कर्णालीमा पाँच लाखभन्दा बढी पर्यटकको आगमन

सुर्खेत । पर्यटनका लागि उत्कृष्ट सम्भावना बोकेको कर्णाली प्रदेशमा गत वर्ष पाँच लाखभन्दा बढी पर्यटक पुगेका छन् । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार रारा, से फोक्सुन्डो, काँक्रेविहार, सहिद पार्कलगायत स्थानमा पाँच लाख १८ हजार ९७० पर्यटक पुगेका छन् ।

यो तथ्याङ्क गत चैतसम्मको हो । असारसम्मको विवरण संकलन भइनसके पनि कुल संख्या छ लाख नाघ्ने अनुमान मन्त्रालयले गरेको छ । तीमध्ये ४ हजार ४८२ विदेशी र ५ लाख १४ हजार ४८८ आन्तरिक पर्यटक रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्यटक सुर्खेतको बुलबुले र प्रादेशिक सहिद पार्क पुगेका छन् । बुलबुलेमा ३ लाख २० हजार ८२३ र सहिद पार्कमा १ लाख २० हजार पर्यटकले भ्रमण गरेका छन् । सूचना अधिकारी नीरज श्रेष्ठका अनुसार असारसम्मको पूर्ण विवरण आएपछि पर्यटक संख्या अझ बढ्ने अपेक्षा गरिएको छ ।

प्रदेशका प्रमुख गन्तव्यहरूमध्ये रारामा १९ हजार ४४७, भेरी नदीमा र्‍याफ्टिङका लागि ६ हजार ५७८, से फोक्सुन्डोमा ५ हजार ९५, गुराँसेमा १६ हजार ६६ र काँक्रेविहारमा ३० हजार ९६१ पर्यटक पुगेका छन् ।

मन्त्रालयका औद्योगिक प्रवर्धन तथा पर्यटन महाशाखा अधिकृत स्मिता बेल्बासेका अनुसार रारामा ३५३ विदेशी र १९ हजार ९४ आन्तरिक, भेरी नदीमा २ हजार ८६४ विदेशी र ३ हजार ७१४ आन्तरिक, से फोक्सुन्डोमा ५६८ विदेशी र ४ हजार ५२७ आन्तरिक पर्यटक रहेका छन् । यस्तै दैलेखको गुराँसेमा ५८९ विदेशी र १५ हजार ४७७ आन्तरिक तथा सुर्खेतको काँक्रेविहारमा ३० विदेशी र ३० हजार ९३१ आन्तरिक पर्यटकले भ्रमण गरेका छन् ।

बेल्बासेले असारसम्मका तथ्याङ्क संकलन भइरहेको बताउँदै सम्पूर्ण विवरण प्राप्त भएपछि पर्यटक संख्या पुनः यकिन गरिने जानकारी दिए । 

नेपाल सरकारले हालै सार्वजनिक गरेको नयाँ पर्यटकीय गन्तव्य सूचिमा पनि कर्णालीका थुप्रै स्थानहरू परेका छन् ।
तीमध्ये सल्यानको कुपिन्डे दह, डोल्पाको से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र त्रिपुरासुन्दरी धार्मिक क्षेत्र, जुम्लाको सिँजा सभ्यता र डुडुल स्तूप, हुम्लाको लिमी उपत्यका प्रमुख छन् ।

यस्तै, मुगुको रारा ताल–से फोक्सुन्डो ताल पदयात्रा मार्ग, कालीकोटको पचाल झरना, जाजरकोटको खलङ्गा दरबार, रुकुमपश्चिमको गोतामकोट चित्रिपाटक पदमार्ग, दैलेखको पञ्चकोशी पर्यटन क्षेत्र, कोतगढी–पञ्चदेवल–बेलासपुर महाबु क्षेत्र र सुर्खेतका काँक्रेविहार, देउती बज्यै, मदन आश्रित पार्क, जाजुरा दह, गुसीताल, मादले गुफा, शिव गुफा र गिद्धेडाँडा पनि नयाँ पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरिएका छन् ।

