बानेश्वर नजिकै वाग्मती किनारमा शव फेला

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर नजिकै वाग्मती नदी किनारमा एक व्यक्तिको शव फेला परेको छ । बुद्धनगर बस्ने २० वर्षीय विमल महरा मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको बानेश्वर प्रहरीले जनाएको छ ।

सहिद दशरथचन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय विधेयक संसदमा दर्ता

काठमाडौं । सुदूरपश्चिमको गेटामा सहिद दशरथचन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय निर्माण गर्न बनेको विधेयक व्यवस्थापिका संसदमा दर्ता भएको छ ।हिजो बसेको संसद बैठकमा सो विधयेक सरकारले दर्ता गराएको हो । विधेयकबारे सदनमा दफावार छलफलको प्रक्रिया सुरु हुने छ ।

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अक्टोबर १० मा यो दिवस मनाउने गरिन्छ । यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । त्रिविवि शिक्षण अस्पतालको मानसिक रोग विभागका प्रमुख डा. सरोज ओझाले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्रेरित गर्ने बताए । उनका अनुसार मानसिक अवस्था स्वस्थ राख्न शारीरिक स्वास्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्छ । दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार मनोचिकित्सकको परामर्श लिने बिरामीको सङ्ख्या बढ्दो छ । मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ । मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिनसके डिप्रेशनलाई कम गर्न सकिने उनको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अन्तर्गत मानसिक क्षेत्रमा काम भइरहेको एनसिडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा। फणेन्द्र बरालले बताए । उनका अनुसार मानसिक स्वास्थ्यमा बढ्दो सचेतना तुलनात्मकरूपमा बढे पनि यसको उपचारमा पहुँच बढाउन चुनौती छ । सरकारले मानसिक स्वास्थ्य परामर्श र औषधि निःशुल्क वितरण गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य (२०१६–२०३०)मा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्द्धन र नसर्ने रोगबाट हुने मृत्युदरलाई एकतिहाइले कम गर्ने लक्ष्य छ ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेर १ मिनेट जाँदाका लागि बोलाइएको छ । बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । साथै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

पूर्वसभामुख महरासँग ४५ मिनेट बयान, मुद्दा चलाउनु नपर्ने सीआईबीको निष्कर्ष

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करी प्रकरणमा नाम जोडिएपछि पूर्वसभामुख कृष्णबहादुर महरासँग वयान लिएको छ । वयान पश्चात सीआईबीले विरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ । उनका छोरा राहुल सहित तीन जना विरुद्ध भने मुद्दा चलाउन सिफारिस गरिएको छ । सीआईबीले आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको प्रतिवेदनमा राहुल महरा, दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरिएको छ । लुइ सहितका ६ जना चिनियाँ नागरिकको हकमा भने भेटिएको बखत मुद्दा चल्ने गरी नाम समावेश गरिएको सीआईबी स्रोतले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप)बरामद गरेको थियो । भेप बरामद गरेर गोदाममा राखिएका बेला तस्कर समूहले छुटाउनका लागि ताकेता गरिरहेका थिए भने भेपभित्र सुन रहेको थाहा पाएपछि भन्सारका अधिकृत रेवन्त खड्का सहितको मिलेमतोमा सुन बिक्री गरिएको थियो । त्यसरी सुन बिक्री गरेको थाहा पाएपछि तत्कालीन प्रमुख भन्सार प्रशासकले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जाहेरी दिएका थिए । सीआईबीले संगठित अपराधको कसुरमा ६० दिनसम्म अनुसन्धान गरेर पठाएको प्रतिवेदनको आधारमा २७ असार २०७० मा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि यो प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि जोडिएको खुलेको थियो । महराले सुन सहितको भेप छुटाउन दबाव दिएको खुलेको थियो भने उनका छोरा राहुल महराको चिनियाँ नागरिक वाङसँग निकट सम्बन्ध रहेको देखिएको थियो । तर लामो समय बयान समेत नलिएको प्रहरीले चौतर्फी दबावपछि सीआईबीले १३ भदौमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेर सुन तस्करीबारे फेरि अनुसन्धान थालेको थियो ।

इजरायलका नेपाली विद्यार्थीको अवस्था एकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका केही विद्यार्थी सम्पर्कमा नरहेको बताएका छन् । गाजा क्षेत्रमा हमास समूहको आक्रमणपछि उनीहरु सम्पर्कमा नरहेको उनले बताए । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रममार्फत इजरायल गएका ४९ विद्यार्थीमध्ये १७ जना विद्यार्थी दक्षिणी इजरालयको किवुज अलुमिम भन्ने स्थानमा अध्यनरत रहेको बताए । ती १७ मध्ये १२ जना सम्पर्कमा नरहेको उनले बताए । “नेपाली राजदूतावासबाट प्राप्त अपडेटअनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकोले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये दुईजना सकुशल रहेको, तीनजना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने हुँदा स्थिति एकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ,” उनले भने । मन्त्री साउदले इजरालयमा चार हजार ५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेको तथा इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रममार्फत रहेको बताए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका उनले जानकारी दिए ।

दूधमा दिने अनुदान वृद्धि गर्न महानगरपालिका सकारात्मक छ : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुग्ध कृषकलाई दूधमा महानगरले दिने अनुदानमा वृद्धि गर्न सकारात्मक रहेको बताएकी छिन् । भरतपुर–६ मा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ४० औँ साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख दाहालले दूधमा अनुदान दिने देशमै पहिलो पटक भरतपुर महानगरपालिकाले गरेको बताइन् । महानगरपालिकाले २०७४ सालमा पहिलो पटक प्रति लिटर २५ पैसाबाट सुरु गरेको अनुदान अहिले ३ रुपैयाँ पुराएको प्रमुख दाहालले जानकारी दिइन्। महानगरपालिकाको आन्तरिक अम्दानीमा वृद्धि भए दूधमा दिने अनुदानलाई वृद्धि गर्न सकिने उल्लेख गरे। आन्तरिक अम्दानी सोचेअनुसार संकलन हुन नसकेकाले यस आर्थिक वर्षमा दूधमा अनुदान वृद्धि गर्न नसकेको जानकारी दिए। अन्नपूर्ण दुग्ध उत्पादक सहकारीले दैनिक ७ हजार लिटरभन्दा बढी दूध संकलन गरी नमुना काम गरेकोमा बधाई पनि दिए। आगामी वार्षिकोत्सवसम्म पुग्दा दैनिक १० हजार लिटर दूध संकलन गर्न सक्षम बन्न शुभकामना पनि व्यक्त गरे । प्रमुख दाहालले सहकारीले कृषि तथा पशुपलानमार्फत स्थानीय अर्थतन्त्रमा खेलेको भूमिकाको उच्च प्रशंसा पनि गरे । कृषको आर्थिक उन्नती, राजगारी सिर्जना र उभिप्रेरित रहेकोमा सहकारीलाई धन्यवाद पनि दिए । प्रमुख दाहालले महानगरले कृषि तथा पशुपालनलाई लक्ष्ति गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेकाले पशुपालनमा आत्मनिर्भर रहेको धारणा व्यक्त गरे । चितवनको पहिलो दुग्ध उत्पादक सहकारी संस्था रहेको अन्नपूर्णले दूध, दही, घ्यू, पनिरका साथै पशु आहार र साईलेज उत्पादन गर्दै आइरहेको छ । सहकारीमा हाल ४६६ सेयर सदस्य रहेका छन् । सहकारीले भरतपुर महानगरपालिकाले प्रदान गर्ने अनुदान रकम भरतपुरमा सबैभन्दा ठूलो रकम पाउने गरेको छ । कार्यक्रममा उत्कृष्ट कृषक, कर्मचारी र सहकारीको उद्योगको उत्पादन बिक्री गर्ने बिक्रेतालाई सम्मान गरिएको थियो ।कार्यक्रम संस्थाका अध्यक्ष ऋषिराम चापागाईको अध्यक्षमा भएको थियो । ४० औँ अधिवेशनले नयाँ समिति चयन गर्ने छ ।

सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व

तनहुँ । तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गको दमौली–पोखरा खण्ड अवरुद्ध भएको छ ।राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन् । जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको प्रहरीको भनाइ छ ।

