महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर । यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइँ सरी यहाँ आए । 

त्यतिबेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हुने खबरले उनीमा उत्साह थियो । करिडोर यातायातको सुविधा मात्र नभई अवसरको ढोका पनि रहेकाले व्यापारका नयाँ सम्भावना खुल्ने अपेक्षा उनमा थियो । आफ्नै घर छेउबाट सडक निर्माण हुने भएपछि यहाँका स्थानीयको आर्थिक अवस्था फेरिने आशा पलाएको थियो । तर उक्त सडक निर्माण हुन्छ भनेको सुनेको पनि डेढ दशक भइसकेको छ। “त्यो बेला सडक निर्माण हुन्छ भन्ने सुनेपछि धेरै खुसी भएका थियौँ”, थापाले भने, “एकातर्फ महेन्द्रनगर बजार सहज पहुँच हुने र सडक बनेपछि शिक्षा, स्वास्थ्य र व्यापार हुने ठुलो आशा थियो तर अहिलेसम्म बनेन ।”

उक्त क्षेत्रमा करिडोरको ट्रयाक खुलेको छ तर यात्रा गर्न सहज छैन । वर्षात्को समयमा त उक्त सडक बन्द हुने गरेको उनको भनाइ छ । “सडक नहुँदा बिरामीलाई बोकेर अस्पताल लग्नुपर्ने बाध्यता आउँछ गाउँमा न स्वास्थ्य संस्था छ न विद्यालय नै”, उनले भने, “हाम्रो मुख्य समस्या भनेकै सडक हो, सडक नहुँदा निकै सास्ती खेप्नुपरेको छ ।” उनले दुई घण्टा पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यताले नातिनीलाई कैलालीको लम्कीस्थित भाइको घरमा अध्ययनका लागि पठाएको बताए । अहिले पनि स्थानीय उत्पादन बिक्री गरेर आम्दानी गरिरहेको बताउँदै सडक सञ्जालले जोडिए यहाँका स्थानीयको आर्थिक सुधार हुने उनको भनाइ थियो ।

बाइस वर्षदेखि यहाँको टुँडिखेलमा बस्दै आएका लीला पुनमगर पनि करिडोर निर्माण हुने खबरले उत्साही भए । तर सडक निर्माणमा ढिलाइ हुँदा भने उहाँको उत्साह पनि निराशामा परिणत भएको छ । “करिडोर बन्छ भन्ने सुनेको १२ वर्षपछि ट्रयाक (मार्ग) खुलेको छ, अझै आशा त मरेको छैन तर सडक बनिसक्नुपर्ने समयसम्म पनि नबन्दा सुरुको जस्तो उत्साह छैन”, उनले भने, “सरकारले ढिलाइ गर्नु भएन यो सडकलाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्नुपर्छ ।” उनले सडक निर्माणपछि लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने बताए । 

महाकाली करिडोरले यातायातको पहुँचसँगै भारतसँगको व्यापारिक पहुँच, घरेलु उद्योगको विस्तार र पर्यटन सम्भावनामा समेत ठुलो भूमिका खेल्न सक्ने यहाँका स्थानीय रमेश नायक बताउँछन् । “यो सडक यातायातका लागि मात्र नभई व्यापारिक हिसाबले महत्त्वपूर्ण छ ।” उनले भने, “सरकारको पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणलाई पूर्णता दिनुपर्छ ।”

उनले करिडोर सञ्चालनमा आए सुदूरपहाडका जनताको आर्थिक अवस्थामा पनि सुधार आउने बताए। “करिडोर सञ्चालनमा आइदिए यहाँका स्थानीयले आठआठ घण्टा लगाएर जानुपर्ने ठाउँमा दुई घण्टामै पुग्छौँ”, उनले भने, “यो सुदूरपहाडका जनताका लागि लाइफ लाइन नै हो ।”

करिडोर बनेपछि ब्रह्मदेव, डडेल्धुराको जोगबुढा, बैतडीको पञ्चेश्वर, चमेलिया, दार्चुलाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै टिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्‍याउने छ ।

महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सृजना हुनेमा यहाँका व्यवसायी आशावादी छन् । सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो । तर योजना सम्पन्न गरिसक्ने समयमा पनि बजेट अभाव, प्रक्रियागत उल्झन र सरकारी उदासिनताका कारण अलपत्र अवस्थामा पुगेको छ । 

सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सिमानामा रहेको पिलर नम्बर १ सम्म चार सय १३ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ । सडक निर्माणपछि सुदूरपश्चिमका करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुने र त्रिदेशीय नाका भएका कारण व्यापारिक महत्त्व पनि धेरै नै रहेको छ । यसका साथै धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको सुविधा उपलव्ध हुने देखिन्छ । तर प्रक्रियागत उल्झन र बजेट अभावले योजनाले अपेक्षित गति लिनसकेको छैन । सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको महाकाली करिडोर निर्माणका लागि न्यून बजेट विनियोजन हुँदा निर्माणको काम ठप्पजस्तै छ ।

