युवा शक्तिलाई विदेश पलायन कम गर्न पहल गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की

त्रिशूली । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले युवा शक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न राज्यले ‘विशेष पहल’ गर्नुपर्ने बताएकी छन् । यशोदादेवी भगवान्सिंह केसी मेमोरियल ट्रष्टले आज नुवाकोटको विदुरमा आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले केही समयअघि रोजगारीका लागि मात्र विदेश जाने गरेकोमा अहिले अध्ययनका पनि विदेशिनेको सङ्ख्या धेरै भएकाले त्यसलाई कम गर्नका लागि विशेष पहल आवश्यक भएको बताइन् ।

“स्वदेशमै रोजगारको अवसर सिर्जना गर्न सरकार गम्भीर हुनुपर्छ”, उनले भनिन्, “दक्ष जनशक्तिलाई स्वदेशमा फर्काउने नीति ल्याउनुपर्छ ।” नेपालको भूमि विश्वमै उत्कृष्ट भए पनि यहाँको प्राकृतिक स्रोतको उपयोग र उब्जनीयुक्त भूमिको उपयोगबाट मुलुकलाई आर्थिकरूपमा समृद्धि बनाउनतर्फ तीनै तहका सरकारलाई गम्भीर बन्न उनले ध्यानाकर्षण गराइन् ।

त्यस अवसरमा ‘यशोदादेवी भगवान्सिंह केसी मेमोरियल ट्रष्ट’ ले शैक्षिकसत्र २०७८ र २०७९ मा नुवाकोट र रसुवाको सामुदायिक विद्यालयबाट एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र शैक्षिक गुणस्तर सुधार गर्ने विद्यालयलाई नगदसहित सम्मान गरेको थियो ।

भारत सरकारले मनमौजी ढङ्गबाट खर्च गर्ने सम्झौता भएको भन्नु आधारहीन : निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा काठमाडौँमा बिहीबार सम्पन्न नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भएका सम्झौता तथा सहमतिको स्वागत गरेका छन् । यसले नेपाल-भारतबिच रही आएको विशिष्ट सम्बन्ध -युनिक रिलेसन_ लाई थप बल पुर्‍याएको उनले विश्वास व्यक्त गरेका हुन् । पूर्व उप-प्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका निधिले सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायता सम्बन्धी सहमति अनुसार अब भारतले २० करोड रुपैयासम्मको अनुदान दिन सक्ने भएको कुरा सकारात्मक रहेको उनको भनाई छ । ‘अनुदानमा आधारित यस्ता परियोजनाहरू धेरै पहिलेदेखि नै सञ्चालित रहेको छ । २ करोड अनुदानबाट प्रारम्भ हुँदै ५ करोडसम्मको रकम दिँदै आइरहेको थियो । यस्तो परियोजना छनौट र स्वीकृतिका लागि सुरुदेखि नै नेपाल सरकारको सम्बन्धित निकाय, सरोकारवाला मन्त्रालय र अर्थ मन्त्रालयको संलग्नता र सहमति अनिवार्य रहँदै आएको छ । यस पटकको सम्झौतामा ५ करोडबाट बढाएर २० करोड पुर्‍याएको मात्र हो । त्यसकारण भारत सरकारले मनमौजी ढङ्गबाट खर्च गर्ने सम्झौता भएको भन्नु आधारहीन र झुटो कुरा हो,’ उनले भनेका छन् । भारत सरकारबाट प्राप्त हुने त्यस्तो अनुदानबाट नेपालका कम्युनिस्ट पार्टीका नेताहरू, सबै पार्टीका नेताहरू र समाजका विभिन्न क्षेत्रका अगुवाहरूले पनि आ आफ्नो प्रभाव क्षेत्रमा खास गरी स्कुल, क्याम्पस भवन र पुल निर्माण गर्ने गरेको उनले बताएका छन् । ‘भवन शिलान्यास तथा उद्घाटन भारतीय राजदूत वा अधिकारीबाट गराउँदै आएका र आफू पनि सहभागी हुँदै आएका छन् । अहिले आएर त्यसको विरोध गर्नु द्वैध चरित्र प्रदर्शन गर्नु मात्र हो । नेपालको विकासमा भारत सरकारको यस किसिमको सदासयताको म समर्थन गर्दछु,’ उनले भनेका छन् । दुई देशबिच दीर्घकालीन ऊर्जा व्यापार सम्बन्धी सम्झौता अनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न सकिने भएको उनको जिकिर छ । यसबाट नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित हुनुका साथै नेपाललाई वार्षिक १० खर्ब हाराहारी आम्दानी हुने उनले बताएका छन् । यसले भारतसँगको बढ्दो व्यापार घाटा कम गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उनको जिकिर छ ।

