नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड : मुलुकको परिस्थिति असाधारण र जटिल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान परिस्थिति असाधारण र जटिल रहेको बताउनुभयो।
माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा शनिबार महालक्ष्मीस्थानमा सम्पन्न नेपाल संवत् ११४६ को शुभकामना आदान-प्रदान, चियापान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका थप बढेको उहाँले उल्लेख गर्नुभयो।
उहाँले वर्तमान अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएकाले १० बुँदे मार्गदर्शन जारी गरिएको पनि जानकारी दिनुभयो।
‘गत भदौ २३ गते जनजागरणले बेथिति, भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलित भएर राजनीति र देशप्रतिको मायाँका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो। तर भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनाक ढङ्गले गलत प्रवृत्तिको विकास हुँदैछ भन्ने पनि शिक्षा दिएको छ। यो हामीले बुझ्नुपर्छ। त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह गर्यौं,’ उहाँले भन्नुभयो।
प्रचण्डले जनजागरण आन्दोलनका मागहरू पार्टीकै मागसँग मेल खाने भएकाले समर्थन गरेको उहाँले उल्लेख गर्दै युवाको चाहना र भावनाअनुसार पार्टी रूपान्तरण हुनुपर्नेमा जोड दिनुभयो।
‘परिवर्तित परिस्थितिमा पनि रूपान्तरण हुने पार्टी माओवादी हो। जनजागरणका युवासँग निरन्तर संवाद र छलफल भइरहेको छ। संविधान संशोधन गरेर उनीहरूलाई बुझाउनुपर्छ। क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नुपर्छ। यो कुरा नवयुवाहरूले बुझ्नुपर्छ,’ उहाँले थप्नुभयो।
सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विषयमा आमजनता र युवालाई बुझाउन आवश्यक रहेको उहाँको भनाइ थियो।
‘लेनिनले भनेजस्तो क्रान्तिकारी पार्टी र नेताले मात्र गल्ती स्वीकार गर्छन्। बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन्। जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रूपान्तरण हुनुपर्छ। भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै होइनन्,’ उहाँले भन्नुभयो।
प्रचण्डले प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीहरूले पूर्वसभामुख कृष्णबहादुर महरालाई गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुवात गरेको आरोप लगाउनुभयो। पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भन्ने पत्रकारहरूले नभन्ने र यसको निराकरण सम्बन्धित पार्टी सदस्यहरूले नै गर्ने विषय भएकोमा पनि उहाँले जोड दिनुभयो।
कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा पूर्वमन्त्री पम्फा भुसालले जनताका अधिकतम अधिकारलाई प्रत्याभूत गर्ने संविधान लेखेको उहाँले भन्नुभयो।
माओवादी केन्द्र ललितपुर महानगर इन्चार्ज तथा संविधानसभा सदस्य राजकाजी महर्जनले पार्टीलाई उत्साहका साथ नयाँ जिम्मेवारीमा रूपान्तरण गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
माओवादी ललितपुर महानगर समितिका अध्यक्ष रवीन्द्र महर्जनले पार्टीलाई समुदायमा स्थापित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो।
पाल्पामा तिहारलाई झिनियाँ बेचेर मनग्य आम्दानी
पाल्पा । हिन्दुहरूको दोस्रो ठुलो महानपर्व तिहार नजिकिएसँगै पाल्पाका बजारमा झिनियाँ बिक्री बढ्दो छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप झिनियाँ दिने गर्दछन् । जसका कारण यसको माग बढ्दो छ । यति बेला यहाँका महिला उद्यमीलाई झिनियाँ बनाएर बेच्न भ्याइनभ्याई छ । तिहारमा अत्यावश्यक परिकारका रूपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकार पनि स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका छन् । जिल्लाका तानसेन, निस्दीको गल्धा, रामपुर नगरपालिका, रम्भा, माथागढी, रिब्दीकोट, बगनासकालीलगायत पालिकाका महिला यति बेला झिनियाँ बनाउन र बिक्री गर्नमै व्यस्त छन् । उनीहरूले