एमाले विधान महाधिवेशन प्रतिनिधिलाई विद्या भण्डारीले लेखेको पत्र

काठमाडौं । एमाले नेतृत्व तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विधान महाधिवेशन प्रतिनिधिहरूका लागि पत्र पठाएकी छन् । महाधिवेशन प्रतिनिधि बन्न वञ्चित भएकी पूर्वराष्ट्रपति भण्डारीले पार्टीको पूर्वउपाध्यक्षको हैसियतमा पत्र पठाएकी छन् । 

 

 

नेकपा (एमाले) विधान महाधिवेशनका प्रतिनिधि कमरेडहरू,

अभिवादन !

नेकपा (एमाले) केन्द्रीय कमिटीको यही २०८२ साल साउन ५ र ६ गते बसेको बैठकको निर्णयको नाममा नवीकृत भइसकेको मेरो सदस्यतामाथि प्रश्न उठाइएकाले यसबारे केही कुरा राख्ने उद्देश्यले यो पत्र लेखिरहेकी छु । त्यसो त मैले पार्टी सदस्यता नवीकरण गरेपछि पनि पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरू आयोजना भएका थिए, त्यसबखत मेरो सदस्यताको सवालमा कुनै प्रश्न गरिएन, तर अहिले किन यस्तो विवादको घेरामा पारियो ? यो विषय पार्टी र सिंगाे राष्ट्रकै निम्ति गम्भीर हो ।

मैले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका निम्ति अर्पण गरेकी छु । महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि मैले निरन्तर आवाज उठाउँदै आएकी छु । अनेकौँ संघर्ष, कठिनाइ र चुनौतीसँग मैले कहिल्यै हार मानेकी छैन । आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरा निम्ति गम्भीर रूपमा खडा भएको छ । यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो । त्यसैले, तपाईंहरूले यस पत्रलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ एवं दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएकी छु ।

स्कुले जीवनदेखि नै अनेकौँ संघर्ष, त्याग र समर्पणको बाटो हिँडेर म यहाँ आइपुगेँ र फेरि पनि बाँकी जीवन पार्टीमै आबद्ध भएर अगाडि बढ्ने अठोट गरेकी छु । तर, म अहिले एउटा यस्तो परिवेशमा उभिएकी छु, मैले ०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीकसमेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ।

पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दु:खको विषय हो । यस्तो प्रश्न मेरा निम्ति मात्र होइन, कुनै पनि पार्टी सदस्यले भोग्नुहुँदैन भन्ने मेरो अडान हो ।

स्मरण रहोस्, जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसर पारेर ०८२ साल असार १४ गते पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी ओली प्रमुख अतिथि बनेर मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मेरो पार्टी सदस्यता नवीकरण भइसकेको र मैले आफू नेकपा (एमाले) परिवारको पुन: सदस्य हुन पाएकोमा गर्व गर्दै बाँकी जीवन पार्टीमार्फत देश र जनताको सेवामा समर्पित गर्ने घोषणा गरेकी थिएँ ।

यो विषय मैले उक्त कार्यक्रमको केही दिन पहिले मात्रै पार्टी अध्यक्ष कमरेडसँग मेरो भेट हुँदा मदनजयन्ती समारोहमा पार्टी सदस्यता नवीकरण गरेको कुरा आफूले सार्वजनिक गर्ने र ७५औँ मदनजयन्तीका अवसरमा वैचारिक र रचनात्मक कार्यक्रम घनीभूत रूपमा सञ्चालन गर्नका लागि एउटा समिति गठन गर्ने विषयमा कुरा भएकै हो । अनि उक्त कार्यक्रममा मैले विधिवत् रूपमा आफूले पार्टीको सदस्यता नवीकरण गरिसकेकाले त्यस विषयलाई सार्वजनिक गर्दै नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जबजको अजेयता, देशमा सामाजिक–आर्थिक रूपान्तरण प्रक्रियालाई तीव्र पार्नुपर्ने सन्दर्भ, पार्टीलाई थप सुदृढ तुल्याउनुपर्ने विषय र हाम्रो पार्टीको सुन्दर भविष्यबारे त्यस कार्यक्रममा सम्बोधन गर्दै स्पष्ट पारेकी थिएँ ।

पार्टीको निर्णयअनुसार म मुलुकको राष्ट्रपतिको निर्वाचनमा सरिक भएँ र निर्वाचित भएँ । राष्ट्रपतिमा निर्वाचित भएपछि ०७२ कात्तिक १२ गते प्रेस नोट जारी गर्दै मैले लिइरहेको पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी थिएँ । राष्ट्रपतिको जिम्मेवारीबाट सामान्य नागरिकको रूपमा फर्किएपछि पार्टी नेतृत्वको सल्लाहबमोजिम नै मैले पार्टी सदस्यता नवीकरण गरेकी हुँ । तर, केही समययता पार्टीका केही जिम्मेवार कमरेडहरूले अनेकौँ व्यंग्य, घोचपेच र मर्यादाविपरीत अभिव्यक्ति दिँदै खासगरी मेरो पार्टी सदस्यता नवीकरण नभएको भनी सार्वजनिक सञ्चारमाध्यममा निरन्तर विचार प्रवाह गरिरहेकाले पार्टी परिवारमा अन्याेल र जनतामा भ्रम सिर्जना भएको छ। ती कमरेडहरूको पूर्ववत् धारणामा किन परिवर्तन भएको हो, मलाई आश्चर्य लागेको छ ।

मेरो विचारमा जबजले हामीलाई सिकाएको लोकतान्त्रिक संस्कार र संस्कृतिसँग यो मेल खाँदैन । एउटा वैधानिक लोकतान्त्रिक दलले संस्थागत गरिसकेको मेरो नवीकृत सदस्यता स्वीकार गर्नु पार्टीको विधिभित्रै पर्दछ । पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता हो । अझसम्म पनि हाम्रा अभिभारा र लक्ष्य हासिल भइसकेका छैनन् । त्यसको प्राप्तिका लागि हामी सबैको एकता, समझदारी र सक्रियताको आवश्यकता पर्दछ । तसर्थ, यो आग्रहप्रति सबै सदस्यहरू गम्भीर बन्दै मेरो सदस्यता कायम गर्नेबारेमा सकारात्मक धारणा र निर्णयको अपेक्षा गर्दछु । साथै, पार्टीले आफ्नो निर्णय सच्याउँदै पार्टीमा देश र जनताको हितका खातिर एकजुट भएर अगाडि बढ्ने वातावरण बनाउन आग्रह गर्दछु।

