अमेरिकी डलरको मूल्य हाल सम्मकै उच्च
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (आज) का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै सर्वाधिक महँगो भएको छ। साथै, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुबेती दिनार, र बहराइन दिनारलगायतका धेरैजसो विदेशी मुद्राहरूको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ।
आजको विनिमयदर (प्रति एकाइ मुद्रा)
-
अमेरिकी डलर: खरिददर १४०.८२ रुपैयाँ, बिक्रीदर १४१.४२ रुपैयाँ
(हिजो: खरिददर १३९.९१ रुपैयाँ, बिक्रीदर १४०.५१ रुपैयाँ)
नोट: गत साउन २१ मा खरिददर १४०.१९ र बिक्रीदर १४०.७९ रुपैयाँ पुगेको थियो, जुन पछि सस्तिएको थियो। -
युरो: खरिददर १६४.२४ रुपैयाँ, बिक्रीदर १६४.९४ रुपैयाँ
(हिजो: खरिददर १६३.२५ रुपैयाँ, बिक्रीदर १६३.९५ रुपैयाँ) -
पाउन्ड: खरिददर १८९.४९ रुपैयाँ, बिक्रीदर १९०.२९ रुपैयाँ
(हिजो: खरिददर १८९.१४ रुपैयाँ, बिक्रीदर १८९.९६ रुपैयाँ) -
अस्ट्रेलियन डलर: खरिददर ९१.९३ रुपैयाँ, बिक्रीदर ९२.३२ रुपैयाँ
(हिजो: खरिददर ९१.३५ रुपैयाँ, बिक्रीदर ९१.७४ रुपैयाँ) -
कुबेती दिनार: खरिददर ४६०.७४ रुपैयाँ, बिक्रीदर ४६२.७० रुपैयाँ
(हिजो: खरिददर ४५८.०३ रुपैयाँ, बिक्रीदर ४५९.९९ रुपैयाँ) -
बहराइन दिनार: खरिददर ३७३.५३ रुपैयाँ, बिक्रीदर ३७५.१२ रुपैयाँ
*(हिजो: खरिददर ३७१.११ रुपैयाँ, बिक्रीदर ३७२.७१ रुपैयाँ–
नेपाल राष्ट्र बैंकका अनुसार यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन हुन सक्छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक दरहरू राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
सुदूरपश्चिममा नानी गौरा पर्व हर्षोल्लासपूर्वक मनाइँदै
बैतडी । सुदूरपश्चिमका जिल्लाहरूमा शुक्रबार नानी गौरा पर्व उल्लासपूर्वक मनाइँदै छ । गौरापर्वको दोस्रो दिन मानिने आज महिलाहरू बिहानै नजिकैका नदी, तलाउ र धारामा गएर अघिल्लो दिन भिजाइएका पाँच थरी अन्न बिरुडालाई शुद्ध जलाशयमा लगेर धुने चलन छ । पाटन नगरपालिका–३ की बसन्ती भट्टका अनुसार महिलाहरूले बिरुडा धोएपछि धान, साउँ, तिल, अपामार्गलगायतका वनस्पतिबाट गौराको प्रतिमूर्ति बनाई सिँगारपटार गरी पूजाआजा गर्ने परम्परा छ । दोगडाकेदार गाउँपालिका–५ की ६५ वर्षीया धनुदेवी भट्ट भन्छिन्, “हामीले हरेक वर्ष गौरालाई बिरुडासहित पूजा गर्छौं । यसले घरमा सुख, शान्ति र समृद्धि ल्याउँछ भन्ने हाम्रो विश्वास छ ।” धारामा महिलाहरूको भीड लाग्दा गाउँमा पर्वको रौनक झल्किएको छ । युवतीहरू परम्परागत भेषभूषामा सिँगारिएर नदी, धारा र तलाउमा पुगेको दृश्य मनमोहक बनेको स्थानीय शिक्षिका पूजा बिष्ट बताउँछिन् । गौरापर्वमा महिलाहरूले आफ्नो परिवारको सुख–शान्ति र दाम्पत्य जीवनको दीर्घायुप्रतिको कामना गर्दै व्रत बस्ने प्रचलन छ । धार्मिक अगुवा सिद्धराज भट्टका अनुसार, गौरापर्व पौराणिक कालदेखि हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउन गरेको कठोर तपस्याको सम्झनामा मनाउने चलन रहेको हो । गौराको तेस्रो दिन अमुक्ताभरण मनाइन्छ । यस दिन महिलाहरू दिनभर व्रत बस्छन् र साँझपख गौरा राखिएको घरमा गएर ध्वजा, दुबधासहितका सामग्री पुरोहितद्वारा शुद्ध पार्छन् । त्यसपछि मात्र प्रसाद ग्रहण गरी एक छाक खान्छन् । चौथो दिन भने दुर्वाष्टमी अर्थात् अठ्यावाली मुख्य दिनका रूपमा मनाइन्छ । यस अवसरमा महिलाहरू घर–घरमा भेला भई गौरागीत गाउँदै रातभर नृत्य गर्ने परम्परा अझै जीवित छ, भनी स्थानीय व्रतालु महिला विष्णुमति भट्टले बताइन् ।
एमाले कार्यकर्ताकै पसलबाट युरियाको कालोबजारी: कटारी नगर प्रमुख र उपप्रमुखको पनि संरक्षण
