त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये अन्तर्वार्ताका लागि छनोट भएका १४ जना(नामावलिसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ मध्ये १४ उमेदवार अल्पसूची ९सर्ट लिष्ट०मा परेका छन् । सिफारिस समितिले प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि सूची बिहीबार सार्वजनिक गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उक्त सूचीमा पर्नेमा कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा छन् ।

त्रिविका उपकुलपति डा। धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा। चन्द्रकला घिमिरे रहेको समिति गठन गरेका थिए । हाल शिक्षाध्यक्ष शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ । रासस

ओली सरकारले गिरिबन्धु टि-स्टेटको जग्गा सट्टापट्टा गर्न गरेको निर्णय कानुन विपरित, सर्वोच्चबाट बदर

काठमाडौं। सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको गिरिबन्धु टि–स्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा गर्ने निर्णय कानुनी प्रावधान अनुकूल नभएको फैसला गरेको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपनाप्रधान मल्ल र सुष्मालता माथेमाको संवैधानिक इजलासले आज कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको ठहर गर्दै बदर हुने फैसला सुनाएको हो। फैसलामा भनिएको छ, “नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८र१र१३ को प्रत्यर्थी गिरीबन्धु टि स्टेट प्रालिलाई ३४३–१९–१२ बिघा जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने विवादित निर्णय विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२ (ग) लगायतका कानुनी प्रावधानअनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सोबमोजिम भएरगरिएका काम कारबाहीसमेत बदर हुने ठहर्छ।”

गृहमन्त्री श्रेष्ठले दिए मधेस प्रदेशको सुरक्षाबारे यस्तो निर्देशन

बर्दिबास। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको सुरक्षाबारे प्रशासनिक निकायहरूबाट रिपोर्टिङ लिनुका साथै आवश्यक निर्देशन समेत दिएका छन्। आज महोत्तरीको बर्दिबासका आयोजित सुरक्षा समिक्षा कार्यक्रममा महोत्तरी तथा धनुषाका सिडिओ, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुखहरू र जिल्लाका सुरक्षा प्रमुखहरूले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे गृहमन्त्री श्रेष्ठलाई रिपोर्टिङ गरेका छन्। रिपोर्टिङ सुनिसकेपछि गृहमन्त्री श्रेष्ठले लागु औषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन र यी सबै योजनामा प्रदेश र पालिका सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिए। त्यसक्रममा संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको उनले बताए। धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्कन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक बिधिबाटै नियन्त्रण गर्न उनले प्रशासनिक र सुरक्षा निकायलाई निर्देशन दिए। सीमामा राजस्व चुहावट नियन्त्रण गर्न, राजस्व बढाउन, अबैध कारोबार नियन्त्रण गर्न र क्रस बोर्डर क्राइम रोक्न बोर्डर पोस्ट थप्ने गृहकार्यमा सरकार रहेको गृहमन्त्री श्रेष्ठले बताए। मिटर ब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाहीमा गर्न समेत उनले निर्देशन दिए।

अदालतको आदेश अनुसार रिहा भए व्यवसायी अरुण चौधरीसहित तीन जना

काठमाडौं । बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना रिहा भएका छन् । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित आज तीनैजना रिहा भएको सीआईबी प्रवक्ता इन्सपेक्टर नवराज अधिकारीले जानकारी दिए । यही माघ १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीसहित कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर पक्राउ परेका थिए । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाडेको हो ।

बङ्ग्लादेशसँग विद्युत् व्यापार कार्यान्वयन गर्ने अन्तिम तयारी

काठमाडौं ।नेपाल र बङ्ग्लादेशबीचको विद्युत् व्यापार कार्यान्वयन गर्ने अन्तिम तयारीमा सरकार जुटेको छ । नेपालले बङ्ग्लादेशसँग विद्युत् व्यापार गर्ने बहुप्रतीक्षित योजना अन्तर्गत पठाइएको बोलपत्रको टुङ्गो ढिलोमा अबको दुई साताभित्र हुने र बर्खा अगावैबाट विद्युत् बाङ्लादेश पुग्ने सरकारले जनाएको छ । ऊर्जा सचिव गोपाल प्रसाद सिग्देलले विद्युत व्यापार सम्बन्धि सम्झौता कार्यान्वयनको अन्तिम चरणमा बताएका छन्। नेपाल विद्युत् प्राधिकरणले विद्युत् व्यापारको दरभाउ समेटिएको सिलबन्दी प्रस्ताव ढाका पठाएको हो। नेपालले एकल रूपमा प्रस्तुत गरेको यस बोलपत्रमा दरभाउ र सर्तहरू समेटेको छ । सो बोलपत्र दुई देशबीचको छलफल पछि टुङ्गिने छ ।तत्कालका लागि ४० मेगावाट बाङ्ग्लादेशलाई बेच्ने दुई देशबीचको समझदारी छ जुन नेपालमा चाहिनेभन्दा बढ्ता उत्पादन हुँदासम्म बाङ्ग्लादेशलाई बेच्न सकिने छ।