मेरो सदस्यताको सवाल कसैलाई निजीजस्तो लागे पनि पार्टीका सम्पूर्ण सदस्यहरूको आस्था, विश्वास र अधिकारसँग समेत जोडिएको विषय हो । मैले हाम्रा कतिपय कमरेडहरूबाट निकट विगतमा पार्टीमा लोकतान्त्रीकरणका लागि गर्नुभएको कठोर संघर्ष, सुस्पष्ट लिखित अवधारणा र त्यसो गरिरहँदा पार्टीभित्रै व्यहोर्नुपरेको अपमान र पीडालाई नजिकबाट देखेकी र बुझेकी छु। त्यसबखत म र अरू कमरेडहरूप्रति अनेकौँ टीका–टिप्पणी हुँदासमेत जायज आवाजका लागि साथसाथ हामी लडेकै हौँ ।

ती अभियानहरू जो सफलताका लागि निर्णायकसमेत बनेका थिए, ती सबै यति चाँडै विस्मृतिमा हराइसके ? वास्तवमा त्यसवेलाको मेरो त्यस्तो साथ पनि पार्टी हितका निम्ति नै थियो । त्यसैले, मेरो सदस्यताको विषयमा झिकिएको विवाद केवल व्यक्तिगत होइन, बरु यो हाम्रो पार्टीको विधि, मूल्य र लोकतान्त्रिक अभ्याससँग गाँसिएको छ । मेरो नवीकृत सदस्यतालाई निष्क्रिय बनाउने विषय हाम्रो पार्टीले अंगीकार गरेको पहलकदमी र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्तको समेत प्रतिकूल छ ।

मेरो राजनीतिक जीवन प्रारम्भदेखि नेकपा (माले) हुँदै नेकपा (एमाले)सँग जोडिएको छ । कलिलै उमेरदेखि म लोकतन्त्र, न्याय र समानताका लागि भएका आन्दोलन, संघर्ष र अभियानमा पार्टीको साथमा रहेकी छु । पार्टीका नीतिगत निर्णय कार्यान्वयनमा होस् वा राष्ट्र र जनताका पक्षमा गरिएका संघर्षका कठिन क्षणमा मैले सधैँ पार्टीलाई उच्च प्राथमिकता दिएकी छु । यही समर्पणकै कारण त्यसवेला पार्टी अध्यक्ष केपी ओली हुँदा नै विशेष निर्णय गरेर मलाई राष्ट्रपतिको उम्मेदवार बनाइयो र मैले नेपालको राष्ट्रपति बन्ने अवसर प्राप्त गरेँ । त्यो पदमा रहेर मैले संविधानको मर्म र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर आफ्नो दायित्व पूरा गरेको कुरा घामजत्तिकै छर्लंग छ ।

दुर्भाग्यवश, आज पार्टी नेतृत्वका केही व्यक्तिमा मेरो सदस्यता र भूमिकालाई अस्वीकार गर्ने, निष्क्रिय बनाउने वा बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । हाम्रो पार्टीको विधानले कहीँ कतैबाट पनि म पार्टीको सदस्य हुनबाट रोक्नुपर्ने अवस्था देखिँदैन । हाम्रो देश र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मान्दा पनि मेरो सदस्यता नवीकरणको सवालमा प्रश्न उठाउनुपर्ने होइन ।

नेपालको संविधानले समेत प्रत्येक नागरिकलाई मौलिक हकको रूपमा सहभागिता, समानता र स्वतन्त्रताको अधिकार दिएको छ र राजनीतिमा क्रियाशील हुन रोकेको छैन । त्यसैले, मेरोबारेमा पार्टीले गरेको भनिएको निर्णय र केही व्यक्तिको साँघुरो चिन्तन र नकारात्मक प्रवृत्तिले पार्टीलाई मात्र होइन, सम्पूर्ण लोकतान्त्रिक संस्कृतिलाई कमजोर पार्दछ भन्ने मेरो ठम्याइ हो। पार्टी संगठनभित्र विधि, पद्धति, विधान र लोकतान्त्रिक अभ्यास कमजोर बन्यो भने त्यसको मार केवल व्यक्तिलाई होइन, सम्पूर्ण पार्टीलाई नै पर्दछ ।

यस्तो परिपाटीलाई समयमै सच्याउन सकेनौँ भने हाम्रो पार्टीको प्रतिष्ठा, शक्ति तथा नेता–कार्यकर्ताबिचको एकता र जनताको हामीप्रति रहेको आस्था र विश्वास नै धर्मराउन सक्छ । मेरो यो प्रयास पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन हो र मेरा यी प्रयासहरूलाई नकारात्मक उपमा दिएर गलत भाष्य सिर्जना गर्ने प्रयास नगरियोस् । यस्तो प्रयासलाई पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताले असफल पार्नुपर्दछ ।

मेरो यो आग्रह कुनै व्यक्तिगत आकांक्षाका लागि होइन, बरु पार्टीभित्रको विधि, संस्कार र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि हो । म विश्वास गर्छु कि, विधान महाधिवेशनका प्रतिनिधिहरूले मेरो यो आग्रहलाई गम्भीरतापूर्वक लिनुहुनेछ र पार्टीलाई अझ सबल बनाउन मद्दत पुर्‍याउनुहुनेछ । हाम्रो पार्टी बलियो भयो भने मात्र हाम्रो देश बलियो हुन्छ । हामीले जुन पार्टी निर्माण गरेका छौँ, त्यो केवल सांगठानिक संरचना मात्र होइन, बरु त्यो हाम्रो समर्पण, आकांक्षा, विश्वास र लोकतन्त्रको प्रतीक हो । हाम्रो जीवन छोटो छ, जति नै भने पनि हाम्रो क्षमता सीमित नै छ, सामूहिकता मूल कुरा हो, त्यसैले सत्य र न्यायको आवाजलाई जीवन्त बनाइराख्नुपर्दछ ।

