प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यो जानकारी उनको निकट स्रोतले पुष्टि गरेको छ।
उक्त सम्बोधन कार्यक्रमको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ।
गत २३ र २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। उनको नेतृत्वमा रहेको सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी २१ फागुनमा निर्वाचनको मिति घोषणा गरेको छ।
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेनजी बिद्रोहपछिको राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति र पार्टी पुनर्संरचनाका विषयमा धारणा राख्नुहुनेछ । बैठकमा अध्यक्ष प्रचण्डले यसअघि पार्टीको पदाधिकारी बैठकमा प्रस्ताव गर्नु भएको पार्टीको पुनर्संरचनालगायतका विषयमा गहन छलफल हुने नेताहरुले बताएका छ्न । अध्यक्ष प्रचण्डले पार्टी पुनर्संरचनाका लागि मंसिरमा विशेष महाधिवेशन गर्ने, केन्द्रीय समितिसहित सबै कमिटी विघटन गर्ने र जेनजीको भावनाअनुसार निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नेलगायतका प्रस्ताव पदाधिकारी बैठकमा गर्नु भएको थियो । आजको बैठकले भोलि बस्ने पार्टीको केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिनुभयो । यसअघि असोज ५ गतेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति विघटनको प्रस्ताव राख्नु भएको थियो ।
रास्वपाको वेबसाइट ह्याक, रविलाई लक्षित सन्देश: "न माफी दिन्छौँ, न बिर्सन्छौँ"
काठमाडौँ - ‘जेनजी राइजिङ नेपाल’ नामक ह्याकर समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक वेबसाइट ह्याक गरेको छ। रवि लामिछानेको नेतृत्वमा रहेको उक्त पार्टीको वेबसाइटमा ह्याकरहरूले अनधिकृत पहुँच बनाएर सन्देश राखेका छन्। ह्याकर समूहले वेबसाइटको ‘प्रेस विज्ञप्ति’ खण्डमा एसक्यूएल इन्जेक्सन आक्रमणमार्फत आफ्नो सन्देश राखेको हो। सन्देशमा पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति लामिछानेलाई लक्षित गर्दै लेखिएको छ: "न क्षमा दिन्छौँ, न बिर्सन्छौँ।" ह्याकरहरूले गत भदौ २३ र २४ गतेको ‘जेन-जी विद्रोह’ को क्रममा नख्खु जेलमा थुनिएका लामिछानेलाई रास्वपाले छुटाएको घटनाको बदलास्वरूप यो आक्रमण गरेको दाबी गरेका छन्।
युएईमा अब नेपाली कामदार जान रोक, बंगलादेश र पाकिस्तानीलाई जस्तै युएईको 'नेपाल नीति'
दुबई । नेपाली नागरिकलाई भिजिट भिसा रोक लगाएको संयुक्त अरब इमिरेट्स युएईले नेपाली श्रमिकलाई अब भिसा दिन रोक लगाएको छ । युएईको यो कदमले हजारौँ नेपाली प्रभावित हुनेछन् । भिसा प्रोसेस सुरु गर्न लागेका हजारौँ नेपाली युएईको यो निर्णयबाट प्रभावितभएका छन् । सोमबारदेखि भिजिट भिसा दिन रोक लगाएको युएईले मंगलबारदेखि नेपाली श्रमिकलाई भिसा दिन अस्वीकार गरेको छ । बंगलादेशमा आन्दोलन भएपछि अहिले पूर्णरुपमा बंगलादेशी श्रमिकलाई युएईले प्रतिबन्ध लगाएको छ । पाकिस्तानीबाट पनि श्रमिक ल्याउन रोक लगाइएको छ । युएईमा रहेका नेपालीले पनि अब पहिले जुन कम्पनीमा गएको हो, अब त्यहीँ कम्पनीबाट मात्र भिसा आवेदन दिन पाउने छन् । पछिल्लो समय नेपालमा भएको जेनजी आन्दोलन, त्यसपछिको अस्थिरता र युएईका विभिन्न अपराधिक क्रियाकलापमा नेपालीको संलग्नताका