राज्य व्यवस्था समितिले डाक्यो प्रधानमन्त्री र प्रधानसेनापति

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री र प्रधानसेनापतिलाई छलफलमा बोलाएको छ।

आज बसेको समितिको बैठकले संवैधानिक परिषद् विधेयक तथा एनसेलको सेयर खरिद–बिक्रीबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ मंसिरको बैठकमा बोलएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।

सभापति खतिवडाका अनुसार समितिले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणबारे बुझ्न प्रधानसेनापति प्रभुराम शर्मालाई २७ मंसिरमा बोलाएको छ।

एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री शंकास्पद भएको भन्दै सरकारले अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

बुधबार बसेको लेखा समतिको बैठकले पनि एनसेनको सेयरको खरिद–बिक्री वा हक हस्तान्तरणका सम्बन्धमा विस्तृत अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भन्दै सो अवधिसम्म कारोबारलाई रोक्न निर्देशन दिएको थियो।

राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माणसम्बन्धी काम नेपाली सेनाले गर्दै आएको छ। प्राविधिक मूल्यांकनमा फेल भएको कालिका कन्स्ट्रक्सनलाई पुनः मूल्यांकन गरी सामेल गराएपछि उत्पन्न विवादबारे बुझ्न समितिले प्रधानसेनापतिलाई छलफलका लागि बोलाएको हो।

नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले दुई किलो अवैध सुनसहित तीनजना पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च २६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो । उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुंगाबाट सुन बरामद गरेको स्रोतले जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त समीक्षा स्वीकृतिका निम्ति सञ्चालक समितिको बैठक जारी छ । राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले हिजो दिउँसो समीक्षा पारित गरिसकेको छ । सञ्चालक समितिको बैठकबाट पारितपछि आजै पहिलो त्रैमासिकको समीक्षा सार्वजनिक गर्ने तयारी छ । विगतमा राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कात्तिक मसान्तभित्र सार्वजनिक गर्ने गरेको थियो । यो वर्ष करिब एक महिना ढिलो भइसकेको छ ।

मुग्लिन–पोखरा सडक विस्तार पूर्वी खण्डमा नौ किमी कालोपत्रे

दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा कालोपत्रे भइरहेको छ । सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्रे गर्ने काम अगाडि बढेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । ४१ दशमलव पाँच किलोमिटर खण्डमध्ये हालसम्म नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्रे सकिएको उनले बताए । थप पाँच किलोमिटर कालोपत्रे गर्ने काम बुधबारदेखि सुरु भएको छ । आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकबाट मार्कीचोकसम्म जोड्ने गरी अल्स्फाट प्रविधिको कालोपत्रे सुरु गरिएको उनको भनाइ छ । “गाउँपालिका चोकबाट सुरु गरेर गत असार महिनामा कालोपत्रे गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी बुधबारदेखि कालोपत्रेको काम अगाडि बढेको छ,” उनले भने । यसअघि आँबुखैरेनी –१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म गरी तीन दशमलव पाँच किलोमिटर दूरीमा कालोपत्रे सम्पन्न भइसकेको छ । अहिले १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कालोपत्रेको काम काम अघि बढेको आयोजनाले जनाएको छ । उनका अनुसार बन्दीपुर गाउँपालिका–१ नाहालाबाट छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर र आँबुखैरेनी –१ बरादीमा तीन दशमलव पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको छ । उनले भने, “दुई ठाउँमा एकतर्फीरूपमा नौ किलोमिटर खण्ड कालोपत्रे सकिएको छ । केही समयपश्चात् अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ ।” पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्रगतिमा अगाडि बढेको उहाँको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणले पनि गति लिएको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा ६३१ घरटहरा भत्काइनेछ । त्यसका लागि २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने १२ प्रतिशतमात्रै सकिएको बताइएको छ । विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडकसीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने जनाइएको छ । रासस

