राष्ट्रपति पौडेललाई ६ राष्ट्रप्रमुखको समवेदना सन्देश

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखहरूले समवेदना सन्देश पठाएका छन् ।

जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टेनमेइर, चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेल, अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान डेर बेलेन, निकारागुआका राष्ट्र ड्यानीयल ओर्टेगा साभेद्रा, कतारका अमिर शेख तमिम विन हमाद अल थानी र स्पेनका पेद्रो सान्चेजले बेग्लाबेग्लै समवेदना सन्देशको पठाएका हुन्।

उनीहरूले भूकम्पपीडित परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै सन्देशमा प्राकृतिक विपत्तिको यस घडीमा आफ्नो देश, जनता र सरकारतर्फबाट सहानुभूति प्रकट गर्दैै राहत तथा पुनःस्थापनाको काममा आवश्यक सहयोगका लागि सदैव तयार रहेको उल्लेख गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

यसअघि राष्ट्रपति पौडेललाई चीनका राष्ट्रपति सी चिनफीङ, रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्सलेले पनि समवेदना सन्देश पठाएका थिए ।

भूकम्पपछि देखिनसक्ने स्वास्थ्य समस्याहरूप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । भूकम्पपछि देखिनसक्ने स्वास्थ्य समस्याहरूप्रति सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कातिक २४ गते एक वक्तव्य जारी गर्दै सो कुरा बताएका हुन् । विज्ञप्तिमा भनिएको छ चिसो बढेसंगै देशका अन्य भागमा जस्तै भूकम्प प्रभावित जिल्लाहरुमा ज्वरो र रुघाखोकीका विरामीहरु स्वास्थोपचारका लागि स्वास्थ्य संस्थामा आइरहेको जानकारी प्राप्त भएको छ । भूकम्पको प्रतिकार्यमा कार्यरत सबैले भूकम्पपछि देखिनसक्ने स्वास्थ्य समस्याहरूप्रति सचेत रहन तथा सचेत गराउनुहुन पनि अनुरोध गर्दछौं ।

किराँत धर्मका महागुरू फाल्गुनन्द जयन्ती आज

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए, जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको २००५ सालमा निधन भएको हो । किराँत समाज सुधारमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई २०६६ साल मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोवास रहेका पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । काठमाडौँमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष सङ्घका संस्थापक अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए ।

भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम

काठमाडौँ । भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम भएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालकिा प्रमुख रेनु दाहाल र चीनको सिगात्से सहरका प्रमुख वाङ फाङ होङबीच दुई सहरका बीचमा भगिनी सम्बन्ध कायम गर्ने समझदारी–पत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा दुई सहरबीच पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले सहयोग आदानप्रदान गर्ने उल्लेख छ। त्यसैगरी साझा समृद्धि र विकासलाई प्रवर्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान गरिने समझदारी भएको छ । हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरका प्रमुख रेनु दाहालले सिगात्से सहरसँग भगिनी सम्बन्ध राख्न पाएको भन्दै खुसी गरिन् । उनले यो समझदारीले आगामी दिनमा दुई देश र दुई सहरबीच प्रगाढ सम्बन्ध बन्ने विश्वास व्यक्त गरिन्। उक्त भगिनी सम्बन्ध पाँच वर्षका लागि मान्य हुने र समझदारीपत्रको वैधता अवधि समाप्त भएपछि यदि कुनै पक्षले असहमति नजनाएसम्म स्वतः मान्य हुने जनाइएको छ । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिब विनोद प्रकाश सिंह, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्र कुमार राना, प्रेस विज्ञ सल्लाहाकार सुरेशचन्द्र अधिकारीको उपस्थिति रहेको थियो । गत भदौमा भरतपुर महानगरपालिकाको प्रतिनिधि मण्डलले सिगात्सेलगायत चीनका अन्य सहरको भ्रमण गरेको थियो ।

विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गरिनुपर्छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गर्नुपर्ने बताएकी छिन् । फूल्चोकी मावि गोदावरी १४ ललितपुरमा विद्यालयका संस्थापकहरुको सालिक अनावरण तथा स्मारिका विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै उनले शिक्षामा सूचना प्रविधिको प्रयोग बढाउँदै यसको दुरुपयोगलाई निरुत्साहित गर्न साइबर शिक्षा दिन आवश्यक रहेको बताएकी छिन्। सामाजिक सञ्जालको दुरुपयोग हुँदा साइबर बुलिङको आक्रमणमा सबैभन्दा बढी विद्यालय तहमा अध्ययनरत किशोरकिशोरी परेकाले पनि विद्यालय तहमै साइबर शिक्षा अनिवार्य बनाएर लैजानुपर्ने आवश्यकता देखिएको उनले स्पष्ट गरिन् । सामाजिक सञ्जालको प्रयोग कुलतको रुपमा हुन थालेको र यसबाट नयाँ पुस्तामा सामाजिक संस्कार हराउँदै गएकाले पनि हरेक बालबालिकालाई साइबर शिक्षा दिन आवश्यक रहेको मन्त्री शर्माको भनाई थियो । यसबारे शिक्षा मन्त्रालयसँग सहकार्य गरेर औपचारिक पाठ्यक्रम निर्माण गर्नेतिर आफूहरुले सोचिरहेको उल्लेख गर्दै उनले हरेक विद्यालयले पनि सिर्जनशीलता अपनाएर अतिरिक्त कोर्ष वा अतिरिक्त क्रियाकलापको रुपमा साइबर शिक्षा दिन आवश्यक रहेको बताए । सरकारले साइबर सुरक्षालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति पनि केही समय अघि मात्र पारित भएको बताए। समाजमा सूचना प्रविधिको दुरुपयोगका घटना पनि बढ्न थालेकाले यसप्रति सरकार गम्भीर रहेको पनि उनले स्पष्ट पारे । ‘हिजो मात्रै हामीले मन्त्रिपरिषद् बैठकबाट सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका पारित गरेका छौं’– मन्त्री शर्माले भने– ‘सामाजिक सञ्जाल एकातिर अभिव्यक्ति स्वतन्त्रताको माध्यम हो र यसबाट राम्रो आयआर्जन पनि भएको छ भने अर्कोतिर यसबाट मानिसका व्यक्तिगत सुरक्षादेखि सामाजिक प्रतिष्ठा र सामाजिक सद्भावविरुद्धका काम पनि भइरहेका छन्, त्यसैले यसको प्रयोगमा सबै प्रयोगकर्ताहरु सचेत रहनुपर्छ भन्ने नै निर्देशिकाको मूल मर्म रहेको छ ।’ ‘यो सूचना र प्रविधिको युगमा जुन जुन क्षेत्रमा यसको प्रयोग बढाउँदै लगिएको छ, ती क्षेत्रले सकारात्मक नतिजा दिने गरेका छन्’– मन्त्री शर्माले भनिन्– ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन सबै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाएर लैजानुपर्छ । त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कले मार्गदर्शन गरे पनि अपेक्षित परिणाम आउन सकिरहेको छैन, यसमा सबै पक्षमा गम्भीर हुन आवश्यक छ ।’ सूचना प्रविधिको प्रयोगमार्फत डिजिटल अर्थतन्त्रको विकास गर्न सकिने राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासबाट देखिएको स्पष्ट गर्दै उनले पछिल्लो समय नेपाल सरकारले पनि यसलाई आधारभूत आवश्यकताको रुपमा परिभाषित गरेको बताइन्। ‘सूचना र प्रविधिको विकास गरेर यसकै माध्यमबाट देशलाई समृद्धिको बाटोमा अघि बढाउन विभिन्न काम भइरहेका छन्’– मन्त्री शर्माले भनिन्– ‘सूचना प्रविधिको माध्यमबाट गरिने आर्थिक क्रियाकलाप गर्दा भूपरिवेष्टित देश वा धनि गरीव भनेर पछि पर्ने अवस्था नभएकाले नेपालका लागि यो अझ बढी महत्वपूर्ण छ ।’ कार्यक्रममा मन्त्री शर्माले शुभकामना वि.सं.२०१६ सालमा फूल्चोकी माध्यमिक स्थापनाका लागि पहल गर्ने संस्थापक अध्यक्ष दिलबहादुर श्रेष्ठ तथा सदस्यहरु बुद्धिबहादुर श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, हरिबहादुर मुल्मी र न्हुच्छेदास नापितका सालिक अनावरण तथा विद्यालयको विकासमा योगदान गर्नेहरुको इतिहास संस्थागत गर्न प्रकिाशत स्मारिका विमोचन गरिन्। उनले पालिकाभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सफल नेतृत्व गरेको भन्दै गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई पनि सम्वोधन गरेकी थिइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

