खाँदबारी–किमाथाङ्का सडकखण्ड स्तरोन्नतिकाे काम तीव्र रुपमा

सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का सडकखण्ड निर्माणमा नेपाली सेनाले तीव्रता दिएको छ ।

खाँदबारी–किमाथाङ्का सडकखण्डको १६२ किलोमिटरमध्ये साढे १० किलोमिटर सडक निर्माणको जिम्मा सेनाले पाएको थियो । सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरिरहेको छ ।

भौगोलिक रूपमा विकट मानिएको खाँदबारी–किमाथाङ्का सडकको १० किलोमिटर सडकखण्डको ट्रयाक सेनाले खोलिसकेको छ । उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको खाँदबारीदेखि किमाथाङ्का सडकखण्ड गत माघ १४ गते ‘ब्रेक थ्रु’समेत भइसकेको छ । उक्त खण्डको १० किलोमिटरमध्ये छ दशमलव पाँच किमी सडकको स्तरोन्नति भइसकेको आयोजना प्रमुख शमशेर सिंहले जानकारी दिए । 

खाँदबारी–किमाथाङ्का सडकखण्डमा सेनाले साउन महिनायता मात्र एक हजार १२५ मिटर सडक स्तरोन्नति गरिसकेको छ । सेनाले उक्त सडक यो वर्ष चार दशमलव ३१ किलोमिटर सडक स्तरोन्नति गरिसक्ने जनाएको छ । खाँदबारी–किमाथाङ्का सडक स्तरोन्नति गर्न रु सात करोड विनियोजन भएको छ । ‘ट्रयाक ओपन’ र स्तरोन्नति भइसकेको सडकमा ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएपछि सेनाले हटाउन थालिसकेको छ । 

किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले  २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो । सडक निर्माणका लागि दैनिक १४० जनशक्ति परिचालन गरिएको छ । 

किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । बरुण नदीको पुल सञ्चालन भएपछि खाँदबारीबाट भोटखोला गाउँपालिका केन्द्र हुँदै च्याम्ताङसम्म यातायात सञ्चालन हुने भएको छ । सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ । सडक सञ्चालन भएसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ ।  खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म रु ५७ करोड खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

भारतकाे राजस्थानमा भीषण सडक दुर्घटना, १५ जनाको मृत्यु

भारत । भारतको राजस्थान राज्यस्थित जोधपुर जिल्लाको फलोदीमा आइतबार साँझ भएको भीषण सडक दुर्घटनामा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा घाइते भएकामध्ये केहीलाई गम्भीर अवस्थामा जोधपुर पठाइएको छ । मातोडा पुलिस थाना क्षेत्रअन्तर्गत भारत माला हाइवेमा सडक किनारमा रोकिएको एउटा ट्रेलरमा यात्रुबहाक टेम्पो ट्राभलर ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । टेम्पो ट्राभलरमा सवार सबै व्यक्ति जोधपुरको सूरसागरका बासिन्दा रहेका र कोलायतस्थित एक आश्रममा दर्शन गरी फर्कने क्रममा दुर्घटनामा परेका हुन् । राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, “फलोदीको मातोडा क्षेत्रमा भएको सडक दुर्घटनामा जनधनको ठूलो क्षति हुनु अत्यन्त दुःखद र हृदयविदारक छ । शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्दछु ।” यसैगरी, पूर्वमुख्यमन्त्री अशोक गहलोतले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतक आत्माको चिरशान्तिको कामना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको प्रार्थना गरेका छन् ।

