आजकाे माैसम: उच्च हिमाली क्षेत्रमा भारि हिमपातको सम्भावना, पहाडी र तराई क्षेत्रमा वर्षा
काठमाडौँ । आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।
विभागका अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने छ । ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स साना नदीनालामा आकस्मिक बहाव हुनसक्ने सम्भावना रहेको विभागको भनाइ छ ।
यस्तै बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ ।
सम्भावित वर्षा र हिमपातको कारणले नदीनालामा आकस्मिक बहाव, पहिरोलगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रहरूमा प्रभाव पर्न सक्ने सम्भावना रहेको छ ।
बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको छ । यसपछि चक्रवातको प्रभाव बिस्तारै कमजोर हुँदै उत्तर उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भूभाग नजिक आई पूर्वतर्फ सर्ने विभागले जनाएको छ ।
निर्वाचन वातावरण निर्माणका लागि सरकार, दल र जेनजीबीच बुधबार त्रिपक्षीय छलफल
काठमाडौं – आगामी निर्वाचनको शान्तिपूर्ण वातावरण निर्माण गर्न प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दलहरू र जेन–जी आन्दोलनबीच बुधबार त्रिपक्षीय छलफल हुने भएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे आयोजना हुनेछ। उक्त छलफलमा सरकार, प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू र जेन–जी आन्दोलनका नेताहरू सहभागी हुनेछन्। प्रधानमन्त्री कार्कीले सबै पक्षबीच विश्वास र संवादको माध्यमबाट निर्वाचनसम्म सहज रूपमा पुग्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै यो छलफल बोलाएकी हुन्। बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा आन्दोलन पक्षका मागहरू सम्बोधन गर्ने विषयमा विस्तृत बहस हुने अपेक्षा गरिएको छ। यो छलफलले राजनीतिक तनाव न्यूनीकरण गरी निर्वाचन प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।
विप्लवको पार्टी 'कम्युनिस्ट पार्टी नेपाल' नामले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन
काठमाडौं ।नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले 'कम्युनिस्ट पार्टी नेपाल' नाममा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। विप्लवले प्रस्ताव गरेको यो नामलाई पार्टीले अनुमोदन गरेपछि नेताहरू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र कर्णजित बुढा लगायतले आयोगमा निवेदन पेश गरेका हुन्। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि दल दर्ताको समयसीमा कात्तिक ३० सम्म रहेको छ। प्रवक्ता विश्वकर्माले निवेदनपछि भने, "चुनावमा भाग लिएर नेपालको राजनीतिक आन्दोलनमा अगाडि बढ्ने हाम्रो उद्देश्य हो।" आयोगले निवेदनमाथि अध्ययन गरेर नाम र अन्य विषयमा निर्णय दिनेछ। यसपछि दलले आधिकारिता प्राप्त गर्नेछ। अहिले आयोगमा १२४ दल दर्ता छन् भने १७ वटा नयाँ दलका निवेदन विचाराधीन छन्।
शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशका नदीहरूमा बाढीको उच्च जोखिम
