गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएको छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ ।
नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले हरेक वर्ष सञ्चालन गर्ने गिद्ध गुँड अनुगमनअनुसार यस वर्ष सक्रिय गुँडको सङ्ख्या एक सय ५५ पुगेको छ, जुन गत वर्षको तुलनामा वृद्धि हो । बिसिएनका अनुसार गत वर्ष एक सय ४३ वटा सक्रिय गुँड भेटिएका थिए भने यस वर्ष बढेर एक सय ५५ पुगेका छन् ।
कञ्चनपुरमा सबैभन्दा बढी एक सय २६ गुँड फेला परेका छन् । त्यस्तै बैतडीमा १२, डडेलधुरामा १० र कैलालीमा सात गुँड भेटिएका छन् । यस वर्ष कञ्चनपुर र डडेल्धुरामा गुँड सङ्ख्या बढेको भए पनि कैलाली र बैतडीमा भने केही घटेको देखिन्छ । सुदूरपश्चिम प्रदेशमा नौ प्रजातिका गिद्ध पाइन्छन् । तीमध्ये अति सङ्कटापन्नमा पर्ने डङ्गर, सानो खैरो, लामो ठुँडे, सुन गिद्ध, सङ्कटापन्न सेतो गिद्ध र सङ्कटको नजिक रहेका हिमाली, हाडफोर, खैरो र राज गिद्ध रहेका छन् । कञ्चनपुरमा आठ प्रजाति र कैलालीमा सात प्रजातिका गिद्ध फेला परेका छन् । यसले सुदूरपश्चिमलाई गिद्धका लागि महत्त्वपूर्ण आवास क्षेत्रका रूपमा चिनाएको छ ।
राष्ट्रिय गिद्ध गणना सेप्टेम्बर ५, ६ र ७ तारिखमा गरिएको थियो । सोही क्रममा गिद्ध र गुँडको सङ्ख्या यकिन गएिको नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरूलाल डगौराले बताए । उनका अनुसार गणनाको उद्देश्य गिद्धको आधारभूत ‘डाटाबेस’ निर्माण गर्नु, राष्ट्रिय गिद्ध डाटाबेसलाई व्यवस्थित गर्नु र संरक्षणका लागि तथ्याङ्कीय आधार तयार गर्नु रहेको थियो । गणनामा ४८ स्वयंसेवक सुदूरपश्चिमका विभिन्न जिल्लामा खटिएका थिए । “टोलीले अवलोकन गरिएको स्थलको जिपीएस स्थानसमेत अभिलेख राखेको छ”, उनले भने, “गिद्धबाहेक अन्य चराचुरुङ्गी र स्तनधारी जनावरको पनि विवरण सङ्कलन गरिएको छ ।” यस वर्षको गणनामा सुदूरपश्चिम प्रदेशमा जम्मा पाँच सय ७३ गिद्ध भेटिएका छन् ।
चराविज्ञ डगौराका अनुसार गणनाका क्रममा सानो खैरो गिद्ध नौ, डङ्गर गिद्ध चार सय ४२, सुन गिद्ध १४, गोव्रे गिद्ध नौ, हिमाली गिद्ध ९४ र हाडफोर गिद्ध पाँचवटा देखापरेका छन् । लामो ठुँडे गिद्ध, राजगिद्ध र सानो खैरो गिद्ध हिउँदमा मात्र देखापर्ने भएकाले गणनमा समावेश गरिएको छैन । कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बाजुरा र दार्चुलामा गणना गरिएको थियो । सबभन्दा बढी कञ्चनपुर र कम दार्चुलामा भेटिएका छन् । गिद्ध आफैँ सिकार नगर्ने तर मरेका जनावरको सिनो खाने चराका रूपमा चिनिन्छ । गिद्धलाई ‘प्रकृतिको कुचीकार’ पनि भनिन्छ । गिद्धले वातावरणलाई दुर्गन्धित र प्रदूषित हुनबाट जोगाउनुका साथै हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, क्षयरोग, एनथ्राक्सजस्ता रोग फैलिनबाट नियन्त्रण गर्ने भूमिका निर्वाह गर्ने उनी बताउँछन् । संरक्षणकर्मीका अनुसार गिद्ध वातावरणीय चक्रको अभिन्न हिस्सा हुन् ।
