समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन आग्रह

काठमाडौँ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा देखिने चापका कारण उत्पन्न हुने समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ । 

बोलपत्रदाताले अन्तिम समयमा मात्र बिड समिसन गर्ने प्रचलन रहेकाले एकै पटक प्रणालीमा अत्यधिक चाप पर्ने गरेको कार्यालयले स्पष्ट पारेको छ । प्रणालीमा देखिने समस्याले बोलपत्र प्रक्रियामा जटिलता उत्पन्न हुने र छुट्ने जोखिम अत्यधिक रहने गरेकाले त्यससँग सम्बन्धित गुनासा आउने गरेको कार्यालयले उल्लेख गरेको  छ । विद्युतीय खरिद प्रणालीको सर्भरमा समस्या आएर कुनै पनि प्रयोगकर्ताको पहुँच हुन नसकेमा मात्र कार्यालयले म्याद थप गर्ने गरेको छ । 

अन्तिम समयमा चापका कारण प्रणालीमा ढिलाइ भएकै आधारमा मात्र म्याद थप गर्न नमिल्ने कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ । समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन र अन्तिम समयको जोखिम नलिन आग्रह गरेको छ । 

अन्तिम समयमा माग हुने प्रविधि सहायता प्रदान गर्न समस्या पहिचानमा नै समय अभाव हुने स्पष्ट पार्दै कार्यालयले प्राविधिक सहायताका लागि पनि समयमा नै सम्पर्क गर्न सबैलाई आग्रह गरेको छ । कुनै प्राविधिक समस्या देखा परे समयमा नै फोन मार्फत आवश्यक सहजीकरण गर्न कार्यालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

आजका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १४१ रुपैयाँ ७३ पैसा र बिक्री दर १४२ रुपैयाँ ३३ पैसा तोकिएको छ। अस्ट्रेलियन डलरको खरिद दर ९२ रुपैयाँ ७५ पैसा र बिक्री दर ९३ रुपैयाँ १४ पैसा, क्यानाडियन डलरको खरिद दर १०१ रुपैयाँ १५ पैसा र बिक्री दर १०१ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ। यसैगरी, युरोपियन युरोको खरिद दर १६४ रुपैयाँ र बिक्री दर १६४ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङको खरिद दर १८६ रुपैयाँ १९ पैसा र बिक्री दर १८६ रुपैयाँ ९८ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ। मुद्रा एकाइ खरिद दर बिक्री दर INR (भारतीय रुपैयाँ) १०० १६०.०० १६०.१५ USD (अमेरिकी डलर) १ १४१.७३ १४२.३३ EUR (युरोपियन युरो) १ १६४.०० १६४.६९ GBP (युके पाउन्ड स्टर्लिङ) १ १८६.१९ १८६.९८ CHF (स्विस फ्रान्क) १ १७६.६३ १७७.३८ AUD (अस्ट्रेलियन डलर) १ ९२.७५ ९३.१४ CAD (क्यानाडियन डलर) १ १०१.१५ १०१.५८ SGD (सिङ्गापुर डलर) १ १०८.९७ १०९.४३ JPY (जापानी येन) १० ९.२० ९.२४ CNY (चिनियाँ युआन) १ १९.९२ २०.०१ SAR (साउदी अरेबियन रियाल) १ ३७.७९ ३७.९५ QAR (कतारी रियाल) १ ३८.८८ ३९.०५ THB (थाई बाहत) १ ४.३९ ४.४१ AED (युएई दिरहम) १ ३८.५९ ३८.७५ MYR (मलेसियन रिङ्गिट) १ ३३.८४ ३३.९९ KRW (दक्षिण कोरियाली वन) १०० ९.९३ ९.९७ SEK (स्विडिस क्रोनर) १ १५.०० १५.०६ DKK (डेनिस क्रोनर) १ २१.९६ २२.०५ HKD (हङकङ डलर) १ १८.२४ १८.३२ KWD (कुवेती दिनार) १ ४६१.८३ ४६३.७८ BHD (बहराइन दिनार) १ ३७५.९७ ३७७.५६ OMR (ओमानी रियाल) १ ३६८.१२ ३६९.६७

झलनाथलाई एमाले नेता रिजालको कटाक्ष: वडामा ८ भोट, राष्ट्रमा पार्टी ?

