बिएन्डबी अस्पताल नजिकैबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ
ललितपुर । नेपाल प्रहरीले ललितपुरको बिएन्डबी अस्पताल नजिकैबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार बिहीबार ललितपुर महानगरपालिका–१७ स्थित बिएन्डबी अस्पताल ग्वार्को छेउमा रहेको आगमन थकाली चुलो एन्ड क्याफेबाट अवैध रूपमा लुकाइछिपाई राखेको चितुवाको छालासहित दुई जनालाई पक्राउ गरिएको हो ।
“नेपाल सरकार वन तथा संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संरक्षित जीवहरूको सूचीमा रहेको चितुवाको छाला अवैध रूपमा लुकाइछिपाई कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुग्यो, त्यहाँ भेटिएका शङ्कास्पद व्यक्तिहरू जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका–५ का वर्ष ४६ की मथुरा विक र जिल्ला काठमाडौँ शङ्खरापुर नगरपालिका–६ का वर्ष ४० की रामदेवी श्रेष्ठलाई चेकजाँच र खानतलासी गर्दा निजहरूमध्ये रामदेवी श्रेष्ठले बोकेको सेतो हातेझोलाभित्र चितुवाको छालाजस्तो देखिने ओखेटो पहार एक थान फेला परेको छ,” उनले भने, “उनीहरूबाट कलर्स कम्पनीको किप्याड मोबाइल एक थान र आइटेल कम्पनीको एन्डरोइड फोन एक थान फेला पारिएको छ, प्रहरीले नियन्त्रणमा लिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।”
रेशम चौधरीको नयाँ दल दर्ता प्रक्रियामा : कबीर सोब अध्यक्ष, जाँतो चुनाव चिन्ह
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेका रेशम चौधरीले 'नागरिक उन्मुक्ति पार्टी, नेपाल' नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निवेदन सनाखत प्रक्रियामा छ । बिहीबार एउटै पोशाकमा आयोग पुगेका चौधरीसहितका नेताहरूले कागजात पेश गरे । पार्टीको अध्यक्ष २८ वर्षीय कैलाली टिकापुरका कबीर सोबलाई बनाइएको छ भने चुनाव चिन्ह जाँतो प्रस्तावित छ । जनमत पार्टीबाट आएका अब्दुल खानसहित थप पाँच केन्द्रीय नेता पनि समावेश छन् । टीकापुर घटनापछि भूमिगत चुनाव जितेका चौधरीले नयाँ दल खोलेका हुन् । पछिल्लो समय पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठसँग विवाद बढेपछि यो कदम चालेको देखिन्छ ।
खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा रिहा गर्ने काभ्रे अदालतको आदेश
काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्ने आदेश दिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारको बयान र थुनछेक बहसपछि यो निर्णय गरेको हो । अदालतको अपहेलना र अधिवक्ता मनिषा गौतमलाई अपशब्द प्रयोग गरेको आरोपमा साइबर ब्यूरोमा उजुरी परेको थियो । गौतमले फेसबुक स्टाटस र लाइभमार्फत गालीगलोज गरेको भन्दै प्रहरीमा निवेदन दिइन् । अनुसन्धानमा फरार रहेका सुनारविरुद्ध गत साउन २ मा सरकारवादी फौजदारी मुद्दा दर्ता भयो । साउन ५ मा दैलेख प्रहरीलाई पक्राउ पुर्जी जारी गरिएको थियो । सुनारको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनालसहित महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा लगायतले बहस गरे । सरकारवादीतर्फ सहायक न्यायाधिवक्ता निष्ठा कर्माचार्यले पक्ष राखिन् । पछिल्लो मन्त्रिपरिषद् विस्तारमा सुनारको नाम सिफारिस भए पनि मुद्दाका कारण सूचीबाट हटाइएको थियो । श्रेस्तेदार इन्दिरा कार्कीका अनुसार सुनारलाई धरौटी बुझाएपछि रिहा गर्न सकिनेछ ।
मोन्था चक्रवातः आज-भोलि यात्रा नगर्न र अपराह्नदेखि हवाई सेवा प्रभावित हुने चेतावनी
