गृहका २५ अधिकारीको सरुवा एवं पदस्थापन, को कहाँ ?

काठमाडौं। गृह मन्त्रालयले मातहतका २५ अधिकारीहरूको सरुवा एवम् पदस्थापन गरेको छ ।

त्यसमध्ये पाँच जना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थापन भएका छन् भने एक जना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन् । बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन भएका छन् ।

मन्त्रालयले वरिष्ठ अधिकारीहरूको सेवा अवधिको मापदण्डभित्र रही पदस्थापन गरेको हो ।

धनुषामा बालिकाको शव नग्न अवस्थामा पोखरीमा फेला

काठमाडौं । धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव नग्न अवस्थामा पोखरीमा फेला परेको छ। धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । शवको प्रकृति हेर्दा बलात्कार गरी उनको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । शवको प्रकृतिले घटना शंकास्पद देखिएको तर पोस्टमार्टमपछि मात्रै बलात्कार गरेर हत्या भए-नभएको खुल्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ राखी विवाहपञ्चमीको अवसरमा मटकोरको लागि निकालिएको रथ यात्रामा गएकी ती बालिका बुधबार साँझबाट बेपत्ता भएकी थिइन्।

मूल्य बढाउन किसानहरूको माग

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल उखु उत्पादक किसान महासङ्घ, उखु उत्पादक किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक किसान समितिले चालु यामका लागि सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाउँदै प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापनपत्र बुझाएका हुन् । सरकारले गत वर्षभन्दा उखुको मूल्य प्रतिक्विन्टल २५ बढाएको छ । हाल उखुको मूल्य प्रतिक्विन्टल रु पाँच सय ६५ निर्धारण गरिएको छ । चालु यामका लागि उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गर्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए। उखुको मूल्य नबढाएसम्म उद्योग सञ्चालन नगर्ने उनको भनाइ छ । मिलगेड उखु उत्पादक किसान समितिका अध्यक्ष राजकुमार उप्रेती सरकारले उखुको मूल्य निर्धारण गर्दा चिनीको बढेको मूल्य, उखु उत्पादनमा लाग्ने हालको लागत, उखुको सहउत्पादनसमेतको आधारमा गरिनुपर्ने बताउँछन् । बजारमा चिनीको माग बढेको समयमा मूल्य बढाउने र उखु क्रसिङ गर्ने समयमा मूल्य घटाएर उखु उत्पादक किसानलाई कम पैसा दिने उद्योगीको नीतिले उखु उत्पादक किसान मारमा परेका उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा गत वर्षको अनुदानबापतको रकम यथाशीघ्र भुक्तानी गरिदिन माग गरिएको छ । गत वर्ष बेचेको उखुको अनुदानबापतको रकम अझैसम्म उखु उत्पादक किसानले पाएका छैनन् । तर जिल्लाका चिनी मिलले चालु यामको उखु क्रसिङको काम सुरु गरिसकेका छन् । यसप्रति किसानले आपत्ती जनाएका छन् । उचित मूल्य निर्धारण नभएसम्म चिनी उद्योग सञ्चालन गर्न नदिने किसानको भनाइ छ ।

तराईमा बाक्लो हुस्सु कुहिरो, सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने

काठमाडौं । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु कुहिरो लागेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागहरूमा लागेको हुस्सु कुहिरो पश्चिम तराईमा मध्याह्नसम्म क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मध्य र पूर्वी तराईमा अपराह्नसम्म क्रमिक रुपमा सुधार हुँदै सम्भावना रहेको छ । हुस्सुरकुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्नसक्ने सम्भावना रहेको विभागको भनाइ छ । त्यसैले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागको आग्रह छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा राति आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

