आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४२ पैसा र बिक्रीदर १४२ रुपियाँ ०२ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ६८ पैसा र बिक्रीदर १६४ रुपियाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ८९ पैसा र बिक्रीदर १८६ रुपियाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ३७ पैसा र बिक्रीदर १७७ रुपियाँ १२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ २५ पैसा र बिक्रीदर ९२ रुपियाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ८० पैसा र बिक्रीदर १०१ रुपियाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ६३ पैसा र बिक्रीदर १०९ रुपियाँ १० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १७ पैसा र बिक्रीदर नौ रुपियाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८६ पैसा र बिक्रीदर १९ रुपियाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७१ पैसा र बिक्रीदर ३७ रुपियाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८० पैसा र बिक्रीदर ३८ रुपियाँ ९६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३७ पैसा र बिक्रीदर चार रुपियाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५१ पैसा र बिक्रीदर ३८ रुपियाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ १७ पैसा र बिक्रीदर ३४ रुपियाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९१ पैसा र बिक्रीदर १४ रुपियाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९२ पैसा र बिक्रीदर २२ रुपियाँ ०१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ १९ पैसा र बिक्रीदर १८ रुपियाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ४७ पैसा र बिक्रीदर ४६२ रुपियाँ ४३ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ०९ पैसा र बिक्रीदर ३७६ रुपियाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ३२ पैसा र बिक्रीदर ३६८ रुपियाँ ८८ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
माैसम पूर्वानुमान: कस्तो रहला आजकाे मौसम ?
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
भीम रावल नेतृत्वको समूह आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै
काठमाडौं । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा समाहित हुने भएको छ । रावलले पछिल्लो केही महिनादेखि देशभर पार्टी पुनर्संरचना र वैचारिक शुद्धताको अभियानका रूपमा ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका थिए । उक्त अभियानले एमाले नेतृत्वको पार्टी र हालको सत्तारूढ गठबन्धन दुवैको नीति तथा दिशाप्रति असन्तोष प्रकट गर्दै वैकल्पिक वाम एकताको आवश्यकता औंल्याउँदै आएको थियो । पार्टी निकट स्रोतका अनुसार गत आइतबार रावलले पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रकाश ज्वालालगायतका शीर्ष नेताहरूसँग विस्तृत छलफल गरेका थिए । सोही छलफलमा राष्ट्रिय स्वाधीनता, समाजवाद र समावेशी लोकतान्त्रिक रूपान्तरणका साझा मुद्दामा सहमति जुटेपछि रावल पक्ष नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय भएको बताइएको छ । समायोजनका लागि आज दिउँसो काठमाडौँकाे राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ नाम दिइएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय नेता, प्रदेश संयोजक, युवा तथा महिला संगठनका प्रतिनिधिहरूको व्यापक सहभागिता रहने जनाइएको छ । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले रावल नेतृत्वको अभियान आज औपचारिक रूपमा पार्टीमा प्रवेश गर्ने जानकारी दिँदै यस कदमले वाम एकता र वैचारिक स्थायित्वको नयाँ अध्याय खोल्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतका शीर्ष नेताहरू उपस्थित रहनेछन् । भीम रावलले विगतमा नेकपा (एमाले) भित्रै सुधारवादी प्रवृत्तिका विरुद्ध आवाज उठाउँदै स्वतन्त्र वामधाराको आवश्यकता औंल्याएका थिए । उनी पछिल्लो समय एमालेको नीतिगत दिशाबारे आलोचनात्मक दृष्टिकोण लिँदै पार्टी छाडेर ‘मातृभूमि जागरण अभियान’ स्थापनामा लागेका थिए । राजनीतिक विश्लेषकहरूका अनुसार रावलको समायोजनले नवगठित नेपाली कम्युनिस्ट पार्टीलाई वैचारिक स्पष्टता र संगठनात्मक सुदृढीकरणका दृष्टिले बल मिल्ने अपेक्षा गरिएको छ । उनका समर्थकहरूले यो कदमलाई “वाम शक्तिहरूको पुनःसंघटनतर्फको निर्णायक सुरुवात” का रूपमा लिएका छन् ।
कर्णाली प्रदेश सरकार रैथाने बाली संरक्षणमा जोड दिँदै
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशमा उत्पादन हुने नौ प्रकारका रैथाने बालीहरू— चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमी— लाई रैथाने बालीका रूपमा सूचीकृत गरेको छ। प्रदेश सरकारले यी अग्र्यानिक उत्पादनलाई व्यवस्थित गरी बिक्री गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मिलेर मिल स्थापनाको कामलाई अगाडि बढाएको छ। प्रदेश सरकारले रैथाने बाली जोगाउन, उत्पादन गर्न, बजारीकरण गर्न र प्रवद्र्धनका लागि ‘मूल्यवान् कर्णाली किसानका सम्पदा’ लेखिएको 'मूल्यवान्' लोगो कार्यक्रम लागू गरेको छ। प्रदेश प्राङ्गारिक कृषि ऐन, २०७६ मा उल्लेख भए अनुसार, प्रदेशको पहिचान झल्काउने गरी निजी तथा सहकारी क्षेत्रको सहभागितामा यो 'लोगो' प्रयोगको अनुमति र मापदण्ड निर्धारण गरिएको छ। यसको उद्देश्य छुट्टै पहिचानसहित मूल्य अभिवृद्धि गरी रैथाने बालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा परिचित गराउनु हो। 'मूल्यवान्' लोगो टाँस गरिएका प्याकेटमा तौल, उत्पादन मिति, उपभोग गर्न सकिने अधिकतम समय, किसिम, ग्रेड र उत्पत्ति स्थल स्पष्ट खुल्नुपर्ने लगायतका सर्तहरू राखिएका छन्। रैथाने बीउ लोपोन्मुख अवस्थामा पुगेपछि जिल्लास्थित कृषि विकास कार्यालयहरूले बीउ बैङ्क समेत स्थापना गरेका छन्। बाँझो जग्गा राख्नेलाई जरिवाना र खेती गर्नेलाई अनुदान प्रदेश सरकारले खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने व्यवस्थासहित आर्थिक ऐन, २०८२ लागू गरेको छ। ऐनअनुसार, १० रोपनीसम्म जमिन बाँझो राखेमा रु ५००, १० देखि २० रोपनी बाँझो राखेमा रु एक हजार, र २० रोपनीभन्दा बढी बाँझो राखेमा रु एक हजार ५०० जरिवाना लाग्नेछ। बाँझो जमिनमा खेती गर्नेलाई भने अनुदान, सहुलियत र कर्जा सुविधाको व्यवस्था गरिएको छ। पाँच हेक्टरभन्दा बढी जमिनमा खेती गर्नेको ऋणको सम्पूर्ण ब्याज प्रदेश सरकारले तिर्ने प्रबन्ध मिलाइएको छ, भने पाँच हेक्टरभन्दा कम क्षेत्रफलमा खेती गर्नेलाई ७ देखि १० प्रतिशतसम्म ब्याज अनुदान दिइनेछ। कर्णाली प्रदेशका ११ जिल्लामध्ये हाल सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, जुम्ला र रुकुम पश्चिम गरी ६ जिल्ला खाद्यान्नमा आत्मनिर्भर बनेका छन्। तर, आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार कालीकोट, मुगु, डोल्पा