हिमपात र वर्षाकाे कारण खुम्बुमा पाँच हजारभन्दा बढी पर्यटक अलपत्र
सोलुखुम्बु । लगातारको हिमपात र वर्षाका कारण खुम्बु क्षेत्रमा पाँच हजारभन्दा बढी पर्यटक र तिनका सहयोगी अलपत्र परेका छन् । मौसम खराबीले उडान र आवतजावत ठप्प हुँदा लुक्ला, सुर्के र आधार शिविर क्षेत्रमा समस्या देखिएको हो ।
लुक्लास्थित तेन्जिङ–हिलारी विमानस्थलमा करिब ६ सय पर्यटक उडान पर्खिरहेका छन् । दृश्यापन कमजोर भएकाले जहाज उडान रोकिएको छ भने हेलिकोप्टरले सीमित रूपमा उडान गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका सिनियर एटिसी अफिसर अमनचन्द्र झाले बताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आधार शिविर क्षेत्रमा मात्रै १,४९० पर्यटक छन् । नाम्चेबजार क्षेत्रमा करिब १,२०० पर्यटक रहेका छन् । होटल व्यवसायीका अनुसार नाम्चेमा खानबासको पर्याप्त व्यवस्था छ ।
तर, सुर्के–सल्लेरी सडकमार्गमा गाडी व्यवसायीले मनपरी भाडा लिने गरेको गुनासो छ । प्रतिव्यक्ति ३ हजारको सट्टा अहिले १० हजार रुपैयाँसम्म असुलिने गरिएको छ ।
मुख्य जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले सम्भावित जोखिमका लागि उद्धार तयारी भएको बताउँदै भाडा दुर्व्यवहार भए कारबाही हुने चेतावनी दिए । टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले मौसम खराबीले कतिपय पर्यटक अन्य गन्तव्यतर्फ मोडिएको बताए ।
‘मोन्था’ को प्रभाव कम हुँदै, आज यी स्थानमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव नेपालमा कम हुँदै गएको बताएको छ । यद्यपि पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उसले जनाएको छ । कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा साधरणतयादेखि अधिकांश बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । कोशीका थोरै तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशीको उच्च पहाडी तथा हिमाली भूभागका थोरै तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति कोशी र मधेश प्रदेश साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने नेकपा (एकीकृत समाजवादी)को निर्णय
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गर्दै शुक्रबार सकिएको छ । दुई दिनसम्म चलेको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गर्ने प्रस्ताव पेस गरेका थिए । हलले ताली बजाएर सो प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको पार्टीले जनाएको छ । पार्टी एकताका लागि अध्यक्ष नेपालले थप गृहकार्य गर्नका लागि सचिवालय बैठकमार्फत निष्कर्षमा पुग्ने जानकारी गराएका छन् । अब माओवादी केन्द्र र समाजवादी पार्टीबीच छिट्टै एकता हुने भएको छ ।
चिरन पुनले विप्लवलाई लेखे पत्र, 'फेरि छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु'
काठमाडौं । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टीबाट अलग भएका नेता चिरण पुनले कम्युनिस्ट क्रान्तिकारीहरूको एकता अनिवार्य आवश्यकता भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत विप्लवलाई सम्बोधन गर्दै उनले बृहत् कम्युनिस्ट एकता र ध्रुवीकरणमा भूमिका खेल्न आग्रह गरेका छन् । ‘निकै मीठो हाम्रो सहकार्य भएको १३ वर्ष पूरा भएर १४ औं वर्षमा प्रवेश गर्दै छ,’ अलग्गिएको घोषणा गर्दै उनले लेखेका छन्, ‘एकताको विषयमा हाम्रो कुरा मिलेन ।’ बृहत् कम्युनिस्ट एकताले मात्र नेपाली विशेषताको समाजवाद हुँदै समाजवाद र साम्यवादी सपना पूरा हुन सक्ने उल्लेख गर्दै उनी थप्छन्, ‘तपाईंको भूमिका बृहत् कम्युनिस्ट एकता र ध्रुवीकरणमा आवश्यक छ । त्यसको निम्ति हजुरले पनि छिट्टै एकताको पहल गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु ।’ नवौं केन्द्रीय समितिको विशेष बैठकको निर्देशन र वस्तुगत आवश्यकताले विभाजित कम्युनिस्ट आन्दोलनलाई सन्देश दिएको भन्दै उनले विप्लवलाई भनेका छन्, ‘छिट्टै एकताको पहल गर्नुहुनेछ । फेरि छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु ।’ आज मात्र चिरण पुन पक्षले छुट्टै भेला गरेर समाजवादी मोर्चामा रहेका दलहरूबीचको एकताको पक्षमा उभिने निर्णय गरेको छ । यस्तो निर्णयपछि उनले विप्लवलाई सम्बोधन गर्दै एकतामा आउन आग्रह गरेका हुन् ।
