भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाइँदै

काठमाडौं । सरकारले आज र भोलि दुईदिन राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ । कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइनेछ ।

बाल भिटा कार्यक्रम लागु भएका जिल्लामा बहुसुक्ष्म पोषकतत्त्व बालभिटा पनि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

कुन उमेरका बालबालिकालाई कति खुवाउने

– ६ महिनासम्मकालाई भिटामिन ‘ए’ र जुकाको औषधि दुवै नखुवाउने ।

– ६ महिनादेखि एक वर्षसम्मकालाई भिटामिन ‘ए’ आधा क्याप्सुल खुवाउने, जुकाको औषधि नखुवाउने ।

– एक वर्षदेखि दुई वर्षसम्मकालाई भिटामिन ‘ए’ पूरा क्याप्सुल र जुकाको औषधि आधा चक्की खुवाउने ।

– दुई वर्षदेखि पाँच वर्षसम्मकालाई भिटामिन ‘ए’ पूरा क्याप्सुल र जुकाको औषधि एक चक्की खुवाउने ।

भिटामिन ‘ए’ र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत उपलब्ध बताइएको छ ।

पाँच वर्षमुनिका बालबालिकालाई सरकारले सञ्चालन गरेको प्रत्येक कार्यक्रममा भिटामिन ‘ए र जुकाको औषधि खुवाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

तिहारमा चिनीको अभाव नहुने, भोलिदेखि ४६ सय मेट्रिक टन बजारमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सुरक्षा निकाय प्रमुख तथा वाणिज्य विभागका महानिर्देशक लगायतसँग छलफल गरेको छ । उक्त छलफल पश्चात उद्योगहरूबाट बजारमा चिनी आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुरुप प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गणेश पाण्डेले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशकहरुसँग अवैध ढंगल भित्रिएको तथा उद्योगहरुले बजारमा नपठाएको चिनी अनुगमन गर्ने विषयमा छलफल गरेका थिए । आज बिहानमात्रै प्रधानमन्त्री प्रचण्डले उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनीको अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका थिए । बैठकमा हाल अवैध ढंगले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा चिनी पठाइने गरेको सूचनाका आधारमा आवश्यक कार्वाही गर्ने विषयमा छलफल भएको थियो । यसका साथै नेपाली चिनी उद्योगहरुले आम उपभोक्तालाई सहज हुने किसिमले बजारमा चिनी आपूर्ति गर्नुको साटो कतिपय ठूला उद्योगलाई चिनी आपूर्ति गर्न गोदाममा चिनी राखेकोले उक्त चिनी बजारमा ल्याउने विषयमा समेत छलफल भएको थियो । वाणिज्य विभागको तथ्यांक अनुसार, नेपालमा उत्पादन हुने चिनीको सत्तरी प्रतिशत चिनी विभिन्न पेय पदार्थ, मिठाइ, चकलेट, विस्कुटलगायतका उद्योगहरुमा आपूर्ति हुने गर्दछ । आजको बैठकपछि नेपाल प्रहरीले नेपालमा रहेका सबै चिनि उद्योगको स्टक रेकर्ड चेक गर्ने तथा सो आधारमा बजारमा चिनी पठाउन उद्योगीहरुसँग छलफल गरिनेछ । हालसम्म ३ हजार मेट्रिक टन चिनी बजारमा पठाउने कुरा सुनिश्चित गरिएको छ । नेपाल साल्ट ट्रेडिंगले भोली नै उक्त चिनी खरीद गरी खुद्रा उपभोक्तामार्फत बजारमा ल्याउनेछ । साल्ट ट्रेडिंगसँग यसअघि नै १६ सय मेट्रिक टन चिनी मौज्दात रहेको छ । चिनी उद्योगहरुको स्टक रेकर्डका आधारमा आम उपभोक्ताको मागलाई पूर्ति गर्न बजारमा चिनी पठाउन समन्वय गरिने र अनुगमनलाई समेत तीब्र पारिने भएको छ । हाल कतिपय पसलहरुले एक सय साठी रुपैयाँ खुद्रा मूल्य तोकी चिनी बिक्री गरिरहेको सूचना समेत प्राप्त भएकोले त्यसमा समेत विशेष अनुसन्धान गर्न नेपाल प्रहरीले उपत्यकाका सबै प्रहरी वृत्तलाई विशेष निर्देशन दिइसकेको छ । यसका साथै भोलीदेखि नै अवैध ढंगल भित्रिएको या गोदाममा थन्किएको चिनीको व्यापक अनुगमन गर्ने समेत निर्णय भएको छ । नेपाल प्रहरीले अवैध ढंगले चिनी लुकाएको सूचना भएमा प्रदान गर्न अपील गरेको छ । यसअघि दशैं अगाडि सिर्जना भएको अभाव पूर्ति गर्न समेत सरकारले पहल गर्दै ५ हजार मेट्रिक टन भन्दा बढी चिनी बजारमा ल्याएको थियो ।