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सो प्रभावका कारण कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतः सफा रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा र अन्य पहाडी क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया । आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका साथ आइतबार पोखराबाट निस्केको ‘जाउँ है बेगनास पोखरा’को टोलीले सोमबार बर्दियाको ठाकुरबाबा नगरपालिकाका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका विषयमा छलफल गरेको छ । होटेल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथको आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष–२०२५ को सहयोगमा त्रीदिवसीय कार्यक्रमका साथ निस्केको टोलीले बेगनास क्षेत्र र बर्दियाको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको हो । पर्या-पर्यटन विकास मञ्च ठाकुरद्वाराको सहजीकरणमा ठाकुरबाबा नगरपालिकामा गरिएको कार्यक्रमका सहभागीले पर्या-पर्यटनलगायत क्षेत्रमा एकरूपता रहेकाले बेगनास र बर्दियाबीच पर्यटकीय साझेदारीले दुवै लाभान्वित हुनेमा जोड दिइएको हो । ठाकुरबाबा नगरपालिकाका प्रमुख तीलकराम लम्सालले नेपाल आफैँमा प्रचुर पर्यटकीय सम्भावना भएको देश भएकाले राज्यका तीनवटै तहले यस क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्दै अघि बढ्नुपर्ने बताए । पोखरासँगको पर्यटकीय साझेदारीका लागि आफूहरू तयार रहेको जनाउँदै उनले आपसी समन्वयबाट दुवै क्षेत्रको पर्यटकीय विकासलाई अघि बढाउन सकिने धारणा राखे । पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका सहसंयोजक एवं होटेल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथका सल्लाहकार दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा रहेका बेगनासतालसहितका सात तालहरू, यहाँबाट देखिने हिमाली दृश्यसँगै पर्यटकीय सम्भावनालाई उजागर गर्नेतर्फ आफूहरू लागेको बताए । बेगनासतालसहित यस आसपासका क्षेत्र जैविक विविधताले सम्पन्न हुनुका साथै चरा पर्यटनलगायतमा धेरै सम्भावना बोकेको जनाउँदै उनले बर्दियाका पर्यटकीय क्षेत्रसँग यस्ता विषय मिल्दोजुल्दो भएकाले सहकार्य गरेर अघि बढ्न सकिने धारणा राखे। उनले बेगनाससहित यहाँका तलतलैया एवं पर्यटकीय गन्तव्य समेटिएको श्रव्य दृश्य सामग्री प्रस्तुत गरेका थिए । होटल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले लेखनाथ क्षेत्रमा तालतलैयासँगै हिमाल हेरेर फुटबल खेल्न सकिने, भण्डारढिकस्थिल खेलमैदानलगायत पर्यटकीय पूर्वाधार रहेका जानकारी दिए। बेगनास क्षेत्रमा आएका पर्यटकलाई बर्दिया पठाउँदा पर्यटकीय गतिविधिसँगै आम्दानी बढ्ने बताउँदै उनले बर्दिया आउने पर्यटकलाई बेगनाससहित पोखराका पर्यटकीय गन्तव्य पठाउन आग्रह गरे । ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिनाकुमारी भट्टराईले विश्वमा बाघ हेर्ने महत्त्वपूर्ण गन्तव्यका रूपमा बर्दिया विकास भइरहेको उल्लेख गर्दै प्राकृतिक रूपमा सम्पन्न पोखरासँग पर्यटकीय साझेदारी गरेर अघि बढिने धारणा राखिन्।  पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले बर्दिया र कास्कीमा भएका पर्यटकीय सम्भावनालाई उजागर गर्न आपसी समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। पर्या–पर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष कृष्णप्रसाद भट्टराईले राष्ट्रिय निकुञ्जका कारण बर्दिया परिचित बनेको बताउँदै संसारकै घुम्ने गन्तव्यका रूपमा बर्दियाले विश्वव्यापी चर्चा पाउन थालेको जानकारी दिए । पोखरा आफैँमा पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएका कारण आफूहरू पोखरासँगको पर्यटकीय साझेदारीका लागि हातेमालो गर्न तयार रहेको उनको भनाइ छ । कार्यक्रममा होटेल एसोसिएसन नेपाल (हान) बर्दियाका महासचिव रेशम थापा, बर्दिया संरक्षण क्षेत्रका अध्यक्ष राजन चौधरीलगायतले पर्यटकीय साझेदारीले दुवै गन्तव्य लाभान्वित हुने भएकाले यसतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए । प्रवर्द्धन टोली मंगलबार कर्णालीको सदरमुकाम सुर्खेतका पर्यटकीय गन्तव्यको अवलोकनसँगै त्यहाँका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तरक्रिया गरी पोखरा फर्कने होटेल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथका महसचिव सुरेश लामिछानेले जानकारी दिए । 

