गाेरखामा किसानलाई उत्पादनमा आधारित अनुदान

गोरखा ।  जिल्लाको गण्डकी गाउँपालिकाले कृषि अनुदानको उचित व्यवस्थापन गर्न ‘उत्पादनमा आधारित अनुदान’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । पालिकाले आर्थिक वर्ष २०८०/८१ बाट उक्त कार्यक्रम लागू गरेको थियो । कार्यक्रमलाई थप व्यवस्थित बनाउन पालिकाले हाल उत्पादनमा आधारित अनुदान व्यवस्थापन सफ्टवेयर सञ्चालनमा ल्याएको छ । 

सफ्टवेयरमार्फत कृषकले दैनिक रूपमा बिक्री वितरण गर्ने कृषि सामग्रीको परिमाण अद्यावधिक गरिने पालिकाको प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईँले बताए । उनका अनुसार कृषि सफ्टवेयरबाट दैनिक रूपमा कुन किसानले कति परिमाणको कृषि सामग्री बिक्री वितरण गर्‍यो भन्ने तथ्याङ्क राख्न सकिन्छ । सोही तथ्याङ्कका आधारमा अनुदान वितरण गर्न उत्पादनमा आधारित अनुदान व्यवस्थापन सफ्टवेयर सञ्चालनमा ल्याएको उहाँले जानकारी दिए । 

यसअघि हामीले म्यानुअल रूपमा तथ्याङ्क सङ्कलन गर्ने गर्थ्यौ। सङ्कलित तथ्याङ्क वडा हुँदै पालिकासम्म आउँथ्यो अनि त्यसलाई फेरि कम्प्युटरमा इन्ट्रगरेर कसले कति कृषि सामग्री सङ्कलन गर्‍यो, कति अनुदान पाउने भन्ने हिसाब निकाल्नु पर्थ्यो”, उनले भने, “पहिलाको अनुदान प्रक्रिया लामो र झन्झटिलो भएकाले सफ्टवेयर सञ्चालनमा ल्याएका हौँ । सफ्टवेयरले अनुदान कार्यक्रममा सूचीकृत कृषकले दैनिक रूपमा कुन कृषि सामग्री, कति परिमाणमा बिक्री गरे भन्ने हिसाब राख्छ ।” कृषकले पालिकाबाट सूचीकृत कृषि सहकारीबाट मात्रै कृषि सामग्री बिक्री वितरण गर्नुपर्ने पालिकाको प्रमुख प्रशासकीय अधिकृत चापागाईँ बताउँछन् । 

उनी भन्छन्, “यस कार्यक्रमका लागि हामीले छुट्टै कार्यविधि नै बनाएका छौँ । कार्यविधिअनुसार सूचीकृत कृषकले कृषि सहकारीमार्फत आफ्नो कृषि सामग्री बिक्री गर्छ । सहकारीले कुन किसानले कति परिमाणको कृषि सामग्री बिक्री गर्‍यो भन्ने हिसाब राखेर पालिकाको सफ्टवेयरमा इन्ट्री गर्छ ।” कृषि सामग्रीको परिमाणका आधारमा एककिलो बराबर निश्चित रकम अनुदान दिने उनले बताए । 

“जुन कुनै जातको तरकारीमा केजीको दुई रुपैयाँ, फलफूलअन्तर्गत सुन्तलामा केजीको चार रुपैयाँ, खाद्यान्न बालीअन्तर्गत कोदोमा केजीको पाँच रुपैयाँ, अण्डा प्रतिक्रेट पाँच रुपैयाँ र मासुमा प्रतिकेजी रु १० अनुदान दिने प्रावधान छ”, उनले भने । उत्पादनमा आधारित अनुदान कार्यक्रममा पालिकाभित्रका एक हजार बढी कृषक आबद्ध रहेको उहाँले जनाकारी दिनुभयो । गत वर्ष मात्र यही कार्यक्रममार्फत केही किसानले डेढ लाखसम्म अनुदान पाएको पालिकाको प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईँको भनाइ छ । 

यसअघि सञ्चालनमा आएका कृषि अनुदान कार्यक्रम लक्षित वर्गसम्म नपुगेका र ती कार्यक्रमको उचित व्यवस्थापन नहुँदा अनुदानको दुरुपयोग भएकाले उत्पादनमा आधारित कृषि अनुदान कार्यक्रम सञ्चालन गरेको गण्डकी गाउँपालिकाले जनाएको छ । 

