चौध वर्षमा पनि बनेन सिरहा र धनुषा जोड्ने कमला नदीको पक्की पुल
सिरहा । सिरहा र धनुषा जोड्ने कमला नदीमा २०६८ सालमा सुरु गरिएको पक्की पुलको निर्माण १४ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।
तीन वर्षमै सम्पन्न गर्ने योजना भए पनि पुल अधुरो रहँदा वर्षायाममा स्थानीय बासिन्दा धेरै प्रभावित हुने गरेका छन् । अहिले उनीहरूको एक मात्र सहारा डुङ्गा बनेको छ ।
सिरहा नगरपालिका–५ का वासुदेव यादव दैनिक गाईवस्तुलाई घाँसपात गर्न नदीपारि जान्छन् । वर्षायाममा पानी बढ्दा डुङ्गा चढ्न डर लागे पनि विकल्प नभएको उनी बताउँछन् ।
वर्षायामबाहेक अरु बेला प्रयोग हुने काठको सानो पुल बर्खाको बाढीले बगाएपछि अहिले डुङ्गामात्र विकल्प छ । हुलाकी सडकमार्ग प्रयोग गर्ने यात्रुलाई डुङ्गा पार गर्न प्रतिमोटरसाइकल १०० रुपैयाँ र प्रतिव्यक्ति ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ ।
पुल नहुँदा स्वास्थ्य सेवा पनि प्रभावित भएको छ । सिरहा अस्पतालबाट जनकपुर ‘रेफर’ गरिएका बिरामीलाई लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्छ । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिलप्रसाद कुशवाहाका अनुसार, नदीपारिका धनुषावासी बिरामीलाई सिरहा अस्पताल नजिक भए पनि जनकपुरसम्म जानुपर्ने बाध्यता छ । यस क्रममा गम्भीर बिरामीको बाटैमा मृत्यु हुने जोखिम रहन्छ ।
सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार, पुल अभावमा पैदल यात्रुले बाँसको फड्के वा डुङ्गाबाट नदी पार गर्नुपर्ने अवस्था छ ।
संवैधानिक इजलास गठन नहुँदा १५ मुद्दा स्थगित
काठमाडौँ । संवैधानिक इजलास गठन नहुँदा १५ वटा मुद्दा स्थगित सूचीमा परेको छन्। । अधिवक्ता अनन्तराज लुँइटेलले संघीय संसद प्रतिनिधिसभालाई विपक्षी बनाएर दायर गरेको रिटदेखि अधिकार क्षेत्रसम्बन्धी विवाद लगायतको मुद्दा स्थगितमा परेको हुन् । । हरेक बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने गरी तोकिएको छ । शुक्रबार नयाँ दर्ता भएका मुद्दामा प्रारम्भिक सुनुवाइ हुन्छ भने बुधबार पूर्ण सुनुवाइ । संघीय इकाइहरूबिचको विवाद, कानुन, संविधानसँग बाझिएका विषय र निर्वाचनसम्बन्धी विवाद हेर्ने जिम्मेवारी तोकिएको यस इजलासमा संविधानको ‘गम्भीर व्याख्याको प्रश्न समावेश भएका’ अन्य विवाद पनि पठाइन्छ । संविधान जारी हुँदाका प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संवैधानिक इजलाससम्बन्धी नियमावली बनाएर २०७२ मै इजलास गठन गरेका थिए । त्यसपछि प्रधानन्यायाधीश बनेकी सुशीला कार्कीले आफ्नो कार्यकालभर संवैधानिक इजलास गठन गरिनन् । त्यसपछिका प्रधानन्यायाधीशहरू गोपाल पराजुली, दीपकराज जोशी कायममुकायम प्रधानन्यायाधीश, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराले फाट्टफुट्ट इजलास बसाले । चोलेन्द्रलाई महाअभियोग लागेपछि लामो समय बस्न नसकेको संवैधानिक इजलास प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बेलाबेलामा बसाले । उनीपछि हालका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आएपछि निरन्तर चलिरहेको संवैधानिक इजलास पुनः रोकिएको छ । प्रधानन्यायाधीशको नेतृत्व रहने गरी न्याय परिषद्को सिफारिसमा सर्वोच्चका अन्य चार न्यायाधीश सम्मिलित संवैधानिक इजलास गठन हुने व्यवस्था संविधानमा छ । प्रधानन्यायाधीशकै नेतृत्वमा रहने न्याय परिषद्ले वरिष्ठताका आधारमा चार न्यायाधीश सिफारिस गर्दै आएको थियो । सिफारिसमा परेकामध्ये कुनै न्यायाधीशले मुद्दा हेर्न नमिल्ने हुँदा वा उनीहरूमध्ये एक जना मात्रै अनुपस्थित हुँदा पनि इजलास बस्न र सुनुवाइ गर्न नसक्ने जटिलता सुरुमै देखियो । यस्तो जटिलतालाई सर्वोच्च अदालतले अधिवक्ता माधव बस्नेतको रिटमा फैसलामार्फत फुकाएको थियो ।
उच्च अदालतमा २७ जना नयाँ न्यायाधीशले लिए शपथ
