बर्दियामा करेन्ट लागेर चार वर्षमा ४३ जनाको मृत्यु

बर्दिया । बर्दियामा करेन्ट लागेर चार वर्षमा ४३ जनाको मृत्यु भएको छ । वर्षेनी करेन्ट लागेर जनधनको क्षति भइरहदा समेत सम्बन्धित निकायले यसबारे आवश्यक सचेतनामूलक कार्यक्रम नगरेको सर्वसाधारणको गुनासो छ । 

बर्दियामा करेन्ट लागेर चालु आर्थिक वर्ष ०८२/०८३ को हालसम्म तीनजनाको,  आर्थिक वर्ष ०८१/०८२ मा १० जनाको, आर्थिक वर्ष ०८०/०८१ मा नौजनाको, आर्थिक वर्ष ०७९/०८० मा १२ जनाको र आर्थिक वर्ष ०७८/०७९ मा नौजनाको मृत्यु भएको जिल्ला विपद् समितिका सम्पर्क व्यक्ति विमल गुरुङले बताए ।

विद्युत संरचनामा प्राविधिकद्वारा निर्धारित विद्युत सुरक्षा व्यवस्था नअपनाइएको, प्राविधिकद्वारा निर्धारित विद्युत सुरक्षा व्यवस्थाअनुसार विद्युत संरचनाको आवश्यक मर्मत सम्भार नगरिएको र प्राधिकरणको कारणबाट कुनै प्रकारको प्राविधिक त्रुटि हुनगइ दुर्घटना हुन गएको ठहर भएमा पीडित पक्षलाई पुग्न गएको हानी नोक्सानीबापत क्षतिपुर्ति दिइने व्यवस्था विद्युत दुर्घटना क्षतिपुर्ति विनियमावलीमा २०६७ ले गरेको छ । 

नेपाल विद्युत प्राधिकरणका इन्जिनियर एवम् सूचना अधिकारी गान्धी नारायण मण्डलले आफू कार्यालयमा आएपछि समुदायमा सचेतना मूलक कार्यक्रम भएको बताए । उनले भने, विद्युतमा काम गर्ने कर्मचारी अन्य प्राविधिकका लागि तालिम हुने गरेको छ ।’

भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद

पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्सा र  पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ ।  विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरबाट अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी बरामद गरेको हो ।   सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जानकारी दिए । “भन्सार छली गरेर सुन चाँदी भित्र्याएको आशङ्कामा सोमबार छापा मर्दा सो परिमाणको सुनचाँदी बरामद भएको हो”, उनले भने, “संयुक्त टोलीद्वारा उक्त सुनचाँदी नियन्त्रणमा लिई सुन चाँदी व्यवसायी सङ्घमा लगी मापन गर्दा सुन दुई हजार २५४।८६ ग्राम र चाँदी १० हजार ३५४।०७ ग्राम फेलापरेको छ ।”  सशस्त्र प्रहरीले सुनजस्तो देखिने थप पाँच सय ५९।१० ग्राम र चाँदीजस्तो देखिने पाँच सय ५० ग्राम पनि बरामद गरेको जनाएको छ । त्यसैगरी सोही गोदामबाट एक लाख नौ हजार नेपाली रुपैयाँ र भारु ४१ हजार ६० पनि बरामद गरेको छ ।  पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाइने बताए । “बरामद भएको सुनचाँदीको परीक्षण भएपछि राजस्व अनुसन्धान विभागबाट अनुसन्धान अधिकृत तोकेर आएपछि छानबिनको प्रक्रिया अघि बढ्नेछ”, उनले भने । राजस्व चुहावटको सूचनाका आधारमा सो सुनचाँदी बरामद भएकाले पनि आवश्यक कागजात हेरेर मुद्दा चलाइने उनको भनाइ छ ।