बिहीबार बिहानदेखि शुक्रबारसम्म: हिमपात, बाढी, पहिरो र डुबानको सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले विक्रम संवत् २०८२ कार्तिक १३ गते बिहीबार बिहानदेखि कार्तिक १४ गते शुक्रबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ । विभागको कार्तिक १२ गतेको अद्यावधिक मौसम पूर्वानुमानअनुसार सोही अवधिमा कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने उल्लेख छ । यस्तो वर्षा र हिमपातले जनजीवनमा असर पार्न सक्ने भएकाले सम्बन्धित प्रदेशका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । मौसम पूर्वानुमानमा उल्लेखित क्षेत्रका बासिन्दा, यातायात तथा कृषकहरूलाई सडक अवरोध, भूस्खलन र बाढीको जोखिमबाट बच्न पूर्व तयारी गर्न सल्लाह दिइएको छ । थप जानकारीका लागि विभागको वेबसाइट वा हटलाइनमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

माओवादी संयोजक प्रचण्डले कारागारमा पुगेर महराको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई भेट्नुभयो । सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई प्रचण्डले काठमाडौंको जगन्नाथदेवल कारागार (सुन्धारा) मा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । यसअघि साधारण तारेखमा बाहिर रहेका महरालाई पछिल्लो समय जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको थियो । महराको स्वास्थ्य अवस्था राम्रो नभएको जनाइएको छ । भेटमा महराले प्रचण्डसँग आफू निर्दोष रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "म निर्दोष छु । म, मेरो पार्टी माओवादी केन्द्र र मेरो राजनीतिक करियरलाई समाप्त पार्ने षड्यन्त्रस्वरूप मलाई झुटो आरोप लगाइएको छ । म कानुनी रूपमा पनि फेस गर्छु । कसैसँग फोनमा कुराकानी भएको आधारमा तथ्यहीन आरोप लगाएर फसाउने काम गरिएको छ ।" भेटवार्तामा प्रचण्डले पार्टीले कानुनी उपचारका लागि सहयोग गर्ने बताउनुभयो । महरामाथि विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ ।

प्रतिनिधि सभा पुनर्स्थापनामा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पाँच सदस्यीय संवैधानिक इजलासले मुद्दाको अन्तिम सुनुवाइको समयमा नै माग दाबीका विषयमा छलफल हुने भन्दै अहिले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । इजलासले रिट निवेदनको मागबमोजिम किन आदेश जारी गर्न नपर्ने हो, त्यसको कानुनी आधार र कारण खुलाएर सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ ।

विप्लवलाई दाहालको प्रश्न: ‘पार्टी एकताकाे लागि छलफलमै आएको नाम लिएर दल दर्ता किन ?’

