बाँकेमा २२ लाख नगद र लागुऔषधसहित युवक पक्राउ

बाँके । बाँकेको नेपालगञ्जबाट प्रहरीले २२ लाखभन्दा बढी स्रोत नखुलेको नगद र १५.५ ग्राम ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार, पक्राउ परेका नेपालगञ्ज-१४ का २८ वर्षीय रमेश लोनियालाई बुधबार जिल्ला अदालत, बाँकेबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो, नेपालगञ्जको टोलीले मङ्गलबार राति लोनियाको घर खानतलासी गर्दा नेपाली र भारतीय गरी २२ लाख तीन हजार ९१५ नगद, ब्राउनसुगर, सुनचाँदीका गरगहना, पाँच खुकुरी, दुई मोटरसाइकल र १० मोबाइल बरामद भएको पातलीले बताए ।

घटनामा अवरोध गर्न खोज्ने चार जनालाई पक्राउ गरिएको थियो । तीमध्ये दुई जनालाई प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा हिरासतमा राखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल प्रवेशमा कडाइ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा प्रवेशका लागि प्रदान गरिँदै आएको भिजिटर पास वितरण बन्द गरिएको छ । विमानस्थल सुरक्षा समितिले प्रवेशमा कडाइ गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, भिजिटर पासको दुरुपयोग, टिकट काउन्टरमा भिडभाड, कर्मचारीमाथि दबाब र पास वितरणमा लापरबाही बढेपछि यो सुविधा बन्द गरिएको छ । सर्वसाधारणका लागि भिजिटर पास बन्द भए पनि विशिष्ट व्यक्ति, स्थायी कर्मचारी, विमानस्थलभित्रका कामदार र कार्यालयका कर्मचारीका लागि पास सुविधा यथावत् छ । यसअघि सर्वसाधारणले यात्रुसँग टिकट काउन्टरसम्म पुगेर अतिरिक्त सामान फिर्ता ल्याउन सक्थे ।  मंगलबारदेखि यो सुविधा बन्द भएपछि यात्रुले बढी भएको सामान हेल्प डेस्कमार्फत आफन्तलाई फिर्ता पठाउन सक्नेछन् । व्यक्तिगत सहायता चाहिने यात्रु, वृद्धवृद्धा, फरक क्षमताका व्यक्ति, गर्भवती महिला र नाबालकलाई सम्बन्धित वायु सेवा कम्पनीले सहयोग प्रदान गर्नेछ ।

देशभर मनसुनी प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई नजिक र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टा मनसुन पश्चिमी भूभागमा बढी सक्रिय रहने देखिन्छ । हाल देशभर बदली छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा छिटपुट वर्षा भएको छ । दिउँसोको मौसम: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पूर्ण बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । यी प्रदेशका पहाडी र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । मधेस प्रदेश र अन्य तराई क्षेत्रमा पनि छिटपुट मध्यम वर्षा हुन सक्छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । रातिको मौसम: पहाडी भूभागमा पूर्ण बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । मधेस र अन्य तराई क्षेत्रमा पनि छिटपुट वर्षा हुन सक्छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ । सतर्कता: भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो, गेग्रान बहाव र सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बाजुरामा बाढीले दुई घर बगायो, वडा कार्यालय जोखिममा

बाजुरा । बाजुरकाे हिमाली गाउँपालिका–१ मा बिच्छ्या खोलाको बाढीले दुई घर बगाएको छ । बुधबार साँझ ७ बजे आएको बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापाको घर बगाएको हो । बाढीले झोलुङ्गे पुल र बिच्छ्या माविमा पनि क्षति पुगेको वडा सचिव सन्जिव चौधरीले बताए । उनका अनुसार वडा कार्यालय समेत जोखिममा छ । गडगडाउँदै बाढी आएपछि खोला किनारका बासिन्दा सुरक्षित स्थानमा भागेका थिए ।  लगातारको वर्षाले बाढी अझै बढ्ने र थप क्षति हुन सक्ने भन्दै स्थानीय त्रसित छन् । गाउँपालिकाका अनुसार मानवीय क्षति भने भएको छैन् । बिच्छ्या खोला कुवाडी खोलामा मिसिने भएकाले कुवाडी खोला आसपासका बासिन्दालाई सतर्क रहन गाउँपालिकाले अनुरोध गरेको छ ।

