एकैदिन सुनको मूल्यमा चार हजार नौ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा मङ्गलबार एकैदिन सुनको मूल्यमा करिब चार हजार नौ सय रुपियाँले बढेको छ ।
अघिल्लो दिनको तुलनामा आज प्रतितोला चार हजार नौ सय रुपियाँले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपियाँ तोकेको छ ।
अघिल्लो दिन दुई लाख ४१ हजार पाँच सय रुपियाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १०५ रुपियाँ बढेको छ । अघिल्लो दिन तीन हजार ६५ रुपियाँ रहेको चाँदी आज तीन हजार १७० रुपियाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा फेरि सुनचाँदीको मूल्य उच्च दरमा बढेसँगै नेपाली बजारमा प्रभाव परेको छ ।
बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर धानबालीमा क्षति
सिरहा । मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण जिल्लामा करिब १० हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ । जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका कृषि शाखाले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार करिब १० हजार ७२८ हेक्टर क्षेत्रमा रहेका धानबालीमा क्षति पुगेको हो । कृषि शाखाबाट प्राप्त विवरणअनुसार लहान नगरपालिकामा सबैभन्दा बढी दुई हजार २३२ हेक्टर, औरही नगरपालिकामा एक हजार ३५८ हेक्टर र नरहा गाउँपालिकामा करिब ८०० हेक्टर क्षेत्रमा धानबालीमा क्षति पुगेको छ । लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साहका अनुसार किसानले लगाएका बासमती र सुक्खा प्रजातिका धानमध्ये करिब ५० प्रतिशत बालीमा क्षति पुगेको छ । उनका अनुसार किसानले राम्रो मूल्य पाउने आशामा उन्नत जातका धान लगाएका थिए । पूर्व–पश्चिम लोकमार्गबाट दक्षिणतर्फका अधिकांश क्षेत्र बोरिङ, भूमिगत सिँचाइ र कमला नहर प्रणालीबाट सिञ्चित क्षेत्र भएकाले त्यहाँ लगाइएका उन्नत जातका धानमा बढी क्षति पुगेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । “पाक्न लागेको धानमा वर्षाले क्षति पुर्याएपछि स्वतः उत्पादन घट्ने निश्चित छ”, केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भने, “धानका बोट ढलेका कारण दाना कुहिने र उत्पादन घट्ने अवस्था देखिएको छ ।” केन्द्रका अनुसार जिल्लामा ५४ हजार हेक्टरमा वर्षे र एक हजार ३४५ हेक्टरमा चैते धानखेती हुँदै आएको छ । अघिल्लो वर्ष ५५ हजार ३४५ हेक्टर क्षेत्रमा दुई लाख २८ हजार ६९६ मेट्रिकटन धान उत्पादन भए पनि यो वर्ष उत्पादनमा उल्लेख्य कमी आउने अनुमान गरिएको छ ।
आज महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै
काठमाडौं । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती मंगलबार (आज) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । यसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो । किरात समाज सुधारमा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले राससलाई जानकारी दिए ।
माैसम पूर्वानुमान: आज तराईमा माैसम सफा हुने, हिमाली क्षेत्रमा आंशिक बदली
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्र सञ्चालन हुने
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित रहेकाले आगामी वसन्तयाम (स्प्रिङ) मौसमभित्र सञ्चालन हुने गरी तयारी भइरहेको छ । यो करिब २०० मिटर जति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको उनले बताए । खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा सञ्चालनमा ल्याइएको विश्व पर्वतारोहण महासङ्घका विज्ञ एवं पर्यटनविद् आङ्छिरिङ शेर्पा बताए । उनका अनुसार खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्गको नामले परिचित नुप्सेतर्फको उक्त बाटो उपयोगविहीन भएको हो । यो बाटो खुम्बु आइसफलतर्फको भन्दा धेरैगुणा सुरक्षित र भरपर्दो रहेको उनको भनाइ छ । सोही मार्गको खोजी, अनुसन्धान तथा पुनः सञ्चालनका लागि विश्वविख्यात आरोही तथा अनुसन्धानकर्ता काजी शेर्पा, फ्रान्सका आरोही मार्क वटाई र फ्रान्सकै अर्का विश्वविख्यात आरोही एन्ट्वान एरोेलाई जिम्मा दिइएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए । उनका अनुसार नुप्से हिमालको फेदीमा सगरमाथा आधार शिविर हुने गरी उक्त मार्ग निर्माणको करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । बाँकी २० प्रतिशत कार्य पूरा गरी आगामी वसन्तयाम (फागुन–चैत) भित्रमा सञ्चालन गर्ने गरी तयारी भइरहेको विभागका निर्देशक गौतमले बताए । “विश्वविख्यात आरोही नेपालका काजी शेर्पा र सगरमाथा आरोही फ्रान्सका मार्क वटाईको टोली सक्रिय भएका छन्, मन्त्रिपरिषद्को निर्णयअनुसार विभागले अनुमति दिइसकेको छ”, उनले भने, “यद्यपि त्यसका लागि सरकारको आर्थिक लगानी भने गरेको छैन ।” फ्रान्सस्थित विभिन्न पर्वातारोहण सङ्घसंस्थाको आर्थिक सहयोगमा पर्यटन मन्त्रालयले उक्त ऐतिहासिक बाटोलाई वैकल्पिक रूपमा खुलाउन लागेको गौतमले जानकारी दिए । “सगरमाथा आरोहणका लागि अहिले सञ्चालनमा रहेको खुम्बु आइसफल हुँदै क्याम्प एकसम्मको बाटो असाध्यै जोखिमयुक्त मानिन्छ । बर्सेनि आधा दर्जनभन्दा बढी आरोहीले अरोहणका क्रममा सगरमाथा क्षेत्रमा ज्यान गुमाउने गरेका छन् । तीमध्ये एक चौथायी घटना खुम्बु आइसफलमा हुने गरेको छ”, विभागका निर्देशक गौतमले भने । सगरमाथा आरोहण गर्दा पहिलो जोखिम भनेको खुम्बु आइसफलमा हो । यहाँ हिउँ पग्लने, फाट्ने भइरहने हुनाले धेरै खतरा मोलेर जानुपर्ने सगरमाथा आरोही विजय घिमिरेले बताए । नयाँ मार्ग नुप्सेको फेदीबाट खुम्बु आइसफल छलेर जाने भएकाले अत्यन्त उपयोगी र कम जोखिमयुक्त हुनसक्ने उनको भनाइ छ । सोही बाटो हुँदै ७२ वर्षअघि तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा शिखरमा पाइला टेकेका थिए । यही पुरानो मार्गलाई पुनः जीवन दिने गरी करिब १० जना विश्वविख्यात आरोहीसहितको समूहले करिब तीन वर्षअघिदेखि सक्रिय नयाँ पदमार्ग खोजी गरेको खोज तथा अनुसन्धानकर्ता काजी शेर्पाले बताए । उनका अनुसार आगामी वसन्तयाम (स्प्रिङसिजन) भित्र सो आरोहण मार्ग औपचारिक रूपमा खुल्ने तयारी तीव्र गतिमा अघि बढेको छ । काजीले भने, “यो केबल हिमाल आरोहणको बाटो होइन । यो नेपालको इतिहास, गौरव र पहिचानको पुनर्जन्म हो, जसमा यसपटक स्थानीय समुदाय, नेपाली आरोही, अन्तर्राष्ट्रिय दाताहरू र नेपाल सरकार सबैको सहकार्य जोडिएको छ । अहिलेसम्म पूरै मार्गको ८० प्रतिशत काम पूरा भइसकेको छ । बाँकी काम आगामी मार्च–अप्रिल अर्थात् वसन्तयामभित्र सक्ने लक्ष्य राखिएको छ ।” सरकारद्वारा अनुमति प्राप्त सगरमाथाका लागि ऐतिहासिक उक्त मार्ग खुलाउन सरकारले काजी शेर्पा र फ्रान्सका मार्क वटाईको नेतृत्वमा अनुमति प्रदान गरेको छ । सङ्घीय सरकारको २०८१ पुस २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा र वटाईको टोलीलाई लिखित रूपमा अनुमति दिइएको विभागका निर्देशक गौतमले जानकारी दिए । विभिन्न फ्रान्सेली संस्था तथा दाताहरूको आर्थिक सहयोगमा काम अघि बढे पनि अन्य सहयोग र समन्वयमा सङ्घीय सरकारअन्तर्गत पर्यटन विभागको साथ रहेको उक्त समूहको नेतृत्व लिनुभएका शेर्पाले बताए । विभागले आरोही शेर्पाको नेतृत्वमा रहेको समूहलाई छ हजार १०० मिटर उचाइसम्म मार्ग विस्तार र निश्चित मार्ग निर्माणको लिखित अनुमति दिएको छ । “सगरमाथा क्याम्प एकसम्म मात्रै अनुमति दिइएको छ । क्याम्प एकभन्दा माथि जाने बाटो भने एउटै छ”, पर्यटन विभागका निर्देशक गौतमले भने । यो मार्ग सञ्चालनमा ल्याउन सके आरोहण यामका बेला हालको आधार शिविरमा भइरहेको मानवीय चाप, कोलाहल तथा प्रदूषणलाई कम गर्न सकिने विभागको विश्वास छ । यो परियोजना नेपालको पर्वतारोहण इतिहाससँग सम्बन्धित भएकाले मन्त्रालयको सहमति र पर्यावरणीय स्वीकृतिसहित अघि बढाइएको गौतमले बताए । उनले भने, “हामीले यसलाई सुरक्षित र स्थायी बनाउन सबै प्राविधिक मापदण्डमा ध्यान दिएका छौँ ।” स्थानीय र अन्तर्राष्ट्रिय सहकार्यको नमुना यो अभियानको विशेषता केबल सरकारी परियोजना मात्र नभएर मुलुकको इतिहाससँग जोडिएको विज्ञको भनाइ छ । यस अभियानमा हिमालयन एक्सपेडिसन लुम्बिनी विकास कोषका गुडविल एम्बासडर तथा ग्रिसका कन्सुलर विक्रम पाँडेकाजीले पनि आर्थिक सहयोग गरेका