संसद्‌मा ठग व्यक्ति चाहिँदैन भन्दै नेविसंघले जलायो रवि लामिछानेको पुतला

काठमाडौं । सहकारीको रकम घोटाला प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछनेलाई कारबाही माग गर्दै नेविसंघले राँको जुलुससहित उनको पुतला जलाएको छ ।

नेविसंघले शनिबार राति ९ः१५ बजे बानेश्वर संघीय नेपाल कमर्श क्याम्पस संसद् भवन सडक खण्ड अगाडि सहकारी ठगिमा मुछिएका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध मसाल जुसुलसहित पुतला दहन गरेको हो । नेविसंघले यसअघि सहकारी विभागमा उजुरी दर्ता गरेर कारबाही माग गरेको छ ।

प्रदर्शनको क्रममा नेविसंघले सांसद लामिछनेविरुद्ध नाराबाजीसमेत गरेको थियो । उनीहरुले रवि लामिछानेविरुद्ध उजुरी दर्ता गर, ३६ हजार जनताको पैसा फिर्ता गर, जनताको पैसा लुट्न पाइँदैन, दोषी जोगाउन पाइँदैन,विभेद र पूर्वाग्रह मानिँदैन, ठग व्यक्ति संसद्‌मा चाहिँदैन जस्ता नारा लगाएका थिए ।

नेविसंघका नेताहरुले कोणसभामा घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको बताए ।

बिहीबार नेविसंघले सांसद लामिछाने सहितले विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ लिएर आफू संलग्न गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लगाउँदै छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरेको हो । संघले सहकारी विभागलाई सहकारी घोटालाबारे छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्न चेतावनी दिएको छ ।

भूकम्पपीडितहरूले पाए पहिलो किस्ताको राहत

जाजरकोट । रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । ४२ हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकाका जम्मा पीडित छ हजार छ सय ३४ मध्ये चार हजार छ सय ४२ ले पहिलो किस्ताको रकम पाएका छन् । नलगाड नगरपालिकाका जम्मा आठ हजार ९७ जना पीडितमध्ये सात हजार एक सय ५० जनाले पहिलो किस्ता रकम प्राप्त गरेको जानकारी गराएको छ । छेडागाडमा आठ हजार दुई सय पाँचमध्ये दुई हजार एक सय ८८ जनाले मात्र रकम पाएको उल्लेख गरिएको छ । बारेकोटमा पाँच हजार पाँच सय ८६ मध्ये चार हजार छ सय ८७ जनाले पहिलो किस्तावापतको रकम पाएका छन् । कुशे गाउँपालिकाका पाँच हजार दुई सय ८७ परिवारमध्ये चार हजार एक सय ५४ परिवारले पहिलो किस्ताको रकम पाएका छन् । त्यस्तै जुनिचाँदे गाउँपालिकामा पाँच हजार चार सय छमध्ये एक हजार एक सय १३ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको छ । शिवालय गाउँपालिकामा तीन हजार तीन सय नौ जनामध्ये तीन हजार एक सय ४७ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको जानकारी दिइएको छ । बयालीस हजार पाँच सय २४ पीडितमध्ये हालसम्म २७ हजार ९१ परिवारले रकम बुझेको प्रशासनको विज्ञप्तिमा जनाएको छ । दश हजार एक सय ५९ परिवार मात्र अहिलेसम्म अस्थायी टहरा निर्माण गरेर बसिरहेको समेत उल्लेख गरिएको छ । हालसम्म ३२ हजार तीन सय ६५ परिवार अझै त्रिपालमा बसिरहेका छन् । जम्मा भूकम्पपीडितको सङ्ख्या ४२ हजार पाँच सय २४ रहेको छ । हालसम्म जुनिचाँदे गाउँपालिकामा कुनै पनि अस्थायी आवास निर्माण नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गठबन्धन अझै पाँच वर्ष अगाडि बढ्छ : धनराज गुरुङ