काठमाडौं । मोन्था चक्रवातको आंशिक असरले काठमाडौं उपत्यका र मध्य-पूर्वी नेपालमा बिहानदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा उदयपुरगढीमा ४५.२ मिमि, मुर्कुचीमा ४३.८ मिमि र अन्य ठाउँहरूमा ३०-३९ मिमि वर्षा मापन भएको छ। गण्डकी, बागमती, कोशी र मधेसका जिल्लाहरूमा वर्षा जारी छ। मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार, अहिलेको वर्षा पश्चिमी वायुको प्रभावले भएको हो, तर अपराह्नपछि मोन्था चक्रवात पूर्ण सक्रिय हुँदा मेचीदेखि गण्डकीसम्म ठूलो वर्षा र हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना छ। विनोद पोखरेलले यसलाई 'ट्रेलर' भन्दै आज रातिदेखि भोलिसम्म भारी वर्षाको पूर्वानुमान गरेका छन्। विपद् विज्ञ धर्म उप्रेतीले शुक्रबारदेखि मनसुनजस्तो लगातार वर्षा हुने बताए । उपाध्यायले आज-भोलि यात्रा नगर्न र अपराह्नदेखि हवाई सेवा प्रभावित हुने चेतावनी दिएका छन्। जल तथा मौसम विभागले कोशी, मधेस, बागमतीका सबै जिल्ला, गोरखा, नवलपुर लगायतमा सतर्कता अपनाउन र अन्य सूचित जिल्लाहरूमा अद्यावधिक रहन सुझाव दिएको छ।
ताप्लेजुङमा भान्सा घरमा आगलागी, लाखौंको क्षति
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवामा एक स्थानीयको भान्सा घरमा आगलागी हुँदा लाखौं रूपैयाँ बराबरको क्षति भएको छ । स्थानीय बलबहादुर विकको काठ र जस्ताले बनेको भान्सा घरमा बुधबार दिउँसो अचानक आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको हो । स्थानीय शिक्षक निमा लामाका अनुसार आगलागीबाट करिब तीन लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको छ । भान्सा घरसँगै भित्र रहेका भाँडा–वर्तन, खाद्यान्न तथा अन्य सामग्री समेत जलेर नष्ट भएका छन् । आगलागीको कारण खुलेको छैन । तर चुल्होमा बालिएको आगोबाट आगलागी सुरु भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।
नेपाल र युएईबीच लिग २ ओडिआइ क्रिकेट: युएईमा पहिलो जितको खोजी
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ को यूएईमा सञ्चालित ओडिआई शृंखलामा नेपालले आफ्नो दोस्रो खेलमा आज होम टिम यूएईसँग भिड्न लागेको छ । दुबईको आईसीसी एकेडेमी मैदानमा हुने यो रोमाञ्चक भिडन्त नेपाली समयअनुसार बिहान ११:१५ बाट सुरु हुनेछ । शृंखलाको उद्घाटन खेलमा दुवै टोली अमेरिकासँग स्तब्ध बनेका थिए । नेपालले १०६ रनको लज्जास्पद हार बेहोरेको थियो भने यूएई ४ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । यसैले दुवै टोलीले शृंखलामा पहिलो जित हासिल गर्न कडा तयारी गरेको छ । ओडिआई इतिहासमा नेपाल र यूएईबीच कुल १५ खेल भएका छन्, जसमा नेपाल ९ पटक विजयी हुँदा यूएईले ६ खेल जितेको छ ।
‘मोन्था’ चक्रवातको प्रभावले आज यी नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आग्रह
काठमाडौं । देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकाले आज बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूको बहाव आगामी तीन दिनसम्म बढ्दो रहनेछ । यी नदीहरूमा पानीको सतह तीव्र गतिमा बढ्ने र केही स्थानमा आकस्मिक बाढी आउने सम्भावना रहेकोले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ । आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा बग्ने साना नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ । महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन, मौसमसम्बन्धी सूचना नियमित रूपमा अवलोकन गर्न र सम्भावित बाढी जोखिमका लागि आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।