र हुम्लामा भने खाद्यान्न अभाव देखिएको मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशलाई पूर्ण रूपमा खाद्यान्नमा आत्मनिर्भर हुन वार्षिक तीन लाख ४६ हजार ८८४ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ। हाल वार्षिक तीन लाख ७६ हजार २१९ मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ। खाद्यान्न अपुग भएका जिल्लाहरूमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत दरमा खाद्यान्न वितरण गर्दै आएको छ। चालु आर्थिक वर्षमा दशैँ, तिहार लक्षित गरी २७ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन भइरहेका छन्। साथै, गत आर्थिक वर्षमा कर्णालीका पाँच जिल्लामा जन्म वा मृत्यु हुँदा एक हजार ६५ क्विन्टल चामल छुटसहित उपलब्ध गराइएको प्रादेशिक कार्यालयले जनाएको छ।
दाङको तुइसोताले खोला तर्नुपर्दा स्थानीयलाई सास्ती, नौ स्थानमा पुलको अभाव
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले खोलाका कारण त्यहाँका बासिन्दाले हरेक वर्ष ठूलो सास्ती भोग्नुपरेको छ। फूलबारीबाट बराखुट्टीसम्म पुग्न स्थानीयहरूले यही खोला नौ पटक तर्नुपर्छ, तर पनि खोलामा पक्की पुल नहुँदा निकै समस्या भएको छ। स्थानीय बालाराम घर्तीका अनुसार, सो क्षेत्रमा एउटा पनि पक्की पुल छैन। यसका कारण सवारी साधन (गाडी) को आवतजावतमा पनि समस्या हुने गरेको छ। उनका अनुसार, तीन स्थानमा झोलुङ्गे पुल भए पनि अन्य छ स्थानमा पुल निर्माण भएका छैनन्। झोलुङ्गे पुलहरू बराखुट्टी र गाईखुट्टीको बीचमा, साजखुट्टी र बराखुट्टी जोड्ने स्थानमा तथा अमुवापुरमा गरी तीन स्थानमा मात्र छन्। यी झोलुङ्गे पुलले आवतजावतमा केही सहजता ल्याए पनि अन्य छ वटा स्थानमा झोलुङ्गे पुलसमेत नहुँदा बर्सातको समयमा स्थानीयलाई निकै समस्या हुने घर्तीको भनाइ छ। उनले भने, "हामीले त्यही खोला नौ ठाउँमा तर्नु पर्छ। तीन ठाउँमा पुल बनेकाले सहज भए पनि अन्य ठाउँमा एकदमै गाह्रो छ।" गिधनियामा सात वर्षअघि निर्माण सुरु गरिएको पुल पनि अलपत्र अवस्थामा छ। अहिले त्यहाँ दुईवटा पिल्लर मात्रै ठडिएका छन् र निर्माण कार्य अगाडि बढ्न सकेको छैन। पुल यसरी बीचमै अलपत्र परेपछि स्थानीय भक्तबहादुर बस्नेतले आफूहरू आजित भएको बताए। "बन्न लागेका पुल पनि बीचमै अलपत्र छन्," उनले भने, "यसरी त हामी निकै मारमा परेका छौँ।" यसैबीच, हाल सोही ठाउँको मजघटुवामा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ। नगर प्रमुख टिकाराम खड्काका अनुसार उपमहानगरपालिकाले त्यसका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ र उपमहानगरपालिकाभित्रकै पहिलो 'बक्स पुल' निर्माणका लागि सोही स्थानमा सर्भे भइरहेको छ। नगर प्रमुख खड्काले उक्त पुल आउँदो जेठसम्म सक्नेगरी तयारी गरिएको र पुल निर्माण भएपछि मजघटुवा, रनियापुर, बराखुट्टी, सासखुट्टी, मन्नामेलगायतका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दालाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे।
मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी
मनाङ । हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ पदमार्गको प्रारम्भिक अध्ययन सुरु गरेको छ । मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रायोजनमा पदमार्ग सर्वेक्षण सुरु गरिएको छ । हाल मनास्लु आरोही काठमाडौँबाट गोरखाको आरुघाट, सामागाउँ हुँदै यात्रा गर्छन् । पूर्वतर्फबाट मनास्लु आरोहण सुरु गर्छन् । तर, मनाङको नासोँ गाउँपालिकाले काठमाडौँबाट लमजुङको बेंसीसहर हुँदै धारापानी, तिल्चे, गुवा, सुती खोला, याकखर्क हुँदै भीमथाङमा बास बसेर पश्चिमतर्फबाट आरोहणको सम्भावनाबारे अध्ययन सुरु गरेको छ । सामागाउँ र भीमथाङ दुवैतर्फको आरोहण मार्ग छ हजार मिटर उचाइ क्याम्प थ्रीमा पुगेर मिसिन्छ । गोरखामा पर्ने यस हिमाल आठ हजार १६३ मिटर अग्लो छ । सन् १९५६ मे ९ मा जापानका टी इमानिस र नेपालका ग्याल्सेन नोर्बुले यस हिमालको पहिलो पटक आरोहण गरेका थिए । त्यतिबेला भीमथाङबाटै आरोहण भएको र पछि पदमार्गमा क्षति पुगेपछि सामागाउँतर्फबाट आरोहण थालिएको नासोँ गाउँपालिका अध्यक्ष गुरुङले बताए। पुनःभीमथाङबाट आरोहणको सम्भावनाबारे प्रारम्भिक अध्ययनमा संलग्न कर्मा शेर्पाले थप अध्ययन आवश्यक रहेको बताए । “हामी जाँदा हिउँ थियो, त्यसैले थप अध्ययन आवश्यक छ”, उनले भने, “भीमथाङतर्फको मार्गमा पहिरोको जोखिम कति छ । सहज हुन्छ कि हुँदैन भन्ने जस्ता विभिन्न प्राविधिक विषयको अध्ययन गर्नुपर्ने देखिन्छ ।” शेर्पाले पहिलो चरणमा फोटो/भिडियो खिचेर ल्याएको र अनुभवी आरोहीबाट त्यसको विश्लेषण गरेर निष्कर्ष निकाल्न बाँकी रहेको बताए । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले अनुभवी माउण्टेन गाइडको सहभागितामा प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेको तर निष्कर्ष आउन बाँकी रहेको बताए । यदि भीमथाङतर्फको मार्गबाट आरोहण गर्न सम्भाव्यता पुष्टि भएमा सबैभन्दा सजिलो र छोटो मार्ग यही हुने उनले बताए। “हामीले भीमथाङबाट मनास्लु आरोहणको सपना देखेका छौँ”, अध्यक्ष गुरुङले भने, “यदि यो सफल भएमा नेपालको आठ हजार मिटरभन्दा माथि बेस क्याम्पसम्म पुग्ने छोटो दुरीको पदमार्ग भनेको नै यही हुनेछ ।” काठमाडौँबाट लमजुङको बेंसीसहर हुँदै मनाङको तिल्चे गाउँसम्म बस वा गाडीमा यात्रा गर्न सकिन्छ । त्यसपछि तिल्चेबाट पैदल हिँडेर गुवा, सुती खोला, याकखर्क हुँदै भीमथाङमा बास बस्न सकिन्छ । त्यहाँबाट सिँधै मनास्लुको बेस क्याम्पमा साढे दुई दिनमै पुग्न सकिन्छ । यस मार्ग मनास्लु आरोहणको सबैभन्दा छोटो दुरी रहेको गाउँपालिका अध्यक्ष गुरुङले बताए। यस पदमार्गमा करिब ३० वटा होटल रहेका छन् । तीन हजार ७०० मिटरको उचाइमा रहेको भिमथाङमा मात्रै ११ वटा होटल रहेका छन् । यहाँ मात्रै ५०० जना अट्न सक्ने क्षमता रहेको छ । उनले भने, “हिमाल आरोहणका लागि सकारात्मक आउने विश्वास छ र आगामी दिनमा यही छोटो रुटबाट मनास्लु आरोहण गर्न पाइनेछ । मितव्ययिताको साथ छोटो दुरीको पदयात्रामार्फत आठ हजार मिटर माथिको हिमाल आरोहण गर्न सकिन्छ कि भनेर सर्वेक्षण गरिरहेका छौँ । यस सर्वेक्षणले सफलता पाउने अपेक्षा गरेका छौँ ।” अहिले धारापानीबाट पदयात्रामार्फत तिल्चे, गुवा, सुती खोला, याकखर्क, भीमथाङ हुँदै मनास्लु आरोहणका लागि जाने गर्दछन् । छोटो समयमा पुग्ने भएकाले यस मार्गलाई केही आरोहीले मनाङको पदमार्ग हुँदै यस हिमाल आरोहण गर्ने गरेका छन् । आरोही तथा पथप्रदर्शकले मनास्लु आरोहणमा जाँदा यस मार्ग छोटो पर्ने गरेका बताउँछन् । यस सर्वेक्षणले मार्ग पहिचान तथा अनुमति पाएमा आरोही तथा पथप्रदर्शकलाई सहज हुनेछ ।
मकवानपुरमा माेटरसाइकलकाे ठक्करबाट पैदलयात्रुको मृत्यु
