विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आतंकवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताएका छन्।

न्यूज लाइन्स मिडियाको ८ औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले सो बताए ।

मन्त्री साउदले प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताए। उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताए ।

उनले संविधान जारी गरेपछि तीनै तहको निर्वाचन गरेर सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियशाील भएको बताए।

राजनीतिक दलबीच सहमति र सहकार्य गरेरै मात्र जनताले विकास पाउन सक्छन् : महासचिव गुरुङ

लमजुङ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले निषेधको राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताएका छन् । आज बेँसीसहरमा आयोजित कार्यक्रममा बोल्दै उनले सबै राजनीतिक दलबीच सहमति र सहकार्य गरेरै मात्र जनताले विकास पाउन सक्ने बताए । सामाजिक एकताका लागि सबै जातजाति, भाषाभाषी एकजुट भएमा देशको समृद्धि र विकास सम्भव रहेको उनको भनाइ छ ।

कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुरका भाई, गृहमन्त्री श्रेष्ठका दाईको निधन

काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्नेमध्यका एक नरबहादुर कर्मचार्यका भाईको निधन भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका दाजुसमेत रहेका लक्ष्मण बहादुर कर्माचार्य ९६ बर्षको उमेरमा गएराति निधन भएको गृहमन्त्री श्रेष्ठले जानकारी दिएका छन् । गृहमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भौतिक रुपमा हामी सबैबाट बिदा हुनुभयो । उहाँको दुःखद निधनबाट स्तब्ध भएको छु । उहाँप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछु ,श्रध्देय भाउज्यु लगायत शोकाकुल सबैमा गहिरो समवेदना प्रकट गर्दछु र यस क्षणमा हामी सबैमा दुःख सहने र धैर्य धारण गर्ने शक्ति प्राप्त हुन सकोस भन्ने कामना गर्दछु । नेकपाका संस्थापक सदस्य क। नरबहादुर कर्माचार्यका भाई समेत रहनु भएका श्रध्देय दाज्यु सदा स्मरणीय रहनुहुनेछ । ललितपुरको कुम्भेस्वर स्थित उहाँको घर गत क़रीब ९ दशक देखि लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण केन्द्र रहँदै आएको छ । दुवै दाज्युहरु आज हामीसँग नरहनु भएपनि उहाँहरु र त्यो घर हामी सबैको आस्था र प्रेरणाको केन्द्र रहिरहनेछ ।’ कर्मचार्यको अन्तिम संस्कारको कार्य आज बिहान ८ बजे पशुपति आर्यघाटमा गरिने श्रेष्ठले जानकारी दिए ।

खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ता लाइसेन्सको परीक्षामा वञ्चित नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीहरुलाई कानून व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार ती विद्यार्थीलाई परीक्षामा सामेल हुनबाट वञ्चित नगर्नु भनी नेपाल कानून व्यवसायी परिषदको नाममा आदेश दिएको हो ।दरखास्त लिई उनीहरुलाई समेत परीक्षामा भाग लिन दिनु भनी सर्वोच्च अदालतले परिषदलाई भनेको छ । खुला विश्वविद्यालयले तय गरेको कानूनको स्नातक तहको पाठयक्रम सीमित प्रकृतिको भएको र त्यसक्रममा हुनुपर्ने जति विषयवस्तु नभएको भन्दै परिषदले खुला विश्वविद्यालयबाट पास भएका विद्यार्थीलाई अधिवक्ता हुनका लागि आवश्यक पर्ने परीक्षामा सामेल हुन दिएको थिएन । लामो दुरीमा सिकाइ हुने गरेको, प्रयोगात्मक अभ्यासहरु हुन नसकेको लगायतका कारण देखाउदै परिषदले खुला विश्वविद्यालयबाट पास भएका विद्यार्थीहरुलाई लाइसेन्स परिक्षामा अस्विकार गर्दै आएका थिए । उच्च अदालत पाटनले खुला विश्वविद्यालयका विद्यार्थीलाई वञ्चित नगर्नु भनी आदेश दिइसकेको थियो । नेपाल कानून व्यवसायी परिषदको नियमावली संविधानसँग बाझिएको भनी केही विद्यार्थीले सर्वोच्च अदालतमा चुनौती दिएका थिए । तिनै निवेदनमाथिको प्रारम्भिक छलफलपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