सिराहा र धनुषालाई जोड्ने कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषालाई जोड्ने कमला नदीमा पुल निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि काम अलपत्र छ । पुल नबन्दा सिराहा र धनुषावासी नदी तर्नका लागि स्थानीय युवाको सक्रियतामा बनाइएको कामचलाउ काठेपुलको सहारा लिन बाध्य छन् । यही काठे पुल तरेबापत स्थानीयले प्रतिव्यक्ति रु २० शुल्क तिर्नुपरेको छ । विगतमा रु एक सयसम्म शुल्क लिने गरेकामा पछि सिराहा नगरपालिकाको समन्वयमा रु २० कायम गरिएको नगरका प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिए । उनले भने, ‘नगरले कुनै प्रकारको बोलपत्र निकालेर ठेक्का दिएको होइन । यहाँका स्थानीय युवाको पहलमा आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले काठको पुल बनाइएको हो । त्यसमा मर्मत खर्चस्वरुप रु २० लिने व्यवस्थाका लागि समन्वय र सहयोग गरेका हौँ ।’ यसरी शुल्क असुली गरिएकामा स्थानीयले भने गुनासो गरेका छन् । दैनिक लाखौँ रुपैयाँ असुल भएको बताउँदै स्थानीय दिनेश यादवले भने, ‘कमला नदीमा काठको पुल बनाएर जनताबाट कुनै किसिमको असुली वा शुल्क लिने अधिकार नगरपालिका वा कोही व्यक्तिलाई पनि छैन । यस्तो किसिमको असुली गैरकानुनी र नेपालको संविधानविरुद्ध हो । सङ्कलन भएको रकमको पारदर्शिता कायम गर्नुका साथै जनतालाई सहज हुनेगरी नगरले आवतजावत निःशुल्क गर्नुपर्दछ ।’ हरेक वर्ष वर्षा सुरु भएसँगै नदीमा आउने बाढीले काठको पुल बगाउने र नदीको बहाव घटेपछि पुनर्निर्माण गर्ने नियति दोहोरिरहेको छ । वर्षायाममा काठे पुल बगाएमा डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको यादवले बताए । सिराहा–६ का वडाध्यक्ष इन्द्रजित यादवले स्थानीयले वर्षौँदेखि यही समस्या भोग्नुपरेको बताए । ‘पुल नहुँदा सिराहा, धनुषा र सप्तरीका स्थानीयलाई प्रदेश राजधानी जनकपुर आवतजावत गर्न भारतीय बजार जयनगर वा जोखिमपूर्ण डुङ्गाको यात्रा गर्नुपर्ने वा आधा घण्टाको बाटोलाई मिर्चैया, ढल्केवर हुँदै करिब तीन घण्टा लगाएर यात्रा गर्नुपर्ने बाध्यता छ’, उनले भने । विसं २०६८ मा तीन वर्षभित्र पुल सम्पन्न गर्ने सम्झौता भए पनि पटक पटक म्याद थप गरिँदा पनि ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको वडाध्यक्ष यादवले जानकारी दिए । ‘पहिले ‘पप्पु कन्स्ट्रक्सन’ले अलपत्र पारेपछि कालोसूचीमा पर्यो । बाँकी काम ‘लुम्बिनी बिल्डर्स’ले लिएको थियो । काम पूरा हुन लागेको अवस्थामा करिब चार वर्षअघि आएको बाढीले पुल भासिएपछि निर्माण अनिश्चित बनेको छ । विसं २०८२ असारसम्मको अन्तिम म्याद पनि गुज्रिसकेको छ’, उनले भने । तराई मधेसको ‘लाइफ लाइन’का रूपमा रहेको उक्त पुल निर्माणमा ढिलाइ मात्र भएको छैन, भविष्यमा पुल बन्ने र नबन्ने अनिश्चितताले स्थानीय नागरिकमा निराशा पैदा गरेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ८२ पैसा र बिक्रीदर १४१ रुपियाँ ४२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ८३ पैसा र बिक्रीदर १६४ रुपियाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ १४ पैसा र बिक्रीदर १८६ रुपियाँ ९३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपियाँ ६७ पैसा र बिक्रीदर १७७ रुपियाँ ४२ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ८४ पैसा र बिक्रीदर ९३ रुपियाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ९८ पैसा र बिक्रीदर १०१ रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ७२ पैसा र बिक्रीदर १०९ रुपियाँ १८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ २४ पैसा र बिक्रीदर नौ रुपियाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८३ पैसा र बिक्रीदर १९ रुपियाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५५ पैसा र बिक्रीदर ३७ रुपियाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६३ पैसा र बिक्रीदर ३८ रुपियाँ ८० पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३६ पैसा र बिक्रीदर चार रुपियाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३४ पैसा र बिक्रीदर ३८ रुपियाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ६२ पैसा र बिक्रीदर ३३ रुपियाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८९ पैसा र बिक्रीदर नौ रुपियाँ ९४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०३ पैसा र बिक्रीदर १५ रुपियाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९४ पैसा र बिक्रीदर २२ रुपियाँ ०३ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ १२ पैसा र बिक्रीदर १८ रुपियाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपियाँ ०१ पैसा र बिक्रीदर ४६० रुपियाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपियाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपियाँ ७५ पैसा र बिक्रीदर ३६७ रुपियाँ ३१ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
हिमपातकाे कारण एक साताका लागि रोकियो मनाङ पदयात्रा
मनाङ । जिल्ला प्रशासन कार्यालयले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आह्वान गरेको हो । हिउँले भरिएको सडक खुलाइएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका पर्यटकहरू फर्किन सहज भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । “सोमबार रातिदेखिको हिमपातले अवरुद्ध सडक डोजर लगाएर हिउँ पन्छ्याएपछि खुलेको छ । खाङसारसम्मकै बाटो खुलेको छ । पदयात्रा भने अझै खुलेको छैन”, उनले भने, “हिउँ र पानी पर्न बन्द भए पनि पदयात्रा अहिल्यै सम्भव छैन ।” करिब एक हजार ५०० आन्तरिक तथा बाह्य पर्यटकको मङ्गलबार उद्धार गरिएको थियो । त्यसमध्ये करिब २०० विदेशी पर्यटक रहेका थिए । हिमपातका कारण तिलिचो आधार शिविरमा रोकिएका करिब ४०० पर्यटक तिलिचो जान नसकेपछि फर्केका थिए ।
बैतडीमा जीप दुर्घटनामा एक मृत्यु, चार घाइते
बैतडी । जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए । अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
माग पुरा नभएसम्म आन्दोलन तीव्र बनाउँदै नर्सिङ सङ्घ
काठमाडौँ । पारिश्रमिक वृद्धिको मागसहित आन्दोलनरत नर्सहरूले बुधबार दुई घण्टा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेका छन् । देशभरका नर्सहरूले लामो समयदेखि तलब वृद्धि नहुँदा असन्तुष्टि व्यक्त गर्दै आन्दोलन चर्काएका हुन् । माग पूरा नभए बिहीबारदेखि आन्दोलन थप सशक्त बनाइने नर्सिङ सङ्घले चेतावनी दिएको छ । तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले आन्दोलन चाँडै समाधान हुने विश्वास व्यक्त गरिन । “सम्भवतः बिहीबारसम्म निष्कर्षमा पुग्न सकिन्छ,” मन्त्री शर्माले भनिन्, “सबै पक्षबीचको छलफल सकारात्मक दिशामा अघि बढेको छ ।” उनले नर्सहरूको जायज