सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । आयोजनाका अनुसार हाल मुख्य सुरुङमा टनेल लाइनिङ (भुइँ र भित्ता ढलान) को काम धमाधम भइरहेको छ, साथै अन्य निर्माण कार्य पनि जारी छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन यो सुरुङमार्गको ‘ब्रेक थ्रु’ पछि कामले गति लिएको हो । हालसम्म भौतिक प्रगति ५९.७३ प्रतिशत र वित्तीय प्रगति ५१.१ प्रतिशत पुगेको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए ।

उनका अनुसार मुख्य टनेलको एक हजार ०८९ मिटर भुइँ ढलान (इन्भर्ट) र ९९४ मिटर भित्ता लाइनिङ सम्पन्न भएको छ । हाल २९२ मिटर क्षेत्रमा लाइनिङको काम भइरहेको छ । सुरुङमार्गका तीन बाइपासमध्ये पहिलो (१५१ मिटर) मा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङ, दोस्रो (१६१ मिटर) मा १५७.८ मिटर इन्भर्ट र ८.३ मिटर लाइनिङ, र तेस्रो (१३० मिटर) मा १२५ मिटर इन्भर्ट र १०४.२ मिटर लाइनिङको काम सम्पन्न भएको छ ।

मुख्य सुरुङमार्ग एक हजार ०८९ मिटर लामो, १०.५ मिटर चौडा र करिब ७ मिटर उचाइको हुनेछ । यो दुई लेनको सुरुङमा अत्यावश्यक सवारीसाधन ओहोरदोहोर गर्न सक्ने अवस्था बनेको आयोजना प्रमुख अधिकारीले जनाए ।

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा पर्ने माथिल्लो सिद्धबाबा मन्दिरबाट एक १२६ मिटर लामो सुरुङमार्ग निर्माण २०७९ देखि सुरु भएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा निर्माण गरिरहेको यो आयोजना २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य छ ।

बागलुङमा अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’

