जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १३८ पुग्यो

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार भूकम्पका कारण संरचना भत्कँदा जाजरकोटमा १०० र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको हो ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १६६ जना घाइते भएका छन् । जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पीडितको राहत र उद्धारका लागि सुदूरपश्चिम सरकारले एक करोड सहयोग गर्ने

काठमाडौं । सुदूरपश्चिम सरकारले कर्णाली प्रदेशका भूकम्पीडितको राहत र उद्धारका लागि तत्काल एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आकस्मिक बैठक बसेर सहयोग गर्ने निर्णय गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । विज्ञप्तिमार्फत उनले स्वास्थ्य सामग्रीसहित २० जना स्वास्थकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने जानकारी दिए । “सुदूरपश्चिम प्रदेश सरकारको आज बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार उक्त क्षेत्रमा सहायता पुग्ने गरी तत्काल रु १ करोड रुपैयाँ र स्वास्थ्य सामाग्री सहित २० जना स्वास्थकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय गर्दै थप आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ,” विज्ञप्तिमा लेखिएको छ । प्रदेश सरकारले भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न भूकम्पमा परी पुरिएकाहरुको खोज, उद्धार र घाइतेहरुको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतका स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न संघसस्था र नागरिक समाजसँग आग्रह गरेको छ ।

भारत सबै सम्भव सहयोग गर्न तयार छ : प्रधानमन्त्री मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । नेपालको जाजरकोटमा शुक्रबार राती ६.४ म्याग्निच्युटको भूकम्प गएपछि भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत यस्तो प्रक्रिया दिएका हुन् । प्रधानमन्त्री मोदीले भनेका छन्, ‘‘भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो साथ शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’’ शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२९ पुगेको छ । नेपाली प्रहरीले विहान ८ः१५ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।

रुकुम पश्चिममा मृत्यु हुनेको पहिचान (नामावली सहित)

रुकुम पश्चिम। शुक्रवार राती आएको भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा जिल्लाको आठविसकोट नगरपालिकाका १८ र सानी भेरी गाउँपालिकाका १० जना रहेका छन् । मृत्यु हुनेहरूमा आठविसकोट नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ३५ की शिला कामी, वर्ष १३ की सिर्जना कामी, वर्ष ९ की रिया कामी, वर्ष ६ की दिया कामी, वर्ष ४ की आशा कामी, १८ महिनाकी एलिसा कामी रहेका छन् । त्यसै गरी सोही नगरपालिका वडा नम्बर १२ सानीबार्खु बस्ने वर्ष १४ को रमेश पुन र वर्ष १३ को डिल बहादुर के.सी., वडा नम्बर १४ को वर्ष वासु बुढा, वर्ष ३० की अमृता जैसी, वर्ष ५ की भावना जैसी, वर्ष २ को दिपेन जैसी, वर्ष १२ की सरिता वि.क., वर्ष १३ को मदन गौतम र वर्ष ८३ को करे नेपालीको मृत्यु भएको छ । भूकम्पमा परेर पूर्वी रुकुम घर भई आठविसकोट नगरपालिका वडा नं १४ मा कोठा भाडामा बस्ने गाडी चालक वर्ष ३० को किस्मत पुन मगर, जिल्ला बर्दिया घर भई कामको सिलसिलामा आएका वर्ष ४७ को खड्का वि।क। र वर्ष ३६ को अनिल वि।क।को पनि मृत्यु भएको छ । त्यसै गरी सानी भेरी गाउँपालिका वडा नम्बर १ चाइना बगर बस्ने वर्ष ३१ को धनवीर पुन, वर्ष २८ को चुम्निमा पुन, वर्ष ८ को यमराज पुन, वर्ष २ की सितम पुन, वडा नं २ परियार टोल बस्ने वर्ष १२ की मनीषा परियार, वडा नं ४ बस्ने वर्ष २५ की सन्तदा दमाइ, वर्ष ६ को कृष्ण परियार, वर्ष ८ को निर्जल चन्द, १० महिनाको शिशु रेजन ओली ९रेगन० र वडा नम्बर १ की ६० वर्षीया सरस्वती बिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शुक्रवार राती ११ः४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६।४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । स्वास्थ्यकर्मीको टोलीसहित बिहानै जाजरकोट पुगेका उनले जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनुवारसँग भूकम्पले पुर्याएको क्षतिको विवरण लिएका छन् । प्रधानमन्त्री प्रचण्ड स्थलगत अवलोकन गर्नेछन् ।

भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् । उनले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सफा रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