यही रोटी बनाएर बिक्री गरी चाडपर्व मनाउने, घर खर्च चलाउने गर्दै आएका छन् । तानसेन नगरपालिका–३ टक्सारटोलका अधिकांश घरमा यति बेला झिनियाँले सजिएका छन् । नेवारी समुदायमा बढी चलनचल्तीमा रहेका झिनियाँ रोटी तिहारका लागि तयारी अवस्थामा राखिएको छ । तानसेनका हरेक गल्ली, पसलपसलमा रङ्गीविरङ्गी झिनियाँ रोटी राखिएका छन् । एक हप्तादेखि पाल्पाका अधिकांश पसलमा झिनियाँ रोटीको व्यापार सुरु भएको छ । तानसेन टक्सार टोलकी झिनियाँ व्यवसायी निर्मया श्रेष्ठलाई अहिले झिनियाँ रोटीको व्यापारले भ्याइनभ्याई छ । उनले एक दशकदेखि व्यावसायिक रूपमा झिनियाँको व्यापार गर्दै आएकी छिन् । उनले बिहान–साँझको फुर्सदमा झिनियाँ बनाउँछिन् । दसैँ र तिहार राम्रो व्यापार हुने भएकाले झिनियाँबाट डेढ–दुई लाख रुपैयाँ आम्दानी भइरहेको उनी बताउँछिन् । सोही ठाउँकी नारायणीदेवी बज्राचार्यले पनि तीन दशकदेखि झिनियाँ बिक्री–वितरण गर्दै आएकी छिन् । दसैँतिहारमा मात्र साढे तीनदेखि ६ लाख रुपैयाँको झिनियाँ बिक्री हुने उनको भनाइ छ । बज्राचार्यले बजारको कुनै समस्या नै नभएकाले उत्पादन गर्न सके राम्रो नै आम्दानी हुने बताइन् । बज्राचार्यले जस्तै टक्सार टोलका अन्य महिलाले पनि झिनियाँ बनाएरै राम्रो आम्दानी गर्दै आएका छन् । अधिकांश नेवारी बस्तीमा झिनियाँ रोटी बनाउने साना घरेलु उद्योग नै सञ्चालनमा छन् । तिहारमा दाजुभाइलाई टीका लगाइदिएपछि रोटीका रूपमा झिनियाँ तेलमा फुराएर सेलरोटी, फिनी रोटीसँगै खुवाउने चलन रहेकाले झिनियाँको व्यापार फस्टाउँदो छ । दसैँअघिदेखि नै झिनियाँ रोटी बनाउने र बिक्री गर्दै आएको रामपुर नगरपालिका–५ की लक्ष्मी श्रेष्ठले बताइन् । उनले रोटी माग अत्यधिक रहेकाले बजारको कुनै समस्या नरहेको बताइन् । “रोटीको माग पुर्याउनै नसक्ने अवस्था छ”, उनले भनिन्, “धेरै स्थानबाट माग आउने गर्छ । तर सबैलाई पठाउन सक्दैनौँ ।” आफैँले उत्पादन गरेको नपुगेर अन्य महिलाले बनाएको खरिद गरेरसमेत पठाउने गरेको उनले सुनाइन् । पाल्पाबाट उत्पादित झिनियाँ गुल्मी, स्याङ्जा, पर्वत, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, कास्की, तनहुँलगायत जिल्लामा ठुलो मात्रामा खपत हुँदै आएको झिनियाँ व्यवसायी बताउँछन् ।
भाेजपुरमा व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी
भोजपुर । हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । राईले करिब २० रोपनी क्षेत्रमा व्यावसायिक एभोकाडोखेती गरिरहेको बताए । बुढ्यौली उमेरमा पनि राईले एभोकाडोखेतीमा गरेको मेहेनत निकै लोभलाग्दो छ । बाँझो जमिनको सदुपयोग गर्दै कृषिमा आम्मनिर्भर बन्ने लक्ष्यका साथ व्यावसायिक एभोकाडोखेती विस्तार गरेको राईको भनाइ छ । “व्यावसायिक रूपमा एभोकाडोखेती गरिरहेको छु, बाँझो जमिनलाई प्रयोग ल्याउने लक्ष्यले खेती विस्तारमा लागेको हुँ । एभाकाडो बिक्रीबाट घरखर्च गरेर केही पैसा बच्छ”, ”उनले भने । भावी दिनमा वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्यअनुरुप थप खेती विस्तारमा जुटेको उनले बताए । राईले उत्पादन गरेको एभोकाडो स्थानीय बजारसँगै काठमाडौँ, विराटनगर, धरान, इटहरीलगायत देशका ठूला सहरमा पुग्ने गरेका छन् । कृषिबाट आत्मनिर्भर बन्ने उद्देश्यले बहुवर्षीय बालीको विस्तारमा जोड दिइएको उनको भनाइ छ । “बहुवर्षीय बाली विस्तार गरेमा लामो समयसम्म आम्दानी लिन सकिन्छ”, उनले भने, “बिरुवालाई राम्रोसँग हुर्काएमा सामान्य हेरचाह गर्दा सहज रूपमा दीर्घकालसम्म आम्दान हुन्छ ।” स्थानीय तह तथा राज्यका अन्य निकायबाट आवश्यक सहयोग पाएसँगै पछिल्लो समय भोजपुरमा व्यावसायिक कृषिमा जुट्नेको सङ्ख्या बढ्दै गएको छ । ग्रामीण भेगमा उत्पादन भएको वस्तुको सहज यातयात नहुँदा भने बजारीकरणमा समस्या रहेको किसानहरूले बताउने गरेका छन् । किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा भने राज्यले ध्यान दिए सहजता हुने किसानहरूको भनाइ छ ।