खाेलाकाे बाढी गाउँ पस्दा उदयपुरको बेलकामा ११९ घर डुबानमा

उदयपुर । अविरल वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–३ मा ११९ घर डुबानमा परेका छन् ।  स्थानीय गिदेरी खहरे खोला गाउँ पस्दा एबिसी टोलका ४० र जुलेफी टोलका ७९ घर प्रभावित भएका हुन् । वडाध्यक्ष टंकप्रसाद आचार्यका अनुसार खोलाको पानी गाउँ पस्दा सरस्वती आधारभूत विद्यालयसहित घरहरूको भुइँतला डुबानमा परेको छ । ‘अहिले खोलाको जलस्तर घट्दै गएकाले घरमा बस्न सकिने अवस्था देखिन्छ,’ उनले भने ।  भुइँतलाका सामान माथिल्लो तलामा सारिएकाले खाद्यान्न र लत्ताकपडा सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको उनले बताए । डुबानका कारण सरस्वती आधारभूत विद्यालयमा पठनपाठन रोकिएको छ । विद्यालय र घरहरूमा बालुवासहितको लेदो पसेको छ । जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले खहरे खोलाको जलस्तर बढ्दा गाउँ प्रभावित भएको र कुनै मानवीय वा पशुचौपायाको क्षति नभएको जानकारी दिए । ‘खोलाको पानी गाउँ पसे पनि अहिले अवस्था सामान्य बन्दै गएको छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले डुबान क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निरीक्षण गरिरहेको बताए । ‘झन्डै ८० घर डुबानमा परेको प्रारम्भिक जानकारी आएको छ, तथ्यांक संकलन जारी छ,’ उनले भने । ‘पानीको स्तर घट्दै गएकाले जोखिम नरहेको र स्थानीयहरू घरमै बस्न सक्ने अवस्था छ ।’ यसैबीच, अविरल वर्षाका कारण सप्तकोशी नदीको तटीय क्षेत्रमा निगरानी बढाइएको छ ।

पहिरोमा परेर  इलाममा एक जनाको मृत्यु

इलाम। इलाममा पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ । इलामको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यान्ह १२ बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईले जानकारी दिए। राई कान कम सुन्ने खुल्न आएको प्रहरी नायब उपरीक्षक राईले बताए ।

