देशभर सफा मौसम : पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना

काठमाडौं — हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले गर्दा आज दिउँसो र राति देशभर सामान्यतया सफा मौसम रहने अपेक्षा गरिएको छ।

महाशाखाका अनुसार, आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहन सक्छ भने बाँकी क्षेत्रहरूमा मुख्यतया सफा आकाश देखिने छ। आज राति भने देशभर मौसम मुख्यतया सफा रहने बताइएको छ।

यस अवधिमा वर्षा वा ठूलो असर पार्ने कुनै प्रणाली नरहेकोले यात्रुहरू र कृषकहरूका लागि सामान्य दिन रहने छ।

दुई रोपनी क्षेत्रफलमा सयपत्री ढकमक्क, बजार खोज्दै किसान

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका मञ्जु श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल उत्पादन गरेकी छिन् । गत वर्ष तिहारकै बेला फूल फुल्ने गरेकामा यस वर्ष चाँडै सयपत्री फुलेपछि बजार के हुन्छ भन्नेमा अन्योल छाएको छ । उनले विगत पाँच वर्षदेखि सयपत्री फूलखेती गरिरहेकी छिन् । गत वर्षहरूमा तिहारमा नै फुल्ने सयपत्री फूल यस वर्ष चाँडै फुलेको उनले बताइन् । श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्रीका पाँच हजार बिरुवा रोपेकी छिन् ।  तिहारका बेला बजारको समस्या नहुने भए पनि अहिलेको फुलेको फूललाई तिहारसम्म संरक्षण गर्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताइन् । उनले भनिन्, “अघिल्लो वर्ष बजारको समस्या थिएन । तिहारका लागि बजारको समस्या हुँदैन । तिहारपछि भने बजारको समस्या हुँदै आएको छ ।” श्रेष्ठले तिहारका लागि मात्रै नभई यस बेला गाउँघरमा हुने विभिन्न कार्यक्रमका लागि फूल बिक्री गरी रहेकी छिन्  । विशेष गरी सहकारी संस्थाको साधारण सभाका लागि सयपत्रीको मालाको माग आउने गरेको उनको भनाइ छ । उनका अनुसार एउटा फूलको थुङ्गा रु पाँचसम्म बिक्री हुने गरेको छ । यो वर्षका लागि पनि फूलको बारेमा सोधपुछ गर्ने क्रम बढेको उनले बताइन् । फेसबुक, टिकटकमा फूलको भिडिओ हालेपछि केही ठाउँमा सोधखोज गर्ने बढेको श्रेष्ठले उल्लेख गरिन् । गत वर्षको तिहारमा मात्र श्रेष्ठले रु एक लाखको सयपत्री फूल बिक्री गरेकी थिइन् । उनले भनिन्, “यो वर्ष अलि छिटो फुलेका कारण के हुन्छ भन्न सकिएन ।” उनले मागअनुसारको फूल पुर्याउन धौधौ भएपछि व्यावसायिक रूपमा फूलखेती सुरु गरेकी थिइन् । उनले भनिन्, “पहिलोपटक उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ ।” विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने श्रेष्ठले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताइन् । श्रेष्ठले भनिन्, “हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो । नेपाललाई फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ ।”

देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन  बजेट

काठमाडौँ । चालु आर्थिक वर्ष सुरु भएर तीन महिना सकिँदा देशभरका ४३ स्थानीय तहले अझै पनि वार्षिक बजेट प्रस्तुत गरेका छैनन् । संविधानअनुसार स्थानीय तहले हरेक वर्ष असार १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि तोकिएको समयसीमा उल्लङ्घन गर्दै ती स्थानीय तहले अहिलेसम्म बजेट पेस नगरेका हुन् । संविधानले सङ्घीय सरकारलाई जेठ १५ गते, प्रदेश सरकारलाई असार १ गते र स्थानीय तहलाई असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान गरेको छ । तर, तोकिएको समयभन्दा निकै ढिलो हुँदा ती तहहरूले आफ्ना जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना बढेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म देशभरका ७५३ स्थानीय तहमध्ये ९४ दशमलव २९ प्रतिशतले बजेट प्रस्तुत गरेका छन् भने पाँच दशमलव ७१ प्रतिशतले अझै बजेट ल्याएका छैनन् । कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये १३५ ले बजेट प्रस्तुत गरिसकेका छन् । इटहरी र धरान उपमहानगरपालिकाले भने अहिलेसम्म बजेट सार्वजनिक गरेका छैनन् । मधेस प्रदेशमा भने सबैभन्दा बढी ३४ वटा स्थानीय तह बजेटविहीन छन् । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका विभिन्न नगरपालिका तथा गाउँपालिकाले अझै बजेट प्रस्तुत गर्न सकेका छैनन् । बागमती प्रदेशमा धादिङको खनियाबास गाउँपालिका, लुम्बिनी प्रदेशमा नवलपरासीको पाल्हीनन्दन, रूपन्देहीको कोटहीमाई, कपिलवस्तुको शुद्धोधन र दाङको तुल्सीपुर उपमहानगरपालिकाले बजेट ल्याएका छैनन् । कर्णाली प्रदेशमा सल्यानको छत्रेश्वरी गाउँपालिका बजेटविहीन रहेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले बजेट प्रस्तुत गरिसकेका छन् । मन्त्रालयका अनुसार धेरैजसो स्थानीय तहमा राजनीतिक सहमति अभाव र आन्तरिक विवादका कारण बजेट पेस गर्न ढिलाइ भएको पाइएको छ ।