बागलुङ ।  अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाती, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरू । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए ।  यसलाई निसीवासीले नांखा (गाउँ) पूजा भन्छन् । यो पूजा एक हजार वर्ष पुरानो भएको स्थानीयको विश्वास छ । हरेक दुई/दुई वर्षमा हुने गाउँ पूजा पछिल्लो समय मेलाकै रूपमा लिन थालिएको छ । गाउँ पूजालाई मगर खाम भाषामा नांखा पूजा भन्ने गरिन्छ । यो अन्य पूजाभन्दा भिन्न छ । भदौ १ गते निसीवासीले गाउँ पूजालाई धूमधामका साथ मनाउने गर्छन् ।  स्थानीयले साउन मसान्तकै दिनदेखि विभिन्न देवीदेवताका नाममा पूजा गर्ने र साँझ गाउँभरिका झाँक्रीहरू एकै ठाउँमा जम्मा भएर तन्त्रमन्त्र गर्छन् । बिहान सबेरै निसेलढोर गाउँभन्दा माथि रहेको बराह थानमा पुगेर पूजा गर्छन् । बराह थानमा पुगेपछि युवाहरूले अर्ध नग्न बनेर अनुहार र शरीरमा मोसो दली राक्षसको स्वरूप धारण गर्ने गर्छन् । झाँक्री र राक्षसको स्वरूप धारण गरेका कापैले गाउँमा अनिष्ट गर्ने भूतप्रेत र राक्षसी आत्मालाई उत्तरगङ्गा नदीमा खसाल्ने बुढापाका बताउँछन् । सुरुवाती समयमा निसेलढोर गाउँमा वर्ष अगाडि अनिष्ट हुन थालेपछि गाउँलेले गाउँ पूजा गर्न थालेको इतिहास रहेको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरको भनाइ छ । एक हजार वर्ष पहिले निसेलढोरबाट स्थानीय बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने बुढाबुढी (जुजाजुजी) लाई गाउँमाथिको ओडारमा लगेर छोडेको र महिनौँपछि हेर्न पुग्दा उनीहरूको मृत्यु भइसकेको हुँदा उनीहरूको आत्माको शान्तिका लागि गाउँ पूजा थालिएको बुढापाकाले सुनाएको घर्ती बताउँछन् । ओडामार मृत्यु भएका जुजाजुजी राक्षसको रूपमा गाउँ पसेर पछि मान्छे मर्ने, धन सम्पत्ति, बालीनालीको क्षति हुने, पशु चौपायासमेत मर्ने गरेपछि सुरु शान्तिका लागि सुरु गरिएको गाउँ पूजा अहिलेसम्म चल्दै आएको उनको भनाइ छ । पहिले निसेलढोर आसपासमा ठुलो बस्ती रहेको प्रमाणित गर्ने अवशेषहरु अहिले भेटिने गरेको उपाध्यक्ष घर्तीमगरले बताए । गाउँ पूजा गर्दा मृत आत्माले शान्ति पाउने र गाउँमा अनिष्ट नहुने उनी बताउँछन् । “बुढापाकाका अनुसार पहिले निसेलढोरमा ठुलो बस्ती थियो, अहिले पनि त्यसका अवशेष भेटिन्छन्, त्यस बेला मानिसहरू बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने जुजाजुजीलाई गाउँमाथिको ओडारमा छोडे छन्, पछि आफन्त भेट्न आउँदा उनीहरूको मृत्यु भइसकेको रहेछ,” उपाध्यक्ष घर्ती मगरले भने, “उनीहरूको मृत्यु भइसकेपछि निसेलढोर गाउँमा अशुभ हुन थालेछ, त्यसपछि सिङ्गो गाउँमा बस्ने सबैले गाउँ पूजा गर्न सुरु गरे छन्, पूजा गरेपछि गाउँमा अनिष्ट हुन छोडेछ, एक वर्ष पूजा गर्‍यो भने दुई वर्षसम्म अशुभ नहुने मान्यता छ ।” भूत धपाउन खोलामा हाम फाल्छन् युवा बराह थानबाट पूजा गरेर फर्किएका राक्षसको रुप धारण गरेका कापै अग्लो झोलुङ्गे पुलबाट उर्लिएको उत्तरगंगा नदीमा हाम फल्छन् । जसलाई स्थानीयले भूत प्रेतलाई धपाएको भन्ने गर्छन् । यसरी भूत धपाएपछि गाउँमा कुनै पनि किसिमको अनिष्ट नहुने स्थानीय राजमन बुढा मगरले बताए ।  यस पुलमा दैविक शक्ति रहेको हुँदा उत्तरगंगामा हाम फाल्ने कापैलाई चोट पटक नलाग्ने र नदीले नबगाउने बुढा मगरले बताए । पहिले झोलुङ्गे पुल नबन्दा काठको साँघुबाटनै कापैले खोलामा हाम फल्ने गरेको उनको भनाइ छ । भूतलाई खोलामा खसाएपछि गाउँलाई रोग व्याधि नलाग्ने, बस्तुभाउ र बालीनाली पनि राम्रो हुने बुढा मगरको भनाइ छ । उनले भने, “झाँक्रीले विधिअनुसार कापैलाई तन्त्रमन्त्र गरेको हुन्छ, कापैले अनुहारमा लगाएको मोसो, शरीरमा लेखिएको विभिन्न अक्षर र राक्षसको जस्तो पहिरनले भूत प्रेतलाई फकाउने र लखेट्दै लगेर खोलामा खसाल्ने गरिन्छ, हाम्रो पुर्खाहरूले मान्दै आएको परम्परा अहिलेसम्म चल्दै आएको छ, यसमा धार्मिक विश्वास छ, हाम्रो आस्था छ ।” संरक्षणमा युवा र पालिकाको चासो  गाउँ पूजालाई लोप हुन नदिनका लागि निसीखोला गाउँपालिका–५ का युवाहरूले चासो दिएका छन् । यस वर्ष गाउँ (नांखा) पूजा सञ्चालक तथा व्यवस्थापन समितिमार्फत पूजा सञ्चालन गरिएको थियो । युवाहरूले चासो नदिँदा लोप हुने हुँदा संरक्षणका लागि आफूहरू लागेको गाउँ (नांखा) पूजा सञ्चालक तथा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण छन्त्यालले बताए । युवाहरूलाई एकताबद्ध गराएर पूजा संरक्षणमा लागेको उनको भनाइ छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले कला संस्कृति संरक्षणका लागि गाउँपालिका हरेक वर्ष बजेट विनियोजन गरी काम गर्दै आएको बताए । लोपोन्मुख संस्कृतिको संरक्षणका लागि पाका पुस्ता र नयाँ पुस्तालाई एकै ठाउँमा राखेर पुस्तान्तरण गर्ने काम गाउँपालिकाले गर्दै आएको उनको भनाइ छ । गाउँ पूजा निसीखोलाको विशिष्ट मौलिक संस्कृति भएको हुँदा पालिकाले प्राथमिकतामा राखेरै संरक्षणमा जोड दिएको अध्यक्ष घर्ती बताउँछन् । 

