पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

रसुवागढी भन्सारको भवन निर्माण अन्तिम चरणमा

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ । एकै स्थानबाट भन्सार बैंक तथा अध्यागमन समेतको सेवा दिन छ वर्ष अघि निर्माण सुरू भएको एकीकृत भन्सारको सो भवनमा ढलान गरिएको र पलाष्टरलगायत काम अगाडि बढी रहेको छ । सीमा एवं भन्सार कार्यालयको लागि सुरक्षा टोली बस्ने भवन भने रसुवागढी क्षेत्रमै छुट्टै निर्माण भइसकेको छ । भौगोलिक विकटताका कारण वर्षायाममा दैनिकजसो सडक अवरुद्ध भइरहँदा निर्माण सामग्री ढुवानीमा असहज र कार्यप्रगतिको अनुपातमा समयसापेक्ष रकम भुक्तानी नहुनुजस्ता कारणले निर्माणमा केही ढिलाइ हुँदै गएको निर्माणसँग सम्बन्धित व्यक्तिले बताएका छन् । एकीकृत भन्सार तथा सुरक्षा पोष्ट निर्माण, विसं २०७२ को भूकम्पले क्षति बनाएको ऐतिहासिक रसुवागढी पर्खालको पुनःनिर्माण, दैनिक काम सञ्चालनको लागि मितेरी पुल छेउमा फ्रिफेव भवन निर्माण, हेल्थ डेक्ससमेतका संरचनाको व्यवस्थापन रसुवागढीभन्दा केही तल निर्माण भएको १११ मेगावाट जलविद्युत्को ड्यामजस्ता संरचना र नेपाल घुम्ने चिनियाँ पर्यटकको आगमन तथा सामान आयात निर्यातका लागि मितेरी पुलबाट आवतजावत गरिरहने ट्रक कन्टेनरका चहलपहलले रसुवागढीको चहलपहल बढ्दै गएको छ । यस्तै टिमुरेको भोटेकोशी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहको आधाजसो निर्माण, टिमुरे तथा घट्टेखोला क्षेत्रमा निजीस्तरका होटल निर्माण, नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको भवन निर्माणजस्ता कार्यले टिमुरेदेखि रसुवागढीसम्मको रौनक निकै बढेको स्थानीय समाजसेवी सुनामओदी तामाङले जानकारी दिए । सङ्घ, प्रदेश र स्थानीय सरकारको पूर्वाधार विकास योजना, १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाबाट पीडित बासिन्दालाई सहयोग योजनाजस्ता विकास कार्यक्रमले क्रमिकरूपमा टिमुरे, घट्टेखोला र रसुवागढीको मुहार फेरिँदै गएको र अबको दुई÷चार वर्षमा सबै प्रकारका संरचना बनिसक्ने आफूहरू आशावादी उनले बताए ।

साम्प्रदायिक दंगा भड्किएपछि : सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन

मलंगवा । सर्लाही सदरमुकाम मलंगवामा बुधबार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ । विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलंगवामा विवाद उत्पन भई साम्प्रदायिक दंगा भड्किएपछि बुधबार विशेष सुरक्षा व्यवस्था अपनाएर मूर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । यो वर्ष मलंगवासहित सर्लाहीमा ६५ ठाउँमा दुर्गा माताको मूर्ति बनाएर पूजा आयोजना गरिएको उनले बताए । मूर्ति विसर्जनमा यो वर्ष सर्वसाधारणको सहभागिता घटेको थियो । यसअघि, मलंगवामा विश्वकर्मा पूजा र गणेश पूजामा मूर्ति विसर्जन गर्न जाँदा दुई समुदायबीच झडप भई कर्फ्यु आदेश नै जारी गर्नुपरेको थियो । रासस

