भाग्न लागेका कैदीबन्दीमाथि सेनाले गाेली चलाउँदा रामेछापमा २ जनाको मृत्यु
रामेछाप । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
एकजना कैदी गम्भीर छन् भने अन्य १० जना पनि घाइते भएको थापाले बताए । ‘सम्झाउँदा बुझाउँदा पनि नमानेर बलजफ्ती निस्कन र नाबाजीसहित जेल तोडेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउन पर्यो’, प्रमुख जिल्ला अधिकारी थापाले भने ।
घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहकोछ । अहिले कारागार नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । कारागारमा महिला १६ तथा पुरुष ३१८ गरी ३३४ जना कैदी थिए ।
निषेधाज्ञा, कर्फ्युका कारण त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चिकालका लागि बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यु आदेश एवम् विषम परिस्थितिका कारण विमानस्थलको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै अर्को सूचना जारी नभएसम्मको लागि बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिन समेत आग्रह गरिएको छ । प्राधिकरणले विमानस्थल खुलेको सूचना पाएपछि सम्बन्धित वायु सेवा निगममा सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन अनुरोध गरेको छ । यसअघि प्रवक्ता शेर्पाले विमानस्थल बुधबार साँझ ६ बजेसम्म बन्द रहने जानकारी दिएका थिए ।
पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न पत्रकार महासंघको अपिल
काठमाडौं । नेपाल पत्रकार महासंघले देशभरको विषम परिस्थितिमा पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न अपिल गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै पत्रकारिताको धर्म निर्वाह गरिरहेका सबैको प्रशंसा गर्दै निर्बाध रूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न पनि आग्रह गरेका छन् । महासंघले पत्रकारहरूलाई संविधान र कानुनले दिएको प्रेस स्वतन्त्रताको उपभोग गर्दै पत्रकार आचारसंहिताको पालना गर्न र सत्य, सन्तुलित तथा विश्वसनीय समाचार मात्र प्रकाशन गर्न सुझाएको छ । यसै गरी, जनतालाई सुसूचित गर्ने दायित्व पूरा गर्न कुनै पनि पक्षबाट अवरोध नहोस् भन्नेमा महासंघ सचेत रहेको र सम्बद्ध पक्षहरूसँग समन्वय गरिरहेको पनि जनाएको छ । विज्ञप्तिमा निषेधित क्षेत्र र कर्फ्युको समयमा समाचार सङ्कलन गर्न जाँदा सुरक्षाका लागि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। महासंघले परिचय खुल्ने परिचयपत्र बोक्न, प्रेस ज्याकेट लगाउन, समूहमा हिँड्न र आफ्नो सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न पत्रकारहरूलाई आग्रह गरेको छ । पत्रकार तथा सञ्चार माध्यममाथि कुनै पनि प्रकारको धम्की, त्रास, आक्रमण वा अवरोध भएमा महासंघलाई जानकारी गराउन पनि आग्रह गरिएको छ । यसै गरी, सञ्चारगृहहरूलाई पनि आफ्ना पत्रकारहरूको सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ ।
टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा तीन दिन नि:शुल्क
काठमाडौं । नेपाल टेलिकमले तीन दिनका लागि नि:शुल्क इन्टरनेट र भ्वाइस कल सुविधा उपलब्ध गराएको छ । टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो सेवा हिजो रातिदेखि नै सक्रिय भएको हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग सम्पर्क सहज बनाउन यस योजना ल्याइएको उनले जानकारी दिए । ग्राहकहरूले नि:शुल्क सुविधा लिन *१४१५*८*३# डायल गरी डेटा र *१४१५*८*७# डायल गरी भ्वाइस कल सेवा सक्रिय गर्न सक्नेछन् । नि:शुल्क डेटा १ एमबीपीएस क्षमताको हुने र भ्वाइस कल सेवा नेपाल टेलिकमको नेटवर्कभित्र (अननेट) मात्र सीमित हुने टेलिकमले जनाएको छ । यसबारे जानकारी सबै ग्राहकलाई एसएमएसमार्फत पठाइएको छ ।
आज दिउँसाे १२ वजेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ । देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ । सेवाका लागि तयार छौः वायुसेवा सञ्चालक सङ्घ वायुसेवा सञ्चालक सङ्घले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सङ्घका सदस्य कम्पनीहरु सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराउनुभएको हो । सङ्घले यही भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा युवाहरुमाथि भएको दुःखद् घटना र त्यसबाट सृजित हिंसाप्रति गहिरो चिन्ता र दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा दिवंगत भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । यसैबीच सङ्घले छुट्टै विज्ञप्ति निकालेर उडान सञ्चालनमा रहेका हेलिकप्टरहरुबाट कुनै पनि राजनीतिज्ञ, मन्त्रीलगायतलाई उडान सेवा नदिएको दाबी गरेको छ ।
सडकमा सेना, विना काम घरबाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह
काठमाडौं । मंगलबारको जेन-जीन आन्दोलनका क्रममा भएको क्षतिको प्रतिक्रियास्वरूप नेपाली सेना राजधानी काठमाडौंका सडकहरूमा गस्तीमा निस्किएको छ। राति १० बजेबाट सेना र अन्य सुरक्षा निकायहरूलाई परिचालन गरिएको हो। आन्दोलनका क्रममा भौतिक संरचनामा क्षति पुगेपछि सुरक्षाका लागि कडाइ गरिएको बताइएको छ। सैनिक गस्तीले घर वा गल्लीबाहिर निस्केका सर्वसाधारणलाई विना आवश्यक काम बाहिर ननिस्कन आग्रह गर्दै घर फर्काइरहेका छन्। यद्यपि, आकस्मिक सेवामा संलग्न व्यक्तिहरूलाई सोधपुछ र परिचयपत्रको आधारमा आवागमनको अनुमति दिइएको छ। प्रदर्शनकारीले आगजनी गरेको संसद भवन क्षेत्रमा सर्वसाधारणको प्रवेशमा सेना तथा सुरक्षाकर्मीले रोक लगाएका छन् । त्यस्तै, अन्य सरकारी तथा संवैधानिक निकायहरूमा पनि सेना र सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ ।
जेनजीकाे प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाको स्वतन्त्र छानबिन गर्नुपर्छ: युरोपेली संघ
काठमाडाैं । युरोपेली संघ (इयू)ले नेपालमा जारी प्रदर्शनका क्रममा भएको हिंसा र मृत्यु घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ । इयूले वक्तव्यमा भनेको छ, “नेपालमा जारी प्रदर्शनका क्रममा भएका हत्या र हिंसात्मक घटनाले हामीलाई दुःखी बनाएको छ । यी घटनाहरूको स्वतन्त्र छानबिन हुन आवश्यक छ ।” ईयूले संयम अपनाउन आह्वान गर्दै भनेको छ, “जीवन रक्षाका लागि आवश्यक सबै कदम चाल्न ध्यान दिनुपर्छ । मृतक परिवारप्रति हाम्रो समवेदना छ र घाइतेहरूको छिटो स्वास्थ्य लाभको कामना गर्दछौं ।” युरोपेली संघले संवादमार्फत सबै पक्षबीच मतभेद समाधान गर्न र सबै मौलिक अधिकारहरू सुनिश्चित गर्न आग्रह गरेको छ ।
प्रधानसेनापति सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् । नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।
जेनजी आन्दोलनकारीलाई घर फर्किन आग्रह गर्दै बालेन भने-अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक आह्वान गर्दै बालेनले भनेका छन्, ‘ प्लिज जेनजी, देश तपाईँहरूकै हातमा हो । तपाईँहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।
सार्वजनिक सम्पत्ति क्षति नपुर्यानु: जेन–जी नेतृत्व
काठमाडाैं । जेन–जी नेतृत्वले आन्दोलनरत युवाहरूलाई प्रधानमन्त्री केपी ओलीले राजीनामा दिइसकेकाले सार्वजनिक सम्पत्ति तोडफोड नगर्न आग्रह गरेको छ । सार्वजनिक सम्पत्ति ताेडफाेड नगर्न र नेतालाई नछोड्न उनीहरूले माइकिङ गर्दै आग्रह गरेका हुन् । तर, पनि प्रदर्शनकारीले तोडफोड गर्न छोडेका छैनन् ।
काठमाडाैंमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो । कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवा र आरजुमाथि कुटपिट
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आक्रमण गरेका छन् । बुढानीलकण्ठस्थित उनको घरमा प्रदर्शनकारीले आक्रमण गरेका हुन् । प्रदर्शनकारीको आक्रमणबाट देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी आरजु राणा घाइते भएका छन् ।
प्रधानसेनापतिसहित सुरक्षा निकायका प्रमुखहरूको आह्वान: राजनीतिक संवादबाट समाधान खोजौं
काठमाडौं । प्रधानसेनापतिसहित सबै सुरक्षा निकायका प्रमुखहरूले मुलुकको वर्तमान परिस्थितिमा राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन् । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको सन्दर्भमा मुख्य सचिव, गृहसचिव, प्रधानसेनापति, सशस्त्र प्रहरी महानिरीक्षक, नेपाल प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै आम नागरिकलाई संयमित रहन आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको हुँदा थप जनधनको क्षति हुन नदिन सबैलाई संयमता अपनाउन अनुरोध गर्दछौं । यस विषयमा राजनीतिक संवादकै माध्यमबाट छिटोभन्दा छिटो शान्तिपूर्ण समाधान खोज्न सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछौं ।” संयुक्त आह्वान पत्रमा मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापाले हस्ताक्षर गरेका छन् ।
राप्रपाका संघ र प्रदेशका सबै सांसदकाे सामूहिक राजीनामा
काठमाडौं । राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले सामुहिक राजीनामा दिई संसदबाट बाहिरिने निर्णय गरेको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् । देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको सामूहिक राजीनामा दिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
प्रधानमन्त्री ओलीले दिए राजीनामा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले पदबाट राजीनामा दिएको ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरेर पठाएको पत्रमा उल्लेख छ । ‘सम्माननीय राष्ट्रपतिज्यू, संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, ओलीको पत्रमा भनिएको छ । जेनजीको आन्दोलन नियन्त्रणबाहिर पुगेसँगै ओली राजीनामा दिन बाध्य भएका हुन् ।
कलङ्कीमा प्रहरीकाे गोली लागेर चारजना आन्दाेलनकारी घाइते
काठमाडौँ । काठमाडौँको कलङ्कीमा गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । थप विवरण आउन बाँकी रहेकाे छ ।

