जेनजी आन्दोलनमा भएको बल प्रयोगको जिम्मेवारी लिँदै ओलीले राजीनामा दिनुपर्छ : वर्षमान पुन 'अनन्त'
काठमाडौं — नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन 'अनन्त'ले जेन जी आन्दोलनमा भएको बल प्रयोग र हत्याको जिम्मेवारी लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।
पुनले सोमबार भएको घटनामा सरकारको अत्यधिक बल प्रयोग र दमनका कारण परिस्थिति बिग्रिएको बताए। “यो घटनामा प्रधानमन्त्री ओलीको अधिनायकवादी, निरंकुश र स्वेच्छाचारी प्रवृत्ति जिम्मेवार छ। उनले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनुपर्छ,” उनले भने।
जेन जी पुस्ताले उठाएका जायज मागप्रति समर्थन जनाउँदै पुनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गरेका छन्। “अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सामाजिक सञ्जालमा लगाइएको बन्देज अस्वीकार्य छ,” उनले भने।
शान्तिपूर्ण प्रदर्शन जनताको संवैधानिक अधिकार भएको उल्लेख गर्दै पुनले प्रदर्शनकारीमाथि भएको बल प्रयोग र दमनको स्वतन्त्र र न्यायिक छानबिन हुनुपर्ने माग गरे। साथै, उनले आन्दोलनरत जेन जी पुस्तालाई सार्वजनिक वा निजी सम्पत्तिमा तोडफोड र आगजनी नगर्न आह्वान गरेका छन्।
नेपाली कांग्रेसका नेता पोखरेलद्वारा गृहमन्त्रीको राजीनामा माग
काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। सामाजिक सञ्जालमार्फत नेता पोखरेलले गृहमन्त्रीले तत्काल राजीनामा नदिए पार्टीले उनलाई फिर्ता बोलाउनुपर्ने बताएका छन्। “गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ। यदि दिएनन् भने पार्टीले तुरुन्त फिर्ता बोलाउनुपर्छ,” उनले लेखेका छन्।
जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर कम्तिमा १६ जनाको मृत्यु
काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा ज्यान गुमाउनेको संख्या कम्तिमा १६ जनाको मृत्यु भएको छ । सयौँ घाइते भएका छन् । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा मृत्यु हुनेको संख्या १६ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। यो सहित उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। त्यस्तै काठमाडौँ मेडिकल कजेलमा १ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिएका छन् ।
जेन जी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या कम्तिमा १४ जना पुग्यो
काठमाडौं — जेन जी पुस्ताको प्रदर्शनका क्रममा हालसम्म १४ जनाको मृत्यु भएको छ। उपत्यकाका विभिन्न अस्पतालमा उपचारका क्रममा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, दिउँसो ३:३० बजेसम्म ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ। एकजनाको नयाँ बानेश्वरमा ज्यान गएको छ । घाइतेहरूको यकिन विवरण भने हालसम्म प्राप्त हुन सकेको छैन।
जेनजी मुभमेन्टले भन्यो, 'घुसपैठ भयो शान्तिपूर्ण आन्दोलन जारी रहन्छ'