बजारमा सहजै पाइन थाल्यो चिनी, प्रतिकिलो ११४ रूपैयाँमा बिक्रि वितरण

काठमाडौं । अब उपभोक्ताले बजारमा सहजै चिनी किन्न पाउने भएका छन्। दसैंको मुखमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाणिज्य विभाग र सरकोकार वालाको बैठक बोलाएर जनतालाई अफ्ट्यारो हुने काम हुन नदिन निर्देशन दिएका थिए ।तनाबरहित वातावरणमा जनताले चाडपर्व मनाउँने वातावरण बनाउँन आग्रह गरेका थिए । सो लगत्तै सरकारले वाणिज्य विभागमार्फत उद्योगलाई चिनी दिन आग्रह गरेको थियो। भने लुकाएर राखिएका गोदाममा अनुगमन समेत गरेको थियो । अहिले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङसँगै भाटभटेनीसहितका पसलहरुमा चीन सहज रुपमा बिक्रि वितरण भैरहेको छ । आज भाटभटेनीमा ११४ रूपैयाँमा चीनि बिक्रि वितरण भैरहेको छ ।

इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने

काठमाडौं। हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ । तेलअविवस्थित नेपाली दूतावासले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चार जनाको शव आज (शनिबार) दिउँसो १ः२५ बजेको फ्लाई दुबईको उडानबाट नेपाल पठाउन लागेको जानकारी दिएको छ । दूतावासका अनुसार फ्लाई दुबईकै उडन एफजेड ८३५१ मार्फत् काठमाडौंसम्म पुग्ने गरी व्यस्था मिलाइएको छ । उडान कार्यतालिका अनुसार शव कात्तिक ५ गते आइतबार बिहान काठमाडौं आइपुग्ने छ । अन्य शव पहिचानको काम भइरहेको नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ । यसैगरी, दूतावासले सम्पर्कविहीन रहेका विविन जोशीको खोजी भइरहेको पनि विज्ञप्तिमार्फत् जनाएको छ ।

किताब बेच्न सडकमा निस्किए महावीर

काठमाडौं । व्यापारीले ३० प्रतिशत कमिसन मागेको भन्दै वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुनले आफ्नो आत्मकथा पुस्तक आफैले बेच्न सडकमा निस्किएका छन्। काठमाडौँ र ललितपुरको सडक छेउ र चोकहरू पुस्तक बेचिसकेका उनले आज पोखराको वाग्लुङ बसपार्कमा पुस्तक बेच्ने भएका हुन् । उनलाई थुप्रै युवाहरूले साथ दिएका छन्। उनले राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गरेको उक्त पुस्तक बिरगञ्जको कृषि औजार केन्द्र कारखाना सञ्चालन गर्न सहयोगार्थ भन्दै किताब किनेर सहयोग गर्न अपिल गरेका छन्। उनले विज्ञापन गर्दै भन्छन्,‘आउनुहोस् किताब आयो, महाबिर पुनको जीवन कथाको किताब आयो, राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गरेको किताब विरगञ्जको कृषि औजार केन्द्रको कारखानालाई सञ्चालन गर्नको लागि सहयोगार्थ किताब आयो किन्नुहोस, किन्नुहोस।’

सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन बढ्यो १८ सय

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबारको तुलनामा आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँ बढेको हो । बिहीबार सुनको मूल्य एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसलगत्तै मूल्य एक दिनै एक हजार ८०० रुपैयाँ बढेको हो । तेजाबी सुनको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार भने चाँदीको प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

