कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा शीतभण्डार नहुँदा किसान मर्कामा
कञ्चनपुर । शीतभण्डार (कोल्डस्टोर) को अभाव हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान मर्कामा परेका छन् । जिल्लामा एकमात्र निजी क्षेत्रबाट सञ्चालित शीतभण्डार बन्द भएपछि किसानले उत्पादन गरेका कृषिजन्य वस्तु भण्डारणमा समस्या भएको हो ।
तरकारी उत्पादनमा संलग्न किसानले आलु, काउली, बन्दागोभीलगायत मौसमी बाली राख्ने ठाउँ नहुँदा बिक्री, व्यवस्थापनमा कठिनाइ भोग्नु परेको गुनासो गरेका छन् । व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका किसान सबैभन्दा बढी प्रभावित बनेका हुन् ।
अगुवा किसान चेतराज चौधरीका अनुसार जिल्लामा शीतभण्डार नहुँदा तरकारी भण्डारण गर्न कैलालीतर्फ लैजानुपर्ने बाध्यता रहेको बताए । “टाढाको शीतभण्डारमा तरकारी पुर्याउँदा ढुवानी खर्च बढी लाग्छ, त्यसपछि भण्डारण शुल्क पनि तिर्नुपर्छ, बजारमा लैजाँदा लागत धेरैपर्ने भएकाले प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ”, उनले भने।
कृषक चामबहादुर डगौरले विगतमा शीतभण्डार हुँदा आलुको बीउ सुरक्षित राख्न सजिलो भएकामा अहिले त्यो सुविधा नहुँदा बाह्य क्षेत्रबाट महँगो दरमा बीउ खरिद गर्नुपरेको बताए । “घरमै राख्दा आलु कुहिने भएकाले उत्पादन भएका बेला सस्तोमा बेच्न बाध्य भयौँ, अहिले दोब्बर मूल्यमा बीउ किन्नुपरेको छ”, उनले गुनासो गरे ।
शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले किसानको हितका लागि स्थानीय तहले पालिकास्तरमै मिनी शीतभण्डार स्थापना गर्नुपर्ने बताए । यसका लागि कार्यपालिका बैठकमा कुरा राख्ने प्रतिबद्धता उनले व्यक्त गरे । “एक गाउँ एक मिनी शीतभण्डारको व्यवस्था गर्न सके किसानले उत्पादन सुरक्षित राखेर उचित मूल्यमा बिक्री गर्न सक्नेछन्”, उनले भने, “त्यसका लागि सबै पालिकाले चासो दिनुपर्छ ।”
शुक्लाफाँटा नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढाऐरले तरकारी उत्पादनमा लागेका किसानका लागि शीतभण्डार आवश्यक रहेको बताए। “शीतभण्डार अभावले किसानलाई समस्या परेको हामीले बुझेका छौँ”, उनले भने, “पालिकाले सहकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी मिनी शीतभण्डार स्थापनाको योजना अगाडि बढाउनु उत्तम हुन्छ, त्यसका लागि शाखाकोतर्फबाट हुने सहयोगका लागि तत्पर छौँ ।”
उनका अनुसार पालिकाभित्र तरकारी उत्पादन विस्तार हुँदै गए पनि भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा चुनौती बढ्दै गएको छ । समयमै आवश्यक पूर्वाधार निर्माण गर्न नसकिए किसान निरुत्साहित हुने खतरा रहेको उनको भनाइ छ ।
नगरपालिकाले प्रत्येक वर्षको नगरसभाबाट शीतभण्डार निर्माणका लागि बजेट विनियोजन गर्दै आए पनि स्थान छनोट गर्न नसक्दा कार्य अगाडि बढाउन सकेको छैन । स्थान छनोट नहुँदा प्रत्येक वर्ष विनियोजन गरेको बजेट थन्किने गरेको छ ।
अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८२ पैसा र बिक्रीदर १०१ रुपैयाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०९ रुपैयाँ १५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २३ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५ रुपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९६ पैसा र बिक्रीदर २२ रुपैयाँ ०५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ १४ पैसा र बिक्रीदर १८ रुपैयाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ६० पैसा र बिक्रीदर ४६१ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ५२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
प्रचण्डद्वारा निर्वाचनलाई प्राथमिकता : 'विकल्प छैन, शान्तिपूर्ण चुनावमार्फत समृद्धिको यात्रा'
भरतपुर । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको परिस्थिति सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत समृद्धिको बाटोतर्फ लैजानुको कुनै विकल्प नरहेको बताउनुभयो । आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले पछिल्लो समय देशमा उत्पन्न परिस्थिति सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै पक्षलाई त्यसमा होमिनुपर्नेमा जोड दिनुभयो । संयोजक प्रचण्डले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकोले तल्लो तहसम्मका नेताकार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुनाव हुन्छ वा हुँदैन भन्ने होइन। चुनावको विकल्प छैन। त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ।’ उहाँले थप्नुभयो, ‘मैले नेपाली कांग्रेसलगायतका दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु। चुनावको वातावरण बनाउन हामी सबै लागौँ। सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु।’ संयोजक प्रचण्डले अन्य कुरामा अल्मलिएर निर्वाचनमा केन्द्रित नहुन सरकारलाई आग्रह गर्नुभयो । यसैगरी, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ। यसबाहेक मधेसवादीसहितका दल र माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ।’
जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा
काठमाडौँ । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विस्फोटन, हिमपहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढेको देखाएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गरेको ‘थामे उपत्यका हिमताल विस्फोटन बाढीको कारण, प्रभाव, र भविष्यका जोखिम’ नामक अध्ययनमा उक्त क्षेत्रमा प्रत्येक दश वर्षमा औसत ०.२८ डिग्री सेल्सियसले तापक्रम बढिरहेको उल्लेख छ । उक्त अध्ययन ईसिमोडका जोखिम विशेषज्ञहरू सुदनविकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा र अरुणभक्त श्रेष्ठले गरेका हुन् । अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व हिमनदीको पग्लिने दर बढ्नेजस्ता समस्या भोगिरहेको देखाएको छ । यो दर पछिल्ला दशकमा पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको देखिन्छ । द्रुत हिमनदीको प्रभावका कारण अमू दरिया, सिन्धु, गङ्गा, ब्रह्मपुत्र र इरावदी बेसिनका २५ हजारभन्दा बढी हिमताल वृद्धि भइरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सोलुखुम्बुको थामे क्षेत्रमा गत वर्ष भएको हिमताल विस्फोटनको बाढी सम्बन्धमा गरिएको उक्त अध्ययनले सो पुष्टि गरेको हो । भूगर्भीय र भूआकृतिक कारकहरूको विनाशकारी, जटिल र शृङ्खलाबद्ध असरले सो क्षेत्रमा हिमताल विस्फोटन बाढीको शक्तिलाई बढाइदिएको अध्ययनमा उल्लेख छ । इसिमोडको अध्ययनका एक लेखक ‘रिमोट सेन्सिङ विश्लेषक’ सुदन विकास महर्जनले हिन्दु कुश हिमालयमा २५ हजारभन्दा बढी हिमताल रहेका र थामे घटनाले तुलनात्मक रूपमा साना तालबाट पनि हुने जोखिम बुझ्न र रोक्नका लागि धेरै प्रयास गर्न आवश्यक छ भन्ने देखाएको उल्लेख गरे । अध्ययनमा जलवायु परिवर्तनका कारण थामेमा विनाशकारी क्षति पुगेको उल्लेख छ । अध्ययनले चार हजार नौ सय मिटर उचाइमा रहेको हिमतालमा ठुलो चट्टान खस्दा बाँध भत्किएर एक लाख ५६ हजार घन मिटर पानी बाहिरिएको देखाएको छ । उक्त पानी १२० मिटर तल रहेको अर्को तालमा खस्दा तालमा २२ मिटर अग्लो र ५१ मिटर चौडा प्वाल परेको थियो । त्यसले थप तीन लाख तीन हजार घनमिटर पानी बाहिरिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । दुवै तालमा भएको पानी एक साथ बग्दा पानीको बहाव अत्यन्तै तीव्र भएको र त्यसले ठुला ढुङ्गासहितका भग्नावशेषलाई ८० किलोमिटर तलसम्म बगाएर लगेको थियो । त्यसपछि उत्पन्न बाढीले आफ्नो बाटोमा पर्ने नदी किनारमा क्षति गरेको थियो । नदीको प्राकृतिक रूपमा साँघुरिएको भाग र अस्थायी रूपमा जम्मा भएको बाढीको पानी बगेर जाँदा बाढीले ठुलो रूप लिएको थियो । ‘यसले गर्दा ठुलो क्षति भएको, थामे गाउँ नजिकको करिब आधा किलोमिटर चौडा उपत्यका भग्नावशेषहरूले भरिएको थियो ।’ बाढीले निजी घर, एउटा विद्यालय, स्वास्थ्य चौकी, पुल र एउटा जलविद्युत् आयोजनालाई क्षति पुर्याएको थियो । उक्त घटना दिउँसो भएकाले र पानी जम्मा भएको कारण बाढी चरणबद्ध रूपमा आएकाले मानवीय क्षति हुन नपाएको प्रतिवेदनमा उल्लेख छ । उक्त विपद्ले १३५ व्यक्ति विस्थापित र २५ घर नष्ट भएका थिए । नेपालमा सन् १९२० को दशकदेखि यता ९० भन्दा बढी हिमताल विस्फोटन भइसकेका छन् । जसमध्ये सगरमाथा क्षेत्रमा मात्रै ५० वर्षभन्दा कम अवधिमा पाँच वटा यस्ता ठुला घटना भइसकेका छन् । हिमताल विस्फोटन बाढी उच्च हिमाली क्षेत्रमा सबैभन्दा विनाशकारी र प्रमुख खतरामध्ये पर्दछन् । केही घण्टाभित्रै लाखौं घन मिटर पानी र भग्नावशेष छोड्न सक्ने क्षमता भएका यस्ता घट्नाले तल्लो तटीय क्षेत्रमा विनाशकारी क्षति पुर्याउँछन् । अध्ययनका सहलेखक इमिमोडका हिम विश्लेषक तेन्जिङ छोग्याल शेर्पाले जलवायुका अति गम्भीर घटना बढ्दै जाँदा, थामे जस्ता बाढीका घटना एउटा कठोर सम्झना र आत्म–चिन्तनको क्षण भएको बताए । उनले भने- ‘यसले पहाडी समुदायहरूले कसरी जलवायु–प्रेरित विपत्तिहरूको चपेटा सहिरहेका छन् भन्ने देखाउँछ । यस्ता अध्ययनले जलवायु परिवर्तनका वास्तविकताहरू बुझ्न सहयोग गर्छ ।’ इसिमोडका वरिष्ठ सल्लाहकार तथा अध्ययनका सहलेखक अरुणभक्त श्रेष्ठले थामे घटनाले हिन्दु कुश हिमालय क्षेत्रमा विश्वको तुलनामा झन्डै तीन गुणाले तापक्रम वृद्धि भइरहेकाले यस क्षेत्रका हिमनदीमा खतरा बढ्दै गएको बताए । ‘पछिल्ला दुई वर्षमा मात्रै, हामीले यस क्षेत्रमा हिमताल विस्फोटन बाढीसहित धेरै उच्च हिमाली खतराहरू देखेका छौँ, त्यसैले अब यस क्षेत्रमा वास्तविक सूचना तत्काल सुदृढ गर्न थप बाढी र मौसम पूर्वानुमान स्टेसन स्थापना र भविष्यमा हुनसक्ने घट्नाबाट हुने क्षति घटाउन इन्जिनियरिङ संरचना, जस्तै नदी किनार सुरक्षणसम्बन्धी काम गर्न आवश्यक छ’, उनले भने । थामे घटनाले हिमवत क्षेत्र र विपद्सम्बन्धित घटना बुझ्न र भविष्यमा कार्यान्वयन योग्य नीति निर्माणका लागि पाठ सिकाएको छ । हालसालै, यस क्षेत्रमा ‘बिल्डिङ एडप्टेसन एण्ड रेजिलेन्स इन द हिन्दु कुश हिमालयज’ परियोजनाले विपद्को लागत र जोखिम घटाउनेमा ध्यान केन्द्रित गरेको छ ।
छठको अवसरमा शुभकामना व्यक्त गर्दै निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्री कार्कीको आह्वान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण आह्वान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान् पर्व छठको अवसरमा सोमबार जारी गरेकाे शुभकामना सन्देशमा उक्त आह्वान गरेकी हुन् । शुभकामना सन्देशमा भनिएको छ, “आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु ।” जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व भएको र सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला भएको सन्देशमा छ । “सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन” सन्देशमा भनिएको छ, “आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो । छठसहित हाम्रा चाडपर्वहरु सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि भएको र अहिलेको अवस्थामा हामी सबै नेपालीबिच अझै बढी एकता र सद्भावको खाँचो रहेको उल्लेख छ । प्रधानमन्त्रीको सन्देशमा भनिएको छ,“पवित्र आस्था, कठिन व्रत र सिङ्गारिएका नदी तथा तलाउका किनारा र त्यहाँका उत्सवले दिने शक्तिले सबैमा सद्भाव र खुसियाली छाओस् ।” सन्देशमा सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने यस पर्वले नेपालीको सांस्कृतिक र सामाजिकरूपमासमेत तराई–पहाड जोड्ने सेतु बनिरहेको उल्लेख छ ।
मनाङका विभिन्न स्थानमा लेक लागेर तीन जनाको मृत्यु
मनाङ । हिमाली जिल्ला मनाङमा लेक लागेर तीन जनाको मृत्यु भएको छ । मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न स्थानमा लेक लागेर तीन जनाको मृत्यु भएको हो । उच्च हिमाली क्षेत्रमा पर्यटकको भारी बोक्न र पथप्रदर्शकको रूपमा गएका उनीहरूको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मृत्यु हुनेमा तनहुँका ४४ वर्षीय रामबहादुर थापा, नुवाकोटको किस्पाङ गाउँपालिका–१ का ४९ वर्षीय साम्बा घले र लमजुङको क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका छन् । पर्यटक पथप्रदर्शक (गाइड) को काम गर्ने थापा शनिबार राति नार्पाभूमि–२, मा केरेला होटलमा बास बसेका थिए । उनको सोही होटलमा मृत्यु भएको हो । आइतबार बिहान उनको शवलाई हेलिकप्टरमार्फत उद्धार गरी शिक्षण अस्पताल, काठमाडौं पठाइएको छ । यसैगरी, शनिबार नै मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा लेक लागेर लमजुङको क्व्होलासोथर गाउँपालिका–४, भुजुङका गुरुङको निधन भएको थियो । लेक लागेर बेहोस भएका गुरुङको उपचारको क्रममा निधन भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार काङला फेदी करिब चार हजार पाँच सय मिटरबाट पर्यटकको सामान बोकेर फर्कने क्रममा लेक लागेर गुरुङ बेहोस भएका थिए । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक अर्जुन बस्नेतको कमाण्डमा दुई जनाको टोलीले एयर डाइनेस्टीको हेलिकोप्टरमार्फत उद्धार गरी गुरुङलाई प्रहरी सहायक हवल्दार कृष्ण कामीको साथमा उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । डिलबहादुरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन बस्नेतका अनुसार नार्पाभूमि–४ याकखर्कमा पर्यटकको भारी बोकी फर्कने क्रममा नुवाकोट किस्पाङ गाउँपालिका–११ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार लेक लागेर घटनास्थलमा नै मृत्यु भएको थियो ।
परम्परागत खेती छाडेर गुल्मीका किसान किबीखेतीमा रमाउँदै
