काठमाडौँ बासीलाई मेलम्चीको पानी छिट्टै खुवाउँछु : मन्त्री यादव

काठमाडौं। खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताएका छन् ।

काठमाडौंवासीले सो पानी एक हप्ता भित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला उनले मंगलवार अर्थमन्त्री डा. प्रकाश शरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ सो प्रतिबद्धता व्यक्त गरेका हुन् । खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गरेका उनले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालय सकारात्मक छलफल भएको बताए । मन्त्री यादवले फेरि उपभोक्ता र भेन्डरसहित अर्थ मन्त्रालयसँग छलफल गरेर मेलम्चीको पानी काठमाडौँ ल्याउने काममा देखिएको समस्या समाधान गर्ने आश्वासन दिए ।

उनले भने, ‘यहाँ अर्थ मन्त्रालयमा खानेपानीको विषयमा छलफल भएको छ । सकारात्मक कुरा भएको छ । हामी फेरि बसेर छलफल गरेर यो पानी ल्याउने प्रक्रिया हामी अगाडि बढाउँछौँ । छिटोभन्दा छिटो हामी काठमाडौँको जनतालाई पानी खुवाउँछौँ ।’

यता, काठमाडौंवासीले भने एक हप्ता भित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउने व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । एक हप्ता भित्र पनि सो पानी काठमाडौँ ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनीहरूको चेतावनी छ । कोटेश्वरका स्थानीय हरि गौतमले अर्थमन्त्रीसँगको भेटमा सो पानी एक हप्ता भित्र काठमाडौँ आउने गरी आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको बताए । गौतमकाअनुसार ११ करोड, ५० लाख ६६ हजार हेलम्बुका स्थानीयले माग गरेको रकम सरकारले तत्काल उपलब्ध गराए खानेपानी ल्याउने काममा देखिएको अवरोध हट्नेछ ।

यसैबिच, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाडौँ ल्याउने कुरामा हेलम्बुका स्थानीयले कुनैपनि अवरोध नगरेको स्पष्ट पारे । अध्यक्ष शेर्पाले स्थानीयसँग गरेको सम्झौता अनुसारको बजेट भने तत्काल व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए ।

धनुषामा एउटै मञ्चमा १३ जोडीले गरे बिना दाइजो विवाह

जनकपुरधाम । धनुषामा एउटै मञ्चमा १३ जोडीले सामूहिक रूपमा बिना दाइजोको विवाह गरेका छन् । मिथिला नगरपालिका–२ स्थित सतलोक आश्रममा उनीहरूले दाइजोमुक्त विवाह गरेका छन् । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१० औँ तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा एउटै मञ्चमा सोमबार १३ जोडीको अन्तरजातीय एवं आदर्श विवाह गराइएको छ । उनीहरूको विवाह १७ मिनेटमै सम्पन्न भएको थियो । असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह गराइएको शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टले बताए । ‘विवाह हुने चार जोडी नेपाल र ९ जोडी भारतका छन् । यो विवाहलाई रमेणी विवाह पनि भनिन्छ । ‘यो विवाह पूर्णतः आदर्श एवं दाइजो मुक्त हुन्छ,’ भट्टले भने, ‘जातीय वा अन्तरजातीयमा विवाह गर्नु पूर्व सबै जोडीका अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्छ ।’ आइतबारदेखि सुरु भएको तीन दिवसीय दिव्य धर्म यज्ञमा शन्त गरिबदास महाराजको अमरवाणी अखण्ड पाठ, रक्तदान शिविर, विशाल भण्डारा तथा दाइजोमुक्त विवाह कार्यक्रम भइरहेको भट्टले जनाएको छ ।

देउसी भैलो खेलेर एक क्षेत्रका विद्यार्थीले अर्को क्षेत्रका भुकम्प पीडित विद्यार्थीलाई सहयाेग

काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिकास्थित जनक माध्यमिक विद्यालयका विद्यार्थीहरुबाट देउसी भैलो कार्यक्रम सन्चालन गरि संकलन भएको १६ लाख २५ हजार ३ सय साठी रुपियाँ मध्येबाट रु.७ लाख नगद र ७ सय ५० सेट न्यानो कपडा (ज्याकेट र टोपी) प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई हस्तान्तरण गरिएको छ । गत कार्तिक १७ गते पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिमा गएको विनाशकारी भुकम्पबाट प्रभावित क्षेत्रका ७ सय ५० जना विद्यार्थीहरुलाई सो सहयोग पुर्याउने व्यवस्था मिलाइएको छ । जनक मा. वि. जनक क्याम्पस, पतञ्जली योग समिति र भकुण्डेबेसी जेसिजको आयोजनामा देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम कार्तिक २७ र २८ गते सञ्चालन भएको थियो । उक्त कार्यक्रमबाट भूकम्प क्षेत्रका पीडित जनसमुदायप्रतिको भावनात्मक र मानवीय आत्मीयता तथा एक क्षेत्रका विद्यार्थीले अर्को क्षेत्रका विद्यार्थीको अवस्था प्रति सद्‌भाव समेत झल्किएको छ। हस्तान्तरणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनक माविको नमुना काम देशले सिक्नुपर्ने बताए । ‘देश भरिकै नमूना र प्रशंसनीय कार्य गर्नु भई भावनात्मक संवेदना बुझ्नभएकोमा विद्यार्थी भाइबहिनीहरू, आयोजक र स्थानीय जनसमुदायलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु’ प्रधानमन्त्री प्रचण्डले भने । नमूना विद्यालय विकासका लागि छनोट भई कार्यान्वयनको अवस्थामा रहेको जनक माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत पशुविज्ञान कार्यक्रम, पढ्‌दै कमाउँदै कार्यक्रम अन्तर्गत कुखुरा पालन, बाखा पालन, मौरी पालन, गाई भैसी पालन, तरकारी खेती, फूल खेती लगायतका कार्यक्रमहरू सञ्चालन भइरहेको विद्यालय संयोजक तथा सूचना अधिकारीले हरिहर अधिकारीले जानकारी दिए

प्रतिगामी अभियानलाई भारतका कट्टरपन्थीले प्रोत्साहित गरेका छन् : जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अहिले देशमा भइरहेका प्रतिगामी चलखेल र गतिविधिप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको जनाएको छ । आज राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सीले एक प्रेस वक्तव्य जारी गर्दै गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि प्रतिगामीहरूले चलाइरहेको त्यस प्रकारको अभियानलाई भारतको कट्टरपन्थी हिन्दुवादी शासकवर्गले पनि प्रोत्साहित गर्दै आएको बताएका छन् । यस्तो छ प्रेस वक्तव्य अहिले देशमा भइरहेका प्रतिगामी चलखेल र गतिविधिप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । काठमाडौं लगायत देशका विभिन्न स्थानमा प्रतिगामीहरूले गरिरहेका गतिविधि देशमा लोकतन्त्र, गणतन्त्र तथा धर्मनिरपेक्षताका विरुद्ध लक्षित रहेका छन् । उनीहरूले जनआन्दोलन तथा जनताको महान बलिदानद्वारा प्राप्त उपलब्धिलाई समाप्त गरेर देशमा प्रतिगमन ल्याउन लगातार अभियान चलाउँदै आएका छन् । मंसिर ०७ गते पछि देशमा भइरहेका राजावादीहरूका विभिन्न गतिविधिहरूले देशमा प्रतिगमनका लागि प्रयत्न भइरहेको कुराको नै पुष्टि गर्दछन् । गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि प्रतिगामीहरूले चलाइरहेको त्यस प्रकारको अभियानलाई भारतको कट्टरपन्थी हिन्दुवादी शासकवर्गले पनि प्रोत्साहित गर्दै आएको छ । हाम्रो पार्टीले गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रतिगामीद्वारा गम्भीर खतरा रहेको कुरा बारम्बार स्पष्ट गर्दै आएको छ । राजावादीहरूले अहिले देशमा गरिरहेका गतिविधिहरूले देशमा प्रतिगमनको खतरा बढिरहेको कुरालाई थप पुष्टि गर्दछ । यो अवस्थामा हाम्रो पार्टीले प्रतिगमनका विरुद्धमा एकताबद्ध हुनाको लागि सम्पूर्ण लोकतन्त्रवादी तथा वामपन्थी शक्तिहरूको ध्यान आकर्षित गर्दछ । नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरूले नै त्यस प्रकारका प्रतिगामी प्रयत्नलाई पराजित गरेर लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको समेत रक्षा हुनेछ भन्ने हामीलाई पूरा विश्वास छ । कुशासन र भ्रष्टाचारले गर्दा देशले अग्रगति लिन नसकिरहेको पक्षप्रति पनि हाम्रो ध्यान रहेको छ । अहिले देशमा कुशासन र भ्रष्टाचारले गर्दा जनताको जीवनस्तरमा धेरै नै गिरावट आएको छ । देशको अर्थतन्त्र गम्भीर संकटमा पुगेको छ र बेरोजगारको अवस्था गम्भीर छ । त्यसले गर्दा जनतामा निराशा र असन्तोष बढ्न गएको छ । तर त्यसको समाधानको उपाय कुशासन र भ्रष्टाचारको अन्त्य गरी सुशासन र सुदृढ गणतान्त्रिक व्यवस्थाबाट नै सम्भव हुन्छ । गणतन्त्र र धर्मनिरपेक्षतालाई चुनौति दिने वा त्यसका विरुद्धमा उभिने शक्तिहरू कुनै पनि अवस्थामा समास्याको समाधान गर्ने विकल्प हुन सक्दैनन् । प्रतिगामी शक्तिहरूले जनतामा बढ्दै गइरहेको असन्तोषको फाइदा उठाएर जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त मात्र गर्ने छन् र देशलाई अँध्यारो युगतिर फर्काउने छन् । त्यसरी देश अधोगति, विनाश र निरंकुशतातिर जाने कुरा निश्चित छ । त्यो अवस्थामा प्रतिगामीहरूका प्रतिगमनको प्रयत्नलाई पूर्णरूपले असफल पारेर जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले सम्पूर्ण न्यायप्रेमी जनताको ध्यान आकर्षित गर्दछ ।