पत्रकारहरूको भैरहवा-लुम्बिनी पैदल यात्रा, बुद्धजन्मस्थलको पर्यटन प्रवर्द्धन उदेश्य

लुम्बिनी । पत्रकारहरूले शुक्रबार पर्यटन प्रवर्द्धन र विश्वशान्तिको सन्देश दिने उद्देश्यले भैरहवादेखि बुद्धजन्मस्थल लुम्बिनीसम्म बौद्ध सञ्चार पैदल यात्रा गरेका छन्। लुम्बिनी प्रेस क्लबको आयोजनामा भैरहवादेखि लुम्बिनीसम्म २२ किलोमिटर पैदल यात्रा गरिएको हो। करिब ४ घन्टा पैदल हिँडेर लुम्बिनी मायादेवी मन्दिर पुगेका पत्रकारसहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरे। उपाध्यक्ष डा.लामाले बौद्ध सञ्चार यात्राले विश्वमाझ शान्ति र अहिंसाको सन्देश प्रवाह गरेको बताए। उनले पत्रकारहरूले भैरहवादेखि बुद्धजन्मस्थल लुम्बिनीसम्म पैदल यात्रा गरेर विश्वभरका शान्ति, अहिंसाको सन्देशसँगै पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिएको बताए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुद्धले बुद्धत्व प्राप्त गर्न जाँदा र शान्तिको सन्देश दिँदा हिँडेरै दिएको भन्दै लुम्बिनीमा पदयात्रा र आध्यात्मिक कार्यक्रम धेरैभन्दा भेरै हुन जरुरी रहेको बताए। लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धले पैदल हिँडेर आफ्नो ज्ञान र सन्देश बाँडेको बताउँदै त्यसैलाई पत्रकारहरूले अनुशरण गर्नु सकरात्मक भएको बताए। २२ किलोमिटर लामो मौन पदयात्राले शान्ति, अहिंसा र आध्यात्मिकताका लागि विश्वभर सन्देश पैदा गरेको क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले बताए।

निर्वाचन आयोगद्धारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । शुक्रबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालयमा पुगेर वार्षिक प्रतिवेदन बुझाएका हुन् । राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्सालका अनुसार आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रधानमन्त्रीको निर्देशनपछि तात्यो प्राधिकरण, बक्यौता नतिर्ने ४ उद्योगको काटियो बिजुली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल विद्युत प्राधिकरण सक्रिय बनेको छ । प्रधानमन्त्री प्रचण्डले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई दिएको निर्देशन पश्चात आज सोही मन्त्रालय मातहतको नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेका चार ठूला उद्योगको बिजुली काटेको हाे। जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली लाइन काटिएको प्राधिकरण स्रोतले जनाएको छ। प्राधिकरणका अनुसार जगदम्बाले डेडिकेटेड लाइनको चार अर्ब १४ करोड रूपैयाँ तिर्न बाँकी छ। त्यस्तै रिलायन्सले एक अर्ब ९४ करोड रूपैयाँ र घोराही सिमेन्टले एक अर्ब ३६ करोड रूपैयाँ तिर्न बाँकी छ। अर्घाखाँचीको एक अर्ब ३० करोड बक्यौता रहेको प्राधिकरणले जनाएको छ।यी उद्योगको लाइन शुक्रबारै काटिएको हो। बक्यौता तिरेपछि मात्रै बिजुली पठाउने प्राधिकरणको भनाइ छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएका थिए ।  

