कालीगण्डकी करिडोर अन्तर्गत नागढुङ्गा–काभ्रे खण्डको काम सुरु

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ ।

विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो ।

नागढुङ्गा–काभ्रे खण्डको सडक विस्तार र कालोपत्रका लागि सञ्चालित योजनाका ठेकेदार चार वर्षपछि काममा फर्किएका अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले जानकारी दिए । उनले भने, ‘लामो समयको प्रतीक्षापछि ठेकेदार काममा फर्किएकाले सडकको अवस्था सुधार हुने अपेक्षा गरेका छौँ । निर्माणलाई गति दिन सहजीकरण र समन्वय गरिरहेका छौँ ।’

विसं २०७४ मा निर्माण कम्पनी शर्मा–गजुरमुखी नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलव ५ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न ठेक्का सम्झौता गरेको थियो । विसं २०७७ असार र साउन महिनाको पहिरोको तथा कालीगण्डकी नदीको कटानका कारण नागढुङ्गा–काभ्रे खण्डको सडकमा क्षति भएको थियो ।

पहिरोपछि बीमा दाबी प्रक्रियामा भएको ढिलाइले रोकिएको सडक निर्माणलाई पुनः थालिएको शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए ।

‘आगामी जेठ महिनाभित्र सडक निर्माणलाई पूर्णता दिने कार्ययोजनाका लागि उपकरण, मजदुर परिचालन गरेका छौँ’, उनले भने, ‘हाल एक सय १० जना मजदुर, चारवटा ब्रेकरसहितको डोजरलगायत आवश्यक उपकरण निर्माणस्थलमा ल्याइएको छ ।’

विसं २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको निर्माण अवधिसँगै लागत पनि बढेको छ । पछिल्लोपटक भएको ‘भेरियसन अर्डर’सहित लागत ६३ करोड पुगेको छ ।

हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक योजनाका इञ्जिनियर विष्णु चापागाईँले बताए । घाँसा–कैकुखोला खण्डको दुई किलोमिटर सडकमा डीबीएसडी प्रविधिको कालोपत्र गर्ने काम सकिएको छ ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे र बाँदरजुङभिर क्षेत्रमा करिब एक किलोमिटर दूरीमा विस्फोटक पदार्थको प्रयोग गरी सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको छ । सोही सडकमा ६ सय मिटर ढलानको तयारी गरिएको छ ।

पहिरो र कटानको उच्च जोखिमका कारण विभिन्न ठाउँमा २ दशमलव ५ किलोमिटर सडकलाई कालोपत्रबाट झिकिएको छ । नागढुङ्गा–काभ्रे खण्डमा ८ दशमलव ५ किलोमिटर दूरीमा डीबीएसडी प्रविधिको कालोपत्र गर्ने तयारी भएको हो ।

बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको बेगखोला–नागढुङ्गा खण्डको करिब १० किलोमिटर सडक पनि कालोपत्र सुरु भएको छ । शर्मा–युनाइटेड कम्पनीले ठेक्का लिएको यो सडकको नागढुङ्गादेखि बेगखोलातर्फ ‘प्राइम कोड’ बिछ्याउन थालिएको हो ।

यो खण्डमा सडक विस्तार, नाली, पर्खाल निर्माण सकेर ‘बेस’ र ‘सब बेस’सँगै प्राइम कोड बिछ्याउने काम भइरहेको आयोजनाले जनाएको छ ।

राहुघाट–बेगखोला खण्डको राहुपारेदेखि कुनौटासम्म ६ किलोमिटर सडक चार वर्षअघिनै कालोपत्र भए पनि धेरै ठाउँमा जीर्ण बनिसकेको छ । राहुघाट–बेगखोला खण्डको बाँकी भाग स्तरोन्नति र कालोपत्रको कामलाई नागढुङ्गा–बेगखोलाको काम सकेपछि पूर्णता दिने निर्माण कम्पनीले जनाएको छ ।

भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटरसडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३–०७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

उक्त सडकको छ खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन खण्डमा १९ किलोमिटर कालोपत्र गरिएको छ । उक्त सडक योजनाअन्तर्गत १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण भएका छन् ।

लेखनाथ महोत्सवको गेटमा बस दुर्घटना, फुटपाथ व्यापारीको मृत्यु

पोखरा । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करले एक जनाको मृत्यु भएको छ । बस अनियन्त्रित भएर महोत्सव स्थल नजिकै फुटपाथमा व्यापार गरिरहेका व्यापारीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विरोध गर्नु राष्ट्र हित विपरित : मन्त्री किराँती

