उदयपुरमा सरकारी दमनविरुद्ध विद्यार्थी र युवाको विरोध प्रदर्शन

उदयपुर । सोमबार काठमाडाैंमा जेन–जी आन्दोलनमा युवाहरुको हत्या भएपछि उदयपुरमा विद्यार्थी र युवाले मंगलबार विहानै सरकारद्वारा गरिएको दमनविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

त्रियुगा नगरपालिकास्थित त्रियुगा जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूले र्‍याली निकालेर जेन्जी आन्दोलनमा सरकारद्वारा दमन गरिएको घटनाप्रति विरोध जनाएका थिए । प्रदर्शनमा विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा चर्को नाराबाजी गरेका थिए । उनीहरूले भनेका थिए, “विद्यार्थी र युवा मार्न पाइँदैन ।”

जेन्जी आन्दोलनका क्रममा प्रहरीले प्रदर्शनकारी १९ जनामाथि गोली चलाउँदा ज्यान गएको थियो । यो घटनाले सामाजिक र राजनीतिक स्तरमा व्यापक आलोचना र विरोध उत्पन्न गरेको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जिल्लामा विरोध प्रदर्शन हुने सम्भावित ठाउँमा सुरक्षा कडा गरिएको जानकारी दिए । उनले भने, “स्थानीय तहले विद्यालय र कलेजहरूमा शोकसभा सञ्चालन गरेका छन्, तर विहानै गाईघाटमा विरोध प्रदर्शन भएको छ ।”

यसैबीच, जेन्जीले आज पनि गाईघाटमा विरोध प्रदर्शन गर्ने तयारी गरेको जनाइएको छ । हिजो सोमबार गाईघाट, कटारी लगायतका बजार क्षेत्रमा पनि जेन्जीले प्रदर्शन गरेको थियो ।

जेन-जी प्रदर्शनमा देशभर ३४७ जना घाइते, कुन अस्पतालमा कति उपचाररत ?

काठमाडौं । सोमबार देशभर भएको जेन-जी आन्दोलनका क्रममा घाइते भएका ३४७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारी तथा निजी गरी ११ वटा अस्पतालमा उनीहरूको उपचार भइरहेको हो। मन्त्रालयका अनुसार सबैभन्दा बढी घाइते सिभिल (निजामती कर्मचारी) अस्पतालमा भर्ना भएका छन्। यहाँ १०० जनाको उपचार भइरहेको छ भने १५ जनालाई वीर र ट्रमा सेन्टरमा रिफर गरिएको छ। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ। ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन्, जसमा ८ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् व्यवस्थापन योजना अनुरूप आकस्मिक घाइतेहरूका लागि विशेष ध्यान दिन निर्देशन दिएको छ। एभरेस्ट अस्पतालमा १०२ जना घाइते उपचारमा छन्, जसमध्ये ७ जना गम्भीर अवस्थामा छन्। यहाँ पनि ३ जनाको मृत्यु भएको छ। अन्य अस्पतालहरूको अवस्था यस प्रकार छ: वीर अस्पताल: ६ जना उपचाररत पाटन अस्पताल: ४ जना गम्भीर घाइते काठमाडौं मेडिकल कलेज (केएमसी): ३७ जना, जसमा ६ जनाको शल्यक्रिया आवश्यक त्रिवि शिक्षण अस्पताल: १८ जना नर्भिक अस्पताल: ३ जना गण्डकी मेडिकल कलेज, पोखरा: १ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान: २ जना दमक अस्पताल, झापा: ७ जना विराट मेडिकल कलेज, विराटनगर: ४ जना स्वास्थ्य मन्त्रालयले आवश्यक उपचार व्यवस्था मिलाउन सबै अस्पतालहरूलाई निर्देशन दिइसकेको छ। मृतक संख्या बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालहरूमा आपतकालीन तयारी अवस्थामा राखिएको छ ।

काठमाडौंमा अनिश्चितकाल सम्मका लागि कर्फ्यु आदेश

काठमाडौं । जेनजी आन्दोलनका कारण डेढ दर्जनले ज्यान गुमाएको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा कर्फ्यु आदेश जारी गरेको छ । बिहान साढे आठ बजेदेखि सुरु कर्फ्यु आदेश अनिश्चितकाल सम्मका लागि कायम रहने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

