सुरक्षा स्थिति गम्भीर बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । निरन्तरको आन्दोलन, तोडफोड र आगजनीले विमानको सुरक्षा स्थिति गम्भीर बन्दै गएकोले विमानस्थल बन्द गरीएकाे  नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

मंगलबार बिहानैदेखि प्रदर्शनकारीहरुले आगजनी गरेका कारण काठमाडौं उपत्यकाको आकाशमा बाक्लो कालोधुँवाका कारण उडान प्रभावित भएको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले  जानकारी दिए ।

‘आजका सम्पूर्ण उडान स्थगन एवं रद्द गरिएकाे छ ।अस्वभाविक एवं गम्भिर परिस्थिति तथा सुरक्षाका कारण आजका सम्पूर्ण उडान स्थगन एवं रद्द गरिएको र असुविधाका लागि प्राधिकरण क्षमाप्रार्थी रहेकाे उनले बताए । प्राधिकरणले यहाँ अवतरण गर्ने तयारीमा नजिकै आइसकेका विमानलाई अवतरण गर्न दिएर बन्द गरीएको  जनाएकाे छ । यससँगै विमानस्थल क्षेत्रमा सेना परिचालन गरिएको छ ।

सोमबार जेनजी समूहमाथि सरकारले दमन गरेपछि आज आन्दोलन थप चर्किएको छ । सोमबार मात्रै १९ जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् ।

खानेपानीमन्त्री प्रदीप यादव पनि दिए राजीनामा

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएका थिए । उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् । ‘प्रिय युवा भाई बहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो जेनजी पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु ।’ यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा घोषणा गरेका थिए । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् ।

फेरि प्रदर्शनकारीमाथि सरकारी गाेली, झापामा दुई जना गम्भीर घाइते

काठमाडौं । झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।  प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ । घटनाकाे बिस्तृत विवरण आउनक्रममा छ । 

रास्वपाका सांसदहरुको सामूहिक राजीनामा दिँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सभापति रवि लामिछानेको निर्देशनपछि संसदबाट राजीनामा दिने भएका छन् । उनीहरूले आजै सामूहिक रूपमा राजीनामा पत्र बुझाउने तयारी गरेका छन् । लामिछानेले सोमबार नख्खु कारागारबाट अपिल जारी गर्दै आफ्ना सांसदलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएका थिए । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनलाई रास्वपाले पूर्ण समर्थन जनाउँदै उनीहरूको माग तत्काल सम्बोधन गर्न सरकारले चासो देखाउनुपर्ने आग्रह समेत गरेको छ ।

अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ । महासङ्घले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासङ्घले नेपाल सरकारसँग उनीहरूको उपचारको व्यवस्था मिलाउन माग गरेको छ । साथै महासङ्घका सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिहरुलाई घाइतेहरूको उपचारका लागि सक्दो सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

कोशी प्रदेशका शहरमा बिहानैबाट आन्दोलन जारी, एमाले कार्यालायमा आगो

काठमाडौं । कोशी प्रदेशका शहरमा बिहानैबाट आन्दोलन जारी छ । झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन् । हिजो पनि पार्टी कार्यालयमा तोडफोड भएको थियो । यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारी भेलिएका छन् । प्रदर्शनकारीले पुष्पलालको सालिक तोडफोड गरेका छन् । यस्तै इटहरीमा पनि कर्फ्यू तोडेर प्रदर्शनकारी भेला हुन थालेका छन् । हिजोको प्रदर्शनमा २ जनाको ज्यान गएपछि इटहरी तनावग्रस्त भएको थियो ।

कैलालीकाे धनगढीमा रहेकाे देउवा निवासमा आगजनि

कैलाली । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले अहिले नेताको घरलाई अहिले निशाना बनाइरहेका छन् । सोही क्रममा एक समूहले धनगढीमा रहेको कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनि गरेको छ । प्रदर्शनकारी आक्रोशित बन्दा प्रहरीलाई सम्हाल्न हम्मेहम्मे परेको छ ।

प्रदर्शन उग्र बन्दै गएपछि काभ्रेमा पनि लगाइयो कर्फ्यु

काभ्रपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले दिउँसो सवा १२ बजेबाट कर्फ्यु लगाइएको हो । बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि अहिले प्रशासनले कर्फयू लगाएको हो । काभ्रे हुँदै चल्ने राजमार्ग पूर्ण रुपमा बन्द भएका छन् ।

