समाजवाद नआएसम्म राजनीतिबाट विश्राम लिन्नँ, पद ठूलो कुरा होइन : संयोजक प्रचण्ड (भिडियोसहित)

महोत्तरी । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले समाजवादी क्रान्ति पूरा नगरेसम्म राजनीतिबाट विश्राम नलिने बताउनुभयो । महोत्तरीको रामगोपालपुरमा आयोजित प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिबाट सन्यास नलिने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आफूले नेपाली राजनीतिमा गरेको योगदानको स्मरण गर्नुभएका प्रचण्डले जनतालाई फेरि एकपटक एकताबद्ध गर्ने बताउनुभयो । उहाँले राजनीतिबाट विश्राम नलिने प्रष्ट पार्नुभयो । प्रचण्डले भन्नुभयो, "म भर्खरै ७० पार गरेको छु । तपाईँहरूले तराई-मधेस अभियानमा देखिराख्नुभएकै छ मेरो सक्रियता । फेरि एकपटक समाजवादी क्रान्तिका लागि राजनीतिबाट विश्राम लिने वाला छैन । हाम्रो पार्टीमा पनि बेलाबेला नेतृत्वका बारेमा कुरा चल्ने गरेको छ । म जिम्मेवारीबाट पछाडि हट्ने वाला छैन ।"

संयोजक प्रचण्डले आफू पार्टीको नेतृत्वमा रहिरहने पक्षमा नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, "केन्द्रीय समितिको बैठकमा पनि नेतृत्वको बारेमा कुरा चल्यो, म जिम्मेवारीबाट पछि हट्दिनँ । समाजवाद नआएसम्म विश्राम लिन्नँ । तर, म अध्यक्ष भइरहनुपर्छ भन्ने छैन । राजनीतिबाट भने म विश्राम लिने पक्षमा पनि छैन । मेरा लागि पद ठूलो कुरा होइन ।"

प्रचण्डले छठपछि पार्टी एकताले तीव्रता पाउनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, "छठपछि पार्टी एकताले मूर्त रूप लिन्छ । पहिला समाजवादी मोर्चामा आवद्ध दलसँग एकता हुन्छ । त्यसपछि सम्पूर्ण बामपन्थी दलसँग पार्टी एकता र मोर्चाबन्दी हुन्छ । केही दिनमै तपाईँहरूले फेरि एकपटक राम्रो समाचार सुन्नुहुनेछ । हामी अब जनतालाई एकताबद्ध बनाएर प्रतिक्रियावादी र साम्राज्यवादीविरुद्ध राष्ट्रिय मोर्चा बनाएर अगाडि बढ्नेछौं ।"

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनजागरण आन्दोलनका नाममा घुसपैठिएबाट प्रहरीलगायतका सुरक्षाकर्मीमाथि भएको क्रूर व्यवहारको निन्दा गर्नुभयो । उहाँले भन्नुभयो, "प्रहरीमाथि घुसपैठिएहरूले ज्यादती गरे । प्रहरी भाइ, बहिनीहरूप्रति मेरो ठूलो सहानुभूति छ । म अप्ठ्यारो अवस्थामा पनि सुरक्षा दिन खटिने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।"

माओवादी केन्द्र नै निर्वाचन केन्द्रित हुने पहिलो पार्टी हो : संयोजक प्रचण्ड

जनकपुरधाम  – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी निर्वाचन तोकिएको समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै सरकारलाई आवश्यक वातावरण सिर्जना गर्न आग्रह गर्नुभएको छ ।  बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, "निर्वाचन तोकिएको समयमा नै हुनुपर्छ। सरकारले यसलाई गम्भीरतापूर्वक लिएर वातावरण बनाउनुपर्छ। दलहरूबीचको वार्ताबाट सरकार निर्वाचनतर्फ गम्भीर हुँदै गएको देखिन्छ, तर अझै पूर्ण तयारी भएको छैन।"   असाधारण परिस्थितिमा गठित अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेकाले अब सबै राजनीतिक दलहरू निर्वाचनमै केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो। माओवादी केन्द्र नै निर्वाचन केन्द्रित हुने निर्णय गर्ने पहिलो पार्टी भएको दाबी गर्दै प्रचण्डले जेनजी आन्दोलनपछि काठमाडौं उपत्यका बाहिर मधेश प्रदेशमा सार्वजनिक कार्यक्रम गर्ने पहिलो पार्टी पनि आफ्नो भएको उहाँले उल्लेख गर्नुभयो। आजै महोत्तरीको रामगोपालपुरमा माओवादी केन्द्रले पार्टी प्रवेश तथा जनसभा आयोजना गरेको छ। वामपन्थी एकता र ध्रुवीकरणबारे बोल्दै प्रचण्डले समाजवादी मोर्चाअन्तर्गतका दलबीच एकीकरण प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको जानकारी दिनुभयो। "निर्वाचन त हुनैपर्छ। वामपन्थी एकता र ध्रुवीकरण पनि क्रमशः मजबुत हुँदै जानेछ," उहाँले भन्नुभयो।