बंगलादेशमा रेलमा आगलागी हुँदा चारजनाको मृत्यु

ढाका । बंगलादेशको राजधानी ढाकामा शुक्रबार राति एउटा यात्रीवाहक रेलमा आगलागी हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले बेनापोल एक्सप्रेस यात्रीवाहक रेलमा राति ९ः०५ बजे अज्ञात समूहले बंगलादेशको ढाकामा आम चुनाव हुनुअघि आगजनी गरेको जनाएकाे छन् । स्थानीय समयानुसार राजधानीको गोपीबाग क्षेत्रमा भएको आगलागी राति १०ः२० बजे नियन्त्रणमा लिइएको थियो । आगलागीमा मृत्यु भएकाहरूको तत्काल पहिचान हुन नसकेको ढाका महानगरीय प्रहरी उपायुक्त इकबाल हुसेनले पत्रकारलाई बताएका छन् । रासस सिन्ह्वा

म्याग्दीमा धारिलो हतियार प्रहार गरी वृद्धाको हत्या, जोगाउन जाने दुईजना घाइते

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुंगा (छपनी) प्रहार गरेर एकजनाको हत्या गरिएको छ । दुईजना घाइते भएका छन् । छपनी प्रहार गरिँदा मालिका–७, बिमवाङकी ७० वर्षीया मनीषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । उनका अनुसार, मनीषाकी सात वर्षीया नातिनी प्रियंका गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् । घटनास्थलमा पुगेका प्रनाउ कुँवरले हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको बताए । मनीषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियंका र अमृतालाई चिर्पट प्रहार गरेर घाइते बनाई भागेका स्थानीयको भनाइ छ ।