काठमाडौं — जेन जी मुभमेन्ट नेपालले एक विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलनमा घुसपैठ भएको जनाएको छ। आन्दोलनले दुखद मोड लिएको भन्दै मुभमेन्टले तोडफोड र संसद् भवनमा जबरजस्ती प्रवेशको प्रयासलाई आफ्नो उद्देश्यविपरीत भएको स्पष्ट पारेको छ। “हाम्रो शान्तिपूर्ण आन्दोलन न्याय, जवाफदेहिता र सुशासनका लागि थियो, तर तोडफोड र संसद् भवनतर्फ जबरजस्ती प्रवेशको प्रयासले यो प्रभावित भएको छ। यो कहिल्यै हाम्रो उद्देश्य थिएन,” विज्ञप्तिमा उल्लेख छ। जेन जी मुभमेन्टले आफ्नो आन्दोलन शान्तिपूर्ण, अनुशासित र कानुनी रहेको दोहोर्याएको छ। “हाम्रो आन्दोलन भवन वा संस्थाविरुद्ध होइन, भ्रष्टाचार, जनताको पैसाको दुरुपयोग र विश्वासघातविरुद्ध हो,” विज्ञप्तिमा भनिएको छ। “केही व्यक्तिका कार्यलाई हाम्रो पुस्ताको आवाज ठान्ने गल्ती नगर्न सम्पूर्ण नागरिक, नेपाल प्रहरी र विश्व समुदायलाई आग्रह छ। हाम्रो आवाज न त चोइटिन्छ, न त अपहरण हुन्छ। हामी शान्ति, न्याय र भविष्यको पक्षमा छौं।” मुभमेन्टले आन्दोलनलाई हिंसात्मक बनाउन राजनीतिक स्वार्थले परिचालित व्यक्तिहरूले घुसपैठ गरेको दाबी गरेको छ। “हाम्रो उद्देश्य सुशासन, शान्ति र हाम्रो पैसा तथा भविष्यको सुरक्षा हो। संसद् भवन हाम्रो शत्रु होइन, यो जनताको पसिना र करले बनेको हाम्रो सम्पत्ति हो। यसलाई हानी गर्ने हाम्रो लक्ष्य होइन,” विज्ञप्तिमा थपिएको छ। “केही द्वन्द्वात्मक मनसाय बोकेर आन्दोलनलाई अशान्ति र तोडफोडतर्फ धकेल्ने व्यक्तिहरू राजनीतिक स्वार्थले परिचालित छन्। उनीहरूले हाम्रो मर्म र आत्मालाई प्रतिनिधित्व गर्दैनन्।”
प्रहरी दमनको विरोध गर्दै माओवादी केन्द्रले स्थगित गर्यो जनजागरण अभियान
गोरखा, नेकपा माओवादी केन्द्रले सञ्चालन गरिरहेको मध्यपहाडी केन्द्रीत जनजागरण अभियान स्थगित भएको छ । जेन जी पुस्ताको आजको प्रदर्शनमाथि प्रहरीले गरेको चर्को दमनले सिर्जना भएको परिस्थितिले गर्दा अभियान स्थगित भएको माओवादी केन्द्रले जनाएको छ । अभियानका क्रममा अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरु गोरखा पुगेका थिए । सोही क्रममा उपलब्ध पदाधिकारीहरुको आकस्मिक बैठक बसेर अभियान हालका लागि स्थगित गर्ने निर्णय गरेको प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए । जेन जी पुस्ताको आन्दोलनमाथि प्रहरीले गरेको चर्को दमनका कारण कम्तिमा आठजनाको मृत्यु भइसकेको छ भने सयौं घाइते बनेका छन् । नेकपा माओवादी केन्द्रले प्रहरी दमनको भत्न्र्सना गर्दै विकसित परिस्थितिबारे थप निर्णय लिन पदाधिकारीको बैठक बोलाउने जनाएको छ ।
जेनजी आन्दोलनमा प्रहरीको दमन : कम्तिमा सातजनाको मृत्यु
काठमाडौं । काठमाडौंमा आज जेन जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर कम्तिमा ७ जना प्रदर्शनकारीको मृत्यु भएको छ। आन्दोलन नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा उनीहरूले ज्यान गुमाएका हुन्। मृतकहरूको पहिचान अझै खुल्न सकेको छैन। प्रहरी स्रोतका अनुसार सिभिल अस्पतालमा उपचारका क्रममा दुई जना घाइतेको मृत्यु भएको छ। त्यस्तै अस्पताल नपुराउँदै नयाँ बानेश्वरमै थप एकजनाको मृत्यु भएको छ । यसैगरी, ट्रमा सेन्टर स्रोतले चार प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ । ्् आन्दोलनका क्रममा सयौँ घाइते भएका छन् । उनीहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीको गोली लागेर थप एकजनाको मृत्यु
काठमाडौं । प्रहरीको गोली लागेर थप एकजनाको मृत्यु भएको छ । काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा एकजनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अर्का एक जनाको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