आजका लागि विदेशी मुद्राको विनिमय दर: कुन घट्यो, कुन बढ्यो ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि प्रमुख विदेशी मुद्राको खरिद तथा बिक्री दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको दर स्थिर रहँदा युरोपियन यूरो र बेलायती पाउन्ड स्ट्रलिङको मूल्यमा भने हल्का गिरावट आएको छ। यो दरले अन्तर्राष्ट्रिय बजारको उतारचढावलाई प्रतिबिम्बित गर्दै व्यापारी तथा यात्रुहरूका लागि महत्वपूर्ण आधार प्रदान गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिद दर १४०.३९ रुपैयाँ र बिक्री दर १४०.९९ रुपैयाँ कायम गरेको छ। यसैगरी अन्य प्रमुख मुद्राहरूको विनिमय दर निम्नानुसार तोकिएको छ : मुद्रा खरिद दर (रुपैयाँ) बिक्री दर (रुपैयाँ) युरोपियन यूरो (१) १६३.१३ १६३.८३ बेलायती पाउन्ड (१) १८७.९८ १८८.७९ स्वीस फ्रान्क (१) १७६.७२ १७७.४८ अष्ट्रेलियन डलर (१) ९१.१८ ९१.५७ क्यानाडियन डलर (१) ९९.९६ १००.३९ सिङ्गापुर डलर (१) १०८.२५ १०८.७१ जापानी येन (१०) ९.२४ ९.२८ चिनियाँ युआन (१) १९.७२ १९.८१ साउदी रियाल (१) ३७.४३ ३७.५९ कतारी रियाल (१) ३८.५१ ३८.६८ थाइ बाट (१) ४.२९ ४.३१ यूएई दिरहम (१) ३८.२२ ३८.३९ मलेसियन रिङ्गिट (१) ३३.२० ३३.३४ दक्षिण कोरियाली वन (१००) ९.८१ ९.८६ स्वीडिस क्रोनर (१) १४.९१ १४.९८ डेनिस क्रोनर (१) २१.८४ २१.९३ हङकङ डलर (१) १८.०६ १८.१४ कुवेती दिनार (१) ४५८.२७ ४६०.२३ बहराइन दिनार (१) ३७२.४१ ३७४.०० ओमानी रियाल (१) ३६४.६४ ३६६.१९ भारतीय रुपैयाँ (१००) १६०.०० १६०.१५ केन्द्रीय बैंकले यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ।

देशभर सफा मौसम, केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार देशभर मौसम मुख्यतया सफा रहनेछ। विभागले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका यस्तै भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै, एकाध स्थानमा हिमपात पनि हुन सक्ने भएकाले पछिल्लो मौसमी अपडेटका लागि महाशाखासँग सम्पर्क राख्न आग्रह गरिएको छ। राति सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी क्षेत्रमा मौसम सफा नै रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरू र कोशी तथा गण्डकीका यस्तै भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ। मौसम सफा रहनुका कारण दैनिक जीवन सहज बन्ने अपेक्षा गरिएको छ।  