काठमाडौंमा आजदेखि राहदानी आवेदन सेवा सुरु

काठमाडौं । जेनजी आन्दोलनपछि स्थगित गरिएको राहदानी आवेदन सेवा आजदेखि पुनः सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार जारी गरेको सूचनामा बुधबार (आज) बिहानदेखि राहदानी आवेदनसम्बन्धी सेवा पुनः सञ्चालनमा ल्याउने जनाएको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आजदेखि बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमार्फत सेवा उपलब्ध हुनेछ । हाल सीमित आवेदन स्टेशनबाट मात्र सेवा सुरु गरिएको जनाइएको छ । प्रत्येक दिन साँझ ५ः०० बजे अनलाइन आवेदन स्लट खुल्नेछ । राहदानी सेवामा अत्यधिक भीड भएको र स्टेशन सीमित रहेका कारण सेवाग्राहीले आवेदन फारममा उल्लेख गरिएको समयमै उपस्थित भई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुरोध गरेको छ ।

कास्कीमा चोरी तथा लुटपाट गर्ने व्यक्ति पक्राउ

गण्डकी । नक्कली पेस्तोल देखाएर चोरी तथा लुटपाट गर्ने एक जना व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने देविकला अधिकारीलाई सोमबार पेस्तोल देखाई लुटपाट गरेको भन्ने सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पर्वतको मोदी–१  स्थायी बसोबास भई हाल पोखरा २० भलाम बस्ने २४ वर्षीय सुजन विकलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ हरिबहादुर बस्नेतले जानकारी दिए । नक्कली पेस्तोल (खेलौना) एक थान र प्रयोग गरेको ग १३ प ९८३२ नं. को मोटरसाइकलसहित पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

बझाङमा गएराति ४.९ म्याग्निच्युडको भूकम्प

बझाङ । बुधबार मध्यरात बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः०८ बजे ४.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प गएपछि स्थानीय बासिन्दा घरबाहिर निस्किँदा त्रासको वातावरण सिर्जना भएको थियो । भूकम्पको धक्का छिमेकी जिल्लाहरूमा पनि महसुस गरिएको जनाइएको छ । हालसम्म कुनै मानविय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।  

यस वर्षकाे तिहारमा  राष्ट्र बैंकले सुनको सिक्का वितरण नगर्ने

काठमाडौं । तिहार (धनतेरस) लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्दै आएकोमा यो वर्ष सुनका असर्फी वितरण नगर्ने भएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले सूचना जारी गर्दै असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि मूल्य सार्वजनिक नै गरेको छ । महाशाखाका नुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार रुपैयाँ तय भएको छ । प्रतिव्यक्ति १ मात्रै वितरण गरिने भएको छ । यस्तै गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजारका दरले एक जनालाई १ संख्या मात्रै दिइने सूचनामा उल्लेख छ । खरिद गर्न आउँदा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै परिचयपत्र लिएर आउन पनि आग्रह गरिएको छ ।

