त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नेको संख्या बढ्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२३ मा अन्तर्राष्ट्रियतर्फ यात्रु आवागमन बढेको छ । अघिल्लो वर्षको तुलनामा अन्तर्राष्ट्रियतर्फ यात्रु आवागमन ३०.१८ प्रतिशतले बढेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार १३७ यात्रुले सेवा लिएका छन् । यो अहिलेसम्मकै धेरै भएको कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रियतर्फ उडान संख्या पनि बढेको छ । गतवर्षको तुलनामा २९.४० प्रतिशतले उडानमा वृद्धि हुँदा ३१ हजार ४६० वटा उडान भएको तथ्यांक छ ।

आन्तरिकतर्फ भने यात्रुको संख्या घटेको छ । गत वर्षको तुलनामा ७.०७ प्रतिशतले यात्रु आवागमन घट्दा त्रिभुवन विमानस्थलबाट ४१ लाख ५० हजार ३२६ यात्रु आएका छन् ।

उडान संख्या १०.३६ प्रतिशतले घट्दा ९६ हजार ९८९ उडान भएका छन् ।

कार्गो आवागमनमा भने वृद्धि भएको छ । गत वर्षको तुलनामा १०.८७ प्रतिशत वृद्धि हुँदा तीन हजार ४२६.८६१ टन कार्गो आएको छ ।

अघिल्लो वर्षको तुलनामा कुल यात्रुको संख्यामा भने ९.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ७९ लाख ५४ हजार ४९५ यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेका थिए । यस वर्ष यो संख्या बढेर ८६ लाख ९१ हजार ४६३ पुगको छ ।

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन सुनको मूल्य तोलामा एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौं । आज पुस २७ गते, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट वि.सं. १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म भएको थियो । नेपाल ५२ राज्यमा विभाजित भएको समय वि.सं. १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । राजा भएपछि उनले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरे । त्यसपछिका उनका उत्तराधिकारीहरुले पश्चिमकमा काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका हुन् । पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट र वि.सं. १८२६ सालमा काठमाडौं उपत्यकामा विजय पाप्त गरेका हुन् । यसपछि उनले पूर्वको चौदण्डी, विजयपुर लगायतका राज्यहरु पनि जित्न सफल भए । उनको ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा सान्दर्भिक छन् भने भौगोलिक अवस्थालाई बुझाउन उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने एतिहासिक सफलता पाए पनि आलोचकहरुले उनलाई एकल जातिवादको पक्षपोषक भएको आरोप लगाउने गरेका छन् । उनको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो । विगत केही वर्ष यता विवाद हुँदै आएपनि यस वर्ष पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । आज राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती मनाउँदै छन् ।

पहिचान खुलाउनेविरुद्ध गौशाला २६ ले दिइन् साइबर ब्यूरोमा जाहेरी

काठमाडौं । गौशाला २६ ले आफ्नो पहिचान खुलाउनेविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिएकी छन । गौशाला २६ ले आफुविरुद्ध वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर र कम्प्युटर सम्बन्धी कसुर भएको भन्दै साइबर ब्यूरोमा जाहेरी दिएकी हुन । गौशालाले ब्यूरोमा जाहेरी दिएको बताउँदै एसपी पशुपतिकुमार रायले पहिचान खुलाउने व्यक्तिहरूको खोजीका लागि अनुसन्धान भइरहेको बताए । २०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा सन्दीप लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । लामो समय काठमाडौं जिल्ला अदालतमा चलेको सो मुद्दामा न्यायाधीश शिशिर ढकालको इजलासले फैसला गर्दै लामिछानेलाई दोषी ठहर गरेको थियो । अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय, ३ लाख जरिवाना र २ लाख पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