काठमाडौं – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवाले बागमती, मधेश कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा बहने साना नदीहरूमा आकस्मिक बाढी बहावको सम्भावना उच्च रहेको जनाएको छ। विभागले कार्तिक १३ देखि १५ सम्म विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विभागको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुली जिल्ला भई बहने साना नदीहरूमा बाढीको जोखिम बढी छ। त्यस्तै, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी जिल्ला तथा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका साना नदीहरूमा पनि आकस्मिक बहाव हुन सक्ने चेतावनी दिइएको हो। "यी क्षेत्रका साना नदीहरूमा वर्षाको प्रभावले गर्दा अचानक बहाव बढ्न सक्छ, जसले स्थानीय बस्ती, सडक र कृषि क्षेत्रमा क्षति पुर्याउन सक्छ," विज्ञप्तिमा भनिएको छ। विभागले सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय र बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई पूर्व तयारी गर्न र आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ। विभागका अनुसार, यो चेतावनी मौसम पूर्वानुमानमा आधारित छ र आगामी तीन दिनभरि यी प्रदेशहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाढीको पूर्वसूचना प्रणालीमार्फत थप अपडेटहरू जारी गरिने जनाइएको छ। स्थानीय बासिन्दाहरूलाई नदी किनारका क्षेत्रबाट टाढा रहन, साना पुलपुलिया र खोला नजिकका यात्राबाट बच्न तथा विपद् व्यवस्थापन समितिसँग समन्वय राख्न आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यस्ता पूर्वसूचनाहरू मार्फत जनधनको क्षति न्यूनीकरण गर्न कटिबद्ध रहेको उल्लेख गर्दै थप जानकारीका लागि विभागको आधिकारिक वेबसाइट वा हटलाइनमा सम्पर्क गर्न सुझाव दिएको छ।
आज नेप्से परिसूचक ६२ अङ्कले बढ्यो, २.४८ प्रतिशतको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर दुई हजार ५७१ दशमलव ३४ को विन्दुमा कायम भएको छ । यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो । आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४७ हजार ९४ पटक खरिदबिक्री हुँदा चार अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ बराबरको कारोबार भएको छ । व्यापार समूह बाहेक आज अन्य सबै समूहको उपसूचक बढेको छ । आजको कारोबारमा न्यादी हाइड्रोपावर लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ६ दशमलव ३६ प्रतिशतले घटेको छ ।
केन्यामा विमान दुर्घटना, १२ जनाको मृत्यु
केन्या । केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै गरेको ५-वाई-सिसिए विमान दुर्घटनाग्रस्त भएको केन्या नागरिक उड्डयन प्राधिकरण (केसीएए) ले विज्ञप्ति मार्फत पुष्टि गरेको छ । “विमानमा १२ जना यात्रु रहेको पुष्टि गर्दै दुर्घटनाको कारण र यसको प्रभाव पत्ता लगाउनका लागि अनुसन्धान भई रहेको केसीएएले जनाएको छ । मासाई मारा नेसनल रिजर्भ तर्फ जाँदै गरेका विमानमा सवार पर्यटक यात्रुको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । विमान मोम्बासा र देशका अन्य लोकप्रिय पर्यटकीय गन्तव्यबिच सञ्चालन गर्ने एयरलाइन्सको भएको जनाइएको छ ।
सर्वोच्च फूलकोर्टको निर्णय : देशभरका अदालत तोडफोडका दोषीविरुद्ध प्रहरीमा जाहेरी दिने
काठमाडौं – सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले गत आइतबार देशभरका अदालतहरूमा भएको तोडफोड, आगजनी र क्षतिका लागि संलग्नहरुविरुद्ध प्रहरीमा जाहेरी दर्ता गर्ने निर्णय गरेको छ। जाहेरी तयारी चलिरहेको छ र भोलिसम्म काठमाडौं जिल्ला प्रहरी परिसरमा दर्ता हुने सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले बताए। "प्रहरीले अनुसन्धानबाट दोषी यकिन गरी कारबाही गरोस् भन्ने हाम्रो अपेक्षा हो," उनले भने। जाहेरी मुख्य रजिष्ट्रार वा रजिष्ट्रारको नामबाट पेश हुनेछ। जेन–जी आन्दोलनको दमनपछि भएको देशव्यापी हिंसामा सर्वोच्च सहित काठमाडौंका विशेष तथा जिल्ला अदालतहरू क्षतिग्रस्त भएका थिए। सर्वोच्चमा मात्रै २० हजार विचाराधीन र १ लाख ९७ हजार फैसलाका फाइल नष्ट भएका छन्। ५० भन्दा बढी चारपाङ्ग्रे गाडी, १५० मोटरसाइकल र सेवाग्राहीका सवारीसाधन पनि जलेका थिए। फूलकोर्टले यस्ता घटनाका दोषीमाथि कानूनी कारबाहीको माग गरेको छ।