कार्तिक शुक्ल चतुर्दशी: वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व मंगलबार (आज) स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ । वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ ।  वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जाग्राम बस्ने गरिन्छ । चतुर्दशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानिन्छ । शिवसँग सम्बन्ध भएकालाई शिव वैकुण्ठ र विष्णुसित सम्बन्ध भएकालाई ‘विष्णु वैकुण्ठ’ भनिन्छ । शिवपूजाका लागि अरुणोदयव्यापी चतुर्दशी उत्तम मानिएको छ भने उपवास (व्रत) का लागि अहोरात्र (रातदिन) को अरुणोदय चतुर्दशीले युक्त दिनलाई उपयुक्त मानिएको छ । भगवान् विष्णुका नाममध्ये एक नाम वैकुण्ठ पनि एक रहेको पण्डित बालमुकुन्द देवकोटाले बताए । “कुण्ठा नभएको ज्ञान वा स्थान जसको आश्रय छ, त्यसलाई वैकुण्ठ भनिन्छ । यसैगरी जीवनलाई नियन्त्रण गर्ने र ज्ञान दिने रूपमा जसको प्रसिद्धि छ, त्यसलाई पनि ‘वैकुण्ठ’ भनिन्छ । त्यस्तै महाभारतको शान्ति पर्वमा आफ्ना बहुसङ्ख्यक नामको व्यूत्पति भगवान् स्वयंले बताउनुभएको छ”, उनले भने । गतिनिरोधक गर्नेलाई ‘विकुण्ठ’ भनिन्छ र त्यो सम्पादन गर्नेलाई वैकुण्ठ भनिन्छ । जगत् सृष्टि गर्ने क्रममा भगवान्ले पृथ्वीलाई जलसित आकाशलाई वायुसित र वायुलाई तेजका साथ अविचल हुने गरी मिलाएकाले उनको नाम ‘वैकुण्ठ’ रहेको भन्ने पौराणिक मान्यता पनि छ ।   यस दिनसको पूजा गर्ने नसकेमा विष्णुका नाम मात्रको उच्चारणले पनि ठुलो पुण्य प्रदान गर्छन् र आपत्विपतबाट बचाउने विश्वास गरिन्छ । भगवान् विष्णुका सबै नाम ऐश्वर्य, स्वामित्व, व्यापकता, परोपकार, दुष्टदमन, लोक संरक्षक आदि गुणको सम्बन्धले युक्त छ ।  धर्मराज युधिष्ठिरले भीष्मसित यस विषयमा धेरै कुरा सोधेको महाभारतको शान्तिपर्वमा उल्लेख छ । भीष्मले विष्णु स्तुति गर्दा वा जप्दा व्यक्ति सम्पूर्ण दुःखदेखि पार हुन सक्छन् भनेर युधिष्ठिरसहित पाँच पाण्डवलाई सम्झाएको वर्णन महाभारतमा उल्लेख गरिएको पण्डित देवकोटाले जानकारी दिनुभयो । भीष्मले गरेको यो स्तुति गानको समय भएकाले आजको दिनदेखि भीष्म पञ्चक पनि सुरु हुन्छ । देवताका पनि देवता विष्णु सर्वाधिक रूपले पुजनीय मानिनुहुन्छ । भगवान् विष्णुको गणस्थलबाट पैदा भएकाले गण्डकी नाम रहन गएको पौराणिक मान्यता छ । दामोदर कुण्ड पनि कालीको शिर मानिएको छ । दामोदर पनि भगवान् विष्णुको नामसँग सम्बन्धित छ । काठमाडौँ उपत्यकामा रहेका र बग्ने नदीमध्ये एकको नाम विष्णुमती छ । जसको उत्पत्ति विष्णुपादुकाबाट भएको हो । विष्णुपादुका डाँडाको फेदमा रहेको बुढानीलकण्ठ विष्णु मूर्ति मान्यताका साथै कलात्मकताका दृष्टिले पनि सुप्रसिद्ध छ । भगवान् विष्णु पालनकर्ताका रूपमा स्थापित भई सबैलाई पालन गरेर रहने क्रममा जागा भई वैकुण्ठाधिपति भगवान् वैकुण्ठ धाममा जानुभएको थियो । आजैका दिन विष्णु वैकुण्ठधाम जानुभएको पौराणिक मान्यता रहेको पण्डित देवकोटाले बताए ।  हरिशयनी एकादशीका दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णुले त्यस अवधिमा कार्यभार भगवान् शिवलाई दिएका थिए । आज त्यो कार्यभार भगवान् शिवले विष्णुलाई दिएर कैलाश जानुहुने विश्वास पनि गरिन्छ । यसैले आजको दिनलाई हरि र हर मिलनको उत्सवका रूपमा मनाइने उनले जानकारी दिए ।