आरजु भन्छिन् –‘विवाह लाइसेन्स’ को व्यवस्था गरौं

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छिन् । बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेत्री राणाले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छिन् । सभापति राणाले भनिन्, ‘‘विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने छ । विवाह गर्नका लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरू आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने छ ।’’ उनले यसका लागि वडा तहदेखि कानुनी रूपमा नीति बनाउन आवश्यक रहेको बताइन् । विवाह अगाडि सबै प्रक्रिया पुर्‍याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताइन् । उनले अन्तर्राष्ट्रिय धेरै देशमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि भनाइ राखिन । सभापति राणाले बालविवाह, महिला हिंसा, बलात्कारजस्ता विकृतिहरू रोक्नका लागि कानुन नै एकमात्र विकल्प हुनसक्न भनिन् । सभापति राणाले भनिन्, ‘‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ । विवाह दर्ता गरेन भने कतिपय कुराहरू हामीले पाउँदैनौँ । विवाहका लागि लाइसेन्स लिने राम्रो हुन्छ । यो वडामा नै ल्याउन सकिन्छ । यो एउटा चलन किन सुरु नगर्ने त रु सन् २०३० सम्म जुन च्यालेन्स मिट गर्ने हो । यो गर्न सोसल इन्जिनियरिङले मात्रै पुग्दैन । लिगल केही कुरा ल्याउन सकियौँ भने हुन्छ । विवाह दर्ता गर्ने पहिला नै लाइसेन्स लिनुपर्‍यो । त्यो बेला नागरिकता हुनैपर्‍यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ ।’’ नेपालका पहाडी जिल्लाहरूमा विद्यालय अध्ययनताका नै विद्यार्थीहरूले विवाह गर्ने गरेका छन् कम उमेरमा विवाह गर्नेहरूलाई आवश्यक अभिमुखीकरण दिनुपर्छ भन्ने उनको भनाई थियो ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको योगदानमा पदको सदुपयोग गर्नमुख्य सचिव अर्यालको अपिल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा.वैकुण्ठ अर्यालले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको योगदानमा पदको सदुपयोग गर्न कर्मचारीहरुलाई अपिल गरेका छन् । । बुधबार राजधानीमा आयोजित मुलुकको समुन्नतिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अर्याल वंशका सन्तति सम्मान कार्यक्रममा बोल्दै उनले जोसुकै पदबाट सेवा निवृत्त भएर गए पनि समाज र राष्ट्रमा गरेको योगदान जीवन्त रहने भएकाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘हाम्रा पदहरू भनेको सामान्य हुन्, आउँछन् जान्छन् । केही समयपछि म आफै अवकाश हुन्छु । तर हामीले हाम्रो समाज हाम्रो राष्ट्र र वंशलाई आफ्नो आफ्नो क्षेत्रबाट के योगदान गर्न सक्छौँ त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’ उनले कुनै पनि भौतिक संरचनाको निर्माणअघि तटबन्ध निर्माण आवश्यक हुने भन्दै अर्याल समाजको भवन निर्माणको लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘पहिला हामीले तटबन्ध निर्माण नै गर्नुपर्छ । तटबन्ध निर्माण नगरी बनाएका संरचनाहरू भोलि धरापमा पर्न सक्ने अवस्था हुन्छ । अब हामीले सुरुमा जग बलियो बनाएर तटबन्धको काम सकाएर त्यसपछि भवन निर्माणको काम गर्न सकियो भने सहज हुन्छ । सरकारी तवरबाट कसरी हुन्छ यसको लागि पक्कै पनि पहल गर्नेछु ।’

सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्‍याउन आग्रह

काठमाडौं । सरकारले लागु गरेको सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्‍याउन आग्रह गरिएको छ । सामाजिक सुरक्षा कोष र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच आज भएको औपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा विषयमा अन्तर्क्रिया कार्यक्रममा सरोकार भएका निकायका अधिकारीले सो आग्रह गरेका हुन् । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल भण्डारीले नेपालको संविधानमा उल्लेखित सामाजिक सुरक्षासम्बन्धी हकलाई कार्यान्वयन हुनेगरी सरकारले अघि बढाएको यस कार्यक्रममा आबद्ध हुन सबैलाई आह्वान गरे । साथै उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्‍याउन मन्त्रालयबाट आवश्यक समन्वय र सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषको महत्वबारे प्रकाश पार्दै कोषमा आबद्ध हुने प्रक्रिया र अवस्थाका बारेमा जानकारी गराएका थिए । घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले कोषमा आबद्ध हुँदा देखिने चुनौती सामना गर्न आवश्यक सहयोगका लागि सरकारसँग आग्रह गरेका थिए । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)का पूर्वअध्यक्ष विनोद श्रेष्ठले कोषमा थप रोजगारदाता समेत समेट्नुपर्ने ध्यानाकर्षण गराए । सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई सोबमोजिम २०६७ साल चैत ७ गते भएको हो । कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकामा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ । सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरूको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिक हकलाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित छन् ।

भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष खड्का मृत फेला

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । भीमदत्त–६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गएराति वडाध्यक्ष खड्काको मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाको भनाई छ । “बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ, रातिको समयमा घटना भएको देखियो ।” उनले भनेका छन् ।

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ । माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । विधान मस्यौदा, कार्यविभाजन र अभियानको समिक्षा गर्न बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । बैठक २८ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने उनले बताए । ‘मुख्य एजेण्डा विधान मस्यौदाबारे छलफल गर्ने रहेको छ । त्यसको साथसाथै अभियानको समिक्षा र आवश्यकताअनुसार कार्यविभाजन पनि हुन्छ’, उलने भने । फागुनको पहिलो साता हुन लागिएको विधान अधिवेशनका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन गरेको थियो । समितिले मस्यौदा पार्टीलाई बुझाइसकेको छ ।

