वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता

तनहुँ । सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो । रु.३३ लाख ८० हजार रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा तिवारीले जानकारी दिए ।

त्यसैगरी करार उल्लङ्घन गरेका वा सम्झौताअनुरुप काम गर्न नपाएका चौबिस घटनामध्ये २३ वटाको सफल कार्य भएको छ । एका दुई घटनाको प्रमाणविहीन रहेकाले प्रक्रिया अघि बढाउन नसकिएको उनले बताए ।

सम्झौताअनुरुप काम नलगाई अन्य काममा पठाइएका व्यक्तिलाई स्वदेश झिकाइ रु पाँच लाख क्षतिपूर्तिबापतका रुपमा उपलब्ध गराइएको छ । वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका १८ जनाको शवमध्ये नौ जनाको शव नेपाल झिकाउन सफल भएको सो परियोजनाले जनाएको छ ।

मृतकका परिवारलाई रु. दुई करोड ९१ लाख चौरासी हजार दुई सय ६१ आर्थिक सहायताका लागि सहजीकरण गरिएको छ । “श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका व्यक्ति दुर्घटनामा परी घाइते भएका ३४ जनाले रु ५० हजारका दरले आर्थिक सहयोग पाएका छन्”, उनले भने, “वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यले उक्त सहायता रकम पाउनेछन् ।”

दुर्घटनामा परी घाइते तथा अपाङ्गता भएको अवस्थामा अवस्था हेरी रु एक लाखदेखि रु सात लाखसम्म पाउने व्यवस्था रहेको परामर्शकर्ता तिवारीले बताउनुभयो । “उक्त आवमा रु ५५ लाख ८५ हजार आर्थिक सहायता पाएका छन्”, उनले भने, “दुई जनाको मेडिकल फेल भएकाले रु ५० हजारका दरले रु एक लाख प्राप्त गरेका छन् ।”

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन तोलाको एक लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन तोलाको एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ज्ञानेन्द्र शाहलाई संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध नलाग्न थापाको चेतावनी