संघीय संसदका नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ

काठमाडौं । संघीय संसदका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले शपथ लिएका छन्। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई बुधबार बिहान पद तथा गोपनियताको शपथ खुवाएका हुन्।पाण्डेयले कार्यभारसमेत सम्हालिसकेका छन्। सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई मंगलबार संघीय संसद महासचिवमा नियुक्त गरेका थिए। समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल उपस्थित रहेको थियो । महासचिव नियुक्त हुनुअघि पाण्डेले सचिव पदबाट राजीनामा दिएका थिए।

भरतपुरमा युवाहरुले सञ्चालन गरे नमुना नगर युवा सभा

चितवन । भरतपुर महानगरपालिकाको आयोजनामा सञ्चालन भएको नमुना नगर युवा सभा सम्पन्न भएको छ ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेल र महानगरका जनप्रतिनिधिको उपस्थितिमा सहभागिहरुले नमुना नगर युवा सभाको प्रस्तुती दिएका थिए । नमुना नगर सभामा भरतपुर युवा सञ्जालका अध्यक्ष अञ्जान दवाडीले नगर अध्यक्ष र सहसचिव विभा पाण्डेले नगर उपाध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो । बाँकी सहभागिले नगर सभासदको भूमिका निर्वाह गरेका थिए ।नमुना नगर सभाका लागि महानगर सभाहलमा संसदीय मामिलाका विज्ञ रमाकान्त पौडेलले ३ दिनको प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा महानगरका २९ वटा वडाबाट १६ वर्षदेखि २४ वर्ष उमेर समूहका ३९ जना प्रतिनिधिको उपस्थिति रहेको थियो । नमुना संसदिय अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानुन, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि कार्यक्रमको आयोजना गरिएको महानगरका शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए ।युवा नेतृत्व, महानगरबारे जानकारी, युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा गरिएको नमुना नगर सभा मध्ये अहिलेसम्मकै उत्कृष्ट नमुना सभा भएको बताइन्।प्रमुख दाहालले अहिलेका युवा देशका भोलिका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी भएकाले अहिलेबाटै जिम्मेवार बनाउन कार्यक्रम महत्वपूर्ण रहने उल्लेख गरिन ।युवा सञ्जाल महानगरको एक निकाय भएकाले हरेक गतिविधिमा जिम्मेवार र उत्तरदायित्व भएर अगाडि बढ्न प्रमुख दाहालले अनुरोध समेत गरिन ।भरतपुर महानगरपालिकाले युवाहरुको विकासका लागि वार्षिक रुपमा ठुलो रकम विनियोजन गर्दै आइरहेको उनको भनाइ थियो । कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वागमती प्रदेशका युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाँई, राष्ट्रिय युवा परिषदका उपसचिव कर्ण बहादुर कुँवर, नमुना नगर सभाका अध्यक्ष अञ्जान दवाडी, उपाध्य विभा पाण्डे लगायतले मन्तव्य राखेका थिए ।गत माघ १२ गते महानगरस्तरीय ११ सदस्यीय कार्य समिति गठन भएको थियो । वडा क्लब गठन तथा नमुना युवा संसद कार्याविधि २०७५ अनुसार प्रत्येक दुई दुई वर्षमा नमुना नगर सभा गर्नुपर्ने उल्लेख छ ।

सङ्घीय संसद्को महासचिवमा पाण्डेय नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मङ्गलबार प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१)बमोजिम पाण्डेयलाई महासचिवमा नियुक्त गरेका हुन् । पाल्पा जिल्ला रिव्दिकोट गाउँपालिका–१ निवासी पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी सङ्घीय संसद्को महासचिव पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नागढुङ्गा सुरुङ फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी

काठमाडौं। नागढुङ्गामा निर्माणाधीन सुरु सुरुङ मार्गको टनेल ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको छ। आगामी फागुन २३ गते ‘ब्रेक थ्रु’ गर्नेगरी आयोजनाले काम गरिरहेको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका अनुसार ‘ब्रेक थ्रु’ हुनका लागि अब मात्र ३२ मिटर बाँकी रहेको छ। फागुन २३ गते ‘ब्रे थ्रु’ हुने भएपनि सुरुङ्गमार्गमा गाडी कुदाउन भने अझै एक वर्ष कुर्नुपर्ने आयोजनाले जनाएको छ। सुरक्षात्मक संरचना, बत्ती जडान,फिनिसिङ् लगायतका कामहरु बाँकी नै रहेकाले गाडी कुदाउन भने ‘ब्रेक थ्रु’ भइसकेपछि एक वर्ष कुर्नुपर्ने भएको हो। सुरुङ्ग दुई हजार ६८८ मिटर लामो रहेको छ । यो सुरुङमार्ग ‘ब्रेक थ्रू’ सँगै नेपाल आधुनिक सुरुङ मार्गमा पहिलो पटक प्रवेश गर्नेछ।

राइड सेयरिङ एपहरुलाई सेवामूलक उद्योगको मान्यता

काठमाडौं । सरकारले राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको छ। सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ मा संसोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको हो। गत माघ १८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राइड सेयरिङ सेवालाई औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी ऐनको अनुसूची-८ को क्रमसंख्या ६६ थप गर्दै मान्यता दिएको हो। सेवामूलक उद्योगको दर्जा पाएसँगै अब राइड सेयरिङ एपहरू विभागमा दर्ता गर्नुपर्ने हुन्छ। ऐनमा आधारित भई यस्ता कम्पनीहरूले दर्ता गरी सञ्चालन गरेपछि कुनै पनि प्रकारको ऐन विपरीत कार्य भएमा कम्पनीलाई कारवाही समेत हुनेछ। कानुनी मान्यता प्रदान गरेसँगै अब राइड सेयरिङ एपहरूलाई नियमन गर्न सहज हुनेछ। यसबाहेक यी एपहरूले हालसम्म यातायातको ऐनबाट कुनै मान्यता दिएको छैन। यसको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात विधेयक २०८० विधेयक तयार पारेको छ।

अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार : विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । गत असार मसान्तसम्ममा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो । योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकामा पुस मसान्तमा १८ दशमलव नौ प्रतिशतले वृद्धि भई रु १६ खर्ब २३ करोड पुगेको छ । राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकामा पुस मसान्तसम्म पुग्दा ११ दशमलव आठ प्रतिशतले वृद्धि भई रु दुई खर्ब १६ अर्ब ३५ करोड कायम भएको छ । गत पुस मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव पाँच महिनाको वस्तु आयात र १२ दशमलव एक महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यो अवधिसम्ममा रहेको विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३३ दशमलव आठ, सय दशमलव ९ र २७ दशमलव ७ प्रतिशत छन् । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा चालु खाता रु एक खर्ब ६१ अर्ब ६२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ३५ अर्ब ५७ करोडले घाटामा थियो । यो अवधिमा पुँजीगत ट्रान्सफरमा भने ३० प्रतिशतले कमी आई रु तीन अर्ब ११ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु चार अर्ब ५३ करोडले धनात्मक रहेको छ ।

सूर्यदर्शन सहकारी ठगी कान्ड : रास्वपा सभापति लामिछानेविरुद्ध अनुसन्धान सुरु

कास्की । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सोमबार पीडितहरुले पूरक जाहेरी दर्ता भएपछि प्रहरीले थप व्यक्तिहरुविरुद्ध अनुसन्धान सुरु गरेको हो । कास्कीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाका अनुसार प्रहरीका पूरक जाहेरी प्राप्त भएपछि अनुसन्धान थालिएको हो । सूर्यदर्शन सहकारीका पीडितले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, लेखनाथका व्यवसायी नेत्रपाणि बास्तोला, सहकारीकै पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन लगायतविरुद्ध जाहेरी परेको छ । पीडितहरुले १४ संस्थाहरुविरुद्ध पनि जाहेरी दिएका छन् । सहकारीका सञ्चालक जिबी राईको समूहले गैरकानुनी तवरले सूर्यदर्शनबाट अरु विभिन्न संस्थामा रकम पठाउने, ऋण दिने गरेकाले ती संस्थाविरुद्ध पनि अनुसन्धान गर्नुपर्ने माग छ । पोखरा महानगरको सहकारी शाखाको प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारी ठगी कान्डमा यसअघि नै १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । महानगरको सहकारी शाखाको प्रतिवेदनले सभापति लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको औंल्याएको छ । काठमाडौंमा रहेको ग्यालेक्सी टिभीका अध्यक्ष रहेका जीबी राईसहितको समूहले सूर्यदर्शनको एक अर्ब ३५ करोड हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यसअघि नै जाहेरी परेका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा चार जना प्रक्राउ परेका छन् भने बाँकी फरार छन् । सूर्यदर्शनका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र सञ्चालक समिति सदस्य भविश्वर अर्याल अहिले पुर्पक्षका लागि थुनामा छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपियाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका पूर्वअध्यक्ष जीबी राई लगायतको विरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ । इन्टरपोलले माघ १२ गते सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र जिबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी गरिसकेको छ ।

नागढुंगा सुरुङमार्ग : ९८.८० प्रतिशत सुरुङ खन्ने काम पूरा

काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनामा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । कुल २० अर्ब ९० करोड रुपैयाँभन्दा बढी लागतको आयोजनाको ७० प्रतिशत रकम खर्च भइसकेको आयोजनाले जनाएको छ । सुरुङमार्ग कुल दुई हजार ६८८ मिटर लामो हुनेछ । हालसम्म ९८.८० प्रतिशत अर्थात् दुई हजार ६५६ मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाले जानकारी गराएको छ । राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा आयोजनाको प्रगति विवरण सार्वजनिक गरिएको हो । सुरुङमार्ग निर्माणको काम ६८.५४ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । १२ पुल र फ्लाइओरभर बनाउने काम २७।४८ प्रतिशत पूरा भएको छ । एक हजार ८७२ मिटर एप्रोच रोड बनाउने काम ५३.८१ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।

भरतपुर महानगरले शुरु गर्‍यो निजी अस्पतालको अनुगमन

चितवन । भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालमा अनुगमन सुरु गरेको छ । स्थानीय सरकारमातहत रहेका अस्पतालमा महानगरको टोलीले सोमबारदेखि अनुगमन थालको हो । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीको नेतृत्वको टोलीले अस्पतालको भौतिक संरचना, शय्या, औषधि, उपकरणको अवस्था, लिफ्ट वा अपाङ्गतामैत्री ¥याम्प, पर्याप्त पार्किङ भए÷नभएकोलगायत विषयमा स्थलगत निरीक्षण गरेको छ । सो अवसरमा उपप्रमुख अधिकारीले भने, ‘मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सुधार हुन जरुरी छ । बहानाबाजी चल्दैन, कानुनभन्दा माथि कोही छैन ।’ अनुगमन क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौड्यालले अस्पताललाई व्यवस्थापन गर्न र कानुनी दायरामा ल्याउनका लागि अनुगमन सुरु गरिएको उल्लेख गरे । ‘भरतपुरका केही अस्पताल बिना इजाजत सञ्चालन गरेको पाइयो’, उनले भने, ‘त्यसैलाई खबरदारी गर्न हामी अनुगमनमा निस्केका हौँ ।’ भरतपुर महानगरपालिका स्वास्थ्य संस्था दर्ता अनुमति नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७ ले महानगरभित्र सञ्चालन हुने निजी अस्पताल, क्लिनिक र प्रयोगशालालाई मापदण्डअनुसार सञ्चालन गर्न अनुमति दिने व्यवस्था रहेको छ । जनस्वास्थ्य प्रवर्द्धन शाखाका अधिकृत दीपक सुवेदीका अनुसार भरतपुर महानगरपालिकामा अस्पताल, क्लिनिक र प्रयोगशाला गरी ४९ स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । यसमध्ये अस्पताल चार, बाँकी ४५ क्लिनिक र प्रयोगशाला छन् । त्यस्तै, अहिले महानगरपालिकामा तीन अस्पताल, ४३ क्लिनिक तथा प्रयोगशालाले अनुमतिका लागि निवेदन दिएका छन् । स्थानीयस्तरमा १५ शय्यासम्मको अस्पताल सञ्चालन गर्न स्थानीय सरकारलाई अनुमति दिइएको छ भने प्रदेश सरकारले दुई सय शय्यासम्मको अस्पताल सञ्चालन गर्न पाउने कानुनी व्यवस्था रहेको छ । दुई सय शय्याभन्दा माथिको अस्पताल सञ्चालन गर्न सङ्घीय सरकारलाई अधिकार दिइएको छ ।

पूर्वसामान्य प्रशासन मन्त्री बुढाथोकीको निधन

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ । झापा अर्जुनधाराका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो । पूर्वसामान्य प्रशासन मन्त्रीसमेत रहेका उनी निमोनिया, ब्लड प्रेसरमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । पूर्वराजा वीरेन्द्रका ‘क्लासमेट’ समेत रहेका बुढाथोकी पञ्चायत हुँदै कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए । बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भू–भागमा आंशिक बदल रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस रहेको थियो । विभागले दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।