सामाजिक सञ्जाल चलाउन दर्ता गर्नुपर्ने प्रस्ताव

काठमाडौं । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ । दर्ताबाहेकका अन्य कसुरमा पाँच लाख रुपियाँसम्म जरिबाना र सामाजिक सञ्जाल व्यवस्थापन परिषद्, केन्द्रलगायतका प्रशासनिक निकाय पनि विधेयकले प्रस्ताव गरेको छ । मतियारलाई कसुरदारको आधा सजाय हुने व्यवस्था प्रस्तावित छ । यस्तै वैयक्तिक गोपनीयताको हकमा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने र एक पटकभन्दा बढी कसुर गरेमा जरिबाना दोब्बर हुने पनि विधेयकमा प्रस्तावित छ । कसुरका मुद्दाको सुरु क्षेत्राधिकार जिल्ला अदालत र उच्च अदालतमा सूचना प्रविधि इजलासले पुनरावेदन सुन्ने पनि विधेयकमा प्रस्तावित छ । सामाजिक सञ्जालको दुरुपयोगबाट पीडित व्यक्तिको गुनासो सुनुवाइका लागि पाँच सरकारी निकायलाई तोकिएको छ । सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड, प्रेस काउन्सिल नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल प्रहरीलाई गुनासो व्यवस्थापन गर्ने निकाय तोक्ने प्रस्ताव गरिएको छ । सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहनेले सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रमा दर्ता गर्नुपर्ने व्यवस्था प्रस्तावित छ । व्यक्ति, कम्पनी र संस्थाले प्लेटफर्म दर्ता गर्न सक्ने छन् । प्लेटफर्मको प्रकृति अनुसार विभिन्न १६ प्रकारका कागजात अनिवार्य गर्ने प्रस्ताव विधेयकमा छ । दर्ता नवीकरण र खारेजीको व्यवस्था पनि विधेयकमा प्रस्तावित छ । खारेजीपछि पुनः दर्ता र सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभर सञ्चालन रोक लगाउन सक्ने अधिकार पनि सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रलाई दिने प्रस्ताव गरिएको छ । सामाजिक सञ्जाल सञ्चालकले प्लेटफर्ममा प्रकाशन प्रसारण भइसकेका सामग्री हटाउनुपर्ने प्रावधान पनि विधेयकमा समेटिएको छ । सामाजिक सञ्जाल व्यवस्थापनको केन्द्र र सम्बद्ध निकायले हटाउन निर्देशन दिएका सामग्री हटाउनुपर्ने छ । यस्ता सामग्री नहटाए मन्त्रालयले पटकैपिच्छे १० लाख रुपियाँका दरले जरिबाना गर्न सक्ने व्यवस्था प्रस्तावित विधेयकमा उल्लेख छ । प्रस्तावित विधेयकले सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि पालना गर्नुपर्ने सर्त पनि उल्लेख गरेको छ । मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताविपरीतका कार्य सामाजिक सञ्जालमा प्रकाशन प्रसारण गर्न नहुने सर्त तोकिएको छ । यस्तै घृणाजन्य अभिव्यक्ति दिन नहुने, गाली बेइज्जती र हेट स्पिच हुने कार्य गर्न नहुने पनि सर्त राखिएको छ । मिथ्या सूचना, दुष्प्रचार प्रकाशन प्रसारणमा रोक लगाइएको छ । कानुनले निषेध गरेका विज्ञापन र कारोबार गर्न नहुने पनि सर्त तोकिएको छ । साइबर बुलिङ र अनलाइन बुलिङ गर्न नहुने, फेक आइडी, पेज तथा ग्रुप निर्माण गर्न नहुने, सामाजिक सद्भाव र सहिष्णुताविपरीत कार्य गर्न नहुने पनि प्रस्तावित विधेयकमा उल्लेख छ । बालश्रम, बहुविवाह तथा जातीय छुवाछुत प्रोत्साहन गर्न नहुने, महिलालाई हानि पुर्‍याउने गरी सामग्री प्रकाशन प्रसारण गर्न नपाइने, बालबालिकालाई हानि पुर्‍याउने सामग्री प्रकाशन प्रसारण गर्न नपाइने, फिसिङ गर्न नमिल्नेलगायतका विषय पनि प्रस्तावित विधेयकमा समेटिएका छन् । निर्वाचनलाई प्रभावित पार्न, बीभत्स तस्बिर प्रयोग गर्न, विपत्मा अफवाह फैलाउन, मानहानि गर्न, तस्बिरको स्वरूप बिगारी प्रकाशन गर्न वैयक्तिक गोपनीयता भङ्ग गर्न नमिल्ने व्यवस्था पनि प्रस्तावित विधेयकमा उल्लेख छ । सामाजिक सञ्जाल प्रयोग र नीतिगत व्यवस्थाका लागि सामाजिक सञ्जाल व्यवस्थापन परिषद् गठन हुने विधेयकले प्रस्ताव गरेको छ । परिषद्को अध्यक्ष सञ्चार तथा सूचना प्रविधिमन्त्री हुने र समितिमा मन्त्रालयका सचिव, सूचना प्रविधि विभागका महानिर्देशकलगायत सदस्य हुने व्यवस्था प्रस्तावित छ । परिषद्लाई सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त निर्धारण, प्रयोगको नीतिगत व्यवस्था गर्ने अधिकार प्रस्तावित छ । गोरखापत्रबाट