स्याङ्जा । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धनलाई अझै कसिलो बनाउन सके पाँच वर्ष अगाडि बढाउने बताएका छन् । सत्तापक्षीय गठबन्धनका साझा उमेदवारहरूको परिचय एवं मतदाता भेटघाट कार्यक्रमलाई आज स्याङ्जामा सम्बोधन गर्दै उनले गठबन्धनको महत्त्व अझै बढ्ने गरी सरकारलाई पाँच वर्ष अगाडि बढाउने बताए । “गठबन्धन चानचुने ढंगले अगाडि बढेको छैन,” उनले भने, “यो गठबन्धनलाई देख्दा अरूलाई ईर्ष्या, जलन भएको होला, यतिमामात्रै सीमित हुँदैन यो पाँच वर्षसम्म झनै कसिलो भएर अगाडि बढ्छ ।” गठबन्धन सरकारले मुलुकलाई अप्ठ्यारो स्थितिबाट सहजतातर्फ ल्याएको दाबी गर्दै उनले मुलुकको समृद्धि र सुशासनका लागि पनि गठबन्धनले निरन्तरता पाउने बताए । “कुनै पनि साथीले मत नबिगार्नुहोला, मत हाल्न जानिन भन्न पाइने छैन, त्यसो गरेमा जानीजानी नियत खराब भएर बिगारेको भन्ने बुझिन्छ,” उनले भने, “गठबन्धनका साथीहरूलाई मत दिएर विजयी बनाउनुहोला, एकमतले पनि तलमाथि भएमा केही न केही विचलन ल्याउँछ ।” यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार र नेकपा ९माओवादी केन्द्र०बाट मनरूपा शर्मा उमेदवार छन् ।

जनताको करबाट पार्टीको भवन बनाएकाे भन्दै माओवादी केन्द्रद्धारा तमानखोला गाउँपालिका कार्यालयमा ताला

बागलुङ । नेपाली काग्रेस बागलुङको भवन निर्माणका लागि १० लाख छुट्याउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्र तमानखोला गाउँ कमिटीले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ। गाउँपालिकाको दोस्रो गाउँ सभाको चौथो अधिवेसनबाट नेपाली कांग्रेसको पार्टी कार्यालय बागलुङका लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तमानखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष छवि श्रीपालीका अनुसार नेपाली कांग्रेसको पार्टी कार्यालय विपी स्मृति भवनको लागि गाउँपालिकाले १४ लाख वजेट विनियोजन गर्नु लाजमर्दो र तमानबासी गरिव,दुखी र आम नागरिक माथि गरिएको प्रहार भन्दै माओवादी केन्द्रबाट निर्वाचित सदस्यले असहमति जनाएका थिए । बिहिबारको गाउँसभाले विपी स्मृति भवनको लागि एकल बहुमतबाट बजेट विनियोजन गरेको हो । माओवादी केन्द्र तमानखोलाका सचिव छवि श्रीपालीको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा ताला बन्दी गर्दै जनताको रगत पसिनाको रकम एउटा पार्टीको भवन निर्माणमा लगाउनु कदापी स्वीकार्य नहुने बताए । तमानखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष थमबहादुर रोका, तमानखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नारायण सुनार, वडा नं ४ का वडा अध्यक्ष छवि श्रीपालीलगायत माओवादी केन्द्रका ११ जना गाउँसभा सदस्य तालबन्दीमा उत्रिएका थिए ।