रुसमा मृत्यु भएका नेपालीको शव फिर्ता ल्याउन कठिन, रुसको जवाफ पर्खिदै सरकार

काठमाडौं । रुस–युक्रेन युद्धमा रुसका तर्फबाट लड्ने क्रममा ज्यान गुमाएका ६ जना नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउन चुनौतीपूर्ण बनेको बीबीसीले जनाएको छ । नेपालका लागि रुसका राजदूत मिलन तुलाधरलाई उधृत गर्दै बीबीसीले लेखेको छ,‘यसबारे अहिलेसम्म कुनै प्रगति भएको छैन ।’ परराष्ट्र मन्त्रालय स्रोतले पनि अहिलेसम्म रुसको जवाफ पर्खिरहेको प्रतिक्रिया दिएको छ । दुई देशबीच कुराकानी भइरहे पनि रुसका तर्फबाट कुनै जवाफ नआएको परराष्ट्रका अधिकारीले जनाएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार रुसका तर्फबाट लड्ने क्रममा युक्रेनी सेनाको आक्रमणमा परी ६ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखराका देवान राई, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, स्याङजाका पितक कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान छन् । बीबीसीले मृतकका परिवारको हवाला दिँदै जनाए अनुसार शवहरु जमीनमा गाडिसकिएको हुन सक्ने भएकाले तत्काल उत्खनन गरेर फिर्ता पठाउन सहज छैन । मृतक देवान राईका पिता धनराज राईलाई उधृत गर्दै सरकारले चाँडो पहल गरिदिन आग्रह गरेको बीबीसीले जनाएको छ । ‘मेरो छोराको अनुहार हेर्न चाहन्छु, छोरो फिर्ता आएन भने सरकारसँग के आश गर्ने ?’ देवानका पिताको भनाइ छ । सरकारले रुसी सेनामा भर्ती गरिएका नेपालीहरुको तथ्यांक मागेको छ । साथै अबैध रुपमा भर्ना गरिएका नेपालीलाई तत्काल फिर्ता गर्न नेपालले रुसी सरकारलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन् । बिहीबार राति फ्लाइ दुबईको एफजेड ५४३ को उडानबाट काठमाडौं आएका चन्द्र घले र मीनबहादुर घले सुनसहित पक्राउ परेका हुन् । कपडामा बेरेर छातीको दायाँबायाँ राखेर ल्याएको अवस्थामा उक्त सुन बरामद गरिएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । दुबईबाट अवैध रूपमा सुन आउँदै छ भन्ने सूचना पाएपछि विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले घलेद्वयलाई आउँदा आउँदै पक्राउ गरेको थियो । पक्राउ परेका दुवैलाई प्रहरी प्रभाग कोटेश्वर पठाइएको र थप अनुसन्धान भइरहेको डीआईजी ठकुरीले जानकारी दिए ।

एनसेलको सेयर खरिद प्रक्रिया अघि नबढाउन उच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । अदालतले एनसेल सम्बन्धीको अघिल्लो रिटमा २५ गतेका लागि छलफलमा बोलाएको छ । “जे अवस्थामा छ, त्यही अवस्थामा राख्नू प्रक्रिया अघि थप प्रक्रिया अघि नबढाउनू भनेर अल्पकालीन अन्तरिम जारी भएको छ,” आदेश जारी भएको छ ।  

भिरको ढुङ्गा लागेर महिलाको मृत्यु

बाजुरा। बाजुरामा घाँस काट्ने क्रममा भिरबाट खसेको ढुङ्गा लागेर एक जना महिलाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका–३ की अन्दाजी ३७ वर्षीया धर्मा विष्टको भिरमा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर उनको मृत्यु भएको हो । गाउँको बडाला नजिकै देउपानी मेलामा घाँस काट्न गएका बेला भिरबाट खसेको ढुङ्गा लागेर बिस्टको मृत्यु भएको बूढीनन्दा नगरपालिका–३ का अध्यक्ष जङ्बीर रोकायाले बताए। उनले भने, “आज बिहान ८ बजे ढुङ्गा लागेर घाइते हुनुभएकी विष्टलाई उपचारका लागि कोल्टी प्राथमिक केन्द्र कोल्टीमा लैजाँदै गर्दा उहाँको मृत्यु भएको हो । ” विष्टको घटनाबारे औपचारिक रूपमा प्रहरीलाई जानकारी नआएको कोल्टी इलाका प्रहरी कार्यालय बुढीनन्दा कोल्टीका प्रहरी सहायक निरीक्षक अशोक पालले बताए।