प्रहरी प्रतिष्ठानमा ध्यान कार्यशाला

काठमाडौं। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा ‘ध्यानद्वारा उर्जा जागरणको एक दिवसीय कार्यशाला’ सुरु भएको छ। प्रहरी संगठनसहित गृह मन्त्रालय मातहतका निकायमा योगाभ्यास, प्राणायाम र उर्जाध्यानको संस्कृति स्थापित गर्ने अभियान अन्तर्गत नै यो कार्यशाला सुरु भएको हो। कार्यशालामा प्रशिक्षक रमेश नेपालले दुईसय भन्दा बढी प्रहरीलाई योगाभ्यास सिकाउनु हुनेछ। शनिबार दिनभरी चल्ने कार्यशालाको उद्घाटन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे। त्यसक्रममा उनले ध्यानलाई धर्मसँग होइन विज्ञानसँग जोडेर हेर्नुपर्ने, स्वजागरणका रुपमा हेर्नुपर्ने र आफुलाई चिन्न, बदल्न, असल बन्न तथा स्वच्छ बन्न यो आवश्यक हुने बताए। पूर्वीय सभ्यताको रूपमा स्थापित ध्यानलाई हाल पश्चिमाले समेत अनुसरण गर्न थालेको उनले बताए । प्रतिष्ठानका प्रमुख एवम एआइजी सन्दीप भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यशालामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवर सहितका प्रहरी अधिकारीहरूको सहभागीता छ।

पृथ्वी राजमार्ग धमाधम कालोपत्रे

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा दुईतर्फी कालोपत्रे धमाधम भइरहेको छ । सो सडकको पूर्वी खण्डमा हालसम्म दुवैतर्फ साढे चार किलोमिटर सडक कालोपत्रे भएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुग्लिन–पोखरा सडक र नारायणगढ बुटवल सडकखण्डको सडक आयोजनाको प्रधानमन्त्री कार्यालय सिंहदरबारको कट्रोलबाट अनुगमन गरेर कामलाई तिब्रता दिन निर्देशन दिएका थिए । ततपश्चात दुवै क्षेत्रको सडक खण्डको कामले तिब्रता पाएको हो । आँबुखैरेनी गाउँपालिकाको सत्रसत्र क्षेत्र र बन्दीपुर गाउँपालिकाको नाहाला क्षेत्रमा दुईतर्फी कालोपत्रे गरिएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्ड ४१ दशमलव पाँच किलोमिटर छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कलभर्ट निर्माणको कामले पनि गति लिएको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम भइरहेको छ । यो खण्डमा ६३१ घरटहरा भत्काइने छ । त्यसका लागि २२ करोड ४५ लाख रुपियाँ मुआब्जा वितरण गरिने छ । पूर्वी खण्डको कामका लागि २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । यो खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिने छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ साल वैशाखसम्म छ । पश्चिम खण्डमा माघको तेस्रो सातादेखि कालोपत्रे गर्ने तयारी थालिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा माघको तेस्रो सातादेखि कालोपत्रे थाल्ने तयारी गरिएको हो । पश्चिम खण्डका प्रमुख राजेश पौडेलले त्यसका लागि अहिले उक्त खण्डमा बेस राख्ने काम भइरहेको जानकारी दिए । केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको र १४ प्रतिशत काम पूरा भएको उनले जानकारी दिए। सडक कालोपत्रेका लागि करिब दुई किलोमिटर आधारको काम सकिएको पश्चिम खण्डले जनाएको छ । पश्चिम खण्डका अनुसार माघ महिनाको पहिलो हप्ताबाट कालोपत्रे भइरहेको छ । २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा छ । पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ साल जेठ २ गते सम्झौता भई सोही सालको भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ साल भदौसम्म छ । यो खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपियाँमा लागेको हो। २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४६ मिटर फराकिलो बनाइने तर एकतर्फी २१ र अर्कोतर्फी २१ गरी ४२ मिटर सडक बन्ने जानकारी दिए । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।