पर्यटकको पर्खाइमा भरतपुवासी, खुले दर्जनौं होमस्टे

चितवन, माघ ५ । भरतपुर भ्रमण वर्ष २०२४ को घोषणा भएसँगै पर्यटकीय पूर्वाधारहरु निर्माण हुने क्रम बढेको छ ।भ्रमण वर्षमा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई खाना, बस्न, पर्यटकीय स्थल घुमाउन र सँस्कृति प्रस्तुती देखाउन भरतपुरबासी तयारी अवस्थामा बसेका छन् । भ्रमण वर्षमा यहाँको रैथाने खाना पस्कन भरतपुरबासीले आवश्यक वस्तुहरुको उचित भण्डारण गरी राखेका छन् ।भरतपुर–२४ का स्थानीय नविन श्रेष्ठले पर्यटकलाई कोदोको र फापरको रोटी, गहतको दाल र पिडालुको तरकारी पस्कन खाद्ययान्नलाई प्रशोधन गरी भण्डार गरेको बताए । यस्तै भरतपुर २८ गोलाघाटका सानु चौधरीले ३ सय वटा हाँसको चल्ला पाल्न सुरु गरेको जानकारी दिए । चौधरीले एक दिनमा १०० जना पर्यटकलाई पुग्ने गरी घुंगीको सेट पस्कन सक्ने गरी तयारी पनि गरेको बताए । भ्रमण वर्षमा आउने पर्यटकलाई राख्ने गरी पछिल्लो समय दर्जनौ होमस्टेहरु खुलेका छन् । दर्जनौ होमस्टे थप भएसँगै महानगरको मेघौली गोलाघाट, पटिहानी जगतपुर लगायतका पर्यटक गन्तव्यमा करिब २०० बेड क्षमताको होमस्टेमा आवसको सुविधा रहेको छ । भरतपुर महानगरपालिकामा दैनिक ७ हजार पर्यटकलाई आवस सुविधा दिन सकिने व्यवस्था रहेको छ भने गैँडाकोटा र सौरहालाई समेट्दा १५ हजार ७ सय पर्यटक राख्न सकिने तथ्याङक छ ।भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुरमा जीप सफारीको संख्या वृद्धि गरिएको छ । पर्यटकको मुख्य रोजाई जंगल सरफारी हुने अनुमानका साथ जीप सफारी गाडी थप गरिएको हो । भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ सल्लहाकार विश्वराज सुवेदीले यस अघि एक दर्जनमात्र जीप सरफारी रहेकोमा अहिले तेब्बर जीपहरु थप गरिएको बताए । जीप सफारी गर्न चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरबाट प्रवेश गर्ने व्यवस्था रहेको छ । भरतपुरका राप्ती र नारायणी नदीको तटिय क्षेत्रमा बनेका होटलहरुले आफ्नै जीप सफारी सञ्चालन गर्दै आएका छन् भने अब जीप सफारीको छुट्टै व्यवस्था गर्न लागिएको छ । कसराबाट १ घण्टादेखि ४ घण्टासम्म जीप सफारीको प्याकेज रहेको छ । यस्तै राप्ती तथा नारायणीमा डुङ्गा थप गर्ने तयारी पनि भइरहेको पर्यटन विज्ञ सुवेदीले जानकारी दिए । भरतपुरमा वार्षिक ३० हजार बाह्य पर्यटक आउने तथ्याङ्क रहेकोमा भ्रमण वर्ष २०२४ मा २ लाख बाह्य पर्यटक र ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरपालिकाले लक्ष्य लिएको छ । पर्यटकलाई केही नयाँ कुरा दिउँ भन्ने उद्देश्यले विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जीप सफारीका लागि पर्यटक आउने गरेका छन् । भ्रमण वर्षमा पर्यटकलाई बाघ देखाउने गरी भरतपुर ६ देवनगरमा निर्माण गरिएको बाघको केज निर्माण भईसेको छ । अबको केही दिनमा चितवन राष्ट्रिय निकुञ्जको उद्दार केन्द्रमा रहेको बाघलाई यहाँ स्थान्तरण गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले जानकारी दिए । यही स्थानमा गैँडा पनि राख्न मिल्ने गरी तारबारको काम पनि अघि बढाईएको छ ।