मिथिलामा दाजुभाइप्रति समर्पित ‘सामा’ पर्वको समापन

महोत्तरी । यसपाली मधेसको प्राचीन मिथिला क्षेत्रमा मिथिलानी (मिथिलाका नारी)ले मन फुकाएर सामाचकेवा खेल्न पाएका छैनन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइने यो पर्वको मध्यतिर लगातार पाँच दिन पानी परिरहेकाले मिथिलानीले पर्वमा रमाइलो गर्न नपाएका हुन् ।  रातको समयमा खुला ठाउँमा दाजुभाइको सौर्य बखान र ऐश्वर्य गाथा गाएर मनाइने यो पर्व वर्षाले प्रभावित भएको स्थानीय बताउँछन् । अब भने मिथिलानी यो पर्वको समापनको तयारीमा जुटेका छन् ।   “हामीले मौसम राम्रो नहुँदा सामा राम्ररी मनाउन पाएनौँ, अब समापनको बेला आइसक्यो । बाँकी विधि राम्ररी रमाइलो गर्दै समापन गर्ने तयारीमा छौँ”, भङ्गाहा–७ की रङ्गिला चौधरी थारुले भनिन्, “दाजु समापनमा आउने पक्का भएको छ ।” उनका अनुसार कात्तिक शुक्ल पञ्चमी अर्थात् यसपटक सम्पन्न छठपर्वको खरनाका दिनदेखि सुरु गरिएको सामा कात्तिक पूर्णिमाका दिन समापन गरिँदै छ । मिथिलामा दाजुभाइ/दिदीबहिनीबिच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवालाई बोलीचालीमा ‘सामा’ भनिन्छ । यो मिथिलानीबीच समूहमा गीत गाउँदै मनाइने रमाइलो खेल हो । त्यसैले यसलाई ‘सामा खेल्ने’ पनि भनिन्छ ।  अहिले कात्तिक पूर्णिमा नजिकिएर यो पर्व समापनको तयारी अघि बढेसँगै मिथिलानी आफ्ना दाजुभाइलाई पर्वका लागि खबर दिन व्यस्त छन् । पर्वको समापनमा दाजुभाइबाट सामा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि गर्ने र मिष्ठान्न परिकार खुवाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई बोलाउन व्यस्त भएका हुन् । “भैयाके खबर कैने छि, ओ अयबे करता (दाजुलाई खबर गरेकी छु, उहाँ आउनु हुन्छ)”, बुधबार सामा समापनको तयारीमा रहेकी बर्दिवास–२ की सङ्गीता मुखियाले भनिन्, “आब भैयाके लेल मरमिठाइके जोगारमें लागल छि” (अब दाजुका लागि मिष्ठान्न परिकार जुटाउन लागेकी छु) । आफ्ना दाजुभाइप्रति प्रेम र  समर्पण दर्शाउँदै उनीहरूको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै यो पर्व मनाउने परम्परा रहेको मुखियाले जानकारी दिइन्। “रातिको समयमा टोलभरिका मन मिल्ने साथीहरू जम्मा भएर आआफ्ना दाजुभाइलाई सम्झँदै सामा गीत गाउँछौँ, यतिखेर मन खोलेर सखीसँगीबीच ख्यालठट्टा गरिन्छ”, बर्दिवास–९ की सुधा महतोले भनिन्, “हामीलाई साथीसँगीबीचको जमघटको रमाइलोले ११ दिन बितेको पत्तै हुँदैन ।”  मिथिलानीजस्तै दाजुभाइलाई पनि सामाको पर्खाइ हुन्छ । दिदीबहिनीबाट पाउने प्रेम र समर्पणले मैथिल दाजुभाइ हर्षित हुन्छन् । पर्वका माध्यमले दिदीबहिनीले गीतमार्फत आपूmहरूप्रति दर्शाएका प्रेम र समर्पण भावले प्रत्येक मैथिल गर्व गर्छन् । “सामामा दिदीबहिनीले गीतमार्फत दर्शाउने प्रेमले यी हुनुको खुसी मिल्छ”, भङ्गाहा–४ का नन्दन चौधरी थारुले भने, “गीतमा दिदीबहिनीले दर्शाएका भावले ऊर्जा दिन्छ ।” दाजुभाइको दीर्घायूको कामनामात्र नभएर मिथिलानीहरु सामा गीतमा आफना दाजुभाइ बहादुर, परोपकारी र दिदीबहिनीप्रति अपार स्नेह भएका पनि गीतबाटै भाव व्यक्त गर्दछन् । यस्ता  गीत सुन्दा दिदीबहिनी नहुनेहरु मेराचाहिँ किन भएनन् ? भन्ने भाव र खुल्दुली लगाउने गरेको पाइन्छ । मिथिला  लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामा पर्वले ‘छोरी’ नचाहिने भन्नेलाई पनि यो पर्वबीच ‘छोरी’ को रहर जगाउँछ । आफ्ना दाजुभाइ र दिदीबहिनी नहुनेले नजिकमा यस्तो नाताभित्र पर्व मनाउने गरेका जलेश्वर–१२ का मनोज साहले बताए ।   पर्वमा मिथिलानीले सामाचकेवा, सतभैया (सप्तर्षि), चुगला (कुरा लगाउने, कुरा काट्ने महाभारतकालीन ‘चुडक’ नाउँको एक पात्र) र वृन्दावनसहित माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्दछन् । यस्ता आकृति पर्व सुरु हुनपूर्व मिथिलानीहरूले पोखरीको डिलबाट माटो खनेर ल्याई बनाउँछन् । पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट ती आकृति घुँडामा राखेर फुटाउन लगाएर जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ । पर्व समापनसँगै दिदीबहिनीले दाजुभाइलाई मिष्ठान्न परिकार खुवाउँछन् ।  यसैगरी दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिने चलन छ । दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व द्वापरयुगदेखि सुरु भएको विश्वास गरिन्छ ।  द्वापरयुगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा) सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथाको प्रसङ्ग यो पर्वको परिवेश रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण कर्णले जानकारी दिए ।   कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउनसक्ने वरदान पाएर कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्वयोनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको कर्णको भनाइ छ । 