ललितपुरको प्रजिअमा तुलसीबहादुर र प्रहरी प्रमुखमा खनाल

काठमाडौं । गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । यसैगरी मन्त्रालयले प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल लाई पठाएको छ । बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टरमा तानिएका थियो ।

एमालेले ६ जनालाई गर्‍यो केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं। नेकपा एमालेले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ । शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले कोशीका तुलसीप्रसाद न्यौपाने, वागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । मनोनितमध्ये कार्की बाहेकका ५ जना तत्कालीन प्रदेश अध्यक्ष रहेका थिए भने कार्की झापा जिल्लाका अध्यक्ष रहेका थिए ।

सर्लाहीको बरहथवामा गोली चल्दा एक जनाको मृत्यु

सर्लाही। सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले गोली चलाएको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनमत, जसपासहितका दलले गरेको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको जनाएको छ । गोली लागी सोही वडाका जयशंकर साहको मृत्युभएको बताइएको छ । तर प्रहरीले अहिलेसम्म त्यसको पुष्टि गरेको छैन । उनी आन्दोलनकारी नभएर सडकमा हिँडिरहेको बटुवा रहेको आन्दोलनकारीको दाबी छ । आन्दोलनकारीबाट नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको निजी घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले घटनास्थलको थप विवरण आउन बाँकी रहेको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए । बरहथवा बजार क्षेत्रमा अहिले व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । गत असोज ९ गते बरहथवा नगरपालिकाको नगर कार्यपालिका बैठकले प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नति गरी ५० बेडको बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । पुस १८ गते बसेको कार्यपालिका बैठकमा बहुमत सदस्यले सो निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । कांग्रेससहित केही दलका जनप्रतिनिधि भने निर्णय कार्यान्वयन हुनुपर्ने पक्षमा छन् । यही विषयमा छलफल गर्न शुक्रबार बिहान सर्वदलीय बैठक बोलाइएकोमा नगरपालिकाले सूचना निकालेर बैठक स्थगित गरेको छ । नगरप्रमुख कल्पनाकुमारी कटुवालसहित बहुमत कार्यपालिका सदस्य प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण नगर्ने पक्षमा रहेका छन् ।

भरतपुर भ्रमण वर्ष २०२४ : समुद्घाटन फागुन १८ गते

काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फागुन १८ अर्थात् मार्च १ तारिख हुने भएको छ । भरतपुर महानगरपालिकाको शुक्रबार बसेको ९० औँ कार्यपालिका बैठकले पूर्वनिर्धारित तालिकाअनुसार नै सन् २०२४ भर विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । यो निर्णय आगमी १४ औँ नगर सभाले अनुमोदन गर्ने छ । यस अघि भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ तारिख उद्घाटन गर्ने कार्यक्रम स्थगन गरिएको थियो । भरतपुरको मुख्य सडक, मुग्लिन नारायणगढ सडक, नारायणगढ बुटवल सडकखण्डलगायतका सडक तीब्र निर्माणको चरणमा रहेकाले केही समयपछि भ्रमण वर्ष सार्ने निर्णय गरिएको थियो । यस्तै ९० औँ कार्यपालिका बैठकले चालु आर्थिक वर्ष ०८०/०८१ को वार्षिक नीति, कार्यक्रम र बजेज कार्यन्वनको समिक्ष गरेको छ । बैठकको समिक्षालाई आगामी पुस २२ गते हुने नगर सभाको १४ औँ अधिवेशनमा पेश गर्ने निर्णय गरेको महानगरका प्रशासन शाखा प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिए । नगर सभाको १४ औँ अधिवेशनबाट पुरक बजेट परित गर्ने निर्णय पनि भएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । यस्तै गत आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालित योजनाहरुको म्याद थप नगर्ने निर्णय पनि गरेको छ । भरतपुर महागनरपालिको १४ औँ नगर सभा भरतपुर २८ को गोलाघाटमा गर्ने तयारी गरिएको छ । यस अघि भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडेटेरियम हलमा हुने गरेको नगर सभा पश्चिम चितवनको पर्यटकीय स्थल गोलाघाटमा हुन लागेको हो ।