चितवनमा कुखुरामा ‘चिकेन एनेमिया’ भाइरस, मृत्युदरमा वृद्धि

चितवन । चितवनमा कुखुरामा रक्तअल्पता गराउने ‘चिकेन एनेमिया’ भाइरस देखिएको छ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले गरेको नमुना परीक्षणमा यो रोग पुष्टि भएपछि सबै कुखुराको नमुनामा यसको परीक्षण सुरु गरिएको छ ।   प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पछिल्लो तीन महिनामा ९२ नमुनामध्ये ३१ वटामा यो भाइरस भेटिएको छ । नेपालमा यसअघि यो रोगको नियमित परीक्षण गरिएको थिएन । यो भाइरसले कुखुराको प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ, जसले गर्दा अन्य रोगसँग लड्न नसकेर कुखुरा मर्छन् । यसले रक्तअल्पता, तौल नबढ्ने र उत्पादनमा कमी हुने समस्या पनि निम्त्याउँछ । चितवनमा हाल ब्रोइलर कुखुराको मृत्युदर १० देखि १६ प्रतिशत पुगेको छ, जुन सामान्य (४–६ प्रतिशत) भन्दा धेरै हो । कुखुराविज्ञ डा. सुविर सिंहका अनुसार मृत्युदर बढ्नुको यकिन कारण पत्ता लाग्न बाँकी छ, तर ‘चिकेन एनेमिया’ले पनि प्रभाव पारेको हुन सक्छ । प्रयोगशालाको तथ्याङ्कअनुसार गत वर्ष २ हजार पाँचसय  किसानका सात हजार कुखुराको पोस्टमार्टममा एच नाइन (४८), रानीखेत (१३) र गम्बारो (१२२) रोग देखिएको थियो । साथै, एक हजार १२० कुखुराको कलेजो परीक्षणमा इकोलाई (७८५) र साल्मोनेला (११२) भेटिएको थियो । यो रोगबाट बचाउन कुखुरालाई ‘चिकेन एनेमिया’विरुद्धको भ्याक्सिन दिनुपर्ने विज्ञहरू बताउँछन् । जैविक सुरक्षाको अभावमा चितवनमा नयाँ रोगहरू देखिन थालेका छन् ।  नेपालमा व्यावसायिक कुखुरापालन २०१७ मा बाराको परवानीपुरबाट सुरु भएको थियो । हाल यो क्षेत्रले चार लाख ५० हजार व्यक्तिलाई रोजगारी दिइरहेको छ र एक खर्ब ६० अर्ब रुपियाँभन्दा बढी लगानी भएको छ । नेपालमा दैनिक आठ लाख केजी ब्रोइलर मासु र ३२ लाख अन्डा उत्पादन हुन्छ, जसमध्ये चितवनको हिस्सा २० प्रतिशत छ । नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बरालका अनुसार चितवनमा तीन हजार ब्रोइलर फार्ममा १५ लाख र सातसय लेयर्स फार्ममा ६० लाख कुखुरा पालिएका छन् । डा. सुविर सिंह भन्छन्, “चितवनमा कुखुराको उत्पादन घट्दै गएको छ, जसले व्यवसायमा ठूलो असर पारेको छ । ‘चिकेन एनेमिया’ जस्ता रोग नियन्त्रण गर्न दीर्घकालीन योजना आवश्यक छ ।” 

