भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा यसरी जुट्यो अखिल क्रान्तिकारी(तस्बिर)

काठमाडौँ । अखिल क्रान्तिकारी भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा जुटेको छ ।नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले एक महिनासम्म भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुमपश्चिममा पुनर्निर्माणमा जुटेको हो ।

संगठनका अध्यक्ष पञ्चा सिंहका अनुसार २ सय स्वयमसेवकहरु एक महिनासम्म पुनर्निर्माणमा खटिने छन् । जनताको संकटमा साथी बन्न पुनर्निर्माणमा खटिएको अध्यक्ष सिंहले बताएकी छन् ।

तस्वीरमा हेर्नुहोस्

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर ८ गते) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १२ पैसा र बिक्री दर १६७ रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। विदेशी मुद्राको विनिमय दर

कतारका विदेश राज्यमन्त्री काठमाडौंमा

काठमाडौं । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरखिस नेपालको दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए । भ्रमणका क्रममा विदेशमन्त्री अल–मुरखिसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनी शनिबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रौतहट र धनगढी लेडी जिसीज कपको फाइनलमा

चितवन । चितवनमा जारी लेडी जेसीज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको लागि रौतहट महिला फुटबल एकेडेमी र अल स्टार स्पोर्टस एकेडेमी भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाइनल खेल जित्दै रौतहट र धनगढीले उपाधि भिडन्त पक्का गरेको हो । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा रौतहटले गोकर्णेश्वर नगरपालिका काठमाडौंलाई १० ले पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा रौतहटलाई जिताउन मेनुका आले मगरले निर्णायक गोल गरिन् । उनले खेलको अतिरिक्त समयमा गोल गर्दै रौतहटलाई उपाधि नजिक पुराएकी हुन् । खेल अवधिभर रौतहटलाई रोकेको गोकर्णेश्वर अन्तिम मिनेटमा सम्हालिन नसक्दा पराजित भयो । मेनुकाले प्लेयर अफ दि म्याच बन्दै पाँच हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै दोस्रो सेमिफाइनलमा गैंडाकोट फुटबल क्लबलाई हराउदै धनगढीले रौतहटसँगको उपाधि भिडन्त पक्का गर्‍यो । फाइनलमा स्थान बनाउन धनगढीले गैंडाकोटलाई २(० ले हरायो । उसको जितमा कप्तान निरु थापाले एक गोल गरिन् भने अर्को एक गोल धनगढीले उपहार पायो । निरुले २५ औं मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाएकी थिन् । ३५ औं मिनेटमा गैंडाकोटकी कप्तान पुस्तिका वाग्लेले आत्मघाती गोल गरिन् । उनले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टको जाली चुम्यो । धनगढीकी कप्तान निरु प्लेयर अफ दि म्याच बनिन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन् । उपाधि भिडन्त मंसिर ९ गते शनिबार दिउँसो २ बजे हुनेछ । नारायणगढ लेडी जेसीजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही १०र१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नेप्सेमा ९ अंकको वृद्धि, कारोबार कति ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचकमा ९ अंकको वृद्धि भएको छ । अघिल्लो दिन २० अंकमाथिले बढेको नेप्से सूचक बिहीबार थप ९.८७ अंकले बढ्दै १८ सय ६०.२० अंकमा उक्लिएको हो । आज बैंकिङ, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक सकारात्मक बने । जीवन बीमा समूहको उपसूचक आज सबैभन्दा उच्च ३.३७ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूहको उपसूचक १.८६ प्रतिशतले बढेको छ । यस्तै, डेभलपमेन्ट बैंक समूहको उपसूचक १.७५ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक १.१४ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १.०९ प्रतिशतले बढेको छ । बाँकी अरु समूहको उपसूचक १ प्रतिशत कमले बढेका छन् । यता बैंकिङ, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक भने क्रमशः ०.७२ प्रतिशतले, ०.२८ प्रतिशतले र ०.१० प्रतिशतले घट्न पुगेका छन् । झण्डै १० अंकले नेप्से बढेको यस दिन १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको ४४ लाख २० कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन २०।६७ अंकले नेप्से बढेको बजारमा १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको ४२ लाख १३ हजार कित्ता सेयर किनबेच भएको थियो ।