ट्रम्पले आगामी शुक्रबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै छन्। अमेरिकाकै अलास्का राज्यको एन्करेजस्थित अमेरिकाकै सबैभन्दा ठूलो सैन्य अड्डा ‘ज्वाइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसन’म ट्रम्प र पुटिनबीच युक्रेन युद्ध अन्त्यका लागि वार्ता हुनेछ। त्यो वार्तामा युद्धको प्रमुख पक्ष युक्रेनलाई भने सहभागी गराइएको छैन। उनलाई सहभागी नगराउन रूस र त्यहाँका राष्ट्रपति पुटिनले नै अस्वीकार गरेको भनेर अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ। ट्रम्प त्रिपक्षीय भेटवार्ताका लागि पनि खुला रहेको भनेर ह्वाइट हाउसले यसअघि नै वक्तव्य जारी गरेर जानकारी दिइसकेको छ। जेलेन्स्की नै सहभागी नहुने भएपछि युद्धविरामका लागि के(कस्ता सम्झौता हुन सक्छ भनेर युक्रेन र युरोप सशंकित पनि छ। ट्रम्पल दुवै देशले थोरबहुमत भूभागहरू पाउने र गुमाउनुपर्ने हुनसक्ने भनेर यसअघि नै घोषणा गरिसकेका छन्। त्यसमाथि युक्रेनले धेरै नै भूभाग गुमाउनसक्ने पनि बताइसकेका छन्।ट्रम्पले सुरूवातमा पुटिनलाई फकाएर उ उनको तारिफ गरेर युद्धविरामको प्रयत्न गरेका थिए। तर पुटिन युद्धविरामको पक्षमा नभएपछि उनले रूसलाई भन्सार शुल्क बढाउनेदेखि विभिन्न प्रतिबन्ध लगाउने चेतावनी दिए। त्यसका बाबजुद पनि रूस टसमस नभएपछि आफ्नो मध्यपूर्व हेर्ने दूतलाई पुटिनसँग भेट्न मस्को पठाए। क्रेमलिनमा तीन घन्टा छलफल भएपछि पुटिन र ट्रम्पबीच शिखर बैठक तय भएको थियो। युक्रेन र युरोपलाई ट्रम्पले रूसलाई फाइदा हुनेगरी सम्झौता गर्छन् कि भन्ने डर पनि छ। त्यसकारण युरोपेली नेताहरूले एकजुट भएर ट्रम्पलाई दबाब दिने तयारी गरेका छन्। जर्मन चान्स्लर फ्रेडरिक मर्जले ट्रम्पसँग निकट रहेका युरोपेली नेताहरूसहित बुधबार नै राष्ट्रपति ट्रम्पसँग सामूहिक भर्चुअल बैठक गर्न लागेका छन्। भर्चुअल बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी हुनेछन्। इटलीका प्रधानमन्त्री जर्जिया मेलोनी, पोल्याण्ड, फिनल्यान्डका शीर्ष नेताहरू र नेटो महासचिव मार्क रुट्टे पनि भर्चुअल बैठकमा सहभागी हुनेछन्। ट्रम्पका उपराष्ट्रपति जेडी भान्स पनि भर्चुअल बैठकमा सहभागी हुनेछन्।उनीहरूले ट्रम्पलाई युक्रेनबारे एकल निर्णय लिन नदिने रणनीति लिएको भनेर न्यूयोर्क टाइम्सले जनाएको छ। युरोपेली नेताहरूले ट्रम्पले पुटिनसँग जेलेन्स्की वा युरोपेली सहयोगीहरूलाई बेवास्ता गरेर कुनै शान्ति सम्झौता नगर्न भनेका छन्। उनीहरूले युद्ध अन्त्यको वार्ता पूर्ण युद्धविरामबाट सुरु हुनुपर्ने र युरोपेली स्वीकृति बिना कुनै सैन्य सम्झौता कार्यान्वयन नहुनेमा जोड दिएका छन्। यो पनिः रूस–युक्रेन युद्धविरामका लागि युरोपेली नेताहरूले राखेका पाँच सर्त युरोपेली नेताहरूले युद्धविरामअघि रूससँगको सीमाबारे कुनै सम्झौता गर्न नमिल्ने बताएका छन्।  