अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक, राष्ट्रिय सभामा दर्ता
काठमाडौं । अन्तरिम सरकारले आफ्नो कार्यकालको पहिलो विधेयक संसदमा दर्ता गरेको छ । अर्थ मन्त्रालयले तयार पारेको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ शुक्रबार राष्ट्रिय सभामा दर्ता गरिएको हो ।
विधेयक अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभा विघटन हुनु अघि नै सो विधेयक संसदमा छलफलको चरणमा पुगेको थियो । तर, प्रतिनिधिसभा विघटनसँगै विधेयक निष्क्रिय बनेको थियो ।
अर्थ मन्त्रालयका अनुसार नयाँ सरकार गठन भएपछि आवश्यक परिमार्जन र अद्यावधिकसमेत गरेर विधेयक पुनः दर्ता गरिएको हो । सरकारले यस विधेयकमार्फत विकासका वैकल्पिक स्रोतहरू परिचालन गर्ने, लगानीमैत्री वातावरण बनाउन र वित्तीय व्यवस्थापनलाई सबल बनाउने उद्देश्य लिएको बताइएको छ ।
संसद सचिवालयका अनुसार दर्ता भएको विधेयकमाथि अब विषयगत समिति हुँदै संसदीय छलफल प्रक्रिया अघि बढ्नेछ ।
उदयपुरमा अपरिचित एक पुरुष मृत फेला
उदयपुर । उदयपुरमा एक अपरिचित पुरुष फेला परेका छन् । उनी गएको बिहीबार राति मदन भण्डारी लोकमार्गको उदयपुरको त्रियुगा नगरपालिका– ८, शाहीखोला पुलमा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार सडकमा अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि तत्काल प्रहरी टोलीले उद्धार गरी जिल्ला अस्पतालमा उपचारका लागि ल्याउँदा मृत्यु भइसकेको चिकित्सकहरूले जानकारी दिएका थिए । मृत फेला परेका पुरुषको शव जिल्ला अस्पताल उदयपुरको शवगृहमा राखी प्रहरीले अनुसन्धान अघि बढाएको एसपी चापागाईंको भनाइ छ । मृतको नाम, ठेगना, पहिचान नभएको प्रहरीको भनाइ छ । मृतकको हुलियाअनुसार ५०–५५ वर्षको पुरुष छन् । खैरो कलरको भेस्ट, निलो कलरको हाफपाइन्ट लगाएको, पहाडे मूलको जस्तो देखिने, मंगोलियन अनुहार भएको वर्ण गहुँगोरो रहेको एसपी चापागाईंले जानकारी दिए ।
म्याग्दीकाे अनौठो ‘स्काई केभ’
म्याग्दी । सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल । झट्ट हेर्दा मानव निर्मित प्रवेशद्वार जस्तै देखिने यो प्वाल प्राकृतिक हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको यो दृश्य अनौठो र सुन्दर देखिन्छ । पहाडको फेदीबाट हेर्दा आकाश देखिने भएकाले स्थानीयद्वारा ‘स्काई केभ’ (आकाशे गुफा) नामाकरण गरिएको छ । नारच्याङबाट अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा पर्ने यो गुफा अनौठो र आकर्षक भएको स्थानीय माइकल पुनले बताए । “अन्नपूर्ण आधार शिविर आउनेजाने पर्यटकले पदमार्गबाट अनौठो मानेर पहाडको टुप्पोमा रहेको गुफा हेर्ने गरेका छन्”, उनले भने, “गुफासम्म पुग्ने पदमार्ग नभएकाले पर्यटक यहाँ पुग्न सकेका छैनन् ।” मुख्यबाट ३० मिनेट हिँडेपछि समुद्री सतहदेखि तीन हजार ९०० मिटर उचाइमा रहेको आकाशे गुफामा पुग्न सकिन्छ । करिब १५ मिटर लामो गुफा सुरुङ जस्तै रहेको पुनले बताए । गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग नभएकाले पैदलयात्रा जोखिम मानिएको उनको भनाइ छ । पुनका अनुसार गुफाभित्रैबाट निलगिरि र अन्नपूर्ण हिमशृङ्खला तथा वरपरका पहाडी भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ । काठमाडौँबाट अन्नपूर्ण आधार शिविर घुम्न आएका सुजित भट्टले