देशभरीका कारागारमा योग शिविर चलाइने

काठमाडौं। मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरीका कारागारमा योगशिविर संचालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह राना सहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर संचालन गर्ने निर्णय गरेको हो। एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ। केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन्। नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर संचालन हुनेछ। र, व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०/७० जनाले योग्याभ्यास गर्नेछन्। पटकपटक शिविर संचालन गरी सबैलाई योगाभ्यास गराइने छ। यसअघि नक्खु, भिमफेदी, परासी र बिराटनगर कारागारमा पहिलो चरणको योग शिविर सम्पन्न भैसकेको छ।

सुदूरपश्चिममा आजदेखि उग्रतारा मेला सुरु

काठमाडौं । सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मेला देहिजाँत आजदेखि सुरु भएको छ । उग्रताराको मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन वर्षेनी लाग्ने मेलामा डडेल्धुरालगायत सुदूरपश्चिमका श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । डडेल्धुरा–बैतडी राजमार्गको पश्चिमतर्फ अग्लो रमणीय डाँडामा रहेको उग्रतारा देवीस्थानका बारेमा विभिन्न किंबदन्तीहरु रहेका छन् । किसानले हलो जोत्दै गर्दा हलोको फालीमा देवीको शिला अडकिएपछि निरन्तर रगतको धारा बगेको र रोक्ने प्रयास गर्दा देवीले दर्शन दिएको भन्ने भनाइ छ । कार्तिक शुक्ल पूर्णिमाका दिन हरेक वर्ष देवीको भव्य पूजाअर्चना गरिने परम्परा बमोजिम मेलाको रुपमा स्थापित भएको हो । मेलाको अघिल्लो रात मन्दिरमा आउने चार देउराहरुले भंण्डार घर तथा भगवती खोलामा रतेडि मनाएर मेलाका दिन ब्रह्ममुहुर्तमा चारै देउराको संगम गराइ भित्र्याउने र देवीको प्रसादको रुपमा टीका, तिलक, प्रसाद दिने प्रचलन छ ।

काठमाडौंका सडक तथा नदी किनारमा आगो बाल्न निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गर्दै चेतावनी दिएको छ । सडक तथा नदी किनारामा आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो बाल्न निषेध गरेको हो । अटेर गरेमा पहिलो पटकमा पाँच सयदेखि १५ हजार रुपियाँसम्म जरिवाना तिर्न लगाइने महानगरपालिकाको चेतावनी छ । जाडो मौसममा सडक तथा नदी किनारामा फोहोर जम्मा गरेर आगो बाल्दा वायु प्रदूषण बढ्ने भन्दै महानगरपालिकाले यस्तो निर्णय गरेको जनाएको छ । पटक पटक कारवाहीमा पर्नेलाई महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले एक लाख रुपैयाँसम्म जरिवाना तिराउने चेतावनी पनि दिएको छ । नदी किनारमा बस्नेले तथा सडक बालबालिकाले जाडोयाम शरु भएपछि फोहोर थुपारेर रातभर आगो बाल्ने गरेको र त्यसबाट वायु प्रदूषण बढ्दा श्वासप्रश्वासको समस्या बढ्ने गरेको तथ्यांकको आधारमा आगो बाल्न निषेध गरिएको विभागले स्पष्ट पारेको छ । विष्णुमती, वागमती, धोविखोला, मनोहरालगायतका नदी तथा खोलाका पुलमुनिका सडक किनाराहरुमा विशेष निगरानी र अनुगमन शुरू गरेको पनि महानगरपालिकाले जनाएको छ । विभागले खोला किनारका सडकहरुको सफाइ पनि थालेको छ ।