माैसम पूर्वानुमान: कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । राति भने देशभर मौसम मुख्यतया सफा रहने छ । भोलि (सोमबार) भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
मुस्ताङमा आन्तरिक पर्यटक बढ्दै
मुस्ताङ । जेनजी आन्दोलन र बाढी–पहिरो जस्ता विपत्तिका कारण पर्यटकीय चहलपहल घट्ने अनुमान विपरीत मुस्ताङमा पर्यटकको भीड बढ्न थालेको छ । धार्मिक र प्राकृतिक सौन्दर्यका कारण देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने मुस्ताङमा यो वर्षको पहिलो छ महिनामै तीन लाखभन्दा बढी पर्यटक पुगेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार वैशाखदेखि असोजसम्म कुल ३ लाख ३४ हजार ७२६ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । तीमध्ये १ लाख ८४ हजार स्वदेशी र १ लाख ५० हजार ३८८ विदेशी रहेका छन् । पर्यटकहरू बेनी–जोमसोम–कोरला सडकमार्ग, पोखरा–जोमसोम हवाईमार्ग र विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङ्ला पास हुँदै मुस्ताङ पुगेका हुन् । यो अवधिमा असोज महिनामा सबैभन्दा धेरै स्वदेशी पर्यटक पुगेका छन् । असोजमा मात्र ६२ हजार ५३३ स्वदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । तीमध्ये ३४ हजार ५६४ पुरुष र २७ हजार ९६९ महिला थिए । त्यसैगरी सार्क राष्ट्रबाट असोजमा ६ हजार ६८७ (३ हजार ७१२ पुरुष र २ हजार ९७५ महिला) तथा तेस्रो मुलुकबाट १ हजार ४८ (६०८ पुरुष र ४४० महिला) पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । गत वर्षको तुलनामा भने यस वर्ष पर्यटक आगमनमा सामान्य कमी आएको छ । प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार गत वर्षको पहिलो छ महिनामा ३ लाख ५७ हजार २३८ पर्यटक मुस्ताङ पुगेका थिए, जसमा २ लाख २६ हजार ७९० स्वदेशी र १ लाख ३० हजार ४४८ विदेशी थिए । स्थानीय व्यवसायीका अनुसार जेनजी आन्दोलनका कारण केही विदेशी पर्यटकले भ्रमण स्थगित गरेका छन् । आन्दोलनका कारण सुरक्षाको चिन्ताले धेरैले नेपाल भ्रमण रद्द गरेको अनुमान गरिएको छ । मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनका अनुसार आन्दोलनका कारण भारतीय र तेस्रो मुलुकका पर्यटक प्रभावित भएका छन् । सोह्रश्राद्धका लागि कागबेनी आउने हिन्दू धर्मावलम्बी पनि सडक अवरोधका कारण रोकिएका थिए । “तर अहिले फेरि पर्यटकको सङ्ख्या बढ्दै जाँदा व्यवसायीहरू उत्साहित भएका छन्,” उनले भने । विदेशी भ्रमण रद्द भएका बेला आन्तरिक पर्यटकको आगमनले स्थानीय व्यवसायीलाई राहत मिलेको छ । मुस्ताङ भित्रिने पर्यटकको विवरण घाँसास्थित चेकपोस्टमा सङ्कलन गरिन्छ, जबकि फर्किने क्रममा लेते प्रहरी चौकीमा तथ्याङ्क राखिने गरिएको छ । मुस्ताङ आउने स्वदेशी तथा विदेशी पर्यटक थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकाभित्रका धार्मिक तथा प्राकृतिक स्थलहरूमा पुग्ने गर्छन् । अधिकांश पर्यटक प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा पुग्ने गर्छन् । त्यस्तै मुस्ताङ हुँदै छिमेकी जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–९ मा रहेको विश्वकै अग्लो तिलिचो ताल (४,९१९ मि.) पनि पर्यटकको आकर्षण बनेको छ । तिलिचो ताल पुग्न मुस्ताङको बाटो सहज हुने भएकाले धेरै पर्यटक त्यतैबाट जाने गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक कालोपत्रे भएपछि दुईपाङ्ग्रे सवारीमार्फत मुस्ताङ पुग्ने पर्यटकको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ ।
आज कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार
काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आजलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजाआराधना हुने गर्छ । त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ । यहाँ कागको ठुलो मूर्ति बनाइएको छ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवम् तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।
आजकाे लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ४७ पैसा र बिक्रीदर १४१ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ १५ पैसा र बिक्रीदर १६४ रुपियाँ ८५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपियाँ ७३ पैसा र बिक्रीदर १८९ रुपियाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ४१ पैसा र बिक्रीदर १७८ रुपियाँ १६ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ १९ पैसा र बिक्रीदर ९१ रुपियाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ११ पैसा र बिक्रीदर १०० रुपियाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ५२ पैसा र बिक्रीदर १०८ रुपियाँ ९८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७२ पैसा र बिक्रीदर १९ रुपियाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ४५ पैसा र बिक्रीदर ३७ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ५४ पैसा र बिक्रीदर ३८ रुपियाँ ७० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३० पैसा र बिक्रीदर चार रुपियाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ २४ पैसा र बिक्रीदर ३८ रुपियाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ २४ पैसा र बिक्रीदर ३३ रुपियाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८९ पैसा र बिक्रीदर नौ रुपियाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८६ पैसा र बिक्रीदर १४ रुपियाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९८ पैसा र बिक्रीदर २२ रुपियाँ ०७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०८ पैसा र बिक्रीदर १८ रुपियाँ १६ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपियाँ ३८ पैसा र बिक्रीदर ४६१ रुपियाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपियाँ ६२ पैसा र बिक्रीदर ३७४ रुपियाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपियाँ ८४ पैसा र बिक्रीदर ३६६ रुपियाँ ४० पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
तिहार पेट्रोलियम पदार्थको बिक्रीवितरण खुला हुने
काठमाडौं । तिहार बिदामा पेट्रोलियम पदार्थको बिक्रीवितरण खुला हुने भएको छ । नेपाल आयल निगमले तिहारको सार्वजनिक बिदामा उपभोक्ताको हितलाई ध्यानमा राखी डिपो तथा कार्यालय खुला राखी पेट्रोलियम पदार्थको बिक्री गर्ने भएको हो । बिदाको दिनमा सातै प्रदेशका डिपो सञ्चालनमा हुने निगमले जानकारी दिएको छ । चाडपर्वका बेला इन्धन खपत धेरै हुने हुँदा उपभोक्ताको सहजताका लागि समय तोकेर डिपो खुला गरिने निगमले जनाएको छ । निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगरमा कात्तिक ४ र ५ मा डिपो सञ्चालन हुने छ । यस्तै मधेश प्रदेशमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा कात्तिक ३, ४ र ८ मा डिपो खुला हुने छ । यस्तै बागमती, कर्णाली र सदूरपश्चिम प्रदेशमा कात्तिक ४ र ७ मा डिपो खुला हुने निगमले जनाएको छ । यस्तै इन्धन डिपो, धनुषा–५ र ७, इन्धन डिपो नेपालगन्ज–४ र ८, शाखा कार्यालय वीरगन्ज–३, ४, ८ मा सञ्चालन हुने निगमले जनाएको छ । यस्तै इन्धन डिपो दाङ कात्तिक ४ र ८ मा शाखा कार्यालय दीपायल कात्तिक ८ मा खुला हुने निगमले जनाएको छ ।
दोस्रो ठुलो पर्व तिहारमा मौसम सामान्य रहने
काठमाडौं । नेपालीको दोस्रो ठुलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ । तिहारको समयमा पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षा हुने र उच्च हिमाली भूभागमा हलुका वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले प्रकाशन गरेको यही कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरणमा लक्ष्मीपूजाका दिन (कात्तिक ३ गते) देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ । यस्तै, कात्तिक ४ गते देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ । कात्तिक ५ गते देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कात्तिक ६ गते भाइटीकाका दिन कोशी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । रासस
हाम्रा पार्टीका नेतातिर तेर्साउने प्रवृत्ति स्वीकार्य छैन: वर्षमान पुन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सरकारले जेनजी आन्दोलनलाई आत्मसात् गरी निर्वाचनमा सहभागी हुन तयार पार्टीलाई तर्साउने प्रयास गरेको आरोप लगाएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार पेरिसडाँडामा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा हत्या गर्ने, सत्तामा हालीमुहाली गर्ने र विचौलियाहरूमाथि कारबाही गर्न सरकारले असफल भएको बताए । ‘हामी निर्वाचनमा जान्छौँ, जनमतमा जान्छौँ, एजेन्डासहित जान्छौँ,’ पुनले भने, ‘हामी जेनजीका बलिदानलाई सार्थक बनाउने गरी अघि बढ्छौँ । तर हामीलाई टार्गेट गर्ने, २३ गते दर्जनौँ नानीहरूको हत्या गर्नेहरूलाई केही नगर्ने, सत्तामा गएर हालीमुहाली गर्ने विचौलियाहरूमाथि कारबाही नगर्ने, अनि गएर प्रचण्ड कमरेडतिर तेर्साउने ? हाम्रा नेतातिर तेर्साउने प्रवृत्ति हामी स्वीकार्दैनौँ । यस प्रकारका बेठिक प्रवृत्ति अस्वीकार्य छन् ।’ उनले माओवादी केन्द्र शान्ति, लोकतन्त्र र प्रगतिप्रति प्रतिबद्ध पार्टी भएको उल्लेख गर्दै माओवादीलाई हेप्न खोज्ने प्रवृत्ति त्याग्न आग्रह गरे ।
म्याग्दीमा पदयात्रीको ‘रिफ्रेस सेन्टर’ भुरुङ–तातोपानी
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास भएको छ । भुरुङ तातोपानी कुण्ड बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने, अन्नपूर्ण चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदयात्राको थकान मेटाउने थलो बनेको हो । अन्नपूर्ण हिमालको आधार शिविरको तीन दिने पदयात्रा सकेर फर्किएकी बुटवलकी स्मृति न्यौपानेले तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरेपछि पदयात्राको थकान मेटिएको अनुभव सुनाइन् । ‘यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो’, उनले भनिन्, ‘थकित शरीरमा तातोपानी नुहाएपछि स्फुर्ति आयो ।’ तातोपानीमा शरीर डुबाएर स्नान गरेकाहरूले शारीरिक स्फूर्ति बढेको, थकान मेटिएको, चोट पटकको दुखाइ कम भएको, सुन्निएको, बज्रिएको समस्या निको भएको अनुभव सुनाउँछन् । चिसो हावापानीबाट आएकाहरू तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् । पर्यटकीय यामको सुरुआतसँगै कालीगण्डकी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने ५५ डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । चिसो बढ्न थालेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको चापसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेहरूको पनि सङ्ख्यामा वृद्धि भएको कुण्डका सञ्चालक जीतेन्द्र चोचाङ्गी पुनले बताए । ‘बर्खा रोकिएर मुस्ताङ जाने आउने पर्यटकको चहलपहलसँगै तातोपानी नुहाउनेहरू पनि बढेका छन्’, उनले भने, ‘याममा दैनिक ३०० देखि ५०० जनाले स्नान गर्छन् ।’ बेनी–जोमसोम सडकको छेउमा तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धाराहरू बनाइएको छ । धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ । बिहान ६ः ०० देखि साँझ १०ः ०० बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि स्वदेशीलाई रु ५० र विदेशीलाई रु १५० प्रवेश शुल्क तोकिएको छ । कुण्डमा प्रवेश शुल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि करबाहेक रु ५० लाख एक हजारमा होटल हटस्पिरिङसँग ठेक्का सम्झौता गरेको छ । विसं २०८१–८२ रु ५६ लाख २५ हजार ३ ७ र आर्थिक वर्ष २०८०–०८१ मा रु ५५ लाख ९०० मा ठेक्का लगाएको थियो । भुरुङ–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारि अन्नपूर्ण गाउँपालिका–५ को भूगोलमा पनि अर्को तातोपानी कुण्ड रहेको छ । तातोपानी कुण्डबाट हुने आम्दानी गाउँपालिकाले तय गर्ने योजना तथा कार्यक्रमका साथै तातोपानीस्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणको काम गरिँदै आएको छ । पर्यटकको आवास सुविधाका लागि तातोपानी बजारमा करिब २० वटा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । एक दिनमा पाँच सयभन्दा बढी वास बस्न सक्ने क्षमता छ । केही दिनयता होटलहरू भरिभराउ भएका व्यवसायी अमृतमान शेरचनले बताए । यसपालि भुरुङ–तातोपानीमा बास बस्ने आधाभन्दा बढी पर्यटक अन्नपूर्ण आधार शिविर जाने र त्यहाँबाट फर्किएकाहरू रहेका उनले बताए । देशका विभिन्न ठाउँबाट आउने आन्तरिक पर्यटकहरू भुरुङ–तातोपानीमा झर्ने र त्यहाँदेखि जीप चढेर अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गको हुमखोला पुगेर पदयात्रा सुरु गर्ने गर्दछन् ।
समुद्रपारि दाजुभाइ, आँगनभरि ढकमक मखमली
काठमाडौं । आँगनभरि ढकमक्क मखमली । टपक्क टिपेर माला उनेर दाजुको गलामा पहिराउने चाहना । तर, जुन फूल जसको गलामा हुनुपर्ने हो, ऊ समुद्रपारि छ । बौद्ध जोरपाटीकी सुमना बेल्वासेलाई जब तिहार आउँछ, समुद्रपारि पुगेका दाजुको सम्झना आँखाभरि छल्किन थाल्छ । उनी भन्छिन्, “दाइ हुँदा हुन त यी सबै मखमली टिपेर गलाभारी पहिरीदिन्थे ।” ‘सम्बन्ध जति टाढा उति गाढा’, भनेजस्तै बेल्वासेले दाजु विदेशिएपछि तिहारको महत्त्व झनै मनन गरेकी छिन् । कोरियामा चार वर्षदेखि रोजगारी गर्न पुगेका दाजुले नै घर खर्च धानेका छन् । आर्थिक स्रोतको मुख्य भूमिका निर्वाह गरेका दाइको दायित्वप्रति उनी सधैँ हार्दिक भाव राख्छिन् । यद्यपि पर्वको बेला भने परिवारको सदस्य नहुँदा मन अमिलो हुने गरेको उनले सुनाइन् । विगतमा देउसी र भैलो खेलेर रमाइलो गरे क्षण सँगालेकी बेल्वासेले भनिन्, “दाइ अर्को वर्ष त आउँछ रे ।” विदेशिएका भाइको सम्झनामा तीन वर्षदेखि एक्लै तिहार मनाएकी ललितपुर डल्लुकी प्रिन्सा बस्नेतले भिडियो कलबाटै तिहार मनाछिन् । डिजिटल माध्यम नभएको भए त झनै गाह्रो हुन्थ्यो । भिडियोमा मज्जाल गफिएर पर्वको आभाव गर्ने अवसरलाई उनले सकारात्मक लिएकी छिन् । तर, उनलाई विदेशिएको भाइ आँखै अगाडि देख्न पाए रमाइलो गर्ने थियौँ भन्ने लाग्छ । हुनत बेल्वासेका आफन्ती दाजुभाइहरू छन् । जो साथमा छैन उसैको चासो बढी हुनेरहेछ । उनी विदेशिएका दाइको निधारमा टीका लगाएर बहिनी र दाजुबीचको आत्मीयता साट्ने क्षणको प्रतीक्षामा छिन् । विगत तीन वर्षदेखि भिडियो कलमा तिहारको बेला मौखिक शुभकामना दिएर तिहार मनाउने गरेको उनले बताइन् । उनीजस्तै, परदेशी भाइलाई सधैँ तिहारमा सम्झिन बाध्य हुनुहुन्छ, भक्तपुरकी रोमा भट्टराई । भट्टराईका दुई दाजुभाइ छन् । कान्छो भाइ रोजगारीको सिलसिलामा कतार छन् । घरमै भएका दाजुको निधारमा सप्तरङ्गी टीका लगाउँदा भाइको समेत ख्याल नआउने कुरै भएन । उनी प्रत्येक तिहारमा भाइलाई भिडियो कल गर्दै दाजुलाई तिहारमा टीका लगाएको दृश्य देखाउछिन् । “यस्तो बेला हाँसो र आँशु दुवै छल्किन्छ”, उनले भनिन्, “विदेशिएको भाइ र यही भएको दाजु एकैसाथ भएर तिहार मनाउने कहिले होला रु त्यही समयको प्रतीक्षामा छु ।” कोटेश्वर बस्ने गङ्गा कोइरालाले भने दुई वर्षअघि विदेशिएका दुई दाजुको महिमा टाढिएपछि झनै गाढा भएको बताउछिन् । रोजगारीका सिलसिलामा दुवै दाजु कतारमा छन् । उनीहरूले हरेक तिहारमा बिहिनीको सम्झनामा तिहार दक्षिणा अथवा केही न केही उपहार पठाएकै हुन्छन् । कोइरालाले खाडीमुलुक पुगेका दुई दाजुप्रति माया भाव दर्शाउँदै भनिन्, “उहाँहरू यहाँ भइदिएको भए देउसीभैलो खेल्न पाउने थियौँ भन्ने लाग्छ ।” वैदेशिक रोजगारको सामाजिक संरचना र मनोविज्ञानलाई समेत प्रभाव पारेको समाजशाास्त्रीहरू बताउँछन् । समाजशास्त्री डा मीना पौडेलका अनुसार वैदेशिक रोजगारले जसरी समाजमा आर्थिक क्षेत्रमा रेमिट्यान्स भित्र्याएर योगदान दिएको छ । जस्तै, वैदेशिक रोजगारीमा जाने संस्कृतिले सामाजिक सद्भाव र पर्वको महत्त्वमा थप उचाइ थपेको छ । विदेशमा भएका र स्वदेशमा भएका दुवैले आत्मीय सम्बन्ध बोध गराउने समाजशास्त्री पौडेलको धारणा छ । उनी भन्छिन्, “वैदेशिक रोजगारले सामाजिक मूल्यमान्यता र संस्कृति जर्गेनाको भूमिका पनि खेलेको छ ।” यसलाई उनले सामाजिक पुँजी भनेर सम्बोधन गर्न उपयुक्त हुने बताउछिन् । आर्थिक रेमिट्यान्स भित्राएझैँ, वैदेशिक रोजगारले सामाजिक मूल्य र मान्यताको पुँजीमा पनि इँटा थप्ने काम गरेको छ भन्ने उनको बुझाइ छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या आठ लाख ३३ हजार पुगेको छ । गत वर्षको तुलनामा यस वर्ष एक लाखले बढेको छ । आव २०८०र८१ को तथ्याङ्क हेर्ने हो भने, सात लाख ३९ हजार ४९ पुरुष र ९३ हजार महिला वैदेशिक रोजगारमा गएको सरकारी तथ्याङ्क छ ।
प्रचण्डद्वारा माओवादी केन्द्रका सल्लाहकार दण्डपाणी पौडेलप्रति श्रद्धाञ्जली व्यक्त
काठमाडौं, — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार तथा जनयुद्धका अग्रज नेता दण्डपाणी पौडेलको शनिबार दुःखद निधन भएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले जारी गरेको शोक वक्तव्यमा पौडेलको निधनले सम्पूर्ण पार्टी परिवार गहिरो शोकमा डुबेको उल्लेख गर्दै उहाँप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गरिएको छ। वि.सं. २००४ बैशाख १ गते लमजुङको घनपोखरामा हिमनिधि र बसुन्धरा पौडेलको कोखबाट जन्मनुभएका कमरेड पौडेल २०१६ सालमा परिवारसँग चितवनको पारसनगरमा बसोबास गर्नुभएको थियो। २०२५ सालमा नेकपाको सदस्यता ग्रहण गरेर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुभएका उहाँ जनयुद्धको तयारीदेखि हालसम्म क्रान्तिकारी यात्रामा निरन्तर अग्रपंक्तिमा रहनुभएको थियो। जनयुद्धका चुनौतीपूर्ण चरणमा चितवन जिल्ला जनसरकार प्रमुखका रूपमा उहाँले ऐतिहासिक योगदान दिनुभएको वक्तव्यमा उल्लेख छ। प्रचण्डको वक्तव्यमा भनिएको छ, "उहाँले आफ्नो सम्पूर्ण जीवन जनताको हित, समाज परिवर्तन र समाजवादको आदर्शका लागि समर्पित गर्नुभयो। उहाँको सम्पूर्ण राजनीतिक यात्रा कम्युनिष्ट विचार, अनुशासन, जनसमर्पण र सिद्धान्तमा आधारित रह्यो।" जनयुद्धको तयारीकालमा भरतपुर एरिया समितिमा आवद्ध रहँदा वैचारिक बहस र छलफलमा क्रान्तिकारी दृष्टिकोणका साथ अग्रसर रहनुभएका कमरेड पौडेलले पूर्णकालीन क्रान्तिकारी जीवन रोजेर कठिन परिस्थितिमा पनि जनताको पक्षमा दृढतापूर्वक काम गर्नुभएको थियो। केही महिनादेखि प्राणघातक रोगसँग संघर्षरत रहँदा पनि उहाँले दृढ मनोबल र क्रान्तिप्रतिको अटुट प्रतिबद्धता कायम राख्नुभएको प्रचण्डले सम्झना गर्दै उहाँसँगको राजनीतिक तथा पारिवारिक सम्बन्ध विशेष र आत्मीय रहेको उल्लेख गर्नुभयो। "उहाँको सहयोग, स्नेह र अनुशासन मेरो जीवनमा प्रेरणाको स्रोत रहिरहनेछ," वक्तव्यमा भनिएको छ। पार्टीले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै कमरेड पौडेलको आदर्श, समर्पण र योगदानले सबैलाई निरन्तर प्रेरणा दिने विश्वास व्यक्त गरेको छ। कमरेड पौडेलको निधनले माओवादी आन्दोलनमा अपूरणीय क्षति पुगेको पार्टी नेताहरूले बताएका छन्।
पाथीभरामा असोज महिनामा करिव ३३ लाखबढी भेटी सङ्कलन
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा असोज महिनामा करिव ३३ लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ । एक महिनाको अवधि अर्थात असोजमा उक्त भेटी रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार असोज महिनामा कुल ३३ लाख ८२ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको छ । समितिले सङ्कलन गरेको उक्त रकम पाथीभरा दर्शनमा आएका भक्तजनले दान गरेको र भेटीबापत चढाएका रकम हो । भेटी विवरण समितिले शुक्रबार साँझ सार्वजनिक गरेको हो । समितिले सार्वजनिक गरेको असोज महिनाको भेटी रकम भदौकोभन्दा तेब्बर बढी रहेको छ । समितिका अनुसार गत भदौ महिनामा नौ लाख ९७ हजार रुपियाँ मात्र भेटी सङ्कलन भएको थियो । समितिका अध्यक्ष रक्कीले दसैँ तिहारको समय पाथीभरा दर्शन गर्ने मुख्य सिजन (मौसम) भएकाले असोजमा भक्तजनको आगमन बढेको र सोहीअनुसार भेटी रकम पनि बढेको बताए । यता असोज महिनामा २९ हजार १७४ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार भदौ महिनामा चार हजार ५०३ जना भक्तजनले मात्र पाथीभरा दर्शन गरेका थिए । अहिले पाथीभरा दर्शन गर्ने मुख्य मौसम भएकाले बाक्लै सङ्ख्यामा भक्तजनको आउजाउ भइरहेको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए । पाथीभरा दर्शनमा नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतका ठाउँबाट भक्तजन आइरहेका समितिले जनाएको छ ।