मुस्ताङ र मनाङमा भारी वर्षासँगै हिमपात
काठमाडौं । पश्चिमी वायुको सक्रियता र अरब सागरबाट विकसित न्यून चापीय प्रणालीका कारण देशभर मौसम बदली भएको छ । यस क्रममा मनाङ र मुस्ताङ जिल्लामा आज भारी वर्षासँगै हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार पछिल्ला २४ घण्टाभित्र मनाङ र मुस्ताङमा उल्लेख्य मात्रामा वर्षा अभिलेख गरिएको छ । मनाङको चामेमा ६४.४ मिलिमिटर र मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा मापन भएको छ । विभागका मापदण्डअनुसार ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा मानिन्छ । विभागका अनुसार अन्य धेरै जिल्लामा पनि मध्यम वर्षा भएको छ । अपराह्न ३ः४० बजेसम्मको तथ्यांकअनुसार डोल्पाको दुनैमा ३६ मिलिमिटर, जुम्लामा १३ मिलिमिटर, बागलुङ र पर्वतमा २४ मिलिमिटर, प्यूठानमा २१.८ मिलिमिटर, सिन्धुपाल्चोकमा २९.६ मिलिमिटर, चितवनमा २३ मिलिमिटर र लमजुङमा २७ मिलिमिटर वर्षा भएको छ । विभागले हिमाली क्षेत्रमा बाक्लो हिमपात र तल्लो भू–भागमा लगातार वर्षा भइरहेको जानकारी दिएको छ । काठमाडौं उपत्यकामा भने चिसो बढ्दै गए पनि वर्षा हल्का मात्र भएको छ । आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको विभागले चेतावनी दिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले लगातारको वर्षा र हिमपातका कारण सम्भावित जोखिम न्यूनिकरणका लागि सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिन ।
तिहारपछि घट्यो फलफूलको कारोबार
काठमाडौं । दसैँ–तिहार सकिएलगत्तै फलफूलको कारोबार घटेको छ । नेपाल फलफूल थोक व्यवसायी महासङ्घका अनुसार तिहारअघिको तुलनामा पछिल्ला दिनमा फलफूलको व्यापार झन्डै आधाले घटेको छ । महासङ्घ काठमाडौंका अध्यक्ष अमर बानियाँका अनुसार तिहारअघि बजारमा उत्साहजनक कारोबार भए पनि अहिले उपभोक्तासँग तिहारकै बेला किनिएको ‘स्टक’ बाँकी रहँदा माग घटेको हो । “विगतमा तिहारपछि छठका लागि फलफूलको व्यापार बढ्थ्यो, तर यस वर्ष भने केराबाहेक अन्य फलफूलको कारोबार विशेष भएन,” अध्यक्ष बानियाँले बताए । उनका अनुसार अघिल्ला वर्षमा छठका अवसरमा काठमाडौँबाट मुस्ताङको स्याउ, पहाडी किवी, ड्र्यागन फ्रुटलगायत फलफूल तराईका जिल्लामा दुई–चार ट्रकसम्म पठाइन्थ्यो, तर यस पटक तराईबाट खासै माग आएको छैन । नेपाल केरा उत्पादन महासङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार यस पटकको छठमा केराको कारोबार पनि घटेको छ । उनले उपभोक्ताको क्रयशक्तिमा आएको कमीले बजारमा असर पारेको बताए । यस वर्ष मुस्ताङको ‘फुजी’ स्याउबाहेक अन्य फलफूलको मूल्य सामान्य रहेको महासङ्घले जनाएको छ । सोमबारको खुद्रा मूल्यअनुसार मुस्ताङ स्याउ (फुजी) प्रतिकेजी ३७५ रुपैयाँ, स्याउ (झोले) २५० रुपैयाँ, केरा प्रतिदर्जन १२०–१४० रुपैयाँ, मौसम प्रतिकेजी १९० रुपैयाँ, सुन्तला १२० रुपैयाँ, नेपाली मेवा ६५ रुपैयाँ र भारतीय मेवा ९० रुपैयाँमा कारोबार भएको छ । काँचो नरिवल प्रतिगोटा १०० रुपैयाँमा झरेको छ । केरा व्यवसायीले नेपालमै उत्पादित केराले दसैँ, तिहार र छठका आवश्यकताहरू धान्न