माओवादी केन्द्रद्धारा भूकम्प प्रभावितका लागि ५० लाख हस्तान्तरण

काठमाडौं ।प्रधानमन्त्रीको दल नेकपा ( माओवादी केन्द्र)ले भूकम्प प्रभावितका लागि घोषणा गरेको रकम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ।

जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको पुनस्थापना एवं राहतका लागि यसअघि घोषणा गरेको ५० लाख सरकारको खातामा जम्मा गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसाल, प्रमुख सचेतक हितराज पाण्डे लागयतका नेताहरूले सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसमक्ष प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि ५० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

भूकम्पबाट मृतक सबै परिवारलाई किरिया खर्च र राहत प्रदान

रुकुमपश्चिम । गत शुक्रबार आएको भूकम्पका कारण मृत्यु भएका रुकुमपश्चिमका सबै परिवारलाई स्थानीय सरकारले किरिया खर्च र राहत सामग्री उपलब्ध गराएको छ। आठबिसकोट नगरपालिका क्षेत्रमा ४२ जना मृतक र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको थियो । आठबिसकोटका दुई जना र सानीभेरीका दुई जनाको जाजरकोटमा मृत्यु भएको थियो भने आठविसकोटमा जिल्ला बाहिरका चार जनाको मृत्यु भएको थियो । आठबिसकोट र सानीभेरी क्षेत्रमा किरिया कर्म गरिरहेका सबै मृतकका परिवारलाई सम्बन्धित स्थानीय तहले २५ हजार रुपियाँको दरले किरिया खर्च दिइसकेको जानकारी दिएका छन् । आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहका अनुसार किरिया खर्चसँगै राहतसमेत उपलब्ध गराइएको छ । नगरप्रमुख रवि केसी र उपप्रमुख धनकुमारी शाहीको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । सानीभेरी गाउँपालिकाका बाल अधिकार अधिकृत मानवीर ओलीका अनुसार भूकम्पका कारण मृत्यु भएका १२ जना मृतकका घरमा पुगेर २५ हजार रुपियाँको दरले किरिया खर्च र राहत सामग्री बुझाइसकिएको छ । अन्य पीडितहरुलाई पनि तीव्ररुपमा राहत वितरण गरिरहेको उनले जानकारी दिए ।

दुई बिरामी मृत्यु घटना : पाटन अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

ललितपुर । ललितपुरको पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सबै उपचार सेवा ठप्प पार्ने गरी आन्दोलन सुरु गरेका छन्। शनिबार अस्पतालमा मृत्यु भएका दुई बिरामीका आफन्तले अस्पतालका चित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका आवासीय चिकित्सकसहित सम्पूर्ण स्वास्थ्यकर्मीले अस्पतालको सेवा ठप्प पारेका हुन्। गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट एन्टिबायोटिक औषधि दिएको पाँच मिनेटमै मृत्यु भएपछि मृतकका आफन्त उपारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपातमा उत्रेका थिए। सोही घटनाको विरोधमा पाटन अस्पतालका चिकित्सक र स्वास्थ्कर्मी आन्दोलित भएका हुन्। अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्क तथा स्वाथ्यकर्मीले विज्ञप्ति जारी गर्दै कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएसम्म र दोषीलाई पकाउ गरेर कारबाही नभएसम्म आकस्मिक बाहेकका सबै उपचार सेवा बन्द गर्ने जनाएका हुन् । चिकित्सक र स्वास्थ्यकर्मीले उपचारमा संलग्न डाक्टर र नर्सलाई कुटपिट, गालीगलौज, दुव्र्यवहार र ज्यान मार्ने धम्की दिँदै बन्धक बनाइ स्वास्थ्य सेवा प्रवाहमा दखल पुर्याएको र प्रशासनले दोषीलाई पक्राउ गरेर कारबाही नगरेको आरोप लगाएका छन्। हेर्नुहोस् विज्ञप्ति

बागलुङ ढोरपाटनमा ट्याक्सी भीरबाट सय मिटर तल खस्दा २ युवाको मृत्यु

काठमाडौं । बाग्लुङमा ट्याक्सी दुर्घटना हुँदा दुईजना युवाको मृत्यु भएको छ। जिल्लाको बडिगाडबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गएराति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। दुर्घटनामा ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। केसीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्सी सडकबाट झन्डै एक सय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

परकम्पबाट जाजरकोट र रुकुम पश्चिमा १३ जना घाइते

काठमाडौं । सोमबार गएको परकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १३ जना घाइते भएका छन् । अपराह्न साढे ४ बजे रामीडाँडा केन्द्रबिन्दु भएर गएको परकम्पबाट जाजरकोटमा २ जना र रुकुम पश्चिममा ११ जना घाइते भएको प्रारम्भिक विवरण आएको गृह मन्त्रालयले जनाएको छ ।