खाद्य शृङ्खलामा सन्तुलन कायम राख्न गिद्धको उपस्थिति अपरिहार्य हुन्छ । यदि गिद्ध नहुने हो भने वातावरणीय प्रदूषणमात्र होइन, महामारीको जोखिम पनि बढ्ने खतरा रहन्छ । गिद्ध सङ्ख्या बढ्नु उत्साहजनक भए पनि संरक्षणकर्मीहरूले अझै पनि गिद्ध संवेदनशील अवस्थामा रहेको बताएका छन् । पशु उपचारमा प्रयोग हुने केही रासायनिक औषधि, गुँड नष्ट हुने गतिविधि, बासस्थान अतिक्रमण र वातावरणीय असन्तुलन गिद्ध संरक्षणका लागि प्रमुख चुनौतीका रूपमा रहेको चरा संरक्षणकर्मी सुवन चौधरी बताउँछन् । “विशेषगरी डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगले गिद्ध मृत्युदर बढाउने गरेको छ”, उनले भने, “यसका विकल्पलाई प्रोत्साहन गर्ने, पशुपालकलाई सचेत गर्ने र स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउने आवश्यकता देखिन्छ, समुदायमा गिद्धसम्बन्धी चेतना फैलाउने कार्यमा सक्रिय भएर लागेका पनि छौँ ।”
गिद्धको बढ्दो सङ्ख्या सकारात्मक सङ्केत भए पनि दीर्घकालीन संरक्षण रणनीति अपरिहार्य छ । गुँड संरक्षण, औषधि नियन्त्रण, बासस्थान व्यवस्थापन र स्थानीयस्तरमा सचेतना कार्यक्रमलाई प्राथमिकतामा राख्न सकेमात्र गिद्धको दीर्घकालीन रूपमा अस्तित्व सुनिश्चित गर्न सकिन्छ ।
उदयपुरमा खोलाले बगाउँदा महिलाको मृत्यु
उदयपुर । उदयपुरगढी गाउँपालिका–७ की २२ वर्षीया विमा राईको खोलाले बगाउँदा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार हिजो साँझ पानी पर्ने क्रममा पौवाखोलामा आएको बाढीले राईलाई बगाएको थियो। घटनापछि वेपत्ता भएकी उनको शव राति नै फेला परेको प्रहरीले जनाएको छ।
शिक्षा मन्त्रालयको काम केशरमहलबाट हुने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको काम केही समय केशरमहलबाट सम्पादन हुने भएको छ । ‘जेनजी’ समूहको आन्दोलनबाट मन्त्रालयको भौतिक संरचनामा ठुलो क्षति भएपछि केही समयका लागि केशरमहलबाट मन्त्रालयका सेवा सम्पादन हुने मन्त्रालयका सचिव चुडामणि पौडेलले जानकारी दिए । केशरमहलमा हाल केशर पुस्तकालय र सार्वजनिक खरिद तथा अनुगमन कार्यालय रहेका छन् । ती दुवै कार्यालयलाई खुम्च्याएर मन्त्रालयको काम पनि त्यहीँबाट नियमित सञ्चालन गर्न लागिएको हो । २०७२ सालको भूकम्पमा क्षति भएको केशरमहल भर्खरै मात्रै निर्माण सम्पन्न भएको हो । उक्त मन्त्रालय सिंहदरबारमा सर्नुअघि पनि केशरमहलमै थियो । शुक्रबार मुख्य सचिव एकनारायण अर्याल नेतृत्वको टोलीले मन्त्रालयको अवलोकन गरेको थियो । सचिव पौडेलका अनुसार मन्त्रालयमा भौतिक संरचनामा क्षति पुगे पनि कागजपत्र भने सुरक्षित छन् । भूमिस्थ पार्किङमा राखिएका सवारीसाधन पनि जलेर ध्वस्त भए । माथिल्लो तलामा भने तोडफोड मात्रै भएको छ । आगलागीको प्रभाव देखिएको छैन । मन्त्रालयले वैदेशिक अध्ययन अनुमतिपत्र प्रदानलगायत अनलाइनबाट प्रदान गरिने सेवा भने नियमित रहेको जनाएको छ ।
महोत्तरीमा व्यापक बन्दै वन फडानी
बर्दीबास । महोत्तरीको बर्दीबास–४ स्थित टुटेश्वर साझेदारी वनमा मंगलबार राति ठूलो मात्रामा रुख फडानी भएको छ । जेन–जी आन्दोलन उत्कर्षमा पुगेको बेला बन्दुकसहित घरेलु हतियार बोकेको करिब डेढ सयको समूहले निर्ममतापूर्वक रुख काटेको प्रारम्भिक अनुमान छ । काटिएका मध्ये अधिकांश साल प्रजातिका छन् । रुख सडकमै छाडिएकाले गाउँ र टुटेश्वरनाथ मन्दिर जाने करिब ५ किमी बाटो अझै अवरुद्ध छ । फडानी रोक्न जाँदा स्थानीयसँग झडपसमेत भएको र घटनाक्रममा समूहले केही राउन्ड हवाई फायर गरेको जानकारी प्राप्त भएको छ । टुटेश्वर साझेदारी वनका अध्यक्ष विनयकुमार झाले घटनाबारे बताउँदै भने, “मध्यरातमा मैले रुख नकटाउन हातजोडेर अनुरोध गर्दा मलाई एक घण्टाजति नियन्त्रणमा राखे । त्यस क्रममा दुई राउन्ड गोलीसमेत चलाइएको थियो ।” पछि सशस्त्र वन रक्षक र सव–डिभिजन प्रमुख कृष्णकुमार पटेलको टोली पुगेर उनलाई मुक्त गराइएको थियो । अर्को दिन बिहान ४ बजे तिर समूहले टुटेश्वर सव–डिभिजन कार्यालयनजिक टायर बाल्दै फेरि रुख काटेका थिए । घटनाबारे जानकारी पाएपछि सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले केही काट्दै गरेका तीन जनालाई नियन्त्रणमा लिए पनि करिब सात सय महिलाको भीडले घेराउ गरी छुटाउन खोजेपछि फेरि झडप भएको वनकर्मीहरूले बताएका छन् । बढ्दो भीड र देशभर भइरहेका हिंसात्मक गतिविधि मूल्यांकन गर्दै सुरक्षा फौज पक्राउ परेकालाई त्यहीँ छाडेर फर्किएको थियो । रुख फडानीको उद्देश्य स्पष्ट छैन । स्थानीयवासीको अनुमान अनुसार राजमार्ग उत्तरतर्फ मन्दिर जाने बाटो साँघुरो भएकाले तस्करीका लागि नभई पर्यटकीय मार्ग फराकिलो पार्न सडक छेउका रुख काटिएको हुन सक्छ । अध्यक्ष झाले भने प्रश्न गरे, “मुलुकमा शासन प्रशासन ठप्प भएको बेला हामीले मात्र वनको सुरक्षा कसरी गर्ने ?”
नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले
काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुबाहक बस सञ्चालन हुन थालेका छन् । यही भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कफ्र्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन् । लोत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पङ्कज मल्लले आज बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको जानकारी दिए । यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसअघि विज्ञप्ति जारी गरी विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन गरेको थियो । हाल सवारीसाधन आफूखुसी बाहिरिएका हुन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आगामी दिनमा संस्थागत रूपमा कसरी सवारीसाधन सञ्चालन गर्ने भन्नेबारे सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए ।
पर्वत र बागलुङ जोड्न कालीगण्डकीमा अग्लो र लामो झोलुङ्गे पुल निर्माण हुने
पर्वत । पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदीमाथि अग्लो र लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी पाँचौँ पुल बन्न लागेको हो । कुश्माबजारस्थित वडा नं ५ मा रहेको आनन्द गुम्बादेखि बागलुङ नगरपालिका–१४ नारायणस्थानको कुकुरगाढे जोड्नका लागि ४१५ मिटर लामो पुल निर्माण सुरु भएको हो । यसअघि कुश्मा–कैया झोलुङ्गे पुल, कुश्मा–बलेवा यान्त्रिक पुल, कुश्मा–बलेवा बञ्जी जम्पको पुल र शिर्सुवा–कैया झोलुङ्गे पुल निर्माण भइसकेका छन् । बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीका अनुसार २०८३ साल पुस मसान्तसम्ममा पुल निर्माण सक्ने गरी स्याङ्जाको जय नेपाल ईश्वर निर्माण सेवा प्रालिले गत असारमा नै ठेक्का सम्झौता गरिसकेको छ । पुलका लागि आधारभूत संरचना तयार गर्न तथा संरचना खडा गर्नका लागि व्यवस्थापन गर्नुपर्ने पूर्वतयारी बारेमा निर्माण कम्पनीले अध्ययन सकेकाले अब छिट्टै निर्माण सुरु हुने उनले बताए । सङ्घीय सरकारबाट विनियोजन भएको रु पाँच करोड २६ लाख ८० हजार लागतमा उक्त पुल निर्माण हुने भएको हो । बागलुङको बलेवा, कैया, पैयुँपाटा तथा पर्वतको कुश्मातर्फको ठूलो क्षेत्रफलमा रहेको र यस अगाडि निर्माण भइसकेका पुलहरूबाट सबैले लाभ उठाउन नसकिरहेको बेलामा स्थानीय आवश्यकताको आधारमा जनप्रतिनिधिहरूको पहलमा पुल निर्माण हुन लागेको वडाध्यक्ष खत्रीले बताए । पुलको नजिकमा ठूलो बस्तीको सम्भावना पनि रहेको तथा कालीगण्डकी