पर्साका आधा दर्जनभन्दा धेरै पालिकाको खाता सञ्चालनमा आएन
वीरगञ्ज । पर्साका १४ पालिकामध्ये आधा दर्जनभन्दा धेरै पालिकाले अझैसम्म पनि बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन् । चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा धेरै समय बित्दासमेत सबै कानुनी प्रक्रिया पूरा गर्न नसक्दा खाता सञ्चालनमा ल्याउन नसकेका हुन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका नौ वटा पालिकाले अझैसम्म पनि खाता सञ्चालनमा ल्याउन नसकेको जानकारी दिए । पर्साका अधिंकाश पालिकाले निर्धारित समयभित्रै चालु आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेनन् भने ल्याएका पालिकाले पनि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न नसक्दा बैंक खाता सञ्चालनमा आउन नसकेको हो ।
बैंक खाता सञ्चालन नहुँदा कर्मचारीको तलब भत्ता र अन्य विकास निर्माणको गतिविधि पनि ठप्पजस्तै छ । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक जोशीले पर्साका आठ वटा स्थानीय तहको अहिलेसम्म पनि खाता सञ्चालनमा नआएको जानकारी दिए ।
‘स्थानीय तहले चालु आवको रकम खातामा माग गर्दा केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, । गाउँ वा नगरसभाबाट पारित भएको नीति कार्यक्रम र बजेट कार्यालयमा नबुझाउँदा र प्रमुख वा गाउँपालिका प्रमुखले अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिँदासम्म आर्थिक गतिविधिका लागि खाता सञ्चालन गर्न नपाइने प्रावधान छ’, उनले भने, ‘सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त भएका स्रोतको पनि सूत्रमार्फत खर्चको लिपिबद्ध गर्नुपर्ने र अन्य कानुनी प्रक्रिया पूरा नभएकाले पनि खाता सञ्चालनमा आउन नसकेको हो ।’
कार्यालयका अनुसार यहाँका यहाँका विन्दवासिनी गाउँपालिका, कालिकामाई गाउँपालिका जगरनाथपुर गाउँपालिका, जिराभवानी गाउँपालिका, धोविनी गाउँपालिका, ठोरी गाउँपालिका, पकहाँ मैनपुर गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, बहुदरमाई नगरपालिकाको भने अहिलेसम्म पनि खाता सञ्चालन हुन सकेको छैन ।
कार्यालयका अनुसार अहिलेसम्म वीरगञ्ज महानगर ,पर्सागढी र पोखरिया नगरपालिका, छिपरमाई गाउँपालिका, पर्टेवासुगौली गाउँपालिकाको भने खाता सञ्चालन भइसकेको छ ।
काठमाडौँ–चीनकाे ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि हुने
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौं–ग्वाञ्जाओ–काठमाडौँ उडान सेवा सुरु गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको छ । निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ । पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते तथा त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ । त्यसपश्चात प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ । काठमाडौँबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर रु ३० हजार र दोहोरो टिकट रु ५० हजार तोकिएको निगमले जनाएको छ । अध्यक्ष अधिकारीले लामो समयको प्रयासपछि चीनको यस महत्त्वपूर्ण सहरमा उडान सेवा विस्तार गर्न सफल भएको बताउनुभयो । निगमले निकट भविष्यमै काठमाडौँबाट दक्षिण कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । काठमाडौँ–ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान भरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित उडान भर्दै आएको छ । नेपालीको बाहुल्यता रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ । नौ देशका ११ गन्तव्यमा उडान नेपाली ध्वजावाहक वायुसेवा निगमको ग्वाञ्जाओ उडानसँगै अब नौ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ । हाल नेपाल वायुसेवा निगमसँग रहेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुबई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैङ्गलुरु, थाइल्याण्डको बैङ्कक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तरराष्ट्रिय उडान भइरहेको निगमले जनाएको छ । देशको शान र पहिचानसँग जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ । रासस