जेनजी आन्दोलनपछि पर्यटक आगमनमा सुधार हुँदै

 काठमाडौं । सन् २०२५ को अक्टोबरमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामा उल्लेखनीय सुधार आएको छ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे अन्योलपूर्ण जानकारी फैलिँदा घटेको पर्यटक आगमन पुनः बढ्न थालेको हो । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ जनवरीदेखि अक्टोबरसम्मको अवधिमा कुल नौ लाख ४३ हजार ७१६ विदेशी पर्यटक नेपाल आएका छन् । तीमध्ये केवल अक्टोबर महिनामै एक लाख २८ हजार ४४३ पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन प्रतिशतले बढी हो । अक्टोबर महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । जसमा १७ हजार २९८ जना। त्यसपछि क्रमशः अमेरिका (१३ हजार २८६), बेलायत (८ हजार ७१८), चीन (६ हजार ७५५) र जर्मनी (६ हजार ३६६) पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२५ जनवरीदेखि अक्टोबरसम्मका १० महिनामा देशभर  पर्यटक आगमन हेर्दा भारतबाट २ लाख ४३ हजार, अमेरिकाबाट ९३ हजार, चीनबाट ७८ हजार, बेलायतबाट ४२ हजार, बङ्गलादेशबाट ४५ हजार, अस्ट्रेलियाबाट ३८ हजार, श्रीलङ्काबाट ३२ हजार, जर्मनीबाट २४ हजार, थाइल्यान्डबाट ११ हजार र उत्तर कोरियाबाट १९ हजार पर्यटक नेपाल आएका छन् । ‘जेनजी आन्दोलन’का कारण गत सेप्टेम्बर महिनामा पर्यटक आगमन १८ प्रतिशतले घटेको बोर्डले जनाएको छ । नेपालमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनालाई पर्यटक आगमनको मुख्य याम मानिन्छ ।  त्यस क्रममा प्रवेशद्वार मानिने सेप्टेम्बरमा मात्र ७८ हजार ७११ पर्यटक आएका थिए, जुन सन् २०२४ को तुलनामा १८.३ प्रतिशत कम हो । तर अक्टोबरमा भने पर्यटक आगमनमा आशलाग्दो सुधार देखिएको छ ।

वर्षाकाे कारण कृषिमा करिब पाँच अर्ब रुपियाँ बराबरको क्षति

काठमाडौं । यस वर्षको असामान्य वर्षा र बाढीपहिरोका कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको छ । मनसुनको अनियमितता र असोज–कात्तिकमा परेको वर्षाले विशेष गरी धान तथा तरकारी बालीमा असर पारेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्मको प्रारम्भिक अनुमानमा करिब पाँच अर्ब रुपियाँ बराबरको क्षति भएको छ । असोजमा मात्र साढे तीन अर्ब रुपियाँ बराबरको क्षति भएको थियो । कोशी, मधेश र बागमती प्रदेश बढी प्रभावित भएका छन् । मधेश प्रदेशमा मात्रै दुई अर्ब ९८ करोड रुपियाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ । त्यहाँ करिब नौ हजार हेक्टर क्षेत्रमा लगाइएको धान, तरकारी, फलफूल र उखु बाली डुबान र कटानमा परेका छन् । कोशी प्रदेशमा ३४ करोड र बागमतीमा १२ करोड रुपियाँ बराबरको क्षति भएको छ । गण्डकी र लुम्बिनीमा सामान्य क्षति पुगेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेश प्रभावित भएका छैनन् । मन्त्रालयका अनुसार बाढीपहिरोले बाली, पशुपन्छी, कृषि पूर्वाधार र बिउबिजनमा समेत क्षति पु–याएको छ। क्षतिको अद्यावधिक विवरण संकलनको कार्य जारी छ ।  