देशभर डेङ्गुबाट छ जनाको मृत्यु,  सात हजार बढीमा सङ्क्रमण

काठमाडौं । देशभरका ७५ जिल्लामा सात हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का तथ्याङ्क अनुसार हालसम्म ७ हजार ७५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । सोही अवधिमा छ जनाको मृत्यु भएको इडिसिडीका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए ।  उनका अनुसार हालसम्म डोल्पा र मनाङ गरी दुई जिल्लामा मात्र डेङ्गु संक्रमण पुष्टि भएको छैन । प्रदेशगत विवरणअनुसार बागमती प्रदेशमा १,७६३, गण्डकीमा १,७७५, लुम्बिनीमा १,१६९, कोशीमा ९९३, सुदूरपश्चिममा ७८८, कर्णालीमा ५०० र मधेश प्रदेशमा १४७ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । विशेषज्ञका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्छ । एडिज जातका लामखुट्टे सफा पानी जम्मा हुने भाँडो, गमला वा ट्यांकीमा सजिलै बढ्न सक्छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार “डेङ्गुका प्रमुख लक्षणहरूमा असह्य शरीर दुख्ने, उच्च ज्वरो आउने, खाना खान मन नलाग्ने, पखाला लाग्ने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने, शरीरमा राता दाग आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने” पर्छन् । डेङ्गु पुष्टि भएकाले मनलाग्दी औषधि सेवन नगर्न र चिकित्सकको सल्लाहअनुसार मात्र उपचार गर्न डा. पुनले सुझाव दिए । त्यस्तै, ज्वरो आउनु, खोकी लाग्नु वा सास फेर्न गाह्रो हुने लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न उनले आग्रह गरे । विशेषज्ञहरूले डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म कायम रहने भएकाले थप सावधानी र सचेतना अपनाउन सबैलाई अनुरोध गरेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, पार्टी एकता सहमति अनुमोदन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्ने भएको छ । नेकपा एकीकृत समाजवादी सहितका ९ दलहरूबीच भएको एकता सहमतिको अनुमोदनका लागि बैठक बोलाइएको हो । पछिल्लो सचिवालय बैठकका निर्णयहरू र ९ दलीय सहमतिको अनुमोदनपछि बैठक समापन हुने पार्टीले जनाएको छ । "९ दलीय एकता सहमति र सचिवालयका निर्णयहरू अनुमोदनका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो । नेताहरूलाई बोल्ने समय दिइएको छैन," माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिए । यसैगरी, पार्टी एकताको घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी भएको उनले बताए । आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका ८ दलहरूबीच एकता सहमति पत्रमा हस्ताक्षर भएको थियो । माओवादीबाट बाहिरिएको गोपाल किरातीको समूह पनि माओवादी केन्द्रमा समाहित भइसकेको छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि : पार्टी एकता सहमति अनुमोदन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक भोलि दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्ने भएको छ । नेकपा एकीकृत समाजवादी सहितका ९ दलहरूबीच भएको एकता सहमतिको अनुमोदनका लागि बैठक बोलाइएको हो । पछिल्लो सचिवालय बैठकका निर्णयहरू र ९ दलीय सहमतिको अनुमोदनपछि बैठक समापन हुने पार्टीले जनाएको छ । "९ दलीय एकता सहमति र सचिवालयका निर्णयहरू अनुमोदनका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो । नेताहरूलाई बोल्ने समय दिइएको छैन," माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिए । यसैगरी, पार्टी एकताको घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी भएको उनले बताए । आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका ८ दलहरूबीच एकता सहमति पत्रमा हस्ताक्षर भएको थियो । माओवादीबाट बाहिरिएको गोपाल किरातीको समूह पनि माओवादी केन्द्रमा समाहित भइसकेको छ ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताका बाँकी प्रक्रियाका बारेमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तीनकुनेमा सोमबार दिउँसो भएको सो छलफलमा पार्टीको नामबारे छलफल भएको छ। ‘पार्टीको नामको विषयमा छलफल भएको हो । विभिन्न नामहरू छलफलमा छन् । भोलि बिहानसम्म टुङ्गो लाग्छ होला,’ स्रोतले भन्यो  । हिजो आठ दलबीच भएको सहमतिमा पार्टीको नाम खाली राखिएको थियो । छलफलमा नेकपा समाजवादी, नेपाली कम्युनिस्ट पार्टीलगायतका नाममाथि छलफल भइरहेको नेताहरूले बताएका छन् ।  