काठमाडौं । संस्कृति तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बिरोध गर्नु राष्ट्र हित विपरित भएको बताएका छन् । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सव ९रजत० का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । मन्त्री किराँतीले निजगढ विमानस्थल अहिले बनाउन नदिइ विरोध गर्नेहरुले १० वर्षपछि देशलाई हुने घाटा व्यहोर्नुपर्ने बताए । उनले निजगढ बनाउन लाग्दा बाधा अवरोध गर्नु राष्ट्र हित विपरित हुने बताए । मन्त्री किराँतीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जतिसुकै ठूलो बनाए पनि त्यसले परिणाम दिन नसक्ने बताए। उनले काठमाडौंको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तैउस्तै भएको टिप्पणी गरे। उनीले काठमाडौंको विकल्प सरकारले खोज्नैपर्ने भन्दै यसको विकल्प निजगढ विमानस्थल भएको बताए ।

‘सिप बिल्डिङ’का सबैलाई इपिएस परीक्षामा सामेल गराइने

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पानीजहाज निर्माण (सिपबिल्डिङ) क्षेत्रमा आवेदन दिएका परीक्षार्थीले पनि उत्पादन क्षेत्रको भाषा परीक्षा दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरेर पानीजहाज निर्माण क्षेत्रको परीक्षामा सहभागीहरूलाई पुस १६ देखि १८ गतेसम्म आवेदन दिन भनेको हो । पानीजहाज निर्माण क्षेत्रमा आवेदन दिएका १८ जना परीक्षार्थीले उत्पादन क्षेत्रको पनि परीक्षा दिन पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले ‘निवेदकको माग बमोजिम गर्न’ आदेश दिएपछि विभागले आवेदन खुलाएको हो । विभागका अनुसार पानीजहाज निर्माण क्षेत्रमा आवेदन दिएकाहरूले मात्र उत्पादन क्षेत्रको भाषा परीक्षामा दिन पाउने छन् । उनीहरूबाहेक अरूले आवेदन दिए स्वतः रद्द हुने विभागले जनाएको छ ।

बालकुमारी प्रकरण : मानव अधिकार आयोगले थाल्यो अनुगमन

ललितपुर । ललितपुरको बालकुमारी सडक क्षेत्रमा भएको झडपमा दुई जनाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको आन्दोलनको क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो । ‘ईपीएस परीक्षाका सबैतर्फको छनौट प्रक्रियामा सहभागी हुन पाउनुपर्ने माग राखी प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले बल प्रयोग गर्दा प्रहरी र प्रदर्शनकारीहरु बिच झडप भएको, झडपमा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको, अन्य थप केही घाइते भएका र केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको पाइएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रदर्शनकै क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने गरेको सवारी साधनमा आगजनी गरेको पाइएको भन्दै आयोगले गाडीमा सवार सबैजना सकुशल रहेको भए पनि गाडी तथा गाडीमा रहेका कागजातहरू जलेर पूर्ण रूपमा नष्ट भएको जनाएको छ । यस सम्बन्धमा थप अनुगमन गर्नका लागि आयोगको टोली आजै घटनास्थलतर्फ गइसकेको प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मुख्यमन्त्रीहरूले ‘मुख्यमन्त्री संयन्त्र’ निर्माण गर्ने

