माओवादी केन्द्रको नेतृत्व सडकको आवाजले परिवर्तन हुँदैन: हरिबोल गजुरेल
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक दोस्रो दिन पनि जारी छ। बिहीबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राखिरहेका छन्। शुक्रबार उपमहासचिव हरिबोल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको विकल्प नभएको बताए।
गजुरेलले माओवादी केन्द्रलाई आन्दोलनकारी शक्ति भएको उल्लेख गर्दै सडकको आवाजले नेतृत्व परिवर्तन नहुने स्पष्ट पारे। उनले भने, “सडकको आवाजले सरकार परिवर्तन हुन सक्छ, तर पार्टीको नेतृत्व परिवर्तन पार्टीभित्रको छलफल र महाधिवेशनबाट मात्र टुङ्गिन्छ।” नेतृत्व उमेरको आधारमा नभई विचार र क्रान्तिकारी कार्ययोजनाको आधारमा चयन हुने उनको भनाइ छ।
खुर्कोटलाई नयाँ सहर बनाउने काम सुस्त
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित खुर्कोटलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा अघि बढिरहेको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले छोएका १२ स्थानलाई नयाँ सहरको रूपमा विकास गर्ने सरकारी योजनाअन्तर्गत २०७० सालदेखि सुरु गरिएको खुर्कोट नयाँ सहर परियोजना एक दशकभन्दा बढी समय बित्दा पनि अपेक्षित भौतिक प्रगति हुन सकेको छैन । सरकारको लक्ष्य २० वर्षभित्र खुर्कोटलाई आधुनिक सहरमा रुपान्तरण गर्ने रहेको छ । परियोजनाअनुसार एक लाख जनसंख्या अट्ने पूर्वाधार निर्माण गर्ने योजना छ । २०७० सालमा आयोजना कार्यालय स्थापना भए पनि १२ वर्षपछि पनि काम मनग्गे हुन नसकेको स्थानीयवासी रामकृष्ण श्रेष्ठको गुनासो छ । उनले भने, “जग्गा एकीकृत गरेर सहर बनाउने भन्दै मेरो करिब एक रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर न त तय गरेजस्तो विकास भएको छ, न त जग्गा फिर्ता भएको छ ।” बर्षेनि करोडौँको बजेट आए पनि काम देखिने गरी अघि नबढेको भिमेश्व खुर्कोट जग्गा विकास उपभोक्ता समितिका अध्यक्ष टिकाबहादुर देवकोटाले बताए । “अहिलेसम्म नयाँ सहर आयोजनाले भवन मात्रै बनाएको देखिन्छ, अन्य प्रगति खासै छैन,” उनले भने । आयोजना कार्यालयका अनुसार ३३२ किसानको ६७८ रोपनी जग्गा एकीकृत गरेर पूर्वाधार निर्माणको काम भइरहेको छ । हालसम्म जग्गा एकीकरणको भौतिक प्रगति करिब ६० प्रतिशत पुगेको छ । वि.सं. २०९० सम्म काम सम्पन्न गर्ने लक्ष्यसहित एक अर्ब रुपैयाँ लागतको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी सुरु गरिएको यस परियोजनामा हालसम्म करिब ८७ करोड रुपैयाँ खर्च भएको छ । हालसम्मका प्रमुख उपलब्धिमा बहुउद्देश्यीय सामुदायिक भवन चारवटा, अस्थायी बसपार्क, खेलमैदान, पार्क, खानेपानीका चार योजना, १६६ सौर्यबत्ती, १६.७ किमी ट्रयाक खोल्ने र स्तरउन्नति सडक, १०.५ किमी कालोपत्रे सडक, ६०० मिटर ढलान, १४ किमी नाला, ३०० मिटर फुटपाथ तथा कभर्ड हल निर्माण रहेका छन् । निमित्त आयोजना प्रमुख सन्तोषकुमार निरौलाका अनुसार गुठी जग्गा एकीकरणको समस्या, बजेटको न्यून विनियोजन, मुआब्जा विवाद र गुठी संस्थानलाई दिनुपर्ने क्षतिपूर्तिको बजेट अभावले काम ढिलो भएको हो । वार्षिक बजेटको आकार घटबढ हुँदा पनि लक्ष्यअनुसार काम अघि बढ्न नसकेको उनले बताए । एकीकृत जग्गा फिर्ता गर्ने काम चालु आर्थिक वर्ष ०८२/०८३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । गोलन्जोर गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष रेगनराज थापाका अनुसार सबै एकीकृत जग्गामा पुग्ने सडक निर्माण सम्पन्न भइसकेको छ । “नक्साङ्कन सकेर फाइल मालपोत कार्यालयमा पेस भइसकेको छ । तर त्यहाँको प्रक्रिया लामो भएकाले फाइल अड्किएको छ,” उनले भने ।