विप्लव नेतृत्वको नेकपाको बैठकमा तत्काल माओवादी केन्द्रसँग पार्टी एकतामा जोड

कपिलबस्तु– नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा माओवादी धाराका विभिन्न पार्टीहरूबीच एकीकरणको मुद्दा तीव्र रूपमा छलफल भएको छ। कपिलबस्तुको शिवगढीमा आइतबारदेखि जारी यो बैठकमा अधिकांश नेताहरूले नेकपा माओवादी केन्द्रसँग तत्काल पार्टी एकता गर्नुपर्ने धारणा राखेका छन्। बैठकमा एउटै बलियो कम्युनिष्ट केन्द्र निर्माणको आवश्यकतामा जोड दिँदै ठोस निर्णय आजै नै लिने तयारी भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए। बैठकको दोस्रो दिन सोमबार केन्द्रीय समिति सदस्यहरूले आफ्ना धारणाहरू व्यक्त गरेका थिए। आइतबार बैठकको उद्घाटन गर्दै महासचिव विप्लवले समसामयिक राजनीतिक प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा देशको वर्तमान राजनीतिक परिदृश्य, कम्युनिष्ट आन्दोलनको एकताबद्धता र माओवादी धारालाई मजबुत बनाउने रणनीतिमा जोड दिइएको थियो। विप्लवले बैठक सुरु गर्दै 'एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्दै अगाडि बढ्नुपर्छ' भन्ने कुरामा स्पष्ट जोड दिएका थिए।   सोमबारको छलफलमा बोल्ने अधिकांश नेताहरूले माओवादी केन्द्रसँगको तत्काल एकताको पक्षमा मत व्यक्त गरे। एभरेष्ट दैनिकसँग कुरा गर्दै एक केन्द्रीय सदस्यले भने, 'बोल्ने सबैजसो साथीहरूले माओवादी धाराका पार्टीहरूबीच एकता गरेर एउटा बलियो कम्युनिष्ट पार्टी निर्माण गर्न सकिने धारणा राख्नुभयो। यसका लागि जति छिटो सम्भव छ, नेकपा माओवादी केन्द्रसँग एकता प्रक्रिया अगाडि बढाउनुपर्नेमा हाम्रो जोड छ।'   नेपालको कम्युनिष्ट आन्दोलनमा विगतका वर्षहरूमा विभिन्न फुट र एकताका घटनाहरू घट्दै आएका छन्। बैठकमा उठेका धारणाहरूले यस्तो एकीकरणले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ दिन सक्ने अपेक्षा गरिएको छ। बैठकमा पार्टीको आन्तरिक संगठनात्मक सुदृढीकरण, जनआन्दोलनको तयारी र राष्ट्रिय राजनीतिमा कम्युनिष्ट शक्तिको भूमिकाबारे पनि विस्तृत छलफल भएको छ। तर, मुख्य फोकस पार्टी एकतामा नै केन्द्रित रह्यो। बैठकका सहभागीहरूका अनुसार, यो एकताले कम्युनिष्ट धारालाई एकीकृत गर्दै राष्ट्रिय राजनीतिमा नयाँ गतिशीलता ल्याउन सक्ने सम्भावना छ। एक केन्द्रीय सदस्यका अनुसार, 'आजै बैठक समापन गर्दै एकताका लागि आवश्यक कदमहरूको खाका तयार पार्ने तयारी छ। यसले हाम्रो पार्टीको भविष्यलाई नयाँ दिशा दिनेछ।'  

देशभर २३ लाख ८० हजार किसान सूचीकृत

काठमाडौँ । किसान सूचीकरण कार्यक्रमअन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत भएका छन् । अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले उक्त कार्यक्रम ल्याएको हो । राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारीसहित किसानलाई सूचीकृत गर्न थालिएको कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ ।  किसानलाई सूचीकृत गरी उनीहरूको आम्दानीको अवस्था हेरेर चार प्रकारमा वर्गीकरण गरिने केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए । उनका अनुसार निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठुला किसान पहिचान गरी परिचयपत्र वितरण गरिनेछ ।  विद्युतीय सूचना प्रणालीमा किसान जोडिएपछि रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधा उपलब्ध गराउन सहज हुनेछ । “विसं २०७८ को जनगणनाअनुसार करिब ४१ लाख किसानको गणना गरिएकाले केन्द्रले पनि उहाँहरूलाई समेट्ने योजना बनाएको हो । कार्यक्रम सम्पन्न हुने समयसम्म यो सङ्ख्या केही घटबढ हुन सक्छ”, उनले भने । कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अधिकृत पण्डितका अनुसार उक्त कार्यक्रममा देशभर स्थानीय तहमार्फत किसानका सूचना सङ्कलन गरिएको हो । किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहित एकीकृत तथ्याङ्क सङ्कलन भइरहेको उनले जानकारी दिए । उनले विसं २०७७ फागुनमा मन्त्रिस्तरीय बैठकबाट सुरु भएको यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानहरूलाई आग्रह गरे । किसानको पहिचान नभएसम्म उहाँहरूले राज्यबाट दिने अनुदान र सेवासुविधा पाउन नसक्ने भएकाले आफ्नो नाम दर्ता गराउन किसानलाई अनुरोध गरिएको उनले बताए ।