पहाडको टुप्पोमा कडा चट्टानले बनेको स्काई केभ अनौठो लागेको प्रतिक्रिया दिए । “टाढैबाट हेर्दा पनि गुफाका विषयमा धेरै उत्सुकता जाग्यो”, उनले भने, “सम्बन्धित ठाउँमै पुगेर अवलोकन गर्ने सुविधा भएमा कौतुहलता मेटिने थियो ।” नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले स्काई केभ पदमार्गको एक आकर्षण भएको बताए । “विसं २०६८ मा मौरिस हर्जोग पदमार्गको अध्ययनका क्रममा स्काई केभ पनि पहिचान भएको थियो”, उनले भने, “पदमार्गसँगै रहेका अन्य स्थानमा आधारभूत पूर्वाधार बनाएर पर्यटक आउने वातावरण बनाइएको छ ।” स्काई केभसम्म पुग्ने पदमार्ग बनाएर भ्रमणमा आउने पर्यटकको बसाइँ लम्बाउने र सहायक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको गुरुङले जानकारी दिए । अन्नपूर्ण हिमालका प्रथम आरोहण टोलीका अगुवा फ्रान्सका मौरिस हर्जोगको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा पदमार्ग घोषणा गरेको थियो । नारच्याङबाट हुमखोलासम्म २० किलोमिटर कच्ची सडकमा दुई घण्टा गाडी र हुमखोलाबाट फुतफुते झरना, साँधीखर्क, गुफाँफाँट हुँदै भुसकेत जाने पदमार्गको बिचभागमा स्काई केभ पर्दछ । हुमखोलाबाट तीन घण्टाको पैदलयात्रामा स्काई केभ भएको पहाडको फेदीमा पुगिन्छ । मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविर पुगेर आएका म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले स्काई केभसम्म पुग्ने पदमार्ग, आवश्यक पूर्वाधारलगायत संरचना निर्माण गरी पर्यटन प्रवर्द्धनका लागि गाउँपालिका, प्रदेश सरकार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग समन्वय गर्ने बताए ।
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’
भोजपुर । देश विदेशमा आफ्नो विशेष पहिचान बनाएको भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन् । स्थानीय खुकुरी व्यवसायी हीरा श्रेष्ठका अनुसार भोजपुरमा बन्ने खुकुरीको मूल्य न्यूनतम रु पाँच सयदेखि अधिकतम रु ५२ हजारसम्म पर्छ । भोजपुरे खुकुरी नेपालका विभिन्न ठाउँसँगै विदेशबाट पनि माग हुने गरेको छ । “यहाँका खुकुरीहरू देशभित्र मात्र होइन, विदेशसम्म निर्यात हुन्छन्”, उनले भने, “मागका आधारमा साधारणदेखि विशेष डिजाइनका खुकुरी बनाइन्छ ।” उच्च मूल्यका खुकुरी विशेष मागका आधारमा बन्ने गरेको छ । त्यसका लागि उच्च गुणस्तरका फलाम, काँसा र काठ प्रयोग गरिने उनले बताए। भोजपुरे खुकुरीले बजारका दैनिक सामान्य माग धान्ने गरे पनि कहिलेकाहीँ ठुलो परिमाणमा माग आउँदा बजारको माग पूरा गर्न कठिन हुने पनि उनको भनाइ छ । परम्परागत सीप र नयाँ प्रविधिको मिश्रणसहित तयार हुने भोजपुरे खुकुरी अहिले पनि नेपाली साहस, गौरव र पहिचानको प्रतीकका रूपमा परिचित छ । भोजपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटक भोजपुरे खुकुरीलाई ‘स्मृति उपहार’का रूपमा लिएर जाने गरेका छन् । यसले यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रमा पनि योगदान पुर्याएको स्थानीय बताउँछन् । पहिले हातको सहायताले मात्र बनाइने खुकुरी अहिले आधुनिक उपकरणको सहयोगमा अझ आकर्षक र बलियो बनाइन्छ । फलाम तताउने, छेउ धारिलो पार्ने, फलाम पिट्ने, बिँड लगाउने, दाप बनाउने काम अहिले पनि स्थानीय कालीगढहरूले आफ्नै सीपले गर्दै आएका छन् । भोजपुरे खुकुरी देशका विभिन्न ठाउँसँगै अमेरिका, बेलायतलगायत देशबाट पनि माग हुने गरेको व्यवसायीहरूको भनाइ छ ।
कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल
बाँके । नेपालगन्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा लागिपरिरहेका छन् । कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पुर्याउनु ठुलो चुनौती थियो । प्रेमलाल साहु तेलीसँग वर्षौँअघि हवाईजहाजबाट नेपालगन्जसम्म स्याउ ढुवानी गरेर बिक्री गरेको अनुभव छ । कमजोर ढुवानी व्यवस्थापनका कारण स्याउको गुणस्तर कायम राख्न मुस्किल थियो, तर पनि उनले कर्णालीको उत्पादनलाई बजारसम्म पुर्याउने आफ्नो प्रयास जारी राखे। “पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगञ्ज ल्याएर बिक्री वितरण गर्नुपर्थ्यो, हवाईजहाजबाट ल्याउँदा स्याउ थिचिने सड्ने जोखिम धेरै हुन्थ्यो”, उनी सम्झिन्छन् । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि भने ढुवानीमा क्रान्तिकारी परिवर्तन आएको छ । अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भई स्याउ सिधै तराईका बजारहरूमा आइपुग्छ । “अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भएर आउने हुँदा कर्णालीको स्याउ गुणस्तरीय छ, त्यसैले विदेशी स्याउलाई विस्थापित गर्न सकेको छ”, साहु तेली भन्छन् । विषादी प्रयोग नहुने र गुणस्तर पनि राम्रो हुन थालेपछि कर्णालीको स्याउको माग बढेको छ । नेपालगन्जमा विगत चार दशकदेखि कर्णालीको स्याउको थोक बिक्री गर्दै आएका प्रेमलालको अनुभवमा अहिले पश्चिम नेपालको फलफूल बजारमा कर्णालीको स्याउको दबदबा छ । भारतीय स्याउको तुलनामा सस्तो र राम्रो भएकाले उपभोक्ताले यसलाई बढी रुचाएका छन् । सडक सञ्जालको सहजताले गर्दा अहिले सुर्खेत, नेपालगन्ज, धनगढी, बुटवललगायतका सहरमा ग्राहक जुम्लाको स्याउ खोज्दै आउने गरेका छन् । हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको रुचिमा परेको छ । अहिले नेपालगन्ज, कोहलपुर, सुर्खेत, दाङ र बुटवलका चोकचोकमा कर्णालीको जुम्ली स्याउले बजार तानेको प्रेमलालको भनाइ छ । नेपालगन्जमा कर्णालीको स्याउ थोक बिक्रेता रहनुभएका प्रेमलालले यहाँबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सहरमा स्याउ बिक्री वितरण गर्नुहुन्छ । कर्णालीको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा उपलब्ध छन् । नेपालगन्जमा कर्णालीको स्याउको आयात बढ्दै गएको छ । यातायातको सिधा पहुँच भएसँगै कर्णालीको जुम्लालगायत जिल्लाबाट सुर्खेत र नेपालगन्जमा स्याउ आउने गरेको छ । जुम्लाका फलफूल व्यवसायी र किसानमार्फत नेपालगन्ज र सुर्खेतमा ल्याएर थोक फलफूल व्यापारीले मागअनुसार देशभर कर्णालीको स्याउ बिक्री गर्ने गरेको प्रेमलालले बताए। उनका अनुसार गत वर्ष नेपालगञ्जबाट मात्र करिब तीन हजार क्विन्टल कर्णालीको स्याउ बिक्री भएको थियो । यो वर्ष पाँच हजार क्विन्टल बिक्री हुने अनुमान छ । “अहिलेको उत्पादनले नेपाली बजारलाई तीन महिनालाई मात्र धानेको छ, सरकारले प्रोत्साहन गर्ने हो भने अहिलेको दोब्बर क्षेत्रफलमा स्याउ खेती गरी उत्पादन पनि दोब्बर लिन सकिन्छ”, प्रेमलालले भने, “उत्पादन बढाएर चिस्यान केन्द्रमा राख्ने होभने नेपालको कुल स्याउ बजारको छ महिनालाई नेपाली उत्पादनले धान्ने सम्भावना र अवसर छ ।” कर्णालीमा अहिलेसम्म किसान र केही व्यवसायीले आफ्नो हिसाबले स्याउखेती गरिरहेका छन् । टिपाइ, ग्रेडिङ, प्याकिङलगायतमा ध्यान दिनसके कर्णालीको स्याउ नेपालभर बिक्री गर्न सकिने व्यवसायी साहुको भनाइ छ । किसान र व्यवसायीको जोडबलमै कर्णालीको स्याउले बजार बनाएको उल्लेख गर्दै उनले सरकारले स्याउखेतीलाई प्राथमिकतामा राखेर प्रोत्साहनमूलक नीति र कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए ।