विप्लव नेतृत्वको नेकपा औपचारिकरुपमा विभाजन: मिलन सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति चयन
काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ । महासचिव विप्लवले क्रान्तिकारी कम्युनिष्ट पार्टीसँगको एकतामा भन्दा जेन्जी आन्दोलनबाट बिस्थापित सत्तारुढ दल एमालेसँग निकटता देखाएपछि आफूहरुको राष्ट्रिय भेलाले पार्टी पुनर्गठन गरेको नवनिर्वाचित महासचिव मिलन सीले एभरेष्ट दैनिकलाई जानकारी दिए । काठमाडौंमा आज सम्पन्न राष्ट्रिय भेलाले मिलन सीलाई सर्वसम्मत महासचिव चयन गरेको छ । संसदीय राजनीतिमा आउन १२ वर्ष लगाएको र क्रान्तिकारी कम्युनिष्ट पार्टी भन्दा पनि नेकपा एमालेलगायतका पार्टीसँग नेतृत्वले निकटता देखाएका कारण आफूहरुले राष्ट्रिय भेला गरेर पार्टी पुनर्गठन गरेको केन्द्रीय सदस्य शरद सीले जानकारी दिएका छन् । पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको म्याण्डेटविपरित नेतृत्व अगाडि बढेपछि आफूहरुले राष्ट्रिय भेला आयोजना गरेको शरदले बताए । उनकाअनुसार भोलि काठमाडौंमा पत्रकार सम्मेलन गरेर थप जानकारी सार्वजनिक गर्ने तयारी छ । आफूहरुसँग पार्टीका बहुमत केन्द्रीय सदस्यको साथ रहेको उनको दावी छ ।
झापामा महिला गोल्डकप सोमबारदेखि हुने
झापा । ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण ‘नकआउट फुटबल’ प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले यहाँ वर्षा भइरहेकाले प्रतियोगिता दुई दिन ढिला हुन लागेको हो । यसअघि शिवसताक्षीस्थित दुधे रङ्गशालामा उक्त प्रतियोगिता शनिबारदेखि आरम्भ हुने तय भएको थियो । प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख ५० हजार र अन्य विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही रू २५ हजार प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई रु १५ हजार प्रदान गरिने छ । प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, सङ्कटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लबले भाग लिने छन् ।
मोन्था चक्रवातका कारण मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा
काठमाडौं । मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ । अभिलेख अनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ । मोन्था चक्रवातको असर अहिले मधेश प्रदेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । यद्यपि बागमतीलगायत प्रदेशमा पनि असर रहँदा बदली र वर्षा भइरहेको छ । उनका अनुसार यो भारी वर्षा हो । दुई सय मिलिमिटर वर्षा नाघेमा अति धेरै भारी वर्षाको सूचीमा राखिन्छ । सूचना अधिकारी कायस्थका अनुसार पछिल्लो २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा भएको छ । झापा र उदयपुरमा ९३.६ र ९७.६ मिलिमिटर वर्षा भएको छ । दुई दर्जन बढी वर्षा मापदन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको छ । ललितपुरमा ७२ र काठमाडौँमा ४० मिलिमिटर वर्षा भएको छ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले आज साँझसम्मै प्रभावित हुने सूचना अधिकारी कायस्थले जानकारी दिए । त्यसपछि भने सुधार हुँदै जानेछ । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर साधारणतयादेखि अधिकांश बदली रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छभने कतै धेरै भारी वर्षा भएको छ ।
विदेशी नागरिकद्वारा मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण
मुगु । यहाँस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने कोइकी हिमालमा पहिलो पटक सफल आरोहण गरिएको छ । यही कात्तिक ३ गते चार अष्ट्रियन र एक जर्मन गरी पाँच जनाको टोलीले सो हिमालमा सफल आरोहण गरेका हुन् । सफल आरोहीहरुमा अष्ट्रियाका एर्विन पल विसम्यान, भ्यालेन्टिन म्याक, स्यान्द्रो फ्रान्ज कान्डुथ, ग्रेगर प्रिबर्निग र जर्मनीका स्टेफन लिब लिन्ड छन् । समुद्री सतहदेखि छ हजार १६९ मिटर अग्लो कोइकी हिमालको सफल आरोहणले मुगुम कार्मारोङवासी उत्साहित भएका छन् । ‘गाउँकै सामुन्ने रहेको यो हिमालको शिखरमा पहिलो पटक मान्छे पुगेको खबरले हामी हर्षित छौँ । चौँरी र याक चराउन फेदसम्म पुग्ने स्थानीय कसैले पनि यो हिमाल आरोहण गरेको सुनेका देखेका थिएनन्’, स्थानीय तुण्डुल तामाङले भने, ‘अब यस हिमालमा पनि आरोहणका लागि अरु आरोही आउँछन् भन्ने लागेको छ ।’ पहिलोपटक रिजन ट्रेक प्रालिको व्यवस्थापनमा चार जना अष्ट्रियाका, एकजना जर्मन आरोहीले आरोहण गरेको जनाइएको छ । मुगुम कार्मारोङ गाउँपालिका–२ का पूर्व वडाअध्यक्ष कार्मा तामाङ भन्छन्, ‘कोइकी हिमालको सफल आरोहणले मुगु मात्र होइन, देशकै पर्यटनको सम्भावना थपिएको छ । अब यस क्षेत्रको प्रचारप्रसारमा सरकार र सरोकारवाला निकायको ध्यान पुग्न जरुरी छ ।’ सो हिमालका सफल आरोही मध्येका २८ वर्षीय अष्ट्रियाका नागरिक सेन्द्रोकले भने, ‘मैले संसारका थुप्रै हिमाल आरोहण गरेको छु, तर कोइकी हिमालमा उभिँदा बेग्लै अनुभूति भयो । यो हिमाल सफा, शान्त र सुन्दर छ । कतै फोहर छैन, हावामा ताजगी छ । यस्तो प्राकृतिक शुद्धता मैले पहिलो पटक महसूस गर्दै थिएँ ।’ उनले यहाँका स्थानीयको माया र आतिथ्यले आफू प्रभावित बनाएको र आफ्नो देश फर्केर साथीभाइलाई यो हिमाल चढ्न प्रेरित गर्ने बताए । ‘यो ठाउँको अझ प्रचार भयो भने, मजस्ता सयौँ विदेशी पर्यटक यहाँ आउनेछन्’, उनले भने । रिजन ट्रेक प्रालिका पथप्रदर्शक पासाङ शेर्पाका अनुसार, कोइकी हिमाल चढ्दा कुनै ठूला कठिनाई परेन । मौसम अनुकूल रह्यो, बाटो रमणीय थियो र दृश्य अद्भुत । अरू हिमालको तुलना गर्दा यहाँको यात्रा सहज र यादगार रह्यो । उनी भन्छन्, ‘विदेशी आरोही अत्यन्त उत्साहित थिए । उनीहरू फर्कँदा पनि बारम्बार यही कुरा भन्दै थिए हामी फेरि फर्कनेछौँ । कोइकी हिमाल पुग्ने बाटोमा कुनै कठिनाइ भोग्नु परेन ।’ पहिलो सफल आरोहणसँगै प्रचार प्रसारमा जोड दिएमा कोइकी हिमाल अब मुगुको पर्यटनको अर्को सम्भावना बन्ने पर्यटन व्यवसायी राजु कार्की बताउँछन् । यसरी पुग्न सकिन्छ कोइकी हवाई या स्थलमार्ग भएर नेपालगञ्ज जाने । नेपालगञ्जबाट रारा विमानस्थल करिब ३५ मिनेटको हवाई उडानमार्फत पुग्न सकिन्छ । रारा विमानस्थलबाट १५–२० मिनेटको जीप यात्रामा सदरमुकाम गमगढी पुगिन्छ । त्यसैगरी स्थलमार्ग भएर जानेका लागि नेपालगञ्ज वा कोहलपुरबाट बसमार्फत सुर्खेत, दैलेख, कालीकोट हुँदै पहिलो दिन मान्म वा नाग्मा त्यसपछि दोस्रो दिन बिहानै हिँडेर जुम्लाको गोठी ज्युला वा बुलबुले हुँदै दिउँसो गमगढी पुग्न सकिन्छ । त्यहाँ एक रात बास बसेर भोलिपल्ट बिहानै मुगुम कार्मारोङ गाउँपालिकाको छायल बजार, माग्री गाउँ र ढुङ्गेधारा बजार हुँदै जानुपर्छ । रिउस बगर वा पुलु बजार, लादेगाड, चिताई बगर हुँदै तेस्रो दिन साँझ मुगुम गाउँ पुगिन्छ । चौथो दिन बिहानै मुगुम गाउँको पाटन क्षेत्र हुँदै पाँचौँ दिन समुन्द्री सतहबाट चार हजार ६०० मिटर उचाइमा रहेको सो हिमालको आधारशिविर पुग्न सकिन्छ ।
जुम्लाकाे आकासे ताल आन्तिरिक पर्यटकको राेजाइमा
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका–१ स्थित आकासे ताल पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र बन्दै गएको छ । यहाँको प्राकृतिक सौन्दर्यका आन्तरिक तथा बाह्य पर्यटक यसतर्फ आकर्षित बनेका हुन् । समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित आकासे बाट मनमोहक दृश्यावलोकनका साथै हिमालको फेदमा बसी प्रकृतिको काखमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको गुठिचौर गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष अर्जुनकुमार महताराले बताए । उनका अनुसार यो ताल विसं २०७६ मा चौँरी गोठालाले पत्ता लगाएका हुन् । पत्ता लगेपछि सृजना सिज्जुसहितको टोलीले पहिलो पटक अवलोकन गरेर उक्त तालको श्रव्यदृश्य सार्वजनिक गरेपछि यहाँ पर्यटकको आगमन हुन थालेको वडाध्यक्ष महताराले बताए । उनले भने, ‘यस वर्षको दसैँ तिहारमा दैनिक ५० जना भन्दाबढी आन्तरिक पर्यटकको आगमन भएको थियो । यहाँ पर्यटकीय पूर्वाधार विकास गर्न सके पर्यटन प्रवर्द्धनका साथै स्थानीयको आयस्तर बढे्ने अपेक्षा गरेका छौँ ।’ तालको प्रवर्द्धनका लागि पर्यटन बोर्डसँग समन्वय भइरहेको वडाध्यक्ष महताराले जानकारी दिए । उनका अनुसार अहिले तालसम्म पुग्नका लागि गुठिचौर–१ मौरेसम्म रु ५० लाखको लागतमा सडक निर्माण गरिएको छ । उनले सडक पुगेको ठाउँबाट तालसम्म पुग्न करिब तीन किलोमिटर लामो पदमार्ग निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । तालको सही नापजाँचको कामलाई पालिकाले अघि बढाएको छ । यो वर्षको हिउँदे गाउँसभाबाट आकासे तालको पर्यटन प्रवर्द्धन गर्न आवश्यक बजेट विनियोजन गरिने वडाध्यक्ष महताराले जानकारी दिए । तालसम्म पुगेका पर्यटनलाई बस्नका लागि धर्मशालाको निर्माण गरिएको छ । अहिले तालको अवलोकन, घुमघाम गर्ने, श्रव्यदृश्य तथा वृत्तचित्र बनेउनेलगायत प्रयोजनका लागि दैनिक तीनदखि पाँच समूहमा आन्तरिका तथा बाह्य पर्यटक पुग्ने गरेका वडाध्यक्ष महताराले उल्लेख गरे । आगामी आर्थिक वर्षदेखि तालसम्म पुग्ने पर्यटनको यकिन तथ्याङ्क राखिने उनले बताए । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा ताल पर्न थालेपछि पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिइएको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्ने सबैलाई आकर्षित गर्दछ । हिमालको फेदमा चिटिक्क परेको आकासे तालको मनमोहक दृश्यले पर्यटनको मन लोभ्याउने गरेको स्थानीय अजित थापाले बताए । ‘केहीदिन अगाडि समूहमा तालसम्म पुगेका थियौँ । रारा तालसम्म पुगेका पर्यटनलाई यहाँसम्म ल्याउन सके स्थानीयको आर्थिकस्तर सुधार हुनुका साथै रोजगारीका अवसर सृजना हुने थियो’, उनले भने । आकासे तालको प्रचारप्रसार गर्न गर्नुका साथै पूर्वाधार विकासमा जोड दिनुपर्ने थापाको भनाइ छ । तीनवटै सरकारको समन्वयमा तालको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने उनले उल्लेख गरे । तालको अवलोकन गरेर फर्किएका तातोपानी गाउँपालिका–४ का स्थानीय भरत नेपालीले यहाँ पुग्ने पर्यटक हिमालको फेदीमा अवस्थित आकासे निलो रङको पानीले भरिएको तालको अवलोकन गर्दा मोहित हुने धारणा राखे । यहाँको सुन्दर र मनमोहक दृश्यले आफूलाई आकर्षित गराएको उनले बताए । कर्णाली प्रदेशको जुम्लामा पर्ने यस तालको प्रचारप्रसार गरी पर्यटकीय गतिविधि बढाउन सकिने उनको भनाइ छ । ‘विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा आकासे ताल जस्ता कतिपय सुन्दर ताल गुमनाम छन् । कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्त्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजागर गरी पर्यटन प्रवर्द्धनका माध्यमबाट मनग्य गर्न सकिन्छ’, नेपालीले भने ।
भाेजपुरमा गृहिणीबाट उद्यमी बन्दै महिला
भोजपुर । पहिले घरधन्दा र परिवारमा सीमित भोजपुरका महिला अहिले आफ्नै सीपबाट आम्दानी गर्न थालेका छन् । गाउँपालिका र वडास्तरमा सञ्चालित सिलाइकटाइ, ढाका बुनाइ, बेमौसमी तरकारीखेती, मुढा बनाउने, अचार बनाउने, गड्यौलाको मल उत्पादनलगायत सीपमूलक तालिमले महिलालाई स्वरोजगार र उद्यमशील बन्ने अवसर प्रदान गरेको हो । महिलालाई आत्मनिर्भरसँगै व्यावसायिक बनाउनका लागि ‘महिला लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् । ढाका बुनाइ, सिलाइकटाइ, अचार बनाउने, बेमौसमी तरकारीखेती, बाख्रापालन, बङ्गुरपालनलगायत सीप प्रदान गरेपछि यहाँका महिला उद्यममा जोडिएका उनले उल्लेख गरिन्। सीप लिएर व्यवसायमा लाग्न चाहने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहनसहित सहयोग गरिरहेको उपाध्यक्ष राईले बताइन् । उनका अनुसार गाउँघरमा पाइने कच्चा पदार्थको सदुपयोग गर्दै व्यावसायिकसँगै उद्यमशील बनाउन गत आर्थिक वर्षमा २७ जना महिलालाई अचार बनाउने