नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज, यी हुन् एजेण्डा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ । आज बिहान ११:३० बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्नेगरी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठक आव्हान गर्नु भएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, स्थायी समिति बैठकका निर्णयको कार्यान्वयन र स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानको तयारी लगायतका विषयमा छलफल हुने उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले एभरेष्ट दैनिकलाई जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय समितिको बैठकको मिति र विप्लव नेतृत्वको नेकपासँग गर्ने भनिएको पार्टी एकतालगायतका विषयमा पनि छलफल हुनेछ । विभिन्न राजनीतिक दलसँग पार्टी एकता र समायोजनलगायतका विषयमा पनि बैठकले महत्वपूर्ण निर्णय गर्नेछ ।
डा. डिपी खनाल नेतृत्वको जनजागरण पार्टीलगायतका केही राजनीतिक दल र अन्य राजनीतिक दलमा आवद्ध केन्द्रीय नेताहरुले माओवादी पार्टीमा समायोजनका लागि आग्रह गर्दै आइरहेका छन् ।
सप्तरीमा डुबेर वृद्धको मृत्यु
सप्तरी । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकमा पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय सितापुर गाउँकी लालु सदाकी ७२ वर्षीया श्रीमती सजनी सदाको खेतमा खनेको खाल्डोमा डुबेर मृत्यु भएको हो । जर्मन पोखरी छेउमा पश्चिम स्थानमा स्थानीय राजेन्द्र साहको खेतमा खनेको खाल्डोमा जमेको पानीमा डुबेर सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । सदा डुबेको प्रहरीलाई जानकारिपछि इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्ले नेतृत्वको प्रहरी टोली घटना स्थल पुग्दा सदा पानीमा डुबेको अवस्था मृत फेला परेको थियो । स्थानीय २ नम्बर वडाध्यक्ष पशुपतिप्रसाद चौधरीका अनुसार उनी सधै जर्मन पोखरी र नजिकै रहेको खेतको खाल्डाखुल्डीमा घोङ्गी टिप्ने गर्थे । घोङ्गी टिप्ने क्रममा डुवेर सदाको मृत्यु भएको हुन सक्ने वडाध्यक्ष चौधरीले बताए । स्थानीय मुचुल्कासहित कानुनी प्रक्रिया पुरा गरि मृतक सदाको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारि दिए ।
नवलपरासीमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–१ पतवारी निवासी ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व(का सूचना अधिकारी छविलाल सुवेदीले बताए । “जिल्लामा चालु आर्थिक वर्षमा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमध्ये एक जनाको निधन भएको छ”, उनले भने, “बाँकी तीन जना उपचारपछि घर फर्कनुभएको छ ।” साउन महिनामा मात्र जिल्लामा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको हो । बिरामीमध्ये तीन जना कावासोती नगरपालिकाका रहेका छन् । जसमध्ये वडा नं १ की ४४ वर्षीया महिला, वडा नं ३ की ८३ वर्षीया महिला र वडा नं ६ का ५२ वर्षीय पुरुष रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले बताए । “तीन जना सङ्क्रमितहरू उपचारपछि घर जानुभएको छ । सङ्क्रमितहरूको घरपरिवारको लक्षण भए/नभए निगरानी गरिएको छ”, उनले भने, “सङ्क्रमितहरूको घरपरिवारमध्ये पाँच जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाएका छाैँ ।” जिल्लामा पछिल्लो वर्ष जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यसको लक्षण देखिएका बिरामीहरूको नमूना सङ्कलन गरी परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको ल्याब टेक्निसियन तिवारीले जानकारी दिए । “मध्यविन्दु प्रादेशिक अस्पताल डण्डाबाट एक, विनयी त्रिवेणी आधारभूत अस्पतालबाट एक र सङ्क्रमितको घरपरिवारका सदस्यहरू पाँच जना गरी सात जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि टेकु लगिएको छ”, उनले भने । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा आर्थिक वर्ष २०७९/८० मा सात जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा आठ जनामा सङ्क्रमण भएकामध्ये एक जनाको मृत्यु भएको थियो भने गत आव २०८१/८२ मा दुई जनामा सङ्क्रमण भएकामध्ये दुवै जना उपचारपछि निको भएका थिए । जिल्लामा चालु आवको सुरुआतसँगै रोग देखिएपछि स्थानीय तहमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्न थालिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख शैलेन्द्रकुमार सिंहले बताए ।
