अर्थतन्त्रको दवाव हटाउन राष्ट्रिय गोलमेच गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र संकटमुक्त भइसके पनि दवावमुक्त हुन नसकेको उल्लेख गर्दै अर्थतन्त्रको दवाव हटाउन राष्ट्रिय गोलमेचको तयारी गरेको बताएका छन् ।

बुधबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रको दवाव हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताएका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो। तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छ। विदेशी मुद्राको सञ्चिति, राजश्व संकलन र परिचालन, पर्यटक आगमन, बिप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा हामी प्रगतितिरै छौं। तर, अर्थतन्त्र अझै पनि दवावमुक्त भइसकेको छैन। अर्थतन्त्रको दवाव हटाउने कुरा हाम्रा लागि सबैभन्दा ठूलो कार्यभार हुन आएको छ।’’

प्रधानमन्त्रीले थपे, ‘‘सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दवाव हट्दैन भन्ने मलाई राम्रोसँग हेक्का छ। तसर्थ, छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत बैठकको आयोजना गर्छौं। मैले नै त्यसको अध्यक्षता गर्छु। उक्त अन्तरक्रियाको निष्कर्षलाई कार्ययोजनामा ढाल्न विज्ञहरूको टीम बनाएर सोहीबमोजिम नीति र कार्यक्रम बनाउँछौं।’’

‘‘हाम्रो बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग गरेको छैन। परम्परागत ढंगले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न सक्दैन’’ प्रधानमन्त्रीले भने, ‘‘नीति कार्यक्रम पेश गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने हाम्रो प्रणाली र तरिका गलत छ। लोकतन्त्रमा सबै प्रस्तावहरूमाथि छलफल हुन्छ, अन्तरक्रिया हुन्छ र संशोधन पनि हुन्छ। तसर्थ, आगामी वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ। पहिला नीति, कार्यक्रम प्रस्तुत गर्ने, त्यसमाथि संसदभित्र र बाहिरसमेत गम्भीर बहस गरेर मात्र संशोधनसहित पारित गर्नुपर्छ। बजेट पनि प्रस्तुत हुनेबित्तिकै हेरफेर नभई पारित हुने पद्धति बदल्नुपर्छ। यसपटक हामी बदल्छौं।’’

प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रका विरूद्ध षड्यन्त्र भइरहेको भन्दै १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्तिहरू एकठाउँ उभिएर त्यसलाई परास्त गरिने बताए। प्रधानमन्त्रीले भने, ‘‘हिजो कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्तिहरू नै शान्तिको कुरा गर्दैछन्, जनताको कुरा गर्दैछन्। जनताको भावना भड्काएर परिवर्तन उल्टाउन सकिन्छ कि भन्ने कसैले नसोच्दा हुन्छ, त्यस्ता षड्यन्त्र लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गरिन्छ।’’

वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या

काठमाडौं । वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ । उक्त समस्याका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि आवश्यक पर्ने अनलाइन प्रणालीका कागजात एवम् अन्य काम गर्न नसकिएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेशनबाट हुने गरेको श्रमिकको ओरेन्टेशन र बायोमेट्रिकको कनेक्सनमा समस्या आएकाले पुनः सञ्चालनका लागि काम भइरहेको छ । फेमिसमा देखिएको समस्याकै कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम भने पूर्णरुपमा प्रभावित नभएको उनले बताए । अधिकृत शाहीले,“काम पूर्णरुपमा असर परेको छैन, केही समस्या भएको छ, प्राविधिक साथीहरुले केही दिन यतादेखि काम गरिरहेका छन् ।” यसैगरी विभागले एक सूचना जारी गरी नयाँ र पुनः श्रम स्वीकृतिको लागि फेसिम प्रणालीमा बायोमेट्रिक सेक्सनलाई स्किप गर्ने र ओरेन्टेशन सेक्सनको लागि विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाहरुबाट जारी गरेको दुई दिने अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र फेमिस प्रणालीमा अपलोड गर्ने व्यवस्था मिलाइएकाले सोही बमोजिम गर्नु गराउन हुन सबैलाई अनरोध पनि गरेको छ । रासस