काठमाडौं। नेकपा (एमाले) का नेता विष्णु रिजालले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह वडामा गत वर्ष सम्पन्न उपनिर्वाचनमा पार्टीले पाएको मत सङ्ख्यालाई लिएर कटाक्ष गरेका छन्। रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत खनालको गृह वडा भएको इलाम–१ को उपनिर्वाचनमा एकीकृत समाजवादीको पक्षमा जम्मा ८ मत खसेको उल्लेख गरेका छन्। उनले पूरै निर्वाचन क्षेत्रमा पार्टीको जम्मा ४०८ मत आएको पनि स्मरण गराएका छन्। ‘अब ७७ वर्षमा फेरि लफ्फाजी हाँकेर अरूलाई दुःख दिनुभन्दा आराम गर्नु उचित होइन र ? जनताले ऐना देखाएकै छन् त !’ भन्दै रिजालले खनालको राजनीतिमा निरन्तरताको विषयमा प्रश्न उठाएका छन्। यसैबीच, अध्यक्ष माधव नेपालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन्। शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष नेपालद्वारा प्रस्तुत एकता गर्ने प्रस्ताव बहुमतले पारित गरेपछि खनालले यस्तो घोषणा गरेका हुन्। नेता खनालले अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर बनाएको पार्टीलाई अन्ततः माओवादीमा लगेर ‘विसर्जन’ गरेको आरोप लगाएका छन्। ‘विद्रोहदेखि विसर्जनसम्म माधव कमरेडको यात्रा टुङ्गियो,’ खनालको भनाइ छ, ‘हामी यही पार्टीका साथीहरू मिलेर नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्छौँ। नभए नयाँ बनाउँछौँ ।’

अश्लील शब्दसहितको स्टाटस बालेनले हटाए, स्टाटसमा के थियो ?

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा तानिन्छन्। प्रायः आफ्ना विचार सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने उनले शनिबार मध्यराति एउटा स्टाटस पोस्ट गरेका थिए। हरेक देश र राजनीतिक दलको अगाडि उनले अश्लील शब्द लेखेका थिए ।  त्यस स्टाटसमा अश्लील शब्दहरू समावेश गर्दै दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका तथा नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गरेका थिए। पोस्ट गरेको केही मिनेटमै उनीमाथि चर्को आलोचना सुरु भएपछि उनले सो स्टाटस हटाइसकेका छन्। पछिल्लो समय बालेनलाई अन्तर्राष्ट्रिय शक्तिसँग साठगाठ गरेको आरोप लाग्दै आएको छ। अन्तरिम सरकार निर्माणमा अदृश्य शक्तिको रूपमा सक्रिय भएको आरोपसमेत उनलाई लाग्दै आएको थियो।

समाजवादीका असन्तुष्टसँग समूहगत वा पार्टीगत एकता हुँदैन, आएमा स्वागत छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का असन्तुष्टहरूसँग समूहगत वा पार्टीगत एकता नहुने बताएका छन्। एकीकृत समाजवादीले शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाललगायतले अर्को पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।  आज बसेको एमालेको सचिवालय बैठकमा ओलीले त्यसरी आउने समूहसँग नै एकता नहुने र कोही व्यक्तिहरु व्यक्तिगत रुपमा आएमा भने स्वागत गरिने बताए । उनले भने, 'समाजवादीका असन्तुष्टसँग कुरा गरेको छु । समूहगत वा पार्टीगत एकता हुँदैन, आएमा भने स्वागत छ ।'  समाजवादीबाट बिद्रोह गरेका खनालसहितले अहिले चर्चा गरेजस्तो एकता भने नहुने ओलीले प्रष्ट पारे । उनले भने, 'तपाईंहरू आउनुहोस् भनेको छु। व्यक्तिगत रूपमा दस–बीसजना आए पनि व्यक्तिगत नै हुनेछ। अलग्गै समूह बनाएर समूहगत रूपमा एमाले र फलानो समूहबीचमा पार्टी एकता भयो भन्ने कुरा हुँदैन ।     शुक्रबार भने एमाले अध्यक्ष ओलीले विगतमा एमाले छाडेर गएकाहरूलाई पुरानै घर फर्कन भन्दै आह्वानसमेत गरेका थिए।

पार्टी एकताको पक्षमा मात्रै होइन्, पार्टी एकताको पहल गर्ने व्यक्ति मध्ये म एउटा हुँ :  नारायणकाजी श्रेष्ठ 'प्रकाश'