बुटवल । कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिएका छन् । राजवादीको नाममा पछिल्ला दिनमा काठमाडौंसहित विभिन्न ठाउँमा राप्रपा, दुर्गा प्रसाईं समूहले गरिरहेको गतिविधिलाई संकेत गर्दै थापाले उक्त चेतावनी दिएका हुन् । धर्मको आडमा राजनीति नगर्न पनि थापाले ज्ञानेन्द्रलाई चेतावनी दिए । कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई शनिबार तम्घासमा सम्बोधनको क्रममा महामन्त्री थापाले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनावमा आउन र संविधान संशोधन गर्न चुनौती दिएका हुन् । ‘राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसले प्रस्ट भन्ने हो, राजाले पनि जुवाको खालमा गएर च्याँखे दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए खालमा आउनुस् कांग्रेस भिड्न तयार छ । पार्टी खोल्ने, चुनाव लड्ने संविधानले दिन्छ । बहुमत ल्याउने संविधान फेर्ने, बदल्ने, फर्काउने । नेपाली कांग्रेस यो कुराको लागि तयार छ,’ उनले भने । कांग्रेस महामन्त्री थापाले नेपालबाट राजाहरूकै बदनियतले राजतन्त्र फालिएको टिप्पणी गरे । २०१७ पुस १ मा राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई बर्खास्त गरी पञ्चायती शासन लगाएर मुलुकलाई पछाडि धकेलेको पनि उनले बताए । राजा वीरेन्द्रको हत्या भएपछि छानबिन हुनुपर्ने माग गर्दा तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालामाथि ढुंगा प्रहार भएको थापाले स्मरण गराएका थिए । ‘राजा वीरेन्द्रको वंशनास भएर ज्ञानेन्द्रले श्रीपेच लगाउँदै गर्दा ुज्ञानेन्द्र राजा चाहिँदैन, वीरेन्द्रको हत्या कसले गर्‍यो ? भन्दै गर्दा काठमाडौंको दरबारबाहिर ढुंगामुढा भयो । त्यो ढुंगा थाप्ने गिरिजाप्रसाद कोइराला हो,’ उनले भने, ‘नेपालको राजाहरूकै बदनियतले गर्दा राजसंस्था गएको हो ।’ कांग्रेसमा पछिल्लो समय राजा नभए धर्म के हुन्छ रुु भन्ने प्रश्न उठ्न थालेकोप्रति थापाले असन्तुष्टि जनाए । ती प्रश्नको जवाफमा थापाले राजा आएर धर्म नबचाउने र धर्म बचाउने ठेक्का राजाको नभएको बताए । थापाले भने, ‘मौका पाउँदाखेरि मन्दिरको मूर्ति बेच्नेहरूले, जसले मूर्ति बेचेर आएको छ त्यसले तपाईं र मेरो धर्म बचाइदिन्छ रु तपाईं र मेरो धर्म त्यति कमजोर छ ? नेपालमा कसैले पनि धर्मको ठेकेदारी लिन नहुने उनको भनाइ थियो । महामन्त्री थापाले सरकारले पनि अतिवादीहरुलाई नै मलजल गरिरहेको आरोप लगाए । गणतन्त्रमा सडकमा नारा लगाउन, नेताको विरोध गर्नदेखि कांग्रेसकै कार्यकर्ताले पनि कांग्रेस मूर्दावाद भन्ने छुट रहेको बताए । ‘तर, सरकार सामाजिक सञ्जाल बन्द गर्नेदेखि सडकमा हिँडेकालाई पक्रेर थुन्ने ध्याउन्नमा लागेको छ,’ उनले भने, ‘त्यो गणतन्त्र होइन, त्यस्तो पुरानो फर्मूला हो, त्यसले अब काम गर्दैन ।’ थापाले नागरिकले व्यवस्था बदल्न नचाहेको तर चेहरा, नेतृत्व र नेतृत्वको चाल बदल्न खोजेको र त्यो जिम्मा कांग्रेसले लिएर जनचाहनाअनुसार कांग्रेस अघि बढ्नु जरुरी रहेको पनि बताए । उनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने र कुनै पनि अवस्थामा राजतन्त्र फर्कने सम्भावना नभएको बताए । उनले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि गठनबन्धन नगर्ने संकल्प गर्नुपर्ने बताए । ‘चुनाव अगाडि हारिन्छ कि भनेर गठबन्धन गर्ने राजनीतिक भ्रष्टाचार र अपराध हो,’ उनले भने, ‘अब चुनाव हारे चकटीमा बस्नु तयार हुनुपर्छ । तर, चुनाव हार्ने डरले कांग्रेसले अब गठबन्धन गर्दैन, गर्न दिनु हुँदैन र त्यो संकल्प गर्नै पर्छ ।’ दुई दिनसम्म चल्ने कांग्रेस जिल्ला सम्मेलन उद्घाटनको अवसरमा कांग्रेसका नेताहरु नैनसिंह महर, केन्द्रीय सदस्य चन्द्र भण्डारी, चन्द्र केसी लगायतले पनि बोलेका थिए । कांग्रेस गुल्मीले अहिलेसम्मका गतिविधिको समीक्षा र आगामी कार्ययोजना निर्माण गर्ने गरी दोस्रो जिल्ला सम्मेलन गर्न लागेको हो । जिल्ला सभापति खिलध्वज पन्थीका अनुसार आइतबारसम्म चल्ने सम्मेलनको बन्द सत्रमा जिल्लाभरका १७ सय ४६ प्रतिनिधि सहभागी हुनेछन् ।

२६ प्रहरी सम्पर्क विहिन : सात दिनभित्र हाजिर हुन आग्रह

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कमा नरहेका कर्मचारीलाई हाजिर हुन आउन अनुरोध गरेको छ । कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो । आफूखुसी गैरहाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२)बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ। सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित उपस्थित हुन भनेको छ । उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ। Untitled

महिला चलचित्रकर्मीको विकासका लागि राज्यले सहयोग गर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् । शनिबार काठमाडौंमा आइवार्ट नेपाल इन्टरनेशनल वुमेन्स फिल्म फेस्टिबल, २०२३ लाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले सरकारले महिला चलचित्रकर्मीहरुलाई कसरी प्रर्वद्धन गर्ने भन्नेबारेमा विभिन्न हिसावले सोचिरहेको बताइन् । मन्त्री शर्माले संविधानले महिलाको समावेशिताको विषय उठाएको र सबै क्षेत्रमा महिलाले विकास गर्दै गइरहेको पक्ष आफैँमा राम्रो भएको बताइन् । उनले राज्यले महिला चलचित्रकर्मीहरुलाई आवश्यक सहयोग गर्ने बताइन् ।