प्रचण्ड निवासमा तोडफोड र आगजनी: प्रतिगामीको घुसपैठबाट सावधान रहन माओवादी नेताको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा तोडफोड र आगजनी भएको छ । एक हुलले प्रचण्ड निवास पुगेर तोडफोड तथा आगजनी गरेको हो ।  माओवादी नेताहरुले तोडफोड र आगजनीमा प्रतिगामी घुसपैठ भएको बताएका छन् । माओवादी नेता रमेश मल्लले घुसपैठीयाहरुदेखि सावधान बन्न जेनजीका युवालाई आग्रह गरेका छन् ।  सामाजिक सञ्जालमार्फत मल्लले भनेका छन्, 'प्रतिपक्षीमा रहेर जेन-जी आन्दोलनमा समर्थन गरिरहेको नेताको घरमा पहिलो आक्रमण जेन-जीद्वारा हुनै सक्दैन। यो जेन जीको नाममा प्रतिगामीहरूको घुसपैठ हो। घुसपैठीयाहरू देखि सावधान बन्न जेन जीका भाईबहिनीहरूमा हार्दिक अपिल छ।' त्यसैगरी अर्का नेता रामप्रसाद सापकोटा 'दीपशिखा'ले पनि घुसपैठ भएको बताएका छन् । उनले लेखेका छन्, 'जेन-जीको नाममा घुसपैठ !घुसपैठियाद्वारा प्रचन्ड निवासमा ढुंगा हान्दै छन्।  सरकारमा नभएको र जेन-जी आन्दोलनमा समर्थन गरिरहेको नेताको घरमा पहिलो आक्रमण जेन-जीद्वारा हुनै सक्दैन !'

विराटनगरमा पनि रातीन १० वजेसम्म कर्फ्यु आदेश

विराटनगर । सोमबार सरकारले गरेको युवाहरूको नरसंहारको विरोधमा मंगलबार बिहानैदेखि जताततै प्रदर्शन हुन थालेपछि विराटनगरमा पनि कर्फ्यु आदेश जारी भएको छ ।  मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मंगलबार बिहान ११ बजेदेखि राति १० बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेका हुन् । जिल्लामा विभिन्न समूह र पक्षबाट आ–आफ्ना माग राखी विराटनगर महानगर लगायत जिल्लाका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएको छ। त्यस्ता गतिविधि अप्रिय घटना हुने आशङ्का रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको हो ।

जेनजीको प्रदर्शनमा सरकारी दमनकाे विराेधमा देशैभर आन्दोलन

काठमाडौं । नयाँ पुसताका युवा जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा आज देशैभर आन्दोलन भइरहेको छ । कर्फ्यु आदेशका बाबजुत पनि देशका धेरै ठाउँमा युवाहरुले प्रदर्शन गरिरहेका छन् । काठमाडौं उपत्यका तीनै जिल्लामा कर्फ्यु आदेश भए पनि सबै ठाउँमा प्रदर्शन भइरहेको छ । उपत्यकामा चक्रपथभित्र कर्फ्यु आदेश जारी गरिएको छ । तर, प्रदर्शन रोकिएको छैन । ललितपुरमा रहेको सञ्चारमन्त्रीको घरमा आगजनी भइसकेको छ । सोमबार प्रहरीले गोली चलाएको नयाँ बानेश्वर क्षेत्रमा बिहानैदेखि प्रदर्शन भइरहेको छ । सातदोबाटो र कलंकीस्थित चक्रपथ सडकमै प्रदर्शनकालीले टायर बालेर प्रदर्शन गरिरहेका छन् । यता जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार भएको छ । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् । उनीहरू अहिले पनि प्रदर्शनमा उत्रिएका छन् । सोमबार भएको प्रदर्शनका क्रममा देशभरबाट १९ जनाले ज्यान गुमाएका थिए । आज पुन: देशभर प्रदर्शन जारी छ । प्रदर्शन थप आक्रामक बन्दै गइरहेको छ । हाम्रा सम्वाददाताहरुका अनुसार अहिले देशका अधिकाँस सहर र बजारहरुमा प्रदर्शन जारी रहेकाे छ । 

कृषिमन्त्री अधिकारीले पदबाट राजीनामा दिए, लोकतन्त्र र अभिव्यक्तिमाथि नियन्त्रणको विरोध

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै भाद्र २३ गते भएको ‘अलोकतान्त्रिक कदम’ र दमनको विरोधमा पद छाडेको बताएका छन् । अधिकारीले भनेका छन् कि सरकारको कदमले आफूलाई ‘अपराधबोध’ महसुस भएको र ‘नैतिकताको विपरीत’ भएकोले पदमा बस्न नसक्ने अवस्था आएको हो । उनले स्पष्ट पारेका छन्, “लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको स्वाभाविक अधिकार हो । तर यसको सट्टा भएको व्यापक दमन, हत्या र बल प्रयोगले देश तानाशाही तर्फ उन्मुख भएको भान गराएको छ ।” उनी प्रश्न गर्छन्, ‘देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्धजस्तो व्यवहार हुन पुग्यो ?’ र जवाफ नपाइने अवस्था रहेपछि सत्तामा बस्न नसक्ने बताएका छन् । विज्ञप्तिमा उनले भनेका छन्, “कलिला छोराछोरीको हत्या र दमनपछि देशलाई शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र दलको शिक्षाको विरुद्ध हुने भएकाले राजीनामा दिएको छु ।” धादिङ–२ बाट नेपाली कांग्रेसको प्रतिनिधिसभा सदस्य अधिकारी गत असार ३१ गते मन्त्री नियुक्त भएका थिए । उनले आफ्नो दलको लोकतान्त्रिक इतिहासप्रति गर्व व्यक्त गर्दै अहिंसामूलक लोकतन्त्रमा दृढ प्रतिबद्धता राखेको बताएका छन् । अन्त्यमा उनले जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही नहुने भन्दै, “‘हामी नेता हौं’ भन्ने हामीमा माननीय जनता प्रति सामान्य चेतना विकास होस्” भन्ने शुभकामना व्यक्त गरेका छन् ।