दाङमा राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले तिहारका अवसरमा देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रम राति १० बजेपछि गर्न नपाइने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले शुभ–दीपावली (तिहार) र छठ पर्व २०८२ का अवसरमा जिल्लावासीलाई शुभकामना दिंदै सामाजिक सद्भाव, शान्ति र सुरक्षाको वातावरण कायम गर्न सबैलाई आह्वान गरेका छन् । उनका अनुसार सबै कार्यक्रमहरू मर्यादित, सभ्य र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नुपर्नेछ । प्रशासनले मादक पदार्थ सेवन नगरी पर्व मनाउन र सवारीसाधन चलाउँदा ट्राफिक नियम पालन गर्न आग्रह गरेको छ । साथै, आवश्यक वस्तुहरूको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा म्याद नाघेका वस्तु बिक्री–वितरण गर्नेलाई कारबाही गरिने चेतावनी पनि दिएको छ । त्यस्तै, पटाका र आतसबाजी, अश्लील गीत–संगीतको प्रयोग र बिक्रीमा पूर्ण रोक लगाइएको छ । चाडपर्वका नाममा जुवा, तास वा सट्टेबाजी खेलकुदमा संलग्न हुन नहुने प्रशासनले स्पष्ट पारेको छ । प्रशासनले सवारीसाधनमा सीट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न र कुनै अवाञ्छित गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन पनि अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ, “चाडपर्वका अवसरमा शान्ति र सुरक्षामा असर पार्ने कुनै पनि कार्य नगर्नुहोस् । सबै जिल्लावासीले सभ्य र मर्यादित ढङ्गले पर्व मनाउँछन् भन्ने हाम्रो अपेक्षा छ ।”

बिमा दाबी २५ अर्बभन्दा बढी, भुक्तानी करिब दुई अर्ब

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको रकम २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । तीमध्ये करिब दुई अर्ब रुपैयाँ भुक्तानी भइसकेको नेपाल बिमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हालसम्म ३ हजार १६३ वटा बिमा दाबी दर्ता भई कुल २५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको दाबी परेको छ । त्यसमध्ये एक अर्ब ९५ करोड ४७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा माइक्रो इन्स्योरेन्स कम्पनीहरूले २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको दाबी अझै भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । बिमा दाबीमध्ये सबैभन्दा बढी सम्पत्ति बिमा अन्तर्गत भुक्तानी भएको छ । यस शीर्षकमा ६७३ वटा दाबी परेका मध्ये हालसम्म एक अर्ब ५५ करोड १७ लाख रुपैयाँ भुक्तानी गरिएको छ । सम्पत्ति बिमाअन्तर्गत १९ अर्ब ७१ लाख रुपैयाँ बराबरको दाबी परेको थियो । त्यसपछि मोटर बिमा दोस्रो स्थानमा छ । यसमा २ हजार २५६ वटा दाबी परेका मध्ये अग्रिम भुक्तानीसहित ३६ करोड २५ लाख रुपैयाँ भुक्तानी भएको छ । मोटर बिमाअन्तर्गत ३ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको थियो । यस्तै इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा शीर्षकमा १८२ वटा दाबी परेका छन् । यस अन्तर्गत हालसम्म अग्रिम भुक्तानीसहित ३ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरिएको छ भने कुल ३३ करोड १८ लाख रुपैयाँ बराबरको दाबी परेको थियो । अन्य बिमा शीर्षकमा ४० वटा दाबी परेका छन् । तीमध्ये अग्रिम भुक्तानीसहित २२ लाख रुपैयाँ भुक्तानी भएको छ । यस शीर्षकमा ३८ करोड ८६ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको थियो । त्यस्तै परिवहन बिमा शीर्षकमा १२ वटा दाबी परेका छन्, तर हालसम्म भुक्तानी भएको छैन । यस अन्तर्गत एक करोड ६३ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।  

धमाधम नयाँ दल दर्ता हुँदै

काठमाडौं । नेपालको ख्यातिप्राप्त निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत केन्द्रीय सदस्य रहेको गतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । दलको अध्यक्ष दिनेशराज प्रसाईं छन् ।  सो दलले बुधबार दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार गतिशील लोकतान्त्रिक पार्टीको निवेदन बुधबार दर्ता भएकामा कागजात अध्ययन तथा छानबिन भइरहेको छ ।  सात जना पदाधिकारी तथा २२ जना केन्द्रीय सदस्य गरी २९ जनाको केन्द्रीय समिति रहने सो दलले प्रस्ताव गरेको छ । सो दलले निवेदन दर्ता गराएसँगै आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको दलको सङ्ख्या चार पुगेको छ । हाल आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या १२४ छ । 

सरकारले निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउन सकेको छैन : देव गुरुङ

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले वर्तमान सरकारले निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउनेमा गम्भीर शंका व्यक्त गरेका छन्। निर्वाचन आयोगले बिहीबार राजनीतिक दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे। गुरुङका अनुसार, पार्टी निर्वाचनमा पूर्ण रूपले सहभागी हुन तयार छ, तर सरकारले आवश्यक वातावरण निर्माण गर्न असफल भएको छ। "माओवादी निर्वाचनमा सहभागी हुन तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन सकेको छैन । ," उनले भने। उनले सरकारले राजनीतिक दलहरूलाई विश्वासिलो वातावरणमा नलिएको आरोप लगाएका छन्। उनको भनाइअनुसार, सरकारले दलहरूविरुद्ध प्रतिशोधपूर्ण व्यवहार गर्दै आएको छ। "सरकारले दलहरूको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने र मुद्दा लगाउने खालका गतिविधि अगाडि बढाएको छ," गुरुङले भने। यसले निर्वाचन प्रक्रियालाई निष्पक्ष र स्वतन्त्र बनाउने सम्भावनामाथि प्रश्नचिन्ह खडा गरेको उनको जिकिर छ। गुरुङले निर्वाचन आवश्यक भएको स्वीकार गर्दै यसको व्यवस्थापन निर्वाचन आयोगको जिम्मेवारी रहेको उल्लेख गरे। तर, सरकारले भयमुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। "निर्वाचन त हुनुपर्छ भन्ने नै हो। निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन गर्ने हो। सरकारले निर्वाचनका लागि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाउँछ कि बनाउँदैन भन्नेकुरा कै आशंका पैदा भएको छ," उनले भने। उनले थपे, "त्यसकारण सरकारले न भयमुक्त वातावरणमा निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउनका लागि भूमिका निर्वाह गर्नुपर्छ।" अहिलेसम्मको अवस्थाले सरकारले यो भूमिका निर्वाह गर्न नसकेको देखिएको उनको भनाइ छ। यद्यपि, राष्ट्रपतिसँग भएको पछिल्लो संवादलाई सकारात्मक संकेत माने पनि दलहरूप्रतिको प्रतिशोधपूर्ण कारबाहीले शंका बढाएको बताए। "अहिलेसम्मको स्थिति हेर्दा सरकारले त्यो भूमिका निर्वाह गर्न सकेको देखिँदैन। यद्यपि अस्ती राष्ट्रपति कहाँ केही संवाद त भएको छ। तर पनि सरकारले दलहरूलाई विश्वासको वातावरणमा लिनुको साथै शान्तिसुरक्षा कायम राख्नुपर्छ। राजनीतिक दलहरूको विरुद्धमा जुन ढंगले प्रतिशोधको भावनाले कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ। त्यसले निष्पक्ष, स्वतन्त्र ढंगवाट निर्वाचन हुन्छ भन्नेमा आंशका पैदा गराइराखेको छ," गुरुङले भने। दलहरूले बारम्बार सरकारको आलोचना गर्दै आएका छन् भने सत्तारूढ गठबन्धनले निर्वाचन तयारीमा जोड दिएको दाबी गरेको छ।  

