आज छठपर्वको दोस्रो दिन: बर्तालुकाे ‘खरना’
महोत्तरी । छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् ।
बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने यहाँ परम्परा रही आएको छ । दिनभरिको निराहार उपवास गरेका बर्तालुले कूलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादस्वरुप खाने चलन छ । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ लोकआस्थाको महापर्व मानिँदै आइएको छ ।
छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन बर्तालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुन/प्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्यपरिकार खादैनन् । मैथिली बोलीचालीमा अर्बा ९नउसिनिएको अन्न० खाइने यो विधिलाई ‘अर्बा–अर्बाइन’ पनि भनिन्छ । ‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ एकअर्कासँग जोडिएका एकै दिनका विधि हुन् ।
श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले आज सूर्यास्तपछि चन्द्रदर्शनपछि यो विधि सम्पन्न गर्नेछन् । ‘खरना’लाई स्वधर्म र आत्मसंरक्षण तथा पापको नाशको भावमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्ण बताउछन्।
पर्वको महत्त्वपूर्ण मानिने निराहार व्रत कात्तिक शुक्ल षष्ठी तिथिमा गरिन्छ । यो मुख्य विधि भोलि सोमबार सम्पन्न गरिने तयारी छ । सूर्य उपासनाको निराहार व्रत बसेर बर्तालुले मनमोहक ढङ्गले सजाइएको जलाशय घाटमा पुगेर स्नानसँगै अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।
त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ र ‘पारन’ पनि भनिन्छ । बर्तालुले ‘खरना’ विधिसँगै प्रसादस्वरुप खाएका खिरपछि नै निराहार व्रत सुरु हुन्छ । यो व्रत सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन गरिन्छ ।
छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पीठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।
केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र अन्य धर्मावलम्बीले समेत धुमधामसँग मनाउन थालेपछि छठपर्व साझा बन्दै गएको छ । पर्वमा सबै धर्म, संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको रामनन्दन महेन्द्र विश्वेशर क्याम्पस जलेश्वरका प्राचार्य अजयकुमार झाले जाकारी दिए ।
मुस्ताङमा एकैदिन ६ हजार ८५९ पर्यटक भित्रिए
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन ६ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् । तिहारलगत्तै शुक्रबार बेनी–जोमसोम सडकमार्गमा यात्रुवाहक सवारीसाधनको लस्करले राष्ट्रिय राजमार्ग पुरै व्यस्त रह्यो । मुक्तिनाथ दर्शन तथा यहाँको रमणीय प्राकृतिक सौन्दर्यता अवलोकन गर्न तिहार पर्वलगत्तै मुस्ताङमा पर्यटक आवागमन ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहाँ एकैदिन ६ हजार ५०६ जना आन्तरिक र ३५३ जना विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमुख छिरिङ किप्पा लामाले जानकारी दिए । शुक्रबार एकैदिन दुई हजार १६८ यात्रुवाहक सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएको लामाले उल्लेख गरे । यसैगरी कात्तिकको एक सातामा बेनी–जोमसोम सडकमार्ग हुँदै २० हजार ५०९ जना आन्तरिक तथा बाहय पर्यटक मुुस्ताङ भित्रिएका छन् । यहाँ कात्तिक १ देखि ७ गतेसम्म १७ हजार १२९ आन्तरिक र तीन हजार ३८० विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाले बताए । कात्तिकको पहिलो सातासम्म बेनी–जोमसोम सडकमार्ग हुँदै छ हजार ७३६ सवारीसाधन मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म एक लाख १८ हजार ५८९ पर्यटक मुस्ताङ भित्रिएका थिए । यहाँ आन्तरिक ९१ हजार १२५ र विदेशी २७ हजार ४६४ जना मुस्ताङ भित्रिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । तिहारलगत्तै मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या अत्यधिक रुपमा वृद्धि भइरहेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । मुक्तिनाथमा आज बिहानैदेखि दर्शनार्थीको सङ्ख्याले परिसर पूरै खचाखच भरिएको कोषाध्यक्ष गुरुङको भनाइ छ । मन्दिरमा दर्शनार्थीको सहजताका लागि सुरक्षा निगरानी र लाइनबद्ध गराउन सुरक्षा निकायसँगै स्वंयसेवक खटाइएको कोषाध्यक्ष गुरुङले बताए । हिउँदयाम सुरु भइसकेकाले चिसोसमेत बढेकाले हाइअल्टिच्युड हुने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरलाई तयारी अवस्थामा राखेर दर्शनकार्यमा सहजीकरण गरिएको उनले बताए । यहाँ वडा कार्यालय र मुक्तिनाथ विकास समितिको पहलमा मन्दिरको चारैतर्फ सीसी क्यामेरा जडान गरिएकाले दर्शनार्थी सुरक्षाका लागि कुनै समस्या नहुने कोषाध्यक्ष गुरुङले सुनाए । तिहारलगत्तै मुस्ताङमा आन्तरिक पर्यटकको चापले ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीले जनाएको छ । सयौँ सवारी साधन एकैसाथ बेनी–जोमसोम सडकमार्गमा फ्लो हुँदा ट्राफिक जामसमेत भएको थियो । मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म करिब ३०० होटलले पर्यटक थेग्न नसक्दा पर्यटक व्यवस्थापनमा चुनौती भएको थियो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले शुक्रबार बेनी–जोमसोम राष्ट्रिय राजमार्गमा सञ्चालनमा रहेका सबै होटल पर्यटकले भरिभराउ भएको बताए । चाडपर्वका बेला मुस्ताङ घुमफिर गर्ने महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास भएकै कारण पर्यटकको सङ्ख्यामा अकल्पनीय रुपमा वृद्धि हुँदै जान थालेको अध्यक्ष लालचनको भनाइ छ । विशेष चाडपर्वमा पारिवारिक भ्रमण, स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मान्न स्वदेश फर्किएका नेपाली मुस्ताङ भ्रमण गर्नेको संङ्ख्या बढेको अध्यक्ष लालचनले बताए । सामान्य अवस्थामा पर्यटक व्यवस्थापन नहुने भए पनि दसैँ तिहार र छठ पर्वमा लामो सरकारी बिदा पर्ने भएकाले युवापुस्ताको घुमफिरको केन्द्र मुस्ताङ बन्न थालेको छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्ग सहज हुँदै जान थालेपछि यहाँको पर्यटन व्यवसायमा नयाँ उभार आउन थालेको हो । पर्यटकीय याममा यहाँ सञ्चालनमा रहेका होटलले पर्यटक थेग्न नसक्ने अवस्था रहेको छ । प्रहरीले विशेष चाडपर्वका बेला मुस्ताङ भ्रमण गर्ने योजनामा रहेका पर्यटक होटल बुकिङ गरेर मात्रै आउन अनुरोध गरेको छ ।
प्रकृति संरक्षणमा सेनाका नौ हजार ४६ जना जनशक्ति खटिँदै