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले आफू पार्टी एकताको पक्षमा मात्र नभएर पार्टी एकताको पहल गर्ने व्यक्ति भएको बताउनु भएको छ । पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै श्रेष्ठले अहिले पनि सिंगैं समाजवादीसँगको एकताको पहल भइरहेको बताउनु भएको छ ।  पत्रकारले तपाइँ पार्टी एकताको पक्षमा हो कि विपक्षमा भन्ने प्रश्नमा श्रेष्ठले भन्नुभयो, 'पार्टी एकताको पक्षमा मात्रै होइन, पार्टी एकताको पहल गर्ने व्यक्तिहरूमध्ये म एउटा हुँ। सिङ्गै एकीकृत समाजवादीको एकतालाई अझै पहल गर्नुपर्छ।' पत्रकारले श्रेष्ठलाई ‘जनार्दन त जुरुक्क उठेर हिँडेको कुरा सोधेपछि श्रेष्ठले भन्नुभयो, ‘बस्दाखेरि त उठेरै हिँड्नुपर्छ । तर उहाँसँग फेरि छलफल गर्नुपर्छ। उहाँ हाम्रो पार्टीको लागि आवश्यक व्यक्तिहुनुहुन्छ। उहाँको आफ्नै कुराहरू होलान्। तर उहाँले पार्टीको बैठकमा अरूको कुरा पनि सुनेर अनि त्यसपछि फेरि धारणा बनाउन उपयुक्त हुन्छ।’ श्रेष्ठले भन्नुभयो, ‘हामी फेरि कुराकानी गर्छौँ। अहिले कसैलाई पनि यता र उता गर्ने स्थिति होइन। हामी सबैसँग अहिले झलनाथ कमरेड, घनश्याम कमरेड, प्रभाकर कमरेड सबै चाहिँ हामी छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रयत्न गर्नुपर्छ।’  

कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

कञ्चनपुर । काठमाडौँबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस आज बिहान यहाँ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार ना७ख ६१८२ नम्बरको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–१ बण्ड का ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो । बसमा पाँच जना मात्र सवार थिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनमा घुँगी खोज्न जाँदा एक जनाको मृत्यु

चितवन । घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्विराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएको हो ।  बोट रिउ खोलामा घुँगी खोज्न शुक्रबार दिउँसो निस्किएका थिए । बोटको आज बिहान रिउ खोलाको किनारमा दलदलमा शव भेटिएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शवको परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । 

आइसिसी विश्व क्रिकेट लिग दुई :अमेरिकासँग आज नेपालको दोस्रो खेल

काठमाडौं  । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले शनिबार अमेरिकासँग दोस्रो एकदिवसीय (ODI) खेल खेल्दैछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुने यो खेल नेपालको लागि सिरिजको तेस्रो प्रतिस्पर्धा हो। पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा पनि युएईसँग हारेको थियो। दुई साताअघि टी–२० विश्वकपमा सानदार प्रदर्शन गर्दै स्थान पक्का गरेको नेपाली टोली एकदिवसीय फर्म्याटमा भने कमजोर देखिएको छ। सिरिजको अन्तिम खेल ५ नोभेम्बरमा युएईसँग खेल्ने योजना छ, जसपछि नेपाली टोली स्वदेश फर्कनेछ। एकदिवसीय टोलीमा भीम सार्की, अनिलकुमार साह र साहब आलम नयाँ खेलाडीका रूपमा समावेश भएका छन्। यसअघि टी–२० विश्वकप टोलीमा रहेका लोकेश बम, सन्दीप जोरा र आदिल अन्सारी भने एकदिवसीय टोलीमा छैनन्। बाँकी १२ खेलाडी दुवै फर्म्याटमा समावेश छन्। नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, मो. आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मो. आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम र ललित नारायण राजवंशी।

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज: पार्टी एकताबारे छलफल गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकतासम्बन्धी निर्णय लिन महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विभिन्न राजनीतिक दलहरूसँगको एकीकरण प्रक्रिया केन्द्रमा रहने जनाइएको छ। बैठकमा नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी लगायतका दलहरूसँगको एकता, पदीय व्यवस्थापन र मोडालिटीका विषयमा छलफल हुने पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। यसअघि शुक्रबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो। त्यस्तै, विप्लव नेतृत्वको पार्टीबाट बिद्रोह गरेको चिरन पुनको पार्टीसहित अन्य दलहरूसँग आउँदो हप्ताभित्र नै एकीकरण गर्ने तयारी भइरहेको छ। यो प्रक्रियाले वामपन्थी शक्तिको एकीकरणलाई थप गति दिने अपेक्षा गरिएको छ।