वीरगञ्ज नाकाबाट पहिलो दुई महिनामा १७ अर्बको सामान निर्यात
पर्सा । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट रु १७ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा रु १० अर्ब ९८ करोडभन्दा बढीको वस्तु तथा सामान निर्यात भएको हो । गत आवको पहिलो दुई महिनामा यस नाकाबाट रु छ अर्ब पाँच करोड मूल्य बराबरको वस्तु तथा सामान निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज नाका हुँदै चालु आवको दुई महिनामा निर्यात उत्साहजनक भएको बताए । “गत आवको दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा यहाँबाट हुने निर्यात १८१ प्रतिशतले वृद्धि भएको छ”, उनले भने, “गत आवको दुई महिनामा यहाँबाट हुने वैदेशिक व्यापारको अनुपात १ः२० रहेको अहिले सो अनुपातमा सुधार भएर १ः६० मा पुगेको छ ।” वीरगञ्ज नाका हुँदै चालु आवको दुई महिनामा रु आठ अर्ब ८४ करोड मूल्य पर्ने रु चार करोड २८ लाख २४ हजार ८७१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने तीन लाख मूल्य पर्ने ४८० लिटर भटमासको तेल प्रशोधित निर्यात भएको थियो । त्यस्तै चालु आवको दुई महिनामा रु एक अर्ब २४ करोड मूल्य पर्ने रु एक करोड २६ लाख ९५ हजार ७३२ लिटर फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने रु एक अर्ब २९ करोड मूल्य पर्ने रु एक करोड ३६ लाख ४८ हजार १५५ लिटर जुस निर्यात भएको थियो । चालु आवको दुई महिनामा एक अर्ब १७ करोड मूल्य बराबरको तीन करोड ४१ लाख १३ हजार २३० लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने नगन्य मात्रामा मात्रै निर्यात भएको थियो ।
दिक्तेल बजारमा दसैँको चहलपहल बढ्यो
खोटाङ । दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका चाडपर्व नजिकिएसँगै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्ने तथा सहरबाट जिल्ला भित्रिने सर्वसाधारणको चहलपहल बढेको हो । चाडपर्व नजिकिएसँगै जिल्लामा दैनिक रु ५० देखि रु ६० लाखसम्मको आर्थिक कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिए । “सबै व्यापारीलाई तोकिएको दरमा सामान बिक्री गर्न र ग्राहकलाई सकेसम्म छुट दिन आग्रह गरेका छौँ । व्यापारीले पनि धेरै नाफा कमाउनेभन्दा सुपथ मूल्यमा सामान बिक्री गरिरहेका छन्”, उनले भने, “केही दिनअघिसम्म सुनसान रहेको दिक्तेल बजार पछिल्ला दुई दिनदेखि ग्राहकको भीड निकै बढेको छ । यसले व्यवसायीको कारोबार राम्रो भइरहेको छ ।” जिल्लामा कुखुराको अन्डा उत्पादन कम भएकाले तराईबाट ल्याउनुपर्दा मूल्यमा केही वृद्धि भएको व्यापारीले बताएका छन् । यस्तै खाने तेलको मूल्य पनि केही बढेको र अन्य उपभोग्य वस्तु भने सुपथ मूल्यमै बिक्री भइरहेको वाणिज्य