निजी विद्यालयहरूमा दुई दिन शोक बिदा

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवा तथा विद्यार्थीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै निजी विद्यालयहरूले आज (भदौ २४) र भोलि (भदौ २५) देशभर शोक बिदा दिने भएका छन् । नेपाल मन्टेश्वरी एसोसिएसन, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थाहरूमा दुई दिनसम्म शोक बिदा रहने जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ– “देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको छ । सयौँ घाइतेहरू विभिन्न अस्पतालमा उपचाररत छन्, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ ।” संयुक्त विज्ञप्तिमा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ । साथै, उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मिति २०८२ भदौ २४ र २५ गते शोक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

ललितपुरमा फेरि सुरु भयो कर्फ्यु, मध्यरात १२ बजेसम्म कायम रहने

ललितपुर। ललितपुर जिल्ला प्रशासन कार्यालयले आज बिहान ७ बजेदेखि मध्यरात १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ललितपुर महानगरपालिकाका वडा नम्बर २, ४, ९, १८ र २५ मा कर्फ्यु लागू गरिएको हो। भैंसेपाटी क्षेत्र (वडा ४, १८, २५): कर्फ्युको चार किल्ला पूर्वमा भैंसेपाटी–बुंगमती सडक, पश्चिममा सिजी हाउजिङ–चोभार गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोलपम्प नजिकको विष्णुदेवी मन्दिर र दक्षिणमा इटनी जाने ओरालो क्षेत्रसम्म तोकिएको छ। सानेपा क्षेत्र (वडा २): सानेपाको इन्द्राणी मार्ग आसपासमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउमा रोक लगाइएको छ। कर्फ्यु क्षेत्रमा पूर्वमा सानेपा चोक–इन्द्राणी मन्दिर पक्की सडक, पश्चिममा बल्खु पुल–मनमोहन पार्कसम्मको बागमती करिडोर, उत्तरमा चक्रपथको सर्भिस लेन (बल्खु पुल–सानेपा चोक) र दक्षिणमा इन्द्राणी मन्दिर–बागमती करिडोर पक्की सडक पर्छ। च्यासल क्षेत्र (वडा ९): च्यासलमा पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रंगशाला, उत्तरमा मनोहरा खोला र दक्षिणमा पश्चिम मल पोखरी जाने बाटोसम्म कर्फ्यु लागू गरिएको छ।

बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

बागलुङ । यस वर्ष बागलुङबाट रु ५४ लाख बराबरको छुर्पी निर्यात भएको छ । दूध र दुग्धजन्य पदार्थको बिक्री वितरण गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले आर्थिक वर्ष २०८१–८२ मा रु ५४ लाख ८८ हजार २४० बराबरको निर्यात गरेको  सङ्घका अध्यक्ष दीपक गौतमले बताए ।  अध्यक्ष गौतमका अनुसार बागलुङमा उत्पादित अधिकांश छुर्पी अमेरिका पुग्ने गरेको छ । अमेरिकामा कुकुरको मुख्य खानाका रूपमा रहेको छुर्पी नेपालबाट ठूलो मात्रामा निर्यात हुने गरेको छ । आव २०८०–८१ रु ३८ लाख ५४ हजारबराबरको छुर्पी बिक्री गरेको सहकारीले अघिल्लो वर्षको तुलनामा यस वर्ष रु १६ लाखभन्दा बढीको छुर्पी बिक्री गरेको छ । दुग्ध सहकारीले यस वर्ष रु १० करोड ९९ लाख १७ हजार ८५५ बराबरको दूध र दुग्धजन्य वस्तुको कारोबार गरेको छ ।  उनका अनुसार सहकारीबाट दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवाको उत्पादन हुँदै आएको छ । त्यसमध्ये अन्तरराष्ट्रिय बजारमा सहकारीको छुर्पीको माग उच्च छ । छुर्पीको माग बढेपछि सङ्घले एक वर्षमा रु १६ लाखको छुर्पी उत्पादनमा वृद्धि गरेको हो । दुग्ध सहकारी सङ्घले बागलुङका १५ सहकारी संस्थाको दूध सङ्कलन गरेर दूध र दुग्धजन्य वस्तुको बिक्री गर्दै आएका छन् । जसमा एक हजार ५०० भन्दा बढी किसान आबद्ध छन् । हाल सहकारी सङ्घले छुर्पी प्रतिकिलो रु एक हजार २०० मा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् । सहकारी सङ्घमा १७ कर्मचारीले सङ्कलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको अध्यक्ष गौतमले बताए । यस्तै आव २०७९र८० मा  रु २९ लाखको छुर्पी निर्यात गर्न सफल भएको थियो । 