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रूपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रूपमा मकै र कोदोखेती मात्र खेती गरिँदै आएको उनले बारीमा किबीका बोट देख्न सकिन्छ । उनले किबी खेतीबाट मात्रै वार्षिक रु ६ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए । सत्यवती गाउँपालिका–८ मा वडा सदस्य समेत रहेका थापाले विगत ११ वर्षअघि व्यावसायिक रूपमा किबीखेती गर्न सुरु गरेका हुन् । उनले हाल आठ रोपनीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो र मोन्टी गरी ६ वटा किबीका जात लगाएका छन् । जलवायु र भौगोलिक संरचनाका हिसाबले भार्से किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उनले गत वर्ष किबी र बिरुवा गरी रु छ लाख आम्दानी गरेका थिए । अहिले गत वर्षको तुलनामा अझै राम्रो हुने अपेक्षा गरिएको थापाले बताए । किबीले खेती गरेको तीन वर्षबाटै उत्पादन दिन थालेपछि थापालाई किबीखेती गर्ने उत्प्रेरणा जागेको हो । उनको बारीमा एउटै बोटमा ५० देखि एक क्विन्टलसम्म किबी फल्ने गरेको छ । बारीमा अहिले १५० वटा किबीका बोट छन् । सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि रु आठ लाख खर्चेर व्यावसायिक रूपमा किबीखेती गर्न सुरु गरेका हुन् । “त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएको कारण एकपटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु”, उनले भने । किबीमा अन्य जातका फलफूलमा भन्दा रोग खासै नलाग्ने भएको उनले बताए । “वर्षमा दुई पटक हाँगाहरु काँटछाँट गर्नुपर्छ, गोठेमल मात्र प्रयोग गर्दैैै आएको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ”, थापाले भने । उत्पादित किबी बजारमा रु २०० देखि ३०० सम्ममा बिक्री भइरहेको छ । भार्सेको किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गर्दछ । उनले किबीलाई प्रशोधन गरेर गत वर्षदेखि किबीको वाइन बनाउन सुरु गरेका छन् । बजारमा किबीको वाइनको राम्रो माग भएको थापाले बताए । किबी बिक्री गर्न बजारको खासै समस्या नभएको थापाको भनाइ छ । उनले पाँच वर्षदेखि किबीको नर्सरीसमेत गर्दै आएका छन् । उनको नर्सरीमा यतिबेला आठ हजार किबीका नयाँ बिरुवा छन् । एउटा बिरुवालाई रु १५० देखि २०० सम्म पर्ने गर्दछ । सत्यवती गाउँपालिकाले भार्से गाउँलाई किबीको पकेटक्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ । किबीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा विरुवामा अनुदान उपलब्ध गराउँदै आएको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए । किबीका अन्य जातमध्येमा गोल्डेन र रेड किबी सबैभन्दा राम्रो मानिन्छ । यसको मूल्य अन्य जातको किबीकोभन्दा रु एक सय बढी पर्दछ । यस पटक गोल्डेन किबीले राम्रो मूल्य पाएको छ । भार्सेमा पाँच वटा किबी समूह रहेका छन् । उक्त समूहमा हाल ८० जना कृष आबद्ध छन् । त्यहाँका कृषकको घरमा दशदेखि एक सय ५० बोटसम्म किबीका बोट छन् । उक्त क्षेत्रमा अहिले ४० हेक्टर क्षेत्रफलमा किबी उत्पादन हुँदै आएको छ ।
अलैँचीको मूल्य यसवर्ष हालसम्मकै उच्च
ताप्लेजुङ । ताप्लेजुङमा आइतबार यसवर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ९३ हजार रुपियाँमा कारोबार भएको र उक्त मूल्य यसवर्ष हालसम्मकै उच्च मूल्य हो । तिहार सकिएसँगै सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको कारोबार सुरु भएको र शनिबारसम्म अलैँची प्रतिमन ९१ हजार रुपियाँले कारोबार भएको थियो । एक दिनपछि अलैँचीको मूल्य दुई हजार रुपियाँले वृद्धि भई प्रतिमन ९३ हजार रुपियाँले कारोबार भइरहेको स्थानीय व्यवसायीले बताएका छन् । दसैँ अघिसम्म प्रतिमन ८० हजार रुपियाँले कारोबार भएको अलैँचीको मूल्य दसैँ लगत्तै बढ्न थालेको हो । तिहारसम्म आइपुग्दा १० हजार रुपियाँले मूल्य वृद्धि भई प्रतिमन ९० हजार रुपियाँले बारोबार भएको थियो । फुङ्लिङ बजारका व्यावसायी कमल बरालका अनुसार तिहार सकिएलगत्तै अलैँचीको मूल्य अझ बढ्दै गएको छ । दसैँ पछिदेशी क्रमशः बढ्न थालेको अलैँचीको मूल्य तिहार सकिएपछि पनि निरन्तर उकालो लागेको फुङ्लिङ बजारकै अलैँची व्यवसायी भद्रवीर रेग्मीले बताए । ताप्लेजुङस्थित अर्लैँची व्यवसायी सङ्घका अध्यक्षसमेत रहेका व्यवसायी रेग्मीले आइतबारको कारोबार मूल्य यसवर्षको हालसम्मकै उच्च भएको बताए । उनका अनुसार फुङ्लिङ बजारमा साधारण अर्थात चलनचल्तीको अलैँची मनको ९३ हजार रुपियाँमा धमाधम कारोबार भइरहेको छ । यता अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै जाँदा स्थानीय किसान तथा व्यावसायी भने उत्साहित बनिरहेका छन् । भदौ महिनादेखि अलैँचीको नयाँ उत्पादन बजारमा आउन थालेको र बजारमा आउन थाल्दा प्रतिमन ८८ हजार रुपियाँले अलैँचीको कारोबार भएको थियो । भदौभर ८८ हजार रुपियाँ प्रतिमनमा कारोबार भएको अलैँची असोज लागेपछि मूल्य घट्न थालेको थियो । अलैँची व्यवसायी बरालका अनुसार दसैँ अघिसम्म मूल्य घट्न थालेको र दसैँ सकिएलगत्तै क्रमशः मूल्य बढ्न सुरु भएको हो । अहिले अलैँचीको मूल्य निरन्तर बढिरहे पनि मूल्य बढ्ने र घट्ने कुनै टुङ्गो नहुने स्थानीय व्यवसायी बताउँछन् । अन्तर्राष्ट्रिय बजारका आधारमा नेपाली बजारमा अलैँचीको कारबोर हुने भएकाले मूल्य घटबढ भइरहने पनि स्थानीय व्यवसायी बताउँछन् । यता गत वर्षको तुलनामा यसवर्ष भने अलैँचीको मूल्य सुरुमै राम्रो आएको व्यवसायीको भनाइ छ। ताप्लेजुङको प्रमुख नगदेबालीको रूपमा रहेको अलैँची यहाँका नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोला बाहेकका क्षेत्रमा खेती हुने गरेको छ । ताप्लेजुङस्थित कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट गतवर्ष दुई हजार ५३१ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ । यसवर्ष अलैँची फलाई केही न्युन भएकाले उत्पादन पनि तुलनात्मक रूपमा घट्नसक्ने किसान बताउँछन् ।
''अब देश सम्हाल्ने, भ्रष्टाचार अन्त्य गर्ने र युवाको भावना अनुसार अघि बढ्ने शक्ति माओवादी नै हो” –संयोजक प्रचण्ड
गोरखा । नेकपा (माओवादी केन्द्र)द्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आज गोरखा सदरमुकाममा सम्पन्न भयो। कार्यक्रममा पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य वक्ता तथा संयोजकका रूपमा उपस्थित हुनुभएको छ। कार्यक्रममा संयोजक प्रचण्डले जेन–जि आन्दोलनले उठाएका मुद्दा र देशको वर्तमान राजनीतिक अवस्थासम्बन्धी विचार प्रस्तुत गर्दै पार्टीका आगामी कार्यदिशाबारे स्पष्ट सन्देश दिनुभयो। संयोजक प्रचण्डले भन्नुभयो, “जेन–जि आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ।” उहाँले हालको अन्तरिम सरकारप्रति स्पष्ट मत प्रस्तुत गर्दै थप्नुभयो, “केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति हामीले पनि समर्थन जनाएका थियौँ। तर हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद विघटन गरौँ भन्ने थियो। जेन–जि आन्दोलन हाम्रा उत्तराधिकारी हुन्, र हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ।” चुनावको सन्दर्भमा अध्यक्ष प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गर्दै भन्नुभयो, “अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो। सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु। चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन।” त्यस्तै उहाँले देशभर माओवादी केन्द्रको अभियानप्रति जनविश्वास बढ्दै गएको बताउँदै भन्नुभयो, “हाम्रो पार्टीले अहिले जिल्ला–जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ। आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन्।” जेन–जि पुस्तासँगको सम्बन्धबारे प्रचण्डले भन्नुभयो, “अब जेन–जि युवाहरूसँग हाम्रो छलफल हुँदै जाँदा उहाँहरू पनि आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै जानु भएको छ।” उहाँले पार्टीभित्रको एकतालाई सुदृढ बनाउने संकल्प व्यक्त गर्दै भन्नुभयो, “हाम्रो केन्द्रीय समितिले पार्टीभित्रको एकता विरोधी र नेतृत्व विरोधी प्रवृत्तिलाई एकताबद्ध भएर परास्त गरेको छ। विचार मिल्नेहरूसँग एकता गरिन्छ, तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढिन्छ।” कार्यक्रममा संयोजक प्रचण्डले सबै कार्यकर्तालाई सचेत रहन आह्वान गर्दै भन्नुभयो, “अहिले पनि प्रतिगामी खतरा कायम छ। तिनीहरू लोकतन्त्र नै खोस्न सकिन्छ कि भनेर लागेका छन्। त्यसैले त्यस्ता तत्वबाट सावधान रहनुपर्छ।”
खगेन्द्र सुनारको नाम फिर्ता, फौजदारी मुद्दाका प्रतिवादी भएपछि मन्त्री बन्न पाएनन्