काठमाडौं । नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु अरक्षण र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ । नेपाल सरकारद्वारा घोषित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्र संरक्षणमा सेनाका नौ हजार ४६ जना जनशक्ति खटिँदै आएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए । नेपाली सेनाका आठ वटा गण, दुईवटा वन तथा पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्मलाई संरक्षणको जिम्मेवारी तोकिएको छ । चालु आर्थिक वर्षमा विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणबाट ४२ नाल विभिन्न हतियार, एक हजार ९७६ जाल पासो, एक हजार ९६५ घरेलु औजार ३३५ वटा सवारीसाधन र १६ वटा ओखोटोपहार बरामद गरेको उनले जानकारी दिए । नेपाली सेनाबाट भएको सुदृढ सुरक्षा तथा संरक्षण कार्यबाट पछिल्लो १५ बर्षयताक बाघ तथा गैडाको सङ्ख्यामा उल्लेखनीय बृद्धि भएको छ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ रहेको तथा गैँडाको संख्या ७५२ रहेको छ । यसअघि २००९ मा भएको जनगणनामा बाघको सङ्ख्या १२१ र २००५ को गणनामा गैँडाको सङ्ख्या ४०० रहेको थियो । ती उपलब्धि हासिल गर्ने क्रममा वन्यजन्तुको आक्रमण र अन्य कारणबाट ११६ जना सैनिक व्यक्तिले आफनो जीवन गुमाएको सेनाले जनाएको छ । चालु आवमा मात्रै त्यस्ता जङ्गली जनावरको आक्रमणमा परी पाँच जना सकलदर्जा घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाले नेपालका सुन्दर हिमालको सौन्दर्य कायम राख्न पछिल्लो दशकमा वार्षिकरुपमा हिमाल सफाइ अभियान समेत सञ्चालन गर्दै आएको छ ।
कुटपिटबाट कास्कीमा एककाे मृत्यु
कास्की । पोखरामा सामान्य विवादमा आज बिहान एक जनाको कुटपिटबाट मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ प्रस्र्याङका ४५ वर्षीय अनिल पराजुलीको बिहान ४ः ३० बजे हत्या भएको प्रहरीले जनाएको छ । हत्या अभियोगमा प्रहरीले सोही ठाउँका अन्दाजी २३ वर्षीय ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सामान्य विवादमा तिमिल्सिनाले पराजुलीलाई कुटपिट गरेका थिए । प्रनाउ बस्नेतले भने-‘प्रारम्भिक सोधपुछमा सामान्य विवादमा आक्रमण गरी हत्या गरिएको देखिएको छ, आक्रमणकारीलाई नियन्त्रणमा लिएका छौँ, घटनाको थप अनुसन्धान र सोधपुछ भइरहेको छ ।’ पक्राउ परेका तिमिल्सिनाको साथबाट चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले घर नजिकैबाट नियन्त्रणमा लिएको थियो । मृतक पराजुलीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।
दबाबमा विप्लव : ८० प्रतिशत केन्द्रीय सदस्य एकातिर, नेतृत्व अर्कोतिर
काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हालै सम्पन्न केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले नेतृत्वबाट आफूहरूको अपमान भएको बताएका छन् । एभरेष्ट दैनिकसँग कुराकानी गर्दै उनीहरूले तत्काल माओवादी केन्द्रसहितका पार्टीहरूसँग एकता गरी कम्युनिस्ट केन्द्र निर्माणमा जोड दिएको तर नेतृत्वले त्यसलाई वास्ता नगरेको गुनासो गरेका छन् । केन्द्रीय समिति बैठकमा पार्टी एकताको पक्षमा स्पष्ट धारणा राखिए पनि नेतृत्वले दुई अर्थ लाग्ने गरी निर्णय सुनाएको एक स्थायी समिति सदस्यले बताए । उनले भने, "हामी माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएका हौँ । बैठकमा बोल्ने ८० प्रतिशतभन्दा बढी सदस्यहरूले अहिले नै पार्टी एकता गरी अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । तर, मुख्य नेतृत्वलाई प्रभावित पार्ने व्यक्तिहरूले नै पार्टी एकता हुन नदिने गरी महासचिव कमरेडलाई दबाब दिए । त्यसैले अधिकांशको धारणा विपरीत नेतृत्व गएको छ ।" महासचिव विप्लवले विभिन्न सञ्चारमाध्यममा आएका पार्टी एकतासम्बन्धी