छन् । साथै पर्यटन विभागका तत्कालीन महानिर्देशक डा नारायणप्रसाद रेग्मीले प्राविधिक र नीतिगत समन्वयमा सक्रिय रूपमा साथ दिएको शेर्पाले उल्लेख गरे । फ्रान्सका एन्तोनियो इरोडले पनि उक्त टोलीसँग जोडिएर काम गरिरहेका छन् । “यो केबल मार्ग निर्माण होइन, यो विश्वका आरोहीहरूसँग नेपालको पुरानो सम्बन्ध पुनः स्थापना हो”, इरोडले भने । उनका अनुसार अहिलेसम्म करिब २२० वटा निश्चित खुट्किला तयार भइसकेका छन् । “यसले आरोहणमा प्रयोग हुने सुरक्षा डोरी र सिँढीहरूको आधार तयार गर्छ । कूल करिब २७० वटा खुट्किला बनाउनुपर्नेमा बाँकी ५० वटाको काम आगामी फागुन, चैतभित्र सम्पन्न हुने योजना छ”, उनले भने । चार लाख अमेरिकी डलरको अनुमानित लागत यो मार्ग पूर्ण रूपमा तयार गर्नका लागि करिब चार लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । अहिलेसम्म तीन लाख डलर खर्च भइसकेको आरोही काजी शेर्पाले बताए । बाँकी एक लाख डलर दाताहरूले अझै सङ्कलन गरिरहेको उनको भनाइ छ । शेर्पाले भने, “मुख्य सहयोग फ्रान्सका पर्वतारोहण प्रेमी र निजी दाताबाट आएको छ । यो रकम निश्चित मार्गसहित खुट्किला निर्माण, सुरक्षा व्यवस्थापन, प्राविधिक उपकरण र मार्ग सफाइका लागि प्रयोग भइरहेको छ ।” नयाँ बाटो: कम जोखिम, बढी सुरक्षा नयाँ बाटो पुरानो खुम्बु आइसफल मार्गको विकल्पका रूपमा तयार हुँदैछ । खुम्बु आइसफल सगरमाथाको सबैभन्दा जोखिमपूर्ण भाग मानिन्छ । जहाँ वार्षिक रूपमा हिउँपहिरो र हिउँका ब्लक खस्ने घटनाले आरोहीको ज्यान लिने गर्छ । आरोहीको ज्यान लिने अधिकांश घटना खतरायुक्त खुम्बु आइसफल क्षेत्रमा हुने गरेको पर्यटन विभागका निर्देशक गौतमले बताए । उनका अनुसार सगरमाथा आरोहणका लागि बर्सेनि करिब ५०० जना विदेशी तथा ३०० जति नेपाली सहयोगी गरी ८०० जनाभन्दा बढीले अनुमति लिने गर्दछन् । खुम्बु आइसफल जोखिमयुक्त भएकाले कतिपय आरोहीले आरोहण नगरी फर्कने गरेका गौतमको भनाइ छ । अब खुल्ने भनिएको वैकल्पिक बाटो दूरीको हिसाबले करिब २०० मिटर जति लामो रहेको जनाउँदै जोखिम निकै कम हुने आरोहण क्षेत्रका जानकारहरू बताउँछन् । पर्यटन विज्ञ आङ्छिरिङ शेर्पाले भने, “यो बाटोले खुम्बु आइसफलको खतरा घटाउँछ र सगरमाथा आरोहण अझ सुरक्षित र विश्वसनीय बन्नेछ ।” यो बाटो खुल्दा नेपालको पर्वतारोहण उद्योगमा क्रान्ति ल्याउने विश्वास व्यक्त गर्दै उनले यो बाटो खुल्ने हो भने नेपालमा सगरमाथा आरोहणका लागि आउने आरोहीहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुने बताए । अन्तर्राष्ट्रिय ध्यान पुनः सगरमाथातर्फ यो परियोजनाले अन्तर्राष्ट्रिय पर्वतारोहण जगत्को ध्यान फेरि नेपालतिर तानेको छ । विश्वका प्रमुख पर्वतारोहण संस्था र डोनरहरूले यसलाई ‘हिस्टोरिक रुट रिभाइभल’ का रूपमा नियालेका छन् । मार्ग निर्माणका क्रममा उनीहरुले पर्यावरणीय सन्तुलनमा विशेष ध्यान दिएका छन् । पर्यटनमा हुने सम्भावित प्रभाव यो मार्ग खुल्नेपछि सगरमाथा आरोहणका लागि आउने पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ । नेपाल पर्वतारोहण सङ्घका अनुसार हरेक वर्ष करिब ८०० भन्दाबढी आरोही सगरमाथाको अनुमति लिन्छन् । तर खुम्बु आइसफलको जोखिमका कारण धेरै आरोही नेपाल बाहिरका अन्य हिमाल रोज्ने गरेका छन् । नयाँ मार्गले त्यो धारणा तोड्ने अपेक्षा गरिएको छ । सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी दावा शेर्पाले भने, “यो बाटो खुल्दा नेपालका गाइड, पोर्टर र स्थानीय व्यवसायी सबैको रोजगारी बढ्नेछ । सगरमाथा पुनःविश्व पर्वतारोहणको केन्द्र बन्नेछ ।” इतिहास, संस्कृति र आत्मसम्मानको पुनर्जन्म तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथा आरोहण गर्दा नेपाली जनताको आत्मसम्मान विश्वमाझ पुगेको थियो । सगरमाथा आरोही तेम्बा छिरी शेर्पाले भने, “हिँडेको बाटो पुनःखुल्दैछ, त्यसले त्यो गौरवलाई पुनर्जीवित गरेको अनुभूति सबैमा छ ।” यो मार्ग नेपालका युवाका लागि प्रेरणाको बाटो हो, सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भने, “यो केबल चढाइ होइन, इतिहाससँगको पुनः सम्बन्ध हो ।”