गोली लागेर प्वालैप्वाल भएको पोल कनकमणीकाे कब्जाबाट फिर्ता, बेनी ल्याइँदै

काठमाडौं। तत्कालिन जनयुद्धमा भएको माओवादी जनसेना र सरकारी सेनाबीचको भिडन्तको साक्षी बिजुलीको अम्बा अन्ततः स्थानीय तहमा फिर्ता भएको छ । पत्रकार तथा माओवादी बिरोधी अभियान्ता कनकमणी दिक्षितले सो खम्बा अनाधिकृत रुपमा उनको ललितपुर पाटनढोका स्थित क्याफेमा राखेका थिए । सरकारी सम्पत्ति बिजुलीको पोललाई दिक्षितले अनाधिकृत रुपमा कब्जामा लिएर राखेको विषयमा उनको आलोचना हुँदै आएको थियो । दिक्षितले सोही पोल देखाएर माओवादी आन्दोलन र नेताहरुका विरुद्धको अभियानसमेत चलाउँदै आएका थिए । तत्कालिन माओवादी सेनाले नेपाली सेनाको ब्यारेकमा २०६० साल चैत ३ गते आक्रमण गर्दा भएको भिडन्तमा दुवै पक्षको गोली लागेर प्वालै प्वाल परे बिजुलीको पोल १३ वर्षपछि पुनः बेनी नगरपालिका फर्काईएको हो । बेनी नगरपालिकाका मेयर सुरत केसीले ललितपुरबाट उक्त पोल आज बिहीबार साँझ बेनी ल्याउन लागिएको जानकारी दिए । युद्धको साक्षीका रुपमा रहेको पोल २०६७ असोज २१ गते बेनीबाट ललितपुरको पाटनढोका लगिएको थियो । युद्धको इतिहासका रुपमा रहेको पोल संरक्षणका लागि ललितपुर लगिएपछि नगरपालिकाले नै संरक्षण गर्नेगरी ल्याउन लागिएको उनको भनाई छ । नगरपालिकाले बेनी भिडन्तको समयमा सो पोल जहाँ थियो त्यसको नजिकै राख्ने योजना बनाएको छ । बेनीका स्थानीयहरुले युद्धका अवशेषहरू हराउँदै जान थालेको तथा साक्षीका रुपमा रहेको पोल समेत कनकमणी दिक्षितले बीना जानकारी ललितपुर लगिएको भन्दै फर्काउनुपर्ने माग राख्दै आएका थिए । नगरपालिकाले पोलको संरक्षणसँगै युद्ध भएको स्थानमा शान्तिपार्क निर्माणको काम समेत अगाडी बढाएको छ । बेनी आक्रमणमा परेर निधन भएका सबैको सम्झनामा पार्कमा उनीहरुको फोटो राखिने भएको छ । बेनी आक्रमणमा परेर तत्कालीन सेनाका १४ जना, नेपाल प्रहरीका २१ जना, स्थानीय १९ जना, माओवादी पक्षका ११८ जनाको ज्यान गएको थियो ।  

जलवायु परिवर्तनबारे काठमाडौं सहित विश्वका ८ ठुला सहरका मेयरहरूको सामूहिक प्रतिबद्धता