चालु आर्थिक वर्षमा करिडोर निर्माणका लागि रु २२ करोड ९७ लाखमात्र बजेट विनियोजन भएको महाकाली करिडोर सडक (ब्रह्मदेव–झुलाघाट–दाचुला–टिङ्कर सडक) योजना कार्यालयका योजनाका सूचना अधिकारी रामचन्द्र जैशीले जानकारी दिए । उक्त बजेटले निर्माण व्यवसायीको पनि भुक्तानी गर्न सकिँदैन । “योजनाअन्तर्गत कार्यालयले डेढ अर्ब दायित्व भुक्तानी गर्नुपर्ने छ”, उनले भने, “चालु आर्थिक वर्षमा आएको बजेट न्यून छ, यसले नयाँ ठेक्का खोलेर काम गर्न सकिने अवस्था छैन ।” उनले यही गतिमा बजेट आए योजना सम्पन्न गर्न अझै वर्षौँ लाग्ने बताए । 

योजना कार्यालयका अनुसार करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किलोमिटर, बैतडीमा एक सय ४४ किलोमिटर र दार्चुलामा एक सय २१ किलोमिटर सडक निर्माण हुनेछ । जसमध्ये कञ्चनपुरमा ११ किलोमिटर मार्ग खुलिसकेको छभने डडेल्धुरामा २८ किलोमिटर खुलेको छ । त्यसैगरी, बैतडीमा एक सय १४ किलोमिटर र दार्चुलामा ७७ किलोमिटर मार्ग खुलेको छ । तुसारापानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर सडकखण्डमा मार्ग खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।

डडेल्धुराको सिमलतालदेखि भागेश्वर गाउँपालिका हुँदै सुर्नयासम्म, बैतडीको शिवनाथ र पञ्चेश्वर क्षेत्र तथा दार्चुलाको लेकम र मालिकार्जुन गाउँपालिका क्षेत्रमा मार्ग खोल्न बाँकी छ । हाल योजनाले छ वटा प्याकेजमा गरी डडेल्धुरा र दार्चुलामा ३७ किमीमा सडक कालोपत्रको काम निर्माणाधीन छ । करिडोरअन्र्तगत दार्चुलाको महाकाली नगरपालिका क्षेत्रमा १२ किलोमिटर र खलङ्गादेखि तुसारपानी खण्डमा १०–१० किमी गरी दुई प्याकेजमा सडक कालोपत्रको काम निर्माणाधीन छ ।

आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको करिडोरको सुरुको कुल लागत अनुमान रु १८ अर्ब १६ करोडमा आर्थिक वर्ष २०८०/८१ सम्म पूरा गर्ने लक्ष्य थियो । तर बजेट अभाव, रुख कटानलगायत प्रक्रियागत उल्झनले योजनाको लागत र समय लम्बिँदै गएको छ ।

कस्ताे रहला आजकाे माैसम ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ४ घण्टापछि सञ्चालनमा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको प्राविधिक समस्याका कारण अवरुद्ध भएको उडान प्रणाली ४ घण्टापछि  राति सञ्चालनमा आएको छ। धावनमार्गको 'एयर फिल्ड लाइटिङ' प्रणालीमा समस्या आएपछि साँझ ५:३० बाट उडान तथा अवतरण बन्द भएको थियो। विमानस्थलका निर्देशक तथा प्रवक्ता रेञ्जी शेर्पाले यो समस्या सुचारु भएको जानकारी दिए। 'यो समस्याको कारणबारे थप अध्ययन भइरहेको छ। अध्ययनपछि मात्र विस्तृत कारण सार्वजनिक गर्न सकिन्छ,' उनले भने। समस्या आउँदा अन्तरराष्ट्रिय उडानका केही विमानहरू आकाशमै 'होल्ड'मा राखिएका थिए भने अन्यलाई गन्तव्य परिवर्तन (डाइभर्ट) गरिएको थियो। आन्तरिक उडानका विमानहरूलाई भने विमानस्थलमै रोकिएको थियो। रातको समयमा धावनमार्गमा उडान तथा अवतरणका लागि आवश्यक उज्यालो प्रदान गर्ने यो लाइटिङ प्रणाली विमानस्थलको महत्वपूर्ण हिस्सा हो। समस्या समाधान भएसँगै सबै उडान सामान्य रूपमा सञ्चालनमा आएका छन्।