दुबईमा हुने कोप–२८ सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्बन्धी सम्मेलन (कोप–२८)मा सहभागी हुन युएई जाने भएका छन् । आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सहभागिता जनाउने भएको हो । यसका लागि वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन तयारी शुरु गरेको जनाएको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको कोप–२८ मा नेपालको तयारी अवस्था र सुझाव संकलन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका विकास व्यवस्थापन विज्ञ डा पपुलर जेन्टलले सम्मेलनमा प्रधानमन्त्रीको सहभागिताबारे जानकारी गराए । नेपालले यस सम्मेलनमा पहिलो पटक आफ्नै पेभिलिएन स्थापना गर्न लागेको बताउँदै त्यसमा ३० भन्दा बढी विभिन्न क्षेत्र र विषयका कार्यपत्रसहित नेपालले गुणस्तीय र प्रमाणसहित कार्यक्रम गर्ने विज्ञ जेन्टलले अवगत गराए । कार्यक्रममा वन मन्त्री डा वीरेन्द्रप्रसाद महतोले सम्मेलनको तयारी तीव्र रुपमा भइरहेको बताउँदै यसपटक नेपालले उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ आफ्ना मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रुपमा राख्ने जानकारी दिए ।

उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने देशको सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै क्रमिक रूपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक सत्र २०८१ मा एसईई परीक्षाम समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो। मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ। मङ्सिर मसान्तसम्म फाराम भर्दा ३०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६०० रुपैयाँ तोकिएको छ। दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्मको समय तोकिएको छ।

भूकम्पपीडितलाई एभरेष्ट बैंकको २५ लाख आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्पपीडितलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पबाट प्रभावितहरूका लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । उक्त रकमबाट भूकम्प प्रभावितहरूको राहत र उद्धारमा सहयोग पुग्ने र आगामी दिनमा यस्ता सहयोग जारी रहने बैंकले जनाएको छ । हाल एभरेष्ट बैंकले १२७ शाखा संजाल, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय र १६३ एटीएममार्फत सेवा दिँदै आएको छ ।

भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार दृढ छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन्। उनले अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक देखिएका छन्, यद्यपि दवाव अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता महसुस भएको चर्चा पनि गरे। बिहीवार काठमाडौंमा आयोजित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढीरहेको बताए। उनले देशमा विद्यमान चुनौतिहरूलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने बताए । उनले आर्थिक दबाब चिर्नका लागि रणनीतिक कदम चाल्नुपर्ने महशुस भएको बताए। प्रधानमन्त्रीले भने, ‘‘अहिले हामीले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढीरहेको सन्दर्भमा देशमा विद्यमान चुनौतिहरुलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ ।’’ प्रधानमन्त्रीले पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धार र राहतमा सरकारले तदारुकताका साथ पहलकदमी लिएको दाबी गरे। उनले २०७२ को भूकम्पबाट सिकेको पाठबाट यस पटक पुनस्र्थापना र पुनःनिर्माणको कामलाई व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताए।

अब तीनवटा क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजना

काठमाडौँ । सरकारले मोरङ, काठमाडौँ र चितवनका तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौँको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