स्थानीय शासन कार्यसम्पादनमा अब्बल बन्याे बागलुङ नगरपालिका
बलेवा । बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा अब्बल बनेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले बागलुङ उत्कृष्ट बनेको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा नगरपालिका उत्कृष्ट बनेको हो । यसअघि स्थानीय तहको समग्र पक्षको मूल्याङ्कन प्रणाली (लिजा), स्थानीय तहको वित्तीय सुशासन संरचना गर्ने प्रणाली (एफआरए) र स्थानीय आर्थिक विकासको प्रवद्र्धनमा सहयोग गर्ने प्रणाली (एलइडी) को मूल्याङ्कनमा नगरपालिका अब्बल बनेको हो । ‘औपचारिक घोषणा भने यही भदौ ६ गते हुनेछ, तर नगरपालिका प्रदेशस्तरमै पुरस्कृत बन्ने भएको छ’ महाशाखा कँडेलले भने- ‘सूचक अनुसारको काम, गरेका कामको समयमा अपलोड गर्ने र आर्थिक विकास तथा वित्तीय विकासलाई चुस्त बनााउन सकेको छ ।’ तीनवटा प्रणालीलाई मन्त्रालयले चालु वर्षदेखि भने स्थानीय शासन कार्यान्वयन मूल्याङ्कन प्रणाली (एलजी–पास) नामाकरण गरेको छ । उक्त प्रणालीले तीनवटै क्षेत्रलाई एकरुपतामा हेर्ने गर्छ । जसअनुसार ५ शीर्षकमा दुई दर्जन बढी उपशीर्षकमा अध्ययन गरेर कार्यसम्पादन मूल्याङ्कन गर्न थालेको हो । सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन वातावरण तथा विपत व्यवस्थापनको क्षेत्रमा पालिकाले काम गर्ने भएकोले ती विषयगत क्षेत्रका उपशीर्षकमा मूल्याङ्कन गर्न सुरु भएको उनले बताए । तोकेको समयमा तोकेका काम पूरा गरेर प्रविष्टी नगरेसम्म पालिकाले नम्बर पाउँदैनन् । त्यसका लागि सबै शाखा जिम्मेवार बन्ने, आइटी शाखाले तोकेको दिनमा तोकेका सामग्री अपलोड गर्नुपर्ने काम गर्नुपर्ने पनि कँडेलले जानकारी दिए । मन्त्रालयले यो वर्षको ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीसम्बन्धी अभिमुखीकरण’ अभियानसमेत बागलुङ नगरपालिकाबाट थालेको छ । देशभरमै पहिलो पटक बागलुङबाट थालिएको उनले बताए । उक्त अवसरमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले देखिने गरी पूर्वाधार विकास गर्ने, नागरिकले अनुभव गर्ने गरी सुशासन दिने र सरसफाइमा पनि अब्बल बनाउने लक्ष्य राखेको बताए । त्यसका लागि कर्मचारी र कार्यालय ‘स्मार्ट’ बनाउने समेत उनले बताए । उपप्रमुख राजु खड्काले न्याय सम्पादन, पर्यटन प्रवद्र्धन लगायतको क्षेत्रलाई पनि चुस्त र नागरिकमैत्री बनाउने काम भइरहेको जानकारी दिए । सकेसम्म सामाजिक विकासको क्षेत्रमा सक्दो काम गरेर नागरिकले महसुस गर्नेगरी योजना तर्जुमासमेत भएको उनले बताए ।
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' स्वदेश फर्किए
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' स्वास्थ्य परीक्षणका लागि केही दिनअघि चीन गएका थिए। उनी गएराति स्वदेश फर्किएका छन्। उनको सचिवालयले दिएको जानकारीअनुसार नियमित स्वास्थ्य जाँचका लागि श्रेष्ठ २८ साउनको राति चीन प्रस्थान गरेका थिए। गत वर्ष २ कात्तिक २०८० मा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को तेस्रो सम्मेलनमा सहभागी हुन चीन पुगेका बेला श्रेष्ठलाई हृदयाघात भएको थियो। बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा उनको उपचार भएको थियो। सोही उपचारको नियमित फलोअपका लागि अस्पतालले नै बोलाएपछि उनी पुनः चीन गएका थिए। विशुद्ध स्वास्थ्य उपचारका लागि श्रेष्ठ चीन गएपनि कतिपयले वामपन्थी पार्टीहरुबीच एकताकै सन्दर्भलाई हेरेर यो भ्रमणलाई टिप्पणी गरेका थिए । हालै माओवादी केन्द्रको स्थायी समिति बैठकले समान विचार भएका पार्टीहरूसँग एकीकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेपछि श्रेष्ठले विभिन्न वामपन्थी नेताहरूसँग भेटघाट र छलफललाई तीव्रता