शान्ति पुनः स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार
बाँके । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनः स्थापना गृह बाँकेले आर्थिक वर्ष २०८१/८२ मा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ । नेपालगन्जमा सोमबार आयोजित ‘गत आवमा सम्पन्न कार्यक्रमको वार्षिक सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत’ कार्यक्रममा बाँके जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले यीमध्ये छ जनाको भारतबाट उद्धार गरिएको जानकारी दिइन् । उनका अनुसार उद्धार गरिएकामध्ये ३०३ महिला तथा बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । चदाराले ९५ जनालाई प्रहरीको रोहवरमा अभिभावकलाई जिम्मा लगाइएको बताउँदै एक जनालाई पुनःस्थापनाका लागि अन्य संस्थामा पठाइएको उल्लेख गरिन् । संस्थाले गत आर्थिक वर्षमा आठ जनाविरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता गरेको छ । यो अवधिमा संस्थाले नौ हजार ३९४ जनालाई परामर्श दिएको शान्ति पुनः स्थापना गृहका क्षेत्रीय संयोजक सञ्जित सिंहले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले राज्यले गर्नुपर्ने काम सामाजिक सङ्घसंस्थाले गरेर मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नागरिकलाई जागरूक बनाएको बताए । उनले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा सरकारी निकाय, सामाजिक सङ्घसंस्था र स्थानीय सरकारबिच समन्वयको खाँचो रहेको उल्लेख गर्दै आवश्यक सहकार्य र समन्वयका लागि आफू सदैव तत्पर रहेको धारणा व्यक्त गरे । शान्ति पुनः स्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटाले मानव बेचबिखनविरुद्धको अभियानमा सबै एकजुट भएर सहकार्य र समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् । आफूहरूले सीमित जिल्लामा कार्यक्रम मार्फत अभियान सञ्चालन गरिएको भन्दै यसबाट केही मात्रामा सहयोग पुगेको विश्वास व्यक्त गरिन् । उनले मानव बेचबिखनविरुद्धको अभियानमा राज्य नै जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता औँल्याइन्। उक्त कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जकी प्रमुख द्वारिका अधिकारी, शान्ति पुनः स्थापना केन्द्रका सल्लाहकार युवराज शर्मा, गङ्गा अधिकारी, गीता थारुलगायत वक्ताले आ–आफ्नो धारणा राखेका थिए । शान्ति पुनः स्थापना गृहले बाँकेको विभिन्न पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
झापामा प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ
झापा । जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारी साधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा गत भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमणका घटना भएका थिए । सो घटनाको सिसिटिभी फुटेज, भिडियो र फोटोको अध्ययन र विश्लेषणका आधारमा अभियुक्तको पहिचान गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । पक्राउ पर्नेहरुमा विर्तामोड–५ का ४५ वर्षीय नवराज राई, सोही वडाका २२ वर्षीय राजन चौधरी, सोही वडाका २० वर्षीय आयूष धिमाल, कनकाई–१ का ४२ वर्षीय गोपाल संग्रौला, कनकाई–३ का २५ वर्षीय विष्णु विक, शिवसताक्षी–१० का २५ वर्षीय कुशल तिम्सिना, सोही वडाका ३१ वर्षीय सञ्जय बस्नेत, विर्तामोड–५ की २४ वर्षीया पूजा मगर र अर्जुनधारा–७ का २८ वर्षीय सुरज राई छन् । यसैगरी, दमक–३ का १९ वर्षीय रियाज सिलवाल, इलामको चुलाचुली–३ का २२ वर्षीय नकुल अधिकारी र पाँचथर मिक्लाजुङ–५ घर भई हाल दमक–१ मा बसोबास गर्दै आएका २२ वर्षीय साजन ल्हागुन समेत पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी झापा जिल्ला अदालबाट म्याद लिएर अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी हुँदा ९९ थान हतियार लुटिएकामा ७७ थान फिर्ता भइसकेको छ । अब २२ थान हतियार फिर्ता हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
निर्वाचन सुरक्षा: गृह मन्त्रालयको तयारी तीव्र हुँदै