माग सम्बोधन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन । मन्त्रीका अनुसार नेपालमा अत्यन्त न्यून पारिश्रमिकमा काम गर्न बाध्य नर्सहरूको तलब वृद्धि गर्न सकिने देखिएको छ । “कतिपय अस्पतालले त पहिले नै सरकारी दरअनुसार पारिश्रमिक पुर्याइसकेका छन्,” उनले भनिन्, “जस्तै ग्रान्डी र नर्भिक अस्पतालले नर्सहरूको तलब सरकारी सरह पुर्याएका छन् ।” नेपाल नर्सिङ सङ्घकी अध्यक्ष प्रा. चन्द्रकला शर्माले आन्दोलन रोक्ने कुनै अवस्था नरहेको बताउँदै सरकार, निजी मेडिकल कलेज र निजी अस्पतालसँगको छलफल सकारात्मक दिशामा गएको जानकारी दिइन । “पारिश्रमिक वृद्धि नगरी आन्दोलन अन्त्य हुँदैन,” उनले स्पष्ट भनिन् । बुधबारदेखि सरकारी अस्पतालका नर्सहरू पनि आन्दोलनमा सहभागी भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले नर्सहरूको मागमा “एउटा विन्दुमा पुगिसकेको” बताउँदै बिहीबारभित्र टुङ्गो लाग्ने सम्भावना रहेको जानकारी दिइन । निजी अस्पताल सञ्चालकहरूको संस्था (अफिन) का अध्यक्ष डा. पदम खड्काले अस्पतालको वर्गीकरण गरेर मात्र तलब निर्धारण हुनुपर्ने धारणा व्यक्त गरे । उनले सबै अस्पताललाई एउटै मापदण्डमा राखेर तुलना गर्न मिल्दैन भन्दै उपत्यकाभित्र र बाहिरका अस्पतालबीच फरक परिस्थिति रहेको बताए । यसैबीच, निजी स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूको मागको समर्थनमा विभिन्न स्वास्थ्य ट्रेड युनियन र पेशागत सङ्घसंस्थाहरूले ऐक्यबद्धता जनाएका छन् । नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मीको सेवा–सुविधा, तलब–भत्ता र सुरक्षासम्बन्धी विषयमा व्यापक छलफल भएको जानकारी दिँदै, “नर्सिङ सङ्घले उठाएका १५ बुँदे माग र सरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीबीच सेवा–सुविधामा एकरूपता कायम गराउने उद्देश्यसहित बैठक सम्पन्न भएको हो,” भनिन् ।
हिमाली भेगमा अलपत्र न्तरिक तथा विदेशी दुई हजार पर्यटकको उद्धार
काठमाडौं । वर्षा र हिमपातका कारण देशका हिमाली भेगमा अलपत्र परेका करिब दुई हजार आन्तरिक तथा विदेशी पर्यटकको सुरक्षित उद्धार गरिएको छ । पदयात्राको मुख्य सिजनमा परेको भारी हिमपातका कारण मनाङ, मुस्ताङ, म्याग्दी र गोरखाका उच्च हिमाली क्षेत्रमा अलपत्र परेका एक हजार पाँच सय स्थानीय र आन्तरिक पर्यटकसहित दुई सयभन्दा बढी विदेशी पर्यटकको बुधबारसम्म उद्धार गरिएको हो । हिउँमा फसेका केही पर्यटकको उद्धार कार्य अझै जारी रहेको बताइएको छ । मनसुनजन्य विपत्तिपछि राज्य संयन्त्र तत्काल उद्धार कार्यमा खटिएपछि मनाङबाट सबैभन्दा बढी पर्यटकको उद्धार गरिएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार तिलिचो, खाङ्गसार, पिसाङ, उपल्लो मनाङलगायत क्षेत्रमा अलपत्र परेका सबै पर्यटकलाई सुरक्षित रूपमा तल झारिएको छ । उनका अनुसार तिलिचो र उपल्लो मनाङ क्षेत्रमा उद्धारको पर्खाइमा रहेका एक हजार पाँच सयभन्दा बढी आन्तरिक र विदेशी पर्यटकको उद्धार गरिएको छ । उपल्लो क्षेत्रका हरेक होटलमा सोधपुछ र चेकजाँच गरेर पर्यटकको अवस्थाबारे जानकारी लिएर उद्धार गरिएको हो । अहिले त्यहाँ आफ्नै इच्छाले रहेका केही स्थानीय र पर्यटकबाहेक सबैको उद्धार भइसकेको छ । उद्धार गरिएका पर्यटकहरू चामे, बेँसीसहरलगायत सुरक्षित गन्तव्यमा पुगेका छन् । हिमपातका कारण बाटो अवरुद्ध हुँदा सवारीसाधन अभाव भए पनि मनाङबाट १५ वटा जिप र दुई वटा बसमार्फत पर्यटकलाई तल पठाइएको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिए । उद्धार कार्य नेपाली सेनाको नयाँ भैरवी दल गुल्म, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा सफल भएको उनले बताए । म्याग्दीको धौलागिरि सर्किट हुँदै मुस्ताङतर्फ जाँदै गरेका पर्यटकको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा टोली परिचालन गरेको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार धौलागिरि पदमार्गमा हिमपातका कारण रोकिएका तीन जना विदेशी र १२ जना नेपाली नागरिकको उद्धारका लागि टोली खटाइएको छ । “हिमपातले बाटो बन्द भएपछि भ्यालीमा अलपत्र परेका १५ जनाको उद्धार सुरु गरिएको छ । सबै सकुशल छन्,” उनले भने । उनका अनुसार मुस्ताङको लेकखर्क क्षेत्रमा फसेका सात जना जापानी र पाँच जना नेपाली पर्यटकको पनि उद्धार गरिएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीस्थित इटाली आधार शिविर हुँदै मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फातर्फ जाँदै गरेका ती पर्यटक सोमबार रातिदेखि परेको हिमपातपछि सो क्षेत्रमा रोकिएका थिए । सेनाले उनीहरूको बिहीबारसम्म उद्धार कार्य सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।
आजकाे माैसम: 'मोन्था' को प्रभावले यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात 'मोन्था' को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपात र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया बदली रहने छ । कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया बदली रहने छ । कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा तथा बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको साथै कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
रारा तालमा एक वर्षको अवधिमा करिब १९ हजार बढी पर्यटक भित्रिए
जुम्ला । आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा तालमा एक वर्षको अवधिमा करिब १९ हजार बढी पर्यटक भित्रिएका छन् । मुगुमा पर्ने रारा तालमा गत आर्थिक वर्षमा १९ हजार १०४ मध्ये महिला ६ हजार १७१ र पुरुष १२ हजार ९३३ आन्तरिक पर्यटकले अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख ऋषिकेश यादवले जानकारी दिए । त्यस्तै सार्क मुलुकबाट ७७ जनामध्ये पुरुष ६४ र महिला १३ जना रहेका छन् । तेस्रो मुलुक अर्थात् विदेशी २७६ मध्ये पुरुष १६३ र महिला ११३ पर्यटकले रारा भ्रमण गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को असोजसम्म रारा पुग्ने पर्यटकको सङ्ख्या दुई हजार ३४७ जनामध्ये पुरुष एक हजार ५८९ र महिला ७५८ जनाले राराको भ्रमण गरेको निकुञ्जका निमित्त कार्यालय प्रमुख यादवको भनाइ छ । सोही आवको असोजसम्म ३३ विदेशी पर्यटक रारा पुगेका छन् । अहिले कर्णाली राजमार्गको सडक स्तर वृद्धि भएसँगै सडक मार्ग भएर आन्तरिक पर्यटन रारा घुम्न आउनेको सङ्ख्या बढेको छ । विशेष गरी दसैँ–तिहारको अवसर पारेर रारा घुम्न आउने आन्तरिक पर्यटकको चाप यस वर्ष बढेको निकुञ्ज कार्यालयका निमित्त कार्यालय प्रमुख यादवले बताए । रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । यो याममा बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट घुम्न आउनेको सङ्ख्या बढिरहेको छ । सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुको रारा पुगिन्छ । तालसँगै कस्तुरी, मृग, हाब्रे, हिमचितुवा, कालो भालुलगायत ५१ प्रजातिका स्तनधारी वन्यजन्तुको बासस्थान