टी–२० विश्वकप क्रिकेट एसिया छनोटको सेमिफाइनलमा नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले शुक्रबार संयुक्त अरव इमिरेट्स (यूएई)सँग खेल्दैछ । यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । समूहको उप विजेता बनेर सेमिफाइनलमा नेपालले यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । दुबै देशको टोलीबीचको खेल मुलपानी क्रिकेट मैदानमा शुक्रबार बिहान ११ बजे शुरु हुनेछ । नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर आएको छ । नेपाललाई फाइनल प्रवेशका लागि मात्र नभई यो खेल विश्वकपमा छनोट हुन समेत महत्वपूर्ण हुनेछ । सेमिफाइलनमा जित हासिल गरेको खण्डमा मात्र नेपाल अर्को २०२४ मा हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछ । छनोट चरणको फाइनल पुग्ने दुई टिम मात्र टी ट्वान्टी विश्वकपमा छनोट हुने भएकाले शुक्रबारको खेल नेपाल र यूएई दुवैका लागि महत्वपुर्ण हुनेछ । अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो। नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुई खेल जितेको थियो । नेपालले पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ६ विकेटले युएईलाई पराजित गरेको थियो । समूह चरणको फाइनलमा भने नेपालमाथि युएईले ४ विकेटको जित निकालेको थियो । नेपालले समूह बीको विजेता यूएईलाई विश्वकपको एसिया छनोटको सेमिफाइलनको प्रतिद्धन्दीको रुपमा पाएको हो । नेपालले समूह चरणमा सिंगापुर र मलेसियालाई पराजित गरेपनि अन्तिम खेलमा ओमानसँग पराजित हुन पुगेको थियो । ओमानसँग पराजित बनेपछि नेपालले एसोसियट राष्ट्र मध्य बलियो मानिएको यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।

रिगल नेपालगन्जबाट पक्राउ

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि योगराज ढकाल रिगल डन पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । बाँकेका एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उनी भर्खरै नेपालगन्जबाट पक्राउ परेका हुन् । सर्वोच्च अदालतले बिहीबार नै माफी मिनाहाको निर्णय खारेज गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको थियो । पूर्ण इजलासको आदेशलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गण्डकीको लोकसेवा आयोगले माग्यो एकैपटक हजार कर्मचारी(विज्ञापन सहित)

पोखरा । सधैँ कर्मचारी अभावका कारण कार्यप्रगति नभएको गुनासो गरिरहने स्थानीय र प्रदेश सरकारलाई केही राहत हुने भएको छ । गण्डकीको लोकसेवा आयोगले एकै पटक १ हजार भन्दा बढी कर्मचारी भर्ना गर्न विज्ञापन खुलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेका दरबन्दीमा आयोगले कर्मचारी भर्ना गर्न आवेदन मागेको हो । केही तहमा आन्तरिक बढुवा र केही नयाँ कर्मचारी भर्ना गर्ने तयारी आयोगको छ । १ हजार २ कर्मचारीका लागि आवेदन खुला गरिएको आयोगले जनाएको छ । प्रदेश र स्थानीय तहका लागि अधिकृत सातौँ र सहायक पाँचौँ तहका कर्मचारी भर्ना गर्न लागिएको सदस्य कल्पना लम्सालले जानकारी दिइन् । उनका अनुसार विज्ञापन गरिएका पदहरूमा प्रशासकीय अधिकृत, राजस्व अधिकृत, लेखा अधिकृत, तथ्याङ्क अधिकृत, सव–इन्जिनियर, पशु स्वास्थ्य प्राविधिक, मत्स्य प्राविधिक, रेन्जर, भू–संरक्षण सहायक, प्राविधिक सहायक, स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, हेल्थ असिस्टेन्ट, कविराज, ल्याब टेक्निसियन, मेडिकल रेकर्ड सुपरभाइजर, बायोमेडिकल टेक्निसियन, एनेस्थेसिया सुपरभाइजर, वरिष्ठ प्रशासन सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ आन्तरिक लेखा परीक्षक सहायक लगायत छन् । मंसिर ५ गतेसम्म आवेदन दिने म्याद छ । दोब्बर दस्तुर तिरेर १२ गतेसम्म दरखास्त दिन मिल्ने उनले बताइन् । गण्डकी सरकारले यसअघि नै प्रदेश र स्थानीय तहको निजामती सेवा ऐन तथा नियमावली ल्याइसकेको छ । प्रतिस्पर्धामा सबै प्रदेशका नागरिक सहभागी हुन पाउने छन् । विज्ञापन हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।      

राधिका अर्याल र विश्वबाबु पुडासैनी सचिवमा बढुवा

काठमाडौं । सरकारले राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको छ । निजामती सेवाका सचिवहरु डा.दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिवमा बढुवा भएका हुन् । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले सचिव बढुवाका लागि मन्त्रिपरिषदमा गरेको सिफारिसअनुसार दुई जना सचिवमा बढुवा भएका हुन् । प्रशासनतर्फबाट सचिव बनेकी अर्याल हाल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिव छिन् । उनीसँगै कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कामु प्रमुख सचिव चुडामणि पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका हरिप्रसाद लम्सालको नाम सिफारिस भएको थियो । इन्जिनियरिङतर्फको सचिव बनेका पुडासैनीको नाम एकल रुपमा सिफरिस भएको थियो । वरिष्ठताका आधारमा चार पटक सिफरिसमा परे पनि सचिवमा बढुवा नभएका पुडासैनीको नाम पाँचौं पटक भने एकल रुपमा सिफरिस भएसँगै मन्त्रिपरिषद बैठकले उनलाई सचिव बनाउने पक्का थियो ।