अतिक्रमित जग्गा फिर्ता गर्ने तयारीमा त्रिवि

काठमाडौं । सीमा अतिक्रमण र अन्य निकायले हडपेका जग्गा फिर्ता ल्याउने तयारी त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सुरु गरेको छ ।  विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति, २०८१ को प्रतिवेदन सार्वजनिक भएपछि त्रिविले आन्तरिक तयारी अघि बढाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार गत असोज २६ गते उक्त प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनअनुसार त्रिविको स्वामित्वमा रहेका करिब ५ हजार २१८ रोपनीमध्ये २ हजारभन्दा बढी रोपनी जग्गा विभिन्न संस्थाले अतिक्रमण गरेका छन् । समितिको प्रतिवेदनमा निजी तथा धार्मिक प्रकृतिका १८ संस्थाले त्रिविको जग्गा कब्जा गरेको उल्लेख छ । विगतमा विश्वविद्यालयकै पदाधिकारी र कर्मचारीको मिलेमतोमा ती जग्गा विभिन्न स्वार्थ समूहले भोगचलन गरेको पनि प्रतिवेदनले औँल्याएको छ । त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार हरेक जग्गाको कित्ता विवरणसहित फिर्ता प्रक्रिया अघि बढाइने छ । “प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रालयमा प्रारम्भिक छलफल भइसकेको छ,” उनले भने, “त्रिविले आफैंले गर्न सक्ने कामका लागि प्रक्रिया सुरु भइसकेको छ, आवश्यक परे मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि सहकार्य गरिनेछ । उनका अनुसार विश्वविद्यालयभित्रका पदाधिकारीबीच पनि विभिन्न चरणमा छलफल जारी छ । त्रिविले हाल कीर्तिपुरस्थित आफ्नै परिसरमा सञ्चालनमा रहेको ल्याबोरेटरी स्कुल सम्बन्धी विषयमा पनि पहल थालेको छ ।  सो स्कुलका प्राचार्यलगायत जिम्मेवार व्यक्तिसँग विश्वविद्यालयले छलफल गरी स्कुललाई त्रिविको मातहत ल्याउने प्रस्ताव राखेको छ । “यदि विश्वविद्यालयको स्कुलका रूपमा सञ्चालन नगर्ने हो भने अन्यत्र स्थानान्तरण गर्न भनिसकेका छौँ,” उपकुलपति अर्यालले भने, “तर हामी रातारात कसैलाई हटाउने नीति लिँदैनौँ, आवश्यक समय दिइन्छ ।” त्यस्तै, विश्वविद्यालयको जग्गामा निर्माण भएका संरचनामध्ये गणतन्त्र स्मारक र काठमाडौँ उपत्यका खानेपानी बोर्ड ले प्रयोग गरिरहेको जग्गासम्बन्धी अध्ययन पनि भइरहेको त्रिविले जनाएको छ । त्रिविले अतिक्रमित जग्गा फिर्ता ल्याएपछि पुनः अतिक्रमण हुन सक्ने सम्भावनाप्रति पनि चिन्ता व्यक्त गरेको छ। ठूला क्षेत्रफल र खुला सिमानाका कारण संरक्षण चुनौतीपूर्ण रहेको विश्वविद्यालयको भनाइ छ । उपकुलपति अर्यालका अनुसार अब ठुलो बजेट विनियोजन गरेर सबै जग्गामा पर्खाल वा अन्य प्रकारको बार लगाइने तयारी भइरहेको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले २०८१ जेठ १७ गतेदेखि करिब पाँच महिना अध्ययन गरी २०८१ पुसमा प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

ताप्लेजुङमा वर्षाले धानमा क्षति, नगदेबालीमा फाइदा

ताप्लेजुङ । यसपालिको असमयको वर्षाले ताप्लेजुङका किसानलाई फाइदा र बेफाइदा दुवै पारेको छ । अहिले थन्क्याउने क्रममा रहेको धान बाली वर्षाका कारण प्रभावित भएको छ भने नगदेबाली अलैँचीसहितका अन्य बालीलाई भने फाइदा पुगेको  छ । स्थानीय किसानका अनुसार धान पाक्ने समयमा लगातार वर्षा भएपछि खेतमा रहेको धान ढलेको छ । काटेर सुकाउन राखिएका धान पनि पानीले भिजेपछि नष्ट भएका छन् । फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका किसान मुक्साम लिम्बूका अनुसार थन्क्याउन सुरु गरिएको धान खेतमै सड्न थालेको छ । तर, यही वर्षाले नगदेबाली र हिउँदे बालीका लागि फाइदा पुर्‍याएको छ । लिम्बूका अनुसार अलैँची टिपिसकेपछि सिँचाइ गर्नुपर्ने समयमा परेको वर्षाले बगानका लागि लाभदायी भएको छ । साथै जौ, गहुँ र आलु जस्ता हिउँदे बाली रोप्नका लागि खेतबारी जोत्न सजिलो भएको छ । सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खका सन्जिप लिम्बूले पनि वर्षाले अलैँची, जौ, गहुँ, आलु लगायत बालीमा लाभ पुगेको बताए । उनका अनुसार लगातार वर्षा भएपछि सिँचाइको आवश्यकता कम भएको छ र माटो नमीयुक्त बनेकाले हिउँदे बालीका लागि अनुकूल वातावरण बनेको छ । किसानहरूका भनाइमा यसपालिको वर्षाले फलफूलजन्य बालीहरूमा पनि फाइदा पुर्‍याएको छ । यसैबीच, लगातार वर्षासँगै जिल्लामा चिसो बढेको छ । उच्च हिमाली भेगमा हिमपात भएपछि फुङ्लिङसहित जिल्लाभर तापक्रम घटेको जल तथा मौसम विज्ञान विभाग, धरान–ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ ।  कार्यालयका नायव मौसम विज्ञान सहायक सुयोग भट्टराईका अनुसार करिब एक सातासम्म लगातार वर्षा हुँदा शुक्रबार मात्रै ५२.८ मिलिमिटर वर्षा मापन गरिएको थियो । शनिबार दिउँसो नौ घण्टाको अवधिमा १८.९ मिलिमिटर वर्षा भएको र न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियससम्म झरेको कार्यालयले जनाएको छ ।  