विपक्षी दलहरुको निष्कर्ष : प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आव्हान गरेको विपक्षी दलहरुको बैठकले जेनजी आन्दोलनमा सरकारले गरेको बर्बरतापूर्ण दमनको विरोध गर्दै तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।  विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकमाथि बर्बर दमन गरेको भन्दै त्यस्तो रवैया अस्वीकार्य भएको बताएका छन्। साथै, प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको संयुक्त बैठकले ठहर गरेको छ। मंगलबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको उक्त बैठकले सो निर्णय गरेको हो। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बैठकका निर्णयबारे जानकारी दिँदै भने, “यो घटनाको जिम्मेवारी लिँदै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ।” विपक्षी दलहरूले सोमबारको प्रहरी दमनलाई इतिहासकै सर्वाधिक बर्बर ठहर गरेका छन्। बैठकले सरकारलाई युवाहरूको माग तत्काल सम्बोधन गर्न आग्रह गरेको छ। साथै, पुनले जेन-जी युवाहरूको आन्दोलनलाई कुनै पनि दलले निहित स्वार्थका लागि प्रयोग गर्न नहुने बताए।

काँग्रेसको शेखर पक्षका मन्त्रीले आजै राजीनामा दिने

काठमाडौं। नेपाली कांग्रेसको शेखर कोइराला समूहका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन्। चीन भ्रमणमा रहेका नेता कोइरालाले फोनमार्फत राजीनामा दिन निर्देशन दिएको कृषिमन्त्री रामनाथ अधिकारीले बताए। शेखर समूहबाट सरकारमा रामनाथ अधिकारी (कृषि), बद्री पाण्डे (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) र तेजुलाल चौधरी (युवा तथा खेलकुद) मन्त्री छन्। सोही समूहका गृहमन्त्री रमेश लेखकले सोमबार साँझ राजीनामा दिइसकेका छन्। सोमबार जेन-जी युवाको विरोध प्रदर्शनमा प्रहरी दमनका क्रममा काठमाडौंमा १७ र उपत्यका बाहिर २ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

कलंकीमा प्रदर्शन उग्र, प्रहरी–प्रदर्शनकारीबीच झडप

काठमाडौं । राजधानीको कलंकी क्षेत्रमा मंगलबार बिहानैदेखि सुरु भएको प्रदर्शन उग्र बन्दै गएपछि वातावरण तनावपूर्ण बनेको छ । कलंकी चोक, मालपोत कार्यालय अगाडि, खसीबजार लगायतका मुख्य सडक र भित्री गल्लीहरूमा ठूलो संख्यामा प्रदर्शनकारी उत्रिएका छन् । उनीहरूले सडक अवरुद्ध गर्दै टायर बालेर नाराबाजी गरेका छन् भने केहीले सुरक्षाकर्मीलाई लक्षित गर्दै ढुंगामुढा पनि गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्दै प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरेको छ । तर केही स्थानमा प्रदर्शन अझै निरन्तर जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय र सुरक्षासंस्थाले अवस्था नियन्त्रणमा लिन रणनीति बनाइरहेका छन् । हालसम्म ठूलो क्षति भएको जानकारी प्राप्त नभए पनि केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् भन्ने आशंका गरिएको छ ।

संसद् भवन अगाडि स्वस्फूर्त रूपमा जेनजी युवा भेला हुन थाले

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा आज बिहानदेखि युवा स्वस्फूर्त रूपमा भेला हुन थालेका छन् । अहिलेसम्म उनीहरूले कुनै ब्यानर वा नारा बोकेको छैन । एकजना युवाले भने, “हिजोको घटनामा सरकारले देखाएको कमजोरीप्रति असन्तुष्टि व्यक्त गर्न म यहाँ आएको हुँ । यो युवाको स्वस्फूर्त उपस्थिती हो ।” सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि जेन–जीका असन्तुष्टिको सामना गर्दै सरकारले दमनकारी नीति अपनाएको भन्दै सत्तारूढ र विपक्षी दलका नेताहरूले आलोचना गरेका छन् । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्धको आन्दोलनप्रति सरकारको निष्क्रियता अप्रिय घटनाको मुख्य कारण भएको देखिन्छ । यो घटनापछि देशभरि सरकारको चौतर्फी आलोचना भइरहेको छ ।