भूकम्पबाट रुकुमको आठविसकोटमा १४ ज्यान गयो, ५० जना घाइते

काठमाडौं । जाजरकोट भूकम्पबाट रुकुमको आठविसकोट नगरपालिकामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । नगरपालिका मेयर रवि केसीले अहिलेसम्म १४ जनाको मृत्यु पुष्टि भएको र उद्धार भइरहेकाले अझै बढ्न सक्ने जानकारी दिए । उनका अनुसार अहिलेसम्म झन्डै ५० जना घाइते भएको पुष्टि भएको छ ।संख्या थप बढ्ने बताइएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु बनाएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पबाट जाजरकोटमा मृत्यु हुनेको संख्या ९२ पुग्यो

काठमाडौं । जाजरकोटमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ । आठ जना गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । अहिलेसम्म ९२ जनाको मृत्यु भएको पुष्टि भएको र यो संख्या थप बढ्नसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार ५५ जना घाइते भएका छन् । गाउँगाउँमा ठूलो संख्यामा घाइते भएको हुनसक्ने तर विवरण आउन नसकेको बताइएकाे छ ।

मन्त्रिपरिषद्‌बाट राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल हप्ता दिन लामो युरोपेली देशको भ्रमणमा निस्कने भएका छन् । उनको भ्रमण तालिका नेपाल सरकारले स्वीकृत गरेको छ । बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको साता बढी लामो भ्रमण स्वीकृत गरेको हो । उक्त बैठकको निर्णय पत्रकार सम्मेलन गरेर शुक्रबार सरकारले जानकारी गराएको छ । राष्ट्रपति पौडेलले कार्तिक २२ गते प्रस्थान गरेर मंसिर १ गते नेपाल फर्कनेछन् । “राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सोपश्चात् संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न मिति २०८० साल कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मिति २०८० मंसिर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको छ,” निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।

भरतपुर अस्पताल वा क्यान्सर अस्पतालमा रक्त संचार केन्द्र निमार्ण गर्न सकिन्छ : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त संचार केन्द्र निर्माण गर्न सकिने बताएकी छिन्। नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले शुक्रबार भरतपुरको मेघौलीमा आयोजना गरेको प्रधानध्यापक, क्याम्पस प्रमुख र प्राचार्यका लागि एक दिने गोष्ठीलाई उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा रक्त संचार केन्द्र निर्माण गर्न सकारात्मक रहेको उल्लेख गरिन् । ‘भरतपुर अस्पताल परिसरमा केन्द्रका लागि ५ कठ्ठा जग्गा व्यवस्थापन गर्न सकिन्छ, उनले भनिन्,‘क्यान्सर अस्पतालमा पनि केन्द्र निर्माण गर्न सकिन्छ । दुबै अस्पतालमा सम्भव नभए महानगरले सार्वजनिक जग्गा खोजी गर्छ ।’ महानगर प्रमुख दाहालले भरतपुरमा भईरहेको रगतको अभावलाई परिपूर्ती गर्न रक्त सञ्चार केन्द्रको आवश्यकता वृद्धि हुँदै गइरहेको बताइन् । पछिल्लो समय भरतपुरमा रक्त दान गर्नेलाई अण्डा तथा जुस खानको लागि एक व्यक्ति बराबर रु. १०० उपलब्ध गराउदै आएको छ । मेडिकल सिटीको भरतपुरमा भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा रगतको बढी माग छ । चितवनमा भरतपुर अस्पताल, क्यान्सर र केही निजी अस्पतालहरुमा ब्लड बैँकहरु छन् । महानगरपालिका प्रमुख दाहालले भरतपुरमा विषेशज्ञ सेवासहितको सेवा दिने अस्पताल धेरै भएकाले रगतको माग बढ्दै गएको उल्लेख गरिन् । नेपाल रेडक्रस सोसाइटीका भवन निर्माण, एम्बुलेन्स खरिदमा साझेदारीमा धेरै कार्य गरेकाले रक्त संचार केन्द्र निर्माण पनि महानगरपालिका सधैव तयार रहेको उल्लेख गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले रेडक्रसको मर्मलाई आत्मसाथ गरी सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने बताइन् । उपप्रमुख अधिकारीले रेडक्रस र स्काउटलाई प्रर्वद्धन गर्न विषेश कार्यक्रममार्फत सहकार्य भईरहेको पनि उल्लेख गरिन् । कार्यक्रममा भरतपुर महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडल लगायत रेडक्रसका पदाधिकारीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । एक दिने गोष्ठीमा रेडक्रसलाई विस्तार गर्ने, थप नयाँ कार्ययोजना साथ अगाडि बढ्ने विषयमा प्रशिक्षण दिइने बताइएको छ ।

रेशम चौधरीको आममाफी विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ कात्तिकको २३ गते

काठमाडौं । सरकारको सिफारिसमा आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आगामी कात्तिकको २३ गते हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफीविरुद्ध कैलाली नरसंहारमा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफन्तले दिएको मुद्दाको सुनवाइ कार्तिक २३ गतेका लागि तोकिएको छ । सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीविरुद्ध अधिवक्ता राधिका खतिवडा लगायतका दर्जनौं कानुन व्यावसायीहरूले विधिको शासन स्थापित गराउन न्यौपानेको परिवारको पक्षबाट निःशुल्क वकालत गर्दै आएका छन् । सर्वोच्चले जन्मकैदको फैसाला सुनाएको केही दिनमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उन्लाई बाँकी कैद मिनाहा गरी आममाफी दिएको थियो ।