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट पार्टी नेपाल नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको समाचार सार्वजनिक भएपछि नेकपा (माओवादी केन्द्र) का नेता राजन दाहालले तीव्र प्रतिक्रिया दिएका छन् । दाहालले पार्टी एकताका लागि गठन गरिएको वार्ता टोलीमा नाम र चुनाव चिन्हबारे छलफल अन्तिम चरणमा पुग्दा, त्यही छलफलमा आएको नाम लिएर दल दर्ताको निवेदन दिनु राजनीतिक रूपमा गैरजिम्मेवार कदम भएको टिप्पणी गरेका छन् । “नामको प्रस्तावक को हो, त्यो त अवगत नै होला,” दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “वार्ताको निष्कर्ष ननिस्कँदै आयोगमा निवेदन दिंदै हुनु इतिहासप्रति अन्याय हो ।” नेता दाहालका प्रश्नहरू: अन्ततः यही बाटोमा आउनु थियो भने जनविश्वास आर्जन गरेको एकताबद्ध र मजबुत केन्द्रीकरण भएको पार्टी किन बिभाजित गरेको ? नेता, कार्यकर्ता र जनताको मनोविज्ञान किन बिभाजित गरेको ? श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डलगायत माओवादीका नेताहरूलाई मार्न बम किन बिछ्याएको ? अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराउन लागेको ? आफ्नै पार्टीको केन्द्रीय समितिको बहुमत केन्द्रीय समिति सदस्यको निर्णय अस्वीकार गरी लेनिनवादी सङ्गठनात्मक पद्दतिलाई अस्वीकार गर्दा (नेकपा बहुमत ) बनाउनु पर्ने बाध्यता किन सृजना गरेको ? अत्यधिक केन्द्रीय सदस्य एकताको पक्षमा हुँदाहुँदै एकता नगरी फेरि त्यही अवस्था सृजना गर्न खोजेको हो ? वार्ता टोलीमा नाम र चुनाब चिन्हको बारेमा छलफल र निष्कर्षमा पुग्नै लाग्दा छलफलमा आएको नाम लिएर निर्वाचन आयोगमा दल दर्ताको निवेदन किन दिएको ? गएका १३ वर्षमा अध्यक्ष नै दिएर पुरस्कृत गर्नु पर्ने गरी के योगदान गरेको छ र अध्यक्ष मागेको ? विचार मिल्नेसँग एकताको लागि वार्ता जारी रहँदारहँदै बिना जानकारी ओलीजी सँग पनि एकताको लागि संवाद किन सुरू गरेको ? माओवादी केन्द्रका नेता दाहालले विप्लवलाई भनेका छन्, ‘दर्जनौ यक्ष प्रश्नको जवाफ त दिनैपर्छ महोदय । इतिहासप्रति न्याय गर्न पनि आत्मसमीक्षा र कमजोरीको स्वीकारोक्ति त गर्नुपर्ला नि ।’

कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजार पर्यटक

मुस्ताङ । कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक मार्ग हुँदै कात्तिक १ गतेदेखि  १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा सो अवधिमा बेनी–जोमसोम सडक मार्ग हुँदै बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ वटा सवारीसाधन भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिइन् ।  कात्तिक १० गते म्याग्दी हुँदै मुस्ताङ भित्रिएका चार हजार ५९८ पर्यटकमध्ये कतिपयको मुक्तिनाथ दर्शन यात्रा हिमपातका कारण असहज बनाइदिएको छ । सोमबार रातिदेखिनै मुस्ताङमा वर्षा र हिमपात भएसँगै यहाँका आएका पर्यटक समस्यामा परेका हुन् ।  कागबेनी–मुक्तिनाथ सडकखण्ड र मुक्तिनाथ बसपार्कदेखि मुक्तिनाथ मन्दिरसम्मको पैदलमार्गमा बाक्लो हिमपात भएका कारण यहाँ आएका तीर्थालुहरू समस्यामा परेका मुक्तिनाथ मन्दिर विकास समितिका कर्मचारी रविन सुवेदीले बताए । मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएकाले चिसो अत्यधिक बढेको छ । मुक्तिनाथ स्नानकुण्ड र १०८ धारा जमेका कारण भक्तजनलाई धार्मिक कार्यमा बाधा पुगेको सुवेदीको भनाइ छ । चालु वर्षको साउनदेखि कात्तिक १० गतेसम्ममा एक लाख ५९ हजार ४६७ जना पर्यटक बेनी–जोमसोम सडक मार्ग हुँदै मुस्ताङ भित्रिएका छन् ।

फेरि बढ्यो अन्डाको मूल्य

काठमाडौं । अन्डाको भाउ फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो ।  सङ्घका अनुसार अघिल्लो दिनको तुलनामा प्रतिक्रेट ५० रुपियाँ भाउ बढेको छ ।  सङ्घका अध्यक्ष विनोद पोखरेलले भाउ बढेसँगै ठुलो अन्डाको मूल्य प्रतिक्रेट पाँच सय रुपियाँ र मध्यम अन्डाको ४५० रुपियाँ पुगेको जानकारी दिए । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरेको उनले बताए । 