प्रधानमन्त्री र दलबीचको संवाद : माओवादी केन्द्रले राख्यो यी पाँच विषयमा धारणा

काठमाडौं – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको राजनीतिक दलहरूसँगको संवादमा नेकपा (माओवादी केन्द्र) ले निर्वाचन केन्द्रित पाँच मुख्य विषयमा आफ्नो स्पष्ट धारणा राखेको छ। पार्टीका सचिवालय सदस्यहरू पम्फा भुषाल र वर्षमान पुन 'अनन्त' सहभागी भएका थिए। उनीहरूले पार्टी पूर्ण रूपमा निर्वाचन केन्द्रित भइसकेको बताउँदै सरकारलाई चुनावी वातावरण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। माओवादी केन्द्रले अन्य सबै राजनीतिक दलहरूलाई पनि निर्वाचन तयारीमा जुट्न आग्रह गरेको छ। सचिवालय सदस्य अनन्तले एभरेष्ट दैनिकलाई दिएको जानकारीअनुसार, छलफलमा राखिएका मुख्य पाँच बुँदाहरू यस प्रकार छन्: १. निर्वाचन सहभागिता र सहयोग: नेकपा (माओवादी केन्द्र) ले चुनावमा भाग लिने निर्णय गरिसकेको छ। मतदाता नामावली अद्यावधिकका लागि पार्टीले निर्देशन जारी गरी परिचालन भएको छ। हामी सरकारलाई पूर्ण सहयोग गर्छौँ। घोषित मितिमा निष्पक्ष, धाँधली रहित, भयमुक्त र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सरकारले सक्रिय पहल गर्नुपर्छ। २. अन्य दलहरूलाई तयारीको आह्वान: माओवादी केन्द्रले सुरुदेखि नै निर्वाचन केन्द्रित अभियान चलाएको छ। त्यसैले नेपाली कांग्रेस, नेकपा (एमाले) सहितका अन्य दलहरूलाई पनि तत्काल तयारी गर्न आग्रह गर्छौं। ३. चुनावी वातावरण निर्माण: सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ। हाम्रो पार्टीलाई लाग्छ, यस तर्फ सरकारको पर्याप्त ध्यान पुगेको छैन। तत्काल कदम चाल्न आवश्यक छ। ४. जेनजी आन्दोलन र आत्मालोचना: जेनजी आन्दोलन भ्रष्टाचारविरुद्धको थियो। हाम्रो पार्टीले आफ्ना कमजोरीहरू स्वीकार गरी आत्मालोचना गरेको छ। तर, तत्कालीन सत्ताधारी नेपाली कांग्रेस र नेकपा (एमाले) ले यस्तो आत्मालोचना गरेको सुनिएकाे छैन । याे आन्दोलनको भावना विपरीत हुन्छ। सबै दलहरूले आफू तर्फ पनि हेर्नुपर्छ। ५. एजेण्डा केन्द्रित चुनाव र सहकार्य: प्रतिनिधिसभा रहेको भए जेनजीका मागहरू सम्बोधन गर्न सजिलो हुन्थ्यो। अहिले निर्वाचनमा शासकीय स्वरूपसहितका हाम्रा संविधान जारी गर्ने समयदेखिकामागहरूलाई एजेन्डा बनाएर जान्छौं। जेनजीहरूले पनि नयाँ दल गठन गर्ने वा एजेण्डा मिल्ने दलसँग सहकार्य गरी चुनावमा जानुकाे विकल्प छैन।

प्रधानमन्त्रीसँग निर्वाचन गर्ने विषयमा कुराकानी भए पनि आधारहीन कुरा मिडियामा आए : वर्षमान पुन 'अनन्त'