सात प्रदेशका गृहमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्दै, प्रहरी समायोजनको माग

काठमाडौं। प्रहरी समायोजन माग गर्दै आज सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्ने भएका छन् । दिउँसो ३ः३० बजे गृह मन्त्रालयमा हुने भेटमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे छलफल हुने बताइएको छ । मुलुकमा प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन् । देशले प्रहरी ऐन बनाइसके पनि सङ्घीय सरकारले सङ्घीय प्रहरी ऐन नबनाएका कारण प्रदेशले बनाएका कानुन लागू हुन नसकेको उनीहरूको आरोप रहेको छ ।

इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम

काठमाडौं । इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । चारदिने युद्धविरामको अन्तिम दिन पनि हमासको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशी रिहा भएका छैनन् । विभिन्न स्रोतका अनुसार विपिन हमासकै नियन्त्रणमा रहेको बताउँदै आए पनि उनको अवस्थाबारे थप कुनै जानकारी आएको छैन । सोमबारसम्म हमासले ६९ बन्दीलाई रिहा गरिसकेको छ । तर, विपिनको अवस्थाबारे अझै थाहा हुन सकेको छैन । उनी अक्टोर ७ मा हमासले गरेको आक्रमणपछि सम्पर्कविहीन भएका थिए । तर, केही दिनअघि गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी फुटेज सार्वजनिक गर्दै इजरायली सेनाले त्यसमा देखिएकामध्ये एकजना नेपाली नागरिक रहेको बताएको थियो । तर, थप विवरण सार्वजनिक भएको छैन । सोमबार राति हमासले ११ जना इजरायली नागरिकलाई रिहा गरेको छ । उनीहरूमध्ये ९ जना बालबालिका र दुईजना बालबालिका हुन् ।पहिलो दिन गएको शुक्रबार हमासले इजरायलका १३, थाइल्यान्डका १० र फिलिपिन्सका एक गरी २४ जनालाई रिहा गरेको थियो । दोस्रो दिन इजरायलका १३ र थाइल्यान्डका चारजनालाई छाडेको थियो । तेस्रो दिन आइतबार हमासले इजरायलका १३ जना, थाइल्यान्डका तीनजना र रुसका एकजना गरी १७ जनालाई छाडेको थियो । उता इजरायलले सोमबार राति ३० जना बालबालिका र तीनजना महिला गरी ३३ प्यालेस्टाइनीलाई छाडेको छ । चारनिने युद्धविरामका क्रममा इजरायलले कुल १५० प्यालेस्टाइनीलाई रिहा गरिसकेको छ । उनीहरूमध्ये अधिकांश बालबालिका र महिला हुन् । नेपाल सरकारले मध्यस्थकर्ताको भूमिकामा रहेको कतारसँग विपिनलाई छुटाउन पहल गरिदिन आग्रह गरेको थियो । गएको शुक्रबारमात्र प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी अधिकारीहरूले नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग विपिनको सकुशल रिहाइमा सघाउन आग्रह गरेका थिए ।

गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रबाट मुलुकलाई कसैले पछाडि फर्काउन नसक्ने बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले गणतन्त्रको विकल्प नभएको उल्लेख गरे । गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ । गणतन्त्रविरोधी गतिविधिबाट आफूहरू नअत्तालिएको उनले बताए । गठबन्धन नेतृत्वको सरकारको आलोपालोका विषयमा सोधिएको प्रश्नमा सभापति देउवाले ‘पछि थाहा हुने’ बताए । देउवासँगै चितवन गएका कांग्रेस नेता डा। शशांक कोइरालाले सरकारका कामप्रति नागरिक पूर्ण रूपमा सन्तुष्ट नहुँदा व्यवस्थामाथि नै प्रश्न उठाइएको उल्लेख गरे ।

