विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले फिर्ता लिए राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन्।

चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन्।

चन्दले राजीनामा दिएपछि प्रहरी महानिरीक्षक कुँवरले उनलाई छलफलका लागि बोलाएका थिए। आईजी कुँवर निकट स्रोतका अनुसार आइजीसँगको छलफल पछि चन्दले राजीनामा फिर्ता लिएका हुन् । आईजी कुँवर र डिआईजी चन्द्र ब्याजी हुन् ।

सामाजिक सुरक्षा कोषमा मधेस प्रदेशका ४७ स्थानीय तह आवद्ध

धनुषा । मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती तीन जिल्लाका ४७ स्थानीय तहका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आइतबार समझदारीपत्रमा हस्ताक्षर गरे । मन्त्री भण्डारीले संविधानमा व्यवस्था भएको जनताको रोजगारीसम्बन्धी हक कार्यान्वयन गर्न र जनतालाई रोजगारी तथा स्वास्थ्य सेवासम्बन्धी न्यूनतम अधिकार सुनिश्चित गर्न स्थानीय तहहरुले सामाजिक सुरक्षा कोषसँग समझदारी गरेर अघि बढेको बताए । उनले कोषको दायरा फराकिलो पार्न जनकपुर क्षेत्रमा कोषको सम्पर्क कार्यालय तत्काल स्थापना गर्न लागिएको जानकारी दिए । रासस

दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्ने दौडमा २५ जना (नामावलिसहित)

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्ने दौडका प्रतियोगी २५ जना पुगेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १४ माघमा खुलाएको दरखास्त आह्वानको अन्तिम दिन आइतबारसम्म कूल २५ जनाले आवेदन दिएको मन्त्रालयले जनाएको छ । यसरी आवेदन दिनेमा मैनेजरप्रसाद कानू, रोहित रौनियार, देवनारायण यादव, सुरेशकुमार कार्की, प्रकाश बराल, नगेन्द्रकुमार दास, नन्दविक्रम अधिकारी, माधवप्रसाद रेग्मी, सागरनाथ उपाध्याय लगायत छन् । त्यस्तै, साझा प्रकाशनका पूर्व जिएम डोलेन्द्रप्रसाद शर्मा, सुशील ओझा, रामदेव यादव, नवीन जीसी, गिरेन्द्र राज अधिकारी, जनार्दन भट्ट, लक्ष्मीप्रसाद पण्डित, अनिल झा, दामोदर रेग्मी, शैलेन्द्र गिरी र श्रीकृष्ण सुवेदीले पनि अध्यक्ष बन्न इच्छा जाहेर गरेका छन् ।साथै, आवेदन दिनेमा भुपेन्द्र भण्डारी, पंकज कुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनाल पनि छन् । तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्न २४ पुसमा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा समिति गठन भएको थियो । हाल प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी बोर्ड सदस्य नवराज अधिकारीलाई दिइएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ : यस्तो छ तयारी