काठमाडौं महानगरभित्रका विद्यालयमा तीन दिन विदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ २४ देखि २६ गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरेको छ । सोमबार भएको जेनजी प्रदर्शनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई तीन दिन दिन बन्द गर्ने निर्णय गरेको हो । सोमबार भएको जेनजी पुस्ताहरूले भ्रष्टाचार लगायतविरूद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा १९ जनाले ज्यान समेत गुमाइसकेका छन् ।

सरकार हट्यो पछि, सामाजिक सञ्जाल खुल्ला

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। मन्त्रिपरिषद्को निर्णयपछि सामाजिक सञ्जालहरू सञ्चालनमा आएको उनले बताए। तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका लागि सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङको भनाइ छ। ‘आन्दोलनलाई बहाना बनाएर सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरिएको हो,’ उनले स्पष्ट पारे। प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालमध्ये एउटा ‘एक्स’ ले नेपालको राष्ट्रिय स्वाभिमानको सम्मान नगर्ने गरी जवाफ दिएको प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा जानकारी गराएका थिए। एक मन्त्रीका अनुसार एक्सले नेपालमा दर्ता नगर्ने अडान लिएको छ। प्रधानमन्त्री ओलीले भने, ‘हामीले डेढ वर्षदेखि सूचीकृत गर्न र नेपालको कानुन मान्न आग्रह गरेका थियौं। तर, यो हाम्रो स्वाभिमानमाथिको हमला हो। कुनै देशलाई यसरी हेप्न पाइन्छ र? राष्ट्रको अपमान गर्नेगरी उनीहरूलाई खुला राख्ने कि?’ जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका थिए। चर्को विरोध र सत्तारुढ दलको दबाब थेग्न नसकेपछि सरकारले निर्णय फिर्ता लिएको विश्लेषण गरिएको छ। सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णय गरी सामाजिक सञ्जाल बन्द गरेको थियो।