कोरिया जान एक लाख तीन हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन परेको छ । दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले (इपिएस) अन्तर्गत सन् २०२५ मा कोरिया जानेका लागि पाँच हजार तीन सय जनाका लागि आवेदन माग गरेकोमा त्यो सङ्ख्यामा आवेदन परेको हो । इपिएस शाखाले कोरिया भाषा परीक्षाका लागि गएको साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन खुला गरेको थियो । 

सर्वोच्चको अन्तरिम आदेश : डिम्ब निष्कासन र भण्डारणमा तत्काल रोक

काठमाडौं । सर्वोच्च अदालतले महिला र किशोरीहरूबाट डिम्ब निष्कासन र भण्डारणको कार्यमा तत्काल रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ । अवैध डिम्ब निष्कासन र भण्डारणको विषय सार्वजनिक भएपछि अधिवक्ता अङ्कित त्रिपाठीसहितले दायर गरेको रिटमाथि न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले मङ्गलबार यस्तो आदेश दिएको हो । अदालतले बालबालिकाको मौलिक हक संरक्षण गर्नु राज्यको कर्तव्य भएको र डिम्ब निष्कासनको दुरुपयोग हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यो आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “संविधान र कानुनी प्रावधानअनुसार बालबालिकाको हक संरक्षण विपक्षीको कर्तव्य हो । रिटको अन्तिम टुङ्गो नलागेसम्म नेपालभर महिला र बालबालिकाबाट डिम्ब निष्कासन र भण्डारणमा रोक लगाई सरकारको नियमन र निगरानी प्रभावकारी बनाउन अन्तरिम आदेश जारी गरिएको छ ।” निवेदकले बालिकाको प्रजनन स्वास्थ्य, मर्यादित जीवन र गैरकानुनी शोषणसम्बन्धी गम्भीर विषय उठाएका थिए । संविधानको धारा ३९ ले बालबालिकामाथि कुनै पनि प्रकारको शोषण, दुव्र्यवहार वा हिंसा निषेध गरेको छ भने जनस्वास्थ्य ऐनले मातृत्व र प्रजनन स्वास्थ्यको ग्यारेन्टी गरेको आदेशमा उल्लेख छ ।

विपक्षी दलको एउटै स्वर : 'उपसभामुखविरुद्ध सरकारको तयारी फेरि विफल पार्छौँ'

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलहरुले उपसभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सरकारको प्रयासलाई फेरि विफल पार्ने निष्कर्ष निकालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को आव्हानमा सिंहदरबारमा बसेको विपक्षी दलहरुको संयुक्त बैठकले उपसभामुखविरुद्ध सरकारको तयारीलाई फेरि विफल पार्ने निष्कर्ष निकालेको हो ।  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले सरकार र प्रमुख सत्तारुढ काँग्रेस एमाले लोकतन्त्रविरुद्धको अभियानमा लागेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, 'हामी विपक्ष दलहरुले उपसभामुखमा होइन नैतिकताको प्रश्न सरकारमा देखिरहेका छौँ । संवैधानिक परिषद्को जोड घटाऊका आधारमा उहाँमाथि अन्याय गर्न खोजिएको हो । यो फेरि पनि विफल पाछौँ । यही निष्कर्ष निकालिइएको छ ।'    सरकारको कदमको विरोध गर्ने जानकारी दिँदै उहाँले विपक्षी दलहरु एकसाथ प्रतिवादमा उत्रिने बताउनु भयो । उहाँले भन्नुभयो, 'यो कदम लोकतन्त्रविरुद्धको कदम हो । हामीले असफल पार्छौँ ।'   बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, त्यस्तै, रास्वपाका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ध्रुबबहादुर प्रधान र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र सांसद शेरबहादुर कुँवरलगायत सहभागी थिए । 