प्रिय कमरेडहरू,
मुलुकको सामाजिक–आर्थिक रूपान्तरणसहितको क्रान्तिको विषय अहं महत्त्वको छ । पार्टीको स्थापना र विकास लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रियताको प्रवर्द्धन र जनताको हितका लागि भएको हो । यो निरन्तर अगाडि पर्ने विषय हो । यो सवाल मैले विभिन्न सन्दर्भमा उठाउँदै आएकी छु र फेरि पनि उठाउने नै छु । त्यसैले, आज म राष्ट्रका जल्दाबल्दा समस्या र तिनको समाधानका विषयमा यहाँ चर्चा गर्न चाहन्न । पछि कुनै सन्दर्भमा यसबारे थप छलफल र अन्तर्क्रिया गर्दै धारणाहरू बताउनेछु ।

अन्तमा, पुन: एकपटक मेरो सरोकारका माथि उल्लेखित विषयवस्तुहरूप्रति कमरेडहरूको गम्भीर ध्यानाकर्षण गराउँदै हाम्रो पार्टीलाई वैचारिक रूपले निख्खर र सांगठानिक ढंगले सुदृढ बनाएर वर्तमानका चुनौतीहरू सामना गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्दछु । पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अगाडि बढ्न सक्दा भविष्यमा हुने सम्पूर्ण जननिर्वाचित निकायहरूमा बहुमतसहितको निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न सकिन्छ । अहिले हामी समाजवादको आधार निर्माण गर्ने चरणमा भएकाले जबजले अँगालेका सामाजिक–आर्थिक नीतिको कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अग्रसर हुनुपर्दछ । यसो गर्न सक्दा नै समुन्नत नेपाल बनाउने साझा लक्ष्य हासिल गर्न सकिन्छ । यस विषयमा तपाईंहरू गम्भीर बन्नुहोस् भन्ने आग्रह गर्दछु ।

धन्यवाद ।
२०८२ भदाै १९ गते

एमाले प्रतिनिधिलाई विद्याको पत्र: 'मेरो सदस्यतालाई विधि, मूल्य,र लोकतान्त्रिक अभ्याससँग जोडेर हेर्न आग्रह गर्छु'

ललितपुर। नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।  भदौ २१ गते आइतबारसम्म चल्ने यो महाधिवेशनले पार्टीको १४ औं महाधिवेशनका लागि विधान र नीति तर्जुमा गर्ने मुख्य उद्देश्य राखेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महाधिवेशनका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै १,३०० शब्दभन्दा बढीको पत्र पठाएकी छन्। पत्रमा उनले नेकपा (एमाले) को केन्द्रीय कमिटीको साउन ५ र ६ गते बसेको नवौं पूर्ण बैठकले आफ्नो पार्टी सदस्यता नवीकरणमाथि प्रश्न उठाएर आफूप्रतिको आस्था र विश्वासमाथि कुठाराघात गरेको गम्भीर आरोप लगाएकी छन्। पत्रमा भण्डारीले आफ्नो लामो राजनीतिक यात्रा र पार्टीप्रतिको समर्पणलाई उजागर गर्दै आफ्नो सदस्यतामाथि उठाइएको प्रश्नले पार्टी र राष्ट्रकै लागि गम्भीर स्थिति सिर्जना गरेको उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, "मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता मेरो गहिरो आस्था र विश्वासको प्रतीक हो। तर, पार्टीले विशेष निर्णय गरेर मलाई राष्ट्रपति बनाएर पठाएपछि मैले कुशलतापूर्वक जिम्मेवारी पूरा गरें। राष्ट्रपति पदबाट फर्किएपछि पार्टीमा सक्रिय हुन चाहँदा मेरो सदस्यतामाथि प्रश्न उठाउनु दुखद र अन्यायपूर्ण छ।" भण्डारीले आफ्नो सदस्यता २०८२ असार १४ गते मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नवीकरण भएको र त्यसलाई सार्वजनिक रूपमा घोषणा गरेको स्मरण गराएकी छन्। उनले उक्त अवसरमा जनताको बहुदलीय जनवाद (जबज) को अजेयता, सामाजिक–आर्थिक रूपान्तरण, र पार्टीको सुदृढीकरणका विषयमा सम्बोधन गरेको उल्लेख गरिन्। "राष्ट्रपति निर्वाचित भएपछि मैले २०७२ कार्तिक १२ मा प्रेस नोट जारी गरी पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेको थिएँ। तर, सामान्य नागरिकको रूपमा फर्किएपछि पार्टी नेतृत्वको सल्लाहमा नै मैले सदस्यता नवीकरण गरेको हुँ," उनले पत्रमा स्पष्ट पारेकी छन्। पार्टीभित्रको विवाद र लोकतान्त्रिक संस्कार भण्डारीले केही नेताहरूले आफ्नो सदस्यता नवीकरण नभएको भन्दै सञ्चारमाध्यममा गरेको टिप्पणीले पार्टीभित्र भ्रम र जनतामा अन्योल सिर्जना भएको बताएकी छन्। उनले प्रश्न गरेकी छन्, "पार्टीले विधिवत् रूपमा नवीकरण गरेको मेरो सदस्यतामाथि अहिले किन विवाद? यो जबजले सिकाएको लोकतान्त्रिक संस्कार र संस्कृतिसँग मेल खाँदैन।" उनले पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता भएको र आफ्नो नवीकृत सदस्यता स्वीकार गर्नु विधानसम्मत हुने जोड दिएकी छन्। "यो विषय मेरो व्यक्तिगत मात्र होइन, पार्टीका सम्पूर्ण सदस्यको आस्था, विश्वास, र अधिकारसँग जोडिएको छ," उनले लेखेकी छन्। पत्रमा भण्डारीले आफ्नो लामो राजनीतिक यात्रामा महिला अधिकार, मानव अधिकार, न्याय, र समानताका लागि निरन्तर लड्दै आएको उल्लेख गरेकी छन्। उनले पार्टीभित्रको एकता, समझदारी, र सक्रियताले मात्र सामाजिक–आर्थिक रूपान्तरण र समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिने बताएकी छन्। "पार्टीको विधानले पूर्वराष्ट्रपतिलाई सदस्य हुनबाट रोक्ने कुनै प्रावधान छैन। नेपालको संविधानले पनि प्रत्येक नागरिकलाई सहभागिता र स्वतन्त्रताको अधिकार दिएको छ। मेरो सदस्यतामाथिको प्रश्नले पार्टीको लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउँछ," उनले जोड दिएकी छन्। पार्टी एकताका लागि आग्रह भण्डारीले आफ्नो पत्र आत्मरक्षाका लागि नभई पार्टीको उज्ज्वल भविष्य र लोकतान्त्रिक अभ्यासका लागि लेखिएको बताएकी छन्। उनले विधान महाधिवेशनका प्रतिनिधिहरूलाई आफ्नो आग्रहलाई गम्भीरतापूर्वक लिन र पार्टीको एकता तथा सुदृढीकरणका लागि सकारात्मक निर्णय गर्न अनुरोध गरेकी छन्। "पार्टी बलियो भएमात्र देश बलियो हुन्छ। हाम्रो पार्टी हाम्रो समर्पण, आकांक्षा, र लोकतन्त्रको प्रतीक हो। मेरो सदस्यताको विवादलाई व्यक्तिगत नठानी विधि, मूल्य, र लोकतान्त्रिक अभ्याससँग जोडेर हेर्न आग्रह गर्छु," उनले भनेकी छन्। यो विधान महाधिवेशनले नेकपा (एमाले) को आगामी १४ औं महाधिवेशनका लागि मार्गदर्शन गर्ने नीति र विधान तय गर्नेछ। पार्टीको संगठनात्मक संरचना सुदृढ गर्ने, वैचारिक स्पष्टता कायम गर्ने, र सामाजिक–आर्थिक रूपान्तरणको लक्ष्यलाई तीव्र बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। भण्डारीको पत्रले महाधिवेशनमा थप बहस र छलफलको वातावरण सिर्जना गरेको छ। उनको आग्रह र पार्टी नेतृत्वको निर्णयले एमालेको आन्तरिक एकता र भविष्यको दिशालाई प्रभाव पार्ने देखिन्छ।