नेपाली कम्युनिष्ट पार्टीको बैठक : संगठनात्मकसहित महत्वपूर्ण यी हुन् तीन निर्णय

काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीको बैठक पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा सम्पन्न भएको छ । बैठकले पार्टीको एकता सुदृढीकरण, निर्वाचन तयारी र जनपरिचालनसम्बन्धी तीन महत्वपूर्ण निर्णय गरेको छ । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले शुक्रबार जारी गरेको प्रेस नोटअनुसार, बैठकले प्रदेशस्तरमा एकता सन्देश सभाहरू सञ्चालन गर्ने निर्णय गरेको छ । यसका लागि सबै प्रदेशमा कार्यक्रमहरू व्यवस्थित रूपमा सञ्चालन गरिने छ । यसैगरी, आगामी निर्वाचनको तयारीलाई प्रभावकारी अभियानका रूपमा अगाडि बढाउने निर्णय गरिएको छ । प्रवक्ता सापकोटाले यो अभियान व्यवस्थित र लक्षित ढङ्गले सञ्चालन गर्न निर्देशन दिइएको बताए । बैठकले पार्टीअन्तर्गतका जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टी इकाईहरूसँग समन्वय गरी जनपरिचालन गर्न पनि निर्देशन गरेको छ । यसले पार्टीको संगठनात्मक सुदृढीकरणमा थप बल पुर्याउने अपेक्षा गरिएको छ । यी निर्णयहरूले पार्टीको विस्तार र जनाधार मजबुत बनाउने लक्ष्य राखेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ को व्हाट्सएप नम्बर ह्याक

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ को व्हाट्सएप नम्बर ह्याक भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूले प्रयोग गर्दै आएको नम्बर ह्याक भएको पुष्टि गरेका छन् । नेता पुनले उक्त नम्बरबाट अनधिकृत सन्देशहरू पठाइँदै आएको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् ।   ‘सावधान ! मेरो ह्वाट्सएप नम्बर ह्याक भएर अनधिकृत म्यासेज आइरहेकोले सचेत रहन अनुरोध गर्दछु,’ उनले फेसबुक पोस्टमा लेखेका छन् ।

धावनमार्गको लाइटमा समस्या भएपछि काठमाडौंमा जहाज अवतरण बन्द

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लाइटमा समस्या देखिएपछि उडान तथा अवतरणमा अवरोध भएको छ । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, फिल्डमा प्राविधिक टोलीले अहिले मर्मत कार्य गरिरहेको छ । उनले समस्या आंशिक रूपमा समाधान भएको पनि बताए । तर, उडान तथा अवतरण पूर्ण रूपमा सुचारु हुन अझै केही समय लाग्नेछ । यसबीचमा कोरियन एयरको एक उडान दिल्लीतर्फ डाइभर्ट गरिएको छ । स्पाइसजेटले आजको आफ्नो उडान रद्द गरेको छ । उक्त उडान दिल्लीबाट काठमाडौं आउने क्रममा थियो । अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि भारतका विभिन्न विमानस्थलहरूमा डाइभर्ट गरिएका छन् । यसैगरी, जनकपुरबाट आएको बुद्ध एयरको उडानलाई उतै फर्काइएको छ । सुर्खेतबाट आएको बुद्ध एयरको उडानलाई पोखरामा डाइभर्ट गरिएको छ । बाँकी उडानहरू होल्डमै राखिएका छन् ।

अपराधि छवि बनाएका कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा गएराति साढे २ बजे उनको निधन भएको  पारिवारिक स्रोतले जानकारी दियो । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल  भएकोले उनको निरन्तर डायलाइसिस भइरहेको थियो । विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।‍ आलमलाई रौतहटको राजापुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटा भट्टामा जलाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते  जन्मकैदको सजाय सुनाएको थियो । त्यसविरुद्ध आलमले गरेको पुनरावेदनमा गत १४ जेठमा सुनुवाइ गर्दै वीरगन्ज उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएपछि त्यसैदिन नख्खु कारागारबाट छुटेका थिए ।  कारागारबाट छुटेलगत्तै उनको स्वास्थ्यमा निरन्तर समस्या देखिन थालेको थियो । 