समाचारहरूको खण्डन गरी एकताको पक्षमा देखाउने प्रयास गरे पनि त्यसो नभएको ती स्थायी समिति सदस्यले दाबी गरे । उनले भने, "हामी केही समय कुर्ने पक्षमा छौँ । नेतृत्व तयार नभएको अवस्थामा हामीले नयाँ निर्णय गरी अगाडि बढ्छौँ । अहिले पार्टी एकता गरी बलियो कम्युनिस्ट पार्टी निर्माणका लागि काम गर्ने हो । व्यक्तिगत इच्छा र आकांक्षा पूरा गर्न पार्टी बनाइएको होइन । अहिले त्यस्तै भएको छ ।" विप्लव नेकपाका अधिकांश नेताहरू समाजवादी मोर्चामा आबद्ध दलहरूबीचको एकता प्रक्रियामा सामेल हुने तयारीमा छन् । ती नेताले भने, "हामीले नेतृत्वको अबको बाटो हेरिरहेका छौँ । होइन भने नेपाल कम्युनिस्ट पार्टी पार्टी एकतामा सामेल हुनेछ । तलसम्मका साथीहरूको धारणा पनि त्यही छ ।" नेकपाको नेतृत्वमाथि व्यक्ति प्रधान गतिविधिको आरोप पनि लगाइएको छ । ती स्थायी समिति सदस्यले भने, "माओवादी केन्द्र र समाजवादीका असन्तुष्ट नेताहरूलाई समेटेर नेतृत्व बन्ने ध्यानमा हाम्रो नेतृत्व छ । तीभन्दा पहिले हामीसँग मोहन वैद्य किरण, रामबहादुर थापा 'बादल', देव गुरुङ, पम्फा भुसाल लगायत दर्जनौं नेताहरू थिए । किन पार्टी बनेन भन्ने जवाफ नेतृत्वले खोज्दै खोजेन । अहिले सबै भएर 'मलाई नेतृत्व देऊ' भनेर कहाँ हुन्छ ?" विप्लव नेतृत्वको नेकपाका अधिकांश नेताहरूले पार्टी एकतामा जोड दिइरहेका छन् । उनीहरूले समाजवादी मोर्चामा आवद्ध दलहरूबीच एकता हुँदा नेतृत्व छाडेर भए पनि एकताको पक्षमा उभिने बताउन थालेका छन् ।
हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज (शनिबार) दिउँसोमा सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकका अनुसार, खुला बजारमा अमेरिकी डलरको खरिद दर १४०.२५ रुपैयाँ र बिक्री दर १४०.८५ रुपैयाँ तोकिएको छ । यसैगरी, अन्य प्रमुख मुद्राहरूको विनिमय दर निम्नानुसार कायम गरिएको छ : मुद्रा इकाई खरिद दर (रुपैयाँ) बिक्री दर (रुपैयाँ) युरोपियन युरो (EUR) १ १६२.५६ १६३.२६ युके पाउन्ड स्ट्रलिङ (GBP) १ १८७.१४ १८७.९४ स्वीस फ्रान्क (CHF) १ १७५.६६ १७६.४२ अष्ट्रेलियन डलर (AUD) १ ९१.२३ ९१.६२ क्यानाडियन डलर (CAD) १ १००.२० १००.६३ सिङ्गापुर डलर (SGD) १ १०७.९० १०८.३६ जापानी येन (JPY) १० ९.१८ ९.२२ चिनियाँ युआन (CNY) १ १९.६९ १९.७७ साउदी अरेबियन रियाल (SAR) १ ३७.३९ ३७.५५ कतारी रियाल (QAR) १ ३८.४८ ३८.६४ थाइ बाहट (THB) १ ४.२८ ४.२९ युएई दिरहम (AED) १ ३८.१८ ३८.३५ मलेसियन रिङ्गिट (MYR) १ ३३.१६ ३३.३१ दक्षिण कोरियाली वन (KRW) १०० ९.७४ ९.७८ स्वीडिस क्रोनर (SEK) १ १४.८९ १४.९५ डेनिस क्रोनर (DKK) १ २१.७६ २१.८६ हङकङ डलर (HKD) १ १८.०५ १८.१२ कुवेती दिनार (KWD) १ ४५७.३९ ४५९.३५ बहराइन दिनार (BHD) १ ३७२.०४ ३७३.६३ ओमानी रियाल (OMR) १ ३६४.२७ ३६५.८३ निश्चित दर (नेपाल राष्ट्र बैंकद्वारा तोकिएको) भारतीय रुपैयाँ (INR) (१००): खरिद १६०.००, बिक्री १६०.१५ राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने दरहरूमा फरक हुन सक्छन् । अद्यावधिक दरहरूका लागि केन्द्रीय बैंकको वेबसाइट (www.nrb.org.np) मा हेर्न सकिन्छ ।
माओवादी केन्द्रले भन्यो : 'कुनै दलसँग एकताबारे अन्तिम निर्णय भएको छैन'