अमेरिकाबाट डिपोर्ट भएका १९ नेपाली काठमाडौँमा

काठमाडौँ। संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली शुक्रबार साँझ काठमाडौँ आइपुगेका छन्। डिपोर्ट हुनेमा २ महिला र १७ पुरुष रहेका छन्। उनीहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गरेको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले बताए। यसअघि, अमेरिकाबाट विभिन्न चरणमा २१५ नेपाली डिपोर्ट भई नेपाल फर्किसकेका छन्।

एमाले दाङ जिल्ला कमिटीकी पूर्वसदस्य सुमित्रा राना माओवादी केन्द्रमा प्रवेश

दाङ। नेकपा (एमाले) की पूर्वजिल्ला कमिटी सदस्य सुमित्रा राना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन्। बबई गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा रानाले माओवादी केन्द्रको सदस्यता ग्रहण गरिन्। उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले रानालाई खादा लगाएर पार्टीमा स्वागत गरे। अनेमसंघकी उपाध्यक्षसमेत रहेकी रानालाई सोही कार्यक्रममा औपचारिक रूपमा पार्टी सदस्यता प्रदान गरिएको माओवादी केन्द्रले जनाएको छ।

सामाजिक सञ्जाल बन्द भए देश अस्तव्यस्त हुन्छ : हितराज पाण्डे

काठमाडौं — नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो निर्णयको आफ्नो पार्टीले विरोध गर्ने बताए। उनले सरकारले समयमै काम नगरेर र उपयुक्त वातावरण नबनाएर यो समस्या निम्त्याएको जिकिर गरे। “सरकारले समयमा काम नगर्ने र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ। हामी यसको विरोध गर्छौं,” उनले भने। नियमन आवश्यक भए पनि समस्या पहिचान गरेर मात्र नियमन गर्नुपर्ने उनको भनाइ छ। “नियमन जरुरी छ, तर सरकारले समस्या कहाँ छ, के हो, पहिचान गरेर नियमन गर्नुपर्छ। सामाजिक सञ्जाल बन्द भए देश अस्तव्यस्त हुन्छ, यो कुरा सरकारले बुझ्नुपर्छ,” पाण्डेले भने।

जनताका मागहरु सम्बोधन गर्न सरकार असफल भएको छ : नेकपा (माओवादी केन्द्र)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जनताका माग सम्बोधनमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । पार्टीको पदाधिकारी बैठकले सरकारले जनताका मागहरुलाई सम्बोधन गर्न नसकेको निष्कर्ष निकालेको पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।  सरकारले सुशासन कायम गर्न नसकेको पनि माओवादीको निष्कर्ष छ । प्रवक्ता सापकोटाले भन्नुभयो, 'सरकार जनताका मागहरुलाई सम्बोधन गर्न असफल भएको छ । सुशासनको मामिला पनि कमजोर भएको छ । भ्रष्टाचार बढेको छ । संघर्षको तयारी गर्नुपर्छ ।' सामाजिक सञ्जालको नियमनको नाममा गरिएका सरकारका क्रियाकलापले अभिव्यक्ति स्वतन्त्रतामा आगाध पुग्ने निष्कर्ष माओवादीको छ ।  प्रवक्ता सापकोटाले भन्नुभयो, 'नियमन त गर्नुपर्छ । तर, सरकारका सबै निर्णयको सार अध्ययन गर्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने नियत देखिन्छ । गणतन्त्रमा सबैभन्दा ठूलो उपलब्धि अभिव्यक्ति स्वतन्त्रता हो । नियमनको बाहानामा त्यो अधिकार कुण्ठित गर्ने नियत देखिन्छ ।  प्रधानमन्त्रीको चीन भ्रमण विरोधाभास रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, 'नेपाल र चीनको दावी फरक फरक छ यथार्थता बुझ्नै बाँकी रह्यो । अध्ययन गर्नुपर्ने देखियो । वास्तविकता पत्ता लगाउनु पर्यो । कुराहरु विरोधाभास भयो । हामी हाम्रो जमिनका विषयमा कुनै पनि प्रकारको विरोधाभास कुरा चाहँदैनौँ ।'  माओवादी केन्द्रले चाडबाडको समयमा नियमित र सुरक्षित गाडीको आवतजावतको व्यवस्था गर्न, ऊखु किसान र दुग्ध किसानका माग सम्बोधन गर्न तथा शिक्षक महासंघसँग गरिएको सहमतिलाई कार्यान्व्यन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  