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुन 'अनन्त'ले आगामी फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचन सफल पार्नुको कुनै विकल्प नरहेको  बताएका छन्। भक्तपुरमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पुनले आफ्नो पार्टीले निर्वाचन प्रक्रियालाई सहज बनाउन सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली कांग्रेस र नेकपा (एमाले) सहितका अन्य राजनीतिक दलहरूलाई पनि निर्वाचनका लागि तत्काल तयारी गर्न आग्रह गरे। "संविधानलाई सही बाटोमा ल्याउन घोषित मितिमा नै निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन," पुनले भने, "हामी निर्वाचनप्रति पूर्ण प्रतिबद्ध छौं। अन्य दलहरूलाई पनि यसको पक्षमा उभिन आह्वान गर्छौं।" केही दिनअघि पुन र नेता नारायणकाजी श्रेष्ठले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा माओवादी केन्द्र निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका थिए। पुनले सो भेटबारे थप्दै भने, "प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो। नारायणकाजी कमरेडसँग म गएका थियौं। हामीले भनेका थियौं – हामी निर्वाचनको पक्षमा छौं र वातावरण बनाउँछौं, तर अन्य दलहरूका लागि पनि चुनावी वातावरण निर्माण गर्न लाग्नुस्। " आज पनि प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात दलका नेताहरूलाई छलफलका लागि बोलाएकी छन्। पुनले यसबारेमा पार्टीको अडान दोहोर्‍याउँदै भने, "हामी जान्छौं र यही सन्देश दिन्छौं। सबै दलहरूले सहकार्य गरे मात्र निर्वाचन शान्तिपूर्ण र सफल हुन सक्छ।" अनन्तले प्रधानमन्त्रीसँग निर्वाचन गर्ने विषयमा कुराकानी भए पनि आधारहीन कुरा मिडियामा आएको जानकारी दिएका छन् । केही सञ्चारमाध्यमले स्रोत भन्दै माओवादी नेतामाथिको अनुसन्धान रोक्न संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले बालुवाटार पठाएको भन्दै समाचार दिएका थिए । यो आह्वानले राजनीतिक दलहरूबीच निर्वाचन केन्द्रित एकताको सङ्केत गरेको छ।

विदेशी मुद्राको मूल्य घट्यो: डलरको खरिददर १४०.३९, बिक्री १४०.९९

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (मंगलबार) विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। धेरैजसो प्रमुख मुद्राहरूको मूल्य हिजोभन्दा घटेको छ। राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा छ। हिजो यो क्रमशः १४०.४७ र १४१.०७ थियो। त्यस्तै, युरो १ को खरिददर १६३.६० र बिक्रीदर १६४.३० छ (हिजो १६३.६७/१६४.३७)। पाउन्ड स्ट्रलिङ १ को खरिददर १८८.२७ र बिक्रीदर १८९.०७ (हिजो १८८.५९/१८९.३९)। अस्ट्रेलियन डलर १ को खरिददर ९१.११ र बिक्रीदर ९१.५० (हिजो ९१.२६/९१.६५)। कुवेती दिनार १ को खरिददर ४५८.७६ र बिक्रीदर ४६०.७२ (हिजो ४५९.१२/४६१.०८) तथा बहराइन दिनार १ को खरिददर ३७२.४१ र बिक्रीदर ३७४.०० (हिजो ३७२.६२/३७४.२२) तोकिएको छ। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाइएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्छ।

निर्वाचन छलफलमा प्रधानमन्त्री कार्की: दलहरूसँग आज संवादको तयारी

काठमाडौं – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबारे राजनीतिक दलहरूसँग छलफल नगरेको भन्दै चर्को आलोचना भइरहेका बेला आज अपराह्न राष्ट्रिय मान्यता प्राप्त ७ वटा दलका नेताहरूसँग छलफल गर्ने भएकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, छलफलको मुख्य विषय आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी र समयसीमाबारे हुनेछ। गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको जगमा गठित कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र चुनाव सम्पन्न गर्ने म्यान्डेट पाएको थियो। यो छलफलले निर्वाचन प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ। दलहरूबाट आएका सुझावहरूलाई सम्बोधन गर्दै सरकारले थप पारदर्शिता कायम राख्ने जनाइएको छ।

आजको मौसम: देशभर सफा, केही क्षेत्रमा हल्का वर्षा सम्भावना

काठमाडौं – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज  दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मुख्यतया सफा मौसम रहने छ। कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने बताइएको छ। भोलिको मौसम  : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी क्षेत्रमा सफा मौसम रहने अपेक्षा गरिएको छ। मौसम विज्ञहरूले चिसो बढ्दै गएको र उचाइका क्षेत्रमा हिमपातको सम्भावना नरहेको उल्लेख गर्दै सतर्कता अपनाउन सुझाव दिएका छन्।

कुप्रचार र भ्रामक समाचारका कारण पार्टी संयोजक प्रचण्डको सचिवालयबाट बाहिरिएँ : गंगा दाहाल

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी तथा स्वकीय सचिव गंगा दाहालले संयोजकको सचिवालय जिम्मेवारीबाट राजीनामा दिएकी छन्। विभिन्न सञ्चार माध्यममा आएका भ्रामक समाचार र कुप्रचारका कारण यो कदम चालेको उनले फेसबुकमार्फत जानकारी गराएकी छन्। गंगा दाहालले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छन्, "निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टी विरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु।" उनले पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्। गंगा दाहालले आफ्नो जिम्मेवारीको सन्दर्भ दिँदै भाइ प्रकाश दाहालको देहावसानपछि आमाको बिरामी अवस्थामा सचिवालयमा जिम्मेवारी लिएको उल्लेख गरेकी छन्। "मम्मीको हेरचाह पनि गर्नुपर्ने र भाइ प्रकाशले निभाउँदै आएको भूमिकामा रहेर अध्यक्षलाई सहयोग गर्न पार्टी नेताहरुको सल्लाहमा सचिवालयमा रहेर निस्वार्थ भावमा पार्टी आन्दोलन र बुवाको लागि आफूले सकेको सहयोगको कोशिस गरिरहे," उनले लेखेकी छन्। उनले आफ्नो कामलाई सधैं सहयोगी भूमिकामा सीमित राखेको दाबी गर्दै, "मैले आफ्ना लागि सोचेर कहिले पनि काम गरिन" भन्दै गर्वका साथ उल्लेख गरेकी छन्। साथै, काम गर्दा सबैको भावनाअनुसार नसकेकोमा आत्मालोचना पनि गरेकी छन्। यसैबीच, विभिन्न सञ्चार माध्यममा आफूमाथि भएका कुप्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उनले उल्लेख गरेकी छन्। "कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी। एक लाख पर्ने घडी, ब्याग जीवनमा कहिले पनि किनेको छैन। साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भैसक्यो," उनले स्पष्ट पारेकी छन्। महान जनयुद्धको समयमा राज्य सत्ताले आफू, दिदीहरू र भाइलाई निरन्तर दुःख दिएको कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागिरहेको उनले बताएकी छन्। गंगा दाहालले सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ता र आम नागरिकबाट भएको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै, दीपावली, छठ, नेपाल संवत् लगायत पर्वको शुभकामना पनि दिएको छिन्। "दिपावलीको दिप जस्तै तपाईहरुको जीवन उज्यालो बनोस्," उनले लेखेकी छन्।  

चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र आह्वान

काठमाडौँ । चालु आर्थिक वर्षका लागि सरकारको कुल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य रहेकामा हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको मलका लागि बोलपत्र आह्वान गरिएको छ । कृषकलाई सहज रूपमा मल उपलब्ध गराउने उद्देश्यले सरकारले आवश्यक तयारी मिलाएको स्पष्ट पारेको छ । यसका लागि सरकारले रु २८ अर्ब ८२ करोड १४ लाख बराबरको बजेट विनियोजन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत असोज मसान्तसम्म एक लाख ९४ हजार ८५ मेट्रिक टन मल आपूर्तिको प्रक्रियामा छ । त्यसमा कृषि सामग्री कम्पनी लिमिटेडको ३३ हजार ३३८ मेट्रिक टन युरिया र साल्ट ट्रेडिङ कर्पोरेसनको ५७ हजार ६७० मेट्रिक टन मल समावेश छन् । हालसम्म कृषि सामग्री कम्पनीले युरिया र डिएपी सहित कुल एक लाख १५ हजार ४०५ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनले ७८ हजार ६८० मेट्रिक टन मल आपूर्ति गरिसकेका छन् । मन्त्रालयका अनुसार हाल एक लाख आठ हजार ९०८ मेट्रिक टन मल मौज्दात छ । त्यसमा कृषि सामग्री कम्पनीमा ६३ हजार ८०० मेट्रिक टन (डिएपी, युरिया र पोटास) तथा साल्ट ट्रेडिङ कर्पोरेसनमा ४५ हजार १०८ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ । मन्त्रालयले हिउँदे खेतीका लागि पर्याप्त मात्रामा मल उपलब्ध रहेको जनाएको छ । गत साउनदेखि असोज मसान्तसम्म एक लाख ३२ हजार ८०७ मेट्रिक टन मल बिक्री भएको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्ताे छ आजकाे लागि विदेशी मुद्राको निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १९ पैसा र बिक्रीदर १०० रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५४  पैसा र बिक्रीदर ३८ रुपैयाँ ७० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २९ पैसा र बिक्रीदर चार रुपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९२ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८ रुपैयाँ १६ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपैयाँ १२ पैसा र बिक्रीदर ४६१ रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ४०  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