उनीहरू हाल रूसी नियन्त्रणमा नभएको युक्रेनी भूभाग त्याग्न तयार नभएको भनेर न्युयोर्क टाइम्सले लेखेको छ।    युरोपेली नेताहरूलाई अर्को डर पनि छ। यदी युक्रेन र युरोपलाई बेफाइदा हुने गरि शान्ति वार्ता भए पुटिनले पश्चिमी युरोपमा थप दबाब दिन सक्नेछन्।  जसले लिथुआनिया जस्ता नेटो सदस्यलाई जोखिममा पार्न सक्ने जर्मन विश्लेषक आन्ना साउरब्राईले बताएका छन्। युरोपेली नेताहरूले अमेरिकी सैन्य र गुप्तचर सहयोग बिना युक्रेनको सुरक्षा असम्भव भनेका छन्। भोलि युद्धविराम भएपछि पनि रूसले आक्रमण नगरोस् भन्ने ज्ञारेन्टी पनि खोजेका छन्।यी सबे विषयहरूलाई मध्यनजर गरी युरोपेली नेताहरूले ट्रम्पलाई युक्रेनको पक्षमा दबाब दिने तयारी गरेका छन्। ट्रम्पसँग वार्ता गर्न पुटिनले दुबई रोजेका थिए, कसरी तय भयो अलास्कारु साढे तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको रूस(युक्रेन युद्धलाई शान्तिमा रूपान्तरण गर्न ट्रम्प र पुटिनबीचको भेटवार्ता कोशेढुंगा हुने आकलन गरिएको छ। यो भेटवार्ता एक साताअघि ट्रम्पका मध्यपूर्व हेर्ने दूत स्टिभ विटकोफले क्रेमलिन भ्रमण गरेपछि तय भएको थियो। गत बुधबार विटकोफले क्रेमलिनमा पुटिनसँग तीन घन्टा वार्ता गरेका थिए। वार्ताको विस्तृत अझै सार्वजनिक भएको छैन। तर त्यसलाई नै ट्रम्म र पुटिनबीच प्रत्यक्ष भेटवार्ताको प्रस्थानबिन्दु भनिएको छ।विटकोफको भ्रमणपछि ट्रम्प आफैले एक साताभित्र पुटिनसँग प्रत्यक्ष वार्ता हुने घोषणा गरेका थिए। पछि उनैले अमेरिकाको अलास्कामा बैठक हुने घोषणा गरेका थिए।   ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि राखेर त्रिपक्षीय बैठक हुने भनेका थिए। यद्यपि तत्कालका लागि ट्रम्प र पुटिनबीच बैठक हुन भनेर ह्वाइट हाउस र क्रेमलिनले सार्वजनिक गरिसकेको छ।ह्वाइट हाउसले पुटिनकै आग्रहमा द्वीपक्षीय भेटवार्ता तय भएको भनेको थियो। उसले ट्रम्प त्रिपक्षीय वार्ताका लागि पनि तयार भएको बताएको थियो। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले जहाँ युद्धरत मुलुकलाई बाइपास गरेर युद्धविराम सम्भव नहुने बताउँदै आएका थिए। उनले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि प्रहार हुनेगरी कुनैपनि सम्झौता मान्य नहुने बताइसकेका छन्। ‍ ट्रम्पले रूसलाई फाइदा हुनेगरी सम्झौता गर्छन् कि भन्ने डर युरोपेली नेताहरूलाई पनि छ। उनीहरूले संयुक्त रूपमा विज्ञप्ती जारी गरेर युक्रेन र युरोपलाई बेफाइदा हुनेगरी युद्धविराम सम्झौता नगर्न अनुरोध गरेका थिए। साथै वार्तामा युक्रेनलाई पनि सहभागी गराउन उनीहरूले माग पनि गरेका थिए। यद्यपि जेलेन्स्की सहभागी नहुने निश्चितप्रायः छ।  