जेनेरेसन जेडको आवाज हाम्रो पनि आवाज हो, माओवादी मुलधारको पार्टी बन्छ : सयोजक प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का महाधिवेसन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा (चितवन कार्यालय भवन जलाइएको छ) जहाँ पार्टीका नेता तथा कार्यकर्तालाई भेटघाट तथा सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा संयोजक प्रचण्डले हालैको जेनेरेसन जेड आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकता लगायतका विषयमा स्पष्ट धारणा राख्नुभएको छ । कार्यक्रमअघि उहाँले बिहान चितवन देवघाटसम्म मोर्निङ वाकसमेत गर्नुभएको थियो । संयोजक प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएको युवाको आन्दोलनलाई “नयाँ राजनीतिक चेतना” को संकेतको रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने बताउनुभयो। उहाँले भन्नुभयो, “युवाहरुले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन् । हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो ।” संयोजक प्रचण्डले २३ गते राजधानीमा भएको आन्दोलनको क्रममा देखिएको “गम्भीर सुरक्षा लापरवाही” लाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्री तथा सरकार प्रमुखको भुमिकाको आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, “युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो । गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो ।” संयोजक प्रचण्डले घटनापछि २३ गते राति नै काठमाडौं फर्केर पार्टीको आकस्मिक बैठक बसेको र सबैभन्दा पहिले माओवादी केन्द्रले आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन गठन गर्ने र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आधिकारिक निर्णय सार्वजनिक गरेको बताउनुभयो । “हामीले आन्दोलनलाई वैधानिकता दियौं, प्रतिपक्षी दलहरूलाई एउटै धारणा बनाउन आग्रह गरियो, र प्रत्यक्ष समन्वय गरेर देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउन पहल गरियो,” उहाँले भन्नुभयो । २४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सकेर बाहिरिने क्रममा सुरक्षाको जोखिम बढेपछि आफू स्वयंको पहलमा सुरक्षा खोज्दै सेनाको समन्वयमा सिंहदरबारभित्र सुरक्षित रहनुपरेको प्रसंग पनि उहाँले स्पष्ट गर्नुभयो ।“हामीलाई कसैले लिएको होइन, हामीले परिस्थिति मूल्याङ्कन गरेर सुरक्षा संयन्त्रको सहायतामा सुरक्षित स्थानमा गयौं,” उहाँले भन्नुभयो । संयोजक प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको स्पष्ट पार्दै सबै दलहरू निर्वाचनतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू, अन्तर्राष्ट्रिय समुदाय, सबैले निर्वाचन नै अबको प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेका छन् । जनताले पनि परिवर्तनको मार्ग निर्वाचनमार्फत रोज्ने छन् ।” संसद पुनःस्थापना हुनसक्ने भएपनि उक्त एजेन्डा अब गौण बनिसकेको र एमाले बाहेकका सबै दलहरू निर्वाचनमा जान सहमत भइसकेको उहाँले बताउनुभयो। एमालेभित्र पनि बहुमत चुनावका पक्षमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “ढिलोछिटो सबै दल चुनावमा जान्छन् ।” पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई लक्षित गर्दै संयोजक प्रचण्डले विगतका गल्तीहरूबाट कुनै आत्मसमिक्षा नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “उनको कारण यति धेरै जनधनको अत्यधिक क्षति भयो । तर आज पनि कुनै पश्चाताप छैन ।” पार्टी एकताको सन्दर्भमा संयोजक प्रचण्डले लामो समयदेखि छलफलमा रहेको वाम एकता अब निष्कर्षमा पुग्न लागेको जानकारी दिनुभयो ।उहाँले स्पष्ट पार्नुभयो, “समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा हुन्छ । त्यो घोषणा केही दिनभित्र हुनेछ । हाम्रो एकताको दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउने हो ।” पार्टीको भविष्यप्रति विश्वस्त देखिनुभएका संयोजक प्रचण्डले हालै देशभित्र र बाहिरका विश्लेषकहरूले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा अग्रस्थानमा आउने सम्भावना रहेको बताएको उल्लेख गर्नुभयो ।“तीन प्रमुख पार्टीमध्ये माओवादी नम्बर एकमा आउन सक्छ भन्ने आँकलन व्यापक रूपमा भइरहेका छन्,” उहाँले भन्नुभयो । कार्यकर्ताहरूलाई अबको प्राथमिक कार्य निर्वाचन तयारी रहेको स्मरण गराउँदै संयोजक प्रचण्डले निर्वाचनमा सहभागी भई जनताको पक्षमा काम गर्ने अवसरका रूपमा लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “माओवादी केन्द्र अब फेरि जनताको विश्वास प्राप्त गरेर मुलधारको पार्टी बन्ने निश्चित छ । हामी सबैले एक भएर निर्वाचनमा जानुपर्छ ।”

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक: दुई तिहाइ सदस्यद्वारा माओवादीसँग तत्काल एकतामा जोड