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीब्र पारिएको छ । भ्रमण वर्षको उद्घाटन हुने स्थल नारायणी नदी किनारमा अहिले ल्याण्ड फिलिङ गरी दुबो लगाउने काम भइरहेको छ । किनारमा सरसफाईको थप आर्कषक बनाउन सरसफाई पनि गरिएको छ । भ्रमण वर्षलाई लक्ष्ति गर्दै पुलचोक गोन्द्राङ ६ लेन सडकको निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाइएको छ । निर्माण कम्पनीले एक पत्रे कालोपत्रे सम्पन्न हुने गरी कार्यलाई युद्धस्तरमा काम गरिरहेको छ । भ्रमण वर्षमा भरतपुर आउने पाहुनालाई स्वागत गर्न विभिन्न ५ वटा पोइन्टमा स्वागतद्धारा निमार्ण गर्न लागिएको भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले जानकारी दिए। यस्तै उद्घाटन समारोहका लागि आर्कषक स्टेज निर्माण गरिने महानगरले जनाएको छ । फागुन १८ गते अर्थात् कार्यक्रम उद्घाटन हुने दिन करिब ५० हजार जना नारायणी किनारमा ल्याउने तयारी गरिएको छ । कार्यक्रमको प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन्। विभिन्न जात जाति, सँकृति, भेषभुषा, बाजा गाजासहितको ¥याली पनि निकाल्ने कार्यक्रम तय भएको छ। यसका लागि वडागत रुपमा पत्रचार पनि गरिएको छ । सबैभन्दा बढी सहभागी ल्याउने वडालाई पुरस्कारको पनि व्यवस्था गरिएको छ । भरतपुरका २९ वटा वडामा सरसफाई तथा वृक्षरोपणका लागि पत्रचार पनि गरिएको छ । यसअघि भ्रमण वर्ष सफल बनाउन मुल समितिसहित २९ वटा उपसमितिहरु गठन गरिएको छ ।भरतपुर भ्रमण वर्षमा आउने पर्यटकको मुख्य रोजाई चितवन राष्ट्रिय निकुञ्जमा जङगल सफारी, हात्ती सफारी, जीप सफारी, डुङ्गा सफारी, प्याराग्लाईडिङ, धार्मिक स्थलमा पुजापाठ हुने अनुमान गरिएको छ । यसका लागि सम्बन्धी ठाँउमा पूर्वाधारहरु तयार पारिएको छ । भ्रमण वर्षमा जङ्गल सफारी जाँदा बाघ र गैँडा देख्न नसकेका पर्यटकलाई भरतपुर ६ को देवनगरमा ओपन जु अर्थात बाघ र गैँडालाई प्रत्यक्ष अवलोकन गर्न मिल्ने व्यवस्था मिलाइएको छ । यस्तै भरतपुरको आँपटारीमा रहेको शीतकालिन दरबार दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला गर्न लागिएको छ । दरबारको स्तरोन्नती गर्न बोलपत्र आह्वान भई फागुनको पहिलो साताभित्र काम सक्ने लक्ष्यका साथ काम अघि बढेको छ । भ्रमण वर्षमा राप्ती र नारायणीको तटिय क्षेत्रमा बास बस्न मन पराउने पर्यटकका लागि नयाँ १०० वटा भन्दा बढी होमस्टेहरु सञ्चालनमा आइसकेका छन् ।भ्रमण वर्षलाई थप मनोरञ्जनात्मक बनाउन निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न साँकृतिक कार्यक्रमहरु आयोजना हुने छन् । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने महानगरले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भरतपुरतर्फ ध्यान केन्द्रीत गराउन नेपाल सरकारको मन्त्रिपरिषदको एउटा बैठक भरतपुरमा बसाउन पहल भइरहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्। यस्तै भ्रमण वर्षलाई थप चुस्तदुरुस्त बनाउन सुरक्षा निकायसँग पटक पटक छलफल गरिएको छ । पर्यटकको बसाँईलाई स्मरणीय तथा यादगर बनाउन चितवनका होटल व्यवसायीलाई गुणस्तरी सेवा प्रवाह गर्नुका साथै प्याकेजको व्यवस्था गर्न अनुरोध गरिएको छ ।

ठमेलमा चिनियाँ नागरिक मृत फेला, के होला कारण ?

काठमाडौँ । काठमाडौँको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन् ।काठमाडौँ–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङलाई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, १० माघदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका उनी शनिबार मृत अवस्थामा फेला परेका हुन् । प्रहरी स्रोतका अनुसार, हालसम्मको अनुसन्धानमा कुनै शंकास्पद कारण देखिएको छैन । उनले पछिल्लो समय केही औषधि सेवन गरिरहेको भेटिएको छ ।

जुम्लामा हिउँ पर्यो : किसानले लगाएको हिउँदे बालीनालीलाई राहत

जुम्ला । आज बिहानदेखि जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको स्थानीयहरुले बताएका छन् । तर हिउँ पर्न थालेपछि बढेको अत्यधिक जाडोले जुम्लाको जनजीवन कष्टकर बनेको छ । निजी विद्यालयमा पठनपाठन बन्द भएको छ । अहिले लगातार हिउँ परेको छ । सरकारी कार्यालय खुलेपनि सेवाग्राही सेवा लिन नआएको तिला गाउँपालिकाले जनाएको छ । जिल्लाको तापक्रम ‘माइनस’ मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । हिउँ परेपछि सदरमुकाम खलङ्गाको बजार बन्द भएको छ । यातायातका साधन राम्रोसँग चल्न पाएका छैनन् । हिमपातका कारण हिउँदे बालीलाई निकै राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका एक कृषि प्राविधिकले बताए । स्याउका नयाँ बिरुवा लगाउने समय पनि भएकाले हिउँ पर्दा सहज भएको उनको भनाइ छ । हिमपातपछि कर्णालीको हवाई सेवा अवरुद्ध भएको छ

आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनामा महानगरले चलायो डोजर

काठमाडौँ । सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । काठमाडौँ महानगरपालिका-१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ । वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरीका अनुसार १४ वटा टहरा भत्काइरहेको छ । अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका भान्छाका सामान, फर्निचर लगायत सामानहरू हटाएर डोजर चलाउने काम भएको बताइएको छ।

सभामुख र प्रमुख सचेतकहरूबीच छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूबीच छलफल जारी छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा कानुनमन्त्री धनराज गुरुङ र उपसभामुख इन्दिरा राना पनि सहभागी छन्। बैठकमा संसद्को हिउँदे अधिवेशनको बिजनेस, क्यालेन्डर, प्रि–बजेटलगायतका विषयमा छलफल हुन लागेको बताइएको छ।

चौधरीलाई पक्राउ गर्नुअघि तीन महिना अनुसन्धान गरेको सीआईबीद्धारा जानकारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन महिनाको अनुसन्धानपछि व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको जानकारी गराएको छ । व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरुले आपत्ति जनाइरहेका बेला सीआईबीको यस्तो प्रष्टोक्ति आएको हो । बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेपछि व्यवासायीहरुले आपत्ति जनाएका थिए । उनीहरुलाई बिनाअनुसन्धान पक्राउ गरेको भन्दै व्यवसायीले आपत्ति प्रकट गरेका थिए । तर, शुक्रबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन महिनाको अनुसन्धानपछि चौधरी र थापासहितलाई पक्राउ गरेको जनाएको हो । पत्रकार सम्मेलनमा सीआईबीका एसएसपी दिनेश आचार्यले तीन महिनाको अनुसन्धानपछि बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिएका हुन् । च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत सेयर अरुण चौधरी समूहले खरिद गरेको पाइएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार २०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयर अरुण समूहले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको थियो ।

रास्वपाको संसदीय दल बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन् । संसदको हिउँदे अधिवेशन माघ २२ गतेका लागि आह्वान भएको छ । उक्त अधिवेशनबारे छलफल गर्नको लागि संसदीय दलको बैठक बोलाइएको उपसभापति अर्यालले बताए । यसैबीच रास्वपाले माघ २१ गतेबाट अलपत्र योजनामा दबाब यात्रा गर्ने पनि तयारी गरिरहेको छ । यस विषयमा पनि संसदीय बैठकमा छलफल हुने छ ।

मध्यपहाडी लोकमार्ग हिउँले अवरुद

रुकुमपूर्व । हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन् । मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना क्षेत्रको झण्डै १९ किलोमिटर सडकमा बाक्लो हिउँ जमेको छ । बिहीबार दिनभरिजसो हिमपात भएपछि सडक खुलाउन सकिएन । आज सडकमा जमेको हिउँ पन्छाउने तयारी भइरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । सडक अवरुद्ध भएपछि बिहीबार काठमाडौँबाट आएका सवारीसाधन पातीहाल्नामा रोकिएका छन् । अलपत्र परेका यात्रुलाई प्रहरी र प्रशासनको गाडीमार्फत उद्धार गरेर रुकुमकोट ल्याइएको छ । हिउँ परेपछि शहीदमार्ग पनि अवरुद्ध भएको छ । भूमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकाको सिमाना रिकालेकदेखि हुकामसम्मको सडकखण्ड अवरुद्ध छ । हिउँ परेपछि पुथा उत्तरगङ्गा गाउँपालिकाको जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रमा फोन सेवासमेत ठप्प छ ।