माैसम पूर्वानुमान: आज यी हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड
कैलाली । यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपले त्यो दिन पालो पाएनन् । उनलाई धान बेच्नका लागि चार दिन लाग्यो । जिल्लाको भजनी–४ का राजकुमार चौधरीलाई धान बेच्नका लागि चार दिन लाग्यो । सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न पाइने आशाले किसान उत्साहित छन् । तर खरिद प्रक्रिया ढिलो भई लामो लाइन बस्दा पालो नआउँदा त्यो उत्साह निराशामा बदलिँदै गएको छ । कतिपय किसानले बिहानदेखि बेलुकीसम्म कुर्दा धान बेच्न नपाई घर फर्किनुपरेको छ । कति रातभरै केन्द्र अगाडि बस्छन्, भोलिपल्ट पहिलो पालोमा आफ्नो धान बेच्न सकुन् । तीन दिन भयो घर फर्किएको छैन । घोडाघोडीका किसान विष्णु चौधरी भन्छन्, “धान बेच्न यति दुःख कहिल्यै भएको थिएन । बिहानदेखि बेलुकीसम्म लाइनमा बस्दा पालो आउँदैन, रातमा डल्लफ र धानको सुरक्षा गर्न यही बस्नुपर्छ ।” उनी जस्तै धेरै किसान अहिले सरकारी खरिद केन्द्रमा धान बेच्नका लागि दिनरात लाइनमा उभिरहेका छन् । यस वर्ष सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ तोकेको छ । बजारमा व्यापारीहरूले कम रकममा किन्ने गरेकाले किसान सरकारी मूल्यमा बेच्ने आशामा केन्द्रमा लामबद्ध छन् । जिल्लामा कात्तिक ११ गतेदेखि धान खरिद सञ्चालन गर्ने सूचना निकालिएको थियो । मौसमका कारण कात्तिक १६ गतेदेखि धान खरिद सुरु गरेको भजनी खरिद उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढा बताउँछन् । प्रतिकिसान ५० क्विन्टलका दरले धान खरिद भइरहेको उनले बताए । बुढाका अनुसार खरिदमा ढिलाइ हुनुको प्रमुख कारण पूर्वाधारको कमी हो । उनी भन्छन्, “धान खरिदका लागि एउटा काटामात्र सञ्चालनमा छ । किसानको समस्यालाई मध्यनजर गरी नगरपालिकासँग समन्वय गरी अर्को काटा थप्ने तयारी गरिरहेका छौँ ।” कैलाली जिल्लाको अधिकांश भूभाग तराईमै पर्छ, जहाँको मुख्य आम्दानीको स्रोत धानलगायत अन्य बाली हो । यहाँका किसानले वर्षभरको मेहेनत यही बालीमा लगाउँछन् । खेतमा पसिना बगाउने उनीहरूका लागि धान बेच्नुमात्र व्यापार होइन, परिवारको जीविकोपार्जनको आधार हो । तर धान बेच्ने पालो नपाउँदा उनीहरू समस्यामा छन् । धान बिक्रीमा ढिलाइ हुँदा किसानको आर्थिक अवस्था प्रभावित भएको छ । खेतमा नयाँ बाली लगाउनका लागि रकम चाहिन्छ, तर धान नबेचेसम्म नगद हातमा आउँदैन । कतिपय किसान बाली बेचेर नै घर चलाउँछन् । घोडाघोडीकी रमिता चौधरी भन्छिन्, “धान बेचेपछि तिरौला भनेर सापटी मागी घर खर्च चलाएको छु । लाइनमा बसेको दुई दिन भयो खै कहिले पालो आउँछ ।” खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानी १३ वटा खरिद केन्द्रहरू सञ्चालन गरिरहेको छ । जसअन्तर्गत नेपालभरि नै कैलालीबाट