यस्तो छ मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९मंसिर ७ गते० बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०५ पैसा र बिक्री दर १४५ रुपैयाँ ७१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७५ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ विदेशी मुद्राको विनिमय दर

भरतपुर घुम्न काठमाडौंमा निम्तो

चितवन । भरतपुर भ्रमण बर्ष २०२४ ले देशमा पर्यटकीय माहोल सृजना गर्ने सरोकारवालाले बताएका छन्। भरतपुर भ्रमण बर्षको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड काठमाडौंमा गरिएकोमा कार्यक्रममा पर्यटन सम्वद्द व्यक्तिहरुले पर्यटन र समग्र अर्थतन्त्रको चलायमान बनाउन भरतपुर भ्रमण बर्षको भूमिका हुने बताएका हुन्। संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री शुशिला श्रीपाली ठकुरीले पर्यटनको चलायमान बनाउन भरतपुरले शुरु गरेको अभियानमा पर्यटन मन्त्रालयले पूर्ण रुपले साथ दिने बताइन्। अर्थतन्त्र लयमा ल्याउन पनि पर्यटकीय क्षेत्रलाई चलायमान बनाउनुपर्ने उल्लेख सरकारले चितवन र नैतिक हिसाबले साथ दिने बताइन्। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले भरतपुर भ्रमण बर्षकै अवसरमा मेघौलीमा हात्तपोलो शुरु गर्न पहल गर्ने बताए । डा रेग्मीले अन्तर्राष्ट्रिय जंगल सफारि मार्ट पर्यटन बोर्डकै नेतृत्वमा गर्ने तयारी गरेको जानकारी दिए। उनले चितवन राष्ट्रिय निकुञ्ज भित्र होटल संचालन गर्न सरकार तयार हुनुपर्ने समेत बताए । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटाका महासचिव कुमार थपलिया र उद्योग बाणिज्य महासंघ पर्यटन समिति संयोजक अशोक गुँरागाईले भरतपुर भौगोलिक रुपमा पनि मध्यभागमा रहेकोले भ्रमण बर्ष सुस्ताएको पर्यटन उकास्नको लागि कोशेढुङ्गा सावित हुने बताए । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण बर्षले चितवन मात्रै नभई देशकै पर्यटनमा टेवा पुर्याउने भएकोले सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताए । उपप्रमुख अधिकारीले सन् २०२४ भित्र सरकारी तथा गैरसरकारी संस्थाका राष्ट्रिय स्तरका कार्यक्रम भरतपुरमा गर्दा महानगरले सहयोग गर्ने नीति लिएको उल्लेख सबै पक्षलाई भरतपुरमा कार्यक्रम गर्न आवहान गर्नुभयो । भरतपुर महानगरका पर्यटन विज्ञ विश्व सुवेदीले भरतपुरको पर्यटन र यहाँका संभावनाका बारे जानकारी दिए। सुवेदीले चितवन इको टुरिजमका लागि देशकै पहिलो स्थानमा रहेको उल्लेख गर्दै सबै पक्षको सहयोगमा भरतपुर भ्रमण बर्ष सफल हुने बताए । भ्रमण बर्षका अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक सोम सापकोटाले सन् २०२४ मा उल्लेख्य पर्यटन चितवन भित्र्याउन हाल ५४ राष्ट्रमा प्रचार अभियान जारि रहेको जानकारी दिए। भ्रमण बर्ष कार्यसम्पादन समितिका सदस्य सचिव तेजेन्द्र पौडेलले स्वागत गर्दै भरतपुरमा भौतिक बिकास तीव्र भएको र सम्पदाको खानी भएकोले सन् २०२४ मा भरतपुर घुम्न निम्तो दिए। भरतपुर महानगरले विशेष समारोहको आयोजना गरि अब छिट्टै भरतपुर भ्रमण बर्ष २०२४ को बिधिवत शुभारम्भ गर्दैछ। २०२४ सदस्यीय मूल समारोह समिति,कार्य सम्पादन समिति र विभिन्न उपसमिति गठन गरि भ्रमण बर्षको तयारीका काम भइरहेको महानगरले जनाएको छ।