काठमाडाैं । उदयपुरको कटारी नगरपालिकामा किसानलाई सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल (युरिया) मा कालोबजारी भएको पाइएको छ । कटारी नगरपालिकाका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ र उपप्रमुख गिता खड्काको संरक्षणमा भएको खुलासा भएको छ । मेयर श्रेष्ठ नेपाली कांग्रेसका हुन् भने उपमेयर खड्का नेकपा एमालेकी हुन् । विहीबार जिल्ला प्रशासन कार्यालय उदयपुरको टोलीले कटारी बजारमा अनुगमन गर्दा दिलीप चौधरीको अशुतोष ट्रेडर्स तथा जनरल स्टोर र जयमाँ काली प्रालिबाट लुकाइएका दुई सय बोरा युरिया मल फेला परेको हो । घटनापछि पसल सिल गरिएको छ । एक स्थानीय व्यापारीहरूको भनाइअनुसार, कृषि सामग्री लिमिटेड गाईघाट र सिरहाबाट ल्याइने मल मेयर–उपमेयरसम्म कमिसन पुर्याउने शर्तमा कालोबजारी हुँदै आएको छ । तर कारबाही हुने वा नहुने विषय अझै टुंगो लागेको छैन । अशुतोष ट्रेडर्सका सञ्चालक चौधरी नेकपा एमालेका स्थानीय नेतासमेत रहेको बताइन्छ । व्यापारीहरूका अनुसार, चौधरीको एमालेसँगको सम्बन्धका कारण उपमेयर खड्कासँग उनको निकटता छ भने नेपाली कांग्रेसका मेयर श्रेष्ठसँग पनि उनको सुमधुर सम्बन्ध छ । उपमेयर खडकाले किसानले मल अभाव खेपिरहेको बेला निजी व्यापारीको गोदाममा अनुदानको मल भेटिनु रहस्यमय भएको बताइन् । उनले छानबिन समिति गठन गरेर अनुसन्धान गर्ने आश्वासन दिइन् । तर, व्यापारीलाई बढी दुःख दिए चुनावमा असर पर्ने संकेत दिँदै चौधरी एमाले नेता नभएको बचाउ गर्ने प्रयाससमेत गरिन् । उनका अनुसार, ५० किलोको एक बोरा युरिया मल कटारी बजारमा १८ सयदेखि २४ सयसम्ममा बिक्री भइरहेको छ। यसअघि पनि किसानले महँगो मूल्यमा मल खरिद गरेको पाइएकाले व्यापारीलाई चेतावनी दिइएको उनले बताइन् । अनुगमन टोलीका नेतृत्वकर्ता सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयका अनुसार, मललाई कोक, डिउलगायतका पेयपदार्थले छोपेर राखिएको अवस्थामा फेला पारिएको थियो । सबै मल सरकारी अनुदानकै भएको पुष्टि भएको उनले जानकारी दिए । हाललाई छानबिनको जिम्मा नगरपालिकालाई दिइएको उनले बताए । यता सञ्चालक चौधरीले आफ्नो गोदाममा मल कसरी पुगेको थाहा नभएको दाबी गरे । उनले भने, “मेरोमा मल आउने कुरा नै छैन । कसले राख्यो, कहाँबाट आयो थाहा छैन । अब मेयर–उपमेयरसँग सल्लाह गरेर अघि बढ्छु ।” तीन हजारमा घर घरमा पुग्छ युरिया मल कृषि सामग्री लिमिटेड गाईघाट शाखा प्रमुख नरेशकुमार महतोका अनुसार, अनुदानमा दिइने ५० किलोको एक बोरा युरिया मलको मूल्य ८३३ रुपैयाँ मात्र हो । सहकारीमार्फत ढुवानी खर्च जोड्दा प्रतिवोरा ९ सयदेखि १ हजार रुपैयाँ पर्छ । तर, कटारी बजारमा यही मल १८ सयदेखि ३ हजार रुपैयाँसम्ममा खरिद–बिक्री भइरहेको छ । कटारीका स्थानीय किसान भीम पराजुलीले ३ हजार रुपैयाँ तिरेर मल किनेर धान रोपेको बताए । उनले भने, “मल घरमै ल्याइदिन भाडाको बोलेरो आउँछ । महँगो पर्नुको कारण मेयरदेखि उपमेयरसम्मको मिलेमतो नै हो भन्ने कुरा व्यापारीहरूले प्रष्ट बताएका छन् । मल नपाएकाे मेयर र उपमेरकाे नामबाट महंगाे पर्ने गर्छ । त्यस्तै, उदयपुरगढीका किसान मनोज खत्रीले १९५० रुपैयाँमा ५० किलोको एक बोरा मल खरिद गरेको बताए । उनले भने, “उदयपुरगढीका सहकारीमा मल नपाएपछी कटारीमा गएर ल्याएकाे हुँ । साहुजीकाे नाम थाहा भएन । मेराे गाउँमा आउने बाेलेकाे ढालाकाे पुछारमा लगाएर चाउचाउ छाेपेर साहुजीले दिनु भएकाे थियाे ।” स्थानीय सहकारीमा मल नपाएपछि उनी कटारी पुगेका थिए । माग–आपूर्ति असन्तुलन कृषि सामग्री कम्पनी लिमिटेड उदयपुर शाखाका तथ्याङ्कअनुसार, जिल्लामा वार्षिक करिब पाँच हजार मेट्रिक टन युरिया, डिएपी र पोटास आवश्यक पर्छ । तर, त्यसको आधा मात्र आपूर्ति हुन्छ । चालू आर्थिक वर्ष ०८२/८३ का लागि तीन हजार मेट्रिक टन युरिया, १५०० मेट्रिक टन डिएपी, ५० मेट्रिक टन पोटास र २१ टन कृषि चुन माग गरिएको भए पनि हालसम्म १०० मेट्रिक टन डिएपी मात्र आएको छ । यस्तो अभावकै बीच कटारी बजारमा अनुदानको मल लुकाएर कालोबजारी गरिएको तथ्य सार्वजनिक भएपछि मेयर उपमेयर प्रहरी प्रशासन र कृषि सामग्री शाखा गाईघाटमाथि प्रश्न उठेकाे छ ।