पर्यटन ऐनहरू समय सापेक्ष बनाउन जरुरी छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन ऐनहरू समय सापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। बुधबार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री किराँतीले यस्तो बताउएका हुन् । उनले पर्यटन ऐनहरु पुरानो भएकाले समय सापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए। मन्त्री किराँतीले विदेशी पाहुनालाई जहाजको भाडा नेपालीको भन्दा दोब्बर बनाउँदा विश्व समुदायमा नकारात्मक सन्देश गएको बताए । उनले निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठूलो असहजता रहेको पनि बताए। उनले नेपालको पर्यटनलाई नयाँ ढंगले ब्राण्डिङ गर्नसके पर्यटनबाट समृद्धि सम्भव रहेको जिकिर गरे। मन्त्री किराँतीले हिमाल फोहोर भएको भन्दै सबैले मिलेर सफा गर्नुपर्ने चुनौति रहेको बताए । उनले नेपालमा पर्यटनबाट समृद्धि सम्भव रहेको बताए ।

गोठाटारमा तीन राउण्ड गोली चल्यो, भारतीय नागरिक घाइते

काठमाडौं । काठमाडौंको गोठाटारमा तीन राउण्ड गोली चलेको छ । गोलीबाट एक जना भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौं ३ गोठाटारमा लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरीमाथि करिब साढे एक बजे लागू औषध कारोबारीले आक्रमण गर्दा प्रहरीले जवाफी कारबाही गरेको हो । जवाफी कारबाहीमा भारत वेष्ट बङ्गाल नक्सलबारी घर भएका ४८ वर्षीय मोहमद करिमको दाहिने खुट्टामा गोली लागेको छ। घाइते करिमलाई कान्तिपुर अस्पतालमा उपचार गराइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी बरिष्ठ उपरिक्षक) दिनेश राज मैनालीले बताए । मैनालीका अनुसार घटनामा संलग्न झापाको कचनकवल ८ का ३७ वर्षीय हर्क लिम्बुलाईसमेत लागू औषध जोख्ने तराजुसहित नियन्त्रणमा लिइएको छ । घटनास्थलबाट तीन राउण्ड गोली, एक नाल पेस्तोल र दुई सय ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसमेत बरामद गरेकाले थप अनुसान्धन गरिरहेको प्रहरीले जनाएको छ ।

पत्रकार शर्मामाथि युवासंघले गरेकाे आक्रमण निन्दनीय

काठमाडौं । नेपाल पत्रकार महासंघले नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष एवं चारदिशा अनलाइनका सम्पादक ओम शर्मालाई समाचार संकलनका क्रममा गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को केन्द्रीय कार्यालयमा सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कात्तिक १४ गते मंगलबार बालुवाटारस्थित गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यालयमा नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमका विषयमा समाचार बनाउने उद्देश्यले पत्रकार शर्मा पुगेका थिए । पत्रकार शर्माले समाचार बनाउने उद्देश्यले फोटो खिच्ने क्रममा उनीमाथि राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले सांघातिक आक्रमण गरेको र शर्माको सञ्चार सामग्रीसमेत नियन्त्रणमा लिएर नष्ट गरिदिएको महासंघ बेल्जिएम शाखाले जनाएको छ । एमालेका नेता महेश बस्नेत र एनआरएनएको एक पक्षका अध्यक्ष डा.बद्री के.सी. को उपस्थितिमा भएको कार्यक्रममा पत्रकार शर्मामाथि भएको आक्रमणको यो घटना अत्यन्त निन्दनीय, अशोभनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको शाखाले जनाएको छ । प्रेस स्वतनन्त्रतालाई कुण्ठित गराउने र लोकतन्त्रको समेत उपहास हुने गरी पत्रकारमाथि अपनाइएको यो गुण्डागर्दी र अराजक शैलीले पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण बनेको नेपाल पत्रकार महासंघले जनाएको छ। महासंघले भनेकोछ यो घटनाको सत्यतथ्य छानबिन गरी दोषी जोकोही भए पनि तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई संवैधानिक स्वतन्त्रता एवं भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गर्दछ । साथै, महासंघ घाइते पत्रकार शर्माको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचारको सबै व्यवस्था गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