यो गठबन्धनको सरकार रहिराख्नुको आवश्यकता रहेन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले युवा पुस्ता (जेन-जी) को शान्तिपूर्ण आन्दोलनमा भएको हिंसा र दमनको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् । आज जारी गरेको विज्ञप्तिमा थापाले सरकारको असंवेदनशीलताका कारण अनाहकमा युवाहरूले ज्यान गुमाउनु परेको उल्लेख गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन् । विज्ञप्तिमा थापाले भनेका छन्, "आज युवा पुस्ता (जेन-जी) ले गरेको शान्तिपूर्ण आन्दोलनमा जुन अवाञ्छित र हिंसात्मक गतिविधि भए त्यो दुःखद छ, अस्वभाविक छ । आन्दोलनलाई नियन्त्रण गर्ने नाममा सरकारले गरेको चरम दमन निन्दनीय र अक्षम्य छ ।" उनले सरकारको यो शैली कुनै पनि कोणबाट जायज नहुने र असंवेदनशीलताका कारण हृदयविदारक घटना भएको बताएका छन् । थापाका अनुसार, आन्दोलनमा भएको बल प्रयोग, दमन र आक्रमणको नैतिक जिम्मा लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ । साथै, समग्र परिस्थितिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने तर यो मात्र पर्याप्त नभएको उनको भनाइ छ । महामन्त्री थापाले युवाहरूले उठाएका मुद्दाहरू—सुशासन, भ्रष्टाचारको छानबिन र संलग्नमाथि कारबाही—आम सरोकारका विषय भएको बताएका छन् । यो मुद्दा निरन्तर रूपमा उठिरहेको उल्लेख गर्दै उनले संविधान संशोधनदेखि भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कानुनमा आवश्यक संशोधन गरी द्रुत गतिमा काम गर्नुपर्ने माग गरेका छन् । तत्काल भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन तथा सबै भ्रष्टाचार काण्डको छानबिनका लागि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उनको सुझाव छ । सामाजिक सञ्जाललाई बन्द गर्नु गलत भएको भन्दै थापाले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्ने कुनै पनि प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । "सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० संविधान र कानुनसम्मत नभएकाले किन्तु-परन्तु नभनीकन निर्देशिकालाई खारेज गरी सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध हटाउनुपर्छ," विज्ञप्तिमा उल्लेख छ । थापाले जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको भन्दै दुई ठूला दल मिलेर बनेको गठबन्धन सरकारको आवश्यकता नरहेको बताएका छन् । यो विषयमा नेपाली कांग्रेसले पुनर्विचार गर्नुपर्ने उनको आह्वान छ । विज्ञप्तिमा उनले नेपाली कांग्रेसको पदाधिकारी बैठकमा राखेको कुराको सार यही नै भएको जनाएका छन् । साथै, थापाले आम युवाहरूसँग अपिल गर्दै शान्तिपूर्ण आन्दोलनलाई संवादमार्फत संयमतापूर्वक अगाडि बढाउन र संयम अपनाउन आग्रह गरेका छन् । "हामी थप अप्रिय घटना नघटुन् भन्ने चाहन्छौँ, र तपाईंका मुद्दामा हामी उत्तिकै सजग छौँ, जिम्मेवार छौँ," उनले भनेका छन् । विज्ञप्ति आजको घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ। आज युवा पुस्ता (जेन-जी) ले गरेको शान्तिपूर्ण आन्दोलनमा जुन अवाञ्छित र हिंसात्मक गतिविधि भए त्यो दुःखद छ, अस्वभाविक छ। आन्दोलनलाई नियन्त्रण गर्ने नाममा सरकारले गरेको चरम दमन निन्दनीय र अक्षम्य छ। कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन। सरकारको असंवेदनशीलता कै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदय विदारक घटनाले स्तब्ध बनाएको छ। आन्दोलनमा भएको बल प्रयोग, दमन र आक्रमणको नैतिक जिम्मा लिएर गृहमन्त्रीज्यूले राजीनामा दिनुपर्छ (दिनुभएको छ)।  यो समग्र परिस्थितिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ। तर यो मात्र प्रायाप्त छैन। युवाले आन्दोलनमार्फत उठाएका मुद्दा आम सरोकारका विषय हुन। मुख्य विषय सु-शासन, भ्रष्टाचारको छानबिन र संलग्नलाई कारबाही हो। यो आज मात्र होइन, निरन्तर रूपमा उठिरहेको छ। यसको लागी संविधान संशोधन गर्ने देखी भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता कानुनलाई आवश्यक संशोधन गरेर द्रुत गति मा काम गर्नुपर्छ। तत्काल भ्रष्टाचार नियन्त्रण,सुशासन लगायतका सन्दर्भमा २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न र सबै भ्रष्टाचारको काण्डको छानबिन गर्न आम नागरिकले भरोसा गरेको पूर्व प्रधान न्यायधिशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धानको प्रक्रिया अगाडी बढाउनुपर्छ।  आजको दिनमा नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च बनेको सामाजिक सञ्जाल बन्द गर्नु गलत छ। सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पारेको छ। त्यसकारण सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० संविधान र कानुन सम्मत नभएकाले किन्तु-परन्तु नभनीकन निर्देशिकालाई खारेज गरी सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध हटाउनुपर्छ।                                                                                                                                                                             जनतालाई सुशासनको प्रत्याभूति दिने गरी दुई ठुला दल मिलेर बनाएको सरकारले त्यो नै गर्न नसकेका कारण यो गठबन्धनको सरकार रहिराख्नुको आवश्यकता रहेन। यो विषयमा नेपाली कांग्रेसले पुनर्विचार गर्नुपर्छ। मैले नेपाली कांग्रेसको पदाधिकारी बैठकमा राखेको कुराको सार यही नै हो।यो सँगै आम युवा सँग अपिल गर्दछु, आज तपाईँहरूको शान्तिपूर्ण आन्दोलनमा अवाञ्छित र हिंसात्मक गतिविधि भएकोले आन्दोलनका कार्यक्रम संवादमार्फत संयमतापूर्वक अगाडि बढाउन र संयम अपनाउनु होला। हामी थप अप्रिय घटना नघटुन् भन्ने चाहन्छौ, र तपाई का मुद्दामा हामी उत्तिकै सजग छौ, जिम्मेवार छौ। गगन कुमार थापा महामन्त्री, नेपाली कांग्रेस

यी हुन् माओवादी पदाधिकारीको आकस्मिक बैठकले गरेका निर्णय (भिडियोसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । आकस्मिक रुपमा बसेको पार्टीको पदाधिकारी बैठकले सरकारको बर्बर दमनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली प्रकट गरिएको छ ।    माओवादी बैठकले आज भएको नरसंहारको जिम्मेवारी लिदै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।  यी हुन् माओवादी बैठकले गरेका निर्णय 

वर्तमान सरकारको औचित्य समाप्त भयो : डा. शेखर कोइराला

काठमाडौं — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन जी आन्दोलनका क्रममा प्रहरीको गोली प्रहारबाट भएको हत्याको कडा निन्दा गर्दै वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन्। फेसबुकमार्फत उनले सरकारको निरंकुश र क्रूर दमनले युवा विद्यार्थीहरूको ज्यान गएको भन्दै गहिरो दुख व्यक्त गरेका छन्।   “हातमा किताब–कापी बोकेर उज्ज्वल भविष्यको परिकल्पना गरिरहेका कलिला युवा विद्यार्थीहरूमाथि बर्बर ढंगले गोली प्रहार भएको छ। यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन,” कोइरालाले लेखेका छन्। “यो हत्याले मलाई मर्माहत बनाएको छ। श्रद्धाञ्जलीका शब्दले राष्ट्रको यो अपूरणीय क्षतिलाई मल्हम लगाउन सक्दैन।” उनले जेन जी पुस्ताका मागहरू समयसापेक्ष र जायज भएको बताउँदै सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई अधिनायकवादी कदमको संज्ञा दिए। “आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवादबाहेक के होला? देशबाट भ्रष्टाचार निर्मूल हुनैपर्छ,” उनले भने। कोइरालाले यो दुखद घडीमा आफू प्रदर्शनकारी युवा र तिनका अभिभावकहरूसँगै रहेको उल्लेख गर्दै सरकारले जनताको आवाज नसुनेको र अनुत्तरदायी बनेको आरोप लगाए। उनले वर्तमान सरकारको औचित्य समाप्त भएको भन्दै सबैलाई एकजुट भएर विधिसम्मत समाधान खोज्न आह्वान गरेका छन्।

जेनजीको आन्दोलनमा दमन भएपछि युवासंघका प्रदेश अध्यक्ष खरेलले त्यागे एमाले

काठमाडौं — नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलले पार्टीको सम्पूर्ण सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन्। सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले नेकपा एमालेको सदस्यता त्यागेको जानकारी दिए। “आजदेखि म नेकपा एमालेसँगको सम्पूर्ण सम्बन्ध विच्छेद गरेको घोषणा गर्दछु,” खरेलले लेखेका छन्। जेन जी पुस्ताको आन्दोलनमाथि सरकारले गरेको दमन र निर्दोष युवाहरूमाथि रगत बगाएको भन्दै उनले यस्तो पार्टीमा बस्नु नैतिक र मानवीय रूपमा अस्वीकार्य भएको बताए। “निर्दोष युवाहरूको रगत बगाउने, नागरिकको पीडामाथि राजनीति गर्ने र जनताको आवाज दबाउने पार्टीमा बस्नु मेरो लागि नैतिक र मानवीय दृष्टिकोणले अस्वीकार्य छ,” उनले थपे। खरेलले अब आफू पीडितको पक्षमा, न्यायको पक्षमा र जेन जी पुस्ताको आवाजसँगै रहने उल्लेख गरेका छन्। यसअघि राष्ट्रिय युवा संघले खरेललाई पार्टी र नेतृत्वको मर्यादाविपरीत गतिविधि गरेको भन्दै जिम्मेवारीबाट निलम्बन गरेको थियो। युवा संघको पोखरामा सम्पन्न महाधिवेशनमा अध्यक्षका उम्मेदवार सुमन पुरीको पक्षमा लागेका खरेल पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा खुलेका थिए।

जेनजी आन्दोलनमा दमनको जिम्मेवारी लिँदै प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : प्रेस सेन्टर नेपाल

काठमाडौं — प्रेस सेन्टर नेपालले जेन जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमनको घोर निन्दा गरेको छ। भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका दर्जनभन्दा बढी युवाको हत्या र सयौं घाइते भएको घटनालाई प्रेस सेन्टरले 'मानवताविरोधी जघन्य अपराध' को संज्ञा दिएको छ। प्रेस सेन्टरले मंगलबार जारी गरेको विज्ञप्तिमा युवाहरूको माग सम्बोधन गर्नुको सट्टा सरकारले गोली चलाएर हत्याहिंसा मच्चाएको आरोप लगाएको छ। संगठनले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। आन्दोलनको समाचार संकलन गर्ने क्रममा प्रहरीको गोलीबाट पत्रकारहरू दीपेन्द्र ढुंगाना, श्याम श्रेष्ठ, मदन ढुंगाना, उमेश कार्की र शम्भु दंगाल घाइते भएको घटनाप्रति पनि प्रेस सेन्टरले आपत्ति जनाएको छ। संगठनले घाइते पत्रकारहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उचित उपचार र पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ। प्रेस सेन्टरले युवा र पत्रकारमाथि गोली प्रहार गर्नेहरूमाथि उच्चस्तरीय छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ। साथै, जेन जी पुस्ताको माग तत्काल सम्बोधन गर्न र 'जघन्य अपराध' गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेको छ। विज्ञप्तिमा प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरले हस्ताक्षर गरेका छन्।

ठूलो मानवीय क्षति भयो, नैतिकताका आधारमा राजीनामा दिन्छु: गृहमन्त्री रमेश लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूले राजीनामा दिने जानकारी नेपाली काँग्रेसका सभापतिलाई गराएका छन् । काँग्रेसको पदाधिकारी बैठकमा उनले ठूलो मानवीय क्षति भएकाले आफूले नैतिकताका आधारमा राजीनामा दिने बताएका एक पदाधिकारीले एभरेष्ट दैनिकलाई जानकारी दिए ।  सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले भने, 'ठूलो मानवीय क्षति भयो, यसको जिम्मेवारी लिन्छु । नैतिकताका आधारमा राजीनामा दिन्छु ।'   

जेन जी आन्दोलनमा प्रहरी दमनबाट कम्तीमा २० जनाको मृत्यु, ७ जनाको पहिचान

काठमाडौं — जेन जी आन्दोलनका क्रममा प्रहरीको अत्यधिक बल प्रयोगबाट कम्तीमा २० जनाको मृत्यु भएको छ। काठमाडौंमा १८ र सुनसरीमा २ जना प्रहरीको गोलीबाट मारिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ८ जनाको मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ। मृतकमध्ये ७ जनाको पहिचान भएको छ। ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, गौरव जोशी र स्टप अधिकारी। बाँकी तीन जनाको पहिचान हुन बाँकी छ। यस्तै, काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकामध्ये शौरभ किशोर श्रेष्ठ र सुवास पोखरेलको पहिचान भएको छ। गम्भीर घाइते अवस्थामा अस्पताल ल्याइएका उनीहरूको उपचारकै क्रममा मृत्यु भएको हो।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय बैठक आज बस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय बैठक आज बस्ने भएको छ । जेनजी आन्दोलनकारीमाथि सरकारले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा २० जनाको मृत्यु भएपछि माओवादीले अभियान नै स्थगित गरेर नेताहरु काठमाडौं फर्किदैछन् ।  अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका पदाधिकारीहरु गोरखाबाट काठमाडौं आएपछि आजै केन्द्रीय पदाधिकारीको बैठक बस्ने तय भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।  माओवादी केन्द्रले सरकारका कारण ठूलो मानवीय क्षति भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।