कपिलवस्तु– नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा बोल्ने दुई तिहाइभन्दा बढी सदस्यले नेकपा (माओवादी केन्द्र) र समाजवादी मोर्चासँग तत्काल पार्टी एकता गर्नुपर्नेमा जोड दिएका छन्। कपिलवस्तुको शिवगढीमा चार दिनदेखि जारी यो बैठक पार्टीको भविष्यको दिशा निर्धारण गर्ने महत्वपूर्ण छलफलमा केन्द्रित छ। बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले माओवादी केन्द्रसँगको एकतालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका एक नेताले बताए। प्रदेशगत रूपमा पनि एकताको पक्षमा मत व्यक्त भएको छ। "पार्टी एकताका लागि सबैजसो प्रदेशबाट मत आएको छ," ती नेताले भने। यसैगरी, विभिन्न अनलाइन र व्यक्तिहरूबाट भइरहेको एकता तथा ध्रुवीकरण विरोधी क्रियाकलापबारे पनि बैठकमा छलफल भएको थियो। अनौपचारिक रूपमा धेरै केन्द्रीय सदस्यहरूले महासचिव विप्लवलाई भेटेर तत्काल ठोस निर्णय गरी एकताका लागि पहल लिन आग्रह गरेका थिए। "हामीले महासचिव कमरेडलाई ग्राउण्डको भावना सुनाएका छौँ र तत्काल निर्णय गर्न आग्रह गरेका छौँ। यदि निर्णय भावनाअनुसार नआएमा नयाँ ढङ्गले बहसमा लाग्नेछौँ," ती सदस्यले थपे। बैठकमा बोल्ने अधिकाँशले पार्टी एकतामा जोड दिएका हुन् । उनले भने, 'हाम्रो केन्द्रीय समिति बैठकमा बोल्ने दुई तिहाई केन्द्रीय समितिका सदस्यले तत्काल नेकपा माओवादी केन्द्र र समाजवादी मोर्चामा आवद्ध दलसँग पार्टी एकता गर्नुपर्नेमा जोड दिएका छन् । केन्द्रीय समिति सदस्यले बोल्नेक्रम सकिएको छ ।' कपिलबस्तुको शिवगढीमा जारी बैठकमा प्रदेशगतरुपमा नै पार्टी एकतामा जोड दिइएको नेताहरुले बताए । अर्का एक केन्द्रीय सदस्यले भने, 'पार्टी एकताका लागि सबैजसो प्रदेशबाट मत आएको छ । तर, केही नेताहरुले भने आफूलाई केन्द्रमा राखेर माओवादी धारलाई कमजोर बनाउने प्रयास गर्नु भएको छ । विभिन्न अनलाइन र व्यक्तिसँग पार्टी एकता तथा ध्रुवीकरण विरोधी काम गरिरहेका विषयमासमेत बैठकमा पनि  कुरा भएको छ ।'     अनौपचारिकरुपमा धेरै नेताहरुले महासचिव विप्लवलाई भेटेरै तत्काल ठोस निर्णय गरेर पार्टी एकतका लागि पहल लिन आग्रह पनि गरेका छन् । ती केन्द्रीय सदस्यले भने, 'हामीले महासचिव कमरेडलाई अनौपचारिकरुपमा ग्राउण्डको भावनाको कुरा पनि गरेका छौँ । तत्काल ठोस निर्णय गरेर पार्टी एकताका लागि पहल लिन पनि आग्रह गरेका छौँ । निर्णय भावनाअनुसारको आएन भने त्यसपछि हामी नयाँ ढंगले बहसमा लाग्ने नै छौँ ।'  बैठकमा केही नेताहरूले विप्लवलाई केन्द्रमा राखेर माओवादी धारलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे।  केन्द्रीय सदस्यहरूको बोल्ने क्रम सकिएपछि महासचिव विप्लवले बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि समसामयिक प्रस्ताव पारित गर्दै बैठक आज नै समापन हुने बताइएको छ। यस बैठकले भूमिगत राजनीतिबाट व्यवस्थागत राजनीतितर्फको संक्रमणलाई पनि उजागर गरेको छ, जसले पार्टीको ऐतिहासिक क्षणको रूपमा हेरिएको छ।  