निर्वाचनको वातावरण निर्माणमा सातै प्रदेशका मुख्यमन्त्री तयार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आइतबार बालुवाटारमा सम्पन्न सातै प्रदेशका मुख्यमन्त्रीसँगको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । बैठकमा सहभागी मुख्यमन्त्रीहरूले आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा संघीय सरकारसँग पूर्ण सहकार्य गर्न तयार रहेको जनाएका छन् । प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकामा मुख्यमन्त्रीहरूले सराहना व्यक्त गर्दै ती पहलले निर्वाचन प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्रीहरूको भनाइमा निर्वाचनको मुख्य चुनौती शान्ति–सुरक्षासँग सम्बन्धित रहेकोले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी सहकार्य, समन्वय र सहअस्तित्वका साथ अघि बढे तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सकिनेछ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने, “म एमालेको प्रतिनिधित्व गर्छु । हामी चुनावका विरोधी होइनौँ । तर, चुनावको वातावरण बनाउन संघ सरकारले पहल गरोस् र त्यसमा हाम्रो भूमिकालाई पनि नबिर्सोस्। अबको निकास चुनाव नै हो ।” मुख्यमन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरू पुनःनिर्माणका लागि संघ सरकारले विशेष प्याकेज ल्याउनुपर्ने सुझाव पनि दिएका छन् । त्यस्तै, खर्च कटौतीका लागि संघीय सरकारले जारी गरेको परिपत्रले प्रदेश सरकारको अधिकारक्षेत्रमा हस्तक्षेप गर्ने प्रयास गरेको हो कि भन्ने आशंका समेत मुख्यमन्त्रीहरूले प्रकट गरेका छन् । संघ सरकारले हालै सार्वजनिक परिपत्रमार्फत कानुनले तोकेभन्दा बढी सहयोगी वा सल्लाहकार ननियुक्त गर्न, १० लाख रुपैयाँभन्दा माथिका योजना प्रतिस्पर्धामार्फत ठेक्कामा दिनुपर्ने लगायतका निर्देशन जारी गरेको थियो । मुख्यमन्त्रीहरूले उक्त परिपत्रले न्यायिक र प्रशासनिक सुधारका पक्षमा चासो नदेखाई प्रदेशका राजनीतिक पदाधिकारीहरूको सुविधामात्र सीमित गरेको आरोप लगाएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि राहत प्याकेज घोषणा गर्न संघ सरकारसँग माग गरे । उनले डेडिकेटेड फिडरको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली लाइन काट्ने निर्णयले उद्योग, मजदुर र राजस्वमा नकारात्मक असर पार्ने भन्दै त्यसबारे पुनर्विचार गर्न आग्रह पनि गरे । प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरू नै वर्तमान व्यवस्थाका वाहक भएकाले छिटोभन्दा छिटो निर्वाचन सम्पन्न गरी जननिर्वाचित दलीय सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताइन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलबीच १८ बुँदे 'पार्टी एकता सहमति'