भ्रमण वर्ष २०२४ : तीन लाख पर्यटक भित्र्याउने तयारीमा भरतपुर महानगर

चितवन । चितवनको भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मा तीन लाख पर्यटक भित्र्याउने गरी काम अगाडि बढाएको जानकारी दिएको छ । भ्रमण वर्ष मनाउने सन्दर्भमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महानगरका प्रमुख रेनु दाहालले एक वर्षमा कम्तीमा तीन लाख पर्यटक महानगरका पर्यटकीय क्षेत्रमा घुम्न आउने गरी तयारी भएको जानकारी दिएकी हुन् । देश आर्थिक रुपमा सवल नभए पनि भ्रमण वर्षको कारण आर्थिक गतिविधि चलायमान गराउन सफल हुने बताइन् । ‘‘पुस १५ गते भव्य रुपमा उद्घाटन गरेर भ्रमण वर्षको सुरुवात गर्नेछौं,’’ मेयर दाहालले भनिन्, ‘‘पर्यटन वर्षका लागि महानगरपालिकाले छ करोड रुपियाँ विनियोजन गरी काम गरेको जानकारी दिइन्।’’ महानगरपालिका भित्र मात्रै ३१ वटा पर्यटकीय केन्द्र रहेकाले यहाँ आउने पर्यटकले भरपुर मनोरञ्जन र नयाँ स्थानको अनुभव लिने उनले बताइन्। चितवन निकुञ्ज, नारायणी नदी देवघाट, क्रुजशिप, दियालो बङ्गलालगायत महानगरको प्रमुख पर्यटकीय क्षेत्र हुन् । मेघौली गोलाघाटको सूर्यास्तसहित विभिन्न दर्जनौं स्थानमा स्वदेशी विदेशी पर्यटक भित्र्याउने गरी तयारी भएको उनको भनाइ छ । उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रकुमार रानाले बाँकी रहेको दुई महिनालाई धेरै उपयोग गरेर तयारीलाई पूरा गर्ने जानकारी दिए।

ढिलो नगरी जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न राष्ट्रसंघका महासचिवको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले ढिलाइ नगरी जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न आग्रह गरेका छन् । आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सबै देशहरूले आफूले प्रस्ताव गरेको ‘एक्सलरेसन एजेन्डा’लाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने,“ सबैभन्दा ठूला उत्सर्जनकर्ताहरूले नेतृत्व लिनुपर्दछ । विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सबै देशहरूले मैले प्रस्ताव गरेको एक्सलरेसन एजेन्डालाई प्रभावकारी बनाउनु पर्छ ।” उनले जलवायु न्याय प्रदान गर्न पनि आवश्यक रहेको बताए । महासचिव गुटरेसले भने,“ विकसित देशहरूले वार्षिक १ खर्ब डलर दिने वाचा पूरा गर्नुपर्छ ।” महासचिव गुटरेसले जलवायु सङ्कटको क्रूर प्रभावको सामना गरिरहेका नेपालका ती समुदायहरूप्रति आफू चिन्तित रहेको बताए । उनले संयुक्त राष्ट्रसंघ उनीहरूको साथमा रहेको उल्लेख गरे । नेपाल र अन्य विकासोन्मुख देशहरूको विकासमा सहयोग गर्न, जलवायु सम्बन्धी कार्यलाई तीव्रता दिन र हालको वैश्विक संकटको सामना गर्न धेरै ठूलो अन्तर्राष्ट्रिय सहयोग चाहिने महासचिव गुटरेसको भनाई थियो ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (कात्तिक १५ गते) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०५ पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर कति

डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो । मंगलबार निगमले विज्ञप्ति जारी गर्दै बुधबारबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ पर्ने छ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।

