राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन: प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता र संविधान कार्यान्वयन सबै क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताउनु भएकाे छ ।
शुक्रबार प्रेस सेन्टरले आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा प्रचण्डले भन्नुभयाे, “राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप र चुनौती पहिले कहिल्यै थिएन । अहिले स्वाधीनताको प्रश्न नै मुख्य चुनौतीका रूपमा उभिएको छ ।”
उहाँले राजनीतिक संकट अझै कायमै रहेको उल्लेख गर्दै जेन–जी युवा आन्दोलनले संविधान र राजनीतिक प्रणालीबारे नयाँ सोच र विमर्शको ढोका खोलेको बताउनु भयाे । “जेन–जी आन्दोलनले संविधान कार्यान्वयनको समीक्षालाई अझ सान्दर्भिक बनाएको छ । १० वर्षपछि संविधान कार्यान्वयनको समीक्षा गर्ने भनेर सबै दलले प्रतिबद्धता जनाएका थियौं, अहिले त्यो समय आएको छ,” उहाँले भन्नुभयाे, “अब समीक्षा गरेर के–के सुधार गर्न सकिन्छ भन्नेबारे गम्भीर छलफलमा जानुपर्ने बेला आएको छ ।”
प्रचण्डले देशभर फैलिएको असन्तुष्टिको लहरलाई पुराना सत्ताधारी दलहरूले अझै पनि गम्भीर रूपमा नलिएको आरोप लगाउनुभयाे । “जनता कति असन्तुष्ट छन् भन्ने हामीले पटकपटक खबरदारी गर्यौं, तर सरकारले सुनेन । असन्तुष्टि झन् बढ्दै गयो । यत्रो विद्रोह हुँदा पनि हिजो सत्तामा रहेकाहरूको घमण्ड घटेको छैन,” उहाँले भन्नुभयाे ।
उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आत्मरतिमा रमाइरहेको टिप्पणी गर्दै भन्नुभयाे, “देश संकटमा हुँदा पनि आत्मसन्तुष्टिको मनोवृत्ति देखिनु दुःखद हो ।” प्रचण्डले आफ्नो सरकार बिचौलियासँग नझुकेकै कारण ढलेकै दाबी पनि गर्नुभयाे ।
बिचौलियासँग झुक्न चाहिनँ, त्यो सेटिङ तोड्न खोज्दा मेरो सरकार ढल्यो,” उहाँले स्पष्ट पार्नुभयाे । प्रचण्डका अनुसार अहिलेको चुनौती समाधान गर्नका लागि सबै राजनीतिक शक्ति, युवा पुस्ता र सिङ्गो समाजले सहकार्य गरेर नयाँ सोचका साथ अघि बढ्न जरुरी छ ।
झापामा हात्ती धपाउन विशेष गस्ती परिचालन
झापा । बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिएसँगै सीमावर्ती भारतीय जङ्गलबाट हात्तीको हुल आउने जोखिम बढेसँगै डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छ जनाको टोली असोज ८ गतेदेखि सो क्षेत्रमा परिचालन भएको छ । किसानले धान नभित्र्याएसम्म टोली निरन्तर गस्तीमा रहने छ । विगतका वर्षमा हात्तीको हुलले बाहुनडाँगी क्षेत्रको बाली सखाप पारेका थिए । विगत दुई दशकमा हात्तीको आक्रमणमा परी झापामा ७५ जनाले ज्यान गुमाएका छन्भने विभिन्न कारणले २५ वटा हात्तीको मृत्यु भएको छ ।
सडक नखुल्दा बागलुङकाे जलजला पुग्न पाएनन् पर्यटक
बागलुङ । अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौँ हिमशृङ्खला र सूर्योदयको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ । पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमै थियो । तर पछिल्लो समय तीव्र रूपमा प्रचारप्रसार हुँदा हिउँदयाममा पर्यटक यहाँ आउने गरेका छन् । ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगेको छ । ढोरपाटन र म्याग्दीको धवलागिरि गाउँपालिकाबाट तल्लो जलजला सडक सञ्जालले जोडिएको हो । सडक जोडिए पनि बर्खाको समयमा सवारी नचल्दा पर्यटकले सास्ती खेप्नुपरेको छ । ढोरपाटन उपत्यकाबाट घनाजङ्गल र ठूला जङ्घार पार गर्नुपर्ने हुँदा यस वर्ष दसैँमा पर्यटक जलजला पुग्न सकेनन् । जलजला पुग्नका लागि तीन स्थानमा गाठेसाँघु तर्नुपर्ने हुन्छ । तर यस वर्ष वर्षाका कारण अहिलेसम्म साँघु नहालिएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए । दुई वर्षयता जलजला जाने पर्यटकको सङ्ख्या बढ्दै गएको भन्दै यस वर्ष मौसमका कारण पर्यटक पुग्न नसकेको उनले सुनाए । ढोरपाटन–जलजला सडकको गुरुघाटमा एउटा र दुईवटा गुर्जाघाट काठको साँघु हाल्नुपर्ने उनको भनाइ छ । गत वर्ष हालेको साँघु बर्खामा खोलाले बगाइदिएको भन्दै अब केही दिनमा सडक सफाइ गर्ने र साँघु हाल्ने अध्यक्ष पुनले बताए । म्याग्दीको धवलागिरि गाउँपालिकाले मरेनी सडक सफाइ गरे पर्यटक सहज रूपमा जलजला आउने उनि बताउँछन् । अहिले दैनिक एक सय पर्यटक ढोरपाटनमा आउने गरेका र ढोरपाटन आएका पर्यटक जलजला जान नपाउँदा गुनासो गर्ने गरेको उनको भनाइ छ । “अघिल्लो वर्षदेखि जलजला जाने पर्यटकको भीड बढ्न थालेको छ, पहिले जलजला क्षेत्र सुनसान थियो, गोठालामात्र पुग्थे, यो ठाउँ वास्तवमै सुन्दर छ, प्रचारप्रसारले गर्दा अहिले पर्यटकको आगमन बढेको हो”, अध्यक्ष पुनले भने, “यस वर्ष लामो वर्षा भयो, ठाउँठाउँमा बाटो बिग्रिएकाले साँघु हाल्नुपर्ने छ, अब केही दिनमै त्यो काम गर्छौँ, तिहारसम्म पर्यटक पुग्ने छन् ।” समुद्री सतहबाट तीन हजार ४०० मिटर उचाइमा रहेको जलजलाबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मानापाथी, पुथा, चुरेन, गुर्जा, निलगिरिलगायत दुई दर्जन बढी हिमाल एकैठाउँ उभिएर नजिकै देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ । तुलसीपुर दाङबाट घुम्न आउनुभएका रावल रोकायाले सडक नखुल्दा जलजला जान नपाएको गुनासो पोखे । सामाजिक सञ्जालमा जलजलाबाट देखिने हिमशृङ्खलाले आफूलाई मोहित बनाएको भन्दै प्रत्यक्ष घुम्न आएको सुनाए । उनले भने, “ढोरपाटन उपत्यकाबाट मोटरसाइकलमै जान सकिन्छ भन्ने सुनेको थिएँ, तर अहिलेसम्म सडक व्यवस्थित भइसकेको रहेनछ, ठाउँठाउँमा पहिरो र खोलाका कारण यात्रा गर्न सकिँदैन भन्ने सुनियो, त्यहीँ भएर यसपालि जलजला पुग्ने इच्छा पूरा हुन सकेन, हुन त यो साल धेरै वर्षा भयो त्यही भएर पनि होला ।” रोकायाले १२ जनाको सूमहमा घुम्न आएको सुनाउनुभयो । जलजला जान नपाए पनि बुकीपाटन गएर फर्किएको उनको भनाइ छ । यतिबेला जलजला पुग्नेगरी ढोरपाटन आएकाहरू उपत्यकाबाटै फर्किने गरेका छन् । रासस
कैलाली कारागारबाट फरार भएका ३८० कैदीबन्दी फर्किए
टिकापुर । कैलाली कारागारबाट फरार भएका ३८० कैदीबन्दी फर्किएका छन् । जेनजीको प्रदर्शनका क्रममा ६६७ कैदीबन्दी कारागारबाट फरार भएकोमा २८७ कैदीबन्दी अझैसम्म नफर्किएको कारागार कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कका अनुसार फर्किनेमा ३६ महिलासहितका कैदीबन्दी छन् । २१ भारतीय कैदीबन्दी फरार भएकोमा दुई जना कैदीबन्दी फर्किएका छन् । धेरैजसो कैदीबन्दी दिउँसोभन्दा रातको समयमा फर्किने गरेको कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले फरार कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन समय सीमा तोकेको थियो । सूचनामा स्थानीय प्रशासनले तोकिएको समयमा सम्पर्कमा