काठमाडौँको फोहोर व्यवस्थापनको जिम्मा केन्द्र सरकारलाई दिने भ्याली मेयर्स फोरमको निर्णय

काठमाडौँ । काठमाडौँ भ्याली मेयर्स फोरमको छैटौँ बैठकले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको काम नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेष्टमेण्ट बोर्डले काठमाडौँ महानगरपालिकालाई कार्यान्वयनका निमित्त पठाए पनि महानगरपालिकाले सरकारलाई नै फिर्ता पठाइसकेकाले सरकारले नै फोहोर व्यवस्थापनको बाँकी काम गर्न आग्रह गर्ने निर्णय भएको मेयर्स फोरमले बतायो । काठमाडौँ उपत्यकाको फोहोर विसर्जनको थलो नुवाकोटको बञ्चरे डाँडामा फोहोरको वैज्ञानिक व्यवस्थापन र दीर्घकालीन समाधानको लागि संघीय सरकारको लगानी छ । यसको जिम्मा २०१८ मा नेपवेस्ट नामको निजी कम्पनीलाई सरकारले दिइसके पनि पूर्णरुपमा काम हुन सकेको छैन । पछिल्लो समय त काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा भनिएको मेयर्स फोरममा विवाद देखिएको छ । यस विवादले फोहोरको व्यवस्थापनमा समेत प्रभाव परिरहेको छ । ललितपुरका मेयर चिरीबाबुले यसअघि पनि महानगरले फोहोरको फाइल अड्काएको भन्दै असन्तुष्टि जनाएका थिए । बैठकले काठमाडौं उपत्यकामा अबबाट स्मार्ट सिटी लाइट जडान गर्दा एउटै प्याकेज गरेर अघि बढ्ने यसअघिको बैठकको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय भएको छ । विद्युत् प्राधिकरणले स्थानीय पालिकाहरूको बक्यौता सडक बत्ती, मठ, मन्दिर, शिवालय, देवालयमा बालेको बत्तीहरूको बिल भुक्तानीको निमित्त गरेको पत्राचारमा पालिकाहरूले असहमति प्रकट गरेका छन् । प्राधिकरणले हचुवाको भरमा पञ्चायतकालदेखिको बिल पठाएको मेयर्स फोरमको भनाइ छ ।

किन पक्राउ परे टुटलका संस्थापक शिक्षित भट्ट ?

काठमाडौं । राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भट्टलाई पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले बताए। प्रहरीले उनलाई बिहीबार नै पक्राउ गरेको थियो। नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमार्फत् उजुरी आएपछि भट्टराई नियन्त्रणमा लिइएको एसएसपी खत्रीले बताए। भट्टविरूद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरी परेको थियो। सुरूमा पार्टनर रहेका व्यक्तिले उनीविरूद्ध मुद्दा हालेको एसएसपी खत्रीले बताए। ‘लगानी गर्दा सुरूमा दुई जनाले गरेको तर पछि भट्ट एक्लैले लिएको भन्दै उजुरी परेपछि हामीले उहाँलाई पक्राउ गरेका हौं,’ उनले भने।