ट्रम्पले आजै युरोपेली नेताहरूसँग भर्चुअल बैठक तय भएको अमेरकी मिडिया सिएनएनले जनाएको छ। सिएनएनले ट्रम्प र पुटिनबीचको बैठकका लागि अलास्का नै किन छानियो भनेर पनि खुलाएको छ। शुक्रबार हुने शिखर बैठकका लागि स्थान छान्ने प्रक्रियामा निकै लामो र गोप्य वार्ता भएको उसले लेखेको छ। सिएनएनका अनुसार छलफलमा पुटिनले सुरूमा संयुक्त अरब इमिरेट्स युएईको दुबई रोजेका थिए। पुटिनले दुबई पूर्ण रूपमा उपयुक्त स्थान रहेकाले बैठक त्यहीँ हुनुपर्ने बताएका थिए। तर त्यसमा ह्वाइट हाउस सहमत भएन। गत मे महिनामा राष्ट्रपति ट्रम्पले मध्यपूर्वको यात्रा गरेका थिए। त्यस क्रममा युएईको पनि भ्रमण गरेका थिए। त्यसकारण ट्रम्प पुन दुबई जान तयार नभएको भनेर सिएनएनले लेखेको छ। दूरी पनि अर्को कारण हुनसक्ने भनिएको छ। यसमा सुरक्षा व्यवस्थापनको विषय पनि जोडिन्छ। अमेरिका र रूसबीच यसअघिका छलफलहरू युरोपका शहरहरूस जेनेभा वा भियनामा हुन्थे। यसपालि पनि तीनै ठाउँहरूमा बैठक हुन सक्थ्यो। तर ती सहरहरू पुटिनका लागि असुरक्षित बनेको छ।  अन्तर्राष्ट्रिय आपराधिक अदालत ९आइसिसी० ले सन् २०२३ मा पुटिनमाथि युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ। त्यसकारण युरोपको कुनै पनि देशमा गए पुटिन कानुनी जोखिममा पर्न सक्ने भएकाले क्रेमलिनले युरोपका सहरहरूमा वार्ता हुन नसक्ने भनेको सिएनएनले जनाएको छ। त्यसपछि दुइ विकल्प बाँकी रहे। पहिलो हंगेरी, दोस्रो अमेरिका। हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान ट्रम्प र पुटिन दुवैसँग नजिक छन्। भिक्टर अर्बानले त अलास्कामा दुई नेताबीच बैठक तय भएपछि युक्रेन युद्धमा रूसको जित भइसकेको भनेका छन्। उनले जो बाइडेनको पालामा युद्धविराम प्रयास नगरेर युक्रेनलाई ठूलो घाटा भएको पनि बताएका छन्। अमेरिकाले शिखर बैठकका लागि हंगेरीभन्दा आफ्नै देश उचित ठान्यो। पुटिनलाई अमेरिकामै बोलाउनु कूटनीतिक जितको सन्देश जाने ट्रम्पले ठानेको हुनसक्ने भनेर सिएनएनले लेखेको छ। पुटिनले  पनि आश्चर्यजनक रूपमा यसमा सहमति जनाए। अमेरिकामा बैठक तय भए पनि अलास्कामा निश्चित गर्न लामै छलफल भएको भनिएको छ। अन्तिम छनोट अलास्का बन्नुको एउटा प्रतीकात्मक पक्ष पनि छ। यो भूमि कुनै समय रूसी साम्राज्यको हिस्सा थियो, जुन सन् १८६७ मा अमेरिकाले खरिद गरेको हो। एन्ड्रयु जोन्सन राष्ट्रपति हुँदा सन् १८६७ मा अमेरिकाले अलास्का ७२ लाख डलरमा रूसबाट किनेको थियो। तर, अलास्कामा पनि उपयुक्त स्थल पाउन सजिलो थिएन। गर्मी मौसम पर्यटकहरूको उच्च सिजन भएकाले आवास र सुरक्षा मापदण्ड दुवै मिल्ने स्थान सीमित थिए। अन्ततः एन्करेजस्थित संयुक्त सैनिक अड्डा ‘ज्वाइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसन’ मात्र उपयुक्त ठहरियो, जसमा अमेरिकी पक्षले पुटिन र उनको टोलीलाई स्वागत गर्ने तयारी थालेको छ। यसरी, पुटिनको दुबई चाहना, युरोपको कानुनी जोखिम, मध्यपूर्व यात्रा टार्ने अमेरिकी योजना र अलास्काको ऐतिहासिक–प्रतीकात्मक पृष्ठभूमिका कारणहरूले अन्ततः अलास्का नै ट्रम्प–पुटिन भेटको मञ्च बनेको भनेर सिएनएनले लेखेको छ।  

जनकपुरमा गोली चल्यो

काठमाडौँ । प्रहरीले जनकपुरको मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली चलाएको छ । गोली प्रहार गरेर दुई जना लागु औषध कारोबारीलाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एक जना अधिकृतले  बताए । प्रहरीको गोली लागेर लागु औषध कारोबारमा संलग्न पप्पु शाह घाइते भएका छन् । उनको दायाँ खुट्टामा गोली लागेको छ । लागु औषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालककृष्ण सन्जेल नेतृत्वको टिमले २ राउन्ड गोली चलाएको थियो ।  प्रहरीले पप्पु र अर्की एक जना महिलालाई पक्राउ गरेको छ । आरोपीहरूको साथबाट करिब २ सय २५ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोका ब्युरोका अधिकृतले बताए । 

सापकोटा–पौडैलको पहलमा अरनिको लोकमार्ग इको क्षेत्र सुधार कार्य सुरु

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता तथा प्रतिनिधि सभाका सदस्य माधव सापकोटा ‘सुबोध’ र बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल पौडैल ‘सहयात्री’ ले विगत १० दिनयता समस्या देखिएको अरनिको लोकमार्ग अन्तर्गतको इको क्षेत्रको दुरावस्था समाधानका लागि सक्रिय पहल गरेका छन्। सापकोटा र पौडैलले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्ट र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मासँग भेट गरी विस्तृत छलफल गरेका थिए। छलफलमा इको क्षेत्रमा भौगर्भिक जोखिम, सडक संरचना सुरक्षा, र स्थानीय समुदायमा पर्ने प्रभावजस्ता विषय उठाएका थिए। छलफलपछि सडक विभागका अधिकारी र भौगर्भिक अध्ययन टोली आजै सो क्षेत्रमा पुगेर सर्वेक्षण सुरु गरिसकेको छ। चिनियाँ सरकारसँग पनि प्रविधि सहयोग तथा आवश्यक स्रोत जुटाउने विषयमा संवाद भएको बताइएको छ। सापकोटा र पौडैलले भने, “स्थानीय समुदायको सुरक्षालाई प्राथमिकता दिँदै इको क्षेत्रको वातावरणीय र भौतिक जोखिम न्यूनिकरण गर्न पहल गर्न जरुरी छ। यस कार्यमा सबै सरोकारवालाको सहयोग आवश्यक छ।” यस पहललाई उच्च सराहना गर्दै स्थानीय जनप्रतिनिधि र विभागीय अधिकारीहरूले पनि धन्यवाद व्यक्त गरेका छन्। यो प्रयासले मात्र सडक सुरक्षा सुनिश्चित गर्ने होइन, पर्यटन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पनि पर्ने विश्वास व्यक्त गरिएको छ।  

गृहमन्त्रीलाई रास्वपाको प्रश्न : खै जिबी राईलाई कहाँ लुकाइएको छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगीका आरोपित जिबी राईको पक्राउको विषयमा गृहमन्त्री रमेश लेखकसँग जवाफ माग गरेको छ। बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सांसद अशोक कुमार चौधरीले सभामुखसँग समय लिएर यो प्रश्न उठाए। उनले गृहमन्त्रीलाई सोधे, “जिबी राईलाई कहाँ लुकाइएको छ ? कति महिना भयो गृहमन्त्री भएको ? उनी घरभित्र छन् कि सत्ताको ओढारभित्र? ” सांसद चौधरीले गिरिबन्धु टिइस्टेटको फाइल हराएको र नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको बयानको अवस्थाबारे पनि प्रश्न गरे। उनले थपे, “गिरिबन्धु टिइस्टेटको फाइल कहाँ हरायोरु के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो ?  नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको बयान कहाँ पुग्यो ? ” यो प्रश्नले संसद्मा ठूलो ध्यानाकर्षण गरेको छ, र थप जवाफका लागि गृहमन्त्रीको प्रतिक्रिया पर्खिएको छ

विवादित विधेयक सदनमा नल्याउन सरकारलाई माओवादी केन्द्रको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्र का सांसद तथा पुर्व मन्त्री देवेन्द्र पौडेलले विवादित विधेयकहरू संसद्मा नल्याउन सरकारसँग आग्रह गरेका छन् ।प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै पौडेलले भूमि विधेयक, मिडिया काउन्सिल विधेयक, सङ्घीय निजामती विधेयक तथा मुलुकी संहितासम्बन्धी विधेयक विवादास्पद रहेको उल्लेख गर्दै यस्ता प्रस्तावले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि षड्यन्त्र हुने बताएका हुन् ।  उनले भने, ‘भूमि विधेयक विवादमा पर्‍यो । मिडिया काउन्सिल विधेयक पनि त्यस्तै छ । सङ्घीय निजामती विधेयकको त कुरै न गरौँ । फेरि मुलुकी संहिता सम्बन्धित विवादित भएर ल्याइँदैछ भन्ने सूचना आएको छ । सहिदको बलिदानमा लतपतिएर आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि धोका, छलछाम र षड्यन्त्र गर्न पाइँदैन सभामुख महोदय । नागरिकको गोपनीयतामाथि गम्भीर आघात पुग्ने गरी फोन कल, म्यासेज, संवादलाई समेत ट्यापिङ हुने गरी आउन लागिएको राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विधेयक किन ल्याउन खोजिएको सम्माननीय सभामुख महोदय । यस्ता खालका विवादित नल्याउनका लागि सरकारसमक्ष हार्दिक अनुरोध गर्न चाहन्छु ।’