विज्ञापन बजारलाई पारदर्शी बनाउने प्रक्रिया थालनी भएको छ : मन्त्री शर्मा

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिष्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्धन गर्ने बताएकी छिन् । नेपाल बिज्ञापन सङ्घ (आन)को २४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले पारदर्शी बिज्ञापन बजारले बिज्ञापनदाता, मिडिया र व्यवसायी तीनै पक्षको हित गर्ने बताइन् । आर्थिक संकुचलनले मुलुकको समग्र आर्थिक क्षेत्र प्रभावित भएको र यसको मारमा विज्ञापन बजार पनि परेको उल्लेख गर्दै उनले विज्ञापन बजारमा संकुचन आउँदा विज्ञापन बजारमा कार्यरत जनशक्ति र मिडियामा समस्या आएको बताइन् । । उनले भनिन् विज्ञापन बजारमा आएको संकुचनले विज्ञापन चक्रमा नै असर परिरहेको छ । आर्थिक क्रियाकलाप बढेसँगै विज्ञापन बजार पनि बढ्ने नै छ भन्ने विश्वास गर्न त सकिन्छ, साथसाथै विज्ञापन बजारलाई थप पारदर्शी र प्रतिष्पर्धी बनाउँदै लैजान पनि ध्यान दिनुपर्ने अवस्था छ । आफूले सञ्चार मन्त्रालय सम्हालेपछि मिडिया क्षेत्रबाट विज्ञापन बजार पारदर्शी भएन भन्ने ठूलो गुनासो सुनेपछि सरोकारवालासित छलफल गरेर विज्ञापन नियमावली संशोधनमार्फत विज्ञापन बजारलाई पारदर्शी र प्रतिष्पर्धी बनाउने प्रक्रियाको थालनी गरिएको जानकारी दिइन् । खासगरी सरकारी कार्यालयबाट वितरण हुने विज्ञापनमा चरम बेथिति रहेको र अस्वभाविकरुपमा कमिसनको दुरुपयोग हुने गरेको सूचनाले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै अब विज्ञापन नियमावली संशोधनमार्फत मिडियाको बिल बिजक र विज्ञापन एजेन्सीको शुल्कसमेत कागजात पेश गरेपछि मात्रै भुक्तानी हुने प्रावधानको थालनी गरिएको छ र यसले विज्ञापनको सबै हिस्सा मिडियासम्म पुग्ने र विज्ञापन एजेन्सीहरुले पाउनुपर्ने सेवा शुल्क पारदर्शीरुपमा पाउने वातावरण बन्ने छ भन्ने सरकारको विश्वास रहेको स्पष्ट गरिन्। विज्ञापन सामग्रीहरु लक्षित समुदायमा केन्द्रित नगरी औपचारिकताका लागि मात्रै सरकारी सूचना प्रवाह गर्ने देखिएको उल्लेख गर्दै मन्त्री शर्माले कुनै निश्चित जिल्लाको निश्चित पालिका वा समुदायका लागि आवश्यक सूचना त्यो ठाउँसम्म पहुँच नभएका मिडियामा दिने गरेकाले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताइन् । विज्ञापन बजारका हिसाबले हेर्दा सार्वजनिक सूचना आर्थिक पक्षसँग पनि जोडिएला तर सरकार र जनताको आँखाबाट हेर्दा त यो जनताको सूचनाको हकसँग सम्बन्धित विषय भएको चर्चा गर्दै उनले विज्ञापनदाता वा विज्ञापन एजेन्सीहरुले जुन क्षेत्र र समुदायका लागि लक्षित सूचना हो, सोही ठाउँका मिडियाबाट प्रकाशन प्रसारण गर्ने व्यवस्था मिलाउनुपर्ने बताइन् । अहिले विज्ञापनको केही हिस्सा सामाजिक सञ्जाल मार्फत पनि जाने गरेको उल्लेख गर्दै उनले विज्ञापन नियमावली २०८० ले सामाजिक सञ्जालबाट हुने विज्ञापनको नियमन गर्ने बाटो समेत खुलाएको र यसका आधारमा विज्ञापन बोर्डले चाँडोभन्दा चाँडो नियमनको प्रक्रिया सुरु गर्नु आवश्यक रहेको बताइन्। सामाजिक सञ्जालमा हुने विज्ञापनले एकातिर नेपाली मुद्रा बिदेशिने खतरा बढाएको र अर्कोतिर नेपालमा दर्ता नभएका प्लेटर्फमा हुने कारोवारको जानकारी नै नेपाल सरकारलाई नहुने अवस्थाले समस्या सिर्जना गर्दै गएकाले सरकारले मस्यौदा गरिरहेको सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयकमा पनि सामाजिक सञ्जालमा हुने विज्ञापनलाई निरुत्साहित गर्ने गरी प्रावधान समेटिने जानकारी दिइन् । विज्ञापनसँग जोडिएका अन्य केही थप सवालहरु पनि ध्यान दिन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री शर्माले खासगरी विज्ञापन उत्पादनको सवालमा देश, काल, परिस्थितिलाई ध्यान दिनुपर्ने बताइन् । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेर महिलालाई मुलुकको राष्ट्रपति बनाइसक्ने अवस्थामा पुग्दा पनि महिलाको भूमिकालाई चुलो चौका र भात भान्सामै केन्द्रित गर्ने आशयका विज्ञापन उत्पादन गर्ने, नेपालको संविधान र कानुनले प्रतिबन्ध गरेका विभिन्न कुप्रथालाई प्रोत्साहन गर्ने खालका विज्ञापन पनि उत्पादन र प्रकाशन प्रसारण गर्ने गरेको पाइएको उल्लेख गर्दै उनले यसमा विज्ञापनदाता, एजेन्सी र मिडियाहरु सचेत हुन आवश्यक रहेको बताइन्।