मकवानपुर । मकवानपुर बकैया गाउँपालिका –३ हात्तीसुडेस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु छ । मंगलबार साँझ हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानका खडकबहादुर घलानको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट घाइते भएका ७१ वर्षीय घलानको चुरेहिल अस्पताल हेटौँडामा उपचारको क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । मोटरसाइकल चालक बकैया गाउँपालिका ७ का २५ वर्षीय देवराज विक र मोटरसाइकलमा पछाडि सवार मकवानपुरको बागमती गाउँपालिका ६ का २० वर्षीय देवराज धानुकी घाइते भएको स्थानीय हात्तीसुडे मेडिकलमा उपचार गरिएको छ । सामान्य उपचार पश्चात् डिस्चार्ज भएका मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
स्थानीय कामको तथ्याङ्कीय गणना अभाव
काठमाडौं । स्थानीय तहमा भएका भौतिक विकास र त्यसबाट प्राप्त रोजगारीको उपलब्धि अझै पनि सङ्घीय सरकारको प्रणालीभित्र समावेश हुन सकेको छैन । खानेपानी, सडक, विद्यालय भवन, ढललगायत पूर्वाधार निर्माण भए पनि तिनको अद्यावधिक तथ्याङ्क सङ्घीय सरकारले एकीकृत रूपमा प्राप्त गर्न सकेको छैन् । सङ्घीयता लागू भएको आठ वर्ष बितिसक्दा पनि ७५३ वटै स्थानीय तहमा भएका विकास निर्माण र रोजगारीका उपलब्धि कुनै पनि मन्त्रालय वा आयोगले एकमुष्ट रूपमा पेस गर्न सक्ने प्रणाली बनाइएको छैन । तीन वर्षअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो एकद्वार प्रणाली तयार गर्ने तयारी गरे पनि त्यसले पूर्णता पाउन सकेको छैन । मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार विषयगत मन्त्रालयबाट रिपोर्टिङ हुने व्यवस्था नहुँदा स्थानीय तहले गरेका विकास र रोजगारीका उपलब्धिको जानकारी सङ्घीय सरकारसम्म एकीकृत रूपमा आउन सक्दैन । उनले भने, “सबै मन्त्रालयले रिपोर्टिङ गर्ने प्रणाली नबनेकाले स्थानीय तहको उपलब्धि राष्ट्रिय प्रणालीसँग जोडिन सकेको छैन ।” स्थानीय जनप्रतिनिधिले पनि स्थानीय तहका उपलब्धि राष्ट्रिय प्रणालीमा ल्याउने संयन्त्र तत्काल बनाउनुपर्ने बताउँछन् । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीका अनुसार स्थानीय तहले खानेपानी, सडक, शिक्षा र स्वास्थ्यमा उल्लेख्य काम गरेका छन् तर त्यस्तो तथ्याङ्क सङ्घीय सरकारले एकीकृत रूपमा संकलन गर्न सकेको छैन । गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले स्थानीय सरकारका उपलब्धि एकद्वार प्रणालीबाट सङ्घीय सरकारमा पठाउने व्यवस्था गर्न आग्रह गरे । उनका अनुसार स्थानीय तहमा भएका संरचनागत विकास र रोजगारीका तथ्याङ्क राष्ट्रिय प्रणालीमा समावेश हुँदा नीति, योजना र बजेट निर्माणमा सघाउ पुग्नेछ ।
फागुन पहिलो साता दसौँ राष्ट्रिय खेलकुद कर्णालीमा
काठमाडौं । सरकारले आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । कात्तिक २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा २५६ जना अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ । ती दरबन्दी कान्ति बाल अस्पताल, स्वास्थ्य बिमा बोर्ड, गेटा अस्पताल, सुशील कोइराला क्यान्सर अस्पताल र डडेलधुरा अस्पतालका लागि स्वीकृत गरिएका हुन् । त्यसै गरी मन्त्रीपरिषद्ले एमसिए–नेपालले निर्माण गर्ने ४०० केभी प्रसारण लाइनको मध्यरेखाबाट २३/२३ मिटर दायाँ–बायाँ पर्ने करिब १,३८१ हेक्टर क्षेत्रमा संरचना निर्माण तथा रुख रोप्न निषेध गर्ने निर्णय गरेको छ । साथै, राष्ट्रिय परिचयपत्र तथा व्यक्तिगत घटना दर्ता नियमावली (दोस्रो संशोधन) २०८२ स्वीकृत गरिएको छ ।
भारतमा सुनचाँदी चोरी, नेपालमा पक्राउ