काठमाडौं। सातै प्रदेशका मुख्यमन्त्रीहरूले तीनै तहका सरकारको कार्य जिम्मेवारी र अधिकार क्षेत्रमा स्पष्टता ल्याउन कार्य विस्तृतीकरणमा गर्नुपर्ने परिमार्जनका लागि सबै प्रदेशका मुख्य न्यायाधिवक्ता रहेको कार्यदल गठन गर्न माग गरेका छन् । हेटौँडामा शुक्रवार सम्पन्न मुख्यमन्त्रीहरूको भेलाले प्रदेशहरूको बीचमा बनेका कानुन र अब बन्ने कानुन तथा सङ्घ, प्रदेश र स्थानीय कानुनहरू बीचमा तादाम्यता कायम गर्न गर्नुपर्ने कार्यहरू पहिचान गरी नियमित रूपमा मुख्यमन्त्रीहरूको संयन्त्रमा पेश गर्ने व्यवस्था गर्न माग गरेका हुन् । नौ बुँदे साझा पत्र सार्वजनिक गर्दै मुख्यमन्त्रीहरूले साबिकमा जिल्ला वन अधिकृतबाट कारबाही किनारा हुने वनसम्बन्धी मुद्दाको निरूपण प्रदेशको डिभिजन वन अधिकृतले गर्न सक्ने गरी शीघ्र कानुनी व्यवस्था गर्न माग गरेका छन् । त्यसैगरी प्रदेशका साझा सवालमा एकरूपता कायम गरी समन्वय, सहजीकरण र सहकार्यका लागि अन्तर प्रदेश मुख्यमन्त्री संयन्त्र निर्माण गर्ने उनीहरूको निर्णय छ । ‘उक्त संयन्त्रको बैठक सामान्यतया प्रत्येक तीन महिनामा एक पटक बस्ने । संयन्त्रको बैठक आयोजना गरेको प्रदेशको मुख्यमन्त्रीले अर्को बैठकसम्म संयन्त्रको संयोजन र नेतृत्व गर्ने । साथै, यस संयन्त्रको आगामी बैठक लुम्बिनी प्रदेशमा गर्ने’, साझा पत्रमा भनिएको छ ।

अधिकारी र चौधरी गोरखापत्र संस्थानको सल्लाहकार नियुक्त

काठमाडौं। रामकृष्ण अधिकारी र सुशीला चौधरी गोरखापत्र संस्थानको सल्लाहकार नियुक्त भएका छन्। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार पुस ५ गतेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई व्यवस्थापन, आर्थिक एवम् प्रिन्टिङ र चौधरीलाई कानुनी सल्लाहकार नियुक्त गरेको हो। नुवाकोट सूर्यगढी गाउँपालिका वडा नम्बर २ घर भएका अधिकारी लामो समयदेखि पत्रकारितामा सेवामा सक्रिय छन् । उनी राजधानी, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट दैनिक, रेडियो मिर्मिरे र मेरो न्युज डटकममा काम गरिसकेका छन् । पत्रकारिता विषयमा स्नातकोत्तर अधिकारी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यसमेत रहेका हुन । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ घर भएकी चौधरी लामो समयदेखि कानुन व्यवसायमा सक्रिय छिन्। राजनीतिशास्त्रमा स्नातकोत्तर चौधरीले कानुन विषयमा एलएलबी गरेकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १४ को उपदफा (१) बमोजिम अधिकारी र चौधरीलाई सल्लाहकारमा नियुक्त गरेको हो।

बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैन : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार र संलग्नता नरहेको बताएका छन् । ईपीएस परीक्षामा सहभागी हुन नपाएका युवाहरुले शुक्रवार मन्त्री ज्वालाको गाडी रोकेर आगजनी गरेका थिए । त्यसपछि प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले घटनाप्रति दुःख व्यक्त गर्दै नहुनुपर्ने घटना भएको बताएका हुन् । उनकाे गाडी मन्त्रालयमा गइरहेको बेला गाडी रोकेर, हावा खुस्काइ र जलाइएको थियो ।

बालकुमारी तनाबपछि अदालतको अन्तरिम आदेश -‘आन्दोलनमा उत्रिएकालाई ईपीएस परीक्षामा सहभागी गराउनू’

काठमाडौं । उच्च अदालतले ईपीएस परीक्षामा भाग लिन पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेकाहरूका पक्षमा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले ईपीएस कोरिया शाखालाई परीक्षामा सहभागी गराउनका लागि अन्तरिम आदेश दिएको हो ।