धनुषामा झडप : स्थानीय आक्रोशित, प्रहरीको गोली लागेर दुईजना घाइते

काठमाडौं । धनुषाको हंसपुर नगरपालिका–५, सुगा निकासस्थित इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन् । स्थानीयको कुटाइबाट घाइते भएका व्यक्तिको प्रहरीको कुटाइपछि मृत्यु भएसँगै आक्रोशित स्थानीय प्रहरीचौकी घेराउ गर्न पुगेका थिए । सो क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । भीडलाई हटाउन प्रहरीले गरेको हवाईफायरका क्रममा दुईजनालाई गोली लागेको छ । गोली लागेर सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएका छन् । घाइते अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ । अर्का घाइते मण्ड़लको दाहिने हातमा गोली लागेको हो । प्रहरीको गोली लागेर दुईसहित झडपमा परी तीनजना घाइते भएका स्थानीयले बताएका छन् । स्थानीयको भीडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि आत्मरक्षाका निम्ति गोली चलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आक्रोशित स्थानीयको भीडले प्रहरीमाथि आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्ण रूपमा जलाइदिएको तथा नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । स्थानीय दीपा मण्डललाई स्थानीयबीचको विवादका क्रममा पक्राउ गरी इलाका प्रहरी कार्यालयमा लगिएको थियो । सो क्रममा प्रहरीका सई तुलानन्द ठाकुरको कुटाइबाट मण्डलको संवेदनशील अंगमा चोट लागेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको स्थानीयले बताएका छन् । गोली लागेर घाइतेमध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । घाइते मण्डललाई थप उपचारका निम्ति काठमाडौं ‘रिफर’ गरिएको छ । प्रहरीको गोली लागी घाइते भएका दुवैजनाको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग गरिएको छ ।