“खुशीराम पाख्रिन स्मृतिग्रन्थ”को विमोचन

काठमाडौं । “खुशीराम पाख्रिन स्मृतिग्रन्थ” विमोचनको आज विमोचन गरिएको छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष अग्नीप्रसाद साप्कोटाले संयुक्त रुपमा खुशीराम पाख्रिनको छैठौँ स्मृति दिवसको अवसरमा “खुशीराम पाख्रिन स्मृतिग्रन्थ” विमोचन गरेका हुन् । सो पुस्तकको विमोचन प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रममा गरिएको हो ।

कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने राष्ट्रवादी राजनीतिक मञ्चको माग

कठमाडौं । नेपाल राष्ट्रवादी राजनीतिक मञ्चले राजवादी शक्तिहरुको गण्तन्त्र विरुद्धमा आएको राजतन्त्र पुनस्थापनाको आवजलाई मत्थर गर्न कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नु पर्ने माग राखेको छ । शनिबार संवाद डबलीमा गरिएको पत्रकार सम्मेलनमा गणतान्त्रिक व्यवस्था भनिए पनि विदेशीले खेल्न सक्ने संसदिय व्यवस्थाको कारण प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको वक्ताहरुले आरोप लगाएका छन् । मञ्चका संयोजक टी.एस.तामाङले पत्रकार सम्मेलनमा बोल्दै हजारौंको बलिदानबाट प्राप्त अहिलेको गणतायन्त्रिक व्यवस्थामाथि प्रश्न उठ्नुको मुख्य दोषी मुख्य दलहरुले नै भएको आरोप लागएका छन् । पछिल्लो समयमा दुर्गा प्रसाई लगायतका व्यक्तिहरुले जनजीविकाको मुद्धाको फेरोमा असान्दर्भिक राजतन्त्रको पुनःस्थापनाको आवज गलतभएको ठहर गरेका छन् । तामाङले प्रसाईले उठाएका राजतन्त्रको मुद्धा बाहेकका जनपक्षिय मुद्धामा आफूहरुको ऐक्यबद्धता रहेकोसमेत जानकारी दिएका छन् । दुर्गा प्रसाईको संघर्षमा सरकारी दमन गलत भएको बताउँदै भने,“लोकतान्त्रीक संघिय गणतन्त्रको मुल्य–मान्यता विपरित प्रशासनको प्रसाईमाथि धरपकड र आन्दोलनमाथिको हस्तक्षेप निन्दनिय छ, त्यस किसिमका कार्य तत्काल रोकियोस् ।” तामाङले, गत अक्टोबरमा भारतिय प्रधानमन्त्री नरेन्द्र मादीले नेपाली भूमि कालपानी,लिपुलेक लगायत भूमिमा गरेको भ्रमणलाई हस्तक्षेपकारी भूमिकाको संज्ञा दिदै विरोध गरेका छन् । ‘सरकार त लाचार भयोभयो नै त्यसमाथि नागरिक स्तर कतैबाट पनि प्रतिक्रिया नआउनु दुःखत विषय हो, हामी भारतिय विस्तारवादी नाङ्गो हस्तक्षेपको घोरभत्सन गर्दछौं ।’ तामाङले थपे । त्यसैगरी वर्तमान सरकारले नक्कली भूटानी प्रकरण, लतिता निवास, सुन लगायतका विभिन्न प्रकरणहरुलाई सत्ता टिकाउन बार्गेनिङको अश्त्र बनाएको भन्दै नागरिक खबरदारी जरुरी रहेको बताए । मञ्चका प्रमुख संरक्षक तेज पुडासैनीले गणतन्त्रको लागि लड्नेहरुले नै अहिले सोही व्यवस्थाको चुनौतिका कारक भएकाले उनिहरु विरुद्ध नयाँ अभियान सुरु गरेको बताए । सो पत्रकार सम्मेलनमा केन्द्रीय संयोजन समितिका सदस्यहरु दानबहादुर विष्ट, किरण थापा मगर, सिद्धान्त थापा मगर र शुस्मा राना मगर लगायतले आगमी समयमा आफूहरुले नेपालको राजनितिक समस्यालाई निकाष दिन लड्नु पर्ने धारणा राखे ।