प्रदेश सरकारद्वारा जुम्लामा विपन्नलाई घर
जुम्ला । कर्णाली प्रदेश सरकारको पहलमा जुम्लामा घरबारविहीन विपन्न र दलित परिवारका लागि हालसम्म २०८ वटा आवास निर्माण भएका छन् । पूर्वाधार विकास कार्यालय जुम्लामार्फत विभिन्न स्थानीय तहमा यी आवास निर्माण गरिएको हो । यो कार्यक्रमले घर नहुँदा कठिनाइमा परेका गरिब र दलित परिवारलाई नयाँ घर प्रदान गरेको छ । सामाजिक न्याय र जीवनस्तर उकास्न सञ्चालित यो योजनाले जिल्लाभरका घरबारविहीन परिवारलाई प्रत्यक्ष लाभ पुगेको कार्यालयका नायब सुब्बा धर्मराज रावलले बताए । आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा १८/१८ वटा विपन्न र जनता आवासका घर निर्माण भएका छन् । प्राविधिक हेमन्त न्यौपानेका अनुसार गत वर्ष निर्माण भएका १८ मध्ये पाँच वटा घरको भुक्तानी बाँकी छ । समयमै निर्माण सम्पन्न नहुँदा भुक्तानीमा ढिलाइ भएको उनले बताए । विसं २०७५ देखि सुरु भएको यो कार्यक्रमअन्तर्गत प्रत्येक घर तीन लाख ३३ हजार ६०० रुपियाँको लागतमा निर्माण गरिएको छ । दुई कोठा, बिचमा कोलिया र शौचालयसहितका यी घरहरूले विपन्न परिवारलाई ठूलो राहत पुगेको छ । हाल १४ वटा घर हस्तान्तरण गर्न बाँकी रहेको न्यौपानेले जानकारी दिए । लाभग्राहीहरूले विगतमा बर्खायाममा छानो टालटुल गरेर गुजारा गर्नुपरेको बताएका छन् । नयाँ आवासले उनीहरूलाई सुरक्षित र सम्मानजनक जीवनयापनको अवसर प्राप्त भएको छ । गुठीचौर गाउँपालिका–५, देपालगाउँका धनसिंह सार्कीले यो कार्यक्रमले घरबारविहीन परिवारलाई ठूलो राहत पुगेको बताए । जिल्लाभरका स्थानीय तहबाट सिफारिस भएका घरविहीन परिवारलाई प्राथमिकताका आधारमा आवास हस्तान्तरण गरिएको छ । यो योजनाले सामाजिक न्याय, दिगो बसोबास र गरिबी न्यूनीकरणमा सहयोग पुगेको पूर्वाधार विकास कार्यालयको भनाइ छ । स्थानीय तहका प्रतिनिधिहरूले यो कार्यक्रमले ग्रामीण क्षेत्रका परिवारको जीवनस्तर सुधारमा मद्दत पुगेको भन्दै आगामी वर्षमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
हमासकाे कब्जामा रहेका नेपाली विपिन जोशी फर्केलान त नेपाल ?
गाजा । इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो शहरी केन्द्रलाई घेरी ध्वस्त पार्ने क्रममा हमासको सशस्त्र समूह कासम ब्रिगेडले शनिबार ४८ इजरायली बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ । उक्त तस्बिरमा नेपालका विपिन जोशीको फोटो पनि समावेश गरिएको छ । संकलित तस्बिरमा जीवित र मृतक सबै बन्धकको अनुहार देखाइएको छ । तस्बिरको क्याप्सनमा सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका क्याप्टेन रोन अरदलाई संकेत गर्दै ‘रोन अरद’ उल्लेख गरिएको छ । अरदको एफ–४ फ्यान्टम विमान दक्षिणी लेबनानमा आक्रमणका क्रममा बम विस्फोट हुँदा खसेको थियो । उनलाई अमल आन्दोलनले पक्राउ गरी पछि हिजबुल्लाहलाई सुम्पिएको बताइन्छ । उनको मृत्यु भएको मानिए पनि ठोस प्रमाण उपलब्ध छैन । हमासले तस्बिरसँगै जारी गरेको सन्देशमा भनिएको छ, “नेतन्याहूको इन्कार र जामरको आत्मसमर्पणका कारण, गाजा शहरमा सैन्य कारबाही सुरु भएपछि यो बिदाइ तस्बिर हो ।” यो सन्देश इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्ध अन्त्यका लागि सम्झौता अस्वीकार गर्दै आएका र इजरायली सेना प्रमुख अयाल जामरले सरकारको ‘विजय योजना’प्रति सार्वजनिक आपत्ति जनाए पनि भूमि तथा हवाई आक्रमण जारी राखिएको प्रसङ्गसँग जोडिएको छ । इजरायली अधिकारीका अनुसार करिब २० बन्धक गाजामा अझै जीवित रहेको अनुमान छ । तर अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जीवितको