सङ्घले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष व्यापार/व्यवसायमा धेरै सुधार भएको व्यापारीहरू बताउँछन् । चाडपर्वमा खपत हुने सामानको बिक्री बढी भएको र ग्रामीण क्षेत्रबाट समेत उपभोक्ता आएकाले कारोबार बढेको उनीहरूको भनाइ छ । स्थानीय उपभोक्ताले पनि दसैँ नजिकिँदै गर्दा बजारमा सामानको विविधता र आपूर्ति सहज भएको अनुभव गरेका छन् । तर, कतिपयले भने अन्डा र तेलजस्ता केही सामानको भाउ बढेको गुनासो गरेका छन् । जिल्लास्थित सरोकारवाला निकायले चाडपर्वका बेला बजार व्यवस्थापन, मूल्य नियन्त्रण र उपभोक्ताको सुरक्षामा अझ ध्यान दिनुपर्ने बताएका छन् । ग्रामीण भेगमा सञ्चालित पसलमा म्याद नाघेका अखाद्यवस्तु बिक्री भइरहेकाले त्यसतर्फ ध्यान दिन सरोकारवाला निकायले आग्रह गरेका छन् । चाडपर्वका अवसरमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न अनुगमन तथा सुरक्षाको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका दश वटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा सञ्चालित हाटबजार तथा पसल अनुगमन गरिरहेका छन् । चाडपर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले जिल्लाका तीन स्थानमा सुपथ मूल्यको पसलसमेत सञ्चालनमा ल्याएको छ । दसैँ, तिहार, नेपाल संवत् तथा छठजस्ता चाडपर्वलाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिक्तेल बजारसहित ऐसेलुखर्क र खोटेहाङ गाउँपालिकामा चामलको सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो । जिल्लामा खोलिएका सुपथ मूल्यको पसल आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सुजनबाबु आचार्यले जानकारी दिए। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीकै कार्यालय र गोदाम, ऐसेलुखर्कमा डिपो कार्यालय र खोटेहाङ गाउँपालिकामा डिपो कार्यालयबाट सस्तो मूल्यमा चामल बिक्री सुरु गरिएको हो ।
जेनजी प्रदर्शनमा मृतकको सङ्ख्या ७५ पुग्यो
काठमाडौँ । जेनजी प्रदर्शनमा आगजनीमा परेकी थप एक जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज स्थित पूर्व सांसद अनिल रुङ्गाटाको घरमा आगजनी हुँदा त्यहाँ काम गर्ने कौशिला देवी दुसाद्नीको उपचारको क्रममा मृत्यु भएको हो । ४५ वर्षीया कौशिलादेवीको कीर्तिपुर स्थित बर्न अस्पतालमा बिहीबार मृत्यु भएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए । प्रदर्शनकारीले भदौ २४ मा रुङ्गाटाको घरमा आगजनी गरेका थिए । जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७५ पुगेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका सङ्ख्या ७३ पुगेको डीआईजी घिमिरेले बताए । प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा असई मिलन राय, सहायक हवलदार अमृत गुरुङ र जवान उत्तम थापा छन् । नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थलमा र अस्पतालमा उपचारको क्रममा २१ जनाले ज्यान गुमाएका छन् । प्रदर्शनकारीतर्फ बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योग बहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बावु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चङ्खे’ छन् । कैदीबन्दी तथा बाल बन्दीतर्फ १० जनाको मृत्यु भएको छ ।