जलविद्युतमा लगानी गर्न एसियन मुलुकका बैङ्कका सीईओलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियन मुलुकका बैङ्कका प्रमुखकार्यकारी अधिकृत (सिइओ) हरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार काठमाडौँमा भएको ३९औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताए । अर्थमन्त्री महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताए। उनले सरकारले नीतिगत रूपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने जानकारी दिए। उनले भारतले यो भन्दा अगाडि १० वर्षमा १० हजार मेगावाट जलविद्युत खरिद गर्ने प्रतिबद्धता जनाएको बताए । उनले सरकारले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिबद्ध रहेको जनाए अर्थमन्त्री महतले विश्व बैङ्क र एडिपीले पनि नेपालको ठुलो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको बताए। उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको जानकारी दिए। अर्थमन्त्री महतले सरकारले विद्युत उत्पादन, साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरेको दाबी गरे। उनले आम जनतालाई समेत प्रत्यक्ष लाभ हुनेगरी ग्रिन अर्थतन्त्रको विकासमा जोड दिएको बताए । उनले बैङ्क तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्र लयमा ल्याउने ठुलो योगदान पुर्‍याएको जानकारी दिए । अर्थमन्त्री महतले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठुलो चुनौती भोगिरहेको बताए । उनले विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिएको भन्दै सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेको बताए । उनले डिजिटल बैङ्किङसँगै विश्वसनीयता र सुरक्षा महत्त्वपूर्ण रहेको जानकारी दिए।

रेशमलाल चौधरीविरुद्धको मुद्दा स्थगित

काठमाडौं । रेशमलाल चौधरीविरुद्धको मुद्दा स्थगित भएको छ । चौधरीविरुद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको हो । सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगित परेको हो । गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतान्नुभएपछि मुद्दा स्थगित भएको उनको भनाइ छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरेका थिए । राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् । गत जेठ १६ गते दर्ता गरिएको रिटमा जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारण माग गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश दिएको थियो । राष्ट्रपति कार्यालयबाट चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारणसहितको जवाफ सर्वोच्च अदालतमा पेश गरेपछि आज बिहीबारका लागि पेशी तोकिएको थियो । विसं। २०७२ भदौमा टीकापुरमा दुई वर्षीय बालक र एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना प्रहरी मारिएको घटनामा सर्वोच्च अदालतले २०७५ फागुनमा चौधरीलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो ।

उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित

काठमाडौं । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मङ्सिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई)का लागि तय भएको भ्रमण स्थगित गरेका छन् । दुबईमा आयोजना हुन लागेको १८औँ दुबई एयरशो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाने कार्यक्रम तय भएको थियो । यसका लागि यही कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमणको स्वीकृति दिएको थियो । तर यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटमा ६.४ रेक्टर स्केलको भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले उपप्रधानमन्त्री खड्काले भ्रमणको कार्यक्रम स्थगित गरेको रक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । “भूकम्प गएपछि जाजरकोट र रुकुमपश्चितलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको र प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनालगायतका काममा उपप्रधानमन्त्री खड्का स्वयम् निरन्तर क्रियाशील रहेकाले यस विषम परिस्थितिमा वैदेशिक भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित यूएई भ्रमण रद्द गरिएको हो”, विज्ञप्तिमा उल्लेख छ ।

रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुने भएको हो । गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर नरसंहारका प्रमुख योजनाकार भनिएका रेशमलाल चौधरीलाई बाँकी कैद मिनाहा दिने निर्णय गरेका थिए । क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै घटनमा मृत्यु भएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् । राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै कडायतले राष्ट्रपतिको कार्यालय शितलनिवास तथा रेशमलाल चौधरीलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन् । राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै चौधरीलाई पूरै समय जेलमा राख्न कडायतले माग गरेकी छिन् ।

ट्रकको ठक्करबाट युवकको मृत्यु

बाँके । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाडौँ जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो । उनको घट्नास्थलमै ज्यान गएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस