रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
सोमबार बिहान बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल मणिग्राममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा नगरपालिका–१४ तीनधुराको भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भुसालको उपचारका लागि क्रिमसन अस्पताल पुर्याइने बित्तिकै उनको मृत्यु भएको प्रहरीको भनाइ छ । पानी परेकाले सडक चिप्लो भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले पहाडी र तराई क्षेत्रमा वर्षा हुने सम्भावना छ । पहाडी भू–भागका धेरै स्थान र मधेश प्रदेशसहित तराईका केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । राति पनि देशभर बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । भारी वर्षाका कारण जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
झापाका चिया श्रमिकको आन्दोलन कायमै
झापा । झापाका चिया श्रमिकले एक सातादेखि जारी राखेको आन्दोलन अझै टुंगिएको छैन । सरकार र व्यवस्थापन पक्षले उचित सेवा–सुविधा नदिएको भन्दै श्रमिकहरूले काम ठप्प पारेका छन् । झापाको भद्रपुर–२ मा रहेका गौरीशङ्कर, सूर्य र ऋषि गणेश चिया बगान तथा मेचीनगर–३ को नाज स्टेटका दुई सयभन्दा बढी श्रमिकले साउन १८ देखि आन्दोलन गरिरहेका छन् । नेपाल चिया–कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईका अनुसार नाज स्टेटका श्रमिक काममा फर्किए पनि अन्य तीन बगानमा काम ठप्प छ । नेपाल चिया–कफी श्रमिक युनियन, नेपाल चिया बगान श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घले संयुक्त रूपमा आन्दोलनलाई अगाडि बढाइरहेका छन् । श्रमिकहरूले सरकारले अन्य क्षेत्रका श्रमिकको तुलनामा चिया श्रमिकलाई बेवास्ता गरेको आरोप लगाएका छन् । उनीहरूले सम्झौताबिना काममा लगाइएको र सामाजिक सुरक्षा सुविधाबाट वञ्चित भएको गुनासो गरेका छन् ।
नाइजेरियामा आपराधिक समूहको आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु
नाइजेरिया । नाइजेरियाको जामफारा राज्यको बुक्कुयुम जिल्लास्थित आदब्का गाउँमा सशस्त्र आपराधिक समूहको आक्रमणमा १३ सुरक्षाकर्मीको ज्यान गएको छ । मृतकमा ११ जना स्थानीय स्वयंसेवी (वाच समूह) र दुई प्रहरी अधिकृत छन् । शुक्रबार राति ठूलो सङ्ख्यामा आएका आक्रमणकारीले गाउँमा आक्रमण गरी केही बासिन्दालाई अपहरण गरेका थिए । अपहरितको उद्धारमा खटिएको सुरक्षाकर्मीमाथि आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय सांसद हामिसु फारुले बताए । आक्रमणकारीहरू नजिकैको वन क्षेत्रमा लुकेका कारण मृतकको शव सङ्कलनमा कठिनाइ भएको छ । आक्रमणको त्रासमा धेरै गाउँले घर छाडेर विस्थापित भएका छन् । सांसद फारुका अनुसार, उक्त वनमा करिब पाँच हजार आपराधिक समूहका सदस्य लुकेका छन्, जसले आसपासका बस्तीमा निरन्तर आक्रमण गरिरहेका छन् । “यी समूहलाई नियन्त्रण गर्न हवाई कारबाही आवश्यक छ,” उनले भने । नाइजेरियामा यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सन् २०१५ देखि सेना परिचालन गरिएको छ भने स्थानीय सुरक्षा बल पनि गठन गरिएको छ । तर, हिंसा कायमै छ । सरकारले बारम्बार वार्ता र शान्ति सम्झौता गरे पनि ती दिगो हुन सकेका छैनन् । हालै केही धर्मगुरुहरूले एक प्रभावशाली समूहसँग वार्ता गराए पनि स्थानीय बासिन्दाले त्यसमा पूर्ण विश्वास गर्न सकेका छैनन् ।