मतदाता नामावली सङ्कलन सुरु
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन सुरु गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको भोलिपल्टै आयोगले नामावली सङ्कलन पुनः सञ्चालन गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नामावलीमा नाम दर्ता गराउन १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिक जिल्ला निर्वाचन कार्यालय वा प्रदेश निर्वाचन कार्यालयमा पुग्नुपर्ने बताए । आयोगले नामावली दर्ताका लागि २०८२ कात्तिक ३० गतेसम्मको समयसीमा तोकेको छ । कात्तिक ३० पछि निर्वाचन कार्यक्रम सुरु हुने हुँदा नामावली सङ्कलनका लागि सो समयसीमा तोकिएको प्रवक्ता भट्टराईले बताए । सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ देखि बेलुकी ६ बजेसम्म नामावली दर्ता हुने छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेका छन् ।
भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन
भोजपुर । जिल्लामा रेविज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ । प्राण घातक रेविज रोग निन्यन्त्रण तथा रोकथामका लागि साप्ताहिक खोप अभियान सञ्चालन गरिएको हो । यो अभियानमार्फत गाउँघरमा रहेका कुकुर तथा विरालालाई निःशुल्क खोप लगाउने काम जारी रहेको भेटेरेनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रलेका प्रमुख पुष्पराज दाहालले जानकारी दिए । “रेविज रोग नियन्त्रणको लागि निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ” उनले भने, “यो अभियानमार्फत घरपालुवा सम्पूर्ण कुकुर, बिरालोलाई खोप लगाउँछौँ ।” निःशुल्क खोप अभियान यहि असोज ६ गतेबाट १२ गतेसम्म सञ्चालन भइरहेको केन्द्रले जनाएको छ । अहिले स्थानीयले दैनिक १५/२० कुकुर, बिरालोलाई खोप लगाउनको लागि ल्याउने गरेका छन् । रेविज रोग उन्मुलनका लागि वर्षेनी खोप अभियान सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । रासस
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु, पार्टी पुनर्संरचनामा छलफल हुने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक राजधानीको प्रज्ञा भवनमा सुरु भएको छ। बैठकको सुरुवातमा महासचिव देव गुरुङले ९ वटा एजेन्डा प्रस्तुत गर्नुभएको थियो । केन्द्रीय समिति बैठकका एजेण्डा: १. श्रद्धाञ्जली २. अध्यक्ष प्रचण्डबाट राजनीतिक प्रस्ताव प्रस्तुति ३. प्रस्तावमाथि छलफल ४. विशेष महाधिवेशन सम्बन्धमा ५. फागुन २१ गतेको आम निर्वाचन सम्बन्धमा ६. पार्टी एकता तथा ध्रुवीकरण ७. राहत तथा पुनर्निर्माण ८. जनपरिचालन र जनसम्बन्ध ९. विविध बैठकमा प्रस्तुत एजेन्डाअनुसार पहिलो चरणमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नु भएको छ । अध्यक्ष प्रचण्डले पार्टीको पुनर्संरचनाका विषयमा प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि आज नै समूहगत छलफल गर्ने तय भएको छ । बैठकमा विशेष महाधिवेशनको तयारी, आगामी फागुन २१ गते हुने आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत र पुनर्निर्माणका विषयमा गहन छलफल हुनेछ । यसैगरी, जनपरिचालन र जनसम्बन्ध सुदृढीकरणका विषयमा पनि माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।