दुई पाइलटको झगडा : रामेछाप विमानस्थलका प्रमुख निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछाप विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानस्थलका प्रमुख थापाले समयमा घटनाको बारेमा प्राधिकरणलाई जानकारी नगरेको भन्दै अर्को सूचना नआउन्जेलसम्मका लागि निलम्बन गरिएको हो । शुक्रबार बिहान उक्त विमानस्थलमा तारा एयरका दुई पाइलटबीच झगडा भएको थियो । शुक्रबार बिहान उक्त विमानस्थलमा तारा एयरका दुई पाइलट सन्जीव श्रेष्ठ र सन्तोष शाहबीच झगडा भएको थियो । प्राधिकरणले दुई पाइलटलाई निलम्बन गरिसकेको छ ।

आममाफी बदर : रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गर्नुपर्ने

काठमाडौं । रिगल डन भनिने योगराज ढकाललाई बाँकी कैद भुक्तानका लागि कारागार चलान भएका छन् । सर्वोच्च अदालतको फैसलालगत्तै नेपालगञ्जबाट पक्राउ परेका रिगललाई प्रहरीले आज बाँके जिल्ला अदातमा उपस्थित गराएको थियो । जिल्ला अदालत बाँकेले रिगललाई बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार पठाएको हो । नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा रिगलले राष्ट्रपतिबाट आममाफी पाएका थिए । उनको आममाफीविरुद्ध रिट निवेदन लिएर भारती मानन्धर सर्वोच्च गएकी थिईन् । उक्त रिट निवेदनको सुनुवाइ गर्दैै सर्वोच्चको पूर्ण इजलासले रिगलको आममाफी बदर गरिदिएको थियो । सर्वोच्चले रिगललाई अब ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न भनेको छ । सर्वोच्चको सोही आदेश बमोजिम जिल्ला अदालत बाँकेले कैदी पूर्जीसहित रिगललाई कारागार पठाएको हो ।

दुईवटा विद्युत वितरण सबस्टेसन उद्घाटन

काठमाडौं । नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३ ११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्वारा केएफडब्लु विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातमाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सबस्टेसनको बिहीबार उद्घाटन गरिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र केएफडब्लुका नेपाल तथा बङ्गलादेश क्षेत्रीय कार्यालयका निर्देशक माइकल समशेर हेलिस्टनले संयुक्त रुपमा रातामाटे सबस्टेसन उद्घाटन गरे । यसैगरी, प्राधिकरणका कार्र्यकारी निर्देशक घिसिङ र केएफडब्लुका दक्षिण एशियाका लागि उपनिर्देशक क्रिस्टोफ क्रिगरले संयुक्त रुपमा कालिकास्थान सबस्टेसनको उद्घाटन गरेका छन्। उक्त सबस्टेसनहरुबाट स्थानीय रुपमा विद्युत् आपूर्ति दिइएको छ । जर्मन सरकारले केएफडब्लु विकास बैंकमार्फत २०७२ सालको विनाशकारी भूकम्पपछि नुवाकोट र रसुवाको विद्युत् वितरण प्रणाली सञ्जाल पुनर्निर्माण, विस्तार तथा सुदृढीकरणका लागि ५० लाख युरो ९करिब ७० करोड रुपियाँ० अनुदान रकम दिएको थियो । उक्त अनुदान रकमबाट दुईवटा वितरण सबस्टेसन, ३३ केभी, ११ केभी र एलटी लाइन निर्माण गरिएको छ । यसबाट दुई जिल्लाका एक हजार दुई सयभन्दा बढी घरधुरीले भरपर्दो विद्युत् उपभोग गर्न पाउनेछन् ।  

काठमाडौंका यी स्थानमा भोलि चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । काठमाडौंका केही स्थानमा शनिबार (भोलि) चार घण्टा विद्युत् आपूर्ति बन्द गरिने भएको छ । स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मतका निम्ति नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गर्न लागेको हो । सिंहदरबार परिसरभित्रका सबै कार्यालय, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल र रातोपुल क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यी क्षेत्रमा शनिबार बिहान ७ देखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ । “यस नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्न बन्द गर्नुपर्ने भएकोले सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसरभित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा मिति २०८०/०७ -१८ गते बिहान ०७ः०० बजेदेखि ११ः०० बजेसम्म तथा बागबजार विद्युत् आपूर्ति बन्द हुने व्यहोरा सम्पूर्ण महानुभावहरूलाई जानकारीका लागि अनुरोध छ,” प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ, “यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण क्षमाप्रार्थी छ ।”