सरकारले फेरि अर्को गल्ती गर्यो, उपसभामुखलाई हटाउनु गलत : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयास गलत भएको बताउनु भएको छ । पार्टीको केन्द्रीय कार्यालयबाहिर पत्रकारहरूसँग कुरा गर्दै उहाँले सरकारले यो विषयमा गल्ती गरिरहेको आरोप लगाउनु भयो ।  प्रचण्डले सरकार गठन भएदेखि कुनै उल्लेखनीय राम्रो काम नभएको र बरु गल्तीहरू मात्रै भएको जिकिर गर्नुभयो । उहाँले उपसभामुख रानामगर एक आदिवासी जनजाति महिला भएको तथा सामाजिक सेवा र बालबालिकाको हेरचाहमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएकी व्यक्तित्व भएको कुरामा जोड दिनुभयो ।  उपसभामुखलाई बिनाकारण हटाउन खोज्नु गलत भएको भन्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले यसको कडा विरोध गर्ने घोषणा गर्नुभयो ।  अध्इयष प्रचण्डले उपसभामुखमाथि लागेका आरोपहरूलाई खारेज गर्नुभयो। उहाँले उपसभामुखले कुनै गलत काम गरेको प्रमाण नभएको र सबै आरोपहरू कपोलकल्पित र झुटा भएको दाबी गर्नुभयो । 

प्रधानमन्त्री ओलीको विरोध गरेको भन्दै सामाजिक अभियन्ता मंगलसिंह प्रजा पक्राउ

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका अनियमिततालगायतका विषयमा बोलेको भन्दै सामाजिक अभियन्ता मंगलसिंह प्रजालाई प्रहरीले पक्रेको छ । प्रधानमन्त्री ओलीको सचिवालयको ठाडो आदेशमा प्रहरीले प्रजालाई काठमाडौंको बानेश्वरबाट पक्रेको हो ।  प्रजाका आफन्तले उनको अवस्था थाहा पाउन नसकेको भन्दै खोजीका लागि आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत सरकारका गलत क्रियाकलापको आलोचना गरेको भन्दै उनलाई प्रहरीले पक्रेको थियो । उनीमाथि साइबर कानून लगाउने तयारी छ ।  प्रजा पहिले माओवादी जनमुक्ति सेनामा आवद्ध थिए । ओलीले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकलाई निरन्तर कुण्ठित गरिरहेका छन् । 

फोहाेरजन्य वस्तु बिक्री गरेर व्यास नगरपालिकालाई १५ लाख बढी आम्दानी

तनहुँ । यहाँको व्यास नगरपालिकाले नकुहिने फोहाेर बिक्री गरी ११ महिनामा १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ । नगरपालिकाले गत भदौदेखि फोहाेर सङ्कलन गरी व्यवस्थित गर्न थालेको थियो ।  पहिलो चरणमा नकुहिने फोहाेरलाई मोहाेरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको नगरपालिकाको वन, वातावरण तथा सरसफाइ शाखाले जनाएको छ । ट्रकलाई ‘टिप’ पुगेपछि बिक्रीका लागि पठाउने गरिएको प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेले जानकारी दिए । उनले भने, “व्यास नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने प्लास्टिकजन्य, फलामजन्य र कागजजन्यलाई ठुलो आकारबाट दाबेर सानो आकारमा परिणत गरी भण्डारण गर्ने गरिएको छ ।”  उनका अनुसार रेडबुललगायत आल्मुनियम प्रतिकेजी ६०, फलाम प्रतिकेजी ३५, टिन २५, पानीको बोतल तथा अन्य बोतल २३, कपडा पाँच रुपियाँ ५० पैसा, कपी १६ र किताब १४ दररेट कायम गरिएको छ । नगरपालिकाले यसअघि वडा नं ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहाेर व्यवस्थापन गर्दै आएको थियो । त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहाेर व्यवस्थापन गर्न लागिएको हो ।  “नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टनको हाराहारीमा कुहिने फोहाेर सङ्कलन हुँदै आएको छ”, उनले भने, “पछिल्लो समय कबाडीको महत्व बुझ्न थालेपछि अन्य मानिसले पनि सङ्कलन गरी बिक्री गर्न थालेका छन् ।” कुहिने फोहाेरलाई नगरले व्यास–१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गर्दै आएको छ । नकुहिने फोहाेरको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएकामा त्यहाँ पनि स्थानीयले विरोध गरेकाले जग्गा खरिद प्रक्रिया हाललाई रोकिएको छ । नगरपालिकाले सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरबाट आम्दानी गर्न थालेको व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । 

