छठको दोस्रो दिन आज खरना गरिँदै

काठमाडौं । छठको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीअन्तर्गत शनिबार खरना गरिँदै छ । यस दिन पनि बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ । आजको दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ ।

चार दिने छठ पर्वका पहिलो दिन हिजो वर्तालुले बिहानै घर आँगनको सरसफाइ गरी स्नान गरेर चोखो खानेकुरा खाएका छन् । यसलाई छठ वर्तालुको भाषामा नहाय खाय भन्ने गरिएको छ । छठका वर्तालुले कोजाग्रत पूर्णिमा अर्थात् आश्विन शुक्ल पूर्णिमादेखि नै लसुन, प्याजलगायत तामसी खानेकुरा नखाई चोखो खाएर बस्ने व्रतविधि रहेको छ ।

छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउआदिको बढी प्रयोग गरिन्छ ।

छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा आइतबार नीराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।

कार्तिक शुक्ल सप्तमीका दिन बिहान सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो सूर्य आराधनाको पर्व छठ समापन हुन्छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दान गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख छ ।

महाभारतकालमा द्रोपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको महाभारतलगायत विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ ।

सूर्यका दुई श्रीमती छाया र संज्ञा कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिनमा अस्ताउँदो र उदाउँदो सूर्यसँगै आउने भएकाले छठी माताका रुपमा पूजा आराधना गर्ने परम्परा बसेको धार्मिक विश्वाससमेत छ ।

यस अवसरमा सूर्यलाई विधिपूर्वक पूजा, आराधना गरेर अर्घ्य दिएमा मनोकामना पूरा हुनाका साथै छालाजन्य रोग पनि निको हुने विश्वास गरिन्छ ।

टिकटकको पत्र : नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्न तयार छौं (पूर्णपाठ)

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र पठाएको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएपछि नेपालका सरकारी निकायहरूसँग भएका समझदारीबारे उल्लेख गर्दै टिकटकले पत्र पठाएको हो । टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र पठाएका छन् । पत्रमा टिकटकले बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई जानकारी दिन अनुरोध गरेको छ । साथै टिकप्रतिबन्धको निर्णयले कम्पनीको लगानी योजनामा असर परेको जनाएको छ । प्रयोगकर्ताको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्दै टिकटकले आफ्नो प्लेटफर्मलाई सुरक्षित र स्वागतयोग्य बनाउन प्रतिबद्ध रहेको पनि प्रष्ट पारेको छ । पत्रमा नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्न तयार रहेको बताएको छ । कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

शालनालसहितको शिशु फेला

हेटौँडा । हेटौँडामा बिहीबार साँझ झाडीमा शालनालसहितको शिशु फेला परेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं.४ हुप्रचौर प्रदेश लोकसेवा आयोग कार्यालय नजिकैको झाडीमा नवजात शिशु (छोरी) फेला परेको हो । स्थानीयले नवजात शिशु रोएको सुनेपछि हेर्ने क्रममा शालनालसहितको शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शिशु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयले नवजात शिशुको उद्धार गरेर उपचारका लागि हेटौँडा अस्पताल पुराएका छन । नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने शिशुको शरीरको केही भागमा काँडाले कोतरिएको छ । बच्चा कसले फालेको भन्ने विषयमा खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम

काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन्। बुधबार बाबरले सामाजिक सञ्जालमार्फत् आफूले राजीनामा दिएको घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् पाकिस्तानको टेस्ट, एकदिवसीय र टी–२० टिमको कप्तान पद त्याग गरेको घोषणा गरेका हुन्। भारतसँगको विश्वकपमा खराब प्रदर्शन गरेपछि उनको चर्को आलोचना भएको थियो। विश्वकप क्रिकेटमा समूह चरणका ९ खेलमध्ये ४ मा मात्र विजयी भएको पाकिस्तान सेमिफाइनल पुग्न नसकेपछि कप्तानको राजीनामा आएको हो। कप्तान बाबरले भारत विश्वकपका नौ खेलमा ३२० रन बनाएका थिए। बाबर सन् २०१९ मा पाकिस्तान क्रिकेटको कप्तान बनेका हुन्। एकदिवसीय ब्याटिङ वरियताको शीर्ष स्थानमा रहेका उनलाई यही महिना भारतका शुभमन गिलले पछि पारेका थिए। समूह चरणका खेलमा भएको पाकिस्तानको प्रदर्शनपछि समर्थक र शुभेच्छुकले व्यापक असन्तुष्टि जनाएपछि बाबरको राजीनामा आएको अनुमान गरिएको छ।