सक्ने भन्दै आयात नगर्न गरेको अपिल करिब २५ प्रतिशत मात्र सफल भएको बताएका छन् । अध्यक्ष पन्तका अनुसार नेपालमा पर्याप्त उत्पादन हुँदाहुँदै पनि केही व्यापारीको अटेरीपनका कारण पूर्ण रूपमा आयात रोक्न नसकिएको हो । महासङ्घका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा करिब १५ अर्ब रुपैयाँ बराबरको केरा खपत भएको थियो । त्यसमध्ये करिब १३ अर्ब रुपैयाँ बराबरको केरा स्वदेशमै उत्पादन भएको र बाँकी दुई अर्ब रुपैयाँ बराबरको मात्र आयात गरिएको थियो । उक्त तथ्याङ्कले पनि नेपाली उत्पादनलाई प्राथमिकता दिइएको पुष्टि गर्दछ ।
माैसम पूर्वानुमान: आज यी प्रदेशमा हुनेछ वर्षासहित हिमपात
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशको केही भूभागमा छिटपुट वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ । आज राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षासहित हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशमा भारी वर्षासहित हिमपातको पनि सम्भावना रहेको हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
विद्युत् विवादले २५ उद्योग बन्द, २४ हजार मजदुर बेरोजगार
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल नबुझेका उद्योगको विद्युत् आपूर्ति बन्द गरेपछि बुटवल–भैरहवा औद्योगिक कोरिडोरसहित देशभरका २५ उद्योग ठप्प भएका छन् । विद्युत् कटौतीपछि करिब २४ हजार मजदुर कामविहीन भएका छन् । रुपन्देहीका हिमाल आइरन, पञ्चकन्या स्टिल, एभरेस्ट रोलिङ, एसआर स्टिल, सिद्धार्थ पेट प्लास्ट, गोयन्का फुड्स, भलबारी स्वचालित चामल मिल, श्याम प्लास्टिक, घराना फुड्स, विशाल सिमेन्ट, शिवम्, घोराही, अर्घाखाँची र निगाले सिमेन्टलगायत उद्योगमा उत्पादन बन्द भएको छ । मजदुरहरूले “उद्योग र प्राधिकरणबीचको विवादको सजाय आफूहरूले पाउनु अन्यायपूर्ण” बताएका छन् । पञ्चकन्या स्टिलका मजदुर रनबहादुर सारूले भने, “तिहारको भोलिपल्टदेखि उद्योग र कोठा दुवै अन्धकार छन्, चार दिनदेखि काम छैन ।” प्राधिकरणले लोडसेडिङको समयमा उद्योगहरूले डेडिकेटेड/ट्रङ्क लाइन प्रयोग गरी अतिरिक्त विद्युत् खपत गरेको भन्दै बाँकी देखिएको रकम तिर्नुपर्ने बताएको छ । तर उद्योगीले “प्रयोग नै नगरेको” दाबी गर्दै प्रमाण बिना महसुल नतिर्ने अडान लिएका छन् । नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष रघुनन्दन मारूका अनुसार प्राधिकरणले प्रमाणबिनै बक्यौता बिल तिराउन खोजेको छ । “हामीलाई सुनेर सहमति खोज्ने साटो उद्योग बन्द गराइयो, यो अन्याय हो,” उनले भने । प्राधिकरणले भने २०७८ को महसुल सङ्कलन विनियमावलीअनुसार चेतावनी दिएर मात्र लाइन काटिएको बताएको छ । यसअघि १३ उद्योगले किस्ताबन्दीमार्फत भुक्तानी सुरु गरिसकेका छन् । बाँकी २५ उद्योगले प्रक्रिया अघि नबढाएपछि विद्युत् आपूर्ति बन्द गरिएको प्राधिकरणको भनाइ छ । उद्योगीहरू अहिले सरकारसँग छिट्टै समाधान निकाल्ने अपेक्षामा छन् ।
सुरक्षाको प्रत्याभूति माग गर्दै उद्योग वाणिज्य महासङ्घको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले ‘जेनजी आन्दोलन’का क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएका लुटपाट, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी आवश्यक कारबाही अघि बढाउन सरकारसँग आग्रह गरेको छ । साथै, महासङ्घले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि प्रभावकारी कदम चाल्न पनि सरकारलाई अनुरोध गरेको छ । महासङ्घले ती घटनामा