वीरगञ्ज भन्सार यार्डमा १७९ सवारीसाधन रोक्का
पर्सा । वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १७९ चारपाङ्ग्रे सवारीसाधन भन्सार जाँचपास नहुँदा रोकिएका छन् । भन्सार कार्यालयका प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार एकीकृत जाँचचौकीमा ७५ र सुक्खा बन्दरगाहमा १०४ सवारीसाधन भन्सार प्रक्रियामा छन् । “आयातकर्ताले चाडपर्व लक्षित गरेर जाँचपास अघि बढाउँदै छन्,” उनले भने, “भन्सार यार्डमा रहेका सवारी क्रमशः प्रक्रिया अनुसार पास हुँदै जानेछन् ।” कार्यालयका अनुसार सुक्खा बन्दरगाहका करिब २० सवारीसाधनको जाँचपास प्रक्रिया सुरु भइसकेको छ भने एकीकृत जाँचचौकीमा रहेका सवारीसाधनको पनि आवश्यक काम अघि बढेको छ । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाका हुँदै रु ७ अर्ब १६ लाख बराबरका सवारीसाधन र पार्टपुर्जा आयात भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब ७५ करोड बढी हो । गत आवको दुई महिनामा करिब रु ५ अर्ब २५ करोड बराबरका सवारीसाधन र पार्टपुर्जा आयात भएका थिए ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, अध्यक्ष प्रचण्डको प्रस्तावमा छलफल हुने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बिहान ११ बजे प्रज्ञा भवन, कमलादीमा बस्दैछ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको पुनर्संरचनाका विषय, जेनजी विद्रोहपछिको राजनीतिक अवस्था र भावि रणनीति समेटेर राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । अध्यक्षले प्रस्ताव प्रस्तुत गरेपछि समूहगत छलफल हुनेछ । विशेष महाधिवेशन, आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण र जनपरिचालनलगायतका विषयमा पनि पार्टीको केन्द्रीय समिति बैठकमा छलफल हुनेछ । अध्यक्ष प्रचण्डले पार्टीभित्र युवाहरुलाई नेतृत्वमा ल्याउनका लागि विशेष प्रस्ताव गर्नुहुने स्रोत भनाइ छ । पार्टीको पुनर्संरचना गरेर निर्वाचनमा जानका लागि विशेष महाधिवेशन गर्नुपर्ने माओवादीको तयारी छ । केन्द्रीय समिति बैठकका एजेण्डा: १. श्रद्धाञ्जली २. अध्यक्ष प्रचण्डबाट राजनीतिक प्रस्ताव प्रस्तुति ३. प्रस्तावमाथि छलफल ४. विशेष महाधिवेशन सम्बन्धमा ५. फागुन २१ गतेको आम निर्वाचन सम्बन्धमा ६. पार्टी एकता तथा ध्रुवीकरण ७. राहत तथा पुनर्निर्माण ८. जनपरिचालन र जनसम्बन्ध ९. विविध
गुल्मीमा चट्याङ लाग्दा चार वर्षीया बालिकाको मृत्यु, दुई जना घाइते
गुल्मी । पश्चिम गुल्मीको मदाने गाउँपालिका–५ झ्यानपानीमा बुधबार राति चट्याङ लाग्दा चार वर्षीया रियासा विकको मृत्यु भएको छ । रियासा आफ्ना बुबा नेरसिंह विक (२३) र आमा सुन्तली विक (२२)सँग घरमा सुतिरहेको बेला अचानक चट्याङ परेको थियो । चट्याङ लागेर नेरसिंहको छाती र पेटमा, र सुन्तलीको पेट तथा दायाँ खुट्टामा नीलडाम परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनास्थलमै रियासाको मृत्यु भएको हो । घाइते नेरसिंह र सुन्तलीको स्थानीय मेडिकल मलागिरीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल प्यूठानमा लगिएको प्रहरीले जानकारी दिएको छ ।