नै राराको विशेषता रहेको निकुञ्ज कार्यालयले जनाएको छ । कर्णाली प्रदेशको अर्थतन्त्रलाई प्रभाव पार्ने रारासम्म सहज रूपमा पुग्नका लागि नाग्म–गमगडी सडक र कर्णाली राजमार्गलाई पूरै कालोपत्र बनाउन तीनै तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने यहाँका होटल व्यवसायी बताउँछन् । पछिल्लो समयमा नेपाली नागरिकमा पनि भ्रमणमा निस्कने प्रचलन बढ्दै गएको पाइन्छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवर्द्धनमा जोडिएको पाइएको छ । हिमाल, पहाडका दृश्य, कर्णालीवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । रारा राष्ट्रिय निकुञ्ज विसं २०३२ मा स्थापना भएको हो । यसको क्षेत्रफल एक सय छ वर्ग किमीमा फैलिएको छ । यसको अधिकतम भाग मुगु र केही भाग जुम्ला जिल्लामा पर्दछ । पर्यटकको रोजाइमा रैथाने कृषि वस्तु रारा पुगेर जुम्ला आउने अधिकांश आन्तरिक पर्यटकको प्रमुख रोजाइमा यहाँको रैथाने कृषि वस्तु पर्ने गरेको छ । स्वास्थ्यका लागि लाभदायक र स्वादिष्ट हुने भएकाले जुम्ली रैथाने कृषि वस्तु जुम्ला आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको सदरमुकाम खलङ्गा बजारमा रहेको रारालिही अर्ग्यानिक पसलका सञ्चालक अर्जुन बुढाले जानकारी दिए । यस वर्षको दसैँ तिहारमा मात्र रु तीनदेखि पाँच लाखसम्मको अर्ग्यानिक वस्तु बिक्री भएको छ । यहाँको रैथाने वस्तुको माग बढ्दै गएकाले गत वर्ष रु १२ लाख बराबरको स्याउका चाना, मार्सी चामल, सिमी, ओखर, कोदोको पीठो, चिनो, कागुनो, महलगायतका अर्ग्यानिक वस्तुको व्यापार भएको अर्ग्यानिक पसलका सञ्चालक बुढाको भनाइ छ ।
यस वर्ष पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान
पर्वत । यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धान खेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो । राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान गरेको हो । फलेवास नगरपालिका–६ देवीस्थानमा रहेको शक्ति कृषि तथा पशुपन्छी फर्म र नमूना कृषि सहकारीको सहकार्यमा धानका स्थानीय आठ जातको धानको मूल बीउ उत्पादन गरिएको छ । पोखरेली जेठोबुढो, रामधान चैते पाँच, हर्दिनाथ, सुुक्खा धान, स्थानीय धानको बीउ उत्पादन गरिरहेको छ । अहिले राष्ट्रिय धान अनुसन्धान कार्यलयको सहयोगमा आइआर १६, एल ७०४ र आइआर १६, ए ३७०८, आइआर २२८ एल, आइआर १३/२०८४, यसभिआइएन ३६८ नयाँ प्रजातिको धानको मूल बीउ अनुसन्धान गरिएको हो । यसैबिच, कृषि प्राविधिकमार्फत धानको बीउ परीक्षणपछि बीउ गरिने अर्जुन श्रेष्ठले बताए । धानको बीउ तथा अन्य अन्नबालीको बीउ बिक्रीमा फलेवास नगरपालिकाले सहयोग गर्दै आएको उनले बताए । गत वर्ष यस क्षेत्रको धानको बीउ फलेवास नगरपालिका, जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, कृषि विकास मन्त्रालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र पर्वतलगायतका सरकारी निकायमा रु आठ लाख बराबरको बिक्री भएको थियो । बर्सेनि तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तन, सिँचाइको अभाव, बाँदर आतङ्कजस्ता कारणले कृषकहरूको धानतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गरेपछि धानखेतीतर्फ आकर्षण बढ्ने विश्वास फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीले गरेकी छन् । केन्द्रले यसअघि गत हिउँदमा फलेवास नगर पालिका ६ देवीस्थानका १२ जना किसानको खेतमा गहुँबालीको पनि अनुसन्धान गरेको थियो ।