आज यमपञ्चक तेस्रो दिन: कुकुर तिहार मनाइँदै

काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए । वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । नरक चतुर्दशी आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको धर्मशास्त्रविद् बताउँछन् । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् ।यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।

उड्डयन प्राधिकरणको भवनबाट अदालतले सेवा प्रवाह गर्ने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणको भवनबाट अदालतको सेवा प्रवाह गर्ने भएको छ । गत भदौ २४ गतेको जेनजी ओन्दोलनका क्रममा बबरमहलस्थित अदालतको भवनमा आगजनी, तोडफोड भएपछि तत्कालका लागि प्राधिकरणको प्रधान कार्यालयको एनेक्स भवन जिल्ला अदालतले प्रयोग गर्ने भएको हो ।  गत बिहीबार प्राधिकरण सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँग भएको संयुक्त छलफलका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले अदालतको क्षतिग्रस्त भवनको विकल्पमा प्राधिकरणको भवन प्रयोगमा ल्याएर अदालतको सेवा प्रवाहमा लाग्न निर्देशन दिएका थिए ।  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, “असोज ३० गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले अदालतले आफ्नो भवन सञ्चालन गर्न नसकेसम्म अदालतको कामकारबाही सञ्चालनका लागि भवन दिने निर्णय गरेको छ । उक्त निर्णयमा अध्यक्ष एवं प्रधानमन्त्री कार्कीले हस्ताक्षर गरेसँगै अब अदालतसँग वार्ता र सम्झौता गर्न ढोका खुलेको छ ।” यसैगरी प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । वायु सेवा सञ्चालक सङ्घ र नेपालका आन्तरिक वायु सेवा सञ्चालक कम्पनीका प्रतिनिधिबिच आइतबार प्राधिकरणमा सम्पन्न बैठकले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई हवाई टिकटमा ५० देखि ८० प्रतिशतसम्मको छुट प्रदान गर्ने निर्णय गरेको हो । बैठकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारद्वारा तोकिएको अधिकतम हवाई भाडादरमा सम्पूर्ण आन्तरिक हवाई मार्गमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै ७५ वर्षभन्दा माथिकालाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका नागरिकलाई ८० प्रतिशतसम्म छुट प्रदान गरिने छ भने जुनसुकै उमेर समूहका फरक क्षमता भएका यात्रुको हकमा कम्तीमा ५० प्रतिशत छुट सुनिश्चित गर्ने निर्णय गरेको उनले बताए । 

धौलागिरि आरोहणबाट ७६ लाख राजस्व संकलन

म्याग्दी । चालु शरद ऋतुमा धौलागिरि हिमाल आरोहणबाट ७६ लाखभन्दा बढी राजस्व संकलन भएको छ ।  पर्यटन विभागका अनुसार धौलागिरि आरोहणका लागि अनुमति लिएका ३६ जना आरोहीबाट हालसम्म ५४ हजार अमेरिकी डलर अर्थात् ७६ लाख २० हजार एक सय पचास रुपैयाँ राजस्व संकलन भएको हो । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा अवस्थित ८,१६७ मिटर उचाइको धौलागिरि हिमाल आरोहणका लागि अक्टोबर १५ सम्म पाँच समूहका ३६ जनाले अनुमति लिएका थिए, पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लिलाधर अवस्थीले जानकारी दिए ।  उनका अनुसार अनुमति लिने आरोहीमध्ये २६ पुरुष र १० महिला छन् । उनीहरूमध्ये कति जनाले हिमाल सफलतापूर्वक आरोहण गरेका छन् भन्ने तथ्याङ्क भने तिहारपछि मात्र उपलब्ध हुने बताइएको छ । अवस्थीका अनुसार, “पर्यटन विभागले हालसम्म ३६ जनालाई आरोहण अनुमति जारी गरेको छ । सफल आरोहणकर्तालाई तिहारपछि प्रमाणपत्र वितरण गरिनेछ । हालसम्म विभागमा कुनै पनि आरोही प्रमाणपत्र लिन आएका छैनन्,” उनले भने । गत आर्थिक वर्षको शरद र वसन्त दुवै याममा चार समूहका ३० जनाले धौलागिरि आरोहणका लागि अनुमति लिएका थिए, जसबाट ५६ लाख २२ हजार सात सय ५० रुपैयाँ राजस्व संकलन भएको थियो । धौलागिरि हिमाल आरोहण चुनौतीपूर्ण मानिन्छ, किनभने त्यहाँको मौसम अत्यन्तै अस्थिर रहँदै आएको छ । आरोहीहरूका अनुसार लगातार बदलिँदो मौसम नै यस हिमालको सबैभन्दा ठूलो चुनौती हो । पर्यटन विभागले प्रकाशित गरेको ‘पर्वतारोहण सम्बन्धी तथ्य र चित्र’ पुस्तकका अनुसार, सन् २०२४ को अक्टोबर ४ सम्म कुल ६८८ जनाले धौलागिरिको सफल आरोहण गरिसकेका छन् । धौलागिरिको पहिलो सफल आरोहण सन् १९६० मे १३ मा स्विस–अस्ट्रियन संयुक्त टोलीले गरेको थियो । म्याक्स आइसेलिनको नेतृत्वमा चार स्विस, एक अस्ट्रियन, एक जर्मन र दुई नेपाली पर्वतारोहीले धौलागिरि हिमालको सफल आरोहण गरेका थिए ।