जनार्दनले १ वर्षअघि नै राखेका थिए नाम र चिन्ह फेर्न प्रस्ताव

काठमाडौं — नेकपा (माओवादी केन्द्र)ले बिभिन्न समूहसँग एकता गर्दै पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्ने निर्णय गरेको छ। तर विडम्बना के छ भने, एक वर्षअघि यही प्रस्ताव राख्ने पार्टी नेता जनार्दन शर्माका समर्थकहरू भने अहिले त्यसैको विरोधमा उत्रिएका छन्।  गत वर्ष साउन २६, २०८१ मा बसेको स्थायी समिति बैठकमा जनार्दन शर्मा ‘प्रभाकर’ले “पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार” शीर्षकमा १४ पृष्ठको लिखित प्रस्ताव पेस गरेका थिए। सो प्रस्तावको ११ पेजमा पार्टी निर्माणका आधार उपशीर्षक अन्तर्गत पाँचौँ बुँदामा उनले स्पष्ट लेखेका थिए — “वर्तमान परिवेश र काम अनुसार तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्न । साथै आम जनताले सहज रूपमा स्वीकार गर्ने गरी चुनाव चिन्ह फेर्ने।” नेता शर्माले प्रस्तावका पक्षमा निरन्तर पैरवी गर्दै आएका थिए।  पार्टीभित्र चरम अल्पमतमा रहेका शर्मा निकट समूहले पार्टीको नाम र।चुनाव चिन्ह फेर्ने विषयलाई पार्टीको इतिहाससँग जोडेर संवेदनामाथि राजनीति गर्न खोजेको देखसन्छ। हालैको सचिवालय बैठकमा शर्माले “आदर्शविहीन एकता” पार्टीका लागि विनाशकारी हुन सक्ने चेतावनी समेत दिए। उनले विचार, सिद्धान्त र संगठनात्मक तयारीबिनाको हतारो एकता जनताको भ्रम र पार्टीको चरित्रमा असर पार्ने दाबी गरेका छन्। रोचक कुरा त के छ भने शर्मा कुनै बेला नेकपा गठनका लागि एमालेसँग एकता प्रक्रियामा हस्ताक्षरकर्ता नै थिए।  संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने एकता र नाम परिवर्तनलाई “समयको माग” बताएका छन्। उनका अनुसार, “विभिन्न वामशक्ति एउटै छातामुनि आउनु नै क्रान्तिकारी पुनर्गठनको सुरुवात हो।”  पार्टीको उद्देश्य समाजवादी क्रान्तिका हुनु नै विचार र सिद्धान्तको रक्षा र संश्लेषण भएको एकता पक्षधरहरूको तर्क छ ।

गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादीमा समाहित

काठमाडौं – हालको राजनीतिक अस्थिरताबीच देशलाई सही दिशातर्फ लैजाने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र देशभक्त समाजवादी मोर्चाबीच तीन बुँदे सहमति भएको छ। यो सहमतिसँगै गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित भएको छ। सोमबार सार्वजनिक सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समाजवादी राज्य–व्यवस्थाको कार्यान्वयन र दलाल–नोकरशाही पुँजीवादी शासन अन्त्य गर्न एकीकृत समाजवादी ध्रुवीकरणको आवश्यकता औंल्याइएको छ।  सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष तथा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले हस्ताक्षर गरेका छन्। सहमतिपछि जारी संयुक्त अपिलमा देशभक्त, मजदुर, किसान, सुकुम्बासी, वित्तीय शोषणपीडित, जातीय तथा क्षेत्रीय समुदाय र पहिचानसहितका जनसमुदायबीच समाजवादी ध्रुवीकरण बढाउँदै राष्ट्रिय स्वाधीनता, अखण्डता र संविधानमा उल्लेखित समाजवाद उन्मुख राज्यव्यवस्था कार्यान्वयनमा जुट्न आह्वान गरिएको छ। यसले नेपाली वाम आन्दोलनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

प्रचण्डलाई दोषारोपण गर्दै ‘नयाँ बाटो’ खोज्नेहरू पुनः उही घेरामा फर्किँदै गएका छन्: हरिबोल गजुरेल

काठमाडौं  – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले पार्टीको पटक–पटक हुने विभाजनलाई व्यक्तिगत महत्वाकाङ्क्षा र नेतृत्वसँगको असमझदारीको परिणाम ठहराउँदै यसलाई राजनीतिक अपरिपक्वताको चरम प्रदर्शन भनेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो स्टाटसमा उनले यस्ता विभाजनहरूले कहिल्यै वैचारिक औचित्य प्रमाणित गर्न नसकेको उल्लेख गर्दै प्रचण्डप्रति दोषारोपण गर्नेहरूलाई 'पुरानो घेरामा फर्किने' प्रवृत्ति भएको भन्दै आलोचना गरेका छन्। गजुरेलले आफ्नो स्टाटसमा लेखेका छन्, "माओवादी पार्टी पटक–पटक विभाजनको सिकार बन्यो। तर ती विभाजनहरू विचारगत कारणले होइन—व्यक्तिगत महत्वाकाङ्क्षा, असन्तुष्टि र नेतृत्वसँगको असमझदारीका परिणाम हुन्। यही कारणले ती विभाजनहरूले कहिल्यै वैचारिक औचित्य प्रमाणित गर्न सकेनन्। प्रचण्डलाई दोषारोपण गर्दै ‘नयाँ बाटो’ खोज्नेहरू अन्ततः पुनः उही घेरामा फर्किँदै गएका छन्।"   उनले यो अवस्थालाई 'विडम्बना' मात्र नभई राजनीतिक अपरिपक्वताको प्रमाण ठानेका छन्। गजुरेलका अनुसार, पार्टीको इतिहासमा यस्ता घटनाहरूले संगठनात्मक कमजोरी निम्त्याएका छन्, जसले वाम आन्दोलनको समग्र शक्तिलाई प्रभावित पारेको छ। गजुरेलले आफ्नो भनाइमा नेपाली वाम आन्दोलनको ऐतिहासिक सन्दर्भ पनि जोडेका छन्। उनले २०४६ सालको जनआन्दोलनपछिको वाम ध्रुवीकरण र चार पार्टीहरू—मशाल, चौ.म, सर्वहारा श्रमिक संगठन र विद्रोही मसाल—बीचको एकताले जनयुद्धको वैचारिक तथा संगठनात्मक आधार तयार पारेको स्मरण गराए। यसले नेपाललाई गणतन्त्रको युगमा प्रवेश गराएको उल्लेख गर्दै उनले अब २०८२ सालको 'जेन–जी आन्दोलन' (Gen-Z आन्दोलन) पछिको नयाँ ध्रुवीकरण र आठ वामपन्थी शक्तिबीचको एकताले समाजवादी क्रान्तिका नयाँ आधारहरू निर्माण गर्ने विश्वास व्यक्त गरे। "इतिहास फेरि दोहोरिँदैछ—तर यसपटकको दिशा गणतन्त्रबाट समाजवादतर्फको युगीन यात्राको हो," गजुरेलले लेखेका छन्। गजुरेलले आफ्नो स्टाटसको अन्त्यमा पार्टीको रूपान्तरण र समाजवादी भविष्यतर्फको यात्रालाई एकमात्र सम्भावित बाटो ठहराएका छन्। "अहिलेलाई, यही नै पार्टी रूपान्तरण र समाजवादी भविष्यतर्फको एकमात्र सम्भावित बाटो देखिन्छ," उनको भनाइ छ।    

सूर्योदय र सूर्यास्तसहित हिमशृङ्खलाको दृश्यावलोकन गर्न म्याग्दीकाे पुनहिल पुग्ने कि !

म्याग्दी । सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि यहाँस्थित पुनहिल पछिल्लो समय  पर्यटकीय आकर्षक स्थल बनेको छ ।  अन्नपूर्ण गाउँपालिका वडा ६ स्थित घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो ।   यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ । प्रवेश शूल्क सङ्कलन र चिया पसल सञ्चालनको ठेक्का पाएका व्यवसायी सुदीप पुर्जा पुनले यसपालि मौसम र राजनीतिक अवस्था प्रतिकूल हुँदा अपेक्षाकृत सङ्ख्यामा पर्यटक नआएका बताए ।  यसअघिका वर्षका शरदयाममा दैनिक चार सय जनाको अनुपातमा पर्यटक आएका थिए । घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुनहिल पुग्ने गर्छन् । घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ सुविधासम्पन्न होटल छन् ।   त्यसैगरी, कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर घोडेपानी–पुनहिल पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, म्याग्दीको नागी–महरे–फूलबारी–घोडेपानी र तातोपानी–घार–शिख हुँदै घोडेपानी पुग्न सकिनेगरी पदमार्ग सञ्चालनमा छन् ।  अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर घोडेपानी पुग्न सकिन्छ । सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडेपानी जोड्ने सडकलाई स्तरोन्नतिलाई निरन्तरताका साथै र कास्कीको नयाँपुल हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण –६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।  “पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ”, उनले भने, “पदयात्रा गर्न रुचाउने विदेशी पर्यटक र सवारीसाधनको सुविधा खोज्ने नेपाली दुवैथरि पर्यटकलाई भित्र्याउन प्रयास गरेका छौँ ।” यसैबिच अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा वडा नं ६ मा रहेको पर्यटकीयस्थल पुनहिलबाट करिब रु ४६ लाख आम्दानी गरेको छ । पुनहिल भ्रमणमा आउने पर्यटकबाट प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनका लागि रु ४५ लाख ९० हजारमा ठेक्का सम्झौता भएको हो ।  ठेक्का प्रतिस्पर्धामा सबैभन्दा बढी कबोल गरेको होटल शिखर प्रालिले अग्रिम रकम जम्मा गरेर नियमानुसार १० प्रतिशत छुट पाएको गाउँपालिकाका सूचना अधिकारी भगवती खड्काले बताइन् ।  गत वर्ष रु ४० लाख आम्दानी भएको थियो ।  समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल भ्रमण गर्ने विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु एक सय ५० र स्वदेशीबाट प्रतिव्यक्ति रु ५० का दरले प्रवेशशुल्क सङ्कलन तथा चिया पसल सञ्चालन गर्न गाउँपालिकाले ठेक्का लगाउँदै आएको छ । 