संलग्नका विरुद्ध जाहेरी नै नलिएको गुनासो सदस्य व्यवसायीबाट आएको उल्लेख गर्दै यस्तो प्रवृत्तिले समाजमा दण्डहीनता मौलाउने र व्यवसायीहरू हतोत्साहित हुने चेतावनी दिएको छ । गत आइतबार महासङ्घका पदाधिकारी, स्थायी समिति सदस्य तथा विभिन्न समिति/फोरमका सभापतिहरूबीच सो विषयमा छलफल भएको थियो । छलफलपछि जारी विज्ञप्तिमा महासङ्घले ती घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै आर्थिक क्रियाकलापमा नकारात्मक असर पुर्याएको जनाएको छ । “घटनाका दोषीविरुद्ध जाहेरी नलिने र कारबाहीमा उदासीनता देखिएको जानकारी प्राप्त भइरहेको छ । यस्तो अवस्था रहिरहे दण्डहीनता बढ्ने र लगानीको वातावरण गम्भीर रूपमा प्रभावित हुने देखिन्छ,” विज्ञप्तिमा भनिएको छ । “यसले रोजगारी सिर्जना, राजस्व सङ्कलन, लगानी प्रवर्द्धन र समग्र अर्थतन्त्रमा दीर्घकालीन असर पार्नेछ ।” त्यस्तै, महासङ्घले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र तथा जिल्लास्तरीय सुरक्षा समितिमा महासङ्घको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेको छ । यसका लागि जिल्ला/नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वा प्रतिनिधिलाई समितिमा समावेश गर्न गृह मन्त्रालयलाई औपचारिक पत्राचार गरिसकेको महासङ्घले जनाएको छ । छलफलमा महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक गतिविधि दिगो रूपमा अघि बढाउन, लगानीको वातावरण विश्वसनीय बनाउन र निजी क्षेत्र आत्मविश्वासपूर्वक क्रियाशील रहन सक्ने अवस्था सिर्जना गर्न सरकारको सक्रियता अत्यावश्यक रहेको बताए । उनले हालको परिस्थितिमा शान्ति–सुरक्षा कायम गरी स्थायित्वतर्फ अघि बढ्न र उद्योगी–व्यवसायीको मनोबल उठाउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए । छलफलमा सहभागीहरूले देशको अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रमाथिको आक्रमणले उद्यमी र व्यवसायी निरुत्साहित भएको उल्लेख गर्दै, उनीहरूलाई निर्बाध रूपमा व्यवसाय सञ्चालन गर्न पाउने वातावरण सुनिश्चित गर्न सबै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।
मुस्ताङमा चार वर्षमा लेक लागेर ४७ जनाकाे मृत्यु
मुस्ताङ । मुस्ताङमा घुम्न गएका एक नेपाली तिर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । दसैँ–तिहारको बिदामा विद्यालयको शैक्षिक भ्रमणमा मुस्ताङ पुगेका ललितपुर महानगरपालिका–१८ भैँसेपाटीका ४५ वर्षीय माधव तिमिल्सिनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (प्रनाउ) छिरिङ किप्पा लामाले जानकारी दिए । भैँसेपाटीस्थित निर्मल सेकन्डरी स्कुलमा कार्यालय सहयोगीका रूपमा कार्यरत तिमिल्सिना मुक्तिनाथ मन्दिरको दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा फर्कने क्रममा अचानक बेहोस भएका थिए । उनलाई तत्कालै प्रदेश अस्पताल जोमसोम पुर्याइएको थियो । विद्यालयका प्रशासक डेविड सुब्बाका अनुसार, ‘‘होटलमा अचानक बेहोस भएपछि बोल्न नसक्ने अवस्थामा अस्पताल लगिएको थियो,’’ उनले भने । ‘‘चिकित्सकले दिउँसो करिब १ बजे मृत घोषित गर्नुभयो ।’’ प्रनाउ लामाका अनुसार मृतकका आफन्तहरू मुस्ताङ आइरहेका छन् र पोष्टमार्टमपछि शव जिम्मा गरिनेछ । गत असोज महिनामा पनि मुस्ताङमा लेक लागेर दुई नेपालीको मृत्यु भएको थियो । चालु आर्थिक वर्ष २०८२/०८३ मा साउन महिनामा १४ जना, भदौमा ४३ जना र असोजमा ७८ जना पर्यटक लेक लागेर बिरामी भएका थिए । कात्तिक महिनामा समेत पर्यटकको चाप बढिरहेकाले सामान्य औषधोपचारका लागि अस्पतालमा आउनेहरूको संख्या उल्लेख्य रहेको छ । एकजना बिरामीलाई भने गम्भीर अवस्था भएकाले हवाइमार्गबाट पोखरा पठाइएको थियो । स्वास्थ्यकर्मीका अनुसार ज्येष्ठ नागरिक, दीर्घरोगी तथा मौसमी रोगबाट ग्रस्त व्यक्तिहरू प्रतिकूल हावापानीमा यात्रा गर्दा लेक लाग्ने सम्भावना बढी हुन्छ । लेक लाग्ने प्रारम्भिक लक्षणमा टाउको दुख्ने, थकाइ महसुस हुने, रिङ्टा लाग्ने, वाकवाकी र पखाला हुने आदि पर्दछन् । यस्ता लक्षण देखिएमा तुरुन्तै उच्च स्थानमा जान रोकेर विश्राम लिन, पानी तथा झोलिला पदार्थ पिउन र असहज महसुस भए तल्लो क्षेत्रमा झरेर स्वास्थ्य संस्थामा जान चिकित्सकले सुझाव दिएका छन् । समयमै सावधानी अपनाएमा लेक लागेका बिरामी निको हुने भए पनि बेवास्ता गरेमा मस्तिष्क वा फोक्सो सुन्निने जोखिम रहन्छ । गत वर्ष मुस्ताङमा लेक लागेर १३ पर्यटकको मृत्यु भएको थियो । पछिल्ला चार वर्षमा मात्रै ४७ जनाले लेक लागेर ज्यान गुमाइसकेका छन् ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न
काठमाडौं । चार दिन लामो छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिएको छ । शनिबारदेखि सुरु भएको यो पर्व आज बिहान व्रतालुहरूले नजिकैको नदी, पोखरी तथा छठघाटमा पुगी उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन गरिएको हो । व्रतालुहरूले सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए भने आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको हो । काठमाडौंको गुह्येश्वरीस्थित गौरीघाट, कमलपोखरी लगायतका स्थानमा छठ पूजा भक्तिपूर्वक सम्पन्न गरिएको छ । यस्तै, तराई–मधेशका सबै क्षेत्रमा पनि छठ पर्व अत्यन्त उत्साहका साथ मनाइएको छ । यस वर्ष गुह्येश्वरी–गौरीघाट क्षेत्रमा मात्र करिब पाँच लाख भक्तजनले छठ पूजा गरेको अनुमान गरिएको छ ।
मानुङकोटको सुन्दरताले पर्यटक लाेभ्याउँदै
तनहुँ । “सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो”, पोखराकी लक्ष्मी कार्कीले भनिन्, “यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो ।” पोखराबाट सोमबार बिहान २ः०० बजे गाडी भाडामा लिएर व्यास नगरपालिका–५ मानुङकोट आएकी उनले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरेभन्दा अझ राम्रो लागेको उल्लेख गरिन् । उनले भनिन्, “मानुङकोटका बारेमा धेरै सुनेका थियौँ, साथीहरूसँग सल्लाह गरेर चार जना मिलेर आएका हौँ ।” काठमाडौँबाट आएकी लुनिभा श्रेष्ठले मानुङकोटको सुन्दरताले मोहनी लगाउने धारणा राखिन् । उनले भनिन्, “आउन मन भए पनि पहिला विविध कारणले आउन सकिराखेकी थिइन, अहिले तिहार बिदाका कारण यहाँ आउने वातावरण जुर्यो, दृश्यले लोभ्यायो ।” दमौलीका सुदीप गफ्फारले यति बेला मानुङकोटमा पर्यटकको अत्यधिक चहलपहल भएकाले होटल व्यवसायीसँग पहिल्यै सम्पर्क गरेर आउनुपर्ने अवस्था रहेको बताए। चिसो मौसम सुरु भएसँगै मानुङकोटमा यति बेला दैनिक पर्यटकको चहलपहल बढेको छ । हाल दैनिक एक हजारभन्दा बढी पर्यटक मानुङकोट पुग्ने गरेका छन् । सोमबार बिहान करिब दुई हजार पर्यटकले मानुङकोटबाट दृश्यावलोकन गरेका छन् । मानुङकोटस्थित अम्ब्रेला रेष्टुराँका सञ्चालक शैलेश सुनामले यति बेला मानुङकोटमा पर्यटकको सिजन रहेको जानकारी दिँदै दसैँ तिहारसँगै पर्यटकको चहलपहल बाक्लिएको बताए । चिसो मौसममा सूर्योदय, कुहिरो, सूर्यास्तले यहाँ आउने पर्यटक लोभिने गरेको उनको भनाइ छ । उनले भने, “अहिलेका बेला भनेको पर्यटकको चाप हुने समय हो, पहिल्यै