सङ्घीय जनगणतन्त्र स्थापनाका लागि संघर्षमा लाग्न वैद्यको अपिल

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले यथास्थितिवादीहरूको भ्रमबाट मुक्त भई सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न अपिल गरेका छन् । अध्यक्ष वैद्यले सोमबार प्रेस वक्तव्य जारी गर्दै यतिबेला देश भयावह अवस्थाबाट गुज्रिरहेको तथा जनता वर्तमान व्यवस्थाको विकल्पको खोजीमा रहेको जनाएका हुन् । उनले जनताको परिवर्तनको चाहनालाई दुरुपयोग गर्दै पश्चगामी शक्तिहरू सङ्घीयता विरोधी र धर्मनिरपेक्षता जस्ता सीमित अधिकारहरू समेतका विरुद्ध राजा आऊ देश बचाऊ भन्ने नाराहरू लगाएर जनतालाई दिग्भ्रमित गर्ने र देशलाई पछाडि फर्काउन कसरत गरिरहेको बताएका छन् । ‘नयाँ दलालहरू सत्ता र व्यवस्था होइन नेताहरू बदमास हुन् भन्दै आफूलाई साम्राज्यवादको विश्वासिला चाकरका रूपमा पेस गर्न उद्यत छन्’, वैद्यले भनेका छन्, ‘सत्ताधारीहरू आफ्नो वर्चस्वको रक्षा गर्न हरसम्भव कोसिस गरिरहेका छन् । यो स्थितिमा देश असमाधेय द्वन्द्वमा फस्ने, नेपाल असफल राष्ट्र बन्ने र नेपाली समाज विघटित हुने खतराबाट गुज्रिरहेको छ ।’ उनले देशमा यो स्थिति पैदा हुनुका पछाडि दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय राज्यसत्ता, संसदीय व्यवस्था र त्यसले अङ्गीकार गरेको नवउदारवादी आर्थिक प्रणाली कारक रहेको दाबी गरेका छन् । ‘यसको समाधान पश्चगमन त हुँदै होइन, संसदीय व्यवस्था अन्तर्गत हुने सरकारको नेतृत्व परिवर्तनबाट समेत सम्भव छैन’, वैद्यले भनेका छन्, ‘यस सत्यलाई आजसम्म संसदीय व्यवस्था अन्तर्गत हुँदै आएका निर्वाचित सरकारहरूको असफलताले प्रमाणित गरेको छ । यो अवस्थाबाट देशलाई मुक्त गर्ने एक मात्र बाटो भनेको सङ्घीय जनगणतन्त्र नेपालको स्थापना हो । हाम्रो पार्टी सम्पूर्ण देशभक्त, प्रगतिशील, जनवादी क्रान्तिकारी तथा वामपन्थी शक्ति तथा व्यक्तित्वहरूलाई हार्दिक अपिल गर्दछ ।’

झापामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं । झापामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। सोमबार बिहान साढे ६ बजे कमल गाउँपालिका-४ बस्ने अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिषलाई पक्राउ गरेको हो। मृतक भोलाकुमारको टाउको र खुट्टामा चोट लागेको छ। घटनापछि आशिष भागेका थिए। उनलाई प्रहरीले सवा ७ बजे प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनलाई प्रहरीले कमल(४ दुध डेरी भन्ने ठाउँबाट पक्राउ गरेको हो। थप अनुसन्धानका लागि प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय दमकमा लगेको छ।

