महासचिव गुटेरेस पोखरामा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा पुगेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस सोमबार दिउँसो पोखरा पुगेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा गएका हुन् । गुटेरेस सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण भएको थियो ।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले स्वागत गरेका छन् ।

 

 

मुगु हत्याको आशंकामा एक जना पक्राउ

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला सदरमुकाम गमगढीस्थित बजारबाट प्रहरीले शंकाका आधारमा ती व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिबारेको सूचना गोप्य राखेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । घटनाको सूक्ष्म अनुसन्धानका लागि जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुन्दु पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ । अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित प्रहरीको अनुसन्धान टोली शनिवार मुन्दु गाउँमा पुगेको हो । शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । घटना बुधबार साँझ घटेको भएपनि प्रहरीले ढिला गरी जानकारी पाएकाले अनुसन्धान गर्न समस्या भएको प्रहरीले जनाएको छ । शव शनिबार जिल्ला अस्पतालमा ल्याइए पनि पोस्टमार्टम हुन सकको छैन ।

सर्यो कतारका अमिरको नेपाल भ्रमण

काठमाडौं । कतारका अमिर शेख बिन हमाद अल थानीको नेपाल भ्रमण सरेको छ । यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण सारिएको काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको हो । परराष्ट्रले कतारी अमिरको नेपाल भ्रमणको सम्पूर्ण तयारी गरिसकेको थियो । अब कतारी अमिरको नेपाल भ्रमणको मिति आपसी छलफलको आधारमा पछि तय गरिने छ । स्रोतका अनुसार अमिर शेख बिन हमाद अल थानीले यसअघिको भ्रमण तालिका भन्दा हप्ता दिन पछि नेपाल भ्रमण गर्ने बताएको छ ।

राष्ट्रसंघका महासचिवद्धारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव आन्तोनियो गुतेरसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन्। महासचिव गुतेरसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाबारे जानकारी दिएका थिए। महासचिव गुतेरस पाटन दरबार क्षेत्रमा पुग्दा धिमे बाजा र परम्परागत नृत्य प्रस्तुत गरिएको थियो। महासचिव गुतेरस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घको शान्तिका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारी सहभागी छन्। महासचिव गुतेरस चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार यहाँ आइपुगेका हुन्। भ्रमणका क्रममा उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन्। यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन्।

इजिप्टमा कारबाट तेल चुहिएर भयानक दुर्घटना : ३५ जनाको मृत्यु

काठमाडौं । इजिप्टमा कारबाट तेल चुहिएर भएको दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ।दुर्घटनामा अन्य ५३ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यले जनाएका छन्। इजिप्टको बेहेरा प्रान्तको मरुभूमिमा रहेको सडकमा गुडिरहेको एउटा कारबाट तेल चुहिएपछि उक्त दुर्घटना भएको हो। सडकमा गुडिरहेको कारबाट तेल चुहिएर अरु गाडीमा पनि आगो सल्किँदा ३५ जनाको मृत्यु भएको इजिप्टका अधिकारीहरुले जनाएका छन्।

सार्कका नयाँ महासचिवले सम्हाले कार्यभार

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन्। सार्क मन्त्रिपरिषदले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मंगलबारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले जनाएको छ । गोलाम सरवर सार्कको १५ औं महासचिव हुन्। उनी बंगलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी पनि हुन्। सार्क सचिवालयका अनुसार सन् १९९१ मा बंगलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवर मलेसिया, ओमन र स्विडेनमा बंगलादेशी राजदूत भइसकेका छन्। उनले क्वालालम्पुर, काठमाडौं, याङ्गुन र वासिङटन डिसीमा पनि बंगलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका छन्। सन् १९६६ मा जन्मेका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका सार्क सचिवालयले जनाएको छ।

आज विश्व पक्षाघात दिवस मनाइँदै

काठमाडौं । ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षाघात दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ का दिन विश्व पक्षाघात दिवस मनाउँदै आइएको छ । एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्त्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षघातका लक्षण हुन् । नेपाल पक्षाघात सङ्घका अध्यक्ष डा.राजु पौडेलले विश्वभर बर्सेनि एक करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षाघात हुने गरेको बताए । हरेक ६ सेकेण्डमा एक जना र चार जनामा एक जनालाई पक्षाघात हुने गरेको छ । पक्षघातको उपचारका लागि नेपाल पक्षाघात सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको डा.पौडेलको भनाइ छ । उक्त सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलवर्गको सहयोगमा नेपाल पक्षाघात परियोजनासँग सहकार्य गरी काम गर्दै आएको छ । सन् २०१७ मा स्थापना भएको सङ्घले नेपालको पक्षघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ । यस्तै जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा नेपालको पक्षघातसम्बन्धी गाइडलाइन तय गर्ने काम गर्दै आइएको उक्त सङ्घले पक्षघातसम्बन्धी निर्देशिका चाँडो निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । देशभरका १५ अस्पतालको पक्षघातको अवस्थाबारे सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्नेलगायतका काम पनि सङ्घले गर्दै आएको छ । वरिष्ठ न्यूरोलोजिस्टसमेत रहेका डा। पौडेल पक्षाघात भएकामध्ये एकतिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए । नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेकामा डा। पौडेलले जोड दिए । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ । डा। पौडेलका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको डा। पौडेलको भनाइ छ । पक्षाघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ ।

मुगुमा सामूहिक हत्या गरिएका चारै जनाको शव सदरमुकाम गमगढीमा

मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए ।मृतास्थामा फेला पर्नेमा छायानाथ रारा– ६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनले चारैजनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको र आज शव परीक्षण हुने बताए । अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट उनी चारैजनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले अनुमान लगाएको छ । छायाँनाथ रारा–६ का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान् दीपक घर आइसकेपछि शव उठाइएको हो । शनिबार बिहान कोहलपुरबाट कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली पनि अनुसन्धानमा सक्रिय छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैँको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइती गाउँ गएकी थिइन् । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिइएको छ । छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले गत शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेको जनाइएको छ ।

महासचिव गुटेरेसको आज उच्चस्तरीय भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा आज राति काठमाडौँ आएका छन् । भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री दाहाल प्रचण्डसँग उनको कार्यालयमा महासचिव गुटरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा महासचिव गुटरेसले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्। उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग महासचिव उनले भेटवार्ता गर्नेछन्।

कांग्रेसको चियापान आज, १० हजारलाई निम्ता

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम आज गर्दै छ । चियापानमा दश हजारजनालाई निम्ता कार्ड बाँडिएको छ । चियापानमा राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, गैरआवासीय नेपालीका संघ–संस्थाका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ । कांग्रेस सदस्य एवं शुभेच्छुकसहित सर्वसाधारलाई सार्वजनिक रूपमा आमन्त्रण गरिएको पार्टीले जनाएको छ । दश हजार निमन्त्रण कार्ड बाँडिएको जानकारी कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिए । सार्वजनिक निमन्त्रणा पनि गरिएकाले सर्वसाधारणको बाक्लो सहभागिता रहने अपेक्षा गरिएको उनले बताए । बीपी कोइरालाले ०३४ सालमा कोजाग्रत पूर्णिमाका दिन सुरु गरेको चियापानलाई विशेष अवस्थामा बाहेक कांग्रेसले हरेक वर्ष निरन्तरता दिँदै आएको छ । ०३३ साल पुस १६ गते बीपी ‘राष्ट्रिय मेलमिलाप नीति’ लिएर स्वदेश फर्किएका थिए । त्यति बेला राजाले राजनीतिक दलमाथि प्रतिबन्ध लगाएका थिए । बीपीले राजनीतिक दलका नेताहरू र सर्वसाधारणले एकसाथ भेट्न मिल्ने गरी कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्न सुरु गरेका थिए । त्यसयता कांग्रेसले कोजाग्रत पूर्णिमाकै दिन संस्कृतिका रूपमा चियापान आयोजना गर्दै आएको छ । त्यति बेला प्रतिबन्धमा राजनीतिक दल र सर्वसाधारणबीच भेटका निम्ति सुरु गरिएको चियापान पछिल्लो समय प्रमुख दलका नेताहरू सँगै बसेर सार्वजनिक रूपमा प्रतिबद्धता जनाउने पर्वका रूपमा विकास भएको छ ।

कतारमा आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजायबाट भारत ‘स्तब्ध’

नयाँदिल्ली । कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ । समाचारअनुसार जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन् । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा “नयाँदिल्लीले कतारी अधिकारीहरूसँग निर्णय लिने” र बन्दीहरूलाई “सबै कन्सुलर र कानुनी सहयोग विस्तार” जारी राख्ने बताएको छ । “कतारको अदालतले आज अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित मामिलामा फैसला सुनाएको हामीसँग प्रारम्भिक जानकारी भएको छ,” बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, “हामी मृत्युदण्डको फैसलाबाट गहिरो स्तब्ध भएका छौँ र विस्तृत फैसलाको प्रतीक्षा गरिरहेका छौँ ।” खाडीस्थित कम्पनी अल दाहराले एयरोस्पेस, सुरक्षा र रक्षा क्षेत्रलाई ‘पूर्ण सहयोग समाधान’ प्रदान गर्ने उक्त कम्पनीको वेबसाइटमा उल्लेख छ । कतारका अधिकारीहरूका तर्फबाट यसबारे तत्काल कुनै पुष्टि गरिएको छैन ।

मुगु घटनाको प्रारम्भिक अनुसन्धान : धारिलो हतियार र ढुंगा प्रहार गरी हत्या

काठमाडौं । मुगुमा भएको घटनाको थप अनुसन्धान गर्न प्रहरीको अर्को टोली घटनास्थलमा गएको छ । शुक्रबार सुर्खेतबाट प्रहरीको टोली घटनास्थलमा गएको हो । छायानाथरारा नगरपालिका–६ मन्दुका श्रीदवी बोहरासहित उनका तीन छोराछोरीको शव फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार र ढुंगा प्रहरी गरी विभत्स तरिकाले हत्या गरिएको आशंका छ । शव अझै घटनास्थलबाट उठाउन बाँकी रहेको मुगुका डीएसपी वीरेन्द्र थापाले बताए । केही व्यक्तिमाथि हत्याको आशंका गरिएको र उनीहरूको निगरानीमा सादा पोसाकका प्रहरी खटिएको उनले बताए ।

बेपत्ता रहेका विपिन जोशीको सुरक्षा गर्न सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले चरमपन्थी समूह हमासले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष वेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको छ । जोशी गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमला भएको दिनदेखि बेपत्ता छन् र उनको ठेगाना अझै अज्ञात छ। परराष्ट्र मन्त्रालयले गाजामा दुईजना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ । मन्त्रालयले उनीहरुको रिहाइको लागि कतार राज्य र संलग्न अन्यको कूटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ ।

मुगुको मन्दुमा तीन जना मृत फेला, हत्याको आशंका

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका ६ मा मन्दुमा तीनजनाको शव फेला परेको छ । उनीहरुको हत्या भएको आशंका गरिएको घटनास्थल पुगेका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । “हत्याको आशंका गरिएको छ,” उनले भने, “तीन जना मृत अवस्थामा फेला परेका छन् ।” प्रहरीको टोली अहिले भर्खरै घटनास्थल पुगेको हुँदा थप विवरण आउनै बाँकी रहेको उनले बताए ।

बढ्यो दसैं मनाएर उपत्यका फर्कनेको चाप

काठमाडौं । दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा चाप बढ्न थालेको छ । आज उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाइएको छ । नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ । चाप व्यवस्थापन गर्न नाकामा थप प्रहरी टोली परिचालन गरिएको छ । दसैँको नवमी र दशमीका दिन काठमाडौँ उपत्यकामा यातायात शून्य जस्तै बनेका थिए । यसवर्ष दसैँको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए ।

टिका र जमरा लगाइ आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको चौथो दिन आज पनि आफन्त तथा मान्यजनबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टिका र जमरा लगाइ आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने परम्परा छ । घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पुजाआराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरिन्छ । पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र टिका लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दशैं मनाइँदै आएको छ । कोजाग्रत पूर्णिमाका दिन भोलि रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि यस वर्षको बडादशैं समाप्त हुनेछ ।