मकवानपुरमा भूकम्प, काठमाडौंसम्मै हल्लियो

काठमाडौं । मकवानपुरमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान भूकम्पको धक्का मापन गरिएको हो । बिहान १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । यो धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए । यसको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । मकवानपुरसहित आसपासका जिल्लामा धक्का महसुस गरिएको हो । धक्काका कारण काठमाडौंमा समेत मानिस घरबाहिर निस्किएका थिए ।

बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं । बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । बिहीबार भोलि राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रम आयोजना गरेका छन् । सोही प्रदर्शनले उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्रै बाहिर निस्कन अनुरोध गरेको हो । उक्त प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैगरी, ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०२ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफ.एम.९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरेको छ । सुरक्षा र ट्राफिक व्यवस्थापन गर्ने क्रममा सवारी सधान जुनसुकै ठाउँबाट डाइभर्सन गर्न सकिने पनि ट्राफिक प्रहरीले जनाएको छ ।

शंखधर साख्वाःको सपना सामाजिक न्याय र समानता : मन्त्री शर्मा

काठमाडौं,। सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले राष्ट्रिय विभूति शंखधर साख्वाःको सपना सामाजिक न्याय र समानता भएकाले आज पनि त्यो सपना पूरा गर्ने कार्यभार बाँकी नै रहेको बताएकी छिन्। राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको अवसरमा पद्यरत्न लुमन्ति गुथिले शंखधर उद्यान रत्नपार्कमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गरेर सामाजिक न्याय र समानताको सपना पूरा गरिने बताइन् । शंखधरले विसं ९३६ मा गरिवलाई ऋणमुक्त गर्ने र पशुपतिमा शूद्र जातिलाई प्रवेश गराएको र त्यसकै सम्मानमा नेपाल संवत् सुरु गरिएको प्रसंग उल्लेख मन्त्री शर्माले भनिन्– ‘एकातिर गरिव जनतालाई ऋण मुक्त गर्नु र अर्कोतिर जातीय विभेदको अन्त्यका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने शंखधर साख्वाःबाट आजका पुस्ताले उल्लेखनीय प्रेरणा लिनु जरुरी छ । अहिले पनि हामीले वर्गीय, जातीय, क्षेत्रीय, लैंगिकलगायतका तमाम उत्पीडिनबाट मुक्तिका लागि काम गरिरहेका छौं ।’ नेपालमा चलेका ठूलाठूला संघर्ष र क्रान्तिहरु समानताका लागि भएको उल्लेख गर्दै उनले राजनीतिकरुपमासबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने उद्घोषसहित सबै क्षेत्र र समुदायका अधिकार संविधानमा उल्लेख गरे पनि व्यवहारतः अझै सबैले समान अधिकारको महसुस गर्न नसकेको पनि बताइन्। ‘आजका दिनमा हेर्दा राजनीतिक व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन गर्न बाँकी नै छ’– मन्त्री शर्माले भनिन्– ‘त्यसैले हामीले राजनीतिक व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गर्न सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोहुँदै समाजवादको आधार तयार पार्नुपर्छ भनिरहेका छौं ।’ सरकारले यसलाई नै आफ्नो मार्गदर्शन बनाएर अघि बढिरहेको चर्चा गर्दै उहाँले शंखधरको योगदानको स्मरण गरिरहँदा आज पनि धेरै कुरासँग मेल खाने अवस्था रहेको चर्चा गरिन् । मन्त्री शर्माले भनिन् ‘एकातिर ऐतिहासिक व्यक्तित्व शंखधर साख्वाःको जीवन र सपनासँग जोडिएको नेपाल संवतलाई सरकारी मान्यता दिन प्रचण्ड नेतृत्वको अहिलेको सरकारबाट नै संभव भयो भने अर्कोतिर उहाँको योगदानसँग जोडिएको सामाजिक न्यायको पाटोलाई वर्तमान सरकारले मूल मन्त्र मानेर अघि बढेको छ ।’ ‘नेपाल संवत् अब राष्ट्रिय संवत्’ कार्यक्रममा मन्त्री शर्माले नेपाल संवत अब राष्ट्रिय संवत्को रुपमा प्रचलन आउने बताइन् । ‘विसं २०६५ सालमा तत्कालीन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने घोषणा गरेका थिए। अहिले फेरि प्रचण्ड नेतृत्वकै मन्त्रिपरिषद्ले कार्तिक २७ गते सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने निर्णय गरेको यहाँहरुलाई जानकारी नै छ’– उनले भनिन्– ‘नेपाल संवत ११४४ को सुरुवातदेखि नै अब विक्रम संवत् उल्लेख गरिने सबै कागजातमा नेपाल संवत् उल्लेख गर्न सुरु गरिएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्मान र नेपालको मौलिक संवत्को कार्यान्वयनको सवालमा यो ऐतिहासिक निर्णय हुनेछ भन्ने सरकारको अपेक्षा रहेको छ ।’ सो क्रममा मन्त्री शर्माले शंखधर साख्वाःको योगदानलाई चिरस्थायी बनाउन भूमिका निर्वाह गर्ने राजनीतिक तथा नागरिक आन्दालनका अगुवा पद्यरत्न तुलाधरको सालिकमा माल्यार्पण गरिन्। राजनीतिक परिवर्तनका लागि चलेको सशस्त्र जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गर्ने तुलाधरको अभाव आज पनि खड्किएको उनले स्मरण गरिन्। हिजो मात्रै शान्ति प्रक्रिया सुरु भएको १७ वर्ष पुगे पनि अझै शान्ति प्रक्रिया अझै टुंगोमा नपुग्दा पद्यरत्नको अभाव अझै महसुस भएको उनले बताइन्।