नेपाल विश्वको मित्र हो : महासचिव गुटेरेस

काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टनियो गुटेरेसले नेपाल विश्वको मित्र भएको बताएका छन् । संघीय सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुँदै गुटेरेसले सो कुरा बताएका हुन्। सभामुख देवराज घिमिरेले सम्बोधनका लागि आग्रह गरेपछि महासचिव गुटेरेसले संसदलाई सम्बोधन गरे । “यो असाधारण देशको भ्रमण गर्न पाउँदा म ज्यादै खुशी छु । मैले देखेका कुराले एक सामान्य सत्यलाई पुष्टि गर्दछन् – नेपाल विश्वको मित्र हो । विश्व नेपालका लागि असल मित्र हुनुपर्छ” उनले भने । संयुक्त राष्ट्र संघले यसलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि सङ्घर्ष गर्न नछाड्ने उनले प्रतिवद्धता जनाए। नेपालमा संघीय सांसदहरुसँग साक्षात्कार हुन पाउनु आफ्नो लागि सम्मानको कुरा भएको उनले चर्चा गरे । मनमोहक नेपालमा पुनः आउन पाउनु आफ्नो लागि सौभाग्य भएको उनले चर्चा गरे। आफू पहिलो पटक नेपालमा सन् १९७० को दशकमा आएको पनि उनले बताए । “जति पटक म यहाँ आएको छु, म छक्क परेको छुँ” महासचिव गुटेरेसले भने, “विगत केही दिनमा मैले देखेका र अनुभव गरेका कुरा मसँग सधैं रहनेछन् । हिमालयमा सूर्यको किरण, जनसमुदायको न्यानोपन र समृद्ध सांस्कृतिक विविधताको अनि पक्कै पनि लुम्बिनीको पवित्रता । म र मेरो प्रतिनिधिमण्डललाई तपाईँहरूको निमन्त्रणा, तपाईँहरूको आतिथ्यता र स्वागतका लागि म नेपाल सरकारलाई धन्यवाद दिन्छु ।” विश्वमा हिंसा र द्वन्द्व चुलिएका बेला आफू नेपालको भूमिमा आएको चर्चा गर्दै महासचिव गुटेरेसले भने, “मध्यपूर्वको द्वन्द्व नेपालबाट हजारौं माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितहरूमध्ये धेरै नेपाली पनि परे । मृत्यु भएका दश नेपाली विद्यार्थीको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र बेपत्ता रहनुभएका विपिन जोशीको सकुशल आगमनका लागि कामना गर्दछु ।” भूराजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेको पनि महासचिव गुटेरेसले भने । जलवायु प्रकोप घातक शक्तिका साथ तीव्र रुपले फैलिइरहेको चर्चा गर्दै उनले भने, “सङ्कटहरूको प्रतिकार्य गर्न विश्वले नेपालबाट धेरै सिक्न सक्छ । यो देश शान्तिको प्रवद्र्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायुसम्बन्धी कार्यको कट्टर समर्थक हो ।” दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग नेपाल आफैले बनाएको उनले चर्चा गरे । विगत २० वर्षको नेपालको शान्ति प्रक्रियाको यात्रा हेर्नलायक रहेको उनले बताए ।

नेप्सेमा १४ अंकको गिरावट

काठमाडौं । नेप्से मंगलबार १४.२९ अंकले घटेर बन्द भएको छ । सोमबार नेप्से ३.०४ अंकले बढेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ०.७६ प्रतिशतले घटेर १८६४.४० विन्दुमा बन्द भएको हो । यस दिन ५७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार ६९ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । सर्वाधिक सेयर मूल्य घट्नेमा सोनापुर मिनरल्स एन्ड आयाल लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य ९।९८ प्रतिशतले घटेर प्रतिकित्ता २५५ रूरुपैयाँ २० पैसा कायम भएको छ । सर्वाधिक सेयर मूल्यवृद्धि महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य ६।०५ प्रतिशतले बढेर प्रतिकित्ता ७७१ रुपैयाँ कायम भएको छ ।

आरके शर्मामाथि युवा संघद्धारा दुर्व्यवहार

काठमाडौं । एनआरएनए कमिटीका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार एंव हातपात गरेका छन् । संघको कार्यालय बालुवाटारमा भएको कार्यक्रममा सहभागी हुन पुगेका शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेका हुन्। कार्यालयमा भएका आरके शर्मालाई युवा संघका कार्यकर्ताले तत्काल कार्यालय छाडेर बाहिर जान चेतावनी दिएका थिए ।त्यसलगत्तै विवाद बढाउन नखोजी शर्मा बाहिरिएको सोही क्रममा उनलाई दुर्व्यवहार गरिएको हो । “उहाँमाथि अपशब्द बोल्दै बाहिर जान भनिएपछि उहाँले विवाद बढाउन चाहनुभएन,” स्रोतले भन्यो, “तर उहाँ निकट ओम शर्मालाई भने कुटपिट भएको छ ।” एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन भनी आफूले प्रश्न गरेको र आफू विदेशमा रहेर पत्रकारिता गरिरहेको ओम शर्मा बताउँछन् । उनी भन्छन्, “केन्द्रीय कार्यालयमा के भइरहेको छ भनेर बुझ्नका लागि जानकारी लिन आएको थिएँ । कन्फ्रेन्स हलमा आउँदा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, बद्री केसीलगायतको कार्यक्रम भइरहेको थियो । एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन ? भनेर प्रश्न गरेपछि ममाथि कुटपिट भएको हो । ममाथि कुटपिट हुन थालेपछि बद्री केसी भाग्नुभयो ।” एनआरएनएको भर्खरै सम्पन्न भएको महाधिवेशनको विवाद अझै सकिएको छैन । महाधिवेशनमा धाँधली गरेर केसी निर्वाचित भएको भन्दै शर्माले एनआरएनएको समिति गठन गरेका छन् । उनले केसीकै नेतृत्त्वमा रहेको समितिले गरेको ईभोटिङमा धाँधली गरिएको बताउँदै आएका छन् ।