काठमाडौँ – उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उनीहरूले उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष शपथ ग्रहण गरे। सिफारिस भएका २७ न्यायाधीशमध्ये १६ जना जिल्ला न्यायाधीश, ६ जना कानुन व्यवसायी र ५ जना न्याय सेवाबाट सिफारिस भएका थिए। उनीहरू अब एक महिनाको तालिमपछि मात्रै कार्यक्षेत्रमा खटिनेछन्। यससँगै उच्च अदालतको न्यायिक शक्ति बलियो भएको छ र न्यायिक सेवामा थप क्षमता थपिएको छ।
बागलुङ बजारमा बर्खेजात्राको सांस्कृतिक रौनक
काठमाण्डौँ । बागलुङ बजार अहिले नेवारी समुदायको बर्खेजात्रा नाचहरूले गुल्जार भएको छ। लाखे, होवा, घोडा, रोपाइँ लगायतका पुराना नाच दैनिक रूपमा प्रदर्शन भइरहेको छ। घण्टाकर्ण चतुर्दशीको अघिल्लो दिन लाखेनाचबाट सुरु भएको जात्रा भदौ ११ गतेसम्म चल्नेछ। नेवारी संस्कृतिको संरक्षणमा बागलुङका नेवार समुदाय सक्रिय छन्। युवा पुस्ताको चासोले बर्खेजात्रालाई अझ रोमाञ्चक बनाएको छ। खर्चिला नाच जस्तै नागनागिनी, शिखारी र थेत्तर प्रदर्शन गरिँदैनन् भने लाखे, कटुवाल, रोपाइँ, जोगी, घोडा र होवा नाच प्रदर्शन भइरहेका छन्। नेपाल भाषा मंका खलःको संयोजनमा पाँचवटा संस्थाले बर्खेजात्रा सञ्चालन गरिरहेका छन्। केही नाचहरू आर्थिक कारणले लोप भए पनि युवा पुस्ताको सक्रियताले अन्य नाचहरू पुनः देखाउन सहज भएको छ। बर्खेजात्रा बागलुङका सडक, चोक र बस्तीलाई संस्कृतिमय बनाउँदै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याइरहेको छ।
आज अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुसमेतको प्रभावले मनसुन सक्रिय भएको छ । दुवैतिरबाट आएको बादलले गर्दा हिजोदेखि नै धेरै स्थानमा पानी परिरहेको छ । आज पनि अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कुनै–कुनै ठाउँमा त अति भारी वर्षाको समेत सम्भावना छ । विहीबार बिहानदेखि भने तुलनात्मक रुपमा पानी पर्न कम हुने प्रक्षेपण छ ।जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको बताए । यसको प्रभावले गत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । एक–दुई ठाउँमा अति भारी वर्षा पनि भएको छ । २४ घण्टामा सबैभन्दा धेरै वर्षा झापामा सबैभन्दा धेरै वर्षा झापा जिल्लामा भएको छ । झापाको बर्फल्याङ वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै १२६.४ मिलिमिटर र अनारमनी बिर्तामा १२०.४ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी केचनामा ९५.२, शनिश्चरेमा ९०.२, सिस्ने अर्जुनधारामा ८८.६, बाहुनडाँगीमा ७७, चन्द्रगढी एयरपोर्टमा ६५, कन्काइमा ५५ र दमकमा ३२ मिलिमिटर वर्षा भएको छ । इलामको इलाम टि–स्टेटमा सबैभन्दा धेरै ८९.२ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी जितपुरमा ६३, हिमाली गाउँमा ५५.६ र कन्याममा ५५ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी उदयपुरको गाईघाटमा पनि ९४.८ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा परासीमा पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा पश्चिम नवलपरासीको परासी र बर्दघाट तथा कास्कीको पस्याङखोला केन्द्रमा भएको छ । परासीमा एक घण्टामै २६.२ मिलिमिटर र बर्दघाटमा १०.८ मिलिमिटर वर्षा मापन भएको छ । पस्याङखोलामा १४ मिलिमिटर वर्षा मापन भएको छ ।पछिल्लो ६ घण्टायता भने रसुवाको बेत्रावती, बाँकेको कुसुम, बाजुराको झिंग्राना, डोटीको ओइलानो र सप्तरीको बरमझिया वर्षा मापन केन्द्रमा धेरै पानी परेको देखिन्छ । पश्चिम सर्दैछ पानी पार्ने बादल मौसमविद गोविन्द झाका अनुसार पानी पार्ने बादल पूर्वबाट पश्चिमतर्फ सर्ने क्रममा छ । तर सबैतिर एकनासको वर्षा नभई आइसोलेटेड ९कुनै–कुनै ठाउँमा मात्र केन्द्रित हुने गरी पानी पर्ने सम्भावना रहेको उनले बताए । आज बिहान बागमती प्रदेशसहित काठमाडौं उपत्यकामा समेत केही घण्टासम्म मध्यम वर्षा हुने मौसमविद झाले बताए । त्यसपछि वर्षा पश्चिमतर्फ सर्दै जानेछ ।