नेपाल सुपर लिग आज दुई खेल हुँदै

ठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आज दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा शीर्ष दुई टोली पोखरा थन्डर्स र धनगढी एफसी बीच प्रतिस्पर्धा हुने छ । पोखराले प्लेअफमा आफ्नो स्थान बनाइसकेको छ भने शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्न आजको खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै गर्दा धनगढीलाई भने प्लेअफमा स्थान बनाउन जित्नै पर्ने दबाब छ । यस्तै, आज साँझ ५ बजे हुने अर्को खेलमा झापा एफसी र एफसी चितवन भिड्ने छन् । झापा आजको खेल जित्दै प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ भने चितवन प्लेअफ यात्राबाट बाहिरिसकेको छ । जारी लिगमा झापा १० अङ्कका साथ तालिकाको चौथो स्थानमा छ भने चितवनले ६ अङ्क जोडेको छ ।

प्रधानमन्त्री प्रचण्ड विराटनगरमा : यस्ता छन् कार्यक्रम

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो विराटनगर आइपुगेका छन् । प्रधानमन्त्रीले आज विराट एक्स्पोको उद्घाटन गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले आजबाट विराटनगरमा सुरु हुने ‘विराट एक्स्पो’को उद्घाटन गर्न लागेका हुन् । यसअघि बिहान १० बजे प्रधानमन्त्रीले प्रचण्डले सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्नेछन् । भोक्राहा नरसिंह गाउँपालिका इनरुवामा प्रधानमन्त्री प्रचण्डले सबस्टेसन ४००, २२०, १३२, ३३ केभी सबस्टेसनको समुद्घाटन गर्ने छन्। कार्यक्रममा उर्जा जलश्रोत तथा सिँचाई मन्त्री तथा नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका अध्यक्ष शक्ति बहादुर बस्नेत, कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की, सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद ज्ञानेद्र बहादुर कार्की र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लागयत सहभागी हुने छन् । मुलुकको आर्थिक मन्दीबाट बाहिर ल्याउन उल्लेख्य भूमिका खेलेको औद्योगिक नगरी विराटनगरलाई थप आर्थिक रुपमा बलियो बनाउन र आर्थिक क्रियाकलाप चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा व्यापार मेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् । विराटनगर–२ स्थित शंकरपुर मार्गमा सुरु हुने ‘विराट ट्रेड एक्स्पो–२०२३’ मेला आगामी पुस १६ गतेसम्म जारी रहनेछ । आयोजकका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी गरी कुल २४० वटा स्टल रहने छन् ।

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक २०८० पुस ५ गते सिंहदरबारमा सम्पन्न भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको उक्त मन्त्रिपरिषद् बैठकले विभिन्न् निर्णय गरेको छ । यस्ता छन् प्रमुख निर्णय १. राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख)को प्रयोजनका लागि राष्ट्रिय जनगणना, २०७८ को कूल जनसंख्याको ०.५ (शून्य दशमलब पाँच) प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलितबाहेक)लाई अल्पसंख्यकको रुपमा तोक्ने । २. मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० स्वीकृत गर्ने । ३. मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०७९ स्वीकृत गर्ने । ४. मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गर्ने ।

नेप्सेमा करेक्सन, कारोबार रकम कति ?

