हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिन्दूकुश हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय क्षेत्र विकास केन्द्र (इसिमोड) को ४०औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमालमा हिउँ पग्लने, हिमताल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानि–नोक्सानी पुगिरहेको बताए ।

“नेपालजस्ता मुलुकले हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शून्यसरह योगदान गरे पनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्यधिक छ”, राष्ट्रपति पौडेलले भने, “केही समयअघि संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणका क्रममा मैले कार्बन उत्सर्जनको कारक नभएर पनि नेपालले भोग्नुपरेको जलवायु परिवर्तनको असरको मार सम्बन्धमा विश्वको ध्यानाकर्षण गराउन गरेको आग्रह यस अवसरमा स्मरण गराउन चाहन्छु ।”

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको प्रभाव घटाउन तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरू भएको विषय बिर्सन नहुने बताए । नेपाल इसिमोडको संस्थागत विकास र समग्र हिन्दूकुश हिमालमा अवस्थित पर्वतीय क्षेत्रको दिगो विकासका लागि सधैँ प्रतिबद्ध रहेको र भविष्यमा समेत नेपालको सहयोग जारी रहने उल्लेख गरे । राष्ट्रपति पौडेलले हिन्दूकुश पर्वतीय शृङ्खला यस क्षेत्रका लागिमात्र नभएर संसारकै लागि खाद्यान्न, ऊर्जा, पानी, सांस्कृतिक र जैविक विविधताका लागि महत्वपूर्ण सम्पत्तिका रुपमा रहेको स्मरण गराए ।

हिन्दूकुश हिमालयको पर्यावरणीय सेवाको छातामुनि संसारका एक चौथाइ मानव जीवन आश्रित भएकाले यो क्षेत्रको संरक्षण कति महत्वपूर्ण छ भन्ने स्पष्ट भएको देखिएको राष्ट्रपति पौडेलको भनाइ छ । उनले विश्व मानव सिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारणले सङ्कटमा रहेका बेला पहाडी संवेदनशील भू–बनौट र कमजोर आर्थिक सामाजिक कारणले हिन्दूकुश हिमालयजस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक भएको बताए।

पर्वतीय हिमाली क्षेत्रको जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरू राष्ट्रिय सीमानाभित्र मात्रै नभई सीमापारि र विश्वस्तरमा समेत पर्न जाने भन्दै राष्ट्रपति पौडेलले सदस्य राष्ट्रहरूले यस्ता समस्या समाधान गर्न एकजुट भएर सहकार्य गर्न र साझा मुद्दाहरू अन्तर्राष्ट्रियस्तरमा एकमत भई उठाउन सम्बद्ध पक्षलाई आह्वान गरे ।

हिन्दूकुश हिमाली क्षेत्रबाट वातावरणीय सेवा प्राप्त गर्ने र यसको प्रभाव क्षेत्रमा रहेका झन्डै दुई अर्ब जनता तथा सामुद्रिक तटका देशहरूलाई समेत साथ लिई थप सहकार्य गर्नु उपयुक्त हुने उनले सुझाव दिए । राष्ट्रपति पौडेलले नेपाल सरकारले जलवायु परिवर्तन, वातावरणीय ह्रास, विपद् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण, जीविकोपार्जनसम्बन्धी मुद्दामा छिमेकी मुलुक र अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले पर्वतहरुले पृथ्वीमा जलवायु अनुकूलनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले हिमालय क्षेत्रलाई विश्वको सम्पत्ति मानेर यहाँको दिगो र समावेशी विकासका लागि सहकार्य बढाउन आवश्यक रहेको बताउए ।

नेपालका लागि नर्वेली राजदूतावासका राजदूत एवं इसिमोड सहयोग समूहका तोरुण ड्रम्डलले हिमालय क्षेत्रको विकासमा सहयोग निरन्तर रहने बताए । इसिमोड सञ्चालक समितिका अध्यक्ष डासो कर्म छिरिङले सदस्य राष्ट्र, साझेदार संस्था र पक्षबीचको साझा प्रयासबाट यस क्षेत्रको विकास र संरक्षण गर्नुपर्नेमा जोड दिए । इसिमोडका महानिर्देशक डा पेमा ग्याम्स्शो ४० वर्षे ज्ञान र सिकाइको अनुभवका आधारमा आगामी यात्रा तय गरिने जनाए ।

नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)बीच सम्झौता भई हिन्दूकुश हिमाली पर्वतीय भेगको एकीकृत विकास, अध्ययन, अनुसन्धान तथा अन्य आवश्यक काम गर्न इसिमोडको स्थापना भएको थियो । यसले अफगानिस्तान, चीन, नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भूटान तथा म्यानमारमा कार्य गर्दै आएको छ ।

नेपाल सरकारले इसिमोडको व्यवस्था गर्न छुट्टै कानुन तर्जुमा गरी आवश्यक जनशक्ति र सुविधासमेत उपलब्ध गराएको छ । इसिमोडको केन्द्रीय कार्यालय स्थापना गर्न नेपाल सरकारका तर्फबाट आवश्यक जमिन तथा गोदावरीको लिभिङ माउन्टेन ल्यावका लागि पर्याप्त वनक्षेत्र पनि उपलब्ध गराइएको छ । केन्द्रले राष्ट्र अफगानिस्तान, चीन, नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भूटान तथा म्यानमारमा कार्य गर्दै आएको छ । ।

टिकटक प्रतिबन्धविरुद्धका रिट न्यायाधीशद्वय माथेमा र शर्माको इजलासमा

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश सुष्मलता माथेमा र विनोद शर्माको इजलासमा परेको छ । यही मंसिर ५ गते न्यायाधीश शर्माको इजलासले सो रिटमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । मंसिर १५ गतेभित्र लिखित जवाफ माग्दै पूर्ण सुनुवाइका निम्ति आजलाई तोकिएको थियो । टिकट प्रतिबन्धविरुद्धका १४ वटै रिटलाई लगाउमा राखिएकाले एकसाथ सुनुवाइ गरिनेछ । माथेमा र शर्माको संयुक्त इजलासमा टिकटकविरुद्धका रिट २६औँ नम्बरमा परेका छन् । नियमन गर्न नसकेर प्रतिबन्ध लगाइएको र यो दीर्घकाललाई नभएर तत्कालका निम्ति मात्र भएको सरकारका तर्फबाट पेस गरिएको लिखित जवाफमा उल्लेख छ । सर्वोच्चबाट अन्तरिम आदेश नभएपछि टिकटकमाथिको प्रतिबन्ध कायमै छ । गएको कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाट सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको दाबी गर्दै मंसिर १ र ४ गते गरी १४ रिट दर्ता गरिएको थियो ।

घरभित्र आगो बाल्दा ग्यास सिलिन्डर पड्कियो, जलेर मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ स्थित घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय लोकबहादुर नेपालीको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सोमबार बेलुका नेपालीले आफ्नो एकतले कच्ची घरभित्र ताप्नका निम्ति आगो बालेका थिए । त्यसक्रममा आगलागी भएको हो । आगो सल्किएर एलपी ग्यास सिलिन्डर समेत पड्किएको प्रहरीले जनाएको छ । आगलागीबाट शरीर जल्दा घटनास्थलमै उनको मृत्यु भएको थियो । घर पूर्ण रूपमा क्षति भएको छ । सो घटनामा अरू कोही कसैलाई केही नभएको र बेलुका करिब पौने ९ बजे आगलागी पूर्ण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

‘मिचाउङ’ नामक शक्तिशाली आँधीका कारण भारतमा पाँचजनाको मृत्यु

काठमाडौं । बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीका कारण भारतमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र त्यसले सिर्जना गरेको अवस्थाका कारण हालसम्म पाँचजनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । प्रहरीका अनुसार मृत्यु हुने पाँचजनामध्ये दुईजनाको करेन्ट लागेर र एकजनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुईजनाको मृत्युको कारण खुल्न सकेको छैन । प्रतिकूल अवस्थाको पूर्वानुमान गर्दै तमिलनाडु सरकारले चेन्नईलगायत केही जिल्लामा बिदा दिएको छ । राज्यका सबै ठूला सुरुङहरू पानीले भरिएकाले बन्द गरिएका छन् । मिचाउङ’का कारण आएको भारी वर्षाका कारण चेन्नईलगायत धेरै जिल्लामा सडक डुबानमा परेको छ । चेन्नईका धेरै ठाउँमा रुख सडकमा ढलेका छन् । वर्षाका कारण चेन्नईको घरेलु र अन्तर्राष्ट्रिय विमानस्थलमा बाढी आएको छ । जसका कारण उडान र अवतरण रोकिएको छ । विमानस्थल प्रशासनले सोमबार रातिसम्मका सबै उडान रद्द गरेको थियो । करिब १५० उडान सेवा प्रभावित भएको छ । भारतको मौसम विभागका अनुसार उक्त चक्रवात चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको छ ।