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले सुरक्षासम्बन्धी प्रारम्भिक विश्लेषण सम्पन्न गरेको छ । मन्त्रालयले ‘निर्वाचन सुरक्षा योजना’ तयार गर्नुअघि जिल्ला सुरक्षा समिति र विभिन्न सुरक्षा निकायमार्फत देशका ७७ वटै जिल्लाको समग्र सुरक्षा अवस्था र मतदान केन्द्रहरूको संवेदनशीलता मूल्याङ्कन गरेको हो । प्राप्त विवरणअनुसार देशभर १० हजार ३६९ मतदान केन्द्र रहने छन्, जसमा तीन हजार ३५२ अति संवेदनशील, चार हजार २८० संवेदनशील र दुई हजार ७३७ सामान्य रहेका छन् । अघिल्लो निर्वाचन (२०७९ मङ्सिर ४) मा दुई हजार ९४६ मतदान केन्द्र अति संवेदनशील वर्गमा परेका थिए। यसपालि सो संख्या ४०६ ले बढेको छ । जिल्ला सुरक्षा समितिका सिफारिसका आधारमा निर्वाचन आयोगले मतदान स्थलहरूलाई तीन तहमा वर्गीकरण गर्ने र सोहीअनुसार सुरक्षा रणनीति तय गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । प्रारम्भिक विश्लेषणमै संवेदनशीलता बढेको निष्कर्ष आएपछि यसपालि विगतभन्दा फरक सुरक्षा रणनीति अपनाइने गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले बताए । उनका अनुसार निर्वाचन सुरक्षालाई तीन चरणमा-निर्वाचनअघि, निर्वाचन अवधिमा, र मतगणना सम्पन्न नहुँदासम्म-वर्गीकरण गरी रणनीति तयार गरिनेछ । गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि देशभरका कारागारबाट करिब १४ हजार कैदी फरार भएका थिए । तीमध्ये झन्डै पाँच हजार दुई सय अझै फरार र चार सयभन्दा बढी हतियार नियन्त्रणमा नआएको गृह स्रोतको भनाइ छ । फरार कैदी र लुटिएका हतियार आगामी निर्वाचनमा मुख्य सुरक्षा चुनौती बन्न सक्ने आकलन गरिएको छ । त्यसका साथै खुला सिमानाको दुरुपयोग, अवैध हतियार ओसारपसार, अराजक गतिविधि र भीड नियन्त्रणजस्ता सम्भावित चुनौतीलाई समेत समेट्दै सुरक्षा रणनीति तयार गर्न लागिएको मन्त्रालयले जनाएको छ । कतिपय मतदान केन्द्रको भौगोलिक विकटता, खुला सिमाना र बढी जनघनत्व भएका क्षेत्रको विशेष सुरक्षा मूल्याङ्कन भइरहेको छ । सोही सन्दर्भमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबीच जिम्मेवारी पुनःसमायोजनबारे गृह मन्त्रालयमा आन्तरिक छलफल जारी छ ।
मधेशकी विवादित प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्र लाभ कर्ण सिफारिस
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । हिजाे (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गरेको हो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेश प्रमुख भण्डारी विवादमा तानिएकी थिईन् । उनले होटलबाटै मुख्यमन्त्री नियुक्त गरेर त्यही शपथ खुवाएकी थिईन् । त्यसपछि विवादमा आएकी प्रदेश प्रमुख भण्डारीलाई सरकारले हटाउको हो । भण्डारीलाई बर्खास्त गरी सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
आगामी कात्तिक २६ गते भीम रावलकाे मातृभूमि जागरण अभियान नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
काठमाडौं । आगामी कात्तिक २६ गते तत्कालिन नेकपा एमालेबाट अलग भइ नयाँ कम्युनिस्ट समूह निमार्ण गरेका भीम रावल नव गठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । रावल नेतृत्वकाे मातृभूमि जागरण अभियानकाे समूहनै कात्तिक २६ गते दिउँसाे राष्ट्रियसभागृहमा एक विशेष कार्यक्रम गरी समाहित हुने भएकाे हाे । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधव कुमार नेपाल र भीम रावललगायतको छलफलमाबाट रावल समूह नेपाली कम्युनिस्ट पार्टीसँग समाहित भएर एकतामा आउन हुन तयार भएकाे स्राेतकाे भनाइ छ । मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका नेता रावल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले अलग भएका थिए । अलग भएपछि रावलले राष्ट्रको स्वाभिमान, राष्ट्रिय हित र सार्वभौमिकता सम्बन्धी राष्ट्रवादी अभियानमा चलाइरहेका थिए । रावलकाे नारा थियाे-“राष्ट्रको स्वाभिमानमा सम्झौता हुँदैन ।” उनको बुझाइमा राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता नेपालको मूल धरोहर हो । भारतसँगको सीमासम्बन्धी विवाद (लिपुलेक, कालापानी, लिम्पियाधुरा) मा कडा राष्ट्रिय आवाज उठाउने एक नेतामा पर्दछन् । तत्कालिन नेकपा विघटन भएपछि एमाले भित्र केपी ओलीको एकल नेतृत्व र असहमतिप्रति असम्झदारी राख्ने, वैचारिक विचलन र समाजवादी दिशाको कमजोर एकाे टिप्पणी गर्ने, एमालेमा पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभाव देख्ने, नयाँ राजनीतिक विकल्प खोज्ने रावलकाे चिनारी थियाे । त्यही कारणले नै एमालेले अलग भएर छुट्टै समूह निर्माण गरि मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका थिए ।