सीप प्रदान गरिएको थियो । टेम्केमैयुङ गाउपालिका–४,नागीकी सम्झना राईले सोही तालिम लिएपछि आफ्नै गाउँमा अचार उत्पादन सुरु गरेको बताइन् । सीपले जीवन निर्वाह गर्न सहजता प्रदान गरेको उनको भनाइ छ । “सीप सिकेपछि घरमा अचार बनाउन थालेकी छु”, उनले भनिन्, “यसले मलाई आत्मनिर्भर बन्न सहज बनाएको छ । जानेको सीप अरूलाई पनि सिकाएर प्रेरित गर्दै आएकी छु ।” यहाँका सीप लिन इच्छुक दलित समुदायका महिलाको पहिचान गरेर बाँसको मुढा बनाउने तालिम दिएपछि अहिले महिला स्वरोजगार बन्दै गएका छन् । पौवादुङ्मा गाउँपालिकामा १९ वटा आमा समूहले गड्यौलाको मल उत्पादन गरी बिक्री वितरण गर्न थालेका छन् । पौवादुङ्मा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत महिला विकास बोर्ड गठन गरी उद्यमसँग जोड्न विभिन्न गतिविधि सञ्चालन गर्न थालिएको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन्। रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका महिलाहरू पनि सीपमूलक तालिमपछि उद्यममा जोडिएका छन् । स्थानीय चन्द्रकला राई अहिले सिलाइकटाइ व्यवसायमा सक्रिय छिन्। “वडामा सीपमूलक तालिम पाउँदा हामीजस्ता गृहिणी महिलालाई सजिलो भयो”, उनले भनिन्, “अहिले यही व्यवसायबाट घर खर्च चलाउन सहज र आत्मनिर्भर बन्न टेवा पुगेको छ ।” सिलाइकटाइ तालिमबाट स्वरोजगार बन्नुका साथै आत्मविश्वास बढेको चन्द्रकलाको भनाइ छ । “हामी जस्ता महिलालाई अन्य ठाउँमा गएर तालिम लिन गाह्रो पर्थ्यो”, उनले भनिन्, “आफ्नै गाउँमा तालिम लिएर व्यवसाय गर्न पाउँदा खुसी छौँ ।” स्थानीय तहको निरन्तर प्रयास र महिलाको सक्रिय सहभागिताले अहिले भोजपुरका गाउँघरमा आत्मनिर्भरता र उद्यमशीलताको नयाँ उदाहरण देखिन थालेको स्थानीयले बताएका छन् ।
विश्व शहरीकरण दिवस आज : ‘जनकेन्द्रित स्मार्ट सहर’ नारासहित मनाइँदै
काठमाडौं । ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज (शुक्रबार) विश्व शहरीकरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१४ देखि हरेक वर्ष यो दिवस मनाउने परम्परा सुरु गरिएको हो । यस वर्षको अवसरमा कोलम्बियाको राजधानी बोगोटामा विशेष अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गरिएको छ । यो दिवस मनाउने उद्देश्य आवास सङ्कटजस्ता विश्वव्यापी चुनौतीहरूको समाधानका लागि दिगो, सुरक्षित र समान अवसरयुक्त सहर निर्माणमा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्नु रहेको छ । विश्व तीव्र गतिमा सहरमुखी बन्दै गएको सन्दर्भमा शहरी क्षेत्रको दिगो विकास अपरिहार्य मानिएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार हाल विश्वको आधाभन्दा बढी जनसङ्ख्या सहरी क्षेत्रमा बसोबास गर्छ ।
मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा
कञ्चनपुर । विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउने बेदकोट नगरपालिका–१ चम्फापुरका जयप्रकाश राना अहिले आफ्नै बारीमा दर्जनौँ किसानलाई रोजगारी दिनसक्ने सफल व्यावसायिक किसान बनेका छन् । दुई दशकदेखि निरन्तर तरकारीखेतीमा संलग्न रानाले नर्सरीमा तरकारीका बिरुवासँगै तरकारी उत्पादन गरी बिक्री गरेर वार्षिक रूपमा रु १५ लाख बढी आम्दानी गर्दै आएका छन् । मेहनत, सीप र आत्मविश्वासको बलमा उनले आफ्नो जीवनमात्र होइन, गाउँको कृषि अभ्यासलाई परिवर्तन गरेका छन् । उनको प्रेरणाले अन्य किसान पनि व्यावसायिक तरकारीखेतीमा संलग्न भएका छन् । कडा परिश्रम, आत्मविश्वास र सीपको भरमा तरकारीखेतीलाई जीवनको प्रमुख व्यवसायमा रानाले रूपान्तरण गरेका छन् । उनका प्लास्टिकको टनेलभित्रका हरिया बारी र उन्नत नर्सरीले स्थानीयलाई मात्र होइन, टाढा–टाढाका किसानलाई समेत प्रेरणा दिएको छ । सूर्योदय हुनुअघि नै तरकारीको बिरुवा स्याहार्ने कार्यबाट उनको दिनको सुरुआत हुन्छ । राजमार्गसँगै जोडिएको उनको नर्सरीबाट बिरुवा खरिद गर्ने किसानको दिनहुँ भीड लाग्ने गर्दछ । उन्नत बीउका कारण टाढाका गाउँ र नगरका किसान उनकै बारीमा बिरुवा खरिद गर्न आउने