मतदाता नामावली सङ्कलनकाे बाटो खुला
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ संशोधन सम्बन्धी अध्यादेश जारी गरेपछि चार महिनादेखि रोकिएको मतदाता नामावली सङ्कलन फेरि सुरु हुने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुने मिति तोकिएसँगै नामावली सङ्कलन रोकिन पुगेको थियो । ऐनमा “निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि नाम दर्ता गरिने छैन” भन्ने प्रावधानले प्रक्रिया अवरुद्ध भएको थियो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सरकारको सिफारिसमा जारी गरिएको अध्यादेशले उक्त कानुनी अवरोध हटाएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अब छिट्टै नामावली दर्ता प्रक्रिया सुरु हुने र कात्तिक २० गतेसम्म सङ्कलन चल्ने जानकारी दिए । आयोगले वर्षैभरि जिल्ला निर्वाचन तथा प्रशासन कार्यालयमार्फत नामावली अद्यावधिक गर्ने प्रथा रहेको छ । आयोगको नयाँ व्यवस्थाले तोकिएको समयअघि निर्वाचन हुने अवस्थामा पनि आयोगले मिति तोकी नाम दर्ता गर्न सक्नेछ । गृहमन्त्री ओमप्रकाश अर्यालको पहलमा तयार भएको संशोधन मसौदा असोज ६ गते सरकारले पेश गरेको थियो । आयोगको पछिल्लो विवरणअनुसार नेपालमा १ करोड ८१ लाख २८ हजार ८३२ जना मतदान योग्य मतदाता छन् ।
देशभर ४५ जिल्लामा खुले सहुलियत पसल
काठमाडौँ। देशभर ४५ जिल्लाका विभिन्न स्थानमा दसैँ, तिहार र छठ लक्षित सुपथ मूल्य पसल सञ्चालनमा छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्रका अनुसार काठमाडौँ उपत्यकाभित्र थापाथली, रामशाहपथ, दक्षिणकाली बिक्री केन्द्र तथा ललितपुरको नख्खु खाद्य गोदाम परिसरमा सहुलियत पसल सञ्चालनमा छन् । वार्षिक स्वीकृत कार्यक्रम बजेटको सीमाभित्र रही घटस्थपनाको एक साता अघि अर्थात् भदौ ३० गतेदेखि छठ पर्वसम्म खाद्य कम्पनीका वस्तुहरूको मूल्यमा केही छुट गरी बिक्री वितरण गरिएको उनको भनाइ छ । प्रतिकिलो पाँच रुपियाँ छुट उनका अनुसार सबै किसिमका चामल र गहुँ दानामा प्रतिकिलो पाँच रुपियाँ छुट दिइएको छ । यसैगरी, चिनी तथा सबै किसिमका दालहरू, चना, भटमास, केराउ तथा गेडागुडीमा प्रतिकिलो पाँच रुपियाँ छुट दिइएको छ । प्रतिकिलो सात रुपियाँ छुट सबै किसिमका खाने तेल (तोरी, सनफ्लावर, भटमासको तेल) मा प्रतिलिटर सात रुपियाँ तथा चिउरा, आटा, पिठो, मैदामा पनि प्रतिकिलो सात रुपियाँ छुट दिइएको उहाँको भनाइ छ । प्रतिकिलो दस रुपियाँ छुट यसैगरी, चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुहरू कर्णालीको सिमी, फापरको दाना, कागुनो, उवा, जुम्ली मार्सी, बासमतिमा प्रतिकिलो दस रुपियाँ छुट छ । जिउँदो खसी, बोका, च्याङ्ग्रामा पनि प्रतिकिलो दस रुपियाँ छुट दिइएको छ । उनका अनुसार देशका ४५ जिल्लाका एक सय ११ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गरेको छ । ४५ जिल्लाहरूमा झापा, ताप्लेजुङ, मोरङ, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, रसुवा, कास्की, तनहुँ, गोरखा, लमजुङ, मनाङ, जोमसोम, रूपन्देही, बाँके, दाङ, बर्दिया, रोल्पा, रुकुम पूर्व, गुल्मी, सुर्खेत, रुकुम