झापामा सयपत्री फूलको माग बढेपछि किसानमा खुसी

झापा । फूलहरूको पर्वका रूपमा रहेको नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालको छ । तिहारमा लक्ष्मी पुज्न, घर सजाउन र दाजुभाइलाई लगाउनका साथै जिल्लामा हुने हरेक कार्यक्रममा अतिथिलाई सयपत्री फूलको माला लगाइदिने प्रचलन सुरु भएसँगै माग बढेको हो । बिर्तामोड नगरपालिका–७ का फूल किसान विवेक साहले तिहारका लागि दैनिक जसो माग गर्नेको सङ्ख्या बढिरहेको बताए । उनले भिनाजु दीपक साहसँगको समन्वयमा दुई बिघा जमिन भाडामा लिएर फूलको व्यावसायिक खेती गर्दै आएका छन् । सयपत्री फूलको ८० हजार बिरुवा रोपेका साहले हाल दैनिक ३०० माला बिक्री गर्दै आएको बताए । उनले फूल टिप्ने र माला बनाउने काममा स्थानीयलाई रोजगारी प्रदान गरेका छ । “तिहारका लागि धमाधम माग आइरहेका छन्”, साहले भने, “गत हप्ता आएको अविरल वर्षाले करिब १० हजार माला हुने फूल नष्ट गर्‍यो । मागअनुसार पुर्‍याउन सक्छु कि सक्दिन चिन्ता थपिएको छ ।” उनको ढकमक्क फूलेको फूल टिप्न नपाउँदै पानीले नष्ट गरिदिएको थियो । उनले हाल दैनिक दुईदेखि ३०० माला बिक्रीका लागि बिर्तामोड, दमक र विराटनगरका व्यापारीलाई पढाउँदै आएको बताए । उनको फूलबारीमा टिकटक बनाउने र भिडियो खिच्ने स्थानीयवासीको भीड लाग्ने गरेको छ ।  साहले प्रतिमाला रु ५० का दरले बिक्री गर्दै आएको जानकारी दिनुभयो । हालसम्मको मूल्य रु ५० भए तोकिए पनि तिहारमा अवस्था हरेर मूल्य कायम गरिने उनको भनाइ छ । “हेर्दै रहर लाग्ने गरी फूल फुलेको छ”, उनले भने, “बाढीले क्षति गरे पनि लगानी उठाउन सक्छु कि भन्ने आँट छ ।” उनका अनुसार एक पटक लगाएको सयपत्री फूल तीन पटकसम्म टिप्न मिल्छ । उनले एकपटकको टिपाइबाट २० हजार बढी माला हुने बताए । उनले तिहारमा एक लाख माला हुने फूल उत्पादन गरेर बिक्री गर्ने लक्ष्य राखेको भन्दै पानीका कारण लक्ष्य पूरा नहुनेमा चिन्ता व्यक्त गरे ।  पहिलोपटक फूलखेती गर्नुभएका साहले भने, “फूल फलाउनु मात्र पर्दो रहेछ, ग्राहकको अभाव नहुने रहेछ । यसपटकबाट पाठ सिकेर आगामी दिनमा अझ व्यवस्थित गरेर थप खेती बढाउँछौँ ।”  यसैगरी, बिर्तामोड नगरपालिका–९ मा सुष्मा पौडेलले पनि सात कठ्ठा जमिनमा सयपत्री फूलको खेती गरेका छन् । उनले केही फूल दसैँमा बिक्री गरिसकेको बताए । उनको बारीमा ढकमक्क फूलको सयपत्रीमा पनि पानीका कारण क्षति पुगेको छ ।  “तिहारका लागि साचेर राखेको करिब रु दुई लाख ५० हजारको फूल पानीका कारण नष्ट भयो”, पौडेलले भनिन्, “धेरै माग आएको थियो अब पुर्‍याउन सक्ने स्थिति छैन ।” उनले पछिल्लो समय हरेक कार्यक्रममा खादाको सट्टा सयपत्री फूलको मालाको प्रयोग बढेसँगै माग बढेको बताइन् । उनले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएकी छिन् । जिल्लाको बिर्तामोड, बाहुनडाँगी, गौरादहलगायत स्थानमा सयपत्री फूलको व्यावसायिक खेती हुन थालेको छ । 

सप्तरीकाे राजविराजमा करेन्ट लागेर युवकको मृत्यु

सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १२ स्थित सिङ्योन घर भएका २१ वर्षीय अजय कुमार यादवको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नो घरमा बिजुलीको बोर्ड बनाउने क्रममा करेन्ट लागेर यादव घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि सोमबार गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर पुरीले जानकारी दिए ।  पाँच दिन अघि सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ घर भएका २८ वर्षीय दिपेश परियारको आफ्नै घरमा जडान गरिएको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।

जेनजीलाई १० प्रतिशत सेयर दिने सम्झौतापछि भोटेकोशी जलविद्युत् पुनः सञ्चालन

काठमाडौं । स्थानीयको अवरोधका कारण लामो समयदेखि बन्द रहेको भोटेकोशी जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । ४५ मेगावाट क्षमताको सो आयोजना भोटेकोशी पावर कम्पनी प्रालिले स्थानीय पक्षसँग १० प्रतिशत सेयर जेनजी पब्लिक इन्भेस्टमेन्ट लिमिटेडलाई दिने सहमति गरेपछि विद्युत् उत्पादन पुनः सुचारु भएको हो । सम्झौता अनुसार जेनजी इन्भेस्टमेन्ट कम्पनीमा जलविद्युत् आयोजनाका प्रत्यक्ष प्रभावित सबै व्यक्ति सदस्यका रूपमा आबद्ध हुनेछन् । त्यसपछि कम्पनीमार्फत सेयर स्थानीयलाई हस्तान्तरण गरिने छ । यसअघि कम्पनीले २०७१ सालमै स्थानीयलाई ६ प्रतिशत सेयर दिने वाचा गरे पनि कार्यान्वयन नभएकाले अहिले १० प्रतिशत सेयर प्रतिकित्ता रू. १०० अंकित मूल्यमा उपलब्ध गराउने सहमति गरिएको सम्झौतापत्रमा उल्लेख छ । सम्झौतामा जेनजी पब्लिक इन्भेस्टमेन्टका तर्फबाट अध्यक्ष फुर्पा शेर्पा तथा सदस्यहरू साङ्गे शेर्पा, वीरबहादुर लामा र मिङ्मार शेर्पाले हस्ताक्षर गरेका छन् । आयोजनाको तर्फबाट भने कम्पनी सचिव विश्वमोहन कर्माचार्य, सहायक महाप्रबन्धक बबिन प्रधान र सहायक प्रबन्धक प्रेम साउदले हस्ताक्षर गरेका छन् । सहमति अनुसार जेनजी कम्पनीले सेयरबापतको रकम कर्जा लिएर भुक्तान गर्ने र उक्त रकम एक वर्षभित्र प्राप्त हुने लाभांशबाट चुक्ता गर्नेछ । सो रकमले नपुगेमा बाँकी हिस्सा जलविद्युत् कम्पनीले नै व्यहोर्ने उल्लेख गरिएको छ । त्यसैगरी, भोटेकोशी पावर कम्पनीले भोटेकोशी गाउँपालिकालाई सामाजिक उत्तरदायित्व अन्तर्गत एकमुष्ट रू. २ करोड ५० लाख उपलब्ध गराउने सहमति पनि भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले यस्तो सहमति सकारात्मक भए पनि यसले अन्य आयोजना पनि सेयर माग गर्न दबाबमा पर्ने सम्भावना बढाएको बताए । “यो घटनाले सरकारले निर्माणाधीन आयोजना सर्वसाधारणका लागि सेयर जारी गर्न ढिलो गर्नुहुँदैन भन्ने पाठ सिकाएको छ,” उनले भने ।  निर्माण सम्पन्न भएको २० वर्षपछि सो आयोजना नेपाल विद्युत् प्राधिकरणसँग संयुक्त स्वामित्वमा जाने सहमति थियो । तर २०७२ सालको भूकम्पका कारण उक्त अवधि चार वर्ष थपिएर अब सन् २०३० सम्म पुग्ने भएको छ ।