भारतका कारण पेट्रोलियम पदार्थको मूल्य हेरफेर

काठमाडौं । भारतबाट नयाँ मूल्यसूची प्राप्त भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउमा हेरफेर गरेको छ । नयाँ मूल्य शनिबार देखि) लागू हुनेछ । निगमका अनुसार डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । त्यस्तै, हवाई इन्धन (आन्तरिक) तर्फ पनि प्रतिलिटर एक रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाइएको छ । पेट्रोलको भाउ भने यथावत राखिएको निगमले जनाएको छ । शुक्रबार भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य ०.०३ रुपैयाँले बढेको, हवाई इन्धनको ०.८६ रुपैयाँले बढेको र डिजेलको मूल्य १.१९ रुपैयाँले घटेको निगमले जनाएको छ । निगमले देशभर तीन वर्गमा विभाजन गरी नयाँ मूल्य लागू गर्ने व्यवस्था गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा डिजेल–मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर १४१ रुपैयाँ ५० पैसा कायम गरिएको छ । दोस्रो वर्गका सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४३ रुपैयाँ, तेस्रो वर्गका काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १४४ रुपैयाँ हुनेछ । हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १२८ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि इन्धनको मूल्य काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर ९७३, पोखरामा ८०३ र भैरहवामा ७९० निर्धारण गरिएको छ ।

कञ्चनपुरकाे वनहरा नदीमाथिको पुल निर्माण कार्य ९० प्रतिशत सम्पन्न

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल रु २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ । हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए ।  पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम  पनि जारी छ । “नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ”, इन्जिनियर चन्दले भने । आगामी मङ्सिरभित्र काम पूरा गर्ने लक्ष्य उनले सुनाए । 

झापामा तीन महिनामा ३१७ घरेलु तथा साना उद्योग थपिए

झापा । जिल्लामा चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिकमा ३१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त तीन महिनाको अवधिमा कार्यालयमा उद्योगतर्फ १४५ र वाणिज्यतर्फ १७२ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ ३३५ र वाणिज्यतर्फ ३३२ उद्योग नवीकरण गरिएको उनले बताए ।  सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आवको पहिलो तीन महिनामा उद्योगतर्फ ३८ र वाणिज्यतर्फ २५ गरी ६३ उद्योग खारेज हुँदा तीन उद्योगको ठाउँसारी, १६ उद्योग नामसारी, १४ उद्योगको नाम परिवर्तन तथा १० उद्योगले उद्देश्य थपेका छन् । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताए ।  विभिन्न कारणले उद्योग बन्द हुनेको सङ्ख्याभन्दा नयाँ थपिने उद्योगको सङ्ख्या बढ्दै गएको सूचना अधिकारी भट्टराईको भनाइ छ । उनका अनुसार कार्यालयले चालु आव २०८१–०८२ तीन महिनामा विभिन्न शीर्षकमा रु ५४ लाख ३९ हजार २०० राजस्व सङ्कलन गरेको छ ।