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

गण्डकी  । दसैँ लगत्तै बसातका कारण दुई–तीन दिन मौसम प्रतिकूल भए पनि त्यसयता गण्डकी प्रदेशभित्रका पदमार्गहरूमा चहलपहल बढिसकेको छ । बर्सातले केही ‘बुकिङ’हरू रद्द भए पनि यतिखेर अधिकांश पदमार्गहरूमा स्वदेशी एवम् विदेशी पर्यटक देखिन थालेका छन् । उत्तरतर्फ हिमालहरू खुलिसकेका छन् । यहाँका प्राकृतिक सौन्दर्यहरू पर्यटकको स्वागतको पर्खाइमा बसेजस्तै देखिन्छन् । दसैँ र तिहारको बीचमा अधिकांश शैक्षिक संस्थाहरू बिदा भएका कारण पछिल्ला समयमा आन्तरिक पर्यटकहरूको पनि पदयात्रा गर्न जाने क्रम बढ्दै गएको छ । तराईको नवलपुरदेखि हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङ र मनाङ जिल्लासम्म समेटिएको गण्डकी प्रदेश पदयात्रा पर्यटनका लागि आकर्षक गन्तव्य हो । यहाँका अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि पदमार्ग, मर्दी हिमाल पदमार्ग, गुरुङ सम्पदा पदमार्ग, सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) लगायत लामा र छोटा गरी धेरै पदमार्गहरू रहेका छन् । प्रदेशभित्रका सबै पदमार्ग पदयात्राका लागि सुरक्षित रहेको र पर्यटकको आगमन पनि बढ्दै गएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । “गण्डकी प्रदेशभित्रका सबै पदमार्ग पदयात्राका लागि खुलिसकेका छन्”, उनले भने,“सबै पदमार्गहरू पदयात्राका लागि सुरक्षित छन् । यतीखेर यहाँका पर्यटकीयस्थलसँगै पर्यटन व्यवसायीहरू पदयात्री पर्यटक स्वागतको पर्खाइमा रहेका छन् ।” नेपाल पर्यटन बोर्डको आयोजनामा हालै फ्रान्समा भएको प्रवर्द्धनात्मक कार्यक्रममा नेपालका पदमार्गहरू पर्यटकका लागि सुरक्षित भएको सन्देश प्रवाह गरिएको जानकारी दिए । हिमाल आरोहणको इतिहासमा नै जेठो हिमालका रूपमा परिचय बनाएको अन्नपूर्ण हिमालसँग जोडिएको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि हिमालको नामसँग जोडिएको धवलागिरि पदमार्गलगायत प्रदेशभित्रका सबै पदमार्गहरू यतिखेर पर्यटक स्वागतको पर्खाइमा रहेको उनले बताए । विश्वका १० उत्कृष्ट पदमार्गमध्येमा पर्ने अन्नपूर्ण चक्रीय पदमार्गसहित यस क्षेत्रका अन्य पदमार्गहरू पर्यटकले रुचाइएका पदमार्गमा पर्दछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत रहेको अन्नपूर्ण क्षेत्रको पदयात्रामा पर्यटकहरूको आगमन बढिरहेको आयोजना प्रमुख रबिन कडरियाले जानकारी दिए । चक्रीय पदमार्गअन्तर्गत अधिकांश स्थानमा सुविधासहितका खानेबस्ने होटेलहरू सञ्चालनमा आइसकेका छन् ।  पर्यटकहरूले धेरै रुचाएको अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा चार दशकअघि सो क्षेत्र जानुपर्दा यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नु पर्दथ्यो । अहिले भने उक्त क्षेत्रमा सुविधासम्पन्न होटेल बनेका कारण पदयात्रीहरू सहज रूपमा पदयात्रा गर्न सक्छन् ।  यसअघि यस पदमार्गअन्तर्गत सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होटेल सञ्चालन भएकामा हाल ती स्थानमा होटेलसहितका पूर्वाधार थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले जानकारी दिए । दुई–तीन दिनयता यस क्षेत्रमा पर्यटकहरूको आगमन बढ्दै गएको बताउँदै उनले आफूहरू पर्यटकको स्वागतका लागि तम्तयार भएर बसेको जानकारी दिए । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार प्रत्येक होटलमा छका दरले १५६ वटा कोठा मात्रै रहेका थिए ।  सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्व प्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रूपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । अन्नपूर्ण चक्रीय पदमार्गसहित आधार शिविर जाने पदमार्ग, घारेपानी पदमार्ग, मर्दी हिमाल पदमार्ग, सिक्लेस, कपुचे पदमार्ग, नर्थ अन्नपूर्ण पदमार्ग यहाँका अन्य पदमार्ग रहेको एक्यापका प्रमुख कडरियाले जानकारी दिए । अन्नपूर्ण क्षेत्रकै पोखराबाट नजिक रहेर पनि हिमाल छुन सकिने अर्को पदमार्ग मर्दी हिमाल पदमार्ग हो ।  छोटो समयमा हिमाल चुम्न सकिने पदमार्गका रूपमा चासो र चर्चा कमाएको यो पदमार्ग गुराँस फुल्ने जङ्गलै जङ्गल चराचुरुङ्गीको चिरविराहट सुन्दै र देख्दै हिँड्न सकिने पदमार्ग हो । सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यस पदमार्गबाट चाँदी जस्तै टलक्क टल्किएका माछापुच्छ्रे, मर्दी, अन्नपूर्ण साउथ, गङ्गापूर्णजस्ता हिमाललाई एक साथ अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ ।  पर्यटकीय नगरी पोखराबाट दुई दिनमा नै पुगी हिमाल चुम्न सकिने मर्दी पदमार्ग छोटो दूरीको पदयात्रा गर्न चाहने जो कोहीका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । यहाँबाट अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे, मनास्लुलगायत हिमाल एक साथ देख्न सकिन्छ । कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्ग अष्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फोरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्दछ । यी सबै स्थानमा बस्न र खानका लागि होटेल सञ्चालनमा आइसकेका छन् । समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करिब दुई घण्टामा चार हजार २०० मिटर उपचाइको ‘भ्यू प्वाइन्ट’ र त्यहाँबाट दुई घण्टामा चार हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । हाइक्याम्पबाट ठाउँठाउँका साँघुरा अप्ठेरा बाटा पार गर्दै ‘भ्यू प्वाइन्ट’ र आधार शिविर पुग्न सकिन्छ । सुरुमा काँडे हुँदै पदयात्रा गर्नेहरू फर्कंदा भने माछापुच्छ्रे गाउँपालिकाको सिदिङबाट आउँछन् ।  