संख्या २० भन्दा कम हुन सक्ने बताएका छन् । नेतन्याहूले सबै जीवित वा मृत बन्धकलाई फिर्ता ल्याउने र हमासलाई ‘नष्ट गर्ने’ प्रतिबद्धता दोहोर्याउँदै आएका छन् । हमासले भने इजरायली आक्रमण तीव्र भएपछि बन्धकको जीवन जोखिममा रहेको चेतावनी दिँदै आएको छ । समूहका अनुसार केही बन्धक इजरायली बमबारीमा मारिइसकेका छन् र बाँकी गाजा शहरका विभिन्न भागमा छरिएका छन् । शनिबारको यो धम्की इजरायलका लाखौँ नागरिक तेल अभिभलगायत सहरको सडकमा उत्रिएर युद्ध अन्त्य र सबै बन्धकको सुरक्षित फिर्तीको माग गर्ने तयारी भइरहेका बेला आएको हो । यसअघि हमासले कुपोषित दुई इजरायली बन्धकको भिडियो सार्वजनिक गरेको थियो, जसमा एक बन्धकलाई आफ्नो चिहान खन्दै गरेको देखाइएको थियो । यी दृश्यहरूले बन्धकका परिवारसँगै इजरायली सरकार र उसका सहयोगी राष्ट्रहरूमा तीव्र आक्रोश पैदा गरेको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार २०२३ अक्टोबरदेखि सुरु भएको युद्धमा इजरायली आक्रमणबाट कम्तीमा ६५ हजार २०८ प्यालेस्टिनी मारिएका छन् र १ लाख ६६ हजार २७१ जना घाइते भएका छन् । गत मार्च १८ मा युद्धविराम भंग भएयता मात्रै १२ हजार ६५३ को मृत्यु र ५४ हजार २३० घाइते भएको मन्त्रालयले जनाएको छ ।
जेनजी आन्दोलनको कारण ओली सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध : लीलामणि पोखरेल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध जेनजी आन्दोलनको मुख्य कारण भएको बताएका छन्। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। पोखरेलले शासन प्रणालीमा बढ्दो अनियमितता, भ्रष्टाचार र बेरोजगारीले युवाहरूमा निराशा बढेको र सरकारको नेतृत्वमा रहेकाहरू परिवारवादमा लिप्त हुँदा जेनजी पुस्ता आन्दोलित भएको बताए। उनले संवैधानिक आयोग र राज्यका निकायहरूमा क्षमता र प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्नुपर्नेमा आफ्ना मान्छे भर्ती गर्ने प्रवृत्तिले जनतामा आक्रोश बढेको उल्लेख गरे। साथै, उनले जेनजी आन्दोलनमा व्यवस्था विरोधी र वैदेशिक शक्तिहरूको घुसपैठ भएको आशंका व्यक्त गरे। मुलुकमा राजनीतिक शून्यता रहेको बताउँदै उनले पार्टी संगठनलाई बलियो बनाएर जनतामाझ जाने नेकपा (माओवादी केन्द्र) को दृढता रहेको जनाए।
अलैँचीको बजार मूल्यमा गिरावट
झापा । नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा शुक्रबार अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको बताए । सबैभन्दा राम्रो गुणस्तरको अलैँचीलाई ‘बोल्ड’ भनिन्छ । उनका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको बजार भाउ प्रतिमन रु ९२ हजार रहेको छ । सामान्य गुणस्तरको अलैँची ‘चालु’ भनेर चिनिन्छ । जसको भाउ प्रतिमन रु ८१ हजार रहेको छ । मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेर चिनिने अलैँचीको भाउ प्रतिमन रु ८४ हजार रहेको अध्यक्ष नेपालले जानकारी दिए । भदौ पहिलो साता अलैँचीको बजार मूल्य अकासिएको थियो । त्यसबेला प्रतिमन रु ९४ हजारसम्ममा अलैँची खरिद–बिक्री भएको थियो । दसैँको सङ्घारमा किसानले घरायसी गर्जो टार्नका लागि सानो मात्रामा अलैँची बजारमा बिक्री गर्न थालेको र अहिले लेकाली अलैँची धमाधम सुकाउने कार्य भइरहेको हुँदा बजारमा अझै धेरै अलैँची आउन बाँकी नै रहेको अध्यक्ष नेपालले बताए । नेपालको ४२ जिल्लामा अलैँची खेती हुने गरेको छ । कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा अलैँची अत्यधिक खेती हुँदै आएको छ । अलैँची व्यवसायी महासङ्घका अनुसार कोशी प्रदेशको सात हजार ५०० हेक्टर र मुलुकभर १७ हजार हेक्टर क्षेत्रफलमा अलैँची खेती हुन्छ । नेपालमा यसको कुल उत्पादन आठ हजार मेट्रिक टनसम्म छ । उत्पादनको पाँच प्रतिशत मात्र घरेलु खपत भएकाले ९५ प्रतिशत उत्पादन विदेश निकासी हुँदै आएको छ । आर्थिक वर्ष २०८१र८२ मा पूर्वी नाका काँकडभिट्टा भएर रु सात अर्ब ६७ करोडको नेपाली अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