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका ८ वटा राजनीतिक दलहरूबीच पार्टी एकताका लागि १८ बुँदे सहमतिमा हस्ताक्षर भएको छ। यस एकताले वामपन्थी शक्तिहरूको पुनर्संरचनालाई गति दिने अपेक्षा गरिएको छ। आइतबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यदलको बैठकमा यी दलहरूबीच उक्त सहमति भएको हो। सहमतिअनुसार, १९ गते औपचारिक एकता घोषणा गरिने बताइएको छ। सहमतिमा सामेल दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) का साथै अन्य साना वामपन्थी दलहरू रहेका छन्। यसले पार्टीको नाम, नेतृत्व संरचना, नीति तथा कार्यक्रमहरूमा एकरूपता कायम गर्ने लक्ष्य राखेको छ। एकतापछि नयाँ पार्टीको रूपमा गठन हुने संस्थाले संसदीय र स्थानीय तहमा साझा रणनीति अपनाउने जनाइएको छ। यो एकता प्रक्रिया विगतका विभाजनहरूको पृष्ठभूमिमा महत्वपूर्ण मानिन्छ, जसले वाम गठबन्धनलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

माओवादी केन्द्रसँग आधा दर्जनभन्दा बढी वामपन्थी दल एकीकरण गर्दै, कार्तिक १९ गते ऐतिहासिक घोषणा हुने

काठमाडौं । वामपन्थी आन्दोलनलाई एकढिक्का पार्दै देशमा स्थायित्व र रूपान्तरणको नयाँ चरण सुरु गर्ने उद्देश्यसहित नेकपा (माओवादी केन्द्र) सँग विभिन्न वामपन्थी दलले एकता गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । त्यससँगै आइतबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले कार्तिक १८ गते केन्द्रीय समिति बैठक बोलाउने र सो बैठकबाट पार्टी एकताको अन्तिम निर्णय गरी कार्तिक १९ गते औपचारिक रुपमा पार्टी एकता घोषणा गर्ने निर्णय पनि गरेको छ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार पार्टीले झण्डै आधा दर्जनभन्दा बढी वामपन्थी दलहरूसँग एकीकरणको प्रक्रिया अघि बढाइसकेको छ । माओवादीसँग एकतामा जाने समूह र पार्टीले एकताकाे लागि आन्तरिक पार्टीभित्र अन्तिम निर्णय गरिसकेका छन् । जसमा माओवादी केन्द्रसँग, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), नेकपा एमालेबाट अलग भएका प्रेमबहादुर सिंह समूह र राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी, गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा विप्लवबाट अलग भएका चिरण सी समूहले एकता गर्ने भएका छन् । एकतामा आउने सबै दलसँग संयुक्त बैठक बसेर एकीकृत पार्टीको संगठनात्मक संरचना, जिम्मेवारी बाँडफाँट र समायोजनका विषय टुंगो लगाउने तयारी पनि भएकाे बताइएकाे छ । माओवादी केन्द्रकाे सचिवालय बैठकमा एकताको नीतिगत, वैचारिक र संगठनात्मक रूपरेखामाथि विस्तृत छलफल भएको र एकीकरणपछि नयाँ पार्टी दर्ता गर्ने तयारी समेत गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए । उनका अनुसार देशमा देखिएको राजनीतिक अस्थिरता, आर्थिक संकट र जनजीवनमा परेको गहिरो प्रभावको समाधानका लागि बृहत् वामपन्थी एकता अपरिहार्य बनेको छ । “देशलाई संकटबाट निकाल्ने मुख्य उपाय वामपन्थी ध्रुवीकरण र सहकार्य हो,” सापकोटाले भने, “हामीले त्यसका लागि ऐतिहासिक जिम्मेवारी पूरा गर्न लागेका छौँ ।” यसअघि शनिबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) लगायत दलहरूसँग भएका एकता छलफलबारे विस्तृत जानकारी गराएका थिए । उनका अनुसार वामपन्थीबीचको सहकार्य केवल संगठनात्मक मिलन नभई नयाँ राजनीतिक दिशा तय गर्ने निर्णायक कदम हुनेछ । बैठकमा अधिकांश नेताहरूले अब वामपन्थी शक्तिहरूलाई फुटको संस्कृतिबाट मुक्त गर्दै साझा राजनीतिक अभियान अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।  माओवादी केन्द्रले ल्याउन लागेको वाम एकतालाई देशको वाम आन्दोलनका लागि ऐतिहासिक मोडका रूपमा हेरिएको छ । वामपन्थीहरूबीच एकता सुदृढ हुन सके देशको राजनीतिक स्थायित्व, सुशासन र आर्थिक रूपान्तरणका प्रयासलाई नयाँ गतिमिल्ने विश्वास व्यक्त गरिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, वाम शक्तिहरूबीचको सहकार्यले विगतका विखण्डन र अविश्वासको अवस्था अन्त्य गर्दै राष्ट्रको पुनःनिर्माण र जनताको विश्वास पुनःस्थापना गर्ने मार्ग प्रशस्त गर्न सक्छ ।  