गोविन्द केसी मेडिकल गिरोहबाट सञ्चालित : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा।गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको बताएका छन् । वरिष्ठ चिकित्सक केसीले बेलाबेलामा अनसन बस्नेकुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरुको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत गराए। उनले वरिष्ठ चिकित्सक केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आफूले कारबाही गर्ने चेतावनी समेत दिए। नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वरिष्ठ चिकित्सक केसी र मेडिकल माफियाहरुले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको मन्त्री बस्नेतको जिकिर थियो । मन्त्री बस्नेतले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने भएकाले आफूले एक सयदेखि ३ सयसम्म शैय्या भएका सरकारी अस्पतालहरुमा नर्स र पारामेडिक्स पढाउने र त्यो भन्दा माथि शैय्या भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने प्रश्ताव गरेको बताए । राष्ट्रिय ट्रमा सेन्टरले शनिबारकाठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रस्ताव देश र जनताको हितका लागि अतिआवश्यक भएकाले त्यसलाई कार्यान्वयनमा लागि साथ दिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पटकपटक आग्रह गरे । मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा विद्यमान जनशक्ति अपुग भएकाले त्यसको व्यवस्थापनको कामलाई पनि अघि बढाएको बताए ।

विशाल खड्काको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तकको लोकार्पण

काठमाडौं । माओवादी केन्द्रका युवा नेता तथा केन्द्रीय सदस्य कमरेड विशाल खड्काले लेखेको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तकको लोकार्पण गरिएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खड्काद्धारा लिखित उक्त पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले पर्यावरणको मुद्दा प्राविधिक विषय मात्र नभएर माक्र्सवादी अर्थराजनीतिको मुल मुद्दा बनेको बताए । प्रधानमन्त्री प्रचण्डले विश्वको साझा समस्याका रुपमा रहेको कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरुलाई नै सबैभन्दा धेरै जोखिममा पुर्‍याएको बताए । उनले नेपालजस्ता मुलुकहरुमा प्रतिवर्ष ०.३ देखि १ प्रतिशतका दरले हिमालहरु पग्लिरहेको हिमालयाजः क्लाइमेट चेन्ज, ब्लयाक कार्बन एण्ड रिजनल रेजिलियन्स’ प्रतिवेदनले उल्लेख गरेको जानकारी दिए। यस्तो छ प्रधानमन्त्रीद्धारा व्यक्त वक्तव्यको पूर्णपाठ हाम्रो पार्टीका युवा नेता तथा केन्द्रीय सदस्य कमरेड विशाल खड्काले लेखेको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक त्यस्तो बेला प्रकाशित भएको छ, जतिबेला नेपालसहित विश्वका अधिकांश देशहरुले कोप–२८ को तयारी गरिरहेका छन्। कोप–२८ मा नेपालले राख्नुपर्ने सरोकारका बारे हामी निरन्तर अन्तरसंवादमै छौँ। पुस्तकमा खड्काले आठ अर्ब मानिसको साझा पृथ्वी, पर्यावरण र जलवायु परिवर्तनले विश्वभर निम्त्याएको संकटबारे विषद् चर्चा गर्नुका साथै यसको समाधानका लागि माक्र्सवादी वैचारिकी नै किन आवश्यक छ भनेर बडो सरल ढंगले, सबैले बुझ्ने गरी पुस्तकमा चर्चा गर्नुभएको छ। विश्वकै कम उमेरकी पर्यावरण अभियन्ता ग्रेटा थनवर्गले आममानिसलाई पर्यावरणको मुद्दा कुनै प्राविधिक विषय नभई यो साझा मानिसको चिन्ता हो भनेर भनेझै लेखक विशाल खड्काले पनि यो मुद्दा आममानिसको र विशेष गरेर माक्र्सवादीको चिन्ता र चिन्तन गर्नुपर्ने विषय हो भनेर जोड दिनुभएको छ। विश्वको साझा समस्याका रुपमा रहेको कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरुलाई नै सबैभन्दा धेरै जोखिममा पु¥याइदिएको छ। नेपालजस्ता मुलुकहरुमा प्रतिवर्ष ०.