काठमाडौं । साताको पाँच कारोबार दिन निरन्तर बढेको सेयर बजार अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३२.७७ अंकले घटेर २१०९.१० विन्दुमा अडिएको छ। यसअघि साताको पहिलो कारोबार दिन नेप्से आइतबार २८ , सोमबार ३८.१४, मंगलबार ४५.९८ र बुधबार ३५.३९ अंकले बढेको थियो। दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। आज ३०४ कम्पनीको १ करोड लाख ७२ हजार १४९ कित्ता सेयर ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ७ अर्ब बढीको सेयर कारोबार भएको थियो। यसदिन १० कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बुधबार १५ स्क्रिप्टको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। बोटलर्स नेपाल,आशा लघुवित्त वित्तीय,धवलागिरि लघुवित्त वित्तीय,बीपीडब्लु लघुवित्त वित्तीय र चिरख्वा हाइड्रोपावर कमाउने शीर्ष पाँचभित्र पर्न सफल भएका छन्। कारोबार भएकामध्ये शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो। सोनापुर मिनरल्सको २५ करोड,हिमालयन डिस्टिलरीको २० करोड,हाथवेको १५ करोड र घोराही सिमेन्टको १५ करोड मूल्य बढीको सेयर कारोबार भयो। यसदिन सूर्यज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ७.४४ प्रतिशतले घट्यो। उन्थान सहकारी लघुवित्त वित्तीय संस्थाको ७।२६,सनराइज फर्स्ट म्युचुअल फण्डको ६.९४ प्रतिशत ,ग्रामिण विकास लघुवित्त वित्तीयको ६.८१ र युनियन हाइड्रोपावरको ६.५२ प्रतिशतले मूल्य घटयो। कारोबारमा आएका १९१ स्क्रिप्टको मूल्य घट्दा ५० को मात्रै बढ्यो। ३ स्क्रिप्टको मूल्य भने स्थिर रह्यो। दुई उपसमूहबाहेक ११ वटाको परिसूचक घटेको छ। मनु एन्ड प्रोको २.३६ र ट्रेडिङको ०.५६ प्रतिशतले बढ्यो। यसदिन डेभलपमेन्ट बैंक उपसमूहको भने सर्वाधिक ३.२३ प्रतिशतले मूल्य घट्यो।

मन्त्रिपरिषद् बैठक शुरु, के छन् ऐजेण्डा ?

काठमाडौं। मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउसो ३ बजेका लागि बोलाइएको हाे । एक मन्त्रीले प्रशासनलाई दिएको जानकारी अनुसार बैठकमा केही सचिव सरुवा र मन्त्री हेरफेरबारे पनि छलफल हुन सक्ने बताइएको छ ।