बाँकेमा अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयले यहाँका किसानले उत्पादन गरेको धान खरिद सुरु नगर्दा किसानले व्यापारीलाई कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा ढिलाइ गर्दा सरकारले तोकेको मूल्य नपाए पनि आफूहरूले बाध्य भएर कम मूल्यमा बजारमा धान बिक्री गर्नु परेको नेपालगन्ज–१९ सुइयागाउँका किसान ललवा माहुतले बताए । “खाद्य कम्पनीले धान खरिद अझै सुरु नगर्दा किसानले बजारमा व्यापारीलाई बाध्य भएर दुवै धानमा करिब नौ सय क्विन्टल कम मूल्यमा धान बिक्री गरिरहेका छन्”,उनले भने, “सरकारले तोकेको समर्थन मूल्य अनुसार व्यापारीले धान खरिद नगर्दा किसानलाई निकै समस्या परेको छ ।” सरकारले धान खरिदमा ढिलाइ गर्ने, खरिद सुरु गरे पनि निकै कम धान खरिद गर्ने र खरिद गर्दा विभिन्न मापदण्ड लगाएर अधिकांश धान फिर्ता पठाउने गरेकाले किसानलाई निकै समस्या हुने गरेको उनको भनाई छ । नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामशरण लामिछानेले कार्यालयले मोटा धान १५ हजार र मध्यम धान पाँच हजार क्विन्टल खरिद गर्ने गरी कोटा निर्धारण भएर आएको जानकारी दिए । उनका अनुसार, गत वर्ष नेपालगन्जमा मध्यम धान २५ हजार र मोटा धान सात हजार गरेर ३२ हजार क्विन्टल धान खरिद गरिएको थियो । यस वर्ष २० हजार क्विन्टल मात्र धान खरिदको कोटा आएको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारीको सरुवा भएकाले नयाँ प्रमुख जिल्ला अधिकारी आए लगत्तै खरिद समितिको बैठक बसेर निर्णय गरी धान खरिद सुरु गर्ने तयारी भएको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल रु। तीन हजार ४६३ ८१ पैसा तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल रु।तीन हजार ६२८ पैसा तोकेको छ । हाल खाद्य व्यवस्था कार्यालयमा गत वर्ष खरिद गरिएको धानको २० हजार क्विन्टल चामल मौज्दात रहेकाले धेरै धान खरिद गरेर राख्ने ठाउँ अभावले पनि समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख लामिछानेले जानकारी दिए ।

गोठाला बेँसी झरेपछि बागलुङको भल्कोटमा बढ्यो चहलपहल

बागलुङ । यति बेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि चर्दै गरेका गाईगोरु, भैँसी र सेताम्य भेडाका भेटिन्छन् । छेउमै बसेर गन्थनमन्थन गर्दै हुन्छन् गोठाला । करिब चार महिना लेकमा बसेर आएका गोठाला गाउँघरका आफन्तसँग भेटा हुँदै निकै खुसी छन् । लेकबाट गोठ झारेपछि भल्कोट क्षेत्रमा गोठाला र बस्तुभाउको चलहपलह बढेको छ ।  गाई, भैँसी, भेडा र बाख्राले भल्कोटका बारी तथा खर्कहरू ढाकिएका छन् । हरेक वर्ष जेठ–असारमा लेक चढ्ने र असोजमा बेँसी झर्ने स्थानीयको परम्पराअनुसार यस वर्ष पनि गोठाला बेँसी झरेपछि भल्कोटमा चहलपहल बढेको हो । एकै परिवारले सयौँको सङ्ख्यामा बस्तुभाउ पाल्ने हुँदा गोठाला गुमती बसाइँ बस्छन् ।  बर्खाभरी लेक क्षेत्र बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातिहाल्ने, रिग, तिलाचन, खानीखोला क्षेत्रमा बसेका गोठलाहरू अहिले बेँसी क्षेत्र भर्कोबाङ, भल्कोट, मोराखोला, भिबाङलगायतका क्षेत्रमा छन् । अब यी क्षेत्रमा गहुँ, जौँ छरेपछि खर्चन र गुम भन्ने ठाउँमा जाने स्थानीय मनबहादुर बोहराले बताए ।  गोठालाहरू सुरुमा लेकबाट भर्कोबाङमा झर्ने र त्यहाँ गहुँ, जौँ छरेपछि विस्तारै अन्य ठाउँमा जाने उनको भनाइ छ । अबको करिब १५ दिन भल्कोट क्षेत्रमा बस्ने र त्यसपछि गुम, खर्चनलगायतका ठाउँमा गोठ सार्ने बोहराले बताए । “यो त हाम्रो परम्पराजस्तै हो, यति धेरै सम्पत्ति एकै ठाउँमा पाल्न सकिँदैन, बर्खामा लेक, हिउँदमा बेँसी गरेर पाल्नुपर्छ, हाम्रो पाकापुर्खाहरूले त्यही गरे, हामीहरूले पनि त्यही नै गर्दै आएका छौँ, तर पछिल्लो समय पहिलेको जस्तो अवस्था छैन”, बोहराले भने, “अहिले त धेरैले बस्तुभाउ पाल्न कम गरेका छन्, पहिले–पहिले त एउटै घरमा पाँच/सात सय डिङ (बस्तुभाउ) हुन्थे, अहिले त धेरै कम भएका छन् ।” स्थानीय ढालेन्द्र घर्ती मगरले आफूहरू असोज तेस्रो साता मात्रै बेँसी झरेको सुनाए । भल्कोटका बारीमा गहुँ छरेपछि बस्तुभाउलाई अन्तै लैजाने उनको भनाइ छ । लेकमा बस्दा धेरै गोठालाहरूले एकै ठाउँमा भेडाबाख्रा र गाईभैँसी राख्ने गरेको भन्दै बेँसी झरेपछि छुट्टै बाँध्ने उनले बताए । बेँसीमा आ–आफ्नो बारीमा बाँध्ने हुँदा बारीभरि बस्तुभाउ देखिने घर्ती मगरको भनाइ छ । पहिले आफ्ना झण्डै १०० गाई गोरु रहेको भन्दै अहिले धेरै कम भएको उनले सुनाए । घर्ती मगरले भने, “बस्तुभाउ पाल्ने धेरै गाह्रो छ, एकै ठाउँमा राखेर पाल्न सकिँदैन, वर्षभरि चरनका लागि ठाउँठाउँमा पुग्नुपर्छ, गोठ सार्ने, पशुचौपाया सार्ने, घाँस काट्नै पर्यो, पहिले हाम्रा अग्रजहरूलाई झन कति गाह्रो थियो होला ?, त्यस बेला त अहिलेको भन्दा धेरै पाल्थे, यहीबाट खान लाउन पुगे त हुन्थ्यो पुग्दैन, अरु दुःख पनि गर्नुपर्छ ।” यस क्षेत्रका किसानले सयौँ पशुचौपाया पाल्दै आए पनि व्यावसायिक बन्न सकेका छैनन् । स्थानीय कुम्भीरा मगरले आफ्ना ५१ वटा गाई रहेको सुनाउँदै यसबाट जीविकोपार्जन हुन नसकेको बताए । घरमा पहिलेदेखि नै गाई पाल्दै आएको हुँदा आफूहरूले निरन्तरता दिँदै आएको बताए । गाई धेरै पाल्दा बारीमा मल हुने उनको भनाइ छ । वर्षमा रु २० हजारको दूध, घ्यूसमेत बिक्री गर्न नसकेको मगरले सुनाए । 