सरकारले संविधान विपरीत अनुसन्धान विभागसम्बन्धी विधेयक ल्याउन लाग्यो : काँग्रेस साँसद साउद

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले तयार गरेको ‘राष्ट्रिय अनुसन्धान विभाग (इन्टेलिजेन्स) सम्बन्धी विधेयक’ माथि चिन्ता व्यक्त गरेका छन्। उनले यो विधेयक कानुन बनेमा संविधानको मर्मविपरीत व्यक्तिको गोपनीयताको हक खण्डित हुने दाबी गरे। साउदले विधेयकको मस्यौदा अनुसार आम नागरिकको फोन कल, म्यासेज र अन्य कुराकानी नियन्त्रण, निगरानी र ट्यापिङ गर्न सकिने प्रावधानले संवैधानिक मूल्य मान्यतामा गम्भीर प्रहार हुने बताए। उनले भने, “सरकारले आम नागरिकका फोन कल, म्यासेज र अन्य कुराकानी नियन्त्रण, निगरानी र ट्यापिङ गर्न मिल्ने गरी तयार गरेको ‘राष्ट्रिय अनुसन्धान विभाग (इन्टेलिजेन्स) सम्बन्धी विधेयक’को मस्यौदाअनुसार कानुन बने संविधानको मर्मविपरीत व्यक्तिको गोपनीयताको हक खण्डित हुने देखिन्छ।” साथै, उनले गुप्तचर विभागको पारदर्शी कार्यशैलीमा प्रश्न उठाउँदै निजी जीवनको रेकर्ड वा टेपिङले संविधानको स्वतन्त्रताको पक्षधर छविमा ठूलो धक्का लाग्ने जिकिर गरे। थप छलफल र अनुसन्धानको लागि यो विषय संसद्मा उठिरहने देखिन्छ।

रवि लामिछानेको मुद्दा प्रकरण

काठमाडौं । सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले गृहमन्त्री रमेश लेखकमाथि गम्भीर आरोप लगाएकी छन्।  उनले सामाजिक सञ्जालमार्फत खुला पत्र लेख्दै अदालतको आदेशसम्म मन्त्री लेखकको निर्देशनमा रोकिएको दाबी गरेकी छन्।‘आम थुनुवाले पाउने अड्डासारको सुविधा रविको हकमा अदालतले आदेश दिए पनि कार्यान्वयन रोकिन्छ’, उनले भनिन्, ‘मुद्दाको पेशी चढेपछि न्याय परिषद्मा उजुरी हाल्ने, उजुरीको ड्राफ्ट गृहमन्त्रीकै कार्यकक्षमा तयार गर्ने र त्यसको लिङ्क सचिवालयमार्फत फैलाउनेजस्ता गतिविधि भइरहेको छ ।’ निकिताले गृहमन्त्रीमाथि अदालतलाई धम्क्याउने, न्याय परिषद्मा दबाब सिर्जना गर्ने र थुनुवालाई धरौटीमा छोड्ने नजिर विपरीत रविलाई निरन्तर जेलमै राख्ने आरोप लगाएकी छन्। उनले न्यायाधीशहरूको सरुवा(बढुवाको कारण सही फैसला दिन डराउने अवस्था रहेको दाबी गर्दै ‘कुन न्यायमूर्तिले आफ्नो करियर दाउमा राखेर फैसला गर्नेरु’ भन्ने प्रश्न उठाएकी छन्। उनले सर्वोच्च अदालतमा समेत उस्तै मुद्दामा धरौटी दिने निर्णय भए पनि रविको मामिलामा फरक व्यवहार गरिएको बताइन्। उक्त मुद्दा चलेको दिन नै मिडिया ट्रायल र न्याय परिषद्मा उजुरी पुग्दा स्वतन्त्र बहसको वातावरण नबन्ने उनको भनाइ छ। ‘मेरो श्रीमानमाथि लागेका सबै मुद्दा रमेश लेखक गृहमन्त्री भएपछि मात्रै दर्ता भएका हुन्। कुनै मुद्दा हदम्यादमा छैन,’ निकिताले लेखेकी छन् । उनले न्याय पाउने आशा भए नभए पनि कानुनी र संवैधानिक सबै ढोकाहरू ढकढक्याउने बताउँदै अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनी दिएकी छन्। प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमै भएको ‘खुला अन्याय’बारे सोच्न आग्रह गरिन् । उनले अन्तर्राष्ट्रिय अदालतमा जाने घोषणा गर्दै न्याय नपाएसम्म लडिरहने बताएकी छन् ।