गएराति अछामको साँफेबगरमा भीषण आगलागी,  १० वटा पसल जले

अछाम । अछामको साँफेबगरमा शनिबार साँझ भीषण आगलागी भएको छ । साँझ करिब पौने ९ बजेबाट सुरु भएको आगो डेढ घण्टापछि नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार आगलागीबाट सात वटा टहरा जलेर नष्ट भएका छन् । आगो नियन्त्रणका लागि नजिकैको खोलाबाट कुलो बनाएर पानी ल्याइएको थियो । स्थानीयवासीको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संयुक्त रूपमा आगो नियन्त्रणमा लिएको खनालले बताए । साँफे हाटबजार क्षेत्रमा यसअघि पनि भीषण आगलागी भएर करिब १० वटा पसल जलेकाे प्रहरीकाे भनाइ छ ।

आजदेखि कञ्चनपुरमा धान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि किसानका धान खरिद सुरु गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख महिकरण महराले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि आज (आइतबार) देखि किसानबाट धान खरिद गरिन लागेको जानकारी दिए। कम्पनीले यस वर्ष कञ्चनपुरमा पाँच हजार क्विन्टलमात्र धान खरिद गर्ने उनले बताए। 'यस वर्ष हामीले पहिलो चरणमा पाँच हजार क्विन्टल धान खरिद गर्छौँ,' उनले भने, 'पछि आवश्यकता अनुसार थप हुनसक्छ।' विगतका वर्षहरूमा कम्पनीले लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि यस वर्ष पाँच हजार क्विन्टलमात्र धान खरिद गर्ने लक्ष्य राखेको हो। गत वर्ष १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको भए पनि लक्ष्यको २० प्रतिशतमात्र धान खरिद भएको कम्पनीले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार गत वर्ष दुई हजार ९५१ क्विन्टल मात्र धान खरिद भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा खाद्य संस्थानले किसानबाट १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा तीन हजार क्विन्टल मात्र धान खरिद गर्न सकेको थियो। लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि खाद्य संस्थानले यसपटक धान खरिद गर्ने लक्ष्य घटाएको हो। संस्थानले मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ मूल्य तोकेको छ। कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ। यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ।

पहिराेका कारण बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ ।  बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत (घुमाउने)मा खसेको पहिरोका कारण मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको बिहीबारदेखि सदरमुकाम बेनी बजारसँग यातायात सम्पर्क विच्छेद भएको थियो ।  पूर्वाधार विकास कार्यालय म्याग्दीले आज पहिरो पन्छाएपछि यातायात सञ्चालन भएको कार्यालय प्रमुख विष्णु पौडेलले जानकारी दिए । सडक खुलेपछि दरवाङदेखि बेनी, पोखरा, काठमाडौँलगायत देशका विभिन्न सहरमा जाने यातायात सञ्चालन भएका छन् ।    उक्त स्थानमा विसं २०६१ मा सडकको मार्ग खोलेदेखि नै पहिरोको समस्या रहेको छ । यसको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान गर्ने भनिए पनि योजना अगाडि बढेको छैन । दीर्घकालीन हिसाबले पहिरो रोकथामको सम्भावना नभएपछि पूर्वाधार विकास कार्यालयले अस्थायी रूपमा पहिरो पन्छाएर यातायात सञ्चालन गर्दै आएको छ । 