संघीय संसद्का चार समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसद्का चार समितिको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक हुनेछ । अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक, २०८१’ मा दफावार छलफल हुनेछ । यसैगरी कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ मा दफावार छलफल हुनेछ । यता कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट–२०२५’ सम्बन्धी छलफल गरिने जनाइएकाे छ । र विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ मा सैद्धान्तिक छलफल हुनेछ ।
नवलपुरमा ट्रक र स्कूटर ठोक्किँदा दुई जनाको मृत्यु
नवलपुर । नवलपुरको गैँडाकोटमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको ना ५ ख ८४३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको लु ५५ प ३१३४ नम्बरको स्कूटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा स्कूटर चालक कावासोती वडा नं. ३ का दुलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको छ । ट्रकमा सवार अर्का एक जनाको पनि मृत्यु भएको छ, तर उनको पहिचान हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनलाइन मिडिया दर्ता र नवीकरणको व्यवस्था खारेज गर्न पाँच संगठनको माग
काठमाडौं । प्रेससम्बद्ध पाँच संगठनले अनलाइन सञ्चारमाध्यमलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण गर्नुपर्ने व्यवस्था खारेज गर्न माग गरेका छन् । यो माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् । प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, जनपत्रकार संगठन नेपाल, क्रान्तिकारी प्रेस संगठन र प्रेस नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै यो व्यवस्थालाई प्रेस स्वतन्त्रतामाथिको नियन्त्रण र सङ्घीयताको मर्मविपरीत भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् । विज्ञप्ति जारी गर्नुअघि प्रेस सेन्टर नेपालको केन्द्रीय कार्यालयमा संयुक्त छलफल भएको थियो । “सूचना तथा प्रसारण विभाग र प्रदेश कानुनअनुसार हुँदै आएको अनलाइन सञ्चारमाध्यमको दर्तालाई जिल्ला प्रशासनमा लैजानु सङ्घीयताको मूल मर्म र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो,” विज्ञप्तिमा भनिएको छ । सरकारले हालै संसदबाट पारित ‘केही नेपाल ऐन संशोधन विधेयक’ मार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन संशोधन गरी अनलाइन सञ्चारमाध्यमलाई जिल्ला प्रशासनमा दर्ता र नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । संगठनहरूले सञ्चारमाध्यमलाई व्यवस्थित गर्न छाता ऐन बनाउनुपर्ने र दर्ता तथा नवीकरण प्रक्रियालाई सरल बनाउनुपर्ने माग गरेका छन् । यस्तै, प्रतिनिधिसभाको समितिमा छलफलमा रहेको मिडिया काउन्सिल विधेयकका केही प्रावधानलाई सरकार नियन्त्रित र प्रेस स्वतन्त्रताविरोधी भन्दै संशोधन गर्न माग गरिएको छ । “यो विधेयकले पूर्ण प्रेस स्वतन्त्रतालाई सङ्कुचन गरेको छ,” विज्ञप्तिमा उल्लेख छ । संगठनहरूले प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, संविधान, राष्ट्रिय आमसञ्चार नीति २०७३ र सरोकारवालासँगको सहमतिका आधारमा स्वतन्त्र र सक्षम मिडिया काउन्सिल स्थापना गर्नुपर्ने बताएका छन् । वर्तमान सरकारले प्रेस स्वतन्त्रताविरोधी कदम चालेको भन्दै संगठनहरूले सञ्चारसम्बन्धी