पोखरामा अवैध सुनचाँदी कारोबारमा संलग्न भनिएका भारतीय नागरिक नियन्त्रणमा

पोखरा, कास्की – प्रहरीले साउन २३ गते शुक्रबार अवैध सुनचाँदी कारोबारमा संलग्न भएको आरोपमा ११ जना भारतीय कालीगढलाई नियन्त्रणमा लिएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले यस घटनाप्रति ध्यानाकर्षण जनाउँदै गृहमन्त्री रमेश लेखकसँग भेट गरी उनीहरूको रिहाइको माग गरेको छ। महासंघका अनुसार, पक्राउ परेका कालीगढमध्ये अधिकांशले नेपाल सरकारका सम्बन्धित निकायमा दर्ता भई व्यवसाय गर्दै आएका र केवल ज्याला मजदुरीको काम मात्र गरेको दाबी गरेका छन्। महासंघले सत्यतथ्य नबुझी हचुवाको भरमा व्यवसायी र मजदुरलाई दुःख दिने कार्य रोक्न र निष्पक्ष छानबिनमा सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ। यस विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षकलाई पनि बोधार्थ पत्र पठाइएको छ।

विराटनगरको बालसुधार गृहमा झडप

विराटनगर ।  मोरङको बाल सुधार गृहमा आज बुधबार (अगस्त १३, २०२५) दिउँसो २:०४ बजेको समयमा झडप भएको छ, जसमा वरिष्ठ प्रहरी हवलदार हिरणकुमार मण्डल घाइते भएका छन्। मोरङका प्रहरी प्रमुख नारायण चिमरियाका अनुसार, झडप सुधार गृहबाट बालबालिकाहरू भाग्न खोज्दा रोक्ने क्रममा भएको हो। घटना अहिले नियन्त्रणमा आइसकेको र सुधार गृहमा रहेका बालबालिकाहरूलाई भित्र राख्ने काम भइरहेको उनले बताए। ५० जनाको मात्र क्षमता रहेको उक्त बाल सुधार गृहमा हाल २०० भन्दा बढी बालबालिका राखिएका छन्। अदालतबाट कसुरमा दोषी ठहर भएका १८ वर्ष मुनिका बालबालिकालाई सुधारका लागि यस्ता गृहमा राख्ने गरिन्छ। थप अनुसन्धान जारी रहेको छ

धरानमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र ठेकेदार र कामदार मृत फेला

काठमाडौँ । दुहबी नगरपालिका–४, धरानस्थित निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र ठेकेदार ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय कामदार रमेश राई मृत फेला परेका छन्। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धान र फरेन्सिक परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ टोली पनि घटनास्थलमा पुगेको छ। प्रहरीले घटनाको कारण अझै खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको जनाएको छ।