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालबाट रुक्साना कपाली

काठमाडौं । बीबीसीले यस वर्षका लागि निकालेको सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ । जसमा नेपालबाट रुक्साना कपाली समेत समेटिएकी छन् । ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् । कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटीप्लस समूको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् । बीबीसी सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन्। १०० प्रभावशाली महिलाको सूचीमा अमेरिकाकी भूतपूर्व प्रथम महिला मिसेल ओबामा, ब्यालन डि’ओर जित्ने फुटबलर आइताना बोनमाटीलगायत छन् ।

नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरूको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुने भएको छ । शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको रिटमा आज पनि सुनुवाइ हुने भएको हो । हिजो हेर्दाहेर्दैमा रहेको रिटमा आज पनि सुनुवाइ हुने भएको हो । नक्कली शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध खाँणसहितका अभियुक्तले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए ।

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड सार्वजनिक

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन् । उनले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र उनीहरूको पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स) कोड सार्वजनिक गरिएको बताए । ‘विशेषगरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न सो कोड प्रयोग गरिएको हो’, प्रहरी नायब महानिरीक्षक ढकालले भने, ‘यो कोडबाट प्राप्त उजुरी कार्यान्वयन भएरनभएको विवरण उजुरीकर्तालाई दिन्छौँ ।’ ‘सुरक्षित कर्णाली विशेष अभियान’ अन्तर्गत दुई लाख २७ हजार चार २४ घरमा स्टिकर टाँस, पीडित सहायता कार्यक्रम, लालटिन अभियान, अन्तरक्रियात्मक गस्ती, यात्रुमैत्री निःशुल्क निवेदन लेखन, नागरिक सहजकर्ता परिचालन, दुर्व्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालनमा रहेको उनको भनाइ छ । उनले भने, ‘अब यहाँका नागरिकले शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि घर वा बाटोघाटो, पाटीपौवा जहाँबाट पनि प्रविधिमार्फत उजुरी दिन सक्नेछन् । उनीहरूलाई कुनै गुनासा राख्न, उजुरी वा निवेदन दिन सम्बन्धित निकाय धाउनुपर्ने छैन ।’ उजुरीकर्ताको नाम भने प्रहरीले गोप्य राख्ने उनको भनाइ थियो । त्यसैगरी क्यूआर कोडमार्फत आएका गुनासालाई अति जरुरी, जरुरी र साधारण वर्गमा राखेर त्यसको सम्बोधन गरिने प्रहरी नायब महानिरीक्षक ढकालले बताए । अति जरुरी उजुरीलाई तत्काल, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानबिन गरी उजुरीकर्तालाई विवरणसहितको जानकारी दिइने बताइएको छ । क्यूआर कोडको प्रयोगले नागरिक सम्बन्ध नजिक बनाउन, सुरक्षाप्रतिको विश्वास बढाउन, सहज सेवा प्रदान गर्न, समयको सदुपयोग तथा नागरिकलाई सेवा लिन जाँदा दुःख पूर्णरूपले हट्ने जनाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार अन्तरक्रियात्मक गस्तीबाट सात हजार दुई सय ६२, यात्रुमैत्री अभियानबाट दुई लाख र निःशुल्क निवेदन लेखन सहयोग कार्यक्रमबाट एक हजार पाँच सय ६५ जना लाभान्वित भएका छन् ।