दिएका छन्। उनले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिसकेका छन्। स्रोतका अनुसार, श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटेर वामपन्थी दलहरूबीच एकता र सहकार्यमा जोड दिएका थिए। उनको यो सक्रियताले वाम एकताको ढोका खोल्ने सम्भावना रहेको वाम बुद्धिजीवीहरूको भनाइ छ। श्रेष्ठले चीनबाट फर्किएलगत्तै वामपन्थी एकताको पहललाई थप तीव्रता दिने अपेक्षा गरिएको छ। उनको सचिवालयका एक सदस्यले भने, “उहाँ नियमित स्वास्थ्य जाँचका लागि चार दिनको भ्रमणमा जानुभएको थियो। अब स्वदेश फर्किएपछि वामपन्थी एकताका लागि थप छलफल र पहल अघि बढ्नेछ।”
चीन–भारतबीच उच्चस्तरीय छलफल सुरु, आज विदेशमन्त्री वाङ दिल्ली जाँदै
अगष्ट १७ (चाइना डेली/एजेन्सी) – चीन र भारतबीच सीमा विवाद समाधान तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणका लागि नयाँ चरणको उच्चस्तरीय कूटनीतिक पहल सुरु हुने भएको छ। छलफलका लागि चीनका विदेशमन्त्री वाङ यी सोमबारदेखि तीनदिने भारत यात्रामा जाँदैछन् । यो उनको करिब तीन वर्षपछि भएको पहिलो भारत भ्रमण हो। चिनियाँ विदेश मन्त्रालयका अनुसार वाङ यी चीन–भारत सीमा प्रश्नका लागि चीनका विशेष प्रतिनिधि समेत भएकाले उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलसँग संयुक्त रुपमा सीमा प्रश्नसम्बन्धी विशेष प्रतिनिधिहरूको २४औँ चरणको वार्तामा सह-अध्यक्षता गर्नेछन्। यो बैठक सन् २०२० मा भएको सीमा झडपपछि दोस्रो उच्चस्तरीय संवाद हो। गत डिसेम्बरमा बीजिङमा सम्पन्न २३औँ चरणमा दुवै देशबीच वार्ता अघि बढाउने, सीमा व्यवस्थापन बलियो बनाउने, सीमान्त क्षेत्रमा सहयोग बढाउने लगायतका विषयमा छबुँदे सहमति भएको थियो। सीमा क्षेत्रबाट सेना घटाउने सम्भावना ब्लूमबर्गले उद्धृत गरेका स्रोतअनुसार आसन्न वार्ता विवादित सीमा क्षेत्रमा तैनाथ सैनिक संख्यामा कटौती गर्ने सम्भावनामा केन्द्रित हुनसक्छ, जसले दुई देशबीच विश्वास पुनःस्थापित गर्न महत्वपूर्ण कदमको संकेत गर्नेछ। गत अक्टोबरमा रसियाको कजानमा दुवै देशका नेताहरूबीच भएको भेटवार्तापछि चीन–भारतबीच विभिन्न स्तरमा नियमित सम्पर्क भइरहेको छ। चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “दुवै देशका नेताबीच भएका साझा समझदारीलाई कार्यान्वयन गर्न, उच्चस्तरीय सम्पर्कलाई निरन्तरता दिन, आपसी विश्वास सुदृढ बनाउन, व्यावहारिक सहयोग विस्तार गर्न र मतभेदलाई सही ढंगले व्यवस्थापन गर्न चीन भारतसँग सहकार्य गर्न तयार छ।” ७५औँ कूटनीतिक वार्षिकोत्सव यस वर्ष चीन–भारत कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष हो। यसै सन्दर्भमा जूनमा वाङ यीले बीजिङमा डोभलसँग र जुलाईमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए। दुबै पक्षले अवसरलाई प्रयोग गर्दै द्विपक्षीय व्यावहारिक सहयोग विस्तार गर्ने र सीमा क्षेत्रमा शान्ति कायम राख्ने इच्छा व्यक्त गरेका थिए। व्यापार, यातायात र सांस्कृतिक सहयोगमा प्रगति हालैका महिनाहरूमा दुवै देशबीच व्यापार, आर्थिक र सांस्कृतिक क्षेत्रमा केही प्रगति भएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले भनेका छन्, “दुवै देश तोकिएका तीनवटा सीमा नाकामार्फत व्यापार पुनःसुरु गर्ने दिशामा काम गरिरहेका छन्।” साथै, कोभिड–१९ महामारीपछि स्थगित हवाई उडान चाँडै पुनः सुरु गर्ने तयारी भइरहेको र यसको घोषणा आगामी अगस्त अन्त्यमा हुने शाङ्घाई सहयोग संगठन (SCO)को तिआन्जिन शिखर सम्मेलनमा हुन सक्ने जनाइएको छ। यसै वर्ष चीनले भारतीय तीर्थयात्रीलाई तिब्बत (सीजाङ) स्वायत्त क्षेत्रमा धार्मिक भ्रमण गर्न अनुमति दिएको थियो भने भारतले जुलाईदेखि चिनियाँ नागरिकलाई पर्यटक भिसा जारी गर्न थालिसकेको छ। भू–राजनीतिक पृष्ठभूमि वाङको यो भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिनाको अन्त्यमा तिआन्जिनमा हुने SCO शिखर सम्मेलनमा सहभागी हुनुअघि भइरहेको हो। हाल भारतमाथि अमेरिकी उच्च भन्सार शुल्कका कारण आर्थिक दबाब बढ्दो अवस्थामा छ। विशेषज्ञहरूको भनाइमा, विश्वमा बढ्दो संरक्षणवाद