आफ्नो बस्ने स्थान सुरक्षित गरेर आउँदा सहज हुन्छ । हामीले प्रतिव्यक्ति रु एक हजार २०० मा रातको बास, खाना र बिहानको नास्ता उपलब्ध गराइरहेका छौँ ।” उनले आफ्नो रेष्टुराँमा दैनिक ७० जना बास बस्ने क्षमता रहेको जानकारी गराए । मानुङकोटमा पर्यटक उक्लिनेक्रम बढेपछि यहाँ होटल खुल्नेक्रम बढेको छ । विगतमा होटल नरहेको यस ठाउँमा अहिले एक दर्जन सञ्चालनमा छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ । मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता परासर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनःमानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचीबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।
जाडो छल्न उत्तरी ध्रुवका पर्यटक चरा नेपाल आइपुगे
मोरङ। जाडो छल्न विगतमा झैँ यस वर्ष पनि पर्यटक चरा नेपाल आइपुगेका छन् । उत्तरी ध्रुवमा हिमपातको सुरुआतसँगै हिउँदे यामको बढ्दो जाडो छल्न त्यहाँका कतिपय चरा नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा सयौँ प्रजातिका चरा नेपाल आइपुगेका छन् । विगतका विवरण हेर्दा असोज दोस्रो सातादेखि यहाँ आउन थालेका पर्यटक चरा करिब छ महिना नेपाल रहने र त्यसपछि फर्कने चिनियाँ विज्ञान प्रतिष्ठानका उपप्राध्यापक एवं चरा अनुसन्धानकर्ता डा हेमबहादुर कटुवालले बताए । “बर्सेनि करिब १५० प्रजातिका चरा रुस, किर्गिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेका छन् । त्यसमध्ये केही प्रजातिका चरा नेपालको बाटो हुँदै दक्षिण भारतसम्म जाने गर्दछन्”, उनले भने । नेपाललाई आकर्षक र सुरक्षित गन्तव्य मानेर आउने पर्यटक चरा विगतका वर्षमाभन्दा घट्दो क्रममा रहेकाले वासस्थान सुरक्षित र व्यवस्थित गर्न सबै सरोकार भएका निकाय लाग्नुपर्नेमा उपप्रध्यापक कटुवालले जोड दिए । उनका अनुसार सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको वासस्थान मानिन्छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउनेक्रम थपिए पनि विगतका वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए । उनका अनुसार विशेष गरी जाडो छल्न र बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको छ । हजारौँको सङ्ख्यामा आउने बार हेडेड गुस (खोया हाँस) को सङ्ख्या भने पछिल्लो समय घट्दै गएको उनको भनाइ छ । जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा प्रायः रहने प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । खाया हाँस, सुनजुरे हाँस, कैलो टाउके हाँस, मादक हाँस, खडखडे हाँस, हरियो टाउके हाँस, लक्ष्मण सारस, कर्याङकुरुङ सारस, राजहुटिट्याउलगाउत चरा यहाँ आउने उहाँले जानकारी दिनुभयो । अन्य प्रजातिमा सिकारी तथा मांशहारी चरामा गोमायु महाचिल र श्येनबाज पर्दछन् भने थलचर चरामा हिमाली भद्राई, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, बगाले बगेडीलगायत पर्दछन् । “गर्मी याममा आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले आफ्नो गुँड बनाउँदैनन् र आफ्नो अण्डा अरू चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ”, प्रमुख गौतमले भने। नेपाल आउने अन्य चरामा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउकेलगायत रहेका उनले जानकारी दिए । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान वन, आसपासका घाँसे मैदान, कृषि भूमिलगायत क्षेत्र हुने कोशी संरक्षण केन्द्रका प्रमुख गौतमले उल्लेख गरे।