मापदण्डविपरित संचालित खानेपानी उद्योगमा सिल

काठमाडौं । सरकारले काठमाडौँको टोखा नगरपालिका–३ चक्खुस्थित मापदण्डविपरीत सञ्चालित एक खानेपानी उद्योग सिल गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँ, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसमेतको टोलीले हिजो नाम ठेगाना नखुलेको एक उद्योगको स्थलगत निरीक्षण तथा अनुगमन गरी सिल गरेको हो ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो । छापावाल सुन तोलाको एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानले घरेलु टिम नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनायो ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ । बैठकमा सरकारका कामकारबाही, समसामयीक राजनीतिका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको छ ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (कात्तिक १६ गते) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा पुगेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ १७ पैसा र बिक्री दर १४० रुपैयाँ ८० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विनिमय दर

राष्ट्रियसभा बैठक बस्दै, विद्युत व्यापार विधेयकको प्रतिवेदन पेश हुने

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘विद्युतीय व्यापार विधेयक २०८०’ सबन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ ।

भिजन लुम्बिनीको आईपीओ बिक्री खुला

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले प्राथमिक सेयर ९आईपीओ० आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरी बाँकी रहेको सेयरसमेत थप गरी सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरी चार लाख ८७ हजार ९१० कित्ता आईपीओ बाँकी रहेको थियो । उक्त आईपीओ थप गरी सर्वसाधारणलाई कम्पनीले २० लाख ७५ हजार २८५ कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा नै निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आईपीओमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिने छ । तर, उक्त अवधिसम्म मागअनुसार आवेदन नपरे मंसिर १ गतेसम्म आवेदन खुला रहने बिक्री प्रबन्धकले जानकारी दिएको छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । यस कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल अनुमानित लागत पाँच अर्ब २० करोड रुपैयाँ रहेको छ ।

रिगलविरुद्धको मुद्दाको निर्णय आज

काठमाडौं । नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकाललाई माफी दिने निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतको निर्णय आज आउने भएको छ । कायममुकायम प्रधान्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बहस सकिएपछि निर्णय सुनाउन मिति तोकेको हो । बुधबार दुवै पक्षको बहस सकिएपछि इजलासले निर्णय सुनाउन बिहीबारको मिति तोकेको हो । बिहीबार संक्षिप्त आदेश वा अन्तिम फैसलामध्ये जे पनि हुन सक्ने सर्वोच्च स्रोतले जनाएको छ । ०७२ साल असार २८ गते चेतनको हत्या गरी फरार रहेका रिगललाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध भारती शेर्पाले रिट दायर गरेकी थिइन् । भारतीले आफ्नो श्रीमानको हत्यारालाई माफी दिएर आफूसहितका पीडितलाई थप पीडा दिएको भन्दै रिट दायर गरेकी थिइन् । उनले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, कारागार व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय बाँके तथा दाङ र कारागार कार्यालय दाङसहित रिगललाई विपक्षी बनाएर असोज २२ मा रिट दायर गरेकी हुन् ।

संसद् अधिवेशन अन्त्यको तयारी

काठमाडौं । संघीय संसद्को जारी अधिवेशन आजदेखि अन्त्य गर्ने तयारी भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बुधबार बसेको बैठकमा अनौपचारिक रुपमा संसद् अधिवेशन अन्त्यको बारेमा जानकारी गराएको थियो । संघीय संसद् सचिवालय स्रोतले सरकारबाट आज अधिवेशन अन्त्य गर्ने विषयमा आधिकारिक जानकारी भने आइनसकेको जनाएको छ । संघीय संसद्को अधिवेशन अन्त्य हुनुअघि सांसदहरूको १० दिनभन्दा बढी समयको बिदा स्वीकृत गर्ने, सांसदहरूले सोधेका प्रश्न टेबल गर्ने कार्यसूची रहन्छ । यी विषय पनि आजको लागि तोकिएको संसद् बैठकको सम्भावित कार्यसूचीमा परेका छन् । आजको सम्भावित कार्यसूचीमा शीर्ष नेताले सम्बोधन गर्ने विषय पनि परेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचकमा सामान्यको गिरावट आएको छ । नेप्से ५.८३ अंकले घटेर १८५८.५६ को बिन्दुमा कायम भएको छ । २९६ धितोपत्रको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँमा किनबेच भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ३५९.९५ को बिन्दुमा झरेको छ । १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ । लगानी उपसमूहको समूहगत सूचक ०.०८ प्रतिशतले बढेको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.३९ प्रतिशतले बढेको छ भने सोनापुर मिनिरल्सको सेयर मूल्य सर्वाधिक ७.९९ प्रतिशतले घटेर प्रतिकित्ता २३४.८० रुपैयाँमा कायम भएको छ ।