नआएका कैदीबन्दीलाई कारागार ऐन र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो । यही असोज १३ देखि २२ गतेको अवधिमा थप ५३ कैदीबन्दी फर्किएका हुन् । कैदी फरारको घटनापछि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार कैदीको खोजी र पक्राउका लागि कार्यदल बनाइएको थियो । कारागारमा गत साउन २३ गते कैदीबन्दी बीच झडप हुँदा एक जनाको मृत्यु र ४८ कैदीबन्दी घाइते भएका थिए । घाइते एक जनाको अझै सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि फर्किएकालाई अन्यत्रका कारागारमा स्थानान्तरण गरिसकिएको कार्यालयका निमित्त प्रमुख ज्ञानेन्द्र ओझाले जानकारी दिए ।
बर्दियामा बेपत्ता एककाे डुबेकाे अवसेथामा शव फेला
बर्दिया । बर्दियामा ६० वर्षीय एक ज्येष्ठ नागरिक महिलाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–१, बडकी टडुवाकी क्याउली थरुनी रहेकी छिन् । गत आइतबारदेखि हराइरहेकी क्याउलीको खोजतलास गर्नेक्रममा सिँचाइ नहरमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् । उनी घरदेखि आठसय मिटर पश्चिमतर्फ सिँचाइ नहरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक महेन्द्र सेनले बताए । उनले मृतक थारुनीको शव बर्दिया अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको बताए ।
माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान
ताप्लेजुङ । ताप्लेजुङको माथिल्लो क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि माथिल्लो ताप्लेजुङ भ्रमण दशक–२०८२ देखि २०९२ आह्वान गरिएको छ । फक्ताङलुङ गाउँपालिका–७ सिङ्जेमा अवस्थित सिङ्जेमा ताल (४,७०० मिटर उचाइ) बाट कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोको उपस्थितिमा दशकको औपचारिक घोषणा गरिएको हो । ताप्लेजुङ टुरिजम प्रोमोशन सेन्टरका सञ्चालक तथा पर्यटन अभियन्ता हेमराज निरौलाका अनुसार, जिल्लाको माथिल्लो भेगमा रहेका थुप्रै आकर्षक गन्तव्यहरूमा पर्यटक भित्र्याउन यो अभियानले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । उनले भने, “ताप्लेजुङका अधिकांश गन्तव्य पुगेको छु । यहाँ पर्यटनका अपार सम्भावना छन् । अब यस क्षेत्रको प्रचार–प्रसारलाई अझ व्यवस्थित रूपमा अघि बढाउनेछौँ ।” फक्ताङलुङ गाउँपालिका–७ का वडा अध्यक्ष छेतेन शेर्पाका अनुसार पछिल्लो समय सिङ्जेमा ताल आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षण बन्दै गएको छ । सिङ्जेमा तालसँगै सोही वडाको साम्दो पोखरी, सिदिङ्वा गाउँपालिकाको तिम्बुङ पोखरी, ढङ्ढङगे झरना, मिक्वाखोला गाउँपालिकाको लोदेन क्षेत्र, सोदु पोखरी र फुङ्फुङ्गे झरना लगायतका स्थलमा पनि पर्यटकको चाप बढ्दै गएको उनले बताए ।
पार्टीमा प्रचण्ड कमरेडको विकल्प छैन, जनयुद्धको समयमा जस्तै नेतृत्वमा एकाकार भएर अगाडि बढ्छौँ : मात्रिका यादव