ताप्लेजुङमा २४४ नयाँ मतदाता थपिए

ताप्लेजुङ । ताप्लेजुङमा हालै खुला गरिएको मतदाता नामावली दर्ता कार्यक्रममा दुई सय ४४ जनाले आफ्नो नाम दर्ता गराएका छन् । असोज १० गतेदेखि आइतबारसम्मको अवधिमा नाम दर्ता गर्नेमा एक सय ३४ पुरुष र एक सय १० महिला रहेका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त निर्वाचन अधिकारी वान्दवराज (विपिन) दुलालका अनुसार सो अवधिमा १९ जनाले आफ्नो नाममा भएको त्रुटि सच्याएका छन् । त्यस्तै, ८९ जनाले मतदाता नामावली सारेका छन् । तीमध्ये ११ जनाले जिल्ला भित्रकै एक स्थानबाट अर्को स्थानमा सारेका हुन् भने बाँकी ७८ जनाले जिल्लाबाहिर नाम सारेका हुन् । यसैबीच, जिल्लामा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन र सिफारिस प्रक्रिया कात्तिक मसान्तअघि सम्पन्न हुने भएको छ । कात्तिक २७ वा २८ गते बस्ने बैठकले मतदानस्थल तथा केन्द्र थप, घट वा गाभ्ने सम्बन्धमा निर्वाचन आयोगमा सिफारिस गर्ने तयारी गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानस्थल तथा केन्द्र पुनरावलोकनका लागि प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको अध्यक्षतामा बसेको जिल्ला स्तरीय समितिको बैठकले वडागत सिफारिसको प्रारम्भिक अध्ययन गर्दै आयोगले तयार पारेको अनुसूची अनुसार विवरण पूरा गरी सिफारिस पठाउन वडा समितिहरूलाई आग्रह गर्ने निर्णय गरेको छ । हालसम्म मैवाखोला गाउँपालिकाको वडा नं. ६, फक्ताङलुङ गाउँपालिकाका वडा नं. २ र ६, आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. २ तथा मिक्वाखोला गाउँपालिकाको वडा नं. ४ बाट नयाँ मतदानस्थल तथा केन्द्रका लागि सिफारिस प्राप्त भएको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्राप्त सिफारिसहरू निर्वाचन आयोगले तोकेको अनुसूची र मापदण्डअनुसार पूर्ण विवरणमा आधारित छन् वा छैनन् भन्ने विषयमा अध्ययन जारी छ ।

दैनिक एक हजार थान राहदानी वितरण हुने

काठमाडौं । राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने जनाएको छ । विभागका अनुसार आज साँझदेखि सार्वजनिक विदा बाहेक प्रत्येक दिन सो संख्यामा राहदानी उपलब्ध गराइनेछ । विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि नयाँ पूर्वाधार तथा प्रणालीमार्फत सेवा सुरु हुने जनाएको छ । विभागद्वारा जारी विज्ञप्तिमा हालको र नयाँ आपूर्तिकर्ताबीचको हस्तान्तरण (ह्यान्डओभर–टेकओभर) प्रक्रिया, राहदानी पुस्तिकाको सीमित संख्या र सेवाग्राहीको अत्यधिक मागका कारण केही समस्या आएको उल्लेख गरिएको छ । राहदानीको अभाव नहोस् भन्ने उद्देश्यले आवश्यक पहल भइरहेको विभागले जनाएको छ । अर्को सूचना नआएसम्म अत्यावश्यक सेवाग्राहीले मात्र राहदानीका लागि आवेदन दिन विभागले आग्रह गरेको छ । साथै, राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न र ठगीबाट सावधान रहन पनि विभागले ध्यानाकर्षण गराएको छ ।

सप्तरीकाे लोखरममा तीन जनामा हैजा पुष्टी

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरममा झाडापखाला प्रभावित क्षेत्र तीन जनामा हैजा पोजेटिभ देखिएको छ ।  स्वास्थ्य कार्यालय सप्तरी र गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलीले नौ जनाको पखालाको आरडिटी परीक्षण गर्दा तीन जनामा हैजा पोजेटिभ देखिएको हो । यद्यपी, यो रिपोर्ट पूर्ण विश्वासिलो नभएकाले थप जाँचका लागि माथिल्लो निकायमा पठाइएको स्वास्थ्य संयोजक दिपेन्द्र यादवले बताए । उनले आरडिटीले शत प्रतिशत हो नै भन्न सकिँदैन, तर थप रिपोर्ट नआएसम्म हो नै मानेर काम गर्नुपर्ने बताए । जाँचपछि आइतबार बसेको गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले तत्काललाई प्रभावित क्षेत्रलाई आइसोलेट गर्ने निर्णय गरेको छ । त्यहाँ स्वास्थ्यकर्मी खटाइने र पूर्ण रिपोर्ट नआएसम्म सबैलाई सावधानी अपनाउन जनचेतना फैलाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए । लोखरमको मुसहर बस्तीमा झाडापखाला लागेर एकै परिवारको तीन जनाको मृत्यु भएको थियो । त्यसपछि यो कुरा बाहिरिएको थियो ।