कोरिडोरको तल्लो भूमिमा राम्रो समथर जमिन समेत रहेकोले पनि पुलले स्थानीयको आयस्रोत बढाउन पनि सहयोग गर्ने उनको विश्वास छ । “विशेष गरी बागलुङ नगरपालिका वडा नं १२, १३ र १४ को मध्य भागमा पर्ने, गाडीको गन्तव्य भएको, कुश्मा बजारको मध्य भागमा जाने भएकोले यो पुल निकै महत्त्वपूर्ण छ”, स्थानीय कमल जिसीले भने, “प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी तथा बागलुङ र कुश्मा नगरपालिकाका प्रमुखहरूको पहलमा निर्माण हुन लागेको पुलले दुई जिल्लालाई जोडेर सेवा लिन तथा व्यापार व्यवसाय सञ्चालन गर्न झनै सजिलो हुने भएको छ ।” अहिलेसम्म बलेवाबाट कुश्मा गन्तव्य बनाएर यान्त्रिक पुल तर्दा एकतर्फीको रु ८५ तिर्नुपर्छ भने बञ्जी पुलबाट दुईतर्फी यात्राका लागि रु १२० लाग्छ ।
नयाँ सरकार गठनका लागि छलफल सुरु, आजै कार्की नियुक्त हुनसक्ने
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा बिहानदेखि पुनः छलफल सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहानदेखि नै नयाँ सरकार गठनका विषयमा छलफल सुरु गर्नु भएको स्रोतले जनाएको छ । राष्ट्रपति पौडेलले बिहीबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश कार्की, संविधानविद्हरू, नेपाली कांग्रेसका नेताहरू र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शीतलनिवासमा छलफल गर्नु भएको थियो। छलफलमा संसद् विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुट्दा निष्कर्षमा पुग्न सकिएको थिएन। स्रोतका अनुसार, कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउने विषयमा भने सहमति जुटिसकेको छ। कांग्रेस र माओवादी केन्द्रका नेताहरूले कार्कीको नेतृत्वमा सकारात्मक राय दिएका छन्। कार्कीले पनि जिम्मेवारी लिन तयार रहेको बताएकी छन्। एमालेका नेताहरुले पनि अनौपचारिकरुपमा कार्कीको नियुक्तिमा सकरात्मक जवाफ दिएका छन् । त्यसैले सकभर आज नै कार्कीको नियुक्ति हुने सम्भावना छ । संसद् विघटनमा अड्किएको वार्ता जेनजी युवाहरूको समूहले संसद् विघटनलाई मुख्य माग बनाएका छन्। तर, संविधानअनुसार प्रधानमन्त्री हुन संसद् सदस्य हुनुपर्ने प्रावधानले जटिलता निम्त्याएको छ। राष्ट्रपति पौडेलले यसबारे संविधानविद्हरूसँग वैकल्पिक उपायबारे परामर्श गरेका छन्। छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्यालले जेनजी युवाको प्रतिनिधित्व गरेका थिए। भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा जेनजी युवाले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेपछि सरकारले फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गरेको थियो। अभियान चलाएका युवाले स्वतस्फूर्त सडक प्रदर्शन गरेका थिए। सोमबारको प्रदर्शनमा प्रहरीको अत्यधिक बल प्रयोग हुँदा ३४ जनाको मृत्यु भएको छ, जसमा प्रहरी पनि परेका छन्। २०० भन्दा बढी घाइते भएका छन्। मंगलबार प्रशासनको कर्फ्यू तोडेर प्रदर्शनकारीहरू बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए। संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत क्षेत्रमा आगजनी भएको थियो। त्यसपछि नेपाली सेनाले जेनजीसँग वार्ता गर्न अग्रसरता लिएको थियो। सेनाको सहजीकरणमा जेनजीका मागबारे सहमति खोज्ने प्रयास भएको छ। राष्ट्रपति पौडेलले संविधानको दायराभित्र रहेर अघि बढ्ने उपायबारे संविधानविद्हरूसँग थप छलफल गरिरहेका छन्। कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको सम्भावनालाई बलियो आधार मानिएको छ।