ठूला जलविद्युत् आयोजनामा लगानी गर्न मन्त्री घिसिङको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपालका ठूला जलविद्युत् आयोजनामा लगानी ल्याउन कोरियाली पक्षलाई आग्रह गरेका छन् । नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङले सोमबार मन्त्रालयमा गरेको शिष्टाचार भेटका क्रममा मन्त्री घिसिङले यस्तो आग्रह गरेका हुन् ।  भेटका क्रममा राजदूत पार्कले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । सो अवसरमा मन्त्री घिसिङले नेपाल र कोरियाबीच लामो समयदेखि ऊर्जाक्षेत्रमा सहकार्य हुँदै आएको उल्लेख गर्दै ५०० मेगावाटभन्दा ठूला जलविद्युत् आयोजना निर्माणमा सहयोग गर्न आग्रह गरे ।  मन्त्री घिसिङले अरुण नदी कोरिडोर र पूर्व–पश्चिम प्रसारण लाइनलाई जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन परियोजनामा कोरियन आयात–निर्यात (एक्जिम) बैंकमार्फत प्राप्त हुने सहयोग टुंग्याउन, रेलमार्ग निर्माण तथा सञ्चालनमा क्षमता विस्तार गर्न र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन आग्रह गरे ।  उनले दुई देशबीच सरकारी साझेदारीका साथै कोरियन निजी क्षेत्रको लगानी समेत आकर्षित गर्न सकिने बताउँदै, नेपालमा सम्भावनायुक्त हरित हाइड्रोजन उत्पादनका नमुना परियोजना सञ्चालनमा पनि सहयोग गर्न आग्रह गरे ।  त्यसैगरी, रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा वृद्धि गर्न, कोरिया जानुअघि सिप विकास तालिम र फर्किएपछि सिकेको सिपलाई स्वदेशमै प्रयोग गरी उद्यमशीलता बढाउन सहयोग गर्न पनि उनले अनुरोध गरे ।  राजदूत पार्कले प्रसारण लाइन निर्माणका लागि सहयोग उपलब्ध गराउन अर्थ मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए । उनले कोरियन सरकारी कम्पनीको मुख्य लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रगतिबारे पनि जानकारी दिए ।  उनका अनुसार आयोजनाको निर्माण प्रगति करिब ७० प्रतिशत पुगेको छ र आगामी डिसेम्बरसम्म मुख्य सुरुङ छिचोल्ने तयारी भइरहेको छ ।