राजविराज नगरपालिकामा एउटै कोठाबाट सेवा
सप्तरी । जेनजीको आन्दोलनका क्रममा नगरपालिकामा आगजनी भएपछि राजविराज नगरपालिका पछिल्लो पाँच दिनदेखि एउटै कोठाबाट सञ्चालनमा आएको छ । कार्यालयका अधिकांश कोठा जलेर क्षति भएपछि आगलागीबाट जोगिएको बैठक कोठाबाट कर्मचारीले अत्यावश्यक सेवा दिन थालेका हुन् । नगर प्रमुख इसरत परविनका अनुसार आवश्यक सरसामान नहुँदा पनि जनताका अत्यावश्यक काम रोक्न नसकिने भएकाले बैठक कोठाबाट सेवा सञ्चालन गरिएको हो । उनले भनिन्, “हाम्रो सटरहरू खाली छन् । विस्तारै सटरहरूमा शाखा स्थापना गरेर जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम सञ्चालनमा ल्याउनेछौं ।” आगोले प्रशासन, कानुन, राजस्व, जिन्सी लगायत शाखाका २०१६ सालदेखि रहेका महत्वपूर्ण दस्तावेज जलेर नष्ट भएका छन् । “भवन पुनर्निर्माण र सामान विस्तारै आउँला, तर पुराना अभिलेखको क्षतिपूर्ति कसरी गर्ने?” नगर प्रमुख परविनले प्रश्न गरिन् । आन्दोलनका क्रममा वडा नं. ३, ४, ५ मा पूर्ण क्षति र वडा नं. ८ मा आंशिक क्षति भएपछि ती वडा कार्यालय एक हप्तादेखि बन्द छन् । वडा कार्यालयहरूलाई सफा र व्यवस्थित गरेर चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिइन् । नगरपालिकाले प्रारम्भिक अनुमान अनुसार करिब १५ करोड २३ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेको जनाएको छ ।
जेनजी आन्दाेलनपछि स्थानीय तहका योजना–कार्यक्रम कार्यान्वयनमा अन्यौल
बागलुङ । जनेजी प्रदर्शनपछि संघीय सरकार ढलेर अन्तरिम सरकार बनेसँगै स्थानीय तहका नीति, कार्यक्रम र बजेट कार्यान्वयनबारे अनिश्चितता बढेको छ । जनेजी आन्दोलनले देशभर पुर्याएको क्षतिको पुनर्निर्माण र आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा राज्यको ध्यान केन्द्रित भएपछि बजेट अभाव हुने संकेत देखिएको छ । स्थानीय तहको नीति भने स्वायत्त भए पनि कार्यक्रम र बजेटमा संघीय सरकारको निर्भरता छ । बागलुङका दशवटै पालिकाले संघीय वित्तीय अनुदान, सशर्त अनुदान तथा प्रदेश सरकारको सहयोगका आधारमा बजेट बनाएका छन् । यस कारण योजना–कार्यक्रम अघि बढाउने विषयमा अन्यौल छाएको छ । अधिकांश पालिकाले रातो किताब सार्वजनिक नगरे पनि योजनाहरू परिषद्बाट पारित भइसकेका छन् । तोकिएको बजेट सीमाभित्र रहेर बनाइएका योजनाको कार्यान्वयनबारे स्पष्टता नभएको पालिका प्रमुखहरूको गुनासो छ । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सशर्त बजेट कटौती हुँदा पालिकामा ठूलो समस्या पर्ने बताए । स्थानीय स्रोत न्यून भएका पालिकाले संघीय बजेट नपाए तलबसमेत दिन नसक्ने अवस्था आउने उनले उल्लेख गरे । “ढिलोचाँडो बजेट आउला भन्ने आशमा योजनाको काम थाल्दैछौं,” शर्माले भने, “समयमै संघीय सूचना पनि आउनुपर्ने हो, नआएपछि काम रोक्न सकिँदैन ।” नागरिक स्तरबाट कोष निर्माण र लगानी सम्मेलनमार्फत पुनर्निर्माण अभियान चलाउनुपर्ने उनको सुझाव छ । बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनका अनुसार संघीय सरकारको स्पष्ट निर्देशन नआएकाले नयाँ कार्यक्रम अघि बढाउन सकेका छैनन् । “सेवा प्रवाह भने जारी छ, तर अन्य बजेट आउने–नआउनेबारे अनिश्चितता छ,” उनले भने । चालु बजेटबाट तलब वितरणबाहेक अन्य काम नगरेको उनले बताए । बडिगाडले यस वर्षदेखि पश्चिम क्षेत्रका मिर्गौला रोगीलाई आधारभूत अस्पतालमार्फत डायलायसिस सेवा उपलब्ध गराउन उपकरण जडानसमेत गरिसकेको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले विकास–निर्माणका कामलाई निरन्तरता दिने प्रयास भइरहेको तर बजेटबारे अनिश्चितता कायम रहेको बताए । “गाउँको विकासका लागि बजेट अनिवार्य छ । बजेट नआएमा स्थानीयमा आक्रोश बढ्छ,” उनले भने, “राज्यले पुनर्निर्माणका लागि उचित स्रोत सुनिश्चित गर्नुपर्छ ।” संघीय सरकारको सर्कुलर नआएसम्म विकासका कामबारे निर्णय गर्न कठिनाइ रहेको उनको भनाइ छ ।