योजनावद्ध सहरको विकास गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले योजनावद्ध सहरको विकास गर्नेतर्फ जोड दिएर स्मार्टसिटीहरूको निर्माण गर्नुपर्ने बताएका छन् ।बिहीबार दिउँसो सिंहदरबारमा आयोजित सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, “काठमाडौंभित्र व्यवस्थित नमुना सहर बनाएर जानुपर्छ। मेरो दोस्रो कार्यकालमा स्मार्टसिटीको अवधारणा यही सोचका साथ अगाडि सारिएको थियो। यसले हरेक प्रदेशमा एक स्मार्टसिटी बन्छ भन्ने हाम्रो सोच थियो। हामीले योजनावद्ध सहरको विकास गर्नुपर्छ। त्यसलाई हामीले स्मार्टसिटीको नाम दिएका छौं। यो दीर्घकालीन रणनीति हो, गम्भीरतापूर्वक सोचेर यसको कार्यान्वयनमा जानुपर्छ।” “स्बै स्थानीय तहको प्रशासनिक भवन बनाउने जिम्मेवारी हाम्रै हो। सहरीकरणको कुरा गर्दा सहरी सौन्दर्यलाई पनि सँगसँगै लैजानुपर्छ” प्रधानमन्त्रीले भने, “हाम्रो विकास भौगोलिक बनोटअनुसार हुनुपर्छ भनेर मैले भन्दै आएको छु। हामीले पूर्वपश्चिम र उत्तर–दक्षिण दुबैतर्फ जोड्ने विकास हाम्रो आवश्यकता हो। हामीले यसरी नै सोच्नुपर्छ।” “मध्यपहाडी लोकमार्ग म पहिलोपटक प्रधानमन्त्री हुँदा नै सुरू गरिएको थियो। हुलाकी राजमार्ग पनि हामीले नै अगाडि बढाएका थियौं। उत्तर–दक्षिण करिडोर पनि विकासको हाम्रो भिजन हो। देशको अवस्था जस्तो छ, भौगोलिक बनोट जस्तो छ, आर्थिक चरित्र जसरी विकसित भइरहेको छ, विकासको मोडेल पनि त्यस्तै बनाउनुपर्छ” प्रधानमन्त्रीले भने । प्रधानमन्त्रीले भने, “वन र वातावरणको क्षेत्रमा धेरै नीतिगत र कानुनी सुधार जरूरी छ। २०२९ सालको ऐनले अहिलेको वस्तुगत अवस्थिति सम्बोधन गर्दैन। हिजो ऐन बनाउँदा मानव बस्ती नभएका ठाउँ सहरीकरण भइसकेका छन्। वन र विकास एकअर्काका विरोधीजस्तो भाष्य बन्दै गएको छ। वनको कुरा गर्दा मान्छेको हितलाई पहिलो प्राथमिकता दिउँ। विकास निर्माणमा हामी परिणामभन्दा प्रक्रियाको झमेलामा फसेका छौं। यो परिस्थिति तोड्नुपर्छ।” “एकातर्फ वनमा हामी धनी छौं भनिरहेका छौं, अर्कोतर्फ वर्षेनी अरबौंको काठ आयात भइरहेको छ” प्रधानमन्त्रीले भने, “हाम्रा ढलेका रूखहरूसमेत सजिलोसँग उपयोग गर्न नसकिने परिस्थितिको अन्त्य गर्नुपर्छ। काठ हाम्रो ठूलो सम्पत्ति हो, यसको हिफाजत र उपयोग गरौं।” छलफलमा सहरी विकासमन्त्री सीता गुरूङले आयोजनाको संख्या र बजेटको सीमितताका बीच काम गर्नुपर्ने अवस्था रहेको बताउँदै व्यवस्थित सहर बनाउने परियोजनालाई पनि राष्ट्रिय गौरवका आयोजनामा समावेश गरेर काम अगाडि बढाउनुपर्ने बताए । उनले एक वर्षको अवधिमा निजी आवास निर्माणतर्फ मन्त्रालय राम्रो प्रगति गरेको बताउँदै भूकम्पबाट भत्किएका निजी घरहरू निर्माणमा केन्द्रित हुने बताए । त्यस्तै वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले रूख कटानको कानुनी प्रक्रिया लामो हुँदा विकास आयोजनाको काम प्रभावित भएको, काठ निर्यातको भन्सार नीति वैज्ञानिक नभएको बताउँदै मन्त्रालय त्यसको समाधानमा केन्द्रित भएको बताए । बैठकमा नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्यालले वनले प्रकृति संरक्षणमा मात्र जोड दिने र विकासे मन्त्रालयले विकासको मात्र कुरा गर्दा विकास नीति असन्तुलित हुने बताउँदै वन र विकासलाई एकअर्काका सहयोगी अंगको रूपमा अगाडि लैजानुपर्ने बताए । साथै,जलवायु परिवर्तनले भौतिक विकास र मानवीय जीवनका सबै क्षेत्रलाई प्रभावित तुल्याएको बताउँदै अर्यालले जलवायु परिवर्तनका बहुआयमिक प्रभावहरूको एकीकृत विश्लेषण जरूरी रहेकोमा जोड दिए। छलफलमा सहरी विकास मन्त्रालयका सचिव सरजु वैद्यले विदेशी सहायताको बजेटको प्रभावकारी कार्यान्वयनका लागि पहल गरिएको, आयोजनाको स्तर र बजेटको प्रबन्धबीच उचित तालमेल आवश्यक देखिएको र कार्यचापका दृष्टिले जनशक्ति वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए उनले रूकुम पश्चिम र जाजरकोटमा गएको विनासकारी भूकम्पले क्षति पु¥याएका घरहरूको पुनर्निर्माण प्रभावकारी बनाउन मन्त्रालयले तयारी गरिसकेको बताउँदै भूकम्पको सम्भावित क्षेत्र पहिचान गरी सोहीअनुरूपको नीति तर्जुमा गर्नुपर्नेमा जोड दिए। साथै सात प्रदेशमा सात स्मार्टसिटी बनाउने गृहकार्य गरिएको उनले बताए । बैठकमा वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खरालले वन क्षेत्रको उपयोग र जंगल कटानीमा अत्यधिक समय र जनशक्ति खर्चिनुपरेको, वातावरणीय प्रभाव मूल्यांकनको समय बढी लागेकोजस्ता समस्या समाधान गर्न मन्त्रालय क्रियाशील रहेको बताए । सचिव खरालले कोप २८ मा नेपालको नेतृत्वदायी भूमिका रहेको स्मरण गर्दै नेपालले प्राप्त गर्ने जलवायु वित्तमा पहल लिने योजना बनाइएको र अन्तर्राष्ट्रिय पर्वतीय शिखर सम्मेलनको आयोजनाको तयारी गरिएको बताए। त्यस्तै प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालले एकातर्फ नेपालको काठ कुहिएर जाने र अर्कोतर्फ विदेशबाट ठूलो मात्रामा काठ आयात भएको बताउँदै त्यसको सम्बोधन जरुरी रहेको बताउनुभयो। साथै फोहोर व्यवस्थापनको दीर्घकालीन रणनीति र योजनाका साथ काम गर्नुपर्नेमा उनले जोड दिए। त्यस्तै अर्का सचिव गणेश पाण्डले नेपालको काठ देशभित्रै उपयोगका निम्ति लचिलो नीति अपनाउनुपर्ने बताउँदै वातावरणीय प्रभाव मूल्यांकनको काम छिटो र प्रभावकारी हुनुपर्ने बताए। प्रधानमन्त्री कार्यालयका सचिव मणिराम गेलालले उपत्यकामा प्रस्तावित स्मार्टसिटीहरूको निर्माणका निम्ति कार्यान्वयनतर्फ जानुपर्नेमा जोड दिए। साथै, विकासका काम गर्दा विद्युत, सडक, खानेपानी, सहरी लगायतका मन्त्रालयहरूको सहकार्यका निम्ति तयार भएको ऐनको मस्यौदा पारित गर्न पहल लिनुपर्ने बताउँदै एकीकृत बस्ती विकासको अवधारणा प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। बैठकको संश्लेषण गर्दै प्रधानमन्त्रीले भने, “अर्को वर्ष नयाँ सोच, योजना र कार्यशैलीका साथ अगाडि बढ्छौं। मैले आफूलाई पनि त्यसरी बदल्ने सोच्दैछु। तपाईहरू सबै जना पनि आफ्नो कार्यशैली बदल्ने र देशलाई गुणात्मक परिणाम दिने सोच्नुहोला।”