पर्वत र म्यादी रिटर्नी सेन्टर नेपालको जिल्ला भेला सम्पन्न

पोखरा । रिटर्नी सेन्टर नेपाल पर्वत र म्याग्दीको प्रथम जिल्ला भेला बुधबार सम्पन्न भएको छ ।पर्वत जिल्ला भेलाको उद्घाटन गर्दै माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा नगर अध्यक्ष शंकर गिरीले विदेशबाट फर्किएका युवाहरु विकास र परिवर्तनको मेरुदण्ड भएकोले जति सक्दो छिटो पालिका स्तरमा पुगेर उत्पादन कार्यमा जोड्न आग्रह गरे । पर्वत जिल्लाको प्रथम भेलाले राजु न्यौपानेको संयोजक र अभिनास गिरी सचिव हुने गरि पत्येक पालिकाबाट समावेश गरि ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । त्यस्तै आजै भएको म्याग्दी जिल्ला भेलाले नीलकण्ठ रेग्मी को संयोजकत्वमा रिटर्नी सेन्टर नेपाल म्याग्दी जिल्ला कमिटी गठन गरेको छ ।माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द पौडेलले खाना लाउन पुग्ने,सबै सहज हुंदाहुदै पनि अभिभावकले विदेश पठाईरहेको अवस्थामा विदेशबाट सिकेर आएको सीप,पुँजी र अनुभवलाई देशमै लगाउने गरि रिटर्नी सेन्टर नेपालले अभियान थाल्नु सुखद भएको बताए ।” अब गफ गर्न होईन उत्पादन मै जुट्नुपर्छ ।” पौडेलको आग्रह थियो । रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशका संयोजक ईश्वरी प्रसाद ढकाल , केन्द्रीय सचिवालय सदस्य बालकृष्ण मरासिनी , गण्डकि प्रदेशका सह(संयोजक भूवन गुरुङ, प्रदेश सदस्य हिरा बहादुर रेग्मी,रेशम केसी समेतको उपस्थितीमा भेला सम्पन्न भएको थियो । कार्यक्रम गण्डकि प्रदेश कमिटी संयोजक ईश्वरी प्रसाद ढकालको अध्यक्षमा सम्पन्न भएको थियो । रिटर्नी सेन्टर मुस्ताङको भेला भोलि पोखरामा गरिने रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशले जनाएको छ ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेर कारोबार भएको छ । छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुको हालसम्मको भौतिक–वित्तीय प्रगति, समस्या र चुनौती, समस्याका कारण र भावी कार्ययोजना बारे छलफल हुनेछ । त्यस्तै मध्यान्ह १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा समितिगत विषयमा छलफल हुने जनाइएको छ ।

गायक योगेश वैद्यको निधन

काठमाडौं । अग्रज गायक योगेश वैद्यको निधन भएको छ । ‘सपना भुलाई सारा।।।’ लगायत दर्जनौं लोकप्रिय गीतका गायक वैद्यको गएराति ७७ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि उनी मिर्गौला र मधुमेहको रोगबाट पीडित थिए । उनको अन्तिम श्रद्धान्जलिका लागि तयारी गरिरहेको संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले जानकारी दिए ।

सरकारले बनायो हाइड्रोजन प्रयोगको नीति

काठमाडौं । सरकारले नेपालमा हाइड्रोजनको उत्पादन एवं प्रयोगका निम्ति नीति बनाएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शमाले हाइड्रोजन नीति, २०८९ स्वीकृत गरिएको जानकारी गराइन् । यस निर्णयबाट नेपालमा वैकल्पिक ऊर्जा शक्तिको विकास गर्न मार्ग प्रशस्त भएको छ । ग्रिन हाइड्रोजन उत्पादनको लहर विश्वमा चलेका बेला नेपाल सरकारले यो नीति ल्याएको हो । यो खनिज इन्धनको तुलनामा तीनचार गुणा बढी शक्तिशाली हुन्छ र यसले कार्बन उत्सर्जन गर्दैन । यसलाई हरित ऊर्जाका रुपमा लिइन्छ । नेपाल विद्युत प्राधिकरणले पनि हाइड्रोजन प्लान्ट स्थापना गर्ने योजना अगाडि सारिसकेको छ ।

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात गरिएको छ । बिहीबार दिउँसो करिब २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रसाईं पक्षबाट सभा आयोजना गरिएको थियो । सभामा करिब २०० मानिस सहभागी थिए । सोही क्रममा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ । प्रसाईंमाथि हातपातको आरोपमा बागलुङ–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, गौतमले बागलुङ–२ स्थित धौलागिरि चोकमा जुत्ता पसल गर्दै आएका छन् । गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ गरिरहेको बागलुङ प्रहरीले जानकारी गराएको छ ।