अंकमा आधारित कार्य सम्पादन मूल्यांकन प्रणाली लागु गर्न मन्त्री शर्माको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रालयअन्तर्गतका निकाय र महाशाखाहरुको कार्य सम्पादन मूल्यांकन प्रभावकारी बनाउन अंकमा आधारित नजिता प्रणाली लागु गर्ने बताएकी छिन् । आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रम कार्यान्वयनको प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रालयमाताहतका निकाय र महाशाखाहरुको कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै अंकमा आधारित नतिजा प्रणालीमार्फत मूल्यांकन गर्ने बताइन् । त्यसका लागि कार्यतालिका बनाएर हरेक महिनाको प्रगति विवरण मन्त्रालयमा पेश गर्न पनि उनले सम्बन्धित निकाय र महाशाखाका प्रमुखहरुलाई निर्देशन दिइन् । छलफलमा सबै राम्रो भएजस्तो देखिने तर परिणाममा कमजोरी देखिने कारण के भन्ने प्रश्न गर्दै मन्त्री शर्माले आफ्नो कामप्रति प्रतिबद्ध भएनौं कि भनेर हरेक निकाय, महाशाखा र शाखाको नेतृत्वले समीक्षा गर्नुपर्ने बताइन् । ‘प्रधानमन्त्रीले मन्त्रीहरुको कार्य सम्पादन हेरिरहनुभएको छ, हामीले तपाइँहरुको कार्य सम्पादन हेरिरहेका छौं’– उनले भनिन्– ‘हरेक मन्त्रलायका निकाय, महाशाखा, विभाग, शाखाहरुले राम्रो कार्य सम्पादन गरेपछि मात्रै समग्र सरकारको कार्य सम्पादन नतिजा प्रभावकारी हुने भएकाले हामी सबै गम्भीर हुनुपर्छ । हामी कुनै पनि तहका रहेकाहरुले निर्धारित कार्य सम्पादन गर्न सकेनौं भने पद मात्रै ओगटेर बस्नु हुँदैन ।’ मन्त्रालयका हरेक निकाय, महाशाखा र विभागहरुले आफ्नो गर्न सक्ने कामको योजना आर्थिक वर्षको अघि नै माइलस्टोनको रुपमा तय गर्ने गरेका हुन्छन् । तर, आफैले तय गरेका माइलस्टोन कार्यान्वयन गर्न गर्न नसकेको असन्तुष्टि जनाउँदै मन्त्री शर्माले प्रश्न गरिने– ‘गर्न सकिदैन भने योजना बनाउनु हुँदैन तर आफैले छानेका माइलस्टोन योजना किन पूरा भएनन् ?’ अब हरेक महिना नजिता बढाउने गरी काम गर्न पनि उनले निर्देशन दिइन् । मन्त्रालयका कतिपय योजनामा अर्थमन्त्रालयले समयमै सहमति नदिंदा पनि काम गर्न समस्या भएको उनले जानकारी दिइन् । मन्त्री शर्माले भनिन्– ‘अर्थमन्त्रालयले समयमै सहमति नदिंदा विभिन्न निकायको पुनःसंरचना, साइबर सुरक्षा केन्द्र स्थापना, एक पालिका एक हुलाकको अवधारणा रोखिएका छन्, यसमा हामीले मन्त्रालयस्तरबाटै पहल गरिरहेका छौं तर संरचना, जनशक्ति र बजेट भएका निकायमा कुनै पनि बहाना चल्दैन, सबै निकायले माइलस्टोन पूरा गरेकै हुनुपर्छ ।’ मन्त्रालयका सचिव कृष्णबहादुर राउतले माताहतका निकायहरुको प्रगतिकै आधारमा मन्त्रालयको प्रगति निर्धारण हुने भएकाले कार्य सम्पादन सम्झौताअनुसार काम गर्न र गरेका कार्य प्रगतिको यथार्थ विवरण प्रणालीमा प्रविष्ट गराउन आग्रह गरे। प्रगति विवरण उत्साहजनक नभएको उल्लेख गर्दै उनले कुनै पनि बहाना नगरी कार्य सम्पादन नतिजा कमजोर बनाउन नपाइने बताइन् । कार्यक्रम सहजीकरण मन्त्रालयका आर्थिक तथा योजना महाशाखा प्रमुख बाबुराम भण्डारीले गरेका थिए ।

शेर्पालीलाई पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसिएलका अध्यक्ष सुबोध शेर्पालीका दिवङ्गत बुवा तेजबहादुर शेर्पालीलाई पार्टीको झन्डा ओढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जलि अर्पण गरेका छन् । वाइसीएल नेपालका केन्द्रिय अध्यक्ष सुबोधराज शेर्पालीका बुबा तेज बहादुर शेर्पाली उपाचारको कममा ६७ वर्षको उमेरमा मनमोहन मेमोरीयल मेडिकल कलेज शिक्षण अस्पताल स्वायम्बूममा हिजो साँझ निधन भएको थियो ।