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता मात्रिका यादवले पार्टी नेतृत्वमा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को विकल्प सोच्न पनि नसकिने बताउनुभएको छ । एभरेष्ट दैनिकसँगको कुराकानीका क्रममा नेता यादवले पार्टी नेतृत्वका लागि संयोजक प्रचण्डको विकल्प नै नभएको बताउनुभयो । पार्टीभित्र लोकप्रियता हासिल गर्नेहरूको त्रासित मानसिकताको उपजले नेतृत्वको बारेमा बेलाबेला प्रश्न उठाइने गरेकोमा दुःख व्यक्त गर्दै यादवले भन्नुभयो, "अहिले जुन किसिमले हावामा बग्ने प्रवृत्ति छ, त्यो हाम्रो पार्टीमा पनि देखिएको छ । यो केवल लोकप्रियता हासिल गर्ने त्रासित मानसिकताको उपज हो । जो असक्षम छ, जसले विचार नै दिन सक्दैन, जो क्रियाशील हुन सक्दैन, जसका कारणले पार्टीमा समस्या भएको छ—त्यस्ता मानिसहरू हट्दै जाँदा पनि पार्टीमा कुनै अर्थ रहँदैन ।" नेतृत्वका लागि विचार, क्रियाशीलता र त्यसको कार्यान्वयन गर्ने क्षमताका आधार हुने भन्दै यादवले उमेरका आधारमा हेर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, "उमेरको हिसाबले हेर्न मिल्दैन । सक्रियता, आँट, साहसको कुरा हेर्नुपर्छ । युवा हुँदैमा सक्षम हुने र उमेर बढ्दा असक्षम हुने हुँदैन । अध्यक्षको अहिलेको सक्रियता पार्टीमा सबैभन्दा अगाडि छ । यो त पुष्टि भइसकेको कुरा हो नि । कमरेड प्रचण्ड भन्दा अरु नेताहरु कसरी सही विकल्प हुन् ? " नेता यादवले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उमेरले परिपक्व व्यक्तिलाई नै नेतृत्वमा ल्याइएको कुरा स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, "हाम्रो अध्यक्ष त जम्मा ७१ वर्षमा लाग्नु भएको छ । चीनका राष्ट्रपति ७२ वर्षका, अमेरिकाका राष्ट्रपति ७९ वर्षका, भारतका प्रधानमन्त्री ७५ वर्षका र रुसी राष्ट्रपति ७२ वर्षकै हुनुहुन्छ । जेनजीको आन्दोलन भए पनि हेर्नुस् त, अहिलेको प्रधानमन्त्री त हाम्रो प्रचण्ड कमरेडभन्दा दुई वर्ष बढीको हुनुहुन्छ नि । त्यसैले उमेरले होइन, राजनीतिक सक्रियता र विचारलाई आधार बनाएर नेतृत्वको विषयमा बहस हुनुपर्छ ।" पार्टीका संयोजक प्रचण्डको सक्रियताले अहिले मुलुकमा प्रतिगमनकारी शक्ति सफल नभएको बताउँदै नेता यादवले पार्टीभित्र परिवर्तनविरोधी विसर्जनवादी शक्ति सक्रिय भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, "पार्टी अध्यक्षको रूपमा जसरी पहल लिनुभयो, त्यसले नै प्रतिगमनकारी शक्ति सफल नभएका हुन् । संविधान जोगाउन र परिवर्तनका उपलब्धिहरू रक्षामा पार्टी नेतृत्वले लिएको पहल उदाहरणीय छ । सबै पार्टीले शिक्षा लिनुपर्ने गरी नेतृत्व अप्ठ्यारो बेलामा सक्रिय भएर लागेको छ । शारीरिक र वैचारिक रूपमा युवाहरूले समेत प्रतिस्पर्धा गर्न सक्दैनन् । यस्तो बेलामा नेतृत्वका बारेमा विसर्जनवादीहरूले विभिन्न प्रश्न उठाएका छन्, जसको कुनै अर्थ छैन ।" बेलाबेला नेपालमा मौसमी अर्थात् बजारीया हल्ला आउने भन्दै नेता यादवले अहिले नेतृत्वका विषयमा पनि यस्तै हल्ला गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, "नेपालमा बेलाबेला मौसमी अर्थात् बजारीया हल्लाहरू आउने गरेका छन् । त्यही हल्लाको पछि दौडिएर लोकप्रिय बन्न खोज्ने प्रवृत्ति हाम्रो पार्टीमा पनि छ । क्रान्तिकारी धार त्यो प्रवृत्तिको विरोधमा उभिन्छ । त्यस्ता प्रवृत्ति सफल पनि हुँदैनन् ।" अहिलेको परिस्थितिमा पार्टी नेतृत्वलाई सहयोग गर्नुपर्नेमा असहयोग भइरहेको भन्दै नेता यादवले अब जनयुद्धको समयमा जस्तै एकीकृत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, "नेतृत्वलाई विभिन्न प्रकारका खतरा छन्, उहाँले प्राप्त उपलब्धि रक्षाका लागि रूपान्तरणसहितको एकताको कुरा गर्नुभएको छ । सबैले नेतृत्वलाई साथ दिनुपर्नेमा अप्ठ्यारो पार्ने काम सह्य हुँदैन । जनयुद्धको समयमा जस्तै नेतृत्वमा एकाकार भएर अगाडि बढ्छौँ । सुधारको कुरा नेतृत्वदेखि तलसम्म हुनुपर्छ । " नेपालको विकास र नेपाली जनताको चाहनाअनुसारको सुशासन, आर्थिक तथा सामाजिक क्रान्तिका बाँकी काम पूरा गर्न अहिलेको नेतृत्वको विकल्प नभएकोमा नेता यादवले जोड दिनुभएको छ ।