काठमाडौं। काठमाडौं सहित विश्वका ८ ठुला सहरका प्रमुख (मेयर)हरुले जलवायु परिवर्तनसँगै वायु प्रदुषणको विनाशकारी चक्र र सहरी केन्द्रहरुमा त्यसको गहिरो जोखिमको प्रभाव तोड्न संयुक्त प्रतिबद्धता जनाएका छन् । संयुक्त अरव इमिरेट्समा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप–२८) चलिरहँदा स्वस्थ सहरका लागि साझेदारी (पार्टनरसिप फर हेल्दी सिटीज) को विश्व सञ्जालमा आबद्ध सहरका प्रमुखहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रतिबद्धता जनाउने सहरहरूमा काठमाडौँ महानगरपालिकासहित अमेरिकाको सिकागो, रोमानियाको बुखारेस्ट, ब्राजिलको फोर्टालिजा, इन्डोनेसियाको जकार्ता, बंगलादेशको ढाका, रवंदाको कीगाली र उगान्डाको काम्पला सहर छन् । प्रमुखहरुले जारी गरेको एक संयुक्त प्रतिबद्धता पत्रमा भनिएको छ, ‘जनसंख्याको आकार र चुनौतीहरूसँगको निकटताले, सहरहरुले परिवर्तनको उदाहरणीय नेतृत्व गर्न सक्ने प्रचुर सम्भावना बोकेका छन् । कोप २८ मा विश्व नेताहरू भेला भइरहँदा, हामी विश्वभरका सहरहरूलाई वायु अनुगमनका प्रभावकारी कार्यक्रमहरू अपनाउन र आफ्ना नागरिकहरूको जीवन सुधार गर्न तथ्याङ्कमा आधारित सार्वजनिक स्वास्थ्य कार्य प्रवर्धन गर्न आह्वान गर्दछौँ ।’ प्रतिबद्धता व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले वायु गुणस्तर अनुगमन सञ्जाललाई सुदृढ गरेर भरपर्दो नीति सहित बिद्यमान वायु प्रदुषण न्यूनीकरण गर्ने नीति रहेको बताए । सार्वजनिक स्वास्थ्यमा बढ्दै गएको प्रभाव र जोखिम घटाउन, सहरहरुलाई स्वस्थ्य बनाउन आफूहरु साझेदारी अंशको रूपमा रहेको प्रमुखहरुको भनाइ छ । नसर्ने रोगबाट हुने मृत्यृको रोकथाम गर्दै सुरक्षित, उत्थानशील, अधिक लचिलो र अधिक समान सहर निर्माणमा आफूहरुले साझा संकल्पका साथ काम गरिरहेको उनीहरुको भनाइ छ । जनस्वास्थ्य र वातावरणका लागि वायु प्रदुषण सबैभन्दा ठूलो जोखिम रहेको विश्व स्वास्थ्य संगठनले औँल्याएको छ । जसका कारणबाट वार्षिक ७० लाख मानिसको मृत्यु हुने गरेको छ । विश्वका सहरहरुले मुटु रोग, स्ट्रोक र फोक्सोको क्यान्सर जस्ता गैरसंक्रामक रोगको जोखिम बहन गरिरहेका छन । सहरी क्षेत्रका बालबालिका विषाक्त हावामा सास फेर्दै हुर्किरहेका छन् ।

प्रस्तावित राजदूत र न्यायाधीशविरुद्ध ११ वटा उजुरी

काठमाडौं। पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशहरुविरुद्ध ११ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाल र सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध ११ वटा उजुरी परेको समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपतिसमशेर राणाले जानकारी दिए । बैठकमा समितिका सदस्यहरुलाई सो उजुरी र प्रस्तावित राजदूत तथा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको कार्ययोजना पनि अध्ययनका लागि वितरण गरिएको छ । पोर्चुगलका लागि प्रस्तावित राजदूत र सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशको उजुरी र कार्ययोजना अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरिएको पनि समितिका सभापति राणाले बताए। संसदीय सुनुवाइ समितिले गत मङ्सिर ९ गते बसेको बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदूत र सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूत र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । समितिको बैठक मङ्सिर २२ गते अपराह्न २ः३० बजे बोलाइएको छ ।

अध्यक्ष प्रचण्डको उपस्थितिमा काठमाडौंको तारकेश्वरमा माओवादीको नगर स्तरीय कार्यकर्ता भेला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तारकेश्वर नगर समितिले नगर स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको छ । आज आयोजित उक्त कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई प्रधानमन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । माओवादी केन्द्रले तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान चलाइराखेको छ । सोही अभियानमा सहभागी बन्न अध्यक्ष प्रचण्ड तारकेश्वर पुगेका हुन् ।

अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको बताएका छन् । प्रेस सेन्टरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मुलुक अहिले अग्रगामी दिशातर्फ गइरहेकाले व्यवस्था उल्टिने अवस्था होइन ।” उनले जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले विशेष रुपान्तरण अभियान सुरु गरेको बताए । “जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ”, उनले भने, “यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन् ।” सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताए ।रासस

नेपाललाई लगानीको गन्तव्य बनाउँन प्रधानमन्त्रीको आग्रह(सम्बाेधनसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई लागानीको गन्तव्य बनाउन आग्रह गरेका छन् । काठमाडौंमा आयोजित रेस्पोन्सेवल विजनेश समिट कार्यक्रमलाई सम्बोधनज गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार लागानी मैत्री वातावरण निर्माणका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध रहेको बताउँदै सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने उद्यमी व्यवसायी समेत सम्मिलित हालै युएईमा आयोजित सम्मेलनमा मैले नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको छु। सरकारले यसका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध छ। सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको बताउँदै त्यसका लागि व्यवसाय र समाज सबै सरोकारवालाहरु जिम्मेवार बन्नुपर्ने उनले बताए ।   रेस्पोन्सेवल विजनेश समिट कार्यक्रममा पुष्पकमल दाहाल “प्रचण्ड” को सम्बोधन (पूर्णपाठ) राष्ट्रिय व्यवसायिक पहलले निरन्तर रुपमा गर्दै आएको जिम्मेवार व्यवसाय सम्मेलन Responsible Business Summit को चौंथो संस्करणमा सहभागी हुने अवसर दिनुभएकोमा धन्यवाद व्यक्त गर्दछु। साथै यस कार्यक्रमको भव्यतम् सफलताको शुभकामना व्यक्त गर्दछु। Adapting to Emerging Business Realities भन्ने नाराका साथ आयोजित चौंथो सम्मेलन मुलुकको अर्थतन्त्रसामु देखिएको दवाव सम्बोधन गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता र लक्ष्य प्राप्तिमा सहायकसिद्ध हुने मैले विश्वास लिएको छु। NBI ले अत्यन्त समयसामयिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममार्फत समाज, वातावरण र अर्थतन्त्र जस्ता जल्दोबल्दो विषयमा विश्वमा भईरहेका नविनतम सुधार र प्रयासमा हुने वृहत छलफल र अन्तरक्रियाबाट मुलुकले अवलम्वन गर्नुपर्ने आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु। सामाजिक उत्तरदायित्व क्षेत्रको विकासको क्षेत्रमा NBI ले निर्वाह गर्दै आइरहेको भूमिका सराहनीय छ। व्यवसायिक आचारसंहिताको पालना र जिम्मेवार व्यवसाय भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिरहेको NBI ले आगामी दिनमा समग्र निजी क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु। व्यवसायिक आचारसंहिताको पालना र जिम्मेवार व्यवसाय भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिरहेको NBI ले आगामी दिनमा समग्र निजी क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु। उद्यमी व्यवसायी समेत सम्मिलित हालै युएईमा आयोजित सम्मेलनमा मैले नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको छु। सरकारले यसका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध छ। सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको छ। तर यसका लागि व्यवसाय र समाज सबै सरोकारवालाहरु जिम्मेवार बन्नुपर्दछ। जिम्मेवार व्यवसायिक अभ्यासहरू नैतिक सामाजिक दृष्टिकोणबाट मात्र नभई व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक छन्। जिम्मेवार अभ्यासहरुमार्फत् व्यवसायहरूले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्छन्। मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रुपमा प्रस्तुत हुन आवश्यक छ। सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह गर्दछु। यहाँहरु सबैलाई अवगत नै छ– अर्थतन्त्रको क्षेत्रमा विद्यमान दवावलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु। केही दिन पहिला मात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरु सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत अन्तरक्रिया गरेको छु। अन्तरक्रियापछि केही महत्वपूर्ण घोषणाहरुसमेत गरिएको छ। मेरो विश्वास छ– उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ। तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ। तर, व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहेनत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ। त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको छु। यसमा समेत यहाँहरुको सक्रिय सहभागिता, महत्वपूर्ण सुझाव र कार्यान्यवनमा जिम्मेवारीवोध एवं तत्परता रहनेछ भन्ने मैले विश्वास लिएको छु। हिजो मात्रै शासकीय सुधारको विषयमा केन्द्रित रहेर नेपाल सरकारका बहालवाला र भूतपूर्व राष्ट्रसेवक कर्मचारीहरुको बृहत गोष्ठीको आयोजना गरिएको छ। त्यसबाट समेत केही महत्वपूर्ण सुझाव र दिशानिर्देश प्राप्त भएको छ। शासकीय सुधारका क्षेत्रमा केही नयाँ गर्न सकियो भने त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिनेछ भन्ने हामीले विश्वास लिएका छौं। कार्यक्रममा विज्ञज्यूहरुवाट प्रस्तुत कार्यपत्र तथा छलफलबाट उद्यमी व्यवसायी, सरोकारवाला सहभागी सवै लाभान्वित हुनुका साथै यसबाट प्राप्त सुझाव तथा छलफलले निति निर्माणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दछु। दुई दिनसम्म सञ्चालन हुने यस महत्वपूर्ण कार्यक्रममा यहाँहरु अभिरुचिपूर्वक सहभागी हुनुहुने विश्वास व्यक्त गर्दछु। अन्त्यमा, कार्यक्रमले सरकार, निजी क्षेत्र र समानका अग्रणी निकायलाई एकै मञ्चमा ल्याएर जिम्मेवार बन्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु। सरकार राष्ट्रिय व्यवसायिक पहललाई आवश्यक सहयोग र साझेदारीका लागि प्रतिबद्ध रहेको विश्वास दिलाउँछु। धन्यवाद।

अशोक सिग्देललाई रथीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले उनलाई बढुवा, नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । जङ्गी अड्डाले मङ्सिर १७ मा उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो । रक्षा मन्त्रीले जङ्गी अड्डाको सिफारिस मन्त्रिपरिषद्मा पेश गरेका हुन् । जङ्गी अड्डाले मङ्सिर ८ मा उनलाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो । यसअघि बढुवा सिफारिसका लागी जङ्गी अड्डाले सूचना निकालेपछि उपरथी तारा ध्वज पाण्डेको उमेर विवाद सतहमा आएपछि उनले राजीनामा दिए । पाण्डेको राजीनामा यसअघि नै मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । रथीमा बढुवा भएसँगै प्रभुराम शर्मापछि सिग्देल प्रधान सेनापति हुने निश्चित भएको छ ।

एनसेलको विज्ञप्ति – कर कानुन उल्लंघन गरेका छैनौं, ८० प्रतिशत सेयर कारोबार मूल्य ४० करोड डलर

काठमाडौं । एनसेलले नेपालको कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार नगरेको स्पष्ट पारेको छ । एक विज्ञप्ति सार्वजनिक गर्दै एनसेलले भनेको छ,“एनसेल आजको दिन सम्मको सबै कर दायित्त्वहरु सम्पूर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणीकरण कर कार्यालयबाट भएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुनअनुसार यसको पालना गरिनेछ । यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेबार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौँ ।” एनसेलले पछिल्लो सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको बताएको छ । “यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा बिक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ । यस बाहेक यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्वसहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्‍याउनेछ ।” यस्तो छ एनसेलको विज्ञप्ति एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेल आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुर्‍याउन प्रतिबद्ध रहेको छ । एनसेलको शेयरहोल्डिङ्का बारेमा थप प्रकाश पार्न निम्न लिखित केही मुख्य तथ्यहरू प्रस्तुत गर्न चाहन्छौं । स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मुलका शेयरधनी सतिश लाल आचार्यले भने, “आजियाटाले रेनोल्ड्स होल्डिङ्स ९सेन्ट किट्समा रहको कम्पनी० मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो । शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो । सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ । यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीेले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ । यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने छ । आजियाटाले पारदर्शिता सुनिश्चित गर्दै आफ्नो प्रेस विज्ञप्तिहरुमा कारोबारको विस्तृत विवरण प्रदान गरेको छ। एनसेलले आजको दिन सम्मको सबै कर दायित्वहरु सम्पुर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणिकरण कर कार्यालयबाट भएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिनेछ । यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्घ रहेको छ र आफ्ना सम्पुर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेवार वित्तिय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौं । हामी आवश्यक सहमतिहरुका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेका छौं । एनसेलमा केही परिवर्तनहरु भईरहेको बेला हाम्रा ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने सुनिश्चित गराउन चाहन्छौं। एक जिम्मेवार कम्पनीको रुपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न हामी प्रतिबद्घ छौं । अन्त्यमा, लाखौं नेपालीहरुको जीवनलाई समृद्घ बनाउने उद्देश्य अनुरुप परिस्कृत डिजिटल सेवाहरुमार्फत दृढ इच्छा र क्षमताका साथ अझ सशक्त रुपमा अघि बढ्न एनसेल तयार छ । मोवाइल कनेक्टिभीटी सेवामा मात्र सिमित नभई विभिन्न सेवाहरु प्रदान गर्न हामी हाम्रो नेटवर्कको पुर्वाधार विकासलाई निरन्तरता दिने छौं र यससँगै देशमा प्रविधिले ल्याउने महत्वपूर्ण अवसरहरुको पनि सिर्जना हुनेछ । एनसेलको यस नयाँ यात्राको सुरुवात एक परिवर्तन मात्र नभई यसले डिजिटल नेपाल निर्माणको अवधारणालाई सक्रिय रुपमा योगदान पुर्याउनेछ ।