रानीपोखरीमा बिहानैदेखि भाइटीका लगाउन सुरु

काठमाडौं। आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिर दिदीबहिनी नहुनेका लागि खुला गरिएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरुले भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । यस अवसरमा रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ । विसं २०३५ पछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।

यी हुन् भाइटीकामा छुट्टाउन नहुने कुरा

काठमाडौं । आज भाइटीका सबै जना भाइटीकाको तयारीमा लागेका छन् । भाइटीकामा छुट्टाउन नहुने केही कुराहरू छन् । जसमा बिमिरो, ओखर, सप्तरङ्गी टीका, भाइ मसला र मखमलीको माला । यी सामग्री तिहारमा किन महत्वपूर्ण मानिएका छन् त आज हामी यसैको बारेमा चर्चा गर्नेछौँ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबो, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गर्छन् । ओखर र बिमिरो तिहारमा अष्ठदल कमल पत्रमा लेखिएको थालमा यमराजको प्रतीक बिमिरो र ओखर राख्ने र पूरा गर्ने चलन छ। तिहारमा भाइटीका लगाउँदा नभई नहुने कुरा हुन्, ओखर र बिमिरो । भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइको दुख कष्ट फोडेर फालेको प्रतीकस्वरुप ओखर फुटाउने प्रचलन छ । यसरी ओखर फुटाउँदा दाजुभाइको कालको बाटो छेकिने विश्वास गरिन्छ । भाइटीकामा ओखर फुटाउनु र अमिलोको पूजा गर्नुले नकारात्मक शक्तिहरू आफ्ना माइतीबाट टाढै रहुन् भन्ने पनि धार्मिक विश्वास छ । मखमलीको माला भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको छुट्टै महत्व छ। मखमली कहिल्यै ओइलाउँदैन, यो पृथ्वीमा धेरै फूल फुल्छन् तर कोहीको आयु एक घण्टाको मात्र पनि हुन्छ । त्यसैले लामो आयुलाई यसले प्रतिबिम्बित गर्दछ । सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन । मखमली माला र दुबो कहिल्यै नओइलाउने र तेल कहिल्यै नसुक्ने भएकाले तिहारमा तेलको तीन पटक फेरा हालेर आफ्ना दाजुभाइ पनि अजम्बरी हुन् भन्ने मनोकाङ्क्षालाई प्रतिबिम्बित गर्दछ । सप्तरङ्गी टीका तिहारमा दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकामा भावना मिसिएको छ । सप्तरङ्गी टीका लगाउँदा दाजुभाइप्रतिको प्रेम रङजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ । तिहारमा अष्टचिरिञ्जीवी तथा लक्ष्मीपूजा गर्दा पनि अबिर–केसरी आवश्यक हुन्छ । त्यसैले सप्तरङ्गी रंगहरु देख्दा हामीलाई तिहारको सम्झना आउने गर्छ । भाइ मसला तिहारमा विशेष गरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखन लगायतका मसाला (भाइ मसला) दिने चलन छ । दाजुभाइका लागि दिइने मसालाहरू स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । तिहारमा प्रयोग हुने भाइ मसालाको प्रयोगले शारीरिक विकासका साथै रोगसित लड्न सक्ने क्षमता समेत वृद्धि गर्ने साथै कोलेस्ट्रोल समेत नियन्त्रण गर्दछ ।

अझै टिकटक बन्द नभएपछि प्राधिकरणको चेतावनी– अटेर गरे कारबाही हुन्छ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले टिकटक बन्द गर्न आफूले दिएको निर्देशन नमाने कारबाही गर्ने चेतावनी दिएको हो । प्राधिकरणले निर्देशन आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भएकाले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम कारबाही हुने बताएको छ । प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ अनुसार सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसके पनि केही सेवा प्रदायकबाट अझै टिकटक चलिरहेकाले तत्काल गर्न भनेको छ । ‘प्राधिकरणको निर्देशनरआदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्ने बेहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ ।    