नेपालीलाई भर्ती नलिन रुस र युक्रेनलाई सरकारको पत्र

काठमाडौं ।रुसी सेनामा भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न नेपालले रुसलाई आग्रह गरेको छ। रुसी सेनाले युक्रेनसँगको युद्धमा मारिएका नेपालीको जानकारी दिएपछि परराष्ट्र मन्त्रालयले रुसलाई कूटनीतिक नोट पठाउँदै नेपाली नागरिकलाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेकालाई पनि तत्काल नेपाल पठाउन अनुरोध गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसै साता कोप सम्लेलनमा भाग लिन युएई हिँड्ने बेलामा रुसस्थित नेपाली दूताबासले ६ जना नेपालीको मृत्यस भएको सूचना परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई दिएको थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानसेनापति, प्रहरीका प्रमुख, मन्त्रालयका सचिवसमेतको बैठक बोलाएर छलफल गरेका थिए । सो छलफलमा रुसी सेनामा कति नेपाली गएका छन्, पढ्न जाने अनुमति लिनेहरु त्यसरी सेनामा भर्ना भएका हुन् कि वा कुन स्रोतबाट गएका हुन् भन्नेबारे रुसी राजदूतसँग छलफल गर्ने निर्णय गरेको थियो । यसैवीच सोमबार सिंहदरबारमा परराष्ट्र मन्त्रालयका अधिकारीसँगको छलफलपछि सरकारले रुस र युक्रेन दुबै देशलाई सैन्य भर्ना नगर्न पत्राचार गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दियो । स्रोतले भन्यो,‘रुसी सेनामा मात्र होइन, युक्रेनको सेनामा पनि नेपालीहरु भर्ती भएको सूचना आएको छ । नेपालले सम्झौता नगरेको देशमा यसरी नेपालीलाई सैन्य कार्यमा लगाउन पाइँदैन ।’ त्यसो त सिंहदरबारमा सरकारी अधिकारीबीच भएको छलफलमा एनओसी लिएर रुसमा पढ्न जाने विद्यार्थी र टुरिष्ट भिसामा जानेहरुमाथि पनि रोक लगाउनेबारे छलफल भएको थियो । तर, उनीहरुलाई रोक नलगाइने भएको छ । यसबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने,‘रुसमा पढ्न जाने विद्यार्थीमाथि रोक लगाइने छैन, तर सैन्य भर्तीमा नजान र नलगाउन सचेत गराउने सरकारले नीति लिएको छ । यसबारे रुस र युक्रेन दुबैलाई सरकारले पत्र पठाउने निर्णय भएको छ ।’ यसैगरी रुसी सेनामा लागेर मृत्युवरण गरेका ६ जना नेपालीको शव नेपाल पठाउने प्रवन्ध गर्न सरकारले रुसलाई भनेको छ ।

यी कम्पनी परे तीनदेखि एक वर्ष कालोसूचीमा (सूचीसहित)

काठमाडौं । सरकारले तोकिएको समयमा दिइएको जिम्मेवारी पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न पाँचवटा कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा (१) बमोजिम पाँचवटा निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको हो । कालो सूचीमा राखिएका निर्माण व्यवसायी आपूर्तिकर्ताहरूले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि काममा भाग लिन पाउने छैनन् । तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको छ ।

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर १९ गते) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ७९ पैसा र बिक्री दर १४५ रुपैयाँ ४४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७९ पैसा र बिक्री दर १६९ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यो हो आजको विदेशी मुद्राको विनिमय दर