व्यवसायिक रुपमा सुन्तला उत्पादनमा जम्दै उदयपुरको लिम्चुङबुङ
गाईघाट । उदयपुरका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् । पाँच वर्षयता प्रत्येक घरका कृषकले २०० देखि ४०० सम्म सुन्तलाका बिरुवा विस्तार गरेका उनले बताए । आफूले करिब ४५० बिरुवा हुर्काइसकेको जनाउँदै उनले बोटले फल दिन थालेका बताए । लिम्चुङ्बुङ गाउँपालिकाका उपाध्यक्ष पुष्पलाल राईका अनुसार पाँच वर्षदेखि पालिकालाई सुन्तला जोन बनाउने अभियान सुरु भएको छ । हालसम्म करिब ५० हजारभन्दा बढी सुन्तलाका बिरुवा विस्तार गरिएको उनले जानकारी दिए । लिम्चुङ्बुङ–३ ताम्लिछाका कृषक लखनसेर राईले भने, ‘पहिला आफ्नो बगानमा २० बोट सुन्तला थियो । अहिले दुई सय २५ पुगिसकेको छ ।” कृषक खेमबहादुर कार्कीले दुई वर्षदेखि वार्षिक रु एक लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्न थालेको जानकारी दिए। लिम्चुङ्बुङ–४ जाँते हिम्मा, खोस्टुङ क्षेत्रमा पनि दशौँ हजार सुन्तलाका बिरुवा हुर्किएका छन् । अहिले यो क्षेत्र सुन्तलामय बनेको वडाध्यक्ष केशर राईले बताए । पालिकाका उपाध्यक्ष राईका अनुसार पछिल्लो समय सुन्तताखेती विस्तार भएसँगै यस क्षेत्रबाट वार्षिक रु २० लाखसम्मको सुन्तला बिक्री हुन थालेको छ। ‘अहिले पनि सुन्तलाका बिरुवा हुर्किरहेकाले आगामी चार वर्षभित्र पालिकामा रु १० करोडभन्दा बढीको सुन्तला बिक्री हुने विश्वास छ’, उनले भने । अहिले पालिकाका सबै वडामा ‘एक घर सय बोट सुन्तला’ अभियान सञ्चालन गरेर खेती विस्तार गर्न थालिएको पालिकाका जनप्रतिनिधिले बताएका छन् । यसअघि सबैभन्दा बढी सुन्तला उत्पादन क्षेत्रका रूपमा ताप्ली गाउँपालिका रहेको थियो। अहिले ताप्लीमाभन्दा लिम्चुङ्बुङ गाउँपालिकामा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले जानकारी दिए। पालिकामा सबैभन्दा बढी सम्भावना बोकेको सुन्तला, डल्ले खुर्सानी, कागतीलगायत कृषिउपज रहेका बताउँदै उनले उत्पादन र खेती गरिएको क्षेत्रका आधारमा जोन विस्तार गर्दै जाने योजना रहेको उल्लेख गरे । पछिल्लो समय यहाँयता पटकपटक गरेर ५० हजार सुन्तलाका बिरुवा विस्तार गरिएको छ । ती बोटले फल दिन थालेपछि आम्दानी बढ्नुका साथै सुन्तलामा आत्मनिर्भर बन्नसक्ने अध्यक्ष राईको भनाइ छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख योगेन्द्र यादवका अनुसार यहाँका पहाडी क्षेत्रका पालिकाहरूमा तीव्र रूपमा सुन्तलाखेती विस्तार भइरहेको बताए। सबैभन्दा बढी लिम्चुङ्बुङ गाउँपालिकामा सुन्तलाखेती विस्तार भएको उनको भनाइ छ । चार वर्षपछि पालिकामा वार्षिक रु १० करोडभन्दा बढीको सुन्तला उत्पादन हुने पालिका अध्यक्ष राईले विश्वास व्यक्त गरे । सुन्तला, कागती र डल्ले खुर्सानी किसानलाई प्रोत्साहन गर्दै प्रमुख आर्थिक स्रोतका रूपमा विस्तार गर्ने पालिकाको योजना रहेको उनको भनाइ छ ।
अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो
ताप्लेजुङ । पूर्वी पहाडी भेगको प्रमुख नगदे बाली अलैँचीको मूल्यमा पछिल्लो समय वृद्धि भएको छ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु एक लाख नाघेको छ । गुणस्तरीय अलैँची प्रतिमन आज रु एक लाख दुई हजारमा कारोबार भएको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए । शनिबार प्रतिमन रु ९६ हजार रहेको अलैँचीको मूल्य अपराह्नपछि प्रतिमन रु दुई हजारले बढेर रु ९८ हजार पुगेको थियो । आज फेरि प्रतिमन रु चार हजारका दरले वृद्धि भई रु एक लाख दुई हजार पुगेको उनले बताए । असोज दोस्रो सातासम्म प्रतिमन रु ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनाको अवधिमा रु १५–१७ हजारले वृद्धि भएको छ । नयाँ उत्पादन सुरु भएपछि रु ८० हजार प्रतिमनबाट कारोबार सुरु भएको अलैँचीको मूल्यमा यस वर्ष अपेक्षाकृत वृद्धि भएको व्यवसायीहरू बताउँछन् । नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै तेस्रो मुलुक निर्यात हुने गर्दछ ।