विप्लव नेकपाले माओवादीसहित कम्युनिस्ट पार्टीसँग एकताका लागि पहल गर्ने

काठमाडौं। नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माओवादी केन्द्रसहित अन्य कम्युनिस्ट पार्टीहरूसँग एकताका लागि पहल गर्ने निर्णय गरेको छ। असोज २६ देखि ३० सम्म बसेको केन्द्रीय समिति बैठकले यो निर्णय गरेको हो। पार्टीले सोमबार (आइतबार) पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरेको छ। जेनजी आन्दोलनपछि कम्युनिस्टहरूबीचको एकता र केन्द्र निर्माणको आवश्यकता थप बढेको नेकपाको निष्कर्ष छ। यसका लागि केवल संगठनात्मक एकीकरणमा सीमित नभई राजनीतिक विचार, कार्यदिशा, कार्यक्रम, संगठनात्मक मान्यता, आर्थिक जीवनपद्धति, संस्कृति, नयाँ आन्दोलन र मूल्य निर्माण गर्ने स्तरबाट ग्रहण र प्रयोग गर्नुपर्ने पार्टीको ठहर छ। 'यसका लागि नेकपाले समाजवादी मोर्चामा आबद्ध पार्टीहरू, माओवादी घटक तथा सबै कम्युनिस्ट पार्टीहरूसँग छलफल बढाउने र आवश्यक योगदान गर्न तयार रहने निर्णय गरेको छ,' पार्टीको निर्णयमा उल्लेख छ। माओवादी केन्द्रले यसअघि नै आफ्नो केन्द्रीय समिति बैठकबाट विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो। सरकारप्रतिको धारणा नेकपाले जेनजी आन्दोलनपछि गठित सरकारलाई आन्दोलन, विद्रोह र निकासको आवश्यकतासँग नमिल्ने बताएको छ। 'सरकारको निर्माणले न त सबै विद्रोही तथा संघर्षरत शक्तिहरूलाई जोड्न सकेको छ, न त आन्दोलनको उचाइलाई नै समेट्न सकेको छ। यसले आउँदा दिनमा अर्को संघर्ष र विद्रोहको सृजना गर्ने निश्चित छ,' पार्टीको निर्णयमा भनिएको छ। देशलाई वास्तविक निकास दिन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी जेनजी, किसान, मजदुर, महिला, दलित, जनजाति, मधेसी, बुद्धिजीवी तथा राजनीतिक दलहरू सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने नेकपाको माग छ। नयाँ अन्तरिम सरकारले कार्यकारी अधिकार प्रयोग गरी संविधान संशोधन गर्नुपर्ने पार्टीको निष्कर्ष छ। 'उच्चस्तरीय संविधान लेखन आयोग गठन गरी संविधान पुनर्लेखन गर्दै राज्य पुनर्संरचना, प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था तथा उत्पीडित जातिहरूको अग्राधिकारसहित समाजवादी संघीय राज्य निर्माण गर्नुपर्छ,' निर्णयमा उल्लेख छ।