तीन महिनामा बैतडीमा अठार जनामा डेङ्गी सङ्क्रमण

बैतडी ।  बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताए ।  स्वास्थ्य कार्यालयमा प्राप्त तथ्याङ्कअनुसार मेलौली नगरपालिकाका आठ जना, दशरथचन्द नगरपालिकाका छ जना, पुर्चौंडी नगरपालिकाका तीन जना र पाटन नगरपालिकाका एक जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । जिल्लाका अन्य स्थानीय तहमा डेङ्गीका बिरामी फेला नपरेका जनाएको छ । गत वर्ष जिल्लामा १०६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो ।  हाल लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जिल्लाभरि सञ्चालन भएको छ । एडिस जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने गर्दछ । डेङ्गीबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जोड दिए।  डेङ्गी सङ्क्रमण हुँदा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्ने जस्ता कडा खालका लक्षणसमेत देखा पर्ने गर्दछन् ।  यस्ता खालका लक्षण देखिएमा डेङ्गी जाँच गर्नु आवश्यक रहेको र जाँच नगरीकनै जथाभाबी औषधि सेवन गर्दा अन्य समस्या निम्तिने भएकाले योतर्फ सबैले सचेत हुनुपर्नेमा स्वास्थ्य कार्यालयले जोड दिएको छ । 

प्राविधिक समस्या उत्पन्न भएपछि वैदेशिक रोजगार विभागको सेवा प्रभावित

काठमाडौं । वैदेशिक रोजगार विभागको वेबसाइट र सर्भर (फेमिस सिस्टम) मा प्राविधिक समस्या उत्पन्न भएपछि विभागका अधिकांश सेवा प्रभावित भएका छन् । दशैँ बिदापछि एक्कासि अत्यधिक आवेदन परेपछि सर्भरमा समस्या देखिएको विभागले जनाएको छ । हाल दशैँ र तिहार बिदामा आएका श्रमिकहरू पुनः श्रम स्वीकृतिका लागि आवेदन दिन थालेपछि चाप बढेको हो । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार पछिल्ला केही दिनयता सर्भरमा अत्यधिक चाप परेकाले समस्या देखिएको हो । उनले मंगलबार बिहानदेखि प्राविधिक टोलीले समस्या समाधानका लागि काम सुरु गरेको जानकारी दिए ।  “प्राविधिक टोलीले वेबसाइटमा ‘स्पेसल सर्टिफिकेट एक्सपायर’ भएको कारण सर्भरमा समस्या आएको पत्ता लगाएको छ,” भट्टराईले भने । उनका अनुसार ताहचलस्थित विभागको केन्द्रीय कार्यालयबाट दिइने सेवा सुस्त गतिमा भए पनि विभागअन्तर्गतका प्रदेश कार्यालयहरूमा तीन दिनदेखि सेवा प्रभावित हुँदै आएका छन् । विभागले वेबसाइट पुनः सञ्चालनमा ल्याउने कार्य जारी राखेको र बुधबार बिहानसम्म वेबसाइट चल्न सक्ने, तर सर्भर पूर्णरूपमा सुचारु हुन केही समय लाग्ने अनुमान गरिएको छ ।सर्भर बन्द हुँदा श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिने सेवाग्राहीहरू मर्कामा परेका छन् । यद्यपि विभागले मङ्गलबार राति वा बुधबार बिहानदेखि आवेदन दिन सकिने सम्भावना व्यक्त गरेको छ ।

गुल्मी कारागारकाे क्षमता २५, कैदीबन्दी १०८ जना

गुल्मी । गुल्मीस्थित कारागार कार्यालयमा २५ जना मात्र कैदीबन्दी राख्ने क्षमता भए पनि हाल १०८ जना कैदीबन्दी रहेका छन् ।  विसं २०२४ सालमा स्थापना भएको तम्घासस्थित उक्त कारागारमा २० जना पुरुष र पाँच जना महिला गरी २५ जनाको क्षमता रहेको जेलर रेश्मीराज पन्थीले जानकारी दिए ।  हाल कारागारमा १०२ जना पुरुष, पाँच जना महिला र एक जना आश्रित रहेका छन् । तीमध्ये पुरुष कैदी ७१ जना र थुनुवा ३१ जना छन् भने महिला कैदी चार र थुनुवा एक जना छन् । जेलर पन्थीका अनुसार यहाँ रहेका कैदीबन्दीमध्ये कर्तव्य ज्यानसम्बन्धी १८, जबरजस्ती करणी ५९, सवारी ज्यान ३, चोरी ११, बहुविवाह ५, अभद्र व्यवहार १, हातहतियार खरखजाना १, ज्यान मार्ने उद्योग ३, आपराधिक उपद्रव (आगोलागी) १, अप्राकृतिक मैथुन १, भ्रष्टाचार २, कुटपिट १ र अन्य ज्यानसम्बन्धी कसुरमा २ जना रहेका छन् । क्षमता भन्दा धेरै कैदीबन्दी भएकाले आवास र सुरक्षासम्बन्धी समस्या देखिएको जेलर पन्थीले बताए । “तारबार निर्माण गर्न जरुरी छ । सुरक्षाकर्मीका आवास गृह जीर्ण छन् र कर्मचारीलाई समेत आवासको अभाव छ,” उनले भने । विभिन्न अपराधमा सजाय भुक्तान गरिरहेका कैदीबन्दीलाई सिप सिकाएर आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ । हाल कारागारमा बाँसका मुढा, फर्निचर र ढाकाका कपडा उत्पादन हुँदै आएका छन् । फर्निचर निर्माणमा ५० जना, मुढा उत्पादनमा ३५ जना, ढाकाका सल बुन्नेमा १५ जना र स्वेटर बुन्नेमा ६ जना कैदीबन्दी संलग्न छन् । कारागारलाई सानो औद्योगिक ग्रामको रूप दिन खोजिए पनि तालिम र काम गर्ने स्थानको अभाव रहेको जेलर पन्थीले बताए । तयार सामग्रीको बजार व्यवस्थापनमा पनि कठिनाइ देखिएको छ । शिक्षा र मनोपरिवर्तनका लागि कारागारमा पुस्तकालय स्थापना गरिएको छ तर नयाँ पुस्तकको अभाव छ । खेलकुदतर्फ कैदीबन्दीले भलिबल, ब्याडमिन्टन, चेस, क्यारेमबोर्ड र लुडोमा रुचि देखाएका छन् । पछिल्लो समय उनीहरू तरकारी खेतीतर्फ पनि आकर्षित भएका छन् । कारागार परिसरमा मौसमअनुसारका तरकारी—जस्तै खुर्सानी, भान्टा, स्क्वास, फर्सी, घिरौंला, भिन्डी, काउली आदि—खेती भइरहेको छ । जीर्ण भवनको भित्री र बाहिरी भागमा रङरोगन, कार्पेटिङ र ढलान गरी वातावरण सुधार गरिएको जेलर पन्थीले जानकारी दिए ।  पुरुष र महिला कैदीबन्दीका लागि सुताइ व्यवस्था सहज बनाउन डबल टेकर खाटको व्यवस्था गरिएको छ ।

आजदेखि प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका १६ वटा रिट निवेदनको सुनुवाइ आज बुधबार (कात्तिक १२ गते)देखि सुरु हुने भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धी निर्णय बदर गरी प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने मागसहित दायर रिटमा प्रारम्भिक सुनुवाइ हुने छ । सत्तारूढ गठबन्धनको समर्थनमा राष्ट्रपतिद्वारा सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने निर्णय र त्यससँगै गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै विभिन्न नागरिक, कानुन व्यवसायी र राजनीतिक दलका तर्फबाट ११ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए । ती सबै रिटलाई एउटै मुद्दा समूहमा राखी संयुक्त रूपमा सुनुवाइका लागि तयारी भइरहेको अदालत स्रोतले जनाएको छ । सुनुवाइ संवैधानिक इजलासमा हुनेछ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको छ । इजलासका अन्य सदस्यहरूमा न्यायाधीशहरू सपना प्रधान मल्ल, ईश्वरप्रसाद खतिवडा, डा. अनिलकुमार सिन्हा र टेकराज नेपाल रहेका छन् । अदालतका अनुसार संवैधानिक इजलासमा हुने बहस सर्वसाधारण र सञ्चारकर्मीलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ । यसका लागि सर्वोच्च अदालत परिसरका विभिन्न स्थानमा माइक जडान गरिएको छ । यसअघि पनि राजनीतिक र संवैधानिक चासोका विषय बनेका मुद्दामा यस्तै व्यवस्था गरिएको थियो । रिट निवेदकहरूले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र संसद् विघटन दुवै संविधानविपरीत भएको दाबी गर्दै ती निर्णयहरू बदर गर्न र नयाँ सरकार गठनका लागि परमादेश आदेश जारी गर्न माग गरेका छन् । उनीहरूले राष्ट्रपतिको निर्णयले संविधानको धारा ७६ र ८५ को मर्म उल्लंघन गरेको पनि उल्लेख गरेका छन् । सुनुवाइमा दुवै पक्षका वरिष्ठ कानुन व्यवसायीहरूले विस्तृत रूपमा आफ्ना तर्क प्रस्तुत गर्ने तयारी गरेका छन् । यस मुद्दाबाट मुलुकको राजनीतिक दिशा र संविधानको व्याख्यामा दीर्घकालीन प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१, अन्य मुद्राकाे मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ २७ पैसा र बिक्रीदर १६४ रुपियाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ५४ पैसा र बिक्रीदर १८८ रुपियाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ३८ पैसा र बिक्रीदर १७८ रुपियाँ १४ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ४० पैसा र बिक्रीदर ९२ रुपियाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ६८ पैसा र बिक्रीदर १०१ रुपियाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ८२ पैसा र बिक्रीदर १०९ रुपियाँ २९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८५ पैसा र बिक्रीदर १९ रुपियाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७ रुपियाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६६  पैसा र बिक्रीदर ३८ रुपियाँ ८३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३४ पैसा र बिक्रीदर चार रुपियाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३७ पैसा र बिक्रीदर ३८ रुपियाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ५७ पैसा र बिक्रीदर ३३ रुपियाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८१ पैसा र बिक्रीदर नौ रुपियाँ ८६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०३ पैसा र बिक्रीदर १५ रुपियाँ ०९ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९९ पैसा र बिक्रीदर २२ रुपियाँ ०९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ १४ पैसा र बिक्रीदर १८ रुपियाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपियाँ ७० पैसा र बिक्रीदर ४६१ रुपियाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७५ रुपियाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपियाँ ०४ पैसा र बिक्रीदर ३६७ रुपियाँ ६० पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय संवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आव्हान गरेकाे सरकार, विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू र जेनजीका प्रतिनिधिबीच त्रिपक्षीय संवाद आज हुने भएकाे छ ।  भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि गठित वर्तमान सरकारको अग्रसरतामा पहिलोपटक यस्तो त्रिपक्षीय संवाद हुन लागेको हो । प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न सम्बद्ध पक्षहरूसँग निरन्तर वार्ता र छलफल गर्दै आएकी छिन् । सोही क्रममा उनको आह्वानमा आज (बुधबार) अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच निर्वाचनकेन्द्रित संवाद हुने भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको माहोल तयार पार्ने उद्देश्यले पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीबीच संयुक्त बैठक आयोजना गरिएको हो । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सरोकारवाला पक्षसँग चरणबद्ध रूपमा वार्ता र समन्वय भइरहेको जानकारी दिए । यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग पनि संवाद गरेकी थिइन । उक्त बैठकमा दलहरूले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए । प्रधानमन्त्री कार्कीले जेनजीका प्रतिनिधिसहित विभिन्न पक्षहरूसँग निरन्तर संवाद जारी राखेकी छिन् । यसबीचमा सरकारले निर्वाचन तयारीका काम अघि बढाएको छ । साथै, निर्वाचन आयोगसँग विभिन्न चरणमा भएको छलफलमार्फत आयोगको प्राविधिक तयारीबारे पनि गृहकार्य अघि बढाइएको छ । निर्वाचन आयोगले आफ्नो अधिकार क्षेत्रभित्रका कार्यहरू सुरु गरिसकेको बताइएको छ ।

पाल्पामा धान भित्र्याउने बेला वर्षाले समस्या

पाल्पा । घर भित्र्याउन ठिक्क पारिएको धान वर्षाले बिगारेपछि यहाँका किसान चिन्तित बनेका छन् । मानो रोपी फलाएको मुरी भित्र्याउने बेला काटेका धान स्याहार्न नपाउँदै पानी परेपछि समस्या भएको छ ।  यहाँका विभिन्न फाँटमा पाकेका धान किसानले तिहार पर्व मनाएपछि काटेर खेतमै राखेका थिए, तर भित्र्याउन नपाउँदै पानी पर्‍यो । दिउँसो काटेको बाली राति परेको पानीले बर्बाद बनाएको माडीफाँटका किसान विक्रम कुमालले सुनाए । खहरेकी तारा रायमाझीले पनि खेतमा थुप्रो बनाएर राखिएको धान वर्षाका कारण भित्र्याउन नपाएको बताए । “बुधबार धान स्याहार्ने योजना बनाएको थिए । मंगलबार बिहानदेखि परेको पानीले भिजेको छ । तीन दिनपछि मात्रै  पानी आएको भए पनि धान भित्र्याइसक्थेँ”, उनले भने । यस्तै, अर्गेलीका भीम खनालको घर आँगनमा थुपारेको धान पनि भिजेर समस्या भएको छ । “सोमबार अलिकति धान स्याहारेका थियौँ, बाँकी मङ्गलबारलाई राखेका थियौँ, पानी आइहाल्यो”,उनले भने, “पानी परेकाले धान स्याहार्न  नसकिएको हो, आज आँगन भिजेको छ ।”  पोखराथोककी मीना कुमालले अधियाँ गरेको जमिनमा मजदुर लगाएर रोपाइँ गर्नुभएको थियो, तर भित्र्याउने बेला पानीले क्षति पुर्‍याएपछि उनी चिन्तित छन्। “धान स्याहारेर वर्षभरिको जोहो गर्ने र बचेको धान बेचेर केटाकेटीको पढाइलगायत अन्य काममा खर्च गर्छु भन्ने सोच बनाएकी थिएँ, बेमौसमी वर्षाले सबै सपना चकनाचुर पारिदियो”, कुमालले भने, “दुःख गरेर फसल उब्जाए पनि स्याहार्न पाइँदैन, आफ्नो जग्गा छैन । ठेक्कामा लिएर काम गरे पनि प्रकृतिले ठग्छ । काटेर खेतमा राखेको धान खेतमै पानीले भिजायो ।” बाली भित्र्याउने बेला पानीले क्षति पुर्‍याएपछि यहाँका अधिकांश किसान चिन्तित बनेका छन् । कतिपय किसानले तिहारअघि र कतिपयले पछि पाल्पाको रामपुर, माडी, झडेवा, कचल, पूर्वखोला, अर्गली, गेझालगायतका फाँटमा पाकेका धान भित्र्याँदै थिए । केहीले पानी पर्ने भन्दै हतारहतारमा धान काटे, तर आज बिहानैदेखि परेको वर्षाका कारण काटेको धानबालीमा क्षति पुग्यो ।  कृषि ज्ञान केन्द्रकी प्रमुख अमिता पाण्डेले जिल्लामा हालसम्म आठ प्रतिशत धान काटिसकिएको र वर्षा जारी रहेका कारण क्षतिको विवरण आइनसकेको बताउनुभयो । उनले जिल्लाका १० वटै पालिकाका कृषि इकाइमार्फत क्षति विवरण सङ्कलनका लागि आग्रह गरिएको बताए ।  केन्द्र प्रमुख पाण्डेले भनिन्, “स्थानीय तहले पहिलेदेखि नै पानी पर्ने सूचना गरेकाले ठुलो क्षति हुनबाट भने बचेको छ । के कति क्षति भयो भनेर जिल्लाका सबै पालिकाबाट विवरण सङ्कलन भएपछि विवरण सार्वजनिक गर्नेछौँ । ”  बिहीबारसम्म पानी पर्ने मौसम विभागले जनाएकाले काटिसकिएको धानमा केही क्षति भने हुनसक्ने केन्द्रले जनाएको छ । जिल्लामा ३६ हजार ५३७ हेक्टरमा  धानखेती हुँदै आएकामा आठ हजार ६२० हेक्टरमा वर्षे धान, ७०५ हेक्टरमा चैते धान र २७ हजार २१२ हेक्टरमा अन्य खेती हुँदै आएको छ । यस वर्ष भने आठ हजार २१० हेक्टरमा मात्र वर्षे धान लगाइएको कृषि ज्ञानको तथ्याङ्क रहेको छ । 

आज विश्व पक्षाघात दिवस मनाइँदै

काठमाडौँ । सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ ।  चिकित्सकहरूका अनुसार पक्षाघात एक जटिल शारीरिक समस्या हो  । यो मानव मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्छ । मस्तिष्कमा अक्सिजन तथा पोषकतत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षाघातका लक्षण हुन् ।  उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ । 

निर्माण सकिएको डेढ वर्षपछि पर्वतकाे कुश्मा बसपार्क सञ्चालन

पर्वत । निर्माण सम्पन्न भएको डेढ वर्षपछि पर्वत सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गरिने भएको छ ।  मङ्गलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको जनप्रतिनिधि, यातायात व्यवसायी र अन्य सरोकारवालाबिचको छलफलपछि बसपार्क सञ्चालन गर्ने निर्णय भएको हो । छलफलले अहिले शिवालय चोक क्षेत्रमा रहेका सबै यातायात कम्पनीका टिकट काउन्टर कात्तिक १४ गते १ बजेभित्र बसपार्कमा रहेको टर्मिनल भवनमा सार्ने निर्णय गरेको छ ।  यसैगरी बसपार्कवाट छुट्ने सबै यातायात प्रालिका सवारीसाधनमध्ये ट्याक्सीको हकमा दुई/दुई वटा र अन्य सवारीसाधन एक/एक वटा यात्रु चढाउनका लागि शिवालय चोकमा राख्न पाइने, लामो दुरीमा आउजाउ गर्ने सबै सवारीसाधनले शिवालय चोकमा यात्रु झार्न र चढाउन पाउने, राजमार्ग छेउछाउ वा बजार क्षेत्रमा अव्यवस्थित पार्किङ गरेर राखेका सवारीसाधन बसपार्कभित्रै राख्नुपर्ने निर्णय भएको छ ।  बसपार्क सञ्चालनका लागि कुश्मा नगरपालिकाले गत साउन २९ गते रु ११ लाख १९ हजार दुई सय ५२ मा बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्र युवा व्यवसायी दीपक पुनको नाममा स्वीकृत भएपछि सञ्चालनको प्रक्रिया अघि बढेको थियो ।  अबदेखि नियमित रूपमा बसपार्कबाटै जिल्लाभित्र र बाहिर जाने सवारीसाधन छुट्ने बसपार्क सञ्चालक दीपक पुनले जानकारी दिए । उनका अनुसार यात्रुहरुलाई कुन ठाउँमा सवारीसाधनको प्रतीक्षा गर्ने भन्ने झन्झट हटेर जाने र यसले अव्यवस्थित रूपमा हुँदै आएको पार्किङ र दुर्घटनाहरू न्यूनीकरण हुने उनले बताए । पुनले बसपार्क सञ्चालनका लागि रङरोगन, विद्युतीकरणलगायत सबै तयारी सकिएको बताए ।  निर्माण सम्पन्न भएर पनि बसपार्क सञ्चालन नहुँदा निर्मित संरचना जीर्ण बनेको, अव्यवस्थित पार्किङले सवारी दुर्घटनाहरू बढ्दै गएको, यात्रुहरूले सुरक्षित रूपमा सवारीसाधन प्रयोग गर्न नपाएको जस्ता समस्या बढेको भन्दै लामो समयदेखि बजारवासीहरूले बसपार्क सञ्चालनको मागसमेत गर्दै आएका थिए ।  बसपार्क सञ्चालन नहुँदा कुस्माको शिवालय चोक र मध्यपहाडी लोकमार्गमा अव्यवस्थित रूपमा सवारीसाधनहरू पार्किङ गरेर राख्ने गरिएको थियो । भवनसहित बसपार्कको संरचना अघिल्लो असारमै निर्माण गरेर गत वर्षको कात्तिकमै सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाको आन्तरिक तयारीका कारण सञ्चालन  गर्न केही समय ढिलो भएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बताए । जिल्ला ट्राफिक प्रहरी प्रमुख बलबहादुर गुरुङले बसपार्क सञ्चालनमा आएपछि अव्यवस्थित पार्किङ र सवारी दुर्घटनामा न्यूनीकरणमा सहयोग पुग्ने बताए । रु छ करोड ६६ लाख तीन हजार २५० लागतमा बनेको बसपार्क हाताभित्र दुई ठाउँमा सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ । दुई तले भवनसहित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, शौचालय र व्यावसायिक प्रयोजनका लागि आधा दर्जन सङ्ख्यामा सटरसहितको कोठा निर्माण गरिएको छ । पर्वत सदरमुकाम कुश्मा बजारबाट दिनहुँ काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगन्ज, भैरहवा, काँकडभित्तालगायतका सहरमा सार्वजनिक सवारीसाधनहरू छुट्ने गर्छन् भने दैनिक हजारौँको सङ्ख्यामा सवारीसाधनहरू बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्माहुँदै जाने गर्दछन् ।