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी भएको तथ्य बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले उनको नाम मन्त्री सूचीमा समावेश नभएको स्पष्ट पारेको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार आदर्शकुमार श्रेष्ठले दिएको जानकारीअनुसार, सुनारको नाम सुरुदेखि नै लिस्टमा थिएन। यो स्पष्टीकरण सुर्खेत जिल्ला अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो। दैलेखको नारायण नगरपालिका–२ निवासी सुनारविरुद्ध २०८१ असार १४ मा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपातको आरोपमा मुद्दा दर्ता भएको थियो। यो मुद्दा गुर्भाकोट–८ को मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरीमा आधारित छ। अदालतले ७ दिने पक्राउ पुर्जी जारी गर्दै प्रहरीलाई पत्राचार गरेको थियो, र पछि २०८१ मङ्सिर २१ मा पनि दोहोर्याएको जनाइएको छ। शपथ ग्रहणको पूर्वसन्ध्यामा यो विवरण बाहिरिएपछि सुनारको सम्भावित नियुक्ति विवादास्पद बनेको थियो।
जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित
बाँके । राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका व्यक्तिमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले बताए । उनका अनुसार पछिल्लो पटक शनिबार बाघको आक्रमणमा परी राप्तीसोनारी–९ गुरुवागाउँ नमूनाटोल निवासी ४० वर्षीय इन्द्रबहादुर खत्रीको मृत्यु भएपछि बाँके राष्ट्रिय निकुञ्ज र स्थानीयबीचको द्वन्द्व बढ्दै गएको छ । शुक्रबार दिउँसो घाँस काट्न गएका खत्री साँझसम्म पनि घर नफर्केपछि प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजतलास गर्दा शनिबार बिहान जङ्गली जनावरले खाएको अवस्थामा शव फेला परेको थियो । स्थानीयको सुरक्षामा निकुञ्ज प्रशासनले बेवास्ता गरेको आरोप लगाइएको छ । उनीहरुले शनिबार घटनास्थलमा खटिएका निकुञ्जका रेञ्जर जयहरि धिताल र समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मी डिल्ली शाहीमाथि हातपातसमेत गरेका छन् । बाँके निकुञ्ज वरिपरिका क्षेत्रमा प्रायजसो बाघ र चितुवाको आक्रमणका घटना भइरहेकाले स्थानीय बासिन्दालाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान र साँझको समयमा अनावश्यक रुपमा वनजङ्गल नजिक नजान अनुरोध गरिएको निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । उनले मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरणका लागि निकुञ्जले विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै वन्यजन्तुबाट मृतक तथा घाइतेलाई कानुन बमोजिम राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने बताए । निकुञ्ज वरिपरिका क्षेत्रमा पटक–पटक बाघ र चितुवाको आक्रमण हुने गरेकाले मध्यवर्ती क्षेत्रका स्थानीय निकै त्रसित र आतङ्कित बनेको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताए ।
मन्त्रिपरिषद् बिस्तार : चार नयाँ मन्त्रीको आज नै सपथको तयारी
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्व वाली सरकारमा थपिने चार जना मन्त्रीहरूको नामावली अन्तिम रूप पाएको छ। उनीहरूको शपथ ग्रहण आजै हुने तयारी भइरहेको छ। नयाँ नियुक्त हुने मन्त्रीहरूमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्। प्रधानमन्त्री कार्कीले उनीहरूलाई निम्न मन्त्रालयहरूको जिम्मेवारी तोकेकी छन् : नयाँ मन्त्रीहरूको विवरण नाम मन्त्रालय सुधा गौतम स्वास्थ्य तथा जनसंख्या गणपति लाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन खगेन्द्र सुनार श्रम तथा रोजगार बब्लु गुप्ता युवा तथा खेलकुद प्रधानमन्त्री कार्कीले चारै जनाको नामावली राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन्। स्रोतले दिएको जानकारीअनुसार, "चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ। आजै शपथ ग्रहण हुन्छ।"
आइसिसी क्रिकेट लिग २ : नेपाल र अमेरिकाबीच आज प्रतिस्पर्धा
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत संयुक्त अरब एमिरेट्स (युएई) मा भइरहेको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र अमेरिका आज (आइतबार) भिड्दै छन्। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। नेपाल रोहित पौडेलको कप्तानीमा मैदान उत्रिने छ भने अमेरिकाको कमान्ड मोनांक पटेलले सम्हाल्नेछन्। सिरिजको दोस्रो खेलमा नेपालले युएईसँग भिड्नेछ। यसअघि शनिबार अमेरिकासँग र आगामी बुधबार युएईसँग खेल्ने तालिका छ। अंक तालिका (आईसीसी विश्वकप लिग-२) टोली खेल जित हार अंक बाँड अंक स्थान नेपाल १६ ५ ९ २ १२ सातौँ युएई १४ ३ ११ ० ६ नवौँ अमेरिका २० १४ ६ ० २८ दोस्रो नेपालले यो सिरिजबाट अंक तालिकामा सुधार गर्ने लक्ष्य राखेको छ, जसले विश्वकप छनोटको यात्रालाई मजबुत बनाउनेछ।
वन संरक्षणमा खुमबहादुरका दुई दशक: भन्छन्-“जिन्दगीले मलाई वनसँग बाँधिदियो । जबसम्म सास छ, यो बन्धन छुट्दैन ।”