काेशी सरकारले बाढीपहिरोपीडितकाे क्षतिग्रस्त घर बनाइदिने
विराटनगर । बाढीपहिरोबाट प्रभावित इलामका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्न कोशी प्रदेश सरकारले संघीय सरकारलाई सिफारिस गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकले देउमाई, इलाम र सूर्याेदय नगरपालिका तथा माईजोगमाई, सन्दकपुर, माङसेबुङ र फाकफोकथुम गाउँपालिकालाई संकटग्रस्त घोषणाका लागि सिफारिस गरेको हो । त्यस्तै, बाढीपहिरोमा आवासविहीन भएकालाई प्रदेश सरकारले स्थायी घर बनाइदिने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए । आंशिक, पूर्ण रूपमा क्षति भएका सबै घर प्रदेश सरकारले बनाउने उनले बताए । भण्डारीका अनुसार बाढीपहिरोले इलाम, झापा, पाँचथर, सुनसरी, मोरङ, खोटाङ र उदयपुरमा घर क्षति भएको र तथ्यांक संकलन भइरहेको छ । बैठकले चालू बजेटका खर्च र योजना कटौती गरी पुनर्निर्माणमा खर्च गर्न प्रदेश सरकारलाई सिफारिस पनि गरेको छ ।
चितवनमा स्कुटरकाे ठक्करबाट एकजनाकाे मृत्यु
चितवन । चितवनमा स्कुटरले ठक्कर दिँदा २४ वर्षीय रूपेश यादवको मृत्यु भएको छ। यादव रौतहटको माधवनारायण नगरपालिका–८ का बासिन्दा थिए । पिडित यादवलाई बुधबार साँझ साढे ६ बजे चितवन राप्ती नगरपालिका–२ पिप्ले सिमराचोकमा बा प्र ०२(०५६ प १११५ नम्बरको स्कुटरले ठक्कर दिएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ठक्करपछि यादव गम्भीर घाइते भएका थिए र उपचारको क्रममा पुरानो मेडिकल कलेज, भरतपुरमा साँझ पौने ८ बजे उनको निधन भएको हो। स्कुटर चालक १८ वर्षीय दिपेश गौतम राप्ती–२ का पनि नाक र टाउकोमा चोट लागेका छन्। घाइते गौतमको उपचार हालै पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमै भइरहेको छ।
संखुवासभाकाे खाँदबारी नगरपालिकाले हटायो करारका २९ कर्मचारी
संखुवासभा । संखुवासभा सदरमुकामस्थित खाँदबारी नगरपालिकाले करारमा कार्यरत २९ कर्मचारीको करार सेवा सम्झौता रद्द गर्ने निर्णय गरेको छ । खाँदबारी नगरपालिका मेयर महेश थपलिया र प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद बजगाईले बुधबार सूचना प्रकाशित गर्दै १ कार्तिकदेखि लागू हुनेगरी दैनिक ज्यालादारी २९ जना कर्मचारीको नियुक्ति र करार सम्झौता रद्द गरिएको जनाएको हो । नगरपालिकामा कार्यरत रहेका १३ जना दैनिक ज्यालादारी÷करार सेवामा कार्यरत कर्मचारी र १६ जना झोलुङ्गे पुल हेरालुको सम्झौता खारेज गरिएको खाँदबारी नगरपालिका मेयर महेश थपलियाले बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत दरबन्दीबाहेकका नगरपालिकाले आन्तरिक रुपमा दैनिक ज्यालादारी र करार सेवामा नियुक्ति गरिएकाहरूको सम्झौता रद्द गर्ने निर्णय गरेको मेयर थपलियाले बताए । मन्त्रिपरिषद्को ५ असोजको बैठकले स्वीकृत दरबन्दीबाहेक अस्थायी र करारमा कर्मचारी राख्न नपाउने निर्देशन जारी गरेको थियो । मन्त्रालयले पत्राचार गर्दै प्रदेश सरकार तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने निर्देशन सहित सर्कुलर सबै स्थानीय तहमा पठाएको थियो । खाँदबारी नगरपालिकामा नगरको आन्तरिक स्रोतले समेत नभ्याउनेगरी दैनिक ज्यालादारी कर्मचारी नियुक्ति गरिएको भन्र्दै युवाहरूले आलोचना गर्दै आएका थिए ।