भुकम्प पीडितलाई राखेपको सहयोग

काठमाडौं । जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राती गएको भुकम्पबाट पीडित परिवारलाई राहतका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ९ लाख ६० हजार ६८ रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा आइतबार बसेको बैठकले परिषद्का पदाधिकारी तथा सम्पूर्ण कर्मचारीहरुको एक दिन बराबरको पारिश्रमिक बापतको उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । बैठकमा परिषद्का उपाध्यक्ष शिव कोईराला, सदस्यहरु, विभागीय प्रमुख, शाखा प्रमुख तथा राखेप कर्मचारी संघका पदाधिकारीहरुको उपस्थिति थियो । बैठकले भूकम्प परि ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदन व्यक्त गरेको छ ।

आजको मौसम : यी भू–भागमा हिमपात

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ । विभागका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

जाजरकोटमा नौ मिनेटको अन्तरमा चार म्याग्निच्युडमाथिका दुई धक्का

काठमाडौं । जाजरकोटमा सोमबार अपराह्न नौ मिनेटको अन्तरमा चार म्याग्निच्युडमाथिका भूकम्पका दुई धक्का मापन गरिएको छ । अपराह्न ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ५.८ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । त्यसको नौ मिनेटपछि अर्थात् अपराह्न ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक आसपास केन्द्रविन्दु भएको ४।५ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जनाएको छ । गएको शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

जाजरकोटमा फेरि ५.८ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौं । जाजरकोटमा सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा पुनः भूकम्पको धक्का मापन गरिएको छ । जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ५.८ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । गएको शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का सोही भूकम्पको परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बाह्रखरीलाई जानकारी दिए । ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।  

भूकम्प लगत्तै उद्धार र उपचारमा देखाएको सक्रियताप्रति रास्वपाद्धारा सरकारको प्रशंसा

काठमाडौं । संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डसँग भेटघाट गरेको छ ।सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबार रास्वपाका उपसभापति एंव सांसद डोरप्रसाद अर्याल, सांसदहरू मनिस झा , सुमना श्रेष्ठ, सोविता गौतम लगायतले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी भूकम्पपछि प्रधानमन्त्रीले चालेका कदमको खुलेर प्रशसा गरेका हुन् । भेटघाटका क्रममा रास्वपाका नेताहरूले शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्प पछि राहत तथा उद्धारमा सरकार एंव प्रधानमन्त्र स्वंयमले देखाएको सक्रियताको खुलेर प्रशसा गरेका छन् । रास्वपाले उद्धार र उपचारको लागि सरकारलाई धन्यवाद दिंदै एकद्वार प्रणाली भन्दै गर्दा राहतमा कोही नछुटुन भन्ने सुझाव समेत दिएको छ । साथै, सडक पहुँच नभएकोलाई प्राथमिकतामा राख्दै चिसोको बेला पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन आग्रह गरेको छ । सो क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएका प्रायः सबैजसो माग क्याबिनेट र विपत्त प्राधिकरणबाट निर्णय गराएको बताए । सबैभन्दा टाढा र सबैभन्दा गरिबलाई पहिलो प्राथमिकता भन्ने आफ्नो निर्देशन र रास्वपा पार्टीको भावना मिले उनले बताए ।

कोसीमा एमाले प्रतिपक्षमा बस्ने, समर्थन फिर्ता नलिने

काठमाडौं । कोसी प्रदेशमा नेकपा (एमाले) संसदीय दलको बैठकले प्रदेशसभामा प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । सरकारबाट शनिबार बाहिरिएपछि सोमबार बसेको संसदीय दलको बैठकले एमालेकै समर्थनमा बनेको सरकारमा पछि विश्वासको मत दिएका सबैलाई राखेर एमालेलाई नै कर्नरमा पार्ने प्रयास भएको निष्कर्ष निकाल्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार एमाले प्रतिपक्षमा बसे पनि मुख्यमन्त्रीलाई दिएको विश्वासको मत भने फिर्ता लिने छैन ।

राष्ट्रपतिको युरोप भ्रमण स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर राष्ट्रपति पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गरेको जानकारी गराएका हुन् । जाजरकोट भूकम्पका कारण देशमा धेरै जनधनको क्षति भएको भन्दै यस्तो दुःखका समयमा आफूले विदेश भ्रमण नगर्ने जानकारी दिएको राष्ट्रपतिको सचिवालयले जनाएको हाे ।  