काठमाडौं प्रशासनले घोषणा गर्यो यी ठाउँलाई निषेधित क्षेत्र

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप पाँच क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । दुर्गा प्रसाईं र युवा संघले मंसिर ७ गते आयोजना गर्न लागेका छुट्टाछुट्टै कार्यक्रमबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला सुरक्षा समितिको सिफारिसमा प्रशासनले महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालय शितल निवास, प्रधानमन्त्री निवास बालुवाटारसहित पाँच क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । राष्ट्रपति कार्यालय शितल निवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुसी निस्कने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणतर्फ प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । यसैगरी प्रधानमन्त्री निवास बालुवाटारका लागि पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म, प्रधान न्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिमसम्म, राष्ट्र बैकं चोकबाट पूर्वतर्फ १०० मिटरसम्म र इटालीया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको छ । यसैगरी संसद् भवन नयाँ बानेश्वरमा संसद् भवनको चारैतर्फको सडकसम्म, संसद् भवनको दक्षिण मोड ९यातायात व्यवस्था विभाग० देखि पूर्वतर्फ मिनभवन चोकसम्म निषेधित क्षेत्र तोकिएको छ । सिंहदरबारमा भद्रकाली मन्दिर पूर्व तिनकुने आइल्याडको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूलगेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडबाट सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म निषेधित क्षेत्र तोकिएको हो । यस्तै सिंहदरबार पश्चिम गेटदेखि सर्वोच्च अदालत अगाडि हुँदै माइतीघर मण्डलासम्म, माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, बबरमहलस्थित जिल्ला अदालत मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।

माइतीघरमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको हो । उहाँले रिट निवेदनमा स्थानीय प्रशासनको निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने र नागरिकले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउनुपर्ने माग राख्नुभएको छ । सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अबको एक महिनासम्म काठमाडौंको पुतलीसडकको पद्मोदय मोडदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । सोमाबर जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै एक महिनासम्म माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्दै पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाउने सूचना जारी गरेको थियो ।

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौं । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन आह्वान गरेको बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालले जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसूची १ बमोजिम आगामी पुस ८ गतेभित्र निवेदन दिन आह्वान गरिएको हो । सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर ९पूर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्म०का १८ वर्षमुनिका बालबालिकाले निवेदन दिन पाउने बोर्डको सचिवालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई मृत्यु वा अङ्गभङ्ग वा बिरामी भई वैदेशिक रोजगार बोर्डबाट शत्प्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन पाउने सूचना अधिकारी तथा निर्देशक ढकालले बताए । उनले भने, “वार्षिक रुपमा आधारभूत तहका लागि रु १२ हजार र माध्यमिक तहका लागि रु १६ हजार छात्रवृत्ति पाइनेछ । एकजना विद्यार्थीलाई एउटा कक्षामा एकपटकका लागि मात्रै वार्षिक रुपमा एकमुष्ट छात्रवृत्ति उपलब्ध गराइने छ ।” रासस