जेनजीको प्रदर्शनमा भएको घटनाप्रति प्रचण्डद्वारा दु:ख व्यक्त, माग तत्काल सम्बोधनमा जोड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेन जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुखद घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको र अन्य घाइते भएको घटनाले आफूलाई स्तब्ध र गम्भीर बनाएको उनले बताएका छन्। प्रचण्डले मृतक युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले सामाजिक सञ्जालमा जारी एक वक्तव्यमार्फत जेन जी पुस्ताले उठाएका मागहरू तत्काल सम्बोधन गर्न र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेका छन्। "जेन जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्," प्रचण्डले भने। उनले स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चाल्नुपर्नेमा जोड दिए। जेन जी पुस्ताले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा स्वतःस्फूर्त प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले 'भ्रष्टाचार रोक', 'स्वतन्त्र आवाज हाम्रो अधिकार' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। यो घटनाले देशभर तनावको स्थिति सिर्जना भएको छ। प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा भएको यो दुखद घटनाप्रति विभिन्न क्षेत्रबाट चासो र चिन्ता व्यक्त गरिएको छ।
माओवादीप्रति जनताको आस्था र विश्वास बलियो बन्दै गएको छ : अध्यक्ष प्रचण्ड
गोरखा । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीलाई गोरखा भिमसेन गाउँपालिका–माझथोकमा स्थानीय जनताले भव्य स्वागत गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हालै तराई–मधेसमा सञ्चालन गरिएको अभियानप्रति जनताको साथ उत्साहजनक रहेको स्मरण गर्दै उहाँले भन्नुभयो, “मधेसको एक जना विज्ञले अब मधेसी जनताले माओवादी केन्द्रलाई नै साथ दिन्छन् भन्ने विश्वास व्यक्त गर्नुभयो।” त्यसैगरी उहाँले मध्यपहाडी लोकमार्गको बैतडीदेखि सुरु गरिएको अभियानमा लाखौं जनता जोडिएको र पार्टीप्रति जनताको उत्साह अझै उच्च बनेको उल्लेख गर्नुभयो। अभियानको क्रममा गाउँ–गाउँमा भएको सहभागिताले माओवादी केन्द्रप्रति जनताको आस्था र विश्वास बलियो बनेको अध्यक्ष प्रचण्डले बताउनुभयो। माझथोकमा नेपाली कांग्रेस परित्याग गरी इश्वर बराम र लिलाधर बगाले माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उहाँहरूलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्दै नयाँ ऊर्जासहित अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु, सय बढी घाइते
काठमाडौं । नयाँ वानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर घाइते भएका एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सिभिल अस्पतालको इमजेन्सी कक्षमा उपचारका क्रममा उनको निधन भएको हो । उनको परिचय खुल्न बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ । वानेश्वर क्षेत्रमा प्रहरीले रबरको गोली लागेपछि दर्जनौं प्रदर्शनकारी घाइते भएका हुन । उनीहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शन नियन्त्रणबाहिर, सेना परिचालन, ३ जना सञ्चारकर्मीलाई गोली लाग्यो नयाँ बानेश्वर क्षेत्रमा जारी प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रशासनले सेना परिचालन गरेको छ । जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेलगत्तै आन्दोलन थप उग्र बनेपछि सुरक्षा स्थिति नियन्त्रण गर्न सेना पठाइएको हो। प्रदर्शनका क्रममा सञ्चारकर्मीहरू समेत घाइते भएका छन्। नयाँ पत्रिकाका ढुंगाना, नेपाल प्रेसका कार्की र कान्तिपुरका श्यामकुमार श्रेष्ठ रबरको गोली लागी घाइते भएका छन्। उनीहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ। यस्तै, झडपमा केही प्रहरीसहित दर्जनभन्दा बढी आन्दोलनकारी घाइते भएका छन्। सुरक्षाकर्मीले अवस्थालाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्ने र रबरको गोली चलाउने कार्य गरेका थिए।
सिंहदरबार लगायत संवेदनशील क्षेत्रमा पनि कर्फ्यू
काठमाडौं। काठमाडौंमा जेन जी आन्दोलनका क्रममा सुरक्षा अवस्था जटिल बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले संवेदनशील क्षेत्रमा समेत कर्फ्यू आदेश जारी गरेको छ। यसअघि माइतीघर, नयाँ बानेश्वर, तीनकुने र शंखमुल क्षेत्रमा राति १० बजेसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको थियो। तर दिउँसो प्रदर्शन नियन्त्रणमा नआएपछि प्रशासनले राष्ट्रपति र प्रधानमन्त्री निवासलगायतका क्षेत्रलाई पनि कर्फ्यू क्षेत्रमा विस्तार गरेको हो। प्रशासनका अनुसार शीतल निवास आसपासको महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास रहेको लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रलाई थप संवेदनशील क्षेत्र घोषित गर्दै कर्फ्यू आदेश जारी गरिएको छ। सुरक्षा निकायका अनुसार आन्दोलनकारीहरूले संसद भवन परिसरसम्म प्रवेश गरेको र झडपमा घाइते हुने घटना बढेसँगै उच्च तहका सत्ता–निवास र प्रमुख प्रशासनिक संरचना सुरक्षालाई प्राथमिकतामा राखिएको हो। प्रशासनले सर्वसाधारणलाई कर्फ्यू अवधिभर अनावश्यक बाहिर ननिस्कन र तोकिएको आदेश पालना गर्न आग्रह गरेको छ। आज बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु नाराबाजी गर्दै संसदभवन नयाँ वानेश्वरतिर लागेका थिए । सुरुमा शान्त किसिमले प्रदर्शन सुरु भएपनि आन्दोलनमा अपाच्य भाषा लेखेका नारा र प्लेकार्ड देखिन थालेका थिए । आन्दोलन वानेश्वर पुगेपछि एभरेष्ट होटेभन्दा केही अगाडि सुरक्षाकर्मीहरुले बारकेड लगाएर रोकेका थिए । तर प्रदर्शनकारीहरुको एक समूह प्रहरीको अवरोध तोड्दै संसदभवनको गेटतर्फ अघि बढ्यो । सामान्यतः जतिसुकै ठूला आन्दोलन भएपनि प्रहरीले एभरेष्ट होटल अगाडि नै प्रदर्शनकारीलाई तीन चारवटा बारकेडका घेरा लगाएर रोक्ने गरेको इतिहास छ । प्रदर्शनकारीहरु त्यो घेरा तोडने कुरा निकै असम्भव नै हुन्छ । तर आज भने सुरक्षा निकाय पूर्णरुपमा असफल रह्यो । सुरक्षाकर्मीको प्रतिरोध छिचोल्दै आन्दोलनकारीहरु गेट नं २ निकट पुगे । त्यहाँ समेत सुरक्षा व्यवस्था फितलो रहेको थियो । यो बीचमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपनि आन्दोलनकारीहरुलाई रोक्न सकेन । आन्दोलनकारीको एक समूहले गेट नम्बर दुईको पर्खालमा निरन्तर प्रहार गर्दा पर्खाल ढल्न पुग्यो । पर्खाल भत्किएसँगै प्रदर्शनकारीको एक समूह संसदभवन परिसरमा पसेको थियो । संसदभवनमा परिसरमा आज राष्ट्यिर सभाको बैठक बस्ने कार्यतालिका रहेको थियो । तर अत्यन्तै संवेदनशील स्थानमा समेत प्रहरीले कमाण्ड सम्हाल्न नसक्दा अराजक प्रदर्शनकारीहरु संसदभवन छिरेका हुन । अवस्था नियन्त्रणबाहिर गएपछि प्रहरीले रबरको गोली चलाउने आदेश दिएको छ । रबरको गोली लागेर कान्तिपुरका पत्रकार श्यामकुमार श्रेष्ठलगायत एक दर्जनबढी सर्वसाधारण घाइते भएको सार्वजनिक भएको छ । यसैबीच मुख्य आयोजक जेन जेडले भने आन्दोलनमा घुसपैठ भएको भन्दै सुरक्षितरुपमा घर फर्किन अपील गरेको छ । यसअघि जेनजी आन्दोलनका अगुवा भन्दै आएका केही युवाहरुले दुर्गा प्रसाईलाई भेटेको विषयले समेत निकै आलोचना खेपेको थियो । दुर्गा प्रसाईको आव्हानमा तीनकुनेमा भएको आन्दोलन समेत अराजक बनेको थियो ।
जेनजीको आन्दोलनमा घुसपैठ, पत्रकारमाथि गोली प्रहार, सुरक्षा तयारीमा प्रश्न चिन्ह
काठमाडौं, भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका जेन-जेड पुस्ताको आन्दोलनमा अराजक समूहको घुसपैठ भएको भन्दै स्थिति झन् तनावपूर्ण बनेको छ। माइतीघरबाट सुरु भएको प्रदर्शन संसद भवनसम्म पुग्दा हिंसात्मक रुप लिँदै सुरक्षा निकायको तयारी नै प्रश्नमा परेको देखिएको छ। आज बिहान ११ बजेदेखि सुरु भएको र्यालीमा सुरुवाती चरणमा शान्तिपूर्ण नाराबाजी भए पनि केही समयमै अपाच्य भाषा लेखिएका प्लेकार्ड र उत्तेजनापूर्ण नारा देखा पर्न थाले। वानेश्वर पुग्दा प्रहरीको बारिकेड तोड्दै प्रदर्शनकारीको एउटा समूह संसद भवनतर्फ अघि बढ्यो। सामान्यतया, एभरेष्ट होटल अगाडि नै तीन–चार तहको घेरा हालेर प्रहरी आन्दोलन नियन्त्रण गर्ने परम्परा रहे पनि यसपटक सुरक्षा व्यवस्थाले प्रतिरोध गर्न सकेन। संसद भवन परिसरमा प्रवेश सुरक्षाकर्मीको अवरोध पार गर्दै आन्दोलनकारीहरू संसद भवनको गेट नं. २ नजिक पुग्दा पनि सुरक्षा व्यवस्था कमजोर देखियो। प्रहरीको अश्रुग्यास प्रहारले प्रदर्शनकारीलाई रोक्न नसकेपछि उनीहरूले लगातार ढुंगामुढा प्रहार गरी पर्खाल भत्काए। पर्खाल ढल्दै गर्दा एक समूह संसद भवन परिसरभित्रै प्रवेश गरेको पुष्टि भएको छ। त्यही समयमा राष्ट्रिय सभाको बैठक बस्ने कार्यतालिका रहेको थियो। गोली प्रहार र घाइते स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले रबरको गोली चलाएको जनाएको छ। त्यस क्रममा कान्तिपुर दैनिकका पत्रकार श्यामकुमार श्रेष्ठसहित तीन सर्वसाधारण घाइते भएका छन्। पत्रकारमाथि गोली प्रहार भएको घटनाले प्रेस स्वतन्त्रता र प्रहरीको कार्यशैलीबारे थप बहस सुरु गरेको छ। आयोजकको अपील मुख्य आयोजक जेन-जेड आन्दोलनले प्रदर्शनमा बाह्य घुसपैठ भएको दाबी गर्दै सहभागीलाई सुरक्षितरूपमा घर फर्किन आग्रह गरेको छ। उनीहरूले आन्दोलनलाई शान्तिपूर्ण बाटोमै अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। यसअघि जेन-जेड आन्दोलनका अगुवाहरू दुर्गा प्रसाईसँग भेट गरेको समाचार सार्वजनिक भएपछि आन्दोलनको विश्वासनीयतामाथि प्रश्न उठेका थिए। प्रसाईको आव्हानमा तीनकुनेमा भएको अर्को आन्दोलनसमेत अराजक बनेको थियो। यसपटकको घटनाले आन्दोलनको मूल स्वरुप शान्तिपूर्ण हो वा अन्य शक्तिले प्रभावित गरेको हो भन्ने बहस थप चर्किएको छ।
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू : आन्दोलनकारीमाथि प्रहरीले चलायो गोली
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । दिउँसो १२ बजेदेखि जारी कर्फ्यु आदेश राति १० बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । नयाँ बानेश्वरमा अश्रु ग्याँससँगै प्रदर्शनकारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले रबरको गोली चलाएको छ । प्रदर्शनकारी संसद भवन परिषरमा प्रवेश गरेपछि प्रहरीले बल प्रयोग गरेको जनाएको छ ।
यसरी मनाइयो मध्यपुरथिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा
भक्तपुर । मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा)ले इतिहासमा पहिलो पटक भक्तपुर नगरको परिक्रमा गरेको छ । यसवर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठको इच्छाअनुसार जिब्रो छेड्ने जात्राले भक्तपुर नगरपालिकामा अवस्थित दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरेको हो । मध्यपुरथिमिमा दुई वटा जिब्रो छेड्ने जात्रा प्रचलनमा रहेको छ । पहिलो बिस्काः जात्राको अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोदेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात आश्विन शुक्ल पूर्णिमाको दिन मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ । दुवै जात्राको आ–आफ्नै विशेषता रहेको छ । बोदेको जिब्रो छेड्ने जात्रामा एक जनाले मात्र जिब्रो छेडाउने प्रचलन रहेको छ भने यो जात्रा परिक्रमा गरिने निश्चित प्रदिक्षामार्ग (रुट) रहेको हुन्छ । तर थिमिको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’मा जिब्रो छेडाउने व्यक्ति एक जना भन्दा धेरै पनि हुनसक्छ । यो जात्रामा जिब्रो छेडाउन इच्छ््याएको व्यक्ति धेरै भएमा एकजना भन्दा बढीले पनि जिब्रो छेडाउन पाइन्छ । यो जात्राको अर्को विशेषता भनेको जात्राको कुनै निश्चित प्रदक्षिणामार्ग अर्थात रुट नहुनु हो । यो जात्रामा जिब्रो छेडाएका व्यक्तिको इच्छाअनुसारको रुटमा परिक्रमा गराइन्छ । सोही अनुसार गतवर्ष पनि जिब्रो छेडाएका वीरेन्द्रभक्तले काठमाडौँको पशुपतिनाथको दर्शन गरेका थिए भने यसवर्ष भक्तपुरको दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरेको हो । साँझ सुरु हुने जात्राको लागि मध्यपुरथिमिमा दिउँसोदेखि चहलपहल बढ्दै गएको थियो । जात्रा सञ्चालनका लागि एक महिना अघि नै कमिनायोले करिब एक फिट लामो सुइरो निर्माण गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेका थिए । यसैगरी राजदरबारको प्रतिनिधिको रुपमा काठमाडौँको हनुमानढोका दरबारबाट राज खड्गसमेत ल्याइएको थियो । जात्राकै लागि थिमिको सिवा साय्मी खलःले याँमता तयार गरेका थिए । जात्राको लागि दिगुलीको प्रचण्ड भैरव अघिको डवलीमा मञ्च तयार गरिएको थियो । जात्रा सुरु गर्न एक समूहले थिमि लाय्कुको पमानायो श्यामकाजी श्रेष्ठलाई परम्परागत पोसाकमा हनुमानढोका दरबारबाट ल्याएको राज खड्गसहित लिएर आए । यही बेला जिब्रो छेडाउन तयार भएका वीरेन्द्रभक्त परम्परागत पोसाकमा सहयोगी समूहको साथमा मध्यपुरथिमि नगरभित्रका देवीदेवतालाई बत्ती दिन गइरहेका थिए । बत्ती दिने कार्य सकिएपछि वीरेन्द्रभक्तलाई दिगुलीस्थित डवलीको मञ्चमा ल्याई पु्याएर वीरेन्द्रभक्त मञ्चमा चढेपछि उपस्थित सर्वसाधारणले जयजयकार गरे । मञ्चमा पुगेर वीरेन्द्रभक्तले सबैलाई दुई हात जोडेर नमस्कार गरे । वीरेन्द्रभक्त मञ्चमा पुगेपछि जिब्रो छेड्ने सुइरो र कमिनायो भने आइपुगेको थिएन । केही बेरको प्रतिक्षापछि निगालोको चिम्ता बजाउँदै एक समूहले सुइरो लिएर आए । त्यसको पनि केही समयपछि मात्र कमिनायो बाबुकाजी कमी श्रेष्ठलाई दिगुलीको डबलीमा ल्याई पु-याए । त्यसपछि वीरेन्द्रभक्तलाई छोएर बाबुकाजीले वरिपरी अक्षता फूल छर्किएर देवीदेवता पुकारे । एक महिना अगाडि बनाएको एक फिट लामो तीन मुख भएको सुइरोले बाबुकाजीले साँझ ८ बजेर ४० मिनेटको समयमा वीरेन्द्रभक्तको जिब्रो छेडिदिए । कमिनायोले सुइरोलाई वीरेन्द्रभक्तले टाउकोमा बाँधेको बेतलीमा अड्काइ दिए। त्यसपछि वीरेन्द्रभक्तले दुई हात जोडेर उपस्थित सर्वसाधारणलाई नमस्कार गर्दै मञ्चमा तीन फन्को लगाए । उपस्थित सबैले पनि वीरेन्द्रभक्तको जयजयकार गर्दै दिगु भैरवको पनि जयजयकार गरे। त्यसपछि दिउँसै तयार गरिराखेको काठ र बाँसले निर्माण गरिएको अर्धचन्द्राकारको महादीप ‘भ्ये’ काँधमा बोकेर वीरेन्द्रभक्त नगरपरिक्रमा गर्न निस्किए । वीरेन्द्रभक्त भन्दा अघि साय्मी समुदायले तयार गरिराखेको त्रिशूल आकारको याँमता लगिएको थियो । हजारौँ स्थानीय पनि वीरेन्द्रभक्तको जयजयकार गर्दै ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै नगर परिक्रमा गर्न निस्किए । वीरेन्द्रभक्तले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप काँधमा बोकी दिगु भैरवको परिक्रमा गरे । त्यसपछि निगु पुखुः, लाय्कू हुँदै जात्राको परम्परा अनुसार क्वालाखु (बालकुमारी)स्थित थास्मा गणेशको दर्शन गरे । जात्राको परम्परा अनुसार जसले जिब्रो छेडाए सबैभन्दा पहिला आफ्नो इष्ट गणेशको दर्शन गर्नुपर्दछ । सोही अनुसार वीरेन्द्रभक्तले थास्मा गणेशको दर्शन गरेका हुन् । त्यसपछि बालकुमारी, शङ्खधरचोक, दक्षिण बाराही, सल्लाघारी, चोङ्गा गणेश, सिद्धपोखरी, नःपुखु हुँदैँ राति करिब ११ बजे वीरेन्द्रभक्त हजारौँं श्रद्धालुका साथ भक्तपुर दरबार स्क्वायर पुगेका थिए । चोङ्गा गणेश स्थान पुग्दा स्थानीयले नेवारी परम्परा अनुसार दही सगुन दिएर स्वागत गरेका थिए । भक्तपुरको दूधपाटीमा भक्तपुर नगरपालिका–९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाको तर्फबाट स्वागत गरेका थिए । दरबारस्क्वारमा हजारौँ भक्तपुर नगरवासी वीरेन्द्रभक्तको प्रतिक्षामा थिए । वीरेन्द्रभक्त दरबारस्क्वायर पुगेपछि सबैले तालीको गडगडाहट र कलकल ध्वनीले स्वागत गर्नुका साथै जयजयकार गरेका थिए । वीरेन्द्रभक्तलाई हेर्न बाटोमा लस्करै स्थानीय बसेका थिए । भक्तपुर दरवारस्क्वायरबाट सुकुलढोका हुँदैँ राति ११.३० बजे वीरेन्द्रभक्त दत्तात्रय मन्दिर पुगे । दत्तात्रय मन्दिरलाई तीन पटक परिक्रमा गरी उनी भक्तपुरको नवदुर्गा द्योछें पुगे । त्यहाँ नवदुर्गाको दर्शन गरी पुनः दत्तात्रय, सुकुलढोका हुँदैँ उहाँ टौमढीस्थित पाँचतल्ले मन्दिर र भैरवनाथको दर्शनका लागि पुगे । टौमढीबाट बंशगोपाल, सिद्धिपोखरी, चोङ्गा गणेश, निकोशेरा, नगरपालिका चोक, पाटी बिहार, गुङचिवाः, भीमसेन चोक, गणेश मावि, नगदेश, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भूलाँखेल, चोडे, निगुपुखु हुँदैं आज बिहान करिब ३ बजे बालकुमारीमा पुगेर जात्रा सम्पन्न भएको थियो । बालकुमारी परिसरमा थिमि लाय्कूका पमानायो श्यामकाजी श्रेष्ठ र पमा सूर्यलाल श्रेष्ठ वीरेन्द्रभक्तलाई पर्खेर बसेका थिए । पमानायोले वीरेन्द्रभक्तको जिब्रोबाट सुइरो निकालेर बालकुमारी मन्दिरभित्रको काठमा ठोकी दिए र वीरेन्द्रभक्तको जिब्रोमा नित्यनाथको माटोे राखेपछि जात्रा सम्पन्न भयो । वीरेन्द्रभक्तले जिब्रो छेडाएको यो चौंँथो पटक हो । उनले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाएका हुन् । करिब लोप हुने अवस्थामा पुगेको यो जात्रालाई जिवन्तता दिन त्यतिखेर उनी जिब्रो छेडाउन तयार भएका हुन् । उनले दोस्रो पटक २०७९ मा जिब्रो छेडाएका थिए भने तेस्रो पटक गत वर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन् ।