धान खरिद सुरु गरेको छ । भजनी, मोहनपुर, सत्ती, गौरीगङ्गा, जोशीपुर र टीकापुर गरी जिल्लाका छवटा खरिद उपकेन्द्रमार्फत धान खरिद गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रमुख दीपक थापाले जानकारी दिए। सबै उपकेन्द्रहरूमा किसानको लामो लाइन छ । कैलालीमा ३५ हजार क्विन्टल धान खरिद गर्ने भनी तोकिएको छ । हिजोसम्म नौ हजार क्विन्टल बढी खरिद भइसकेको छ । सरकारको समर्थन मूल्यमा नै धान खरिद गरिरहेको बताउँदै उनले भने, “अरू ठाउँमा मूल्य कम पाउने गरेका कारण सबै किसान खरिद केन्द्रमै आएका छन् । जसका कारण निकै भीड छ ।” अर्कै समस्या जनशक्ति र पूर्वाधार हो । प्रदेश कार्यालयमा कर्मचारीको दरबन्दी कम हुन्छ । चार कर्मचारी, अछाम, बाजुरा, बझाङ, कालिकोटबाट ल्याएको बताउँदै थापाले भने, “यस पटक सरकारको बजेटमा नै धान खरिद गरेबापत रकम किसानको खातामा हाल्ने व्यवस्था गरेकाले कागजातहरू मिलानका लागि एक जना कर्मचारी त्यही व्यस्त हुन्छन् । त्यसैले धान खरिदमा केही जटिल भएको छ ।” एक उपकेन्द्रमा दुई जना कर्मचारी खटाइएको उनले बताए । बिहान १०ः०० बजेबाट ४ः०० बजेसम्म धान खरिद गर्नुपर्ने भए पनि किसानको चापका कारण बिहान ८ः०० देखि सुरु गरी बेलुका ९ः०० बजेसम्म नै धान खरिद गरिरहेको उनले बताए ।
खोटाङमा थपिए ९४८ नयाँ मतदाता, ९० प्रतिशत जेनजी युवा
खोटाङ । खोटाङमा हालै थपिएका ९४८ नयाँ मतदातामध्ये करिब ९० प्रतिशत जेनजी उमेर समूहका युवा रहेका छन् । निर्वाचन आयोगले सञ्चालन गरिरहेको मतदाता नामावली दर्ता अभियानअन्तर्गत असोज १० गतेदेखि कात्तिक २० गतेसम्म खोटाङमा ९ सय ४८ जनाले नयाँ रूपमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रबिन मगरले जानकारी दिए । उनका अनुसार कार्यालयमा दैनिक २० जनाभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन् । जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ सय ८८ जना नयाँ मतदाता थपिएका छन् भने सबैभन्दा कम बराहपोखरी गाउँपालिकामा हालसम्म ४ जनाले मात्र नाम दर्ता गराएका छन् । निर्वाचन आयोगले देशका जुनसुकै जिल्ला निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगको अनलाइन प्रणालीमार्फत फारम भरेपछि सम्बन्धित कार्यालयमा गएर फोटो र बायोमेट्रिक विवरण दिएपछि दर्ता प्रक्रिया पूरा हुने व्यवस्था गरिएको छ । सरकारले फागुन २१ गते हुने मध्यावधि निर्वाचनलाई लक्षित गर्दै जेनजी मतदातालाई मताधिकार सुनिश्चित गर्न अध्यादेशमार्फत रोकिएको मतदाता नामावली दर्ता प्रक्रिया पुनः सञ्चालनमा ल्याएको हो । कार्यालयका तथ्याङ्क अनुसार कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा गर्ने मतदाताको संख्या खोटाङमा एक लाख ४४ हजार ४ सय २९ पुगेको छ । नयाँ मतदाता नाम दर्ता प्रक्रिया कात्तिक मसान्तसम्म सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
दाङमा अवैधरुपमा ढुंगा उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा
दाङ । दाङमा प्रहरीले खोलाबाट अवैधरुपमा ढुंगा उत्खनन् गरिरहेको अवस्थामा तीन ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पश्चिम दाङको बबई गाउँपालिका –४ स्थित राजी खहरे खोलाबाट अवैध रुपमा ढुंगा उत्खनन् गरिरहेको अवस्थामा विहीबार तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । प्रहरी नायव उपरीक्षक शाहका अनुसार इलाका प्रहरी कार्यालय खिलतपुरले विहीवार एउटा अन्टेष्ट र इलाका प्रहरी कार्यालय हापुरेले रा १ त २८१५ र रा १ त ४४८३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ट्याक्टरबाट प्रतिट्याक्टर १० हजार रुपियाँका दरले जरिवाना असुल गरी ट्याक्टर सम्बन्धित व्यक्तिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए ।
जेनजी आन्दोलनमा फिल्डका सुरक्षाकर्मीको बयान लिने तयारी
काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिको अनुसन्धानका लागि गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले फिल्डमा खटिएका सुरक्षाकर्मीहरूसँग बयान लिने तयारी थालेको छ । आयोगले घटनाका दिन ड्युटीमा रहेका सुरक्षाकर्मीहरूको तहगत विवरण मागेकोमा प्रहरीबाट आंशिक विवरण प्राप्त भएपछि जिम्मेवार व्यक्तिहरूको पहिचान र बयानको तयारी सुरु गरेको हो । आयोगले तीन साताअघि नै प्रहरीसँग ती अधिकारीहरूको विवरण माग गरेको थियो । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार उपत्यका तथा संघीय संसद् क्षेत्रलगायतमा खटिएका अधिकारीहरूको विवरण प्राप्त भइसकेको छ । उनले भने, “उपत्यकाभित्र र बाहिरका सबै फिल्ड कमान्डरहरूको विवरण हामीले मागेका थियौँ । क्रमशः विवरण आइरहेको छ, प्राप्त विवरणलाई प्राथमिकीकरण गरेर अघि बढाइँदैछ ।” तीन सातासम्म माग अनुसार विवरण नआएपछि आयोगले गत बुधबार प्रहरी महानिरीक्षकलाई ‘कारबाही किन नगर्ने’ भन्दै स्पष्टीकरण पत्रसमेत पठाएको थियो । उक्त पत्रपछि आयोगले केही थप विवरण प्राप्त गरेको हो । बिहीबार आयोगले उपत्यकाका विभिन्न कार्यालयमा खटिएका अधिकारीहरूको विवरण पठाएको छ । यस्तै संघीय संसद् र अन्य निकायमा कार्यरत सुरक्षा कमान्डरहरूको विवरण पनि पठाइसकेको छ । तर देशभरका सबै विवरण आयोगले अझै पाइसकेको छैन । यसअघि प्रहरीले आन्दोलनका दुई दिनमा “सबै जनशक्ति फिल्डमा थिए” भन्ने जवाफ दिएको थियो । तर आयोगले फिल्ड कमान्डरको तहगत विवरण नपाएपछि असन्तुष्टि जनाउँदै पुनः पत्राचार गरेको थियो । आयोगले हालसम्म सम्बन्धित निकायबाट क्षतिको विवरण र उजुरी संकलन गरिरहेको छ । कार्यालयहरूले क्षतिको विवरण पठाउने क्रम जारी छ । यस्तै आयोगका अध्यक्ष तथा सदस्यहरूले आन्दोलनका क्रममा क्षति भएका जिल्लाको अनुगमन र अन्तर्क्रिया सम्पन्न गरिसकेका छन् । आयोगले घटनामा संलग्न व्यक्तिहरूको बयानका लागि प्रश्नावली तयार गरेको छ र भदौ २४ गतेको घटनामा केन्द्रित रहेर कारागार कार्यालय नक्खुका प्रमुख सत्यराज जोशीसँग बयान लिइसकेको छ । सो घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पनि बयान लिइसकिएको आयोगले जनाएको छ ।
देशभरका ३४ वटा स्थानीय तह बजेटविहीन
काठमाडौं । कात्तिकको तेस्रो साता पुग्दासमेत देशभरका ३४ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो बजेट सभाबाट पारित गर्न सकेका छैनन् । समयमै बजेट नपारित हुँदा दैनिक कामकाज अवरुद्ध हुनका साथै कर्मचारीले तलबसमेत पाउन सकेका छैनन् ।