प्रहरी र अध्यागमन कर्मचारी कुटाकुट प्रक्ररण : प्रतिवेदन बुझाउँदै समिति

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको कुटाकुट घटनाको छानबिन गर्न गठित समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वको तीन सदस्यीय समितिले प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

घटनाको छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन मन्त्रालयले समितिलाई भनेको थियो । गएको शुक्रबार बनाइएको समितिले शनिबारदेखि काम थालेको थियो ।

समितिको कार्यावधि सोमबार नै सकिएको थियो । तर, समितिले थप एक दिनको समयावधि मागेको थियो । आज साँझसम्म प्रतिवेदन बुझाउने गरी काम भइरहेको समितिका एक सदस्यले बताए ।

समितिमा नेपाल प्रहरीका डीआईजी राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन् ।

शुक्रबार विमानस्थलमा ‘चेकिङ’का क्रममा अध्यागमन अधिकृत छायालाल मोक्तान र प्रहरीका असई सञ्जय तामाङ र एक प्रहरी जवानबीच कुटाकुट भएको थियो ।

ललितपुरमा जर्मन नागरिक मृत भेटिइन्

काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् । एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी हुन् । लडिरहेको अवस्थामा भेटिएको भन्दै खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीको टोली भर्खरै घटनास्थलमा पुगेर जाँच सुरु गरेको छ ।उनको टाउकोमा चोट देखिएको छ ।मृत्युको कारण खुलिसकेको छैन ।

यी २२ कम्पनी परे कालोसूचीमा (सूचीसहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुनेगरी २२ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । चारवटा कम्पानीलाई तीन वर्ष, एउटालाई साढे दुई वर्ष, चारवटालाई दुई वर्ष, पाँचवटालाई डेढ वर्ष र बाँकी आठवटा कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

कानुन अनुसार विकास निर्माणका योजनाको अनुगमन गर्न विधेयक : मन्त्री शर्मा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले कानुन अनुसार विकास निर्माणका योजनाको अनुगमन गर्न विधेयक ल्याइएको बताएकी छिन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री शर्माले विकास निर्माणका योजनाको मन्त्रिपरिषद् कार्यालय, योजना आयोग, सम्बन्धी मन्त्रालय लगाएतले अनुगमनका लागि कानुनी व्यवस्था गर्न विधेयक ल्याइएको बताएकी हुन् । राष्ट्रियसभाबाट संशोधनसहित पारित भइ समितिका आएको विधेयकमा तेश्रो पक्षले पनि अनुगमन गर्न सक्ने व्यवस्था राखिएको उनले बताइन् । मन्त्री शर्माले विधेयकमाथि छलफल हुँदा प्रदेश र स्थानीयका आयोजनाको अनुगमनका लागि संरचना समेत बनाइने जिकिर गरिन् । उनले बिकास आयोजनाको नियमित अनुगमन हुने र मूल्याङ्कनको आधारको मापदण्ड निर्धारण हुने धारणा राखिन् । बैठकमा समिति सदस्यहरुले विकास निर्माणका योजना छनौट प्रक्रिया र कार्यान्वयनलाई बढी पारदर्शी र जबाफदेही बनाउने गरि कानुन निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।