‘लिटिल बुद्ध’ भनिने बम्जनको घरमा पैसाको चाङ

काठमाडौं । प्रहरीले ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनी पक्राउ गरेसँगै उनको घर खानतलासी गरेको थियो । उनको घरबाट सीआईबीको टोलीले तीन करोड भन्दा बढी रकम बरामद गरेको सीआईबीको प्रमुख एआईजी किरण बज्राचार्य जानकारी दिइन् । उनको घरबाट प्रहरीले विभिन्न ब्रान्डका १५ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । सीआईबीको टोलीले उनलाई मंगलबार बूढानीलकण्ठको हात्तीगौडाबाट पक्राउ गरेको थियो । पक्राउ परेका बम्जनलाई आजै सार्वजनिक गरिएको छ । पक्राउ परेका बम्जनसँग तीनवटा मोटरसाइकलका बिलबुक, टोयोटा हाइलक्स गाडीको चाबी, विभिन्न ब्रान्डका पेनड्राइभ २० वटा, भ्वाइस रेकर्डर, दुईवटा ल्यापटप, १४ वटा विभिन्न ब्रान्डका मोबाइल, आइप्याड र ट्याब पाँचवटा, विभिन्न कागजात फेला परेको छ । त्यसैगरी तुलाराम तामाङको नाममा रहेको टोयोटा फर्च्युनर गाडी उनी चढ्ने गरेको पाइएको छ । त्यसैगरी सेतो रंगको ल्यान्ड क्रुजर जेड एक्स गाडी पाँच करोडमा बुक गरिएको र तीन करोड नगद भुक्तानी गरिएको पाइएको प्रहरीले जनाएको छ । त्यसैगरी, क्रसफायर बाइकसहित चारवटा मोटरसाइकल पनि बरामद भएको छ ।

प्रधानमन्त्रीले भने -‘पञ्चेश्वर केही दिनमा ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु हुने बताएका छन् । बुधवार संसद्को कानुन समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो विश्वास व्यक्त गरेका हुन् । ‘मलाई विश्वास छ आउने केही दिनमा पञ्चेश्वरको ब्रेक थ्रू हुन्छ । त्यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पर्छ’, प्रधानमन्त्रीको दाबी छ । पञ्चेश्वर परियोजना ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ । समितिमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण र विदेश मन्त्री जयशंकरको नेपाल भ्रमणले नेपाल भारत सम्बन्ध थप बलियो बनाउने आधार प्रस्तुत भएको बताए । त्यसक्रममा उनले १० हजार मेगावाट बिजुली निर्यात गर्न सफल भएको बताए ।

कानून समितिको बैठक : प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं। संघीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बुधबार बिहान बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन् । बैठक बुधबार बिहान ११ बजे सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्ने समितिका सचिव अधि राज राईले जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराउने कार्यसूची रहेको छ । गत शुक्रबार परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमणका क्रममा भएका सहमति र सम्झौताका विषयमा समिति र सांसदहरूको राखेको चासोमा प्रधानमन्त्री प्रचण्ड आफैँ उपस्थित भएर सम्बोधन गर्न लागेका हुन् । तेस्तै बुधबारै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २५ गते बुधबार तदनुसार सन् २०२४ जनवरी १० तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सन्दीप लामिछानेलाई सजाय तोक्न आज पेसी

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ । अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ । तर, पीडित बालिग भए पनि जबरजस्ती करणी भएको जनाउँदै अदालतले लामिछानेलाई दोषी ठहर गरेको हो । सहमतिमा करणी भएको नदेखिएकाले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९१,२ र ३० ९ङ० बमोजिम कसुर गरेको अदालतको ठहर छ ।

सहिदहरूको विवरण सच्याउने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रिय विकास परिषद्मा जिल्ला समन्वय समिति, स्थानीय तह र विभिन्न निकायका पदाधिकारीहरुमध्येबाट २५ जना सदस्यहरु मनोनयन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यस्तै, सरकारले विभिन्न मितिमा सहिद घोषणा भएका र विवरण फरक परेका सहिदहरुको विवरण सच्याउने र नेपाल राजपत्रमा प्रकाशन हुन छुट भएका सहिदहरुको नाम प्रकाशन गर्ने तथा थप सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी नवराज अधिकारीलाई

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा सदस्य नवराज अधिकारी तोकिएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले यस्तो जानकारी दिएकी हुन् । बैठकले मंगलबार राजीनामा बुझाएका प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको छ । खनालको राजीनामापछि रिक्त अध्यक्ष पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोकिएको हो । नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।