भोजपुरमा ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’ आयाेजना हुने

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरको सबैभन्दा होचो स्थान कोप्चेदेखि टेम्केमैयुङ गाउँपालिकाको तावा भन्ज्याङसम्म ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’ को आयोजना हुने भएको छ ।  आगामी मङ्सिर २० र २१ गते दुई दिन ६० किलोमिटरको दूरीमा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक मुन्धुम अल्ट्रा ट्रेल रेस सञ्चालन समितिका सचिव रविन थापाले जानकारी दिए । जिल्लाको मुन्धुम पदमार्ग तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटन आवागमन सहयोग गर्दै धावक उत्पादन गर्ने लक्ष्यका साथ अल्ट्रा ट्रेलको आयोजना गरिएको सचिव थापाले बताए ।  जिल्लाको हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाको आर्थिक सहयोग र स्विस सरकार विकास सहयोग नियोग, हेल्भेटास नेपाल र पदमार्गमा आधारित पर्यटन विकास परियोजनासँगको समन्वयमा दुई दिने अल्ट्रा ट्रेल रेसको आयोजना गरिएको हो ।  स्थानीय संस्कृति, परम्परा र मुन्धुम दर्शन तथा संस्कृतिको प्रचार–प्रचार गर्ने, पर्यटन प्रवर्द्धन, स्वास्थ्य तथा शारीरिक स्वस्थता, स्थानीयको आयस्रोतमा वृद्धि, अन्तर्राष्ट्रिय सहभागिता जस्ता उद्देश्य कार्यक्रमको रहेको छ । सो सम्बन्धमा आज सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक पक्षले कार्यक्रम सफल बनाउन सबै पक्षसँग आग्रह समेत गरेको छ ।  हतुवागढी गाउँपालिकाका अध्यक्ष तथा निर्देशक समितिका संयोजक प्रेम कुमार राईले पर्यटन प्रवर्द्धन, अर्थतन्त्र विकास, किराती संस्कृति तथा परम्पराको प्रवर्द्धन, खेलकुद क्षेत्रको विकासलगायत क्षेत्रका लागि यो कार्यक्रम महत्त्वपूर्ण हुने बताए । पुरुष तथा महिला अल्ट्रा ट्रेल रेसमा १०० जनाको सहभागिता हुने आयोजकले जनाएको छ ।  यो रेसले जिल्लाको पर्यटन, खेलकुद तथा सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको रेस सञ्चालन समितिका अध्यक्ष सन्दीप किरावाले बताए । उनले भने, “कार्यक्रमको मुख्य उद्देश्य स्थानीय पर्यटन प्रवर्द्धन, सांस्कृतिक एकता र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रचार गर्नु हो, साथै प्रतियोगितामार्फत भोजपुरका पहाडी क्षेत्रका सुन्दर पदमार्ग, गाउँघरका सांस्कृतिक सम्पदा र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएको छ ।” प्रतियोगिता तयारीका लागि ट्रेल म्यापिङ, स्वयंसेवक तालिम, सरसफाइ तथा प्रचार अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जानकारी दिएको छ । 

बागलुङमा दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि नश्ल सुधार कार्यक्रमलाई सुरु गरेको छ ।  पालिकाका करिब ९० प्रतिशत किसानले गाईभैँसी पालन गर्दै आए पनि व्यावसायिक रूपमा दूध उत्पादनमा लागेका छैनन् । किसानलाई दूध उत्पादनमार्फत आयआर्जनसँग जोड्न नश्ल सुधार कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले नश्ल सुधार कार्यक्रम सुरु गरेपछि अहिलेसम्म ३३५ गाई र भैँसीमा निःशुल्क कृत्रिम गर्भाधान सम्पन्न भइसकेको पशु सेवा शाखा प्रमुख डा अच्युत आचार्यले जानकारी दिए। नश्ल सुधार कार्यक्रमले पशुपालक किसान उत्साहित भएको उनको भनाइ छ । यो कार्यक्रमले जैमिनीका गाउँ–गाउँमा दूधको उत्पादन वृद्धि हुने र आत्मनिर्भर बनाउने डा आचार्यल बताए । उनका अनुसार जैमिनीमा बर्सेनि करिब ५० लाख लिटर दूध उत्पादन हुँदै आएको छ । यसलाई बढाउने र किसानलाई आयआर्जनसँग जोड्दै जाने गरी यस वर्षदेखि नश्ल सुधार कार्यक्रम सुरु गरेको उनले बताए । नगरपालिकाले नश्ल सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु छ लाख विनियोजन गरेको छ । नगरपालिकाभर हाल १५ हजार गाई भैँसी रहेको तर सबै किसानले व्यावसायिक रूपमा दूध उत्पादन नगर्ने डा आचार्य बताउछन् । उनले भने, “नश्ल सुधार कार्यक्रमले पशुपालक किसानलाई जोड्ने र व्यवसायप्रति आकर्षित गर्छ, यहाँका धेरै किसानले गाईभैँसी पाल्दै आउनुभएको छ, तर नश्ल सुधारतर्फ धेरैको ध्यान गएको छैन, नश्ल सुधारपछि उत्पादन बढ्ने छ, किसानको माग अनुसार अहिले नश्ल सुधार गरिरहेका छौँ ।” स्थानीय कृषक विकास पौडेलले नगरपालिकाले सुरु गरेको नश्ल सुधारबाट आफूहरूलाई ठूलो टेवा पुगेको बताउनुभयो । पहिले एउटा कृत्रिम गर्भाधान गराउँदा रु एक हजारदेखि रु एक हजार ५०० तिर्नु परेको भन्दै अहिले नगरपालिकाले निःशुल्क सेवा दिएको उनको भनाइ छ । नश्ल सुधार कार्यक्रमले आफूजस्ता सयौँ किसानलाई दूध उत्पादन बढाउन सहज हुने पौडेलले बताए । नगरपालिकाले किसानका लागि हरेक वर्ष नयाँ कार्यक्रम ल्याउने गरेको छ । गत वर्ष ‘किसान कल सेन्टर’ सञ्चालन गरेको थियो । जसबाट किसानका वस्तुभाउ बिरामी भए फोनबाटै समस्या नगरपालिकामा राख्न सक्थे र उपचारका लागि पशु प्राविधिक किसानका गोठमै पुग्ने गर्थे । सस वर्ष भने उत्पादनलाई बजारीकरण गर्न कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ ।

‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाइँदै

काठमाडौँ । ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै  छ । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले  प्रत्येक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ । यस वर्ष ‘इमेजिङ उत्कृष्टतामार्फत स्वास्थ्य सेवा सशक्तीकरण’ भन्ने मूल नाराका साथ विश्वभर १३०औँ विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस  मनाउन लागिएको हो । सन् १८९५ नोभेम्बर ८ का दिन जर्मनीका वैज्ञानिक विल्हेल्म रोईन्टजेनले रेडियोग्राफीको आविष्कार गर्नुभएको थियो । वैज्ञानिक रोईन्टजेनले गरेको विकिरण एक्स–रे को आविष्कारप्रति सम्मान दिन प्रत्येक वर्ष उक्त दिवस विश्वभर मनाइँदै आइएको छ । एक्सरेले मानव शरीरभित्रका हड्डीका साथै कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ भने अल्ट्रासाउण्ड, सिटि स्क्यान एमआरआइले शरीरभित्रका अङ्गमा भएका समस्याका बारेमा बिना चिरफार पत्ता लगाउने गरेको चिकित्सक बताउँछन् । वरिष्ठ रेडियोलोजिष्ट डा शर्मा पौडेल प्रविधिको विकाससँगै रेडियोलोजी रोग पत्ता लगाउने र उपचार गर्ने पद्धतिको रूपमा विकास हुँदै गएको बताउँछन् । बिरामीको निदान र उपचारमा रेडियोलोजीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । डा पौडेल रेडियोलोजी विधामा विना चिरफार उपचार गर्ने ‘इन्टरभेन्सन रेडियोलोजी’ र रोग पत्ता लगाउने ‘डाइगोनोष्टिक रेडियोलोजी’ मार्फत विरामीको उपचार गर्दे आएको बताउँछन्। विकिरण अर्थात् रेडिएसन आउने एक्स रेबाट सुरु भएको विधा भएकाले यसलाई रेडियोलोजी भनिएको डा पौडेलको भनाइ छ । उनी पछिल्लो समय रेडियोलोजी क्षेत्रमा धेरै प्रगति भएको र विकिरण प्रयोग नगरी गरिने धेरै प्रविधि पनि रेडियोलोजीमा पर्ने गरेको बताउँछन् । रेडियोलोजीमा विकिरण प्रयोग गरेर गरिने जाँचमा एक्सरे, सिटी स्क्यान, फ्लोरोस्कोपी, न्यूक्लियर मेडिसीन, मेमोग्राफी पर्ने गरेका छन् भने विकिरण प्रयोग नगरी गरिने जाँचमा अल्ट्रा साउन्ड अर्थात्  भिडियो एक्सरे, एमआरआईलगायत पर्ने गरेका छन् ।

तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’

तनहुँ । तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ गराइने भएको छ । जिल्लाका एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउन लागिएको हो । नेपाल सरकारको कार्यक्रमअनुसार गण्डकी प्रदेशको बागलुङस्थित धौलागिरी प्रादेशिक आर्युर्वेद चिकित्सालय, तनहुँको प्रदेश आयुर्वेद चिकित्सकालय, कास्कीको गण्डकी आयुर्वेद अस्पताल र गण्डकी प्रदेश सरकारले नवलपुरको प्रदेश आयुर्वेद चिकित्सालयबाट पाइलट कार्यक्रमका रूपमा स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम सुरु गर्न लागेको प्रदेश आयुर्वेद चिकित्सकालय तनहुँका प्रमुख डा नारायण श्रेष्ठले जानकारी दिए ।  तनहुँमा यही कात्तिक २५ गते बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाउने उनले जानकारी दिए । अस्पतालमा बिहान ७ बजेदेखि १० बजेसम्म बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइनेछ ।  जिल्लामा पहिलो पटक भएकाले कति बालबालिकालाई खुवाइन्छ भन्ने एकिन नभएकाले यो पटक आउने सङ्ख्याले आगामी दिनमा सहज हुने उनको भनाइ छ । नेपालका २५ वटा जिल्लामा यस वर्षबाट स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम सुरु भएको बताउँदै उनले प्रत्येक कुशे नक्षत्रको समय पारेर बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइने उल्लेख गरे ।  श्रेष्ठका अनुसार स्वर्णविन्दु प्राशन यही कात्तिक २५ गते, मङ्सिर २२ गते, पुस २१ गते, माघ १८ गते, फागुन १६ गते, चैत १४ गते, वैशाख १०, जेठ ६ गते, असार ३ गते, साउन ९ गते, भदौ ५ गते र असोज २९ गते खुवाइनेछ ।  स्वर्णभष्म, घिउ र महको मात्रा मिलाएर स्वर्णविन्दु प्राशन बनाइने बताउँदै डा श्रेष्ठले यो चिकित्सकको प्रत्यक्ष निगरानीमा खुवाइने जानकारी दिए । नेपाल सरकारले निर्माण गरेको कार्यविधि अनुसार एक वर्षदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र दुई वर्षमाथि पाँच वर्षका बालबालिकालाई चार थोपा प्रत्येक महिनाको कुशे नक्षत्रमा स्वर्णविन्दु प्राशन सेवन गराउने उनले बताए ।  श्रेष्ठका अनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको उमेर अनुसारको तौल र उचाइ बढ्न सहयोग गर्ने, बौद्धिक क्षमता वृद्धि, रोगसँग लड्ने क्षमता वृद्धि गर्न सहयोग पुग्नेछ । उनले भने, “पहिलो पटक भएकाले कात्तिक २५ गते कतिजना बालबालिका आउँछन्, त्यसका आधारमा आगामी दिनका कार्यक्रम बन्नेछ ।” ज्वरो, अजीर्ण, झाडापखाला, आउँ, रुघाखोकी, एलर्जी भएका बालबालिकालाई भने यो खुवाउन नहुने श्रेष्ठको भनाइ छ ।

कृषि मन्त्रालयद्वारा मल खरिदका लागि थप १० अर्ब माग

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिदका लागि थप १० अर्ब रुपैयाँ बजेट माग गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा ६ लाख मेट्रिक टन मल खरिद गर्ने लक्ष्य राखिएको छ । तर, विनियोजन गरिएको २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँले मात्र ४ लाख ७१ हजार मेट्रिक टन मल खरिद गर्न पुग्ने भएकाले थप बजेट आवश्यक परेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य २० देखि २५ प्रतिशत बढेकाले कोटा अनुसार खरिद गर्न बजेट अपुग भएको हो । मन्त्रालयले हालसम्म ४ लाख ७१ हजार ३०० मेट्रिक टन मल खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ भने बाँकी मलका लागि थप बजेट माग गरिएको छ । कुल लक्ष्यअनुसार मल आयात गर्न चालु आवमा विनियोजित रकमसँगै १० अर्ब रुपैयाँ थप आवश्यक पर्ने देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हिउँदे बालीका लागि भने हाल पर्याप्त मल मौज्दात रहेको छ । हिउँदे बालीका लागि करिब १ लाख ८० हजार मेट्रिक टन मल आवश्यक पर्ने अनुमान छ । साउनदेखि १६ कात्तिकसम्म २ लाख १८ हजार ६३३ मेट्रिक टन रासायनिक मल (युरिया, डिएपी र पोटास) आयात भइसकेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये डिएपी १ लाख ४१ हजार ५७५ मेट्रिक टन, युरिया ६८ हजार ९७० मेट्रिक टन र पोटास ७ हजार ४८६ मेट्रिक टन रहेका छन् । हाल साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड (एग्रो कम्पनी) सँग १ लाख २० हजार मेट्रिक टन मल मौज्दात छ भने थप ९० हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डिएपी बाटोमा रहेको कम्पनीले जनाएको छ । एग्रो कम्पनीका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलका अनुसार मलको आयात नियमित रूपमा भइरहेको र बजारमा तत्काल अभाव नपर्ने अवस्था छ । नेपालमा वार्षिक करिब ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने अनुमान छ । हरेक वर्ष सरकारले ठुलो रकम विनियोजन गरे पनि आपूर्तिमा ढिलाइ हुँदा किसानले बाली सिजनमा मल अभावको समस्या भोग्दै आएका छन् ।

आजकाे माैसम: हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।  आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर

सुनसरी । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बनेका छन् । पुर्ख्यौली सीपलाई नै व्यावसायिक रूपमा अङ्गाल्दै आउनु भएका उनले करिब दुई दशकदेखि नाङ्लो बनाएर बिक्रीमार्फत जीविकोपार्जन गर्दै आएको बताए । उनका अनुसार घरको दैनिक खर्च, छोराछोरीको पढाइ तथा गृह व्यवहारका सबै आवश्यकता यही पेसाबाट पूरा हुने गरेको सुनाउँछन् । यो हाम्रो पुर्ख्यौली पेसा हो । समय दिएर बनाउँदा आम्दानी राम्रै हुन्छ, उनले भने, राईका अनुसार वर्षेनि करिब रु सात लाखदेखि आठ लाख रुपैयाँ बराबरको नाङ्लो बिक्री हुने गरेको सुनाए ।  नाङ्लो बनाउनका लागि आवश्यक बाँस तालतलैया र खोर्सानेघाट क्षेत्रबाट ल्याउने गरेको उनले बताए। एक वटा बाँस रु २०० देखि ३०० रुपैयाँसम्म पर्ने गरेको उनले बताए । एक वटा बाँसबाट १० देखि १२ वटा नाङ्लो बनाउन सकिने उनको भनाइ छ । उनले एक हप्तामा करिब १५० भन्दा बढी नाङ्लो बनाउने गरेको जानकारी दिए । हप्तामा बनाएको नाङ्लो धेरै जसो व्यापारीहरू हप्तैपिच्छे घरमा आएर लैजान्छन् । नाङ्लो इटहरी, धरान, भोजपुर, विराटनगर, पथरीलगायत क्षेत्रमा बिक्री हुने गरेको छ । एक वटा नाङ्लो रु १३० देखि रु २५० सम्ममा बिक्री हुने गरेको उनले बताए । नाङ्लो बनाउन सकियो भने बजारको अभाव हुँदैन । पहिले हामी भोजपुरबाट ल्याएर बेच्थ्यौँ, अहिले यहाँ बनाएको नाङ्लो नै भोजपुरका व्यापारीले आएर लैजान्छन्। दसैँ, तिहार, छठलगायत प्रमुख चाडपर्व तथा पूजाआजामा नाङ्लोको प्रयोग बढी हुने हुँदा भदौ, असोज र कात्तिक महिनामा यसको बिक्री सामान्य दिनभन्दा बढी हुने गरेको उनको अनुभव छ । सुनौलो बस्तीमा राईसहित करिब १५ घरधुरीभन्दा बढीले व्यावसायिक रूपमा नाङ्लो बुनेर जीविका चलाइरहनु भएको छ । यसले परिवारलाई घरमै बसेर काम गर्ने अवसर प्रदान गर्नुका साथै परम्परागत पेसा जोगाउन सहयोग पुगेको उनको भनाइ छ । बाहिर अर्काकोमा मजदुरी गरेर कमाइभन्दा घरमै बसेर पुर्ख्यौली सीप जोगाउँदै कमाउनु फाइदाजनक छ । मेहनत भए पनि आम्दानी स्थिर हुने भएकाले पेसाप्रति सन्तुष्टि रहेको उनको भनाइ छ । उनले भने, “नाङ्लो बुनेरै सानो घर निर्माण गर्न गरेको छु, छोराछोरीको पढाइसमेत यसै आम्दानीले पुगेको छ ।" ग्राहकको मागअनुसार विभिन्न साइज र प्रकारका नाङ्लो उत्पादन गर्न सकिने राईले जानकारी दिए । बजारमा नाङ्लोको वृद्धि भए पनि मूल्य वृद्धि हुन नसकेको कारण मूल्य बढाउन आवश्यक रहेको उनको सुझाव छ । यो पेसालाई थप व्यावसायिक बनाउन स्थानीय सरकारले सहयोग र ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग एकताका लागि अशोक राई नेतृत्वको जसपा सकरात्मक

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग पार्टी एकताका लागि सकरात्मक रहेको निष्कर्ष निकालेको छ । पार्टी एकता र सहकार्यका लागि पार्टी बैठकबाट तयार गरिएको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग पार्टी एकता र तालमेलको विकल्पमा निष्कर्षमा पुग्न सकिने जनाइएको छ ।    कार्तिक १९ र २० गते बसेको केन्द्रीय समितिको बैठकमा विभिन्न तीन विकल्पबारे विस्तृत छलफल भएको हो । ती विकल्पहरू मध्ये पहिलो, थ्रेसहोल्ड नकट्ने अवस्था भएमा विचार र सिद्धान्त मिल्ने साना पार्टीसँग एकता गर्ने । दोस्रो, हालै प्रचण्डको नेतृत्वमा एकीकृत भएको नेपाली कम्युनिष्ट पार्टीसँग एकता वा तालमेल गर्ने । र तेस्रो, नेकपा (एमाले) र नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने ।   केन्द्रीय समितिको बैठकमा यी तीनै विकल्पमा छलफल भएको जसपाका केन्द्रीय सदस्य तथा युवा नेता दुर्गा सुवेदीले बताउनुभयो । उहाँका अनुसार, केन्द्रीय समितिले यी विकल्पहरूलाई कार्यकारिणी समितिको बैठकमा पठाएको छ । छिट्टै बस्न लागेको कार्यकारिणी समितिको बैठकमा यी विकल्पहरूबारे थप छलफल र निर्णय हुने उहाँले जानकारी दिनुभयो । जसपाका एक पदाधिकारीका अनुसार, ६–७ वटा दलबाट एकताका लागि प्रस्तावहरू आएका छन् । कुन दलसँग एकता गर्ने, कुनसँग कार्यगत एकता वा चुनावी तालमेल गर्ने भन्ने विषयमा कार्यकारिणी समितिको बैठकले नै टुङ्गो लगाउने छ । उक्त पदाधिकारीले भन्नुभयो, "हामीले पहिचानवादी शक्तिसँग एकता र सहकार्य गर्ने खुला गरेपछि विभिन्न दलबाट प्रस्ताव आएका छन् । ती प्रस्तावहरूको बारेमा हामी छलफल गर्दैछौं ।" लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी लगायतका दलबाट जसपालाई एकताका लागि प्रस्ताव आएको छ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले एकताका लागि आधिकारिक पत्र नै पठाएको थियो । पार्टीको रणनीति अनुसार, विभिन्न साना दलसँग एकता गरेर थ्रेसहोल्ड काट्ने अवस्था भएमा मात्र एकता गर्ने, नभए चुनावी तालमेल गरेर अगाडि बढ्ने योजना छ । जसपा नेताहरुका अनुसार प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग एकताका लागि पार्टी तयार छ । त्यसका लागि अब छलफललाई निरन्तरता दिने तयारी गरिएको छ ।  साना दलसँग एकता नभएको अवस्थामा कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्ने रणनीति जसपाको रहेको छ ।  "कांग्रेस र एमालेसँग चुनावी तालमेल मात्र हुन्छ, एकता हुँदैन । किनभने यी दलसँग पहिचानको मुद्दा छैन । त्यही भएर आवश्यक ठाउँमा चुनावी तालमेल मात्र हुन्छ ।" प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग भने जसपाले चुनावी तालमेल र एकताका लागि सकरात्मक विकल्प खुला राखेको छ । नेकपासँग पहिचानका पक्षमा धेरै हदसम्म कुरा मिलेको र अन्य मुद्दा तथा एजेन्डामा पनि समान विचार रहेका कारण यो पार्टीसँग एकताका लागि छलफल गर्ने, एकता नभए तालमेलका लागि पहल गर्ने तयारी जसपाको छ । यी तीनै विकल्पको बारेमा कार्यकारिणी समितिको बैठकले अन्तिम टुङ्गो लगाउने जसपाका नेताहरूले बताएका छन् । 

"सकारात्मक भूमिका निर्वाह गरेर नै प्रचण्ड र मदन भण्डारीहरू उत्तराधिकारी भएका हुन्—यो कुरा भुल्नु हुँदैन ।"

काठमाडौं,  । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेलले पार्टीको एकता र सुदृढीकरणका लागि सबै सदस्यहरूलाई सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ । फेसबुकमार्फत सार्वजनिक गर्नुभएको सन्देशमा गजुरेलले पार्टीलाई 'आशाको दियो' को संज्ञा दिँदै यसलाई निभ्न नदिनु पर्नेमा जोड दिनुभएको छ ।   गजुरेलको पोस्टमा भनिएको छ, "नेपाली कम्युनिष्ट पार्टी आशाको दियो हो—निभ्न नदिऔँ ! सकिन्छ भने घिउ थपौं, सकिँदैन भने धारे हात नलगाऔँ !" उहाँले थप्नुभयो, "सकारात्मक भूमिका निर्वाह गरेर नै प्रचण्ड र मदन भण्डारीहरू उत्तराधिकारी भएका हुन्—यो कुरा भुल्नु हुँदैन ।" पार्टीभित्रका हालका चुनौतीहरूको सन्दर्भमा गजुरेलले आत्मकेन्द्रित सोच त्यागेर रचनात्मक आलोचना गर्न आग्रह गर्नुभएको छ । "अबको सन्दर्भमा—आफूतिर फर्कौं, आत्मरति त्यागौं । नकारात्मक मात्र नदेखौं, रचनात्मक आलोचना गरौं, जिम्मेवार बनौं, पार्टीलाई बलियो र विश्वासिलो बनाऔं !" भन्ने उहाँको भनाइ छ । नेकपा हाल माओवादी केन्द्रसहितका विभिन्न घटकहरूसँग एकीकरणको प्रक्रियामा छ । यसरी एकताबद्ध हुँदै जाँदा पार्टीभित्रका आन्तरिक द्वन्द्वहरू सम्बोधन गर्न आवश्यक रहेको गजुरेलको यो अपिलले संकेत गरेको छ । प्रचण्डसँगको आफ्नो निकटताको सन्दर्भमा पनि उहाँले सकारात्मक इतिहासलाई स्मरण गर्दै भविष्योन्मुख सोच विकास गर्न जोड दिनुभएको छ । यो सन्देशले पार्टीका कार्यकर्ता र नेताहरूबीच सकारात्मक छलफलको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।