पुंगी खोला सौन्र्दयकरणको कार्य सुरु, प्रमुख दाहालद्धारा शिलान्यास

चितवन । भरतपुर वडा नम्बर ३ र ४ को सिमानामा पर्ने पुङ्गी खोलाको दोभानबाट सौन्दर्यकरण गर्ने कार्यको शिलान्यास गरिएको छ । आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको उद्घाटन गरेकी हुन् । भरतपुर महानगरपालिकाको गौरवको आयोजना समावेश भएको पुङ्गी खोला सौन्दर्यकरणको पहिलो चरणको निर्माण कार्य नारायणी र पुङ्गी खोलाको दोभानबाट सुरु भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले पुङ्गी र केरुङ् ड्रेन महानगरपालिकाको गौरबको आयोजना भएको बताइन्। भरतपुरलाई सुन्दर र हेर्न लायक सहर बनाउने उद्देश्यअनुसार यी दुई खोलालाई हरियालीसहितको सौन्दर्यकरण गर्न लागिएको प्रमुख दाहालले स्पष्ट पार्नुभयो। करिब ६ किलोमिटरमा रहेको पुङ्गी खोलाको १० महिनाअघि सिमाङ्कनको कार्य सुरु भएको थियो । भरतपुरको वडा नम्बर ११, २, ३ र ४ नम्बर भएर बघ्ने पुंगी खोलको हालसम्म ५ किमी सिमाङ्कन गर्ने काम सकिएको छ । बाँकी वडा नम्बर २ मा घर, टहरा परेकाले सिमाङ्कनमा सहज भएको छ । पहिलो चरणको निर्माण कार्यअन्र्तगत पुंगीको दोभानबाट ३५० मिटर क्षेत्रमा सौन्दर्यकरणको काम गरिने छ । जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ्गवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन्। यसका लागि रु १ करोड ७५ लाख र महानगरपालिकाको रु २ करोड २२ लाख ७४ हजार गरी रु ३ करोड ९७ लाखको लागनीमा निर्माण कार्य हुन लागेको हो । निर्माण कम्पनी टिएसएन गिरवान जेभी जोरपाटी काठमाडौँले ११ महिनामा काम सक्ने गरी रु २ करोड ४९ लाख ठेक्का पाएको छ । पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना हो । भरतपुरका सहरी क्षेत्रमा आकासे पानी व्यवस्थापन गर्न यी दुई नदीलाई वार्षिक रुपमा बजेट विनियोजन गर्दै निर्माण कार्य पुरा गर्ने महानगरपालिकाको लक्ष्य रहेको छ । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट, ४ नम्बर वडा अध्यक्ष अर्पण पोखरेल, ११ का अध्यक्ष कमल मल्ल र १२ नम्बर वडाका अध्यक्ष लेखराज पन्तले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम पुंगी खोला संरक्षण समितिका संयोजक विकास थापाको अध्यक्षतामा भएको थियो ।

स्वास्थ्य बिमाअन्तर्गतका सबै सेवा शुल्क परिमार्जन गरिने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले ‘सुविधा थैली’अन्तर्गतका सेवा शुल्क परिमार्जन गर्ने भएको छ । बोर्डले पहिलो चरणमा औषधिको मूल्यसम्बन्धी सुझाव माग गरेको छ । एक हजार २०८ औषधिको नयाँ मूल्यसूची प्रस्ताव गरी बोर्डले सरोकारवालाबाट सुझाव मागेको हो । स्वास्थ्य बिमा कार्यक्रम सुरु भएयता पहिलोपटक शुल्क समायोजन गर्न लागिएको बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाऔं : प्रधानमन्त्री प्रचण्ड(भिडियाेसहित)

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए । स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु ।” प्रतिष्ठानले आम जनसमुदायलाई पुर्‍याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे । अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी आफ्ना सेवालाई नागरिकको आवश्यकताअनुसार विस्तार गर्दै लगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट संक्रमितहरूको परीक्षण र उपचारमा उल्लेख्य योगदान पुर्‍याएको स्मरण गरे । प्रधानमन्त्रीले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन पनि त्यत्तिकै आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ लाग्न प्रतिष्ठानलाई निर्देशन दिए । 

जीबी राईविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

काठमाडौँ । पोखरास्थित सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । उनी विरुद्ध नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल’ मार्फत राई विरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । जीबी राई सहित ४ जना विरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालय स्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मा जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा पत्राचार गरेको थियो । अन्य तीनजनाको हकमा भने डिफ्युजन जारी भएको छैन । अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । काठमाडौँ स्थित प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट जीबी विरुद्ध नोटिस जारी गरिएको हो । नोटिस जारी भएसँगै विश्वका जुनसुकै देशमा भेटिए पनि जीबीलाई इन्टरपोलले पक्राउ गरेर नेपालमा डिपोर्ट गर्न सक्छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ्ग घर भएका थान बहादुर बुढामगर, ओखलढुङ्गा घर भएका पूर्व अध्यक्ष भूपेन्द्र राई र पूर्व सदस्य शिव बहादुर गुरुङ विरुद्ध पनि डिफ्युजन जारी गर्न पत्राचार गरेको छ ।

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । सूचनाअनुसार ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेकालाई आवेदन दिन भनिएको छ । सूचना प्रकाशित भएको मितिले सातौँ दिनसम्म आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ । यसअघि एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि पुरुषोत्तम खनालले प्राधिकरणको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

आजदेखि धरहरा र काठमाडौं टावरमा पार्किङ निःशुल्क

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरा क्षेत्रमा निःशुल्क पार्किङ दिने भएको छ । महानगरपालिकाले न्युरोड सडकमा सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आजदेखि धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिन लागिएको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार धरहरा क्षेत्रका साथै पुरानो बसपार्क (काठमाडौं टावर) क्षेत्रमा सर्वसाधारणका लागि निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । उहाँकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । न्युरोड क्षेत्रमा महानगरले पार्किङ निषेध गरेपछि विकल्पको रूपमा धरहरा र काठमाडौं टावरमा निःशुल्क पार्किङको ब्यवस्था मिलाइएको हो । सो पार्किङ क्षेत्रमा पार्किङ गरे बापत कुनै शुल्क लाग्ने छैन ।

विद्यार्थीको गुनासो प्रत्यक्ष सुन्न भरतपुरका विद्यालयमा प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर–२७ मा रहेको जानकी माविका विद्यार्थीसँग प्रत्यक्ष साक्षात्कार गरेकि छिन् । शुक्रबार विद्यालय परिसरमा विद्यार्थीसँग मेयर कार्यक्रम अन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा,समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न प्रमुख दाहालसहितको टोली त्यहाँ पुगेको हो । भरतपुर महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको कार्यक्रममा यस आर्थिक वर्षमा केही नमुना विद्यालयमा विद्यार्थीसँग प्रत्यक्ष कुराकानी एवम् संवाद गरिने छ । कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, समस्याको छिटोभन्दा छिटो समधान गर्न सकिने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । विद्यालयको सुधारका लागि प्रयाप्त मात्रमा भौतिक पूर्वाधारहरु निर्माण भइसकेकोले आगामी दिनमा विद्यार्थीको माग अनुसार नै शैक्षिक गतिविधिहरु अगाडि बढाउने गरी यो कार्यक्रम ल्याइएको जानकारी दिइन् । विद्यार्थीसँग मेयर कार्यक्रममा विद्यार्थीहरुलाई आफ्ना जिज्ञासाहरु सहज रुपमा महानगरपालिका प्रमुखसँग राख्न सकिने व्यवस्था मिलाइएको थियो । शिक्षा क्षेत्रमा ठुलो लगानी गरी सकेको भरतपुर महानगरपालिकाले व्यवहारिक र प्राविधिक शिक्षालाई जोड दिदै आईरहेको थियो । जनकी माध्यमिक विद्यालयमा प्रमुख दाहालसँग जिज्ञासा राख्ने विद्यार्थीहरुले भएका पूर्वाधारलाई व्यवस्थित ढङ्गबाट प्रयोगमा नल्याइएको बताएका थिए । महानगरपालिकाले विद्यालयमा गर्दै आइरहेको बजेट विनियोजनमा सन्तुष्ट देखिएका छन् । विद्यालयमा देखिएका केही समस्यालाई तत्काल नै समधान गर्ने गरी विद्यालय व्यवस्थापन समितिसँग छलफल पनि गरिएको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले स्थानीय पाठ्यक्रममा प्रमुख, उपप्रमुख, स्थानीय सरकार, जनप्रतिनिधिबारे उल्लेख गरेअनुरुप विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिन यो कार्यक्रम सञ्चालनमा ल्याइएको बताइन् । यसले विद्यार्थीको नेतृत्व विकासमा ठुलो सहयोग पुराउने भएकाले भरतपुरका विद्यालयमा प्रमुख, उपप्रमुखहरु पुग्ने उनको भनाई थियो । कार्यक्रम महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले सञ्चालन गरिन् ।

महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरमा खेलाउने मेयर दाहालको इच्छा

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताएकी छिन् । शुक्रबार लोकतान्त्रिक खेलकुद संघले भरतपुरमा आयोजना गरेको मैयाँदेवि स्मृति यू–१९ प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध गरिन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् । प्रमुख दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी निर्माण कार्यका लागि माघ महिनाभित्रै ठेक्का आह्वान हुने स्पष्ट पार्नुभयो । यसका लागि वागतमी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले केही दिनमा बजेट विनियोजन गर्ने पनि उल्लेख गरिन्। वागतमी प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा रु १ अर्ब लगानीमा बाँकी निर्माण कार्य अगाडि बढाउने सम्झौता भएको छ । यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित नेपालका ३ रंगशालाले राष्ट्रिय गौरबको आयोजनामा समावेश गरेको छ । प्रमुख दाहालले भरतपुर महानगरपालिकाले खेलकुद क्षेत्रमा ठुलो लगानी गरेकाले खेल विधामा नेपालको ७५३ पालिका मध्ये प्रथम स्थान हासिल गरी पुरस्कृत भएको स्मरण गराइन् । यही गरिमालाई उच्चो पार्न भरतपुरमा दैनिक रुपमा खेल गतिविधिहरु हुने गरेको प्रमुख दाहालको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एक वर्षभित्र गौतम बुद्ध क्रिकेट रंगशालाका दुई वटै मैदानमा खेल खेल्न मिल्ने गरी काम हुन लागेकोमा खुसी व्यक्त गरिन् । अध्यक्ष चन्दले अलपत्र रहेको रंगशालाको बाँकी निर्माण कार्यका लागि भरतपुर महानगर प्रमुख दाहालले लिएको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गरिन् । कार्यक्रममा मैयाँदेवि ट्रष्टका महासचिव टंकनाथ पौडेल, कार्यक्रम संयोजक बचन कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैबीच शुक्रबार भएको उद्घाटन खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । सुदुरपश्चिमले दिएको ५८ रनको झिनो लक्ष्य गण्डकीले १० ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो । गण्डकीको जितमा सीमाना केशीले नटआउट २० रन बनाईन् । ३४ बल खेलेकी सीमानाले २ चौका प्रहार गरिन् । सुदुरपश्चिमकी अनु कडायत र जानका थापाले १–१ विकेट लिए । त्यस अघि टस जितेर पहिलो ब्याटिङ रोजेको सुदुरपश्चिम १६ ओभर १ बलमा ५७ रनमा समेटियो । उसका लागि सावित्री धामीले १२ बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । सुदुरपश्चिमलाई सस्तैमा समेट्न गण्डकीकी निरुता जिटी एक्लैले ४ विकेट लिईन् । ४ ओभर बलिङ गरेकी निरुताले एक मेडन राख्दै ४ रन मात्र खर्चिन् । ज्योत्सनिका मरासिनीले २ तथा आकृति तिवारी र सीमाना केसीले १–१ विकेट हात पारे । ४ विकेट लिएकी निरुता प्लेयर अफ दि म्याच बनिन् ।