पर्यटकीय गन्तव्य बन्दै गुल्मीको इस्मा देउराली
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीस्थित देउराली पार्कलाई पर्यटकीय गन्तव्य बनाउनका लागि संरचना निर्माणको काम अघि बढाइएको छ । पछिल्ला वर्षमा धार्मिक र प्राकृतिक दुवै हिसाबले महत्त्वपूर्ण मानिने देउरालीमा निरन्तर पर्यटकीय पूर्वाधार थपिँदै आएका छन् । इस्मा देउराली पर्यटन पार्क तथा पूर्वाधार निर्माणका लागि पाल्पाको पारिलेक कन्स्ट्रक्सनसँग ५४ लाख २१ हजार ५२१ रुपियाँमा सम्झौता भएको गाउँपालिकाका इन्जिनियर हरिप्रसाद पाण्डेले जानकारी दिए । २०८१ माघ २७ गते सम्झौता भएको यो योजना २०८२ जेठ ३० गते सम्पन्न भएको हो । सम्झौताअनुसार देउराली क्षेत्रमा गेट, गोलघर, वाल, राष्ट्रिय झण्डा, बुद्ध मूर्ति, मन्दिर, गार्ड रुम, काउन्टर तथा केही विद्युतीय काम सम्पन्न गरिएको पाण्डेले बताए । बर्से र चैते दशैँमा विशेष पूजाआजा हुने यस स्थललाई पर्यटकीय गन्तव्य बनाउन संघ र प्रदेश सरकार दुवै तर्फबाट सहयोग हुँदै आएको छ । यसअघि २०७९ सालमा डिभिजन वन कार्यालय गुल्मीमार्फत १२ लाख ४८ हजार ३६२ रुपियाँमा उद्यान पार्क निर्माण भएको थियो । सो काम रेसुङ्गा नगरपालिका–२ की निर्माण कम्पनीले सम्पन्न गरेको हो । तर अहिले त्यतिबेला निर्माण भएका केही संरचना जीर्ण भइसकेका छन् । यसै कारण पार्कलाई व्यवस्थित बनाउन नयाँ संरचना थप्ने र संरक्षण व्यवस्थापनलाई हेरालुमार्फत अघि बढाउने कार्य भइरहेको देउराली मन्दिर संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष गणु प्रसाद अधिकारीले बताए । उनका अनुसार गुरुङ्ग गाउँ कल्यार र नजिकैको मुख्य सडक मार्गलाई समेत समेटेर कल्यारलाई होमस्टे गाउँ र देउरालीलाई पर्यटकीय पार्कका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । तर, यहाँ खानेपानीको अभाव र सडक स्तरोन्नती नभएको स्थानीयको गुनासो छ । नजिकै ठुलो खानेपानी ट्याङ्की रहे पनि देउराली पुग्ने पर्यटकहरूलाई पिउने पानीको असुविधा हुने गरेको स्थानीय बसन्ती न्यौपाने अर्यालले बताइन । उनले पार्कमा प्रवेश शुल्क साना बालबालिकासमेतबाट असुल्ने कार्य रोक्नुपर्ने र व्यवस्थापन सुधार आवश्यक रहेको सुझाव दिइन । इस्मा गाउँपालिका–४ का वडाध्यक्ष राजु बस्नेतका अनुसार धार्मिक र प्राकृतिक दुवै दृष्टिले महत्त्वपूर्ण देउरालीलाई क्रमशः पर्यटकीय गन्तव्य बनाउन प्रयास भइरहेको छ । संघ र प्रदेश सरकारको बजेट सहयोगमा संरचना निर्माण भइरहेकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तर्गतका अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए । बस्नेतका अनुसार गत वर्ष मात्रै देउरालीका लागि करिब ६७ लाख रुपियाँ विनियोजन भई गाउँपालिकामार्फत कार्यान्वयन गरिएको छ भने दुई वर्षअघि प्रदेश सरकारमार्फत करिब साढे १२ लाख रुपियाँका संरचना निर्माण भएका थिए ।
भारतसँग कालापानी–लिपुलेकको सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ : अध्यक्ष प्रचण्ड