गाडी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गए राति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिए। उनका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र १–०१–००१ ज३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा सोही गाडीकै चालक लिम्बूको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक लुंगेलीले बताए। ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा उक्त गाडीले नै चालकलाई किचेको जनाइएको छ।

नेप्सेमा झिनो अंकको गिरावट, एक अर्ब १९ करोडको सेयर कारोबार

काठमाडौं । पछिल्ला ६ दिनदेखि नेप्से लगातार ओरालो लागेको छ । सोमबार नेप्से झिनो अंक घटेर बन्द भएको छ । नेप्से परिसूचक ३.४२ अंकले घटेर १८४७.८१ विन्दुमा रोकिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यस दिन एक अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । २९२ धितोपत्रका ३८ लाख ९६ हजार २८७ कित्ता खरिद–बिक्री भएको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.०६ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२२ रुपैयाँ कायम भएको छ । सोनापुर मिनेरल्स एन्ड आयल लिमिटेडको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको सात करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १३ मध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि जीवन बिमा समूहको भएको छ । यो समूहको परिसूचक ०.९७ प्रतिशतले वृद्धि भएको हो । सर्वाधिक परिसूचक घट्नेमा ‘अन्य’ समूह छ । यो समूहको परिसूचक ०.६२ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सामाजिक सञ्जालमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुलुम गाउँपालिका –४ घर भइ हाल काठमाडौंको लाजिम्पाट बस्ने वर्ष २७ को सुरेश कुमार श्रेष्ठ र काठमाडौंको कलंकीका २७ वर्षीय सुरज खड्का रहेका छन्। पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१को प्रथम चौमासिक अवधिमा भन्सार छल्ने आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूबाट तीन करोड ३१ लाख ८१ हजार १ सय ९८ रुपैयाँ बराबरको सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । चीनबाट आयात गरिएका ती सामग्री रसुवागढी, घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसी लगायतका स्थानमा भरिया र सवारी साधनहरु मार्फत काठमाडौं लैजाने क्रममा प्रहरीले बरामद गरेको हो । चोरी निकासी नियन्त्रण गर्न रसुवागढी नाकामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल खटिएका छन् । गत वर्ष पनि प्रहरीले एक करोड ५१ लाख ५६ हजार २ सय ३० रुपैयाँ बराबरको सामग्री बरामद गरेको थियो ।

सुनको मूल्य आज पनि बढ्यो, कति छ मूल्य ?

काठमाडौं । स्थानीय बजारमा सोमबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । छापावाल सुन तोलाको एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन तोलाको एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । केही दिनयता सुनको मूल्य दैनिक नयाँ उचाइमा पुगेको छ । यस दिन तेजाबी सुन तोलाको एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ५४५ रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

हुम्लामा बाक्लो हिमपात, किसानहरू खुसी

हुम्ला । सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट मौसम बिग्रिँदा हिमपात भइरहेको हो । हिमपात जिल्लाका अधिकांश भूभागमा भइरहेको छ । हिमपातसँगै चिसो बढेपछि हाल जुम्लाको तापक्रम ३ दशमलव ९ डिग्रीमा झरेको छ । चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने चौपायालाई समेत समस्या भएको छ । बाक्लो हुस्सुका कारण हवाई सेवासमेत अवरुद्ध भएको छ । गहुँ, जौ, उवा छर्ने समय भएकाले किसान भने खुसी भएका छन् ।  