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चिनी उत्पादक उद्योगहरूसँग समन्वय गरेको थियो । तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङमार्फत किन्ने प्रबन्ध गरिएको कार्यालयले जनाएको छ । यसका साथै अवैधरूपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालित गरिएका थिए । प्रधानमन्त्री कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले राजधानी काठमाडौंका विभिन्न स्थानमा अवैधरूपमा पठाइएका सयौँ बोरा चिनी बरामद गरेको थियो । उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आफ्ना आउटलेट, खुद्रा बिक्रेता संघ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्रीवितरण गरेपनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारीले समेत दश बोरा चिनी बिक्रीवितरणका लागि किन्न पाउने भएका छन् । यो चिनी प्रतिकिलो ११५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ । खुद्रा व्यापारी तथा व्यवसायीहरूले आजदेखि साल्ट ट्रेडिङको कालीमाटी शाखा र भोलिदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन् ।

जाजरकोट भूकम्प : उद्धार सकियो, अब राहतपछि अस्थायी आवास निर्माण

काठमाडौं । जाजरकोट भूकम्पपछि शुक्रबार रातिदेखि जारी खोजी तथा उद्धार कार्य अब सकिएको सरकारले जनाएको छ । राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकार अब राहत पुर्‍याउनमा केन्द्रित भएको छ । हिजोबाटै केही स्तरमा सुरु भएको त्यो काम तीन दिनसम्म चल्ने छ । चाहिने जति राहत सामग्री उपलब्ध भइसकेको प्रधिकरणले जनाएको छ । केही सामान पुग्न थालेको छ भने केही हिँडिसकेका अवस्था छ ।राहत सामग्री पुर्‍याउने काममा तीनवटै सुरक्षा बल – नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना – परिचालन गरिएको छ। सरकारले एकद्वार प्रणालीमार्फत्‌ राहत वितरण गर्ने निर्णय गरिसकेको छ। त्यसो गर्दा विगतको भूकम्पमा जस्तो राहत सामग्रीको दुरुपयोग रोकिने बताइएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षभित्र पुनर्निर्माणको काम सकिने बताएका छन्।

जाजरकोट भूकम्प : मृतक अधिकांश बालबालिका र महिला

सुर्खेत । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएका मध्ये झन्डै आधा संख्या बालबालिका रहेको पाइएको छ भने भूकम्पमा परी मृत्यु हुने बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकानुसार कात्तिक १७ गते राति गएको भूकम्पमा परी मृत्यु भएका १५७ मध्ये ७८ बालबालिका रहेका छन् । भूकम्पमा परी जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ बालबालिकाको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झन्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा मृत्यु भएका १०५ मध्ये बालक २७ र बालिका २३ रहेका रोकाले बताए । भूकम्पमा परी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए । उनले भने, “रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएका मध्ये अधिकांश बालबालिका छन् । दुईजना १० महिनाका बालबालिकाले समेत ज्यान गुमाएका छन् ।” बेला–बेलामा हुने यस्ता विपद्मा महिला, बालबालिका र ज्येष्ठ नागरिकसँगै अपांगता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन् । रासस  

१६औँ योजनाका लागि दैश दौडाहामा योजना आयोग, सदस्यहरूको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन

काठमाडौं। राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेका छ । सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो । आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी छन् । आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने प्राकृतिक विपित्तिका कारण तत्काललाई स्थगित गरिएको छ । बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ । कसको नेतृत्वमा कुन प्रदेश ? आयोगका प्रवक्ता सहसचिव भुसालका अनुसार कात्तिक २० गते आज र भोलि २१ गते बागमती प्रदेशको हेटौडा, मधेश प्रदेशको जनकपुर र सुदुरपश्चिम प्रदेशको धनगढीमा छलफल कार्यक्रम राखिएको छ । यसका लागि आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. जयकान्त राउत, डा. रामकुमार फुयाँल र डा. अनिता शाह ढुंगानाको नेतृत्वमा छुट्टछुट्टै टोली परिचालन गरिएको छ । यस्तै कात्तिक २३ र २४ गते कोशी प्रदेशको विराटनगर र लुम्बिनी प्रदेशको बुटवलमा छलफल कार्यक्रम राखिएको प्रवक्ता भुसालले जानकारी दिए । उनका अनुसार यि दुई प्रदेशका लागि आयोग सदस्य डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने भूकम्पका कारण टोली रोकिएको उनले जानकारी दिए । प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रहरुको समेत सुझाव संकलन गरेर १६औँ पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ ।