शुक्लाफाँटाका पशुमा लम्पी स्किन रोग सङ्क्रमण माहामारी सुरु

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ ।

गाईको बाच्छीमा रोगका लक्षण देखिएपछि पशु रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीको टोलीले नमुना सङ्कलन गरेको हो । सङ्कलित नमुना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो । नमुनाको पिसिआर विधिबाट परीक्षण गरिँदा लम्पी स्किन पुष्टि भएको पशु चिकित्सक जोशीले जानकारी दिए ।

जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा दुई वर्षअघि मात्र लम्पी स्किन रोग देखिएको थियो । त्यसयता हालसम्म यो पहिलोपटक पुनः सङ्क्रमण भेटिएको हो । हाल एकमात्र गाईको बाच्छीमा रोग देखिएको भए पनि आसपासका गाईभैँसीलगायत अन्य पशुमा भने लक्षण भेटिएको छैन ।

“कुन ठाउँबाट रोग फैलिएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ”, उनले भने, “गत आर्थिक वर्षको अन्त्यतिर देखिएको यो वेभ सुदूरपश्चिम प्रदेशमा भने पहिलोपटक पुनः देखापरेको छ”, वरिष्ठ पशु चिकित्सक जोशीले भने, “विसं २०८० मा देशभर झन्डै १३ लाख पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएका थिए भने करिब ५० हजार पशुको मृत्यु भएको थियो ।”

सुदूरपश्चिम प्रदेशमा लम्पी स्किनविरुद्धको खोप न्यूनमात्र लगाइएको र वर्षायाम चलिरहेकाले रोग व्यापक फैलिने चुनौती रहेको वरिष्ठ पशु चिकित्सक जोशीले बताए । उनका अनुसार खोप सबैभन्दा प्रभावकारी उपाय भए पनि प्रदेशमा हाल मौज्दात नभएकाले रोगले विगत विसं २०८० सालमा जस्तै विकराल रूप लिन सक्ने देखिन्छ ।

“लम्पी स्किन रोग देखिएको पशुलाई तुरुन्त अलग राख्नुपर्छ”, उनले भने, “गोठ वरिपरि सरसफाइमा ध्यान दिनु आवश्यक हुन्छ, कीरा, लामखुट्टेजस्ता रोग सार्नेवाहक नियन्त्रण गर्नुपर्छ, सङ्क्रमित पशुलाई छुनु वा गोठमा पस्दा सावधानी अपनाउनुपर्छ ।”

उनका अनुसार यो रोग लागेमा गाईभैँसीमा विशेष गरी शरीरभरि गाँठी (ठुला दाना) उठ्ने, आँखा वरिपरि, नाक र मुखमा फोका देखिन उच्च ज्वरो (१०४ डिग्री फरेनहाइट वा बढी), शरीरका विभिन्न भाग विशेष गरी घाँटी, पछाडिको भाग, पेट र थुन वरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, कचेरा निकाल्ने, सिङ्गान बग्ने, फिँज धेरै निकाल्ने तथा लिम्फ नोड सुन्निनेजस्ता लक्षण देखिन्छन् । 

शुक्लाफाँटा नगरपालिकाको पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टका अनुसार चार वर्षअघि वडा नं १२ कालागौंडीका किसानले पालेका गाईमा लम्पी स्किन रोग भेटिएको थियो । त्यसपछि अहिले वडा नं ९ सिसैयामा पुनः रोग देखिएको हो । “किसानलाई सङ्क्रमित गाईलाई अन्य पशुसँग नबाँध्न सचेत गराएका छौँ”, उनले भने, “सङ्क्रमित गाईलाई अलग राख्ने सल्लाह दिएका छौँ, सचेतना फैलाउने कार्य गरेका छौँ ।”

संविधानले नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै वर्तमान संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । उनका अनुसार केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त समाजलाई संविधानले एकताको डोरामा बाँधेको छ । राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान दिवसले सबै नेपालीलाई एकजुट हुन प्रेरित गर्ने विश्वास व्यक्त गरे । गणतन्त्र स्थापनार्थ विभिन्न आन्दोलनमा जीवन आहुति दिने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले राजनीतिक नेतृत्व, कार्यकर्ता र आम नागरिकको योगदानलाई सम्मान प्रकट गरेका छन् । संविधानले हिमाल, पहाड र तराईको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचनालाई समान संरक्षण दिएको उल्लेख गर्दै उनले आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच नपुग्ने विश्वास व्यक्त गरेका छन् ।  राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा उतार्दै सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि सबै नागरिकलाई राज्यका सेवा–सुविधामा समान पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन् ।

संविधान दिवस आज, देशभर मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा मूल समारोह आयोजना भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय गरिएको छ । अहिलेको विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष झाँकीलगायतका सांस्कृतिक कार्यक्रम भने स्थगित गरिएको छ । नेपाली जनताको लामो बलिदानीपूर्ण सङ्घर्षको उपलब्धि स्वरूप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा गरिएको हो । दोस्रो संविधानसभा निर्वाचनपछि गठित संविधानसभाले अथक मिहिनेत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । विसं २०७२ असोज ३ गते राति नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति तथा विभिन्न राजनीतिक दलका शीर्ष नेता लगायतले देशवासीलाई शुभकामना दिएका छन् । देशभर मनाइन लागेकाे छ ।