खाँणलाई ३० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश (फैसलासहित)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई बिहीबार ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । यही मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । उनीहरूबीच राय बाझिएका कारण तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुरुप बिहीबार कोइरालाको इजलासमा सुनुवाइ भएको हो । कोइरालाले मंसिर १५ गते न्यायाधीश पाण्डेले राखेको रायसँग सहमति जनाउँदै खाँणलाई धरौटीमा छाड्न आदेश दिएका हुन् । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले खाँण धरौटीमा रिहा हुने आदेश जानकारी गराउँदा अदालतभित्रै पुगेका खाँणका समर्थकहरूले खुसी व्यक्त गरेका थिए ।

परराष्ट्रको विशिष्ट श्रेणीमा लम्साल बढुवा

काठमाडौं। सरकारले नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकको निर्णय सार्वजनिक गर्दै नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिइन् । यसैगरी बैठकले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

राष्ट्रपतिसमक्ष तीन राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेश

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् । उनीहरूले छुट्टाछुट्टै कार्यक्रममा प्रमाणपत्र पेश गरेका हुन् । राष्ट्रपति भवनमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष नेपालका लागि श्रीलंकाका राजदूत राजदुत सुदर्शना पथिरानाले ओहोदाको प्रमाणपत्र पेश गरे । यसैगरी, राष्ट्रपतिसमक्ष पानामाका राजदुत यसेल एलिन्स बुइलोरिभेरा र बेल्जियमका राजदुत दिदीएर एना एल भ्यान्डेरह्यासेल्टले ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

१४ किलो सुन प्रकरण : विमानस्थलकै सरसफाइ सुपरभाइजर पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरेको १४ किलो सुन प्रकरणमा विमानस्थलकै सरसफाइ सुपरभाइजर सुशीला पाण्डे पक्राउ परेकी छन्। बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले भक्तपुरबाट उनलाई पक्राउ गरेको हो। मंसिर २१ गते राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो। आजको बैठक नियमित बैठक हो ।

ओलीलाई कालो झन्डा देखाउने ‘पहिचानवादी’ पक्राउ

विराटनगर । नेकपा (एमाले)को संकल्पयात्राका क्रममा भोजपुर पुगेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानवादी पक्षधरले कालो झन्डा देखाएका छन् । बिहीबार सदरमुकाम भोजपुर बजारबाट धनकुुटा जाने क्रममा कालो झन्डा देखाइएको हो । एमाले पार्टी कार्यालयनजिकै विरोध प्रदर्शन गर्दै पहिचानवादीले कालो झन्डा देखाएपछि धरपकड समेत भएको जनता समाजवादी पार्टी (जसपा)का सदस्य एवं लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले बताए । कालो झन्डा देखाएको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मञ्जु राई, जिल्ला सदस्य धीरज राई, दिनेश राई, मणि राई, विद्यार्थी नेता धीरेन खिम्बू, तयाबङु राई र विकास राई छन् । हालसम्म कोसी प्रदेशका विभिन्न स्थानमा गरी ३० पहिचानवादी पक्राउ परेको माखिमको भनाइ छ । धनकुटामा बन्द गराउँदै हिँड्ने नौजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा किराँत राई यायोख्खाका धनकुटाका अध्यक्ष उद्धवमणि राई, किराँत याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसिंह तिगेला, उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई र पनित कुलुङ छन् । ती सबै पहिचानवादीलाई धनकुटा र भोजपुरको सीमावर्ती लेगुवा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता एवं डीएसपी राजबाबु महर्जनले बताए । यसैबीच, झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रा धनकुटामा प्रवेश गरेको छ । यात्रा सुरु भएको १५औँ दिन पूर्वको अरुण तरेर धनकुटामा प्रवेश गरेको हो । अध्यक्ष ओली धनकुटाको कार्यक्रम सकाएर तेह्रथुमको वसन्तपुरमा आयोजित सभामा सहभागी हुन त्यसतर्फ लागेका छन् । यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट यात्रा सुरु गरिएको थियो । यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।