अब तिलिचो पदयात्रामै फोरजी सेवा
काठमाडौं । अब तिलिचो ताल घुम्न जाने पर्यटकले पदयात्राकै क्रममा फोरजी मोबाइल सेवा उपयोग गर्न सक्ने भएका छन् । समुद्री सतहदेखि करिब ४ हजार ३५० मिटर उचाइमा रहेको तिलिचो ताल क्षेत्रमा नेपाल टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको हो । फोरजी सेवा सुरु भएको अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तिलिचोमा रहेका टेलिकमका फिल्ड इन्जिनियर निरज गुप्तासँग भिडियोकलमार्फत कुराकानी गर्दै प्रसिद्ध पर्यटकीय क्षेत्र तिलिचोमा उच्च प्रविधिको मोबाइल सेवा विस्तार भएकोमा खुशी व्यक्त गरे । सेवा सञ्चालनसँगै खाङ्सार–श्रीखर्क–तिलिचो आधार शिविर–बाइस घुम्ती हुँदै तिलिचो तालसम्मका बासिन्दा र पदयात्रीलाई सञ्चार सम्पर्कमा सहजता हुने टेलिकमले जनाएको छ । साथै, पर्यटन तथा होटेल व्यवसाय सञ्चालन गर्ने उद्यमीलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध हुन यसले सहयोग पुग्ने जनाएको छ । उच्च उचाइ र प्रतिकूल मौसमका कारण कठिन मानिने यस क्षेत्रमा यात्राक्रममा पदयात्रीलाई स्वास्थ्यसम्बन्धी समस्या परेमा आपत्कालीन उद्धारमा पनि सहयोग पुग्ने टेलिकमको भनाइ छ । यसैगरी, दोलखाको रोल्वालिङ उपत्यकामा पर्ने च्छोरोल्पा पदयात्रा मार्गको अन्तिम बस्ती नागाउँमा पनि भ्वाइस सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ । मंगलबारदेखि भिस्याट प्रविधिमार्फत सुरु गरिएको सो सेवाले बेदिङ, नागाउँ, च्छोरोल्पा, दुधकुण्ड, यालुङ बेसक्याम्प र टासी–लेप्चा पास बेसक्याम्प क्षेत्रका स्थानीय बासिन्दा र पर्यटकलाई सञ्चार सम्पर्कमा सहजता पुर्याउनेछ ।
नेपाल राष्ट्र बैंक : अमेरिकी डलरको मूल्यमा वृद्धि, अन्य प्रमुख मुद्राहरूको विनिमय दर कायम
काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि प्रमुख विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलरको मूल्यमा वृद्धि हुँदै एक डलरको खरिद दर १४०.४७ रुपैयाँ र बिक्री दर १४१.०७ रुपैयाँ कायम गरिएको छ। अन्य प्रमुख मुद्राहरूको दर पनि अद्यावधिक गरिएको बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार, युरो, पाउण्ड स्टर्लिङ र अन्य मुद्राहरूको खरिद तथा बिक्री दर निम्नानुसार तोकिएको छ। यो दर बैंकिङ संस्थाहरूले प्रयोग गर्ने आधारभूत दर हो, जसलाई आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ। वाणिज्य बैंकहरूले तोक्ने दरमा भिन्नता हुन सक्छ। प्रमुख विदेशी मुद्राहरूको विनिमय दर (१ युनिटको लागि) मुद्रा खरिद दर (रुपैयाँ) बिक्री दर (रुपैयाँ) अमेरिकी डलर १४०.४७ १४१.०७ युरोपियन युरो १६४.१५ १६४.८५ युके पाउण्ड स्टर्लिङ १८८.७३ १८९.५३ स्वीस फ्रान्क १७७.४१ १७८.१६ अष्ट्रेलियन डलर ९१.१९ ९१.५८ क्यानाडियन डलर १००.११ १००.५४ सिङ्गापुर डलर १०८.५२ १०८.९८ जापानी येन (१० को लागि) ९.३५ ९.३९ चिनियाँ युआन १९.७२ १९.८० साउदी अरेबियन रियाल ३७.४५ ३७.६१ कतारी रियाल ३८.५४ ३८.७० थाइ बाट ४.३० ४.३१ युएई दिरहम ३८.२४ ३८.४१ मलेसियन रिङ्गिट ३३.२४ ३३.३८ साउथ कोरियन वन (१०० को लागि) ९.८९ ९.९४ स्वीडिस क्रोनर १४.८६ १४.९२ डेनिस क्रोनर २१.९८ २२.०७ हङकङ डलर १८.०८ १८.१६ कुवेती दिनार ४५९.३८ ४६१.३४ बहराइन दिनार ३७२.६२ ३७४.२२ ओमानी रियाल ३६४.८४ ३६६.४० भारतीय रुपैयाँ (१०० को लागि) १६० १६०.१५ राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ।