बाढीले १३ करोडको माछा नष्ट, मधेश प्रदेशमा ठूलो क्षति
काठमाडौं । असोज दोस्रो साता आएको अविरल वर्षा, बाढी र डुबानका कारण मधेश प्रदेशमा झन्डै १३ करोड रुपैयाँ बराबरको माछामा क्षति पुगेको छ । बाढीले माछा पोखरीहरू भत्काएर हजारौँ माछा बगाएपछि किसानहरू ठूलो आर्थिक संकटमा परेका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेश प्रदेशका सबै आठ जिल्लामा गरी १२ करोड ९४ लाख ८२ हजार २५० रुपैयाँ बराबरको माछा नष्ट भएको छ । मन्त्रालयका प्रवक्ता डा. सरोज चौधरीका अनुसार, “बाढीका कारण धेरै स्थानमा पोखरीहरूमा रहेको पानी ओभरफ्लो भई माछा बाहिर निस्केका छन्, जसले गर्दा ठुलो परिमाणमा क्षति पुगेको छ ।” सबैभन्दा बढी क्षति धनुषा जिल्लामा भएको छ, जहाँ करिब ५८ लाख रुपैयाँ बराबरको माछा बगाएको मन्त्रालयले जनाएको छ । महोत्तरी जिल्लामा करिब पाँच लाख गोटा माछा मरेका वा बगाइएका छन् । त्यस्तै सर्लाहीमा मात्रै ५३ हजार ८ सय केजी ठूला माछा नष्ट भएका छन् । अन्य जिल्लाहरूमा पनि माछापालनमा क्षति पुगेको भए पनि हालसम्म सबै विवरण संकलन भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, मधेश प्रदेशभर करिब दुई लाख ७७ हजार ८५२ केजी माछा नष्ट भएको अनुमान गरिएको छ । बेमौसमी वर्षा र बाढीका कारण पोखरीहरूमा रहेको संरचना, फिड र भौतिक सामग्रीमा पनि क्षति पुगेको बताइन्छ । कात्तिक महिनामा परेको पुनः वर्षाले थप क्षति पुर्याएको भए पनि त्यसको विवरण अझै संकलन भइरहेको मन्त्रालयले जनाएको छ । नेपालमा उत्पादन हुने कुल माछामध्ये करिब ६० प्रतिशत उत्पादन मधेश प्रदेशमै हुने भएकाले यो क्षति राष्ट्रिय माछा उत्पादनमा पनि प्रभाव पार्ने देखिएको छ । डा. चौधरीका अनुसार, “माछापालन मधेश प्रदेशका किसानहरूको प्रमुख आम्दानीको स्रोत हो, तर पछिल्ला वर्षहरूमा बेमौसमी वर्षा र बाढीले उनीहरूलाई निरन्तर प्रभावित गरिरहेको छ ।” कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८०/८१ मा मुलुकभर एक लाख २३ हजार ४०३ मेट्रिक टन माछा उत्पादन भएको थियो । बाढीले मधेश प्रदेशमा उत्पादनमा आएको गिरावटले आगामी वर्षको कुल उत्पादन लक्ष्यमा असर पर्ने सम्भावना मन्त्रालयले जनाएको छ । माछा किसानहरूले राहत र पुनःस्थापनाको माग गर्दै सरकारसँग सहयोगको अपिल गरेका छन् । उनीहरूले बाढीबाट क्षति पुगेका पोखरी पुनःनिर्माण, बीउ माछा उपलब्ध गराउने र आवश्यक अनुदानको व्यवस्था गर्न आग्रह गरेका छन् ।
उदयपुरमा खोरेतविरुद्ध खाेप अभियान
उदयपुर । पशुमा लाग्ने संक्रामक रोग ‘खोरेत’ नियन्त्रण गरी दुग्ध व्यवसाय सुरक्षित बनाउने उद्देश्यसहित उदयपुरका आठवटै पालिकामा खोप अभियान सुरु गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख सुकराज लिम्बूका अनुसार किसानलाई दुध उत्पादनमा आत्मनिर्भर र व्यावसायिक बनाउन अभियान सञ्चालन गरिएको हो । उनका अनुसार बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका तथा ताप्ली, लिम्चुङबुङ, रौतामाई र उदयपुरगढी गाउँपालिकामा आइतबारदेखि एकसाथ खोरेतविरुद्धको खोप लगाउन थालिएको हो । पहिलो चरणमा जिल्लाभर एक लाख दुई हजार डोज खोप लगाइने योजना रहेको छ। जसअनुसार बेलकामा १७ हजार, चौदण्डीगढीमा १५ हजार, त्रियुगामा २१ हजार, कटारीमा १५ हजार, ताप्लीमा १० हजार पाँच सय, लिम्चुङबुङमा आठ हजार, रौतामाईमा १० हजार पाँच सय र उदयपुरगढीमा पाँच हजार डोज खोप लगाइनेछ । जिल्लामा जम्मा दुई लाख चार हजार डोज उपलब्ध गराइएकामा बाँकी खोप आगामी वैशाख महिनामा लगाइने लिम्बूले जानकारी दिए । उनका अनुसार जिल्लामा रहेका गाई, गोरु, राँगा र भैँसीमध्ये ८० प्रतिशत पशुलाई खोप लगाउने लक्ष्य राखिएको छ । लिम्बूका अनुसार खोरेत रोग फैलिँदा दुग्ध उत्पादनमा ठूलो घाटा हुने भएकाले किसानलाई समयमै खोप लगाउन आग्रह गरिएको छ । खोरेत लागेका पशुमा ज्वरो आउने, र्याल काढ्ने, हिँड्डुल गर्न गाह्रो हुने र दुध उत्पादन घट्ने लक्षण देखिने गर्छ ।
नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्ने हेम्जाकोट
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। चाँदीझैँ टल्कने हिमशृङ्खला, हरियाली वनजङ्गल र ढुङ्गाले छापिएका घरहरू यहाँको मुख्य आकर्षण हो। यो गाउँको प्राकृतिक सौन्दर्यतासँगै ऐतिहासिक महत्त्व पनि छ। सामुदायिक हेम्जाकोट होमस्टेका अध्यक्ष ईश्वर गुरुङका अनुसार, नेपालका बाइसे चौबीसे राजाहरूको पालामा गाउँमाथि रहेको 'कोट' (दरबार) बाट नै यसको नाम हेम्जाकोट रहन गएको हो। यहाँ जयकोट नामको अर्को टाकुरा पनि छ, जहाँ बलिपूजा गर्ने प्रचलन छ र बलि दिइएको प्रसाद महिलाले घरमा लैजान नहुने विश्वास गरिन्छ। २०६२ सालदेखि घरबास (होमस्टे) सञ्चालन गरिएको यस गाउँमा हाल १२ वटा घरमा होमस्टे सञ्चालनमा छन्, जहाँ करिब ८० जना पाहुना अटाउने व्यवस्था छ। होमस्टे सञ्चालकहरूले पर्यटकका लागि खाजा, बेलुकाको खाना, बास र बिहानको नास्तासहित १,२०० रुपैयाँको प्याकेज निर्धारण गरेका छन्। यो गाउँ पोखराको सिमपानीबाट १८ किलोमिटरको दूरीमा छ र यहाँ गुरुङ समुदायको बाहुल्य छ। यो सामुदायिक होमस्टेलाई विसं २०७२ मा पर्यटन मन्त्रालयले उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित गरेको थियो। हेम्जाकोट 'माछापुच्छ्रे मोडल ट्रेक' मा पर्ने भएकाले पर्यटकीय मौसममा स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गर्दछ। गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार, शान्त परिवेश, गुरुङ मौलिक संस्कृति र हिमालको मनोरम दृश्यावलोकन हेम्जाकोटको विशेषता हो। पछिल्लो समय यो क्षेत्र म्युजिक भिडियो तथा चलचित्र छायाङ्कनका लागि पनि रोजाइमा पर्न थालेको छ।
आज कुन विदेशी मुद्राकाे विनिमय दर कति ?
काठमाडाैं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५६ पैसा र बिक्रीदर १४२ रुपियाँ १६ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७३ पैसा र बिक्रीदर १६४ रुपियाँ ४२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपियाँ ३१ पैसा र बिक्रीदर १८७ रुपियाँ १० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपियाँ ८२ पैसा र बिक्रीदर १७६ रुपियाँ ५६ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ९३ पैसा र बिक्रीदर ९२ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७७ पैसा र बिक्रीदर १०१ रुपियाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ७८ पैसा र बिक्रीदर १०९ रुपियाँ २४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ २३ पैसा र बिक्रीदर नौ रुपियाँ २७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८७ पैसा र बिक्रीदर १९ रुपियाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७५ पैसा र बिक्रीदर ३७ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८४ पैसा र बिक्रीदर ३९ रुपियाँ कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३७ पैसा र बिक्रीदर चार रुपियाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५४ पैसा र बिक्रीदर ३८ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ९० पैसा र बिक्रीदर ३४ रुपियाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७२ पैसा र बिक्रीदर नौ रुपियाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८५ पैसा र बिक्रीदर १४ रुपियाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९२ पैसा र बिक्रीदर २२ रुपियाँ ०२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २० पैसा र बिक्रीदर १८ रुपियाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ १४ पैसा र बिक्रीदर ४६३ रुपियाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ४८ पैसा र बिक्रीदर ३७७ रुपियाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपियाँ २३ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