डा.ओजस्वीले जितिन् मिसेस् नेपाल कल्चरको ताज

काठमाडौंँ । ‘मिसेस् नेपाल कल्चर २०२३’ डा. ओजस्वी शेरचन घोषित भएकी छन् । ३५ प्रतिस्प्रर्धिलाईपछि पार्दै शिर्ष उपाधि चुमेकी उनले पब्लिक च्वाइस विधाको समेत उपाधि हात पारिन् । डा. ओजस्वीलाई प्रतियोगिताका ब्रान्ड एम्बेसडर प्रथम मिस नेपाल रुबी राणाले ताज पहि¥याएकी थिइन् । जमलस्थित राष्ट्रिय नाचघरमा एक भव्य कार्यक्रमकाबीच आयोजित प्रतियोगीतामा डा. अंकिता ठाकुरले फस्ट रनर अपसँंगै डाइनामिक विधाको अवार्ड आफ्नो पोल्टामा पार्दा सुष्मा बस्नेतले सेकेन्ड रनर अप उपाधि जितिन् । थर्ड रनर अप श्रेया ढुंगानाले उपाधि जित्दा फोर्थ रनर अपको उपाधि नीरा तामाङले हासिल गरिन् । नीराले इन्टिलेक्चुयल विधागत उपाधि समेत आफ्नो भागमा परेकी छिन् । विजेता सबैले उपाधिको साथमा मिना बजार र यचु हेयर ओयलबाट एक्सक्लुजिभ गिफ्ट प्राप्त गरे । नेपाली समाजको गौरवमय परिचय भनेको साँस्कृतिक विविधतलाई फरक र विस्तारित दायरामा सम्बद्र्धन र प्रवद्र्धन गर्ने हेतुले गत वर्षदेखि आयोजना थालिएको यो साँस्कृतिक सौन्दर्य प्रतियोगिता हो । ‘फेसनलाई भन्दा मौलिकता र ग्ल्यामरलाई भन्दा शालीनता’ले प्रतियोगितामा प्राथमिकता पाएको आयोजक युजिशा इन्टरनेसनल इभेन्टस्का इभेन्ट म्यानेजर सानु खानले बताए । अन्य भन्दा भिन्न तवरबाट आयोजना भएको प्रतियोगितामा ‘ट्यालेन्ट विधा’मा सुलोचना श्रेष्ठ जोशी विजेता बन्दा सुजाता खनाल फस्ट रनर अप तथा अनु फुँयाल सेकेन्ड रनर अप चयन भए । त्यस्तै पब्लिक च्वाइस फस्ट रनर अप अनिता संग्रौला भेटवाल बनेकी थिइन् । अनिताले पर्सनालिटी विधाको अवार्ड हात पारिन् । भ्युअर च्वाइसतर्फ पंकज अधिकारी विजेता बन्दा शुभद«ा गौतमा फस्ट रनर अप बनिन् । म्यानेज्मेन्ट च्वाइस तर्फ रेखा यादव, फोटोजेनिकमा रिचा पराजुली, कन्जिनियालिटीमा लक्ष्मी झा, एलेगेन्समा अर्चना अमात्य, डिलिजेन्टमा तुलसा पन्त, डिसेन्टमा कल्पना श्रेष्ठ, एक्टिभमा समी पौडेल, इनोसेन्समा दुर्गा कुमारी रावल र इन्थिुजियास्टिकमा ललिता डंगोलले प्राप्त गरे । फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफी तथा संचालन रहेको प्रतियोगितामा ‘मिस नेपाल २००५’ सुगरिका केसी., ‘मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०१९’ दुर्गा विसुराल, मिडियाकर्मी एवं समाचार प्रस्तोता मनोज जोशी, पर्यटन एवं एभिसियन क्षेत्रका संगीता रौनियार तथा खाल्डा एड इन्टरनेसनलका नेपाल प्रतिनिधि रिम्पल सिंह निर्णायकमा रहेका थिए ।

नेपाल प्रहरीले माग्यो ९६ इन्सपेक्टर र २६० असई

काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ।प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित गर्दै ९६ इन्सपेक्टर र २६० जना असईका लागि दरखास्त आह्वान गरेको हो। ९६ इन्सपेक्टरमध्ये ५२ जना खुलाबाट, २ जना अमररअशक्त परिवारबाट छानिने छन्। समावेशीतर्फ ९ जना महिला, १२ जना आदिवासी जनजाति, १३ जना मधेशी, ६ जना दलित र २ जना पिछडिएको क्षेत्रबाट छानिनेछन्। त्यस्तै २६० असईमा १४० जना खुलाबाट र ५ जना अमर अशक्त प्रहरी परिवारबाट छानिनेछन्।असईमा समावेशीबाट महिला २३ जना, आदिवासी जनजाति ३६ जना, मधेशी ३३ जना, दलित १७ जना र ६ जना पिछडिएको क्षेत्रबाट छानिनेछन्। इन्सपेक्टरमा अनलाइनबाट पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ भने असईमा दरखास्त दिन भने व्यक्ति स्वयं उपस्थित हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। दरखास्त दिनका लागि कात्तिक १९ गतेदिख २९ गतेसम्मको समय निर्धारण गरिएको छ। इन्सपेक्टरमा दरखास्त दिन १ हजार २ सय राजस्व बुझाउनुपर्नेछ। एकभन्दा बढी समूहमा दरखास्त दिन प्रत्येक समूहका लागि २० प्रतिशत अर्था २४० रूपैया थप दस्तुर लाग्नेछ। असइतर्फ भने राजस्व वापत ५ सय रूपैयाँ एकभन्दा बढी समूह थपिए प्रत्येक समूहका लागि १०० रूपैयाँ थप दस्तुर लाग्नेछ।

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन असोज २८ गते आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बिहीबार स्कन्दमाता देवीको पूजा आराधना गरियो । छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्परा अनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रुपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रुपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन् । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व धुमधामका साथ मनाउँछन् । दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

निर्माण व्यवसायीको छ अर्ब दसैंअघि नै भुक्तानी हुने

काठमाडौं। गतवर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपियाँ भुक्तानी हुने भएको छ । निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दसैंअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ

गृहमन्त्री श्रेष्ठको यस्तो छ स्वास्थ्य अवस्था

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजले बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फाक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखा ९ओएम० मा अवरोध देखिएको अस्पतालले जनाएको छ । उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ । गृहमन्त्री श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका निम्ति मेडिकल आईसीयूमा स्थिर अत्यावश्यक संकेतका साथ पूर्ण रूपमा होसमा रहेको अस्पतालले जनाएको छ । तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन बेइजिङ पुगेका गृहमन्त्री श्रेष्ठलाई गएराति करिब १ बजे हृदयाघात भएको थियो । चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

राष्ट्रसंघका महासचिव गुटरेस कात्तिक १२ गते नेपाल आउने

काठमाडौं । इजरायमा चर्किएको द्वन्द्वका कारण यसअघि नेपाल भ्रमण स्थगित गरेका महासचिव गुटरेस कात्तिक १२ गते काठमाडौँ आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटरेस कात्तिक १२ गते बिहान नेपाल आइपुग्नेछन्। यसअघि उनी असोज २६ गते नै नेपाल आउने कार्यक्रम तय भएको थियो। तर लगत्तै हमास र इजरायलबीच युद्ध सुरु भएपछि उनले नेपाल भ्रमण स्थगन गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका बेला महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। प्रथम र दोस्रो महासचिव क्रमशः ट्रेज ली र ड्याग ह्यामरसोल्डबाहेक राष्ट्रसंघका ६ पूर्वमहासचिवले नेपालको भ्रमण गरेका छन्। यसैबीच नेपाल आइपुगेकै दिन महासचिव गुटरेससँग भेटवार्ता गरेपछि परराष्ट्रमन्त्री अमेरिका जानेगरी नयाँ कार्यतालिका बनाइएको जानकारी पनि उनको सचिवालयले दिएको छ। ‘संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेज कार्तिक ११ को राति (१२ गते बिहान) नेपाल आउनु हुँदै छ’, परराष्ट्रमन्त्रीको सचिवालयले भनेको छ, ‘त्यही दिन महासचिव गुटरेससँग कार्तिक १२ गते भेट गरेपछि मात्र माननीय परराष्ट्रमन्त्रीज्यू अमेरिका जानेगरी भ्रमणको नयाँ कार्यतालिका बनिरहेको छ।’

एनआरएनएको नयाँ नेतृत्व चयनका लागि काठमाडौँमा मतदान जारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौँमा मतदान जारी छ । अनलाइन भोटिङ मध्यराति १२ बजे नै सुरु भए पनि काठमाडौँमा उपस्थित प्रतिनिधिले बिहीबार बिहान १० बजेदेखि मतदान गर्न थालेका हुन्। उनीहरुले राति ८ बजेसम्म सोल्टी होटलमा पुगेर मतदान गर्नुपर्ने छ। फेसियल भेरिफिकेसनका आधारमा मतदान गर्नेले राति १२ बजेसम्म मतदान गर्ने छन्। एनआरएनएको जारी ११औं अधिवेशनका लागि कूल ४ हजार २२७ प्रतिनिधि छन्। जसमध्ये काठमाडौँमा ६ वटै क्षेत्रका ८२६ प्रतिनिधि भेला भएका छन्। जसमा अफ्रिकाबाट ११, अमेरिकाबाट १२१, एसिया प्यासेफिकबाट १९१, युरोपबाट २२९, मध्यपूर्वबाट २०२ र ओसियानाबाट ७२ जना छन्। गैरआवासीय नेपाली संघ ८७ देशमा विस्तार भएकामा ५९ देशले नयाँ कार्यसमिति चुनिसकेका छन्। आगामी नेतृत्वका लागि ४ जना अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन्। निर्वाचन समितिका अनुसार डा.बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापा अध्यक्षका लागि चुनाव लड्दै छन्।

सुनको मूल्यमा रेकर्ड

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज (बिहीबार) प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि साउन ४ गते सुनको मूल्य एक लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसयता यो मूल्यभन्दा तल कारोबार हुँदै आएको थियो । बुधबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले वृद्धि भएको हो । त्यसदिन छापावाल सुन प्रतितोला एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ विमोचन

काठमाडौं। प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघुकथा समाज कोशी प्रदेश समितिको अयोजनामा मंगलबार बिहान अनामनगरमा आयोजित एक विशेष समारोहकाबीच सो कृतिको विमोचन गरिएको हो । कार्यक्रम कोशी प्रदेश अध्यक्ष ममता मृदुलको सभापतित्वमा आयोजना भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले कृतिकार याख्खालाई बधाईसहित शुभकामना व्यक्त गरे । संख्यात्मक भन्दा गुणात्मक कृति लेख्न र यो कृति भन्दा अर्को उत्कृष्ठ बनाउन पनि श्रेष्ठले सुझाव दिए । कृतिमाथि समीक्षा गर्दै लघुकथाकार दीव्य गिरीले कृतिमा समेटिएका लघुकथाहरु उत्कृष्ठ रहेको बताए । कृतिमा समावेश लघुकथा वाचन गर्दै उनले याख्खाको विषयवस्तुको चयन, लेखन र प्रस्तुतिकरण उत्कृष्ठ रहेको भन्दै प्रशंसा गरे । कथामा सामाजिक, राजनीतिक, आर्थिक व्यङ्ग्य पनि रहेको उनले सुनाए । कृतिकार याख्खालाई शुभकामना दिँदै नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले यस्ता पुस्तकले हामीलाई बाँच्ने प्रेरणा दिने बताए । उनले यो कृतिले नेपाली लघुकथा समाजमा एउटा इँटाको काम गरेको बताए । कार्यक्रममा लघुकथाकार ध्रुव मधिकर्मीले कृतिकार याख्खालाई बधाई तथा शुभकामना दिँदै कृति प्रकाशन लेखकको परिचय व्यवस्थित गर्ने काम भएको बताए । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा समाजको कोशी प्रदेश अध्यक्ष ममता मृदुलले सामाजिक सञ्जालबाट चिनेका याख्खाको आग्रहमा यो कार्यक्रम आयोजना गर्न सफल भएको बताइन् । सीमित साहित्यकार तथा लघुकथाकारहरुको उपस्थितिमा आयोजित कार्यक्रमलाई लघुकथा समाजका उपाध्यक्ष तुलसीहरी कोइरालाले सञ्चालन गरेका थिए ।