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सिधासिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको बताउनुभएको छ । विराटनगरमा सम्पन्न १ नं. प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “म पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा, कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरी, इतिहासमा पहिलो पटक मेरो नेतृत्वमा रहेको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादबाट समाधान गरिन्छ भनेर सार्वजनिक घोषणा गराएको हो । यो कुरा तपाईंहरूले पनि बुझ्नुपर्यो । तल जनतालाई पनि बुझाउनुपर्यो ।” आफू प्रधानमन्त्रीको रूपमा भारतको भ्रमणको सन्दर्भमा भारतका प्रधानमन्त्रीसँग औपचारिक तथा सार्वजनिक रूपमा कालापानी, लिपुलेकजस्ता सीमा समस्या समाधानका लागि गरिएको प्रयासलाई अहिलेको सरकारले अगाडि बढाउनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । “प्रधानमन्त्रीका रूपमा मैले गरेका सकारात्मक काम जनतालाई जानकारी दिनु पार्टीका कार्यकर्ताहरूको जिम्मेवारी हो, हाम्रै साथीहरूले हाम्रै उपलब्धिहरू नबोल्दा विकृति आउँछ भन्ने बुझ्न जरुरी छ ।” प्रचण्डले पार्टीभित्र आलोचना र आत्मसमिक्षाको आवश्यकतामा जोड दिँदै वैचारिक अराजकता र अनुशासनहीनताले संगठनमा चुनौती उत्पन्न भएको समेत बताउनुभयो । उहाँले प्रदेशका नेताहरूले राखेका सुझाव र चिन्ताहरूलाई गम्भीरतापूर्वक लिएको बताउँदै पार्टीले ठूला ठूला चुनौतीको सामना गर्नुपर्ने हुनसक्ने बताउनुभयो । “समाजवादको तयारी गर्न हामीले अझ ठूला वैचारिक बहस र राजनीतिक संघर्ष पार गर्नुपर्छ,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “मार्क्सवादले भनेको आलोचना र आत्मसमिक्षा यही हो ।” अध्यक्ष प्रचण्डले १ नं. प्रदेशलाई “अग्रगामी चेतनाको स्रोत” भन्दै यहाँका कार्यकर्ताहरूको आलोचनात्मक चेतना पार्टी विकासका लागि सकारात्मक संकेतको रूपमा व्याख्या गर्नुभयो । पार्टी विभाजनपछि पुनः मूलधारमा फर्किएका नेताकार्यकर्ताहरू अनुभव र आत्मसमिक्षासहित पार्टीमा फर्किएकाले आएका नेताकार्यकर्तालाई स्वागत गर्न हिच्किचाउन नहुने बताउँदै उहाँले होच्याउने, हेला गर्ने काम नगर्न निर्देशन दिनुभयो । अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा विराटनगरमा सम्पन्न प्रदेश समिति सचिवालय बैठकले पार्टीभित्रको वैचारिक बहस, संगठन निर्माण तथा समसामयिक राजनीतिक विषयमा गहन छलफल गरेको छ ।
भण्डारीको चीन भ्रमण ओलीकै सल्लाहमा भएको थियो, त्यसपछि के भयो मलाई थाहा छैन : अध्यक्ष प्रचण्ड
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने कदम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सल्लाहमा भएको दाबी गरेका गर्नु भएको छ । विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भण्डारीको पार्टी सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म ओलीकै सहमतिमा भएको बताउनु भयो । प्रचण्डले भन्नुभयो, “भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहना स्पष्ट छ। यो सबै ओलीको सल्लाहमा भएको हो। तर, चीन भ्रमणपछि के भयो, मलाई थाहा छैन।” उहाँले संविधानले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन नरोक्ने स्पष्ट पार्नुभयो । विश्वका विभिन्न मुलुकमा राष्ट्रपति, प्रधानमन्त्रीजस्ता पदमा रहेका व्यक्ति पुनः राजनीतिमा फर्कने उदाहरण रहेको उहाँको भनाइ छ। प्रचण्डले आफ्नो पार्टीले उपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा फर्काएर भण्डारीलाई पनि बाटो खोलिदिएको दाबी गर्नुभयो। उनले भन्नुभयो , “संविधान वा कानुनले कसैलाई सक्रिय राजनीतिमा आउन रोक्दैन। यो तर्क मात्र हो।” यसैगरी, पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संवादमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको खुलासा गर्नुभयो। भारत भ्रमणका क्रममा आफूले यो विषय राखेको र मोदीले संवादबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको उहाँले जानकारी दिनुभयो । वर्तमान सरकारले कूटनीतिक माध्यमबाट वार्ता र संवादमार्फत हाम्रो जमिन फिर्ता ल्याउन पहल गर्नुपर्नेमा प्रचण्डको जोड छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली यस विषयमा कहिल्यै गम्भीर नभएको उहाँको भनाइ छ । प्रचण्डले पार्टीभित्रका स्वार्थ समूह विघटन गर्ने निर्णय भएको र समाजवादी मोर्चासँग एकताको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले एक दुई जनाको लहड वा असहमतिले पार्टीमा कुनै पनि फरक नपर्ने बताउनु भयो ।