जेनजीको आन्दोलनका कारण सिनेमा हल अनिश्चितकालका लागि बन्द
काठमाडौं । जेनजीको आन्दोलन तथा देशमा प्रतिकूल परिस्थितिको कारण मल्टिप्लेक्स हलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ । क्युएफएक्स, आईएनआई, विग मुभिज, वान सिनेमाज लगायतले बिहीबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि हल बन्द हुने जनाएका हुन् । दर्शकले खरिद गरेका टिकट कार्यालय पुनः सुरू गर्ने बित्तिकै पूर्ण रूपमा फिर्ता गरिने जनाइएको छ । असुविधाको लागि माफी माग्दै सबैलाई सुरक्षित रहन समेत जारी सूचनामा अनुरोध गरिएको छ । सिनेमा हलहरू मङगलबारदेखि बन्द छन् ।
राष्ट्रिय सम्पत्ति र सम्पदा पुनर्निर्माणको दुई वर्षमै खरानी
काठमाडौं । ‘जेन–जी समूह’को नाममा मंगलबार भएको प्रदर्शनका क्रममा आगजनी र लुटपाट हुँदा काठमाडौँ उपत्यकाका मुख्य सरकारी भवनमा ठुलो क्षति पुगेको छ । आगलागीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख कार्यालयहरू जलेर नष्ट भएका छन् । राष्ट्रपतिको कार्यालय (महाराजगञ्ज), प्रधानमन्त्री निवास (बालुवाटार), अख्तियार दुरुपयोग अनुसन्धान आयोग (टङ्गाल), मन्त्री तथा प्रदेश प्रमुखको आवास (भैँसेपाटी), संघीय संसद भवन (नयाँबानेश्वर), सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालय (रामशाहपथ), काठमाडौं जिल्ला अदालत तथा सहरी विकास, भवन विभाग र सडक विभाग (बबरमहल) लगायतका सरकारी कार्यालयहरूमा आगलागीले ठूलो क्षति पुर्याएको छ । यी कार्यालयमा रहेका कागजात, ऐतिहासिक दस्तावेज र चल सम्पत्ति जलेर नष्ट भएका छन् । सहरी विकास तथा भवन विभागका महानिर्देशक मचाकाजी महर्जनका अनुसार बबरमहलस्थित विभागको केन्द्रीय कार्यालय परिसरका छ वटा भवनमा आगजनी, तोडफोड र लुटपाट हुँदा क्षति पुगेको छ । त्यहाँ पार्क गरिएका करिब ५० वटा सवारीसाधन पनि जलेका छन् । विक्रम संवत् २०७२ को भूकम्पले क्षति पुर्याएको बबरमहल दरबार पुनर्निर्माण भएको दुई वर्षमै आगलागीका कारण खरानी बनेको छ । लन्डनको बकिङ्घम दरबारको शैलीमा करिब एक सय वर्षअघि निर्माण गरिएको यो दरबार मुलुककै महत्वपूर्ण पुरातात्त्विक सम्पदामध्ये एक हो । करिब ८६ करोड रुपैयाँ लागतमा सम्पन्न पुनर्निर्माणमा नियो–क्लासिकल युरोपेली शैलीको मौलिकता जोगाउँदै भवनलाई स्टिल, सुर्की, चुन र कार्बन फाइबर प्रयोग गरी मजबुत बनाइएको थियो । भूकम्पपश्चात ‘न्यूनतम क्षति, अधिकतम संरक्षण’को सिद्धान्तअनुसार प्रबलिकरण गरिएको यो भवन करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको छ र करिब ३०० कोठा रहेको छ । सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार भवनको आधाभन्दा बढी भाग मर्मत गर्न नसकिने गरी नष्ट भएको छ, तर भवनमा रहेको ‘डाटा सेन्टर’ भने सुरक्षित छ । जङ्गबहादुर राणाले बबरमहल क्षेत्रमा दरबार निर्माण गराएका थिए । १९३३ साल फागुनमा उनको निधनपछि रानी र सन्तानले बसोबास गरे । १९४२ सालमा शमशेर खलकको विद्रोहपछि दरबार देवशमशेरको स्वामित्वमा गयो । १९५८ सालमा देवशमशेरलाई पदमुक्त गरिएपछि तत्कालीन शासक चन्द्रशमशेरले यो दरबार आफ्नो छोरा बबरशमशेरलाई दिएका थिए । इतिहासकार पुरुषोत्तमशमशेर जबराले ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ पुस्तकमा उल्लेख गरेअनुसार १९६६–६७ सालतिर पाँचतले दरबार भत्काएर इन्जिनियर कुमारनरसिंह राणा र किशोरनरसिंह राणाबाट अहिलेको महल तयार गरिएको हो ।