नीति र कानुन बनाउँदा पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने माग गरेका छन् । माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरूको घोषणा छ । विज्ञप्तिमा प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा, क्रान्तिकारी प्रेस संगठनका संयोजक नारायण शर्मा र प्रेस नेपालका सल्लाहकार केशव अर्यालले हस्ताक्षर गरेका छन् । संयुक्त प्रेस वक्तव्य प्रतिनिधिसभामा विचाराधीन रहेको मिडिया काउन्सिल विधेयकका महत्वपूर्ण प्रावधान र छापाखाना तथा प्रकाशन ऐन संशोधनमार्फत अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी बनेको नयाँ व्यवस्थाबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मिडिया काउन्सिल विधेयक, छापाखाना तथा प्रकाशन ऐन संशोधन र अन्य सञ्चार कानुनका बारेमा साझा धारणा सार्वजनिक गर्न संयुक्त वक्तव्य जारी गरेका छौँ । १. प्रतिनिधिसभाको विषयगत समितिमा छलफलमा रहेको मिडिया काउन्सिल विधेयकका महत्वपूर्ण प्रावधान सरकार नियन्त्रित र प्रतिगामी छन् । यसले पूर्ण प्रेस स्वतन्त्रतालाई सङुकुचन गरेको छ । प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, राष्ट्रिय आमसञ्चार नीति २०७३, आमसञ्चार क्षेत्र सुधार समितिको सुझाव र सरोकारवाला पक्षसँगको समझदारीबमोजिम विधेयक संशोधन गरेर स्वतन्त्र, स्वायत्त र सक्षम मिडिया काउन्सिल स्थापना गरिनुपर्छ । सरोकारवाला पक्षसँग पर्याप्त छलफल र समझदारी गरी आवश्यक संशोधन गरेर मात्र विधेयक अगाडि बढाइनु पर्छ । २. केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन संशोधन गरीे अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता तथा नवीकरण गर्नुपर्ने व्यवस्था घोर निन्दनीय छ । सूचना तथा प्रसारण विभाग तथा प्रदेश कानुनबमोजिम प्रदेशबाट हुँदै आएको अनलाइन सञ्चारमाध्यम प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने नयाँ व्यवस्था गर्नु सङ्घीयताको मूल मर्मलाई अस्वीकार र मिडियालाई नियन्त्रण गर्न खोज्नु हो । यो व्यवस्था तत्काल खारेज गरियोस् । ३. मस्यौदा तयार भइसकेको आमसञ्चारमाध्यमसम्बन्धी एकीकृत कानुन (छाता ऐन)लाई छिटोभन्दा छिटो अगाडि बढाएर अनलाइनसहित सबै प्रकारका सञ्चारमाध्यमको दर्ता, नवीकरण र नियमनलगायतका कार्यलाई व्यवस्थित गरियोस् । सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि विद्यमान झन्झटिलो प्रावधानलाई छाता ऐनमार्फत सरल र सहज बनाइनु पर्छ । ४. सरकारले एकपछि अर्को प्रेस स्वतन्त्रता विरोधी कार्य गर्दै आएको छ । मिडिया काउन्सिल विधेयक र अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थाले सरकारको प्रेसप्रतिको अनुदारता र प्रेस स्वतन्त्रता विरोधी रबैयाको पुष्टि गर्छ । सञ्चारसम्बन्धी सम्पूर्ण कानुन÷नीति बनाउँदा पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गरिनुपर्छ । ५. हाम्रा साझा धारणा तथा मागको यथाशक्य छिटो सम्बोधन गर्न सरकार, संसद् र सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौँ । सरोकारवालासँगको छलफलसहित हाम्रा माग सम्बोधनका लागि तत्परता नदेखाइए चरणबद्ध आन्दोलनमा जाने घोषणा गर्दछौँ । हस्ताक्षरकर्ता १. कमल गिरी, अध्यक्ष, प्रेस सेन्टर नेपाल २. शम्भु श्रेष्ठ, अध्यक्ष, समाजवादी प्रेस संगठन, नेपाल ३. शेरबहादुर विश्वकर्मा, अध्यक्ष, जनपत्रकार संगठन, नेपाल ४. नारायण शर्मा, संयोजक, क्रान्तिकारी प्रेस संगठन ५. केशव अर्याल, सल्लाहकार, प्रेस नेपाल २५ साउन, २०८२
महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता
कञ्चनपुर । आइतबार महाकाली नदीमा नुहाउने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरीनजिकै दुई बालिका बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार बेपत्ता हुनेमा भीमदत्त नगरपालिका-११ की ६/७ वर्षीया जीविका पन्त र सानबी पन्त छन् । प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारेको छ । स्थानीयका अनुसार नदी किनारमा अन्य बालिकाहरू पनि नुहाइरहेका थिए, तर तीमध्ये यी दुई जना नदीमा बगेर बेपत्ता भएका हुन् ।
वामपन्थी एकताको लागि झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई भेट्न उनको डल्लुस्थित निवास पुगेका छन् । आइतबार भएको भेटवार्तामा उनीहरूबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बुझिएको छ । खनाल र श्रेष्ठ दुवै वामपन्थी एकताको पक्षमा उभिँदै आएका छन् । खनाल हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट रहेको बताइएको छ । हिजो शनिबार मात्रै नेकपा एकीकृत समाजवादीका नेता बामदेव गौतमले पनि खनाललाई भेटेका थिए ।
वाइसिएल र अखिल (क्रान्तिकारी) द्वारा गोसाइँकुण्डमा झण्डै ३ हजार तीर्थयात्रीको निःशुल्क उपचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) र अखिल (क्रान्तिकारी)ले रसुवा जिल्लाको गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा सहभागी हुने करिब २ हजार पाँचसय तीर्थयात्रीलाई निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण गरेको छ । धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्छ । समुद्री सतहबाट करिब चार हजार ३८० मिटर उचाइमा अवस्थित गोसाइँकुण्डमा वर्षायाम, जटिल भूगोल र उच्च उचाइका कारण तीर्थयात्रीमा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् । यी समस्यालाई ध्यानमा राख्दै बागमती प्रदेश वाइसिएल र अखिल (क्रान्तिकारी)को संयुक्त आयोजनामा साउन १० देखि २५ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। शिविरमार्फत करिब २ हजार पाँचसय तीर्थयात्रीको स्वास्थ्य जाँच गरी आवश्यक औषधि वितरण गरिएको छ । साथै, गम्भीर अवस्थाका पाँच जना बिरामीलाई उद्धार गरी अस्पताल पुर्याइएको वाइसिएलका अध्यक्ष पुष्प ओलीले जानकारी दिए ।
रामेछापमा स्कारपियो दुर्घटनामा परी श्रीमतीको मृत्यु, श्रीमान् घाइते
रामेछाप । मन्थली नगरपालिका–६, बोक्से पहरोमा बा१३ च ३९३५ नम्बरको स्कारपियो गाडी दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको छ । उनी मन्थली–७ को सहरी स्वास्थ्य केन्द्र, बडिमुहानकी इन्चार्ज थिइन् । दुर्घटनामा घाइते भएका गाडी चालक तथा उनका श्रीमान् ४५ वर्षीय उत्तम चौहानलाई प्रारम्भिक उपचारपछि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए । उत्तम विद्युत् प्राधिकरण, मन्थली शाखामा कार्यरत छन् । प्रहरीका अनुसार गाडी सडकबाट करिब एकसय मिटर तल खसेर तामाकोशी नदीको किनारमा पुगेको थियो । उनीहरू हेटौँडामा अध्ययनरत छोरालाई भेट्न मन्थलीबाट हेटौँडा जाँदै थिए ।
पर्साको ठोरीमा पाटे बाघ मृत फेला