हमासले इजरायललाई बुझायो विपिन जोशीको शव, नेपाल ल्याउने तयारी

काठमाडौं– प्यालेस्टिनी सशस्त्र समूह हमासले सोमबार राति रेड क्रसको मध्यस्थतामा विपिन जोशीसहित चार जनाका शव इजरायललाई हस्तान्तरण गरेको छ। यो घटनाले विपिनको मृत्युको पुष्टि भएको छ र अब उनको शव नेपाल ल्याउने प्रक्रिया सुरु हुने भएको छ। इजरायली सेना (आइडीएफ) ले सोमबार साँझ रेडक्रस मार्फत चारवटा बाकस प्राप्त गरेको पुष्टि गरेको छ। ती बाकसहरूमा नेपाली नागरिक विपिन जोशी, गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजका शव रहेका छन्। विपिन जोशी इजरायलमा कामका लागि आइपुगेको एक महिनामै ७ अक्टोबर २०२३ को हमासको आक्रमणमा बन्दी बनाइएका थिए। बन्दीहरू मुक्त हुने दिनसम्म उनको स्थिति अज्ञात नै थियो। सोमबार नै आइडीएफले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितसँग भिडियो संवाद गरी विपिन जीवित नरहेको जानकारी गराएको थियो। साँझतिर हमासले पनि विपिनसहित चार जनाको मृत्यु भएको पुष्टि गर्दै शव हस्तान्तरण गर्ने घोषणा गरेको थियो। प्राप्त शवहरूको फरेन्सिक जाँचका लागि तिनलाई तेल अविभ स्थापित अबु काबिर फरेन्सिक संस्थानमा लगिएको छ। इजरायली अधिकारीहरूका अनुसार पहिचान प्रक्रियामा दुई दिन लाग्न सक्छ, र त्यसपछि विपिनको शव नेपाल पठाउने तयारी गरिनेछ। यो हस्तान्तरण अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताअन्तर्गत भएको हो, जसमा हमासले ७२ घण्टाभित्र जीवित बन्दीहरू र मृतकका शवहरू इजरायललाई फिर्ता गर्ने प्रतिबद्धता गरेको थियो। तर, चार शव हस्तान्तरण भए पनि अझै २४ जना मृत बन्दीका शवहरू फिर्ता भएका छैनन्। इजरायली रक्षामन्त्री इसराइल कात्जले सम्झौता उल्लङ्घन भए कठोर कारबाही गर्ने चेतावनी दिएका छन्। हमासले भने आफ्नो सीमितताका कारण सबै शव फिर्ता गर्न नसकेको र कतिपय शवहरू इजरायली सेनाको नियन्त्रण क्षेत्रमा रहेको दाबी गरेको छ। यो घटनाले नेपालमा शोकको छायाँ छाएको छ।  

आजदेखि सर्वोच्च अदालतमारिट दर्ता खुल्ने

काठमाडौँ । सर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सेवाहरू आजबाट आंशिक रूपमा सुचारु हुने भएका छन्। असोज २६ गते बसेको पूर्ण बैठकको निर्णयानुसार, हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा आजदेखि रिट निवेदनहरू, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता र सुनुवाइ हुनेछन् । प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, अन्य सम्पूर्ण सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन नै रहनेछन् ।

अन्तर्राष्ट्रिय व्यवस्थापिका मञ्चको १५१ औँ भेलामा भाग लिन राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा जाने

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर्राष्ट्रिय व्यवस्थापिका मञ्चको १५१ औँ भेलामा भाग लिन असोज ३१ गते जेनेभा जाने भएका छन्। आइतबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीसँगको भेट नियमित भएको र आफू संघीय संसदको नेतृत्व गर्दै जेनेभा जान लागेको जानकारी गराएको बताएका हुन्। यस वर्षको अन्तरराष्ट्रिय व्यवस्थापिका मञ्चको भेलाको मुख्य विषयवस्तु ‘मानवीय मान्यताहरू कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने’ रहेको उनले जानकारी दिए। अध्यक्ष दाहालले भने, ‘यो नियमित जस्तै पनि हो। मैले दुई-तीन पटक भेटिसकेको छु। असोज ३१ गते म जेनेभा जाँदैछु।  व्यवस्थापिका मञ्चको १५१ औँ भेला छ। त्यो भेलामा संघीय संसदको तर्फबाट म सहभागी हुन जाँदैछु। त्यसको बारेमा रिपोर्टिङ गर्नु थियो।’ उनले अन्तरराष्ट्रिय व्यवस्थापिका मञ्चको १५१ औँ भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताएका छन्।

काठमाडाैंकाे जडीबुटीमा टिपरको ठक्करबाट एकको मृत्यु

काठमाडौं । काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा गएराति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।