गर्दछन् । रानाले काउली, गोलभेँडा, ब्रोकाउली, रायो, भण्टा, सिमला मिर्चा, प्याजलगायतका बिरुवा बारीमा उत्पादन गरेका छन् । त्यही नर्सरीका बिरुवाबाट उनले आफ्नो खेतमा व्यावसायिक तरकारीखेती पनि गर्छन् । अतिरिक्त रूपमा धनियाँ, लौका, तीतेकरेला, फर्सी र काँक्रासमेत खेती गर्छन् । विसं २०५८ देखि निरन्तर कृषिमा संलग्न राना विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउँथे । “पहिले अरूको खेतमा बेर्ना तयार गर्न र रोप्न माटो तयार गर्थेँ, मल हाल्थेँ, विषादी छर्किन्थेँ, बेर्ना हुर्काउँथेँ, बिरुवा स्याहार्ने कार्य गर्थेँ”, उनले भने, “त्यही क्रममा खेतीका तौरतरिका सिकेँ र आफूले पनि गर्ने हिम्मत गरेँ, व्यावसायिकखेती गर्ने निधो गरी लागेँ ।” थोरै पुँजी र ठुलो जोसका साथ राजमार्ग नजिकैको खेतमा पहिलोपटक तरकारीका बिरुवाको नर्सरी सुरु गरेको विगत सम्झँदै उनले भने, “सुरुका वर्षमा उत्पादन कम भए पनि सबै बिरुवा बिक्री भएपछि सोचेभन्दा बढी नै आम्दानी भयो । त्यो आम्दानीले तरकारीखेती गर्ने आत्मविश्वास पलायो । त्यसपछि तरकारीका बेर्नाको नर्सरी तयार गरी बिरुवा बेच्न थालेँ, तरकारीखेती गरी तरकारी बेच्न सुरु गरेँ, आम्दानी बढ्दै गयो, त्यसपछि पैसाका लागि अरूसँग हात थाप्नै परेन ।” एक बिघा र चार बिघा लिजमा लिएर तरकारीखेती हुने गरेको छ । नर्सरीबाट मात्र वार्षिक करिब रु पाँच लाख र तरकारीखेतीबाट करिब रु १० लाख आम्दानी हुने गर्दछ । “पहिले महिनामा तीन हजार जति पारिश्रमिक पाउँथेँ, अहिले खेतीबाट लाखौँको कारोबार हुन्छ,” उनी हाँस्दै भन्छन् । उन्नत बीउ, टनेलखेती र विद्युतीय सिँचाइ प्रणालीका कारण उनको तरकारीको उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा सहजै बिक्री हुन्छ । बजारसम्म तरकारी ढुवानी गर्न उनले आफ्नै अटो खरिद गरेका छन् । “पहिले साइकलमा बजारसम्म तरकारी पुर्याएर बेच्थेँ, त्यसपछि मोटरसाइकलमा राखेर तरकारी बेच्न थालेँ, अहिले अटोमै तरकारी बेच्न जान्छु,” उनी गर्वका साथ भन्छन्, “कृषि पेसालाई सही तरिकाले गरे जीवन नै बदलिने रहेछ ।” तरकारीखेतीले उनको जीवनस्तरमा ठुला परिवर्तन ल्याएको छ । पहिले कच्ची टायलको घरमा बस्ने राना अहिले चारकोठे पक्की घरमा परिवारसहित बस्छन् । उनले तरकारीखेतीकै कमाइबाट दुईवटा मोटरसाइकल पनि खरिद गरेका छन् । रानाको नर्सरीका बिरुवा अहिले कञ्चनपुरको दैजी, सिसैया, महेन्द्रनगर र झलारीसम्मका किसानले बारीमै पुगेर खेतमा रोप्नका लागि लैजाने गरेका छन् । “गुणस्तर बीउको प्रयोग गरी बिरुवा तयार हुने भएकाले बजार खोज्न पर्दैन,” उनी भन्छन्, “किसान आफैँ बारीसम्मै नगदमा बिरुवा खरिद गरेर लैजान्छन् ।” परिवारका सबै सदस्य खेतीमा सघाउँछन् । श्रीमती र छोरा दुवै जनाले तरकारीखेती र नर्सरीको काममा साथ दिन्छन् । “परिवारकै सदस्य मिलेर काम गर्दा खर्च घट्छ र आम्दानी बढ्छ,” उनी भन्छन् । बजार विस्तारसँगै उनले खेती आधुनिक बनाउन तालिमहरू पनि लिएका छन् । कृषि ज्ञान केन्द्र र बेदकोट नगरपालिकाले आयोजना गरेको तालिमबाट उनले बीउ छनोट, माटो सन्तुलन, रोग–कीरा नियन्त्रण र आधुनिक खेती प्रविधि सिकेका छन् । “तालिमले मलाई नयाँ सोच दियो, अहिले म अरू किसानलाई पनि सिकाउन सक्छु,” उनी भन्छन् । रानाको तरकारीखेतीप्रतिको लगाव देखेर कृषि ज्ञान केन्द्र र नगरपालिकाका तर्फबाट कृषि औजार र यन्त्रहरूमा अनुदान पनि पाएका छन् । भविष्यमा थप जग्गामा तरकारीखेती विस्तार गर्ने योजना बनाएका रानाले युवालाई कृषिप्रति आकर्षित हुन आग्रह गरेका छन् । “युवाले वैदेशिक रोजगारी होइन, कृषि रोजे देश आत्मनिर्भर बन्छ,” उनी भन्छन्, “मजदुर भएर काम गरेँ, अब म आफैँ रोजगार दिने किसान बनेको छु ।”
चक्रवात ‘मोन्था’को प्रभाव कायमै, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, हिमाली भूभागका हिमपात
काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा सक्रिय रहँदा यसको प्रभाव आज साँझसम्म नेपालमा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिदेखि भने मौसम क्रमिक रूपमा सुधार हुने सम्भावना छ । यससँगै पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । यसै कारण अहिले देशभर सामान्यदेखि धेरैजसो स्थानमा बदली छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानमा, गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको अनुमान छ । यी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको साथै कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात र केही स्थानमा भारी हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । आज राति पनि कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी र मधेस प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि, पर्यटन, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
राष्ट्रिय परिचयपत्र थप छ क्षेत्रमा अनिवार्य
काठमाडौं । सरकारले विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र (नेशनल आइडी) को पहुँच विस्तार गर्दै थप छ क्षेत्रमा यसको प्रयोग अनिवार्य गरेको छ । कात्तिक १२ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रिय परिचयपत्र आबद्धता विस्तार गरिएको जानकारी दिए । मन्त्री खरेलका अनुसार अब वैदेशिक रोजगार सेवा, अदालतका मुद्दा व्यवस्थापन, वैदेशिक अध्ययन अनुमति सेवा, स्थानीय तहका पञ्जीकरण र नागरिकता कार्य, सामाजिक सुरक्षा तथा राहत–विपत् व्यवस्थापन लगायतका क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछ । यस्तै, अध्यागमन सेवा, बन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरूको विवरण व्यवस्थापनमा पनि राष्ट्रिय परिचयपत्रको प्रयोग सुरु गर्न निर्णय भएको उनले बताए । त्यसैगरी, समरजङ्ग कम्पनी कार्यालयलाई गृह मन्त्रालय अन्तर्गत रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।
महाकाली सिँचाइ आयोजनाकाे मुआब्जा वितरणमा सकस
महेन्द्रनगर । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन नसकेको हो । तर पछिल्ला केही वर्षयता आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्तरोन्नति गरेयता भने कामले तीव्रता पाएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिडीई राजेशभक्त पोखरेलले जानकारी दिए। “राष्ट्रिय गौरवको आयोजनामा समाहित हुनुअघि मूल नहर निर्माणको प्रगति कम थियो”, सिडीई पोखरेलले भने, “अहिले कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण चारवटा प्याकेजमा भइरहेको छ ।” चार प्याकेजको मूल नहर निर्माणका लागि रु एक अर्ब ९७ करोडको ठेक्का सम्झौता गरिएको छ । करिब दुई वर्षअघि गरिएको ठेक्का सम्झौता समयमा नसकिने भएपछि चारवटै प्याकेजमा पहिलोपटक केही समयअघि म्याद थपसमेत गरिएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य तीन वर्षभित्र पूरा गर्ने लक्ष्य सरकारको छ । आव २०६३/६४ देखि महाकाली सिँचाइ तेस्रो चरणको आयोजना सुरु भएको हो भने आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश सरकारले गरेको थियो । हालसम्म मूल नहरअन्तर्गत ब्रह्मदेव (जिरो प्वाइन्ट) देखि यहाँको शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर मूल नहर निर्माण भइसकेको सिडीई पोखरेलले जानकारी दिए । भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म महाकाली सन्धिअनुसार बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ । दशकौँ समय पर्खेर भारतीय पक्षबाट सिमानासम्म नहर र हेडरेगुलेटरलगायतका संरचना तयार गरिए पनि निर्माण सम्पन्न भएको क्षेत्रसम्म पानी दिन भारतीय पक्ष सकारात्मक देखिएको छैन । “मूल नहर तयार भएको फुलेलीसम्म पानी बगाउन कुनै समस्या छैन, पाँच–सातवटा शाखा नहरसमेत निर्माण गरिएको छ”, पोखरेलले भने, “पानीका लागि पटकपटक ताकेता पनि भएको छ ।” उनले हालसम्म आयोजनाको प्रगति २७ प्रतिशत पुगेको बताउँदै हालसम्म आयोजनामा रु नौ अर्ब लगानी भइसकेको जानकारी दिए । करिब दुई वर्षअघि मालाखेतीसम्म चारवटा प्याकेजमा मूल नहर निर्माण भइरहेको छ । “मुआब्जा निर्धारणमा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र रुख कटानको अल्झनलगायतका कारणले कामले गति धेरै लिन सकेन”, उनले भने, “पछिल्लो समय आयोजनाका लागि बजेट अभावको समस्या भने छैन ।” आयोजनाअन्तर्गत महाकाली नदीमा पानी सिँचाइका लागि कैलालीको मालाखेती, कञ्चनपुरको दक्षिणी क्षेत्र त्रिभुवनबस्ती, गुलरिया र दोधारा चाँदनी पुर्याइनेछ । त्यसका लागि कुल एक सय ५१ किलोमिटर नहर निर्माण गर्नुपर्ने हुन्छ । आयोजना कार्यालयले आगामी २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण सक्ने लक्ष्यका साथ अघि बढेको जनाएको छ । कञ्चनपुरमा मात्रै कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर छ । त्यसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुन्छ । यहाँ २९ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध छ भने यहाँ किसानले अकासे पानीका भरमा पनि खेती गर्नुपर्ने बाध्यता विद्यमान छ । महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त र बेदकोट नगरपालिकाका साथै दक्षिण क्षेत्रमा रहेको बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा पुगेको थियो ।
म्याग्दीका दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्दैनन् । आवाजको भरमा मान्छे चिन्नुहुन्छ । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ । शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाएका छन् । कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका लागि १३ वर्ष कतार, साउदी र मलेसियामा श्रम र पसिना बगाए। विदेशमा सोचेजस्तो सफलता मिलेन । विदेशमा मेसिनरी उपकरणमा काम गर्ने क्रममा आँखाको दृष्टि गुम्यो । आँखामा समस्या देखिएपछि स्वदेश फर्किएका इन्द्रप्रसादले १० वर्षअघि कृषि फार्म स्थापना गर्ने योजना सुनाउँदा धेरैले विश्वास गरेनन् । “विदेशबाट फर्केर आएपछि मेरा आँखा बिग्रिए पनि हिम्मत हारिन”, उनले भने, “खेतालाहरूलाई आइडिया दिएर काम गराइरहेको छु ।” कृषि पेसाबाटै आत्मनिर्भर बनेका इन्द्रप्रसाद र उनकी श्रीमतीले सञ्चालन गरेको इन्द्रदेवी कृषि फार्मले पाँच जनालाई आंशिक रोजगारी दिएको छ । कृषि फार्मबाट भएको आम्दानीले घरव्यवहार चलाउने र छोरीलाई काठमाडौँमा विज्ञान विषयमा स्नातक तह अध्यापन गराएका छन् । तरकारी बेचेर भएको आम्दानी उनले आँखाको उपचारमा खर्चिए पनि सफल भएको छैनन् । इन्द्रप्रसादका अनुसार आँखाको समस्या नै पहिचान नहुँदा ठुला अस्पताल र नेत्ररोग विशेषज्ञहरूकहाँ पुगे पनि उपचार सफल नभएको हो । इन्द्रप्रसादलाई कामदार खोज्न भौँतारिनु पर्दैन । कामदार काम खोज्दै घरमै आउँछन् । घरवरपरको २० रोपनी पाखोबारीमा सुन्तला बगैँचा छ । हुर्कँदै गरेका सुन्तला बगैँचाभित्रको जमिनलाई सदुपयोग गरेर बन्दा, काउली र अदुवाखेती गरेका छन् । नजिकै ३० रोपनीमा व्यावसायिक आलुखेती गरेका छन् । गत वर्ष रु चार लाख मूल्य बराबरको ८० क्विन्टल आलु बिक्री भएको इन्द्रप्रसादले बताए । मौसमी र बेमौसमी तरकारीबाट थप आम्दानी हुन्छ । भैँसी र बाख्रा पनि पालेका छन् । गाउँमै कच्ची सडक पुगेको हुँदा उत्पादन भएको तरकारी बजार पुर्याउन समस्या छैन । फोनमार्फत माग सङ्कलन गरेर बेनी, कुश्मा र बागलुङका व्यापारीलाई तरकारी पठाउँछन् । व्यापारीले खातामै पैसा पठाउँछन् । शारीरिक रूपमा अशक्त भए पनि हिम्मत नहार्ने हो भने सफलता हात पार्न सकिने सन्देश इन्द्रप्रसादले दिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । “आँट र साहस हुने तथा परिवारका सदस्यले साथ दिने हो भने व्यवसाय र उद्यम गर्न शारीरिक अशक्तता बाधक बन्दैन भन्ने उदाहरण इन्द्रप्रसाद हुनुहुन्छ”, उनले भने, “गाउँपालिकाले उहाँलाई खेतीका लागि प्राविधिक र आर्थिक सहयोग गरेको छ ।” पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले सुन्तला खेतीका लागि बिरुवा खरिद, खाडल खन्न, उपकरण खरिद र पोखरी निर्माण गर्न ५० प्रतिशत अनुदान सहयोग गरेको उपाध्यक्ष आचार्यले बताए।