आज राति पश्चिम क्षेत्रमा बढी वर्षा हुने पूर्वानुमान छ । त्यसक्रममा तुलनात्मक रुपमा पहाडी क्षेत्रमा बढी वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरेको बुलेटिनमा लेखिए अनुसार आज दिउँसो देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । आज कुन प्रदेशमा कस्तो छ वर्षाको सम्भावना मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । यसैगरी कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ । यसैगरी आज राति पनि सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण छ । लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी पनि वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा भने मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । पानी पारिरहेको अहिलेको यो प्रणाली भोलि विहीबार बिहानपछि तुलनात्मक रुपमा केही कमजोर हुने छ । त्यसपछि मौसममा क्रमिक सुधार हुँदै जाने सम्भावना छ । ‘पानी पर्दैनपर्ने भन्ने चाहिँ होइन, तर विहीबार बिहानबाट थोरै कम भने हुन्छ,’ झाको भनाई रहेको छ ।
पहिरोका कारण जोमसोम–कोरला सडक अवरुद्ध
काठमाण्डौ । जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्रको छुसाङ खण्डमा लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन गरिएको छ। उनका अनुसार लगातारको वर्षाका कारण पहिरो खस्दा सडकको दुवैतर्फ सवारी आवागमन रोकिएको हो। सडक सुचारु गर्न डोजर प्रयोग गरी माटो तथा ढुंगामाटो हटाउने काम भइरहेको र मौसम अनुकूल भए आजै सडक सञ्चालनमा ल्याइने प्रहरीको भनाइ छ।
‘पर्यावरण संरक्षणमा हात्ती अनिवार्य’
चितवन । पर्यावरण संरक्षणमा हात्तीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले तिनको संरक्षणमा लाग्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । चौधौँ अन्तरराष्ट्रिय हात्ती दिवसका अवसरमा सौराहामा आयोजित भएको हात्ती वनभोज कार्यक्रमका उनीहरूले हात्ती संरक्षण नगरी पर्यावरण संरक्षण नहुने बताएका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले हात्तीबिना संरक्षणको कल्पना गर्न नसकिने बताए । उनले भने, “हात्तीलाई संरक्षण गरेर मात्र वन र वन्यजन्तुको संरक्षण गर्न सकिन्छ । हात्ती बुद्धिमान् जनावार भएकाले यसको संरक्षण जरुरी छ । ” वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले हात्ती संरक्षणका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । वन क्षेत्र र वन्यजन्तु संरक्षणमा हात्तीले खेल्ने भूमिका कसैले पनि भुल्न नहुने उनले बताए ।
कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो
कञ्चनपुर । कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिका–१ मा १६ वटा छाउगोठ भत्काइएको हो । उनका अनुसार बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजार क्षेत्रका छाउगोठ स्थानीय प्रतिनिधि, सङ्घसंस्था, प्रहरी र स्थानीय बासिन्दाको उपस्थितिमा भत्काइएको हो । गत असारमा कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाइको छाउगोठमा बस्दाबस्दै सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो । त्यसपछि स्थानीय जनप्रतिनिधि र प्रहरीले पालिकामा रहेको छाउगोठ भत्काउने अभियान सुरु गरेका हुन् । बेदकोट नगरपालिका–१० का वडाध्यक्ष रतनसिंह विष्टले वडा ४ र १० मा २३ वटा छाउगोठ भत्काएको बताए । “हामीले छाउगोठ भत्काएका छौँ तर फेरि निर्माण हुने आशङ्का छ,” उनले भने, “त्यसैले सम्बन्धित परिवारलाई बोलाएर अभिमुखीकरण गर्ने तयारीमा छौँ ।” उनका अनुसार छाउगोठ निर्माण गर्ने समुदायलाई कुरीतिबारे सचेत गराउन आवश्यक छ । कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतले मंगलबार मात्रै १६ वटा छाउगोठ भत्काएको जानकारी दिए । “अहिले नागरिक सचेत भएका छन्, पहिला जस्तो अवरोध छैन,” उनले भने । गत वर्षदेखि नै वडाले छाउगोठ भत्काउने अभियान सुरु गरे पनि स्थानीयको अवरोधका कारण केही समय रोकिएको थियो । तर, असार अन्तिम साता निगालीमा कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले १५ दिनभित्र छाउगोठ नभत्काए कानुनअनुसार कारबाही र १० हजार रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको थियो ।
विमानस्थलमा दुई महिनादेखि सुन तस्करी बरामद ठप्प
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको केन्द्रका रूपमा बदनाम छ । विगतमा कर्मचारीको मिलेमतोमा ठूलो परिमाणमा सुन तस्करी भएको पुष्टि भएको थियो । सामान्य अवस्थामा विभिन्न सामानमा लुकाएर ल्याइएको सुन हरेक हप्ता बरामद हुन्थ्यो । तर, पछिल्लो दुई महिनायता तस्करीको सुन बरामद हुन सकेको छैन । प्रहरी अधिकारीहरूले यसलाई अनौठो मानेका छन् । एक प्रहरी अधिकारीका अनुसार, तस्करी पूर्ण रूपमा रोकिएको हुन सक्छ वा नयाँ तरिकाले भइरहेको हुन सक्छ । सरकारले सुनमा लगाएको कर र बिक्रीमा आएको कमीले तस्करी घटेको अनुमान छ । नेपालमा तस्करी भएको अधिकांश सुन भारत जाने भए पनि बरामद ठप्प हुनुको कारण भन्सारले पत्ता लगाउन सकेको छैन । विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले दुई महिनायता सुन बरामद नभएको र कारणबारे अनुसन्धान भइरहेको बताए । भन्सार प्रमुख दिलीपकुमार गौतमले कडा चेकजाँच र मागमा कमीका कारण तस्करी घटेको बताए । उनले भारतमा सुनको मूल्य नेपालको भन्दा सस्तो हुनुले पनि तस्करी कम भएको हुन सक्ने उल्लेख गरे ।
बाँदर आतङ्कले बागलुङका बस्ती रित्तिँदै
बागलुङ । काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले बाँदर आतङ्कका कारण अन्नबाली र तरकारीखेती छाडेर अदुवा र अलैँची खेती गर्न थालेका छन् । “घरमा बूढाबूढी मात्र छौँ, बाँदरले बारीको बाली सखाप पार्छ,” कँडेलले भने, “बाँदरले नखाने बाली लगाउन बाध्य छौँ ।” अत्यावश्यक तरकारी र फलफूल बजारबाट किन्नुपर्ने अवस्था रहेको उनको गुनासो छ । बाँदरले नखाने भएकाले यहाँका किसानले सुन्तला बारीमा अदुवा र अलैँची खेती गरेका छन् । कतिपयले भैँसीपालन रोजेका छन् । तर, भैँसीपालनमा पनि समय र मेहनत बढी लाग्ने र बाँदरले घरभित्रै पसेर खाना खाइदिने समस्याले किसान हैरान छन् । “बाँदर नियन्त्रणको कार्यक्रम जरुरी छ,” स्थानीय टङ्क कँडेलले भने । काठेखोला गाउँपालिकाका दर्जनौँ किसानले मकै छाडेर अदुवाखेती थालेका छन् । यद्यपि, अदुवा र अलैँचीको मूल्यमा उतारचढाव र बजारीकरणको समस्याले फाइदा लिन कठिन छ । सुन्तलाखेती भने केही किसानका लागि फलदायी बनेको छ । “सुन्तलाबाट लाखौँ कमाइ हुन्छ, तर बाँदरबाट जोगाउन गाह्रो छ,” कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेन्द्र सिलवालले भने । उनले बजारीकरणमा सहयोग गर्ने र बाली संरक्षणमा जोड दिने बताए । बाँदर आतङ्ककै कारण काठेखोला–५ को करलिम र जैमिनी नगरपालिका–१ टुनीबोटको राङखानी बस्ती लगभग रित्तिसकेका छन् । बागलुङ नगरपालिका–८ का रामबहादुर खड्काले सुन्तलासमेत जोगाउन नसकेको गुनासो गरे । “बाँदर नियन्त्रण नभए अन्नबाली र फलफूल खेती गरेर बाँच्न गाह्रो छ,” उनले भने । पशुपालनमा लागेका किसानलाई भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले प्रतिलिटर दूधमा रु. ५ अनुदान दिएको छ । “नश्ल सुधार गरिएका गाईभैँसीको दूधमा अनुदान दिएर किसानलाई प्रोत्साहन गरेका छौँ,” केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले भने । तर, भैँसीपालनमा लागत र मेहनत बढी हुने र बजार नपाउँदा किसानको गुनासो छ । जैमिनी–८ का रघुनाथ पौडेलले परम्परागत खेती छाडेर मौरी र भैँसीपालन थालेका छन् । तर, बजार टाढा भएकाले दूध बिक्रीमा समस्या छ । बाँदर आतङ्कको स्थायी समाधान नहुँदा किसान वैकल्पिक खेती र पशुपालनमा लागे पनि उचित बजार र संरक्षणको अभावमा समस्यामा छन् ।
जापानी इन्सेफ्लाइटिसको जोखिम बढ्दो