कानुनअनुसार गाउँ तथा नगर कार्यपालिकाले असार मसान्तभित्र सभाबाट बजेट पारित गर्नुपर्ने व्यवस्था भए पनि धेरै स्थानीय तहले समयमै प्रक्रिया पूरा गर्न सकेका छैनन् । बिहीबारसम्म पनि ती स्थानीय तहले बजेट पारित नगरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाइटमा उल्लेख छ । गत साउनमा मन्त्रालयले बजेट नल्याउने स्थानीय तहमा स्थलगत सहजीकरण सुरु गरे पनि जेनजी आन्दोलन, तोडफोड, आगजनी र चाडपर्वका कारण सहजीकरण रोकिएको हो । मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार कतिपय स्थानीय तहले सभा गरे पनि आवश्यक कागजात प्रविष्ट नगरेकाले अझै बजेट नपारित देखिएको छ । मन्त्रालयका अनुसार मधेश प्रदेशका ३१, लुम्बिनीका २ र कर्णालीको १ गरी ३४ स्थानीय तहले अहिलेसम्म बजेट ल्याउन सकेका छैनन् । बाँकी प्रदेश— कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका सबै स्थानीय तहले भने बजेट पारित गरिसकेका छन् । बजेट सभाबाट पारित नगर्नुको प्रमुख कारण वडागत बजेटको सिलिङ बाँडफाँटमा विवाद रहेको बताइएको छ । कतिपय स्थानीय तहमा उपप्रमुखले पनि योजना बाँडफाँटमा समान अधिकार मागेपछि बजेट अड्किएको हो । सहसचिव प्रकाश दाहालका अनुसार, वडाध्यक्षहरूले पनि बजेटको भाग माग्दै अड्काएका घटना फेला परेका छन् । बजेट नल्याउने स्थानीय तहले कर उठाउन वा खर्च गर्न नपाउने, बजेट पारित नगरी खर्च गरे बेरुजु हुने र समानीकरण अनुदान समेत कटौती हुने कानुनी व्यवस्था छ ।
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा: थप मिसिल झिकाउने आदेश
काठमाडौं । सहकारी ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा थप मिसिल झिकाउने आदेश भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले यो आदेश गरेको हो । छविलाल जोशीको मिसिल अपुग भएकाले झिकाएर साथै राख्न निर्देशन दिइएको छ । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिल गरे पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए । यसअघि सहकारी ठगीको बिगो बमोजिमको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै दिएको निवेदनमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दुवै मुद्दा साथै राख्ने आदेश गरेको थियो । बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको छ । तर लामिछानेले त्यसको चार भागमध्ये आफ्नो एक भाग बराबरको बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसहित निवेदन पेस गरेका थिए । जोशीले पनि त्यति नै बिगोवापतको जमानत पेस गरेका थिए । तर दुवैको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने यकिन नभएकाले रिहा गर्न नसकिने एकै प्रकृतिको आदेश गरिएको थियो । पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारबाट लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सरुवा गरिएको छ भने जोशी भैरहवा कारागारमै छन् । यस आदेशले मुद्दाको प्रक्रिया थप जटिल बनेको छ ।
यी हुन् पार्टी एकताअघि नै एकीकृत समाजवादीबाट कारबाहीमा परेका नेता
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा हुनुभन्दा अघि नै नेकपा एकीकृत समाजवादीका छ नेतामाथि पार्टी कारबाही गरिएको तथ्य बाहिर आएको छ । घनश्याम भूसाल, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, दामोदर अर्याल, नन्दलाल बन्जाडे र धर्मराज निरौलालाई पार्टीबाट निष्कासन गरिएको छ । अध्यक्ष माधवकुमार नेपालले जारी गर्नुभएको विज्ञप्तिमा यो उल्लेख छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी हिजो (बुधबार) नै माओवादी केन्द्रसहितका १० विभिन्न घटकसँग एकीकृत भइसकेको छ । पार्टी केन्द्रीय कमिटीको निर्णय उल्लंघन गरेको आरोपमा उनीहरूमाथि कारबाही गरिएको विज्ञप्तिमा भनिएको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नै यो निर्णय गरेको हो ।
एमाले मुगुका नेता उब्जनबहादुर शाही एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
काठमाडौं। नेकपा (एमाले) का पूर्वकेन्द्रीय सदस्य तथा मुगुको खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जनबहादुर शाहीले एमालेबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई आज बिहान पार्टीका सहसंयोजक माधवकुमार नेपालले स्वागत गरे । स्वागत कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेताहरू प्रकाश ज्वाला, चन्द्रबहादुर शाही र ठगेन्द्रप्रकाश पुरीलगायत सहभागी थिए । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित १० राजनीतिक दलहरूको एकीकरणबाट गठित यो नयाँ पार्टीको नाम 'नेपाली कम्युनिष्ट पार्टी' राखिएको छ । एकीकृत पार्टीको दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिइसकिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले बिहीबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेश गरेको छ । विभिन्न १० वाम दल र समूहको एकताको परिणाम स्वरूप बनेको यो पार्टीले आफ्नै चुनाव चिह्न ‘पाँचकुने तारा’ राखेको छ । पार्टीका नेता शिव खकुरेलले जानकारी दिँदै भने, “दलको विधान पूर्णरूपमा तयार भएपछि आयोगमा सम्बन्धित दस्तावेज पेश गरिनेछ । निवेदनसँगै दलबीचको एकताको प्रतिबद्धतापत्र र घोषणापत्र पनि संलग्न गरिएको छ ।” साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूको मिलनबाट गठन भएको नयाँ पार्टी आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने तयारीमा छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पनि नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिएका छन् । निर्वाचन आयोगले तोकेको अनुसार, आगामी २१ फागुनको निर्वाचनमा भाग लिने दलहरूले यही ३० कात्तिकभित्र आफ्नो दल दर्ता प्रमाणपत्र लिनुपर्नेछ ।
हुम्लामा छत्रपाल आधारभूत विद्यालयमा आगलागी
हुम्ला । यहाँको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा आगलागी भएको छ । अदानचुली गाउँपालिका–३ मा रहेको सो विद्यालयमा बुधबार आगलागी हुँदा विद्यालयको दुईतले–दुईकोठे भवन पूर्ण रुपमा जलेर नष्ट भएको हो । कार्यालय कोठामा रहेको भवनमा आगलागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्तावेज जलेर नष्ट भएका शिक्षक नन्द फडेराले जानकारी दिए । कार्यालय कोठामा भएको सोलार एक सेट, दुई थान ल्यापटप, दुई थान डेस्कटप, चार दराज, चार सोफासेट, २० वटा प्लास्टिक कुर्ची, एक रिङ कुर्ची, तीनवटा मादल, हार्मोनियम, ड्रम सेट, १२ सेट टेबल कुर्ची, दुईवटा प्रिन्टर, अत्यावश्यक कागजातलगायत सामग्री नष्ट भएका उहाँले शिक्षक नन्द फडेराले बताए । आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागी भएको समयमा कार्यालय कोठाको ढोकाको ताल्चासमेत नलगाई ह्यान्डल मात्र लागेकाले घटना शङ्कास्पद रहेको विद्यालयका शिक्षक जमानसिंह परियारले बताए । विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गरेको छ ।