पर्सा । पर्साको ठोरी गाउँपालिका–४ मालीबस्ती नजिकै भारततर्फ जाने बाटोमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले आइतबार बिहान ७ः३० बजे आसपास ठोरीको मालीबस्तीस्थित हुलाकी सडकबाट करिब ५०० मिटर दक्षिणतर्फ पाटे बाघ मृत भेटिएको जानकारी दिए । ठोरीका स्थानीयबाट सूचना पाएपछि प्रहरी चौकी विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धानमा लागेको उनले बताए । साथै पर्सा राष्ट्रिय निकुञ्जका आधारभार र नेपाली सबुज गणका टोलीहरू पनि आवश्यक अनुसन्धानका लागि घटनास्थल पुगेका छन् । पर्सा प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकीबाट करिब चार किलोमिटर टाढा पर्दछ । पर्सा राष्ट्रिय निकुञ्जका रेञ्जर जयराम न्यौपानेले मृत पाटे बाघको मुचुल्का तयार गरी शव परीक्षणका लागि निकुञ्ज लैजान लागेको जानकारी दिए । बाघको शरीरमा सामान्य चोटपटक देखिएको तर ती चोटहरू जुधाइका कारण लागेका हुन् कि अन्य कुनै कारणले भए भन्ने कुरा शव परीक्षणपछि मात्र पुष्टि हुने बताइएको छ ।
मादी नदीमा पाैडी खेल्नेक्रममा एक सरकारी कर्मचारी बेपत्ता
तनहुँ । तनहुँको मादी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । नेपाल टेलिकम दमौली शाखामा कार्यरत सवारी चालक ४० वर्षीय हरी परियार शनिबार दिउँसो व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले बताए । व्यास नगरपालिका–१ अम्रेनी निवासी परियार साथीहरूसँग वनभोज कार्यक्रममा सहभागी भएर पौडी खेल्न गएका थिए । नदीले बगाएर बेपत्ता भएका उनलाई खोज्न नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी कार्य जारी राखे पनि हालसम्म फेला पार्न सकिएको छैन । प्रहरीका अनुसार परियारसँगै सोही कार्यालयमा कार्यरत टेक्निसियन २२ वर्षीय शिखर पौडेल, टेक्निसियन ३१ वर्षीय विशेश्वरप्रसाद चौधरी, सुरक्षा गार्ड ४२ वर्षीय शुकबहादुर गुरुङ र सवारी चालक ४० वर्षीय पवनबहादुर कुबाल वनभोजपछि नदीमा पौडी खेल्न गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अलैँचीको मूल्यवृद्धिपछि भोजपुरका किसान खेती विस्तारमा जुटे
भोजपुर । अलैँचीको मूल्य बढेपछि भोजपुरका किसान व्यावसायिक खेती विस्तारमा जुटेका छन् । गत वर्ष प्रतिमन रु एक लाखदेखि रु एक लाख दुई हजारसम्म बिक्री भएको अलैँचीले किसानलाई उत्साहित बनाएको छ । टेम्केमैयुङ–५ का शिवकुमार विष्टका अनुसार मूल्यवृद्धिपछि किसानले नयाँ बगैँचा विस्तार र पुराना बगैँचाको संरक्षणमा ध्यान दिएका छन् । परम्परागत बाली हटाएर अलैँचीखेतीमा फर्किएका किसानलाई बजारको राम्रो मूल्यले थप प्रोत्साहन गरेको अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेश विष्टले बताए । “मूल्यवृद्धिसँगै किसान खेती विस्तारमा जुटेका छन्, तर रोग र कीराको प्रकोपले चुनौती थपिएको छ,” अध्यक्ष विष्टले भने, “राज्यले प्राविधिक सहयोग र प्रत्येक अलैँची जोनमा कृषि प्राविधिक उपलब्ध गराएमा किसानले अझ राम्रो आम्दानी गर्न सक्थे ।” माटो परीक्षण र नयाँ नर्सरी स्थापनाले अलैँचीखेतीलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ छ । टेम्केमैयुङ–५ मा मात्र करिब १५० किसानले व्यावसायिक अलैँचीखेती गरिरहेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ५९७ हेक्टरमा रामशाही, गोलशाही, डम्बर शाही र जिर्मले जातको अलैँचीखेती हुन्छ । चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङ्गथर्पु, तिम्मा, हेलौछा र गुप्तेश्वरमा यो खेती बढी हुने गरेको छ ।
पानीको बहाव बढेपछी सप्तकोशीमा २८ ढोका खोलियो
सुनसरी । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको हो । मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन् । कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको हो ।
कञ्चनपुरमा अधियाँ खेतीमा निर्भर भूमिहीन किसान परिवार
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८, नौखरीका कान्छा चौधरी बिहानै हलो बोकेर निस्कन्छन्, तर यो हलो आफ्नै खेत जोत्न होइन, छिमेकीको अधियाँ–बटैयामा खेती गर्न हो । उनको परिवारसँग घरवासका लागि मात्रै जग्गा छ, जसले वर्षभरको खानपान धान्दैन । त्यसैले उनी अधियाँ खेतीमा निर्भर छन् । नगरपालिकामा यस्ता दर्जनौँ किसान छन्, जो जीविकाका लागि अधियाँ खेती गर्छन् । अधियाँ खेतीमा उत्पादित अन्न जग्गाधनी र किसानले आधा–आधा बाँड्छन् । जग्गाधनीले सिँचाइका लागि पानी निःशुल्क उपलब्ध गराउँछन्, भने खेत जोत्ने, बाली लगाउने, काट्ने र भित्र्याउने जिम्मा अधियाँ किसानको हुन्छ । थ्रेसिङ, मलखाद, विषादी, र बीउको खर्च भने दुवैले आधा–आधा ब्यहोर्छन् । “जग्गा थोरै भएकाले वर्षभर खान पुग्दैन, त्यसैले अधियाँ खेती गर्छौं,” कान्छा बताउँछन् । यो परम्परा वर्षौँदेखि चल्दै आएको छ । कलेशु चौधरीका अनुसार, पहिले अधियाँ किसानलाई जग्गाधनीले घरायसी काममा पनि लगाउँथे, तर अहिले यो चलन हटेको छ । “हाल मौखिक विश्वासका आधारमा काम हुन्छ, लिखित करार हुँदैन,” उनले भने । राष्ट्रिय भूमि अधिकार मञ्च, सुदूरपश्चिमका सचिव रामबहादुर चुँनाराका अनुसार, जग्गाधनीले अधियाँ किसानले राम्रोसँग खेती नगरेको भन्दै बीचमै छुटाउने गर्छन्, जसले भूमिहीन परिवारलाई समस्यामा पार्छ । मञ्चको तथ्याङ्कअनुसार, नगरपालिकाको कुल १ हजार ६२.७५ वर्ग किलोमिटर क्षेत्रफलमा केवल ८.४२ वर्ग किलोमिटर (५.१७%) जमिन खेतीयोग्य छ । बाँकी क्षेत्र वन, बस्ती, सडक, खोलानाला र अन्य प्रयोगमा छ । नगरपालिकाका १२ हजार ५८ घरधुरीमध्ये ८२८ परिवारसँग आफ्नो नाममा जग्गा छैन । पुरुषको नाममा ९४ प्रतिशत र महिलाको नाममा ५.८ प्रतिशत जग्गा स्वामित्व छ । “लैङ्गिक समानताको कुरा धेरै हुन्छ, तर व्यवहारमा महिलाको सम्पत्तिमा अधिकार सीमित छ,” चुँनारा भन्छन् । भूमिहीनहरूमा दलित, सुकुम्बासी र आदिवासी जनजाति समुदायको बाहुल्य छ । “हाम्रा पुर्खादेखि अरुको जमिन जोत्दै आएका छौँ, आफ्नो जग्गा छैन,” गोरे दमाई भन्छन् । मञ्चका अनुसार, ११ हजार ८५४ अव्यवस्थित बसोबासी, २१५ भूमिहीन दलित र १४८ सुकुम्बासीले जग्गा स्वामित्वका लागि भूमि समस्या समाधान आयोगमा निवेदन दिएका छन् । केही वडामा नापजाँच भएको छ, तर भूमिहीन दलित र सुकुम्बासीका लागि प्रगति भएको छैन । बर्सेनि आउने बाढीले शुक्लाफाँटाका किसानलाई सास्ती दिएको छ । बाढी र डुबानले खेतीमा क्षति पुग्छ । जलवायु परिवर्तनले वर्षा अनियमित हुँदा कहिले अति पानी त कहिले खडेरी हुन्छ । नयाँ रोग र किराको प्रकोपले नगदेबाली र तरकारी उत्पादन प्रभावित भएको कृषि शाखा प्रमुख करनसिंह बुढाऐर बताउँछन् । पछिल्लो समय केही किसानले व्यावसायिक तरकारीखेती, फलफूल, नगदेबाली, कुखुरा र बङ्गुरपालन शुरू गरेका छन् । “परम्परागत खेतीले मात्रै हुँदैन, मौसम सुहाउँदो बाली लगाउनुपर्छ,” बुढाऐर भन्छन् । नगरपालिकाले बीउ, कृषि औजार, उपकरण र सिँचाइमा अनुदान दिँदै किसानलाई प्रोत्साहन गरिरहेको छ ।