मधेस सरकारले जेनजी सहिद परिवारलाई २ लाख ५० हजार दिने
जनकपुर । मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त प्रदेशवासी सहिदका परिवारलाई प्रतिपरिवार दुई लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै राहत उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले आन्दोलनका क्रममा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ। त्यसैगरी, जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र क्षति पुर्याउनेमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही अघि बढाउने तथा जेनजी पुस्ताले अघि सारेका मागको समाधान संविधानको दायराभित्र रहेर खोजिने निर्णय बैठकले गरेको छ।
सुस्ता बाढीको उच्च जोखिममा, तटबन्ध अधुरै
नवलपरासी । नारायणी नदीको बाढीले सुस्ता गाउँपालिकाको सुस्ता गाउँ उच्च जोखिममा परेको छ । स्थानीयवासीले आफ्नै पहलमा नदी कटान रोक्ने प्रयास गरे पनि खतरा यथावत् छ । दुई दिनअघि थारू बस्तीभित्र नदीको भेल पस्दा डुबानको अवस्था सिर्जना भएको थियो । अहिले पानीको बहाव केही कम भए पनि नदीले लगातार कटान गरिरहेको छ । सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालका अनुसार गाउँ जोगाउन तारजालीसहितको पर्खाल तत्काल निर्माण गर्न आवश्यक छ । नारायणी नदीले तीनतर्फबाट घेरेको र चौथो तर्फ भारतसँग जोडिएको सुस्ता बाढीको ठूलो जोखिममा रहेको बस्ती हो । ठूलो बाढी आएमा उद्धार कठिन हुने भएकाले स्थानीय रातभर सतर्क बस्ने गरेका छन् । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार सशस्त्र प्रहरी बलको टोलीले स्थानीयलाई सहयोग गरिरहेको छ । स्थानीयवासीले बिहीबार राति निरन्तर बोरा भरेर नदी किनारमा राखे पनि कटान रोकिएको छैन । सुस्ता बचाउन आवश्यक तटबन्ध निर्माण पाँच वर्षदेखि रोकिएको छ । भारतले आवश्यक भूभाग नदिएकाले तटबन्ध बिच भूभाग हुँदै बनाइएको हो । सुस्ता घाटदेखि धनैयारेता हुँदै सिमलको रूखसम्म करिब चार किलोमिटर तटबन्धमध्ये हालसम्म साढे दुई किलोमिटर मात्र बनेको छ । बाँकी भाग बजेट अभाव र व्यवस्थापकीय कमजोरीका कारण अधुरो छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उक्त क्षेत्रमा संरचना निर्माण र खेती गर्न नदिएकाले समस्या थपिएको स्थानीयको भनाइ छ । स्थानीय मुन्सी हरिजनका अनुसार बाँकी तटबन्ध तत्काल निर्माण नगरेमा सुस्ताको बाँकी भूमि पनि नदीले बगाउने खतरा छ । बाढीले करिब दुई किलोमिटर क्षेत्रमा बढी कटान गरिरहेको र हालको तटबन्धले भेल थेग्न नसक्ने अवस्था रहेको उनीहरूको आग्रह छ । स्थानीयले सरकारलाई तत्काल बलियो संरचना निर्माणका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।
गत वैशाखदेखि हालसम्म विपद्का घटनामा २४३ जनाको मृत्यु
काठमाडौं । गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधिमा विपदमा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार छ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन् । एक हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने एक सय ७७ जना घाइते भएका छन् । आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित भएका छन् । बाढीको २६३ घटना हुँदा २९ को मुत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै, ४६३ वटा पहिरोका घटना यसबीचमा भएका छन् । पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ घाइते भएका छन् । यसैगरी भारी वर्षाका मात्रै ३४० घटना यसबीचमा भएका छन् । त्यसमा परेर छ जनाको ज्यान जाँदा १४ घाइते भएका छन् भने ८११ परिवार प्रभावित भएका छन् । सो अवधिमा २९० वटा चट्याङका घटना दर्ता भएका छन् । चट्याङमा परेर ३८ जनाको ज्यान गएको छ भने २१२ जना घाइते भएका छन् । यस्तै, ३५१ परिवार प्रभावित भएका छन् । सर्पदंशका ३०४ घटना भएका छन् । सर्पको डसाईबाट ७७ जनाको ज्यान गएको भने २३३ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार, वन डढेलोका १८५ घटनामा परेर दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् । त्यस्तै, हावाहुरीमा २८४ घटना हुँदा आठ जनाको निधन भएको छ भने ४४ घाइते भएका छन् । हावाहुरीमा परेर ५४१ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका २१७ घटना घटदा २० जानको निधन भएको छ । यस्तै, ८८ जना घाइते हुँदा ३६६ परिवार प्रभावित भएका छन् । विपदबाट जोगिन पूर्वसावधानी, सचेतना अभियान सञ्चालन गरिएको, पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको प्राधिकरणले जनाएको छ । रासस
राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान
काठमाडौं, –नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर सङ्कटको वरिपरि रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। संविधान दिवसको अवसरमा आयोजित जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई रणनीतिक रूपमा असफल बनाउने प्रयास भइरहेको संकेत गर्दै गम्भीर चुनौतीहरूसँग जुध्न अहिलेको आवश्यकता राष्ट्रिय एकता रहेको बताउनुभएको हो। बैठकमा अध्यक्ष प्रचण्डले संघिय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणमा जनयुद्धको भूमिकालाई उल्लेख गर्दै भन्नुभयो, “७० वर्षदेखि थाती रहेको संविधान सभाबाट संविधान बनाउने काम जनयुद्धका क्रममा हजारौंको त्यागबिना सम्भव थिएन।” उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी, समानुपातिक प्रतिनिधित्व जस्ता विषय संविधानमा समावेश गर्नुपर्ने कुरा आफुहरुले उठाउँदै आएका विषय भएकाले देशमा अहिले माओवादी केन्द्रको विचारको महत्व झनै बढेर गएको बताउँनुभयो । हालै सम्पन्न जेन्जी आन्दोलनको सन्दर्भमा अध्यक्ष प्रचण्डले सरकारको बल प्रयोगप्रति आपत्ति जनाउँदै, माओवादी केन्द्रले सुरुदेखि नै संयमता अपनाउन आग्रह गरेको स्मरण गराउनुभयो। उहाँले प्रतिकुलताकाबीच देशलाई सहज निकास दिन आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्दै संविधानको रक्षामा माओवादी केन्द्र महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । “हामीले जेन जीहरुको बलिदानको सम्मान गर्दै संविधानको रक्षा र राष्ट्रपतिको गरिमा कायम राख्ने खालको राजनीतिक विकल्प प्रस्तुत गरेका हौं,” प्रचण्डले भन्नुभयो। उहाँले अन्तरिम सरकार र निर्वाचनको तोकिएको मिति अनुसार अघि बढ्नुपर्नेमा समेत जोड दिनुभयो। अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेपालले यति ठुलो चुनौती कहिल्यै भोगेको थिएन। पूर्खाले मिहिनेत गरेर जोगाएको राष्ट्र हामीले बचाउन सक्छौं कि सक्दैनौं भन्ने प्रश्न अहिले हाम्रासामू छ। त्यसैले सम्पूर्ण राष्ट्रप्रेमीहरू एकताबद्ध हुनु जरुरी छ।” बैठकमा माओवादी केन्द्रका नेताहरू र जनप्रगतिशील मञ्चका प्रतिनिधिहरूको उपस्थिति थियो। बैठकको अध्यक्षता सनि कुमार ओलीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन भवानी पन्तले गर्नुभएको थियो।
प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठनको कुनै विकल्प नभएपछि यो कदम चालिएको हो : राष्ट्रपति
यहाँ तपाईंले प्रदान गरेको समाचारलाई सम्पादन गरिएको छ। सम्पादनमा स्पष्टता, संक्षिप्तता र प्रवाहमा सुधार ल्याउने प्रयास गरिएको छ, साथै अनावश्यक विज्ञापनहरू हटाइएको छ र भाषालाई थप परिष्कृत बनाइएको छ। काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका कारण प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्न सम्भव नभएपछि सर्वसहमतिमा नयाँ सरकार गठन गरिएको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। राष्ट्रपतिले भने, “प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठनको कुनै विकल्प नभएपछि सर्वसहमतिमा यो कदम चालिएको हो। सबैले यो कुरा बुझौँ र आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न एकजुट होऔँ।” उनले भदौ २३ र २४ गतेको आन्दोलनले मुलुकले अपूरणीय क्षति व्यहोरेको उल्लेख गर्दै विशेषगरी युवाहरूको नोक्सानीप्रति आफू संवेदनशील रहेको बताए। आन्दोलनपछिको जटिल परिस्थितिलाई सम्हाल्न सरकारले सक्दो प्रयास गरेको उनको भनाइ छ। राष्ट्रपति पौडेलले भने, “मुलुक नयाँ सपना र मार्गमा अघि बढेको छ। नयाँ जनादेशले लोकतन्त्रलाई थप सुदृढ गर्दै देशको भविष्य निर्धारण गर्नेछ भन्ने मेरो विश्वास छ।” उनले हाल गठित अन्तरिम सरकारले राष्ट्रिय क्षतिको मूल्याङ्कन, पुनर्निर्माण र ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्ने दायित्व लिएको बताए। “यो नै अहिले सबै नेपालीको प्रमुख कार्यभार हो,” उनले जोड दिए। अन्तमा, राष्ट्रपति पौडेलले सबै राजनीतिक दल, नागरिक र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व त्यागेर पूर्वाग्रहरहित भएर निर्वाचनमा सक्रिय हुन आह्वान गरेका छन्।
देउवा दम्पतीको उपचार : शेरबहादुरको टाउको र गर्धनमा चोट, १२ टाँका लगाइयो
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोको पछाडी भाग र गर्धनमा चोट लागेको छ। चोटमा १२ वटा टाँका लगाइएको छ। बूढानीलकण्ठस्थित निवासमा जेनजी प्रदर्शनकारीले आक्रमण गर्दा देउवा दम्पती घाइते भएका थिए। नेपाली सेनाले उद्धार गरी उनीहरूलाई शिवपुरीस्थित सैनिक अस्पतालमा उपचारका लागि लगेको थियो। आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति देउवा दम्पतीको स्वास्थ्य अवस्थाबारे छलफल भएको छ। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले देउवा दम्पतीको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिए। “सभापतिज्यूको टाउकोको पछाडी भागमा गम्भीर चोट छ, जहाँ १२ वटा टाँका लगाइएको छ। गर्धनमा पनि चोट छ। दुवै चोट निको हुँदै गएको छ। उहाँ सामान्य बोलचाल र हिँडडुल गर्न सक्नुहुन्छ,” विश्वकर्माले भने। “तर, उठ्दा चक्कर लाग्ने र बोल्न असजिलो हुने भएकाले केही दिन उपचारमै रहनुहुनेछ।” उनले सभापति देउवा पार्टीका नेताहरूसँग संवाद गर्न सक्ने अवस्थामा रहेको र उनकी पत्नी आरजु राणा देउवाको स्वास्थ्यमा पनि सुधार आएको बताए। घाउको प्रकृतिबाट सिसा, रड वा धारिलो हतियारले आक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ।
अध्यक्ष प्रचण्डको खुलासा : 'संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भयो"
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज, र राष्ट्रपतिलाई पदबाट हटाउने प्रयास भएको कुरा बताउनु भएको छ । संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले यस्तो कुरा बताउनुभयो। “इतिहास, घटनाक्रम, र संयोगले मलाई यो प्रक्रियामा सहजीकरण गर्ने अवसर प्राप्त भएको छ,” प्रचण्डले भन्नुभयो, “संसद् विघटन मात्र होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउने कसरतहरू भएको मैले नजिकबाट देखेको र बुझेको छु।” वर्तमान राजनीतिक परिस्थितिको चर्चा गर्दै उहाँले राष्ट्रपति र प्रधानसेनापतिको भूमिकाको प्रशंसा गर्नुभयो । “मैले राष्ट्रपतिमाथि आएको अप्ठ्यारो अवस्थालाई नजिकबाट नियाल्ने अवसर पाएँ । उहाँले संविधानको पक्षमा अडान राख्नुभयो,” प्रचण्डले भन्नुभयो । उहाँले थप्नुभयो, “नेपाली सेनाको प्रधानसेनापतिको भूमिकाको पनि म प्रशंसा गर्छु । संविधान जोगाउन राष्ट्रपति र प्रधानसेनापतिको भूमिका सकारात्मक थियो ।” प्रचण्डले संविधानको रक्षामा आफ्नो भूमिकाबारे पनि उल्लेख गर्नुभयो । “संविधान जोगाउन अप्ठ्यारो अवस्थामा मैले सहजीकरण गर्ने अवसर प्राप्त गरेँ,” उहाँले भन्नुभयो । प्रचण्डले आफ्नो पार्टीले गल्ती र कमजोरी स्वीकार्दै जनतासँगको सम्बन्ध सुधार गर्न अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सदन र सडकबाट खबरदारी गरेका थियौँ, तर त्यसलाई नबुझ्दा विद्रोहको अवस्था आयो । हाम्रो पार्टीले कमजोरी स्वीकारेर जनतामाझ गएर सुधारको प्रयास गरेको छ ।”
अहिले सबैलाई एउटै डालोमा हालेर पुर्ने प्रयास गरिएको छ, यो सही होइन : अध्यक्ष प्रचण्ड
काठमाडौं । संविधान दिवस २०८२ को अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा उहाँले संविधान निर्माण, संशोधनको आवश्यकता र वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थाका लागि प्रयास गरेका थियौँ, तर नेपाली काँग्रेस र एमालेले मानेनन् । हाम्रै पहलमा संविधान बनेको हो, तर सम्झौता गरेर जारी गर्नुपरेको थियो ।” उहाँले संविधान अपूरो भएको कारणले नै हाल ‘जेनजी विद्रोह’ जस्ता आन्दोलनहरू देखिएको बताउनुभयो । प्रचण्डले संविधान संशोधनको आवश्यकता रहेको उल्लेख गर्दै भन्नुभयो, “पूर्ण समानुपातिक निर्वाचन प्रणाली र विभिन्न जातजाति, वर्ग र समुदायका मुद्दालाई सम्बोधन गर्न संविधान संशोधन जरुरी छ । प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्छ । हामीले यो भन्दा राम्रो संविधान बनाउन सकिन्छ भन्ने भिन्न मत राखेका छौँ, र ती मुद्दा अहिले जीवन्त रूपमा आएका छन् ।” उहाँले संविधान निर्माणका क्रममा आफूले धेरै दबाब र धम्की खेपेको स्मरण गर्नुभयो । “एकथरी मानिस र आन्तरिक-बाह्य शक्तिहरूले संविधान बन्न नदिने प्रयास गरेका थिए । मैले नै कसैको दबाबमा नझुक्किकन संविधान बनाउने अडान लिएको हुँ,” उहाँले भन्नुभयो । वर्तमान ‘जेनजी विद्रोह’ र जनयुद्धको चर्चा गर्दै प्रचण्डले भन्नुभयो, “जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ता नै थियो । अहिले जनयुद्धको नेतृत्व, संविधानको नेतृत्व र सुशासनको नेतृत्वलाई भ्रष्टाचारी भन्नु इतिहास र जनताप्रतिको विश्वासघात हो ।” उहाँले दुई ठूला पार्टीहरूको अहंकार र गलत नीतिका कारण यस्तो अवस्था आएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “अहिले सबैलाई एउटै डालोमा हालेर पुर्ने प्रयास गरिएको छ, यो सही होइन । यो इतिहास र त्यो इतिहास एउटै होइन ।” उहाँले इतिहासका विभिन्न घटनालाई एकै रूपमा प्रस्तुत गर्नु गलत भएको बताउनुभयो । पार्टीभित्र चलिरहेको नेतृत्व हस्तान्तरणको बहसबारे बोल्दै प्रचण्डले भन्नुभयो, “हाम्रो पार्टीमा नेतृत्व हस्तान्तरणको विषयमा छलफल भइरहेको छ । यो विषय विधि र प्रक्रियाबाटै अगाडि बढ्छ ।” वर्तमान राजनीतिक परिस्थितिको चर्चा गर्दै उहाँले राष्ट्रपति र प्रधानसेनापतिको भूमिकाको प्रशंसा गर्नुभयो । “मैले राष्ट्रपतिमाथि आएको अप्ठ्यारो अवस्थालाई नजिकबाट नियाल्ने अवसर पाएँ । उहाँले संविधानको पक्षमा अडान राख्नुभयो,” प्रचण्डले भन्नुभयो । उहाँले थप्नुभयो, “नेपाली सेनाको प्रधानसेनापतिको भूमिकाको पनि म प्रशंसा गर्छु । संविधान जोगाउन राष्ट्रपति र प्रधानसेनापतिको भूमिका सकारात्मक थियो ।” प्रचण्डले संविधानको रक्षामा आफ्नो भूमिकाबारे पनि उल्लेख गर्नुभयो । “संविधान जोगाउन अप्ठ्यारो अवस्थामा मैले सहजीकरण गर्ने अवसर प्राप्त गरेँ,” उहाँले भन्नुभयो । प्रचण्डले आफ्नो पार्टीले गल्ती र कमजोरी स्वीकार्दै जनतासँगको सम्बन्ध सुधार गर्न अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सदन र सडकबाट खबरदारी गरेका थियौँ, तर त्यसलाई नबुझ्दा विद्रोहको अवस्था आयो । हाम्रो पार्टीले कमजोरी स्वीकारेर जनतामाझ गएर सुधारको प्रयास गरेको छ ।” जेनजी आन्दोलनका एजेन्डालाई ठीक भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जेनजी आन्दोलनका मुद्दालाई समर्थन गर्ने पार्टी नेकपा माओवादी केन्द्र नै हो ।” उहाँले अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा पनि सदनमार्फत पटक-पटक जानकारी गराएको स्मरण गर्नुभयो ।