नेपालको नवीकरणीय उर्जामा लगानी गर्न बेलायतसंग अर्थमन्त्री महतको आग्रह

बेलायत । अर्थमन्त्री डा.प्रकाशशरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय उर्जामा लगानीका लागि आग्रह गरे । संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा भएको भेटवार्ताका क्रममा अर्थमन्त्री डा.महतले यस्तो आग्रह गरेका हुन् । उनले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित उर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलव्ध गराउन समेत आग्रह गरे । त्यसैगरी उनले बेलायतको तर्फबाट जलवायु परिवर्तनको न्यूनीकरणका लागि गरिदै आएको लगानी नेपालमा थप वृद्धि गर्न अनुरोध गरे। ट्रेजरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताए । उनले ग्रीन फाइनान्स क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलायतको निजी क्षेत्रलाई नेपालको हरित उर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताए । भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नियोग उपपमुख रोशन खनालको पनि सहभागिता थियो । लण्डनस्थित नेपाली राजदूतावासले गर्न लागेको लगानीसम्बन्धी उच्च्स्तरीय सम्मेलनमा भाग लिन लण्डन आएका मन्त्री डा. महतले नेपाली राजदूतावासको आयोजना र डोल्मा फाउण्डेशनको सहकार्यमा सोमबार भएको नेपालको नवीकरणीय उर्जाको विकासमा दीर्घकालीन वित्तीय विकल्प विषयक अन्तरक्रियामा सहभागी भए। सोक्रममा मन्त्री डा.महतले नेपाल सरकारले विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गरिने बताउँदै वैदेशिक लगानीकर्ताले लाभाशं फिर्ता लैजाने प्रक्रियालाई सरल बनाउनेतर्फ नेपाल सरकार लागेको जानकारी दिए। उनले लगानीको वातावरण सुधार गर्न देशको कन्ट्री क्रेटिड रेटिङ्गको प्रक्रिया सुरु भैसकेको पनि जानकारी दिए। डोल्मा फाउण्डेशनका टीम गोचर र जापनीज बैङ्क एमयूएफजीका क्रिस्टोफर मार्कसले कर्पोरेट ग्रीन बन्डको बारेमा आफ्नो धारणा राखे । यसैगरी स्टाण्डर्स चार्टर बैङ्कका आदिल अन्सारीले सोभरियन बन्ड र नवनिर्वाचित लर्ड मेयर प्रो।माइकल मेनिलीले पोलिसी पर्फमेन्स बन्डका बारेमा धारणा राखेका थिए । राजदूत आचार्यले लगानीका लागि नेपाल उर्वरभुमि रहेकाले लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गरे।

अन्नपूर्ण आधार शिविर पुगेर फर्कए गुटेरेस

काठमाडौं। नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेका छन्। उनले आधार शिविरबाट जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराएका छन् । सोमबारको रात पोखरामा बिताएका उनले मङ्गलवार बिहानै नेपाली सेनाको हेलिकप्टरमा अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किएका हुन् । प्रधानमन्त्री प्रचण्ड केही समय अघि नै पुगीसकेका छन् ।

अन्नपुर्ण आधार शिविरमा महासचिव गुटेरेस

काठमाडौं । नेपाल भ्रमणमा रहेएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटेरेस आज अन्नपुर्ण आधार शिविर पुगेका छन् । सोमवार राती पोखरामा बास बस्नुभएका गुटेरेस आज बिहानै अन्नपुर्ण आधार शिविरतर्फ लागेका हुन् । अन्नपुर्ण आधार शिविरबाट सिधै उनी लुम्बिनी जाने कार्यक्रम रहेको छ ।

ट्राफिक चेकजाँचमा लाइसेन्स एपमार्फत देखाउन मिल्ने

काठमाडौं । ट्राफिक चेकजाँचका क्रममा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्र देखाउँन पाइने भएको छ । नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको हो । यससँगै अब नागरिक एपमा सवारी चालक अनुमतिपत्र लिंक भएको छैन भने लिंक गर्नसक्ने छ ।