भरतपुर महानगरपालिकाद्धारा निजी स्वास्थ्य संस्थाहरुको अनुगमन तीब्र

चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालित निजी स्तरका स्वास्थ्य संस्थाहरुको अनुगमनलाई तीब्र पारेको छ । महानगरपालिकाले गत साउन १२ गते दर्ता नभएका संस्थालाई दर्ता गर्न आह्वान गरेको थियो । महानगरको सुचना प्रकाशन आधारमा निवेदन पेश भएका संस्थाहरुको पहिलो चरणमा अनुगमन गरिएको महानगरका जनस्वाथ्य अधिकृत केशव भट्टले जानकारी दिनुभयो । पहिलो चरणमा ५६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिने अधिकृत भट्टले बताउनुभयो । हालसम्म ४२ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिसकिएको छ । जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि महानगरपालिकाले वर्षेनी स्वास्थ्य संस्थामा अनुगमन गर्ने गरेको छ । यस्तै अनुगमनका क्रममा सर्वसुलभ स्वास्थ्यको पहुँच वृद्धि गर्न टेवा पुग्ने भएकाले अनुगमलाई निरन्तरता दिईरहेको हो । स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरु तालिम प्राप्त भए नभएको, जोखिमयुक्त फोहरको व्यवस्थापनको अवस्थाबारे पनि अनुगमन गर्ने गरिएको छ । अनुगमनका क्रममा मापडण्ड पुरा भएकाहरुको दर्ता गरिनेछ भने पुरा नभएकाहरुलाई मापदण्ड पुरा गर्न अनुरोध गरिने छ । गत असोज २१ बाट सुरु भएको अनुगमन नियमित चल्ने बताइएको छ । गत वर्ष ४ वटा १५ शैयाको अस्पतालसहित ५२ वटा स्वास्थ्य संस्था दर्ता गरिएको थियो । हालसम्म दर्ता गर्न नआएका स्वास्थ्य संस्थालाई दर्ता प्रकृयामा आउन महानगरपालिकाले सार्वजनिक आह्वान समेत गरेको छ । दर्तामा नआई मापदण्ड विपरित सञ्चालन भएका स्वास्थ्य संस्थालाई कानुनी कारबाही गरिने महानगरपालिकाका जनस्वास्थ्य शाखा प्रम्ुख दिपक सुवेदीले जानकारी दिनुभयो । महानगरपालिकाले जनस्वास्थ्य ऐन ०७७ तथा स्वास्थ्य संस्था दर्ता नविकरण तथा सञ्चालन अनुमति कार्यविधि ०७७ निर्माण गरी सोही अनुसार काम कारबाही अगाडि बढाउदै आएको छ । भरतपुर महानगरले १५ शैयाको अस्पताल, स्वास्थ्य क्लिनिक, आयुर्वेदिक क्लिनिक, फिजियोथेपी केन्द्र, होमियोपेथिक क्लिनिक तथा डी र ई वर्गका प्रयोगशालालाई नियमन गर्ने गर्दछ । भरतपुरमा भरतपुर केन्द्रीय अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठुला मेडिकल कलेज, २० निजी अस्पतालसहित २०० को संख्यामा निजी क्लिनिक तथा फार्मेसी सञ्चालनमा छन्।

उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मङ्सिर १९ र २० गते हुने छ । सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्ने छन् । सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट संयुक्त राष्ट्र सङ्घ शान्ति स्थापनालाई सहयोग पु¥याउन सक्ने विभिन्न नौ क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुने जनाइएको छ । उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्नुका साथै प्रतिबद्धता पनि व्यक्त गर्ने कार्यक्रम छ भने नेपाली टोलीका अन्य सदस्यले विभिन्न कार्यक्रममा भाग लिने छन् । सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिव अतुल खारे, जिन पियरर ल्याक्क्रोइक्सले शिष्टाचार भेट हुनेछ भने अन्य राष्ट्रका रक्षा तथा सुरक्षा मन्त्रीहरुसँग भेटघाट तथा द्विपक्षीय सहयोगका विषयमा छलफल हुने कार्यक्रम छ । सम्मेलनमार्फत नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पु¥याएको योगदानबारे चर्चा हुने र नेपालको छवी थप उच्च हुने अपेक्षा गरिएको छ । नेपालका उपप्रधानमन्त्री स्तरको नेतृत्वमा हुने सहभागितालाई संयुक्त राष्ट्र सङ्घले उच्च महत्व दिँदै सदस्य राष्ट्रका तर्फबाट वक्ताका रुपमा सहभागी गराउने गरी कार्यक्रम तय भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा महाधिवेशनको मिति तय गर्ने विषयमा छलफल गर्नेछ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सो बैठकमा अन्तरपार्टी निर्देशन ९अपानि०मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयन लगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने बताइएको छ । पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर समेत गर्ने जनाइएको छ । बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने प्रचार विभाग प्रमुख खतिवडाले बताए ।