माओवादीको 'जनजागरण अभियान' : २२ गते लमजुङबाट सुरु हुने (तालिकासहित)
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले थालेको 'जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान" फेरि सुरु हुने भएको छ । २२ गते लम्जुङबाट सुरु हुने अभियानको तालिका तयार भएको छ । साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णअनुसार बाँकी जिल्लामा भर्दौ २२ देखि सुरु गर्ने गरी कार्यतालिका तयार गरिएको महासचिव देव गुरुङले जानकारी दिनुभयो । तालिकाअनुसार २५ गतेसम्मका कार्यक्रम तय भएका छन् । त्यसपछि बाँकी जिल्लाको तालिका तयार हुनेछ । कार्यक्रम अन्तरगत सबै जिल्लामा सार्वजनिक संवाद, अन्तरक्रिया र प्रशिक्षणलगायतका कार्यक्रम तय गरिएको छ । अभियानमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका पदाधिकारी सहभागि हुने गुरुङले जानकारी दिनुभयो ।
गोरखामा पोखरीमा डुबेर एक जनाको मृत्यु
गोरखा । सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर यहाँको पालुङटार नगरपालिका–७ मा ५४ वर्षीय कालीबहादुर बरामको मृत्यु भएको छ । खत्रीटार पिप्लेखोल्सीस्थित कटहरेपाटामा पोखरीमा डुबेर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए । बराम अचानक चिप्लिएर उक्त पोखरीमा खसेकोमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको प्रहरीको टोलीले आजमात्र शव फेला पारेको उपरीक्षक सुवेदीले बताए । उक्त पोखरी सिँचाइ प्रयोजनका लागि बाँध लगाइ निर्माण गरिएको थियो । बरामको शव निकालेर घटनास्थलको प्रकृति मुचुल्का उठाइ शव परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उत्तरी नाका बन्द, दसैँका सामान अलपत्र
काठमाडौं । दसैँ नजिकिँदै गर्दा रसुवाको केरुङ (रसुवागढी) र सिन्धुपाल्चोकको तातोपानी नाका बन्द हुँदा लत्ताकपडालगायत चाडपर्वलक्षित सामान डेढ महिनादेखि चीनबाट नेपाल प्रवेश गर्न सकेका छैनन् । रसुवागढीको मितेरी पुल बाढीले बगाएपछि निर्माण कार्य भइरहेको र दसैँअघि नाका खोल्ने सम्भावना नरहेको रसुवा भन्सारले जनाएको छ । तातोपानी नाका पनि बाढी–पहिरोका कारण फेरि बन्द छ । व्यवसायीका अनुसार तातोपानीमा तीन–चार सय गाडी रोकिएका छन् भने अझै सयौँ कन्टेनर रसुवामा अड्किएका छन् । कोलकाताबाट सामान ल्याउँदा समय र खर्च बढी पर्ने भएकाले ठुलो क्षति हुने चिन्ता व्यापारीमा बढेको छ । सरकारले सडक स्तरोन्नति र बेलिब्रिज निर्माण गरी चाँडो नाका खोल्ने प्रयास भइरहेको जनाएको छ । व्यवसायीहरूले कोरला र ओलाङचुङ्गोला नाका पनि सञ्चालनमा ल्याउन माग गरेका छन् । भन्सार तथ्याङ्कअनुसार गत आवमा रसुवाबाट ८५ अर्ब र तातोपानीबाट ५० अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको थियो ।
मेची र विराटनगर नाकाबाट प्लाइउड निकासी ठप्प