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयले कुनै पनि दलसँग एकता गर्ने विषयमा अन्तिम निर्णय नभएको स्पष्ट पारेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीहरूसँग एकताको चर्चा भइरहेकावेला प्रचण्डको सचिवालयले कुनै पनि दलसँग एकता गर्ने विषयमा अन्तिम निर्णय नभएको जनाएको हो । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको निर्णय तथा आवश्यकता अनुसार समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल तथा अन्य वामपन्थी र प्रगतिशील समूहहरूबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयहरूमा घनिभूत छलफल जारी रहेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताए । यद्यपि, कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय वा टुंगो लागिसकेको छैन । विभिन्न समयमा नेपाली जनताको अगुवाइमा भएका क्रान्ति र संघर्षहरूलाई रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अनिवार्य शर्त रहेको पार्टीको ठहर रहेको आचार्यले उल्लेख गरे । इतिहासको यही आवश्यकतालाई मनन गर्दै विभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेकाले सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको सचिवालयले स्पष्ट पारेको छ ।
विप्लवको पाँच बुँदे धारणा : कम्युनिस्ट एकताको आवश्यकता झन् बढेको छ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले समाजवादी मोर्चा र अन्य सहमति पार्टीहरूबीच एकताबारे विभिन्न प्रचार भइरहेको बताएका छन् । समाजवादी मोर्चामा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), विप्लवको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी समावेश छन् । पार्टी एकताबारे आफ्नो पाँच बुँदे धारणा शुक्रबार सामाजिक सञ्जालमा सार्वजनिक गर्दै महासचिव विप्लवले एकताबारे गम्भीर छलफल भइरहेको तर टुंगो नलागेको उल्लेख गरेका छन् । महासचिव विप्लवको ५ बुँदे धारणा : कम्युनिस्ट एकताको आवश्यकता : कम्युनिस्टहरूबीचको एकताको आवश्यकता झन् बढेको छ । व्यापक एकताको पक्ष : एकता संगठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवन व्यवहार, संस्कृति सहितको एकरूप बुझाइसँग सम्बन्धित छ । यी विषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन् तर टुंगो लागिसकेको छैन । सकारात्मक दृष्टिकोण : यदि कुनै पार्टीहरूबीच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ । शत्रुतापूर्ण सोच त्याग्नु : कम्तिमा कम्युनिस्टहरूबीच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको संघीयता) स्थापना गर्न संयुक्त मोर्चा र सहकार्यको नीतिमा काम गर्नुपर्छ । मोर्चा निर्माण : देशको स्वाधीनता गम्भीर संकटमा परेको स्थितिमा सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूबीच मोर्चा निर्माणमा अग्रसर हुनुपर्दछ ।
तिहार सकिए पनि आज शुक्रबार सार्वजनिक बिदा
काठमाडौँ । नेपाल सरकारले तिहार पर्व सकिएको भए पनि आज (शुक्रबार) पनि तिहारकै नाममा सार्वजनिक बिदा घोषणा गरेको छ । यम पञ्चक अर्थात् तिहार बिहीबार नै समाप्त भएको हो । गृह मन्त्रालयले प्रकाशित राजपत्रअनुसार कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा कायम रहने उल्लेख छ । तिथिमा घटबढ हुँदा बिदा लम्बिएको हो । यसअघि लक्ष्मीपूजा र भाइटीकाबीच कात्तिक ४ गते पनि एक दिन बिदा थपिएको थियो । कुनै पर्व नपरेको मंगलबार पनि तिहारकै बिदा थियो । गएको सोमबारदेखि बन्द सरकारी कार्यालयहरू आगामी आइतबारदेखि मात्र सञ्चालन हुने भएका छन् ।
आजको मौसम: देशैभर सामान्यतया सफा
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो : सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । आज राति : कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।
आजका लागि विभिन्न विदेशी मुद्राको खरिद तथा बिक्री दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको खरिद तथा बिक्री दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर १४०.२५ रुपैयाँ र बिक्रीदर १४०.८५ रुपैयाँ कायम गरिएको छ । राष्ट्र बैंकका अनुसार अन्य प्रमुख मुद्राहरूको विनिमयदर निम्नानुसार छ : मुद्रा एकाइ खरिददर (रुपैयाँ) बिक्रीदर (रुपैयाँ) युरोपियन युरो १ १६२.५६ १६३.२६ युके पाउण्ड स्ट्रलिङ १ १८७.१४ १८७.९४ स्वीस फ्रांक १ १७५.६६ १७६.४२ अष्ट्रेलियन डलर १ ९१.२३ ९१.६२ क्यानेडियन डलर १ १००.२० १००.६३ सिङ्गापुर डलर १ १०७.९० १०८.३६ जापानी येन १० ९.१८ ९.२२ चिनियाँ युआन १ १९.६९ १९.७७ साउदी अरेबियन रियाल १ ३७.३९ ३७.५५ कतारी रियाल १ ३८.४८ ३८.६४ थाइ बाहट १ ४.२८ ४.२९ युएई दिरहम १ ३८.१८ ३८.३५ मलेसियन रिङ्गिट १ ३३.१६ ३३.३१ साउथ कोरियन वन १०० ९.७४ ९.७८ स्वीडिस क्रोनर १ १४.८९ १४.९५ डेनिस क्रोनर १ २१.७६ २१.८६ हङकङ डलर १ १८.०५ १८.१२ कुवेती दिनार १ ४५७.३९ ४५९.३५ बहराइन दिनार १ ३७२.०४ ३७३.६३ ओमान रियाल १ ३६४.२७ ३६५.८३ भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५ राष्ट्र बैंकले यो दर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्छ ।
भाइटीकाको दिन मौसम पूर्वानुमान: अधिकांश क्षेत्रमा सफा, हिमाली भागमा हल्का वर्षाकाे सम्भावना
काठमाडौं । तिहारको मुख्य पर्व भाइटीकाको अवसरमा देशभर उल्लासमय वातावरण छाएको छ । मौसमविद्हरूका अनुसार आज अधिकांश भूभागमा मौसम सफा रहनेछ, जसले टीका लगाउने तथा भेटघाटका कार्यक्रमहरू सहज बनाउनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । यसै क्रममा आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहँदै बाँकी क्षेत्रमा मुख्यतया सफा मौसम बन्नेछ । पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । आज राति पनि अधिकांश भूभागमा आंशिकदेखि सफा मौसम रहने पूर्वानुमान छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मात्र हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
भाइटीकाको अवसरमा रानीपोखरीको बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि खुला
काठमाडौँ । तिहारको मुख्य पर्व भाइटीकाको अवसरमा दिदीबहिनी नहुने दाजुभाइहरूका लागि काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । यो मन्दिर वर्षमा एकपटक भाइटीकाकै दिन मात्र भक्तजनका लागि खुला गर्ने प्रचलन छ । दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले यो दिन मन्दिरमा पूजा, दर्शन गरी टीका ग्रहण गर्ने परम्परा रहिआएको छ । रानीपोखरी तथा मन्दिर क्षेत्र व्यवस्थापन समितिका अनुसार मन्दिर आज बिहानैदेखि खुला गरिएको हो र भक्तजन आउने क्रम जारी रहुन्जेलसम्म खुला रहनेछ । यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ । विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेश गर्नेहरू पोखरीमा हाम फाल्ने समस्या बढेपछि मन्दिर बन्द गरिन्थ्यो । त्यसबेला जयवागेश्वरीको खञ्जनेश्वर मन्दिरमा यस्ता भक्तजनको भीड लाग्थ्यो । पछिल्लो समय