प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको सुझाव
अमेरिका । नेपालमा हालै भएका हिंसात्मक घटना र मानवीय क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै अमेरिकी सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम राख्न आह्वान गरेका छन् । अमेरिकी सीनेटको वैदेशिक मामिला समितिसँग सम्बन्धित सिनेटर जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “हालै नेपालमा देखिएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य छ । हामी पीडित र उनका परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्छौं ।” विज्ञप्तिमा नागरिकमाथिको अत्यधिक दमनका लागि जिम्मेवारलाई उत्तरदायी बनाउने माग गर्दै भनिएको छ, “नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासका महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नागरिकको ठूलो योगदानबाट प्राप्त यी उपलब्धिको रक्षा गर्न आवश्यक छ ।” सिनेटरहरूले शान्त, पूर्ण प्रजातान्त्रिक र समृद्ध नेपाललाई नेपाल, अमेरिका र सम्पूर्ण क्षेत्रको साझा चासोको विषय ठहराउँदै, “नागरिकको विश्वास जित्नका लागि नेपाल सरकारले भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरी सम्बोधन गर्ने अपेक्षा गरिएको छ,” बताएका छन् ।
चार प्रमुख दलका युवा नेताहरूको संयुक्त तीनबुँदे निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेताहरू जेन–जीको आन्दोलनपछिको राजनीतिक परिस्थिति मूल्यांकन गर्न संयुक्त भर्चुअल छलफलमा बसेका छन् । स्रोतका अनुसार कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, माओवादी केन्द्रबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी तथा रास्वपाबाट सोबिता गौतम र शिशिर खनाल छलफलमा सहभागी थिए। दलगत आन्तरिक समीक्षा पछि गरिएको संयुक्त संवादले तीनबुँदे निष्कर्ष निकालेको छ । जसमा पहिलाे आत्मसमीक्षा अनिवार्य छ । राजनीतिक दलहरूले विगतका कमजोरीबारे आत्मसमीक्षा गर्नुपर्छ । दाेस्राेमा जेन–जीका माग सम्बोधन हुनु पर्छ भनिएकाे छ । सुशासन र भ्रष्टाचार नियन्त्रणलगायत जेन–जीको मुख्य माग छन् । तेस्राेमा पश्चगमनको प्रतिवाद छ । नेपाललाई पछाडि फर्काउने प्रयास भए दृढतापूर्वक प्रतिवाद गर्नुपर्ने निष्कर्ष निकालिएकाे छ । छलफलमा सहभागी एक नेताका अनुसार, ‘राजा र सैन्य शासनबारे चर्चालाई प्रक्रिया बनाउने कोसिस भयो भने प्रतिवादको विकल्प छैन ।’ नयाँ सरकार गठनबारे भने चार दलबीच एकमत हुन सकेको छैन । संसद्भित्रकै सदस्यबाट प्रधानमन्त्री चयन गर्ने वा संसद् बाहिरका व्यक्तिलाई अवसर दिने विषयमा फरक धारणा रहेको सहभागी नेताहरूले बताए ।
जंगीअड्डा बाहिर जेनजी समूहबीच कुटाकुट
काठमाडाैं । सैनिक मुख्यालय जंगीअड्डा बाहिर भेला भएका जेनजी समुह एक आपसमा कुटपिटमा उत्रिएका छन् । जेनजी समुह, नेपाली सेना र राष्ट्रपतिबीच वार्ता भइरहेको समयमा जंगीअड्डा बाहिर भेला भएका जेनजी समुहबीच कुटपिट भएको हो । एक समुहले सुशिला कार्कीलाई अबको अन्तरिम प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेपछि अन्य केहि समुहले त्यसको विरोध गरेका छन् । जेनजीको एक समुहले सुशिला कार्कीलाई अस्वीकार गर्दै कुलमान घिसिङको नाम अगाडी ल्याएको छ भने हर्क साम्पाङ समुहले पनि आफ्नो नेतृत्व दाबि गरिरहेको छ । सैनिक मुख्यालयमा आज वार्ता हुने भएपछि विहानै देखि कैयौं जेनजी समुह भेला भएका छन् ।
राष्ट्रपति पौडेलको अपील: संयमता र शान्ति कायम गर्न सबै पक्षसँग आग्रह
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा देखिएको वर्तमान जटिल परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन र शान्ति तथा सुव्यवस्था कायम गर्न सहयोग गर्न अपील गर्नुभएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै उहाँले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको बताउनुभएको छ। राष्ट्रपति पौडेलले मुलुकमा लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण गर्न तथा शान्ति कायम राख्न आफूले निरन्तर विचारविमर्श र हरसम्भव पहल गरिरहेको उल्लेख गर्नुभएको छ। उहाँले आन्दोलनरत नागरिकहरूको मागलाई सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको समाधान खोजिने विश्वास दिलाउँदै सबैलाई धैर्य र संयमका साथ सहयोग गर्न आग्रह गर्नुभएको छ। "हामी संवैधानिक प्रक्रियामार्फत समस्याको समाधान खोज्न प्रतिबद्ध छौँ। सबै पक्षले शान्तिपूर्ण रूपमा संवाद र सहकार्य गरेर मुलुकलाई सही दिशामा लैजान योगदान गर्नुपर्छ," विज्ञप्तिमा उल्लेख छ।
सप्तरीमा आगजनीपछि सरकारी कार्यालय सञ्चालनमा समस्या
सप्तरी । जेनजी समूहले जिल्लाका विभिन्न कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेपछि जिल्लाको कार्यालयहरू सञ्चालनमा समस्या भएको छ । राजविराजस्थित रहेको राजविराज नगरपालिका कार्यालय, राजविराज वडा २ को कार्यालय, सघन सहरी डिभिजन कार्यालय, डिभिजन वन कार्यालय, भौतिक पूर्वाधार कार्यालय, जिल्ला हुलाक कार्यालय, आन्तरिक राजस्व कार्यालय राजविराज, सरकारी वकिलको कार्यालय, उच्च अदालत जनकपुर राजविराज इजलास, सप्तरी जिल्ला अदालत, राजगढ गाउँपालिका, जिल्ला समन्वय समिति, खड्क नगरपालिका, कञ्चनरूप नगरपालिका, महदेवा गाउँपालिका –४, जिल्ला निर्वाचन कार्यालय सप्तरीलगायत कार्यालयमा जेनजीको समूहले मंगलबार कार्यालयका सामान तोडफोड गरी आगजनी गरेका थिए । आगजनीका कारण कार्यालयहरूको महत्वपूर्ण कागजात, फाईल, कम्प्युटर, प्रिन्टर, टेवल, कुर्सी, सवारीसाधन लगायत भएभरको सामान तोडफोड गरेर आगजनी गरेपछि जिल्लाका दुई दर्जन कार्याल सञ्चालनमा आउने अनिश्चित रहेको स्थानीयहरूले बताएका छन् । कर्मचारी बस्ने ठाउँ छैन्, आवश्यक काजात उपकरण छैन् । कार्यालय जाने बाताबरण छैन् । तत्काल कार्यालय सुचारू हुन सक्ने अवस्थामा नरहेको सप्तरी जिल्ला अदालतको एक कर्मचारीले बताए । राजविराज नगरपालिका कार्यालयको फोहोर उठाउने दुईवटा टिपर र दुई वटा ट्याक्टर जलेपछि राजविराजको फोहोर उठ्न सकेको छैन । कार्यालयहरूको कुनै पनि डकुमेन्ट बाँकी छैन । कहाँबाट सुरू गर्ने थाहा छैन् । वातावरण सहज भएर कुनै निर्देश आएपछि मात्र केही हुन सक्ने उनले बताउए । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले स्रोत साधनको अभावमा कार्यालय सञ्चालन गर्न कठिनाई हुने भए पनि अहिले जिल्लामा कर्फ्यू लागेकाले जिल्लामा अवस्थामा सामान्य रहेको बताए ।