र एकतर्फी नीतिहरूबीच चीन र भारतले बहुपक्षीय संयन्त्रजस्तै SCO भित्र सहकार्य बढाउँदै सम्बन्ध सुधार्ने अवसर प्रयोग गर्नुपर्छ। फुदान विश्वविद्यालयका प्राध्यापक लिन मिन्वाङले भने, “यो उच्चस्तरीय वार्ता चीन–भारत सम्बन्ध सुधारतर्फ लागेको संकेत हो। सीमा तनाव कम भएपछि व्यापार, लगानी र संस्कृतिमा नयाँ सहकार्यका अवसर खुल्नेछन्।” तर विशेषज्ञहरूले अझै पनि असम्झदारी कायम रहेको जनाउँदै, दुवै छिमेकी राष्ट्रले द्विपक्षीय र बहुपक्षीय संयन्त्रहरूमा घनिष्ठ सहकार्य गर्दै सम्बन्धलाई दीर्घकालीन र रचनात्मक दिशामा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
दाङमा १२ हजार नागरिकलाई कोभिड–१९ विरुद्ध खोप
दाङ । दाङमा आगामी भदौ २ देखि ४ गतेसम्म करिब १२ हजार नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप लगाइने भएको छ । जिल्लाका दश स्थानीय तहका ९५ खोप केन्द्रमार्फत खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीले जानकारी दिए । उनका अनुसार घोराही उपमहानगरपालिकामा १५ खोप केन्द्रमार्फत दुईहजार चार, तुलसीपुर उपमहानगरपालिकामा २५ खोप केन्द्रमार्फत पाँचहजार चारजना, लमही नगरपालिकामा आठहजार ९६० जना, राप्ती गाउँपालिकामा ९ खोप केन्द्रमार्फत एक हजार २०, गढवा गाउँपालिकामा एक हजार २० जना, राजपुर गाउँपालिकामा २०४ जना, बङ्गलाचुली गाउँपालिकामा तीनसय, बबई गाउँपालिकामा २९४ जना, शान्तिनगर गाउँपालिकामा पाँचसय, दंगीशरण गाउँपालिकामा ६९६ जना गरी जम्मा १२ हजार नागरिकलाई खोप लगाइनेछ । स्वास्थ्य कार्यालयका अनुसार फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट खोप १२ वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई दिइनेछ । फोकल पर्सन वलीले हालसम्म अधिकांश व्यक्तिहरू कम्तीमा एक पटक कोभिड–१९ सङ्क्रमणमा परिसकेको अनुमान गरिएको बताए । उनले काेराेना सङ्क्रमण भइसकेका व्यक्तिमा पनि प्रतिरोधात्मक क्षमता उच्च र लामो समयसम्म रहने देखिएको तर अझै पनि खोप नै सुरक्षित उपाय भएकाले सबैलाई खोप लिन आग्रह गरे ।
भाेजपुरमा चरन क्षेत्र अभावले भेडापालक किसान समस्यामा
भोजपुर । सहज चरीचरन नहुँदा यहाँका भेडापालक किसान समस्यामा परेका छन् । व्यावसायिक रुपमा भेडा पालन गरिरहेका किसानको पेसा नै सङ्कटमा परेको हो । चरन क्षेत्रको अभावसँगै छाडा कुकुरका कारण भेडा पालन पेसा सङ्कटमा परेको स्थानीय ७२ वर्षीय भेडापालक किसान गोविन्द कठेतले बताए । उनका अनुसार, दुई वर्षको अवधिमा करिब २० जनाले भेडा पालन व्यवसाय छाडेका छन् । कृषक कठेतले भने, “सामुदायिक वनमा चराउन शुल्क तिर्नुपर्छ । चरण क्षेत्रको अभावका कारण धेरैले व्यवसाय छाड्दै गएका छन् । चरनमा छाडा कुकुरले भेडा मारी दिँदा नोक्सानी भोग्नुपरेको छ ।” मैयुङ क्षेत्रमा भोजपुर र खोटाङका १८ देखि २० जना मात्र अहिले व्यावसायिक रुपमा भेडा पालन गरिरहेका छन् । राज्यले संरक्षण नगरे यो पेसा सङ्कटमा पर्ने कठेतको भनाइ छ । मैयुङ क्षेत्रमा पर्ने सात वटा सामुदायिक वनमा शुल्क तिर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए। एउटा वनमा चराएबापत प्रति भेडी गोठ रु पाँच सयदेखि रु पाँच हजारसम्म शुल्क तिर्नुपर्छ । करिब तीन महिना मात्र सो क्षेत्रमा भेडा चराए एक वर्षको शुल्क तिर्नुपर्ने अवस्था छ । कृषक कठेतले भने, “वनका आआफ्ना नियम छन् । कसैले प्रति भेडा रु ५० लिन्छन्, कसैले एकमुष्ट लिने गरेका छन् ।” छाडा कुकुर पनि भेडापालक किसानका लागि ठुलो चुनौती बनेको अर्का किसान शेरबहादुर कठेतले बताए । गत पुसदेखि हालसम्म कुकुरले यहाँका भेडी चोकका करिब एक सयको हाराहारीमा भेडा मारेको उनले बताए । उनले भने, “कुकुरले छिनभरमा भेडा मारिदिन्छ । स्थानीय सरकारले कुकुर नियन्त्रणमा ध्यान दिनुपर्छ ।” भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महीलगायत बिक्रीबाट आम्दानी लिनुका साथै ऊनबाट बन्ने राडी, लुकुनीलगायत बिक्री गर्दै आएका छन् । एक सय वटासम्म भेडा भए वार्षिक रु चार लाखसम्म आम्दानी हुने कृषकको भनाइ छ ।
देशभर ८० हजार हेक्टर खेत बाँझै