३ देखि १ प्रतिशतका दरले हिमालहरु पग्लिरहेको हिमालयाजः क्लाइमेट चेन्ज, ब्लयाक कार्बन एण्ड रिजनल रेजिलियन्स’ प्रतिवेदनले उल्लेख गरेको छ। सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित मुलुकहरुले अविकसित र अल्पविकासशील मुलुकमा पुगेको अपुरणीय पर्यावरणीय क्षतिलाई रोक्नका लागि क्लाइमेट फाइनान्स कोषको स्थापना गरी सन् २०२० सम्म १०० विलियन डलर उपलब्ध गराउने बाचा गरे पनि उक्त रकम उनीहरुले जम्मा नगरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देखाउँछ। विकसित मुलुकहरुको मुल ध्येय पर्यावरण जोगाउनुका सट्टा युद्धमा लगानी गरेर मुनाफा कमाउनु रहेको छ भन्ने लेखकको निष्कर्षलाई यसै नकार्न सकिँदैन। त्यसैले लेखकले अविकसित र अल्पविकासशील मुलुकहरुले विकसित मुलुकबाट क्षतिपूर्ति पाउनु उनीहरुको अधिकार हो भन्ने कुरामा जोड दिनुभएको छ। लेखकले पुस्तकमा लेख्नुहुन्छ– ‘वास्तवमा ठूला शक्तिराष्ट्रले निम्त्याएको पर्यावरणीय जोखिमको मार भूगोलको हिसाबले साना, जनसंख्याका हिसाबले अतिकम विकसित र विकासोन्मुख मुलुकले व्होर्नुपरिरहेको छ। त्यसैले नेपाल, बंगलादेश, फिलिपिन्स, नाइजेरिया, जिम्बाबे, दक्षिण सुडानजस्ता जोखिमपूर्ण अवस्थामा रहेका मुलुकले विशेष रुपमा क्षतिपूर्तिको माग गर्नैपर्छ र नेपालले त्यसको अगुवाई गर्नुपर्छ।’ यति मात्रै होइन पुस्तकमा लेखक, कमरेड विशाल खड्काले नेपालको ७० बर्षे क्रान्तिकारी वामपन्थी आन्दोलन र जनयुद्धको समीक्षा गर्दै– यो आन्दोलनले सर्वहारा वर्गका भूईमान्छेको गास–बास–कपास र आत्मसम्मानको आन्दोलनलाई अगाडि बढाउन भूमिका खेलेको गरिमामय इतिहास स्मरण गर्दै अबको पर्यावरणीय संकट र त्यसको समाधान पनि माक्र्सवादी विचारले दिन सक्ने र नेपालमा त्यसको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने विचार व्यक्त गर्नुहुन्छ। जुन निकै महत्वपूर्ण छ। नेपाली माक्र्सवादी र माओवादी आन्दोलनमा लागेका युवा तथा अग्रपंक्तिका नेता कमरेडहरुले यो पुस्तक पढ्नैपर्छ। ‘हामीले हाम्रो भावी पुस्तालाई विरासतमा कस्तो पर्यावरण दिएर जानेछौँ ?’– भन्ने उहाँको संकथनले मलाई निकै संवेदनशील बनायो। हामी माक्र्सवादी भएका नाताले, हामी इतिहासप्रति, हाम्रो वर्गप्रति असाध्यै गम्भीर हुनैपर्छ । र, कोप–२८ को पूर्वसन्ध्यामा म यहाँ तपाईंहरुलाई भन्न चाहन्छु– हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र मेरो नेतृत्वको सरकार पर्यावरणका मुद्दाप्रति निकै गम्भीर र संवेदनशील छ। हामी हाम्रो भावी पुस्ताप्रति पनि त्यति नै संवेदनशील छौँ, जति एउटी आमा आफ्नो बच्चाप्रति हुन्छिन्। पुस्तकको अन्त्यतर्फ राखिएको ‘कोप–२८ लाई कसरी हेर्ने’ भन्ने लेखले मलाई विशेषरुपमा आकर्षित ग¥यो। लेखकले माक्र्सवादी दृष्टिकोणबाट कोपलाई कसरी हेरिनुपर्छ भन्ने विचार–विमर्श गर्नुभएको छ। यो लेखबारे यहाँ उपस्थिति मुर्धन्य समीक्षकहरुले अझै सटिक ढंगले आफ्ना केही कुराहरु राख्नुभएको छ। तर, मलाई लागेको के हो भने उहाँले यो लेख आफ्नो पुस्तकको अघिल्तिर राख्नुपर्ने थियो। उहाँले यस लेखमा निकै आलोचनात्मक ढंगले एउटा माक्र्सवादीले कोपलाई कसरी हेर्नुपर्छ भन्ने स्पष्ट र सटिक विश्लेषण पस्किनुभएको छ। लेखक कमरेड विशाल खड्काले भने जस्तै पर्यावरणको मुद्दा कुनै प्राविधिक विषय मात्र नभएर यो माक्र्सवादी अर्थराजनीतिको मुल मुद्दा बनेर सबैका अघिल्तिर आइसकेको छ। त्यसैले म सबै कमरेडहरुलाई यो पुस्तक गम्भीरतासाथ अध्ययन गर्न र पर्यावरणीय संकटलाई माक्र्सवादी कोणबाट समाधानको बाटो पहिल्याउनका लागि यसको विषद् अध्ययनतर्फ लाग्न आह्वान गर्दछु। धन्यवाद।

आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले आयुर्वेद, ध्यान र योगलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने बताएकी छिन् । आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउण्डेशनले आयोजा गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य एक्सोको उद्घाटन गर्दै उनले आयुर्वेद क्षेत्रको आवश्यक विकासमा जोड दिइन्। पूर्वीय सभ्यतामा आधारित नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेदको जुन महत्व र इतिहास छ, यसको तुलनामा आज हामीले यसलाई कति विकास गर्न सक्यौं भन्ने मूल प्रश्नमा बहस हुन आवश्यक रहेको पनि उनले बताए। मन्त्री शर्माले भने– ‘हामीले प्राकृतिकरुपमा हिमाल, पहाड र तराइमा पाइने सबै प्रकारको हावापानी पाएका छौं । जटीबुटीका हिसाबले धनि छौं । हाम्रो सभ्यता र संस्कृतिका हिसाबले पनि नेपालमा मानव सभ्यताको विकास भएपछिको अधिकांश समय हाम्रा पूर्खाहरुले यही जटीबुटीकै भरमा रोगब्याधिसँग लडेर स्वस्थ जीवन बाँच्न सके । यस्तो अनुकूल धरातलका बिचमा रहेर पनि हामीले आयुर्वेद स्वास्थ्यको क्षेत्रमा किन विकास गर्न सकेनौं ? हाम्रा बहुमूल्य जडीबुटी बिदेशीहरुलाई कौडीको मोलमा बेचेर त्यसबाट उत्पादित औषधि वा अन्य वस्तु महंगोमा किनेर प्रयोग गर्नुपर्ने अवस्था किन आयो ? यसको गहिरो समीक्षा हुन जरुरी छ । पूर्वीय सभ्यताको अंग र पुस्ताको नासोको रुपमा रहेको आयुर्वेदको यो गौरवपूर्ण विरासतलाई अब आधुनिक प्रविधिसँग जोडेर लैजानुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्– ‘हामीले केही प्रयास त पक्कै गरेका छौं तर पर्याप्त छैन । आयुर्वेदको संस्थागत सेवा र औषधि उत्पादनमा नेपालको जुन गौरवशाली इतिहास छ, यसलाई अब विविधिसँग जोडेर विश्वब्यापीरुपमा यसको पहुँच विस्तार गर्नुपर्छ ।’ आयुर्वेदको विकासका लागि ब्यापक अनुसन्धानमा जोड दिने र यसलाई नेपाली समाजको जीवनशैली बनाउनतिर ध्यान दिनैपर्ने मन्त्री शर्माको जोड छ । नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकका रुपमा स्थापित गरेको र राष्ट्रिय नीतिमा आयुर्वेदलाई महत्व दिइएको उल्लेख गर्दै उनले नीति र कानुनको अभाव नभए पनि यसको कार्यान्वयन पक्ष भने कमजोरी नै रहेको सबैले स्वीकार गर्नुपर्ने बताइन् । सरकारले चालु आर्थिक वर्षमा आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अकुपञ्चर, आम्ची र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने नीति अघि सारेको जानकारी दिंद नागरिकलाई शारीरिक ब्यायाम, योग र आरोग्य सेवाको विस्तार तथा सन्तुलित आहारमा जोड दिई स्वछ जीवनशैली अपनाउन अभिप्रेरित गर्ने र खुला योग तथा ब्यायामशाला निर्माण, जडीबुटी उत्पादन र प्रशोधनलाई प्रोत्साहन गर्ने पनि सरकारको नीति रहेको स्पष्ट गरिन् । योबाहेक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालमा आयुर्वेदको विकासका लागि हुने लगानीको सरकारले सँधै स्वागत गर्ने उल्लेख गर्दै मन्त्री शर्माले भनिन्– ‘आयुर्वेद तथा जडीबुटी उत्पादन र प्रशोधनको क्षेत्रमा हुने लगानीको स्वागत गर्दै नेपाल सरकार त्यस्ता निकायसँग साझेदारी गर्न तयार छ । आजको यो अन्तर्राष्ट्रिय सम्मेलनबाट पनि नेपाललाई आयुर्वेद क्षेत्रको हब बनाउन उल्लेख्य सहयोग पुग्ने अपेक्षा राखेको छु ।’

भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएको भन्ने समाचारप्रति कोषको आपत्ति

काठमाडौँ । भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ । आज एक सन्देश जारी गर्दै कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको दाबी गरेको हो । “समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चार माध्यमहरूमा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ,” सन्देशमा भनिएको छ । भ्रामक समाचारहरूका कारण हिन्दु धर्म दर्शन एवं पाशुपत दर्शनप्रति आस्थावान् धार्मिक जनप्रति पारिएको आघात पुगेको भन्दै कोषले भारतको उत्तराखण्ड विपिन रावतको गाउँमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा कुनै स्वीकृति, सहमति, निर्णय नभएको जानकारी दिएको छ ।

सबै मिलेर महिलामाथि हुने हिंसा अन्त्य गरौँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको अभियान, २०८० को शुभकामना सन्देश दिँदै उहाँले सो आवश्यकता औँल्याएका हुन्। महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर र महिला तथा पुरुषबिचको असमान शक्ति संरचनाको अन्त्य नगरेसम्म महिलाविरुद्धको हिंसा कम गर्न कठिन हुने स्पष्ट पार्दै उनले संविधानको मर्म र भावना अनुसार महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउने तथा असमान शक्ति संरचना परिवर्तन गर्नेतर्फ सबैलाई आजको दिनले प्रेरित गरोस् भन्ने कामनासमेत गरे । महिला हिंसा घटाउन उपचारात्मक सेवाका साथै वा प्रवर्धनात्मक उपाय र प्रतिबन्धनात्मक उपायको पनि अनुसरण गर्नु त्यति नै आवश्यक रहेको उल्लेख गरे । समाजमा विद्यमान विकृति र विसङ्गतिका विरुद्ध परिवार, समुदाय र राष्ट्रियस्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नुेपर्ने बताउदै राष्ट्रपति पौडेलले भने सबै मिलेर महिलामाथि हुने हिंसा अन्त्य गरौँ । समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा आह्वान गर्दै उनले महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि क्रियाशील सरकारी निकाय, सामाजिक सङ्घ संस्था, नागरिक समाज तथा महिला अधिकारकर्मीहरूका साथै विभिन्न सञ्चार माध्यमलाई यस दिवसले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्ने विश्वाससमेत लिएका छन् । उनको सन्देशमा उल्लेख छ, “नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ तर पनि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछुत, घरेलु महिला हिंसा जस्ता कुप्रथाका कारण अझै पनि केही महिला दिदीबहिनीहरू विविध किसिमका हिंसा। विभेद र अपमानका पीडा खप्न बाध्य हुनुहुन्छ ।” संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शनिबारबाट सुरु भएको छ ।

रबर उद्योगमा आगलागी, ३५ लाख बराबरको क्षति

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१२ स्थित प्राकृतिक रबर उद्योगमा शुक्रबार आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरकोको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार शुक्रबार बिहान ९ बजेतिर उद्योगको स्मोक हाउसबाट अचानक सल्किएको आगोले उद्योगको मेसिनरी र भण्डारण कक्षमा क्षति पुर्याएको थियो । आगलागीबाट उद्योगको रोलर मेसिन र स्मोक हाउसमा पूर्णरुपमा क्षति पुगेको र भण्डारण गरेर राखिएको १० टन तयारी रबर खरानी भएको उद्योगका सञ्चालक शान्तिराम चिमरियाले बताए । भण्डारण कक्षमा राखिएको डेढ सय मन धानसमेत जलेको छ । मेचीनगर नगरपालिकाबाट आएको दुईवटा दमकलले स्थानीयवासीको सहयोगमा आगो निभाएको थियो । झापामा प्राकृतिक रबरको खेती र उत्पादन हुँदै आएको छ । रबरको रुखबाट सङ्कलन गरिने दूध जस्तै देखिने तरल पदार्थलाई प्रशोधन गरेर तयारी रबर बनाउने गरिन्छ । आगलागी भएको उद्योग रबर जोनमार्फत सरकारकोसमेत अनुदानमा स्थापना भएको थियो । यसैगरी, शुक्रबार बिहान गौरादह–२ का मुक्तिप्रसाद मिश्रको गोठमा आगलागी हुँदा रु। एक लाख ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । खोले पकाउने क्रममा अचानक गोठमा सल्किएको आगोका कारण एउटा बाच्छी जलेर मरेको छ भने एउटा गाई घाइते भएको उहाँले जानकारी दिनुभयो । आगो गौरादह र कमल गाउँपालिकाको दमकल, स्थानीयवासी र प्रहरीले गोठमा लागेको आगो नियन्त्रणमा लिएका छन् ।

आगलागीमा परी चार जनाको मृत्यु एक घाइते

काठमाडौं । शुक्रवार राती करिब ८ बजे बर्दियाको गुलरिया नगरपालिका ४ तुलापुरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा मानवीय क्षति भएको बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । आगलागीबाट घरको एउटा कोठा पूर्ण रूपमा जली नष्ट भएको थियो । घाइतेको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । मृत्यु हुनेमा बर्दिया गुलरिया नगरपालिका ४ का ३६ वर्षीया राधा बुढा, नौ वर्षीया मानसी बुढा, सात वर्षीय कृष चन्द र १८ महिनाको कार्तिक चन्द रहेको प्रहरीले जनाएको छ । यता बर्दिया गुलरिया नगरपालिका ४ का २७ वर्षीया करिश्मा चन्द घाइते भएकी छिन् ।

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरूद्ध दश दिनभित्र उजुरी दिन आग्रह

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिले आज सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरेको हो । शारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालविरूद्ध उजुरी दिन समितिले आह्वान गरेको हो । दश दिनभित्र समितिको सचिवालयमा वा ७७ जिल्लाका जुन सुकै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सकिनेछ । यसैगरी, समितिले पोर्चुगलका लागि नेपाली राजदूत प्रस्ताव गरिएका शनिल नेपालविरूद्ध पनि उजुरी आह्वान गरेको छ । उनीविरूद्ध पनि दश दिनभित्र उजुरी दिन सकिनेछ

आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस

काठमाडौं । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस। संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ। आजदेखि १० डिसेम्बरसम्म चल्ने विभिन्न अभियान, कार्यक्रमहरू सञ्चालन हुन्छन्। अभियानलाई नेपालमा पनि “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गरिँदैछ। महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्दछ। त्यस्तै, महिला हिंसा घटाउन उपचारात्मक सेवाका साथै वा प्रवद्र्धनात्मक उपाय र प्रतिबन्धात्मक उपायको पनि अनुसरण गर्नु त्यति नै आवश्यक रहेको छ। आजको दिनलाई महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको सन् १९८१ देखि हो। यो वर्ष महिला हिंसा अन्त्य दिवसको ४४ औँ श्रृखला हो। यो वर्षको नारा “UNITE! Activism to End Violence against Women & Girls” रहेको छ। ७ फेब्रुअरी २००० मा संयुक्त राष्ट्र सङ्घको महासभाले पनि २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन औपचारिक रूपमा सुरुवात गरेको हो। महिला हिंसा बाहिर मात्र होइन, घरेलु हिंसाका रूपमा पनि रहेको हुन्छ। यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो भन्ने यसको प्रमुख उद्देश्य रहेको छ।