पहिलेको जस्तो भीड नहुने भए पनि भाइटीकाकै दिन यहाँ भक्तजनको लाम लाग्ने गर्छ । विसं २०३५ पछि बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो । नेवार समुदायले भाइटीकाको दिनलाई किजापूजाका रूपमा मनाउने गर्छन् । भक्तपुरका नेवार समुदायका केहीले भने बुधबार नै किजापूजा गरेको जनाइएको छ । भक्तपुरस्थित तलेजु मन्दिरका पुजारीको निर्णयअनुसार यस्तो गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइहरूले दिदीबहिनीबाट टीका ग्रहण गर्दै भाइटीका पर्व मनाउँदैछन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने परम्परा छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।
नेपाल राष्ट्र बैंकको आजको विदेशी विनिमय दर: डलर स्थिर, युरो र पाउन्डमा सुधार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङमा हल्का वृद्धि देखिएको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १४० रुपैयाँ ३९ पैसा र बिक्री दर १४० रुपैयाँ ९९ पैसा कायम गरिएको छ । युरोपियन युरोको खरिद दर १६३ रुपैयाँ १३ पैसा र बिक्री दर १६३ रुपैयाँ ८३ पैसा तथा युके पाउन्ड स्ट्रलिङको खरिद दर १८७ रुपैयाँ ९८ पैसा र बिक्री दर १८८ रुपैयाँ ७९ पैसा तोकिएको छ । अन्य प्रमुख मुद्राहरूको विनिमय दर निम्नानुसार छ : मुद्रा इकाई खरिद दर बिक्री दर स्वीस फ्रांक १ १७६.७२ १७७.४८ अष्ट्रेलियन डलर १ ९१.१८ ९१.५७ क्यानाडियन डलर १ ९९.९६ १००.३९ सिङ्गापुर डलर १ १०८.२५ १०८.७१ जापानी येन १० ९.२४ ९.२८ चिनियाँ युआन १ १९.७२ १९.८१ साउदी अरेबियन रियाल १ ३७.४३ ३७.५९ कतारी रियाल १ ३८.५१ ३८.६८ थाइ बाहत १ ४.२९ ४.३१ युएई दिरहम १ ३८.२२ ३८.३९ मलेसियन रिङ्गिट १ ३३.२० ३३.३४ दक्षिण कोरियन वन १०० ९.८१ ९.८६ स्वीडिस क्रोनर १ १४.९१ १४.९८ डेनिस क्रोनर १ २१.८४ २१.९३ हङकङ डलर १ १८.०६ १८.१४ कुवेती दीनार १ ४५८.२७ ४६०.२३ बहराइन दीनार १ ३७२.४१ ३७४.०० ओमानी रियाल १ ३६४.६४ ३६६.१९ भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५ राष्ट्र बैंकले यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्छ ।
अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन, राष्ट्र बचाउनु नै मुख्य हो : संयोजक प्रचण्ड
रामगोपालपुर, महोत्तरी – नेकपा माओवादी केन्द्रका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच नरहेको बताउँदै राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभएको छ । महोत्तरीको रामगोपालपुरमा तिहारको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी भई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । “अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन। राष्ट्र बचाउनु नै मुख्य हो। आवश्यकता परे म जे जस्तो त्याग गर्न पनि तयार छु।”उहाँले भन्नुभयो ।“तर जिम्मेवारीबाट भाग्ने मेरो स्वभाव होइन। अहिलेको अवस्थामा म जिम्मेवारी लिनबाट पछि हट्नेवाला छैन।” कार्यक्रमको मुख्य आकर्षण बनेका संयोजक प्रचण्डले सम्बोधनमार्फत पार्टीको वर्तमान धारणा, आगामी रणनीति र राष्ट्रिय एजेन्डा स्पष्ट पार्नुभयो। देशमा परिवर्तित समयमा मधेशमा जेन्जी युवाहरू सहितको सहभागीतमा आयोजित कार्यक्रम भव्य भएको र कार्यक्रममा ठूलो जनसहभागिता र पार्टी प्रवेशले पार्टी पंक्तिलाई उत्साहित गरेको बताउँदै उहाँले नयाँ युगको सुरुवात भएको घोषणा समेत गर्नुभयो। संयोजक