तनहुँमा मादले काँक्रो खेतीतर्फ कृषक आकर्षित
तनहुँ । यहाँको आँबुखैरेनीका कृषक मादले काँक्रो खेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय मादले काँक्रोले बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । यस पटक मात्रै यहाँका छ वटा कृषक समूहमा आबद्ध कृषकले काँक्रो बिक्री गरी रु छ लाख ३५ हजार आम्दानी गरेका छन् । आँबुखैरेनी गाउँपालिका–५ लाब्दी भोटेश्वाराका वीरबहादुर गुरुङले काँक्रो उत्पादन र बजारीकरणमा गाउँपालिकाले सहयोग गरेपछि आम्दानी बढेको बताए । उनले यस वर्ष आफूले पनि काँक्रो बिक्री गरी रु ४० हजार ५०० आम्दानी गरेको बताए । गुरुङले ५० बोट काँक्रोका बिरुवा लगाएका छन् । “बजार नपाउँदा विगतमा काँक्रो कुहिएर जाने गरेको थियो । हाल बजार राम्रै छ”,उनले भने, “गाउँपालिकाले हाम्रो उत्पादन हाटबजारसम्म निःशुल्क ढुवानी गरिदिएको छ, त्यसकारण सहज रूपमा काँक्रो बिक्री भइरहेको छ । यसले हामीलाई निकै सहज भयो ।” सोही ठाउँका जितबहादुर गुरुङले रु ३० हजार ५००, तुलबहादुर गुरुङले रु १२ हजार ५००, सङ्गीता गुरुङले रु ४५ हजार ५००, लालश्री गुरुङले रु ४५ हजार ५००, तेजबहादुर गुरुङले रु २० हजार ५००, डिलुमाया गुरुङले रु १२ हजार ५००, रत्नमाया गुरुङले रु १४ हजार ५००, सीता गुरुङले रु नौ हजार ५००, रजमाया गुरुङले रु दश हजार ५००, फूलमाया गुरुङले रु ३५ हजार ५००, धनमाया गुरुङले रु १५ हजार ५००, खड्क गुरुङले रु ५० हजारको मादले काँक्रो बिक्री गरेका छन् । छिम्केश्वरी कृषक समूहमा आबद्ध यी लगायत कृषकले मात्रै रु चार लाख तीन हजार बराबरको मादले काँक्रो बिक्री गरेको कृषक जितबहादुर गुरुङले जानकारी दिए । आँबुखैरेनीमा प्रत्येक सोमबार र शुक्रबार लाग्ने हाटबजारमा आफूहरूले उत्पादन गरेको मादले काँक्रोले राम्रो बजार पाएको उनले सुनाए । “गाउँपालिकाले जति उत्पादन भए पनि बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि हामी ढुक्क छौँ । यसले कृषकलाई आकर्षित गरेको हो”, गुरुङले भने । गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले यहाँका कृषकले करिब पाँच हजार ५०० केजी मादले काँक्रो उत्पादन गरी बिक्री गरेको जानकारी दिए। उनका अनुसार छिम्केश्वरी कृषक समूहका कृषकले रु चार लाख तीन हजार, घलडाँडा कृषक समूहका कृषकले रु एक लाख नौ हजार, केउरिनी कृषक समूहका कृषकले रु ७६ हजार, माई छिम्केश्वरी कृषक समूहका कृषकले रु १८ हजार, खोलागाउँ कृषक समूहका कृषकले रु तीन हजार, एकता कृषक समूहका कृषकले रु २६ हजार बराबरको काँक्रो बिक्री गरेका छन् । यसबाट ४४ जना कृषक लाभान्वित भएका छन् । केसीका अनुसार आँबुखैरेनी गाउँपालिका–५ र ६ मा धेरैले काँक्रोखेती गरिरहेका छन् । विगतमा विभिन्न जटिलतासँगै रोग कीराको प्रकोप, प्राविधिक ज्ञान र बजार समस्याका कारण सोचेअनुरूप उत्पादन हुन सकिरहेको थिएन । गाउँपालिकाले मादले काँक्रोलाई रैथाने बालीका रूपमा राखेर प्रवर्द्धनमा सहयोग गरेपछि केही समस्या समाधान भएको केसीको भनाइ छ । उनले भने, “यस वर्ष दुई