यतिबेला लामखुट्टेको टोकाइबाट सर्ने जापानी इन्सेफलाइटिसको जोखिम बढेको छ, जसबाट बालबालिका उच्च जोखिममा छन्। सन् २०२५ मा नेपालमा जापानी इन्सेफ्लाइटिसबाट ३ जनाको मृत्यु भएको छ, र यो रोग तराई र ग्रामीण क्षेत्रमा बढी देखिएको छ। यो रोग क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने र यसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ। काठमाडौँ । मनसुनसँगै लामखुट्टेको टोकाइबाट सर्ने विभिन्न रोगहरूको जोखिम बढेको छ । यस्तोमा अहिले जापानी इन्सेफलाइटिस जेई संक्रमणको उच्च जोखिममा बालबालिका परेका छन् । बालबालिकासँगै कृषि पेसामा आबद्ध मानिस, धानखेत, सुँगुर तथा हाँस पालन क्षेत्र नजिक बसोबास गर्नेहरू पनि यस रोगको जोखिम परिरहेका चिकित्सकहरू सुनाउँछन् । एक वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिका यो रोगको उच्च जोखिममा छन् । सन् २०२५ मै नेपालमा जापानी इन्सेफ्लाइटिसबाट युवा र ज्येष्ठ नागरिक गरी ३ जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार ६८१ जनालाई परीक्षण गर्दा ३४ जना संक्रमित भएका थिए । मस्तिष्कमा गम्भीर असर पुर्याउने यो रोगको खतरा विशेषगरी नेपालको तराई र ग्रामीण क्षेत्रमा देखिएको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर अभियान गौतम बताउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत वर्ष ९५५ जना शङ्कास्पद बिरामीको परीक्षण गर्दा ८६ जनामा जापानी इन्सेफलाइटिस पुष्टि भएको थियो, जसमध्ये २५ जनाको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० नेपालकी अधिकृत सोनिया भगत यो रोग ‘क्युलेक्स’ प्रजातिको संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एक प्रकारको भाइरल भएको बताउँछिन् । ‘यो रोग मानिसबाट मानिसमा भने सर्दैन । विशेषगरी धानखेती हुने, सुँगुर तथा हाँसपालन गरिने ठाउँहरूमा बढी देखिने गर्छ,’ उनले भनिन् । जापानी इन्सेफ्लाइटिस भाइरसका कारणले हुने एक प्रकारको गम्भीर मस्तिष्क सङ्क्रमण भएको प्रमुख गौतमले बताए । उनका अनुसार विशेषगरी धानखेत, दलदले जमिन र पानी जम्ने ठाउँहरूमा पाइने ‘क्युलेक्स’ जातको लामखुट्टेले यो रोग फैलाउँछ । यो लामखुट्टेले संक्रमित सुँगुर, बंगुर वा जंगली चराहरूलाई टोकेपछि मानिसलाई टोक्दा भाइरस सर्ने गर्दछ । गौतमले भने, ‘यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन । तर, समयमै उपचार नपाएमा यसले गम्भीर रूप लिन सक्छ र बिरामीको ज्यान समेत जान सक्छ ।’ एक तंथ्याकअनुसार गम्भीर अवस्थामा पुगेका बिरामीमध्ये ३० प्रतिशतसम्मको मृत्यु हुन सक्छ । विश्वमा जापानी इन्सेफ्लाइटिसका केसहरू दक्षिण एसियाली क्षेत्रमा बढी देखिन्छन् । नेपालको छिमेकी राष्ट्रहरूमा पनि यसको प्रभाव बढी छ । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा पहिलो पटक सन् १९७८ मा जापानी इन्सेफलाइटिस देखिएको थियो । सन् १९९८ देखि २००८ सम्म नेपालमा ११ हजार ५९१ बिरामी भएका थिए । सन् २०१४–१५ मा २२ सयमा यस्तो सङ्क्रमण भएको थियो । यस्तै नेपालमा सन् २००५–२००६ बाट यसको खोप कार्यक्रम सुरु भएको हो । सुरुमा ३१ जिल्लामा यो कार्यक्रम लागु गरिएको थियो, जसमध्ये तराई र भित्री तराईका जिल्लाहरूमा बढी केन्द्रित गरिएका थिए । राष्ट्रिय खोपका रूपमा १२ महिनाको बच्चालाई जापानी इन्सेफ्लाइटिसको खोप दिइने गरिन्छ । यद्यपि ५ वर्षसम्म पनि लगाइदिन मिल्ने विज्ञहरू बताउँछन् । यो गम्भीर रोग भएकाले यसले मृत्यु वा दीर्घकालीन अपाङ्गतासमेत गराउन सक्ने चिकित्सकहरू बताउँछन् । लक्षणहरू देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य जानुपर्ने डा. भगतको भनाइ छ । उनका अनुसार इन्सेफ्लाइटिसले मस्तिष्कको कुनै पनि प्रणालीलाई असर गर्न सक्छ । यसको सङ्क्रमण हुँदा आँखा नदेख्ने, कान नसुन्ने, स्वाद हराउने वा हातखुट्टा नचल्ने हुन सक्छ । यो रोग बच्चादेखि वृद्धसम्म सबैलाई लाग्न सक्ने डा। गौतमले बताए । भने, ‘बच्चाहरूमा बढी देखिन्छ, किनभने उनीहरूको इम्युनिटी कम हुन्छ ।’ डब्ल्यूएचओका अनुसार २५० जनामा यो सङ्क्रमण हुँदा एक जनामा घातक समस्या देखिन्छ । र घातक समस्या देखिएका तीन जनामध्ये एकको मृत्यु पनि हुने गर्छ । यस रोगका लक्षणहरू व्यक्तिअनुसार फरक–फरक हुन सक्छन् । धेरैजसो सङ्क्रमितमा कुनै लक्षण नदेखिने पनि सक्छ । लक्षणहरू –अचानक उच्च ज्वरो आउनु –धेरै टाउको दुख्नु –वान्ता हुनु –मानसिक स्थितिमा परिवर्तन आउनु ९जस्तैः अर्धचेत वा अचेत हुनु० –कम्पन आउनु –पछिल्लो अवस्था कसरी बच्ने लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने घरबाहिर निस्कँदा लामो बाहुला भएको कपडा लगाउने घरवरिपरि पानी जम्न नदिने र सफा राख्ने लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने
कारागार सुधार गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कारागारहरू मानव अधिकारमैत्री नभएको भन्दै सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले कैदीबन्दीको स्थानान्तरण प्रक्रिया पारदर्शी बनाउन समेत सुझाव दिएको छ । रुपन्देही र कैलाली कारागारको अवस्थाबारे अनुगमन गर्दा विभिन्न समस्याहरू फेला परेको आयोगको विज्ञप्तिमा उल्लेख छ । काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कारागारहरू मानव अधिकारमैत्री नभएको आयोगको निष्कर्ष निकालेको छ । आयोगले यसअगाडि कारागारहरुको अनुगमन गरी दिएका सिफारिसहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । यस्तै आयोगले कारागार व्यवस्थापनका लागि पर्याप्त जनशक्ति र बजेटको व्यवस्था गर्न, रुपन्देही तथा कैलाली कारागारलगायतका सबै कारागारहरूको क्षमता अभिवृद्धि गरी उचित सुधार गर्न, कैदीबन्दीको स्थानान्तरण प्रक्रिया पारदर्शी बनाउन, कारागारमा पटक पटक हुने गरेका भिडन्तहरू दोहोरिन नदिने रणनीति तय गर्न, कारागारको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन, कारागारलाई सुधारगृहको रूपमा विकास गर्न, कारागार व्यवस्थापन र कारागारभित्रको प्रशासनिक क्रियाकलापलाई पारदर्शी बनाउन, कैदीबन्दीहरुप्रति मानवोचित व्यवहार गर्न र देशभरका सम्पूर्ण कारागारहरूलाई मानव अधिकारमैत्री बनाउन समेत निर्देशन दिएको छ । पछिल्लो समय कैलाली कारागारमा कैदीबन्दीहरु बिच भएको मुठभेडबाट उत्पन्न स्थिति र रुपन्देही जिल्ला कारागारको समग्र स्थितिको बारेमा अनुगमन गरिएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगका सदस्य डा। लिली थापासहितको आयोगको टोलीले रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य कैदीबन्दीहरुसँग भेट गर्नुका साथै कारागारको भौतिक अवस्था र समग्र व्यवस्थापनको बारेमा अनुगमन गरेको विज्ञप्तिमा उल्लेख छ । कारागारमा रवि लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा कोठामा हावा पास हुन नसकेको, निजलाई कोठाबाहिर हिँडडुल गर्न नदिइएको, कोठासँगै खुला ट्वाइलेट रहेको, स्वास्थ्यको दृष्टिकोणले निजलाई राखिएको कोठा उपयुक्त नभएको र अदालतबाट आदेश हुँदा समेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको विज्ञप्तिमा उल्लेख छ । यस्तै रुपन्देही कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, ज्येष्ठ नागरिक र बिरामीलाई राख्ने छुट्टै स्थान नभएको, पर्याप्त पत्रपत्रिका उपलब्ध नभएको, पढ्न चाहनेहरूका लागि शिक्षाको उचित व्यवस्था नभएको, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुपर्नेहरुले प्राप्त गर्न नसकेको, बेलाबेलामा कारागारभित्र सर्पहरू पस्ने गरेको र कतिपय आधारभूत आवश्यकताहरूको व्यवस्थापनका लागि समेत कारागार कार्यालयसँग पर्याप्त बजेट नभएको भन्ने जानकारी अनुगमनका क्रममा पाइएको प्रवक्ता डा टीकाराम पोख्रेलले जानकारी दिए । यसैगरी कैलाली कारागारमा पछिल्लो पटक भएको हिंसात्मक मुठभेडबाट उत्पन्न परिस्थितिबारे आयोगको सुदूरपश्चिम कार्यालयले निरन्तर अनुगमन गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । कैलाली कारागारमा साउन २४ गते भएको घटना अगावै पनि सम्भावित घटनाप्रति सतर्कता अपनाउन कारागार सम्बद्ध निकायमा पत्राचार पत्राचार गरिएको आयोगको भनाइ छ । ‘घटनापश्चात् तत्काल आयोगको सुदूरपश्चिम कार्यालय धनगढीले अनुगमन गर्दा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएको, उक्त कारागारमा कैदीबन्दी बिच पटक पटक झगडा हुँदा पनि राज्य संयन्त्रले समस्या समाधानको लागि पर्याप्त पहल नगरेको, सुरक्षाकर्मीको संख्या न्यून रहेको, सुरक्षा चेकचाँच अत्यन्तै फितलो हुनुका साथै प्रविधियुक्त नरहेको र स्थानान्तरण प्रक्रिया पारदर्शी नहुँदा कैदीबन्दी बिच द्विपक्षीय भिडन्त हुन पुगेको पाइएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