विराटनगर । भारतको वाणिज्य विभागले नेपालबाट प्लाइउड बोकेर गएका नौ वटा ट्रक जफत गरेपछि मेची र विराटनगर नाकाबाट यसको निकासी रोकिएको छ । विभागले भारतको डाइरेक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डीआरआई) को सहयोगमा जफत कारबाही गरेपछि नेपाली उद्योगीहरूले निर्यात नै बन्द गरेका हुन् । मेची भन्सार कार्यालयमार्फत निकासी भएका आठ वटा ट्रक भारतीय भन्सार कार्यालय पानीट्याङ्कीमा साउन दोस्रो हप्तादेखि रोकेर गत सातादेखि जफत गरिएको थियो । त्यस्तै, विराटनगर भन्सार कार्यालयबाट गत शनिबार निकासी भएको एउटा ट्रक जोगबनी भन्सारमा रोकेर मंगलबार जफत गरिएको हो । मेची भन्सारका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त कारबाहीपछि सो नाकाबाट प्लाइउड निर्यात रोकिएको छ । उनका अनुसार २२ दिनयता प्लाइउड निकासी रोकिए पनि भेनियर भने निरन्तर निर्यात भइरहेको छ । विराटनगर भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार गत शुक्रबारयता त्यहाँबाट पनि प्लाइउड निर्यात रोकिएको छ । पानीट्याङ्कीमा रोकेर जफत गरिएका ट्रकमा ‘मेड इन इन्डिया’ लेखिएको र बीआईएस (भारतीय मापदण्ड प्रमाणपत्र) पाएका तथा नपाएका उद्योगको सामान मिसाइएको आरोप लगाइएको थियो । उही आरोपमा जोगबनीमा पनि ट्रक जफत भएपछि उद्योगीहरू चनाखो बनेका छन् । नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले बीआईएस प्रमाणपत्र अनिवार्य भएपछि नेपालका उद्योगहरूले तत्काल मिलाउन नसकेको बताए । भारतले आफ्ना मापदण्डअनुसार मात्रै सामान स्वीकृत गर्ने भएकाले नेपालले पनि त्यसअनुसार उत्पादन गर्नुपर्ने उनको भनाइ छ । भारतको अवरोधका कारण चालु आर्थिक वर्षको साउन महिनामा प्लाइउड निर्यात घटेको काँकडभिट्टा भन्सार कार्यालयले जनाएको छ । गत वर्ष साउनमा एक करोड पाँच लाख ४७ हजार ७७१ किलोग्राम प्लाइउड निर्यात भएकोमा यस वर्ष त्यही अवधिमा ५० लाख ६६ हजार ६२९ किलोग्राम मात्रै निर्यात भएको तथ्यांक छ । यस्तै, विराटनगर भन्सार कार्यालयबाट चालु आवको साउनमा नौ लाख ७७ हजार ३९ मेट्रिक टन प्लाइउड निर्यात भएको थियो । तर, गत शुक्रबारदेखि अवरोध सुरु भएसँगै निर्यात रोकिएको छ ।
रोकिएको गैँडा गणना यस वर्ष गरिने
चितवन । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गरिने भएको छ । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो । विभागका महानिर्देशक डा.रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ । सोहीअनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ । उनका अनुसार मङ्सिरमा बाघ गणना सुरु गरिँदैछ । करिब तीन महिना बाघ गणना गर्न समय लाग्ने उनले बताए । एक सिङ्गे गणना चैत महिनामा गर्ने गरी कार्यक्रम अघि बढाइएको छ । गैँडा गणना गर्न एक महिना लाग्दछ । गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिने छ । बाघको गणना पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा गरिन्छ । बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा विभागले रु १८ लाख रकम विनियोजन गरेको छ यसका लागि रु एक करोड ५० लाखभन्दा बढी खर्च हुने गर्दछ । कँडेलले गैँडा गणनाका लागि रु १८ लाख नै विनियोजन गरेको बताए । गैँडा गणना गर्न रु दुई करोड बढी खर्च लाग्ने गर्दछ । बाँकी रकमका लागि दातासँग सहयोग मागिने भएको छ । यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्याङ्क छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने ठाउँमा स्वचालित क्यामेरा राख्ने गरिन्छ । त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघको फोटो हेरेर तिनीको शरीरमा भएको पाटाको आधारमा सङ्ख्या छुट्याइने उनले जानकारी दिए । हरेक बाघको पाटा (शरीरमा भएका धर्का) फरक–फरक हुने गर्दछन् । गैँडा गणना हात्ती माथि चढेर प्रत्यक्ष हेरेर (रियल टाइममा) गरिन्छ । नेपालमा सन् २००९, सन् २०१३, सन् २०१८ पनि बाघ गणना भएको थियो । सन् २००९ को गणनामा देशैभर १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए । सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिव १०० को हाराहारीमा झरेको थियो । नेपालमा सन् १९५० को दशकमा ८०० वटा गैँडा रहेको अनुमान छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८, शुक्लाफाँटमा आठबाट बढेर १८ पुगेको थियो । नेपालमा सन् १९५० मा ८००, सन् १९५५ मा ४००, सन् १९६० मा ३००, सन् १९६५ मा १००, सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०,सन् १९९० मा ३५८, सन् १९९५ मा ४६६, सन् २००० मा ६१२, सन् २००५ मा ४०९, सन् २०१० मा ४३५ र सन् २०१५ मा ६४५ र सन् २०२१ मा ७५२ गैँडा फेला परेको तथ्याङ्क छ ।