काठमाडौं । यस वर्ष मुलुकभर करिब ८० हजार हेक्टर खेत बाँझै रहने देखिएको छ । बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका अनुसार मुलुकभर धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ७६ हजार ४७७ हेक्टरमध्ये हालसम्म १२ लाख ९५ हजार ८८७ हेक्टरमा मात्र रोपाइँ भएको छ । यस आधारमा भदौ लाग्दा ८० हजार ५७९ हेक्टरभन्दा बढी खेत बाँझै रहँदा धान उत्पादन घट्ने अनुमान गरिएको छ । केन्द्रका अनुसार आइतबारसम्म देशभर ९४.१५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिसम्म ९८.४४ प्रतिशत खेतमा धान रोपाइँ भएको थियो । प्रदेशगत विवरणअनुसार यस वर्ष सबैभन्दा कम धान रोपाइँ मधेश प्रदेशमा भएको छ । यहाँ ८६.३५ प्रतिशत (तीन लाख १९ हजार ६२६ हेक्टर) क्षेत्रमा मात्र धान रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा मधेशमा ९७ प्रतिशत खेतमा रोपाइँ भएको थियो । समयमा पानी नपरेर सुक्खा र खडेरी बढ्दा यस प्रदेशमा उत्पादन घट्ने देखिएको हो । कोशी प्रदेशमा ९४.४२ प्रतिशत (२ लाख ६० हजार ९६४ हेक्टर), बागमतीमा ९७.२७ प्रतिशत (१ लाख १२ हजार ४५९ हेक्टर), गण्डकीमा ९४.८३ प्रतिशत (८३ हजार ३११ हेक्टर), लुम्बिनीमा ९८ प्रतिशत (२ लाख ९७ हजार १०३ हेक्टर), कर्णालीमा ९९.३४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९९.७२ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ ।
कर्णाली सरकार राउटे बस्ती व्यवस्थित गर्ने याेजनामा
सुर्खेत । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि ‘राउटे कोरिडोर’ निर्माण गर्ने तयारी गरेको छ । घुमन्ते जीवन बिताउँदै आएका राउटेलाई अस्थायी रूपमा आवास, शिक्षा, स्वास्थ्य, सुरक्षा र जीवनयापनका अन्य सेवा दिन कोरिडोरको अवधारणा अघि सारिएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा अछामको कालेकाँडा, दैलेख, जाजरकोट, सुर्खेत र सल्यानका नदी तथा खोलानाला आसपासका स्थानलाई कोरिडोर क्षेत्रको रूपमा विकास गर्ने उल्लेख गरेको छ । मन्त्री घनश्याम भण्डारीका अनुसार पछिल्ला १० वर्षयता राउटे समुदाय बढी बसोबास गर्ने यी क्षेत्रलाई प्राथमिकतामा राखेर कोरिडोर निर्माण गर्न लागिएको हो । यसका लागि प्रदेश सरकारले राउटे बसोबास क्षेत्रको अध्ययन र समुदायको प्रोफाइल तयार गरिसकेको छ । सामाजिक सुरक्षा भत्ता वितरणले जीवनयापनमा सहजता ल्याए पनि दुरुपयोग बढेपछि अब कोरिडोरमार्फत व्यवस्थापन गर्न लागिएको मन्त्री भण्डारीले जानकारी दिए । कोरिडोर अवधारणाअन्तर्गत राउटेले उत्पादन गर्ने काठका सामग्रीको बजारीकरण, वृक्षरोपण, कन्दमूल जस्ता परम्परागत खानेकुरामा पहुँच, र सुरक्षा व्यवस्थामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सहकार्य गरिनेछ। त्यस्तै, बालबालिकालाई विद्यालय नजिकै पाउने, स्वास्थ्य उपचारका लागि स्वास्थ्य केन्द्र पायक पर्ने र खेतीपातीमा सहयोग गर्ने व्यवस्था समेत मिलाइने मन्त्रालयको भनाइ छ। हाल पहिलो चरणमा राउटे समुदायसम्बन्धी लिखित अभिलेख संकलन भइरहेको र हालसम्म समुदायको जनसंख्या १३५ रहेको मन्त्रालयले जनाएको छ । यससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरिएका निर्णयलाई कार्यान्वयन गर्दै समुदायको अधिकार संरक्षण गर्न र विकृति हटाउन कोरिडोर निर्माण अघि सारिएको मन्त्री भण्डारीको भनाइ छ । प्रदेश सरकारले राउटे कोरिडोरलाई पर्यटन प्रवर्द्धन र अध्ययन–अनुसन्धानमा योगदान पुर्याउने आधारको रूपमा पनि लिएको छ । हाल राउटे समुदाय सुर्खेतको लेकबेँसी नगरपालिका–१०, झुप्राखोलामा बस्दै आएको छ ।
प्रदेश १ काे अखिल नेपाल खेलकुद महासंघ अध्यक्षमा इटहरीका रितेश श्रेष्ठ निर्वाचित