सेयर बजार र कारोबार रकम दुवैमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार र कारोबार रकम दुवैमा गिवरावट आएको छ । उक्त दिन बजार ९.७४ अंकले घटेको हो । जार बजार परिसूचक २१५३.३२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बिहीबार फाइनान्स, हाइड्रोपावर बाहेक सबै समूह राताम्य बनेका छन् । बजारसँगै कारोबार रकम पनि गिरावट आएको छ । आज ८ अर्ब ९ करोड १४ लाख ६३ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख २९ हजार ८९३ कित्ता सेयर किनबेच भएको छ । यो बुधवारको तुलनामा कमी हो । बुधवार ९ अर्ब बढीको सेयर कारोबार भएको थियो ।

आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन हुन्छ : मन्त्री बस्नेत

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासका निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्ने दाबी गरे । ‘‘अब यो १० वर्ष, पछिल्लो १० वर्ष नेपालको उर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्नेछ । यो उपलब्धिहरुले हाम्रासामु नयाँ सम्भवानाहरु, हाम्रा निम्ति आउने अवसरहरु पनि सिर्जना गरेको छ । तर एउटा अर्को सत्य के पनि रहेछ भने हरेक उपलब्धिहरु, हरेक सम्भावनासँगै नयाँ चुनौती पनि सिर्जना भएका छन् । ती आउँदै जान्छन् ।,’’ मन्त्री बस्नेतले भने, ‘‘हामीले चुनौतीको उचित व्यवस्थापन गर्ने र सम्भवानालाई अझ व्यावहारिक बनाउँदै जाने, उद्घाटित गर्दै जाने त्यो नीति, विधि र इच्छाशक्तिका साथ हामी अघि बढ्नुपर्छ । अहिले सरकार त्यही बाटोमा अघि बढीरहेको छ ।’’ मन्त्री बस्नेतले निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बढी विद्युत् उत्पादन गर्नसक्ने बताए । मन्त्री बस्नेतले सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार अघि बढिरहेको जानकारी दिए । उनले पछिल्लो डेढ वर्षको अवधिमा एक हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादनको अवस्था सिर्जना भइरहेको बताए । ‘‘हामीसँग सम्भावनाहरुका दृष्टिले हेर्दाखेरि यो एक दशकमा आठ वर्षमा हामीले २१÷२२ सय र अझ आगामी तीनदेखि चार महिनाभित्र चार÷पाँच सय मेगावाट हामी उत्पादन गर्नेछौँ । यो दृष्टिले हेर्दा अहिले १५ देखि १६ म्हिनाको बिचमा, डेढ वर्षको अवधिमा हजारभन्दा बढी विद्युत् उत्पादन गर्नसक्ने अवसस्थासम्म आइपुगेका रहेछौँ । यो दृष्टिले हेर्दा आगामी १२ वर्षमा अब हामीले २८ हजार सात सय उत्पादन गर्न सक्दैनौँ भन्ने कुरा होइन ।,’’ मन्त्री बस्नेतले भने, ‘‘हामी उत्पादन गर्नसक्छौँ । ११२ वर्षको इतिहासबाट हिसाव गर्दा र त्यहाँ प्लस माइनस गुणा गर्दा हिसाव नमिल्न सक्छ । तर पछिल्लो एक दशक र १६ महिनाको अवधिमा एक हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादनको अवस्था सिर्जना भइरहेको छ, यो हिसाबले हेर्दा आगामी १२ वर्षमा हामी २८ हजारभन्दा बढी विद्युत् उत्पादन गर्नसक्छौँ ।’’ मन्त्री बस्नेतले लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्नसके ऊर्जा क्षेत्रका समस्या समाधान हुने बताए। लगानी कर्तालाई थप लगानीका लागि सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको जानकारी दिए ।

देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गर्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए । उनले विदेश गएका युवाहरूलाई स्वदेशमै फर्काउन नयाँ ढङ्गबाट काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । उपप्रधानमन्त्री श्रेष्ठले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढिरहेको जानकारी दिए । उनले विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहेको बताए । सुशासन प्रभावकारी बनाउने र अर्थतन्त्र सक्रिय बनाउने काममा सरकार लागिपरेको बताए । ‘‘अर्थतन्त्रलाई लयमा ल्याउने काममा त केही प्रगति गरेका छौं । त्यसमा पनि अझै हामीले केही काम गर्न बाँकी छ । तर त्यसबाट सन्तुष्ट भएर बस्न सकिने स्थिति छैन । हामीले अर्थतन्त्रको गतिलाई तीव्र पार्नैपर्छ र विकासको फड्कोमा जानैपर्छ । एउटा कुरामा हाम्रो कमी भएको छ । यो देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा राख्दैनौँ । यो देशमा युवालाई बाहिर पठाएर वृद्धाश्रम बनाउने खतराबाट यो देशलाई मुक्त गरिछोड्छौँ ।,’’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘‘यो सङ्कल्प त्यसै पूरा हुँदैन भन्ने हामीलाई थाहा छ । नयाँ ढङ्गले काम गर्नुपर्छ । त्यस दिशातर्फ अघि बढ्ने क्रममा हामीले अहिले उत्पादन वृद्धि गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा जानुपर्छ भनेर लागेका छौँ । अहिलेको गतिलाई अझ बढाउनुपर्छ भन्नेमा दृढ छौँ ।’’ उपप्रधानमन्त्री श्रेष्ठले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरूलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताए । उनले अब पनि बकबक गरेर बस्ने र ढिला गर्ने समय सरकारलाई नरहेको जिकिर गरे । उनले सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘‘विकासको प्रक्रियालाई नयाँ तीव्रतासहित अहिले सुशासन प्रभावकारी बनाउने र अत्यन्तै सक्रिय अर्थतन्त्र बनाउने हो । उत्पादन, रोजगारी बढाउने र व्यापारघाटा कम गर्ने दिशातिर लैजाने र त्यसले मात्रै हामीले विदेश जाने यो क्रमलाई रोक्ने वस्तुगत आधार तयार पार्छौँ । अब बकबक गर्ने समय हामीसँग छैन । अब ढिला गर्ने समय छैन । सबै मिलेर सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नैपर्छ ।’’ उपप्रधानमन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई फड्कोकारी रुपमा विकास गर्ने नीति सरकारले लिएको बताए। उनले नेपालको आर्थिक विकास र समृद्धिको यात्रा तीव्र बनाई लगानी भित्र्याउनका लागि सरकारले सुरक्षामा कुनै कमी हुन नदिने बताए। उनले निर्माण प्रक्रियालाई तीव्र बनाउन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अवस्था रहेको बताए ।

गाउँ निर्माण अभियान सुरु गरेका छौं : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान सुरु गरेको बताएका छन् । बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा पर्यटन प्रवर्द्धनका लागि ६० वटाभन्दा बढी पुराना गाउँको खोजी कार्य अघि बढाएको बताए । उनले पुराना गाउँ नयाँ पर्यटन गन्तव्य बन्ने दाबी गरे । सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउन कार्यविधि ड्राफ्ट तयार पारिसकेको उनले जानकारी दिए । आफूले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको भन्दै उनले अब उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्ने बताए । उनले पर्यटन ऐन, संस्कृति ऐनलगायत थुप्रै नीति निर्माण गर्नुपर्ने भएकाले मन्त्रालयले अहिले ऐन निर्माणका लागि आवश्यक काम गरिरहेको बताए । मन्त्री किरातीले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्नसक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब मन्त्रालय अघि बढ्ने बताए ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो। आजको बैठक नियमित हो । सधै बिहिबार बस्ने नियमित बैठक असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गर्नु अघिल्लो दिन आज बैठक बसेको हो ।