आन्तरिक पर्यटककाे लागि भोजपुरको देउराली उद्यान आकर्षकस्थल बन्दै

भोजपुर । देउरालीमा निर्माण गरिएको उद्यान (पार्क) अहिले जिल्लामा आउने आगन्तुकका लागि मन रमाउने सुन्दर स्थल बनेको छ । स्थानीय युवाको सक्रियता र सामूहिक प्रयासका कारण यो स्थान अहिले जिल्लाको नयाँ पहिचान बन्दै गएको छ । यस उद्यानको संरक्षण र सरसफाइमा बिहानी फुटबल क्लबका युवाहरूको निरन्तर योगदान रहेको सचिव रिपेश भुजेलले जानकारी दिए । युवाहरूले राष्ट्रिय झण्डा, फूलका गमला र बस्नका लागि फलैँचा निर्माण गरेर उद्यानलाई आकर्षक र व्यवस्थित बनाएका छन् । उद्यानको प्रवेश भागमा खुकुरीको प्रतिमा स्थापनाले यहाँ आउने आगन्तुकको ध्यान झन् बढी तान्ने गरेको छ । यहाँ भोजपुर नगरपालिकाले खुकुरीको प्रतिमा निर्माण गरेको हो । क्लबका युवाहरूले राखेका राष्ट्रिय झण्डाको नियमित हेरचाह र फेरबदलसमेत गर्दै आएका छन्, जसले पार्कलाई सदैव स्वच्छ र आकर्षक बनाएको छ । युवाको सक्रियताबाट प्रेरित भई यहाँका अन्य समाजसेवीहरूले पनि व्यक्तिगत पहलमा फलैँचा निर्माण र सजावटमा सहयोग गरेका छन् । युवाहरूको यस निरन्तर प्रयासले देउराली सुन्दरसँगै भोजपुरकै गर्वको स्थल बन्ने दिशामा अघि बढेको सुरुआती अभियान सञ्चालन गरेका युवा प्रकाश किरातले बताए । युवाहरूले थालेको अभियानलाई विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूको सहयोगले पूर्णता दिएको उनको भनाइ छ । सुन्दर प्राकृतिक दृश्यले सजिएको देउराली उद्यान अहिले फुर्सदको क्षण बिताउने र दृश्यावलोकन गर्ने प्रमुख स्थल बनेको छ । बिहान र साँझको समयमा यहाँ दर्जनौँ आगन्तुकहरू प्रकृतिको आनन्द लिन आउने गरेका छन् ।

देशमा वैशाखयता चार हजार ६०० विपद्जन्य घटना

काठमाडौं । यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने एक हजार २६४ जना घाइते भएका छन् । बाढीका मात्रै तीन सय १६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् ।  त्यसैगरी, पहिरोका पाँच सय ५० घटना हुँदा ६७ जनाको मृत्यु र चार जना बेपत्ता तथा चट्याङका तीन सय ५६ घटना हुँदा ४४ जनाको मृत्यु, सर्पदंशका पाँच सय ३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ । त्यसैगरी, जनावरको आक्रमणका दुई सय ६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ । भारी वर्षाका चार सय २० घटनामा सात, आगलागीका एक हजार ६१४ घटनामा २६ र हुरीबतासका दुई सय ८६ घटनामा आठ जनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिए । हिउँ पहिरोमा परी नौ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा दुई जनाको मृत्यु भएको छ । विपद्जन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ ।  

आफ्नै छाेराद्वार गुल्मीमा बुबाको हत्या, आमा घाइते

गुल्मी । गुल्मीको ह्वाङ्दिमा छोराले बुवाको हत्या गरेका छन्  । मालिका गाउँपालिका– ३ ह्वाङ्दी मेहलेका ५० वर्षीय धनबहादुर विकलाई छोरा २५ वर्षीय छोरा टोपबहादुर विकले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार हसिया र मुग्रा प्रहारबाट बुवाको घटनास्थलमै मृत्यु भएको हो । कुटपिटबाट आमा ४८ वषीया धनमाया विक घाइते भएकी छिन् । उनको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज पाल्पा रेफर गरिएको छ । हत्यामा सम्लग्न छोरालाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको र शवको पोस्टमार्टम आइतबार गरिने प्रहरी उपरीक्षक अधिकारीले बताए ।