कैलाली । कैलाली मुलुकभरि सबैभन्दा बढी वन क्षेत्र भएको जिल्लामध्ये एक हो । धेरै वन क्षेत्रमध्ये यहाँको भजनी नगरपालिका(२ मा अवस्थित राधाकृष्ण सामुदायिक वन ४४६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सुन्दर हरियाली, ताल तलैयासँगै स्वच्छ वातावरण रहेको वनले हरेकको मन तान्छ । यहाँ पिकनिक खान, बोटमा चढ्न र प्रकृतिसँगै रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । यही हरियालीबिचमा एउटा अनुहार छ, जसले वन संरक्षणमा दुई दशकभन्दा बढी समय बिताएका छन् । राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले दुई दशकभन्दा बढी समय वनको संरक्षण, वनजन्य स्रोतको दिगो व्यवस्थापन र समुदायमा सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । गाउँ, सहरमा मात्र नभएर जिल्लाभरि उनले वन संरक्षणमा पुर्याएको भूमिकाको चर्चा हुने गरेको छ । उमेरले ७० वर्ष पार गरिसकेका खुमबहादुरले आफ्नो जीवनलाई प्रकृतिसँगको अनन्त सम्बन्धमा समर्पित गरिसकेका छन् । उनले जीवनको सुरुवातमा ‘ड्राइभर’ को पेसा अपनाए । करिब २८ वर्षसम्म गाडी चलाएका उनले एक पटक डडेलधुरामा डिभिजन वन कार्यालय प्रमुख (डिएफओ) सँगको यात्राले जीवनको मार्ग बदलेको बताए । “यात्रा गरिरहँदा रेडियोमा सामुदायिक वनको चर्चा चलिरहेको थियो । त्यही क्षणमा सामुदायिक वन भनेको के हो ? भनेर प्रश्नमा आएको उत्तरले वन संरक्षणप्रति चासो जगाएको हो”, खुमबहादुरले भने । विसं २०५० मा भजनीमा गाउँ विकास समितिमा सामुदायिक वनका लागि सहपाठीलाई निवेदन दर्ता गर्न भनी खुमबहादुर आफ्नो पेसाका लागि भजनी घरबाट धनगढी फर्किए । उनलाई बोलाउन उनका सहपाठी धनगढी पुगेपछि उनी फर्किए । सुरुमा सल्लाहकारका रूपमा संलग्न भए। भजनी क्षेत्रभरिका अन्य वनमा खटिएको अनुभवले उनलाई थप जिम्मेवार र तयार बनायो । विसं २०५८ मा खुमबहादुरको पहलमा राधाकृष्ण, पशुपति, माहोन्याल, पूर्वखरौटी, प्रगतिशील र वनदेवी सामुदायिक वन दर्ता भएका थिए । उनी राधाकृष्ण सामुदायिक वनको अध्यक्ष भए, त्यसपछि सुरु भयो खुमबहादुरको वन संरक्षणको यात्रा । “गाउँ, टोलटोलमा गएर मानिसलाई वन संरक्षणको महत्त्व बुझाउने काम सजिलो थिएन । धेरैले पहिलो पटक वन संरक्षणको कुरा सुन्ने हुँदा शङ्का देखाउँथे । तर धैर्यता, सरलता र लगनशीलताले विश्वास दिलाउन सके सफल भइँदो रहेछ”, खुमबहादुरले भने । विसं २०५६ मा राधाकृष्ण सामुदायिक वनको प्रस्तावित अध्यक्ष भएका उनी २०५८ सालमा वन दर्ता भएपछि हालसम्म अध्यक्ष छन् । “बीचमा दुई जना अध्यक्ष आउनुभएको थियो”, उनले भने, “तर गाउँलेले फेरी मलाई नै अध्यक्ष बनाए ।” खड्काको जीवनमा चुनौती कम थिएनन् । “सङ्कटकालको समयमा, अतिक्रमण हटाएको भन्दै माओवादीले कुटे, मर्यो भनेर छोडिदिए । त्यो दिन मेरो शरीरले सक्दैन जस्तो लाग्यो । सबै भागे तर म भागिनँ । मेरो जिम्मामा वन थियो, त्यसलाई छोड्न सकिनँ”, उनले सम्झे । खुमबहादुरको दिनचर्या घरमा बित्दैन । उनलाई खोज्न परे वनमा जानुपर्छ । बर्सेनि वृक्षारोपण गर्ने, वन क्षेत्रमा निगरानी गर्ने र स्थानीय समुदायलाई वन संरक्षणमा संलग्न गराउने काम उनका लागि जीवनको अभिन्न हिस्सा बनेको छ । उनले भने, “म पैसा कमाउन आएको थिएन, मनको सन्तुष्टि पाउन वनसँग जोडिएको हुँ ।” उनको योगदान केवल राधाकृष्ण सामुदायिक वनमा सीमित छैन । भजनी, लालबोझि, खैलाड, थापापुर र जोशीपुरका गाउँ–टोलमा पनि उनका प्रयासले समुदायलाई वन संरक्षणको महत्त्व बुझाएको छ । अहिले भजनीमा ४३ वटा सामुदायिक वन दर्ता भइसकेका छन् । यसका लागि खुमबहादुरको भूमिका अमूल्य रहेको स्थानीय बताउँछन् । गाउँले उनीसँग धेरै समय जङ्गलमा भेट्छन् । अतिथि आउँदा पनि जङ्गलमै लगेर खुमबहादुर वृक्षारोपण गराउँछन् । स्थानीय अर्जुन सोवले भने, “हामीले वन संरक्षणको महत्त्व उहाँबाटै बुझ्यौँ । उहाँ हाम्रो गुरु हो । उहाँ नभए वन यति सुरक्षित हुँदैनथ्यो ।” खुमबहादुरले वन संरक्षण र व्यवस्थापनका लागि विभिन्न पाटो अपनाउनुभएको उनको बुझाइ छ । पानीको स्रोत र माटो संरक्षणका लागि निर्माण गरिएका स–साना बाँध, ढलान र तालले वनलाई अधिक जीवन्त बनाएका छन् । वृक्षारोपणमा मात्र होइन, वन्यजन्तुको संरक्षणमा पनि उनी अघि बढेका छन् । वनमा लोहटिवा ताल छ । तालमा वन्यजन्तु पानी खानका लागि आउने गर्दछन् । ताललाई पर्यापर्यटनसँग पनि जोडिएको छ । जसलाई व्यवस्थापन गरी पिकनिकस्थल, बोटिङ सञ्चालन गरिएको छ । अतिक्रमण हटाइ व्यवस्थापन गरिएको ताल अहिले पर्यटकको नयाँ गन्तव्य बनेको छ । संरक्षणसँगै पर्यापर्यटनलाई अघि बढाइरहेको खुमबहादुरले बताए । संरक्षणमा बिताएको उनको जीवनले अन्तर्राष्ट्रिय ध्यान पनि खिच्यो । निरन्तर प्रयास र योगदानका कारण उनलाई सन् २००३ मा ‘अब्राहम अवार्ड’ प्रदान गरियो । त्यो पुरस्कारले उनको नाम मात्र होइन, गाउँ र देशलाई पनि गौरवान्वित बनाएको छ । पुरस्कारको दिनको सम्झना गर्दै उनले भने, “त्यो मेरो व्यक्तिगत जित होइन, त्यो त हाम्रो वनको जित हो ।” खुमबहादुरसँग कुरा गर्दा उनको आँखामा वनप्रतिको माया स्पष्ट देखिन्छ । आज पनि राधाकृष्ण वनमा वृक्षारोपण, वृक्षको सुरक्षा, माटो संरक्षण र वन्यजन्तुको संरक्षणका कार्यक्रम खुमबहादुरको नेतृत्वमा सम्पन्न हुन्छ । उनको उमेर आराम गर्ने भइसकेको छ । उनले भने, “जिन्दगीले मलाई वनसँग बाँधिदियो । जबसम्म सास छ, यो बन्धन छुट्दैन ।” उनले वन देखाउँदै भने, “पहिले यो ठाउँ रुखविहीन थियो । तर आज हेर्नुस्, सबै फिर्ता आएका छन् ।” उनका आँखामा गर्व झल्किन्छ, तर त्यो गर्वमा अहङ्कार छैन ।
अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २६ पैसा र बिक्रीदर १४० रुपियाँ ८६ पैसा निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २६ पैसा र बिक्रीदर १४० रुपियाँ ८६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ८३ पैसा र बिक्रीदर १६३ रुपियाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ७० पैसा र बिक्रीदर १८७ रुपियाँ ५० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ०३ पैसा र बिक्रीदर १७६ रुपियाँ ७८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ १२ पैसा र बिक्रीदर ९१ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९८ पैसा र बिक्रीदर १०० रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ९० पैसा र बिक्रीदर १०८ रुपियाँ ३६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १७ पैसा र बिक्रीदर नौ रुपियाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ६९ पैसा र बिक्रीदर १९ रुपियाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ४० पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४८ पैसा र बिक्रीदर ३८ रुपियाँ ६५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २८ पैसा र बिक्रीदर चार रुपियाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १९ पैसा र बिक्रीदर ३८ रुपियाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ २१ पैसा र बिक्रीदर ३३ रुपियाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७४ पैसा र बिक्रीदर नौ रुपियाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९३ पैसा र बिक्रीदर १५ रुपियाँ र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८० पैसा र बिक्रीदर २१ रुपियाँ ८९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०५ पैसा र बिक्रीदर १८ रुपियाँ १३ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ ३३ पैसा र बिक्रीदर ४५९ रुपियाँ २९ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपियाँ ०७ पैसा र बिक्रीदर ३७३ रुपियाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपियाँ ३० पैसा र बिक्रीदर ३६५ रुपियाँ ८६ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
उग्रतारा भगवती मन्दिरमा कात्तिक १९ गतेदेखि उग्रतारा मेला
डडेलधुरा । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मनाइने उग्रतारा मेला (देहिजाँत) यही कात्तिक १९ गते सुरु हुने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र दोस्रो दिन मेला लाग्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । सोहीअनुसार कात्तिक १८ गते रतेडी र कात्तिक १९ गते बुधवारका दिन दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ । डडेलधुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन् । देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए । परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नो महत्व रहेकोसमेत उनको भनाइ छ । भगवती माताको पूजा बिहान चार बजे धार्मिक परम्परागत रूपमा दाइन दमाह, रुइसिङ्ग, विकुल, भोकर, शङ्क, घण्टा इत्यादि बाजागाजाका साथ चारवटै गाउबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुने अमरगढी नगरपालिका–८ का स्थानीय नरबहादुर साँकीले बताए । किम्वदन्तीअनुसार दुई हजार ५०० वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आइएको छ । वर्षमा एकपटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास छ ।