कारण युएईले नेपालीलाई भिसा दिन अस्वीकार गरेको बताइएको छ । युएईका अध्यागमन अधिकारीहरूका अनुसार, नेपालबाट भिजिट भिसामा आएका व्यक्तिहरूले सम्भावित अपराध गर्न सक्ने भयले यो निर्णय लिइएको हो। आन्दोलनपछि नेपालका विभिन्न कारागारबाट हजारौं कैदीहरू फरार भएका थिए। यी फरार कैदीहरू भिजिट तथा कामदार भिसाको दुरुपयोग गरी युएई प्रवेश गर्न सक्ने आशंकामा भिसा प्रक्रिया स्थगित गरिएको छ। युएईका लागि नेपाली दूतावासका एक अधिकारीले भने, 'हामीलाई औपचारिक जानकारी दिइएको छैन, तर अनौपचारिक रूपमा थाहा भएअनुसार नेपालको पछिल्लो आन्दोलन नै मुख्य कारण हो। आन्दोलनमा कैदीहरू भागेको र उनीहरूले युएईमा अपराध गर्न सक्ने डरले भिसा अस्वीकार गरिएको पाइन्छ।' यद्यपि, युएईले यसबारे औपचारिक सूचना वा घोषणा गरेको छैन। नेपाली दूतावासले यस विषयमा थप जानकारी प्राप्त गर्न प्रयास गरिरहेको छ। हालैका घटनाक्रमहरूमा भदौँ २३ र २४ गतेको प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाटका घटनाहरूले नेपालको स्थिति अस्थिर बनेको थियो, जसको प्रभाव वैदेशिक रोजगारी र पर्यटनमा परेको छ। यस निर्णयले नेपाली नागरिकहरूलाई युएई यात्रा गर्न कठिनाइ भएको छ । नेपाली दूतावासले यसलाई सम्बोधन गर्न कूटनीतिक प्रयास गरिरहेको स्रोतको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिरिएपछि देशैभरका कारागारबाट कैदी बन्दी फरार भएका थिए । उनीहरुमध्ये केही सम्पर्कमा आएपनि अझै केही फरार छन् । युएईको पछिल्लो निर्णयले नेपाली क्रिकेट टोलीको युएई भिजिट पनि तीन दिन ढिला भएको थियो । पहिले भिसा दिन अस्वीकार गरेको युएईले कूटनीतिक पहलपछि मात्र नेपाली खेलाडीको भिसा स्वीकृत दिएको थियो ।
माओवादी केन्द्रको स्थायी समिति बैठक आज, यी हुन् मुख्य एजेन्डा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ। बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक अवस्था, अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसअघि पार्टीको पदाधिकारी बैठकमा प्रस्ताव गर्नु भएको पार्टीको पुनर्संरचनालगायतका विषयमा छलफल हुनेछ । अध्यक्ष प्रचण्डले पार्टी पुनर्संरचनाका लागि मंसिरमा विशेष महाधिवेशन गर्ने, केन्द्रीय समितिसहित सबै कमिटी विघटन गर्ने र जेनजीको भावनाअनुसार निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नेलगायतका प्रस्ताव पदाधिकारी बैठकमा गर्नु भएको थियो । आजको बैठकले भोलि बस्ने पार्टीको केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिनुभयो । यसअघि असोज ५ गतेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति विघटनको प्रस्ताव राख्नु भएको थियो ।
दसैँ–तिहारमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन अनिश्चित
