख्तियारमा भ्रष्टाचारका उजुरी दर बढ्यो, फर्छ्योट दर घट्यो

काठमाडौं । सरकारी निकायमा हुने भ्रष्टाचार तथा अनियमितताको अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो समय उजुरी बढेको छ भने ती उजुरीको फर्छ्योट दर भने निकै सुस्त देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म १२ हजार ७२ उजुरी फर्छ्योट हुन बाँकी रहेको अख्तियारले आफ्नो ३३ औँ स्थापना दिवसका अवसरमा आज आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । आयोगका अनुसार २०८०–८१ को दोस्रो त्रैमासिकसम्म भ्रष्टाचारसम्बन्धी ४ हजार ८ सय ५९ वटा उजुरी परेका छन् । पहिलो त्रैमासिकमा ८ हजार र गत आवबाट जिम्मेवारी सरी आएका ९ हजार २६८ गरी यस अवधिसम्ममा २२ हजार १२७ उजुरी रहेको अख्तियारले जनाएको छ । चालु आवको पुस मसान्तसम्म १० हजार ५५ उजुरी फर्छ्योट भएको र १२ हजार ७२ उजुरी छानबिनको क्रममा रहेको आइतबार राजधानीमा आयोजित अख्तियार स्थापना दिवसमा जानकारी दिइयो । आयोगले पुस मसान्तसम्ममा ९३ जनालाई प्रतिवादी बनाई २८ वटा आरोपपत्र विशेष अदालतमा दायर गरेको छ । उनीहरुसँग ३१ करोड ६७ लाख रुपैयाँ मागदाबी लिइएको छ । प्रतिवेदनअनुसार यस अवधिमा १३७ वटा उजुरी विस्तृत अनुसन्धानमा गएका छन् भने १ हजार ३४५ वटा उजुरी कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको छ । यस्तै, ९४५ वटा उजुरी सम्बन्धित अन्य उजुरीमा गाभिएको र २ हजार ७२९ वटा उजुरी तामेलीमा पठाइएको छ । विभिन्न क्षेत्र अनुसार यस्तो छ मुद्धाको विवरण संघ, प्रदेश र स्थानीय तहका उजुरी संघ ३६ प्रतिशत प्रदेश १३ प्रतिशत स्थानीय तह ५१ प्रतिशत प्रदेशगत आधारमा उजुरी (प्रतिशतमा) कोशी १०.८४ मधेश १५.८८ बागमती १६.६७ गण्डकी १०.५ लुम्बिनी १४.६१ कर्णाली १४.७० सुदूरपश्चिम १७.२५