पूर्वगृहमन्त्री खाणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ जारी

काठमाडौं । उच्च अदालत पाटनमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिएको निवेदनमाथि सुनुवाइ जारी रहेको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ भइरहेको छ । यसअघि मङ्सिर १५ गते अरुका हकमा राय मिलेको भए पनि खाणको हकमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा सुनुवाइ हुन लागेको हो । पूर्व गृहमन्त्री खाणका विषयमा न्यायाधीशद्वयकोे राय बाझिएको थियो । न्यायाधीश पाण्डेले ३० लाख धरौटीमा रिहाको आदेश गर्न र अर्का न्यायाधीश खरेल थुनामै राख्न आदेश भएको थियो । यसैले खाणको विषय तेस्रो न्यायाधीशसमक्ष पेस भएको हो । आज सुनुवाइ गर्नुहुने न्यायाधीशले यसअघिका दुईमध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुनेछ । तर यी न्यायाधीशले अघिका दुई बाहेक तेस्रो राय दिएमा निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ । उच्च अदालत पाटनले मङ्सिर १५ गते नक्कली भुटानी शरणार्थी प्रकणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित नौ जनालाई थुनामै राख्न आदेश दिएको थियो । भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित केहीलाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सुनको मूल्य तोलामा २८ सयले बढ्यो

काठमाडौं ।  सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँ बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन तोलाको एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलाको एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन तोलाको एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर कारोबार भएको हो । चाँदी तोलाको एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी गराएको छ ।

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्नेछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकबाट विभिन्न विषयमा निर्णय गरिने बताइएको छ ।

कोप-२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युग अन्त्यको सुरुवात गर्ने सहमति