कैलाली । भारतमा सुनचाँदी चोरी गरेको आरोपमा चार जना नेपालीलाई नेपाल–भारत सीमा नाका गौरीफन्टाबाट पक्राउ गरिएको छ । भारतको महाराष्ट्रबाट सुनचाँदी चोरी गरी नेपालतर्फ ल्याउँदै गर्दा उनीहरूलाई भारतीय सुरक्षाकर्मीले सीमा नजिकै पक्राउ गरेका हुन् । पक्राउ परेका व्यक्तिहरूमा कैलालीका ५६ वर्षीय खेमराज देवकोटा, ४७ वर्षीय जीवनकुमार थारु, सुर्खेतका ३७ वर्षीय भुवनसिंह चलाउने र बर्दियाका २५ वर्षीय दीपकबहादुर सिंह रहेका छन् । भारतीय प्रहरीले उनीहरूको साथबाट ६१६.९ ग्राम सुन र ७८०.८ ग्राम चाँदी बरामद गरेको जनाएको छ । महाराष्ट्रको क्राइम ब्रान्च र गौरीफन्टा बीओपी चेकपोष्टको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि भारतको खीरीमा लगिएको भारतीय पक्षले जनाएको छ । उक्त घटनाबारे जानकारी नआएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताएका छन् ।
उदयपुरमा जेन-जी पुस्ता मतदाता नामावली दर्ताका लागि सामूहिक रुपमा आउन थाले
उदयपुर । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उदयपुरका जेन–जी युवा पुस्तामा मतदाता नामावलीमा दर्ता गराउने चहलपहल बढ्न थालेको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार हाल गाउँ–गाउँका युवा सामूहिक रूपमा गाडी रिजर्भ गरेरै नामावली दर्ता गर्न कार्यालयमा आउन थालेका छन् । निर्वाचन कार्यालयका प्रमुख दीपक दाहालका अनुसार गत सोमबार मात्र कटारी नगरपालिकाबाट ५३ जना युवाको समूह मतदाता नामावली बनाउन कार्यालय पुगेको थियो । उनले भने, “सबैको नाम दर्ता गरेर पठाइसकिएको छ। आज (बुधबार) बेलका नगरपालिकाबाट पनि समूह आउने तयारीमा छन् । कटारीबाट थप समूह आउने जानकारी पनि आएको छ । तर, भीड नियन्त्रणका लागि हामीले समूहगत रूपमा नभई क्रमशः आउन आग्रह गरेका छौँ ।” उनका अनुसार असोज १० गतेदेखि हालसम्म उदयपुरमा ९९४ पुरुष र ६५३ महिला गरी १,६४७ नयाँ मतदाता थपिएका छन् । दाहालले बताए अनुसार कात्तिक १६ गतेसम्म जिल्लाको कुल मतदाता संख्या दुई लाख ३० हजार ८८७ पुगेको छ । कात्तिक १६ देखि २५ गतेसम्मको विवरण अझै समावेश नभएकाले संख्या अझ बढ्ने उनले जानकारी दिए । यसैबीच, जिल्ला निर्वाचन कार्यालयले जिल्लाभरका मतदान केन्द्र र मतदान स्थलको पुनरावलोकन सुरु गरेको छ । कार्यालय प्रमुख दाहालका अनुसार हालका १०१ वटा मतदान स्थलमा पाँच वटा नयाँ मतदान स्थल थप्ने प्रस्ताव केन्द्रीय निर्वाचन आयोगमा पठाइएको छ । उनका अनुसार त्रियुगा नगरपालिकामा तीन र कटारी नगरपालिकामा दुई मतदान स्थल थप्ने सिफारिस गरिएको छ भने जिल्लाका २६४ वटा मतदान केन्द्र यथावत् राखिएका छन् ।
प्रतिक्रियावादीको षड्यन्त्रलाई परास्त गर्न गाउँगाउँमा, टोलटोलमा शक्ति बनाउने बारे सोच्दैछौँ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीले महाधिवेशनबाट युवाहरुलाई नेतृत्वमा स्थापित गर्ने बताउनु भएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा विद्यार्थी नेताहरुसँगको अन्तरक्रियामा प्रचण्डले आगामी महाधिवेशनबाट युवाहरुलाई नै प्राथमिकतामा राखेर नेतृत्वमा स्थापित गरिने बताउनु भएको छ । प्रचण्डले जेनजी आन्दोलनको सन्देशअनुसार आफ्नो पार्टी रुपान्तरण हुने बताउनु भयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले भएको पार्टी एकता विगतमा जस्तो नभएर दिगो हुने बताउनु भयो । उहाँले भन्नुभयो, 'विगतमा लिडरसीप ठिकठाउँमा नउभिएपछि पहिले नेकपा अगाडि बढ्न सकेन । अहिले त्यसो हुँदैन ।' पार्टीहरुलाई सिध्याएर राष्ट्रलाई उपनिवेश बनाउन एकथारी मानिसहरु लागेको बताउँदै प्रचण्डले युवा विद्यार्थीले नै त्यस्तो षड्यन्त्रलाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो । प्रचण्डले राष्ट्र बचाउन पार्टीले शक्ति बनाउने बारे सोचिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, 'राष्ट्र बचाउन, आन्दोलन बचाउनका लागि हामीले शक्ति बनाउने बारे सोच्दै छाँै । गाउँ गाउँमा, टोलटोलमा, कलेज कलेजमा हामीले प्रतिक्रियावादीको षड्यन्त्रलाई पराजित गर्न कुनै न कुनैरुपमा शक्ति बताउनेबारे सोच्दैछौँ ।' प्रचण्डले नेपालको विद्यार्थी आन्दोलनले अग्रणी भूमिका खेलको भन्दै प्रसंशा गर्नुभयो । उहाँले भन्नुभयो, 'विद्यार्थी आन्दोलनले नै नेपालमा प्रगतिशील विचारको आधार तयार पारेको छ । विगतदेखि नै हामीले भोगेर आएका छौँ, देखेर आएका छौँ ।'
जुम्लाका गाउँ गाउँमा नेपाली कम्युनिष्ट पार्टीको 'एकता'को भव्य स्वागत
जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को संयोजकत्व बनेको नेपाली कम्युनिष्ट पार्टीको एकताको जुम्लाका गाउँ गाउँमा भव्य कार्यक्रम गरेर स्वागत गरिएको छ । जुम्लाका सबैजसो वडाहरुमा नेकपा माअोवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न १० पार्टी तथा समूह मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको एकीकृत कमिटी बनाइएको छ। स्थानीय बासिन्दाले नेपाली कम्युनिष्ट पार्टीको एकतालाई स्वागत गरेका छन् । जुम्लाको हिमा गाउँपालिका ६ मा हालै एकताको सन्देश दिने कार्यक्रमसमेत अयोजना गरिएको छ । यसले पार्टीको एकीकृत कमिटी निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
राजनीतिक पार्टी र नेताहरु यत्रो जेन जी विद्रोह पछि पनि चेतेका छैनन् : नारायणकाजी श्रेष्ठ
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले मधेस प्रदेशमा कथित मुख्यमन्त्रीलाई होटेलमा शपथ गराइएको घटनालाई लिएर राजनीतिक पार्टीहरूको शुद्धीकरण र रूपान्तरणको मुद्दालाई सार्थक बनाउन जोडदार आवाज उठाउनुपर्ने बताएका छन्। उनले फेसबुकमा लेखेको स्टाटसमा जेनजी विद्रोह पछि पनि पाठ नसिकेको भन्दै यो घटनाको आलोचना गर्दै भने, "हिजो मधेस प्रदेशमा तत्कालीन प्रदेश प्रमुख मार्फत एक होटेलमा जुन प्रकारले कथित मुख्यमन्त्रीलाई शपथ गराइयो, यसले के स्पष्ट गर्दछ भने राजनीतिक पार्टी र नेताहरु यत्रो जेनजी विद्रोह पछि पनि चेतेका छैनन्।" नेता प्रकाशले जेनजी विद्रोहको प्रमुख मुद्दा राजनीतिक पार्टीहरूको शुद्धीकरण र रूपान्तरण भएको स्मरण गर्दै भने, "जेनजी विद्रोहको एउटा प्रमुख मुद्दा राजनीति र राजनीतिक पार्टीहरुको शुद्धिकरण र रुपान्तरण हो भन्ने कुरा लाई लत्याएर अघि बढ्न खोज्ने प्रवृत्ति प्रमुख राजनीतिक पार्टी र नेताहरुमा अहिले पनि विभिन्न घटनाहरुमा देखिएका छन्, जुन ज्यादै घातक छ।" उनले आन्दोलनकारीहरू र समर्थकहरूलाई अपिल गर्दै भने, "तसर्थ जेनजी विद्रोहकाआन्दोलनकारीहरू र यो विद्रोहको सकारात्मक पक्षलाई समर्थन गर्ने सबैले पुनः एकपटक राजनीतिक पार्टीहरूको शुद्धीकरण तथा रुपान्तरणको मुद्दालाई सार्थक एवं परिणाममुखी बनाउन जोडदार रुपमा आवाज उठाउनु पर्ने भएको छ।" यो स्टाटस मधेस प्रदेशको राजनीतिक विवादसँग जोडिएको छ, जसमा होटेलमा नै शपथ ग्रहण गराइएको घटनाले संवैधानिक प्रक्रियामाथि प्रश्न उठाएको थियो।