विज्ञापन निर्देशिकाविरुद्ध रिटको सुनुवाइ आज

काठमाडौं । सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अप्ठेरोमा पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुने भएको छ । अधिवक्ता सविन पोख्रेलले सरकारले विज्ञापन बोर्डमार्फत व्यावसायीलाई काम गरी खाने वातावरणमा अंकुश लगाउन खोजेको भन्दै शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । जसको सुनवाइ आज हुन लागेको हो । आइतबार तोकिएको सुनुवाइमा इजलासबाट हेर्न नभ्याइएका कारण आजका लागि तोकिएको हो । अधिवक्ता पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सार्वजनिक खरिद अनुगमनको कार्यालय, विज्ञापन बोर्ड तथा बोर्डका अध्यक्षलाई विपक्षी बनाएर रिट दायर गरेका छन् । रिटमा विज्ञापन (नियमन गर्ने) पहिलो संशोधन नियमावली २०८० र विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका २०८० हाललाई लागू नगर्न नगराउन भन्दै अन्तरिम आदेशको माग गरिएको छ । विज्ञापन बोर्डले विज्ञापन क्षेत्र विस्तार एवं प्रवर्द्धनको सट्टा संकुचन बनाउँदै विज्ञापन व्यावसायीलाई निरुत्साहित पार्ने खालको निर्देशिका ल्याएको भन्दै विज्ञापन व्यवसायीहरूले असहमति जनाउँदै आएका छन्। नेपाल सरकार विज्ञापन बोर्डले नियमनकारी भूमिका निभाउनुको सट्टा आफैँ विज्ञापन गर्ने, ऐन विपरित व्यावसायीको बिलबाट ३ प्रतिशत रकम असुली गर्ने कार्यअघि बढाएसँगै व्यवसायीहरू कानुनी उपचारमा अघि बढेका हुन्। विज्ञापन व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयले २०८० आषाढ ३१ गते जारी गरेको विद्युतीय खरिद निर्देशिका २०८० प्रति पनि तीव्र असन्तुष्ट जनाउँदै आएका छन्। कार्यालयले जारी गरेको निर्देशिकाका कारण विज्ञापन व्यवसायी मात्र नभई आमसञ्चार माध्यमसमेत बन्द हुने स्थितिमा पुगेको भन्दै व्यवसायीले तीव्र असन्तुष्टि जनाएका हुन्।

सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्नुपर्ने प्रावधान लागु गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिए । उनले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको बताए । “इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन”, कार्यालय प्रमुख रिजालले भने, “अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ ।” कार्यालयले सेवाग्राही र अटो व्यवसायीमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचितसमेत गरेको छ । “अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधन दर्तापश्चात अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ”, कार्यालयको सूचनामा उल्लेख छ । प्रविधिमा आधारित ‘इम्बोस्ड नम्बर प्लेट’मा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजालले बताए ।

भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि स्वीकृत

काठमाडौं । भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० स्वीकृत भएको छ । भूकम्प प्रभावित घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मिति २०८०।०७।२६ मा भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्धारा जारी प्रेस नोटमा उल्लेख छ । सो कार्यविधि कार्यान्वयनका क्रममा प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखसमेत जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी लगायतबाट प्राप्त राय सुझावका आधारमा समितिको २० औं बैठकको निर्णयले सो कार्यविधिमा संशोधान गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार संशोधनले अस्थायी आवास निर्माण कार्यविधिलाई थप सरलीकृत गरी बैंकिङ्ग प्रणालीबाट हुन सक्ने विलम्बलाई घटाइ अनुदान रकम सरल र सुलभ तरिकाले लाभग्राहीहरुको हातमा पुग्ने र शीघ्र अस्थायी आवास निर्माण गर्ने कुरा सुनिश्चत गरेको छ । साथै, स्थानीय तहलाई थप सुदृढ र जिम्मेवार बनाएको छ ।उक्त कार्यकारी समितिको बैठकले भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक भवन तथा संरचनाहरु स्थायीरुपमा तयार नहुँदासम्म अस्थायी संरचना तयार गरी पठन-पाठन, स्वास्थ्य सेवा, सरसफाइ तथा खानेपानी सेवाका साथै जनतालाई आवश्यक पर्ने सबै सार्वजनिक सेवाहरु सुचारु गर्ने, गराउने सम्बन्धमा पनि आवश्यक निर्णय गरेकोछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव बहादुर खड्का का अनुसार राहत वितरण, पुनर्निर्माण र पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्वन्धित विभिन्न समयमा तर्जुमा भएका कानूनहरुमा भएका प्रावधानहरुलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को व्यवस्थासँग एकरुपता हुने गरी आवश्यक संशोधन प्रकृया अगाडि बढाउने निर्णय पनि गरेकोछ ।

तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा

काठमाडौंं । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा.महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिए । “लगानी सम्मेलनका लागि तयारी थालिएको छ । यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो । लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिनेछ”, अर्थमन्त्री डा.महतले भने । लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ । लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने छ । लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’मा लैजाने भन्नेबारे पनि तयारी गर्न पनि अर्थमन्त्री डा।महतले निर्देशन दिए ।