पूर्वप्रधानमन्त्री खनालकी पत्नी रविलक्ष्मीको बायाँ हात काटियो, स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ – गत २४ भदौमा आफ्नै निवासमा भएको तोडफोड र आगजनीको घटनामा गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको बायाँ हात काटिएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारको शल्यक्रियाका क्रममा बायाँ हात काटिएको अस्पताल स्रोतले जानकारी दिएको छ। पारिवारिक स्रोतका अनुसार, उपचारका क्रममा चिकित्सकहरूको सल्लाहअनुसार उनको बायाँ हात काट्नुपरेको हो। “उहाँको बायाँ हातबाट एन्टिबायोटिक चलाइएको थियो, तर स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चिकित्सकहरूले हात काट्ने निर्णय लिए,” पारिवारिक स्रोतले बतायो। शल्यक्रिया सम्पन्न भएपछि चित्रकारलाई हाल अस्पतालको वार्डमा सारिएको छ। “उहाँको स्वास्थ्य अवस्था अहिले स्थिर छ र सुधारोन्मुख हुँदै गएको छ,” अस्पताल स्रोतले जनाएको छ।

हामीले राखेका फरक मत संविधानमा सम्बोधन गरेको भए अहिलेको अवस्था आउने थिएन : अध्यक्ष प्रचण्ड

काठमाडौँ, – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै जेन–जी आन्दोलन र दस वर्षअघिको माओवादीको फरक मतबीच समानता रहेको बताउनुभएको छ। उहाँले संविधानसभामा आफूहरूले राखेका असहमतिहरू र अहिलेको जेन–जी आन्दोलनका मागहरूमा उल्लेखनीय समानता रहेको उल्लेख गर्नुभयो।   अध्यक्ष प्रचण्डले सन्देशमा भन्नुभयो, “आज म जेन–जी आन्दोलनकारीहरूलाई स्मरण गराउन चाहन्छु कि दस वर्षअघि हामीले संविधानसभामा दर्ज गरेका फरक मत र अहिले जेन–जीले उठाएका मागमा समानता छ। त्यतिबेला हाम्रो संख्या पुगेन, हामीले सम्झौता गर्नुपर्यो। तर, हाम्रा असहमतिहरूलाई लिखित फरक मतका रूपमा इतिहासको अदालतमा दर्ज गरेका थियौँ।” उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग आफूहरूको त्यतिबेलाको मुख्य फरक मत रहेको र अहिलेको निर्वाचन प्रणालीले पैसाको खोलो बग्ने र सामान्य जनताले चुनाव लड्ने कल्पना गर्न नसक्ने अवस्था सिर्जना गरेको बताउनुभयो। “हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा थियौँ,” प्रचण्डले थप्नुभयो। उहाँले पछिल्ला घटनाक्रमहरूले आफूहरूका फरक मतहरू त्यतिबेलै स्वीकार गरिएको भए आज युवाहरूले विद्रोह गर्नुपर्ने र रगत बगाउनुपर्ने अवस्था नआउने उल्लेख गर्नुभयो। “परम्परागत दलहरूले परिवर्तनको आवाज सुन्न ढिला गर्दा दस वर्ष लामो जनयुद्धमा ठूलो क्षति भयो र अहिले जेन–जी विद्रोहमा पनि देशले ठूलो मूल्य चुकाउनुपर्यो,” उहाँले भावुक हुँदै भन्नुभयो। प्रचण्डले संविधानको मर्म र जनताको अपेक्षालाई आत्मसात् गर्दै समावेशी, समानुपातिक र जनमुखी व्यवस्था निर्माणमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

'हामीले गलत विचार र नीति लिएका होइनौं तर व्यवहारमा हामी कतै न कतै चुक्यौं' : अध्यक्ष प्रचण्ड