सप्तरीकाे महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको निधन
सप्तरी । सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८ वर्षको उमेरमा आज निधन भएको छ । महदेवा गाउँपालिका–३, बथनाहा निवासी यादव जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार थिए । लामो समयदेखि उनी क्यान्सर रोगबाट पीडित रहेका थिए । चिकित्सकको निगरानीमा उपचाररत रहेका उनको आफ्नै निवासमा निधन भएको जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले जानकारी दिए । यसैबिच यादवको निधनप्रति जसपा सप्तरीले गहिरो दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ । प्रजातान्त्रिक आन्दोलन, जनआन्दोलन र मधेस आन्दोलनमा समेत उनले सक्रिय सहभागिता जनाएका थिए । उनका एक छोरा, एक छोरी र पत्नी छन् ।
मोरङ कारागारमा महिला कैदी मृत फेला
विराटनगर । मोरङ जिल्ला कारागारमा एक महिला कैदी मृत फेला परेकी छन् । कारागारको शौचालयमा सुनसरी बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधा भट्टराई (राधिका) झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । भट्टराई २०८० माघ ५ गतेदेखि कैद भुक्तान गरिरहेकी थिइन् । उनलाई सुनसरी जिल्ला अदालतले २०८१ कात्तिक ७ गते कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो । दुई नाबालक सन्तानसहित नहरमा हामफाल्दा दुवै सन्तानको मृत्यु भएपछि भट्टराईविरुद्ध मुद्दा चलेको थियो । कारागार प्रशासनका अनुसार बिहान ४ः३० बजे शौचालयमा उनको शव भेटिएको हो । कारागारका जेलर गौरव ढुङ्गेलले घटनाबारे जानकारी दिँदै मृतक कैदी उपचाररत रहेको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भट्टराई मानसिक समस्याबाट पीडित थिइन् र परामर्शदाता चिकित्सकमार्फत नियमित उपचार हुँदै आएको थियो ।
मनसुनको न्यून चाप सरदर स्थानमा, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रहने पूर्वानुमान छ । यी प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । साथै लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । आज राति देशभर सामान्यतया बदली रहनेछ । देशका पहाडी भूभागका धेरै स्थान र अन्य थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग साथै लुम्बिनी र कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । सतर्कता कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
ओली सरकारको न्याय: बलात्कार आरोपीलाई चैन, जनताको कुरा गर्ने मंगलसिंहहरुलाई ऐन ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि पछिल्लो समय गम्भीर प्रश्नहरू उठिरहेका छन्। सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउँदै सामाजिक अभियन्ताहरूलाई निशाना बनाएको आरोप लागिरहेको छ, जबकि सत्तारूढ दलका नेताहरूमाथि लागेका गम्भीर अपराधका आरोपहरूमा अनुसन्धान प्रक्रिया सुस्त देखिएको छ। जनताको कुरा गर्ने मंगलसिंह १० दिनदेखि हिरासतमा सामाजिक अभियन्ता मंगलसिंह प्रजालाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ। सरकारका गलत गतिविधिहरूको सामाजिक सञ्जालमार्फत आलोचना गरेको भन्दै उनलाई पक्राउ गरिएको हो। प्रजामाथि साइबर अपराधसम्बन्धी कानून लगाएर पक्राउ गरिएको १० दिन भएको छ । प्रधानमन्त्री ओलीको सचिवालयको ठाडो आदेशमा प्रजालाई पक्राउ गरिएको थियो । प्रजाका आफन्तहरूले उनको अवस्था अज्ञात रहेको भन्दै खोजीका लागि आग्रह गरेका छन्। प्रजा पहिले माओवादी जनमुक्ति सेनामा आवद्ध थिए। उनले सामाजिक सञ्जालमा सरकारको अनियमितता र गलत कार्यहरूको खुलेर आलोचना गर्दै आएका थिए। यो घटनाले सरकारले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित गरिरहेको भन्दै आलोचकहरूले चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा सरकारको आलोचना गर्नेहरूलाई साइबर कानूनको दुरुपयोग गरी दबाउन खोजिएको यो पहिलो घटना भने होइन। ओली नेतृत्वको सरकारले निरन्तर आफ्ना आलोचकलाई निशाना बनाइरहेको छ । विपक्षी नेताहरुदेखि सरकारको गलत कामका बारेमा प्रश्न उठाउनेविरुद्ध प्रधानमन्त्री ओलीकै निर्देशनमा आतंकित पार्ने काम भइरहेको छ । ऐनलाई एमाले नेता भएकै कारण जघन्य अपराधमा उन्मुक्ति ? प्रधानमन्त्री ओलीको पार्टी नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर भने गम्भीर आरोपहरूका बाबजुद हाजिरी जमानीमा रिहा भएका छन्। सामाजिक सञ्जालमार्फत चरित्र हत्या र गालीबेइज्जती गरेको आरोपमा पक्राउ परेका महरलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बयानपछि हाजिरी जमानीमा एक घन्टामै छाडेको हो। महरविरुद्ध बझाङ निवासी एक महिलाले गालीबेइज्जती र चरित्र हत्यासम्बन्धी जाहेरी दिएकी थिइन्। यसअघि, उनलाई बलात्कारको आरोपमा पनि जाहेरी परेको थियो, तर काठमाडौं प्रहरी र सरकारी वकिल कार्यालयले उक्त जाहेरीलाई तामेलीमा राख्ने निर्णय गरेको थियो। तर, उच्च अदालतले तामेलीमा राख्ने निर्णयलाई गलत ठहर गर्दै महरविरुद्ध बलात्कार मुद्दामा थप अनुसन्धान गर्न परमादेश जारी गरेको छ। एमालेका केन्द्रीय सदस्य महरले सत्ताको आडमा आफ्नो जाहेरीमाथि अनुसन्धान रोकेको भन्दै ती पीडित महिलाले विभिन्न निकायमा उजुरी दिएकी थिइन्। ओली राजमा जनतालाई कानून, एमाले कानून भन्दा माथि ? यी दुई घटनाले ओली सरकारमाथि दोहोरो मापदण्ड अपनाएको गम्भीर आरोप लागेको छ। एकातिर, सामाजिक अभियन्ताहरूले सरकारको आलोचना गर्दा तत्काल पक्राउ पर्ने र साइबर कानूनको दुरुपयोग हुने गरेको छ, भने अर्कोतिर सत्तारूढ दलका नेताहरूमाथि गम्भीर आपराधिक आरोप लाग्दा पनि उनीहरू सजिलै उम्कने गरेको देखिन्छ। मंगलसिंह प्रजाको पक्राउ र ऐन महरको रिहाइले सरकारको नियतमाथि प्रश्न उठाएको छ। सामाजिक सञ्जालमा पनि यी घटनालाई लिएर व्यापक आलोचना भइरहेको छ। धेरैले सरकारले आफ्ना आलोचकहरूलाई दबाउन कडा कदम चाल्ने, तर सत्तापक्षका नेताहरूलाई संरक्षण दिने नीति अपनाएको आरोप लगाएका छन्। मंगलसिंह प्रजाको पक्राउ र ऐन महरको रिहाइले नेपालको वर्तमान न्यायिक प्रणालीमाथि पनि गम्भीर प्रश्न उठाएको छ। अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने र सत्ताको दुरुपयोग गरी गम्भीर अपराधका आरोपीलाई संरक्षण दिने कार्यले सरकारको विश्वसनीयतामाथि प्रश्नचिह्न खडा भएको छ।
वीरगञ्जमा हैजा सङ्क्रमितको संख्या १३२ पुग्यो
वीरगञ्ज । वीरगञ्जमा गएको शुक्रबार तीन जनामा संक्रमण पुष्टि भएको हैजा बुधबार साँझ ६ बजेसम्ममा १३२ जनामा फैलिएको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार बुधबार साँझ ६ बजेसम्म नयाँ १०६ जना झाडापखालाका बिरामी अस्पताल भर्ना भएका छन् । पछिल्लो परीक्षण रिपोर्ट अनुसार हैजाको सङ्क्रमण पुष्टि हुने बिरामीको संख्या १३२ पुगेको छ । वीरगञ्जका विभिन्न अस्पतालमा अहिले झाडापखाला र हैजा पुष्टि भएका गरेर २७१ जना बिरामी उपचाररत छन् । हैजाको सङक्रमण पुष्टि भएका १३२ जना मध्ये ५६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