खुल्यो कोरला नाका

काठमाडौं। मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका चार वर्षपछि हिजोदेखि पूर्णरुपमा खुलेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को असोज पहिलो साता भएको भ्रमणका क्रममा नेपाल चीनका नाका नियमित खोल्नेबारे छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डसँगको छलफल पश्चात चीन लामो समयदेखि बन्द नाकाहरू पूर्ण रुपमा संचालनमा ल्याउन सहमत बनेको थियो । चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो। नाका उद्घाटन कार्यक्रममा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुुख धनराज आचार्य, प्रदेश सांसद नम्बु गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो। चीनको धोङवासेन काउन्टी पार्टी सचिव साओएई, काउन्टी म्याजेस्ट्रेड लुवु सिरेन, सहायक काउन्टी तहका सबै कार्यकर्ता, कस्टम्स भन्सार, सीमा निरीक्षण, परराष्ट्र मामिला कार्यालय, जन सुरक्षा ब्यूरो, वाणिज्य ब्यूरो, सीमा नियन्त्रण र बन्दरगाह व्यवस्थापन समितिका अधिकारीहरुको उपस्थितिमा आजदेखि नाका खोलिएको हो। दुवै सररकारका प्रतिनिधिको उपस्थितिमा नाका खोलिएको हो। कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चीनले लोमान्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई एक लाख किलोग्राम खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले बताए । लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रका आधारमा आवतजावत गर्न थालेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । मुस्ताङ र चीनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चारपटक वार्ता भएको थियो। कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो। त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो। कोरला नाका सञ्चालनको तयारीका क्रममा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजारजना सर्वसाधारणलाई ‘नेपाल चीन सीमा क्षेत्रका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र’ वितरण गरिएको छ। “प्रवेशपास भएका नागरिक जुनसुकै समयमा पनि चीन जानेआउने सुविधा पाउनेछन्,” प्रजिअ पन्तले भने, “कोरला नाकाको नजिकै नेपाली भूमिमा अस्थायी संरचना बनाएर सुरक्षाकर्मीको नियमित उपस्थितिको व्यवस्था मिलाइएको छ।” नेचुङ सशस्त्र प्रहरी बलको (विओपी)को भवन निर्माण भएको छ। जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ। चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ। सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए। सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो। विसं २०५८ सम्म रोकतोक नरहेको सीमा २०५९ सालदेखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ। मुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाएका लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए। लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहवरमा दुई दिनअघि चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा पाँचवटा प्रिफेव कन्टेनर जडान गरिएको छ। कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन्। नेपालमा थिएन। चार हजार मिटरभन्दा बढी उचाइको नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुरोधमा चीनले प्रिफेव कन्टेनर उपलब्ध गराएर जडान गरिएको हो। चारवटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन्। चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरला नाका जाने पर्यटक प्रतिकूल मौसम हुँदा आश्रय लिन सक्नेछन्।रासस

टिकटक बन्द गर्न इन्टरनेट प्रदायकलाई दूरसञ्चारको पत्र

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको निर्णयपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई बन्द गर्न पत्राचार गरिसकेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए।

जाजरकोटका भूकम्पपीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिइने

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावितहरुको लागि अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो । सो रकम २५÷२५ हजार रुपैयाँका दरले दुई किस्तामा उपलब्ध गराइने जनाइएको छ । त्यस्तै, बैठकले बझाङ केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावितलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने यसअघिको उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयलाई अनुमोदन समेत गरेको छ । बैठकले राहत उपलब्ध गराउन जाजरकोट र रुकुम पश्चिम जिल्लालाई पाँचरपाँच करोड उपलब्ध गराउने कार्यकारी प्रमुखस्तरीय निर्णयको अनुमोदन पनि गरेको छ । साथै जाजरकोट, पश्चिम रुकुम र सल्यानमा प्रमुख जिल्ला अधिकारीले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ बमोजिम बमोेजिम रकम खर्च गर्ने सम्बन्धमा प्रतिकार्यका लागि गर्नसक्ने खर्च र सीमा तोकेको छ । भूकम्पको कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र संरचनाको प्रवलीकरण, पुनर्निर्माण र पुनःस्थापना योजना बनाउन विस्तृत क्षति आंकलन–मूल्यांकन जनशक्ति र खर्चबारे समेत बैठकले आवश्यक निर्णय गरेको छ ।

देवचुली जीप दुर्घटना : ६ जनाको मृत्यु

बर्दघाट । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको परिचय खुलेको छ । बर्दघाट सुस्ता पूर्वकै बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली–९, गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा जीप चालक बौदीकाली–६, माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकीमगर, ५२ वर्षीया कुमारी राना, बुलिङटार गाउँपालिका–४, चुलिबोझाका अन्दाजी ४०÷४५ वार्षकी कमला वानटक्की मगर र १२ वर्षीया करिष्मा ठाडा रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२, मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । जीपमा सातजना सवार थिए । जीप अनियन्त्रित भई सडकछेउको घरमा ठोक्किएको थियो ।

आज महाकवि देवकोटाको जन्मजयन्ती

काठमाडौं । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १५ औ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पु¥याएको योगदानलाई स्मरण गर्दै हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । विसं १९६६ साल कात्तिकको औंशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साहिलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए । देवकोटाका चर्चित कृतिहरुमा ‘भिखारी’ कविता संग्रह, ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्यलगायतका छन् । ‘लक्ष्मी कविता संग्रह’, ‘मायाविनी सर्सी’ खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य पनि चर्चित कृति हुन् । देवकोटाले राणा कालमा जनताले पनि पढ्न पाउनुपर्ने माग गर्दै क्रान्ति गरेका कारण पटकपटक जेल परेका थिए । देवकोटा २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री समेत भएका थिए । देवकोटो जन्मिएको मैतिदेवीको घरलाई सरकारले संग्रहालयको रुपमा पुनर्निर्माण गरेको छ ।

जुवातास खेल्दा/खेलाउदा के हुन्छ सजाय ? यस्तो छ कानुनी व्यवस्था

काठमाडौं । जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ । दिनहुँजसो जुवातास खेल्ने तथा खेलाउनेलाई पक्राउ परिरहेको नेपाल प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा जुवाताससम्बन्धी कानुनी व्यवस्थाको बारेमा उल्लेख गरिएको छ । सो दफा अनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वन ३० हजारसम्म जरिबानाको व्यवस्था गरिएको छ । दोस्रो पटकमा भने एक वर्षसम्म कैद र ५० हजारसम्म जरिबाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजारसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ ।

भूकम्प पिडितकाे सहयोगार्थ देउसी भैलो खेल्दै क्रान्तिकारी

काठमाडौं । सत्तारुढ पार्टी नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन अखिल(क्रान्तिकारी)ले देउसी भैलो खेल्ने भएको छ । भूकम्पप्रभावित जिल्ला रूकुम पश्चिम र जाजरकोटका नागरिकको सहयोगार्थ देउसी भैलो खेल्न लागेको क्रान्तिकारीका अध्यक्ष पंचा सिंहले जानकारी दिइन् । कात्तिक २६,२७ र २८ गते खेलिने देउसी भैलोमा सहभागी हुन् उपत्यकामा रहेका आफ्ना नेताकार्यकर्तालाई क्रान्तिकारीले आह्वान गरेको छ । क्रान्तिकारीले भूकम्प प्रभावित क्षेत्रमा विद्यालय तथा आवास पुनर्निमाणको लागि आफ्ना २०० जना नेता कार्यकर्तालाई स्वयंसेवकको रूपमा एक महिनाको लागि खटाउने निर्णय गरेको छ । क्रान्तिकारीले आ-आफुबीच रकम संकलन गरेर १० लाख रुपैया भुकम्प पिडितलाई राहात स्वरुप प्रदान गर्ने निर्णय गरिसकेको छ ।

यी हुन् काठमाडौंका फूल बिक्री केन्द्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकाले नेपालीहरुको महान पर्व तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो । शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने प्रमुख पाण्डेले बताए। उनले देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने बताउनुभयो । उहाँले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने बताए । प्रमुख पाण्डेले महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवद्र्धन गर्न सहुलियत गर्न ४ ठाउँमा स्टल राख्ने बताए । उनले ४ ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने बताउनुभयो । उहाँले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलहरुका लागि महानगरले बिक्रीमा सहजीकरण गर्ने उद्देश्यले सुरु गरेको बताए । प्रमुख पाण्डेले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न सबैले पहल र व्यवस्थित रुपमा अघि बढ्न आवश्यक रहेको बताए।

‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगितामा नेपाल तेस्रो

काठमाडौं । नेपाली इथिकल ह्याकरको टोली ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगितामा तेस्रो भएको छ । सेमिफाइनलमा स्पेनसँग पराजित नेपालले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्सलाई हराउँन सफल भएको हो । यससँगै नेपाली टिमले कूल एक लाख ६० हजार डलर (करिब दुई करोड १२ लाख रुपैयाँ) बढी पुरस्कार प्राप्त गरेको छ ।