सरकारको वैद्यतामा प्रश्न : संसद सचिवालयले के आधारमा सरकारसँग बहुमत छ भनेर पत्र पठायो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले सरकारको वैद्यतामाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै मोदीले संघीय संसद सचिवालयको भूमिकामा पनि प्रश्न गरेका छन् ।  संविधानअनुसार सरकारले कुनै पनि दलले विश्वासको मत फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्नेमा त्यसो नगरिएकोप्रति उनले प्रश्न उठाएका हुन् । उनले भने, 'सरकारले संविधान र कानून मान्नु पर्छ कि पर्र्दैन ? सरकारको वैद्यतामा प्रश्न उठ्दा संसद सचिवालयले अदालतलाई पत्र पठाउन मिल्छ ? बहुमत वा दुई तिहाई भन्ने कुरा संसदको हो । सचिवालयले के आधारमा पत्र पठाएको हो ?'  सांसद मोदीले सरकार र सभामुखको स्वेच्छाचारीका बारेमा पनि प्रश्न उठाएका छन् । 

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु बैठकमा स्थायी समिति बैठकले गरेका निर्णय कार्यान्वयनलगायतका विषयमा छलफल हुनेछ ।  स्थायी समिति बैठकले यही भदौ २२ गते देखि मध्यपहाडी राजमार्गकेन्द्रीत जनजागरण अभियान सुरु गर्ने निर्णय गरेको थियो ।   यसैगरी समाजवादी मोर्चालाई सक्रिय बनाउने र बिभिन्न वाम पार्टीहरुसँग एकताको पहल गर्ने निर्णय समेत स्थायी समिति बैठकले गरेको थियो ।   आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक राजनीतिक घटनाक्रम र विभिन्न राजनीतिक दलका नेताहरुसँग भएको छलफलका विषयमासमेत जानकारी गराउनु हुनेछ । 

नेकपाको पोलिटब्युरो बैठक आजदेखि: माओवादी केन्द्रसँगको पार्टी एकतामा छलफल हुने

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पोलिटब्युरो बैठक आज बस्दै छ। कपिलवस्तुको शिवगढीस्थित नेकपाको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सुरु हुने यो बैठकमा स्थायी समिति बैठकले तय गरेका एजेन्डाहरूमा छलफल हुनेछ। बैठकको मुख्य एजेन्डा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँगको पार्टी एकता र समग्र बाम एकताको विषय रहने बताइएको छ। स्थायी समिति बैठकले माओवादी केन्द्रसँग तत्काल एकता गर्ने र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको एकीकरणलाई अगाडि बढाउने नीति अख्तियार गरेको थियो।  सोही नीतिअनुसार पोलिटब्युरो बैठकमा पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रस्तुत गरेको समसामयिक प्रस्तावमाथि गहन छलफल हुने अपेक्षा गरिएको छ। पार्टी एकताको विषयमा माओवादी केन्द्रले पनि तत्काल एकता गर्ने निर्णय गरेको सन्दर्भमा यो बैठक महत्त्वपूर्ण मानिएको छ। एक स्थायी समिति सदस्यले एभरेस्ट दैनिकलाई दिएको जानकारीअनुसार, पोलिटब्युरो बैठकपछि बस्ने केन्द्रीय समिति बैठकले पार्टी एकताका लागि ठोस प्रस्ताव र जिम्मेवारीहरू तय गर्नेछ। “हाम्रो स्थायी समिति बैठकले माओवादी केन्द्रसँगको एकतालाई प्राथमिकता दिँदै समग्र क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूको एकीकरणमा जोड दिएको छ। यो बैठकले त्यसलाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ,” ती सदस्यले भने। यो बैठकले नेकपाको आगामी रणनीति र बाम एकताको प्रक्रियालाई थप गति दिने अपेक्षा गरिएको छ। पार्टी एकताले नेपालको वामपन्थी आन्दोलनलाई नयाँ दिशा प्रदान गर्ने विश्वास नेतृत्वले व्यक्त गरेको छ। 

नेपाली जनप्रगतिशील मञ्चको युरोप भेला पोर्चुगलको लिसवनमा हुने

लिस्वन, पोर्चुगल – नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपको आयोजनामा आगामी सेप्टेम्बर १४ र १५, २०२५ मा पोर्चुगलको राजधानी लिस्वनमा एक प्रशिक्षणात्मक भेला र एनपीपीएफ पोर्चुगलको ८ औँ अधिवेशन आयोजना हुने भएको छ। दुई दिनसम्म चल्ने यो कार्यक्रममा पहिलो दिन एनपीपीएफ पोर्चुगलको अधिवेशन र दोस्रो दिन प्रशिक्षणात्मक भेला तथा बैठकहरू सञ्चालन हुने जनाइएको छ। कार्यक्रमको मुख्य विशेषताहरू पहिलो दिन (सेप्टेम्बर १४): नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको ८ औँ अधिवेशन आयोजना हुनेछ। यो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको भावी कार्यदिशा र योजनाहरू तय गर्नेछ। दोस्रो दिन (सेप्टेम्बर १५): प्रशिक्षणात्मक भेला र विभिन्न बैठकहरू सञ्चालन हुनेछन्। यो भेलामा युरोप, युके, र अमेरिकाका माओवादी अगुवा कार्यकर्ताहरूले भाग लिनेछन्। प्रमुख अतिथि र सहभागिता कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव तथा पूर्व सञ्चारमन्त्री राम कार्की ‘पार्थ’ प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछन्। त्यस्तै, पूर्व सभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती मगरको विशेष उपस्थिति रहनेछ। नेताद्वय कार्की र घर्तीले प्रशिक्षणात्मक भेलामा सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नेछन्। भेलामा युरोपका विभिन्न देशहरू (बेल्जियम, स्पेन, डेनमार्क, नर्वे, माल्टा, क्रोएसिया, जर्मनी), युके, र अमेरिकाबाट एनपीपीएफका नेताहरू र कार्यकर्ताहरू सहभागी हुनेछन्। एनपीपीएफ युरोपका अध्यक्ष चित्र सुवेदीले यो कार्यक्रमलाई भव्य र सार्थक बनाउन व्यापक तयारी भइरहेको बताए। उनले भने, “हामी युरोपका १९ देशमा सक्रिय एनपीपीएफका साथीहरूसँगै लिस्वनमा भेला हुँदैछौँ। यो भेलाले संगठनको सुदृढीकरण र आगामी योजनाहरू तय गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।” एनपीपीएफ पोर्चुगलको ८ औँ अधिवेशन एनपीपीएफ पोर्चुगलका संयोजक नारायण शर्माले ८ औँ अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न तीव्र गतिमा तयारी भइरहेको जानकारी दिए। यो अधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्नुका साथै पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायको हकहित र संगठनको प्रभावकारिता वृद्धिका लागि ठोस रणनीति बनाउने अपेक्षा गरिएको छ। शर्माले भने, “हामीले यो अधिवेशनलाई ऐतिहासिक बनाउने गरी तयारी गरेका छौँ। नयाँ नेतृत्व र नयाँ योजनासहित हामी अघि बढ्नेछौँ।” नेपाली जनप्रगतिशील मञ्च युरोपले हाल युरोपका १९ देशमा आफ्नो संगठन विस्तार गरिसकेको छ। यो मञ्च नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग आबद्ध एक अन्तर्राष्ट्रिय भ्रातृ संगठन हो, जसले प्रवासमा रहेका नेपालीहरूको हकहितका लागि काम गर्दै आएको छ। यो भेला र अधिवेशनले संगठनको सुदृढीकरण, कार्यकर्ताहरूको प्रशिक्षण, र प्रवासमा नेपाली समुदायको एकताका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। एनपीपीएफ युरोपले यो कार्यक्रममा सहभागी हुन सबै सम्बद्ध व्यक्तिहरूलाई हार्दिक निमन्त्रणा गरेको छ। अध्यक्ष सुवेदीले यो भेलाले प्रवासमा रहेका नेपालीहरूको एकता र संगठनको दीर्घकालीन रणनीति निर्माणमा ठूलो भूमिका खेल्ने बताए। साथै, यो अवसरले नेपालको राजनीतिक, सामाजिक, र सांस्कृतिक मुद्दाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आजको मौसम, यी क्षेत्रमा हुने मनसुन सक्रिय

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। यसको प्रभावले नेपालभर आज र राति मौसम प्रभावित हुने देखिएको छ। देशका विभिन्न भागमा बदली, मध्यम वर्षा, र केही स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको छ। दिउँसोको मौसम मौसम अवस्था: देशभर सामान्यदेखि पूर्ण बदली रहने। वर्षाको सम्भावना: बागमती, गण्डकी, र लुम्बिनी प्रदेश: यी प्रदेशका पहाडी भू-भागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना। मधेश र लुम्बिनी प्रदेश (तराई): केही स्थानमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना। अन्य क्षेत्र: देशका बाँकी भू-भागमा सामान्य बदली रहने, तर वर्षा सीमित स्थानमा मात्र हुने। रातिको मौसम मौसम अवस्था: कोशी, मधेश, र पहाडी भू-भाग: सामान्यदेखि पूर्ण बदली रहने। बाँकी भू-भाग: आंशिकदेखि सामान्य बदली रहने। वर्षाको सम्भावना: कोशी, बागमती, र गण्डकी प्रदेश: यी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना। अन्य प्रदेश: थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना। सावधानी र सुझाव भारी वर्षा: कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, र डुबानको जोखिमप्रति सचेत रहन स्थानीयवासीलाई अनुरोध गरिएको छ। हावाहुरी: मधेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले सुरक्षित स्थानमा बस्न र आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ। यात्रा र कृषि: वर्षा र हावाहुरीले सडक यातायात र कृषि कार्यमा असर पर्न सक्ने भएकाले मौसमको जानकारी लिई योजना बनाउन अनुरोध छ। मौसम विभागको अपिल जल तथा मौसम विज्ञान विभागले स्थानीय प्रशासन, समुदाय, र नागरिकहरूलाई मौसम सम्बन्धी अद्यावधिक जानकारी लिन र सम्भावित जोखिमबाट बच्न आवश्यक तयारी गर्न आग्रह गरेको छ। थप जानकारीका लागि विभागको आधिकारिक वेबसाइट वा हटलाइनमा सम्पर्क गर्न सकिनेछ।