इटहरी । अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ को दोस्रो अधिवेशनबाट रितेश श्रेष्ठ निर्वाचित भएका छन् । इटहरीमा उद्घाटन भएको अधिवेशनले आइतबार नयाँ कार्यसमिति निर्वाचित गर्दै श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेकाे हाे । निर्वाचन समिति संयोजक राजेन्द्र किरातीका अनुसार महासंघको प्रदेश १ अध्यक्षमा इटहरीका श्रेष्ठ निर्वाचित भएका हुन् । उपाध्यक्षमा नयन श्रेष्ठ, गणेश मगर र योगेश थापा चयन भएका छन् । त्यस्तै, सचिवमा इन्द्रकुमार योञ्जन तामाङ, सहसचिवमा कृष्णबहादुर राई चाम्लिङ र कोषाध्यक्षमा जीवनी राई निर्वाचित भएका छन् । प्रदेश १ का १४ जिल्लाबाट आएका १२९ प्रतिनिधिले पदाधिकारीसहित ६१ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेकाे छ । निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरणसँगै सपथ ग्रहण गराइएको संयोजक किरातीले जानकारी दिए । अधिवेशनमा संघका केन्द्रीय इञ्चार्ज दीपक कोइराला, नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री इन्द्र आङ्बो (मौसम), नेकपा (माओवादी केन्द्र) प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो), उपाध्यक्षहरु शिवकुमार डाँगी र विजय राईलगायतले शुभकामना दिएका थिए । त्यसैगरी, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य सरस्वती पोखरेल, कोशी प्रदेशसभा सदस्य सपना परियार, संविधानसभा सदस्य सन्तोष थारू, प्रदेशसभा सदस्य गणेश उप्रेती (सुशिल), संघका केन्द्रीय अध्यक्ष शिव कोइराला, महासचिव रञ्जन धमनालगायतले पनि शुभकामना व्यक्त गरेका थिए । निर्वाचन समितिमा पत्रकार राजन केडी र विनु राई सदस्य रहेका थिए ।
रोल्पामा जंगली च्याउको तरकारीले लियो ज्यान: श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर
रोल्पा। रोल्पाको परिवर्तन गाउँपालिका-२, राङसीमा जंगली च्याउ खाँदा ७४ वर्षीया नर्मला वलीको मृत्यु भएको छ भने उनका ८१ वर्षीय श्रीमान् भागीराम वली गम्भीर बिरामी परेका छन्। २७ साउनमा जंगलबाट ल्याएको च्याउको तरकारी खाएपछि नर्मला र भागीराम बिरामी भएका थिए। स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि दुवैलाई २९ साउनमा थप उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो। अस्पताल स्रोतका अनुसार उपचारका क्रममा नर्मला वलीको मृत्यु भएको छ। भागीराम वलीको अवस्था गम्भीर रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको रोल्पा प्रहरीले जनाएको छ।
खाडी जाने नेपालीमाथि लक्षित नयाँ नियम : विमानस्थलमा थप कडाइ, एक घन्टा अगाडि पुग्नुपर्ने
काठमाडौँ । सरकारले खाडी मुलुक जाने नेपाली यात्रुहरूलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ नियम लागू गरेको छ। अब यात्रुहरूले अध्यागमन जाँचका लागि कम्तिमा एक घन्टा अगाडि विमानस्थल पुग्नुपर्नेछ। यो व्यवस्थाले खासगरी रातिको समयमा खाडी मुलुक जाने यात्रुहरूलाई प्रभाव पार्ने देखिन्छ। अध्यागमन विभागले भने कुनै देश वा क्षेत्र लक्षित नभएर सबै यात्रुका लागि नयाँ नियम लागू भएको जनाएको छ । विभागले यात्रुको चापलाई ध्यान दिएर जाँचका लागि समय निकाल्नका लागि यस्तो गरिएको दावी गरेको छ । विभागले विमानस्थलमा खटिने एयरलाइन्स कम्पनी र सरोकारवाला निकायसँग छलफल गरी यो निर्णय गरेको हो। साथै, रातिको चाप कम गर्न नागरिक उड्डयन प्राधिकरणलाई उडान तालिका लचिलो बनाएर पछाडि सार्न आग्रह गरिएको छ। सरकारले खाडी मुलुक र मलेसियामा भिजिट भिसामार्फत जाने नेपालीमाथि कडाइ गरेको छ। गृह मन्त्रालयले २०८० माघ १० देखि लागू हुने गरी ६ बुँदे मापदण्ड जारी गरेको छ, जसअनुसार भिजिट भिसामा यात्रा गर्न वैध भिसा, दुईतर्फी हवाई टिकट, होटल बुकिङ, वा आफन्तको नाता प्रमाणित गर्ने कागजात र न्यूनतम ५०० डलर बोक्नुपर्ने प्रावधान छ। यी मापदण्ड पूरा नगरे विमानस्थलबाटै फर्काइने जोखिम छ। यो नियम खासगरी मानव तस्करी र अवैध रोजगारी रोक्न ल्याइएको दावी सरकारले गरेको छ । पछिल्लो समय भिजिट भिसामा खाडी मुलुक पुगेर घरेलु श्रममा संलग्न हुने नेपाली महिलाको संख्या बढ्दो छ। सरकारले २०७३ देखि खाडी मुलुकमा घरेलु श्रमिक पठाउन प्रतिबन्ध लगाए पनि कम्तिमा ६०,००० नेपाली महिला खाडी मुलुकमा कार्यरत छन्। विमानस्थल अध्यागमनमा कर्मचारीको मिलेमतोमा संगठित गिरोहले भिजिट भिसामा नेपाली युवालाई अवैध रूपमा पठाउने र असुली गर्ने गरेको गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। तत्कालीन विमानस्थल प्रमुख सहसचिव तीर्थराज भट्टराई यो प्रकरणमा पक्राउ परेका थिए। त्यसपछि गृह मन्त्रालयले विमानस्थलमा नरहरि घिमिरे र अध्यागमन महानिर्देशकमा रामचन्द्र तिवारीलाई नियुक्त गरेको थियो। अध्यागमन विभागले भिजिट भिसामा विदेश जाँदा काम खोज्नु गैरकानुनी भएको र यसले कानुनी कारबाही र जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको छ। यात्रुहरूलाई नक्कली कागजात प्रयोग नगर्न, गन्तव्य मुलुकको पूर्ण जानकारी लिन र वैध श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरिएको छ।