पश्चिम, दैलेख, डोल्पा, कालिकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, डोटी, बैतडी, दार्चुला, कन्चनपुर, अछाम लगायतका जिल्लामा सहुलियत पसल सञ्चालनमा छन् । मिश्रले भने, “सुपथ मूल्य पसल ४५ जिल्लाको एक सय ११ स्थानमा सञ्चालनमा छन् । उपभोक्ताको उपस्थिती पनि एकदम राम्रो छ । दैनिक एक करोडभन्दा बढीको कारोबार भएको छ ।” साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार साल्ट ट्रेडिङ्गले काठमाडौँ उपत्यकाभित्र १२ स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ । यस्तै, देशभरमा आफ्ना कार्यालय रहेका स्थानमा साल्ट ट्रेडिङ्गले सहुलियत पसल सञ्चालन गरेको छ । राजभण्डारीले कालीमाटी, सतुङ्गल, कोटेश्वर, काँडाघारी, कौशलटार, जावलाखेल, सिफल, कपन, बालाजु, इमाडोल, महाराजगन्जलगायतका स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ । उनले भने, “काठमाडौँ उपत्यकाको १२ स्थानमा छ । गएको भदौ ३० गतेदेखि नै सुपथ पसल सुरु भइसकेको छ । चिनीमा प्रतिकिलो पाँच रुपियाँ, नुनमा प्रतिकिलो दुई रुपियाँ, तेलमा प्रतिलिटर सात रुपियाँ छुट दिइएको छ ।”
विघटन भएकाे प्रतिनिधिसभाबाट अढाई वर्षमा बने ३४ कानुन
काठमाडौं । प्रतिनिधि सभा विघटन हुनुअघि सङ्घीय संसद्ले ३५ विधेयक पारित गरे पनि ३४ मात्र प्रमाणीकरण भएका छन् । संवैधानिक परिषद्सम्बन्धी एक विधेयक भने राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएपछि निष्क्रिय बनेको छ । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए । अढाई वर्षको अवधिमा पारित ३४ कानुनमा मूल तथा संशोधन दुवै प्रकारका विधेयक समावेश छन् । तर विधायन प्रक्रियाको अन्तिम चरणमा पुगेका ३० विधेयक निष्क्रिय भएका छन् । राष्ट्रिय सभाबाट सुरु भई विचाराधीन तीन विधेयक भने यथावत् छन् । सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीका अनुसार, “३५ विधेयक पारित भए पनि ३४ मात्र प्रमाणीकरण भएका छन् । संवैधानिक परिषद् विधेयक पुनर्विचारका लागि फिर्ता आएपछि निष्क्रिय सूचीमा परेको हो,” उनले भने । संसद् सचिवालयका अनुसार तेस्रो अधिवेशनमा २, चौथोमा १५, पाँचौँमा १० र छैटौँमा ८ विधेयक पारित भएका थिए । पाँचौँ अधिवेशनमा पारित संवैधानिक परिषद्सम्बन्धी विधेयक २०८२ साउन ८ गते राष्ट्रपति मार्फत फिर्ता भएको र त्यसपछिको प्रक्रिया अघि बढ्न सकेको थिएन । तेस्रो अधिवेशनमा अनुगमन तथा मूल्याङ्कन विधेयक र सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी संशोधन विधेयक पारित भएका छन् । चौथो अधिवेशनमा खाद्य स्वच्छता तथा गुणस्तर, सुरक्षण मुद्रण, मुलुकी संहिता संशोधन, भन्सार महसुल, बेपत्ता छानबिन–सत्य निरूपण तथा मेलमिलाप आयोग, लगानी सहजीकरण, नेपाल विश्वविद्यालय, सार्वजनिक सेवा प्रसारण, सुरक्षित कारोबार, भ्रष्टाचार निवारण (पहिलो संशोधन) लगायतका विधेयक पारित भएका छन् । पाँचौँ अधिवेशनमा विद्युतीय व्यापार, सहकारी ऐन संशोधन, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह, निजीकरणसम्बन्धी विधेयक पारित भएका छन् । छैटौँ अधिवेशनबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान, भन्सार तथा नागरिकता सम्बन्धी विधेयकसँगै दुई आर्थिक वर्षका विनियोजन, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पनि पारित भएका छन् । संसद्को अढाई वर्षे अवधिमा सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी लगायतका ३० महत्वपूर्ण विधेयक भने दुवै सदनबाट पारित हुन सकेनन् । निजामती विधेयक अन्तिम चरणमै रोकिएको सचिवालयले जनाएको छ ।