सिदिङसम्म जिप जाने भएकाले त्यहाँबाट झण्डै दुई घण्टाको समयावधिमा पर्यटक पोखरा पुग्दछन् । गण्डकी प्रदेशको धवलागिरि हिमालको फेरोमा गरिने धवलागिरि पदमार्ग अर्को महत्त्वपूर्ण पदमार्ग हो । टान गण्डकीका अध्यक्ष आचार्यका अनुसार करिब १८ देखि २१ दिनसम्म पदयात्रा गर्न सकिने यस पदमार्गका अधिकांश स्थानमा होटेल लगायतका पूर्वाधार नभएका कारण क्याम्पिङ गर्नुपर्ने अवस्था रहेको छ । पछिल्ला समयमा जथाभावी बाटो खन्ने नाममा विभिन्न पदमार्ग छोटिँदै गएका अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको सक्रियतामा कास्कीको मादी गाउँपालिकादेखि मनाङको तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गलाई अध्ययन अनुसन्धानपछि विभिन्न चरणमा प्रवर्द्धनात्मक पदयात्रा सम्पन्न गरिसकिएको छ । प्रकृति, संस्कृति र प्राचीन इतिहासको साक्षीका रूपमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गका साथै परम्परागत भेडीगोठ जाने मार्गहरू यस पदमार्गमा समेटिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोरबजङ्ग गुरुङले बताए ।  खोज तथा अनुसन्धानका क्रममा एउटा मूल पदमार्गसहित एक दर्जनभन्दा बढी आवश्यकता र चाहनाअनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्गहरू पहिचान गरिएको उनको भनाइ छ ।  यी पदमार्गहरूमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउन सक्ने उनले बताए । यस पदमार्गअन्तर्गत पोखराबाट मादी गाउँपालिकाका पर्यटकीय गाउँ सिक्लेसबाट कफुचे, कोरी हुँदै क्होलासोँथर एवम् ताङतिङबाट क्रपु डाँडा, तप्रो, क्होलोसोंथर, ठूलेक, थुर्जु, दूधपोखरी, गुरुङ देउराली (नामुन पास) डाँफेखर्क हुँदै मनाङको चामे गाउँपालिकाको तिमाङसम्म पुग्न सकिन्छ । यो पदमार्ग कास्कीका सिक्लेस, ताङतिङका साथै याङजाकोट, नागिधार, थाकलगायत गाउँका साथै लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, सिङ्दी, पसगाउँ, गिलुङ, टक्सार, सिउरुङ  गाउँहरूबाट सुरु गरेर यिनै मध्येका विभिन्न गाउँमा आवश्यकता र चाहनाअनुसार छोटो तथा लामो लामो दूरीका पदमार्गलाई प्रयोगमा ल्याउन सकिन्छ ।  यस पदमार्गमा विभिन्न ‘टी–हाउस’ लगायतका पूर्वाधार विकास गर्नु जरुरी रहेको बताउँदै गुरुङले आफूहरू त्यसको तयारीमा लागेको जानकारी दिए ।  यस पदमार्ग क्षेत्रमा नै पर्ने चार हजार ५८५ मिटर उचाइको धार्मिक महत्वको दूधपोखरी यहाँको विशिष्ट धार्मिक तीर्थस्थल हो भने पदयात्रा क्रममा प्रशस्त खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटनहरूबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लु जस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिन्छ । गण्डकी प्रदेशमा उत्तरी भेगका साथै नेपालको एक मात्र मध्यपहाडी क्षेत्रको पदमार्ग सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पनि रहेको छ ।  तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने यो पदमार्ग २०५६ सालदेखि सञ्चालनमा आएकामा बिचका केही वर्ष सुस्ताए पनि पछिल्ला वर्षमा मिलेनियम ट्रेक व्यवस्थापन समितिको सक्रियता र स्थानीयवासीको जागरुकतामा पुनः चलायमान बनेको छ ।  पछिल्ला वर्षमा यस पदमार्गमा स्वदेशी पर्यटकका साथै विदेशी पर्यटकको आगमन पनि बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए । पहिलोपटक आर्थिक वर्ष  २०६४/६५ मा नक्साङ्कन गरिएको यो पदमार्ग समुद्री सतहबाट ४२० मिटरदेखि एक हजार ७१५ मिटर उचाइसम्ममा रहेको छ ।  पछिल्लो समयमा दोस्रो नक्साङ्कनसमेत गरी पोखरा महानगरपालिकाका केही भू–भाग पनि यस पदमार्गमा समेटिएको छ । उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि समेत उपयुक्त मानिएको यस पदमार्गमा पछिल्ला वर्षमा पर्यटक लक्षित घरबास पनि ठाउँठाउँमा सञ्चालन भएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवम् मिलेनियम भैँसेगौडा सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष बालकुमार गुरुङले बताए ।  यस पदमार्गमा पूरै पदयात्रा सम्पन्न गर्न भने एक हप्ता लाग्छ । बिचबिचमा छोटो दूरीमा एक दिने हाइकिङदेखि दुई–तीन दिनका छोटो दूरीका पदयात्राका लागि पनि यो आकर्षक गन्तव्य बनिरहेको छ । कुल ७२ किलोमिटर लम्बाइमा रहेको यो पदमार्ग चरा पर्यटनका लागि पनि उपयुक्त मानिन्छ ।  महासचिव गुरुङका अनुसार दुलेगौँडाबाट सहस्राब्दी पदमार्गको पदयात्रा सुरु गर्ने पर्यटक यहाँको गाछेपानीस्थित रकगार्डेन हुँदै आफ्नो यात्रा प्रारम्भ गर्दछन् । पदमार्ग क्षेत्रमा पर्ने धार्मिक पर्यटकीयस्थल च्यवनधामदेखि ढोरबाराही मन्दिर, ढोर मूलकोट दरबार आदि यहाँका आकर्षण हुन् । त्यस्तै पदयात्रीहरू मनोरम हिमाली एवम् पहाडी दृश्य अवलोकन गर्दै यहाँका रजस्थल, घरेडी, सादीखोला, काल्खु, राइपुर, कोल्मा, भैँसेगौँडा, चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट, बुढाकोट, राम्चे, गहते मनकामना, सुन्तलाबारी हुँदै रामबाछा पुुगेर पोखरा फर्कन्छन् ।  पदयात्राको याम सुरु भइरहँदा यहाँका पर्यटकीयस्थल एवम् पर्यटन व्यवसायी पर्यटकको स्वागतको पर्खाइमा रहेको उनले बताए ।

सप्तरीमा खेतमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकजना बालिकाको जमेको पानीमा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ५ घर भएका भगवती यादवको दुई वर्षीय छोरी श्रृष्टि कुमारी यादवको जमेको पानीमा डुबेर मृत्यु भएको हो । घरदेखि करिव ५० मिटर पूर्व दक्षिणतर्फ खेतमा जमेको पानीमा श्रृष्टि मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । बालिका खेल्दै जाने क्रममा खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको उनले बताए । 

सिरहामा आर्थिक उपार्जन गर्न फूल व्यवसाय

सिरहा । विदेशी भूमिमा कामको खोजीमा समय बिताएका लहान नगरपालिका–३ का शिवजी महतो अहिले आफ्नै गाउँमा लाखौँ कमाइ गर्न सफल भएका छन् । भारतका विभिन्न सहरमा वर्षाैँदेखि पसिना बगाएका महतोले अहिले सिरहाको लहानमा फूलखेतीमार्फत आम्दानी गरिरहेका छन् ।  महतोले १४ वर्षअघि दुई कट्ठा जमिनबाट सुरु गरेको व्यावसायिक फूलखेती अहिले दुई बिघामा विस्तार भइसकेको छ । उनले मुख्यतया तिहार पर्व र विवाहको यामलाई लक्ष्य गरी मखमली, सयपत्रीलगायतका फूल उत्पादन गर्दै आएका छन् ।  “नर्सरीको व्यापार वर्षको केही महिना मात्र चल्ने भएकाले फूलखेती सुरु गरेको हुँ । अहिले फूल र नर्सरी दुवैबाट मनग्य  आम्दानी भइरहेको छ”, महतोले भने । हाल उनले नर्सरीमा लिची, आँप, सुनकागतीलगायतका झण्डै ६० हजार बिरुवा उत्पादन गर्दै आएका छन् । फूलखेतीमार्फत मात्र वार्षिक रु २५ लाखसम्मको आम्दानी हुने गरेको उनले बताए । साथै महतोले १० जनालाई रोजगारीसमेत दिएका छन् ।  लहानमा व्यावसायिक रूपमा फूलखेती सुरु गर्ने पहिलो व्यक्ति मानिने महतो भन्छन्, “विदेशमा जति मेहनत गरिन्छ, त्यति मेहनत यहाँ गरे घरमै बसेर कमाइ गर्न सकिन्छ ।” उनले कृषि कर्ममा पुर्‍याएको योगदानलाई मूल्याङ्कन गर्दै लहान नगरपालिकाले दुई पटक र कृषि ज्ञान केन्द्र सिरहाले दुई पटक ‘उत्कृष्ट कृषक’को सम्मानसमेत प्रदान गरिसकेको छ । “पूर्वमा काकरभिट्टादेखि पश्चिममा दाङबाट फूलको माग हुन्छ”, महतो भन्छन्, “मागअनुसार प्याकिङ गरेर बसमार्फत पठाउने गर्छु ।” आगामी तिहारमा रु १५ लाख बराबरको फूल बिक्री गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । यद्यपि हालैको लगातार वर्षाले मखमलीमा डढुवा रोग देखिएकाले उत्पादनमा केही असर पर्ने उनको अनुमान छ । महतोले यस वर्षदेखि लहान–१३ मा एक बिघा क्षेत्रफलमा केराखेती पनि सुरु गरेका छन् । कृषिमा निरन्तर लगाव, परिश्रम र प्रतिबद्धताले उहाँ यस क्षेत्रका अरु किसानका लागि प्रेरणाको स्रोत बनाएको छ ।

बागलुङमा धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती

बागलुङ । बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ गाजा दह (ताल), काठेखोला–४ को खोरताल, बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो । गाउँ तथा नगरपालिकाले संरक्षण गर्नका लागि डोजर चलाएपछि तालमा पानीको सहत घटेर सुक्न थालेका हुन् । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । जब गाउँगाउँमा मोटरबाटो पुगे त्यसपछि तालमा पानी कम हुँदै गएको ढोरपाटन नगरपालिका–९ का धनबहादुर पुनले बताए । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जाने सडक छेउमै रहेको तालले पर्यटकलाई आकर्षित गर्दै आएको थियो । तर सात वर्ष अगाडि नगरपालिकाले ताल सौन्दर्यकरण गर्न डोजर लगाएपछि करिब ९० प्रतिशत पानी सुकेको उनको भनाइ छ । पुनले भने, “पहिले रुद्राताल निकै ठूलो थियो, धार्मिक आस्थाका हिसाबले यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने मान्यता थियो, यहाँको जलले स्नान गर्दा शरीरमा कुनै पनि रोग लाग्दैन भन्थे, अहिले त पानी सुकेर हिलोमात्र छ, जब यहाँ डोजर लगाएर सम्याउने काम भयो, त्यसपछि तालको पानी सुक्यो, अहिले त नामको मात्र ताल छ, तालमा पानी छैन ।” जैमिनीको गाजा दहमा पनि डोजर लगाएपछि झण्डै ४० प्रतिशत पानी घटेको स्थानीयको दाबी छ । चार वर्ष अगाडि डोजर लगाएर तालको क्षेत्रफल विस्तार गरिएको थियो । काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल छ वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् ।   आर्थिक वर्ष २०७९/८० काठेखोला गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएपछि ताल सुकेको स्थानीय गङ्गाबहादुर किसानले जानकारी दिए । गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको उनको भनाइ छ । तालमा एकाएक पानी सुक्न थालेपछि आफूहरू अचम्मित भएको उनको भनाइ छ ।   “तालमा पानी सुकेपछि हामीहरू छक्क परेका छौँ, पाँच–छ वर्ष अगाडि पानीले भरिभराउ ताल अहिले पूरै रित्तै छ, यो ताल निकै ठूलो थियो, सफा पानी हुन्थ्यो, हामी सानो हुँदा यही पानी भरेर खान्थ्यौँ, हावाले पात ल्याएर खसाले पनि चराले सफा गथ्र्यो”, उनले भने, “तालमा डोजर लगाउनु हुँदोरैनछ, पानी रोक्नलाई गाउँपालिकाले सिमेन्टको पर्खाल लगायो, तर तालको पानी सबै सकियो ।” तमानखोला गाउँपालिकाले पनि ताललाई व्यवस्थित गर्न रु ३० लाख लगानी गरेर संरक्षण थालेको थियो । तर अहिले संरक्षण गर्दा उल्टै ताल नै सुक्न थालेको छ । गाउँपालिकाले ताल संरक्षणका लागि तारबार लगाउनुका साथै त्यसवरपर थुप्रै पर्यटन पूर्वधार निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले पानीको स्रोत भएको ठाउँमा डोजर प्रयोग गर्दा मुहान नै सुक्ने बताए । पालिकाले व्यवस्थित गर्न डोजर चलाउँदा विभिन्न ठाउँमा पानीको मुहान सुकेपछि अहिले त्यस्ता ठाउँमा मेसिन प्रयोग गर्न छाडेको बताए ।  त्यसैगरी, बागलुङ नगरपालिका–१० स्थित भकुण्डेको बराहतलमा पनि पानी केही कम भएको पाइएको छ । बागलुङ बजार नजिकै रहेको यो ताल पर्यटकका लागि निकै आकर्षित बनेको छ । अन्य तालका तुलनामा यो तालमा भने पानी अलि बढी रहेको पाइन्छ । यहाँ बिदाको समय धेरै पर्यटक पुग्ने गरेका स्थानीय बताउँछन् । बागलुङ र रुकुमपूर्वको सिमानामा रहेको रिगतालमा पनि निसीखोला गाउँपालिकाले डोजर चलाएपछि २० प्रतिशत पानी घटेको स्थानीयको भनाइ छ । मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेभन्दा केही माथिपट्टि पर्ने यस तालमा दैनिक पर्यटक पुग्ने गर्छन्, तर पानीको मात्रा घट्दै गएपछि ताल संरक्षणमा चुनौती बढेको छ ।