इपिएस प्रणाली कमजोर पार्दै मेनपावरमार्फत कोरियामा श्रमिक पठाउने तयारी
काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूको स्वार्थअनुकूल दक्षिण कोरियामा ‘ई–सेभेन’ भिसामार्फत नेपाली श्रमिक पठाउने कार्यविधि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पटक–पटक संशोधन गरेको छ । यसले पारदर्शी र श्रमिकमैत्री मानिएको इपिएस प्रणाली कमजोर पार्ने मात्र होइन, मेनपावर कम्पनीहरूले श्रमिकसँग ठूलो रकम असुल्ने र ठगी हुने जोखिम बढाएको भन्दै आलोचना भइरहेको छ । हाल नेपाल र दक्षिण कोरियाबीच भएको सरकारी सम्झौता (जिटुजी) अनुसार श्रमिक पठाउने व्यवस्था पारदर्शी रूपमा अघि बढिरहेको छ । तर, श्रममन्त्री शरतसिंह भण्डारीले गत असार ९ र १३ गते कार्यविधि संशोधन गरी निजी मेनपावर कम्पनीलाई ‘ई–सेभेन’ भिसामार्फत श्रमिक पठाउने बाटो खोलिदिएका छन् । यसमा ठुलो नीतिगत चलखेल भएको आरोप समेत लागेको छ । कार्यविधि संशोधनपछि केही ठूला मेनपावर कम्पनीहरूले कोरिया पठाउने भन्दै श्रमिकसँग रकम असुल्न सुरु गरिसकेका छन् । विज्ञहरूका अनुसार इपिएस प्रणालीमार्फत नै ‘जी–सेभेन’ भिसामा श्रमिक पठाउन सके बढी पारदर्शी र सहज हुने भए पनि मन्त्री भण्डारीले त्यसलाई बेवास्ता गर्दै मेनपावरलाई प्राथमिकता दिएका छन् । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन सुरु गरेको छ । यसअघि २०८० सालमै मन्त्री रहेका बेला भण्डारीले ‘गणतन्त्र कोरियामा सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि’ ल्याउने प्रयास गरेका थिए, तर उनको पद खस्नेबित्तिकै प्रक्रिया रोकिएको थियो । गत वर्ष पुनः मन्त्री बनेपछि उनले सो कार्यविधिलाई अघि बढाउने प्रयत्न गरेका हुन् । गत कात्तिक ९ गते उनले कार्यविधि संशोधन गर्दै लागू गर्ने प्रयास गरेका थिए । तर, परराष्ट्र मन्त्रालयले मेनपावरमार्फत पठाइने श्रमिकको भिसा प्रमाणीकरण नगर्ने बताएपछि कार्यविधि लागू हुन सकेको थिएन । त्यसपछि भण्डारीले गत असार ९ गते पुनः संशोधन गर्दै १५ दिनभित्र दूतावासले भिसा प्रमाणीकरण नगरे वैदेशिक रोजगार विभागले नै श्रम स्वीकृति दिने प्रावधान राखे । तर, विरोध बढेपछि चार दिनमै (असार १३ गते) उनले फेरि कार्यविधि सच्याएर सो व्यवस्था हटाएका थिए । श्रम मन्त्रालयका सूचना अधिकारी हुमनाथ अधिकारीका अनुसार प्रचलित कानुनअनुसार श्रमिक ‘ई–सेभेन’ भिसामार्फत जान सक्ने गरी कार्यविधि तयार गरिएको हो । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले विगतमा देखिएका समस्या समाधान गर्न संशोधन गरिएको बताए । उनका अनुसार सियोलस्थित नेपाली दूतावासलाई वैदेशिक रोजगार विभागको फेमिस प्रणालीमा जोडिएको र दूतावासका कर्मचारीलाई पनि भिसा प्रक्रियामा सहभागी गराइएको छ । यसअघि मन्त्री भण्डारीले गुपचुप रूपमा मेनपावरमार्फत श्रमिक पठाउने कार्यविधि अघि बढाएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्तक्षेप गरेका थिए । प्रचण्डले इ–सेभेन भिसालाई समेत इपिएस प्रणालीभित्र राखेर जिटुजी माध्यमबाटै पठाउने निर्देशन दिएका थिए । तर, अहिले भण्डारीले पुनः सो कार्यविधि अघि बढाएका छन् । भण्डारीपछि मन्त्री बनेका डोलप्रसाद अर्यालले भने सो कार्यविधि स्थगित गर्दै कार्यदल गठनमार्फत अध्ययन गर्ने बताएका थिए । उनको कार्यकालमा मेनपावरमार्फत श्रमिक पठाउने व्यवस्था लागू हुन पाएको थिएन ।