त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले असामान्य परिस्थितिका कारण पठनपाठन कार्तिक ११ गतेदेखि मात्र सुरु हुने जानकारी दिएको छ । विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले जारी गरेको सूचनामा भनिएको छ कि मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण २०८२ साल भदौ २९, ३०, ३१ र असोज १, २, ५ साथै कार्तिक ९ गते पठनपाठन कार्य स्थगित गरिएको छ । जेन–जीको आन्दोलन र त्यसपछि उत्पन्न अवस्था कारण देशभरका शैक्षिक गतिविधि प्रभावित भएका हुन् । विश्वविद्यालयले नियमित पठनपाठन कार्तिक ११ गतेदेखि पुनः सञ्चालन हुने जानकारी गराएको छ ।
माओवादी अध्यक्ष प्रचण्डको विज्ञप्ति, "गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो"
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जेन-जी पुस्ताका युवाहरूले सुशासन र भ्रष्टाचारविरुद्ध सुरु गरेको आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै सरकारको बर्बर दमन र नरसंहारको कडा निन्दा गर्नुभएको छ। उहाँले आन्दोलनका क्रममा भएका तोडफोड, लूटपाट र आगजनीका घटनाहरू जेन-जी युवाहरूबाट नभएको दाबी गर्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको छ। प्रचण्डले जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलनमा सहादत प्राप्त युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्नुभएको छ। उहाँले १४ महिनाअगाडि कांग्रेस र एमालेले गरेको 'असंवैधानिक र अप्राकृतिक गठबन्धन' ले सुशासनका पक्षमा चालिएका कदमबाट अत्तालिएर जनताको आक्रोश निम्त्याएको बताउनुभएको छ। "भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लियो," विज्ञप्तिमा उल्लेख छ। आन्दोलनको दोस्रो दिन भएका तोडफोड र आगजनीका घटनाहरू जेन-जी युवाहरूको आदर्शविपरीत भएको ठहर गर्दै प्रचण्डले ती घटनाहरूमा 'अवाञ्छित तत्वहरूको घुसपैठ' भएको दाबी गर्नुभएको छ। उहाँले व्यवस्थापिका संसद् भवन, राष्ट्रपति निवास, सिंहदरबारलगायतका सार्वजनिक संरचनामा भएका विध्वंसकारी क्रियाकलापहरूको न्यायिक छानबिन माग गर्दै भन्नुभएको छ, "यी अकल्पनीय घटनाप्रति खेद प्रकट गर्दै आन्दोलनमा भएको बर्बर दमन, नरसंहार एवं लूटपाट र आगजनीका घटनाहरुको उच्चस्तरीय न्यायिक छानविन गर्न माग गर्दछौं।" विज्ञप्तिमा प्रचण्डले सरकार गठनपछि आफूले संसद्मा दिएको चेतावनी स्मरण गराउँदै सरकारको कुशासनले जनताको धैर्यता फुटेको बताउनुभएको छ। उहाँले भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसदहरू मन्त्री नबन्ने तथा उच्चपदस्थहरूको सम्पत्ति छानबिनको पक्षमा रहेको उल्लेख गर्नुभएको छ। "आज जेनजी पुस्ताले समेत यिनै मुलभूत मुद्दालाई लिएर आन्दोलनमा उत्रनु हाम्रा लागि गर्वको कुरा हो," उहाँले भन्नुभएको छ। नेपालको राजनीतिक इतिहासलाई स्मरण गर्दै प्रचण्डले जनयुद्ध, जनआन्दोलन र शान्ति सम्झौतामार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले संविधान कार्यान्वयनमा कमजोरी भएको स्वीकार गर्दै प्रत्यक्ष कार्यकारी रहने प्रणाली र समावेशी अधिकारहरूका लागि संविधान संशोधनको आवश्यकता औंल्याउनुभएको छ। "लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो," विज्ञप्तिमा भनिएको छ। प्रचण्डले जेन-जी आन्दोलनका मागहरू संविधानसम्मत रूपमा पूरा हुन सक्ने विश्वास व्यक्त गर्दै प्रतिगामी तत्वहरूविरुद्ध सजग रहन अपील गर्नुभएको छ। उहाँले आफ्नो पार्टीलाई परिवर्तनका पक्षमा अडिग रहेको बताउँदै अन्य पार्टीहरूसँग तुलना नगर्न आग्रह गर्नुभएको छ। अन्तमा, राष्ट्रपतिबाट भइरहेको पहल र सुरक्षा निकायहरूको भूमिकाको सराहना गर्दै सबै पक्षलाई संयमता र संवादका लागि आव्हान गर्नुभएको छ।