अहिलेको सरकार नेताहरुले होइन्, विचौलियाले उनीहरुको घरमा, होटलमा लगेर बनाएका हुन् : अध्यक्ष प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्तारुढ गठबन्धन नेताहरूले नभई विचौलिया र दलालहरूले आफ्नो स्वार्थमा गठन गरेको सरकार भएको आरोप लगाउनुभएको छ। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनलाई बुधबार काठमाडौँको प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले यो सरकारले भ्रष्टाचार, बेथिति, र अराजकताविरुद्ध कुनै प्रभावकारी कदम चाल्न नसक्ने बताउनुभयो। “यो गठबन्धन नेताहरूले बनाएको होइन। यो कुरा मलाई राम्रोसँग थाहा छ। यो विचौलिया र दलालहरूले उनीहरूको घर र होटलमा बसेर आफ्नो इच्छाअनुसार बनाएको सरकार हो। त्यसैले यो सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध केही गर्न सक्दैन,” प्रचण्डले भन्नुभयो। उहाँले थप्नुभयो, “राम्रो काम गर्न खोज्नेहरूलाई हटाइन्छ। कुलमान घिसिङ, कान्छाराम, इन्दिरा राना जस्ता योग्य व्यक्तिहरूलाई हटाइयो। लक्षित रूपमा जनजातिलाई हटाएर विचौलियाका मानिसलाई नियुक्त गर्ने काम भइरहेको छ।” अहिले अस्थिरता, अराजतकता, वेथिति र भ्रष्टाचारले संस्थागत रुप लिएकोमा चिन्ता व्यक्त गर्दै प्रचण्डले जनयुद्ध र जनआन्दोलनमा देखिएको सपनाअनुसार अगाडि बढ्न नसकिएको बताउनु भयो । उहाँले भन्नुभयो, 'अहिले संविधानमाथि घात हुने खतरा टरेको छैन । अस्थिरता, अराजतकता, वेथिति, भ्रष्टाचार संस्थागत भएकै छन । जनयुद्ध र जनआन्दोलनमा सहभागिता जनाएर देखेको सपनाअनुसार अगाडि बढ्न सकेको छैन । बरु उपलब्धी गुम्ने खतरा छ ।'   पुरानै प्रणालीबाट अब सम्भव छैन  पूर्वप्रधानमन्त्री प्रचण्डले पुरानै प्रणाली र शासकीय स्वरुपबाट काम अगाडि बढ्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, 'पुरानै प्रणालीबाट अब सम्भव छैन । शासकीय स्वरुप परिवर्तन हुनुपर्छ । कम्तिमा पनि कार्यकारी प्रमुख राष्टपति हुन आवश्यक छ । हामीले विगतमा पनि यहीँ भनेर संविधानलाई स्वीकार गरेका हौँ । यो हामीले अहिले होइन् १० एघार वर्ष अगाडि नै भनेको हो ।'  शासकीय स्वरुप कार्यकारी हुने र जनताको इच्छाअनुसार काम गर्न सहजताका लागि आफूहरुले विगतमा यी कुरा उठाएको स्मरण प्रचण्डले गर्नुभयो । उहाँले भन्नुभयो, 'सबै नेपालीले मतदान गर्नेगरी कार्यकारी राष्टपति हुने, मन्त्री हुन सांसद हुन नपर्ने तर विभिन्न क्षेत्रका विज्ञहरु हुनुपर्ने । मन्त्री हुन  सांसद हुनुपर्ने भएपछि भ्रष्टाचार त्यहीँबाट जन्मिएको छ । कार्यकारी राष्टपतिले सबैभन्दा योग्यलाई मन्त्री बनाउन पाउनु पर्छ । त्इसले मात्रै सुशासन र स्थिरता हुन्छ ।  त्इो बेला संविधान बनाउन हामीले सम्झौता गर्का हौँ । यो कुरा हामीले पटक पटक भन्यौँ । संविधानसभाको माइनुटमा यो भिन्न मत राखेका छौँ ।'  कार्यकारी राष्ट्रपतिका लागि फेरि अन्दोलन गनुपर्नेमा प्रचण्डले जोड दिनुभयो । उहाँले भन्नुभयो, 'अहिले फेरि एक पटक कार्यकारी राष्टपतिका लागि जनस्तरबाटै आन्दालनमा जानुपर्ने अवस्था छ । यो कुरा गाउँ गाउँमा, टोलटोलमा बुझाउन जरुरी छ ।'  निर्वाचन प्रणाली पनि परिवर्तन गरौँ  प्रचण्डले निर्वाचन प्रणालीमा पनि परिवर्तन जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, 'अहिलेको निर्वाचन प्रणाली धनीहरुले मात्रै लड्न सक्ने निर्वाचन प्रणाली हो । अहिलेको निर्वाचन प्रणालीले पनि स्थीरता पनि दिँदैन् सुशासन पनि हुँदैन । त्इसैले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ ।  पूर्ण समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने हो । यो पनि हामीले त्यो बेला नै भनेको हो ।'  पूर्णसमानुपातिक निर्वाचन प्रणालीबारे केहीले गलत अर्थ लगाएको प्रचण्डको टिप्पणी छ । उहाँले भन्नुभयो, 'पूर्ण समानुपातिक निर्वाचन प्रणाली भनेको भोटै हाल्न नपाउने होइन । महिलालाई ५१ प्रतिशत दिने हो भने प्रत्यक्ष निर्वाचनमार्फत ५१ प्रतिशत महिला नै निर्वाचित हुने भनेको हो । महिला महिलाबीच प्रतिस्पर्धा होस् भनिएको हो । यसको गलत अर्थ लगाइएको छ ।' सामान्तवाद पराजित भए पनि दलाल पुजीवाद बाँकी छ प्रचण्डले अहिले दलाल पुजीवाद र नोकरशाही पुजीवाद समस्याको जड भएको बताउनु भयो । उहाँले भन्नुभयो, 'दलाल पूजीवाद र नोकरशाही पुजीवाद नै अहिलेको समस्या हो । रुप हेर्दा राज्य पार्टीहरुले चलाएको जस्तो देखिन्छ । राज्य पार्टी र पार्टीको विचारले भन्दा दलाल पुजीपतिको पैसाको बलले विचौलियाले खरिद गरेर चलाएको व्यवस्था हो यो ।'  आफू नेतृत्वको सरकारले विचौलियाको सेटिङलाई भत्काउन खोजेको र सुशासन दिन खोज्दा सरकार ढलेको कुरा प्रचण्डले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, 'हामी सरकारमा गएर विचौलियाको सेटिङलाई भत्काउन खोजेकै हो । सुशासन दिन खोजिएकै हो । विचौलियाको पैसाको भरमा सेटिङमा हुने काम रोकिएकै हो । भ्रष्टाचारविरुद्ध अभियान थालिएकै हो ।'  अध्यक्ष प्रचण्डले गणतन्त्रविरुद्ध भइरहेको सडयन्त्र र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र अन्त्य गर्न सबैलाई एकताबद्ध हुन आग्रह गर्नुभयो। “म यो विश्वास लिएको छु कि तपाईंहरूले यो सम्मेलनबाट समाजवादी यात्राका लागि  पार्टी र संविधानविरूद्व भैरहेको सड्यन्त्रविरुद्धको संकल्प लिनुहुनेछ,” उहाँले भन्नुभयो। उहाँले संविधान पार्टीले चाहे अनुसार निर्माण गर्न नसकिएपनि सम्झौताको दस्तावेजका रूपमा रिजर्वेसनसहित ल्याइएको बताउनुभयो । तर जुन उदेश्यले संविधान निर्माण गरिएको थियो त्यसको कार्यान्वयन भन्दा संविधान विरूद्व गतिविधिप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, “हामीले बनाएको संविधान कार्यान्वयनतर्फ होइन, उपलब्धिहरू उल्टिने खतरा देखिएको छ।”

जनयुद्धमा महिलाको बलिदानले गणतन्त्र र अधिकार सम्भव : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा हजारौँ महिलाले बन्दुक नबोकेको भए नेपालमा अहिलेको परिवर्तन र उपलब्धिहरू सम्भव नहुने बताउनुभएको छ। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई बुधबार काठमाडौँको प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले महिलाहरूको त्याग र बलिदानले गणतन्त्र, संविधानसभा, र महिला अधिकारको आधार तयार भएको बताउनुभयो। “जनयुद्ध र जनआन्दोलनमा महिलाहरूले देखाएको वीरता र बलिदान स्वर्णिम अक्षरले लेखिएको छ। यदि हजारौँ महिलाले बन्दुक बोकेर क्रान्तिमा सहभागिता नजनाएको भए, घरको चुलो–चौकामा कैद गर्ने परम्पराविरुद्ध विद्रोह नगरेको भए, आजको गणतन्त्र, संविधानसभा, र महिलाहरूको नेतृत्वमा राष्ट्रपति, सभामुख, र मन्त्रीहरूको उपस्थिति सम्भव हुने थिएन,” प्रचण्डले भन्नुभयो। उहाँले थप्नुभयो, “यो कुरा एमाले वा नेपाली काँग्रेसका साथीहरूलाई पनि राम्रोसँग थाहा छ। जनयुद्धको बलिदानबिना यति छिटो परिवर्तन सम्भव थिएन।” प्रचण्डले नेपालमा महिलाहरूले ‘दुई तिहाइ आकाश र दुई तिहाइ धर्ती’ ढाकेको बताउँदै अब एक तिहाइ होइन, जनसंख्याको ५१ प्रतिशत अनुपातमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। “महिलाहरूले सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व पाउनुपर्छ। यो हाम्रो आन्दोलनको माग र आवश्यकता हो,” उहाँले भन्नुभयो। सम्मेलनले १७ सदस्यीय पदाधिकारीसहित २१५ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्ने कार्यक्रम छ। उद्घाटन समारोह प्रज्ञा भवनमा सम्पन्न भएको छ भने बन्दसत्र सुकेधारास्थित एक पार्टी प्यालेसमा भोलि र पर्सी आयोजना हुनेछ।

अध्यक्ष प्रचण्डद्वारा अनेमसंघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन उद्घाटन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ। बुधबार काठमाडौँको प्रज्ञा भवन, कमलादीमा आयोजित भव्य समारोहका बीच प्रचण्डले सम्मेलनको औपचारिक उद्घाटन गर्नुभयो। अनेमसंघ क्रान्तिकारीकी उपाध्यक्ष गंगा बेल्बासेका अनुसार सम्मेलनको उद्घाटन समारोह प्रज्ञा भवनमा सम्पन्न भएको छ भने बन्दसत्र भोलि र पर्सी सुकेधारास्थित एक पार्टी प्यालेसमा हुनेछ। सम्मेलनले १७ सदस्यीय पदाधिकारीसहित २१५ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नेछ।   सम्मेलनमा माओवादी केन्द्रका नेताहरू, कार्यकर्ता, र महिला अधिकारका क्षेत्रमा सक्रिय विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको छ। यो सम्मेलनले महिला सशक्तीकरण र समानताका लागि नयाँ नेतृत्व र रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

काँग्रेस नेता बडुको प्रश्न: लिपुलेकको विषय चिनियाँ विदेश मन्त्रालयको प्रेस नोटमा किन आएन ?

काठमाडौं । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले नेपालको भूमि लिपुलेक पासका सन्दर्भमा चीनको विदेश मन्त्रालयको प्रेस नोटमा उल्लेख नभएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बडुले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि चिनियाँ विदेश मन्त्रालयले जारी गरेको प्रेस नोटका सन्दर्भमा प्रश्न उठाएका छन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको जवाफ आउनु पर्नेमा जोड दिए । उनले भने, 'चिनियाँ विदेश मन्त्रालयले जारी गरेको प्रेस नोटमा लिपुलेकको विषय उल्लेख भएको छैन । बरु त्यहाँ छलफल नै नभएको विषय जिएसआइको प्रस्तावमा नेपाल सहमत भएको कुरा छ । किन र कसरी यस्तो भयो ? सरकारले यस बारेमा जवाफ दिनुपर्छ ।'  काँग्रेस नेता बडुले सीमा विवादका सन्दर्भमा भारत र चीन दुवै जिम्मेवार रहेकाले यो विषयमा चीन पनि जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।   

अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलन आज, प्रचण्डद्वारा उद्घाटन हुने

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ बजे प्रज्ञा भवन, कमलादीमा गर्ने कार्यक्रम रहेको छ। अनेमसंघ क्रान्तिकारीकी उपाध्यक्ष गंगा बेल्बासेका अनुसार उद्घाटन समारोह प्रज्ञा भवनमा हुनेछ भने बन्दसत्र भोलि र पर्सी सुकेधारास्थित एक पार्टी प्यालेसमा आयोजना हुनेछ। सम्मेलनले १७ सदस्यीय पदाधिकारीसहित २१५ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नेछ। अनेमसंघ क्रान्तिकारीको विधानअनुसार केही केन्द्रीय पदहरू मनोनयनद्वारा चयन हुने व्यवस्था छ। अध्यक्ष पदका लागि विमला सुवेदी, टीका बुढाथोकी र दामा शर्मालाई मुख्य दाबेदारका रूपमा हेरिएको छ।