काठमाडौं, — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान दिवसको अवसरमा भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्नुभयो। उहाँले नेपालको संविधानलाई जनक्रान्तिको ऐतिहासिक दस्तावेजको संज्ञा दिनुभयो। उहाँले भन्नुभयो, “हजारौं शहीदको बलिदान अनि लाखौं नागरिकको त्याग र तपस्यापछि लेखिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले दश वर्ष पूरा गर्दै छ। जनता आफैंले आफ्नो सम्प्रभुता स्थापित गरेको यो ऐतिहासिक संविधान नेपाली जनताको अविच्छिन्न आन्दोलनको उपलब्धि र जनक्रान्तिको दस्तावेज हो, जसको पृष्ठभूमिमा जनयुद्ध र शान्तिपूर्ण जनआन्दोलनको फ्युजन छ।”   प्रचण्डले जेन–जी आन्दोलनलाई समयमै सम्बोधन गर्न नसक्दा देश तरल अवस्थामा प्रवेश गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “भर्खरैको जेन–जी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको छ। आजको दिन भर्खरैको जेन–जी आन्दोलनदेखि लोकतन्त्रका लागि भएका सबै क्रान्ति र आन्दोलनहरूमा जीवन उत्सर्ग गरेका वीर शहीदप्रति हार्दिक श्रद्धाञ्जली। बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछौं। र, त्यो बलिदानका उपलब्धि खेर जान नदिने संकल्प गर्दछौं।” उहाँले जेन–जी आन्दोलनका माग र माओवादीले संविधानसभामा राखेका फरक मतमा समानता रहेको उल्लेख गर्नुभयो। “आज म जेन–जी आन्दोलनकारीहरूलाई यत्तिमात्र स्मरण गराउन चाहन्छु कि दस वर्षअघि हामीले दर्ज गरेका फरक मत र अहिले जेन–जी आन्दोलनले राखेका मागमा समानता छ। अहिले जेन–जीले मागेको प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो त्यतिबेलैको सबैभन्दा मुख्य फरक मत थियो। हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा थियौं,” उहाँले भन्नुभयो। भदौ २३ र २४ का घटनाप्रति दुख प्रचण्डले भदौ २३ र २४ गतेका घटनाले देशमा ठूलो क्षति पुगेको बताउनुभयो। “हामी यतिखेर ७० भन्दा बढी युवाहरूको जघन्य हत्याको शोकमा छौं। २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको छ,” उहाँले भन्नुभयो। उहाँले २३ भदौको आन्दोलनलाई वास्तविक जेन–जी आन्दोलन भएको तर २४ भदौमा भएको तोडफोड र आगजनीलाई प्रतिगमनकारी र अपराधी तत्वहरूको कार्य भएको बताउनुभयो। “२४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत संरचनामा भएको तोडफोड, लुटपाट र आगजनी जेन–जीका काम थिएनन्। ती प्रतिगमनकारी र अपराधी तत्वहरूको नेपाल र नेपाली जनताविरुद्ध गरिएका प्रहार थिए,” उहाँले भन्नुभयो। पुनर्निर्माण र छानबिनको माग पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो, “यतिखेर धुलो हेरेर निराश हुने छुट हामीलाई छैन, धुलो टक्टक्याएर हामीले निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु छ। अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायलाई हार्दिक आव्हान गर्दछु।” साथै, उहाँले भदौ २३ र २४ का घटनाको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिनका लागि आयोग गठन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो। संविधान संशोधन र राष्ट्रिय एकताको आह्वान जेन–जी आन्दोलनको बलमा संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासकीय स्वरूपमा जान सकिने अवसर गुमेको उहाँले बताउनुभयो। “जेन–जी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भयो, शासकीय स्वरूप नै बदल्ने र इतिहास रच्ने मौका गुम्यो,” उहाँले भन्नुभयो। उहाँले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि देशभक्त र लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो। “आफ्नो देशको बारेमा आफैं निर्णय लिने नेपाली जनताको आत्मनिर्णयको अधिकार तथा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सम्पूर्ण देशभक्त नेपालीहरू एकजुट भएर राष्ट्रिय आन्दोलन सृष्टि गर्नु आजको ऐतिहासिक आवश्यकता बनेको छ,” उहाँले भन्नुभयो। माओवादीको आत्मसमीक्षा प्रचण्डले माओवादीले व्यवहारमा केही कमजोरी गरेको स्वीकार गर्नुभयो। “हामीले गलत विचार र नीति लिएका होइनौं तर व्यवहारमा हामी कतै न कतै चुक्यौं। शहीद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ्ग र यातनापीडित साथीहरूका हामीप्रतिका अपेक्षा पूरा गर्न हामी कतै न कतै अलमलियौं,” उहाँले भन्नुभयो। गठबन्धनको बाध्यताले पार्टीको प्रभावकारिता कमजोर भएको उल्लेख गर्दै उहाँले नेतृत्व हस्तान्तरण र आत्मसुधारको प्रक्रिया अघि बढिरहेको बताउनुभयो। अन्तरिम सरकार र निर्वाचनप्रति प्रतिबद्धता अन्तरिम सरकारलाई असफल बनाउने प्रयास भइरहेको भन्दै उहाँले भन्नुभयो, “चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुन सक्छ। हामी घोषित निर्वाचन समयमै सम्पन्न होस् भन्ने चाहन्छौं।” उहाँले संविधान र लोकतान्त्रिक गणतन्त्रका आधारभूत मान्यताबाट पछाडि फर्कनु संकट निम्त्याउने कदम भएको बताउनुभयो। संविधान दिवसको अवसरमा शुभकामना दिंदै प्रचण्डले भन्नुभयो, “संविधान र लोकतन्त्रको रक्षामार्फत् राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु हामी सबै नेपालीको साझा कर्तव्य हो। यो दिन त्यो कर्तव्यको संकल्प गर्ने दिन हो। संविधान दिवसका अवसरमा म पुनः सबैमा हार्दिक शुभकामना।”   संविधान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले व्यक्त गरेको शुभकामना सन्देशको पूर्णपाठ    आदरणीय जनसमुदाय र जेन–जी युवाहरु, हजारौं शहिदको बलिदान अनि लाखौं नागरिकको त्याग र तपस्यापछि लेखिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले दश वर्ष पूरा गर्दै छ । जनता आफैंले आफ्नो सम्प्रभुता स्थापित गरेको यो ऐतिहासिक संविधान नेपाली जनताको अविच्छिन्न आन्दोलनको उपलब्धि र जनक्रान्तिको दस्तावेज हो, जसको पृष्ठभूमिमा जनयुद्ध र शान्तिपूर्ण जन आन्दोलनको फ्युजन छ । भर्खरैको जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको छ । आजको दिन भर्खरैको जेनजी आन्दोलनदेखि लोकतन्त्रका लागि भएका सबै क्रान्ति र आन्दोलनहरुमा जीवन उत्सर्ग गरेका बीर शहिदप्रति हार्दिक श्रद्धाञ्जली । बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछौं । र, त्यो बलिदानका उपलब्धि खेर जान नदिने संकल्प गर्दछौं ।  हामी यतिखेर ७० भन्दा बढी युवाहरुको जघन्य हत्याको शोकमा छौं । २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको छ । यतिखेर धुलो हेरेर निराश हुने छुट हामीलाई छैन, धुलो टक्टक्याएर हामीले निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु छ । अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायलाई हार्दिक आव्हान गर्दछु । देश र जनताप्रतिको हाम्रो निष्ठा र प्रतिवद्धता पुनर्निर्माणमा देखिनुपर्छ त्यसका साथै २३ र २४ गतेका घटनाहरुको स्वतन्त्र, निश्पक्ष र उच्चस्तरीय छानविन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गर्दछु । आदरणीय जनसमुदाय, जेन–जी आन्दोलनलाई समयमैं विवेकपूर्वक सम्वोधन गर्न नसक्दा मुलुक आज निकै तरल अवस्थामा प्रवेश गरेको छ । जनतामाथि राज्यले युद्ध थोपर्यो भने के हुन्छ, त्यो हामीले व्यहोरेर आएका हौं । हिजो जनयुद्ध हाम्रो रहर थिएन,  जनतामाथिको शोषण, दमन, भेदभाव र हिंसाविरुद्धको प्रतिरोध थियो । सीमान्त वर्ग, लिंग, जाति, क्षेत्र र समुदायले राज्यसँग बन्दुक उठाएर आफ्नो हक मागे । हजारौंको बलिदान, लाखौंको त्याग र तपस्यापछि माओवादी र सात राजनीतिक दल १२ बुँदे सहमतिमा आए । १९ दिने जनआन्दोलन, बृहत शान्ति सम्झौता, अन्तरिम व्यवस्थापिका संसद र अन्तरिम सरकार हुँदै देश संविधानसभामा प्रवेश ग¥यो। दलित, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, मधेसी, कर्णाली, सुदूरपश्चिम लगायत उपेक्षित उत्पीडित वर्ग र समुदायले आफैं आफ्नो संविधान लेख्न बसे । पहिलो र दोश्रो संविधानसभामा शासन प्रणालीलाई यथास्थितिमा टिकाइराख्ने र अग्रगमनतर्फ लैजाने विषयमा ठूलो संघर्ष भयो । माओवादी बाहेकका दलहरु परम्परागत संसदीय अभ्यासभन्दा माथि जान चाहेनन् । तर संविधान जारी नगर्ने हो भने देश नै विभाजनको डीलमा जाने खतरा उत्पन्न भएपछि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलगायत कैयन असहमतिलाई फरक मतका रुपमा राख्दै हामीले संविधान जारी गर्यों । आज म जेन–जी आन्दोलनकारीहरुलाई यत्तिमात्र स्मरण गराउन चाहन्छु कि दस वर्षअघि हामीले दर्ज गरेका फरक मत र अहिले जेन–जी आन्दोलनले राखेका  मागमा समानता छ । त्यतिखेर संविधानसभामा हाम्रो संख्या पुगेन, हामीले सम्झौता गर्नुपर्यो । तर, हामीले हाम्रा असहमतिहरुलाई लिखित फरक मतका रुपमा इतिहासको अदालतमा दर्ज गरेका थियौं । अहिले जेन–जीले मागेको प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो त्यतिबेलैको सबैभन्दा मुख्य फरक मत थियो । पैसाको खोलो बग्ने र भुइमान्छेले चुनाव लड्ने कल्पनै गर्न नसक्ने अहिलेको निर्वाचन प्रणाली हामीले भत्काउन चाहेका थियौं । हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा थियौं । पछिल्ला घटनाक्रम हेर्दा कता कता यस्तो लाग्छ, हाम्रा फरक मतहरु त्यतिबेलै स्वीकार गरिन्थ्यो र त्यसको सफल कार्यान्वयन हुन्थ्यो भने आज युवाहरुले विद्रोह गर्नुपर्ने र रगत बगाउनुपर्ने अवस्था सिर्जना नहुन सक्थ्यो । परम्परागत दलहरुले परिवर्तनको आवाज सुन्न ढिला गर्दा दस वर्ष लामो जनयुद्धमा ठूलो क्षति भयो र अहिले जेन–जी विद्रोहमा पनि देशले ठूलो मूल्य चुकाउन पर्यो । आदरणीय जनसमुदाय, प्रधानमन्त्रीका रुपमा वा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा मैंले कांग्रेस र एमालेका नेतृत्वलाई जनताको आवेग र आक्रोशसँग नखेल्न निरन्तर खबरदारी गरिरहें । रोस्टमबाट मात्र होइन, सडकबाट, हुलाकी राजमार्गकेन्द्रित अभियानदेखि मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानबाट पनि लाखौं जनतालाई साक्षी राखेरै पटकपटक भनिरहें । श्रीलंका र वंगलादेशको संकट संसदमा संख्याको संकट थिएन, त्यसैले दुई तिहाइको घमण्डबाट बाहिर निस्कन सुझाव दिईरहें । सामाजिक संजालमाथि लगाइएको प्रतिबन्धको विरोध पनि गरिरहें । प्रतिपक्षका रुपमा संसदमा हाम्रो जत्रो आकार थियो, त्योभन्दा धेरै नै ठूलो प्रतिरोध हामीले गर्यौं । कुशासन, भ्रष्टाचार, पक्षपात, शासकीय दम्भ र अत्याचारविरुद्ध हामी सडकदेखि सदनसम्म लड्यौं । राजनीतिक दलका रुपमा जेन–जी आन्दोलनका मागमा पहिलो समर्थन पनि हामिले नै गर्यौं । आन्दोलनमा चरम दमनपछि २३ गते साँझ नै हामीले प्रधानमन्त्रीको राजीनामा मागेका हौं । संसद विघटनको विधि र प्रक्रियामा असहमत हुँदाहुँदै पनि अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपतिज्यूसँग सहजीकरणमा प्रचण्ड र माओवादी केन्द्रको के कस्तो भूमिका रह्यो त्यो सबैमा स्पष्ट नै छ । म यत्ति भन्छु, मेरा लागि जेन–जी आन्दोलन माओवादी जनक्रान्तिले सम्झौताको टेवलबाट पूरा गर्न नसकेका एजेण्डाहरुकै अभिव्यक्ति हो ।  जेन–जी आन्दोलनको बलमा त्यही संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरुपमा जाने गरी तत्काल संविधान संशोधन गर्न सकिन्थ्यो । देशका अरु आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्थ्यो । त्यसपछि बरु संसद विघटनबारे सोच्न सकिन्थ्यो । तर आज जेन–जी आन्दोलनको उपलब्धि  केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भयो, शासकीय स्वरुप नै बदल्ने र इतिहास रच्ने मौका गुम्यो । मलाई विश्वास छ, जेन–जी आन्दोलन लोकतन्त्रविरोधी होइन बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीको विरोधी र उन्नत लोकतन्त्रको पक्षधर हो । त्यति हुँदाहुँदै पनि २३ र २४ भदौका आन्दोलनलाई एउटै कोणबाट हेर्न सकिंदैन । २३ भदौको आन्दोलन वास्तविक जेन–जी आन्दोलन थियो जसलाई सरकारले क्रूर नरसंहारमा परिणत गर्यो, त्यसबाट आन्दोलनकारीहरुमा सरकारप्रति देखिएको चरम आक्रोश स्वभाविक थियो तर २४ गते राष्ट्रकै गौरवका रुपमा रहेका सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका संरचनामा देशव्यापीरुपमा तोडफोड, लुटपाट र आगजनीबाट जसरी विध्वंस गरियो ति जेन–जीका काम थिएनन् । ति त प्रतिगमनकारी र अपराधितत्वहरुको नेपाल र नेपाली जनताविरुद्ध गरिएका प्रहार थिए । यसबाट आज देश इतिहासकै गम्भीर संकटमा परेको छ । आफ्नो विवेक सौर्य र वलिदानका कृतिमानबाट हाम्रा पुर्खाहरुले बचाएको नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र नेपाली जनताको आत्मसम्मानमा आज गम्भिर प्रश्न खडा हुँदैछ । आफ्नो देशको बारेमा आफैं निर्णय लिने नेपाली जनताको आत्मनिर्णयको अधिकार तथा राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सम्पूर्ण देशभक्त नेपालीहरु एकजुट भएर राष्ट्रिय आन्दोलन सृष्टि गर्नु आजको ऐतिहासिक आवश्यकता बनेको छ, त्यसका लागि सम्पूर्ण देशभक्त र लोकतन्त्रवादी शक्ति र आम जनसमुदायसँग विशेष अपिल गर्न चाहन्छु ।  आदरणीय देशभक्त जनसमुदाय, आज संविधान दिवसको अवसरमा म स्वीकार गर्छु, कि हामीबाट पनि कमजोरी भए । हामीले गलत विचार र नीति लिएका होइनौं तर व्यवहारमा हामी कतै न कतै चुक्यौं । वर्ग र समुदायसँगको हिजोको हाम्रो जीवन्त सम्बन्ध कतै न कतै फितलो भयो । शहिद परिवार, वेपत्ता परिवार, घाइते, अपांग र यातनापीडित साथीहरुका हामीप्रतिका अपेक्षा पूरा गर्न हामी कतै न कतै अलमलियौं । एक्लै सरकारको नेतृत्व गर्न हाम्रो कहिल्यै संख्या पुगेन । गठबन्धनको वाध्यात्मक राजनीतिले हामीलाई पनि कतै न कतै बिटुलो बनायो । हामीले देशविरुद्ध कुनै राष्टघाती सम्झौता गरेनौं, कुनै काण्डमा मुछिएनौं, कुनै कलंकको टीका लगाएनौं, भ्रष्टाचारविरुद्ध जुधिरह्यौं तर जनताको हामीप्रतिको अपेक्षाको सापेक्षतामा हामी कमजोर देखियौं । तपाईहरुले देखिरहनुभएको छ, हामीले आफूलाई सच्याइरहेका छौं र अझ सच्याउनेछौं । हामीले निश्चित बिधि र प्रक्रियामा नेतृत्व हस्तान्तरण बारे छलफल गरिरहेका छौ ।लोकतन्त्रको यो झण्डामा सबैभन्दा धेरै रगत हाम्रै छ । जनतासँग प्रत्यक्ष र सार्थक सम्बन्ध कायम गरेर हामी यो झण्डाको रक्षा गर्नेछौं । आदरणीय जनसमुदाय, देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन् । अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास शुरु भइसकेको छ । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुन सक्छ । हामि घोषित निर्वाचन समयमैं सम्पन्न होस् भन्ने चाहन्छौं । देशभक्त र लोकतन्त्रवादी शक्तिहरुका लागि अबका दिनहरु निरन्तर चुनौतीपूर्ण हुनेछन् । हाम्रो स्पष्ट मत छ, संविधान र लोकतान्त्रिक गणतन्त्र एवं यसका आधारभूत मान्यता भन्दा पछाडि फर्केर हामी समाधानमा होइन, थप संकटमा पुग्छौं । लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो । इतिहासको चिहानमा मिल्काइएकाहरुले युवा पुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धि उल्ट्याउन चाहेका छन् । त्यसैले अहिले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खोजेको छ । संविधान र लोकतन्त्रको रक्षामार्फत् राष्ट्रको स्वतन्त्रताको रक्षा गुर्न हामी सबै नेपालीको साझा कर्तव्य हो । यो दिन त्यो कर्तव्यको संकल्प गर्ने दिन हो । संविधान दिवसका अवसरमा म पुन सबैमा हार्दिक शुभकामना ।

जेनजी आन्दाेलनमा दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ । जेनजी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारीसाधन जलेर नष्ट भएका छन् । दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार ४४ वटा चारपाङ्ग्रे पूर्ण रूपमा क्षति भएका छन् । टिपर, ट्र्याक्टर, स्काभेटर, टेलर, लोडर, दमकललगायत सवारीसाधन जलेको उनको भनाइ छ । त्यसैगरी १३३ पूर्ण रूपमा क्षति भएका मोटरसाइकलमा ८३ वटा सरकारी, ४७ निजी, तीन थान निजी स्कुटर र १० वटा साइकल रहेका सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए । उनका अनुसार उच्च अदालत तुलसीपुरका पाँच वटा सवारीसहित तीन वटा निजी मोटसाइकल जलेर नष्ट भएका छन् ।  तुलसीपुर उपमहानगरमा छ थान सरकारी, एक थान निजी सवारीसहित एक थान दमकल, मोटरसाइकललगायत सवारी जलेर क्षति भएका छन् । घोराही उपमहानगरमा दुईवटा गाडी र सात वटा मोटरसाइकल जलेर नष्ट भएका छन् भने आन्तरिक राजस्व कार्यालय तुलसीपुरका दुईवटा गाडी र पाँच वटा मोटरसाइकल जलेका छन् । लोकसेवा आयोग तुलसीपुरका दुईवटा गाडी र मोटरसाइकल पाँच वटा जलेका छन् । बबई गाउँपालिकाका नौ मोटरसाइकलमध्ये छ वटा सरकारी र तीन वटा निजी रहेका छन् । जिल्ला समन्वय समितिका तीन गाडी र १८ वटा मोटरसाइकल जलेर नष्ट भएका छन् ।  जिल्ला ट्राफिक कार्यालय दाङका दुईवटा गाडी, २९ मोटरसाइकल, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका एक थान गाडी र आठ वटा सरकारी मोटरसाइकल जलेर नष्ट भएका सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए ।   भू तथा जलाधार संरक्षण कार्यालय तुलसीपुर, प्रदेश निर्वाचन कार्यालय, सडक विभाग तथा पूर्वाधार कार्यालयसहित जिल्लामा दुई दर्जन बढी सरकारी कार्यालयका सवारीसाधन जलेर नष्ट भएका छन् । त्यसैगरी ३४ भन्दाबढी संरचना क्षतिग्रस्त भएका छन् । 