ट्रम्पले थपे ९० दिनका लागि चीन सँगको व्यापार युद्धविराम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले चीनसँगको व्यापार युद्धविरामलाई थप ९० दिनका लागि बढाएका छन्। अघिल्लो पटक बढाएको ९० दिनको समयसीमा मंगलबार सकिँदै थियो त्योभन्दा एक दिनअघि उनले फेरि त्यसलाई तीन महिना निरन्तरता दिएको ब्लुमबर्गले लेखेको छ। चीनसँगको व्यापार सुलह अब नोभेम्बर १० सम्म कायम रहने उनले बताए। ट्रम्पले सोमबार कार्यकारी आदेशमा हस्ताक्षर गर्दै चीनले गैरपारस्परिक व्यापारिक व्यवस्थाहरूलाई सुधार्न र अमेरिकी चिन्ताहरूलाई सम्बोधन गर्न महत्त्वपूर्ण कदम चालिरहेकाले सो निर्णय लिएको बताएका छन्। उनले आफ्नो आर्थिक सम्बन्ध र त्यसबाट उत्पन्न हुने राष्ट्रिय तथा आर्थिक सुरक्षासम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्न चीनसँग छलफल जारी राखेको पनि बताएका छन्। ट्रम्पले स्वतन्त्रता दिवस भन्दै अप्रिल २ मा आफ्ना सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च रेसिप्रोकल पारस्परिक भन्सार लगाउने घोषणा गरेका थिए। यसमा जवाफी कदम चाले अझ उच्च भन्सार लगाउने धम्की दिएका थिए र जवाफी कदम नचाले पुरस्कृत गर्ने भनेका थिए। चीनबाहेक कसैले पनि अमेरिकाविरुद्ध जवाफी कदम चालेनन्।यही कारणले अमेरिकी अर्थतन्त्र नै धराशायी हुने खतरा भएपछि ट्रम्पले एक सातामै ७० वटाभन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर ९० दिनका लागि फिर्ता लिए। त्यसपछि सबैलाई १० प्रतिशत भन्सार लगाए। चीनले भने उनको धम्की बेवास्ता गर्दै जबाफी भन्सार लगायो। यसमा रिस फेर्न ट्रम्पले भन्सार दर अझ बढाए। चीनले फेरि त्यसको जबाफ दियो। यो क्रम चल्दै जाँदा अमेरिकाले चीनमाथि लगाएको भन्सार दर बढेर १४५ प्रतिशत पुग्यो। अर्कातर्फ चीनले अमेरिकी वस्तुमा लगाएको भन्सार दर पनि १२५ प्रतिशत पुग्यो। स्विट्जरल्यान्डको जेनेभामा मे महिनामा भएको वार्तापछि भने दुवै देशले एकअर्कालाई लगाएको भन्सार ९० दिनका लागि ११५ प्रतिशत बिन्दुले घटाउने घोषणा गरे। अमेरिका र चीनले त्यसपछि ९० दिनभित्र सहमति गर्न वार्ता गरिरहेका छन्। उनले ७० वटाभन्दा बढी देशलाई व्यापार सम्झौता गर्न दिएको ९० दिन भने जुलाई ९ मा सकियो। उनले पछि सो समयसीमा बढाएर अगस्ट १ पुर्याए। यसबीच बेलायत, युरोपेली युनियन, जापान, दक्षिण कोरिया लगायत देशसँग अमेरिकाले व्यापार सम्झौता गरिसकेको छ। त्यस्तै व्यापार सम्झौता नभएका भारत लगायत अरू देशलाई भने उनले भिन्न(भिन्न भन्सार दर लगाइसकेका छन्। चीनसँगको समयसीमा भने अगस्ट १२ मा सकिँदै थियो। अमेरिका र चीनले त्यसपछि ९० दिनभित्र सहमति गर्न वार्ता गरिरहेका थिए। यसबीच दुवैले जेनेभा सम्झौताका सर्त उल्लंघन गरेको आरोप एकअर्कालाई लगाइरहेका थिए। चीनले अत्याधुनिक इलेक्ट्रोनिक्सका लागि आवश्यक दुर्लभ खनिज पदार्थ निर्यात खुकुलो पार्ने वाचा तोडेको अमेरिकाको आरोप थियो। अर्कातिर जेट इन्जिनका पाटपुर्जामा प्रतिबन्ध लगाएको, चिनियाँ विद्यार्थीलाई भिसामा कडाइ गरेको, चिप डिजाइन गर्ने सफ्टवेयर र हुवावे कम्पनीलाई चिप पहुँचमा सीमा लगाएको भन्दै चीनले पनि अमेरिकाको आलोचना गरेको थियो। व्यापार वार्तालाई गति दिन ट्रम्पले पहल गरेका थिए। सोअनुसार जुन ५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ९० मिनेट टेलिफोन कुराकानी भएको थियो। द इकोनोमिस्टका अनुसार त्यति बेला सिकागोस्थित फोर्ड मोटर कम्पनीको कारखानामा दुर्लभ खनिज प्रयोग गरेर बनाइने चुम्बक अभावमा काम रोकिएको थियो। जेनेभामा सम्झौता भएपछि सो समस्या नआउने अपेक्षा अमेरिकाले गरेको थियो। तर चीनले निर्यात फुकुवा गर्न लामो प्रक्रिया लागू गरेको छ। चीनले निर्यातकर्ताले दुर्लभ खनिज पदार्थ अमेरिका लगायत पश्चिमा देशलाई बेच्न आवेदन दिनुपर्ने व्यवस्था गरेको छ। सो आवेदनअनुसार सरकारले अनुमति दिएपछि मात्रै निर्यात फुकुवा हुन्छ। तर त्यसरी आवेदनमा कारबाही गर्ने निकायमा पर्याप्त कर्मचारी छैनन्। त्यसैले सो प्रक्रियामा ढिलाइ भइरहेको छ। चीनले नियतवश त्यस्तो ढिलाइ गरेको अमेरिकाको आरोप छ। ट्रम्पले विदेशी उत्पादनको आयात रोकेर अमेरिकामै नयाँ कारखाना खोल्ने नारा लगाएका थिए। तर अमेरिकामा चलिरहेकै कारखानासमेत बन्द हुने अवस्था आएपछि उनी सीसँग कुरा गर्न व्यग्र भएका थिए। उनीहरूबीच कुरा भएको केही दिनमै जेनेभा सम्झौताु कार्यान्वयन गर्नेबारे लन्डनमा सहमति भएको थियो।त्यसै सहमतिको कार्यान्वयनलाई दुवै देशले अघि बढाइसकेका छन्। व्यापार वार्ताबाट अगस्ट १२ सम्ममा सहमति नभएपछि सो समयसीमा फेरि ९० दिनले बढाइएको हो। (स्रोत -अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू )
माओवादी केन्द्रद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदनबारे सरकारको धारणा माग
काठमाडौं । नेकपा माओवादी केन्द्रले कुलिङ पिरियड छानबिन प्रतिवेदनबारे सरकारको धारणा माग गरेको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट विशेष समयमा बोल्दै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्यनबारे सरकारको धारणा आउन नसकेको भनेर ध्यानाकर्षण गरेका हुन् ।‘उक्त प्रतिवेदनबारे सरकारको दृष्टिकोण के हो रु यो स्पष्ट होस् र प्रतिवेदन कार्यान्वयनमा तदारुकता देखाइओस्’ उनले भने। संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिले आफ्नो प्रतिवेदन यही साउन २० गते प्रतिनिधिसभामा पेस गरेको थियो ।उक्त प्रतिवेदन कार्यान्वयनको प्रक्रियाबारे सभामुख छलफलमा रहेका बेला प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद बस्नेतले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बेहोस भएर पर्सामा एक कैदीको मृत्यु
काठमाडौं । पर्सामा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय राहुल साह छन् । उनी कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका व्यक्ति राहेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रका अनुसार उनी मंगलबार बिहान एक्कासी बेहोस भएका थिए । ‘बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन् । उपचारका लागि लगिएको र अस्पतालमा मृत्यु भयो’ एसपी मिश्रले भने । नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले मृतकका आफन्तसँग सो बारेमा छलफल भइरहेको छ । आफन्तले भने विभिन्न आरोप लगाउँदै आएका छन् ।
सुरक्षाका लागि सरकार सँग त्रिविको माग
काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले सरकारसँग सुरक्षा माग गरेको छ । विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण असुरक्षित भएको भन्दै त्रिविले सुरक्षाका लागि सरकार गुहारेको हो । त्रिविले सुरक्षित वातावरणमा हिँड्न र कार्यालयमा बसेर काम गर्न सुरक्षाको प्रबन्ध गर्न सरकारलाई भनेको छ ।‘जिल्ला प्रशासन कार्यालयमा पत्र पनि पठाएका छौंँ,’ त्रिविका एक अधिकारीले भने । उनका अनुसार सुरक्षाको लागि गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तलाई पनि सुरक्षाको प्रबन्ध मिलाइदिन भनिएको छ । सोमबार अखिल क्रान्तिकारीले शुल्क घटाउनु पर्ने भन्दै रजिस्ट्रार कार्यालय र रेक्टर कार्यालयमा आफ्ना जायज माग राखेर मा नारावाजी गरेको थियो तोडफोड गरेको थियो । सो क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थीहरु घाइते भएका थिए ।अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो । गाभिएका कार्यक्रमको शुल्क घटाउनु पर्ने माग राखेर अखिल क्रान्तिकारीले २० दिनदेखि उपकुलपति अर्यालको कार्यकक्ष अगाडि ढोकामा धर्ना दिइरहेको छ । जसका कारण कार्यकक्षमा बसेर काम गर्न नपाएको उपकुलपति दीपक अर्यालले बताएका छन् ।