प्रचण्डले आफू जेन्जी आन्दोलनपछिको नयाँ अवस्था र पहिलोपटक मधेशमा आयोजित ठुलो कार्यक्रममा सहभागी भएको बताउँदै भन्नुभयो,“हिजो जनयुद्ध र जनआन्दोलनका बेलामा हामी जेन्जी थियौँ। आजको दिनमा मधेशमा पहिलो पटक ६०५ जना जेन्जी युवाहरूसहति माओवादी केन्द्रमा प्रवेश गर्नु इतिहासकै महत्त्वपूर्ण घटना हो।” “अब जेन्जी र माओवादी मिलेर चुनाव लड्नुपर्छ। अरुले जेन्जीका मागहरू पूरा गर्दैनन्। माओवादी नै त्यो शक्ति हो, जसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रलाई व्यवहारमा ल्याउन सक्छ।” संयोजक प्रचण्डले देश संकटमा रहेको भन्दै राष्ट्रिय सहमतिको खाँचोमा जोड दिनुभयो।“यदि हामीले संविधान निर्माणका बेला राष्ट्रिय सहमति कायम नगरेको भए, यो देश भयानक दुर्घटनामा जान्थ्यो। हाम्रो भूमिकाले संविधान बचाएको छ।” उहाँले माओवादी केन्द्रलाई नै राष्ट्रिय एकताको पर्याय भएको बताउँनुहुँदै भन्नुभयो,“मधेश केन्द्रित पार्टीलाई उपराष्ट्रपति बनाएर राष्ट्रिय एकता कायम गर्ने दल माओवादी केन्द्र नै हो। समावेशी लोकतन्त्र सुनिश्चित गर्ने शक्ति हामी हौँ।” संयोजक प्रचण्डले सरकारको नेतृत्व गर्दा माओवादी केन्द्रले सामाजिक न्यायका मुद्दा, नागरिकता समस्या, मिटरब्याज पीडित, मधेशी जनताको विकासका विषयमा ठोस काम गरेको दाबी गर्दै भन्नुभयो,“भ्रष्टाचारविरुद्धको अभियान हामीले सुरु गरेका थियौँ। तर केही मिडिया, विदेशी दलाल र अपराधीहरूले हाम्रो बदनाम गर्न खोजेका छन्।” उहाँले आत्मालोचना गर्दै भन्नुभयो ,“हामीबाट पनि त्रुटि भयो, कहिलेकाहीँ जनतासँग सम्बन्ध कमजोर भयो। तर अब हामी जनताको बीचमा फर्किएका छौँ।” संयोजक प्रचण्डले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई लिएर कुनै अन्योल नराख्न आग्रह गर्दै भन्नुभयो,“चुनाव हुन्छ, हुनैपर्छ। यही अहिलेको एक मात्र विकल्प हो।”उहाँले निर्वाचनको तयारीमा जुट्न सबैलाई आह्वान गर्दै भन्नुभयो,“मतदाता नामावली अद्यावधिक गर्नुहोस्। नयाँ मतदाताहरूको नाम लेख्नुहोस्। हामीले राष्ट्रिय एजेन्डा सेट गरिसकेका छौँ— संविधान संशोधन, भ्रष्टाचार अन्त्य, जेन्जी युवाका माग सम्बोधन र समानुपातिक प्रणाली।” संयोजक प्रचण्डले वामपन्थी एकताको नयाँ अभियान सुरु भएको जानकारी गराउँदै भन्नुभयो,“यो देशमा वामपन्थी जनमत सबभन्दा धेरै छ। समाजवादी मोर्चा बनाइसकेका छौँ। अब एमालेभित्रका इमानदार देशभक्तहरूसँग पनि एकता गर्ने तयारी भइरहेको छ।” उहाँले २०७४ सालको दुई तिहाइको जनमत वामपन्थी एकताको उदाहरण दिँदै भन्नुभयो,“त्यतिबेला नेतृत्व केपी ओली जस्ता प्रवृत्तिको हातमा परेकोले त्यो असफल भयो। अब माओवादी केन्द्रका नेतृत्वमा नयाँ एकता गरिन्छ।” उहाँले २४ गते र त्यसपछिको समयमा देशभर जनताको सुरक्षामा खटिएका प्रहरीमाथि भएका ज्यादती, हत्या र पीडामा आफू गहिरो रूपमा भावुक बनाएको बताउनुभयो। “मैले प्रत्यक्ष देखेँ, प्रहरी दाजुभाइ–दिदीबहिनीहरूमाथि गलत तत्वहरूले कस्तो व्यवहार गरे। त्यसैले म देश र जनताको सुरक्षामा अहोरात्र खट्नुहुने सुरक्षाकर्मीप्रति सहानुभूति प्रकट गर्न चाहन्छु।” सो अवसरमा उहाँले विभिन्न दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका जेन्जी युवासहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने ६०० भन्दा बढी नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गर्नुभएको थियो।