शुक्लाफाँटा निकुञ्जमा सडक बिग्रेका कारण खुलेन सफारी

कञ्चनपुर । वर्षाका कारण निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द भएको छ ।  वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी अझै सञ्चालनमा आउन नसकेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । “वर्षाले ब्रिगेको बाटो र पुल मर्मत गर्न सकिएको छैन”, उनले भने, “सडकमा खाल्डाखुल्डी छन्, ठुलो घाँस काट्नुपर्ने छ, पुल मर्मत गर्नुपर्ने छ दसैँ र तिहारकोबिचमा निकुञ्ज सफारी खोल्छौँ ।”  निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा तीन हजार तीन सय ७१ जनाले निकुञ्ज भ्रमण गरेका छन् । जसमा एक सय ९९ विदेशी र एक सय ५२ सार्क मुलुकका पर्यटक छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, एक सय ११ प्रजातिका पुतली, चार सय ६१ प्रजातिका चरा र  ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।  विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर जस्ता वन्यजन्तु पनि छन् । जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् ।  तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार तीन सय २३ बढी बाह्रसिङ्गा छन् ।

सुनसान बागलुङको ‘कर्लिम गाउँ’

बागलुङ । “यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्”, बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल भन्छन् ।  उनलाई अचेल एक्लो महसुस हुँदै गएको छ । कँडेललाई छरछिमेकी गाउँबाट बसाइसराइ गरेर सहर झरेपछि कर्लिम गाउँ रित्तो बनेकामा निकै दुःख लागिरहेको छ । कुनै बेला गुल्जार रहेको यो गाउँमा दुई/चार घरमा मात्रै मान्छे भेटिन्छन् ।  यसैकारण समस्या पर्दा गुहार माग्दासमेत सहयोग गर्ने कोही नभएको कँडेल बताउँछन् । “गाउँमा बिमार पर्दासमेत अस्पतालसम्म पुर्‍याउने मान्छेसमेत नपाइने अवस्था छ । गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तुको आतङ्क बढ्दै गएको छ । घरकै छेउमा वन्यजन्तुले बासस्थान बनाउँदा हिँड्डुल गर्न पनि त्रास हुने गरेको छ”, उनी भन्छन् ।  स्थानीय मैना सुवेदीले गाउँमा युवा शक्ति नहुँदा खेतीबारीमा काम गर्नसमेत छोडिएको बताए । एक दशक अगाडिसम्म गाउँमा धेरै मान्छे हुँदा रमाइलो रहेको स्मरण गर्दै हरेक वर्ष जनसङ्ख्या घट्दै जाँदा दुःख सुखमा पनि मान्छे नभेट्ने अवस्था रहेको उनको भनाइ छ । यस्तो अवस्था अन्त्यका लागि राज्यले बसाइसराइलाई व्यवस्थापन गर्नुपर्ने र घर खाली राख्न नपाइने नीति ल्याउनुपर्ने सुवेदीको धारणा छ । “गाउँमा निस्किने बाटोसमेत वनमारा र झाडीले पुरिएको छ । युवाहरू विदेश गए । उनीहरूले कमाएको धनले आफ्ना परिवार सहर बजारमा घर बनाएर सारे । धनीमानी सबै सहर बजार र विदेशमा गए । त्यसैले जता हेर्‍यो  त्यतै बाँझो जमिन, उराठिलो बस्ती मात्रै देखिन्छ”, उनले भने । काठेखोलाको कर्लिम मात्र होइन जिल्लाका अन्य धेरै ठाउँबाट बसाइसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । जसले ग्रामीण क्षेत्र सुनसान छन् । काठेखोला जिल्लामै धेरै बसाइसराइ गर्ने ठाउँ हो । यहाँका अधिकांश युवा जापान, कोरिया र अस्ट्रेलियामा छन् भने उनीहरूको परिवार बागलुङ बजार, पोखरा, काठमाडौँ र चिवतन बसाइँ सरेका छन् । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले नागरिकलाई गाउँमा रोक्नका लागि सीप, प्रविधि र उद्यमसँग जोड्ने कार्यक्रम ल्याइएको बताए । पहिलेको तुलनामा गाउँमा धेरै परिवर्तन आए पनि बसाइसराइ रोक्न नसकिएको उनको भनाइ छ ।  “गाउँमा बसेर उद्यम गर्ने युवालाई अनुदानसहित प्राविधिक सहयोगसमेत गर्दै आएका छौँ । गाउँपालिकाको स्रोतले भ्याएसम्मको काम गरिरहेका छ । यस कार्यमा सबैले सहयोग गर्न आवश्यक छ । गाउँमा अवसर सिर्जना गर्न सबै लागौँ”, अध्यक्ष थापाले भने । 

नारायणगढ-मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खस्दा एक यात्रुकाे मृत्यु

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक यात्रुको मृत्यु भएको छ । तनहुँबाट नारायणगढतर्फ गइरहेको ग २ ख १८३६ नम्बरको बसमा मंगलबार साँझ इच्छाकामना गाउँपालिका- ६ नाम्सीखोला पुलमा सडकमाथिबाट ढुङ्गा खसेर लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय  ऐश्वर्य कामी गम्भीर घाइते भएका थिए ।  मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । बस र चालक तनहुँ म्याग्दे गाउँपालिका- २ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बजारमा भोजपुरे खुकुरीकाे माग बढ्दै, उत्पादनमा कमी

भोजपुर । परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ । दक्ष कालीगढको अभावले मागअनुसारको उत्पादन गर्न नसकिएको व्यवसायीहरू बताउँछन् । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा  सङ्कटमा पर्दै गएको हो । भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तरराष्ट्रिय बजारसम्म हुने भए पनि मागअनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायीहरूको भनाइ छ । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय कालीगड हर्कबहादुर विश्वकर्माले बताए । कालीगड पेसामा नयाँ पुस्ताको रुचि हराउँदै गएका कारण खुकुरी उत्पादनमा कमी आउँदा माग धान्न समस्या रहेको उनको भनाइ छ । “पछिल्लो समय भोजपुरे खुकुरीको देश–विदेशबाट माग आउने गरेको छ”, उनले भने, “गाउँघरमा अहिले दक्ष जनशक्ति नहुँदा उत्पादनमा कमी आएको छ  । बजारको मागलाई धान्न मुस्किल छ । यो पेसालाई पुस्तान्तरणको अभाव देखिएको छ ।” मुख्य गरेर भोजपुरे, सिरुपाते, चित्लाङ्गले कोथीमोडालगायतका खुकुरीको बजारमा बढी माग रहेको उनले बताए। यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम रु एक हजारदेखि अधिकतम २० हजारसम्म पर्ने व्यवसायी दिनेश गजमेरले बताए । बाहिरका जिल्लाबाट दुईचार सय खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने उनको भनाइ छ ।    विगतका वर्षहरूमा धेरै कालीगढ भए पनि पछिल्लो समयमा व्यावसायिक रूपमा यो काम गर्ने मानिसहरूको सङ्ख्या क्रमशः घट्दै गएको उनले जानकारी दिए । बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको उनले बताए ।  विदेश जाने लहरको कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक पर्ने कृषि औजार उपकरण बनाउने जनशक्तिको पनि अभाव देखिन थालेको छ ।