वडाका ४४ जना कृषकले पाँच दशमलव पाँच मेट्रिक टन काँक्रो उत्पादन गरेर बिक्री गर्न सफल हुनुभयो । विगतमा उत्पादन भए पनि बजारीकरण मुख्य समस्याका रूपमा थियो । हाटबजारबाट यसको बजारीकरण हुँदा कृषक उत्साहित हुनाका साथै उत्पादन बढाउन प्रोत्साहित हुनुभएको छ ।” आँबुखैरेनी गाउँपालिका–२ मा प्रत्येक सोमबार र आँबुखैरेनी गाउँपालिका–३ मा प्रत्येक शुक्रबार हाटबजार लाग्ने गरेको छ । गाउँपालिकाभित्रका सबै कृषकले आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बिक्री गर्ने गर्छन् । रासस
आज विश्व हुलाक दिवस, नेपाल पनि मनाइँदै
काठमाडौँ । ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ । सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक सङ्घको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो । त्यसपछि विश्वका विभिन्न देशले वार्षिक रूपमा यो दिवस मनाउँदै आएका छन् । यो दिवसमा धेरै देशका हुलाकले नयाँ हुलाक उत्पादन र सेवाको प्रवद्र्धनात्मक कार्यक्रम पनि गर्दै आएका छन् । विश्व हुलाक दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जारी गरेको सन्देशमा हुलाकका माध्यमबाट सहरी र ग्रामीण क्षेत्रबिचको सम्पर्क कायम भएको र हुलाक कर्मचारीको सञ्जालले दुर्गम गाउँ तथा सहरलाई जोडेर विश्वलाई सबैको पहुँचमा पुर्याएको बताएका छन् ।
जेनजी आन्दोलनका ३० घाइतेकाे उपचार जारी
काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाको उपचार विभिन्न अस्पतालमा जारी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग जेनजी आन्दोलनका क्रममा देशभर दुई हजार ३९६ जना घाइते भएको तथ्याङ्क छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबैभन्दा धेरै ११ जना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको जानकारी दिए । डा. बुढाथोकीका अनुसार त्रिवि शिक्षण अस्पतालमा पाँच जना, काठमाडौँ मेडिकल कलेजमा तीन जना, बी एन्ड बी हस्पिटल ग्वार्कोमा तीन जनाको उपचार भइरहेको छ । यसै गरी सिभिल अस्पताल एक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक, नेपाल प्रहरी अस्पतालमा एक, कीर्तिपुर अस्पतालमा एक, धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा एक, विराट मेडिकल कलेज विराटनगरमा एक, नोबेल मेडिकल कलेजमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा एक जना घाइतेको उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रालयले घाइतेको उपचारमा कुनै कमी हुन नदिएको दाबी गरे । उनले औषधी, उपचारलगायत शल्यक्रियाका सामग्रीसमेत सरकारले बेहोरेको जानकारी दिँदै कुनै औषधी तथा सामग्री अस्पतालसँग नभएको अवस्थामा बिरामीले व्यवस्था गर्ने गरेको बताए । उनले सङ्घीय १६ अस्पतालबाट जेनजी क्लिनिक सञ्चालनमा ल्याइएको जानकारी दिँदै जेनजी क्लिनिकमा उपचारका लागि आउने घाइतेको उपचार निःशुल्क गरिएको स्पष्ट पारे । डा. देवकोटाले अस्पतालमा आएर उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या ४९ जना रहेको जानकारी गराए । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले पटक पटक शल्यक्रिया गर्नुपर्ने र जटिल अवस्थाका घाइतेको अझै उपचार जारी रहेको जानकारी दिए ।
माओवादी केन्द्र चुनाव केन्द्रित अभियानमा : मतदाता नामावली दर्ता र अद्यावधिक गर्न परिपत्र