नारायणगढ–मुग्लिङ तीन सातासम्म दिउँसो बन्द हुने

चितवन । पहाड काट्ने काम नसकिएको भन्दै नारायणगढ–मुस्लिन सडक खण्ड थप तीन हप्ता दिउसो बस्न गरिने भएको छ । सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम अझै नसकिएपछि दिउसो बन्द गर्ने कामलाई निरन्तरता दिएको नाग ढुङ्गा–मुस्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए। बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको थियो । सवारीसाधन दैनिक चार घण्टा सवारीसाधन रोकेर गत पुस ७ गतेदेखि काम भइरहेको थियो । मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ । पहिलो पटक थपिएको म्याद माघ २० गते सकिँदै छ । पुन थप भएको समय अनुसार फागुन १२ गतेसम्म दिउसो समयमा सडक बन्द हुनेछ । ३५ मिटरबाट फोड्न सुरु गरिएको चट्टान १४ मिटर काट्न बाँकी छ । हाई पावरका तीन वटा एक्स्काभेटर प्रयोग गरेर चट्टान फोर्ने काम भइरहेको भए पनि कडा चट्टान भएकाले ढिला भएको सूचना अधिकारी आचार्यले जानकारी दिए। ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । ३५ मिटर रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ । टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको छ । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्सट्रक्सनले पुलको काम गरिरहेको छ । हालसम्म आठ पुल सञ्चालनमा आइसकेका छन् ।

सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गरिने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्ने स्वीकृति दिने निर्णय गरेको छ । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् । त्यस्तै बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्यमा दुई जनालाई मनोनयन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोक निवासी लेखनाथ लामा र काठमाडौँ निवासी डा.सहारा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय बैठकले गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजित थापा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजित नारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको छ । सिआइबीका प्रमुख किरण बज्राचार्यका अनुसार तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजित नारायण सिंह थापा र अरुण चौधरीलाई १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ गरिएको हो । चौधरीको द चाँदवाग स्कुलले १० रोपनी जग्गा हडपेको र त्यसमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजित नारायण सिंह थापाको मिलोमतो रहेको आरोपमा दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पुङ्गी खोलाको सौन्दर्यकरण र सीमाङ्कनको कार्य तीब्र

भरतपुर । भरतपुरको मुख्य सहरी क्षेत्र भएर बघ्ने पुंगी खोलको सौन्दर्यको कार्य एक साथ अघि बढेको छ । करिब १० महिनाअघि सुरु भएको सीमाङ्कनको कार्य निरन्तरतामा छ भने पुङ्गी खोलाको दोभानबाट सौन्दर्यकरणको काम अघि बढिरहेको छ । खोलाको वडा ३, ४ मा पर्ने करिब ५ किलोमिटरको सीमाङ्कनको कार्य पुरा भइसकेको छ भने वडा नम्बर २, र ११ को एक किमिमा सीमाङ्कनको कार्य हुँदैछ ।६ किलोमिटर लम्बाई रहेको पुङगी खोलाको चौडाई १० देखि ४० मिटरसम्म छ । वर्षातको समयमा काम गर्न असहज हुने भएकाले हिँउदको समयमै दुबै कार्यलाई तीब्रता दिइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् । ‘सीमाङ्कन पुरा गरेर काम गर्छु भन्दा अझै समय लाग्ने भयो,उनले भनिन् ,‘दुबै काम एक साथ बढाउदा जनतामा उत्साहा थपिन्छ । सुन्दर र हरियाली सहर बनाउने संकल्प पुरा हुन्छ।’ भरतपुरको गौरवको आयोजनामा रहेको पुंगी खोला सौन्दर्यकरण गर्ने कार्यमा सकृय सहयोग गर्न प्रमुख दाहालले अनुरोध गरेकी छिन् । सीमाङ्कनको कार्य र आयोजनाको बारेमा स्थानीयलाई सहजीकरण गर्न प्रमुख दाहाल फिल्डमै पुग्ने गरेकी छिन् । प्रमुख दाहालले कुनै पनि काम असम्भव नहुने भएकाले यो कामलाई फत्ते पार्न पुंगी खोला संरक्षण समिति यो कार्यमा निरन्तर लागिरहेको बताए।आफ्नै कार्यकालमा संघ, प्रदेश र महानगरपालिकाको बजेटबाट काम पुरा गर्ने लक्ष्य पनि लिएको उनको भनाइ छ । पहिलो चरणको निर्माण कार्यअन्र्तगत पुंगीको दोभानबाट ३५० मिटर क्षेत्रमा सौन्दर्यकरणको काम गरिने छ । जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ्गवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन् । गरुयोजना अनुसार खोला किनारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ । यहाँ पर्यटकले चिया, खाजा खाने स्टेशन, विश्रमस्थल, खुला व्यामशाला पनि रहने छ । पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना हो । बढ्दो सहरीकरणले भरतपुरमा वर्षातको समयमा आकाशे पनि व्यवस्थापनमा समस्या देखिएपछि पुंगी र केरुङ्गा खोलाको सौन्दर्यकरण र व्यवस्थापनमा महानगर निरन्तर अघि बढेको छ ।