एनसेलका ६ वटा टावरको लाइन काटियो

हेटौँडा। मकवानपुरको थाहा नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता विद्युत महसुल नतिरेका कारण एनसेलका ६ वटा टावरको लाइन काटेको छ । पालुङ प्राधिकरणले बढी वक्यौता भएका सिमभन्ज्याङ्ग, कुलेखानी देउराली र सल्ले, फाखेल, मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाइन काटेको हो । उत्तरी मकवानपुरका विभिन्न स्थानमा रहेका टावरहरुमा जडित विद्युत् लाइनको बक्यौता लगातार ४ महिनादेखिको महसुल नबुझाएको कारण एनसेलका टावरहरुको प्राधिकरणले लाइन काटेको हो । पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका विभिन्न स्थानमा एनसेलका १३ वटा टावर जडित छन् । उक्त टावरहरुको ७ लाख ४३ हजार बक्यौता बुझाउन बाँकी रहेको कारण बढी बक्यौता भएका ६ वटा टावरको लाइन काटिएको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । एनसेललाई पनि बक्यौता बुझाउन पटकपटक भनिएको भए पनि बक्यौता महसुल नबुझाएकोले लाइन काटिएको र सबै टावरको महसुल नबुझाए क्रमशः सबै टावरको लाइन काटिने पनि प्रमुख न्यौपानेले बताए । बक्यौता महसुल उठाउन विगत ३ महिनामा मात्रै पालुङ प्राधिकरणले २ सयभन्दा बढी ग्राहकको लाइन काटेको छ भने लाइन काटिएका ग्राहकहरुमा ९० लाख भन्दा बढी बक्यौता रकम उठाइसकेको छ ।

मुग्लिन–पोखरा सडकखण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्रको तयारी

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिमखण्ड तनहुँको जामुनेदेखि पोखरासम्म आउँदो माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका निम्ति अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन–पोखरा सडक योजना पश्चिमखण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए । केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ । हालसम्म यो खण्डको प्रगति १४ प्रतिशत मात्र छ । सडक कालोपत्रका निम्ति करिब दुई किलोमिटर बेसको काम सकिएको पौडेलले बताए । उनले भने, “पुसको अन्तिम वा माघको सुरुदेखि कालोपत्र हुनेछ । त्यहीअनुसार अहिले काम भइरहेको छ ।” उनका अनुसार हाल चिनियाँ ५० र नेपाली ६० इन्जिनियर यो खण्डमा खटिएका छन् । त्यस्तै, आयोजनास्थलमा ४०० भन्दा बढी नेपाली कामदार परिचालन गरिएको छ । सडक आयोजनासँग हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं. २०७८ जेठ २ गते सम्झौता भई ०७८ भदौ १२ गतेदेखि काम सुरु गरिएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद वि.सं.२०८१ भदौसम्म छ । यो खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको थियो । पूर्वीखण्डमा भने काम तीव्र गतिमा अगाडि बढेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वीखण्डमा करिब ४५ प्रतिशत काम सकिएको । पूर्वीखण्डमा १२।५ किलोमिटर एकतर्फी र दुई किलोमिटर दुईतर्फी कालोपत्र सकिएको छ । यसअघि एकतर्फी कालोपत्र सकिएको ठाउँमा दुईतर्फी रूपमा कालोपत्र गर्ने काम भइरहेको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यसअघि, आँबुखैरेनी गाउँपालिका–१, सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म ३.५ र बन्दीपुर गाउँपालिका–१, नाहालदेखि छिर्कनेसम्म ५.५ किलोमिटरखण्ड एकतर्फी कालोपत्र भइसकेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको उनको भनाइ छ । पूर्वीखण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । पूर्वीखण्डको कामका निम्ति वि.सं. २०७७ माघ १७ गते सम्झौता भई ०७८ वैशाख २ गतेदेखि काम सुरु गरिएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद ०८१ वैशाखसम्म छ । वि.सं. २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चार लेनको बन्दा सडकसीमा दुईतर्फी २५ः२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । ढाँचाअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । रासस

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी पनि तोलाको ३५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