काठमाडौं– आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सबै तहका पार्टी पङ्क्तिलाई मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ। पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले जारी गरेको परिपत्रमा निर्वाचन कार्यालयहरूसँग समन्वय गरी यो अभियान चलाउन आह्वान गरिएको छ। परिपत्रअनुसार, कार्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह वा बसाइँसराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपर्ने अवस्थामा आवश्यक प्रक्रिया पूरा गर्न, तथा नाम, जन्ममिति वा अन्य विवरणमा त्रुटि भएमा सच्याउन पहल गर्न कार्यकर्ताहरूलाई निर्देशित गरिएको छ। 'निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो। त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ,' परिपत्रमा उल्लेख छ।
चितवनमा जापानीज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो
चितवन । जिल्लामा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । साउनयता हालसम्म उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक कालिका नगरपालिकाका रहेका छन् । पछिल्लो पटक खैरहनी वडा नम्बर ४ की महिलाको यो रोगका कारण मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए । जिल्लामा हालसम्म १७ जनामा यो रोगको सङ्क्रमण देखा परेको छ । त्यसमध्ये १० महिला हुन भने सात पुरुष रहेका छन् । उनीहरुमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र नौ जना ६० वर्षमाथिका रहेका छन् । सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाएको अवस्था अस्पष्ट रहेको केसीले जानकारी दिए । सङ्क्रमितमध्ये सात जना भरतपुरभित्रका रहेका छन् । मृत्यु भएकामध्ये एक ८९ वर्षका, अर्का एक जना ८१ वर्षका र दुई जना ७० वर्षका रहेका छन् । एक जना ३९ वर्षीय र अर्का एक जना ४२ वर्षका रहेको उनले जानकारी दिए । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।
टी-२० विश्वकप छनोट: आज नेपालको पहिलो खेल कुवेतसँग
काठमाडौं – तेस्रो पटक टी-२० विश्वकपमा सहभागी हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोली आज आईसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया-प्यासिफिक क्षेत्रीय छनोटअन्तर्गत कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। ओमानमा आजदेखि सुरु हुने यो प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको उद्घाटक खेल नेपाली समयअनुसार राति ८:४५ बजे अल अमिरात क्रिकेट मैदानमा हुनेछ। नेपालले यसअघि सन् २०१४ र २०२४ का टी-२० विश्वकपहरूमा सहभागिता जनाएको थियो। आईसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया-प्यासिफिक छनोटमा नेपाल समूह 'बी' मा परेको छ। यो समूहमा कुवेत र जापान छन्। कुल नौ टोली सहभागी यो प्रतियोगितामा सहभागी टोलीहरूलाई तीन समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) छन् भने समूह 'सी' मा आयोजक ओमान, पापुवा न्यु गिनी र सामोआ आइल्यान्ड छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेन्द्र सिंह धामी (समाचारमा लोकेस बम उल्लेख छ, तर आधिकारिक सूचीअनुसार लोकेन्द्र सिंह धामी), कुशल मल्ल, आसिफ सेख, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी र सोमपाल कामी छन्।