दाङमा चैतमा फुल्ने  ‘पलम’ असोजमै फुल्यो

दाङ । तुलसीपुर उपमहानगरपालिका- १९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ। स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो।  विगतमा फागुन/चैतमा फुल्ने गरेको भए पनि यो वर्ष भने असोजमै पलम फुल्न थालेकाले अचम्मित भएको स्थानीय प्रविर पुनले बताए। ‘विगतमा फागुन वा चैतमा फूल फुल्थ्यो। यो वर्ष असोजमै फुल्यो’, उनले भने।  यहाँ प्रायःसबै घरमा पलमका बोट छन्। तीमध्ये पुनले लगाएको फूल फुल्न थालेको हो। गएको वर्ष पनि छिल्लीकोटमा पुसमै काफल पाकेको थियो। वनस्पतिविज्ञ खेमराज शर्मा यसरी समयभन्दा अगाडि फुल्नु जलवायु परिवर्तनको असर रहेको बताउँछन्। ‘तापक्रम उच्च हुँदा यसरी समयभन्दा अघि फुल्ने हुन्छ । हाल हरेक वनस्पतिमा यस्तै समस्या देखिएको छ’, उनले भने। 

झूठा प्रचार गर्ने विरुद्ध कारबाहीको माग गर्दै वाइसिएल र अखिल (क्रान्तिकारी) को साइबर व्युराेमा ज्ञापनपत्र

काठमाडौं । जेन्जी आन्दोलनपछि देशलाई अस्थिर पार्ने उद्देश्यका साथ भ्रम फैलाउने गतिविधि बढेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग आबद्ध दुई संगठन याेङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल र अखिल (क्रान्तिकारी) ले केन्द्रीय साइबर व्युराे, भोटाहिटीमा संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा हालै पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममार्फत माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध “घर जलाइँदा अघि दुई वटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइयो” भन्ने झूठा र तथ्यहीन आरोप लगाएको उल्लेख गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ, “उक्त आरोप पूर्णरूपमा भ्रामक, तथ्यहीन र राजनीतिक प्रतिशोध राखेर गरिएको हो । प्रमाणित नहुने आरोप लगाई जनतालाई भ्रमित पार्नु, पार्टी संगठन र नेतृत्वमाथि चरित्रहत्या गर्नु र सर्वसाधारणलाई उत्तेजित गर्नु गम्भीर आपराधिक गतिविधि हो ।”  संगठनहरूले भनेका छन्- संयोजक प्रचण्डको सचिवालयले मिति २०८२ असोज २७ गते नै नेपाल प्रहरीमा उजुरी दर्ता गरी साइबर अपराध अन्तर्गत अनुसन्धान र कानूनी कारबाहीको माग गरिसकेको छ । तर यस्ता भ्रम फैलाउने व्यक्तिमाथि कारबाही गर्नुको सट्टा वाइसिएलका केन्द्रीय अध्यक्षसहितका युवा–विद्यार्थीहरूलाई झूठा आरोप लगाई पक्रन खोज्नु निन्दनीय र अन्यायपूर्ण भएको उनीहरूको आरोप छ । ज्ञापनपत्रमा निम्न मागहरू छन् जसमा पहिलाे झूठा र तथ्यहीन प्रचार गर्नेहरूमाथि निष्पक्ष छानबिन गरी तुरुन्त कानूनी कारबाही । दाेस्राेमा संगठन र नेतृत्वमाथि राजनीतिक प्रतिशोधका आधारमा धम्की, त्रास र ह्यारेस गर्ने कार्य नगर्न  माग, तेस्राेमा अन्यायपूर्ण गतिविधि तुरुन्त रोकिएन भने युवा–विद्यार्थी संगठनहरू संयुक्त आन्दोलन र प्रतिरोधका कार्यक्रमहरूमा उत्रिने चेतावनी । ज्ञापनपत्रमा भनिएको छ, “सत्यलाई तोडमोड गरी भ्रम सिर्जना गर्ने कुनै पनि प्रयास सह्य हुने छैन ।” उक्त ज्ञापनपत्र वाइसिएल नेपालका अध्यक्ष पुष्प वली र अखिल (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश सापकोटाले संयुक्त रूपमा बुझाएका हुन् ।  

जेनजी आन्दोलनमा बेपत्ता भएका थुक्तेन अझै सम्पर्कविहीन

सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका- ३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि सम्पर्कविहीन छन्। उनी काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता भएको र अझै सम्पर्कमा नआएको उनका परिवारजनले बताएका छन्।  २४ वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै आएका थिए। नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्षअघिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए पनि आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको बुबा टैछिरिङ लामाले बताए। उनका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा पुगेका थिए।  भदौ २४ गते कोठाबाट निस्केको र त्यसपछि बेपत्ता भएको थुक्तेनका बुबा टैछिरिङले बताए । बेपत्ता छोराको खोजी गरिदिन उनले सबैसँग आग्रह गरे। बेपत्ता थुक्तेन उहाँका कान्छा छोरा हुन्।