काठमाडौं । जीवाष्म इन्धनको युग अन्त्यको सुरुवात गर्ने सहमति गर्दै संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप– २८) आज सम्पन्न भएको छ । उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार गर्ने सहमति सम्मेलनबाट जुटेको हो । कोप– २८ सम्मेलन संयुक्त अरब इमिरेट्सको दुबईमा दुई साताअघि सुरु भएको थियो । सम्मेलनका दुई सय पक्ष राष्ट्रका वार्ताकारले ‘पहिलो विश्वव्यापी समीक्षा’को निर्णय विश्वव्यापी तापमान वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित राख्न जलवायु कार्यलाई तीव्र पार्ने उद्देश्यमा सहमति जनाएका छन् । ‘हामीले दुबईमा जीवाष्म इन्धनको युग पल्टाउन सकेनौँ, यो नतिजा अन्त्यको सुरुवात हो,’ संयुक्त राष्ट्रसंघ, जलवायु परिवर्तनका कार्यकारी सचिव साइमन स्टिलले आफ्नो समापन भाषणमा भने, ‘अब सबै सरकार र व्यवसायीले ढिलाइ नगरी यी वाचालाई वास्तविकतामा परिणत गर्न आवश्यक छ ।’ ‘जलवायुको विश्वव्यापी समीक्षा’लाई कोप– २८ को केन्द्रीय नतिजा मानिन्छ । यसमा वार्तामा भएका सबै तत्त्वहरू समावेश छन् । अब सन् २०२५ सम्ममा हुने जलवायु कार्ययोजना विकास गर्न देशहरूले यी नतिजा प्रयोग गर्न सक्छन् । ‘जलवायुको विश्वव्यापी समीक्षा’ले तापमान वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित राख्न विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनलाई सन् २०१९ स्तरको तुलनामा सन् २०३० सम्ममा ४३ प्रतिशत घटाउनुपर्ने विज्ञानलाई मान्यता दिएको छ । तर, यसले पेरिस सम्झौताका लक्ष्यहरू पूरा गर्ने कुरामा पक्ष राष्ट्रहरू प्रतिबद्धता पालनाबाट टाढा रहेका उल्लेख गरेको छ । उक्त समीक्षाले पक्ष राष्ट्रहरूलाई विश्वव्यापीस्तरमा नवीकरणीय ऊर्जा क्षमताको तीन गुणा वृद्धि र सन् २०३० सम्ममा ऊर्जा दक्षता सुधारलाई दोब्बर बनाउने कार्यहरू गर्न आह्वान गरेको छ । समीक्षाको सूचीमा कोइला ऊर्जाको प्रयोग चरणबद्ध रूपमा घटाउन प्रयास गर्ने, जीवाष्म इन्धनको अनुदानलाई चरणबद्ध रूपमा हटाउनेलगायत समावेश छन् । यसैगरी, ऊर्जा प्रणालीमा जीवाष्म इन्धनबाट संक्रमणलाई अन्त्य गर्न न्यायसंगत, व्यवस्थित र समतामूलक ढंगमा विकसित देशहरूले नेतृत्व लिनुपर्नेमा जोड दिइएको छ । छोटो अवधिमा अर्थतन्त्रव्यापी उत्सर्जन घटाउने लक्ष्यहरू सबै हरितगृह ग्यास, क्षेत्र र वर्गलाई समेट्ने र सन् २०२५ सम्ममा तिनीहरूलाई जलवायु कार्ययोजनाको अर्को चरणमा तापक्रम १।५ डिग्री सेल्सियसमा सीमित राख्न पक्ष राष्ट्रहरूलाई महत्वाकांक्षी योजनाका साथ अगाडि आउन प्रोत्साहित गरिएको छ । प्रभावितको उत्थानका लागि सहयोग दुई साता लामो कोप– २८ सम्मेलन यही डिसेम्बर १ र २ तारिखमा ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को साथ सुरु भएको थियो । जसमा एक सय ५४ राष्ट्र–सरकारप्रमुख सहभागी भएका थिए । यस सम्मेलनमा जलवायुजन्य हानिनोक्सानी कोषको परिचालन र कोषको व्यवस्था गर्ने सम्बन्धमा पक्षराष्ट्र ठोस निर्णय गरेर ऐतिहासिक सहमतिमा पुगेका छन् । कोष स्थापनासँगै विभिन्न मुलुकले कोषमा सात सय मिलियन अमेरिकी डलरभन्दा बढीको प्रतिबद्धतासमेत जनाएका थिए । विपत् जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघको कार्यालय र हानिनोक्सानीका लागि स्यान्टियागो नेटवर्कको सचिवालयको आयोजना गर्नेछ भन्ने सहमतिसँगै हानिनोक्सानीको एजेन्डामा थप प्रगति भएको छ । यस मञ्चले विशेषगरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट जोखिममा रहेका विकासोन्मुख देशहरूलाई प्राविधिक सहयोगलाई उत्प्रेरित गर्नेछ । पक्षराष्ट्र ‘अनुकूलनमा विश्वव्यापी लक्ष्य’ ९जिजिए० र यसको ढाँचाका लागि लक्ष्यमा सहमत भएका छन्, जसले परिवर्तनशील जलवायुको प्रभावसँग लचिलो हुन र देशहरूको प्रयासको मूल्यांकन गर्न विश्वलाई कहाँ पुग्न आवश्यक छ भनेर पहिचान गर्नेछ । जिजिए ढाँचाले अनुकूलन लक्ष्यहरू र तिनीहरूलाई प्राप्त गर्नका लागि वित्त, प्रविधि र क्षमता–निर्माण समर्थनको आवश्यकतामा विश्वव्यापी सहमति झल्काउँछ । जलवायु वित्तमा वृद्धि सम्मेलनमा जलवायु वित्तमाथिको छलफल केन्द्रमा थियो । तसर्थ हरित जलवायु कोषले आफ्नो दोस्रो पुनः पूर्तिका लागि प्राथमिकता प्राप्त गरेको छ । यसमा ६ देशले कोप– २८ मा नयाँ कोषको प्रतिबद्धता गरेका छन् । कोषमा कुल ३१ देशबाट १२।८ विलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । आठ दाता राष्ट्रले अतिकम विकसित देश कोष र विशेष जलवायु परिवर्तन कोषमा कुल एक सय ७४ मिलियन अमेरिकीभन्दा बढीको नयाँ प्रतिबद्धता घोषणा गरेका छन् । साथै कोप– २८ मा अनुकूलन कोषमा हालसम्म कूुल एक सय ८८ मिलियन अमेरिकी डलरको नयाँ प्रतिबद्धता गरिएको छ । यद्यपि, विश्वव्यापी समीक्षामा देखाइएअनुसार यी वित्तीय प्रतिबद्धता स्वच्छ ऊर्जा संक्रमण, उनीहरूको राष्ट्रिय जलवायु योजना र अनुकूलन प्रयास कार्यान्वयन गर्नका लागि विकासशील देशलाई सहयोग गर्न पर्याप्त छैन । कोप– २८ मा विश्व नेताहरू, नागरिक समाज, व्यवसायी, आदिवासी–जनजाति, युवा, परोपकारी र अन्तर्राष्ट्रिय संस्था सन् २०३० मा अन्तरहरू हटाउने साझा संकल्पका भावनाका साथ सहभागी भएका थिए । सम्मेलनमा लगभग ८५ हजार सहभागीले भाग लिएर विचार, समाधान र साझेदारी निर्माण गर्न साझेदारी र गठबन्धन गरेका थिए । सम्मेलनका निर्णयले जलवायु कार्यमा संलग्न हुन सबै सरोकारवालालाई विशेष गरी जलवायु सशक्तीकरणका लागि कार्य र लैंगिक कार्ययोजनामार्फत सशक्त बनाउने महत्वलाई पनि जोड दिएको छ । कोप– २९ अजरबैजान र कोप– ३० ब्राजिलमा हुने औपचारिक वार्ताको समानान्तरमा, कोप– २८ मा ग्लोबल क्लाइमेट एक्सन स्पेसले सरकार, व्यवसाय र नागरिक समाजलाई उनीहरूको वास्तविक–विश्व जलवायु समाधान सहकार्य गर्न र प्रदर्शन गर्न मञ्च प्रदान गरेको थियो । सम्मेलनले खाद्य र जनस्वास्थ्य प्रणालीको उत्थानशील बढाउन र कृषि र मिथेनसँग सम्बन्धित उत्सर्जन कम गर्ने उल्लेख गरेको छ । कोप– २८ मा ‘परिष्कृत पारदर्शिता ढाँचा’ मा भएको वार्ताले पेरिस सम्झौता कार्यान्वयनको नयाँ युगका लागि आधार तयार गरेको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तनले पारदर्शिता रिपोर्टिङ र पक्षहरूद्वारा प्रयोगका लागि समीक्षा उपकरणहरू विकास गर्नेछ । यस सम्मेलनले ११–२२ नोभेम्बर २०२४ सम्म कोप– २९ को आयोजकको रूपमा अजरबैजानलाई र १०–२१ नोभेम्बर २०२५ सम्म कोप– ३० को आयोजकको रूपमा ब्राजिललाई स्वीकार गर्ने निर्णय गरेको छ । कोप– २९ मा सरकारले जलवायु चुनौतीको मात्रा र जरुरी झल्काउँदै नयाँ जलवायु वित्त लक्ष्य स्थापना गर्नुपर्नेछ । कोप– ३० मा तिनीहरू नयाँ राष्ट्रिय रूपमा निर्धारित योगदानका साथ तयार हुनुपर्नेछ ।नयाँपत्रिकाबाट ।

दूरसञ्चार प्राधिकरणद्धारा तीनवटा सेवा प्रदायकको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तीनवटा सेवा प्रदायकहरूले अनुमतिपत्र खारेज गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ९इ–मेल०सहितको दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका कम्पनीको इजाजत खारेज गरिएको हो । तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेका कारण युनाइटेड टेलिकम लिमिटेड, म्याक्स नेट सोलुसन प्रा।लि। र चितवन नेटवर्क प्रा।लि।को अनुमतिपत्र प्राधिकरणले खारेज गरेको हो । दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ९५० बमोजिम दर्ता खारेज गरिएको प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको छ ।

राष्ट्रपति पौडेलद्वारा गौतमको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का महासचिव डा। भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् । गौतमले गत मंसिर २४ गतेदेखि लागु हुनेगरी आफ्नो पदबाट राजीनामा दिएका थिए । सोही मितिदेखि नै लागु हुनेगरी राजीनामा स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।