रुसले भन्याे-युक्रेनमा आक्रमण जारी राख्नबाहेक कुनै विकल्प छैन
मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भनेको दाबीलाई अस्वीकार गर्दै क्रेमलिनले बुधबार युक्रेनमा सैन्य आक्रमण जारी राख्नुबाहेक अरू विकल्प नभएको घोषणा गरेको छ । ट्रम्पले युक्रेनले आफ्नो सम्पूर्ण भूभाग फिर्ता लिन सक्ने भन्दै रुसलाई असफल अर्थतन्त्र भएको ‘कागजी बाघ’ का रूपमा चित्रण गरेको एक दिनमै मस्कोले प्रतिक्रिया दिएको हो । “राष्ट्रपति भ्लादिमिर पुटिनले तोकेको लक्ष्य प्राप्त गर्न र हाम्रो राष्ट्रिय चासो सुरक्षित गर्न विशेष सैन्य अभियान जारी राख्नेछौँ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “यो हामी हाम्रो वर्तमान र भविष्यका लागि मात्र होइन, आउने पुस्ताका लागि गरिरहेका छौँ । त्यसैले, हामीसँग कुनै विकल्प छैन ।” पेस्कोभले ट्रम्पको टिप्पणी अस्वीकार गर्दै रुसले द्रुत वृद्धि र लगातार मुद्रास्फीति बीच सुस्त अर्थतन्त्रको चुनौती भोगिरहेको स्वीकार गरे । तर, उनले जोड दिए, “रुसले आफ्नो समष्टि आर्थिक स्थिरता कायम राखेको छ, यद्यपि केही क्षेत्रमा तनाव र समस्याहरू छन् ।” उनले मस्को–वासिङ्टन सम्बन्ध सुधारका लागि गरिएको प्रयासलाई पनि नकारात्मक रूपमा मूल्याङ्कन गरे । जनवरीमा ट्रम्प ह्वाइट हाउस फर्केपछि सुरु भएको मेलमिलाप प्रयासको परिणाम ‘शून्यको नजिक’ भएको बताए । “यो प्रक्रिया सुस्त छ, अत्यन्तै सुस्त”, पेस्कोभले भने । मस्कोले युक्रेन द्वन्द्वभन्दा पर गएर अमेरिकासँग कूटनीतिक र आर्थिक सहयोग विस्तार गर्ने प्रयास गरिरहेको भए पनि परिणाम अझै न्यून देखिएको उनले स्वीकार गरे । रासस
बागमती प्रदेशका मन्त्रालय घटाउन माओवादीद्वारा माग
हेटौँडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउन माग गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउन माग गर्ने निर्णय गरेको हो । बैठकले प्रदेशका मन्त्रालयहरूको सङ्ख्या घटाएर प्रशासनिक खर्च कटौती गर्न पुनः माग गर्ने निर्णय गरेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए । बैठकले प्रदेश सरकारको प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन र सेवा प्रवाहलाई चुस्त बनाउन मन्त्रालयको सङ्ख्या घटाउनुपर्ने आफ्नो पुरानो अडानलाई पुनः दोहोर्याएको उनले बताए । बैठकले प्रदेश सरकारका काम कारबाहीमा सशक्त र रचनात्मक भूमिका खेल्ने निर्णय गरेको उनले बताए । नागरिकको जनजीविकाका सवालमा सरकारलाई निरन्तर खबरदारी गर्ने र रचनात्मक प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउने रणनीति तय गरिएको उनको भनाई छ । उनका अनुसार बैठकले प्रदेश सरकारको चालु आर्थिक वर्षमा पूरक बजेट ल्याउने सरकारको कदमको विपक्षमा रहने निर्णय गरेको छ । बैठकले प्रदेशसभाको रिक्त रहेको सभामुख पदमा सशक्त दाबी प्रस्तुत गर्ने निर्णय गरेको छ ।