रवि लामिछानेलाई बुद्ध एयरमार्फत काठमाडौं ल्याइँदै, नख्खु कारागारमा स्थानान्तरण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीको भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारमा स्थानान्तरण गर्न शनिबार गौतमबुद्ध विमानस्थल हुँदै बुद्ध एयरको जहाजमार्फत काठमाडौं ल्याइँदैछ। लामिछानेलाई कारागारबाट विमानस्थलसम्म लैजान कडा सुरक्षा व्यवस्था गरिएको थियो । लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा थुनामा थिए। उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए, जसलाई अदालतले जेठ १६ गते अनुमति प्रदान गरेको थियो। तर, गृह मन्त्रालयको निर्देशनमा उनको स्थानान्तरण प्रक्रिया रोकिएको थियो। लामिछानेले रुपन्देही कारागारमा साँघुरो कोठा, ताजा हावाको अभाव र पार्टी नेताहरूसँग भेटघाटमा कठिनाइ भएको भन्दै स्थानान्तरणको माग गरेका थिए। साथै, उनले आफ्नो ज्यानको सुरक्षामा समेत खतरा रहेको बताएका थिए। गत साउन २६ गते राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारको अनुगमन गर्दा कारागारको अवस्था दयनीय रहेको र लामिछानेलाई न्यूनतम मानवअधिकारको प्रत्याभूति नभएको निष्कर्ष निकालेको थियो। कारागार सरुवा प्रक्रिया रोकिएपछि रास्वपाले संसद्मा तीव्र विरोध जनाएको थियो। रास्वपाका नेता–कार्यकर्ताले सरकारविरुद्ध प्रदर्शन गरेका थिए भने लामिछानेकी पत्नी निकिता पौडेलले अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थासम्म पुग्ने चेतावनी दिएकी थिइन्। मानवअधिकार आयोगको अनुगमन र रास्वपाको निरन्तर दबाबपछि कारागार व्यवस्थापन विभागले शुक्रबार लामिछानेलाई नख्खु कारागार स्थानान्तरण गर्ने निर्णय गरेको थियो। विभागका महानिर्देशक लीलाप्रसाद शर्माले लामिछानेको निवेदन र अदालतको आदेशका आधारमा स्थानान्तरण गरिएको बताए। यद्यपि, लामिछानेले सुरुमा डिल्लीबजार कारागारमा सरुवाको माग गरेका थिए, तर विभागले नख्खु कारागारलाई उपयुक्त ठानेको हो। शनिबार बुद्ध एयरको उडानमार्फत लामिछानेलाई काठमाडौं ल्याउने तयारी गरिएको थियो। तर, कारागारबाट उनलाई बाहिर निकाल्ने प्रक्रियामा केही ढिलाइ भएको थियो। लामिछानेलाई स्थानान्तरण गर्ने खबर फैलिएपछि भैरहवा कारागारबाहिर रास्वपाका नेता–कार्यकर्ताको ठूलो भीड जम्मा भएको थियो। उनीहरूले लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए। सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेमाथि एक करोडको धरौटीमा रिहा हुने माग अस्वीकार भएपछि उनलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो। यो मुद्दाका अतिरिक्त काठमाडौं, पोखरा, चितवन र वीरगन्जमा पनि सहकारी ठगीसम्बन्धी अन्य मुद्दाहरू विचाराधीन छन्। लामिछानेको स्थानान्तरणले उनको कानुनी लडाइँ र रास्वपाको राजनीतिक गतिविधिमा थप प्रभाव पार्ने अनुमान गरिएको छ। आगामी कात्तिक १७ मा रुपन्देही–३ मा हुने उपनिर्वाचनको माहोलमा लामिछानेको स्थानान्तरणलाई रास्वपाले राजनीतिक रूपमा उपयोग गर्न सक्ने विश्लेषण पनि भइरहेको छ। लामिछानेको नख्खु कारागार स्थानान्तरणले उनको कारागार बसाइमा सुधार हुने अपेक्षा गरिएको छ। मानवअधिकार आयोगको अनुगमन, अदालतको आदेश र रास्वपाको दबाबपछि सरकार यो कदम चाल्न बाध्य भएको देखिन्छ। यो प्रकरणले नेपालको कारागार व्यवस्थापन र मानवअधिकारको अवस्थामाथि समेत प्रश्न उठाएको छ।
स्थायी समिति बैठकले पार्टीभित्र अभूतपूर्व एकता कायम गरेको छ : अग्नि सापकोटा
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि प्रसाद सापकोटाले किसान, मजदुर र सुकुम्वासीहरू आफ्नो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएकोले उनीहरूको हक, हित र अधिकारका लागि पार्टीले निरन्तर आवाज उठाइरहेको बताएका छन्। पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष सापकोटाले शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित वर्गीय सङ्गठन समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै यी वर्गहरूको नेतृत्व र सशक्तीकरणमा पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे। उनले भने, "किसान, मजदुर र सुकुम्वासी हाम्रो पार्टी र क्रान्तिका आधारभूत वर्ग हुन्। यिनको नेतृत्व गर्ने अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) र अखिल नेपाल सुकुम्वासी सङ्घ हाम्रा सबैभन्दा महत्त्वपूर्ण सङ्गठनहरू हुन्।" माओवादी केन्द्रको आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकपछि गठन भएको वर्गीय सङ्गठन समन्वय समितिमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासङ्घ र अखिल नेपाल सुकुम्वासी सङ्घका फ्र्याक्सन इन्चार्जहरू सदस्य छन्। यो समितिको इन्चार्जमा उपाध्यक्ष सापकोटा स्वयं रहेका छन्। बैठकमा सापकोटाले पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकले पार्टीभित्र अभूतपूर्व एकता कायम गरेको र विभिन्न बहस र छलफलले जनतामा परेको भ्रम निवारण भएको बताए। उनले थपे, "पार्टी अब सुदृढ एकतासहित जनताका मुद्दाहरूमा केन्द्रित भएर अगाडि बढ्नेछ।" उनले आधारभूत वर्गका तत्कालीन र दीर्घकालीन मागहरूलाई समेटेर पार्टीको कार्यनीतिलाई रणनीतिसँग जोड्दै सङ्घर्षको उठान गर्नुपर्नेमा जोड दिए। सङ्गठनहरूलाई नवप्रवर्तन, आधुनिकीकरण र तथ्य–तथ्याङ्कमा आधारित भएर सुदृढीकरण गर्न निर्देशन दिँदै उनले भने, "हाम्रा सङ्गठनहरूले किसान, मजदुर र सुकुम्वासीका समस्यालाई प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्छ।" बैठकमा तीनवटै सङ्गठनका इन्चार्ज र अध्यक्षहरूले आ–आफ्ना सङ्गठनको सङ्गठनात्मक स्थिति, वैचारिक–राजनीतिक पक्ष, सम्बन्धित वर्ग र समुदायका समस्याहरू, समाधानका उपायहरू र संयुक्त मोर्चा निर्माणसहित सङ्घर्षको तयारीबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए। सङ्गठन सुदृढीकरणमा जोड बैठकमा उठेका विषयहरूलाई सम्बोधन गर्दै सापकोटाले सङ्गठन निर्माण र परिचालनमा दृढतापूर्वक लाग्न निर्देशन दिए। उनले जनताको हक, हित र अधिकारको पक्षमा निरन्तर सङ्घर्ष गर्नुपर्नेमा जोड दिए। अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले बैठकले किसान, मजदुर र सुकुम्वासी सङ्गठनको परिचालन र सुदृढीकरणका लागि महत्त्वपूर्ण निर्णयहरू गरेको जानकारी दिए। "हामीले यी सङ्गठनहरूलाई थप प्रभावकारी बनाउन र आधारभूत वर्गका मुद्दाहरूलाई राष्ट्रिय स्तरमा उठाउन ठोस योजना बनाएका छौँ," श्रेष्ठले भने। माओवादी केन्द्रले आगामी दिनमा पनि किसान, मजदुर र सुकुम्वासीका मुद्दाहरूलाई प्राथमिकतामा राखेर सङ्घर्ष र सङ्गठन विस्तारलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
सुनसरी कारागारबाट भागेका कैदी झापाबाट पक्राउ
झापा । सुनसरी कारागारको पर्खाल नाघेर भागेका खोटाङ, दिप्रुङ चुइचुमा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई आज बिहान झापाको बिर्तामोडबाट पक्राउ गरिएको छ। जबर्जस्ती करणी कसुरमा सजाय भोगिरहेका पौडेललाई बिर्तामोड–१०, विराटपोखरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट फरार भएका थिए। विशेष सूचनाको आधारमा झापा प्रहरीको टोलीले उनलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। सुनसरी जिल्ला अदालतले पौडेललाई जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद, ५ लाख जरिवाना र ३० हजार क्षतिपूर्तिको सजाय सुनाएको थियो। पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि सुनसरी जिल्ला प्रहरी कार्यालय पठाउने तयारी भइरहेको प्रवक्ता खड्काले जानकारी दिए।