सुविसुकाे वार्षिकोत्सव : भूकम्प पीडित २०० परिवारका विद्यार्थीलाई सोलार बत्ती वितरण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको टोली आफ्नो २३ औं वार्षिकोत्सव मनाउन भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ । गत १७ कात्तिकमा गएको ६.४ म्याग्निच्युटको विनाशकारी भूकम्पबाट प्रभावित विद्यार्थीहरूको अध्ययनमा सहयोग पुग्ने गरी २०० परिवारलाई ब्याकअप सहितका सोलार बत्ती वितरण गर्दै कम्पनीले पृथक् ढङ्गले वार्षिकोत्सव मनाएको हो । भूकम्प पश्चात पीडितहरूले भोग्नु परेको विशेष समस्यालाई सम्बोधन गर्नेगरी ती सोलार बत्ती डिजाइन गरिएको कम्पनीले जनाएको छ । वितरण गरिएका सोला बत्तीले रातको समयमा अध्ययन गर्न अति आवश्यक उज्यालो दिने मात्रै नभएर मोबाइल फोन र अन्य विद्युतीय उपकरण समेत चार्ज गर्न सकिनेछ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउद सहित सुबिसुको आठ सदस्यीय टोली राहत स्वरूप अत्यावश्यक सामग्री वितरण गर्न जाजरकोट पुगेको थियो । जाजरकोटको नलगाड स्थित स्थानीय इन्द्रधनुष प्राथमिक विद्यालयमा सुबिसुले उक्त राहत वितरण कार्यक्रम आयोजना गरेको थियो । “जाजरकोटको पुग्ने कुरा केवल भौगोलिक यात्राको विषय मात्र थिएन, प्रतिकूल परिस्थितिको सामना गरिरहेका भूकम्प पीडितहरूको जीवनमा अर्थपूर्ण प्रभाव पार्ने एउटा प्रतिबद्धता समेत थियो,” सुबिसुले भनेको छ । “हामीले विद्यार्थीलाई आइपरेको चुनौती सामना गरी आफ्नो उज्यालो भविष्य निर्माण गर्ने कार्यमा सशक्तीकरण गर्ने उद्देश्यका साथ रातको समयमा पढ्न आवश्यक माध्यम (सोलार बत्ती) उपलब्ध गराएका हौं । ” व्यावसायिक उत्तरदायित्वलाई व्यावसायिक हिसाबकिताब भन्दा पर हुने भन्दै सुबिसुले २३ औं वार्षिकोत्सव मनाउने कुरा जाजरकोटका जनताको अदम्य भावनाको सम्मान भएको उल्लेख गरेको छ ।

भारतले विद्युत किन्ने सम्झौता नेपालको राष्ट्रिय हितमा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युत व्यापार सम्झौता नेपालको राष्ट्रिय हितमा रहेको बताएका छन् । शुक्रबार बिहान राज्यव्यवस्था समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौंमा यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले भने “हिजो भारतीय विदेशमन्त्रीसँग मेरो “वान टु वान” र नेपाली प्रतिनिधिमण्डलसहितको भेट भएको थियो। भेटमा मैले नेपालको राष्ट्रिय हित र विद्युत व्यापार सम्झौताबारे नै कुरा गरेको छु। विद्युत व्यापार सम्झौता नेपालको राष्ट्रिय हितमा छ। नेपालले दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको छ। २० करोडसम्मको परियोजना भारत एक्लैले निर्णय गर्ने होइन। यसमा नेपालको पनि निर्णय र साझेदारी रहन्छ। मुख्य कुरा जसले उत्पादन गरेको भए पनि दश वर्षमा दश हजार मेगावाट विद्युत भारतले किन्ने सम्झौता भएको छ। अरू कुनै भ्रम राख्न जरूरी छैन। सम्झौताको कार्यान्वयन पनि नेपालको राष्ट्रिय हितअनुरूप नै हुन्छ।”

दुई निर्माण कम्पनीको ठेक्का तोडियो, कालो सूचीमा राख्ने तयारी

काठमाडौं । सरकारले समयमा काम सम्पन्न नगर्ने दुई निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले ठेक्का तोडेको जनाएको हो । श्री देव निर्माण एण्ड सप्लायर्स प्रालि गढी ६ सुनसरी र श्री डाइनामिक कन्स्ट्रक्सन तार्केश्वर काठमाडौंको ठेक्का तोडिएको सूचनामा उल्लेख छ । उक्त कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नुका साथै बाँकी काम सम्पन्न गर्न सरकारी नियम अनुसार असुल उपर गरिने भएको छ ।