सशस्त्र सडकमा उत्रने ब्रिटिस गोर्खा भूतपूर्व सैनिकको चेतावनी

काठमाडौं, माघ १८ गते । ब्रिटिस गोर्खा भूतपूर्व सैनिकद्वारा सर्बोच्चको आदेश कार्यान्वन गराउन २४ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राजधानीको संवाद डबलीमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले पत्रकार सम्मेलन गरी सरकारले फैसला कार्यान्वयन नगरे आफूहरु सशस्त्र रुपमा सडकमा उत्रने चेतावनी समेत दिएको छ । बिगेसो प्रमुख सल्लाहकार परी थापाले निरन्तर संघर्षको परिणाम अदालतले पीडितहरुको पक्षमा फैसला गरेपनि सरकारले कार्यान्वयनमा बेवास्ता गर्नु दुःखत भएको बताए । थापाले फैसाला भएको एकबर्ष पुग्न लागेको पूर्वसन्ध्यामा संगठनले गर्ने प्रदर्शनले सरकारलाई दबाब पुग्ने विश्वास लिए । सर्वोच्चले पीडितको पक्षमा गरेको ऐतिहासिक फैसला भएको जनाउँदै, थापाले ऐतिहासिक र वर्तमान सन्दर्भमा हेर्दा गोर्खा सेना संयुक्त अधिराज्यको अभिन्न अंग भएको कुरामा कुनै विवाद नभएको बताए । उनले उनिहरु माथिको अन्याय तत्काल हल हुन जरुरी भएको बताए । “गोर्खाहरुलाई त्रिपक्षिय सन्धिको मातहतमा मात्र नराखी वेलयती सेनाको अभिन्न र महत्वपूर्ण अंगको रुपमा नै रहेको रहेछ भनी बझ्न सकिन्छ, आशा छ गोर्खाहरुले न्याय पाउने छन्” थापाले भने । संगठनका अध्यक्ष पदम सुन्दर लिम्बुले सरकारले अदालतको आदेश कार्यान्वयन गर्न आनकानी गरेकाले आगामी माघ २४ गते आदालतले फैसला गरेको ठिक १ वर्ष पुग्ने दिन काठमाडौंमा प्रर्दर्शन गर्ने र सबैलाई आह्वान पनि गरे । लिम्बुले त्यसपछि पनि सरकारले बेवास्ता गरे अक्रामकरुपमा पेश हुने बताउँदै भने, “अब पनि सरकारले कानमा तेल हालेर बसेमा हामीहरु हरेक किसीमका हतियार चलाउन जान्दछौं, हतियारसहित सडकमा आउने हो ।” अन्यायपूर्ण गोर्खा भर्ति समस्या रहेको बताउँदै लिम्बुले अविलम्ब नेपाल सरकारले समस्या समाधानका लागि पहल गर्नु पर्नेमा जोड दिए । गोर्खाहरुले अरुको तुलनामा जोखिमयुक्त कार्य गर्ने तर समान तलव, सेवा, सुविधा, पेन्सन, नदिने र राज्यले भाडाका सेना बनाउने भएकाले त्यसको खारेजीको लडाइँ लडेको बताए । अध्यक्ष लिम्बुले गोर्खालीहरुलाई अन्यायमा पर्ने मुख्य हेडक्वाटर बिर्गेड अफ गोर्खा (एचक्यूबीजी) भएको र त्यसले विनकामा बीचमा कमिसन लिएर मनपरी गरेकोले त्यसलाई पनि खारेज गर्नुपर्ने धारणा राखे । बिगेसो सिंगापुर विभागका प्रमुख पलबहादुर घर्तीले ब्रिटिस भर्तिको प्रभावका कारण सिंगापुर गोर्खाहरु अत्याधिक पीडित रहेको र समग्रमा सबै गोर्खाहरुको न्याको ढोका अदालतले खोलेकोमा धन्यबाद दिए । उनले २४ गते सडकमा उत्रेर सरकारलाई चेतावनी दिने र त्यसपछि पनि सुनुवाई नगरे कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिए । बिगेसो सचिव ज्ञानबहादुर गुरुङले सरकारले अदालतको आदेश कार्यान्वयन नगरे आफूहरु सशस्त्र रुपमा सडकमा निस्कन बाध्य हुने चेतावनी दिए ।