भरतपुर महानगरद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग

चितवन । भरतपुर महानगरपालिकाले ‘बालकालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत एक हजार विद्यार्थीलाई न्यायो कपडा वितरण गरेको छ । चिसो बढ्ने क्रम सुरु भएसँगै भरतपुरका तटिय क्षेत्र पर्ने विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । चिसोका कारण बालबालिका घरमै बस्नु पर्ने समस्या नहोस् भन्ने उदेश्यले बाल विकास कक्षा देखि ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । बिहिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर–२६ मा रहेको रातापुर आधारभूत विद्यालयबाट न्यानो कपडा वितरणको सुरुवात गरिन् । बालबालिकासँग मेयर कार्यक्रम ५ वर्षदेखि सञ्चालनमा छ । कार्यक्रमको सुरुआत गर्दै महानगर प्रमुख रेनु दाहालले जाडो समयमा चिसोका कारण विद्यालयमा बालबालिकाको अनियमितता हुने भन्दै महानगरले विगत चार वर्षदेखि यो कार्यक्रम चलाउँदै आएको बताइन् । प्रमुख दाहालले किशोरी छात्रालाई साइकल वितरण, लोपोन्मुख समुदायका विद्यार्थीलाई वार्षिकरुपमा रु तीन हजार छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिइन् । यस आर्थिक वर्षमा २१ वटा सामुदायिक विद्यालयमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत भरतपुर महानगरको पश्चिम क्षेत्रमा रहेका विद्यालयका १ हजार बालबालिकालाई वितरण गरिएको महानगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले जानकारी दिए । नारायणी नदी र राप्ती नदी तटीय क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख्यक, सिमान्तकृत समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिनेछ । यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । यसअघि ४ वर्षमा ६५ विद्यालयका ७ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकिएको छ ।

क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज पनि सुनुवाइ हुनेछ । बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दामा आज पनि बहस हुनेछ । आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजालसमा उक्त मुद्दाको सुनुवाइ जारी छ । आइतबार र बुधबार जाहेरवाला र सरकारी वकिलले बहस गरेका थिए । बुधबार मुरारी सापकोटाले बहस थालेका थिए । उनले २० मिनेट बहस गरेपछि सुनुवाइ स्थगित गरिएको थियो । बिहीबार सापकोटा र ‘लिड लयर’ सरोजकृष्ण घिमिरेसहितका ६ अधिवक्ताले बहस गरे । वरिष्ठ अधिवक्ता शम्भु थापा र नेपाल बारकै पूर्वमहासचिव समेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले पनि सन्दीपका तर्फबाट बहस गरेका छन् । सन्दीपका तर्फबाट नौ वकिलले बहसका निम्ति नाम लेखाएकामा बिहीबार ६ जनाको बहस सकिएको छ । सरकारी वकिलबाट दुई र जाहेरवालाबाट आठजनाले बहस गरिसकेका छन् । सन्दीप पक्षको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला सुनाउनेछन् । पीडित भनिएकी गौशाला २६ (छ)को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । त्यस बेला पुर्पक्षका निम्ति थुनामा पठाउने आदेश भएको थियो । त्यसपछि सन्दीप देशबाहिर जान नपाउने तर स्वदेशमा हुने प्रतियोगितामा भाग लिन पाउने उच्च अदालतको आदेशबाट थुनामुक्त भएका थिए । उच्च अदालतको आदेशविरुद्ध सन्दीपले पुनः सर्वोच्चमा पुनरावेदन गरेका थिए । त्यसपछि सर्वोच्चले अनुमति लिएर खेल्न विदेश समेत जान पाउने आदेश गरेको थियो । आदेशसँगै उनी खेल जीवनमा नियमित छन् । सन्दीपको मुद्दामा यसअघि पटक–पटक अन्तिम भन्दै इजलास तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । पीडित भनिएकी गौशाला २६ (छ) को उमेर यकिन गर्न यसअघि पटक–पटक आदेश गरिएको छ । जिल्ला अदालतका तत्कालीन एक नम्बर न्यायाधीश राजु खतिवडाको इजलासले त गएको साउनमा ‘पीडित’की आमाकै उमेर यकिन गर्ने आदेश गरेको थियो । उनकी आमाको उमेर एक ठाउँमा २०३५ र अर्कोमा ०५३ भएको पाइएको थियो । गएको कात्तिक २३ मा न्यायाधीश केशवराज घिमिरेको इजलासले मंसिर २२ गतेभित्र दुवै पक्षका वकिलहरूलाई लिखित बहस नोट पेस गर्न आदेश गरेको थियो । मंसिर २४ मा न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेसी चढे पनि सन्दीपका वकिलले स्थगित गरेका थिए । दुवै पक्षको बहस नोट पेस गरिएकाले अब संक्षिप्त सुनुवाइ सकिएपछि फैसला गरिनेछ ।