काठमाडौं । सरकारले दसैँ–तिहार लक्षित गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्ने तयारी गरे पनि हालसम्म टुङ्गो लाग्न सकेको छैन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले असोज ४ गते मन्त्रालयमा बसेको बैठकमा चाडपर्वका लागि सुरुङमार्ग खोल्ने निर्देशन दिएका थिए । तर आवश्यक तयारी नपुगेकाले निर्माण कम्पनी र परामर्शदाता कम्पनीले तत्काल सञ्चालन असुरक्षित हुने भन्दै स्वीकृति नदिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव ई. केशवकुमार शर्माका अनुसार परीक्षण र सुरक्षा पूर्वतयारी अधुरो हुँदा सुरुङमा सवारी चलाउँदा दुर्घटना, उद्धार कठिनाइ तथा आक्सिजन अभावजस्ता जोखिम रहन्छन् । सम्झौता अनुसार निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण नगरेसम्म सुरुङ सञ्चालनको अधिकार निर्माण कम्पनीकै रहने भएकाले उनीहरूको स्वीकृतिबिना संचालन गर्न नपाइने आयोजनाका प्रमुख ई. सञ्जय पन्थीले स्पष्ट पारे । पन्थीका अनुसार सुरुङमार्गको भौतिक प्रगति करिब ९५ प्रतिशत पुगेको छ । सुपर स्ट्रक्चरको काम सकिएको छ भने परीक्षण र फिनिसिङ बाँकी छ । निर्माण कम्पनीले पुस मसान्तसम्म काम सकाएर सरकारलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । त्यसपछि मात्र ठेक्कामार्फत नियमित सञ्चालन सुरु हुने र सञ्चालनको सम्पूर्ण जिम्मेवारी तोकिएको कम्पनीको हुने उनले बताए । गत वर्ष असोजमा पहिरोका कारण नागढुङ्गा–नौबिसे सडक अवरुद्ध हुँदा उद्धारका क्रममा सुरुङमार्ग केही समय प्रयोग गरिएको थियो । तर हालको अवस्थामा नियमित सञ्चालनका लागि थप समय लाग्ने निर्माण कम्पनीको भनाइ छ ।
नयाँ उत्पादन हुन थालेपछि अलैँचीको मूल्य घट्यो
ताप्लेजुङ । भदौयता बजारमा नयाँ उत्पादन आउन थालेपछि अलैँचीको मूल्य एक महिनाभित्र प्रतिमन (४० किलोग्राम) आठ हजार रुपैयाँले घटेको छ । अहिले फुङ्लिङ बजारमा अलैँची प्रतिमन ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा स्थानीय व्यापारी भद्रबीर रेग्मीका अनुसार सुरुमा प्रतिमन ८८ हजार रुपैयाँमा कारोबार भएको मूल्य क्रमशः घट्दै ८० हजारमा झरेको हो । व्यवसायीहरूका अनुसार मूल्य घट्नुको ठ्याक्कै कारण भने स्पष्ट छैन । दसैँ–तिहारजस्ता चाडपर्वमा अलैँचीको मूल्य घट्ने पुरानो अनुभव रहेकाले यो वर्ष पनि त्यहीँ प्रभाव हुनसक्ने उनीहरूको अनुमान छ । साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले यसको असर नेपालमा परेको हुनसक्ने फुङ्लिङका व्यापारी कमल बरालले बताए । यस वर्ष नयाँ अलैँची बजारमा आउँदा सुरुवाती मूल्य गत वर्षको तुलनामा आकर्षक थियो । गतवर्ष प्रतिमन ८२ हजारमा कारोबार भएको अलैँचीको सुरुवाती मूल्य यो वर्ष ८८ हजार पुगेपछि किसान र व्यवसायी उत्साहित बनेका थिए । तर हाल एक महिनामै आठ हजारले मूल्य घट्दा उनीहरू चिन्तित छन् । स्थिर मूल्यले मात्र किसान र व्यापारीलाई ढुक्क हुने अवस्था हुने उनीहरूको अपेक्षा छ । ताप्लेजुङमा अलैँची प्रमुख नगदेबाली हो । मुख्य सिजन असोजपछि सुरु हुने भए पनि सुरुको मूल्य घट्न थालेकाले आगामी महिनामा अझ कमी हुने डर किसान र व्यवसायीलाई छ । स्थिर बजार सुनिश्चित गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने उनीहरूको आग्रह छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा ४,१६५ हेक्टरमा अलैँची खेती हुन्छ । यहाँका नौ स्थानीय तह र ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै क्षेत्रमा यसको खेती गरिन्छ । गतवर्ष जिल्लामा २,५३१ मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।
दसैँकाे लागि लेकका च्याङ्ग्रा सहर ल्याइँदै
गण्डकी । कास्कीको लुम्ले हुँदै बथान–बथानका च्याङ्ग्रा मङ्गलबार पर्यटकीय सहर पोखरा झर्दै थिए । पोखरा–बागलुङ राजमार्गमा सवारीसाधन नै रोकिने गरी च्याङ्ग्राको लामो ताँती देखिन्थ्यो । व्यापारीहरू साइसाइ सुइसुइ गर्दै च्याङ्ग्रालाई हिँडाइरहेका थिए । च्याङ्ग्राको बथानले दसैँको छनक दिएको थियो । चाडबाडका लागि हिमालपारिको जिल्ला मुस्ताङदेखि च्याङ्ग्रा पोखरा झारिएको हो । यहाँ नवरात्र सुरु हुनु पूर्व नै च्याङ्ग्रा भित्रन सुरु गरेका थिए । पोखरामा बर्सेनि दसैँमा हजारौँ च्याङ्ग्राको खरिदबिक्री हुने गर्छ । व्यापारीले मुस्ताङदेखि ल्याएका च्याङ्ग्रालाई पोखराको सिमपानी क्षेत्रमा केन्द्रित गरी बिक्री सुरु गर्छन् । विशेष गरी दसैँको घटस्थापनादेखि च्याङ्ग्राको किनमेल बढी हुने गरेको छ । दसैँका बेला पोखरा, बागलुङलगायत यहाँका सहरी क्षेत्रमा मुस्ताङ, डोल्पालगायत हिमाली भेगबाट च्याङ्ग्रा, भेडा र चेलु ल्याउने गरिन्छ । दसैँलाई च्याङ्ग्रा लिन अधिकांश व्यापारीहरू हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन् । हप्तौँ समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन् । व्यवसायी महेन्द्र केसी र ज्ञानबहादुर कार्की मिलेर यसपालि ५९ वटा च्याङ्ग्रा बागलुङ झारेका छन् । मुस्ताङको जोमसोम पुगेर च्याङ्ग्रा ल्याएको केसीले बताएयो । रोज्जा च्याङ्ग्रालाई मुस्ताङमै रु ३८ हजार पाँच सय तिरेकाले बागलुङ ल्याएर बेच्दा रु ४५ हजार पुगेको उनको भनाइ छ । “रोज्जा च्याङ्ग्रा रु ४५ हजार र चेलु रु ४० हजारमा बिक्री भइरहेको छ”, केसीले भने, “पसलबाट बेच्दा च्याङ्ग्राको प्रतिकिलो रु २२ सय र चेलुको रु १८ सय मूल्य पर्छ ।” केसीले दसैँका बेला बागलुङ नगरपालिका–२ मा रहेको ‘नवदुर्गा मासु पसल’बाटसमेत च्याङ्ग्राको मासु बेच्दै आउनुभएको छ । दसैँमा च्याङ्ग्राको मासुको अत्यधिक माग हुन थालेपछि आफैँले च्याङ्ग्रा ल्याएर बेच्न थालेको उनले बताए । केसीले च्याङ्ग्राको कारोबार गर्न थालेको एक दशक बितिसकेको छ । बागलुङमा पहिलेको तुलनामा च्याङ्ग्रा कम भित्रने गरेको उनको अनुभव छ । “एउटै दसैँमा दुई हजारसम्म च्याङ्ग्रा आउने गर्थे, अहिले च्याङ्ग्राको मूल्य बढेपछि व्यवसायीहरू पनि कारोबार गर्न अनिच्छुक देखिएका छन्”, केसीले भने । कोभिड–१९ महामारीपछि झण्डै दोब्बरले च्याङ्ग्राको मूल्य बढेको व्यवसायी बताउँछन् । च्याङ्ग्रापालन कम हुनु, बढ्दो करजस्ता कारणले पनि मूल्य महँगिँदै गएको उनीहरूको भनाइ छ । स्थानीय तहसहित ठाउँ ठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ । मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरेका छन् । त्यहाँबाट म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा ल्याइपुर्याउन हप्ता दिनसम्म लाग्छ । मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँसम्म पुग्ने गरेको छ । मुस्ताङका युवा व्यवसायी निरज थकालीले मङ्गलबार म्याग्दीको बैसरीबाट दस वटा ट्रकमा काठमाडौँ र दुई वटा ट्रकमा च्याङ्ग्रा पोखरा ल्याउन लागिएको बताए । एउटा ट्रकमा ८० देखि ९० वटासम्म च्याङग्रा अट्ने उनको भनाइ छ । व्यवसायी थकालीले आफूले ल्याएका दुई सय च्याङ्ग्रामध्ये एक सय पोखरा र एक सय काठमाडौँ पठाउन लागेको बताए । “यस वर्ष पोखरामा झण्डै दस हजार र काठमाडौँमा पाँच हजार मुस्ताङी च्याङ्ग्रा पुग्दै छ”, उनले भने, “कतिपय व्यापारी च्याङ्ग्रा लिएर फर्किसके र कोही बाटोमै छन्, यस वर्ष मुस्ताङबाट १५ हजार बढी च्याङ्ग्रा बाहिरिने अनुमान छ ।” मुस्ताङदेखि बागलुङ, पोखरा हुँदै काठमाडौँसम्म ट्रकमा च्याङ्ग्रा लाने गरिए पनि केही व्यापारीले भने हिँडाएर पोखरासम्म ल्याउने गरेका छन् । मासुजन्य अरू परिकार बाह्रैमास पाइने भएपनि च्याङ्ग्राका लागि भने उपभोक्ताले दसैँ नै कुर्नुपर्छ । दसैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ ।
जीवनशैली परिवर्तन गर्दै लाेपोन्मुख राउटे समुदाय
कञ्चनपुर । कुनै समय जङ्गलमा गिठा, तरुल, कन्दमूल आदि आहाराको भरमा जीवन निर्वाह गर्ने राउटेहरू यति बेला अन्य जातिसँगै समाजमा घुलमिल हुन थालेका छन् । जङ्गलमा रहँदा काठका सामग्री बनाउन नपाएपछि उनीहरू यति बेला सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन निर्वाह गरिरहेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित टुँडिखेलका बडसिंह राउटेले आफूहरू समुदायमा हुने हरेक क्रियाकलापमा सहभागी हुन थालेको बताउँछन् । “सरकारले हामीलाई जङ्गलबाट बस्तीमा ल्यायो, मासिक रूपमा भत्ता दिने गरेको छ, मेरो सीपअनुसार काम नपाएपछि सरकारले दिने भत्तामा बाच्नुपरेको छ”, उनले भने । जङ्गलमा बस्दा काठबाट विभिन्न सामग्री बनाएर जीविकोपार्जन गर्ने राउटे समुदाय बस्तीमा बस्न थालेपछि जङ्गलबाट काठ ल्याउन नपाएको उहाँको भनाइ छ । जङ्गलबाट फर्किएर अन्य नागरिक जस्तै जीवन बिताउन थाले पनि सीप अनुसारको काम नपाउँदा समस्या भएको उनको गुनासो छ । “हाम्रा छोराछोरी पढे लेखेका छैनन् । सरकारले रोजगारीको व्यवस्था गरिदिनुपर्थ्यो”, राउटेले भने, “सरकारले तीन महिनामा रु चार हजारका दरले भत्ता दिन्छ । त्यसले मात्रै खाना लाउन खान पुग्दैन ।” समाजमा अन्य नागरिक सरह जीवन निर्वाह गरिरहेको भए पनि रोजगारीको समस्याका कारण छोरा भारत पसेको यहाँका किरीदेवी राउटेको भनाइ छ । “हामी समाजमा घुलमिल त भएका छौँ तर रोजगारी नहुँदा समस्या भएको छ”, उनले भने, “भत्ताले दैनिकी चलाउन सकस परेपछि छोरा रोजगारीका लागि भारत गएको छ ।” उनले जङ्गली जीवनभन्दा समुदायमै राम्रो लाग्ने गरेको बताए । “जङ्गली जीवन छोडेर अन्य नागरिक जस्तै बस्न थालेका छौँ यहीँ राम्रो लाग्छ”, उनले भने, “सरकारले हामीलाई आयआर्जन हुने कुरामा जोडिदिएको भए राम्रो हुन्थ्यो ।” करिब पाँच लाख जनसङ्ख्या भएको कञ्चनपुरमा तीन परिवार मात्रै राउटे समुदायको बसोबास छ । दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको टुँडिखेल बसाइ सरेका राउटेहरू परम्परागत पेसाको विकल्प खोज्न थालेका छन् । “हाम्रो पुर्खाको जस्तो सीपले यहाँ गुजारा गर्न गाह्रो छ । गाउँघरमा पाइयो भने मजदुरीमा जाने गरेका छौँ”, अनिता राउटेले भने, “अहिलेको समय सुहाउँदो सीप सिकाएर सरकारले हामीलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ ।” जङ्गलमा बस्दा काठका भाँडाकुँडा अन्नसँग साटेर गुजारा गरेका राउटे अहिले सरकारले दिएको भत्ताले दैनिक आवश्यक खाद्यान्न खरिद गर्ने गरेका छन् । पछिल्लो समय समुदायमा हरेक चाडपर्वमा राउटेको सहभागिता हुने गरेको छ । रासस
तस्बिरमा हेर्नुस् शिक्षामन्त्री महावीर पुनको मन्त्रालयको बास
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाएका छन्। केशरमहलस्थित मन्त्रालयको अस्थायी भवनमा उनको कार्यकक्षसँगै जोडिएको कोठालाई सुत्ने र खाने व्यवस्थासहित तयार गरिएको छ। सहसचिव अनिता निरौलाका अनुसार मन्त्री पुन मंगलबार बेलुकादेखि मन्त्रालयमै बस्नेछन्। सुरक्षाकर्मीका लागि पनि मन्त्रालयमै बस्ने व्यवस्था मिलाइएको छ। सोमबार पदभार ग्रहण गरेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने निर्णय लिएका हुन्। उनले भने, "काममा लागेपछि २४ घण्टा मन्त्रालयमै बसेर काम गर्छु। आविष्कार केन्द्रमा बस्दा र यहाँ बस्दा फरक पर्दैन। समय छोटो छ, आनन्दले काम गर्ने समय छैन।" उनले उद्घाटन र सम्मेलनमा समय नबिताउने बताउँदै राम्रा सुझाव दिन सबैलाई आग्रह गरे। मन्त्रीको कोठामा स्वप्न बाटिकाको मनोरम दृश्य देखिन्छ। कोठामा प्रेसर कुकर, कराही, डेक्ची, प्लेट, गिलास, ग्यास चुल्हो, सिलिन्डर, डाइनिङ टेबल, पलङ, बेडसिट, कार्पेट, पर्दा, डोर म्याटलगायत सामान व्यवस्थापन गरिएको छ। सामान साँझ ६ बजेपछि ढुवानी भएको थियो। कर्मचारीले कोठाको भेन्टिलेशनमा ध्यान दिनुपर्ने बताएका छन्, किनकि झ्याल खोल्दा लामखुट्टे र बन्द गर्दा अक्सिजनको समस्या हुन सक्छ। जेनजी आन्दोलनमा सिंहदरबारस्थित मन्त्रालय भवन जलेपछि केशरमहलबाट सेवा प्रवाह भइरहेको छ। सिंहदरबारमा मन्त्रालय सरेपछि पनि मन्त्री पुन त्यहीँ बस्ने योजनामा छन्।
मुग्लिन-नारायणगढ सडकखण्ड अनिश्चितकालका लागि बन्द
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै मंगलबार साँझ ५ बजे फेरि ठूलो पहिरो खसेको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउन कठिनाइ भएको छ र कहिले खुल्छ भन्ने यकिन छैन। कार्यालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। यसअघि मंगलबार दिउँसो १ बजे दुवैतर्फ अवरुद्ध सडक केहीबेर सञ्चालनमा आएको थियो। तर, पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। गत शुक्रबार साँझ पनि सोही स्थानमा पहिरो खसेको थियो, जसले सवारी आवागमन दुवैतर्फ बन्द भएको थियो। करिब ४५ घण्टापछि सडक एकतर्फी सञ्चालनमा आएको थियो। तर, माथिबाट निरन्तर सुक्खा पहिरो खसिरहेकाले सडक सहज हुन सकेको छैन। दसैँका लागि घर फर्कने यात्रुहरू अलपत्र परेका छन्।
कारागार फर्किए एमाले नेता टोपबहादुर रायमाझी
काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट भागेका नेकपा एमालेका नेता तथा पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी सोमबार साँझ कारागार फर्किएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझी आफैं कारागार फर्किएको सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले बताए। चापागाईंका अनुसार, सोही प्रकरणमा थुनामा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डे भने अझै फर्किएका छैनन्। उनले केही व्यक्तिलाई खोज्ने कार्य भइरहेको र कतिपयले आफैं फर्किने जानकारी दिएको बताए। यसैगरी, सुन काण्ड र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) पनि कारागार फर्किएको चापागाईंले जानकारी दिए।
शिक्षामन्त्री पुन आजैदेखि मन्त्रालयमा सुत्ने : खाने-बस्ने व्यवस्थाको तयारी पूरा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मंगलबारदेखि मन्त्रालयमै खाने र बस्ने व्यवस्था मिलाएर कार्यभार सम्हालेका छन्। जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित मन्त्रालय भवनमा भएको आगजनीले क्षति पुगेपछि मन्त्रालयलाई अस्थायी रूपमा केशरमहलमा स्थानान्तरण गरिएको छ। शिक्षा मन्त्रालयका उपसचिव केदार कोइरालाले मन्त्री पुनको आग्रहअनुसार मंगलबारदेखि केशरमहलमा खाने र बस्ने व्यवस्था मिलाइएको जानकारी दिए। “मन्त्रीज्यूले मन्त्रालयमै बसेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ। सोहीअनुसार आजदेखि नै व्यवस्था गरिएको छ,” कोइरालाले भने। मन्त्री पुनले सोमबार पदभार ग्रहण गर्दै विज्ञान मन्त्रालयको प्रभावकारी सञ्चालनमा जोड दिए। उनले सम्भावनायुक्त क्षेत्र भएर पनि मन्त्रालयले अपेक्षित प्रगति गर्न नसकेको बताउँदै वैज्ञानिक खोज र अनुसन्धानलाई प्रवर्द्धन गर्न एक विशेष समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। उपसचिव कोइरालाले यो कदमले विज्ञान र प्रविधिको क्षेत्रमा ठोस प्रगति हुने अपेक्षा गरिएको बताए। पदभार ग्रहणका क्रममा सञ्चारकर्मीले युवाहरूलाई दिएको “जे सुकै गर” भन्ने सुझावबारे सोध्दा मन्त्री पुनले आफ्नो भनाइ प्रष्ट पारे। “मैले ‘जे सुकै गर’ भनेर सुत्नु वा निष्क्रिय बस्नु भन्न खोजेको होइन। आफ्नो विवेक प्रयोग गरेर, अरूको झोला नबोकेर, आफ्नो, समाज वा देशको हितमा काम गर्नु भन्ने मेरो आशय हो,” उनले भने। शिक्षा ऐनका सम्बन्धमा मन्त्री पुनले विज्ञहरूको सुझावलाई प्राथमिकता दिने बताए। “शिक्षा ऐनको अवस्था र आवश्यकता बुझ्न विज्ञहरूको टोली गठन गर्नेछु। उहाँहरूको सल्लाहअनुसार निर्णय लिनेछु,” उनले भने। उपसचिव कोइरालाका अनुसार मन्त्री पुनले ऐनको समीक्षा र सुधारमा जोड दिने योजना बनाएका छन्। मन्त्री पुनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथपछि उनले तत्कालै मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्। उनको यो कदमले शिक्षा र विज्ञान क्षेत्रमा नयाँ गति प्रदान गर्ने अपेक्षा गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा चोरीसिकारीमा उल्लेखनीय कमी
कावासोती । पछिल्ला दिनमा चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको चोरीसिकारीका घटना उल्लेखनीय रूपमा घटेका छन् । लामो समयदेखि गैँडाको सिकार नहुँदा संरक्षणमा सकारात्मक संकेत देखिएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अन्तिम पटक २०८० कात्तिक ३० गते चपरचुली क्षेत्रमा तस्करले जङ्गलमा खाडल खनेर दुई वटा गैँडाको ज्यान लिएका थिए । त्यसयता प्राकृतिक कारणबाहेक तस्करीका घटना भएका छैनन् । सो घटनापछि मङ्सिर १ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । छानबिन चलिरहेकै बेला नेपाली सेना र निकुञ्ज प्रशासनको संयुक्त अभियानमा आठ जना तस्कर पक्राउ परेका थिए । समितिको प्रतिवेदनअनुसार सुरक्षा रणनीति परिवर्तन भएपछि सोमबारसम्म चितवनमा शून्य चोरीसिकारीको ६७५ दिन पुगेको थापामगरले बताए । निकुञ्जको सुरक्षामा हाल नेपाली सेनाको नयाँ गोरख गण खटिएको छ । नेपाली सेना र निकुञ्ज प्रशासनले संयुक्त रूपमा गस्ती र आवश्यक अपरेसन सञ्चालन गर्दै आएका छन् । हाल निकुञ्जभित्र ५३ सुरक्षा पोस्ट छन्, प्रत्येकमा करिब १२ सैनिक तैनाथ छन् । गत २२ महिनादेखि चोरीसिकारीका कारण कुनै गैँडाको मृत्यु नभए पनि प्राकृतिक कारणले मात्रै पछिल्लो एक वर्षमा २८ गैँडा मरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा दुई गैँडा प्राकृतिक कारणले र एउटा खेतमा लगाइएको करेन्ट लागेर मरेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार वयस्क हुँदै जानु, अन्य जनावरको आक्रमण, आपसी झडप, बाढी, वासस्थानको कमी, नदी साँघुरिनु, पोखरी सुक्नु, दलदल बन्नु र जलवायु परिवर्तनजस्ता कारणले पनि गैँडा मर्ने गरेका छन् । नारायणी र राप्तीजस्ता ठूला नदी भएका कारण बाढीको जोखिम निकुञ्जमा उच्च छ, तर बाढीले कति गैँडा बगाएको यकिन तथ्याङ्क छैन । वासस्थान व्यवस्थापन र आनुवंशिक विविधता बढाउन २०८१ मा पश्चिम चितवन (पूर्वी नवलपरासी) बाट पूर्वी क्षेत्रमा १० गैँडा सारिएको थियो । पछिल्लो गणनाअनुसार नेपालमा ७५२ गैँडा छन्, जसमा ६९५ गैँडा चितवनमै छन् । बाँकी पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटामा पाइन्छन् । यसैबीच आज विश्व गैँडा दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ । गैँडा संरक्षणलाई सशक्त बनाउन सन् २०१० देखि प्रकृतिका लागि विश्वव्यापी कोषले यो दिवस मनाउँदै आएको छ ।
धनकुटाकाे साँगुरीगढीका नौ घर पहिरोको उच्च जोखिममा
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित मोक्तेनमा लगातारको वर्षापछि गएको पहिरोले नौ घर उच्च जोखिममा परेका छन् । पहिरोले तलबाट बस्ती तान्दा गाउँका घरधुरीमा ठूलो क्षति हुने खतरा बढेको छ । जोखिममा परेका घरधुरीमा केवल प्रसाद मगर, मोहन मगर, बिष्णबहादुर मगर, कुमारी मगर, राजकुमार मगर, भीमबहादुर मगर, प्रेमबहादुर मगर, रणबहादुर मगर र ज्ञान रानाको घर छन् । साथै, एक सामुदायिक चर्च पनि पहिरोको खतरामा परेको गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । पहिरोका कारण ४२ सदस्यको नौ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । गत वर्षको लगातार वर्षाले घरहरू पहिल्यै कमजोर भएका थिए । केही दिनयता भएको निरन्तर वर्षासँगैको पहिरोले ती घरहरूलाई थप जोखिममा पारेको अध्यक्ष राईको भनाइ छ । रवि–राके सडक निर्माणका क्रममा तलबाट पहिरो खसेपछि बस्ती भत्किने, चिरा पर्ने र बस्न अयोग्य हुने अवस्था बनेको हो । इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रमेश प्रधानको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेललले विपद्ग्रस्तलाई तत्काल उद्धारका लागि सुरक्षाकर्मी खटाइएको बताए । राहत र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारलाई दिइएको भए पनि आवश्यकता परे उच्च निकायसँग सहकार्य गर्ने तयारी रहेको उनले उल्लेख गरे ।
आजकाे माैसम: स्थानीय वायुको आंशिक प्रभाव
काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका तथा तराईका भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