विद्युत् महशुलको विवाद समाधान गर्न गठित आयोगले थाल्यो काम

काठमाडौं । विद्युत् महशुलको विवाद समाधान गर्न गठन भएको छानबिन आयोगले बिहीबारबाट औपचारिक रुपले काम शुरु गरेको थालेको छ । छानबिन आयोगले उद्योगी तथा विद्युत् प्राधिकरणलाई १० दिनभित्र आफ्ना विषयहरु समावेश गरि कागजात तथा प्रमाणहरू पठाउन निर्देशन दिएको छ । आयोगले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत उपभोग गरेका उद्योगी र त्यस्तो सेवा प्रदान गर्ने प्राधिकरणलाई माघ २१ गतेभित्र महशुलबारे आ–आफ्ना विषय र प्रमाण पठाउन निर्देशन दिएको हो । बिहीबार बसेको आयोगको बैठकले गरेको निर्णयबारे आज सूचना प्रकाशन गर्दै प्रमाण बुझाउन भनेको हो । डेडिकेटेड र ट्रंक लाइनको विद्युत महशुलबारे विवाद उत्पन्न भएपछि माघ १० गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन आयोग बनाएको थियो । लोडसेडिङको समयमा उद्योगीले प्रिमियम शुल्कमा डेडिकेटेड र ट्रंक लाइनमार्फत विजुली लिएको तर त्यसको महशुल हालसम्म नतिरेको भन्दै विद्युत् प्राधिकरणले उद्योगमा लाइन काटेको थियो । छानबिन आयोग बनेपछि भने प्राधिकरणले उद्योगहरूमा पुनः लाइन जाडेको छ भने आयोगलाई छानबिन गरी प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी) बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको सम्झौतामा त्रिविका निमित्त उपकुलपति डा शिवलाल भुसाल र युइएसटिसीका कुलपति जेङ्गयोङ्गले हस्ताक्षर गरे । सम्झौताको साक्षीमा त्रिविबाट आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्रा चिरञ्जीवी खनाल र युइएसटिसीका प्राध्यापक हाङ्होङ रहेका छन् । सम्झौतापछि त्रिविका निमित्त उपकुलपति भुसालले यसले विभिन्न सम्भावनाको ढोका खोलेको भन्दै आगामी दिनमा दुई विश्वविद्यालयका बीचमा घनिभूत सहकार्य हुने विश्वास व्यक्त गरे । युइएसटिसीका प्रतिनिधि प्राध्यापक हाङहोङले आफ्नोतर्फबाट अध्ययन र अनुसन्धानका क्षेत्रमा सक्दो सहयोग गर्ने बताउँदै ज्ञान र सीपको पनि आदानप्रदान हुनुपर्ने बताए । सम्झौताका लागि पहलकर्ता प्रा खनालको दुवै विश्वविद्यालयका बीचमा दीर्घकालीनरूपमा सहकार्य गर्न समझदारी भएको बताउँदै पारस्परिक समानता र लाभको पारस्परिकताका सिद्धान्तमा आधारित आपसीहित र शैक्षिक सहयोगलाई सक्षम पार्न सम्झौता उपयोगी हुने जनाए । सम्झौतासँगै विद्वान, अनुसन्धानकर्ता र शिक्षण कर्मचारीको आदानप्रदान हुनेछ भने विद्यार्थीहरूकोसमेत आदानप्रदान हुनेछ । संयुक्तरूपमा कार्यशाला र सङ्गोष्ठीको आयोजना हुनेछ । यो सम्झौतामा पाँच वर्षका लागि हुनेछ ।

चिनियाँ उपमन्त्री हेयानको टोली आज नेपाल आउँदै

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज नेपाल आउँदैछ । अन्तर्राष्ट्रिय विभागका उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान ११ः ०० बजे नेपाल भ्रमणमा आउन लागेको हो । चार दिने भ्रमणको क्रममा चिनियाँ टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि लिएर विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

विकल र सुनिल पौडेललाई सात दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई थुनामा राख्न सात दिनको म्याद थप भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेका पौडेलद्वयमाथि अनुसन्धानका लागि अख्तियारलाई सात दिनको अनुमति दिएको हो । प्रवक्ता धनबहादुर कार्कीका अनुसार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पौडेलद्वयलाई थुनामा राख्ने अनुमति दिएको हो । उनीहरूलाई बुधबार पक्राउ गरेको अख्तियारले आज विशेष अदालतमा उपस्थित गराएको थियो ।