गोर्खाली–अंग्रेज बीचको युद्धको झल्को दिने कालीतोप सिन्धुलीमा भित्रियो

सिन्धुली । सिन्धुलीगढीमा तात्कालीन गोर्खाली र अंग्रेजबीचको युद्धको झल्को दिने कालीतोप सिन्धुलीगढीमा भित्रिएको छ । सिन्धुलीगढीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका मध्यपुर्वी पृतनाका पृतनापति प्रेमध्वज अधिकारीबाट कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेललाई करिव २ सय ५६ वर्ष अगाडिको तोप सिन्धुलीगढी युद्ध संग्र्रहालयमा राख्न हस्तान्तण गरेका हुन् । वि स. १८२४ ताका सिन्धुलीमाढीको जीतपुर÷लब्दाह खोला छेउमा गोदार थापा र मगर लडाकुहरुको संयुक्त फौजले इष्ट इण्डिया कम्पनीका सेना टमस हार्डी र इन्साईन किथ नेतृ्त्वको कम्पनी फौज उपर चम्पनसिहं थापा नेतृत्वको फौजले धानखेतमा आक्रमण गरि सो तोप खोसेका थिए । वि सं.२०३७ सालसम्म सो तोप सिन्धुलीगढीमा नै रहेपनि पछि तत्कालीन शाही नेपाली सेनाले वीरगञ्ज लगेको थियो । करिव २ पाथी गोली र बारुद जाने यो तोप उसबेला गोर्खालीहरुका लागि मात्र नभइ काठमाण्डौ उपत्यकाका लागि पनि नौलो प्रकारको तोप मानिन्थ्यो ।