सुनसरीमा नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

सुनसरी । इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बनेका छन् । बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उनले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका–६ मा ‘पशुपति नर्सरी’ स्थापना गरे । सुरुआतमा करिब रु दुई लाख ५० हजार लगानीमा सुरु गरिएको यो नर्सरी अहिले रु एक करोडभन्दा बढी लगानीमा रूपान्तरण भएको छ । यही नर्सरीबाट वार्षिक रु ३५ लाखदेखि रु ४० लाखसम्म आम्दानी हुने गरेको अधिकारी बताउँछन् । अधिकारीका हजुरबुबा र बुबाले फूल तथा बिरुवाको व्यवसाय सुरु गरेका थिए । हजुरबुबाबाट प्रेरित भएर उनका बुबाले सुपारीको बिरुवा उत्पादन सुरु गरे । अधिकारीले भने, “बुबा सुपारीका बिरुवादेखि विभिन्न प्रजातिका फूल र फलफूलका बिरुवा उत्पादन गरेर बिक्रीका लागि वीरगन्ज, बुटवल, नारायणगढसम्म पुग्नुहुन्थ्यो ।” सानो उमेरमा बुबासँगै बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र फूल रोप्ने काम अधिकारीका लागि खेलभन्दा पनि बढी खुसीको विषय थियो । उनी सम्झन्छन्, “बुबा बिरुवा रोप्नुहुन्थ्यो, म त्यसमा पानी हाल्थेँ । त्यसैमा सन्तोष मिल्थ्यो, त्यही कामप्रति मोह र लगाव बढ्दै जाँदा पछि यहीँ पेसा रोजे । फूल र बिरुवासँगको सम्बन्ध मेरो आत्मासँग गाँसिएको छ ।” केही समयअघि मात्र क्यानडा पुगेका अधिकारीलाई त्यहाँको आधुनिक जीवनशैलीले लोभ्याए पनि मन भने सधैँ नेपालमै थियो । उनलाई अरूको देशमा गएर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा सानो भए पनि व्यवसाय गर्नु गर्वको कुरा लाग्यो । दुई वर्ष नबित्दै स्वदेश फर्किएर अधिकारी अहिले इटहरीमा तीन नर्सरी शाखा स्थापना गरी सञ्चालन गरिरहेका छन् ।  हाल अधिकारीको नर्सरीमा सात युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । “देशमै बस्न पाउनु, यहीँ आम्दानी हुनु र अरूलाई पनि रोजगारी दिन सक्नु साँच्चिकै सन्तोषको कुरा रहेछ”, अधिकारी भन्छन्।  पशुपति नर्सरीमा अहिले २५ सयभन्दा बढी प्रजातिका बिरुवा छन् । मनिप्लान्ट, टर्मिनेलिया, चाइनादल, भियतनामी नरिवल, थाइकिङ जामुन, अम्बक, सुपारीलगायत विदेशी बिरुवादेखि सिजनल फूल र फलफूलका विभिन्न प्रजातिका बिरुवा यहाँ पाइन्छन् । केही बिरुवा कोलकाता, मुम्बई, काठमाडौँ र चीनबाट आयात हुने र केही यही आफैँले उत्पादन गर्ने गरेको अधिकारीले बताए ।  “नरिवल र सुपारीका बिरुवाको माग अत्यधिक छ”, उनले भने । अधिकारीले सञ्चालन गरेका नर्सरी अहिले इटहरीकै आकर्षण बनेको छ । यहाँ आउने जोकोही बिरुवाको विविधता र सुन्दरता देखेर मोहित हुन्छन् । धेरै व्यक्ति किनमेलसँगै घुम्न, फोटो खिच्न र फूलबारीमा रमाउनका लागि आउने गरेका उनको भनाइ छ । अधिकारीका अनुसार अहिले धेरै जसो टिकटक, युट्युब, गुगललगायत अनलाइन माध्यममार्फत माग आउने गरेको छ । “हामीले देशभर ‘डेलिभरी’ गर्ने गरेका छौँ । देशमा सम्भावना छैन भनेर बिदेसिने युवाका लागि धेरै सम्भावना नेपालमै छ । लगन, मेहनत र विश्वास भए पर्याप्त आम्दानी गर्न सकिन्छ । फूल र बिरुवाले मलाई आर्थिक मात्र होइन, आत्मिक सन्तुष्टि पनि दिएको छ”, उनले भने । पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै परदेशको मोह त्यागी आफ्नै माटोमा आत्मनिर्भर बनेका अधिकारीजस्ता युवा उद्यमीले देशभित्रै रोजगारी र समृद्धिको बाटो सम्भव छ भन्ने प्रमाणित गरेको छ ।