दुबईमा अलपत्र यात्रु नेपाल फर्किए

काठमाडौं । हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा ३० घण्टा दुबईमै अलपत्र परेका यात्रु नेपाल फर्किएका छन्। टिकट लिएर दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १६२ जनामध्ये १५४ जना यात्रु मात्र नेपाल आइपुगेका हुन्। बिहीबार दिउँसो २ बजेको उडानमार्फत नेपाल आउन विमानस्थल पुगेका यात्रु जहाज बिग्रिएपछि शनिबार बिहान २ः३० बजे नेपाल आइपुगेका हुन्। जहाज मर्मत गर्दा गर्दै चालकदलको उडान समय (फ्लाइट ड्युटी आवर) सकिएपछि यात्रुहरू दुबईमै अलपत्र परेका थिए। अलपत्र यात्रुमध्ये चार जना बङ्गलादेशी, एक जना अमेरिकी र एक जना नेपाली यात्रुले भने टिकट रद्द गरेर फर्किएका छन्। नेपाल आएका यात्रु सुवास न्यौपाने हिमालय एयरलाइन्सको फितलो व्यवस्थापन र गैरजिम्मेवारीका कारण छ जना यात्रुले उडान रद्द गरेर फर्किएको र दुबईबाट उडान समयभन्दा थप आधा घण्टा ढिलो गरी उडान भरेको बताए ।

वर्षाले धानबाली विजोग

भरतपुर। केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीका विजोग भएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् । धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिए । “अहिले नै पानीले त्यति ठूलो क्षति पुर्‍याएको छैन”, उनले भने, “अझै केही दिन पानी पर्ने हो भने यहाँ समस्या हुन्छ ।” उनका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा लगाएको धान काट्न सुरु हुन्छ । केही भागमा पाकेर काट्न तयार परेको धानसमेत पानीले ढलाएको उनले बताए । यतिखेर सिँचाइको सुविधा रहेको पूर्वी चितवनमा धान काट्ने समय भएको छ । पूर्वी चितनका अधिकांश किसानले असार १५ मा धान रोपेर सक्ने गर्दछन् । निरन्तरको वर्षाले खेतमा भित्र्याउन काटेर सुकाएको धान डुबाएको भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरका सुनिल दवाडीले बताए । “मैले दुई बिघामा धान लगाएको हो । त्यसमध्ये एक बिघामा लगाएको धान रौतहटबाट खेताला ल्याएर कटाएको थिएँ”, खेतमा पानीले निथ्रुक्क भिजेको धान उठाउँदै गर्दा भेटिएका उनले भने, “धान रोप्न गरेको लगानी पनि खेर गयो ।” खेत रोप्न २५ हजार लागेको उनले बताए । लगातार परेको पानीमा डुबेर धान उम्रिएको छ । शरणपुरकै मधुमाया खनाल लामिछानेले पनि पाँच कठ्ठामा धान रोप्नुभएको थियो । केही दिनदेखिको पानीले सबै काटेर भित्र्याउन ठिक्क पारेको धान डुबाएको उनले बताए । “मेरो खेत नै यति मात्रै । उत्पादन गरेर खाउँला भनेको लगाएको खेती खाने समयमा सबै भिज्यो”, उनले भने, “मान्छेले खान नभए पनि गाईलाई होला भनेर उठाउन लागेकी छु ।” काट्न १० जना खेताला लागेको उनले बताए । समयमै मल, बीउ र सिँचाइको असुविधाबीच लगाएर भित्र्याउन ठिक्क पारेको धान पानीले डुबाएपछि किसान चिन्तामा छन् । “छ–सातवटा बालबालिका छन् । अरु कमाई छैन । यही खेती गरेर खाने हो”, शरणपुरकी शिला लामिछानेले भने, “वर्षभरिलाई खाने भनेर लगाएको धान डुबेर यस्तो गति भयो ।” चितवनमा २७ हजार हेक्टर हाराहारीमा धानखेती गरिँदै आइएको छ । रासस

कोसीमा नयाँ सरकार गठन आह्वान

विराटनगर । कोसी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान गरिएको छ । शनिबार प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गर्दै उनले ६ दिनको समय दिएका छन् । विश्वासको मत पाउने अवस्था नदेखेपछि शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । लगत्तै प्रदेश प्रमुखसमक्ष राजीनामापत्र बुझाएका थिए । सर्वोच्च अदालतको परमादेशबाट कार्की गएको भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ९३ सदस्यीय प्रदेशसभामा बहुमत (४७) सांसदको समर्थनप्राप्त प्रदेशसभा सदस्य मुख्यमन्त्री बन्न सक्ने उपधारा ५ मा व्यवस्था छ ।

सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता

दिपायल । डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले बताए । उनका अनुसार बेपत्ता हुनेमा वडा नं ४ पिपल्ला बजारका ८ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा रहेका छन् । बेपत्ता दुवैको खोजी कार्य भइरहेको प्रनाउ श्रीवास्तले बताए । खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।

एसियाली खेलकुद : महिला भलिबलमा मंगोलियाविरुद्ध नेपालको जित

काठमाडौ । एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा मंगोलियाविरुद्ध नेपालले जित हासिल गरेको छ । मंगोलियालाई पराजित गरेसँगै १३ देश सहभागी प्रतियोगितामा नेपाल एघारौं भएको छ। आज भएको प्लेअफमा नेपालले मंगोलियामाथि ३/२ को सेटमा जित निकालेको हो। पहिलो सेट मंगोलियाले २५/१७ ले जितेको थियो। तर दोस्रो सेटमा नेपाल २५/१८ र तेस्रो सेटमा २५/२१ को जितसँगै अग्रता लिन सफल भयो।चौथो सेटमा मंगोलिया २५/१८ ले विजयी भएसँगै खेल बराबरी भएको थियो। निर्णायक पाँचौ सेटमा नेपाल १५/१२ ले विजयी भयो। समूह चरणबाटै बाहिएपछि पदक सम्भावना सकिएको नेपालले वरीयताका लागि भारतसँग खेल्दा पराजय भोगेको थियो। मंगोलियालाई पराजित गरेपछि नेपाल एघारौं बनेको हो ।

भोलिदेखि सरकारले चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने

काठमाडौं । सरकारले चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहने बताइएको छ । राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहनेछन् । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।

ईन्जिनियरङ्गको नयाँ शुल्क, प्रवेश परिक्षा कार्तिक १४ गतेदेखि

काठमाडौँ । ईन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको नयाँ शुल्क तोकेको छ। संस्थान कार्यान्वयन समितिले नयाँ शुल्क निर्धारण गरेको हो। अनुसार चार बर्षे बीई तथा बी आर्कको धरौटी सहित नियमित तर्फ ५६ हजार ७०० रुपैयाँ कायम गरिएको छ। त्यस्तै पूर्ण शुल्कीय तर्फ ४ लाख ९० हजार र विदेशी विद्यार्थीको हकमा १३ लाख १३ हजार ५०० रुपैयाँ कायम गरिएको हो । उक्त शुल्कमा विद्यार्थीहरूले अझै असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूले पुरानै शुल्कमा पठनपाठन गराउनुपर्ने माग राख्दै आएका छन्। तर, संस्थानले उक्त शुल्कमा कुनै पनि हालत पढाउन नसकिने अडान कायम राख्दै आएको थियो। यसअघि पूर्ण शुल्कीय तर्फ ३ लाख १८ हजारबाट बढाएर ७ लाख ७५ हजार रुपैयाँ शुल्क बनाइएको थियो। नियमित तर्फ समेत बढाएर ८३ हजार पुर्याईएको थियो। त्यसपछि विद्यार्थीहरू आन्दोलित बनेका थिए। नयाँ शुल्क तोकेर संस्थानले प्रवेश परीक्षाको समेत सूचना जारी गरेको छ । शुल्क विवादका कारण यसअघि भदौ २५ गतेदेखि गर्ने भनिएको प्रवेश परीक्षा रोकिएको थियो। त्यसपछि असोज २२ गतेका लागि अर्को मिति तय गरिएको थियो । तर, त्यसमा समेत विवाद उत्पन्न भएपछि पुनः परीक्षा रोकिएको थियो। र परीक्षा अनिश्चित बनेको थियो। अहिले डीन कार्यालयले एक सूचना जारी गर्दे कार्तिक १४ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो। यस भन्दा पहिले प्रवेश परीक्षा आवेदन फाराम भर्न छुटेकालाई असोज २२ गते देखि २४ गते सम्म अनलाइन मार्फत फाराम भर्ने समय तोकिएको छ।

सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा नुवाकोटको बेलकोट नगरपालिका–५ का ४२ वर्षीय दीप श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले दिए । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको उक्त स्थानमा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना भएको भण्डारीको भनाइ छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।