भोजपुरका किसान पनि व्यावसायिक चिया खेतीमा

भोजपुर । भोजपुरमा अर्ग्यानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान गिरी एक दशकभन्दा बढी समयदेखि चियाको व्यावसायिक खेती गर्दै स्थानीयस्तरमा उदाहरणीय बनेका छन्  ।  उनले हाल आफ्नो करिब ८० रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गरेका छन् । विगतमा हातैले प्रशोधन गर्दै आउनु भएका उनले विसं २०७६ बाट गरस चिया उद्योग सञ्चालनमा ल्याएका हुन् । जिल्लामा चियाको क्षेत्रमा यो पहिलो उद्योग हो । अर्ग्यानिक चिया उत्पादन गर्ने लक्ष्यले व्यावसायिक खेतीमा जुटेको उनको भनाइ छ । उद्योगबाट हरियो चिया (ग्रीन टि), कालो चिया र सिल्भर चिया उत्पादन गदै आएको उनले बताए । उद्योगले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्क प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ । व्यवसायी गिरीले उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट रु १७ लाख ५० हजार अनुदान प्राप्त गरेका छन् । उत्पादित चियाले उचित मूल्य प्राप्त गरेमा वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म आम्दानी लिने कुनै समस्या नरहेको उनको भनाइ छ । हाल ८० रोपनीमा फैलिएको खेतीलाई अझ विस्तार गर्ने तयारी भइरहेको छ । साथै, चिया बगान अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै गिरीले बगान परिसरभित्र ‘टेम्के फन पार्क तथा रिसोर्ट’समेत सञ्चालन गरेका छन् । व्यवसायी गिरीका अनुसार बगानमा महिनामा चार पटकसम्म चिया टिप्न सकिन्छ । उनले नर्सरी उत्पादनदेखि रोपण र प्रशोधनसम्मका सबै चरण आफैँ गर्दै आएका छन् । चिया खेती विस्तार गर्न इच्छुक अन्य किसानलाई उनले नियमित सल्लाह र प्राविधिक मार्गदर्शन दिँदै आएका छन् ।