महाकाली लोकमार्ग पहिरोले अवरुद्ध

दार्चुला । सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ ।  मालिकार्जुन गाउँपालिका–३,  रनेबास क्षेत्रमा मंगलबार बिहान परेको भीषण वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।  राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।  अवरुद्ध सडक खुलाउन खलङ्गाबाट उपकरण मगाएइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । 

रामेछापको गुप्तेश्वरमा एक पुरुष मृत फेला

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय प्रितीका अनुसार मृतक सोही गाउँका करिब ४० वर्षीय प्रकाश सुनुवार हुन् । उनी घर नजिकै रहेको गुप्तेश्वर जंगलको पाखा खोल्सामा मृत अवस्थामा स्थानीयहरूले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थल पुगेको प्रहरीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि दोलखाको जिरी अस्पताल पठाएको जनाएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सरकारको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध प्रतिवाद गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारको स्वेच्छाचारी कदमविरुद्ध प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको पदाधिकारी बैठकले सरकारको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध प्रतिवाद गर्ने एकमात्र निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।  बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले प्रमुख प्रतिपक्षलगायत विपक्षमा भएका दल र त्यसका नेताहरुविरुद्ध नियोजित तरिकाले गरिरहेको प्रतिशोधपूर्ण व्यवहारका बारेमा जानकारी गराउनु भएको थियो ।  सरकारको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध प्रतिवाद गर्न प्रतिपक्ष दलसँग संवाद गर्ने र त्यसको तयारीका लागि आजको बैठक स्थगित गरिएको सापकोटाले जानकारी दिनुभयो ।  प्रवक्ता सापकोटाले भन्नुभयो, 'सरकारको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध प्रतिवाद गर्ने निर्णय भएको छ । जनतालाई सिटामोल नभएको बेलामा काँग्रेस एमालेले पद् भागबण्डा गरिरहेका छन् । भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्नुपर्नेमा सरकार त्यसको संरक्षण गरेर विपक्षी दलप्रति आक्रमक भएको छ । यसको प्रतिवाद गरिनेछ ।'  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्ष दल र सत्तारुढ दलकै कतिपय नेताहरुसँग आज अनौपचारिक संवाद थाल्नु भएको स्रोतको भनाइ छ ।  

सरकारको कदमको प्रतिवाद गर्न माओवादी केन्द्रको बैठक भोलि बस्नेगरी स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक भोलिसम्मका लागि स्थगित भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने तयारी गरेपछि माओवादी पदाधिकारी बैठकले सरकारको कदमको प्रतिवाद गर्ने तयारी गर्न भन्दै बैठक भोलिसम्मका लागि स्थगित गरेको हो ।  बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले एकपछि अर्कोगर्दै प्रतिपक्ष दल र त्यसका नेताहरुविरुद्ध विभिन्न प्रकारका कदम चालेपछि त्यसको प्रतिवाद गर्ने प्रस्ताव राख्नु भएको थियो ।  पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले सरकारको कदमको प्रतिवाद गर्न तयारी गर्नुपर्ने भएकाले भोलि बस्नेगरी बैठक स्थगित भएको जानकारी दिनुभयो । 

एक वर्षमा झापामा करेन्ट लागेर १५ जनाको मृत्यु

झापा । जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट (करेन्ट) भएर हुने मृत्युको घटना बढेको छ । जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार गत चार महिनामा जिल्लामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरू अधिकांश विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएका ग्रामीण क्षेत्रका बासिन्दा छन् । करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको बताए । अधिकांश मानिसमा विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान छैन ।  अपूर्ण ज्ञान र सतर्कताको कमीका कारण करेन्ट लागेर मानिसले अकालमै मृत्युवरण गरिरहेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा झापामा करेन्ट लागेर १५ जनाको ज्यान गएको छ । यसैबीच मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको घरमै करेन्ट लागेर मृत्यु भएको छ । बिग्रिएको टेबल पङ्खा मर्मत गर्ने क्रममा सोमबार साँझ अचानक करेन्ट लागेर अचेत भएका राजवंशीलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारीमा पुर्याइएको थियो । उपचारकै क्रममा राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागलुङकाे निसेलढोरवासीले अझै विद्युत् सेवा उपयोग गर्न पाएनन्