गुरु फाल्गुनन्द नेपाली समाज रूपान्तरणको प्रगतिशील यात्रामा प्रेरणाका श्रोत हुनुहुन्छ: प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले समाज सुधारक तथा किराँत संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान पुर्याउने राष्ट्रिय विभूति गुरु फाल्गुनन्दको १४१औँ जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । फेसबुक स्टाटसमार्फत गुरु फाल्गुनन्दको ऐतिहासिक योगदानको उच्च प्रशंसा गर्दै प्रचण्डले बताउनुभयो, "समाज सुधारक तथा किराँत संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान पुर्याउनु भएका राष्ट्रिय विभूति गुरु फाल्गुनन्दको १४१औँ जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।" प्रचण्डले भन्नुभयो, "जहानियाँ राणा शासनकालको दमन र नियन्त्रणको कठिन परिस्थितिमा पनि उहाँले भाषा, लिपि, शिक्षा र समाज सुधारका लागि निरन्तर अभियान चलाउँदै ‘सत्य धर्म मुचुल्का’ स्थापनाद्वारा सत्य, सदाचार र सांस्कृतिक पहिचानको मार्ग प्रस्तुत गर्नुभयो। किराँत समुदायलाई सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा विकासको मूलधारमा ल्याउन, समुदायको पहिचान र आत्मसम्मानको संरक्षण र प्रवर्धन गर्न उहाँले पुर्याउनु भएको योगदान ऐतिहासिक र दिशानिर्देशक छ।" उहाँले गुरु फाल्गुनन्दलाई नेपाली समाज रूपान्तरणको प्रगतिशील यात्रामा उज्यालो प्रेरणाका स्रोत भएको बताउनु भयो । उहाँले भन्नुभयो, "गुरु फाल्गुनन्द नेपाली समाज रूपान्तरणको प्रगतिशील यात्रामा उज्यालो प्रेरणाका श्रोत हुनुहुन्छ। उहाँको आदर्श, विचार र योगदानले हामीलाई आत्मसम्मान र सांस्कृतिक रूपमा समृद्ध समावेशी समाज निर्माणतर्फ अघि बढ्न निरन्तर प्रेरणा प्रदान गरिरहनेछ।" गुरु फाल्गुनन्द किराँत समुदायका धार्मिक तथा सामाजिक सुधारक व्यक्तित्व हुन्, जसले राणा शासनकालमा नै किराँत संस्कृति, भाषा र समाज सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको कुनै विकल्प छैन: खिमलाल देवकोटा
काठमाडौँ । संविधानविद् तथा नेपाली कम्युनिष्ट पार्टीका नेता खिमलाल देवकोटाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको कुनै विकल्प नरहेको बताएका छन्। उनले निर्वाचनमार्फत प्रतिनिधि सभा पुनर्स्थापना गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। मङ्गलवार नेपाल कानुन समाजद्वारा काठमाडौँमा आयोजित 'प्रतिनिधि सभाको निर्वाचन: चुनौती र अवसर' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता देवकोटाले वर्तमान सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने मुख्य जिम्मेवारी पाएकोले त्यसभन्दा दायाँबायाँ सोच्न नमिल्ने तर्क गरेका हुन्। उनले भने, "प्रतिनिधि सभाको विघटन भएको हो। त्यो प्रतिनिधि सभाको निर्वाचनमार्फत पुनर्स्थापना गर्ने कुरा हो। दोस्रो कुरा, यो सरकारले निर्वाचन घोषणा गरेको पनि होइन। राष्ट्रपतिले 'फागुन २१ गते निर्वाचन गर्ने तपाईँको जिम्मेवारी हो' भनेर तोर दिनुभएको हो।" उनले थपे, "यो सरकारले फागुन २१ गते चुनाव गर्नका लागि मन्जुर गरेर त्यो कुर्सी लिएर आएको हो। त्यसकारण त्यसभन्दा भिन्न ढङ्गले मैले सोच्ने ठाउँ छैन। त्यसकारण निर्वाचनमार्फत प्रतिनिधि सभा आउने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो।" यसैगरी, नेता देवकोटाले मुलुकलाई अगाडि बढाउन प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने शासन व्यवस्था उपयुक्त हुने धारणा पनि व्यक्त गरे।