भक्तपुरमा आधा दर्जन एमाले नगर कमिटीका  पदाधिकारीहरूको सामूहिक राजीनामा

काठमाडौं । नेकपा एमालेका आधा दर्जन नगर कमिटी पदाधिकारीले सामूहिक रूपमा पदत्याग गरेका छन् । सामूहिक राजीनामा दिनेमा सूर्यविनायक नगर कमिटीकी अध्यक्ष एलिशा कार्की, चाँगुनारायण नगर कमिटीका संयोजक रोजन खड्का, मध्यपुर थिमी नगर कमिटीका संयोजक रोशन कुटु, भक्तपुर नगर कमिटीका संयोजक रोजिना गोठे, भक्तपुर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष विकल्प शर्मा र सानोठिमी क्याम्पस कमिटीका संयोजक निराजन थापा छन् । जेन–जीको ध्वंसात्मक आन्दोलनमा भएको “अनावश्यक हस्तक्षेप” प्रति आपत्ति जनाउँदै उनीहरूले आफ्नो नेतृत्वमा रहेका कमिटीहरू विघटन भएको घोषणा गरेका छन् । विद्यार्थीको पक्षमा खडा हुनुपर्ने संगठनलाई पार्टी नेतृत्वले दमनको औजार बनाउन खोजेको आरोप उनीहरूले लगाएका छन् । ‘विद्यार्थीको पक्षमा खडा हुनुपर्ने संगठनलाई दमनको मतियार बनाउन खोजिएको र भक्तपुर जिल्ला कमिटीका अध्यक्षलगायत बहुमत सदस्यले पनि राजीनामा दिइसकेको अवस्थामा हामी मौन बस्न सक्दैनौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘हालको प्रधानमन्त्रीले नेतृत्व गरिरहेको पार्टीको जनवर्गीय संगठनको कुनै तहको नेतृत्वमा रहन हामीलाई नैतिक तथा सामाजिक जिम्मेवारीले नदिने भएकाले आजैबाट लागू हुनेगरी यो संयुक्त राजीनामा दिएका छौं ।’ त्यसैगरी, उनीहरूले युवालाई कुनै पार्टी, पद वा कुर्सीको दास नभई देश जोगाउने अभियानमा आवश्यक रूपमा उभिनु पर्ने आवश्यकता औंल्याएका छन् ।

जेनजी आन्दाेलनमा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप आज शाेक बिदा

काठमाडौँ । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । यही भदौ २३ र २४ गते जेनजी पुस्ताको प्रदर्शनमा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप सार्वजनिक बिदा दिइएको मंगलबार गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको थियो । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,'मिति २०८२ भाद्र २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन मिति २०८२।०६।०१ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८२/०५/३० गते निर्णय भएको व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

चाडपर्व नजिकिँदै गर्दा राजधानी स्याउको मूल्य बढ्यो

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा राजधानीको स्थानीय बजारमा स्याउको मूल्यमा वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार मंगलबार फुजी स्याउको थोक मूल्य प्रतिकिलो ३४ रुपैयाँले बढेको छ । सोमबार प्रतिकिलो औसत २७६ रुपैयाँमा किनबेच भएको फुजी स्याउ मंगलबार ३१० रुपैयाँमा कारोबार भएको छ । तर, मासिक आधारमा भने फुजी स्याउको मूल्य ५.४९ प्रतिशतले घटेको देखिन्छ । भदौको पहिलो साता यो स्याउ प्रतिकिलो ३२८ रुपैयाँमा बिक्री भएको थियो । साउनको अन्तिम साता भने फुजी स्याउको मूल्य प्रतिकिलो २८० देखि ३३० रुपैयाँको दायरामा रहेको थियो । यस्तै, एक महिनाको अवधिमा झोले स्याउको मूल्य पनि ३.५४ प्रतिशतले घटेको छ । हाल झोले स्याउ प्रतिकिलो २०० देखि २५० रुपैयाँमा थोकमा कारोबार भइरहेको छ ।

राष्ट्रिय सभा अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेट

काठमाडौं। राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरि बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिनुभएको हो। भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उहाँहरूबीच छलफल भएको थियो।   सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराउनु भएको थियो।  भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरि अघि बढ्न आग्रह गर्नुभयो।

सुदूरपश्चिमका कारागारबाट भागेका ६०८ कैदी फर्किए

कैलाली । जेनजी आन्दोलनपछिका प्रदर्शनका क्रममा सुदूरपश्चिमका विभिन्न कारागारबाट भागेका मध्ये सोमबारसम्म ६०८ कैदीबन्दी फर्किएका छन् । प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार फर्किएकामध्ये केही स्वेच्छाले आए भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार पुर्‍याएको हो । बाजुरा र अछाम बाहेकका सात जिल्लाका कारागारबाट कुल १,४५८ कैदी फरार भएका थिए । तीमध्ये ८५० जना अझै फरार रहेको प्रहरीको तथ्यांक छ । संबन्धित जिल्ला कारागार कार्यालयहरूले सार्वजनिक सूचना जारी गर्दै फरार कैदीलाई आत्मसमर्पण गर्न आग्रह गरेका छन् । उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको प्रदेश प्रहरीको भनाइ छ ।