बागलुङ । निसेलढोर गाउँमा विद्युत् सेवाको पहुँच अझै पुगेको छैन निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा झण्डै तीन सय घरमा स्थानीय बसोबास गर्छन् ।  फाट्टफुट्ट केही घरपरिवारले सोलार प्यानलमार्फत विद्युत् सुविधा उपयोग गरेपनि अधिकांश स्थानीय टुकी र दियालोकै भरमा छन् । नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटनभित्र पर्ने निसेलढोरमा खानेपानी, सडकको पहुँच पुगे पनि अहिलेसम्म विद्युत्को सुविधा पुग्न नसकेको हो । अधिकांश स्थानीय निसी गाउँबाट गएर यहाँ बसोबास गर्ने गरेका छन् । पहिले बर्खाको समयमा मात्र निसेलढोर पुग्ने निसीवासी अहिले स्थायी रूपमै यहाँ बस्न थालेका हुन् । निसेलढोरमा बस्ती विस्तार भए पनि अहिलेसम्म विद्युत्को पहुँच नपुग्दा सयौँ स्थानीय समस्यामा पर्ने गरेका छन् । जेठदेखि असोजसम्म अधिकांश निसीका स्थानीय निसेलढोरमा बस्ने गर्छन् । उनीहरू अहिलेसम्म अन्धकारमै रात बिताउँदै आएका छन् । एक दशक अगाडिसम्म घुम्ती बसाइ हुने गर्दा विद्युत् विस्तारका लागि राज्यले चासो दिएको थिएन । अहिले बाह्रै महिना सयौँ स्थानीय निसेलढोरमा बसोबास गर्दा पनि विद्युत्को सुविधा पाउन नसकेको स्थानीय चन्द्रबहादुर घर्तीमगरले बताए । पछिल्लो पाँच वर्षयता निसेलढोरमा स्थायी रूपमा बस्ने स्थानीयको सङ्ख्या बढेको उनको भनाइ छ । हुनेखानेहरूले विभिन्न विद्युतीय उपकरण लिएर रातिमा उज्यालो सामान्य परिवारले टुकीकै भरमा रात कटाउनुपर्ने घर्तीमगर बताउछन् । “अहिलेको जमानामा पनि हामीहरू विद्युत सेवा उपयोग गर्न पाएका  छैनौँ, सरकारले यति ठूलो बस्तीमा विद्युत् ल्याउनका लागि इच्छा देखाएन, पहिले बजारबाट मट्टितेल लिएर टुकी बाल्ने गथ्र्यौँ, अहिले सबै ठाउँमा बिजुली पुगेर होला बजारमा मट्टितेल पनि पाउन गाह्रो छ”, उनले भने, “विद्युत्को माग गर्न धेरै ठाउँमा पुग्यौँ, तर अहिलेसम्म कतैबाट पनि माग पूरा गर्न प्रयास भएको छैन ।” गाउँमा विद्युत् नहुँदा अन्धकारमै रात बिताउनुका साथै रेडियो सुन्न, टेलिभिजन हेर्न र मोबाइल चार्ज गर्न पनि निकै समस्या भएको स्थानीय पानकुमारी विकले बताए । दुई वर्ष अगाडि नेपाल टेलिकमले टावर राखेर फोन गर्न सुविधा दिए पनि विद्युत् नहुँदा चार्ज गर्न नपाइने उनको भनाइ छ । अहिले दुई घण्टा हिँडेर मोबाइल चार्ज गर्न ढोरपाटन नगरपालिका–९ स्थित भुजी आउनुपर्ने बाध्यता रहेको विकले सुनाए । विकले भने, “आफन्तलाई फोन गर्न पहिला निकै समस्या थियो, दुईतीन घण्टाको उकालो चढेर अग्लो पहाडमा पुगी फोन गर्नुपर्ने बाध्यता अहिले अन्त्य भएको छ, तर बिजुली नहुँदा चार्ज गर्न टाढा जानुपर्छ, गाउँमा बिजुली हुन्थ्यो भने धेरै सजिलो हुने थियो, व्याट्रीबाट रेडियो सुन्छौँ, टेलिभिजन हर्न पाएका छैनौँ ।” निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले निसेलढोरमा विद्युत् पुर्याउन केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरिरहेको जानकारी दिए । स्थानीय जलविद्युत आयोजनाबाट तार तानेर विद्युत् लैजाने भनिए पनि काम नभएको उनको भनाइ छ । आगामी वर्षसम्म निसीखोलामा विद्युत् बालेर छाड्ने उपाध्यक्ष घर्तीमगर बताउछन् ।

वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

पर्सा । वीरगञ्ज कारागारको भौतिक संरचना जीर्ण र कैदी तथा थुनुवाको सङ्ख्या खचाखच हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ । यहाँको कारागारको क्षमता एक हजार कैदी राख्ने भएता पनि अहिले यहाँ कैदी र थुनुवा गरेर एक हजार तीन सय १० जनाभन्दा बढी रहेका छन् । जिल्ला कारागार पर्साका प्रमुख खिमराज भुसालका अनुसार कारागारको क्षमताभन्दा धेरै कैदी र थुनुवा हुँदा व्यवस्थापनमा समस्या भएको छ । विसं २०२९ देखि वीरगञ्ज कारागार सञ्चालन हुँदै आएको रेकर्ड भेट्टिन्छ । पुरानो खालको संरचना तथा धेरै कैदी र थुनुवाको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहँदै आएको छ । खुला ठाउँमा कारागार भएको भए व्यवस्थापनमा पनि धेरै सहज हुने थियो कि । तोकिएको क्षमताअनुसार कैदी र थुनुवा हुँदा व्यवस्थापनमा सहज हुने थियो । जिल्ला प्रशासन कार्यालय र कारागार व्यवस्थापनले वीरगञ्जको चिनी मिल क्षेत्रमा कारागारका लागि १८ बिघा क्षेत्रफलमा सार्ने योजना गरे पनि अहिलेसम्म मूर्त रूप लिनसकेको छैन । वीरगञ्ज कारागारमा स्वदेशी र विदेशी गरेर थुनुवा र कैदी गरेर एक हजार तीन सय १० जना रहेका छन् । यसमा स्वदेशी महिला कैदी पाँच, महिला थुनुवा ४२ र  छ वर्षमुनिका दुई जना आश्रित बालिका छन् । त्यस्तै स्वदेशी पुरुष कैदी र थुनुवाको सङ्ख्या भने एक हजार ४६ जना रहेका छन् । त्यस्तै विदेशी थुनुवा र कैदीतर्फ एक सय ९९ छन् भने  विदेशी महिला थुनुवा र कैदी भने १६ जना रहेका छन् । वीरगञ्ज कारागारमा विशेष गरी पर्सा र बारा जिल्लामा अपराध गरेर अदालतबाट दोषी ठहर भएका र अदालतबाट पुर्पक्ष थुनुवामा पठाएकालाई कैदी र थुनुवा राख्ने गरिन्छ । वीरगञ्ज कारागारमा कैदी तीन सय २९ जना रहेका छन् भने थुनुवा नौ सय ७९ जना छन् । कारागार प्रमुख भुसालले कारागारमा रहेका कैदी तथा थुनुवामा कहिलेकाहीँ मौसमी प्रकृतिका बिरामी देखापर्ने बताए । 'यहाँका थुनुवा तथा कैदीबन्दीमा प्रायःजसो मौसमी प्रकृतिका बिरामी देखा पर्छन्,' उनले भने, सामान्य खालका उपचार यहाँ कार्यरत स्वास्थ्य सहायकले गर्नुहुन्छ भने अन्य बिरामीलाई भने नारायणी अस्पतालमा उपचारको लागि पठाइन्छ ।' कारागार परिसरमा करिब ४७ शौचालय रहेका छन् भने थुनुवा र कैदीले आलोपालो शौच गर्नुपर्ने बाध्यता छ ।